Category: समाचार

  • बुद्ध पूर्णिमामा भारतीय प्रधानमन्त्री मोदी नेपाल आउने

    बुद्ध पूर्णिमामा भारतीय प्रधानमन्त्री मोदी नेपाल आउने

    काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बुद्ध पूर्णिमाका दिन नेपाल भ्रमणमा आउने भएका छन् । उनी १६ मे (२ जेठ)का लागि नेपाल भ्रमणमा आउन लागेको भारतीय पत्रिका द हिन्दूमा मंगलबार समाचार छापिएको छ । समाचार अनुसार सन् २०१९ मा पुनः प्रधानमन्त्री निर्वाचित भएपछि मोदीको यो पहिलो नेपाल भ्रमण हुनेछ ।
    मोदी बुद्ध पूर्णिमाको अवसरमा लुम्बिनीमा हुने समारोहमा नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी मोदी सहभागी हुने सम्भावना छ ।
    एक महिना अघि मात्रै देउवाले भारतको औपचारिक भ्रमण गरेका थिए । त्यसैले मोदीको नेपाल भ्रमणको क्रममा राजनीतिक कुराकानी भने नहुने बताइएको छ ।
    नेपाल र भारतीय अधिकारीहरुले मोदीको भ्रमणको तयारी गरिरहेका छन् ।

    देउवा र मोदी मायादेवी मन्दिरमा दीप प्रज्ज्वलन समारोहमा सहभागी हुनेछन् । उनी दिल्लीबाट कुशीनगर अन्तर्राष्ट्रिय विमानस्थलमा आउने र त्यहाँबाट हेलिकप्टर चढेर लुम्बिनी आउने भएका छन् । प्रधानमन्त्री भएपछि मोदीले सन् २०१४ र २०१८ मा दुई पटक नेपालको भ्रमण गरेका थिए । २०१८ मा जनकपुर र मुक्तिनाथ भ्रमण गरेका थिए । तर समय अभावका कारण लुम्बिनीको भ्रमण गर्ने कार्यक्रम स्थगित भएको थियो ।

  • केशव स्थापित र ओरेकलाई २४ घण्टे स्पष्टीकरण

    केशव स्थापित र ओरेकलाई २४ घण्टे स्पष्टीकरण

    काठमाडौं । निर्वाचन आयोगले काठमाडौँ महानगरपालिकामा प्रमुख पदका नेकपा (एमाले) का उम्मेदवार केशव स्थापितलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । उनले यही वैशाख १५ गते धुम्रबाराहीस्थित नेशनल कलेजमा काठमाडौँ महानगरपालिका र नागार्जुन नगरपालिकाका विभिन्न दल र स्वतन्त्रतर्फसमेतका प्रमुख पदका उम्मेदवारहरुसँगको कार्यक्रममा दिएको अभिव्यक्ति निर्वाचन आचारसंहिता विपरीत भएको पाइएकाले सोबारे २४ घण्टाभित्र स्पष्टीकरण दिन पत्र पठाएको छ ।

    स्थापितबारे जारी भएको प्रेस विज्ञप्ति निर्वाचन आचारसंहिता प्रतिकूल रहेकाले सो सम्बन्धमा स्पष्ट पार्न महिला पुनःस्थापना केन्द्र (ओरेक) लाई आयोगले स्पष्टीकरण सोधेको छ । आयोगले उक्त संस्थाको प्रेस विज्ञप्तिलाई सार्वजनिक माध्यमबाट यथाशिघ्र हटाई प्रमाणसहित २४ घण्टाभित्र स्पष्टीकरण सोध्न वैशाख १८ गते ओरेकलाई निर्देशन दिएको हो ।

    आयोगले ओरेकका कार्यकारी निर्देशक लुभराज न्यौपानेलाई स्पष्टीकरण सोध्दै निर्वाचन आचारसंहिताको दफा ११ को खण्ड (ख) मा गैरसरकारी संस्था तथा त्यस्तो संस्थासँग सम्बद्ध पदाधिकारी र कर्मचारीले राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसार गर्न नहुने समेतको व्यवस्था रहेकोमा उम्मेदवार स्थापित उम्मेदवार बन्न लायक छैनन् भन्ने प्रेस विज्ञप्तिमा समावेश भएकाले स्थापितको संवैधानिक र कानूनी हकको उल्लङ्घन हुन्छ, हुँदैन र? भनी स्पष्टीकरण सोधेको छ ।

    आयोगले यही वैशाख १५ गते काठमाडौँ महानगरपालिका र नागार्जुन नगरपालिकाका विभिन्न दल र स्वतन्त्रतर्फसमेतका प्रमुख पदका उम्मेदवारहरुसँगको कार्यक्रमसम्बन्धी विस्तृत विवरण माग गरी नेशनल कलेजलाई पनि पत्र पठाएको छ ।

  • स्थानीय तहमा देशभर ३५३ जना निर्विरोध निर्वाचित

    स्थानीय तहमा देशभर ३५३ जना निर्विरोध निर्वाचित

    काठमाडौं । स्थानीय तह निर्वाचनमा मनोनयनपत्र दर्ता गराएकामध्ये विभिन्न पदमा ३५३ निर्विरोध निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन भने वैशाख ३० मा तोकिएको छ । आयोगको कार्यतालिकाअनुसार वैशाख ११ र १२ गते मनोनयनपत्र दर्ताको समय दिइएकामा जाँचबुझ र फिर्ता लिने समय सकिएपछि यही १७ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको थियो । आयोगको प्रणालीमा प्रविष्ट भएअनुसार विभिन्न पदमा ३५३ निर्विरोध निर्वाचित भएका हुन् ।

    निर्विरोध भएकालाई मतगणना सम्पन्न भएपछि निर्वाचन अधिकृतको कार्यालयले प्रमाणपत्र दिनेछ । निर्वाचनमा ७५३ पालिकामा गरी कूल ३५ हजार २२१ पदका लागि निर्वाचन हुँदैछ । निर्वाचनका लागि हालसम्म ६४ जिल्लाका लागि एक करोड ३२ लाख २१ हजार मतपत्र ढुवानी गरिएको छ । काठमाडौँबाट एकै दिनमा ढुवानी गर्न सकिने मधेस प्रदेश र बागमती प्रदेशका केही जिल्लाहरुमा ढुवानी गर्न बाँकी रहेको छ ।

