Category: समाचार

  • नेपालमा थप १४ जनामा कोरोना पुष्टी, १९ जना कोरोनामुक्त

    नेपालमा थप १४ जनामा कोरोना पुष्टी, १९ जना कोरोनामुक्त

    काठमाडौं । नेपालमा शुक्रबार थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    देशभर गरिएको १ हजार ७ सय ७८ पिसिआर परिक्षणका क्रममा १३ जना र ९ सय ९३ एन्टीेजेन परिक्षणका क्रममा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। कोरोनाका कारण शुक्रबार पनि कसैको मृत्यु नभएको स्वास्थय मन्त्रालयले जनाएको छ।

    त्यस्तै थप १९ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ९ लाख ६६ हजार ६ सय १२ जना निको भएका छन्। हाल नेपालमा २ सय ४३ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ।

  • कांग्रेसका ‘बागी’ उम्मेदवार, नीजको प्रस्तावक र समर्थक पार्टीबाट स्वतः निष्काशित हुने

    कांग्रेसका ‘बागी’ उम्मेदवार, नीजको प्रस्तावक र समर्थक पार्टीबाट स्वतः निष्काशित हुने

    काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनमा पार्टीका नेपाली कांग्रेस पार्टीका आधिकारिक उम्मेदवारका विरूद्ध बागी उम्मेदवारी दिएकाहरुलाई आफ्नो मनोनयन फिर्ता लिन आग्रह गरेको छ ।

    नेपाली कांग्रेसले शुक्रबार अपराह्न ५ बजेसम्म उम्मेदवारी फिर्ता लिई गठबन्धनका आधिकारिक उम्मेवारलाई जिताउन बागी उम्मेदवारसँग आग्रह गरेको हो।

    कांग्रेसद्वारा जारी प्रेस विज्ञप्तिमा अपराह्नसम्म उम्मेदवारी फिर्ता नलिए विद्रोही उम्मेदवार, उनको प्रस्तावक र समर्थकलाई पार्टीबाट निस्कासन गर्ने चेतावनी दिइएको छ।

    ‘तोकिएको मिति र समयभित्र आफ्नो उम्मेदवारी फिर्ता नलिएमा त्यस्ता विद्रोही उम्मेदवार, निजको प्रस्तावक र समर्थकको पार्टी सदस्यता नेपाली कांग्रेसको विधान २०१७ को धार ४ (१३) बमोजिम समाप्त भई पार्टीबाट स्वतः निस्कासित हुने व्यहोरा जानकारी गराइन्छ’, विज्ञप्तिमा भनिएको छ।

  • ‘बागी’ उम्मेदवारी र अन्य दलसँगको तालमेल फिर्ता नलिए तत्काल कारबाही गर्ने गठबन्धनको चेतावनी

    ‘बागी’ उम्मेदवारी र अन्य दलसँगको तालमेल फिर्ता नलिए तत्काल कारबाही गर्ने गठबन्धनको चेतावनी

    काठमाडौं । सत्ता गठबन्धनको बैठकले महानगरपालिका र उपमहानगरपालिकाका प्रमुख तथा उपप्रमुख पदमा परेका बागी उम्मेदवारी तत्कालन फिर्ता लिने निर्णय गरेको छ ।

    बैठकले ६ महानगर र ११ उपमहानगरपालिकामा प्रमुख, उपप्रमुखमा गठबन्धनको सहमति विपरित भएको उमेदवारी तत्कालन फिर्ता लिने निर्णय गरेको हो ।

    यस्तै, सहमति विपरित स्वतन्त्र रुपमा दर्ता भएको उमेदवारी फिर्ता लिने पनि आग्रह गरेको छ । साथै पाँच दलीय गठबन्धनभन्दा बाहिर अन्य दलहरुसँग भएको तालमेल तत्काल खारेज गर्ने निर्णय पनि बैठकले गरेको छ ।

    केन्द्रबाट भएको सहमति विपरीत गठबन्धन दलबाट दर्ता भएका उम्मेदवारी फिर्ता नलिए सम्बन्धित दलले कारबाही गर्ने निर्णय पनि बैठकले निर्णयमा उल्लेख गरिएको छ ।

  • लोसपाले चुनाव जिते जेष्ठ नागरिकलाई घर घरमै स्वास्थ्य परीक्षण, सार्वजनिक सवारीमा निःशुल्क यात्रा

    लोसपाले चुनाव जिते जेष्ठ नागरिकलाई घर घरमै स्वास्थ्य परीक्षण, सार्वजनिक सवारीमा निःशुल्क यात्रा

    काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।

    शुक्रबार काठमाडौंको बबरमहलस्थित पार्टी केन्द्रीय कार्यालयमा पार्टी अध्यक्ष महन्त ठाकुर,नेता राजेन्द्र महतोलगायतको उपस्थितिमा स्थानीय तह निर्वाचन घोषणापत्र सार्वजनिक गरेको हो ।

    घोषणापत्रमा सबै महिलालाई निःशुल्क शिक्षाको व्यवस्था गर्ने, सार्वजनिक सवारी साधन निःशुल्क गर्ने, गरिबका लागि स्वास्थ्य उपचार निःशुल्क हुने व्यवस्था गर्ने महत्वकांक्षी योजना उल्लेख गरिएको छ ।

    गुणस्तरीय खानेपानी, वडामा पर्याप्त बजेट छुट्याउने विषय समेटिएको छ । स्थानीय सरकारले आफ्नो कर्मचारी आफै भर्ना गर्ने प्रतिवद्धतापत्रमा उल्लेख छ ।

    यस्तै, सहज र छरितो सरकारी सेवा, नगर सरसफाइ गरिने उल्लेख छ ।

    सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा, पर्याप्त चिकित्सक, बालबालिकालाई घरमै नियमित खोप उपलब्ध, जेष्ठ नागरिकलाई घरमै स्वास्थ्य परीक्षण गरिने भनिएको छ । घोषणापत्रमा निशुल्क र व्यवहारिक शिक्षा, स्नातक र स्नातकोत्तरमा छात्रवृत्तीको व्यवस्था गरिने भनिएको छ ।

    यस्तै, सडकको छेउमा अनिवार्य वृक्षारोपण गर्ने उल्लेख छ ।

  • सत्ता गठबन्धनका बागी उमेदवारले आजसम्म उमेदवारी फिर्ता नलिए कारवाही हुने

    सत्ता गठबन्धनका बागी उमेदवारले आजसम्म उमेदवारी फिर्ता नलिए कारवाही हुने

    काठमाडौं । सत्तागठबन्धन भित्र बागी उमेदवार बनेका उमेदवारले उमेदवारी फिर्ता नलिए कारवाही हुने भएको छ । सत्ता गठबन्धनको बैठकले विभिन्न स्थानीय तहमा आधिकारिक उम्मेदवारविरूद्ध उठेका बागी उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन आह्वान गरेको छ । बिहीबार बालुवाटारमा बसेको सत्तागठबन्धनको चुनावी तयारी तथा अनुगमन समिति बैठकले शुक्रबार अपरान्ह ५ बजेभित्र बागी उम्मेदवारलाई आफ्नो उम्मेदवारी फिर्ता लिन आग्रह गरेको हो।

    मुख्य निर्वाचन अधिकृत कार्यालय र निर्वाचन अधिकृत कार्यालय पुगेर निर्वाचन आयोगले दिएको समयभित्रै उम्मेदवारी फिर्ता नलिने बागी उम्मेदवारलाई कारबाही गर्ने सत्तागठबन्धनको तयारी छ। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल संयोजक रहेको सत्तागठबन्धनको चुनावी तयारी तथा अनुगमन समिति बैठकले बागी उम्मेदवारलाई कारबाहीको चेतावनी दिएको हो ।

