Category: समाचार

  • भारतीय नागरिक बाहेक दक्षिण एसियामा विनोद चौधरी एक्लो अर्बपति

    भारतीय नागरिक बाहेक दक्षिण एसियामा विनोद चौधरी एक्लो अर्बपति

    काठमाडौं । फेब्र्सले सार्वजनिक गर्ने विश्वका अर्बपतिको सूचीमा नेपालका विनोद चौधरी १९२९ औं स्थानमा रहन सफल भएका छन् । यो सूचिमा अट्ने उनी नेपालका मात्र नभएर भारतीय नागरिकबाहेक दक्षिण एसियाका अन्य मुलुकका एक्लो अर्बपति हुन् । अर्थातः भारत र नेपालबाहेक दक्षिण एसियाली मुलुकबाट कुनै पनि नागरिक अर्बपतिको सूचिमा अटाएनन् । फोर्ब्सले सार्वजनिक गरेको वर्ल्ड र्‍यांकिङ अनुसार चौधरीसँग कुल १.५ अर्ब डलर सम्पत्ति रहेको छ । चौधरी सन् २०२१ मा २१४१औं स्थानमा थिए ।

    एक वर्षको अवधिमा चौधरीको सम्पत्ति समेत १० करोड डलरले वृद्धि भएको छ । म्याग्जिनका अनुसार गत वर्ष उनको सम्पत्ति १.४ अर्ब डलर रहेको थियो । फोर्ब्सको अर्बपतिको सूचीमा पहिलो नम्बरमा अमेरिकी अर्बपति एलन मक्स छन् । उनको सम्पत्ति २१९ अर्ब डलर रहेको छ । दोस्रो नम्बरमा अमेरिकी अर्बपति जेफ बेजोस रहेका छन् । अर्बपतिहरुको सूचीमा सबैभन्दा धेरै अमेरिकी, दोस्रोमा चीन र तेस्रो स्थानमा भारतीय नागरिक छन् ।

  • ट्युसन पढ्न हिँडेकी कविता सुनुवारको हत्या आरोपित सार्वजनिक

    ट्युसन पढ्न हिँडेकी कविता सुनुवारको हत्या आरोपित सार्वजनिक

    काठमाडौं । उदयपुरको बेलका नगरपालिका–३ मा भएको विद्यार्थी कविता सुनुवारको हत्या उनकै साथीबाट भएको खुलेको छ।

    उदयपुरको वडा नम्बर-३ स्थित कोशी जनता माध्यमिक विद्यालयमा अध्ययनरत कविता सुनुवारको हत्या उनकै साथीबाट भएको खुलेको हो।

    घरबाट बिहान ४ बजे ट्युसन पढ्न हिँडेकी किशोरीको हत्यामा संलग्न भएको आरोपमा मृतकका सहपाठीसहित दुई जनालाई प्रहरीले सार्वजनिक गरेको हो ।

    जिल्ला प्रहरी कार्यालय उदयपुरले बेलका नगरपालिका-३ किराँत चोककी १७ वर्षीया सरिता ढकाल (खत्री) उनका ठूलो बुबाका छोरा १९ वर्षीय विनोद ढकाल (खत्री)लाई बुधबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो ।
    बाँसघारीमा विनोदले लुकाएर ल्याएको बियरको बोतलले कवितालाई पछाडिबाट हिर्काएर ढालेको बयान दिएका छन् ।

    ढलिसकेपछि दुवै जनाले कवितालाई ४० मिटर पर दक्षिणतर्फ घिसार्दै लगेर यशोदा खोला किनारामा पुनः ढुंगाले हिर्काएर मरेपछि लुकाएको प्रहरीले जनाएको छ ।

    सरिताले दुई हप्ताअघि नै कवितालाई मार्ने योजना बनाएको प्रहरी समक्ष दिएकी छन् । हत्या भएको दिन बिहान ४ बजेर ५ मिनेटमा सरिताले कवितालाई एसएमएस गरेर विद्यालयमा ट्युसनका लागि बोलाएकी थिइन् । तर, उनी विद्यालय नपुग्दै बाटोमा हत्या गरिएको थियो ।

    सरिताका ठूलो बुवाका छोरा विनोद एक वर्षदेखि उनकै घरमा बस्दै आएका थिए । विनोदको घर भने भारतको सिक्किम हो । कविताले स्कुलमा आफूलाई होच्याउने गरेकाले मार्ने योजना बनाएको सरिताले बताएकी छन् ।

    हत्याको विरोधमा मदन भण्डारी लोकमार्ग बुधबार बिहानैदेखि स्थानीय र विद्यार्थीले अवरुद्ध पारेका थिए । उनीहरूले हत्यारालाई सार्वजनिक गर्नुपर्ने माग राखेका थिए ।

  • स्थानीय तह निर्वाचनमा रातीमा प्रचार-प्रसार गर्न नपाइने

    स्थानीय तह निर्वाचनमा रातीमा प्रचार-प्रसार गर्न नपाइने

    काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा सहभागी हुने राजनीतिक दलले रातको समयमा प्रचार प्रसार गर्न नपाउने गरि निर्देशन दिएको छ । मंगलबार दलहरुलाई ६० बुँदे निर्देशन जारी गर्दै आयोगले यस्तो बताएको हो । मंगलबार आयोगले ६० बुँदे निर्देशन जारी गर्दै चुनावी प्रचारप्रसाको समय तोकेको छ । राजनीतिक दलले बिहान ८ बजेदेखि साँझ ७ बजेसम्म मात्रै चुनाव प्रचारप्रसार गर्न पाउनेछन् । जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा प्रचारप्रसारको कार्यक्रम गर्दा बिहान ८ बजेदेखि साँझ ७ बजेसम्म मात्र गर्ने भनि तोकिएको छ ।

    जुलुस, आमसभा वा प्रचारप्रसार गर्दा दल वा उम्मेदवारको निर्वाचन चिन्ह वा झण्डा अंकित लोगो वा स्टिकर वा कपडा, टोपी पा क्याप, भेष्ट टिसर्ट, ज्याकेट, कमिज, गम्छा, ब्याज, मास्क वा लकेट लगाउन वा बोक्न नपाइने निर्देशनमा उल्लेख छ ।
    त्यस्तै, दलको झण्डा वा दल वा उम्मेदवारको चुनाव चिन्हको तोरण बनाइ सार्वजनिक प्रदर्शन गर्न वा गराउन पनि आयोगले रोक लगाएको छ ।


