Category: समाचार

  • कस्तो छ राष्ट्रपतिको स्वास्थ्य ?

    कस्तो छ राष्ट्रपतिको स्वास्थ्य ?

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य स्थितिमा क्रमिक सुधार देखिएको छ । दिल्लीस्थित नेपाली राजदूतावासले राष्ट्रपतिको उपचारमा संलग्न चिकित्सकहरुलाई उद्धृत गर्दै स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको जनाएको छ । राष्ट्रपति पौडेलको बुधबारबाट दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान(एम्स)मा उपचारमा छन् ।

    एम्सको भीआईपी आईसीयूमा राखेर उनको उपाचार भइरहेको छ । उनलाई दिइएको ‘अक्सिजन सपोर्ट’ बिहीबारबाट हटाइएको छ । उनको स्वास्थ्यस्थिति हेरेर बिहीबार सम्भवतः आईसीयूबाट बाहिर प्राइभेट वार्डमा सार्ने सम्भावना छ ।


    उनको छातीमा संक्रमण देखिएको छ । काठमाडौं शिक्षण अस्पतालमा उपचार भइरहेका बेला परिवारजन तथा चिकित्सकहरुसँगको सरसल्लाहपछि सरकारले उनलाई ‘बेटर’ उपचारका लागि दिल्ली पठाउने निर्णय गरेको थियो ।

    भारतीय राष्ट्रपति द्रौपदी मुर्मूले उनको शीघ्र स्वास्थ्यलाभको सन्देश अस्पतालमा पठाएकी छन् । मुर्मूका तर्फबाट राष्ट्रपति कार्यालयका कर्मचारीले पुष्पगुच्छा र सन्देश अस्पतालमा लिएर आएका थिए ।

    यसअघि प्रधानमन्त्री नरेन्द्र मोदीले पनि स्वास्थ्यलाभको सन्देश पठाइसकेका छन् । विदेश मन्त्रालयका अधिकारीहरु नियमितरुपमा एम्स अस्पतालमा आउजाउ गरिरहेका छन् ।


    बिहीबार नर्थ डेस्क प्रमुख अनुराग श्रीवास्तव अस्पताल पुगेर परिवारजनलाई भेटेका छन् । यसअघि विदेश सचिव विनयमोहन क्वात्रा पनि अस्पताल पुगेको पारिवारिक स्रोतले जनाएको छ ।

  • पैसा नतिरेका ट्वीटर प्रयोगकर्ताको ब्लू-टीक हट्यो

    पैसा नतिरेका ट्वीटर प्रयोगकर्ताको ब्लू-टीक हट्यो

    काठमाडौं । सामाजिक सञ्जाल ट्विटरमा पैसा नतिर्ने प्रयोगकर्ताहरूको भेरिफिकेसन चेक मार्क (ब्लु टिक) हटेको छ । ट्विटरले चर्चित राष्ट्रिय, अन्तर्राष्ट्रिय व्यक्तिसँगै मिडियाहरूको पनि ‘ब्लु टिक’ हटाएको छ । यसअघि ट्विटरले राजनीतिक नेता, अभिनेता, पत्रकारलगायतका क्षेत्रमा कार्यरत व्यक्तिहरुको अकाउन्टलाई निःशुल्क ब्लु टिक प्रदान गरेको थियो ।

    तर एलन मस्कले ट्विटर किनेपछि कम्पनीले भेरिफाइड अकाउन्टबाट ब्लु टिक हटाएर शुल्क तिर्न दबाब बढाएको हो । मस्कले ९ दिनअघि २० अप्रिलपछि पैसा नतिर्ने अकाउन्टको ब्लु टिक हट्ने भन्दै ब्लु टिक लिने भए निश्चित रकम तिनुपर्ने बताएका थिए । ब्लु टिकका लागि प्रयोगकर्ताले मासिक ८ डलर तिर्नुपर्ने व्यवस्था छ ।

  • गुल्मीमा आगलागीमा परी एक जनाको मृत्यु

    गुल्मीमा आगलागीमा परी एक जनाको मृत्यु

    काठमाडौं । गुल्मीमा आगो निभाउने क्रममा एक जना बालकको ज्यान गएको छ । आगोमा जलेर घाइते भएका धुर्कोट गाउँपालिका–३ हाडहाडेका १३ वर्षीय दीपक मुखियाको उपचारका क्रममा आज बिहान मिसन अस्पताल पाल्पामा ज्यान गएको हो । बर्दवास जङ्गलमा लागेको आगो बस्तीमा आउन थालेपछि परिवारसहित आगो निभाउन गएका मुखियालाई आगोको लप्काले पोलेको थियो ।

    आगो निभाउने क्रममा हाडहाडेकै ५५ वर्षका धनबहादुर कुँवर घाइते भएका छन् । उनलाई पाल्पामा उपचार हुन नसकेपछि आज बिहान थप उपचारका लागि बुटवल रेफर गरिएको सशस्त्र प्रहरी बल नेपाल गुल्मीका सशस्त्र प्रहरी नायब उपरीक्षक निवनकुमार खड्काले जानकारी दिएका छन् । गुल्मीको ईस्मा गाउँपालिकामा हिजो भएको आगलागीमा दुई वटा घर र तीन वटा गोठ पूर्णरुपमा नष्ट भएका छन् ।

    स्थानीय सामुदायिक वनबाट लागेको आगो एक्कासी गाउँ पसेपछि घररगोठसहित अन्न र लत्ता कपडा जलेर नष्ट भएको स्थानीय बोमबहादुर कुमालले जानकारी दिए । दुई हप्तादेखि गुल्मीका सामुदायिक वन एवम् राष्ट्रिय वनमा डढेलो र आगलागीका घटना बढेका छन् ।

  • आज केही पहाडी भेगमा वर्षाको सम्भावना

    आज केही पहाडी भेगमा वर्षाको सम्भावना

    काठमाडौं । आज पहाडी भेगका केही स्थानमा हल्का वर्षाको सम्भावना छ । अहिले पश्चिमी वायु र स्थानीय वायुको प्रभाव छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका साथै देशका पहाडी भू–भागमा आंशिक देखी सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ।

    दिउँसो सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश लगायत अन्य पहाडी भू–भागमा आंशिक देखी सामान्यतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानहरुमा तथा देशका बाँकी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन–चट्याङ्ग सहित हल्का–क्षणिक वर्षाको सम्भावना रहेको छ। तराईका थोरै स्थानहरूमा हावा–हुरीको सम्भावना रहेको पनि महाशाखाले जानकारी दिएको छ।


