Category: समाचार

  • स्याङ्जामा जीप दुर्घटना, १३ जनाको मृत्यु

    स्याङ्जामा जीप दुर्घटना, १३ जनाको मृत्यु

    स्याङ्जा । स्याङ्जाको वालिङमा जीप दुर्घटनामा परी १३ जनाको ज्यान गएको छ । वालिङ नगरपालिका १३ को अर्खलाबासमा जीप दुर्घटनामा परेको छ । ग २ च ३०२६ नम्बरको जीप दुर्घटनामा परेको १३ जनाको मृत्यु भएको स्याङ्जाका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेललाई उदृत गर्दै संचारमाध्यमले जनाएका छन् । मतदाता बोकेर मतदान केन्द्रतिर जादैँ गरेको जिप दुर्घटनामा परेको हो । घटनामा ११ जना घाइते भएका छन् । जीप सडकबाट ५०० मिटर चल खसेको छ ।

  • शीर्ष नेतामध्ये कसले कहाँबाट गरे मतदान ?

    शीर्ष नेतामध्ये कसले कहाँबाट गरे मतदान ?

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गरेका छन्। कांग्रेस सभापतिसमेत रहेका देउवाले गृहजिल्ला डडेल्धुराको गन्यापधुरा गाउँपालिकाको रूवाखोलास्थित असिग्राम मावि मतदान केन्द्र ‘ख’ बाट मतदान गरेका हुन्। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भरतपुर महानगरपालिका–१४ स्थित नेपाल पुलिस स्कुल शान्तिपुरबाट मतदान गरेका छन्। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनमा भक्तपुरबाट मतदान गरेका छन् । उनले बालकोटमा रहेको महेन्द्र शान्ति मावि मतदान केन्द्रबाट मतदान गरेका हुन् ।
    काठमाडौं महानगरपालिकाका मेयर उम्मेदवार बालेन शाहले ज्योतिष शास्त्र अनुसार साइत हेरेर भोट हालेका छन् । उनले हेरेको साइत अनुसार ११ बजेर ३ मिनेटमा भोट खसाएको बताए ।
    भरतपुरको मेयरको उम्मेदवार रेणु दाहालले पनि पुलिस स्कुलबाट मतदान गरेकी छन्। नेपाली कांग्रेसका तर्फबाट काठमाडौं महानगरपालिकाकी मेयर उम्मेदवार सिर्जना सिंहले युवक मावि पक्नाजोलमा रहेको मतदान केन्द्र पुगेर मतदान गरेकी छन् । सिर्जनासँगै पुगेका उनका श्रीमान तथा कांग्रेस नेता प्रकाशमान सिंहले पनि मतदान गरेका छन्। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले झापाको मेचीनगर नगरपालिका–९ को कवि शिरोमणि मतदान केन्द्रमा मतदान गरेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले मतदान गरेका छन्। झापाको हल्दीबारी गाउँपालिकाको कार्यालय केन्द्रबाबाट उनले मतदान गरेका हुन्।

    राप्रपा नेपाल पार्टीका अध्यक्ष कमल थापाले हेटौंडा आएर मतदान गरेका छन्। उनले हेटौंडा उपमहानगरपालिका–६ मा रहेको वंश गोपाल माविमा रहेको मतदान स्थलबाट मतदान गरेका हुन् । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले मतदान गरेका छन्। आज बिहान गोरखाको सिरानचोक गाउॅंपालिकाको जौबारीस्थित परोपकार आदर्श माविमा पुगेर श्रेष्ठले मतदान गरेका हुन्। नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले स्थानीय तह निर्वाचन सदस्य निर्वाचनमा मतदान गरेका छन्। इलामको सूर्योदय नगरपालिका– ९ स्थित रमफोकस्थित राष्ट्रिय आधारभूत विद्यालय मतदान केन्द्रबाट मतदान गरेका हुन्।

  • मतदानका दौरान देशका विभिन्न स्थानमा तनाव, कहाँ कस्तो छ अवस्था ?

    मतदानका दौरान देशका विभिन्न स्थानमा तनाव, कहाँ कस्तो छ अवस्था ?

    काठमाडौं । स्थानीय तहको निर्वाचनका दौरान देशभर मतदान जारी छ । तर, केही स्थानमा भने तनाव भइरहेको छ । बाराको सिम्रौनगढ नगरपालिका-२ बैरिया मतदान केन्द्रमा दुई समूहबीच झडप भएको छ । झड़पका कारण सो मतदान केन्द्रको मतदान अहिले रोकिएको छ । नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) समर्थकबीच झडप भएको हो । मत हाल्न आएका मतदाताहरुलाई आफ्नो पक्षमा मतहाल्न प्रेरित गरेको विषयमा दुई पक्षबीच झडप भएको हो । रुकुम (पूर्व)को पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर २ पेल्मामा अझै मतदान सुरु हुन सकेको छैन । काभ्रेको चौंरीदेउराली गाउँपालिकास्थित एक मतदान केन्द्रमा तनावको स्थिति सिर्जना भएको छ । एक जनाको भोट परिवारभित्रकै अर्को व्यक्तिले हालेपछि विवाद सुरु भएको बताइएको छ । रामेछापको सुनापति र खाडाँदेवी गाउँपालिकाको मतदान केन्द्रमा झडप भएपछि स्थितिलाई नियन्त्रणमा लिन हवाई फायर गरिएको छ । सुनापतिको वडा नं. २ मा मतदान केन्द्र बाहिर एउटा पक्षले अर्को पक्षकालाई कुटपिट गरेपछितनाव सुरु भएको थियो । त्यसक्रममा स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको हो । मेलम्ची नगरपालिकाको ज्यामिरेमा रहेको स्वास्थ्य चौकीको बुथमा ठेलमठेल भएपछि नेपाली सेनाले स्थिति नियन्त्रणमा लिएको थियो । नेपाली सेनाले हतियार तेर्स्याएको तस्वीरमा देखिएको छ । दैलेखको ठाटीकाँध गाउँपालिकाको एक केन्द्रमा मतदानका क्रममा झडप भएको छ । ठाटीकाँध गाउँपालिका(६ को मालिका माध्यामिक विद्यालयको केन्द्रमा दुई पक्षबीच झप भएको हो । इच्छाइएका व्यक्तिको विषयमा विवाद हुँदा एमाले र नेपाल मजदुर किसान पार्टीका कार्यकर्ताबीच झडप भएको हो ।