    कहाँ-कहाँ बागी उम्मेदवारी परेको छ र आज अपरान्ह ५ बजेभित्र फिर्ता भए वा भएनन् भन्ने बुझेर कारबाहीका लागि शीर्ष नेताहरू तथा सम्बन्धित पार्टीलाई सिफारिस गर्ने समितिको तयारी छ। चितवनलगायत विभिन्न जिल्लामा गठबन्धनका उम्मेदवारविरूद्ध बागी उम्मेदवारी परेका छन्। सत्तागठबन्धनका शीर्ष नेताहरूले पनि बागी उम्मेदवारी फिर्ता लिन आग्रह गरिरहेका छन्।

  • मनोनयन फिर्ता लिने अन्तिम दिन आज, आजै अन्तिम नामावली प्रकाशन हुने

    मनोनयन फिर्ता लिने अन्तिम दिन आज, आजै अन्तिम नामावली प्रकाशन हुने

    काठमाडौं । स्थानीय तहको ३० वैशाखमा तोकिएको निर्वाचनमा मनोनयन दर्ता गराएका उम्मेदवारहरुले आज आफ्नो मनोनयन फिर्ता लिन सक्ने भएका छन् । आफ्नो उम्मेदवारी फिर्ता लिन चाहनेलाई निर्वाचन आयोगले आज साँझ ५ बजेसम्मको समय दिएको छ । फिर्ताको समय सकिएलगत्तै उमेदवारहरुको अन्तिम नामावली प्रकाशन हुने छ । स्थानीय तह निर्वाचनका लागि वैशाख ११ र १२ गते उम्मेदवारी दर्ता गरिएको थियो । देशभरबाट एक लाख ५३ हजार भन्दा बढीको उमेदवारी दर्ता भएको थियो ।

    ती उम्मेदवारीमाथि परेका दावी विरोध तथा उजुरीमाथि जाँचबुझ गरेको आयोगले बिहीबार साँझ उम्मेदवारहरुको नामावली प्रकाशन गरेको थियो । आज उमेदवारी फिर्ता लिन चाहनेले आफ्नो नाम फिर्ता लिइसकेपछि अन्तिम नामावली प्रकाशन गरिने आयोगले जनाएको छ । आज प्रकाशित भएको नामावलीमा रहेका उम्मेदरवारहरु नै प्रतिस्पर्धामा उत्रिनेछन् । त्यसपछि १७ गते उम्मेदवारहरुलाई चुनाव चिह्न प्रदान गर्ने आयोगको कार्यतालिका छ ।

  • गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भयो वाइडबडी जहाजको सफल अवतरण

    गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भयो वाइडबडी जहाजको सफल अवतरण

    काठमाडौं । भैरहवा स्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल वायुसेवा निगमको वाइडबडी ए–३३० जहाजले सफल अवतरण भएको छ । मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा रहेको यो विमानस्थलमा पहिलो पटक राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी जहाजले बिहीबार साँझ सफल अवतरण गरेको हो। काठमाडौस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पर्यटनमन्त्री प्रेम आलेको नेतृत्वमा भएको परीक्षण उडानमा २६० जना यात्रु सहभागी थिए।

    जसमा प्राधिकरणका उच्च अधिकारी, निगमका कर्मचारी, उच्च सरकारी अधिकारी, एसियाली विकास बैंकका प्रतिनिधिलगायत थिए। सञ्चारकर्मी, पर्यटन व्यवसायीसहित उडान भरेर आएको विमान काठमाडौंबाट भैरहवामा ५० मिनेटमै अवतरण गरेको थियो। विमानस्थलमा पहिलो पटक ठूलो विमानको अवतरण भएपछि पर्यटन व्यवसायी मात्रै होइन यस क्षेत्रका सर्वसाधारण समेत निकै उत्साहित भएका छन्।


    नागरिक उड्डयन प्राधिकरणको अनुमतिमा निगमले हालै निर्माण सम्पन्न भएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भरेको हो। प्राधिकरणले निगमसँग भएका दुईवटा वाइडबडी विमानलाई बिहीबारका लागि परीक्षण उडानका लागि अनुमति दिएको थियो। यस उडानमा वाइडबडीका प्रशिक्षक पाइलट सुधीर तोमार र क्याप्टेन श्रवण रिजाल रहेको निगमले जनाएको छ। करिब १६ हजार फिट माथिबाट उडान भरेको वाइडबडी गौतम बुद्व विमानस्थलमा एक फन्को मारेर अवतरण गरेको हो। भैरहवामा अवतरण गरेसँगै यात्रुले खुसियाली व्यक्त गरेका थिए।

  • वैशाख ३० गते सार्वजनिक बिदा दिन निर्वाचन आयोगकाे आग्रह

    वैशाख ३० गते सार्वजनिक बिदा दिन निर्वाचन आयोगकाे आग्रह

    काठमाडौं । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि मतदान केन्द्र/स्थल तोकिएका विद्यालय तीन दिन बिदा दिन निर्वाचन आयोगले सरकारलाई अनुरोध गर्ने भएको छ।

    आयोगले गरेको पत्रकार सम्मेलनमा सहप्रवक्ता सूर्यप्रसाद अर्यालले सार्वजनिक बिदाका लागि मुख्य सचिवमार्फत सरकारलाई आग्रह गरिएको जानकारी दिए।

    निर्वाचनसँग सम्बन्धित कार्य गर्न वैशाख २८ देखि ३० सम्म विद्यालयको उपयोग गर्नुपर्ने भएकाले मतदानस्थल तथा मतदान केन्द्र तोकिएका विद्यालयमा विद्यार्थीको भौतिक उपस्थिति नगराउन पनि आग्रह गरिएको उनले बताए।

    सो अवधिमा विद्यार्थीहरूलाई वैकल्पिक माध्यमबाट पठनपाठनको व्यवस्था मिलाउन सरकारसँग अनुरोध गर्ने उनले बताए।

    वडा र स्वास्थ्य चौकीका भवन मतदानका लागि उपयोग गर्न वैशाख २८ देखि ३० सम्म उपलब्ध गराउन संघीय मन्त्रालयमार्फत पालिकालाई लेखेर पठाउने निर्णय गरेको आयोजले जनाएको छ।

    आयोगका अनुसार जगेडासहित छाप्नुपर्ने १ करोड ९४ लाख थान मतपत्रमध्ये बिहीबारसम्म ७२ जिल्लाका १ करोड ७७ लाख ७५ हजार थान मतपत्र छपाइ भइसकेको छ।

    ३३ जिल्लाका लागि ५१ लाख ८१ हजार मतपत्र ढुवानी भइसकेको आयोगको भनाइ छ।

    बिहीबारसम्म प्रविष्ट भएको तथ्यांकअनुसार १ लाख ५३ हजार २ जना उम्मेदवारको मनोनयन दर्ता भएको पनि आयोगले जनाएको छ।

  • भरतपुरको बागी उम्मेदवार फिर्ता नलिने पौडेलको अडान, खाणको प्रयास असफल

    भरतपुरको बागी उम्मेदवार फिर्ता नलिने पौडेलको अडान, खाणको प्रयास असफल

    काठमाडौं । सत्ता गठबन्धनको तर्फबाट भरतपुरमा मेयरको उम्मेदवार बनेकी रेणु दाहालविरुद्ध बागी उम्मेदवारी दिएका कांग्रेस नेता जगन्नाथ पौडेलले उम्मेदवारी फिर्ता लिन अस्वीकार गरेका छन् । गृहमन्त्रीसमेत रहेका कांग्रेस नेता बालकृष्ण खाणले बिहीबार उनलाई उनकै निवास पुगेर उम्मेदवारी फिर्ता लिन आग्रह गरेका थिए । तर, पौडेलले फिर्ता नलिने अडान दोहोर्‍याएका हुन् ।

    गृहमन्त्री खाणसँगको भेटमा पौडेलले चितवन कांग्रेसको भावनाअनुसार उम्मेदवारी दिएको भन्दै फिर्ता लिन नसक्ने स्पष्ट पारेका थिए । उनले उम्मेदवारी आफ्नो मात्रै नभएको कुरा खाणलाई बताएका थिए ।