    आयोगले खर्चको बिल भरपाई तथा बैंक वा वित्तीय संस्थामा रहेको खाताको विवरण पेश गर्न आदेश दिएमा सक्कल बिल भरपाई तथा बैंक वा वित्तीय संस्थाको खाताको विवरण पेश गर्नुपर्ने भएको छ । कुनै राजनीतिक दल वा उम्मेदवारले अनुमति लिएको सवारी साधान प्रयोग गरी मतदाताहरु ओसारपसार गर्न वा सम्बन्धित स्थान तोकी प्रयोग गर्ने गरी अनुमति लिएको सवारी साधन अन्य स्थानमा प्रयोग गर्न नहुने, राजनीतिक दल वा उम्मेदवारको नाममा अनुमति लिएको सवारी साधन अन्य राजनीतिक दल वा उम्मेदवारलाई प्रयोग गर्न दिन वा अन्य उम्मेदवारले प्रयोग गर्न वा गराउन नहुने आदेशमा उल्लेख छ ।

  • पेट्रोलियम पदार्थको मूल्य बढ्यो, खाने पकाउने ग्याँसमा २५ रुपैयाँ वृद्धि

    पेट्रोलियम पदार्थको मूल्य बढ्यो, खाने पकाउने ग्याँसमा २५ रुपैयाँ वृद्धि

    काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । नेपाल आयल निगमले गत रातीबाटै लागु हुने गरि मूल्य वृद्धि भएको जानकारी गराएको छ । निगमका अनुसार पेट्रोल, डिजल र मट्टितेलको मूल्य प्रति लिटर ५ रुपैयाँको दरले बढेको हो । अब पेट्रोलको मूल्य प्रति लिटर १६० रुपैयाँ पुगेको छ । डिजल र मट्टितेलको मूल्य प्रति लिटर १४३ रुपैयाँ पुगेको छ । निगमले पेट्रोल, डिजल र मट्टितेलसँगै खाना पकाउने ग्यासको मूल्य समेत बढाएको छ । यस अघि १५ सय ७५ रुपैयाँ रहेको खाना पकाउने ग्यास अब प्रति सिलिण्डर १६ सय रुपैयाँ पुगेको छ ।

    निगमले ठूलो घाटा बेहोर्नु परेको भन्दै स्वचालित मूल्य प्रणाली बनाउने तयारी गरेको छ । मंगलबार अर्थमन्त्रालयमा भएको छलफलमा स्वचालित मूल्य बनाउने विषयमा छलफल भएको थियो । अब सञ्चालक समितिले निर्णय गरेर एकमहिनाभित्रै स्वचालित बनाउने तयारी छ । यसो भएमा इन्धनको मूल्य थप बढ्ने बताइएइको छ । निगमलाई पेट्रोलको मूल्यमा प्रति लिटर १८२ रुपैयाँ ९८ पैसा लागत छ । मट्टितेलको १३६ रुपैयाँ ३१ पैसा र डिजेलको १७१ रुपैयाँ लागत रहेको निगमले जनाएको छ ।

  • सोमबार एमाले प्रवेश गरेका बेनिघाट गाउँपालिकाका अध्यक्ष पित्तबहादुर मंगलबार माओवादी मै फर्किए

    सोमबार एमाले प्रवेश गरेका बेनिघाट गाउँपालिकाका अध्यक्ष पित्तबहादुर मंगलबार माओवादी मै फर्किए

    काठमाडौं । सोमबार नेकपा एमालेमा प्रवेश गरेका धादिङको बेनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष पित्तबहादुर डल्लाकोटी (हरि) मंगलबार भने नेकपा माओवादी केन्द्रमा मै फर्किएका छन् । उनले सोमबार एमाले अध्यक्ष केपी शर्मा ओलीको हातबाट माला लगाएका थिए । तर, मंगलबार भने विज्ञप्ति नै निकालेर आफू माओवादी केन्द्रमा मै रहेको उल्लेख गरेका हुन् ।

    विज्ञप्तिमा भनिएको छ, ‘म भित्र क्षणिक आक्रोश र आवेगमा आई राजनीतिक रुपमा गम्भीर गल्ती कमजोरी हुन गई समग्र पार्टी, बेनिघाट रोराङ र धादिङको पार्टी पंक्तिमा पर्न गएको क्षतिप्रति गम्भीर आत्माआलोचना गर्न चाहन्छु ।’ उनी झण्डै १५ वर्ष अगाडि एमाले नै थिए । माओवादी शान्ति प्रक्रियामा आएसँगै उनी माओवादी बनेका थिए । गत स्थानीय तहको निर्वाचनमा धादिङबाट स्थानीय तहको प्रमुख पदमा निर्वाचित हुने उनी माओवादीका एक्ला उम्मेदवार थिए ।

  • कंगोमा शान्ती  स्थापनार्थ  खटिएका नेपाली सेनाका एक जवान विद्रोहीको आक्रमणमा परि घाइते

    कंगोमा शान्ती स्थापनार्थ खटिएका नेपाली सेनाका एक जवान विद्रोहीको आक्रमणमा परि घाइते

    काठमाडौं । कंगोमा नेपाली शान्ति सेनाको टोलीमाथि आक्रमण हुँदा एक नेपाली सैनिक घाइते भएका छन्। नेपाली सेनाको जनसम्पर्क निर्देशनालयले एक नेपाली सैनिक घाइते भएको उल्लेख गरेको छ । नेपाली शान्ति सैनिकहरूले अपरेशन ‘बाली’ सञ्चालन गरेको थियो।

    मंगलबार प्रमुख सेनानी निकिल कुँवरको कमाण्डमा कर्डन एन्ड सर्चुको कारबाही सञ्चालन गरी विद्रोहीको अब्जेक्टिभ कब्जा गरी जमीन होल्ड गरेको निर्देशनालयले जनाएको छ। त्यसपछि विद्रोहीले अज्ञात स्थानबाट अचानक गरेको फायरबाट त्यहाँ कार्यरत एक सैनिक घाइते भएको नेपाली सेनाले जनाएको छ। घाइतेको हेलिकप्टरमार्फत् उद्धार गरी बुनियाँस्थिल लेबल २ अस्पतालमा उपचार भइरहेको सेनाले जनाएको छ। अरू बाँकी फौजहरू सुरक्षित रहेको समेत सेनाले जनाएको छ ।

  • हिमाल चढ्न अनुमति लिने बढ्दै, कुन हिमालमा कति ?