  • अत्यावश्यक र पास लिएका बाहेक देशभर सवारी साधन चलाउन पूर्ण निषेध

    अत्यावश्यक र पास लिएका बाहेक देशभर सवारी साधन चलाउन पूर्ण निषेध

    काठमाडौं । स्थानीय तहको निर्वाचन शुरु भएको छ । तर, देशभर मतदाता तोकिएको स्थानमा पैदल नै हिड्नु पर्ने भएको छ । प्रहरीका अनुसार शुक्रबार बिहान ६ बजेबाट पूर्णरुपमा सवारीसाधन सञ्चालनमा निषेध गरिएको छ । निर्वाचनमा आचारसंहिता उल्लंघन र अन्य कुनै अप्रिय घटना नहुन् भनी सवारीसाधनमार्फत मानिसहरुको आवतजावत रोकिएको हो । यस अवधिमा अत्यावश्यक सवारी साधन चलाउन चाइने छ ।

    बेलुकी मतदान सकिएपछि मात्रै सवारीसाधन चलाउन पाइने छ । एकठाउँमा मत हालेको व्यक्ति अर्को ठाउँमा गएर भिड जम्मा गर्न समेत पाइने छैन । संचारमाध्यमले सूचना विभागको पासका आधारमा सवारी चलाउन पाउने छन् । अन्य सवारीको हकमा भने पास लिएको हुनुपर्छ । तर एम्बुलेन्ससहितका अत्यावश्यक सवारी निर्वाध चल्ने छन् ।

  • देशभर एकैपटक शुरु भयो मतदान

    देशभर एकैपटक शुरु भयो मतदान

    काठमाडौं । स्थानीय तह निर्वाचनका लागि देशभर एकै पटक मतदान शुरु भएको छ । हरेक ५÷५ वर्षमा स्थानीय तहको सरकार संचालनका लागि आफ्नो जनप्रतिनिधि चुन्न जनताले आज मतदान गर्नेछन् । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया मतदानका लागि बिहान ६ः५५ मा मध्यपुर ठिमीको वडा नं १ लोकन्थली उपस्वास्थ्य चौकीमा बनाइएको मतदान केन्द्रमा पुगेका छन् ।

    निर्वाचन आयोगका अनुसार आयुक्तहरुसमेत आफ्नो मतदाता नामावली रहेको क्षेत्रमा पुगेर मतदान गर्दैछन् । मतदान साँझ ५ बजेसम्म चल्ने छ । देशभर सुरक्षा प्रवन्ध चुस्त बनाइएका कारण निर्धक्क भएर मतदान गर्न आयोगले आह्वान गरेको छ ।

  • पौने दुई करोड मतदाताको हातमा डेढ लाख उम्मेदवारको भविश्य, आज मतदान

    पौने दुई करोड मतदाताको हातमा डेढ लाख उम्मेदवारको भविश्य, आज मतदान

    काठमाडौं । स्थानीय तहको ऐतिहासिक दोस्रो निर्वाचन आज देशभर एकै चरणमा हुँदैछ । निर्वाचन आयोगका अनुसार बिहान ७ बजे शुरु भएको निर्वाचनमा मतदान गर्ने काम साँझ ७ बजे सम्पन्न हुने छ । त्यसपछि मतपत्र संकलनको काम शुरु गरिने छ । कतिपय स्थानमा शुक्रबार साँझबाटै मतगणना शुरु हुने भएको छ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउन आयोगले आवश्यक तयारी गरेको र निर्धक्कसँग निर्वाचनमा भाग लिन आह्वान गरेको छ ।

    निर्वाचनमा विभिन्न राजनीतिक दलका ३५५ जना विभिन्न पदाधिकारी निर्विरोध निर्वाचित भइसकेका छन् । वडाध्यक्षसहित ३५ जना स्वतन्त्र सदस्य निर्विरोध निर्वाचित भएका छन्। निर्वाचनमा १० हजार ७५६ मतदानस्थलका २१ हजार ९५५ मतदान केन्द्रबाट एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाताले जम्मा ३५ हजार २२१ जनामध्ये निर्विरोध निर्वाचित भएकाबाहेकका पदमा प्रतिनिधि छनोट गर्ने भएका छन् ।

    मतदान केन्द्रमा आवश्यक हुने निर्वाचन सामग्रीसहित एक लाख नौ हजार ८८ जना कर्मचारी र ६५ हजार ८६५ जना स्वयंसेवक खटिएका छन् । स्थानीय तह निर्वाचनमा भाग लिने भनी दर्ता भएका ७९ वटा राजनीतिक दलमध्ये जम्मा ६५ वटा राजनीतिक दल चुनावी प्रतिस्पर्धामा छन्। पचपन्न हजार ६९८ जना महिला र ८९ हजार ३१३ जना पुरुष गरी विभिन्न राजनीतिक दल र स्वतन्त्र उम्मेदवारसमेत जम्मा एक लाख ४५ हजार ११ जना चुनावी प्रतिस्पर्धामा छन्।

  • बालिग मताधिकार हाम्रो संवैधानिक अधिकार हो : प्रधानमन्त्री

    बालिग मताधिकार हाम्रो संवैधानिक अधिकार हो : प्रधानमन्त्री

    धनगढी । प्रधानमन्त्री शेरबहादुर देउवाले बालिग मताधिकार संवैधानिक अधिकार भएको भन्दै निर्धक्कसँग निर्वाचनमा सहभागी हुने आम मतदातासँग आह्वान गरेका छन् । शुक्रबार हुन गइरहेको स्थानीय तह निर्वाचनमा निर्धक्कसँग मतदान गरी आफ्नो मताधिकारको प्रयोग गर्न उनले देशबासीमा अपील गरेका हुन् । प्रधानमन्त्री देउवा मतदानका लागि डडेलधुरामा जानेछन् । उनले बिहीबार धनगढीमा सञ्चारकर्मीहरुसँग बोल्दै यस्तो आह्वान गरेका हुन् ।

    निर्वाचन लोकतन्त्रको आधारस्तम्भ भएको भन्दै उनले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सरकारले सम्पूर्ण व्यवस्थापनलाई चुस्त दुरुस्त बनाएको समेत बताए । स्थानीय तहदेखि नै लोकतान्त्रिक अभ्यासमा सहभागी भई लोकतान्त्रिक शासन पद्धतीको संस्थागत विकासमा योगदान पुर्याउन प्रधानमन्त्री देउवाले सबैमा आह्वान गरेका छन् ।