    मतपत्र ढुवानी भइसकेका जिल्लामध्ये मनोनयनपत्र दर्ता भएका उम्मेदवारको अन्तिम नामावलीसँग रुजु गर्दा निर्वाचन चिह्न थप हुन गई विभिन्न ३२ पालिकामध्ये १६ स्थानीय तहका लागि १० लाख ८० हजार मतपत्र छपाइ गर्नुपर्ने भएकामा हालसम्म नौ वटा पालिकाका लागिसात लाख ११ हजार मतपत्र छपाइ सम्पन्न भएको छ । बाँकीमध्ये भक्तपुर जिल्लाको मतपत्र छपाइ पनि सम्पन्न भएको छ भने महानगरपालिकाका लागि मतपत्र छपाइ भई सबै मतपत्र वैशाख २३ गतेभित्र ढुवानी गरिसक्ने तयारी रहेको छ ।

  • जन्ती बोकेको जिप दुर्घटनामा परि गोरखामा तीन जनाको मृत्यु

    जन्ती बोकेको जिप दुर्घटनामा परि गोरखामा तीन जनाको मृत्यु

    काठमाडौं । गोरखाको सिरानचोक गाउँपालिका–४ आरुबोटे स्थित फिरफिरे भन्ने स्थानमा जन्ती बोकेको जिप दुर्घटनामा परेको छ । प्रहरीका कअनुसार यस घटनामा तीन जनाको मृत्यु भएको छ । सोमवार चितवनको जिरौनाबाट जन्ती आएको बा १४ च ७८१ नम्वरको स्करपिओ जिप रोकिराखेको अवस्थामा एक्कासी गुडेर दुर्घटनामा परेको हो ।

    दुर्घटनामा काठमाडौं महानगरपालिका–१६ का कमलप्रसाद न्यौपाने, गोरखाको सिरानचोक गाउँपालिका चनौटेका देवी पोखरेल र नवलपरासीको कावासोती नगरपालिका–१४ का कृष्णप्रसाद सिग्देलको मृतयु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले जानकारी गराएको छ । गाडी रोकेर चालक बाहिर निस्केको समयमा गाडी गुडेको बताइएको छ । गाडी सडकबाट करिव दुई सय मिटर तल खसेको थियो । घटनाबारे प्रहरीले छानविन थालेको बताएको छ ।

  • फास्ट ट्रयाकमा लोडर दुर्घटनामा तीन चिनियाँ कामदारको मृत्यु

    फास्ट ट्रयाकमा लोडर दुर्घटनामा तीन चिनियाँ कामदारको मृत्यु

    काठमाडौं । फास्ट ट्रयाकमा लोडर दुर्घटनामा परी तीन जना चिनियाँ नागरिकको मृत्यु भएको छ। मकवानपुरको बकैया गाउँपालिका(११ भेटेपाखास्थित फास्ट ट्रयाकको निर्माणस्थलमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवाललाई उदृत गर्दै संचारमाध्यमले जनाएका छन् ।

    सोमबार साँझ करिब ५ लोडर ब्याक गर्ने क्रममा ५० मिटर तल खसेको थियो। त्यसमा सवार एक नेपालीसहित ६ जना चिनियाँ नागरिक घाइते भएका थिए। उनीहरुलाई उपचारको लागि हेटौडा अस्पताल लगिएको छ । सो क्रममा क्रममा गम्भीर घाइते भएका तीन जना चिनियाँ नागरिकको मृत्यु भएको हो ।

  • राहुल गान्धी सुटुक्क काठमाडौंमा

    राहुल गान्धी सुटुक्क काठमाडौंमा

    काठमाडौं । भारतीय राष्ट्रिय कंग्रेस पार्टीका नेता राहुल गान्धी सुटुक्क काठमाडौं आएका छन् । उनको नेपाल यात्रा बारे खुलाइएको छैन । त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार उनी भिस्तारा एयरलाइन्सको नियमित उडानबाट सोमबार करीव ५ बजे काठमाडौं अवतरण गरेका हुन् । उनको यो भ्रमण निजी रहेको र बिदा मनाउन नेपाल आएको मानिएको छ ।

    नेपालमा उनी हिमाली भेगमा भ्रमणमा जाने बताइए पनि कहाँ जाने खुलेको छैन । भारतमा अत्यधिक गर्मी हुने मौसममा धेरै जसो भारतीयले भ्रमणका लागि पछिल्लो समय नेपाललाई गन्तब्य बनाउन थालेका छन् । नेपाल पर्यटन बोर्डले सोमबार सार्वजनिक गरेको तथ्यांक अनुसार अप्रिल महिनामा मात्र २२ हजार भारतीय नेपाल आएका छन् ।

  • बबरमहलमा स्कुटर दुर्घटना, एक जनाको मृत्यु

    बबरमहलमा स्कुटर दुर्घटना, एक जनाको मृत्यु

    काठमाडौं । काठमाडौंको बबरमहलमा स्कुटर दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार गत राति पौने १२ बजे बा ६१ प ८९८८ नम्बरको स्कुटर अनियन्त्रित भएर पल्टिएको थियो । सो क्रममा चालक डडेलधुरा घर भइ काठमाण्डौको कोटेश्वर बस्ने २६ वर्षका केविन श्रेष्ठको ज्यान गएको हो । प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका श्रेष्ठको वीर अस्पतालमा उपचारका क्रममा राति पौने २ बजे ज्यान गएको छ ।दुर्घटनाको कारण खुलेको छैन ।

  • नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका महानिरिक्षकको बिदाई गरियो

    नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका महानिरिक्षकको बिदाई गरियो

    काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका महानिरीक्षक (आइजिपी) को बिदाइ गरेको छ। ३० वर्षे सेवा अवधिका कारण राति १२ बजेदेखि अनिवार्य अवकाश लिएका प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री र सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसीलाई आइतबारु बिदाइ गरिएको हो। बिदाइ समारोहमा गृहमन्त्री बालकृष्ण खाणले आम नागरिकको जीवनरक्षामा हरतरहले खटिने प्रहरीको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै त्यस संगठनको सफल नेतृत्व गरेकोमा दुबै महानिरीक्षकलाई धन्यवाद तथा बधाई दिए।

    साधनस्रोत सीमित हुँदाहुँदै पनि सीमा सुरक्षा, अवाञ्छनीय गतिविधि नियन्त्रण अपराध नियन्त्रण, दुर्घटना न्यूनीकरण, विपद् व्यवस्थापनलगायत नागरिकको जीवनरक्षामा खटिएको उल्लेख गर्दै गृहमन्त्री खाणले यसपालि नेपाल प्रहरीमा नयाँ दरबन्दी सिर्जना गरेर २० हजारभन्दा बढी प्रहरी कर्मचारीका लागि अवसर प्रदान गरिएको बताए। त्यसमा महानिरीक्षक थापाको विशेष योगदान रहेको उनले सुनाए।