    हिमाल चढ्न अनुमति लिने बढ्दै, कुन हिमालमा कति ?

    काठमाडौं । हिमाल चढ्न अनुमति लिने विदेशी तथा स्वदेशी आरोहीको संख्या निरन्तर बढ्दैछ । मंगलबारसम्म सगरमाथा आरोहणका लागि मात्र यो सिजनमा १६ समूहका १३८ जनाले अनुमति लिएको पर्यटन विभागको तथ्यांकले देखाएको छ । पर्यटन विभागका अनुसार मंगलबारसम्म ३३ महिला र १०५ जना पुरुष गरी १३८ जनाले सगरमाथाका लागि अनुमति लिएका हुन् । यी आरोही विभिन्न १६ वटा समूहमा सगरमाथामा जाने भएका छन् ।

    सगरमाथा चढ्ने आरोहीबाट मात्र सरकारले १७ करोड १९ लाख ६४ हजार ८५० रुपैयाँ रोयल्टी उठाएको छ । सगरमाथापछि अमादब्लम हिमालका लागि बढी आरोहीले अनुमति लिएका छन् । तथ्यांक अनुसार मंगलबारसम्म सो हिमालका लागि ३९ जनाले अनुमति लिएका छन् । जसमा ७ जना महिला छन् । तथ्यांक अनुसार मंगलबारसम्म कुल १५ वटा हिमालका लागि आरोहण अनुमति जारी भइसकेको छ । यसमा ६ हजार मिटर भन्दा अग्ला हिमालहरु रहेका छन् ।

    विभागका अनुसार ल्होत्सेका लागि ३३, अन्नपूर्ण प्रथमका लागि २६, नुप्त्सेका लागि २३, द्यौ धौलागिरिका लागि २१ र मकालुका लागि १५ जनाले अनुमति लिएका छन् । ती हिमालमा कुल ३ सय ६६ जना आरोहीले अनुमति लिएका छन् । जसमा ८५ जना महिला रहेका छन् । पुरुषको संख्या २८१ रहेको छ ।

  • ट्युसन पढ्न हिँडेकी १७ वर्षीया कविताको हत्यामा उनकै सहपाठीको संलग्नता

    ट्युसन पढ्न हिँडेकी १७ वर्षीया कविताको हत्यामा उनकै सहपाठीको संलग्नता

    काठमाडौं, २२ चैत । उदयपुरको बेलका नगरपालिका–३ मा भएको विद्यार्थी कविता सुनुवारको हत्या उनकै साथीबाट भएको खुलेको छ।

    उदयपुरको वडा नम्बर(३ स्थित कोशी जनता माध्यमिक विद्यालयमा अध्ययनरत कविता सुनुवारको हत्या उनकै साथीबाट भएको खुलेको हो।

    उनकै कक्षामा अध्ययनरत अर्की विद्यार्थीबीचको झगडाका क्रममा हत्या भएको प्रहरी अनुसन्धानले देखाएको छ ।

    वियरको बोतल र ढुंगा प्रहार गरेर हत्या गरेको अभियोगमा प्रहरीले १९ वर्षीय विनोद ढकाल र १७ वर्षीया नाबालिकालाई पक्राउ गरेको छ ।

    पक्राउ परेकी नाबालिका मृतक कविता सुनुवारसँगै कोशी जनता माध्यमिक विद्यालय रामपुरको कक्षा १० मा पढ्थिन् ।

    उनीहरु अध्ययनरत विद्यालयले एसईई आउन लागेपछि बिहानैदेखि ट्युसन कक्षा राखेको थियो।

    मंगलबार ट्युसन पढ्न हिँडेकी कविताको शव घरबाट केही सय मिटर दूरीको यशोदा खोला भेटिएको थियो ।

  • नेपालमा ५५८७ नमुना परीक्षणमा २४ जनामा कोरोना पुष्टी

    नेपालमा ५५८७ नमुना परीक्षणमा २४ जनामा कोरोना पुष्टी

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २४ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार २७८ जनाको पीसीआर परीक्षण गर्दा २१ जना र २ हजार ३०९ जनाको एन्टिजेन परीक्षण गर्दा ३ गरी २४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ७८ हजार ५२८ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा ५१ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ९ लाख ६५ हजार ७६५ पुगेको छ । संक्रिय संक्रमितको संख्या ८१२रहेको छ ।

    पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य रहेको छ । नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ९५१ रहेको छ ।

  • सत्ता गठबन्धनका ‘चुनावी कमाण्डर’ रामचन्द्र पौडेल,समितिले पायो पूर्णता

    सत्ता गठबन्धनका ‘चुनावी कमाण्डर’ रामचन्द्र पौडेल,समितिले पायो पूर्णता

    काठमाडौं । सत्ता गठबन्धनमा आबद्ध दलले गठन गरेको निर्वाचन तयारी तथा अनुगमन समितिले पूर्णता पाएको छ ।

    प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार बसेको गठबन्धन बैठकले समितिलाई पूर्णता दिएको हो ।

    गठबन्धनले वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा ११ सदस्यीय ‘स्थानीय तह निर्वाचनका लागि तयारी तथा अनुगमन समिति’ बनाएको छ ।

    समितिमा कांग्रेसका तर्फबाट सदस्यमा महामन्त्री गगन थापा र सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, नेकपा माओवादी केन्द्रबाट सचिवालय सदस्यद्वय वर्षमान पुन र देव गुरुङ छन्।

    यस्तै नेकपा एकीकृत समाजवादीबाट महासचिव वेदुराम भुसाल र उपमहासचिव विजय पौडेल, जनता समाजवादी पार्टीबाट वरिष्ठ नेता अशोक राई र केन्द्रीय कार्यकारणी समिति सदस्य रेणु यादव तथा राष्ट्रिय जनमोर्चाका सचिव हिमलाल पुरीलाई सदस्य बनाइएको छ।