  • निर्वाचन लोकतन्त्रको सबैभन्दा ठूलो उत्सव हो : राष्ट्रपति

    निर्वाचन लोकतन्त्रको सबैभन्दा ठूलो उत्सव हो : राष्ट्रपति

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले निर्वाचन लोकतन्त्रको सबैभन्दा ठूलो उत्सव भएको बताएकी छिन् । स्थानीय तह निर्वाचनको पूर्वसन्ध्यामा भिडियो सन्देश जारी गर्दै राष्ट्रपतिबाट यस्तो आह्वान गरिएको हो । उनले निर्धक्क भएर मताधिकारको प्रयोग गर्न सबै मतदातामा आह्वान समेत गरेकी छिन् । शुक्रवार हुन गइरहेको पालिका चुनावका सम्बन्धमा राष्ट्रपतिले स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणको निर्माण गर्नु सबैको दायित्व भएको उल्लेख गरेकी छिन् ।

  • निर्वाचन आयोगको आह्वान : लोभ र प्रलोभनमा नपरी भोट हालौं

    निर्वाचन आयोगको आह्वान : लोभ र प्रलोभनमा नपरी भोट हालौं

    काठमाडौं । निर्वाचन आयोगले लोभ, लालच र प्रलोभनमा नपरी मताधिकार प्रयोग गर्न आम मतदातामा आह्वान गरेको छ । बिहीबार बसेको आयोगको आकस्मिक पत्रकार सम्मेलनमा प्रमुख आयुक्त दिनेशकुमार थपलियाले लोभ, लालच र प्रलोभनमा नपरी मताधिकारको प्रयोग गर्न आम मतदाताहरूलाई आग्रह गरे । उनका अनुसार वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको सबै तयारी पुरा भएको छ ।

    प्रमुख आयुक्त थपलियाले निर्वाचनका लागि शान्ति सुरक्षाको सबै प्रबन्ध मिलाई सकिएको र मतपेटिकाको सुरक्षा र सकिएपछि सबै मतपेटिका लैजाने काममा पनि सुरक्षित तवरबाट गरिने व्यवस्था मिलाएको जानकारी समेत दिए । प्रमुख आयुक्त थपलियाले पद, पैसा र पहुँचबाट प्रभावित नभई निष्ठा, विचार र सिद्धान्तबाट निर्देशित भई कसैको लोभ, लालच, प्रलोभन, आश्वासन वा अन्य कुनै प्रभावमा नपरी आफ्नो विवेकको सही तरिकाले प्रयोग गर्न मतदातासँग आह्वान गरेका हुन् ।

    निर्वाचनको सबै तयारी पूरा भइसकेको भन्दै शान्ति सुरक्षाको पूर्ण प्रत्याभूति हुनेगरी सुरक्षा व्यवस्था मिलाइएको उनले जानकारी गराए । आयोगबाट प्रकाशित अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले नागरिकताको प्रमाणपत्र, मतदाता परिचयपत्र, राहदानी, राष्ट्रिय परिचयपत्र, राहदानी अथवा जग्गाधनी प्रमाणपूर्जाको सक्कली प्रमाणपत्रमध्ये कुनै एकको माध्यमबाट भोट हाल्न पाउने व्यवस्था गरिएको समेत उनले जानकारी दिए ।

  • दाङमा नुहाउने क्रममा दुई जनाको मृत्यु, एक जना वेपत्ता

    दाङमा नुहाउने क्रममा दुई जनाको मृत्यु, एक जना वेपत्ता

    दाङ । दाङमा नुहाउने क्रममा डुबेर दुई जनाको मृत्यु भएको छ । एक जना बेपत्ता भएका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्याललाई उदृत गर्दै संचारमाध्यमले जनाए अनुसार दाङको बबई नदीमा डुबेर तुलसीपुर उपमहानगरपालिका ६ हात्तीखौवाका १५ वर्षीय गौरव सुवेदीको मृत्यु भएको छ । बिहीबार दिउँसो पौउने २ बजेतिर दंगीशरण ४ बैबाङस्थित बबई नदीमा पौडी खेल्न पुगेका सुवेदी डुबेको अवस्थामा मृत फेला परेका थिए । उनको शवलाई पोष्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको छ ।

    बिहीबार नै घोराही उपमहानगरपालिका १७ स्थित ढिकपुरमा रहेको कृत्रिम जलाशयमा नुहाउने क्रममा डुबेर स्थानीय ३० वर्षीया विमला घर्तीमगरको मृत्यु भएको छ । बिहीबार बिहान जलाशयमा नुहाउन गएको बेला उनी चिप्लिएर डुबेकी थिइन् । उनको शवको पोष्टमार्टमका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा राखिएको दाङका प्रहरी प्रवत्ता मुकुन्द रिजालले जानकारी दिएका छन् ।

    बवई नदीमा पौडी खेल्ने क्रममा डुबेर एक जना किशोर बेपत्ता भएका छन् । बिहीबार दिउँसो १ बजेतिर बबईमा नुहाउन गएको समयमा घोराही उपमहानगरपालिका १० नारायणपुरका १६ वर्षीय प्रसान्त वली बेपत्ता भएको समाचारमा उल्लेख छ ।

  • निर्वाचनको तयारी पूरा, २१ हजार ९०० मतदान केन्द्रबाट भोट हालिने

    निर्वाचनको तयारी पूरा, २१ हजार ९०० मतदान केन्द्रबाट भोट हालिने

    काठमाडौं । शुक्रबार हुने स्थानीय तहको निर्वाचनको तयारी पूरा भएको छ । निर्वाचन आयोगले यस्तो जानकारी गराएको हो । आयोगमा बिहीवार पत्रकार सम्मेलन गर्दै आयोगले देशभर २१ हजार ९०० मतदान केन्द्रबाट भोट हालिने आयोगका सह–प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए ।  देशभरका सबै मतदान केन्द्र र स्थलमा मतदानका लागि तयारी पूरा भएको उनको भनाइ छ । चुनावलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउन आयोग प्रतिबद्ध रहेअनुसारका तयारी पूरा भएको उहाँले जानकारी दिए ।

    यस्तै २७ गते राति १२ बजेदेखि लागू भएको मौन अवधि पालना भए/नभएको अनुगमन भइरहेको र पालना नगर्नेलाई सचेत गराउने काम भइरहेको सहप्रवक्ता अर्यालले बताए । आचारसंहिता लागू भएयता ६६ वटा स्पष्टीकरण सोधिएको, नौ वटा सचेत र एउटा ध्यानाकर्षणको निर्णय भएको आयोगले जनाएको छ । 

    देशभरका १० हजार सात सय ५६ मतदानस्थलमा रहेका २१ हजार नाै सय मतदान केन्द्रमा भाेलि बिहान ७ बजेदेखि मतदान कार्य सुरु हुनेछ । मतदान कार्य बेलुकी ५ बजेसम्म जारी रहनेछ ।

    चुनावबाट सात सय ५३ पालिकाका प्रमुख/उपप्रमख, अध्यक्ष/उपाध्यक्ष, वडाध्यक्ष, दलित महिला सदस्य, महिला सदस्य र खुला वडा सदस्य गरी ३५ हजार दुई सय २१ जना निर्वाचित हुनेछन् । 

  • काठमाडौं महानगरमा उम्मेदवारमध्ये कसले कहाँबाट हाल्ने छन् मत ?