    मन्त्रालयले प्रहरीले १६ वर्षमा नै अवकाश लिनसक्ने र २० वर्षमा निवृत्तिभरण पाउने व्यवस्था गर्न लागिएको जानकारी दिँदै उनले प्रहरीको ३० वर्षे सेवा अवधिका विषयमा समेत छलफल भइरहेको बताए। समारोहमा गृहसचिव टेकनारायण पाण्डेले दुवै महानिरीक्षकबाट नेपाल सरकारलाई भविष्यमा विज्ञ सेवा प्राप्त हुने विश्वास व्यक्त गर्दै भावी सुखमय जीवनको शुभकामना दिए। कार्यक्रममा महानिरीक्षकद्वयले आफ्नो कार्यकालमा भए्गरेका क्रियाकलाप र कार्यकालको अनुभूतिबारे जानकारी गराएका थिए ।

  • पदीय मर्यादा विपरित काम गर्ने तीन निर्वाचन अधिकृत फेरिए

    पदीय मर्यादा विपरित काम गर्ने तीन निर्वाचन अधिकृत फेरिए

    काठमाडौं । तीन स्थानीय तहका निर्वाचन अधिकृत परिवर्तन भएको निर्वाचन आयोगले जनाएको छ । महोत्तरीको साम्सी गाउँपालिका, बाजुराको बुढीगंगा गाउँपालिका र रौतहटको मौलापुर गाउँपालिकाका निर्वाचन अधिकृत फेरिएका हुन् । साम्सीका निर्वाचन अधिकृत दिलिपकुमार प्रधान र बुढीगंगाका निर्वाचन अधिकृत निरञ्जन स्थापितलाई जिम्मेवारी पूरा नगरेको आरोपमा आयोगले कारबाहीको सिफारिससमेत गरेको छ ।

    बुढीगंगाका निर्वाचन अधिकृत स्थापित समयतालिका अनुसार काम नगरेको र सम्पर्कविहीन भएको बताइएको छ । उनी मादक पदार्थ सेवन गरेको अवस्थामा भेटिएको बताइएको छ । आयोगले महोत्तरीको साम्सी गाउँपालिकाका निर्वाचन अधिकृत प्रधानलाई पनि निलम्बन गर्न सरकारलाई सिफारिस गरेको छ ।

    गैरजिम्मेवार काम गरेको भनी आयोगले उनलाई हटाउनुका साथै उनको ठाउँमा विनोदकुमार दाहाललाई खटाएको छ । निर्वाचन चिह्न बाँड्ने दिनसम्म पनि उनले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्न नसकेपछि कारेवाही गरिएको बताइएको छ ।

  • सोमबार बिहानैबाट वर्षा, तराईमा राहत

    सोमबार बिहानैबाट वर्षा, तराईमा राहत

    काठमाडौं । स्थानीय वायु, पश्चिमी वायु र भारतको उत्तर प्रदेशदेखि पश्चिम बंगालको समथर भूभागसम्म बनेको न्यून चापीय प्रणालीको प्रभावले नेपालमा वर्षा भएको छ । काठमाडौं उपत्यकासहित बागमती र मधेश प्रदेशमा आज वर्षा भएको हो । यसले तराई भेगमा बढ्दो तापमान रोक्न सहयोग पुगेको छ । मानिसहरुलाई राहत पुगेको छ । अहिले देशभर आंशिकदेखि सामान्य बदली भएको छ ।

    बागमती प्रदेश र मधेश प्रदेशका पश्चिमी जिल्लाहरुमा हल्कादेखि मध्यम खालको वर्षा भइरहेको छ । यो केही समय रोकिने भएको छ । दिउँसो घाम लाग्ने सम्भावना छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार प्रदेश १, मधेश प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरू तथा बागमती प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

  • स्वतन्त्र युवा उमेदवार बालेन शाहमाथि केशव स्थापितको अभद्र टिप्पणी

    स्वतन्त्र युवा उमेदवार बालेन शाहमाथि केशव स्थापितको अभद्र टिप्पणी

    काठमाडौं । नेकपा एमालेका काठमाडौं महानगरपालिकाका उमेदवार केशव स्थापितले स्वतन्त्र युवा उमेदवार बालेन्द्र शाह (बालेन) माथि अभद्र टिप्पणी गरेका छन् । उनले बालेन अन्तर्राष्ट्रिय ठग भएको भन्दै जातीय टिप्पणी गरेका छन् ।

    आइतबार राजधानीमा आयाजना भएको एक कार्यक्रममा स्थापितले भने, ‘एउटा फुच्चे बालेन शाह भन्ने रहेछ, यो त अन्तर्राष्ट्रिय ठग रहेछ, युवाहरूले सुनौं है, मसँग परिचय गर्दा पनि म काठमाडौंमा जन्मेको, म पहाडिया ठकुरी भन्छ क्या, हिजो के कुरा खुल्यो भने मधेशतिरको साह रहेछ हेर्नुस् न, सुरूवातमै ठग कुरा गर्ने यहाँ ल्यायो भने के हालत हुन्छ ?’

    उनले बालेन दर्तावाल ठग भएको आरोप लगाए। ‘सुरूवातमै ठग, दर्तावाल ठग,’ उनले भने, ‘सबै काठमाडौंबासीलाई ढाँट्न पाइन्छ ? म मधेशको मान्छे भनेर आँट गरी मेयरमा लड्न आउनु पर्दैन ? आँटचाहिँ केही छैन, जहिले पनि चस्मा छोड्दैन भनेको जनतासँग आँखा जुधाएर हेर्ने तागत रैन, फेस टु फेस बसेर कुरा गर्नुपर्‍यो नि ’। यसअघि उनले एक महिलामाथि अभद्र टिप्पणी गरेर आलोचित बनेका थिए । बालेनमाथिको टिप्पणीपछि उनीमाथि आचारसंहिताको प्रश्न समेत उठेको छ ।

  • भारतबाट इन्धनको लागत मूल्य बढेर आयो, पेट्रोल भन्दा डिजेल महंगो

    भारतबाट इन्धनको लागत मूल्य बढेर आयो, पेट्रोल भन्दा डिजेल महंगो

    काठमाडौं । इन्धनको खरिद लागत मूल्य वैशाख तेस्रो सातामा महँगो बनेको छ । नेपाल आयल निगमका अनुसार भारतीय आयल निगम (आईओसी)बाट ३ वैशाखमा प्राप्त मूल्य सूचीको तुलनामा १८ वैशाखमा प्राप्त नयाँ मूल्य सूचीले निगमलाई थप एक अर्ब ४५ करोड रुपैयाँ नोक्सान हुने भएको छ । १ वैशाखको मूल्यले ३ अर्ब ७४ करोड रुपैयाँ घाटा हुने स्थिति थियो । आइतबारको मूल्य अनुसार भने १५ दिनमा निगमलाई ५ अर्ब १९ करोड घाटा हुने छ ।