  • नेपाली शेयर बजारमा उच्च अंकको गिरावट, कारोबार रकम बढ्यो

    नेपाली शेयर बजारमा उच्च अंकको गिरावट, कारोबार रकम बढ्यो

    काठमाडौं । शेयर बजारमा उच्च अंकको गिरावट आएको छ । साताको कारोबारको तेस्रो दिन शेयर बजार मापक सूचक नेप्से ४६.४६ अंकले घटेर २४५२.६ विन्दुमा झरेको छ ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलवार २२८ कम्पनीको २ अर्ब ६७ करोड १२ लाख ३२ हजार ३८८ रुपैयाँ बराबरको ५८ लाख ४१ हजार ९९८ कित्ता शेयर किनबेच भएका छन् ।

    अघिल्लो दिनको तुलनामा कारोबार रकम बढेको छ । सोमवार १ अर्ब ५८ करोड ४६ लाख ९१ हजार ५६२ रुपैयाँरुपैयाँ बराबरको कारोबार भएको थियो ।

    आज कारोबारमा आएका १३ समूहको परिसूचम मध्ये १२ वटाको घटेको छ भने एक वटाको बढेको छ । अन्य समूह सबैभन्दा धेरै ३.६६ प्रतिशतले घटेको छ ।

    दुई कम्पनीको शेयरमूल्यमा भने १० प्रतिशतले वृद्धि भएको छ । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था र नेष्डो समृद्धी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा उच्च वृद्धि भएको छ ।

    नेप्सेका अनुसार आज इमर्जिङ नेपालका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । जसको शेयरमूल्य आज १० प्रतिशतले घटेको छ ।

    त्यसैगरी, नारायणी विकास बैंक ६.३७, युनाइटेड इदीमर्दी ६.०१, जनरल इन्स्योरेन्स ५.६९, नेपाल टेलिकम, लाइफ इन्स्योरेन्स कर्पोरेशन, राष्ट्रिय बीमा कम्पनी, मिर्मिरे माइक्रोफाइनान्स लगायत १ दर्जन कम्पनीको शेयर मूल्य ४ प्रतिशतभन्दा धेरैले घटेको छ ।

    त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी हिमालयन डिष्ट्रिलरी लिमेटेडको भएको छ । यस कम्पनीको आज ९ करोड ६७ लाख भन्दा बढीको कारोबार भएको छ ।

    त्यसैगरी, नबिल बैंक साढे ८ करोड र नेपाल लाइफ इन्स्योरेन्स साढे ८ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

  • नेपालमा ५०५९ जनाको परीक्षण गर्दा ३३ कोरोना संक्रमित थपिए, मृत्यु हुनेको संख्या शून्य

    नेपालमा ५०५९ जनाको परीक्षण गर्दा ३३ कोरोना संक्रमित थपिए, मृत्यु हुनेको संख्या शून्य

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ९४२ जनाको पीसीआर परीक्षण गर्दा ३२ जना र २ हजार ११७ जनाको एन्टिजेन परीक्षण गर्दा १ गरी ३३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ७८ हजार ५०७ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा ८९ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ९ लाख ६५ हजार ७१४ पुगेको छ । संक्रिय संक्रमितको संख्या ८४२ रहेको छ ।

    पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य रहेको छ । नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ९५१ रहेको छ ।

  • चितवनका सबै स्थानीय तहमा चुनावी तालमेल गर्ने गठबन्धनको निर्णय

    चितवनका सबै स्थानीय तहमा चुनावी तालमेल गर्ने गठबन्धनको निर्णय

    काठमाडौं । पाँच दलीय गठबन्धनले चितवनका सबै स्थानीय तहमा चुनावी तालमेल गर्ने निर्णय गरेको छ । सोमबार बसेको गठबन्धनको बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र राजमोबीच स्थानीय तह र जिल्ला समन्वय समितिमा तालमेल गर्ने सहमति भएको हो ।

    चितवनका सबै स्थानीय तहमा चुनावी तालमेल गर्ने सहमति पत्रमा कांग्रेस चितवनका सभापति राजेश्वर खनाल, नेकपा माओवादी केन्द्रका संयोजक रामचन्द्र अधिकारी, नेकपा एकीकृत समाजवादीका इञ्चार्ज कृष्ण प्रसाद खनाल, जसपा अध्यक्ष प्रेम भुजेल र राजमो अध्यक्ष डम्बर पुरीले हस्ताक्षर गरेका छन् ।

    बैठकपछि जारी प्रेस विज्ञप्तिमा गठबन्धनमा सहभागी दलहरुबीच गठबन्धनको मर्म र भावना अनुरुप एक आपसमा सम्मान र हार्दिकताको विकास गर्दै संयुक्त रुपमा आसन्न स्थानीय तहको निर्वाचनमा सहभागी हुने निर्णय भएको उल्लेख छ । तालमेलका सन्दर्भमा संयुक्त संयन्त्र निर्माण गरी छलफल प्रक्रिया अगाडि बढाइने जनाइएको छ ।

    सरकारले स्थानीय तहको निर्वाचनका मिति अगामी वैशाख ३० गते तोकेको छ । स्थानीय तहको मिति नजिकिए सँगै राजनीतिक दलहरुले चुनावको तयारीमा तिव्रता दिएका छन् ।

  • तीन एआईजी बढुवाविरुद्धको मुद्दा आज पनि हेर्न नमिल्नेमा

    तीन एआईजी बढुवाविरुद्धको मुद्दा आज पनि हेर्न नमिल्नेमा

    काठमाडौं । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी)बढुवा गर्ने सरकारको निर्णयविरुद्ध दायर रिट सोमबार पनि हेर्न नमिल्नेमा परेको छ ।

    गोलाप्रथाबाट पेशी तोक्दा न्यायाधीश कुमार रेग्मीकै एकल इजलासमा यी रिट परेपछि हेर्न नमिल्ने सूचीमा राखिएको छ ।

    यसअघि हिजो पनि हेर्न नमिल्ने सूचीमा राखिएको थियो । आइतबार पनि रेग्मीकै इजलासमा उक्त मुद्दा राखिएको थियो ।

    प्रहरी नायव महानिरीक्षक (डीआईजी)हरू ईश्वरबाबु कार्की, घनश्याम अर्याल र प्रकाश कार्कीले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा भएको बढुवा सिफारिस निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर गरेका थिए ।