    काठमाडौं महानगरमा उम्मेदवारमध्ये कसले कहाँबाट हाल्ने छन् मत ?


    काठमाडौं । काठमाडौँ महानगरपालिकाको प्रमुख पदको उम्मेदवारी दिएका उम्मेदवारहरुले काठमाडौंका विभिन्न मतदान केन्द्रमा भोट हाल्दैछन । गठबन्धनकि सिर्जना सिंहले वडा नम्बर १६ बाट भोट दिने भएकि छिन । केशव स्थापितले वडा नम्बर २८ बाट मतदान गर्ने भएका छन्।

    सत्ता गठबन्धनको तर्फबाट कामपाको प्रमुखको लागि उम्मेदवारी दिएको सिंहले कामपाको वडा नम्बर १६ स्थित युवक माविबाट मतदान गर्ने कार्यक्रम छ ।

    नेपाल कम्युनिष्ट पार्टी (एमाले) को तर्फबाट प्रमुख पदको उम्मेदवारी दिएका स्थापितले वडा नम्बर २८ स्थित पद्यकन्या क्याम्पस केन्द्रबाट मतदान गर्ने  जनाइएको छ ।

    विवेकशील साझाबाट कामपाको प्रमुखको उम्मेदवारी दिएकी समीक्षा बाँस्कोटाले कामपा वडा -३१ स्थित भ्याली भ्यू मतदान केन्द्र र स्वतन्त्रबाट प्रमुखकै उम्मेदवारी दिएका बालेन्द्र साह (वालेन)ले वडा नम्बर ९ मा रहेको तीनकुने गैरीगाउँस्थित अन्नपूर्ण केन्द्रबाट मतदान गर्ने छन् ।

  • पूर्वसांसदसहित काङ्ग्रेसले पाँच जनालाई निलम्बन गर्यो

    पूर्वसांसदसहित काङ्ग्रेसले पाँच जनालाई निलम्बन गर्यो

    काठमाडौं । स्थानीय तह निर्वाचनमा पार्टीको विधान र अनुशासनविपरीत काम गरेको भन्दै नेपाली कांग्रेसले चितवन घर भएका पूर्वसांसद भीमबहादुर श्रेष्ठसहित थप पाँच जनालाई निलम्बन गरेको छ ।

    कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलका अनुसार भरतपुर महानगरपालिका-१ घर भएका पूर्वसांसद श्रेष्ठसहित भरतपुर-४ का नेपाल तरुण दलका पूर्व केन्द्रीय सदस्य शम्भुप्रसाद अर्याल, भरतपुर-१६ का क्षेत्रीय प्रतिनिधि सूर्य बस्नेत, भरतपुर-२ का तरुण दलका पूर्व जिल्ला सचिव आनन्दराज राउत र भरतपुर-८ का क्रियाशील सदस्य डा. केशव पौडेललाई पार्टी सदस्यबाट निलम्बन गरिएको हो । पार्टीले गठबन्धन गरेपनि नमान्ने कार्यक्रतामाथि पार्टीले कारवाही गरेको हो ।

  • मतदान गर्न जाँदा रक्सी खान नपाइने, तस्वीर खिचे कारवाही

    मतदान गर्न जाँदा रक्सी खान नपाइने, तस्वीर खिचे कारवाही

    काठमाडौं । जाँडरक्सी खाएर मतदानस्थलमा जान नपाइने भएको छ । मतदान गर्ने व्यक्तिले जाँडरक्सी खाएको भए मतदान अधिकृतले मतदान केन्द्रमा प्रवेश गर्न दिने छैनन् । चुनावको निर्देशिकामा आयोगले जाँडरक्सी खाएकालाई मतदाता भए पनि प्रवेश नदिन निर्वाचन अधिकृतलाई निर्देशन दिएको छ ।

    मतदान केन्द्रभित्र मोबाइल, क्यामेरा तथा फोटो खिच्ने सामग्री, सलाइ, लाइटर, कुनै प्रकारको हातहतियारलगायतका वस्तु लैजान पाइने छैन । आयोगले यस्ता कार्य गरेको भेटिएमा कानुन बमोजिम कारबाही हुने सूचना जारी गरेको छ ।

  • दोहाबाट कुवेत ट्रान्जिट गरी सिधै भैरहवा आउन सक्ने भए यात्रु

    दोहाबाट कुवेत ट्रान्जिट गरी सिधै भैरहवा आउन सक्ने भए यात्रु

    काठमाडौं । यूरोप-अमेरिकाबाट कतारको दोहा झरेका वा दोहामै रहेका यात्रु समेत अब कुवेत ट्रान्जिट गरी भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आउन पाउने भएका छन् । जजिरा एयरवेजले जहाज दोहा–कुवेत–भैरहवा रुटमा उडाउने गरि तालिका सार्वजनिक गरेको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो उडान २ जेठमा हुने छ ।

    नियमित उडान भने २९ जेठबाट शुरु हुनेछ । २९ जेठबाट आइतबार, मंगलबार र बिहीबार यो जहाज भैरहवा आउने छ । जजिरा एयरवेजले अहिले काठमाडौंमा दैनिक एक उडान गरिरहेको छ । जजिराले सार्वजनिक गरेको तालिका अनुसार भैरहवाका लागि उड्ने जहाज कतारको दोहाबाट कुवेत जानेछ । दोहामा साढे १ घण्टाको ट्रान्जिट हुने छ । त्यसपछि जहाज भैरहवाका लागि उड्ने छ । अर्थातः कतारबाट सिधै भैरहवा आउन चाहने यात्रुले समेत यस उडानमा सेवा लिन सक्ने भएका छन् ।

  • कुन-कुन कागजातका आधारमा हाल्न पाइन्छ भोट ?

    कुन-कुन कागजातका आधारमा हाल्न पाइन्छ भोट ?