    आइतबार प्राप्त नयाँ मूल्य सूचीअनुसार पेट्रोल लिटरमा ५ रुपैयाँ र डिजेल लिटरमा १० रुपैयाँले महँगो भएको छ । मट्टितेल लिटरमा ४ रुपैयाँले महँगो भएको छ । खाना पकाउने ग्याँस सिलिण्डरमा ९९ रुपैयाँले थप महँगो हुने छ । नयाँ मूल्यअनुसार पेट्रोलको लागत १८३ रुपैयाँ २ पैसा, डिजेलको १८३ रुपैयाँ १३ पैसा मट्टितेलको १४० रुपैयाँ १९ पैसा र खाना पकाउने ग्याँसको मूल्य २६ सय ५० रुपैयाँ १८ पैसा रहेको छ ।

    नयाँ मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर २३ रुपैयाँ २ पैसा, डिजेलमा ४० रुपैयाँ १३ पैसा, मटितेलमा २ रुपैयाँ ८१ पैसा र खाना पकाउने ग्याँसमा एक हजार ५० रुपैयाँ १८ पैसा नोक्सान रहेको निगमले जनाएको छ । निगमलाई हवाई इन्धन आन्तरिकतर्फ १२ रुपैयाँ ६४ पैसा र बाह्यतर्फ ६४ रुपैयाँ ६९ पैसा नाफा रहेको छ । निगमले उपभोक्ता मूल्य भने चलाएको छैन ।

  • को हुन् आईजीपी नियुक्त भएका सिंह, नियुक्तिको निर्णयविरुद्ध पोखरेल र थापा सर्वोच्च जाने

    को हुन् आईजीपी नियुक्त भएका सिंह, नियुक्तिको निर्णयविरुद्ध पोखरेल र थापा सर्वोच्च जाने

    काठमाडौं । सरकारले नेपाल प्रहरीको आईजीपीमा धीरजप्रताप सिंह र सशस्त्र प्रहरी बलको आईजीपीमा राजु अर्याललाई नियुक्त गरेको छ ।

    आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उनीहरूलाई आईजीपीमा नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।

    उनीहरू दुवै आ–आफ्नो संगठनको एआईजी थिए । सरकारले उनीभन्दा झण्डै डेढ वर्ष ज्येष्ठतालाई उछिनेर सिंहलाई आईजीमा बढुवा गरेको हो।

    सिंहभन्दा डेढ वर्षअघि बढुवा भएका एआईजी विश्वराज पोखरेल र झण्डै एक वर्षअघि सहकुलबहादुर थापालाई बढुवा भएका थिए ।

    को हुन् सिंह ?

    दैलेखको विजौरामा २०२४ सालमा जन्मिएका सिंहले कानूनमा स्नातक र मानविकीमा स्नातकोत्तर तहको अध्ययन गरेका छन् ।

    उनी हालका आईजीपी शैलेश थापासहितको टोलीसँगै निरीक्षकका लागि प्रतिष्पर्धा गरेका थिए । तर वैकल्पिक सूचीमा परे र २०४९ चैतमा नियुक्ति लिए ।

    ३० वर्षे सेवा अवधि कायमै रहे उनले अब एक वर्ष प्रहरी संगठन चलाउनेछन् । सिंहले प्रहरी नायब महानिरीक्षक (डीआईजी) छँदा मधेश प्रदेश र केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को नेतृत्व गरेका छन् ।

    प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) छँदा उनले तत्कालीन महानगरीय अपराध अनुसन्धान महाशाखा (हालको उपत्यका अपराध अनुसन्धान कार्यालय)को नेतृत्व गरेका थिए । एसपी छँदा उनले पर्सा र दाङको नेतृत्व गरेका थिए ।

    नियुक्तिको निर्णयविरुद्ध पोखरेल र थापा सर्वोच्च जाने

    सरकारले धीरजप्रताप सिंहलाई नेपाल प्रहरीको आईजीपी नियुक्त गरेपछि संगठनमा असन्तृष्टि देखिएको छ । एकै ब्याच भए पनि आफूभन्दा जुनयरलाई आईजीपी बनाइएको भन्दै एआईजीद्वय विश्वराज पोखरेल र सहकुल थापाले अदालत जाने तयारी गरेका हुन् ।

    पोखरेल सिंहभन्दा १६ महिनाअघि र थापा ११ महिनाअघि एआईजी बनेका थिए । आफूहरू सिनियर हुँदाहुँदै जुनियरलाई आईजीपी बनाइएको भन्दै कानुनी लडाइँ लड्ने उनीहरूले बताए ।

    एक एआईजीले भने, “सरकारले न्याय गरेन । सर्वोच्च अदालतबाट न्यायको विश्वास गरेका छौँ । अदालत खुलेको दिन रिट दायर गर्छौँ ।”

  • वरियतामा मिच्दै नेपाल प्रहरीको प्रमुखमा धिरजप्रताप सिंह नियुक्त

    वरियतामा मिच्दै नेपाल प्रहरीको प्रमुखमा धिरजप्रताप सिंह नियुक्त

    काठमाडौं । सरकारले नेपाल प्रहरीको आईजीपीमा धीरजप्रताप सिंह र सशस्त्र प्रहरी बलको आईजीपीमा राजु अर्याललाई नियुक्त गरेको छ ।

    आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उनीहरूलाई आईजीपीमा नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।

    उनीहरू दुवै आ–आफ्नो संगठनको एआईजी थिए । सरकारले उनीभन्दा झण्डै डेढ वर्ष ज्येष्ठतालाई उछिनेर सिंहलाई आईजीमा बढुवा गरेको हो।

    सिंहभन्दा डेढ वर्षअघि बढुवा भएका एआईजी विश्वराज पोखरेल र झण्डै एक वर्षअघि सहकुलबहादुर थापालाई बढुवा भएका थिए ।

  • गठबन्धनको निर्देशन-‘उम्मेदवारी फिर्ता नभएका ठाउँमा पनि समझदारी गर्नू,निर्णय पालना नगर्नेलाई कारबाही’

    गठबन्धनको निर्देशन-‘उम्मेदवारी फिर्ता नभएका ठाउँमा पनि समझदारी गर्नू,निर्णय पालना नगर्नेलाई कारबाही’

    काठमाडौं । सत्ताठबन्धनको चुनावी तयारी तथा अनुगमन समिति बैठकले चुनावी तालमेल भएका तर उम्मेदवारी फिर्ता नभएका ठाउँमा पनि समझदारी गर्न निर्देशन दिएको छ।

    आइतवार बसेको स्थानीय तह निर्वाचनको आन्तरिक तयारी र अनुगमन गर्ने संयन्त्रको बैठकले उक्त निर्णय गरेको हो ।

    वैठकले पाँच दलीय गठबन्धनमा समझदारी भएको तर समझदारी अनुरुप उम्मेदवारी फिर्ता नलिएको तथा फिर्ता लिने समय अपुग भएका स्थानहरूमा समझदारी अनुरुप कार्य गर्न-गराउन आफ्ना दलले आ-आफ्ना मातहतका निकायहरूलाई निर्देश दिएको छ ।