    गृह सचिव टेकनारायण पाण्डे नेतृत्वको बढुवा समितिले तीन डीआईजीलाई एआईजी पदमा बढुवा गर्न सिफारिस गरेको थियो ।

    सरकारले वरीयता मिचेर कनिष्ठलाई बढुवा गरेको भन्दै असन्तुष्ट तीन डीआईजी सर्वोच्च अदालत गुहार्न पुगेका हुन्।

    रिटमा उनीहरूले कनिष्ठ डीआईजीलाई एआईजीमा बढुवा गर्न सिफारिस गरिँदा आफूहरूमाथि विभेद भएको भन्दै बढुवा सिफारिस गर्ने निर्णय बदरको माग गरेका छन् ।

    सर्वोच्च जानुअघि उनीहरूले बढुवाविरुद्धको सुनुवाइ समिति पुगेर उजुरी दिएका थिए । समितिले बढुवा गर्ने निर्णयमा कैफियत नदेखिएको ठहर गरेको थियो ।

    त्यसपछि गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले बढुवा सिफारिस भएका डीआईजीहरू वसन्तकुमार पन्त, धीरजप्रताप सिंह र रवीन्द्रबहादुर धानुकलाई बढुवा गर्ने निर्णय गरेको थियो ।

    वरीयता क्रममा पन्त तेस्रो, सिंह छैटौं र धानुक आठौं स्थानमा थिए । वरीयता क्रममा आफुभन्दा पछि रहेकालाई एआईजीमा बढुवा गरेको भन्दै उनीहरू अदालत पुगेका हुन् ।

    तर रिटको सुनुवाइ ढिला भइरहँदा उनीहरुको अवकाश हुने दिन नजिकिँदै गएको छ। तीनै डीआईजी वैशाख १९ गते अनिवार्य अवकाशमा जाँदै छन्।

    एआईजीबाटै सरकारले एक जनालाई प्रहरी महानिरीक्षक नियुक्त गर्छ । त्यसका लागि चार जना दाबेदार मानिनेछन् ।

  • बाह्रबिसेमा ग्यास सिलिण्डर पड्किँदा तीन बालबालिकाको मृत्यु

    बाह्रबिसेमा ग्यास सिलिण्डर पड्किँदा तीन बालबालिकाको मृत्यु

    सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा खाना पकाउने ग्याँस सिलिन्डर पड्किएर भएको घटनामा तीन बालबालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–८ मानेश्वाराका मिनबहादुर तामाङको घरमा आइतबार घटना भएको हो । बेलुकी ७ बजे ग्याँस सिलिण्डर पड्किएर घरमा आगलागी भएको प्रहरीले जनाएको छ ।

    सो क्रममा उनका १० वर्षीय छोरा इशाक, कुमार तामाङका ६ वर्षीय छोरा सरगम र छिमेकी पदम तामाङका साढे २ वर्षीया छोरी दिव्याको ज्यान गएको हो । आगोमा जलेर उनीहरूको घरभित्रै मृत्यु भएको प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतलाई उदृत गर्दै संचारमाध्यमले जनाएका छन् । आगलागीबाट मीनबहादुर समेत घाइते भएको र उनको उपचार चलिरहेको बताइएको छ ।

  • प्रधानमन्त्री देउवा भारत भ्रमण पुरा गरि काठमाडौं फर्किए

    प्रधानमन्त्री देउवा भारत भ्रमण पुरा गरि काठमाडौं फर्किए

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा तीन दिने भारत भ्रमण पुरा गरि काठमाडौं फिर्ता भएका छन् । आइतबार बिहान नयाँदिल्लीबाट बनारस पुगेका उनी बनारसमा धार्मिक यात्रामा व्यस्त रहे । उनले ललिताघाट, पशुपतिनाथ मन्दिर परिसरमा वृद्धाश्रमको शिलान्यास गरे । त्यहाँ उनले कालभैरव मन्दिर र बाबा विश्वनाथको मन्दिरमा पूजा आरधना गरेका थिए ।

    उनलाई बनारसमा उत्तर प्रदेश राज्यका मूख्यमन्त्री योगी आदित्यनाथसहितको टीमले भब्य स्वागत गरेको थियो । उनी बनारसबाट नयाँदिल्ली फर्किएका थिए । त्यहाँबाट उनी काठमाडौं फर्किएका छन् । भारतको औपचारिक भ्रमणका लागि प्रधानमन्त्री देउवा गत शुक्रबार नयाँदिल्ली गएका हुन् । शनिबार देउवाले समकक्षी मोदीसँग भेटवार्ता गरेका थिए ।

  • ओलीको कटाक्ष -‘ देउवाको भ्रमणमा दिल्ली दूतावासबाट चुच्चे नक्सा किन हटाइयो’ ?

    ओलीको कटाक्ष -‘ देउवाको भ्रमणमा दिल्ली दूतावासबाट चुच्चे नक्सा किन हटाइयो’ ?

    काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणबारे कटाक्ष गरेका छन् ।

    आइतबार काठमाडौंमा आयोजित पार्टीको कार्यक्रममा सम्बोधन गर्दै ओलीले देउवाको भारत भ्रमणका क्रममा दिल्लीस्थित नेपाली दूतावासमा लिपुलेक, लिम्पियाधुरा र कालापानीसहितको नक्सा हटाइए भन्दै कटाक्ष गरेका हुन् ।

    आफ्नाे सरकारले जारी गरेकाे चुच्चे नक्साबारे चासाे नदेखाएकाे उल्लेख गर्दै ओलीले भनेका छन्, ‘सरकारका सय दिन भनेर किताब ल्याउनुभयाे शेरबहादुरजीले; त्यहाँ त चुच्चे नक्सा नै गायब थियाे । फेरि हिजाे दूतावासमा पनि बुच्चे नक्सा झुन्ड्याइएकाे थियाे ।’

    यसअघि ओलीले प्रधान मन्त्री देउवालाई साेधे— ‘के याे साधारण कुरा हाे ? तपाईं चुच्चे नक्सा हटाएर फर्किने हाे ?’ याेभन्दा राष्ट्रकाे दलाली केही नहुने ओलीकाे भनाइ थियाे ।

    ‘प्रधानमन्त्री फर्किनुभन्दा अगाडि दिल्ली दूतावासमा हाम्रो संविधानले भनेको नक्सा, हाम्रो संसदले संविधान संशोधन गरेर राखेको नक्सा किन राखिएन ?,’ ओलीले प्रश्न गरेका छन् ।