    काठमाडौं । मतदाता नामावलीमा नाम भएका सबैले कुनै पनि आधिकारिक प्रमाणपत्रको आधारमा मतदान दिन पाउने भएका छन्। निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलले बुधबार एक विज्ञप्ति जारी गर्दै परिचय खुल्ने कागजातबाट मतदान गर्न पाउने जनाएको हो। आयोगले शुक्रबार हुने स्थानीय तह निर्वाचनको लागि बिहीबार पनि मतदान केन्द्रहरूबाटै परिचय पत्र दिँदैछ।

    यस्तै, परिचय पत्र नभएका तर मतदाता नामावलीमा नाम भएका व्यक्तिहरूले नेपाली नागरिकता, राष्ट्रिय परिचयपत्र, राहदानी, जग्गाधनी प्रमाणपुर्जाको सक्कल प्रमाणका आधारमा अन्तिम नामावली विवरणसँग भिडाइ यकिन गरेर मतदान गर्न सकिने जनाएको हो।

    ‘आयोगबाट प्रकाशित अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले आयोगबाट जारी भएको मतदाता परिचयपत्र वा नेपाली नागरिकता वा राष्ट्रिय परिचयपत्र वा राहदानी वा जग्गाधनी प्रमाणपुर्जाको सक्कल प्रमाणका आधारमा अन्तिम मतदाता नामावली विवरणसँग भिडाइ यकिन गरी मतदान गर्न पाउने व्यवस्था गर्न सम्बन्धित निर्वाचन अधिकृतलाई निर्देशन पठाइसकेको छ,’ विज्ञप्तिमा भनिएको छ।

  • आर्थिक चलखेल गरेको आरोपमा इलाममा गाउँपालिका अध्यक्षका उम्मेदवार स्थानीयको नियन्त्रणमा

    आर्थिक चलखेल गरेको आरोपमा इलाममा गाउँपालिका अध्यक्षका उम्मेदवार स्थानीयको नियन्त्रणमा

    इलाम (रासस) । नेकपा (एमाले) सन्दकपुर गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार उदय राईलाई स्थानीयवासीले नियन्त्रणमा लिएका छन् । बुधबार राति गाउँपालिकाको वडानम्बर ५ को जमुनामा पुगेका उनलाई आर्थिक चलखेल गर्न लागेको आरोपमा नियन्त्रणमा लिइएको स्थानीयवासीको भनाइ छ । उनीसहित वडासदस्य पदकी उम्मेदवार सीता कार्कीलाई समेत स्थानीयवासीले नियन्त्रणमा लिएका हुन् ।

    मौन अवधिमा दुवै जनालाई प्रचार–प्रसारको काममा लागेको आरोपमा स्थानीयवासीले नियन्त्रणमा लिएको र होहल्ला गर्दै लखेट्न थालेपछि सुरक्षाका लागि उम्मेदवारलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्लास्थित सशस्त्र प्रहरी बलका प्रमुख सुरेश सापकोटाले असुरक्षित हुने देखिएपछि सुरक्षाका लागि राखिएको बताए ।

    मौन अवधिमा उम्मेदवार राईले मतदाताहरूलाई पैसालगायतका प्रलोभनमा पार्न लागेको भन्दै स्थानीयवासीहरूले विरोध गरेका थिए । आचारसंहिता उल्लङ्घन गरेको भन्दै उनलाई कारबाही गर्नसमेत उनीहरूले माग गरेका थिए ।

  • नेताहरुद्धारा सामाजिक संजालमार्फत आचारसंहिता उल्लंघन, आयोगले धमाधम सोध्दैछ स्पष्टीकरण

    नेताहरुद्धारा सामाजिक संजालमार्फत आचारसंहिता उल्लंघन, आयोगले धमाधम सोध्दैछ स्पष्टीकरण

    काठमाडौं । स्थानीय तह निर्वाचनको दौरान अहिले मौन अवधी जारी छ । तर, नेताहरुले जानेर वा नजानेर सामाजिक संजालमा बढी आचारसंहित उल्लंघनका घटना भएका छन् । निर्वाचन आयोगले नेकपा (एमाले)का उपमहासचिव पृथ्वीसुब्बा गुरुङलाई स्पष्टीकरण सोधेको छ । उपमहासचिव गुरुङले मौन अवधिमा आचारसंहिता उल्लंघन हुने गरी क्रियाकलाप गरेको विषयमा २४ घण्टे स्पष्टीकरण सोधेको आयोगको भनाई छ ।

    एमाले उम्मेदवारलाई मत दिएर जिताउन फेसबुकबाट बुधबार बिहान भिडियो पोष्ट गरी आचारसंहिता विपरीत अपिल गरेको विषयमा आयोगले गुरुङलाई स्पष्टीकरण सोधेको हो । आयोगले वीरगन्ज महानगरपालिकाका मेयरका उम्मेदवार विजय सरावगीलाई समेत स्पष्टीकरण सोधेको छ । उनीविरुद्ध मल खरीदमा लेनदेन गरेको भन्दै उजुरी परेको छ । उता, पर्यटन मन्त्री प्रेम आले समेत आचारसंहिता उल्लघन गर्ने सूचीमा परेका छन् । उनले भड्काउ अभिव्यक्ति दिएको आरोप लागेको छ ।

  • श्री एयरलाइन्सको जहाज जब सिंगल इन्जिनको सहारामा काठमाडौं डाइभर्ट भयो

    श्री एयरलाइन्सको जहाज जब सिंगल इन्जिनको सहारामा काठमाडौं डाइभर्ट भयो

    काठमाडौं । बुधबार श्री एयरलाइन्सको जहाजको इन्जिन आकासमै फेल हुँदा आकस्मिक अवतरण गर्नु परेको छ । काठमाडौंबाट धनगढीका लागि उढेको जहाजको इन्जिन फेल भएपछि बुधबार काठमाडौंमै डाइभर्ट गरिएको छ । जहाज काठमाडौंबाट २४ नटिकल माइल उडेपछि काठमाडौं फिर्ता भएको हो । जहाजमा ८७ जना मानिस थिए । उनहिरुलाई बुधबार नै अर्को उडानबाट धनगढी लगिएको छ । यो जहाज अब प्राविधिक जाँच पछि मात्र उड्न पाउने भएको छ ।

  • गोरखामा सर्वदलीय बैठकबाटै कांग्रेसका प्रतिनिधि खुकुरीसहित पक्राउ

    गोरखामा सर्वदलीय बैठकबाटै कांग्रेसका प्रतिनिधि खुकुरीसहित पक्राउ

    काठमाडौं । प्रहरीले गोरखामा सर्वदलीय बैठकबाटै कांग्रेसका एकजना प्रतिनिधि खुकुरीसहित नियन्त्रणमा लिएको छ ।

    स्थानीय तह निर्वाचनलाई लक्षित गरी गण्डकी गाउँपालिकामा बोलाइएको सर्वदलीय बैठकमा कांग्रेसका प्रतिनिधि मनोज गुरुङ खुकुरीसहित पक्राउ परेका हुन्।