    बैठकले गठबन्धनको मर्म र भावना अनुरुप आपसी एकता कायम गर्दै निर्वाचनमा सक्रियतापूर्वक जिम्मेवारी पूरा गर्ने निर्णय पनि गरेको छ । यो निर्णय पालना नगर्नेलाई आ–आफ्ना दलले कारबाही गर्ने निर्णय पनि संयन्त्रको बैठकले गरेको छ ।

    गठबन्धनको निर्णय विपरीत चितवन महानगरपालिका लगायतका कतिपय स्थानमा बागी उम्मेदवारी परेका छन् । कतिपय स्थानमा भने बागी उम्मेदवारी फिर्ता लिन ढिलाइ हुँदा गठबन्धनबाट दोहोरो उम्मेदवारी परेको छ ।

    शुक्रबार अपरान्ह ५ बजेभित्र उम्मेदवारी फिर्ता लिने समय थियो।

  • आजबाट मेलम्चीको पानी वितरण बढ्ने, कति जाने छ काठमाडौंका धारामा ?

    आजबाट मेलम्चीको पानी वितरण बढ्ने, कति जाने छ काठमाडौंका धारामा ?

    काठमाडौं । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले आइतबारबाट मेलम्चीको पानी वितरण क्षमता बढाउने भएको छ । अब दैनिक १७ करोड लिटर पानी वितरण गरिने भएको छ । मेलम्ची आयोजनाबाट आउने १७ करोड लिटर पानी आइतबार दिउँसोदेखि वितरण प्रणालीमा पठाइने भएको हो । आइतबार बिहान ११ बजेसम्म सर्वसाधारणको धारामा पान िपुगिसक्ने भएको हो । वैशाख ११ गते मीनभवनबाट मेलम्चीको पानी वितरण सुरु भएको थियो ।

    वितरण प्रणालीमा १७ करोड लिटर पानी पठाएसँगै वितरण हुन बाँकी क्षेत्रमा पनि वितरण सुरु गर्ने तयारी छ । वितरण प्रणालीमा १७ करोड लिटर पानी पठाएसँगै अब काठमाडौँ उपत्यकामा कुल २७ करोड लिटर पानी वितरण शुरु हुने छ । अहिले केयुकेएलले दस करोड लिटर पानी वितरण गर्दै आएको छ । मेलम्चीबाट आउने १७ करोड लिटर पानीमध्ये तीन करोड २० लाख लिटर पानी पाइप परीक्षणका लागि प्रयोग गरिनेछ ।

  • कांग्रेसले सातवटै प्रदेशमा चुनावी सभा गर्ने, कुन शहरमा कहिले ?

    कांग्रेसले सातवटै प्रदेशमा चुनावी सभा गर्ने, कुन शहरमा कहिले ?

    काठमाडौं । नेपाली कांग्रेसले सातै प्रदेशमा चुनावी खुला सभा गर्ने निर्णय गरेको छ । स्थानीय चुनाव केन्द्रित सभा वैशाख २१ गतेदेखि सुरू भई वैशाख २७ मा सक्ने गरि तालिका राखिएको छ । उपसभापति पूर्णबहादुर खड्का नेतृत्वमा रहेको केन्द्रीय चुनाव परिचालन समितिले सभा आयोजना गरेको हो। जिल्ला कार्यसमितिहरूको संयोजनमा सभाहरू हुनेछन् । काठमाडौंमा कांग्रेसले वैशाख २३ मा सभा गर्नेछ। यस्तै उपसभापति धनराज गुरूङको नेतृत्वमा कांग्रेसले देशव्यापी कार्यक्रम समन्वय उपसमिति गठन गरेको छ।

    उपसमितिले देशभरका पालिका एवं विभिन्न स्थानमा आयोजना गरिने सभाहरूको आवश्यक समन्वय, केन्द्रीय वक्ताहरूको चयन एवं परिचालन गर्ने पार्टी कार्यालयले जनाएको छ। मोरङमा २१, धनुषामा वैशाख २२, काठमाडौंमा वैशाख २३, कास्कीमा वैशाख २४, रुपन्देहीमा वैशाख २५, सुर्खेतमा वैशाख २६ र कैलालीमा वैशाख २७ मा कांग्रेसको सभा हुनेछ ।

  • कांग्रेस नेता कोइरालासहित दल र नेतालाई आचारसंहिता उल्लघंनमा आयोगले सचेत गराउने

    कांग्रेस नेता कोइरालासहित दल र नेतालाई आचारसंहिता उल्लघंनमा आयोगले सचेत गराउने

    काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घन गरेकोमा तीन दलसहित नेताहरू र गण्डकी प्रदेश सभामुखलाई सचेत गराउने निर्णय गरेको छ। आयोगले नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राप्रपालाई सचेत गराउने निर्णय गरेको हो। आचारसंहिता उल्लङ्घनबारे आयोगमा १० उजुरी परेको थियो। ती उजुरीबारे शुक्रबारको आयोग बैठकमा छलफल भएको थियो। आयोगले आचारसंहिता प्रतिकूल हुने काम नगर्न ती दलहरूलाई सचेत गराउने निर्णय गरेको छ।

    एकीकृत समाजवादीले भृकुटीमण्डपमा गरेको सभामा बालबालिका प्रयोग गरेको, माओवादी केन्द्रले चुनावी प्रचारमा कुलमान घिसिङको तस्बिर प्रयोग गरेको र राप्रपाले हेटौंडा सभामा आचारसंहिता उलङ्घन गरेको उजुरी परेको थियो। निर्वाचन खर्चबारे अभिव्यक्ति दिएका नेपाली कांग्रेसका पूर्वमहामन्त्री शशांक कोइरालालाई पनि आयोगले सचेत गराउने भएको छ।

    ०७४ मा नवलपुरबाट प्रतिनिधि सभा सांसद भएका कोइरालाले हालै आफूले चुनावमा छ करोड खर्च गरेको अभिव्यक्ति दिएका थिए। कोइरालाले उक्त चुनावमा २१ लाख ७५ हजार खर्च गरेको विवरण आयोगमा पेश गरेको पाइएको थियो।गण्डकी प्रदेश सभामुख नेत्रनाथ अधिकारीलाई पनि आयोगले सचेत गराउने भएको छ। उनले पनि निर्वाचन खर्चबारे अभिव्यक्ति दिएका थिए।

