Category: समाचार

  • कांग्रेसका बागी उम्मेदवारले समर्थन गरेपछि पोखरामा गठबन्धनलाई राहत

    कांग्रेसका बागी उम्मेदवारले समर्थन गरेपछि पोखरामा गठबन्धनलाई राहत

    पोखरा । कांग्रेसका बागी उम्मेदवार विमलबहादुर कार्कीले आफ्नो उम्मेदवारी फिर्ता लिएसँगै पोखरामा गठबन्धनलाई राहत पुगेको छ । उनले उम्मेदवारी फिर्ता लिएर गठबन्धनबाट मेयर पदमा उठेका नेकपा समाजवादीका धनराज आचार्य र उपमेयर पदमा नेपाली कांग्रेसकी उम्मेदवार कोपिला रानाभाटलाई समर्थन गर्ने बताएका छन् । उनले सोमबार प्रेस विज्ञप्ति निकाल्दै पार्टीले उम्मेदवारी फिर्ता गर्न दिएको निर्देशन मान्दै आफ्नो उम्मेदवारी निष्क्रिय भएको जनाएका हुन् ।

    साथीभाइको सल्लाह र अग्रज नेताहरूको आग्रह मानेको उनले बताए । नेपाली कांग्रेस कास्कीले समेत उम्मेदवारी फिर्ता लिएको भन्दै नेता विमलबहादुर कार्कीलाई धन्यवाद दिएको छ । गठबन्धनको साझा उम्मेदवारलाई बागी उम्मेदवारकै कारण भोट काटिने चिन्ता हटेसँगै गठबन्धनलाई सहज भएको हो ।

  • चुनावभर भारत र चीनसँगको सीमा नाका बन्द गरिँदै

    चुनावभर भारत र चीनसँगको सीमा नाका बन्द गरिँदै

    काठमाडौं । ३० वैशाखको निर्वाचनलाई लक्षित गरि आज रातिदेखि सबै अन्तर्राष्ट्रिय सीमा नाका बन्द गरिने भएको छ । सीमा नाका निर्वाचन सम्पन्न भएपछि मात्र खुला हुने छ । स्थानीय तह निर्वाचन सुरक्षाका लागि सरकारले मध्यरातिदेखि मतदान हुने दिनसम्म सीमाबाट हुने आवागमन बन्द गर्ने निर्णय गरेको हो । मतदानको दिनभन्दा अगाडिको ७२ घण्टालाई मौन अवधि मानिन्छ । मौन अवधिमा अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्ने र चुनाव प्रचार गर्न बन्देज लगाउने गरिन्छ ।

    सीमावर्ती जिल्लाका प्रशासन कार्यालयहरुलाई आज मध्यरातिदेखि सीमा नाका बन्द गर्न भनिसकिएको गृह मन्त्रालयले जनाएको छ । गृहमन्त्रालयको निर्देशन अनुसार जिल्ला प्रशासन कार्यालयले सीमा नाका बन्द भएको सूचना जारी गर्नेछन् । नेपालका ४२ जिल्ला चीन र भारतसँग जोडिएका छन् । भारततर्फका सीमा नाका खुल्ला हुने भएकाले आवागमन रोक्न चुनौती हुने गरेको छ ।अन्तर्राष्ट्रिय हवाई उडानभने सूचारु हुनेछ ।

  • आज राती १२ बजेबाट मौन अवधि शुरु, के के गर्न पाइदैन ?

    आज राती १२ बजेबाट मौन अवधि शुरु, के के गर्न पाइदैन ?

    काठमाडौं । स्थानीय तह निर्वाचनका लागि आज राती १२ बजेबाट मौन अवधि शुरु हुने भएको छ । १२ बजेदेखि मतदानको दिन वैशाख ३० गते १२ बजेसम्म मौन अवधि मानिनेछ । यस अवधिमा निर्वाचनलाई प्रभावित पार्ने कुनै पनि कार्यमा संलग्न नहुन नपाइने निर्वाचन आयोगको भनाई छ । मौन अवधि सुरु भएपछि कुनै पनि दल, उम्मेदवार भएका व्यक्ति, नागरिक समाज, मतदाता तथा सञ्चार माध्यमहरुले समेत चुनाव प्रचार–प्रसार गर्न पाउँदैनन् । निर्वाचन आयोगले एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युत्तीय माध्यम प्रयोग गरेर मत माग्न र निर्वाचन प्रचार गर्न समेत रोक लगाएको छ ।

    सामाजिक सन्जालहरुबाट गरिएका प्रचार सामग्री हटाउन पनि राजनीतिक दलहरुलाई निर्देशन दिइएको छ । निर्वाचन सामग्री हटाए, नहटाएको तथा नयाँ प्रचार सामग्री राखे, नराखेको सम्बन्धमा निगरानी गर्ने जिम्मेवारी प्रहरी र सेनाको साइबर व्यूरोलाई दिइएको छ । आयोगले उम्मेदवार वा राजनीतिक दलको निर्वाचन चिह्न अंकित पहिरन टोपी, स्टिकर, लोगो, झोलाजस्ता सांकेतिक सामग्रीको प्रयोग गर्न वा प्रदर्शन गर्न पनि रोक लगाएको छ ।

    निर्वाचन आयोगका अनुसार मौन अवधि सुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको ३ सय मिटर वरपर राखिएका आ–आफ्ना निर्वाचन चिह्न तथा प्रचारप्रसारका सामग्री हटाउनु पर्नेछ । मौन अवधिमा सञ्चारमाध्यमहरुले पनि उम्मेदवार वा राजनीतिक दलको प्रचारप्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन प्रसारण गर्न नपाउने आयोगले जनाएको छ ।

  • नेपालमा मैले बोलेको बुझ्ने थोरै मात्र बुद्धिजिवी छन् : ओली

    नेपालमा मैले बोलेको बुझ्ने थोरै मात्र बुद्धिजिवी छन् : ओली

    पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले बोलेका कुरा बुझ्ने थौरै मात्र बुद्धिजीवि नेपालमा रहेको बताएका छन्। पोखरामा सोमबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले एमालेका नीति बङ्ग्याएर प्रस्तुत गर्न खोजिएको आरोप लगाए । ‘एमालेका नीतिहरू बङ्ग्याएर प्रस्तुत गर्न खोजियो, मैले बोलेको त बुझ्ने बुद्धिजीवि थोरै मात्र छन् कि क्या हो नेपालमा भन्ने लाग्छ,’ उनले भने।

    आफूले शास्त्रका कुरा गर्दा उखान टुक्का भन्ने गरिएको उनको आरोप छ । ‘मैले कहाँ शास्त्रका कुरा गर्छ, उसले उखान टुक्का भन्, कांग्रेसका नेताले भन्नु ठिकै हो बुझ्दैनन् उनीहरू,’ उनले भने ‘तर अरूले पनि कतिपय केही मानिस छन् बुद्धिजीवि उनीहरूले पनि मैले बोलेका कुरालाई उखान टुक्का भन्छन्।’

  • सोल्टीमोडमा ट्रकको ठक्करबाट स्कुटरमा सवार एक जनाको मृत्यु

    सोल्टीमोडमा ट्रकको ठक्करबाट स्कुटरमा सवार एक जनाको मृत्यु

    काठमाडौं । काठमाडौंको सोल्टीमोडमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। काठमाडौंको नागार्जुन नगरपालिका–४ सोल्टीमोडस्थित सडकमा बा९४प ८६७६ नम्बरको स्कुटर र ना५ख १९०९ नम्बरको ट्रक ठोक्किँदा स्कुटरमा सवार कीर्तिपुर नगरपालिका–२ ट्याङ्लाफाँट बस्ने ६२ वर्षीया विमलादेवी भट्टराईको मृत्यु भएको हो।

    दुर्घटनामा गम्भीर घाइते भट्टराईको त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा सोमबार बिहान मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। दुर्घटनामा स्कुटर चालक भने घाइते भएका छन्। स्कुटर चालकको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। ट्रक र चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।

  • निर्वाचनको दिन देशभर सार्वजनिक बिदा

    निर्वाचनको दिन देशभर सार्वजनिक बिदा

    काठमाडौं । सरकारले स्थानीय तह निर्वाचन हुने दिन वैशाख ३० गते सार्वजनिक विदा दिएको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले वैशाख ३० गते सार्वजनिक विदा दिने निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ । त्यस दिन नेपाल राज्यभरिका सबै सरकारी कार्यालय र सार्वजनिक निकायमा विदा दिइएको हो । यस दिन सार्वजनिक यातायात चल्ने छैनन् । निजी सवारी साधनले पनि पास लिनु पर्ने गरि नियम बनाइएको छ ।

  • जिम्बाब्वे ‘ए’ विरुद्ध एकदिवसिय सिरिज नेपाललाई

    जिम्बाब्वे ‘ए’ विरुद्ध एकदिवसिय सिरिज नेपाललाई

    काठमाडौं । जिम्बाब्वे ए विरुद्धको एक दिवसिय क्रिकेट सिरिज नेपालले जितेको छ । सोमबार सम्पन्न तेस्रो तथा अन्तिम खेलमा नेपालले पाहुना टोली जिम्बाब्वेमाथि ६ विकेटको सानदार जित निकाल्यो । नेपालले ब्याट र बल दुबैमा उत्कृष्ट प्रदर्शन गरेको थियो । खेल वर्षाका कारण केही बेर प्रंभावित भयो । सोहीकारण ३३ ओभरमा छोट्याइएको थियो । टस जितेको नेपालले जिम्बावेलाई ब्याटिङको निम्ता दियो । ३३ ओभर जिम्बाब्ेले २१४ रन जोड्न सक्यो । नेपालका तीव्र गतिका बलर किशोर महतोको ५ विकेट लिए ।

    जिम्बावेले दिएको २१४ रनको लक्ष्य नेपालले भने ३०.१ ओभरमा ४ विकेट गुमाएर भेट्टाएको हो । नेपालले पहिलो पटक टेष्ट राष्ट्र अर्थात आईसीसीको पूर्ण सदस्य जिम्बावेको ‘ए’ टिमविरुद्ध एकदिवसीय श्रृंखला खेलेको हो । जसमा नतिजा २–१ ले नेपालको पक्षमा आयो । ब्याटिङतर्फ नेपालका ओपनर ब्याटर कुशल भुर्तेल र मध्यक्रमका ब्याट्सम्यान दीपेन्द्र सिंह ऐरीले शानदार प्रदर्शन गरे । कुशलले सर्वाधिक ८४ रन बनाउँदा दीपेन्द्रले अविजित ६० रन जोडे । नेपाल ठीक एक महिनापछि अमेरिकामा आईसीसी क्रिकेट विश्वकप लिग टू खेल्दैछ ।

  • प्रधानमन्त्री देउवा र प्रचण्ड धनगढीमा, आज गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्ने

    प्रधानमन्त्री देउवा र प्रचण्ड धनगढीमा, आज गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्ने

    धनगढी । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आइतबार धनगढी पुगेर यतै बास बसेका छन् । प्रधानमन्त्री देउवा धनगढी उपमहानगरपालिका ४ स्थित आफ्नै निवासमा बसेका छन् । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड धनगढीको रुबस होटेलमा बसेका छन् । प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सोमबार धनगढीको रङ्गशालामा हुने सत्ता साझेदार दलको चुनावीसभालाई सम्बोधन गर्न धनगढी पुगेका हुन् ।

    सोमबार हुने चुनावीसभापछि प्रधानमन्त्री देउवा डडेलधुरा जाने कार्यक्रम रहेको छ । माओवादी केन्द्रका अध्यक्ष दाहाल सोमबार नै कैलालीको हसुलिया, डोटी, र कञ्चनपुरको बेलौरीलगायत क्षेत्रमा हुने चुनावीसभालाई सम्बोधन गर्ने कार्यक्रम छ । स्थानीय तहको निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई जिताउन नेताहरुको दौडधुप बढेको छ ।

  • नेपालमा वर्षा लम्बियो, निर्वाचनको दिन समेत पर्ने सम्भावना

    नेपालमा वर्षा लम्बियो, निर्वाचनको दिन समेत पर्ने सम्भावना

    काठमाडौं । स्थानीय वायु र भारतको बिहार–पश्चिम बंगालमा बनेको न्यून चापीय प्रणालीको संयुक्त प्रभावका कारण नेपालमा वर्षा लम्बिएको छ । मौसमको यो प्रणाली निर्वाचनको दिनसम्म लम्बिन सक्ने अनुमान मौसम पूर्वानुमान महाशाखाले गरेको छ । सोमबार देशभर मौसममा बदली देखिएको छ। बिहान पहाडी भूभागमा आंशिक बदली हुनुका साथै दिउँसो देशभर बदली रहने महाशाखाको अनुमान छ । महाशाखाका अनुसार प्रदेश १, बागमती र गण्डकीका केही स्थान र बाँकी भूभागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

    राति कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको आँकलन गरिएको छ। मंगलबार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीका केही स्थान र बाँकी भूभागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। बुधबार प्रदेश १, बागमती र लुम्बिनीका केही स्थान र बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

    जलवायुविद्हरुले स्थानीय तहको निर्वाचनका दिन मुलुकभर वर्षा हुने प्रक्षेपण गर्दै आवश्यक पूर्व तयारी गर्न सम्बन्धित सबैलाई सचेत गराएका छन्। बंगालको खाडीमा वैशाख २३ गतेदेखि उत्पन्न न्यून चापीय अवस्था आईतबारको दिन समुन्द्री आँधीको रुपमा विकसित हुँदै गएको र त्यसको असर नेपालमा पनि पर्ने भएकाले आवश्यक पूर्व तयारी गर्न विज्ञहरूले सुझाएका हुन्।

  • भरतपुरमा धारिलो हतियार प्रहार गरि एक युवाको हत्या

    भरतपुरमा धारिलो हतियार प्रहार गरि एक युवाको हत्या

    भरतपुर । चितवनको भरतपुरमा आइतबार एक युवकको धारिलो हतियार प्रहार गरी हत्या भएको छ । प्रहरीका अनुसार आइतबार साँझ ७ः३० बजे भरतपुर १२ निवासी अनिल परियारको भरतपुर ७ कृष्णपुरको फुटबल मैदान नजिक हत्या भएको हो ।

    जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी नरहरि अधिकारीले संचारमाध्यमलाई बताए अनुसार उनलाई अज्ञात समूहले आक्रमण गरेको थियो । उनको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ । मृतक गत वर्ष मात्रै चितवन कारागारमा एक वर्ष कैद सजाय भोगेर रिहा भएका व्यक्ति हुन् ।