    राती देशका पहाडी भू–भागमा आंशिक देखी सामान्यतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखी मौसम सामान्यतया सफा रहने छ। पहाडी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन–चट्याङ्ग सहित हल्का–क्षणिक वर्षाको सम्भावना रहेको छ। तराईका थोरै स्थानहरूमा हावा(हुरीको सम्भावना रहेको छ। मेघगर्जन, चट्याङ र हावाहुरीबाट क्षति हुन नदिन आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

  • एसीसी प्रिमियर कप : आज नेपाल र ओमान भिड्दै

    एसीसी प्रिमियर कप : आज नेपाल र ओमान भिड्दै

    काठमाडौं । काठमाडौंमा जारी एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले आज ओमानसँग खेल्दैछ । समूह ‘ए’ मा रहेका दुई उपाधि दाबेदार नेपाल र ओमानबीचको खेल कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान ९ बजे सुरु हुनेछ । दुवै टोलीले आफ्नो पहिलो खेल जितेका छन् ।

    नेपालले उदघाटन खेलमा मलेसियालाई ६ विकेटले पराजित गरेको थियो भने ओमानले कतारलाई ४० रनले हराएको थियो । दुवै टोली लगातार दोस्रो खेल जित्दै सेमिफाइनल यात्रालाई सहज बनाउने योजनामा छन् । यस समूहमा अर्को टोली साउदी अरेबिया छ । समूहको शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् ।

    च्याम्पियन टोली आगामी सेप्टेम्बरमा हुने एसिया कपमा छनोट हुने भएकाले पनि सबै टोलीको ध्यान एसिया कपमा रहेको छ । एसिया कप छनोटको आधार समेत रहेकाले घरेलु मैदानमा च्याम्पियन बन्दै भारत र पाकिस्तानसँग एसिया कपमा खेल्ने नेपालको सपना छ । नेपाल र ओमान दुवै एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) मान्यता प्राप्त टोली हुन् । यस प्रतियोगितामा नेपाल र ओमानबीचको खेल ओडिआई मान्यता पाउनेछ, जुन नेपालको ५०औं ओडिआई खेल हुनेछ ।

    नेपालले अहिलेसम्म क्रिकेट विश्वकप लिग टु मा ३६ खेल खेल्दा नेदरल्याण्ड, युएई र पपुवा न्युगिनीसँग सिरिजमा १२ खेल खेलेको छ । यस्तै एसिया कप छनोटमै यसअघि युएईसँग एक ओडिआई खेलेको छ ।

    नेपालका सन्दीप लामिछाने ओडिआईमा सबैभन्दा छिटो एक सय विकेट लिनबाट १ खेल मात्र टाढा छन् । उनले ओमान विरुद्ध १ विकेट लिए सबैभन्दा छिटो एक सय ओडिआई विकेट लिने कीर्तिमान बनाउनेछन् । आजै मूलपानी मैदानमा समूह ‘बी’ अन्तर्गत युएई र हङकङबीच खेल हुनेछ ।

  • बारा पुगेर ओलीले भने -‘एक ठाउँमा हारेका यता आइपुगेछन्, डुलुवालाई जहाँ भेटिन्छ त्यहीँ हराऊँ’

    बारा पुगेर ओलीले भने -‘एक ठाउँमा हारेका यता आइपुगेछन्, डुलुवालाई जहाँ भेटिन्छ त्यहीँ हराऊँ’

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र नेतृत्वको गठबन्धन सरकारले सामाजिक सुरक्षा भत्ता बन्द गर्न लागेको आरोप लगाएका छन्।

    बाराको चुनावी सभालाई सम्बोधन गर्दै उनले भने, ‘ अब यही सरकार कायम रह्यो भने प्रहरीहरुले कपडा फेर्न पाउँदैनन् ।

    हामीले जेष्ठ नागरिक भत्ता गरेर चार हजार पुर्याएका थियौं । अहिलेसम्म त पाउँदै हुनुहुन्छ होला यही सरकार कायम रह्यो भने केही महिनाभित्र वृद्धभत्ता नपाउने खतरा छ । यसले रोक्छ ।’

    उनले गठबन्धनका नेताहरुलाई जहाँ भेट्यो त्यहीँ पराजित गर्नुपर्ने बताए। ‘यिनीहरुलाई अन्त्य गर्न जुन ठाउँमा पायो त्यहीँ पछार्नु पर्छ, हराउनुपर्छ’, उनले भने, ‘एक ठाउँमा हारेका नेता यता आइपुगेछन्। यी डुलुवालाई बाराबासीले हराउने छन्।’

  • जाजरकोटमा निर्माणाधीन बेलिब्रिज भाँच्चियो, ४ जनाको मृत्यु

    जाजरकोटमा निर्माणाधीन बेलिब्रिज भाँच्चियो, ४ जनाको मृत्यु

    काठमाडौं । भेरी करिडोरअन्तर्गत जाजरकोटको नलगाड नगरपालिका–१२, तल्लुस्थित भेरी नदीमा निर्माणाधीन बेलिब्रिज पुल भाँचिदा चारजनाको मृत्यु भएको छ ।

    दुर्घटनामा अरू चारजना गम्भीर घाइते भई उपचारका लागि राडीस्थित स्वास्थ्य संस्थामा पठाइएको आठबीसकोट नगरपालिकाका पूर्वनगरप्रमुख गोरखबहादुर केसीले बताए ।

    मृतकको ठेगाना खुलेको छैन । मृत्यु हुनेहरू काम गर्दै गरेका मजदुरहरू रहेको बताइएको छ। रासस

  • कर्णाली प्रदेश सरकारका चार मन्त्रीले लिए शपथ

    कर्णाली प्रदेश सरकारका चार मन्त्रीले लिए शपथ

    काठमाडौं । कर्णाली प्रदेशका नवनियुक्त चार मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रदेश प्रमुख तिलक परियारले उनीहरूलाई शपथ खुवाएका हुन्।

    बुधबार हुने भनिएको शपथ रोकिएको थियो। कांग्रेसको केन्द्रीय नेतृत्वको दवावमा मुख्यमन्त्री राजकुमार शर्माले नियुक्ति रोकेका थिए। बिहीबार बिहान कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही निवासमा भएको छलफलबाट नियुक्ति र शपथ गराउने सहमति जुटेको थियो।