  • आज श्रमिक दिवस, विश्वभर मनाइदैं

    आज श्रमिक दिवस, विश्वभर मनाइदैं

    काठमाडौं । आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जन’को माग राख्दै अमेरिकाको सिकागो सहरका श्रमिकहरूले सडक ओर्लिएर बलिदानी पूर्ण सङ्घर्ष गरी विजय हासिल गरेको दिनको सम्झनामा आज विश्वभर अन्तर्राष्ट्रिष्य श्रमिक दिवस मनाइँदैछ । एक सय ३६ वर्षदेखि निरन्तर मनाउन सुरु गरिएको श्रमिक दिवसले श्रमिकको एकता, वीरता र गौरवपूर्ण इतिहास बोकेको छ । अन्तर्राष्ट्रिष्य श्रमिक दिवसले संसारभरका श्रमिकलाई आफ्नो अधिकारप्रति जागरुक बनाउँदै आएको छ । नेपालमा पनि विभिन्न ट्रेड युनियनले श्रमिक दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरेका छन् ।


    नेपाल ट्रेड युनियन कांग्रेसले आज बिहान श्रमिक अधिकारको पक्षमा दबाब दिने उद्देश्यले पदयात्राको आयोजना गरेको छ । भृकुटीमण्डपबाट सुरु हुने पदयात्रा सहिदगेट, न्यूरोड गेट, रत्नपार्क हुँदै बागबजारस्थित भक्तपुर बसपार्कमा पुगेर सभामा परिणत हुनेछ । नेपाल ट्रेड युनियन महासङ्घले मध्याह्न भृकुटीमण्डमा श्रमिकसभाको आयोजना गर्ने छ । नेपालका क्रियाशील एक दर्जन बढी ट्रेड युनियनको साझा संस्था ट्रेड युनियन समन्वय केन्द्र ९जेटियुसिसी०ले अपराह्न बृहत् कार्यक्रमको आयोजना गर्ने जनाएको छ ।

    वि.सं २००३ मा विराटनगरको ऐतिहासिक मजदुर आन्दोलनबाट प्रारम्भ भएको नेपालको ट्रेड युनियन आन्दोलनले ७५ वर्ष पार गरेको छ । नेपालको राजनीतिक परिवर्तनमा श्रमिक वर्गको महत्वपूर्ण भूमिका रहँदै आएको छ । विसं २००७ को राणा शासनविरुद्ध, विसं २०४६ को प्रजातन्त्र प्राप्ति तथा २०६२÷६३ को गणतन्त्रको आन्दोलनमा श्रमिक वर्गको अतुलनीय योगदान रहेको छ ।

    ‘विविधतामा एकता’ नारासहित गठित जेटियुसिसीले श्रम बजार सुधारका लागि साझा मुद्दा उठाउँदै आएको छ । आन्दोलनबाटै नेपालका श्रमिकले अधिकार प्राप्त गरेका छन् । संविधानमा श्रम–एजेण्डा समावेश गरिएका छन् । संविधानमा मौलिक हकका रूपमा प्रत्येक नागरिकलाई रोजगारीको हक हुने, योगदानमा आधारित सामाजिक सुरक्षाको हक हुने व्यवस्था गरिएको छ । संविधानमा श्रम अभ्यासको हक समावेश भएको छ । श्रमिकको पारिश्रमिकको हकको सुनिश्चिता भएको छ ।

    यस्तै युनियन खोल्न पाउने र सामूहिक सौदाबाजीको हकको सुनिश्चितता भएको छ । बालश्रम, बाधा श्रम निषेध भएको छ । विभिन्न जातीय, लिङ्गीय, क्षेत्रीय, भाषिक, धार्मिक, वैचारिक आधारमा हुने भेदभाव अन्त्य गरी समानताको प्रत्याभूति गरिएको छ । औपचारिक र अनौपचारिक श्रमिकको भेदभाव हटाएर सबै श्रमिकलाई समान हैसियतको व्यवस्था श्रम ऐनमा गरिएको छ ।

    श्रमिक अधिकारका विषय संविधानमा लिपिबद्ध भए पनि त्यसको कार्यान्वयनको पक्ष कमजोर रहेको जेटियुसिसीको ठहर छ । संविधानले सामाजिक सुरक्षाको हक, रोजगारीको हकको प्रत्याभूति गरेको छ । तर अझै पनि औपचारिक तथा अनौपचारिक क्षेत्रका लाखौँ श्रमिक सामाजिक सुरक्षाको हकका साथै न्यूनतम परिश्रमिकबाट वञ्चित छन् । संविधानले हरेक नागरिकलाई रोजगारीको हक प्रदान गरेको भए पनि कामको अभावमा युवा शक्ति विदेशिएको भन्दै जेटियुसिसीले मुलुकभित्रै रोजगारीको वातावरण बनाउन र विदेशिएका युवालाई स्वदेश फर्कने व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेको छ । रासस

  • बुबाको हत्याको आरोपमा प्यूठानमा छोरा पक्राउ

    बुबाको हत्याको आरोपमा प्यूठानमा छोरा पक्राउ

    प्यूठान । प्युठानमा बुवाको हत्या गरेको आरोपमा प्रहरीले छोरालाई पक्राउ गरेको छ। नौबहिनी गाउँपालिका(४ खबाङ खप्रेटा बस्ने ८३ वर्षीय बुवा जंगबहादुर सुनारको हत्या गरेको आरोपमा ३० वर्षीय छोरा तुलेलाई प्रहरीले शुक्रबार दिउँसो पक्राउ गरेको हो।

    मादक पदार्थ सेवन गरेका तुलेले सामान्य झगडामा बुवामाथि ढुंगा प्रहार गरेका थिए। ढुंगा प्रहार गर्दा बुवा जंगबहादुरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। घटनाको खबरपछि इलाका प्रहरी कार्यालय लुङबहानेबाट प्रहरी खटिएको थियो। सो टोलीले उनलाई पक्राउ गरेको हो।

  • कामदारको न्यूनतम पारिश्रमिक बढाउन मलेसियासँग नेपालको आग्रह

    कामदारको न्यूनतम पारिश्रमिक बढाउन मलेसियासँग नेपालको आग्रह

    काठमाडौं । नेपाल सरकारले मलेसियामा कार्यरत नेपाली मजदुरको पारिश्रमिक बढाउन त्यहाँको सरकारसँग आग्रह गरेको छ । मलेसिया भ्रमणमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले मलेसियाका गृहमन्त्री हमजाह वीन जैनुदिनसँग द्विपक्षीय भेटवार्ता गर्दै यस्तो आग्रह गरेका हुन् । पुत्रजयास्थीत गृहमन्त्रालयमा भएको भेटवार्तामा उनीहरुबीच नेपाल– मलेसिया सम्बन्धका साथै द्विपक्षीय हित र साझा चासोका विविध विषयमा कुराकानी भएको हो ।