  • २७ वैशाखबाट काठमाडौंमा मदिरा बिक्रि रोक

    २७ वैशाखबाट काठमाडौंमा मदिरा बिक्रि रोक

    काठमाडौं । स्थानीय तह निर्वाचन सुरक्षालाई लक्षित गरी काठमाडौंमा वैशाख २७ गतेदेखि ३० गते साँझसम्म मदिरा बिक्री वितरणमा रोक लगाइएको छ ।
    जिल्ला प्रशासन कार्यालय काठमाडौंले आइतबार एक सूचना जारी गरी वैशाख २७ गते मंंगलबार राति १२ बजेदेखि मतदान कार्य सम्पन्न नभएसम्मका लागि मदिराजन्य पदार्थ बिक्री वितरण र सेवन नगर्न नगराउन आग्रह गरेको छ ।

    ३० वैशाखमा स्थानीय तहको निर्वाचनको दिन तोकिएको छ । प्रशासन कार्यालयले मतदानको दिन अत्यावश्यक सेवामा सञ्चालित र अनुमति लिएका सवारी साधानबाहेक अरुलाई विहान ६ बजेदेखि मतदान नसकिँदासम्म सञ्चालनमा रोक लगाएको जनाएको छ ।

  • बजेट अधिवेशन जेठ ३ मा आह्वान

    बजेट अधिवेशन जेठ ३ मा आह्वान

    काठमाडौं । संघीय संसदको बजेट अधिवेशन जेठ ३ गते दिउँसो ४ बजेका लागि आह्वान गरिएको छ । आइतबार दिउँसो बसेको मन्त्रिपरिषद बैठकले गरेको सिफारिसका आधारमा राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ ३ गते दिउँसो ४ बजे बस्ने गरी प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन आह्वान गरेकी हुन् ।


    जेठ १५ गते सरकारले आगामी आर्थिक वर्षको बजेट पेश गर्ने संवैधानिक व्यवस्था छ । त्यसअघि हुने पूर्वबजेट छलफल, सरकारको नीति तथा कार्यक्रम प्रस्तुत र छलफलका लागि संसदको अधिवेशन आह्वान गरिएको हो ।

  • वैशाख ३० गते सबै आन्तरिक उडान बन्द हुने,अन्तर्राष्ट्रिय उडान अवतरण भने यथावत

    वैशाख ३० गते सबै आन्तरिक उडान बन्द हुने,अन्तर्राष्ट्रिय उडान अवतरण भने यथावत

    काठमाडौं । स्थानीय तहको निर्वाचनका दिन सबै आन्तरिक वायु सेवा कम्पनीहरुको नियमित उडान सेवा बन्द हुने भएको छ।

    वायु सेवा सञ्चालक संघले आइतबार विज्ञप्ति जारी गर्दै शुक्रबार सेवा बन्द गर्ने निर्णय गरेको हो । संघका अनुसार मानवीय उद्धार, सहायता र सरकारको निर्देशनबाहेक अन्य उडान सबै बन्द हुनेछ ।

    ‘स्थानीय तह सदस्य निर्वाचन, २०७९ को मतदान हुने दिनको सवारी आवागमन व्यवस्थापन सम्बन्धी मापदण्ड, २०७९’ बमोजिम हवाई सेवा बन्द हुन लागेको हो। यद्यपि अन्तर्राष्ट्रिय उडान भने यथावत रहने विज्ञप्तिमा भनिएको छ ।

  • मन्त्रिपरिषद्को निर्णय : चुनावमा खटिने सुरक्षाकर्मीको मृत्यु भए २० लाख, घाइते भएमा उपचार खर्च सरकारले व्यहोर्ने

    मन्त्रिपरिषद्को निर्णय : चुनावमा खटिने सुरक्षाकर्मीको मृत्यु भए २० लाख, घाइते भएमा उपचार खर्च सरकारले व्यहोर्ने

    काठमाडौं । सरकारले निर्वाचनको सुरक्षामा खटिएको समयमा सुरक्षाकर्मीको मृत्यु भएमा निजको आश्रित परिवारलाई २० लाख रूपैयाँ आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ।

    गृहमन्त्री बालकृष्ण खाणको प्रस्तावमा आइतबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचनको सुरक्षामा खटिने म्यादी प्रहरीसहितका सुरक्षाकर्मीको मृत्यु भएमा निजको आश्रित परिवारलाई २० लाख आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरको हो।

    ‘निर्वाचन सुरक्षामा खटिएको समयमा सुरक्षाकर्मी (नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धान विभाग) तथा म्यादी प्रहरीको मृत्यु भमा निजको आश्रित परिवारलाई बीस लाख आर्थिक सहायता उपलब्ध गराउने,’ मन्त्रीपरिषद् बैठकको निर्णयमा भनिएको छ।

    त्यस्तै बैठकले निर्वाचनको क्रममा घाइते भएका सुरक्षाकर्मी (नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धान विभाग) तथा म्यादी प्रहरीको उपचारमा लागेको खर्च पनि सरकारले व्यहोर्ने निर्णय गरेको छ ।

    बैठकले हिमाली जिल्लामा खटिने म्यादी प्रहरीलाई प्रहरी जवान सरह जिल्लागत दररेट अनुसार रासनभत्ता उपलब्ध गराउने निर्णयसमेत गरेको छ ।

  • निर्वाचन आयोगमाथि खनिए ओली: कांग्रेसका लागि भोट माग्ने प्रचण्डलाई के कारवाही हुन्छ कि हुँदैन् ?

    निर्वाचन आयोगमाथि खनिए ओली: कांग्रेसका लागि भोट माग्ने प्रचण्डलाई के कारवाही हुन्छ कि हुँदैन् ?

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगले पाँच दलीय गठबन्धनको ढाल बनेर काम गरेको आरोप लगाएका छन् ।

    आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा ओलीले गठबन्धनको बागी उम्मेदवारलाई रोक्नकै लागि एक दलको कार्यकर्ताले अर्को दलको प्रचार गर्न नपाइने प्रावधान ल्याएको बताएका हुन्।

    उनले दलभित्रको अनुशासनको विषय सम्बन्धित दलको विषय हुने बताउँदै निर्वाचन आयोगले दलभित्रको अनुशासनको विषयमा चेतावनी दिन नमिल्ने बताए । ‘दलविरुद्ध लागेको अवस्थामा सम्बन्धित दलले नै कारवाही गर्छ, निर्वाचन आयोगले कारवाही गर्नुपर्ने आवश्यकता के हो ?’ ओलीले प्रश्न गरे । निर्वाचन आयोगले यस्तो नियम बनाउनुको कारण आम जनतालाई स्पष्ट पार्नुपर्ने उनको धारणा छ।

    ओलीले गठबन्धनको नाममा एउटा पार्टीको नेतृत्वले नै अर्को पार्टीलाई भोट माग्दा भने निर्वाचन आयोग आँखामा कालो पट्टी बाँधेर बसेको बताए । काठमाडौंमै प्रचण्डले सिर्जना सिंहका लागि भोट मागेको प्रसँग जोड्दै उनले प्रचण्डलाई पनि कारवाही हुनुपर्ने बताए । ‘उहाँहरुलाई के हुन्छ कारवाही ? उहाँहरुले क–कसका झण्डा बोक्नुभएको छ ? उहाँहरुले क–कसको भोट माग्नुभएको छ ?’ उनले भने, ‘उहाँहरुप्रति चाहीँ निर्वाचन आयोग कालो चस्मामात्र होइन, कालो पट्टी नै बाँधरे बसेको छ।’

    उनले काठमाडौंमा मात्र नभई सातै प्रदेश, जिल्ला र पालिकाहरुमा गठबन्धनको नाममा एक पार्टीले अर्को पार्टीका लागि भोट मागिएको बताए । ‘सातै प्रदेशमा आम सभा गरेर अर्काकै प्रचार गर्दै छन् त,निर्वाचन आयोगले देखेको छैन ? उनले प्रश्न गरे ।

  • ओलीको ६७ बुँदे अपील-‘कांग्रेस र माओवादीले जस्तो विश्वासघात गर्दैनौँ, देश र जनतालाई पिरोल्दैनौँ’ (पूर्णपाठ)

    ओलीको ६७ बुँदे अपील-‘कांग्रेस र माओवादीले जस्तो विश्वासघात गर्दैनौँ, देश र जनतालाई पिरोल्दैनौँ’ (पूर्णपाठ)

    काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सत्तारूढ दल नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)ले देश र जनतालाई पिरोलेको आरोप लगाएका छन् ।

    आइतबार ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले एमालेले ती दुई दलले जस्तो जनतालाई नपिरोल्ने बताए ।

    “हामी आर्थिक वृद्धिका प्रमुख संवाहक क्षेत्रहरूमा सरकारी, सहकारी र निजी क्षेत्रको लगानी केन्द्रित गर्दछौँ । यी क्षेत्रमा सरकारी, सहकारी र निजी क्षेत्रलाई प्रमुखताका साथ लगानी बढाउन अनुकूल वातावरण बनाउँदछौँ ।

    तीनखम्बे नीतिका आधारमा राष्ट्रिय अर्थतन्त्रलाई आत्मनिर्भर, गतिशील र प्रतिस्पर्धी बनाउनेछौँ । आन्तरिक र बाह्य लगानी प्रवद्र्धनमा जोड दिन निजी क्षेत्रको विकासलाई प्राथमिकता दिनेछौँ,” ओलीले भने, “म निजी क्षेत्रका उद्योगी, व्यवसायी तथा लगानीकर्ता साथीहरूलाई आश्वस्त पार्न चाहन्छु, हामी निजी क्षेत्रका समस्या समाधान गर्नेछौँ ।

    निजी क्षेत्रका अवसरहरूलाई साकार पार्न मार्गप्रशस्त गर्नेछौँ । तपाईंहरूको अभिभावक हुनेछौँ । हामी नेकाँ र माकेले जस्तो देश र जनतालाई पिरोल्दैनौँ, विश्वासघात गर्दैनौँ ।”

    सम्मेलनमा ओलीले भने, ‘हामीले चाह्यौं भने यो एक हप्तामा त ढल्छ, ढल्छ ।’

    कसरी भन्ने प्रश्नमा उनेल भने, ‘केही भन्नै परेन नि ! विरालो किन्नु पर्दैन भन्ने तपाईंलाई थाहा छैन ? जसले ठूलो कचौरामा दूधभात दिन्छ, उस कहाँ जान्छ । त्यसको कुनै सवाल जवाफ छ ?’

    माओवादीलाई कांग्रेसले भन्दा राम्रो प्रस्ताव गर्नुहुन्छ ? भन्ने प्रतिप्रश्नमा उनले भने, ‘विरालोको हकमा हाम्रो क्रयशक्ति कांग्रेसको भन्दा बढी छ ।’ अध्यक्ष ओलीले पाँच दलीय गठबन्धन देशको निम्ति अत्यन्तै हानिकारक भएको बताए ।

    उनले भने, ‘यो वास्तवमा अपराधी गठबन्धन हो । यस्तो गठबन्धन कायम राख्ने अनि भोट दिएनौं भने धम्की दिने । यो अत्यन्तै गलत, हानिकारक कुरा हो । यो अराजनीतिक कुरा हो ।’

    यस्तो छ एमाले अध्यक्ष ओलीको ६७ बुँदे अपील (पूर्णपाठ)

    नेकपा (एमाले) को आम मतदातामा अपील

    आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू !
    हार्दिक अभिवादन !

    १. हामी सम्पूर्ण नेपालीहरू यही २०७९ साल वैशाख ३० गते शुक्रबारका दिन स्थानीय सरकार निर्माणका लागि जनप्रतिनिधिहरूको निर्वाचन सम्पन्न गर्न गइरहेका छौं । यो निर्वाचन स्थानीय तहको सरकार गठन गर्नका लागि जनादेश दिने संविधानप्रदत्त सार्वभौम मताधिकारको अभ्यास गर्ने महत्वपूर्ण अवसर हो । यस निर्वाचनका माध्यमबाट हामीले आफ्नो रोजाइका प्रतिनिधिहरू चयन गर्नेमात्र होइन, नेपाल र नेपालीको भावी गन्तव्यको मार्गचित्र समेत निर्धारण गर्नेछौं । म सबै आदरणीय मतदाताहरू समक्ष उत्साहपूर्वक मतदान गर्नुहुन हार्दिक आग्रह गर्दछु । निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गर्न आवश्यक सहयोगका लागि सबैसँग अपिल गर्दछु ।

    २. नेपाली जनसमुदायमाझबाट उदाएको जनताको राजनीतिक दल नेकपा (एमाले) सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूको घर आँगनमा यहाँहरूको आशीर्वाद माग्न आएको छ । आगामी पाँच वर्षभित्र सबै गाउँ नगरलाई समग्र विकास, सुशासन, सामाजिक न्यायसहितको समतामूलक एवम् समृद्ध युगमा प्रवेश गराउने प्रतिज्ञाका साथ एमाले आम मतदाताहरू समक्ष प्रस्तुत भएको छ ।

    ३. आर्थिक विकासका क्षेत्रमा, आधुनिक भौतिक पूर्वाधार निर्माणका क्षेत्रमा, ग्रामीण तथा शहरी पूर्वाधार विकासका क्षेत्रमा र शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाइका क्षेत्रमा मात्र होइन,रोजगारी, सामाजिक सुरक्षा, संरक्षण तथा रूपान्तरणलगायतका क्षेत्रहरूमा समेत मानव जातिले सयौं वर्ष लगाएर हासिल गरेका उपलब्धिहरू नेपालमा एक दशकभित्रै हासिल गर्ने अठोट नेकपा (एमाले)ले लिएको छ । यो राष्ट्रिय अठोट पूरा गरिछाड्नका लागि भिजन, नीति र कार्यक्रमसहितको विस्तृत घोषणापत्र यहाँहरूसमक्ष हामीले प्रस्ताव गरिसकेका छौं ।

    ४. हाम्रा गाउँ नगरमा सताब्दीयौंदेखि ब्याप्त बेरोजगारी, गरिबी, विपन्नता, अभाव, कूप्रथा, कुसंस्कार, असमानता र कमजोर मनोबलको अन्त्य गर्ने सङ्कल्प नेकपा (एमाले)ले लिएको छ । नेकपा (एमाले) विकास, सुशासन र मानव सुखका दृष्टिले नेपाललाई विश्वकै सर्वश्रेष्ठ देश बनाउन चाहन्छ । हामीले देश र जनताको निरन्तर सेवालाई आफ्नो प्रमुख कर्तव्य ठान्दछौं । हाम्रा लागि नेपाल, नेपाली जनता र नेपालको अत्याधुनिक विकासभन्दा माथि केही छैन । एमाले यही आदर्शमा समर्पित थियो, छ र हुनेछ । त्यसैले हाम्रो मूल ध्येय ‘समृद्ध नेपाल, सुखी नेपाली’ हो । यो राष्ट्रिय ध्येयलाई साकार पार्नका निमित्त अवलम्बन गर्नुपर्ने नीति तथा कार्यक्रमहरूका बारेमा मैले विभिन्न अवसरमा यहाँहरू समक्ष आफ्ना धारणाहरू राख्दै आएको छु ।

    आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू !

    ५. राष्ट्रिय गन्तव्य तय गरेर सङ्कल्पसाथ अघि बढेमा मात्रै त्यसलाई साकार पार्न सकिन्छ । त्यसका लागि भिजन र त्यो भिजन बोक्ने व्यापक, सुदृढ, अनुशासित र गतिशील सङ्गठन चाहिन्छ । त्यस्तो सङ्गठनले मात्र गन्तव्य साकार पार्नका लागि शुरू भएको यात्रामा आउनसक्ने चुनौतीको डटेर सामना गर्न सक्दछ । राष्ट्रिय सङ्कल्पको कार्यान्वयन गर्न र कार्यान्वयनलाई निरन्तरता दिन देशमा एउटा भिजनरी र कृतसङ्कल्पित राष्ट्रिय शक्ति आवश्यक पर्दछ । त्यस्तो राष्ट्रिय शक्ति र त्यसरूपमा तीब्र गति एवम् उत्साहका साथ विकास गर्नसक्ने राजनीतिक दल नेकपा (एमाले) बाहेक अरू कुनै देखिंदैन ।

    ६. एमालेमा मात्रै राष्ट्रिय आँट, सङ्कल्प र आत्मविश्वास छ । हामी आम नेपाली जनतालाई यस उद्देश्यका लागि गोलबद्ध बनाउन सक्छौं, राष्ट्रिय परिवर्तन र रूपान्तरणको महाअभियानमा विश्वासका साथ अघि बढाउन सक्छौं । राष्ट्रिय हितहरूको पक्षपोषण गर्न, तिनको दृढ प्रतिरक्षा गर्न र गुमेका चिजहरू पुनः प्राप्त गर्नसक्ने सामथ्र्यवान्, भरपर्दो र जिम्मेवार राष्ट्रिय शक्ति एमाले नै हो ।

    ७. हामी नेपाललाई राष्ट्रिय स्वाभिमानसहितको दरिलो एवम् गर्बिलो राष्ट्र बनाउन चाहन्छौं, त्यो एमाले बिना सम्भव छैन । कुनै दल विशेषलाई पराजित गर्नु एमालेका लागि प्राथमिक चासोको विषय होइन, हाम्रो मुख्य ध्येय त नेपालको विकास गर्ने हो, नेपालीको इज्जत र प्रतिष्ठा बढाउने हो, नेपालको सार्वभौमसत्ता र अखण्डतालाई अक्षुण्ण राख्ने हो । नेकपा (एमाले)को यस महाअभियानलाई पूर्ण सफल बनाउन आम नेपाली दिदीबहिनी तथा दाजुभाइहरूबाट यस निर्वाचनमा अझ बढी साथ, समर्थन र सहयोग प्राप्त हुनेमा म विश्वस्त छु ।

    ८. नेकपा (एमाले) लोकतन्त्रको आधारभूत मूल्य मान्यता, बहुदलीय प्रतिस्पर्धात्मक राजनीतिक प्रणाली, आवधिक निर्वाचन, शक्ति पृथकीकरण, सन्तुलन र नियन्त्रण, स्वतन्त्र न्यायालय, मौलिक हक र मानव अधिकारप्रति प्रतिबद्ध छ । संविधानवादको अभ्यास गर्दा हामी सदासर्वदा नेपाली जनताको पक्षमा उभिने छौं ।

    ९. हामी नेपालको जातीय, भाषिक, धार्मिक, साँस्कृतिक तथा भौगोलिक विविधतालाई राष्ट्रिय सम्पदा ठान्दछौं, यसमा गौरव गर्दछौं, यसलाई आत्मसात गर्दछौं । त्यतिमात्र होइन, हामी नेपाली समाजमा समानता र सहिष्णुतामा आधारित सद्भावको विकास गर्दछौं, साम्प्रदायिक विद्वेष हटाउँदछौं । सामाजिक सद्भावलाई राष्ट्रिय एकतामा रूपान्तरण गर्दछौं । राष्ट्रिय एकतालाई मजबूत बनाउँदछौं, यसका आधारमा राष्ट्रिय शक्ति निर्माण गर्दछौं ।

    १०. राष्ट्रिय एकतालाई कमजोर पार्ने, कुनै नाम वा बहानामा अखण्डतालाई अपमान गर्ने र देशभक्तिलाई होच्याउने कुरा नेकपा (एमाले) कुनै हालतमा स्वीकार्दैन । विविधतायुक्त नेपाली समाजमा सामाजिक सद्भाव, न्याय र समतामूलक व्यवहार कायम गरी राष्ट्रिय एकता मजबूत राख्ने क्षमता एमालेमा नै छ ।

    ११. अन्य राजनीतिक दलहरू अनिश्चयबाट ग्रसित र विवस भएको स्वयम् दलहरूले सार्वजनिक गरिरहेका छन् । एमालेमात्रै मजबूत राजनीतिक दल हो । नेकपा (एमाले) नेपालको सार्वभौसत्ता र अखण्डतालाई अक्षुण्ण राख्नका लागि, गणतन्त्र स्थापनाका लागि, परिपूर्ण लोकतन्त्रको निर्वाध अभ्यास र विकासका लागि, जनताको मौलिक अधिकार र आधारभूत स्वतन्त्रताको बहालीका लागि, नेपाली समाजको परिवर्तन र रूपान्तरणका लागि, नेपाली जनताको समृद्धिका लागि र नेपालको सम्मान तथा इज्जत निरन्तर बढाउनका लागि स्थापना भएको राजनीतिक दल हो । स्थापनाकालदेखि आजसम्म निरन्तर स्पष्टताका साथ यिनै आदर्शमा नेकपा (एमाले) अडिग छ, अटल छ ।

    आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू !

    १२. नेपालको सार्वभौमसत्ता, अखण्डता र राष्ट्रिय एकताको सशक्त पहरेदारी गर्ने सामथ्र्य नेकपा (एमाले)मा मात्र छ भन्ने यथार्थ नेपालको नयाँ नक्सा प्रकाशन र संविधान संशोधनबाट सबैका सामुु थप स्पष्ट भइसकेको छ । राजनीतिक स्थिरता र स्थायित्वका लागि सर्वाधिक जनआधार भएको लोकप्रिय राजनीतिक दल नेकपा (एमाले) नै हो । नेकाँलागायतका केही दलहरुको अनिच्छाका बाबजुद स्थानीय स्वायत्त शासन ऐन– ०५५ तर्जुमा गर्न र स्थानीय तहलाई स्वायत्त अङ्गको रुपमा क्रियाशील गराउन संविधान निर्माणको समयमा नेतृत्व एमालेले नै गरेको थियो । स्थानीय तहलाई अधिकार सम्पन्न बनाई जनताको घर आँगनको सरकारको रुपमा स्थापित पनि यसैले गरेको हो ।

    १३. विकास र सुशासनलाई तीब्र गतिमा अघि बढाउने भिजन, नीति र कार्यक्रम एमालेसँग मात्रै छ । एमालेको सरकार गठन नभई देश विकासको युगमा प्रवेश गर्नै नसक्ने ऐतिहासिक तथ्यहरूले समेत प्रष्ट पारिसकेका छन् ।

    १४. व्यापक जनसमर्थन, जनविश्वास र जनताको अमूल्य मतबाट सरकारको नेतृत्व सम्हाल्ने जनादेश पाएको नेकपा (एमाले)को सरकारले उत्पादन र उत्पादकत्व बृद्धि, भौतिक पूर्वाधार निर्माण, व्यापक रोजगारी सिर्जना, शिक्षा र स्वास्थ्य सेवामा गुणात्मक सुधार, सामाजिक न्याय, सुशासन, अन्तर्राष्ट्रिय सम्बन्ध तथा नेपाल र नेपालीको सम्मान अभिबृद्धिका क्षेत्रमा स्पष्ट भिजन, योजना, कार्यक्रम, परियोजना र सुधारका अभियानहरूको कार्यान्वयन गरिरहेको थियो । स्थानीय तह, प्रदेश र संघबीच उचित समन्वय एवम् सहकार्य गर्दै संविधानको प्रभावकारी कार्यान्वयन गर्दै थियौं ।

    १५. यसैबीचमा नेपाली काँग्रेसको षड्यन्त्रले चरम् उत्कर्ष लियो । काँग्रेसले सुशासन र विकासको मार्गमा तीब्र गतिमा अघि बढिरहेको देशलाई व्यवधान खडा गरेर यथास्थितिमा राख्न र पछाडि फर्काउनका लागि राष्ट्रियता, लोकतन्त्र र जनताप्रतिको कर्तव्यबोधमा कमजोर रहेका तत्वहरूलाई खोज्ने र त्यस्ताको साथ सहयोग लिएर राजनीति र देश हितका सन्दर्भमा उल्टो बाटो समात्यो । काँग्रेसले राजीतिक दलको आधारभूत मर्ममाथि प्रहार गर्यो । संसदीय मूल्य र मान्यतालाई नै कुल्चियो । संसद्ले सरकार निर्माण गर्ने संसदीय शासन प्रणालीको आदर्शको उपहास गर्यो । संसद्लाई राजनीतिक निर्णयको थलो हुन नदिई बन्धक बनायो । स्वतन्त्र न्यायपालिकामाथि आघात पुर्यायो ।

    १६. संविधानको रक्षा गर्न, जनअधिकारको संरक्षण गर्न र देशलाई थप षड्यन्त्रको चक्रब्यूहबाट जोगाउन लोकतन्त्रप्रति प्रतिबद्ध नेकपा (एमाले) सरकारका सामु अन्य विकल्प थिएनन्, रहेनन् । फलस्वरूप, जनादेशका लागि जनतामाझ जाने निष्कर्षमा हामी पुग्यौं । तर अदालतको परमादेशले सरकार बदलियो । सार्वभौम नेपाली जनताको आफ्नो सरकार जनादेशबाट निर्माण गर्ने आधारभूत संवैधानिक अधिकारमाथि कुठाराघात भयो । विकास निर्माण, सुशासन, सामाजिक परिवर्तन र रूपान्तरणको युगान्तकारी विकास अभियान फेरि एकपटक अवरूद्ध हुनपुग्यो ।

    १७. चरम् पदीय स्वार्थ, अहङ्कार, कुण्ठा र इष्र्या राखेर संविधानको आधारभूत मर्ममाथि गरिएको यो प्रहारलाई सार्वभौम नेपाली जनताकै आदेशबाट परास्त गर्न सकिन्छ भन्ने विश्वासका साथ हामी सार्वभौम नेपाली जनतासमक्ष आएका छौं ।

    १८. संविधानको सफल कार्यान्वयका लागि, नेपाली जनताको सार्वभौम अधिकार र राष्ट्रिय अखण्डता एवम् एकताको रक्षाका लागि, ‘समृद्ध नेपाल, सुखी नेपाली’को महान् राष्ट्रिय आकाङ्क्षा साकार पार्नका लागि, संघ र प्रदेशको निर्वाचन सुनिश्चित गर्दै नेकपा (एमाले)को नेतृत्वमा सबै तहमा सरकार निर्माण गर्ने आधार तयार गर्नका लागि यही वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा सूर्य चिन्हमा मतदान गरी नेकपा (एमाले)का उम्मेदवारहरूलाई विजयी बनाइदिनुहुन आम नेपाली आदरणीय मतदाताहरूसमक्ष हार्दिक अपिल गर्दछु ।

    आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू !

    १९. बहुदलीय शासन व्यवस्थाको स्थापनापश्चातको करिव ३२ वर्षको अवधिमा नेकपा (एमाले)ले करिब ७ वर्ष आफ्नै नेतृत्वको सरकार र करिव ३ वर्ष संयुक्त सरकारमा सहभागी भई जम्मा करिब १० वर्ष सरकारमा रहने अवसर पाएको छ भने नेपाली काँग्रेसले करिब २० वर्ष आफ्नै नेतृत्वको सरकार र करिब ७ वर्ष संयुक्त सरकारमा सहभागी भई करिब २७ वर्ष सरकारमा रहेको ईतिहास छ ।

    २०. नेकपा (एमाले) करिब १० वर्ष सरकारमा रहँदा कृषि र औद्योगिक क्षेत्रको उत्पादन र उत्पादकत्व बृद्धि, भौतिक पूर्वाधार निर्माण, व्यापक रोजगारी सिर्जना, शिक्षा र स्वास्थ्य सेवामा गुणात्मक सुधार, सामाजिक न्याय, सुशासन, अन्तर्राष्ट्रिय सम्बन्ध तथा नेपाल र नेपालीको सम्मान अभिबृद्धिका क्षेत्रमा अभूतपूर्व र साहसिक सोच एवम् भिजन, योजना, कार्यक्रम, परियोजना र सुधारका अभियानहरूको कार्यान्वयन आत्मविश्वासका साथ आरम्भ गर्यो ।

    २१. नेकपा (एमाले) सरकारमा रहँदा एक दशकसम्म औषत चार प्रतिशतमा रहेको आर्थिक बृद्धिदरलाई छ दशमलब पाँच प्रतिशतभन्दा माथि पु¥याउँदै आर्थिक बृद्धिदरलाई दोहोरो अङ्कमा पुर्याउने उच्च लक्ष्यका साथ विकास निर्माणका योजनाहरू कार्यान्वयन गर्दै थियो । उद्योग व्यवसाय संचालन गर्न आन्तरिक तथा बाह्य लगानीका लागि अनुकूल वातावरण विकसित हुँदै गएको थियो । सुख्खा बन्दरगाह, विशेष आर्थिक क्षेत्र र औद्योगिक ग्रामहरूको निर्माण अभियान थालेर मुलुकलाई औद्योगीकरणको मार्गमा तीब्र गतिमा अग्रसर गराइएको थियो ।

    २२. कृषि उत्पादनमा देशलाई आत्मनिर्भर बनाउने, निर्यात बृद्धि गर्ने र कृषकलाई सम्पन्न बनाउने उच्च आकाङ्क्षाका साथ हामीले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना देशव्यापीरूपमा कार्यान्वयनमा ल्यायौं । देशलाई कृषि उत्पादनको सम्भाव्यताका आधारमा पकेट, ब्लक, जोन र सुपरजोनमा बर्गीकरण गरी परम्परागत निर्वाहमुखी कृषि प्रणालीलाई आधुनिक, व्यवसायिक र सम्मानित कृषि प्रणालीमा रूपान्तरण गर्ने अभियान थाल्यौं ।

    २३. कृषि र उद्योग क्षेत्रको उत्पादन र उत्पादकत्व बृद्धि गरी आत्मनिर्भर अर्थतन्त्रको निर्माणमा राज्यका सबै सामथ्र्य परिचालन गरेका थियौं । आयात घट्दै थियो, निर्यात बढ्दै थियो, व्यापार घाटा न्यून हुँदै थियो, अर्थतन्त्र सबल बन्दै थियो, नेपाल दक्षिण एसियाको उदीयमान आर्थिक केन्द्रका रूपमा विकसित हुँदै थियो, हामीले नेपाललाई एसियन इकानोमीसँग आबद्ध गर्दै विश्व अर्थतन्त्रसँग बलियो सम्बन्ध बनाउँदै नेपालको सम्पन्नताको परिचय दिन आर्थिक हैसियत बढाउँदै थियौं ।