    मुख्यमन्त्री शर्माले कांग्रेसबाट सिफारिस भएका आर्थिक मामिला तथा योजना मन्त्रीमा वेदराज सिंह, सामाजिक विकास मन्त्रीमा खड्गराज पोख्रेल, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा कृष्णकुमार विसी र जलस्रोत तथा ऊर्जा विकास मन्त्रीमा माओवादी सांसद उर्मिला विश्वकर्मालाई नियुक्त गरेका थिए।

    विश्वकर्मा यसअघि भौतिक पूर्वाधार तथा शहरी विकास राज्यमन्त्री थिइन्। मंगलबार साँझ बसेको मन्त्रिपरिषद बैठकले मन्त्रालय संख्या संशोधन गरेपछि उनलाई मन्त्री नियुक्त गरिएको हो।

  • शुक्रबार रातिदेखि नेपाल-भारत सीमानाका बन्द हुने

    शुक्रबार रातिदेखि नेपाल-भारत सीमानाका बन्द हुने

    बारा। बाराकाे क्षेत्र नं. २ मा १० वैशाखमा हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअघि नेपाल-भारत सीमानाका बन्द गरिने भएको छ।

    जिल्ला प्रशासन कार्यालय बाराले एक सूचना जारी गर्दै ८ वैशाख शुक्रबार राति १२ बजेदेखि १० गते आइतबार राति १२ बजे सम्म जिल्लाका भारतीय सिमाना बन्द रहने जनाएको हो।

    यस्तै मंगलबार राति १२ बजेदेखि मतदानको कार्य सम्पन्न नभएसम्म जिल्लाभरी सबै प्रकारका मादक पदार्थ ओसारपसार, बिक्री वितरण र सेवनमा समेत रोक लगाएको छ।

    बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाद्वारा जारी सूचनामा बारा क्षेत्र नं.२ भित्र पर्ने हुलाकी राजमार्ग लगायत सम्पूण राजमार्ग ९ वैशाख राति १२ बजेबाट १० गते साँझ ७ बजे सम्मकालागि सम्पूर्ण आवागमन बन्द गर्ने भनिएको छ।

    एम्बुलेन्स, दुध तथा औषधि बोकेका सवारी, खानेपानीका ट्यांकर, दमकल, दूरसंचार सेव, शव वहान, अस्पताल सेवा, सुरक्षा निकायका सवारी साधनहरु तथा विद्युत् सेवा जस्ता अत्यावश्यक सेवा, कुटनितिक नियोगका सवारी र अनुमति प्राप्तबाहेकका सावारी सञ्चालमा रोक लगाइएको छ।

    उपनिर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी, भयरहित वातावरणमा सम्पन्न गर्न शान्ति शुरक्षालाई दुष्टिगत गरि स्थानीय प्रशासन ऐन २०२८ को प्रावधान अनुसारको आदेश गरिएको हो।

  • निर्वाचनका लागि प्रचारप्रसारको अन्तिम दिन, गठबन्धन र रास्वपा चितवनमा आमनेसामने

    निर्वाचनका लागि प्रचारप्रसारको अन्तिम दिन, गठबन्धन र रास्वपा चितवनमा आमनेसामने

    काठमाडौं । वैशाख १० गते हुन लागेको उपनिर्वाचनका लागि आज प्रचारप्रसारको अन्तिम दिन हो । आज राति १२ बजेबाट मौनअवधि सुरू हुँदैछ ।

    यसैबीच आज प्रचारप्रसारको अन्तिम दिन चितवनमा सत्ता गठबन्धन र राष्ट्रिय स्वतन्त्र पार्टी आमनेसामने हुँदैछन् । गठबन्धन र रास्वपाको चुनावी सभा एकै समयमा परेको छ ।

    रास्वपाले दिउँसो ३ बजे जिल्ला प्रहरी कार्यालयअगाडि चुनावी सभा आयोजना गरेको छ । सभालाई चितवन–२ का उम्मेदवार तथा पार्टी सभापति रवि लामिछाने, रास्वपाबाट तनहुँ–१ का उम्मेदवार स्वर्णिम वाग्ले र बारा–२ का उम्मेदवार रमेश खरेलले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

    यस्तै, दिउसो ३ बजे नै गठबन्धनले पनि चुनावी सभा आयोजना गरेको छ । गठबन्धनले कालिका नगरपालिका ४ पदमपुरस्थित क्याम्पस फुटबल मैदानमा आमसभा आयोजना गरेको छ ।

    सभालाई माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले सम्बोधन गर्नेछन् । आजको सभालाई गठबन्धन र रास्वपाको शक्ति प्रदर्शनको रूपमासमेत हेरिएको छ ।

  • १५ दिनभित्र माग पूरा नगरे सिसडोलमा फोहोर फाल्न नदिने चेतावनी

    १५ दिनभित्र माग पूरा नगरे सिसडोलमा फोहोर फाल्न नदिने चेतावनी

    काठमाडौं । आफ्ना मागहरू पूरा नभएको भन्दै नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिबेशी नगरपालिकाले फेरि सिसडोलमा फोहोर फाल्न नदिने भएका छन् ।

    दुई पालिका नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिवेशी नगरपालिकाको संयुक्त बैठक बसी १५ दिनभित्र यसअघि गरिएका सम्झौता कार्यान्वयन नगरे फोहोर फाल्न नदिने चेतावनी दिएका हुन् ।

    संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै ६ बुँदे माग १५ दिन भित्रमा पुरा नभए १५ दिन भित्र पुरा नभएमा संघर्ष गर्न बाध्य हुने र सो अवस्था सिर्जना नगर्न सरोकारवालालाई अनुरोध गरेको छ ।

    दुई पालिकाका अति प्रभावित, प्रभावित र बेलकोटगढी नगरपालिकालाई वर्गिकरण गरी बञ्चरेडाँडाबाट २ किमि क्षेत्रको जग्गा अधिकरण गर्नु पर्ने प्रभावितलाई मूआब्जाको प्रक्रिया तुरुन्त अघि बढाउनु पर्ने उनीहरुको माग छ ।

    २०७९ जेठ २३ गते, नेपाल सरकार, शहरी विकास मन्त्रालय, काठमाडौं महानगरपालिका, धुनिबेशी नगरपालिका र ककनी गाउँपालिकाका सरोकारवालाहरु बीच र जेठ २६ गते काठमाडौं महानगरपालिका, धुनिवेशी नगरपालिका र ककनी गाउँपालिकाको प्रभावित क्षेत्रका वडाध्यक्षहरु बीच भएको सम्झौताका अनुरूप बुदाँहरु कार्यान्वयन नभएकाले ती बुदाँहरुलाई तत्कालै कार्यान्वयनमा ल्याउनु पर्ने उनीहरुको माग छ ।