    “चितवन जिल्लाका साथीहरूको मान मर्यादा, प्रतिष्ठा र उहाँहरूको भविष्यका लागि उम्मेदवार बनेको हुँ, फिर्ता लिने विषय मैले मात्र निर्णय गर्न मिल्ने विषय हैन”, उनले खाणसँगको भेटबारे सञ्चारकर्मीको जिज्ञासामा भनेका छन् ।

    पौडेलले खाणलाई आफुले पार्टी अनुशासन नतोडेको बताउँदै कारबाही गर्न पनि चुनौति दिएका छन् ।

    पार्टी सभापति शेरबहादुर देउवाको आग्रहमा खाण बिहीबार भरतपुर पुगेका थिए । देउवाले आज मै उम्मेदवारी फिर्ता लिन सबै बागी उम्मेदवारलाई निर्देशनात्मक आग्रह पनि गरेका थिए ।

  • नेपाली कांग्रेसकी नेता सिर्जना सिंहको संकल्प पत्र सार्वजनिक

    नेपाली कांग्रेसकी नेता सिर्जना सिंहको संकल्प पत्र सार्वजनिक

    काठमाडौं । सत्तागठबन्धनबाट काठमाडौं महानगरको मेयर उम्मेदवार नेपाली कांग्रेसकी नेता सिर्जना सिंहले संकल्प पत्र सार्वजनिक गरेकी छन्।

    आसन्न स्थानीय तह चुनावका लागि बिहीवार एक कार्यक्रमकोबीच संकल्पपत्र सार्वजनिक गरेकी हुन् ।

    संकल्पमा उनले काठमाडौंलाई झिलिमिली बनाउने, सीसीटीभी लगाउने र रातिसम्म काम गरेर दिदीबहिनीलाई ढुक्कसँग हिँड्ने शहर बनाउने समेत घोषणा गरेकी छिन् ।

    यस्ता छन् संकल्प:

    १. सेवा र सुशासन

    महानगरलाई विधिको शासन, नियम, कानुन भित्र रही चलाउने संकल्प गर्दछु। भ्रष्ट्राचार मुक्त, चुस्त सेवा प्रवाह गर्ने उत्कृस्ट पालिकाको रुपमा काठमाडौं महानगरलाई स्थापित गर्नेछु।

    संघीय सरकार, प्रदेश सरकार, अन्य पालिका, निजी क्षेत्र, गैरसरकारी संघसंस्था र समुदायसंग साझेदारी गर्दै महानगरको लक्ष्य प्राप्तिका लागि काम गर्नेछु।

    २. स्वास्थ्य, शिक्षा, तथा सामाजिक सुरक्षा

    शिक्षा र सिकाइको गुणस्तरमा वृद्धि गर्दै सुलभ र सबैको पहुँचयुक्त बनाउनेछु। महानगरीय स्वास्थ्य प्रणालीको विकास गरी सबै वडामा रोकथाम, परिक्षण, उपचार र पुनर्थापनासहितको ‘सहरी स्वास्थ्य प्रवर्धन केन्द्र’ को स्थापना र विशेषज्ञ सेवासहितको महानगरीय अस्पतालको संचालन गर्नेछु।

    साथै ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, अति विपन्नलगायत विशेष समूहलाई सम्बोधन गर्न सामाजिक सुरक्षाका विशेष कार्यक्रम ल्याउनेछु।

    ३. स्वच्छ, सफा, दिगो पर्यावरण

    काठमाडौं महानगरलाई फोहोरबिहीन नगरपालिका बनाउनेछु। पिउन योग्य पानीको व्यवस्था गर्नेछु। सार्वजनिक, खुला स्थान, पार्क, वन, हिटी, इनार, पोखरी, बहाः, फल्चाः आदिको संरक्षण, पुनर्स्थापना तथा विस्तार गर्नेछु।

    ४. सुरक्षित सहर

    महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिलगायत सम्पूर्णले सुरक्षित अनुभव गर्न सक्ने र हिँडडुल गर्न सक्ने सहरको निर्माण गर्नेछु। विपद थेग्न सक्ने क्षमतायुक्त सहरको निर्माणको लागि काम गर्नेछु।

    ५. संस्कृति, सम्पदा, र सभ्यता

    मौलिक ज्ञान, भाषा, जात्रा, बाजा–गाजा, चाडपर्व, मेला, ग्रन्थ, पेशालाई समुदायको अपनत्व र संलग्नतामा सम्वर्धन तथा संरक्षण गर्दै महानगरको संस्कृतिलाई पर्यटनसंग जोड्नेछु। गुठी प्रणालीको प्रवर्धन, संरक्षण गर्दै दिगो विकासका लागि प्रतिवद्ध रही कार्य गर्नेछु।

    ६. सबल र समुन्नत पूर्वाधार

    सहज रुपमा हिँडडुल गर्ने पूर्वाधारको निर्माण गरि पैदलयात्री केन्द्रित सहरका रुपमा महानगरलाई विकास गर्नेछु। महानगर क्षेत्रभित्र सबैखालका पूर्वाधारको निर्माणमा मौलिक ज्ञान, प्रविधि र सामग्रीको प्रयोगका लागि प्रेरित गर्नेछु।

    महानगरको कार्यक्षेत्रभित्र पर्ने सम्पूर्ण पूर्वाधार निर्माण र विस्तारको कार्य गुणस्तरीय रुपमा समयमै सम्पन्न गर्ने तथा मर्मत सम्भारका लागि अविलम्ब कार्य गर्न सक्नेगरि संस्थागत क्षमताको विकास गर्नेछु।

    ७. सबल युवा, स्वावलम्बी महिला, सृजनशील महानगरबासी

    युवाका लागि अवसर, महिलाको सशक्तिकरण र सम्पूर्ण महानगरवासीको सृजनशीलता अभिवृद्धि गर्नका लागि आवश्यक पहलकदमी लिनेछु। उद्यमशीलताको विकासका लागि आवश्यक व्यवस्थापन तथा सहजीकरण गर्नेछु।

  • ३५ हजार प्रतिनिधि बन्न डेढ लाखको उमेदवारी

    ३५ हजार प्रतिनिधि बन्न डेढ लाखको उमेदवारी

    काठमाडौं । स्थानीय तह निर्वाचनका लागि उम्मेदवार दिनेको संख्या एक लाख ५२ हजार नाघेको छ । बुधबार अबेर अपडेट तथ्याँकअनुसार एक लाख ५२ हजार ६ सय ७६ जनाको उम्मेदवारी परेको छ । निर्वाचन आयोगकाअनुसार केही जिल्लाका पालिकाबाट तथ्याँक संकलन गर्न अझै बाँकी छ । ३० वैशाखमा हुने स्थानीय तह निर्वाेचनमा ३५ हजार २२१ पदका लागि मतदान हुँदैछ । दलगत र स्वतन्त्रसहित मेयरमा तीन हजार ४९९, अध्यक्षमा तीन हजार ३८७, उपमेयरमा दुई हजार १५८, उपाध्यक्षमा दुई हजार ४०२, वडाध्यक्षमा ३५ हजार ३१० र वडा सदस्यमा ५५ हजार ५५९ जनाको उम्मेदवारी परेको छ ।

    एमालेले मेयरमा २९१ जनालाई उम्मेदवार बनाउँदा महिला २७ मात्रै छन् । एमालेबाट २६० महिला र २६ पुरुष गरी २८६ जना उपमेयरका उम्मेदवार बनेका छन् । कांग्रेसले १२ महिला र २५३ पुरुष गरी २६५ मेयर तथा १८० महिला र ३१ पुरुष गरी २११ जना उपमेयरको उम्मेदवार उठाएको छ । अध्यक्षमा एमालेको तर्फबाट २८ महिला र ४१८ पुरुष गरी ४४६ जना उम्मेदवार छन् । उपाध्यक्षमा ४१० महिला र ३५ पुरुष गरी ४४५ जना छन् । कांग्रेसले अध्यक्षमा १९ महिला र ३६३ पुरुष गरी ३८२ तथा उपाध्यक्षमा २९२ महिला र ६७ पुरुष गरी ३५९ जना उम्मेदवार बनाएको छ ।