    बुधवार बिहान वडा नम्बर ६ स्थित तोमनडाडा आधारभूत विद्यालयमा बोलाइएको बैठकमा सहभागी हुन झोला बोकेर पुगेका गुरुङलाई शंका लागेर झोला चेकजाँच गर्दा खुकुरी भेटिएको प्रहरीले जनाएको छ ।

    प्रहरीको नियन्त्रणमा रहेका गुरुङ र घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ ।

  • शैक्षिक संस्थाका हिउँदे, वर्षे र स्थानीय विदा कटौति

    शैक्षिक संस्थाका हिउँदे, वर्षे र स्थानीय विदा कटौति

    काठमाडौं । शैक्षिक संस्थामा हिउँदे, वर्षे र स्थानीय विदा नहुने भएको छ ।

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यसअघि हिउँदे र वर्षे बिदा गरी ४५ दिन, स्थानीय बिदा पाँच दिन दिने व्यवस्था कटौती गर्ने निर्णय गरेको हो ।

    मन्त्रालयको अनुसार सरकारले शनिबार र आइतबार गरी हप्तामा दुई दिन विदा दिने निर्णय गरेपछि शैक्षिक संस्थामा पढाइ हुने दिन घट्न नदिन हिउँदे, वर्षे र स्थानीय विदा कटौती गर्ने निर्णय गरेको हो ।

    शिक्षा नियमावली अनुसार एक शैक्षिक सत्रमा २२० दिन विद्यालय खुल्नुपर्ने र १८० दिन पठनपाठन हुनुपर्ने व्यवस्था छ । त्यस्तै एक शैक्षिक सत्रमा एक हजार २४ घन्टा पाठ्यभार हुनुपर्ने व्यवस्था छ ।

  • अब बैंक बिहान ९:३० बजेदेखि बेलुका ५:३० बजेसम्म खुल्ने

    अब बैंक बिहान ९:३० बजेदेखि बेलुका ५:३० बजेसम्म खुल्ने

    काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले दशैं र तिहारका सार्वजनिक विदाबाहेक अन्य विदा लगातार २ दिनभन्दा बढी दिन नपाउने भएका छन् ।

    नेपाल राष्ट्रबैंकले विदा सम्बन्धी सूचना सार्वजनिक गर्दै यस्तो व्यवस्था कार्यान्वयनमा ल्याइएको जानकारी दिएको हो ।

    दुई लगातार दिनभन्दा बढी भएमा तेस्रो दिनदेखि सीमित कर्मचारी खटाएर बैंकिङ सेवा उपलब्ध गराउनुपर्ने छ।

    यस्तै, सेवाग्राहीले एकै दिनमा सम्पन्न हुनै एकै सेवाको लागि थप अर्को साता कार्यलय आउनुपर्ने अवस्था सृजना हुन नदिने सुनिश्चितता गरी कार्य व्यवस्थापन गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ ।

    यस्तै, राष्ट्र बैंकले हप्तामा २ दिन बिदा हुँदा हप्ताभरि सम्पन्न गरिएको कार्यहरुको सूची दैनिक तथा सेवा प्रवाहको संख्या अध्ययन तथा मूल्यांकनको लागि अभिलेख राख्न निर्देशन दिएको छ।

    त्यस्तै जेठ १ गतेदेखि बैंक तथा वित्तीय संस्थाहरु बिहान ९:३० बजेदेखि बेलुका ५:३० बजेसम्म खुल्ने भएका छन् ।

    सरकारले जेठ १ गतेदेखि सातामा दुई दिन शनिबार र आइतबार सार्वजनिक बिदा दिएसँगै नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था खुल्ने समयावधि लम्ब्याएको हो ।

    राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाहरु सोमबारदेखि शुक्रबारसम्म बिहान ९:३० देखि बेलुका ५:३० बजेसम्म खुल्ने छन् भने कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म बिहान ९:३० देखि दिउँसो ३:३० बजेसम्म खुल्ने छन् ।

  • देशभर साढे दुई लाख सुरक्षाकर्मी निर्वाचनमा खटिए, सेनाले हवाई र स्थलगस्ती गर्ने

    देशभर साढे दुई लाख सुरक्षाकर्मी निर्वाचनमा खटिए, सेनाले हवाई र स्थलगस्ती गर्ने

    काठमाडौं । स्थानीय तह निर्वाचनलाई लक्षित गरि देशभर साढे २ लाख सुरक्षाकर्मी खटिएका छन् । निर्वाचनलाई भयरहित र निष्पक्ष बनाउन सुरक्षा प्रवन्धनको तयारी पुरा भएको बताइएको छ । गृह मन्त्रालयका अनुसार निर्वाचन सुरक्षामा दुई लाख ६० हजार सुरक्षाकर्मी परिचालन गरिएको छ । स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा योजना–२०७८ अनुरूप निर्वाचन सुरक्षा व्यवस्थापनका लागि आवश्यक सुरक्षा तयारी तथा परिचालन कार्य सम्पन्न भएको मन्त्रालयको भनाई छ ।

    निर्वाचनमा तीन लाख हाराहारी कर्मचारी खटिएका छन् । मुलुकभर ७५३ स्थानीय तहमा १० हजार ७५६ मतदान स्थल र २१ हजार ९५५ मतदान केन्द्र तोकिएका छन् । तीमध्ये दुई हजार ९४६ अति संवेदनशील र चार हजार ४२३ संवेदनशील सूचीमा छन् । सुरक्षाको पहिलो घेरामा म्यादीसहित नेपाल प्रहरी, दोस्रोमा सशस्त्र प्रहरी र तेस्रोमा नेपाली सेना खटाइएको छ । अति संवेदनशील मतदान स्थलमा छ म्यादी पाँच प्रहरी गरी ११, संवेदनशीलमा पाँच म्यादी चार प्रहरी गरी नौ र अन्यमा चार म्यादी तीन प्रहरी गरी सात सुरक्षाकर्मी परिचालन गरिएको छ ।

    थप मद्दतका लागि हतियारसहित नौदेखि ११ जना सशस्त्र प्रहरीको टोली खटिने भएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी निर्वाचन सुरक्षामा परिचालन भएसँगै यसअघि यी सुरक्षा निकायले सम्हाल्दै आएको महत्वपूर्ण स्थान, संरचना तथा सम्पदाको सुरक्षामा सेना खटाइएको छ । निर्वाचन सुरक्षाका लागि सेनाको सुर्खेतस्थित पश्चिम कमान्ड, मध्य कमाण्ड पोखरा, उपत्यका कमान्ड र पूर्वी कमान्ड इटहरीमा हेलिकप्टरसहितको विशेष टोली तयारी अवस्थामा राखिएको छ । सेनाले हवाई तथा पैदल गस्ती गर्ने भएको छ ।