    ‘फोहोर मैला व्यवस्थापनको लागि वैज्ञानिक तथा आधुनिक प्रविधिवाट विज्ञ टोली गठन गरि न्यून प्रभाव पर्ने गरि फोहोरमैला व्यवस्थापन गर्ने र बञ्चरेडाँडाबाट निस्किएको फोहोरको लिच्चडलाई कोल्पुखोलामा मिश्रण नगरी अन्यत्र कुनै स्थानमा व्यवस्थापन गर्नुपर्ने माग विज्ञप्तिमा उल्लेख छ ।

    ककनी गाउँपालिका, धुनिवेशी नगरपालिका वडाहरुमा वार्षिक १० करोड बराबरको शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी र पूर्वाधार विकासमा लगानी गर्नको लागि नेपाल सरकार, काठमाडौं महानगरपालिका र सरोकारवाला निकायमा बजेट विनियोजन गर्नुपर्ने पनि उनीहरुको माग छ ।

  • अन्नपूर्ण हिमालमा बेपत्ता पर्वतारोहीको जीवितै उद्धार

    अन्नपूर्ण हिमालमा बेपत्ता पर्वतारोहीको जीवितै उद्धार

    काठमाडौं । गत सोमबारदेखि अन्नपूर्ण हिमालमा बेपत्ता भएका भारतीय पर्वतारोही जीवितै फेला परेका छन् । ३४ वर्षीय अनुराग मालुलाई उद्धारकर्ताले जीवितै फेला पारेका हुन् । तर अवस्था गम्भीर रहेको बताइएको छ । हिन्दुस्तान टाइम्सका अनुसार राजस्थानको किसनगढ निवासी अनुराग मालु गत सोमबार अन्नपूर्णको ६ हजार मिटर उचाइमा लडेर बेपत्ता भएका थिए ।

  • यमनमा राहत वितरण स्थलमा भागदौड, कम्तिमा ७८ जनाको मृत्यु

    यमनमा राहत वितरण स्थलमा भागदौड, कम्तिमा ७८ जनाको मृत्यु

    काठमाडौं । यमनमा राहत वितरण भइरहेको स्थानमा भागदौड मच्चिँदा कम्तीमा ७८ जनाको मृत्यु भएको छ । राजधानी सानाको एउटा विद्यालयमा रमजानका अवसरमा रकम वितरण भइरहेको थियो । सोही बेला भागदौड मच्चिँदा कम्तीमा ७८ जनाको ज्यान गएको र सयौँ जना घाइते भएका बीबीसीले लेखेको छ ।

    सहरको बाब–अल–यमन क्षेत्रमा भएको यो घटनाको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ, जसमा मानिसहरू आतङ्कित भएर भागिरहेको देखिएको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार प्रतिव्यक्ति ९ डलर वितरण गर्ने समाचार थाहा पाएपछि सयौँ मानिस विद्यालयमा भेला भएका थिए ।

    पर्याप्त सुरक्षा र योजनाविना रकम सहयोग गरेको भन्दै सरकारले रकम वितरण गर्ने व्यक्तिलाई पक्राउ गरेको छ । सन् २०१५ मा देशको सरकार अपदस्थ भएदेखि नै साना सहर हुथी विद्रोहीको नियन्त्रणमा छ । पछिल्ला वर्षहरुमा हुथी विद्रोहीले सरकारलाई धपाएर देशको ठूलो भूभाग आफ्नो नियन्त्रणमा लिएका छन् ।

  • राष्ट्रपति पौडेललाई भारतीय प्रधानमन्त्री मोदीले गरे स्वास्थ्य लाभको कामना

    राष्ट्रपति पौडेललाई भारतीय प्रधानमन्त्री मोदीले गरे स्वास्थ्य लाभको कामना

    काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यलाभको कामना गर्दै शुभकामना व्यक्त गरेका छन् । मोदीले विदेशसचिव विनयमोहन क्वात्रामार्फत स्वास्थ्यलाभको कामना गर्दै अस्पतालमै फूलको गुच्छा पठाएका हुन् । राष्ट्रपति पौडेललाई थप उपचारका लागि बुधबार बिहान भारतको राजधानी नयाँ दिल्ली लगिएको थियो । उनलाई दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा उपचार गरिँदैछ । राष्ट्रपति पौडेललाई एम्सको भीआईपी आईसीयूमा राखेर उपचार सुरु गरिएको भारतीय दूतावासले जनाएको छ ।

    ‘राष्ट्रपति रामचन्द्र पौडेलज्यूलाई भारतीय प्रधानमन्त्री मोदीजीको तर्फबाट स्वास्थ्यलाभको कामना गर्दै फूलको गच्छा प्राप्त भएको छ । मोदीजीले विदेशसचिव विनयमोहन क्वात्रालाई स्वास्थ्यलाभको सन्देश पठाएका हुन्,’ राष्ट्रपतिका परराष्ट्र मामिला सल्लाहकार सुरेश चालिसेले कान्तिपुरसित भने । यसैबीच राष्ट्रपति पौडेलको स्वास्थ्य स्थिर रहेको र उनी चिकित्सकहरूको निगरानीमा रहेको भारतीय दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । पौडेलको उपचार बुधबार दिउँसोबाट सुरु गरिएको दूतावासले जानकारी दिएको छ ।

  • आज मातातीर्थ औशी, आमाको सम्मानमा मनाईंदै

    आज मातातीर्थ औशी, आमाको सम्मानमा मनाईंदै

    काठमाडौं । जन्मदिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर व्यक्त गरी आज मातातीर्थ औँसी मनाइँदैछ । प्रत्येक वर्षको वैशाख कृष्ण औँसीका दिन आमाप्रति श्रद्धाभाव प्रकट गर्ने यो पर्वलाईं आमाको मुख हेर्ने दिन वा आमा खुवाउने औंसी पनि भनिन्छ । पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य एवम् धर्मशास्त्रका जानकार डा। बासुदेवकृष्ण शास्त्रीका अनुसार यस दिन बिहान सबेरै स्नान गरी आमालाई उपहार प्रदान गर्ने, विभिन्न मिष्ठान्न खुवाइ आमाको मुख हेर्ने र आशिर्वाद लिने प्रचलन रहीआएको छ ।