    माओवादी केन्द्रबाट १८ महिला र १५६ पुरुष गरी मेयरमा १७४ जना तथा १३० महिला र ८४ पुरुष गरी उपमेयरमा २१४ जना उम्मेदवार छन् । यस्तै अध्यक्षमा २९ महिला र २६१ पुरुष गरी २९० जना तथा उपाध्यक्षमा २०३ महिला र ११२ पुरुष गरी ३१५ जना माओवादीका उम्मेदवार छन् । एकीकृत समाजवादीबाट मेयरमा २३ महिला र १२७ पुरुष गरी १५० जना तथा उपमेयरमा १०६ महिला र ७१ पुरुष गरी १७७ जना उम्मेदवार छन् । एकीकृत समाजवादीले १२ महिला र १७५ पुरुष गरी १८७ जना अध्यक्षमा तथा ११२ महिला र ६८ पुरुष गरी १८० जना उपाध्यक्षमा उम्मेदवार उठाएको छ ।

  • म्याग्दीमा मोटरमाइकल दुर्घटना, एक जनाको मृत्यु

    म्याग्दीमा मोटरमाइकल दुर्घटना, एक जनाको मृत्यु

    म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका-६ बाङ्गेपहिरोमा बिहीबार बिहान मोटरसाइकल दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ । दरवाङदेखि बाबियाचौरतर्फ जाँदै गरेको ग९प ७४७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मालिका गाउँपालिका५ गरजराका २३ वर्षीय भविन्द्र किसानको मृत्यु भएको प्रहरी निरीक्षक राजन ढकालले जानकारी दिए ।

    किसानको घटनास्थलमै मृत्यु भएको हो । मोटरसाइकलको पछाडि सवार मङ्गला गाउँपालिका-२ का २५ वर्षीय सन्तोष किसानलाई सामान्य चोट लागेको छ । बिहान ३ बजे मोटरसाइकल सडकबाट करिब १०० मिटर तल खसेको थियो । उक्त सडकखण्डमा हाल सडक स्तरोन्नतिको काम भइरहेको छ ।

  • चितवनको भरतपुरमा आगलागी, ६ घर जले

    चितवनको भरतपुरमा आगलागी, ६ घर जले

    भरतपुर । चितवनको भरतपुर महानगरपालिका–३ कमलनगरमा आगलागी हुँदा ६ वटा घर जलेका छन्् । रातीबाट लागेको आगो बिहीबार बिहान ७ बजे पूर्णरुपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । बिहान २ बजेदेखि आगो निभाउन सुरु गरिएको थियो । चार वटा दमकलको सहयोगमा बिहान ७ बजेमात्र नियन्त्रणमा लिन सकिएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी नरहरि अधिकारीले जानकारी गराएका छन् । भरतपुर महानगरपालिका–३ कमलनगर स्थित तुलसीराम सापकोटाको चार तले घरमा आगो लागेको हो । नारायणगढ बजार क्षेत्रमा पर्ने घरमा आगो लागेपछि वरपरका बासिन्दा त्रसित भएका थिए ।

    आगोबाट सो घरमा रहेका ६ वटा पसलका सामानहरु जलेर नष्ट भएका छन् । क्षतिको पूर्ण विवरण भने आउन बाँकी छ । आज बिहान करिब २ बजेतिर आगो लागेको सूचना प्रहरीले पाएको थियो । त्यसलगत्तै वडा प्रहरी कार्यालय नारायणगढ र जिल्ला प्रहरी कार्यालयको टोली आगो लागेको स्थानमा पुगेको थियो । त्यसपछि भरतपुर महानगरपालिकाको दमकलले आगो निभाउन सुरु गरेको थियो । तर एउटा मात्र दमकलले आगो निभाउन नसकेपछि खैरहनी नगरपालिकाका दुईवटा र नेपाली सेनाको एउटा दमकल बोलाएर आगो निभाउन थालिएको थियो । आगो निभाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासी पनि खटिएका थिए ।

  • गौतमबुद्ध विमानस्थलमा बिहीबार २६० जना यात्रु बोकेर नेवानिको वाइडबडी जहाज अवतरण गर्दै

    गौतमबुद्ध विमानस्थलमा बिहीबार २६० जना यात्रु बोकेर नेवानिको वाइडबडी जहाज अवतरण गर्दै

    काठमाडौं । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा नेपाल एयरलाइन्सको बाइडबडी जहाज अवतरण गर्ने भएको छ । एअरबस ए–३३० वाइडबडी जहाज दिउँसो ३ बजे काठमाडौंबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि उड्ने छ । जहाजमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले, सचिव, कर्मचारीहरू, पत्रकारलगायत गरी दुई सय ६० जना यात्रु रहने भएका छन् । जहाज भैरहवामा दुई बसेर पुनः काठमाडौं फिर्ता हुने भएको छ । दुई घण्टाको बीचमा विमानस्थलको प्रस्थान हलमा औपचारिक कार्यक्रम गरिने भएको छ । यो विमानस्थलको धावनमार्गबाट अहिले धमाधम उडान भइरहेको छ ।

  • सत्ता गठबन्धनले २३ वैशाखमा काठमाडौंमा चुनावी सभा गर्ने

    सत्ता गठबन्धनले २३ वैशाखमा काठमाडौंमा चुनावी सभा गर्ने

    काठमाडौं । सत्ता गठबन्धनले २३ वैशाखमा काठमाडौंमा चुनावी सभा गर्ने निर्णय गरेको छ । स्थानीय तहको निर्वाचनका लागि गठबन्धनका दलहरुको आन्तरिक तयारी र अनुगमन गर्ने संयन्त्रको बुधबार बसेको बैठकले यसअघिको समय तालिका संसोधन गर्दै २३ वैशाखमा काठमाडौंमा दिनको १ बजे केन्द्रीय तहको चुनावी सभा गर्ने निर्णय गरेको हो ।

    यसअघि सत्ता गठबन्धनले ८ वैशाखमा सातै प्रदेशमा चुनावी सभा गर्ने निर्णय गरेको थियो । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा बसेको संयन्त्रको बैठकले गठबन्धनका दलहरुले स्थानीय तहमा आवश्यकता अनुसार चुनावी सभा गर्न सक्ने निर्णय समेत गरेको छ ।

  • तालमेल विपरित परेको ‘बागी’ उम्मेदवारी फिर्ता गराउने सत्ता गठबन्धनको निर्णय

    तालमेल विपरित परेको ‘बागी’ उम्मेदवारी फिर्ता गराउने सत्ता गठबन्धनको निर्णय

    काठमाडौं । पाँच दलीय सत्ता गठबन्धनको बैठकले तालमेलको निर्णय विपरित परेका उम्मेदवारी फिर्ता गराउने निर्णय गरेको छ । बुधबार बिहान बसेको सत्ता गठबन्धनको बैठकले तालमेलको निर्णय विपरित ६ महानगर र ११ उपमहानगरमा दिइएका उम्मेदवारी सम्बन्धित पार्टीले फिर्ता गराउने निर्णय गरेको हो ।

    बैठकले केन्द्रबाट भागवण्डा भएका ६ महानगर र ११ उपमहानगरमा वडाको सिट बाँडफाँटका लागि आजै प्रदेश र जिल्ला संयन्त्रको बैठक बसेर निर्णय लिन निर्देशन दिने निर्णय पनि गरेको छ ।

    साथै सम्भव हुने स्थानमा सहमति गरेर साझा उम्मेदवारी बनाउने निर्णय पनि बैठकले गरेको छ । बताइएअनुसार उक्त विषयमा जिल्ला तहले निर्णय लिनेछ ।

  • जेठ १ गतेदेखि सातामा दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

    जेठ १ गतेदेखि सातामा दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

    काठमाडौं । सरकारले जेठ १ गतेदेखि शनिबार र आइतबार दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

    मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले यस्तो जानकारी दिएका हुन्।

    बैठकले परीक्षणका रुपमा लागू हुने गरी उक्त निर्णय गरेको हो । कार्यालय समय भने विहान ९:३० देखि ५:३० सम्‍म बढाइएको छ ।

    नेपाल आयल निगमको समेत सुझाबका आधारमा सरकारले सातामा दुई दिन बिदाको निर्णय गरेको हो । पेट्रोलियम पदार्थ महंगो हुँदा र विदेशी मुद्रा सञ्चितिमा दबाब परेपछि आयल निगमले हप्तामा दुई दिन बिदा दिन प्रस्ताव राखेको थियो।

  • रुसले पोल्याण्ड र बुल्गेरियामा ग्यास आपूर्ति रोक्ने, के पर्छ असर ?