    २४. राष्ट्रिय राजमार्गहरू र रणनीतिक राजमार्गहरूलाई कम्तिमा चार लेनमा विस्तार गर्ने, आधुनिक डिजाइनका सुरूङ मार्गहरू निर्माण गर्ने, सबै स्थानीय तहका सदरमुकाम र वडा केन्द्रसम्म पक्की सडक पु¥याउने, पूर्व–पश्चिम विद्युतीय रेलमार्ग एवम् उत्तर–दक्षिण रेलमार्ग निर्माण थाल्ने, सबै महानगरहरूमा मोनोरेल संचालन गर्नेलगायतका योजनाहरू क्रमशः आरम्भ गरी अत्याधुनिक सुरक्षित सडक, सुरूङ मार्ग र रेलमार्गको युगतर्फ देशलाई लग्दै थियौं ।

    २५. कोशी, गण्डकी र कर्णालीमा क्रुज संचालनलाई प्रोत्साहन ग¥यौं । छिमेकी मित्रराष्ट्रहरू भारत र चीनसँग सामुन्द्रिक बन्दरगाह प्रयोगका लागि र आन्तरिक जलमार्ग (इनल्याण्ड वाटरवेज्)बाट समुन्द्रसम्म पहुँच प्राप्त गर्नका सम्झौता गर्नुका साथै समुन्द्रमा नेपालको राष्ट्रिय ध्वजावाहक पानीजहाज संचालन गरी भूपरिवेष्ठित नेपालको सामुन्द्रिक पहुँचको अधिकार उपभोग गर्न आवश्यक पूर्वाधार विकासमा हामी प्रयत्नशील थियौं ।

    २६. स्पेशमा आफ्नै स्याटेलाइट स्थापनाको अधिकार सुरक्षित गरी सूचना तथा संचार प्रविधिमा असाधारण सुधार ल्याउने आयोजना प्रारम्भ गर्दै थियौं । नेपालको इतिहासमा पहिलो पटक न्यानो स्याटलाइट अन्तरीक्षमा प्रक्षेपण ग¥यौं । डिजिटल नेपालको विस्तृत कार्यक्रम कार्यान्वयनमा आइसकेको थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अत्याधुनिक सूचना तथा संचार प्रविधियुक्त विशेष कक्ष निर्माण गरी राष्ट्रिय महत्वका ठूला आयोजनाहरूको प्रत्यक्ष अनुगमन गर्न र प्रदेश तथा स्थानीय सरकारसँग प्रत्यक्ष अन्तक्र्रिया गर्ने प्रणाली कार्यान्वयनमा ल्याउन सफल भएका थियौं ।

    २७. नेकपा (एमाले)को सरकारले देशलाई ऊर्जा संकटको स्थितिबाट लोडसेडिङ्ग मुक्त बनायो । हामी तीब्र गतिमा विद्युत उत्पादन गरी छिमेकी मित्रराष्ट्रहरू भारत, चीन र बङ्गलादेशतर्फ विद्युत निर्यात गर्न अन्तरदेशीय विद्युत प्रसारण लाइनहरू निर्माण गर्न शुरू गर्दै थियौं ।

    २८. प्रधानमन्त्री रोजगार कार्यक्रम, सामाजिक सुरक्षा योजना, सबै बालबालिकालाई गुणात्मक शिक्षा, निरोगी नेपाल, स्वास्थ्य बीमा कार्यक्रम, सबै पालिकामा कम्तिमा १५ शैय्याको अस्पताल निर्माण, अस्पतालहरूको स्तरोन्नति, कडा रोगको निःशुल्क उपचार र आधारभूत औषधीहरू निःशुल्क उपलब्ध गराउने कार्यक्रम, बाल विकास कार्यक्रम, दिवा खाजा कार्यक्रम, आदिवासी, जनजाति, दलित र मानव विकास सूचकाङ्कमा पछि परेका परिवारका विद्यार्थीहरूलाई नर्सिङलगायतका प्राविधिक शिक्षा र उच्च शिक्षासमेत निःशुल्क उपलब्ध गराउने कार्यक्रम र छात्राहरूलाई स्यानिटरी प्याड निःशुल्क उपलब्ध गराउने कार्यक्रमहरू प्रभावकारी ढङ्गले कार्यान्वयनमा ल्याइएको थियो ।

    २९. जनता आवास कार्यक्रम, जनताको तटबन्ध कार्यक्रम, फुसको छानालाई जस्तापाताले विस्थापन गर्ने कार्यक्रम, एकीकृत बस्ती विकास कार्यक्रम, तराई–मधेश समृद्धि कार्यक्रम, स्थानीय पूर्वाधार विकास कार्यक्रम, सघन सहरी कार्यक्रम, समृद्धिका लागि वन कार्यक्रम र अर्गानिक नेपाललगायतका बृहत् रूपान्तरणकारी योजना तथा कार्यक्रमहरू निर्धारित लक्ष्य र सम्पन्न हुने समय एवम् अपेक्षित परिणामसमेत तोकी कार्यान्वयनलाई तीब्रता दिइएको थियो ।

    ३० विनासकारी भूूकम्पपछि उद्धार, उपचार, राहत र पुनःस्थापनाको लागि ५०औं हजार स्वयंसेवक परिचालन गरी नेकपा (एमाले)ले यसको नेतृत्व ग¥यो । एक महिना सञ्चालित त्यो स्वयम्सेवामा २७ हजार २ सय ७६ अस्थायी निजी आवास तयार गरी हस्तान्तरण गरियो । हामीले २२ हजार भग्नावशेष सफा गर्यौं र १ हजार ३ सय अस्थायी विद्यालय भवन निर्माण गर्यौं ।

    ३१ भूूकम्पपछिको पुनर्निर्माणको समग्र योजना नेकपा (एमाले) नेतृत्वको सरकारले बनायो । आन्तरिक र बाह्य स्रोत परिचालन गरी तोकिएकै अवधिमा पुनर्निर्माणमा उदाहरणीय सफलता हासिल गर्यो । करिब ८ लाख पीडित परिवारलाई सुरक्षित आवास उपलब्ध गराइयो । अझ राम्रो, अझै बलियो पुनर्निर्माणको योजनासहित क्षतिग्रस्त हजारौं विद्यालय भवन, अस्पताल एवं स्वास्थ्य संस्थाहरु र सरकारी कार्यालयको पुनर्निर्माण गरियो । परम्परा झल्कने, आधुनिकता टल्कने किसिमले साँस्कृतिक सम्पदाको पुननिर्माण कार्य अघि बढाइयो ।

    ३२ तुइनबाट ज्यानको जोखिम उठाएर नदी तर्नुपर्ने दर्दनाक अवस्थालाई हटाउन सबै तुइनलाई सम्भाव्यताका आधारमा झोलुङ्गे तथा पक्की पुलले विस्थापन गर्ने कार्यक्रम सम्पन्न गरियो ।

    ३३ विपन्न बर्गलाई प्राथमिकता दिएर जीवनचक्रमा आधारित स्वास्थ्य सेवा उपलब्ध गराउने कार्य प्रारम्भ गरियो । असहाय, अनाथ बालबालिकालगायतका व्यक्तिहरूको उद्धार, उपचार तथा पुनःस्थापनाको कार्यक्रम संचालनमा ल्याई सडकलाई मगन्तेरहित बनाइयो । विकट स्थानका प्रसव पीडामा परेका गर्भवती महिलाहरूलाई हेलिकप्टरबाट उद्धार गरी सुविधा सम्पन्न अस्पतालबाट प्रसूती सेवा उपलब्ध गराउने कार्यक्रम संचालनमा ल्याइयो ।

    ३४. हामीले अचानक आइलागेको कोभिड महामारीको स्थानीय तह र प्रदेशको सहकार्यमा प्रभावकारी ढङ्गले सामना ग¥यौं । यसको जानकारी सार्वजनिक हुनासाथ उच्च स्वास्थ्य सतर्कता अपनायौं । त्यतिखेर चीनमा अध्ययनरत विद्यार्थीहरुलाई विमान चार्टर गरी उद्दार गर्यौं । कोभिडको नियन्त्रण, रोकथाम र उपचारका लागि आइसोलेशन, क्वारेन्टिन, औषधी र खोपको निःशुल्क प्रबन्ध गर्यौं । अग्रभागमा खट्ने चिकित्सक, नर्स र स्वास्थ्यकर्मीसहित अन्य जनशक्तिका लागि १८ अर्ब रुपियाँ बराबरको कोरोना बीमासमेत गर्यौं । दक्षिण एशियामा भारतपछिको पहिलो मुलुकको रुपमा निःशुल्क खोपको प्रबन्ध पनि हामीले नै ग¥यौं ।

    ३५. यसरी हाम्रा समग्र कामले राष्ट्रको विभिन्न पक्षमा मनोबललाई उच्च बनाउने काम ग¥यो । भूूकम्पले रंगशाला भत्किएको बेला, अभ्यास गर्ने स्थानको समेत अभाव रहेको बेला, मुलुकले प्रबन्ध गरेको सीमित सुविधाको भरमा पनि हाम्रा युवा खेलाडीहरुले उच्च मनोवल प्रदर्शित गरे । फलस्वरुप १२औं दक्षिण एशियाली खेलकुदमा ३ वटा मात्र स्वर्ण पदकमा सीमित हामी, १३औं दक्षिण एशियाली खेलकूदमा आइपुग्दा ५१ स्वर्ण पदकसहित दोस्रो बिजेता बन्न सफल भयौं । आधुनिक रंगशालाहरुको निर्माण तथा सुधार कार्यलाई तीब्र गतिमा अघि बढायौं ।

    ३६. राज्यका स्रोत गाउँ नगर तहसम्म सोझै हस्तान्तरण गरी स्थानीय विकास निर्माणको नायकत्व गाउँ नगर तहलाई नै दिने कार्यक्रमका साथै ज्येष्ठ नागरिक, एकल महिला, विधवाहरूलाई राज्यका तर्फबाट भत्ता उपलब्ध गराउने कार्यक्रमहरू कार्यान्वयनमा ल्याइयो ।

    ३७. नेपालको संविधानको प्रभावकारी कार्यान्वयन प्रारम्भ गरी संघीय लोकतान्त्रिक गणतन्त्रको लाभ आम नेपालीसमक्ष पु¥याउन आरम्भ गर्यौं । संविधान कार्यान्वयनका लागि आवश्यक सयौं कानूनहरूको तर्जूमा गर्नुका साथै संविधानसँग मेल नखाने सयौं कानूनहरू खारेज गर्यौं । मिलेमतोमा राजश्व माफी दिने कर फछ्र्यौटसम्बन्धी कानून खारेज गर्यौं । मानव सभ्यताको कलङ्क एवम् बर्बर हिंसाको रुपमा रहेको एसिड आक्रमणलाई निर्मूल पार्न आवश्यक कानूनी व्यवस्था गर्यौं । वित्तीय संघीयताको अभ्यास गर्दै स्थानीय तहलाई समानीकरण, सशर्त, समपूरक र विशेष अनुदान उपलब्ध गराउन शुरू गर्यौं ।

    ३८. छिमेकी मित्रराष्ट्रहरू, अन्य मित्रराष्ट्रहरू र बहुपक्षीय अन्तर्राष्ट्रिय संस्थाहरूसँग नेपालको सम्बन्धलाई अझ सौहाद्र बनाउँदै नेपालको सर्वाधिक हितमा विकसित गर्दै थियौं ।

    ३९. यसरी नेकपा (एमाले) करिब १० वर्ष सरकारमा रहँदा नेपालको इतिहासमा पहिलो पटक मुलुकको समग्र विकास निर्माण, सामाजिक सुरक्षा, परिवर्तन र रूपान्तरण, राष्ट्रिय सामथ्र्य र प्रतिष्ठाको अभिबृद्धिलगायतका क्षेत्रमा युगान्तकारी एवम् गौरवपूर्ण उपलब्धिहरू हासिल भएको थियो ।

    ४०. नेपाली काँग्रेस २७ वर्ष सरकारमा रहँदा संसद्मा आफ्नै सरकारको वार्षिक नीति तथा कार्यक्रम फेल गर्ने, आफ्नै सरकारविरूद्ध अविश्वास प्रस्ताव पेश गर्ने, बिना कारण अन्य दलका सरकारविरूद्ध अविश्वासको प्रस्ताव पेश गर्ने, सांसदलाई विदेशसमेत लगी बन्धक बनाउने, संविधानबमोजिम ताजा जनादेशमा जाने सरकारको निर्णयउपर मुद्दा मामिला गर्न पटक–पटक अदालत जाने, महाभियोगको डर, त्रास देखाई अदालतको स्वतन्त्रता हनन् गर्ने, संसद् भङ्ग गरी राजालाई सत्ता सुम्पिने, संसद्बाट निर्वाचित प्रधानमन्त्रीको पद त्याग गरी राजाबाट नियुक्त प्रधानमन्त्रीको पद खाने, देश–जनता–राजनीतिलाई चरम् अन्धकारमा धकेल्न सशस्त्र द्वन्द्वलाई मार्गप्रशस्त गर्ने, निजामती सेवा नै खल्बलिने गरी निजामती कर्मचारीलाई बर्खास्त गर्ने, राष्ट्र बैंकका गभर्नर निलम्बन गर्ने, प्रहरी संगठनमा प्रचलित ऐन नियमको दायरा उल्लंघन गर्दै नियुक्ती र बढुवा गरी सुरक्षा संगठनलाई तहसनहस पार्ने, आधारभूत वस्तु उत्पादन गर्ने सरकारी उद्योगहरूलाई निजीकरणको बहानामा कौडीको मूल्यमा बेची राष्ट्रिय सम्पत्ति दोहन गर्ने, कर फछ्र्यौटको बहानामा सरकारलाई तिर्नु÷बुझाउनुपर्ने एकीन भइसकेको राजश्व मिलेमतोमा छूट माफी गरी देश र जनताको सम्पत्ति÷राजश्व खाने, परिवारका सदस्य र नातेदारहरूको मिलेमतोमा योजना रचेर निर्धक्क भ्रष्टाचार गर्ने, प्रहरी प्रशासन र सम्पूर्ण राज्य संयन्त्रको दुरूपयोग गरी सत्ताभोग गर्नेलगायतका देश र जनताविरोधी कार्यहरू नेपाली काँग्रेसको सरकारले गरेको इतिहास छ ।