    आमा नभएकाहरुले भने श्राद्ध गर्दै आमाको सम्झना गर्ने गर्छन् । हुन त आमालाई सम्मान गर्न कुनै विशेष दिन कुर्नु पर्दैन। तर, हाम्रो सांस्कृतिक परम्पराअनुसार आज नै आमाको मुख हेर्ने र सम्मान व्यक्त गर्ने विशेष दिन हो । ‘शास्त्रमा जन्म दिने आमा र जन्मभूमिलाई स्वर्गभन्दा पनि ठूला हुन् भनिएको छ, त्यसैले आमाप्रति श्रद्धाभाव व्यक्त गरिने यो पर्व आफैंमा निकै महत्वपूर्ण छ,’ डा। बासुदेवकृष्ण शास्त्रीले भने ।

    यसैबीच दिवंगत आमाको सम्झनामा श्राद्ध तथा दान गर्न वैशाख कृष्ण औंसीका दिन काठमाडौंको मातातीर्थमा मेला लागेको छ । काठमाडौँको चन्द्रागिरि नगरपालिकाले मातातीर्थ मेलाको अवसरमा आज सार्वजनिक बिदा दिएको छ । मेलामा सहभागी भई त्यहाँस्थित कुण्डमा दर्शन गरेमा आमा दिवंगत हुने छोराछोरीले आमालाई तिर्नुपर्ने ऋणबाट मुक्त हुने जनविश्वास रही आएको छ । आमा नहुने नरनारी मातातीर्थमा गई स्नान तथा हरिहर (विष्णु र शिव) को पूजा गर्छन् । आमा नभएकाहरुले सके प्रत्येक वर्ष, नसके एक पटक मातातीर्थ औंसीमा श्राद्ध गर्नुपर्ने मान्यतासमेत छ ।

    मातातीर्थमा मूर्तिकार रामकृष्ण भण्डारीले बनाएको सबैकी आमाको प्रतीक ‘साझा आमा’को मूर्ति स्थापना गरिएको छ । सो मूर्तिले मातातीर्थको आकर्षण झन् बढाएको छ । आजकै दिन भक्तपुरका नेवार समुदायले भक्तपुरको हनुमानघाटमा गई आमाको सम्झनामा श्राद्ध गरी तर्पण दिने प्रचलन छ । घरबाट टाढा रहेकाहरु आमाको मुख हेर्नका लागि घर पुग्ने तथा घर जान नपाएकाहरुले टेलिफोन गरेरै भए पनि आमालाई सम्झने गर्दछन् । हिजोआज सामाजिक सन्जालमा आमाको तस्वीर राखेर सम्मान भाव प्रकट गर्ने चलन बढेको छ ।

  • आज सूर्यग्रहण, तर, नेपालमा बार्नु नपर्ने

    आज सूर्यग्रहण, तर, नेपालमा बार्नु नपर्ने

    काठमाडौं । आज सूर्य ग्रहण लाग्दै छ । तर यो ग्रहण नेपालबाट नदेखिने भएकाले यसको दोष नलाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
    समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीले भनेका छन्, ‘वैशाख कृष्ण औंसीका दिन (वैशाख ७ गते) लाग्ने सूर्य ग्रहण नेपालबाट नदेखिने भएकाले यसको दोष नेपालीलाई लाग्दैन र बार्नु पनि पर्दैन ।’

    यस वर्ष वैशाख ७, असोज २७ र चैत २६ गते सूर्य ग्रहण लाग्दै छ । तर यी तीनै पटकका ग्रहण नेपालबाट नदेखिने प्राध्यापक अधिकारीले बताए । कात्तिक ११ गते लाग्ने चन्द्र ग्रहण भने नेपालबाट देखिन्छ । समितिका अनुसार वैशाख ७ गतेको सूर्य ग्रहण चीन, मंगोलिया लगायत देशबाट देखिन्छ ।

  • भारत बन्यो विश्वकै सबैभन्दा बढी जनसंख्या भएको देश

    भारत बन्यो विश्वकै सबैभन्दा बढी जनसंख्या भएको देश

    काठमाडौं । भारत विश्वकै सबैभन्दा बढी जनसंख्या भएको देश बनेको छ । युनाइटेड नेसन्स पोपुलेसन फन्ड (यूएनएफपीए) ले सार्वजनिक गरेको नयाँ तथ्यांक अनुसार चीनलाई पछि पार्दै भारत सबैभन्दा बढी जनसंख्या भएको देश बनेको हो । विश्वको जनसंख्या पछिल्लो दुई सय वर्षमा तीव्र रुपमा बढेको हो।

    यूएनएफपीएको ‘द स्टेट अफ वर्ल्ड पोपुलेसन रिपोर्ट २०२३’ अनुसार भारतको जनसंख्या १,४२८.६ मिलियन रहेको छ । जबकी चीनको जनसंख्या १,४२५.७ मिलियन रहेको रिपोर्टलाई उदृत गर्दै आईएएनएसले जनाएको छ ।

    यसका अर्थ भारतको जनसंख्या चीन भन्दा २.९ मिलियन बढी छ । सन् १९५० मा संयुक्त राष्ट्रसंघले जनसङ्ख्या तथ्यांक संकलन र जारी गर्न थालेपछि भारतको जनसंख्याले चीनलाई उछिनेको यो पहिलो पटक हो । गएको वर्ष चीनको जनसंख्या घट्न थाल्यो भने भारतको जनसंख्या बढेको छ । प्रतिवेदनअनुसार सरदर आयुमा भने भारतभन्दा चीन अगाडि छ ।

    चीनमा महिलाको सरदर आयु ८२ वर्ष तथा पुरुषको ७६ वर्ष छ भने भारतमा महिलाको सरदर आयु ७४ र पुरुषको ७१ वर्ष रहेको यूएनएफपीएलाई उद्धृत गर्दै समाचारसंस्था पीटीआइले जनाएको छ ।

    सन् १९८७ को जुलाई ११ का दिन विश्वको जनसंख्या ५ अर्ब पुगेको थियो । २ सय वर्षअघि विश्वको जनसंख्या १ अर्ब थियो र त्यो १ अर्ब जनसंख्या हुन लाखौं वर्ष लागेको थियो ।