    रुसले पोल्याण्ड र बुल्गेरियामा ग्यास आपूर्ति रोक्ने, के पर्छ असर ?

    काठमाडौं । रुसी ऊर्जा कम्पनी ग्याजप्रोमले पोल्यान्ड र बुल्गेरियालाई बुधवारदेखि ग्यास पठाउन बन्द गर्ने बताएको छ। पोल्यान्डको सरकारी ग्यास कम्पनी पीजीएनआईजीले युरोपेली समय (सीईटी) अनुसार बिहान ८ बजेदेखि सबै खाले ग्यासको आपूर्ति रोकिने बताइएको जनाएको बीबीसीले लेखेको छ । बुल्गेरियाको ऊर्जा मन्त्रालयले पनि बुधवारबाट आपूर्ति बन्द गर्ने जानकारी दिइएको बताएको छ। रुसले मित्रवत् व्यवहार नगर्ने देशहरूले कि रुबलमा ग्यासको भुक्तानी गर्न थाल्नुपर्ने वा आपूर्ति कटौती गर्ने बताएपछि यस्तो अवस्था उत्पन्न भएको हो।

    दुवै देशले त्यसरी भुक्तानी गर्न अस्वीकार गरेका छन्। पीजीएनआईजी अधिकांश ग्यास आयातका लागि ग्याजप्रोममा निर्भर छ। उसले यस वर्षको पहिलो त्रैमासिकमा उक्त रुसी कम्पनीबाट आयातको ५३ प्रतिशत ग्यास किनेको छ। पीजीएनआईजीले आपूर्ति रोक्ने कार्यलाई सम्झौताको उल्लङ्घनका रूपमा वर्णन गरेको छ र ग्यास आपूर्तिलाई पुनर्स्थापित गर्न कदम चाल्ने बताएको छ।


    बल्गेरिया ९० प्रतिशतभन्दा बढी मात्रामा ग्यास आपूर्तिका लागि ग्याजप्रोममा निर्भर रहेको छ। उसले वैकल्पिक स्रोतहरू खोज्न कदम चालेको तर ग्यास खपतमा तत्काल कुनै खाले प्रतिबन्ध आवश्यक नभएको बताएको छ। उक्त देशको ऊर्जा मन्त्रालयले बल्गेरियाले ग्याजप्रोमसँग हालको सम्झौता अन्तर्गत आफ्नो दायित्वहरू पूरा गरेको र सबै आवश्यक भुक्तानीहरू गरेको जनाएको छ। उसले रुसले प्रस्ताव गरेको नयाँ भुक्तानी प्रणालीले विद्यमान सम्झौता उल्लङ्घन गर्ने उल्लेख गरेको छ।

    ग्यास आपूर्ति बन्दको खबरसँगै पोल्यान्डको जलवायु मन्त्रालयले देशको ऊर्जा आपूर्ति सुरक्षित रहेको बताएको छ। जलवायुमन्त्री अन्ना मोस्कवाले भण्डारबाट ग्यास निकाल्न आवश्यक नरहेको र ग्राहकले पनि ग्यास खपत कटौती गर्नु नपर्ने बताइन्। पोल्यान्डका उप(विदेशमन्त्री मार्चिन सिड्याचले उनको देशले रुसबाट हुने ग्यास निर्यात सीमित हुनसक्ने सम्भावनाका लागि तयार रहन आपूर्तिमा विविधीकरणको तयारी गरिरहेको बताएका छन्।

  • तासदेखि कुरकुरेसम्मको आयात रोकियो

    तासदेखि कुरकुरेसम्मको आयात रोकियो

    काठमाडौं । अर्थतन्त्रमा बढ्दो आयातका कारण परेको चापका कारण सरकारले विलासिताका वस्तु नेपाल ल्याउन रोकेको छ । चालु आर्थिक वर्षभर यी वस्तु नेपाल ल्याउन नपाउने गरि नियम ल्याइएकोृ हो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल राजपत्रमा एक सूचना निकाल्दै सो जानकारी गराएको छ । यसमा विलासी उपभोग्य सामान नेपाल भित्र्याउने रोक लगाइएको हो । यो सूचिमा कुरकुरे, कुरमुरे, लेज र यस प्रकारका उत्पादन, सबै प्रकारका तयारी मदिरा र चुरोट तथा सुर्तीजन्य बस्तु (कच्चा पदार्थ ल्याउन भने छुट छ) रहेका छन् ।

    हिरा (औद्योगिक कच्चा पदार्थ ल्याउन छुट छ), मोबाइल सेट, रंगीन टेलिभिजन (३२ इञ्चभन्दा माथिका), जीप, कार र भ्यानहरु (एम्बुलेन्स र शववाहन प्रयोजनका लागि ल्याउन पाइने), २५० सीसी भन्दा माथिल्लो क्षमताका मोटरसाइकल समेत रोक लगाइएको छ । सबै प्रकारका खेलौना र खेल्ने तास समेत ल्याउृन नपाउने गरि नियम बनेको छ ।

  • मतपत्र जिल्ला-जिल्लामा पठाउन थालियो

    मतपत्र जिल्ला-जिल्लामा पठाउन थालियो

    काठमाडौं । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनको प्रयोजनका लागि मतपत्र जिल्लामा पठाउन शुरु भएको छ । निर्वाचन आयोगले कर्णाली र सुदूरपश्चिम प्रदेशमा मतपत्र पठाएको छ । आयोगमा सहसचिव तुलसीबहादुर श्रेष्ठका अनुसार मङ्गलबार कर्णाली र सुदूरपश्चिम प्रदेशका १३ जिल्लामा मतपत्र ढुवानी गरिएको हो । उनका अनुसार मतपत्र ढुवानीका लागि सार्वजनिक सवारीसाधन भाडामा लिइएको छ । मतपत्र ढुवानी कार्यतालिका अनुसार अब दैनिक रुपमा मतपत्र ढुवानी हुनेछ । कर्णाली प्रदेशमा ९०७ मतदान स्थल र १३ सय ८५ मतदान केन्द्र निर्धारण गरिएको छ ।

    यस भेगमा १० लाख एक हजार २८२ मतदाता छन् । जसमध्ये पाँच लाख छ हजार १८० पुरुष, चार लाख ९५ हजार ९९ महिला र तीन जना अन्य मतदाता छन् । आयोगले सुदूरपश्चिम प्रदेशमा ११ सय ३५ मतदान स्थल र २१ सय तीन मतदान केन्द्र तोकेको छ । यहाँ १६ लाख ३२ हजार १५० मतदाता छन् । जसमध्ये आठ लाख ६६२ पुरुष, आठ लाख ३१ हजार ४७० महिला र १८ जना अन्य मतदाता छन् ।

    वैशाख २९ गतेसम्म १८ वर्ष पूरा भएका मतदाताको सङ्ख्या एक करोड ७७ लाख ३३ हजार ७२३ छ । जसमध्ये ८७ लाख ४१ हजार ५३० महिला, ८९ लाख ९२ हजार १० पुरुष र १८३ अन्य गरी देशभर एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाता कायम भएका छन् ।

  • श्रममन्त्रीसहितको टीम बुधबार मलेसिया जाने, के छ एजेण्डा ?