    मन्त्री श्रेष्ठले मलेसियामा रहेका नेपाली सुरक्षागार्डसहित अन्य श्रमिकको सेवा सुविधा र अधिकारको बिषयमा गृहमन्त्री जैनुदिनसँग छलफल भएको जानकारी दिए । श्रेष्ठले नेपाली सुरक्षागार्डको मासिक तलब तीन हजार मलेसियन रिंगेट हुनुपर्ने प्रस्ताव गरेका छन् । नेपाली कामदार मेहनेती र इमान्दार हुने चर्चा गर्दै गृहमन्त्री जैनुदिनले गोर्खा गार्ड्सका रूपमा मलेसियामा नेपालीहरूको राम्रो प्रभाव रहेको बताए ।

    नेपाली युवालाई सीपयुक्त बनाएर थप रोजगारीका अवसरहरू प्रदान गर्ने, शुन्य लागतको सिद्धान्तलाई प्रभावकारी बनाउने, स्वास्थ्य, सामाजिक सुरक्षा, चौबिसै घण्टा प्रभावकारी हुने वीमा सुविधाको व्यवस्थाबारे पनि उनीहरुबीच छलफल भएको छ । नेपालमा सुरक्षा गार्ड सम्बन्धी तालिमको व्यवस्था गरी सीपयुक्त बनाउनेबारे समेत उनीहरुबीचमा छलफल भएको हो ।

  • गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा बुद्ध एयरको जहाजको पाङ्ग्रा पड्किएपछि…

    गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा बुद्ध एयरको जहाजको पाङ्ग्रा पड्किएपछि…

    काठमाडौं । भैरहवाबाट यात्रु बोकेर काठमाडौँ उड्नै लाग्दा बुद्ध एयरको जहाजको पाङ्ग्रा पड्किएको छ । ल्याण्डिङ गियरमा समस्या आएपछि जहाज अकस्मात रोक्नु परेको र सो क्रममा जहाजका पांग्रा पड्किएको बताइएको छ । विमान ठूलो दुर्घटनाबाट बचेको हो । जहाजमा ७० जना सवार थिए । त्यस क्रममा रनवेमा गुडिरहेको बुद्ध एयरको जहाजको आगाडिको टायर पन्चर भएको हो ।

    जहाजमा मसस्या आएपछि रोकिएका कारण विमानस्थल अवरुद्ध भएको थियो । घटना दिउँसो २ बजेको हो । त्यसपछि जहाज हटाएर शुरुमा उडान र त्यसपछि अवतरण समेत खुला गरिएको थियो । जहाजलाई अहिले ट्याक्सी वेमा राखिएको र प्राविधिक जाँच शुरु भएको कम्पनीले जनाएको छ । यात्रुलाई अर्को जहाजबाट काठमाडौं ल्याइएको छ ।

  • कोटेश्वरमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

    कोटेश्वरमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

    काठमाडौं । काठमाडौंको कोटेश्वरमा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । गतराति प्रदेश नम्बर ०३–०२००५ प ५८७७ नम्बरको मोटरसाइकल कोटेश्वरमा अनियन्त्रित भइ नालीमा खस्दा २२ वर्षका सचिन श्रेष्ठको ज्यान गएको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते भएका काभ्रे उग्रतारा गाउँपालिका वडानम्बर ७ का श्रेष्ठको ट्रमा सेन्टरमा उपचारका क्रममा ज्यान गएको हो । दुर्घटनाको कारण खुलेको छैन ।

  • उमेदवारलाई सामाजिक संजालको प्रयोगमा आयोगको कडाई

    उमेदवारलाई सामाजिक संजालको प्रयोगमा आयोगको कडाई

    काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका उम्मेदवारलाई २४ घण्टाभित्र आफूले प्रयोग गर्ने सामाजिक सञ्जालको खाताको विवरण बुझाउन निर्देशन दिएको छ । आयोगले उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएको २४ घण्टाभित्र विवरण बुझाउन निर्देशन दिएको हो । आयोगका उपन्यायाधिवक्ता गुरुप्रसाद वाग्लेले राजनीतिक दलले प्रचार प्रसारका लागि प्रयोगमा ल्याएको सामाजिक सञ्जालको खाता विवरण निर्वाचन आयोगमा बुझाउनुपर्ने बताएका छन् ।

    उम्मेदवारले प्रयोगमा ल्याएको खाताको विवरण सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा बुझाउन निर्देशन दिइएको उनको भनाई छ । उनका अनुसार कुनै राजनीतिक दल वा उम्मेदवारले आयोग वा सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयको स्वीकृति नलिई सामाजिक सञ्जालमा राजनीतिक विज्ञापन गरेको पाइएमा आचारसंहिता उल्लङ्घनको कार्य मानिने भएको छ ।

  • देशभरबाट ५ हजार भन्दा बढी उमेदवारले लिए उमेदवारी फिर्ता

    देशभरबाट ५ हजार भन्दा बढी उमेदवारले लिए उमेदवारी फिर्ता

    काठमाडौं । स्थानीय तह निर्वाचन, २०७९ मा विभिन्न पदका लागि उम्मेदवारी दिएका मध्ये पाँच हजार भन्दा बढी उम्मेदवारले शुक्रबार मनोनयन फिर्ता लिएका छन् । निर्वाचन आयोगको निर्वाचन कार्यक्रम बमोजिम शुक्रबार मनोनयन फिर्ता लिने तालिका रहेको थियो । आयोगका अनुसार देशभरका ७५३ स्थानीय तहमा मनोनयन दर्ता गराएका उम्मेदवारको एकीकृत सूचीलाई आयोगले अझै अन्तिम रूप भने दिइसकेको छैन ।

    वैशाख १२ गते मनोनयन दर्ता सम्पन्न भए पनि शुक्रबारसम्म एक लाख ५३ हजार २२० जना उम्मेदवार आयोगको तथ्याङ्कमा सूचीकृत भएका छन् । प्रविष्ट गर्ने र तथ्याङ्क अद्यावधिक गर्ने कार्य अझै जारी छ । निर्वाचन आयोगले स्थानीय निर्वाचनमा भाग लिएका राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारलाई शनिबार चुनाव चिह्न प्रदान गर्दैछ । स्थानीय निर्वाचन २०७९ मा ७९ राजनीतिक दलले भाग लिनेछन् ।

  • आज उमेदवारले निर्वाचन चिन्ह पाउने

    आज उमेदवारले निर्वाचन चिन्ह पाउने

    काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दिएका दल तथा व्यक्तिहरूलाई शनिबार निर्वाचन चिह्न प्रदान गर्ने भएको छ ।
    निर्वाचन आयोगमा स्थानीय तह निर्वाचनका लागि दर्ता भएका दलहरूले उनीहरूको आफ्नै चिह्न पाउनेछन् । स्वतन्त्र उम्मेदवारका लागि निर्वाचन आयोगले चिह्न प्रदान गर्नेछ ।