    तर १ अर्बबाट ७ अर्ब पुग्न करिब २ सय वर्षमात्र लाग्यो । सन् २०११ मा विश्वको जनसंख्या ७ अर्ब पुगेको थियो । त्यसयताको ११ वर्षमा विश्वमा १ अर्ब जनसंख्या थपिँदै छ ।

    यूएनको वर्ल्ड पोपुलेसन प्रोस्पेक्ट्स २०२२ ले पनि सन् २०२३ मा भारतले जनसंख्याको हिसाबमा पछि पार्दै प्रक्षेपण गरेको थियो ।

    रिपोर्टका अनुसार १४ वर्षमूनीको जनसंख्या २५ प्रतिशत छ भने १० देखि १९ वर्ष समूहको जनसंख्या १८ प्रतिशत रहेको छ । १० देखि २४ सम्म २६ प्रतिशत, १५ देखि ६४ सम्म ६८ प्रतिशत तथा ६५ वर्षमाथि ७ प्रतिशत छ ।

  • बसले ठक्कर दिँदा मोटरसाइकलमा सवार एकै घरका तीनजनाको मृत्यु

    बसले ठक्कर दिँदा मोटरसाइकलमा सवार एकै घरका तीनजनाको मृत्यु

    काठमाडौं । महोत्तरीमा सवारी दुर्घटनामा परी एकै घरका तीनजनाको मृत्यु भएको छ ।

    बुधबार दिउँसो गौशाला नगरपालिका–१ रामनगरमा निर्माणाधीन रहेको रेल्वे ट्रयाकको २०० मिटर उत्तरपट्टि बा ३ ख २३९६ नम्बरको गाडीले मधेश प्रदेश- ०१-००४- ६८१९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा तीनजनाको मृत्यु भएको हो ।

    मृत्यु हुनेमा मोटरसाइकल चालक सिरहाको कल्याणपुर नगरपालिका-१० का २६ वर्षीय अमृत मण्डल, उनकी श्रीमती २४ वर्षीया अञ्जु मण्डल र भतिजी ६ वर्षीया अंशु मण्डल रहेको प्रहरीले जनाएको छ ।

    बस चालक फरार भएकाले उनको खोजी भइरहेको छ ।

  • नेपालमा थप १०८ जनामा कोरोना पुष्टी, ६६ जना संक्रमण मुक्त

    नेपालमा थप १०८ जनामा कोरोना पुष्टी, ६६ जना संक्रमण मुक्त

    काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १०८ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७७८ जनाको पीसीआर परीक्षण गर्दा ५५ जना र १६७२ जनाको एन्टिजेन परीक्षण गर्दा ५३ जनामा संक्रमण देखिएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १० लाख २ हजार ४०१ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा ६६ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ९ लाख ८९ हजार ९९० नेपालमा कोरोना मृत्यु हुनेको संख्या १२ हजार २५ पुगेको छ ।

    यस्तै कोरोनाको सक्रिय संक्रमितको संख्या ३८६ जना पुगेको छ ।

  • संवैधानिक परिषद्को बैठक निर्णयविहीन

    संवैधानिक परिषद्को बैठक निर्णयविहीन

    काठमाडौं । प्रधानन्यायाधीश नियुक्ति गर्न आज बसेको संवैधानिक परिषद्को बैठक बिनानिष्कर्ष टुंगिएको छ ।

    सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार बिहान बसेको बैठकले भावी प्रधानन्यायाधीशबारे छलफल गरे पनि सिफारिसको निर्णय गर्न सकेन।

    प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा सुरू भएको बैठकमा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपसभामुख इन्दिरा राना, उपप्रधानमन्त्री एवं रक्षा तथा कानून, न्याय र संसदीय मामिला मन्त्री पूर्णबहादुर खड्का र प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली सहभागी थिए।

    संवैधानिक परिषद्को बैठकमा एमाले अध्यक्ष ओलीको बहुमत छ। सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिना एमालेबाट उक्त पदमा निर्वाचित भएका हुन्।

    उपसभामुख राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाबाट निर्वाचित भएकी हुन्। ५ सदस्यीय संवैधानिक परिषद्मा प्रचण्ड एक्ला छन्।

  • राष्ट्रपति पौडेललाई थप उपचारका लागि एयर एम्बुलेन्सबाट भारत लगियो

    राष्ट्रपति पौडेललाई थप उपचारका लागि एयर एम्बुलेन्सबाट भारत लगियो

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि भारत लगिएको छ।

    स्वास्थ्यमा सुधार नभएपछि राष्ट्रपति पौडेललाई थप उपचारका लागि श्री एअरलाइन्सको एयर एम्बुलेन्सबाट भारत लगिएको हो ।

    राष्ट्रपति पौडेललाई उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र परराष्ट्रमन्त्री एनपी साउदले विमानस्थल पुगेर बिदाइ गरेका छन्।

    महाराजगन्जस्थित राष्ट्रपति भवन शीतल निवासमै बेहोस भए पछि उनी मंगलबार साँझ त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका थिए ।

    केही दिनअघि पनि पौडेल पेटमा समस्या देखिएपछि त्रिवि शिक्षण अस्पताल भर्ना भएका थिए ।

    राष्ट्रपति पौडेललाई छातीको संक्रमण देखिएको छ। लामो समय औषधि सेवन गर्दा पनि छातीको समस्यामा सुधार नदेखिएपछि चिकित्सकहरुले थप परीक्षण र उपचारका लागि भारत लैजान सुझाव दिएका हुन्।

  • आजबाट देशैभर भिटामिन ए खुवाउने अभियान

    आजबाट देशैभर भिटामिन ए खुवाउने अभियान

    काठमाडौं । सरकारले आजदेखि बालबालिकाका लागि राष्ट्रिय भिटामिन ‘ए’ अभियान कार्यक्रम सञ्चालन गर्दैैछ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज र भोलि दुई दिन देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउनका लागि राष्ट्रिय भिटामिन ‘ए’ अभियान सञ्चालन गर्न लागेको स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाका निर्देशक डा विवेककुमार लालले जानकारी दिए ।

    बालबालिकालाई नजिकैका महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकामार्फत भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन अभिभावकलाई उनले आग्रह गरे । भिटामिन ‘ए’ क्याप्सुल छ महिनादेखि ५९ महिनाका बालबालिकालाई तथा जुकाको औषधि एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई खुवाइने छ । प्रदेश र स्थानीय तहलाई राष्ट्रिय अभियान कार्यक्रम सफल बनाउन महाशाखाले परिपत्र जारी गरेको छ ।