    श्रममन्त्रीसहितको टीम बुधबार मलेसिया जाने, के छ एजेण्डा ?

    काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ नेतृत्वको टोली बुधवार मलेसिया प्रस्थान गर्ने भएको छ । मलेसियाका मानव संशाधनमन्त्री सरवनन मुरुगनको निमन्त्रणामा मन्त्री श्रेष्ठ चार दिने मलेसिया भ्रमणमा जान लागेका हुन्। मलेसिया भ्रमणमा जानुअघि श्रममन्त्री श्रेष्ठसँग मलेसियाका कार्यवाहक राजदूत मोहम्मद फ्याजलले शिष्टाचार भेटवार्ता गरे। सिंहदरबारस्थित मन्त्रालयमा आज भएको भेटवार्तामा उनीहरुबीच द्धिपक्षिय हितका साथै सहकार्यका बिषयमा छलफल भयो ।

    भेटमा मन्त्री श्रेष्ठले भ्रमणबाट दुई देशको मित्रता र आपसी सहयोगमा टेवा पुग्ने विश्वास व्यक्त गरे। मलेसियाका कार्यवाहक राजदूत फ्याजलले मन्त्री श्रेष्ठको मलेसिया भ्रमण र त्यसका एजेण्डाबारे छलफल गरेका थिए। मन्त्री श्रेष्ठ, मन्त्रालयका सचिव एकनारायण अर्याल, सहसचिव राजीव पोखरेल, उपसचिव डा थानेश्वर भुसाल सहितको टोली बुधवार दिउँसो मलेसिया जाने कार्यक्रम छ ।

    भ्रमणका क्रममा मन्त्री श्रेष्ठले मलेसियाका समकक्षी मुरुगनसँग भेटवार्ता गर्नुहुनेछ भने सचिव अर्यालले मलेसियाको गृहमन्त्रालयका सचिव र सामाजिक सुरक्षा संगठनका प्रमुखसँग भेटवार्ता गर्ने कार्यक्रम छ । साथै भ्रमणका क्रममा नेपालमा आयोजना हुने नेपाल(मलेसिया संयुक्त समितिको वैठकका एजेण्डा तय गरिनेछ ।

    वैदेशिक रोजगारीका लागि मलेसिया जाने नेपाली कामदारको छनोट प्रक्रियामा लाग्ने सम्पूर्ण खर्च रोजगारदाताले नै व्यहोर्ने श्रम सम्झौताको प्रावधान प्रभावकारी कार्यन्वयनको विषयमा मन्त्री श्रेष्ठले आफ्ना समकक्षीसँग छलफल गर्नेछन् । भ्रमणका क्रममा मलेसियामा रहेका नेपाली समुदायसंग समेत छलफल गर्ने कार्यक्रम छ । मलेसिया नेपाली श्रमिकहरुको प्रमुख गन्तव्य मुलकका रुपमा रहेको छ ।

  • नेपाल सरकारका पूर्वसचिवले रोजे राप्रपा

    नेपाल सरकारका पूर्वसचिवले रोजे राप्रपा

    राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको सदस्यता प्रदान गरी न्यौपानेलाई राप्रपामा प्रवेश गराए।

    सो अवसरमा राप्रपाका पूर्वअध्यक्षद्वय पशुपतिशमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनी, नेताहरु दीपक बोहरा, नवराज सुवेदी, हरिबहादुर बस्नेत, बालाराम घर्ती मगर लगायतका नेताहरूले न्यौपानेलाई पार्टीमा स्वागत गरेका थिए।

    ३१ वर्ष निजामती सेवामा बिताएका न्यौपानेले गत असोज १२ गते अवकाश पाएका थिए। उनले सचिवका रुपमा सम्हालेको अन्तिम मन्त्रालय युवा तथा खेलकुद थियो।

    उनी ओली सरकारकै पालमा सचिवमा बढुवा भएका थिए। उनले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई अन्याय गरेको गुनासो गर्ने गर्थे। खासगरी उनले आफ्नो क्षमता अनुसारको जिम्मेवारी नपाएको बताउने गर्थे।

    नेपाल सरकारका सचिवहरुमध्ये धेरै सरुवा हुने सचिवमा न्यौपाने थिए।

    उनी प्रदेश १ को प्रमुख सचिव, काठमाडौँ महानगरपालिका, भूमिसुधार तथा सहकारी मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, उपराष्ट्रपतिको कार्यालय हुँदै अन्तिममा युवा तथा खेलकूद मन्त्रालय पुगेका थिए।

    न्यौपाने गृह–प्रशासन र विकासे मन्त्रालयको अनुभवी मानिन्थे।

    केही दिनअघि मात्रै अर्का पूर्वसचिव केदारबहादुर अधिकारी पनि राप्रपा प्रवेश गरेका थिए।


    काठमाडौं । नेपाल सरकारका पूर्वसचिव केदार न्यौपाने राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेका छन्।

    राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको सदस्यता प्रदान गरी न्यौपानेलाई राप्रपामा प्रवेश गराए।

    सो अवसरमा राप्रपाका पूर्वअध्यक्षद्वय पशुपतिशमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनी, नेताहरु दीपक बोहरा, नवराज सुवेदी, हरिबहादुर बस्नेत, बालाराम घर्ती मगर लगायतका नेताहरूले न्यौपानेलाई पार्टीमा स्वागत गरेका थिए।

    ३१ वर्ष निजामती सेवामा बिताएका न्यौपानेले गत असोज १२ गते अवकाश पाएका थिए। उनले सचिवका रुपमा सम्हालेको अन्तिम मन्त्रालय युवा तथा खेलकुद थियो।

    उनी ओली सरकारकै पालमा सचिवमा बढुवा भएका थिए। उनले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई अन्याय गरेको गुनासो गर्ने गर्थे। खासगरी उनले आफ्नो क्षमता अनुसारको जिम्मेवारी नपाएको बताउने गर्थे।

    नेपाल सरकारका सचिवहरुमध्ये धेरै सरुवा हुने सचिवमा न्यौपाने थिए।

    उनी प्रदेश १ को प्रमुख सचिव, काठमाडौँ महानगरपालिका, भूमिसुधार तथा सहकारी मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, उपराष्ट्रपतिको कार्यालय हुँदै अन्तिममा युवा तथा खेलकूद मन्त्रालय पुगेका थिए।

    न्यौपाने गृह–प्रशासन र विकासे मन्त्रालयको अनुभवी मानिन्थे।

    केही दिनअघि मात्रै अर्का पूर्वसचिव केदारबहादुर अधिकारी पनि राप्रपा प्रवेश गरेका थिए।

  • स्थानीय निर्वाचन: उम्मेदवारी संख्या १ लाख ४७ हजार नाघ्यो, कुन प्रदेशमा कति उम्मेदवार ?

    स्थानीय निर्वाचन: उम्मेदवारी संख्या १ लाख ४७ हजार नाघ्यो, कुन प्रदेशमा कति उम्मेदवार ?