    शुक्रबार निर्वाचन आयोगले उजरी उपर छानबिन गरेर उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिसकेको छ । नामावलीमा रहेका उम्मेदरवारहरु नै प्रतिस्पर्धामा उत्रिनेछन् । उनीहरूलाई नै आज निर्वाचन चिह्न प्रदान गर्न लागिएको हो । उम्मेदवारहरूले निर्वान चिह्न पाएसँगै मौन अवधि सुरु हुनअघिसम्म प्रचारप्रचार गर्न पाउनेछन् । मतदान यही वैशाख ३० गते हुनेछ ।

  • आज मातातीर्थ औँसी, आमाको मुख हेर्ने दिनका रुपमा मनाइदैं

    आज मातातीर्थ औँसी, आमाको मुख हेर्ने दिनका रुपमा मनाइदैं

    काठमाडौं । आज मातातीर्थ औसी, देशभर आमाको मुख हेर्ने दिनका रुपमा मनाइंदैछ । वैशाख कृष्णपक्ष औंसीको दिनलाई मातातीर्थ औंसी अर्थात् आमाको मुख हेर्ने दिनको रुपमा मनाउन गरिएको हो । जन्म दिने आमालाई मीठा परिकार खुवाएर तथा राम्रा कपडा लगाउन दिएर खुशी पार्ने प्रचलन छ । त्यसैले भौगोलिक रुपमा आमाभन्दा टाढा भएकाहरु सकेसम्म आज आमालाई भेटेर सम्मान गर्छन् र आशीर्वाद लिन्छन् ।

    आमा नभएकाहरु भने तर्पण र पिण्ड दान गर्न काठमाडौंको थानकोट नजिकै मातातिर्थ पुग्छन् । आफ्नो आमालाई सम्झिँदै काठमाडौंको मातातीर्थमा पुग्नेहरूको आज घुइँचो लागेको छ । आमा नहुने नरनारी मातातीर्थमा गई स्नान तथा हरिहर (विष्णु र शिव)को पूजा गर्छन् ।

    आमा नभएकाहरुले सके प्रत्येक वर्ष, नसके एक पटक मातातीर्थ औंसीमा श्राद्ध गर्नुपर्ने मान्यतासमेत छ । मातातीर्थमा मूर्तिकार रामकृष्ण भण्डारीले बनाएको सबैकी आमाको प्रतीक ‘साझा आमा’को मूर्ति स्थापना गरिएको छ । मातातीर्थमा रहेको कुण्डमा आजकै दिन हरेक वर्ष आमा नहुनेले त्यहाँ गई नुहाएर मीठामीठा खाद्यपदार्थ चढाई मातृ दिवस मनाउने गर्दछन् ।

  • भरतपुरमा रेणु दाहालविरुद्ध बागी उठेका कांग्रेसका उमेदवार पार्टीबाट निष्काशित

    भरतपुरमा रेणु दाहालविरुद्ध बागी उठेका कांग्रेसका उमेदवार पार्टीबाट निष्काशित

    काठमाडौं । चितवनमा गठबन्धनलाई चूनौति दिँदै बागी उठेका नेपाली कांग्रेसका नेता जगन्नाथ पौडेल पार्टीबाट स्वतः निष्काशनमा परेका छन् । पार्टीले शुक्रबार अपरान्ह ५ बजेभित्र उम्मेदवारी फिर्ता नलिएका बागी उम्मेदवारलाई स्वत पार्टीबाट निष्काशन गरेको हो ।

    भरतपुर महानगरपालिकामा कांग्रेसबाट बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेलसहित नेताहरू कांग्रेसको निर्णयअनुसार स्वतः निष्काशनमा परेका हुन् । कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले आजै विज्ञप्ति निकालेर बागी उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन आह्वान गरेका थिए । कांग्रेसले विद्रोही उम्मेदवार, निजको प्रस्तावक र समर्थक पार्टीबाट स्वतः निस्कासन गर्ने निर्णय गरेको छ।

  • २३ वैशाखबाट आन्तरिक विमानस्थलमा रात्रिकालिन उडान

    २३ वैशाखबाट आन्तरिक विमानस्थलमा रात्रिकालिन उडान

    काठमाडौं । आगामी २३ वैशाखबाट नेपालका आन्तरिक विमानस्थलमा रातको १२ बजेसम्म जहाज उड्ने भएका छन् । यसअघि अन्तर्राष्ट्रिय उडानमा मात्र यो नियम कार्यान्वयनमा रहेको थियो । वायुसेवा सञ्चालक संघका अनुसार शुक्रबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले, पर्यटन सचिव महेश्वर न्यौपाने, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी र वायुसेवा संचालकहरुबीच छलफल भएको छ ।

    छलफलबाट रात्रिकालीन उडान सञ्चालन गर्न एक कार्यदल गठन गर्ने सहमति भएको छ । यो कार्यदलले २१ वैशाखमा प्रतिवेदन दिने भएको छ । सो प्रतिवेदनका आधारमा नयाँ स्लट तोकिने र २३ वैशाखबाट रात्रिकालिन उडान गर्न कम्पनीहरु सहमत भएका छन् । नयाँ स्लट नतोकिएसम्म पूर्ववत स्वीकृति अनुसारकै तालिकामा उडान सूचारु गरिने भएको छ । अहिले ८ बजे रातिसम्म नियमित उडान भइरहेकोमा प्राधिकरणले १२ बजे रातिसम्म लम्ब्याउन तयारी गरेको हो । यसले दिनमा हुने जहाजहरु ‘होल्ड’को समस्या कम हुने अपेक्षा गरिएको छ ।

  • सेफ सन्तोष साह ‘नेपाल पर्यटन विश्व सद्‌भावना दूत’ नियुक्त

    सेफ सन्तोष साह ‘नेपाल पर्यटन विश्व सद्‌भावना दूत’ नियुक्त

    काठमाडौं । पर्यटन मन्त्रालयले बीबीसी मास्टर सेफ द प्रोफेसनल २०२० का उपविजेता सन्तोष साहलाई पर्यटन सद्भावना दूत नियुक्त गरेको छ ।

    शुक्रबार पर्यटन मन्त्रालयमा आयोजित एक समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले सेफ साहलाई सद्भावना दूत नियुक्त गरेका हुन् ।

    उनले खादा लगाइदिनुका साथै प्रमाणपत्र पनि दिएका थिए। सेफ साहले नेपालका विभिन्न परिकारहरूलाई विश्वमाझ चिनाउँदै आएका छन्।

    लण्डनमा भएको बिबिसी मास्टर सेफ द प्रोफेसनल २०२० मा उनले नेपाली परिकारहरू पस्किएर निर्णायक मण्डलीहरूको मन जितेका थिए।