  • मतदान स्थलबाटै आज र भोली मतदान परिचय पत्र लिन सकिने

    मतदान स्थलबाटै आज र भोली मतदान परिचय पत्र लिन सकिने

    काठमाडौं । मतदान परिचय पत्र लिन बाँकी मतदाताले मतदान स्थलमा पुगेर आज र भोली मतदान परिचय पत्र लिन सक्ने भएका छन् । निर्वाचन आयोगले सबै मतदान स्थलबाट मतदाता परिचय पत्र वितरण गर्ने जनाएको छ । आज र भोलि मतदाता परिचय पत्र वितरण गरिने आयोगको भनाई छ । मतदान केन्द्रका लागि खटिएका मतदान टोलीहरूबाट मतदाता परिचय पत्र वितरणका काम हुनेछन्।

    पहिलो पटक मतदाता नामावलीमा नाम दर्ता गराएका नयाँ मतदाता र परिचय पत्र हराएको भन्दै सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिएका मतदातालाई वैशाख २८ र २९ मा मतदान स्थलहरूबाट मतदाता परिचय पत्र दिन लागिएको छ । यस अवधिमा आयोगले मतदाता शिक्षा कार्यक्रम चलाउँदैछ । जहाँ नमुना मतदान हुनेछन् ।

  • कलंकीमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    कलंकीमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    काठमाडौं । काठमाडौंको कलंकी चोकमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । प्रहरीका अनुसार थानकोटबाट स्वयम्भुतर्फ आइरहेको बा ५ ख ७३४५ नम्बरको टिपरले सोही दिशामा रहेको बा ८० प ६३७३ नम्बरको मोटरसाइकललाई बिहान करिब ३ बजे ठक्कर दिएको थियो ।


    टिपरको ठक्करबाट मोटरसाइकल चालक धादिङको धुनिवेशी नगरपालिका २ घर भएका ४५ वर्षीय दिवाकर अधिकारीको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका अधिकारीको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । टिपर चालकलाई कालीमाटी प्रहरीले नियन्त्रणमा लिएको छ ।

  • निर्वाचन लक्षित मौन अवधि कार्यान्वयनमा, के के गर्न पाइदैन ?

    निर्वाचन लक्षित मौन अवधि कार्यान्वयनमा, के के गर्न पाइदैन ?

    काठमाडौं । स्थानीय तह निर्वाचन २०७९ लाई लक्षित गरि मौन अवधि लागु भएको छ । मौन अवधि मतदान नसकिएसम्म जारी रहने छ । यस पटक ३० वैशाखमा निर्वाचन हुँदैछ । मौन अवधिमा उम्मेदवार र उनीहरुको पक्षमा प्रचारप्रचार र अरु क्रियाकलाप गर्न पाइँदैन । निर्वाचन आयोगले जारी गरेको आचारसंहिता अनुसार मौन अवधिमा राजनीतिक दलहरुले प्रचारप्रसारका काम गर्न पाउँदैनन् । दलहरुलाई छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला गोष्ठी लगायत कुनै पनि क्रियाकलाप गर्न रोक लगाइएको हुन्छ ।

    तर, यस अवधिमा मतदाता परिचयपत्र लिन जान पाउने छन् । मतदाता शिक्षाको कार्यक्रम समेत यस अवधिमा हुने छ । कसरी मतदान गर्ने, स्वस्तिक कसरी लगाउने र मतपत्र कसरी पट्याउने भनेर यस अवधिमा सिकाइन्छ । मतदानको समयमा प्रतिस्पर्धीहरुबीच विवाद वा झडप नहोस् र कुनै अप्रिय घटनाले मतदाता आतंकित नहोउन् भनेर मौन अवधि सुरु गर्ने अन्तर्राष्ट्रिय प्रचलन छ । शान्त वातावरणमा निर्वाचन गर्न, अनि उम्मेदवारबीच स्वच्छ प्रतिस्पर्धात्मक वातावरण बनाउन मौन अवधिको व्यवस्था गर्ने प्रचलन छ ।

    मौन अवधि सुरु भएपछि निर्वाचन अधिकृतको कार्यालयले सम्बन्धित दल वा उम्मेदवारहरुलाई मतदान केन्द्रको ३ सय मिटर वरपर राखिएका प्रचारप्रसार सामग्री हटाउन लगाउँछ । निर्वाचन आचारसंहितामा भनिएको छ, ‘दल वा उम्मेदवारका प्रचारप्रसारका सामग्री हटाउनुपर्ने, कुनै पनि विधि, प्रकृया वा माध्यमबाट मत माग्न वा निर्वाचन प्रचारप्रसार गर्न नहुने ।’


    निर्वाचन आयोगले सामाजिक सञ्जाल, सञ्चारमाध्यम लगायत अन्य उपायबाट राजनीतिक दल, उम्मेदवारको पक्ष–विपक्षमा सन्देश, सूचना र प्रचारप्रसार सामग्री राख्न र सेयर गर्न समेत रोक लगाएको छ । आचारसंहिता पालना र मौन अवधिमा पालनाको अनुगमन गर्न आयोगले १९ जिल्लामा सहसचिवको नेतृत्वमा टोली पठाएको छ ।

  • मौन अवधिमा भोजभतेर र पैसा बाँडे तत्काल कारवाही हुने

    मौन अवधिमा भोजभतेर र पैसा बाँडे तत्काल कारवाही हुने

    काठमाडौं । निर्वाचन आयोगले मौन अवधिमा भोजभतेर,पैसा बाँड्नेहरूलाई तत्काल कारबाही गर्ने भएको छ । मंगलबार पत्रकार सम्मेलन गरी मौन अवधिमा भोजभतेर गर्ने, पैसा बाँड्ने, सभा सम्मलेन गर्नेहरूलाई तत्कालै कारबाही गर्ने प्रवक्ता तथा सहसचिव शालिग्राम शर्मा पौडेलले जानकारी दिए। आज मध्यराति देखि मौन अवधि सुरू हुँदैछ। त्यसबीच आचारसंहिताको उल्लंघन भएको पाइएमा तत्काल कारबाही गर्ने चेतावनी दिएको हो। त्यसको लागि कारबाही गर्न सक्ने अधिकार दिएर १९ वटा उच्चस्तरीय टोली गठन समेत गरिएको आयोग प्रवक्ता सहसचिव पौडेलले बताए।