    ४१. काँग्रेस शासनकालमा आर्थिक बृद्धि, कृषि, उद्योग, व्यापार–व्यवसायको विकासलाई तीब्र गति दिन, बेरोजगारी, अभाव, गरीबी, विपन्नताको अन्त्य गरी देशलाई समृद्ध बनाउनका लागि देश र जनताकेन्द्रित कुनै सोंच, नीति र कार्यक्रम थिएनन्, छैनन्, हुँदैनन् पनि । काँग्रेसकालमा आधुनिक भौतिक पूर्वाधार विकासका कुनै योजना न शुरू भए, न त सम्पन्न नै भए । शिक्षा र स्वास्थ्य क्षेत्रमा राज्यको भूमिकालाई अत्यन्त कमजोर बनाइयो, सामाजिक सुरक्षा र लोककल्याणप्रति निरन्तर उदासिनता देखाइयो । महिला, दलित, अपाङ्ग, जनजाति, आदिवासी, मानव सूचकाङ्कमा पछिपरेका भौगोलिक क्षेत्र र वासिन्दाहरूको उत्थानका लागि कुनै कार्यक्रम आएनन्, घरबारविहीन सुकुम्बासीहरूका लागि कुनै सम्बोधन भएन, सुकुम्वासीलाई लालपूर्जा वितरण गर्ने अवस्थामा पुगेको सुकुम्बासी समस्या समाधान आयोग पटक–पटक खारेज गरियो । ज्येष्ठ नागरिक, एकल महिला, बालबालिकाहरूको हित र कल्याणमा कुनै ध्यान दिइएन, समाजमा व्याप्त कुरिती, कुप्रथाहरू हटाई सामाजिक परिवर्तन, रूपान्तरण र सशक्तीकरणका कुुनै कार्यक्रमहरू काँग्रेस सरकारमा रहँदा सोच्दा पनि सोचिएनन् ।

    ४२. नेपाली काँग्रेस देश र जनताको विकास तथा समृद्धिका लागि आफू नीति कार्यक्रम ल्याउँदैन, विकास निर्माण र जनहितका लागि स्रोत–साधन छैन, अहिले केही पनि गर्न सकिंदैन, गर्न पनि हुँदैन, अझ आधुनिक विकास निर्माणतर्फ त देशलाई लग्नै हुँदैन, यो काँग्रेस सरकारको विगतदेखिकै घोषित मान्यता हो । हालै जारी भएको काँग्रेसको घोषणा–पत्रले पनि यसको पुष्टि गर्दछ । अचम्म त के लाग्दछ भने नेकपा (एमाले)ले ल्याएका नीति, कार्यक्रम र आयोजनाहरूलाई काँग्रेस मजाक र गफ भन्दछ । देशको समृद्धि र जनताको सुखलाई काँग्रेस कोरा सपना र उल्टो विकास भन्छ । ठिकै पनि हो, उसका लागि त सुल्टो भनेको, परिवार, नातेदार, गूट र अवसरवादीको हित र सत्ताभोग नै हो । काँग्रेस देशलाई गरीबी, विपन्नता, अभाव, लघुताभास र अनिश्चयको दुष्चक्रमा राखेर जनतामाथि शासन गर्न चाहन्छ ।

    ४३. तर नेकपा (एमाले) विकासका चुनौतीलाई चुनौती दिएर विकास गर्छ । हरेक असम्भवलाई सम्भव बनाउँछ । आम नेपाली जनसमुदायको आवश्यकता पूरा गर्नेमात्र हैन, आकाँक्षा समेत पूरा गर्न चाहन्छ । नेपाललाई सर्वश्रेष्ठ देश र नेपाली समाजलाई समतामूलक एवम् उत्कृष्ट तथा नेपालीलाई सुखी बनाउने स्पष्ट योजनासहित काम गर्दछ । सामान्य विकासको कार्यमात्र गर्दैन, अत्याधुनिक, उत्कृष्ट विकासका लक्ष्यहरू हासिल गर्ने दृढतासहित कार्यान्वयनमा जान्छ । सबै नेपालीलाई विकसित देशका नागरिकले उपभोग गरेसरहको भौतिक तथा अन्य क्षेत्रका सेवा सुविधाहरू उपलब्ध गराउने अठोटका साथ योजना, कार्यक्रमहरू कार्यान्वयन गर्दछ ।

    आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू !

    ४४. हामी आर्थिक बृद्धिका प्रमुख संवाहक क्षेत्रहरूमा सरकारी, सहकारी र निजी क्षेत्रको लगानी केन्द्रित गर्दछौं । यी क्षेत्रमा सरकारी, सहकारी र निजी क्षेत्रलाई प्रमुखताका साथ लगानी बढाउन अनुकूल वातावरण बनाउँदछौं । तीनखम्बे नीतिका आधारमा राष्ट्रिय अर्थतन्त्रलाई आत्मनिर्भर, गतिशील र प्रतिस्पर्धी बनाउने छौं । आन्तरिक र बाह्य लगानी प्रवद्र्धनमा जोड दिन निजी क्षेत्रको विकासलाई प्राथमिकता दिनेछौं । म निजी क्षेत्रका उद्योगी, व्यवसायी तथा लगानीकर्ता साथीहरूलाई आश्वस्त पार्न चाहन्छु, हामी निजी क्षेत्रका समस्या समाधान गर्नेछौं । निजी क्षेत्रका अवसरहरूलाई साकार पार्न मार्गप्रशस्त गर्नेछौं, तपाइँहरूको अभिभावक हुनेछौं । हामी नेकाँ र माकेले जस्तो देश र जनतालाई पिरोल्दैनौं, विश्वासघात गर्दैनौं ।

    ४५. हामीले राज्यका सबै क्षेत्र, आयाम र सामथ्र्यको उच्चतम् सदुपयोग हुने वातावरण सुनिश्चित गर्नेछौं । लोकतान्त्रिक मूल्य मान्यतामा चल्ने राज्यलाई अनावश्यक र अनुचित ढङ्गले भूमिकाविहीन र निरीह बनाउने अभ्यासलाई हामी उपयुक्त ठान्दैनौं । नेकपा (एमाले) जनताको हितका लागि राज्यको भूमिका प्रभावकारी बनाउन चाहन्छ ।

    ४६. दक्ष श्रमिक, उचित काम, कामको सम्मान, उपयुक्त पारिश्रमिक, स्वरोजगार र सामाजिक संरक्षणसहितको श्रम व्यवस्थापनलाई नेकपा (एमाले)ले सर्वाधिक प्राथमिकतामा राख्नेछ ।

    ४७. जीवनको प्रारम्भदेखि उत्तरार्धसम्मका सबै चरणहरूमा नेपालीलाई राज्यका तर्फबाट सेवा, सुविधा, सहयोग र संरक्षण दिन शुरू गर्ने पहिलो सरकार नेकपा (एमाले)को सरकार नै हो । यसमा हामी गर्ब गर्दछौं । गर्भवती महिलाको हेरचाह, बालबालिकाहरूको स्याहार र शिक्षा, युवाका लागि अवसर, प्रोत्साहन र रोजगारी, एकल महिला, विपन्न, अपाङ्ग, अशक्त, बेसहारा र अलपत्र व्यक्तिहरूका लागि सामाजिक सुरक्षा, संरक्षण र सबलीकरण तथा ज्येष्ठ नागरिकहरूका लागि स्वास्थ्योपचार, सामाजिक सुरक्षा र सम्मानलगायतका लोककल्याणकारी कार्यक्रमहरू हामीले नै ल्याएका हौं । आगामी दिनहरूमा विगतका अनुभवको समेत आधारमा अझ उन्नतस्तरका सामाजिक सुरक्षाका कार्यक्रमहरू हामी ल्याउने छौं ।

    ४८. अन्य राजनीतिक दलहरूले नेपालको विकासका लागि जुन–जुन अवस्था र विषयलाई समस्या, अवरोध र चुनौती मानेका छन्, नेकपा (एमाले) ती अवस्था र विषयमा अवसरै–अवसर देख्दछ । नेपालको विकासका सम्बन्धमा व्याख्या गरिने कठिनाइलाई हामी पर्यटन क्षेत्रको विकासका माध्यमबाट स्रोतमा बदल्न चाहन्छौं । यसका लागि हामीसँग भिजन र कार्यक्रम छ । हामी पर्यटन क्षेत्रलाई नेपालको राष्ट्रिय ढुकुटीका रूपमा विकास गर्नेछौं ।

    ४९. हाम्रा पुरातात्विक, धार्मिक, साँस्कृतिक र ऐतिहासिक महत्वका रहस्यमय सम्पदाहरू, हाम्रा चमत्कारिक भौगोलिक बनौट र विविधताहरू, हाम्रा अद्वितीय पर्यावरण, प्रकृति र जैविक विविधताको दृश्यावलोकन गर्न, अनुभव गर्न र अध्ययन–खोज गर्न समेतका लागि संसारभरबाट पर्यटक ल्याउनेछौं । संसारको शिखर चुम्नमात्र होइन, गौतम बुद्धको शान्तिको दर्शन बुझ्न र अवलम्बन गर्नसमेत पर्यटक ल्याउने आकर्षक अभियानहरू हामी थाल्नेछौं ।

    ५०. नेकपा (एमाले)ले अवलम्बन गर्ने शिक्षा नीतिले सबै नेपालीलाई देशभक्त, भविष्यप्रति आशावान्, सभ्य, सुसंस्कृत, योग्य, प्रतिस्पर्धी, उद्यमशील, सिर्जनशील र आत्मविश्वासी नागरिक बनाउनेछ । हामी हाम्रा बालबालिकाहरूलाई उपयुक्त शिक्षा दिएर ज्ञान र गुणवत्ताले युक्त आदर्शवान्, सामथ्र्यवान् र मर्यादित नागरिक बनाउँछौं । हामीले राष्ट्रिय आवश्यकता र अन्तर्राष्ट्रिय अवसरका आधारमा विषय र क्षेत्रगत जनशक्ति विकास गर्नेछौं ।

    ५१. नेकपा (एमाले) आजको विकासमा मात्र रूचि राख्दैन, भावी सन्तती र धर्तीको भविष्यप्रति पनि एमाले उत्तिकै सचेत र जिम्मेवार छ । हामी वातावरण, इकोसिष्टम, प्राकृतिक स्रोत र मानवीय भावनाको रक्षा र सम्बद्र्धनप्रति अत्यन्तै सजग छौं । वातावरणीय एवम् पर्यावरणीय सुरक्षा र सन्तुलनको विषयमा जागरूक छौं ।

    आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू !

    ५२. अन्तर्राष्ट्रिय जगतमा नेपालको हित, स्वाभिमान, सम्मान र प्रतिष्ठा अभिबृद्धि गर्न नेकपा (एमाले)सँग सुविचारित, स्पष्ट र परिपक्व परराष्ट्र नीति छ । हामीले ठोस आकार दिएको वैदेशिक मामिला संचालन गर्ने नीति नै नेपालको सफल परराष्ट्र नीति हुनेमा कुनै द्विविधा छैन । हामी ‘सबैसँग छ मित्रता, छैन कसैसँग शत्रुता’ को नीति अवलम्बन गर्दछौं । नेकपा (एमाले) छिमेकी मित्रराष्ट्रहरूप्रति पूर्ण इमान्दार छ । हामी विश्वास र भरोसाको सम्बन्ध अझ बलियो बनाउन चाहन्छौं । नेपाली भूमि कसैका विरूद्ध प्रयोग हुन नदिने हाम्रो स्पष्ट अडान छ ।

    ५३. देश भूगोलमा सानो वा ठूलो हुनसक्छ, जनसंख्या धेरै वा थोरै हुनसक्छ, विकासको स्तरमा अघि–पछि हुनसक्छ, तर कुनै पनि राष्ट्रको सार्वभौमसत्ता सानो ठूलो हुँदैन । यही सार्वभौम र सर्वकालिक मान्यतालाई आत्मसात् गर्दै हामी सार्वभौम समानतामा विश्वास गर्दछौं, सार्वभौम समानताको नीति अवलम्बन गर्दछौं । वास्तविक अर्थ र मर्मका साथ आफ्नो देशको स्वाधिनता र स्वतन्त्रताको प्रयोग गर्दछौं । हामी पारस्परिक लाभ र सम्मानका आधारमा वैदेशिक मामिला संचालन गर्दछौं । कसैको आन्तरिक मामिलामा कुनै प्रकारको हस्तक्षेप हामीलाई अस्वीकार्य छ । कसैको पक्ष वा विरोधमा न्यायपूर्ण तटस्थतालाई हामी छोड्दैनौं ।

    ५४. हामी ठान्दछौं, राष्ट्रिय हितलाई केन्द्रमा राखेर नै सबै देशहरूले आ–आफ्ना वैदेशिक नीतिहरू संचालन गरेका हुन्छन् । यही मान्यताको मर्मअनुसार हामी राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रिय अधिकारहरूमा हाम्रो न्यायोचित हिस्साका लागि दाबी गर्दछौं र प्राप्त पनि गर्दछौं । यसो गरिरहँदा न्याय र अन्तर्राष्ट्रिय उत्तरदायित्व विर्सन नहुनेतर्फ हामी सजग छौं । हामी सङ्कीर्ण राष्ट्रवादमा होइन, यथार्थ, वास्तविक, न्यायोचित र फराकिलो राष्ट्रवादको पक्षमा छौं ।

    ५५. मानवताको उचाइमा उठेको हाम्रो विश्व मान्यता स्पष्टरूपमा विश्व शान्तिको पक्षमा छ, मानव जाति र धर्तीको सुरक्षाको पक्षमा छ । तनाव, अशान्ति र हिंसाको विरूद्धमा छ । हिंसाको माध्यम र निहुँहरूको विरूद्धमा छ ।

    ५६. कतै तनाव देखिए सम्वादद्वारा घटाइनु पर्दछ । द्वन्द्व र हिंसालाई त्यसमा हिंसा थपेर होइन शान्तिपूर्ण सम्वादका माध्यमबाट आवश्यक परे प्रभावकारी मध्यस्थताका माध्यमबाट सल्ट्याउनु पर्दछ भन्ने मान्यता हामी राख्दछौं । यसका लागि मुख्यतः संयुक्त राष्ट्रसंघ र अन्य द्विपक्षीय, त्रिपक्षीय, क्षेत्रीय, बहुपक्षीय, अन्तर्राष्ट्रिय संघ संस्था र मञ्चहरूको भूमिकालाई कर्मकाण्डी होइन प्रभावकारी बनाइनु पर्दछ । यसका निमित्त हामीले अविचलित ढङ्गले स्वतन्त्र, तटस्थ, असंलग्न र निष्पक्ष भूमिकामा आफूलाई प्रस्तुत गर्नुपर्दछ । यो नै हामीले ठोस आकार दिएको परराष्ट्र नीतिको अन्तर्वस्तु र मूल मर्म हो ।

    ५७. आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू, नेपाली काँग्रेसको सुविधामा आधारित परराष्ट्र नीतिले नेपाल र नेपालीको हित एवम् भावनामा कुठाराघात गर्दछ, नेपाल र नेपालीको हितभन्दा अन्य विषयहरूलाई प्राथमिकता दिन्छ । तसर्थ, राष्ट्रिय हितको संरक्षण र प्रबद्र्धन गर्न तथा अन्तर्राष्ट्रिय जगतमा प्रतिष्ठा आर्जन गर्न र नेपाललाई सफल राष्ट्र बनाउन तीनै तहमा नेकपा (एमाले)को सरकार आवश्यक भएको छ ।

    आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू !

    ५८. राणा, राजा र काँग्रेसको सरकारले देशको विकास र जनताको सुख समृद्धिका लागि कुनै योजना अगाडि बढाएनन् । सरकार कहिल्यै आधुनिकता र उत्कृष्टतातर्फ केन्द्रित रहेन । नेपाल जस्तो धर्तीको स्वर्गलाई संसारकै उत्कृष्ट राष्ट्र बनाउने अवसरलाई साकार पार्न कहिल्यै ध्यान दिएनन् । बरू देशलाई संसारकै गरीब देश, विपन्न देश, अभावग्रस्त देश, असमानताको देश बनाइराखे । म आदरणीय आम मतादाताहरूसँग आग्रह गर्न चाहन्छु, इतिहास हेरौं, निष्पक्ष समीक्षा र मूल्याङ्कन गरौं । ऐतिहासिक परीक्षण र भविष्यको सम्भावनाका आधारमा यहाँहरूले नेकपा (एमाले)लाई विजयी बनाउन सूर्य चिन्हमा मतदान गर्नुहुनेछ भन्ने विश्वास मैले लिएको छु ।

    ५९. काँग्रेस एमालेसँग कहिल्यै सहकार्य गर्न चाहँदैन, यस्तो सोच्नु पनि अपराध ठान्दछ । उसले राणाशाहीसँग सहकार्य गरेको इतिहास छ । नेपाली काँग्रेसले निरङ्कुश राजतन्त्रसँग आफ्नो घाँटी जोडिएको सार्वजनिक घोषणा गरेको सर्वविदितै छ । काँग्रेसकै नीति र अकर्मण्यताका कारण सशस्त्र द्वन्द्वका लागि मार्गप्रशस्त भएको यथार्थ हो । काँग्रेसले नै जनताको सत्ता राजालाई बुझाएको धेरै भएको छैन । अहिले पनि दक्षिणपन्थी, वामपन्थी अतिवाद र अवसरवादीहरूसँग घाँटी जोडेर गठबन्धन सरकार चलाएकै छ । ऊ जनादेशमा विश्वास गर्दैन । सकेसम्म मुद्दा मामिला, छलकपट, षड्यन्त्र र मिलावटबाटै सत्ताभोग गर्न चाहन्छ । आफूलाई लोकतान्त्रिक शक्ति भन्दै लोकतन्त्रको चरम् उपहास गर्दा पनि उसलाई लज्जाबोध हुँदैन । ऊ जनतामाथि विश्वास गर्दैन ।

    ६०. तर हामी नेकपा (एमाले)का लागि जनताभन्दा ठूला अरू कोही छैनन् । जनताको सेवा नै हाम्रो मुख्य ध्येय हो । हाम्रो शक्तिको स्रोत नै जनताको शक्ति हो । तसर्थ, हामी जनताका बीचमा रहन चाहन्छौं । जनादेशबाट मात्र जनताको सेवा गर्ने अवसरका लागि प्रयत्नशील रहन्छौं । जनताको आदेश मान्छौं । यसपटक पनि जनताबाट जनताको सेवा गर्ने अवसर हामीलाई प्राप्त हुनेमा विश्वस्त छौं ।

    ६१. राजतन्त्रको अन्त्य र गणतन्त्रको उदयका लागि, संविधानसभाको निर्वाचन तथा संविधान लेखन र जारी गर्नका लागि तथा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान कार्यान्वयन गर्नका लागि नेकपा (एमाले)ले साहसिक निर्णायक भूमिका खेलेको सर्वविदितै छ । यसक्रममा काँग्रेसको आन्तरिक घेराबन्दी मात्र होइन, नाकाबन्दीसम्म व्यहोर्नुप¥यो । तर, सार्वभौम नेपाली जनताको अभूतपूर्व साथ र समर्थनबाट राष्ट्रिय जिम्मेवारी पूरा गर्न तथा महान् शहीदहरूको बलिदानबाट प्राप्त उपलब्धिहरूलाई संस्थागत गर्न हामी सफल भयौं । राजनीतिक उपलब्धिहरूलाई दिगो बनाउँदै समग्र विकासलाई तीब्र गति दिन एमाले थप ऊर्जाका साथ अघि बढिरहेको बेलामा काँग्रेसले पुनः जनादेशमाथि प्रहार गरेको छ । नेपाली काँग्रेस फेरि एकपटक नेपाल र नेपालीको विकास, स्थिरता र स्थायित्वका लागि अवरोध बनेर उपस्थित भएको छ, यसलाई पन्छाउन जरूरी भएको छ ।

    ६२. म आम नेपाली मतदाता दिदीबहिनी तथा दाजुभाइहरूसँग हार्दिक आग्रह गर्न चाहन्छु, यहाँहरूको आशीर्वादका लागि अनुरोध गर्न चाहन्छु । अब कम्तिमा दुई अवधि (पाँच–पाँच वर्ष) को निर्वाचनमा स्थानीय तह, प्रदेश र संघीय संसद्मा नेकपा (एमाले)लाई अत्याधिक बहुमतले विजयी बनाई नेपालको विकास र नेपालीको सुखको चीर प्रतिक्षित आकाङ्क्षा पूरा गर्न र देशमा स्थिरता र स्थायित्व कायम गर्नका लागि आदरणीय मतदाताहरू समक्ष साथ, समर्थन र सहयोगका लागि हार्दिक आग्रह गर्दछु । गठबन्धन बनाउनका लागि जनताको मत चाहिँदैन, जनताको मत त नेपालको विकास र समृद्धिको सुनौलो युग ल्याउनका लागि चाहिन्छ । त्यो युग नेकपा (एमाले)ले शुरू गरिसकेको छ र अबको पाँच वर्षमा सम्पन्न गर्दछ । अर्को पाँच वर्षमा हामी प्राप्त उपलब्धिलाई दिगो बनाई थप उत्कृष्ट र नवीन बनाउने सुनिश्चित गर्दछौं ।

    ६३. काँग्रेसलाई मतदान गर्ने धारणा बनाउनुभएका मतदाताहरूलाई समेत म आग्रह गर्न चाहन्छु, यसपटक नेपालको विकासका लागि, तपाइँहरूको जीवनमा सुख समृद्धि ल्याउनका लागि र तपाइँहरूका सन्ततीको स्वर्णिम भविष्य सुनिश्चित गर्नका लागि आउनुहोस्, निर्धक्कका साथ सूर्य चिन्हमा मतदान गरौं ।

    ६४. नयाँ मतदाताहरूलाई म आग्रह गर्न चाहन्छु, हामी तपाइँहरूको जीवनस्तरलाई विकसित देशका नागरिकको भन्दा कम हुन दिने छैनौं । तपाइँहरूको क्षमता विकास गरी तपाइँहरूलाई अद्वितीय उपलब्धी हासिल गर्नसक्ने प्रतिस्पर्धी, क्षमतायुक्त, सम्मानित र आदर्शवान् नागरिक बनाउने भिजन र कार्यक्रम एमालेसँग छ । तसर्थ, आउनुहोस्, जीवनको पहिलो मतदान सूर्य चिन्हमा गरौं र विकासको नयाँ युगमा प्रवेश गरौं ।

    आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू !

    ६५. नेकपा (एमाले)ले स्थानीय तहलाई लोकतन्त्र, विकास, निर्माण र आर्थिक बृद्धिको बलियो आधारस्तम्भ बनाउन चाहेको छ, जनसेवा प्रवाहको केन्द्रका रूपमा विकास गर्ने लक्ष्य लिएको छ, सुशासनको नमूना बनाउने उद्देश्य राखेको छ । स्थानीय तहलाई राष्ट्रियता, सामाजिक सद्भाव र सरकारप्रतिको जनविश्वासको प्रबर्धकको रूपमा विकास गर्न एमाले प्रतिबद्ध छ । स्थानीय स्रोत–साधनको पहिचान, संरक्षण, विकास र उपयोगको प्रस्थानबिन्दु बनाउने अठोट एमालेले लिएको छ ।

    ६६. नेकपा (एमाले)ले स्थानीय तहलाई विकास र सामाजिक चेतना अभिबृद्धिको अभियन्ता बनाउनेछ । सबै पालिकालाई सामाजिक न्याय र समानताका लागि रूपान्तरणको संवाहकका रूपमा विकास गर्नेछ । नेकपा (एमाले)ले विकास, निर्माण र सेवा प्रवाहको कार्यान्वयनमा स्थानीय तहको नायकत्व विकास गर्नेछ । हामीले लोकतन्त्रलाई जीवन पद्धतीका रूपमा अवलम्बन गर्ने आधारस्तम्भको रूपमा स्थानीय तहलाई विकास गर्नेछौं ।

    ६७. म पुनः आम नेपाली दिदीबहिनी तथा दाजुभाइहरू समक्ष यही २०७९ साल वैशाख ३० गते हुनगइरहेको स्थानीय तहको निर्वाचनमा सूर्य चिन्हमा मतदान गरी नेकपा (एमाले)का उम्मेद्वारहरूलाई अत्याधिक मतले विजयी गराइदिनहुन अपिल गर्दछु ।
    धन्यवाद !

    केपी शर्मा ओली
    अध्यक्ष, नेकपा (एमाले)
    २५ बैशाख २०७९

  • प्रचण्ड र देउवालाई जवाफ दिन एमाले अध्यक्ष ओली आज चितवन जाँदै

    प्रचण्ड र देउवालाई जवाफ दिन एमाले अध्यक्ष ओली आज चितवन जाँदै

    भरतपुर । नेकपा एमालेले आइतबारचितवनको भरतपुर र रुपन्देहीको बुटवलमा चुनावी सभा गर्ने भएको छ । दुबै सभामा पार्टी अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताहरुले सम्बोधन गर्नेछन् । चितवनमा क्याम्पाचौरमा दिउँसो १२ बजे सभा आयोजना गरिएको छ । सो सभालाई ओलीसहित एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डे, रामबहादुर थापा ‘बादल’, राप्रपा उपाध्यक्ष विक्रम पाण्डेलगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ । भरतपुर महानगरपालिकामा एमाले र राप्रपाले तालमेल गरेका छन् । भरतपुरको मेयरमा एमालेका विजय सुवेदी र उपमेयरमा राप्रपाकी हिमला गुरुङको उमेदवारी छ ।

    यसअघि पाँच दलीय गठबन्धनले वैशाख २२ गते भरतपुरमा चुनावी सभा आयोजना गरेको थियो । गठबन्धनले भरतपुरको मेयरमा माओवादी केन्द्रकी रेनु दाहाललाई र उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीलाई उम्मेदवार बनाएको छ । भरतपुरमा ओलीले कांग्रेस सभापति शेर बहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई जवाफ दिनेछन् । बुटवलमा हुने चुनावी सभालाई अध्यक्ष ओलीसँगै उपाध्यक्ष विष्णु पौडेल, सचिव छविलाल विश्वकर्मा लगायतका नेताहरुले सम्बोधन गर्नेछन् । बुटवलमा एमालेले बाबुराम भट्टराईलाई र सत्ता गठबन्धनले कांग्रेसका खेलराज पाण्डेलाई मेयर पदको उम्मेदवार बनाएका छन्

  • मतदान अधिकृतले सिसाकलमले मतपत्रमा हस्ताक्षर गर्न नपाउने

    मतदान अधिकृतले सिसाकलमले मतपत्रमा हस्ताक्षर गर्न नपाउने

    काठमाडौं । ३० वैशाखमा तोकिएको स्थानीय तह निर्वाचनमा मतदान अधिकृतले सिसाकलमले मतपत्रमा हस्ताक्षर गर्न नपाउने भएका छन् । मतपत्रमा मतदान अधिकृतले हस्ताक्षर गर्दा सिसाकलमबाहेक कालो, रातो, नीलो वा हरियोमध्ये कुनै पनि मसी भएको कलम वा डटपेन प्रयोग गर्न पाउने निर्वाचन आयोगले जनाएको छ। साकलमले हस्ताक्षर गर्दा छिट्टै मेटिन सक्ने खतरा रहेकाले सिसाकलमको प्रयोग नगर्न भनिएको हो ।

    आयोगले सिसाकलमबाहेक कालो, रातो, नीलो वा हरियोमध्ये कुनै मसी भएको कलम–डटपेनले हस्ताक्षर गर्ने व्यवस्था मिलाउन सबै मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतलाई निर्देशन पनि दिएको छ । सरकारले चुनावमा हरेक मतदान केन्द्रमा एक स्वास्थ्यकर्मी खटाउने समेत जनाएको छ । मतदानस्थलमा हुने भिडभाडका कारण कोभिड सङ्क्रमण बढ्ने जोखिम रहेकाले स्वास्थ्य मापदण्ड पालना गराउन स्वास्थ्यकर्मी परिचालन गर्न लागिएको हो ।

  • कामीरिता २६ औं पटक सगरमाथा चुचुरोमा

    कामीरिता २६ औं पटक सगरमाथा चुचुरोमा

    काठमाडौं । कीर्तिमानी आरोही कामीरिता शेर्पाले २६ औं पटक सगरमाथाको आरोहण गरेका छन् । उनले गत वर्ष आफैले राखेको कीर्तिमान तोडेका छन् । उनी आइसफल डाक्टरको ११ सदस्यीय टोलीको नेतृत्व गर्दै शनिबार सगरमाथा शिखरमा पुगेका हुन् । आरोहणको व्यवस्थापन गरिरहेको सेभेन समिटले यसको पुष्टी गरेको छ ।

    टोली शनिबारसाँझ ६ बजे चुचुरो पुगेको थियो । यो टोलीले आरोहणको सहजिकरणका लागि बाटो बनाउने र डोरी टाँग्ने काम पुरा गरेको छ । सोलुखुम्बुको थामेमा सन् १९७० मा जन्मेका कामी रिताको नाममा सन् २०१८ देखि सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गरेको कीर्तिमान कायम छ । उनले मे १६ २०१८ मा २२ औं पटक सगरमाथा आरोहण गर्दै आप्पा शेर्पाको कीर्तिमान तोडेका थिए ।

    कामीरितासँगै सगरमाथा पुगेका अन्य आरोहीमा सोना शेर्पा, निग्मा तासी शेर्पा । फुर्वा छिरिङ शेर्पा, तेञ्जिङ ग्याल्जेन शेर्पा, लाक्पा तेन्जी शेर्पा छन् । यस्तै फुर्वा कुसाङ शेर्पा, मिग्मा दाण्डु शेर्पा, पासतेञ्जी शेर्पा, तारेमान तामाङ र फुर्वा छोतार पनि कामीरितासँगै सगरमाथा चुचुरोमा पुगेका छन् ।