    त्यस्तै उनले नेपालमा तीन प्रकारका कम्युनिस्टहरू रहेको बताए । ‘दार्शनिक धरातल भएका र त्यसलाई व्यवहारमा अपनाउने पहिलो वर्गका कम्युनिस्ट छन् ।

    दोस्रो, प्रगतिशील धारका कम्युनिस्ट सैद्धान्तिक वैचारिक तहका कम्युनिस्ट हुन्,’ उनले भने, “हामीकहाँ मान–सम्मान पुगेन भने पार्टी ध्वस्त पार्न तयार हुने कम्युनिस्ट पनि छन् ।’

    उनले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालप्रति लक्षित गर्दै नाफा–नोक्सानको राजनीति गर्ने पनि राजनीतिज्ञ भएको बताए ।

  • पूर्ण सुनुवाइ स्थगित गर्न माधव पक्षले दिएको निवेदन सर्वोच्चद्वारा अस्वीकार, मुद्दा ‘हेर्न नमिल्ने’मा

    पूर्ण सुनुवाइ स्थगित गर्न माधव पक्षले दिएको निवेदन सर्वोच्चद्वारा अस्वीकार, मुद्दा ‘हेर्न नमिल्ने’मा

    काठमाडौं । माधवकुमार नेपालसहित १४ जना सांसदलाई पदमुक्त गर्नुपर्ने मागसहित नेकपा एमालेले दायर गरेको रिटमा आइतवार सुनुवाइ नहुने भएको छ ।

    मुद्दाको पूर्ण सुनुवाइ सार्न नेपाल पक्षबाट दिइएको निवेदन सर्वोच्चका न्यायाधीशद्वय अनिलकुमार सिन्हा र नहकुल सुवेदीको इजलासले अस्वीकार गरेपनि आफूले हेर्न नमिल्ने बताएका छन् ।

    उक्त मुद्दा न्यायाधीश सिन्हा र सुवेदीको इजलासमा चौंथो नम्बरमा थियो ।

    एमाले विभाजन गरी नेकपा एकीकृत समाजवादी गठन गरेका नेपालसहित १४ जना सांसद्को पद खारेजी तथा दल दर्ता अवैधानिक भएको दाबीसहित एमाले अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्चमा २०७८ भदौ १७ गते रिट दायर गरेका थिए।

  • एआईजी बढुवाविरुद्धको रिटमाथिको सुनुवाइ ‘हेर्न नमिल्ने’मा

    एआईजी बढुवाविरुद्धको रिटमाथिको सुनुवाइ ‘हेर्न नमिल्ने’मा

    काठमाडौं । सरकारले गरेको एआईजी बढुवाविरुद्धको रिटमाथि आइतबार सुनुवाइ नहुने भएको छ।

    डीआईजी ईश्वरबाबु कार्कीले दायर गरेको रिट सुनुवाइका लागि न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा पेशी तोकिए पनि हेर्न नमिल्ने भन्दै स्थगित गरिएको हो।

    बिहीबार दायर रिट आइतबार रेग्मीको इजलासमा पेशी तोकिएको थियो। सरकारले बरियता मिचेर कनिष्ठलाई बढुवा गरेको भन्दै असन्तुष्ट तीन डीआईजी सर्वोच्च पुगेका छन्।

    तर डीआईजी घनश्याम अर्याल र प्रकाशजंग कार्कीको रिट दर्ता हुन बाँकी रहेको सर्वोच्च प्रशासनले जनाएको छ।

    वसन्तकुमार पन्त, धीरजप्रताप सिंह र रवीन्द्रबहादुर धानुकलाई सरकारले गत बिहीबार एआईजीमा बढुवा गर्ने निर्णय गरेको थियो।

    उनीहरुलाई बढुवा सिफारिस गर्नासाथ तीन डीआईजीले बढुवाविरुद्धको सुनुवाइ समितिमा उजुरी गरेका थिए।

    तर उक्त समितिले पनि सिफारिस सदर गरेपछि असन्तुष्ट डीआईजीहरू सर्वोच्च पुगेका छन्।

  • दुई छोराछोरीसहित आमाले गरिन् आत्महत्याको प्रयास, छोराछोरीको ज्यान गयो

    दुई छोराछोरीसहित आमाले गरिन् आत्महत्याको प्रयास, छोराछोरीको ज्यान गयो

    महोत्तरी (रासस) । महोत्तरीको औरही नगरपालिका १ मा शुक्रबार राति दुई छोराछोरीसहित आमाले पोखरीमा हाम फाल्दा दुवै छोराछोरीको डुबेर मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार स्थानीय विश्वजित कर्णकी पत्नी २६ वर्षीया बन्दना कर्णले राति १० बजे गाउँमै रहेको महादेव मन्दिरको पोखरीमा आफ्ना चार वर्षीया छोरी विद्या र आठ महिनाको छोरा अध्यान्सुसहित पोखरीमा हाम फालेकामा दुवै छोराछोरीको डुबेर मृत्यु भएको हो।

    महिलाले छोराछोरीसहित पोखरीमा हाम फालेको स्थानीयले थाहा पाएपछि तीनै जनाको उद्धार गरी पोखरी बाहिर ल्याएर उपचारका लागि स्थानीय राधाकृष्ण अस्पताल लगिएपछि चिकित्सकले दुवै छोराछोरीलाई राति नै मृत घोषणा गरेको थियो भने आमा बन्दनाको अवस्था सामान्य रहेको छ। प्रहरीले घटना पश्चात गए राति ११ बजे नै मृतक बालबालिकाका आमा बुवा दुवैलाई नियन्त्रणमा लिएको छ। घटनाबारे आवश्यक अनुसन्धान पनि अगाडि बढाइएको प्रहरीले जनाएको छ।

  • प्रधानमन्त्री बनारस पुगेर आजै काठमाडौं फर्कने

    प्रधानमन्त्री बनारस पुगेर आजै काठमाडौं फर्कने

    काठमाडौं । तीन दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको आज भारतमा अन्तिम दिनका कार्यक्रम हुँदैछन् । उनी आजै स्वदेश फर्किंने कार्यक्रम छ । काठमाडौं फर्किनुअघि उनी आज उत्तर प्रदेशको बनारस जाने छन् । परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री देउवा आज बिहान नौ बजे नयाँदिल्लीबाट बनारस प्रस्थान गर्ने छन् ।

    उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले प्रधानमन्त्री देउवालाई स्वागत गर्नेछन् । बनारसमा प्रधानमन्त्री देउवाले विश्वनाथ र पशुपतिनाथ मन्दिरको दर्शन गर्ने भएका छन् । साथै मूख्यमन्त्री योगीसँग भेटवार्ता समेत हुने छ । प्रधानमन्त्री देउवा बनारसबाट चार बजे नयाँदिल्ली आइपुग्ने र सवा चार बजे काठमाडौंका लागि प्रस्थान गर्नेछन् ।

  • भारतसँग नेपालले माग्यो तीन हवाई रुट

    भारतसँग नेपालले माग्यो तीन हवाई रुट

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा भारतीय समकक्षी नरेन्द्र दामोदरदास मोदी समक्ष थप तीन वटा हवाई रुट उपलब्ध गराउन आग्रह गरेका छन् । पधानमन्त्री देउवाले महेन्द्रनगर, नेपालगञ्ज र जनकपुरबाट थप हवाई रुट उपलब्ध गराउन माग गरेका छन् । नयाँदिल्लीको हैदराबाद हाउसमा आयोजित संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्नुहुँदै उनले यस्तो जानकारी गराएका हुन् ।

    भारतीय समकक्षी मोदीसँगको भेटवार्ता सो विषयमा छलफल भएको जानकारी गराउँदै उनले महेन्द्रनगर, नेपालगञ्ज र जनकपुरबाट थप हवाई रुट माग गरेका हुन् । त्यस्तै, भैरहवास्थित अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालनका लागि सहयोगका लागि पनि प्रधानमन्त्री देउवाले आग्रह गरेका छन् ।

  • आइओसीको नयाँ मूल्यपछि नेपालमा इन्धनको भाउ के होला ?

    आइओसीको नयाँ मूल्यपछि नेपालमा इन्धनको भाउ के होला ?

    काठमाडौं । इन्डियन आयल कर्पोरेशन (आइओसी) ले पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएपछि मूल्य बढ्ने भयका कारण शुक्रबार काठमाडौंका पेट्रोल पम्पमा लामो लाइन लागेको छ । अर्कोतर्फ आइतबारबाट व्यवसायीले बिक्रि वितरण समेत रोक्ने चेतावनी दिएका कारण समेत पम्पमा लामो लाइन लागेको हो । शुक्रवार पठाएको मूल्यसूचीअनुसार पेट्रोलको मूल्य केही घटेको छ । डिजल, मट्टीतेल, हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य भने बढेको नेपाल आयल निगमले उल्लेख गरेको छ ।

    निगमले निकालेको विज्ञप्तिअनुसार पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ ४८ पैसा घटेको छ । डिजल भने लिटरमा शून्य दशमलव ०२ पैसा बढेको छ । यस्तै मट्टीतेल २२ रुपैयाँ नौ पैसा र हवाई इन्धन चार रुपैयाँ २३ पैसा बढेर आएको छ । खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर दुई सय ७३ रुपैयाँ ३८ पैसा बढेर आएको छ ।


    नयाँ मूल्य र अहिलेको मूल्य तथा खपतको हिसाब गर्दा निगमलाई अबको १५ दिनमा झन्डै पाँच अर्ब २१ करोड नोक्सान रहने छ । नयाँ मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर २७ रुपैयाँ सात पैसा, डिजलमा ३२ रुपैयाँ १७ पैसा र ग्यासमा प्रतिसिलिन्डर नौ सय ५३ रुपैयाँ ६६ पैसा नोक्सान छ । मट्टीतेलको हकमा एक रुपैयाँ ९९ पैसा, हवाई इन्धनमा १२ रुपैयाँ ८४ पैसा फाइदा रहेको छ ।

  • प्रधानमन्त्री देउवा र भारतीय विदेशमन्त्री जयशंकरबीच भेट, भाजपाको कार्यालयमा पनि स्वागत

    प्रधानमन्त्री देउवा र भारतीय विदेशमन्त्री जयशंकरबीच भेट, भाजपाको कार्यालयमा पनि स्वागत

    नयाँ दिल्ली । तीनदिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ । आजै प्रधानमन्त्री देउवालाई भारतीय जनता पार्टीको मूख्यालयमा समेत स्वागत गरिएको छ । नयाँ दिल्लीको होटल आईटीसी मौर्यमा रहेका प्रधानमन्त्री देउवा र विदेशमन्त्री जयशंकरबीच भेटवार्ता भएको हो । भेटमा दुइ पक्षीय हितका विषयमा कुरा भएको बताइएको छ । प्रधानमन्त्री देउवाले शनिबार समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्नेछन् । देउवा शुक्रबार अपरान्ह दिल्ली प्रस्थान गरेका हुन् ।

  • नेपालमा थप २२ जनामा कोरोना संक्रमण, ७५ जना संक्रमणमुक्त

    नेपालमा थप २२ जनामा कोरोना संक्रमण, ७५ जना संक्रमणमुक्त

    काठमाडौं । पछिल्लो २४ घण्टामा २२ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । तीन हजार ८३५ जनाको नमुना स्वाब परीक्षण गर्दा २२ जनामा संक्रमण देखिएको हो ।

    अहिलेसम्म नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ९५१ पुगेको छ । संक्रमणका कारण मृत्यु हुनेको संख्या शून्य छ ।

    त्यस्तै आज ७५ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोभिड १९ का सक्रिय संकमितको संख्या एक हजार २२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । निको हुनेको संख्या ९८.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

  • तीनदिने भ्रमणका लागि प्रधानमन्त्री देउवा नयाँदिल्ली प्रस्थान, कार्यवाहक जिम्मेवारी गृहमन्त्री खाँणलाई

    तीनदिने भ्रमणका लागि प्रधानमन्त्री देउवा नयाँदिल्ली प्रस्थान, कार्यवाहक जिम्मेवारी गृहमन्त्री खाँणलाई

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा छिमेकी मित्रराष्ट्र भारतको तीनदिने औपचारिक भ्रमणका निम्ति आज अपराह्न नयाँदिल्ली प्रस्थान गरेका छन् ।