    भिटामिन ‘ए’ करिब २७ लाख बालबालिका र जुकाको औषधि करिब २४ लाख बालबालिकालाई खुवाइने निर्देशक लालले बताए । सरकारले बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्न २०५० सालदेखि भिटामिन ‘ए’ क्याप्सुल र २०५६ सालदेखि जुकाको औषधि खुवाउन थालेको हो । सरकारले बालबालिकालाई वैशाख र कात्तिकमा गरी दुई पटक भिटामिन ‘ए’ र जुकाको औषधि निःशुल्क खुवाउने गरेको छ । रासस

  • बेइजिङमा अस्पतालमा भएको आगलागीमा कम्तिमा २१ जनाको मृत्यु

    बेइजिङमा अस्पतालमा भएको आगलागीमा कम्तिमा २१ जनाको मृत्यु

    काठमाडौं । चीनको राजधानी बेइजिङमा रहेको एक अस्पतालमा आगलागी हुँदा कम्तिमा २१ जनाको ज्यान गएको छ । बेइजिङको फेङ्ताई जिल्लामा रहेको चाङफेङ अस्पतालमा हिजो भएको आगलागीमा परेर उनीहरुको ज्यान गएको हो । आगलागी लगत्तै खटिएका अग्नि नियन्त्रकले झण्डै ४० मिनेट लगाएर आगो निभाएका थिए । आगो निभाउने क्रममा ७१ जना बिरामीलाई अस्पतालबाट बाहिर निकालिएको थियो । ज्यान गुमाउनेमध्ये कति जना बिरामी थिए खुलिसकेको छैन ।

    अस्पतालमा आगो लाग्नुको कारण पनि खुल्न सकेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको र पूर्ण विवरण आउन बाँकी नै रहेको फेङ्ताई जिल्लाको अग्नि तथा उद्धार विभागलाई उद्धृत गरी चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । यसअघि सन् २०१७ मा एउटा भवनमा भएको आगलागीबाट १९ जनाले ज्यान गुमाएका थिए । त्यसपछिका वर्षमा चीनमा भएको यो अर्को ठूलो आगलागीको घटना हो ।

  • जुनसुकै परिचयपत्रका आधारमा उपनिर्वाचनमा भाग लिन सकिने

    जुनसुकै परिचयपत्रका आधारमा उपनिर्वाचनमा भाग लिन सकिने

    काठमाडौं । आउँदो १० गते आइतबार हुने उपचुनावमा सरकारी परिचयपत्रका आधारमा पनि मतदान गर्न पाइने भएको छ । निर्वाचन आयोगले मतदाताको परिचयपत्र हराए वा नासिएको अवस्थामा सरकारी परिचय पत्रका आधारमा पनि मतदान गर्न पाइने व्यवस्था गरेको हो ।

    आयोगले मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, जग्गाधनी प्रमाण पुर्जा वा सवारी चालक अनुमतिपत्रको सक्कल प्रमाणका आधारमा अन्तिम मतदाता नामावली विवरणसँग भिडाइ यकिन गरी मतदान गर्न पाउने व्यवस्था मिलाउन सम्बन्धित निर्वाचन अधिकृतलाई निर्देशन दिएको छ ।

    मतदातालाई परिचयपत्र वितरण भएको भए पनि कतिपय मतदाताको परिचयपत्र हराएको–नासिएको अवस्था भए परिचयपत्रको आधारमा मतदान गर्न पाउने व्यवस्था मिलाइएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए । आउँदो १० गते बारा निर्वाचन क्षेत्र नं २, चितवन निर्वाचन क्षेत्र नं २ र तनहुँ निर्वाचन क्षेत्र नं १ मा हुने प्रतिनिधिसभा सदस्यका लागि उपचुनाव हुँदैछ ।

  • लामिछानेका सवारी चालकलाई थप उपचारार्थ काठमाडौं ल्याइयो

    लामिछानेका सवारी चालकलाई थप उपचारार्थ काठमाडौं ल्याइयो

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका निजी चालक दिलबहादुर थापालाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ। सोमबार बिहान घरको छतबाट खसेका थापालाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं ल्याइएको हो। लामिछानेले सामाजिक सञ्जालमा दिएको जानकारीअनुसार भरतपुरका चिकित्सकको सल्लाहमा उनलाई काठमाडौं ल्याइएको हो।

    ‘हाम्रो साथी, सहयोगी, भाइ शम्भुको कलेज अफ मेडिकल साइन्सेस् (पुरानो मेडिकल कलेज) भरतपुरमा अत्यन्त गम्भीर तथा नाजुक स्वास्थ्य स्थितिमा करिब ३६ घन्टासम्म सघन उपचार कक्षमा उपचार गरिएको र हाल उनको स्वास्थ्य स्थिति स्थिर तथा सुधारोन्मुख रहेको तथा बिरामीको स्वास्थ्य स्थितिलाई मध्यनजर गरी थप उपचारको लागि चिकित्सकज्यूहरू तथा हामी सबै आफन्तजनको सरसल्लाहमा हेलिकप्टरबाट एयरलिफ्ट गरी काठमाडौंको नेपाल मेडिसिटी अस्पतालमा पठाइएको छ,’ लामिछानेले लेखेका छन्।

    सोमबार बिहान ४ बजेतिर भरतपुर-११ स्थित लामिछानेको घरको छतबाट खसेका थापालाई पुरानो मेडिकल कलेज भरतपुरमा भर्ना गरिएको थियो। तीन तलामाथिबाट खसेका थापाको घाँटीको हड्डी भाँचिएको छ। उनी अहिले पनि अचेत छन्। प्रहरीले यस विषयमा विभिन्न व्यक्तिहरूसँग सोधपुछ पनि गरिरहेको छ। प्रहरीले दुई जना ड्राइभर सुतेको कोठामा रक्सीका बोतल पनि फेला पारेको छ।

  • राष्ट्रपति फेरी अस्वस्थ, त्रिविमा भर्ना

    राष्ट्रपति फेरी अस्वस्थ, त्रिविमा भर्ना

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा समस्या देखिएपछि पुन: त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरेर उपचार थालिएको छ । राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था असहज भएकाले अस्पतालमा भर्ना गरिएको शिक्षण अस्पतालका प्रशासन प्रमुख बैकुण्ठप्रसाद थपलियाले जानकारी दिएका छन् । उनका अनुसार चिकित्सकहरूले उपचार जारी राखेका छन् ।