    काठमाडौं । निर्वाचन आयोगले स्थानीय निर्वाचनमा उम्मेद्वारी दर्ता गरेकाहरुको संख्या सार्वजनिक गरेको छ ।

    आयोगले मंगलबार सार्वजनिक गरेको तथ्यांक अनुसार (दिउँसो ३:३०) सम्ममा मनोनयन दर्ता गर्नेको संख्या १ लाख ४७ हजार २ सय ७४ जना रहेका छन् । तर, आयोगले सार्वजनिक गरेको संख्या प्रणाली प्रविष्ट भएको संख्या मात्रै हो ।

    आयोगले जनाएअनुसार ७ सय ५३ स्थानीय तहको प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र खुल्ला सदस्य पदका लागि करिब चार गुणा बढी उम्मेदवारी परेको हो ।

    सबैभन्दा बढी मधेश प्रदेशमा परेको आयोगले जनाएको छ । आयोगले जनाएअनुसार मधेश प्रदेशमा ३८ हजार ७ सय ८७ जनाले मनोनयन दर्ता गरेका छन् ।

    मधेश पछि सबैभन्दा बढी बागमती प्रदेशमा २४ हजार ३३ जना, लुम्बिनी प्रदेशमा २३ हजार ४९ जना र प्रदेश १ मा २२ हजार ५ सय ४२ जनाले मनोनयन दर्ता गराएका छन् ।

    कर्णाली प्रदेशमा १३ हजार ४ सय ७ जना, गण्डकी प्रदेशमा १२ हजार ७ सय ८७ जना र सुदूरपश्चिम प्रदेशमा १२ हजार ६ सय ७३ जनाले मनोनयन दर्ता गराएको आयोगले जनाएको छ । आइतबार र सोमबार देशभरका स्थानीय तहमा उम्मेदवारी दर्ता भएको थियो ।

    स्थानीय तहमा ३० वैशाखमा ३५ हजार २ सय २१ जनप्रतिनिधिका लागि चुनाव हुँदैछ । २०७४ को स्थानीय तहको चुनावमा १ लाख ५१ हजार १ सय ९० जनाले उम्मेदवारी दिएका थिए ।

    आज उम्मेदवारको विरोधमा उजुरी दिन आयोगले भनेको छ । १४ र १५ वैशाखमा मनोनयनपत्र जाँच गर्ने तथा उजुरीउपर जाँचबुझ गरी निर्णय गरी उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यतालिका तय गरेको छ ।

    १६ वैशाखमा उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा १७ वैशाखमा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने आयोगको कार्यतालिका छ ।

  • स्थानीय तहमा देशभर १ लाख ३७ हजारको उमेदवारी (८ः३० को अपडेट)

    स्थानीय तहमा देशभर १ लाख ३७ हजारको उमेदवारी (८ः३० को अपडेट)

    काठमाडौं । स्थानीय तह निर्वाचनमा देशभर १ लाख ३७ हजारको उमेदवारी परेको छ । यो बिहान ८ः३० बजेसम्मको अपडेट हो । निर्वाचन आयोगले तथ्यांक अध्यावधि भइरहेको जनाएको छ । सोहीकारण यो संख्या अझै बढ्ने सम्भावना छ । मंगलबार बिहानसम्मको तथ्यांक अनुसार सबै पदमा कुल १ लाख ३७ हजार ५८ जनाले मनोनयन दर्ता गराएका छन् ।

    देशभर २९३ नगरपालिकामा ३ हजार २७६ जनाले नगरप्रमुख (मेयर) पदमा उम्मेद्वारी दिएका छन् । उपप्रमुख (उपमेयर) पदमा २ हजार ९ जनाको मनोनयन परेको छ । ४६० गाउँपालिकामा अध्यक्षका लागि ३ हजार २६४ जनाको मनोनयन परेको छ । २ हजार २९७ जनाले उपाध्यक्षमा उम्मेद्वारी दिएका छन् । कुल ३५ हजार २२१ पदमा वैशाख ३० मा निर्वाचन हुँदैछ ।

  • टिपरको ठक्करबाट भक्तपुरमा स्कुटर चालकको मृत्यु

    टिपरको ठक्करबाट भक्तपुरमा स्कुटर चालकको मृत्यु

    काठमाडौं । भक्तपुरमा गएराति भएको दुर्घटनामा एक जनाको ज्यान गएको छ । गएराति साढे १२ बजे थिमि नगरपालिकाको चारदोबाटोमा बा ४ ख ८५८१ नम्बरको टिपरले वाग्मती प्रदेश ०२–०२३ प ७७६९ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरका चालक काभ्रे घर भइ अहिले भक्तपुरको चाँगुनारायण बस्ने ३२ वर्षका ज्ञानेन्द्र मल्ल ठकुरीको ज्यान गएको प्रहरीले जनाएको छ । घाइते ठकुरीको मध्यपुर थिमि अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो । टिपर चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

  • फ्रान्सका राष्ट्रपतिलाई नेपाली समकक्षी र प्रधानमन्त्रीको बधाई

    फ्रान्सका राष्ट्रपतिलाई नेपाली समकक्षी र प्रधानमन्त्रीको बधाई

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले फ्रान्सका नवनिर्वाचित राष्ट्रपति एम्यानुयल माक्रोनलाई बधाइ ज्ञापन गरेका छन् । उनको दोस्रो कार्यकाल सफलताको कामना गर्दै बधाई दिएका हुन् । सोमबार अलग-अलगरुपमा बधाइ सन्देश दिँदै नवनिर्वाचित राष्ट्रपति म्याक्रोनको सफल कार्यकालको शुभकामना दिएका हुन् ।

    राष्ट्रपति भण्डारीले आगामी दिनहरूमा नेपाल-फ्रान्स सम्बन्ध र सहयोगको क्षेत्र थप प्रगाढ एवम् व्यापक हुँदै जानेछ विश्वास व्यक्त गरेकी छिन् । फ्रान्सको राष्ट्रपतिको रूपमा पुनःनिर्वाचित भएकोमा फ्रान्सेली जनताले अर्को प्रजातान्त्रिक अभ्यास पूरा गरेका छन् भन्दै प्रधानमन्त्री देउवाले नेपाल–फ्रान्स मैत्री सम्बन्धलाई थप सुदृढ गर्न मिलेर काम गर्न तत्पर रहेको बताएका छन् ।

  • काठमाडौंको मेयर बन्न ५६ जना आकंक्षी

    काठमाडौंको मेयर बन्न ५६ जना आकंक्षी

    काठमाडौं । काठमाडौं महानगरपालिकामा मेयरका लागि ५६ जना आकंक्षी मैदानमा उत्रिएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले राति अबेर अद्यावधिक गरेको तथ्यांक अनुसार काठमाडौं महानगरपालिकाको मेयरमा ५६ जनाको उम्मेदवारी परेको हो । यसमा यसमा मूख्य प्रतिस्पर्धा भने गठबन्धन र एमाले बीच हुने छ । स्वतन्त्रतर्फ बालेन साह लोकप्रिय बनेका छन् । राप्रपा र विवेकसिलले समेत केही भेट ल्याउन सक्ने स्थान काठमाडौं हो । काठमाडौंमा अधिकांश स्वतन्त्र उमेदवारका रुपमा खडा भएका छन् ।

    मनोनयन दर्ताको काम सोमबार अबेर सकिएको छ । स्वतन्त्र उमेदवार राजन कार्की (३६), रविकान्त मानन्धर (८४) समिक्षा बास्कोटा (३८) विवेकशील साझा पार्टी, सुरेश रत्‍न बज्राचार्य (५५) आधुनिक नेपाल समाजवादी पार्टीबाट उमेदवार बनेका छन् । बालेन्द्र साह ३२) स्वतन्त्र, सीता तामाङ (५५) मंगोल नेशनल अर्गनाइजेसन, आनन्द राज जोशी (३५) राष्ट्रिय यथार्थवादी पार्टी, नेपाल, राम बहादुर खड्का (४७) नेपाल समावेशी पार्टीबाट मेयर पदमा उठेका छन् ।

    मनोज राज आचार्य (३७) मौलिक जरोकिलो पार्टी, ज्ञानु लामा तामाङ (स्वतन्त्र, सुमन सायमी (४९) स्वतन्त्र, अमोट महर्जन (३९) स्वतन्त्र, विपीन राज वैद्य (३५) स्वतन्त्र, सूर्य थापा (७४) स्वतन्त्र, जेठा महर्जन (७१) स्वतन्त्र, डिल्ली राम राजभण्डारी् सचेत नेपाली पार्टीबाट उमेदवार बनेका छन् । स्वईट थापा (४४) स्वतन्त्र, न्हुज मान्नधर (२४) स्वतन्त्र, सरिता घिमिरे (४७) नेपाल जनता पार्टी, सुशील थापा क्षेत्री (५२) स्वतन्त्र, दिपक सिलवाल (४०) स्वतन्त्र, बच्पन राज श्रेष्ठ (६९) स्वतन्त्र, शैलेन्द्र मान श्रेष्‍ठ (५४) स्वतन्त्र, विजय मानन्धर (३८) स्वतन्त्र उमेदवार बनेको निर्वाचन आयोगले जनाएको छ ।