  • सत्ता गठबन्धनको चुनावी सभा आज पोखरा र दाङमा

    सत्ता गठबन्धनको चुनावी सभा आज पोखरा र दाङमा

    काठमाडौं । सत्ता गठबन्धनले आज कास्कीको पोखरामा संयुक्त चुनावी सभा आयोजना गर्ने भएको छ । बिहान ११ बजे अमरसिंह चौरमा हुने सभालाई गठबन्धन दलका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ । यहाँ मेयर पदमा नेकपा समाजवादी पार्टीका धनराज आचार्य उम्मेदवार छन् ।

    चुनावी सभालाई प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललगायतका शीर्ष नेताहरुले सम्बोधन गर्नेछन् । पोखरा महानगरपालिकामा आचार्यले एमालेबाट कृष्ण थापासँग लड्ने छन् । पोखराको सभापछि आजै दाङको घोराहीमा हुने सभालाई देउवा र प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम छ ।

  • उम्मेदवारले आफ्नो बाहेक अन्य दलको झण्डा र चुनाव चिन्ह प्रयोग गरी प्रचार गरे कारवाही हुने

    उम्मेदवारले आफ्नो बाहेक अन्य दलको झण्डा र चुनाव चिन्ह प्रयोग गरी प्रचार गरे कारवाही हुने

    काठमाडौं । स्थानीय तहको निर्वाचनमा उम्मेदवारले आफ्नो बाहेक अन्य दलको झण्डा र चुनाव चिन्ह प्रयोग गरि प्रचार प्रसार गरेमा कारवाही हुने र्भएको छ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचन प्रचारप्रसारको क्रममा आफ्नो बाहेक अन्य दलको झन्डा र चुनाव चिह्न प्रयोग गरेको पाइए कानुनी कारबाही हुने चेतावनी दिएको हो । स्थानीय तहका उम्मेदवारहरूले आफूसँग सम्बन्ध नभएको राजनीतिक दलको झन्डा र चुनाव चिह्न प्रचारका क्रममा प्रयोग गरेको उजुरी परेपछि आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले विज्ञप्ति जारी गर्दै यस्तो चेतावनी दिएका हुन् ।

    निर्वाचन प्रचार प्रसारको क्रममा निर्वाचन आचारसंहितामा उल्लेख भएभन्दा फरक ढंगले झन्डा र चिह्न प्रयोग गरिएमा वा मतदातालाई भ्रम सिर्जना गर्ने गरी आफू उम्मेदवार भएको दलबाहेक अन्य दलको झन्डा तथा चिह्न प्रयोग गरिएमा निर्वाचन आचारसंहिता उल्लंघन गरेको मानी कानुनबमोजिम कारबाही तथा सजाय हुने आयोगले जनाएको छ । निर्वाचन आचारसंहिता विपरीतका कार्य नगर्न, नगराउन समेत आयोगले भनेको छ । अन्य दलको झन्डा र चुनाव चिह्न प्रयोग गर्नु निर्वाचन आचारसंहिता विपरीतको कार्य हुने पनि आयोगले स्मरण गराएको छ ।

  • मिलिजुली खान गठबन्धन बनाएका हुन् : ओली

    मिलिजुली खान गठबन्धन बनाएका हुन् : ओली

    इटहरी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारमा बाँडीचुडी खान नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्रको गठबन्धन बनेको बताएका छन् । वडामासमेत एमालेसंग एक्लै चुनाव लड्न नसकेर सत्तारुढ ५ दलले गठबन्धन गरेको उनको आरोप छ । शनिबार इटहरी उपमहानगरपालिकाको चुनावी सभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले सत्तारुढ दलको गठबन्धनलाई टालाटुली बटुली बनाएको पुतलीजस्तो भएको बताए ।

    बाँडेर खाने उद्देश्यले बनाएको गठबन्धनलाई मत दिन नहुने ओलीको भनाइ छ ।‘गठबन्धनलाई भोट हाल्ने हो कि सुखी नेपाली समृद्ध नेपाल बनाउनेलाई भोट हाल्ने फैसला मतदातामा निर्भर रहने उनले बताए । आफुले इटहरी विकासको जिम्मा लिने उनको भनाई छ । उनले याम सुब्बा र सङ्गीता चौधरीलाई भोट मागेका छन् । एमाले अध्यक्ष ओलीले नेपाली काङ्ग्रेसको घोषणा पत्रमा मान्छे देखिने तर एमालेको घोषणा पत्रमा विकास देखिने बताए ।

  • गठबन्धनको जनलहर देखेर विपक्षी आत्तियो : प्रधानमन्त्री देउवा

    गठबन्धनको जनलहर देखेर विपक्षी आत्तियो : प्रधानमन्त्री देउवा

    बुटवल । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनप्रति जनलहर देखेर विपक्षी दल आत्तिएको बताएका छन् । बुटवलमा शनिबार चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । गठबन्धनको तागतबाट डराएकाले विभिन्न भ्रम छरेको उनको आरोप छ । कांग्रेस नेतृत्वको गठबन्धनको सरकारले मात्रै सुकुम्बासी, अव्यवस्थित बसोबास, गरिबीलगायतको समस्या समाधान गर्न सक्ने भन्दै उनले बुटवलमा यतिका वर्ष जितेर एमालेले केही नगरेको समेत बताए ।

    विपन्न र सुकुम्बासीहरु सधैं भोट बैंक हुने कि आफ्नो समस्या सधैंका लागि समाधान गर्न आफ्नो भोट प्रयोग गर्ने भन्नेबारे सोच्नुपर्ने उनको भनाई छ । सभापति देउवाले कांग्रेसलगायत गठबन्धनका नेता कार्यकर्तालाई हौसला दिन र विकासको प्रतिबद्धता जनाउन आफू बुटवल आएको बउल्लेख गरे । गठबन्धनले जितेमा ५ वर्षमा देखिनेगरी विकास हुने उनको भनाई छ । प्रधानमन्त्री देउवाले मुलुकको आर्थिक विकासका लागि एमसीसी लगायतका सम्झौता गरेर परिवर्तनको सुरुवात भएको समेत उल्लेख गरेका छन् ।

  • निर्वाचनको माहोलमा स्वास्थ्य सतर्कता अपनाउन नसके महामारी फिर्ता आउन सक्ने जोखिम

    निर्वाचनको माहोलमा स्वास्थ्य सतर्कता अपनाउन नसके महामारी फिर्ता आउन सक्ने जोखिम

    काठमाडौं । ३० वैशाखमा तोकिएको निर्वाचनका दौरान भिडभाड बढ्दा नेपालमा महामारी फिर्ता हुने जोखिम बढेको छ । भीडभाडमा जाँदा स्वास्थ्यका मापदण्ड पालन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आह्वान समेत गरेको छ । कोरोना भाइरसको संक्रमण दर कम भए पनि जोखिम कम नभएको भन्दै स्वास्थ्यका मापदण्ड अपनाउन मन्त्रालयले निरन्तर आह्वान गरिरहेको छ । मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार अहिले नेपालमा कोरोना संक्रमणदर स्थिर रहेको छ।

    केही दिनदेखि दैनिक १० देखि ३० जनामा संक्रमण पुष्टि भइराखेको छ। संक्रिय संक्रमितको संख्या अहिले दुई सयको हाराहारीमा छ। मन्त्रालयका अनुसार २९ जिल्लामा संक्रमण दर शून्य छ। त्यसैगरी, दुई सय भन्दा कम संक्रमित भएका जिल्लाको संख्या ४८ रहेको छ । संक्रमण पृष्टि हुनेको संख्यामा कमी आएपनि जोखिम उच्च रहेकोले स्वास्थ्यका मापदण्ड अपनाउन मन्त्रालयले भनेको छ । छिमेकी देश भारतमा समेत संक्रमणदर बढिरहेका कारण समेत नेपालमा यसको जोखिम बढेको हो ।

    खोप लगाउँदा र स्वास्थ्यका मापदण्डा अपनाउँदा संक्रमणको जोखिम कम हुने भन्दै मन्त्रालयले नजिकको खोप केन्द्रमा गएर खोप लगाउन आग्रहसमेत गरेको छ । नेपालमा २४ घण्टामा पीसीआर र एन्टीजेन परिक्षण गर्दा १५ जनामा कोरोना पृष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमण पृष्टि हुनेको संख्या ११ लाख १९ हजार ११२ पुगेको छ। जसमध्ये नौ लाख ६६ हजार ७४७ जनाले कोरोना जितेका छन्।

    नेपालमा अहिलेसम्म एक करोड ८९ लाख ३७ हजार ३५० जनाले एक मात्रा, एक करोड ९६ लाख ५८ हजार ९५० जनाले पूर्णमात्रा खोप लगाएका छन् भने ३५ लाख ९३ हजार ७२ जनाले अतिरिक्र मात्रा खोप लगाएका छन्। संक्रमितमध्ये ११ हजार ९५२ जनाको मृत्यु भएको छ। नेपालमा कोरोना संक्रमितको मृत्युदर १.२ प्रतिशत रहेको मन्त्रालयले तथयांकले देखाएको छ। कोरोना नियन्त्रणका लागि खोप लगाउन सुरु भएदेखि अहिलेसम्म सरकारले चार करोड २१ लख ८९ हजार ५५२ मात्रा खोप ल्याएको छ।

  • कांग्रेस नेत्री तथा देउवा पत्नी राणाविरुद्ध निर्वाचन आयोगमा उजुरी

    कांग्रेस नेत्री तथा देउवा पत्नी राणाविरुद्ध निर्वाचन आयोगमा उजुरी

    काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणाविरूद्ध निर्वाचन आयोगमा उजुरी परेको नेपाली संचारमाध्यमले जनाएका छन् । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नीसमेत रहेकी नेता आरजुविरुद्ध हरिशप्रसाद अवस्थी नामका मतदाताले उजुरी दिएका छन् । बिहीबार आरजुले कांग्रेसले नजितेका स्थानीय तहमा पैसा नपठाउने भन्दै अभिव्यक्ति दिएकी थिइन् । यो मतदाता र करदाताको गम्भीर अपमान भएको भन्दै अवस्थीले उजुरी दिएका छन् ।

    आरजुले गृहजिल्ला डडेल्धुरामा बिहीबार आयोजित चुनावी कार्यक्रममा मेयर नजित्ने नगरपालिकामा बजेट नपठाइने धम्की दिएकी हुन् । डडेल्धुरामा नेपाली कांग्रेस र नेपाली कांग्रेस (बिपी) का उम्मेदवारबीच प्रतिस्पर्धा छ । कांग्रेस बिपीको चुनाव चिह्न करूवा छ। कांग्रेसबाट विद्रोह गरेका कर्ण मल्ल पक्षले डडेल्धुरामा विभिन्न स्थानीय तहमा उम्मेदवारी दिएको छ। मल्ललाई कांग्रेसले कारबाही गरेको थियो। मल्ल पक्षले कांग्रेस बिपीको चिह्न लिएर एमालेसँग चुनावी तालमेल गरेका छन्।

  • चुनावी सभालाई सम्बोधन गर्न प्रधानमन्त्री तनहुँ पुग्दै

    चुनावी सभालाई सम्बोधन गर्न प्रधानमन्त्री तनहुँ पुग्दै

    काठमाडौं । चुनावी सभालाई सम्बोधन गर्न प्रधानमन्त्री शेरबहादुर देउवा तनहुँ जाने भएका छन् । वैशाख ३० मा तोकिएको स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेस तनहुँले दमौलीमा आयोजना गरेको सभामा सहभागी हुन प्रधानमन्त्री देउवा तनहुँ आउन लागेका हुन् । सभामा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र प्रवक्ता डा. प्रकाशशरण महतलगायत नेताहरूले पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ । कांग्रेस नेताहरु अहिले देश दौडाहमा छन् ।

  • जिल्लामा पुग्यो मतपत्र, अब स्थानीय तहमा पठाइँदै

    जिल्लामा पुग्यो मतपत्र, अब स्थानीय तहमा पठाइँदै

    काठमाडौं । स्थानीय तह निर्वाचनको प्रयोजनका लागि ७७ वटै जिल्लाका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतपत्र पुगेको छ । राससका अनुसार आयोगले मतपत्र छपाइ भएको स्थान भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडबाट यही वैशाख १३ गतेदेखि विभिन्न जिल्लाका लागि ट्रकमा लोड गराइ सुरक्षा प्रबन्धका साथ मतपत्र पठाएको हो । सडकमार्ग सहज नहुने जिल्लामा हवाइ मार्गबाट ढुवानी गरिएको थियो ।

    मुख्य निर्वाचन अधिकृतको कार्यालयले जिल्लाका सम्बन्धित पालिकाका लागि प्याकिङ गराई चाँडै स्थानीयरूपमा मतपत्र ढुवानी गराउने आयोगका मुद्रण अधिकृत बाबुराम कोइरालाले जानकारी दिए । उम्मेदवारी मनोनयनपत्र दर्ताको विवरण र निर्वाचन चिह्न प्रदानका आधारमा थप छपाइ गर्नुपर्नेसहित कुल दुई करोड सात लाख ४६ हजार मतपत्र छपाइ भएको थियो । आयोगले वैशाख १२ गतेसम्ममै आवश्यक निर्वाचन सामग्री ढुवानी सम्पन्न गरेको थियो ।

    आयोगका विभिन्न प्रदेश निर्वाचन कार्यालय, जिल्ला निर्वाचन कार्यालय, मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतका कार्यालयले मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई आयोगले निर्धारण गरेको विषयवस्तुका आधारमा तालिम दिएका छन् । कतिपय जिल्लामा तालिम जारी रहेको छ भने कतिपय जिल्लामा तालिम सम्पन्न भएको छ ।

    कार्यालयले आयोगबाट प्राप्त भएका निर्वाचन सामग्री र मतपत्रलाई व्यवस्थापन गर्दै प्याकिङ र वितरणको तयारी गरेका छन् । ती सामग्री चाँडै मतदानस्थल र केन्द्रमा लगिनेछन् । सुरक्षाको प्रबन्ध, आचारसंहिता कार्यान्वयनको अनुगमन, नमूना मतदान कार्यक्रमलगायत काममा पनि ति कार्यालय जुटिरहेका छन् ।


    प्रदेश निर्वाचन कार्यालयले प्रदेशका मुख्यालय भएका जिल्लाभरका निर्वाचन गतिविधिको नेतृत्व लिन्छन् भने जिल्ला निर्वाचन कार्यालयले सम्बन्धित जिल्लाको जिम्मेवारी पाएका छन् । सबै जिल्ला र पालिकामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान र म्यादी प्रहरी गरी आवश्यक सङ्ख्यामा सुरक्षाकर्मी परिचालित गरिएको छ । थप सुरक्षाकर्मीलाई तयारी अवस्थामा राखिने र आवश्यकताको आधारमा तत्काल परिचालन गरिने योजनासहित सुरक्षा योजना तयार पारिएको छ ।