    राष्ट्रपति पौडेलको छातीको तल्लो भागमा संक्रमण देखिएको छ । उनी सोमबार पनि त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य परीक्षण गराउन गएका थिए । त्यसबेला अल्ट्रासाउण्डको सहायताले पानी निकालेर परीक्षण गरिएको थियो । विशेषज्ञ चिकित्सका अनुसार छातीको तल्लो भागमा पानी देखिनुले निमोनिया, टिबी तथा क्यान्सर हुनसक्ने संकेत गर्छ ।

    तर सोमबार राष्ट्रपति पौडेलको छातीको तल्लो भागबाट निकालिएको पानी परीक्षणको रिपोर्ट के आयो भन्ने खुलाइएको छैन । पेटमा समस्या देखिएपछि राष्ट्रपति पौडेल १८ चैतमा पनि पाँच दिन त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका थिए ।

  • प्रधानमन्त्री प्रचण्ड आज गोरखा र तनहुँ जाने

    प्रधानमन्त्री प्रचण्ड आज गोरखा र तनहुँ जाने

    काठमडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज गोरखा र तनहुँ जिल्ला जाँदै छन् । उनी बिहान नौ बजे त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् । प्रतिनिधि सभामा गोरखाबाट निर्वाचित प्रचण्ड त्यहाँका विभिन्न कार्यक्रममा सहभागी हुने र त्यसपछि तनहुँ जाने कार्यक्रम छ ।

    तनहुँमा उपनिर्वाचनका कार्यक्रम लगायतमा उनी सहभागी हुनेछन् । तनहुँको डुम्रे बजारमा आज दिउँसो चुनावी सभा आयोजना गरिएको छ । सो सभालाई सत्ता गठबन्धनका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ । उनी आज नै काठमाडौं फर्किने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

  • सरकारले खुलायो जग्गाको कित्ताकाट

    सरकारले खुलायो जग्गाको कित्ताकाट

    काठमाडौं । सरकारले जग्गाको कित्ताकाट खुला गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले भूउपयोग नियमावली २०७९ लाई संशोधन गर्दै कित्ताकाट खुला गरेको सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

    ‘भूउपयोग पहिलो संशोधन नियमावली २०७९ स्वीकृति गर्ने निर्णय भएको छ । नियमावली नबनेको कारण घरजग्गा कारोबारमा कित्ताकाट तथा अंशबण्डा रोकिएको थियो । त्यसलाई सहज बनाउनको लागि मन्त्रिपरिषद्ले भू-उपयोग पहिलो संशोधन नियमावली २०७९ स्वीकृति गर्ने निर्णय गरेको छ’ उनले भनिन् ।

    यसअघि गत हप्ता पोखराका व्यवसायीसँगको कुराकानीमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले घरजग्गामा पैसा फसेको र भूउपयोग नियमावलीका कारण जग्गा कित्ताकाट रोकिएकाले खोल्ने तयारी भइरहेको बताएका थिए ।

  • पूर्वगृहमन्त्री रवि लामिछानको निर्णय सरकारले गर्यो खारेज

    पूर्वगृहमन्त्री रवि लामिछानको निर्णय सरकारले गर्यो खारेज

    काठमाडौं । सरकारले राष्ट्रिय परिचयपत्रको व्यक्तिगत विवरण निजी कम्पनीले रुजु गर्न पाउने गरी तत्कालिन गृहमन्त्री रवि लामिछानेले स्वीकृत गरेको कार्यविधि खारेज गरेको छ । नागरिककको विवरण प्रमाणीकरण एवं अन्तर प्रणाली आवद्धतासम्बन्धी कार्यविधि २०७९ लाई मंगलबार बसेको मन्त्रिपरिषद बैठकले खारेज गरेको सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

    ‘राष्ट्रिय परिचयपत्रसम्बन्धी व्यवस्थापन सूचना प्रणालीमार्फत सुरक्षित तवरले नागरिकको विवरण प्रमाणीकरण तथा अन्तर आवद्धता सम्बन्धि बनेको कार्यविधिमा व्यक्तिगत डेटा र राज्यको सुरक्षाका कुराहरु निजी कम्पनीलाई दिने भन्ने गृहमन्त्रालयले कार्यविधि पास भएको रहेछ ।

    त्यो कार्यविधिलाई खारेज गर्ने निर्णय भएको छ’ उनले भनिन्, ‘कार्यविधि कसरी बनेर पास भयो भन्ने विषयमा छानबिन गर्न समिति गठन गर्ने निर्णय भएको छ ।’ उक्त कार्यविधि अनुसार गृह मन्त्रालयले ७ दिने बोलपत्र आह्वान गरी राष्ट्रिय परिचयपत्रमा भएका व्यक्तिगत विवरण रुजु गर्ने जिम्मा निजी कम्पनीलाई दिएको थियो ।


    ११ पुसमा उपप्रधानमन्त्री तथा गृहमन्त्रीको शपथ लिएका लामिछानेले १३ पुसमा मन्त्रीस्तरीय निर्णयबाट उक्त कार्यविधि स्वीकृत गरेका थिए ।सरकारले राष्ट्रिय परिचयपत्रको व्यक्तिगत विवरण निजी कम्पनीले रुजु गर्न पाउने गरी तत्कालिन गृहमन्त्री रवि लामिछानेले स्वीकृत गरेको कार्यविधि खारेज गरेको छ ।

    नागरिककको विवरण प्रमाणीकरण एवं अन्तर प्रणाली आवद्धतासम्बन्धी कार्यविधि २०७९ लाई मंगलबार बसेको मन्त्रिपरिषद बैठकले खारेज गरेको सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

  • नेपालमा थप १७१ जनामा कोरोना पुष्टी, दुई जनाको मृत्यु

    नेपालमा थप १७१ जनामा कोरोना पुष्टी, दुई जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १७१ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९८० जनाको पीसीआर परीक्षण गर्दा १०५ जना र १३१२ जनाको एन्टिजेन परीक्षण गर्दा ६६ जनामा संक्रमण देखिएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १० लाख २ हजार ३४६ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा ८५ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ९ लाख ८९ हजार ९२४ पुगेको छ ।

    पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या २ रहेको छ । नेपालमा कोरोना मृत्यु हुनेको संख्या १२ हजार २५ पुगेको छ ।

    यस्तै कोरोनाको सक्रिय संक्रमितको संख्या ३९७ जना पुगेको छ ।