    उनका अनुसार आयोगले तुलनात्मक रूपमा संवेदनशील स्थानहरूमा सो टोलीलाई परिचालन गरिसकेको छ। ‘निर्वाचन आचार संहिताको पूर्ण पालनाको लागि आयोगले उल्लंघनका घटनामा तत्काल कारबाही गर्न सक्ने अधिकारसमेत दिई १९ वटा उच्चस्तरीय टोली विभिन्न तुलनात्मक रूपमा संवेदनशील स्थानहरूमा परिचालन गरिएको छ,’ उनले भने। उक्त टोलीले आवश्यकताअनुसार निर्वाचनको गोपनीयतामा असर नपर्नेगरी निर्वाचनसँग सम्बन्धित दृश्यको छायाँकन गर्ने, भिडिओ क्यामरा वा अन्य विद्युतीय उपकरण समेत प्रयोग गर्न अधिकार दिएको छ। आयोगले मौन अवधिमा भोजभतेर, पैसा बाँड्ने काम पनि हुनसक्ने भन्दै तत्काल कारबाही गर्ने चेतावनी समेत दिएको छ।

  • मौन अवधि शुरु हुनै लाग्दा गठबन्धनको अपिल, जनताको सुख:दुखमा साथ दिन्छौं

    मौन अवधि शुरु हुनै लाग्दा गठबन्धनको अपिल, जनताको सुख:दुखमा साथ दिन्छौं

    काठमाडौं । सत्तारुढ दलहरुले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनको मौन अवधि सुरु हुनै लाग्दा अपिल सार्वजनिक गरेका छन् । उनीहरुले गठबन्धनका उम्मेदवारको पक्षमा मत मागेका छन् । मंगलबार राति १२ बजेदेखि मौन अवधि सुरु हुनेछ । मंगलबार साँझ जारी गरिएको अपिलमा सत्तारुढ गठबन्धनका दल जनताको सुख, दुःखमा एकसाथ रहने प्रतिवद्धता जाहेर गरिएको छ ।

    ‘स्थानीय निर्वाचनले लोकतन्त्रको रक्षा गर्ने छ,’ अपिलमा भनिएको छ, ‘अर्को अर्थमा स्थानीय तह नै लोकतन्त्रको प्राणवायु हो । गठबन्धनको बलमा मुलुकको विकास, समृद्धि र लोकतन्त्रको जगेर्ना सम्भव छ । यसर्थ गठबन्धनको पक्षमा मतदानका लागि यहाँहरुले विवेकको प्रयोग गर्नुहुने विश्वास लिएका छौं । यस क्षणमा हामी सदैव जनताको सुख, दुःखमा एकसाथ रहने प्रतिबद्धता जाहेर गर्दछौं ।’

    गठबन्धन दलका अध्यक्षहरुले जारी गरेको अपिलमा कतिपय पालिकामा ‘मैत्रीपूर्ण प्रतिस्पर्धा’ गर्ने सहमति भन्दै गठबन्धनकै जित्ने उम्मेदवारलाई मतदान गर्न आग्रह गरिएको छ ।

    ‘गठबन्धनमा रहेका दलहरुबीच तालमेलको अधिक प्रयत्नका बावजुद कतिपय पालिकामा ‘मैत्रीपूर्ण प्रतिस्पर्धा’ गर्ने सहमति भएको विदितै छ,’ भनिएको छ, ‘मतदानको सन्निकट आइपुग्दै गर्दा ‘मैत्रीपूर्ण प्रतिस्पर्धा’ मा उत्रेका विभिन्न पालिकाका विभिन्न पदका आफ्ना पार्टीका उम्मेदवारको अवस्था आकंलन गरी विजयको नजिक रहेका गठबन्धन दलका उम्मेदवारलाई मतदान गर्न पार्टी तहमा आह्वान गर्दछौं ।’

  • सातामा दुई दिन बिदा दिने निर्णय राजपत्रमा प्रकाशित

    सातामा दुई दिन बिदा दिने निर्णय राजपत्रमा प्रकाशित

    काठमाडौं । सातामा दुई दिन बिदा दिने सरकारको निर्णय नेपाल राजपत्रमा प्रकाशित भएको छ।

    जेठ १ गतेदेखि शनिबार र आइतबार बिदा दिने निर्णय गृहमन्त्रालयले राजपत्रमा प्रकाशित गरेको हो ।

    सरकारले शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको थियो।

    जेठ १ देखि बिहान ९:३० बजेबाट अपरान्ह ५:३० बजेसम्म कार्यालय समय तोकिएको छ।

    तर कात्तिक १६ देखि माघ १५ गतेसम्म भने कार्यालय समय बिहान ९स्३० देखि अपरान्ह ४स्३० बजेसम्म रहने उल्लेख छ।

  • स्थानीय तह निर्वाचनमा ९ जना बने ‘विशेष पर्यवेक्षक’

    स्थानीय तह निर्वाचनमा ९ जना बने ‘विशेष पर्यवेक्षक’

    काठमाडौं । निर्वाचन आयोगले राज्यको महत्वपूर्ण पदमा बसेर अवकाश पाएका ९ जना व्यक्तिहरुलाई ‘विशेष पर्यवेक्षक’ बनाएको छ । देशभर करिव ५ हजार राष्ट्रिय पर्यवेक्षक स्थानीय तह निर्वाचनको पर्यवेक्षणमा खटिने छन् । त्यसमध्ये ९ जनाले ‘विशेष पर्यवेक्षक’को मान्यता पाएका हुन् ।

    निर्वाचन आयोगले पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ र सुशीला कार्की, पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेल र निलकण्ठ उप्रेती, पूर्वगभर्नर हिमालय शमशेर जबरा, पूर्व निर्वाचन आयुक्त इला शर्मा, मानव अधिकार आयोगका पूर्व सदस्य सुशील प्याकुरेल, पूर्वसचिव एवं लोकसेवा आयोगका पूर्व अध्यक्ष तीर्थमान शाक्य र पूर्वसचिव उदय नेपालीलाई विशेष पर्यवेक्षकको मान्यता दिएको जनाएको छ ।

    निर्वाचनसम्बन्धी विषयमा विशेष अनुभव भएका पूर्व विशिष्ठ पदाधिकारीले यस्तो मान्यता पाएका हुन् । विशेष पर्यवेक्षकको भूमिका पाएकाहरुमध्ये अधिकांश आमनिर्वाचन पर्यवेक्षक समिति (जियोक) मा आवद्ध छन् । विभिन्न १० वटा संस्थाहरु मिलेर निर्वाचन अनुगमनका लागि जियोक नामक सञ्जाल स्थापना गरेका थिए ।