    सुरज श्रेष्ठ (४६) संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, रुपा सुवाल (६०) आमूल परिवर्तन मसिहा पार्टी नेपाल, किरण रंजित (५१) स्वतन्त्र, भक्त राज भुसाल (५८) नेपाली कांग्रेस (बी।पी), दानिन्द्र जोशी (४६) लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल, निमकान्त पाण्डे ( ६८) स्वतन्त्रको समेत उमेदवारी परेको छ ।

    मधुसुदन खड्का (५८) स्वतन्त्र , मदन दास श्रेष्ठ (७३) राष्ट्रिय प्रजातन्त्र पार्टी , केशव स्थापीत (६२) नेपाल कम्युनिष्ट पार्टी (एमाले), विजय प्रकाश सैजु (६६) नेपाः राष्ट्रिय पार्टी, सन्देश शाक्‍य (४८) स्वतन्त्र, सुरेन्द्र बज्राचार्य (३३) स्वतन्त्र, सुनिल श्रेष्‍ठ (४७) स्वतन्त्र, इन्द्र मणि कपाली (५५) स्वतन्त्रमा उमेदवार बनेका छन् ।

    सुरेन्द्र महर्जन (४८) नेपाल मजदुर किसान पार्टी, सिर्जना श्रेष्ठ (५९) नेपाली काँग्रेस , रजित मान शाक्य (४५) स्वतन्त्र, राहुल मानान्धर (३०) स्वतन्त्र, कान्ति तुलाधर (४२) स्वतन्त्र, पिय रत्‍न महर्जन (५५) नेपाल परिवार दल, उमेश कुमार सिंह (६३) स्वतन्त्र, विनय स्थापित (४९) स्वतन्त्र, रोशन शाही (३८) स्वतन्त्र, प्रेमसागर कर्माचार्य (५७) उन्‍नत लोकतन्त्र पार्टी, सैलेश ढुंगाना (३४) स्वतन्त्र, काजी लाल श्रेष्‍ठ (५०) नेपाल कम्युनिष्ट पार्टी (समाजवादी), मनिस श्रेष्ठ (२८) स्वतन्त्र, प्रणेश बहादुर मल्ल (४०) स्वतन्त्रले समेत मेयर पदमा उमेदवार दिएका हुन् ।

    बाबुराजा संगत (४७) स्वतन्त्र, निश्चल जोशी (३५) नेपाली जनता दल, महेन्द्र प्रजापती (३७) स्वतन्त्र र राजेन्द्र बस्नेत (४२) स्वतन्त्र समेत मेयरको दौडमा समावेश गरेका छन् ।

  • स्थानीय तहमा ३५ हजार, २२१ जना उमेदवारका लागि ७१ हजार २३७ जनाको उमेदवारी (साँझ ८ बजेसम्म)

    स्थानीय तहमा ३५ हजार, २२१ जना उमेदवारका लागि ७१ हजार २३७ जनाको उमेदवारी (साँझ ८ बजेसम्म)

    काठमाडौं । ३० वैशाखमा हुन लागेको स्थानीय तह निर्वाचनका लागि सोमबार उमेदवारी दर्ताको समय सकिएको छ । आइतबार र सोमबार गरि दुई दिन उमेदवारी दर्ताको समय तोकिएको थियो । निर्वाचन आयोगले अपडेट गरेको पछिल्लो विवरण अनुसार स्थानीय तहमा ७१ हजार, २३७ जना चुनावी मैदानमा उत्रिएका छन् । कुल ३५ हजार, २२१ जना पदाधिकारीका लागि वैशाख ३० मा निर्वाचन हुँदैछ । नयाँ संविधान जारी भएपछि दोस्रो पटक स्थानीय तहको निर्वाचन हुन लागेको हो ।

    सात वटै प्रदेशका ७५३ स्थानीय तहका प्रमुख\अध्यक्ष, उपप्रमुख\उपाध्यक्ष, वडा अध्यक्ष र सदस्य गरी कुल ३५ हजार, २२१ जना पदाधिकारी चयन हुनेछन् । आयोगका अनुसार देशभरको उम्मेदवारी अद्यावधिक गर्ने क्रम अबेर रातीसम्म चल्नेछ । सोहीकारण उमेदवार संख्या अझ बढ्न सक्नेछ । छवटा महानगर, ११ वटा उपमहानगर र २७६ वटा नगर गरी २९३ वटा नगरपालिका छन्।

    साँझसम्मको विवरणअनुसार ती नगरको प्रमुखमा २११८ जना उपप्रमुखमा १३१८ जना प्रतिस्पर्धामा उत्रिएका छन्। गाउँपालिकाका ४६० वटा छन्। तिनको अध्यक्षमा २२२१ र उपाध्यक्ष १५४४ जना चुनावी मैदानमा होमिएका छन्। वडा अध्यक्षमा १७ हजार ७०१, महिला सदस्यमा ११ हजार ६५५, दलित महिला सदस्यमा १० हजार ३७१ र सदस्यमा २४ हजार ३०९ जनाको उम्मेदवारी परेको छ।

  • डोल्पामा एकिकृत समाजवादीले दुई गाउँपालिका अध्यक्षमा खाता खोल्यो ?

    डोल्पामा एकिकृत समाजवादीले दुई गाउँपालिका अध्यक्षमा खाता खोल्यो ?

    काठमाडौं । डोल्पाका दुई गाउँपालिकाको अध्यक्ष पदमा एक जनाको मात्र मनोनयन दर्ता भएको छ । यसससँगै अनौपचारिक रुपमा एकिकृत समाजवादीले खाता खोलेको छ । तर, यसको औपचारिक घोषणा भने निर्वाचन पछि मात्र हुने छ । काइके गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एकीकृत समाजवादीका उम्मेदवारले मात्र मनोनयन दर्ता गराए ।

    डोल्पाकै छार्काताङ्सोङ गाउँपालिकाको अध्यक्षमा पनि एकीकृत समाजवादीका उम्मेदवारको मात्र मनोनयन दर्ता भएको छ । काइके गाउँपालिकाको अध्यक्षमा अंगदकुमार राना र छार्काताङ्सोङ गाउँपालिकाको अध्यक्षमा सेनाङ गुरूङले उम्मेदवारी दर्ता गराएका हुन् ।

  • प्रचण्ड पुत्री रेणु दाहालमाथि कांग्रेसको बागी उम्मेदवारी दर्ता

    प्रचण्ड पुत्री रेणु दाहालमाथि कांग्रेसको बागी उम्मेदवारी दर्ता

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पुत्री रेणु दाहालमाथि कांग्रेसको बागी उम्मेद्वारी परेको छ ।

    पूर्वसांसद एवं नेपाली कांग्रेसका नेता जगन्नाथ पौडेलले भरतपुर महानगरपालिकाको मेयरमा उम्मेदवारी दर्ता गरेका हुन् ।

    गठबन्धनबाट भरतपुर महानगरपालिकाको मेयर पदमा रेणुमाथि कांग्रेस नेताले उम्मेदवारी दर्ता गराएका हुन् ।

    उनलाई कांग्रेसका पूर्व जिल्ला सभापति कृष्णलाल सापकोटाले प्रस्ताव र महासमिति सदस्य मीना खरेलले समर्थन गरेका हुन् ।

    भरतपुरको मेयरमा कांग्रेसले आफ्नो उम्मेदवार हुनुपर्ने अडान राख्दै आएको थियो ।

    पौडेलले कांग्रेसको झण्डासहित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराए । उनीसँगै कांग्रेसका असन्तुष्ट कार्यकर्ताको जुलुस थियो।