    आयोगले मतदानस्थल पुग्न, मतदान गर्न र घर फर्कनेसम्मको वातावरणलाई सुरक्षित बनाउन प्रबन्ध गरेको छ । निर्वाचनको तीन दिनअघि नै कर्मचारी तथा सुरक्षाकर्मी सम्बन्धित निर्वाचनस्थलमा पुग्नेछन् । त्यसका लागि आवश्यक तयारीका काम भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएका छन् । अहिले मतदाता परिचयपत्र वितरण र मतदाता शिक्षाको गतिविधि पनि सञ्चालन भइरहेका छन् । लुम्बिनी प्रदेशको मुख्यालय रहेको दाङ जिल्लामा प्रदेश निर्वाचन कार्यालयले निर्वाचनको तयारीलाई व्यवस्थित गरेको छ ।

    कार्यालयका प्रमुख नारायण भण्डारीका अनुसार सबै मतदान केन्द्रका लागि निर्वाचन सामग्री प्याकिङ भइरहेको छ भने अपुग रहेको ३०० मतपेटिका आज आयोगबाट पठाइएकाले त्यसको व्यवस्थापन गरिनेछ । उनले वैशाख २४ गते जिल्लाको बङ्गलामुखी गाउँपालिकाको कमिरेपानीमा नमूना मतदान गराइएको कार्यक्रम रहेको र २६ र २७ गते खटाइएका जनशक्तिलााई निर्वाचन सामग्री वितरण हुने बताए ।

    दाङमा स्थानीय रेडियो र सञ्चारमाध्यमबाट मतदाता शिक्षालगायत सामग्रीको प्रसारण र प्रकाशन भइरहेको छ भने आचारसंहिता विरुद्धका उजुरी आएमा अनगुगमन र कारबाहीका लागि संयन्त्र तयार गरिएको छ । जिल्लामा हालसम्म कुनै अप्रिय घटना वा आचारसंहिताको गम्भीर प्रकारको उल्लङ्घन भएको जानकारीमा आएको देखिएको छैन । मधेश प्रदेशको प्रदेश निर्वाचन कार्यालयले निर्वाचनका लागि धनुषा जिल्लाका मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई निर्वाचनका क्रममा गर्नुपर्ने र गर्न नहुने कार्यका सम्बन्धमा तालिम दिएको छ ।

    जनकपुरमा आयोजित तालिममा निर्वाचनासम्बन्धी ऐन, कानुन, कार्यविधि, निर्वाचन आचारसंहिताका सैद्धान्तिक र व्यावहारिक पक्षहरूरुबारे तालिम दिइएको हो । गत शनिबारदेखि तीन दिनसम्म चल्ने तालिममा दैनिक ३०० को सङ्ख्यामा सहभागी रहनेछन् । कुल १८ पालिका भएको जिल्लामा ५९६ मतदान अधिकृत र सोही सङ्ख्यामा सहायक मतदान अधिकृत रहेका छन् । जिल्लामा चार लाख ६७ हजार ६८८ मतदाता, ५९६ मतदान केन्द्र र ३२३ मतदानस्थल रहेको प्रदेश निर्वाचन कार्यालयका प्रमुख श्रीधर पन्थीले जानकारी दिए ।

    निर्वाचन सामग्री र मतपत्र जनकपुरस्थित महेन्द्रनारायण निधि भवनमा राखिएको छ । निर्वाचनका लागि सुरक्षालगायत सबै तयारी भइसकेको प्रमुुख पन्थीले बताए । जिल्लामा आचारसंहिता अनुगमन संयन्त्रको बैठक भई अनुगमन र कारबाहीका काम पनि रहेका छन् । अनुगमनका क्रममा आचारसंहिता विपरीत दल र उम्मेदवारले प्रयोग गरेका तुल, ब्यानरहरू सुरक्षाकर्मीको सुहयोगमा हटाउने काम भएको छ ।

    निर्वाचन प्रचारप्रसारका क्रममा भारतीय नम्बर प्लेटको गाडी प्रयोग भएको पाइएमा तत्काल नियन्त्रणमा लिइ कारबाही गर्न पनि निर्देशन भएको प्रदेश कार्यालयका प्रमुख पन्थीको भनाइ छ । कर्णाली प्रदेशको मुख्यालयस्थित सुर्खेत जिल्लामा निर्वाचनको तयारी भइरहेको छ ।

    प्रदेश निर्वाचन कार्यालयका अधिकारी दुर्गाप्रसाद चालिसेका अनुुसार निर्वाचन सामग्री र मतपत्र प्याकिङ सम्पन्न भई वितरणका लागि तयारी गरिएको छ भने जिल्लाका मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई वैशाख २४ र २५ गते तालिम दिइने कार्यक्रम रहेको छ । कार्यालयले शुक्रबार वीरेन्द्रनगर नगरपालिका वडा नं ७ को कृष्णसदन माध्यमिक साधारण विद्यालयमा नमूना मतदान गराइएको छ ।

    प्रमुख चालिसेले निर्वाचन आचारसंहिता कार्यान्वयन अवस्थाको अनुगमनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय, जिल्ला प्रशासन कार्यालयसहित सम्बद्ध निकायले काम गरिरहेका छन् भने आचारसंहिता उल्लङ्घन भएको पाइएमा सोबारे छलफल गरी आवश्यक कारबाहीको प्रक्रिया अघि बढाइएको छ ।

    सुदूरपश्चिम प्रदेशको मुख्यालय रहेको कैलालीमा पनि मतदान अधिकृत र सहायकलाई तालिम जारी रहेको छ । हालसम्म ८१३ जनालाई तालिम दिइएको छ भने ४१३ लाई तालिम दिन बाँकी छ । कार्यालयले जिल्लाका सबै पालिकामा निर्वाचन सामग्री बुझाउन थालेको छ ।

    शुक्रबार मोहन्याल गाउँपालिकाबाट निर्वाचन सामग्री वितरण सुरु भएको छ । प्रदेश निर्वाचन कार्यालयका निमित्त प्रमुख प्रेमराज भट्टले सुरक्षा व्यवस्थापनका बारेमा प्रमुख जिल्ला अधिकारीले तालिममा प्रकाश पारेका छन् भने समग्र सुरक्षा, जनशक्ति र व्यवस्थापनको तयारी चुस्त र व्यवस्थित भएको छ ।

  • बाजुरामा समाजवादी र कांग्रेसका कार्यक्रताबीच झडप, प्रहरीले गर्यो हवाई फायर

    बाजुरामा समाजवादी र कांग्रेसका कार्यक्रताबीच झडप, प्रहरीले गर्यो हवाई फायर

    बाजुरा । बाजुराको बुढीनन्दा नगरपालिका ९ पाण्डुसैनमा एकीकृत समाजवादी पार्टी र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप हुँदा प्रहरीले हवाई फायर गरेको छ । झडपले उग्ररुप लिएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले २३ राउन्ड हवाइ फायर र ३ राउन्ड अश्रुग्याँस प्रहार गरेको प्रहरीले बताएका छन् । एकीकृत समाजवादीका कार्यकर्ताले कुकुरलाई हिर्काएको विषयमा विवाद हुँदा दुई पक्षबीच झडप भएको बाजुराका प्रहरी निरीक्षक गिन्द्रबहादुर बोगटीलाई उदृत गर्दै संचारमाध्यमले जनाएका छन् ।

    एकीकृत समाजवादीका कार्यकर्ताले कुकुरलाई लात्ताले हिर्काएको विषयमा विवाद झडपमा परिणत भएपछि समाजवादीका कार्यकर्ता गुहार माग्दै अस्थायी प्रहरी पोस्ट पान्डुसेनमा पुगेका थिए । विवादले उग्ररुप लिएपछि उनीहरु अस्थायी प्रहरी पोस्ट पान्डुसेनमा गुहार माग्न पुगेका थिए । अर्को समूहले उनीहरुलाई प्रहरी कार्यालयबाहिर आउने दबाव दिँदै प्रहरी चौकीमा नै आक्रमणको प्रयास भएपछि स्थिति नियन्त्रणमा लिन हवाइ फायर र अश्रुग्याँस नै प्रहार गर्नुपर्ने अवस्था आएको बताइएको हो ।

  • आधिकारिक तथ्यांकको तुलनामा विश्वभर कोभिडले मृत्यु हुनेको संख्या तेब्बर बढी

    आधिकारिक तथ्यांकको तुलनामा विश्वभर कोभिडले मृत्यु हुनेको संख्या तेब्बर बढी

    काठमाडौं । विश्व स्वास्थ्य सङ्गठनले कोभिड महामारीका कारण विश्वभर करिब एक करोड ५० लाख मानिसहरूको ज्यान गएको अनुमानित विवरण सार्वजनिक गरेको छ। बीबीसीका अनुसार विश्व स्वास्थ्य सङ्गठनले धेरै देशहरूले कोभिडका कारण मृत्यु हुनेहरूको सङ्ख्या कम गणना गरेको विश्वास गरेको छ। कोरोनाभाइरसबाट मृत्यु हुनेहरूको सङ्ख्या ५४ लाख मात्रै गणनामा समावेश गरिएको छ। विश्व स्वास्थ्य सङ्गठनले भारतमा मात्रै कोभिड सङ्क्रमणका कारण ४७ लाख मानिसहरूको मृत्यु भएको हुनसक्ने जनाएको छ। यो सङ्ख्या भारतले सार्वजनिक गरेको आधिकारिक तथ्याङ्क भन्दा १० गुणाले बढी हो।


    यो विवरण अनुसार कोभिड महामारीबाट विश्वभर मृत्यु हुनेहरूको एक तिहाइ सङ्ख्या भारतमा देखिन्छ। तर भारत सरकारले विश्व स्वास्थ्य सङ्गठनको यो आकलनमा प्रश्न उठाएको छ। भारतले गणनाको विधिमा चिन्ताू रहेको बताए पनि अन्य अध्ययनहरूले पनि भारतमा कोभिडबाट मृत्यु हुनेहरूको सङ्ख्या सरकारी तथ्याङ्कभन्दा बढी रहेको देखाएका छन्। विश्व स्वास्थ्य सङ्गठनले प्रयोग गरेको मापनलाई अतिरिक्त मृत्यु भनिएको छ। जसमा महामारी सुरु भएपछि मृत्यु हुने मानिसहरूको सङ्ख्या महामारी अघिको त्यही समयको मृत्युदर भन्दा कति बढी थियो भन्ने अन्तर हेरिएको छ।

    यो विधिले प्रत्यक्ष कोभिडकै कारण मृत्यु नभएका तर कोभिड महामारीले निम्त्याएका अप्रत्यक्ष समस्याहरूका कारण भएका मृत्युहरूलाई पनि गणना गर्छ। जसमा मानिसहरू कोभिडका कारण अस्पतालबाट आवश्यक सेवा लिन वञ्चित भएका कारण भएका मृत्यु जस्ता कारणहरू पर्छन्। यसले केही क्षेत्रहरूमा भएको कमजोर तथ्याङ्क सङ्कलन र महामारीको सुरुवाती समयमा देखिएको परीक्षण अभावजस्ता समस्याहरू पनि उजागर गरेको छ।

    तर विश्व स्वास्थ्य सङ्गठनले देशहरूको तथ्याङ्कमा देखिएको ५४ लाखबाट आफ्नो आकलनमा थपिएको ९५ लाख मृत्युका अधिकांश घटना कोभिडको प्रत्यक्ष असरका कारण भएको दाबी गरेको छ। पछिल्लो तथ्याङ्कलाई विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्क विभागकी समिरा आस्माले दुःखान्त भनेकी छिन्। भारत बाहेक सरकारी विवरणहरूमा भन्दा विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कमा धेरै कोभिड मृत्यु देखिएका देशहरूमा रुस, इन्डोनेसिया, अमेरिका, ब्रजिल, मेक्सिको र पेरु छन्।

    रुसले सार्वजनिक गरेको कोभिड मृत्युको विवरणभन्दा विश्व स्वास्थ्य सङ्गठनको पछिल्लो विवरण साढे तीन गुनाले बढी छ। प्रतिवेदनले देशको जनसङ्ख्याको आकारसँग समेत अतिरिक्त मृत्युको दरलाई तुलना गरेको छ। सन् २०२० र २०२१ मा यूके सहित अमेरिका, स्पेन र जर्मनी जस्ता देशहरूको अतिरिक्त मृत्युदर विश्वको औसतभन्दा बढी देखिएको छ।

  • ‘कसैको छोरी कसैको श्रीमती भनेर महिला भित्रको क्षमतालाई अवमूल्यन गरिँदैछ’-प्रचण्ड

    ‘कसैको छोरी कसैको श्रीमती भनेर महिला भित्रको क्षमतालाई अवमूल्यन गरिँदैछ’-प्रचण्ड

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिर्जना सिंह र रेणु दाहाललाई कसैको छोरी कसैको श्रीमती भनेर अवमूल्यन गरिएको बताएका छन् ।

    काठमाडौंमा आयोजित संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले उत्तः कुरा बताएका हुन् । हुन त भरतपुर र काठमाडौंको मेयरका बारेमा अनावश्यक टिकाटीप्पणी भइरहेका छन्।

    कसैलाई छोरीको रुपमा कसैलाई श्रीमतीको रुपमा प्रचार गरेर महिलाको क्षमतामा अवमूल्यन गर्ने एक थरी मानिसका कोसिस छन्,’ प्रचण्डले भने, ‘म त्यो प्रवृत्तिलाई हृदयदेखि विरोध गर्न चाहन्छु।

    उनले महिला कार्यकारी पदमा भएको ठाउँमा राम्रो काम भएकाले महिला नेतृत्वलाई विश्वास गर्न समेत आग्रह गरे । ‘

    अहिले घटनाक्रमले के देखाएको छ भने महिला जहाँ जहाँ कार्यकारी नेतृत्वमा नेतृत्वमा त्यहाँ त्यहाँ राम्रो काम भएको छ,’ उनले भने, ‘त्यसैले महिलाहरुलाई विश्वास गर्ने उनीहरुको योग्यतालाई सम्मान गर्ने देशकै आवश्यकता हो भन्छु ।’

    देशको पहिचान राजधानीले दिने भएकाले नेपाल कस्तो बन्छ भन्ने काठमाडौं कस्तो बन्छ भन्ने कुराले निर्धारण गर्ने उनको भनाइ छ ।

    सम्पदाका दृष्टिले काठमाडौं सुन्दर भएपछि शासन र सुशासन भ्रष्टाचारको दृटिले गर्व गर्न नसक्ने स्थिति भएको उनले बताए । तर राजधानीलाई गर्व गर्न लायक बनाउन अहिलेका गठबन्धनका उम्मेदवारलाई विजयी गराउनु पर्ने उनको भनाइ छ ।