    भारतका प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीको मैत्रीपूर्ण निमन्त्रणामा ५० सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल वायुसेवा निगमको नियमित उडानबाट प्रधानमन्त्री देउवा त्यसतर्फ प्रस्थान गरेका हुन् ।

    प्रधानमन्त्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा सभामुख अग्निप्रसाद सापकोटा, गृहमन्त्री बालकृष्ण खाँण, मन्त्रीगण, संवैधानिक अङ्गका प्रमुख तथा पदाधिकारी, यहाँस्थित भारतीय राजदूतावासका कार्यबाहक राजदूत, कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिलगायतले बिदाई गरेका थिए ।

    त्यसअघि सरकार प्रमुख औपचारिक विदेश भ्रमणमा निस्कदा सलामी अर्पण गर्ने परम्पराअनुरुप नेपाली सेनाको एक टोलीले प्रधानमन्त्री देउवालाई सलामी दिएको थियो ।

    प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा प्रथम महिला डा आरजु राणा देउवा, परराष्ट्रमन्त्री डा नारायण खड्का, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसाल, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडा, कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्रराय यादव, मुख्यसचिव शङ्करदास बैरागी, प्रधानमन्त्रीका प्रमुख स्वकीयसचिव भानबहादुर देउवा, परराष्ट्र सचिव भरतराज पौड्याल छन् ।

    ऊर्जा सचिव देवेन्द्र कार्की, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठ, गृह सचिव टेकनारायण पाण्डे, कानून सचिव उदयराज सापकोटा, अर्थसचिव मधुकुमार मरासिनी, वाणिज्य सचिव गणेशप्रसाद पाण्डे, स्वास्थ्य सचिव डा रोशन पोखरेल, कृषि सचिव गोविन्दप्रसाद शर्मा छन् ।

    प्रधानमन्त्री शेरबहादुर देउवाको अनुपस्थितिमा कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवार गृहमन्त्री बालकृष्ण खाँणले पाएका छन् ।

    वर्तमान मन्त्रिपरिषदमा उपप्रधानमन्त्री छैनन् । त्यसैले मन्त्रिपरिषदमा दोस्रो वरियतामा रहेका खाँणलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएकाे राष्ट्रपतिको कार्यालयले जनाएकाे छ ।

    मन्त्रिपरिषदको अध्यक्षसहित कार्यकारी अधिकारको प्रयोगका लागि प्रधानमन्त्री नआउँदासम्म उनले नै कार्यकारी अधिकारको प्रयोग गर्नेछन् । राष्ट्रपतिको कार्यालयले विज्ञप्ति जारीगरी कार्यवहाक तोकेको हाे ।

  • वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण पारदर्शी बनाउने श्रम मन्त्रीको घोषणा

    वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण पारदर्शी बनाउने श्रम मन्त्रीको घोषणा

    काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारमा जाने श्रमिकको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्था पारदर्शी र व्यवस्थित गराइने बताएका छन् । स्वास्थ्य परीक्षण गर्ने संस्थासँग मन्त्रालयले बिहीबार आयोजित कार्यक्रममा मन्त्री श्रेष्ठले स्वास्थ्य संस्थाको सूचीकरण, नवीकरण र अनुगमन तथा निरीक्षणसम्बन्धी कार्यलाई प्रभावकारी, पारदर्शी, नियमित र व्यवस्थित गरिने बताएका हुन् । उनले विदेशमा रहेका नेपाली श्रमिकको स्वास्थ्य र सुरक्षाप्रति सरकार गम्भीर रहेको भन्दै सरकारले तोकेको मापदण्ड नपुगेका स्वास्थ्य संस्थामार्फत रिपोर्ट बनाउने प्रवृत्ति अन्त्य गरिने उल्लेख गरे ।

    श्रममन्त्री श्रेष्ठले वैदेशिक रोजगारीका लागि जाने श्रमिकको स्वास्थ्य परीक्षण गर्न निर्धारण गरिएको रकम समयानुकूल समायोजनका लागि मन्त्रालय तयार रहेको उल्लेख गरे । मन्त्रालयका सचिव एकनारायण अर्यालले गन्तव्य मुलुकमा गइसकेपछि श्रमिकलाई निम्तनसक्ने स्वास्थ्य समस्याबाट बच्न नयाँ मापदण्ड बनाएर कडाइका साथ अनुगमन गर्ने मन्त्रालयको योजना रहेको बताए । मन्त्रालयका सहसचिव राजीव पोखरेलले श्रमिकको स्वास्थ्य परीक्षणसम्बन्धी नीतिगत, संवैधानिक तथा कानुनी व्यवस्था, स्वास्थ्य संस्थाको मापदण्ड र सरोकारवाला निकायको भूमिकासम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

    कार्यक्रममा वैदेशिक रोजगारमा जाने श्रमिकको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाका प्रतिनिधि तथा सरोकारवालाले यस क्षेत्रका चुनौती तथा समाधानका उपायबारे बताएका थिए । प्रयोगशाला, रेडियोलोजी र स्वास्थ्य परीक्षण कक्षमा हुनुपर्ने आवश्यक औजार तथा उपकरण अन्तर्राष्ट्रिय मापदण्डअनुरूप बनाउनुपर्ने सरोकारवालाको भनाइ छ । वैदेशिक रोजगार ऐन २०६४ ले जुनसुकै मुलुकमा जाने श्रमिकलाई स्वास्थ्य परीक्षण अनिवार्य गरेको छ । मन्त्रालयले स्वास्थ्य संस्थाको सूचीकरण, नवीकरण र अनुगमन तथा निरीक्षणसम्बन्धी काम गर्दै आएको छ ।

  • आज प्रधानमन्त्री भारत भ्रमणमा जाँदै, यस्तो छ भ्रमण तालीका

    आज प्रधानमन्त्री भारत भ्रमणमा जाँदै, यस्तो छ भ्रमण तालीका

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा तीन दिने औपचारिक भ्रमणमा शुक्रबार भारत जाँदै छन् । उनको साथमा कुल चार मन्त्रीसहित ५० सदस्यीय प्रतिनिधि मण्डल रहने परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपाल एयरलाइन्सको जहाजबाट उनी भारतीय समय अनुसार दिउँसो २ः४५ बजे नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यक्रम छ । उनी विमानस्थलबाट चाणक्यपुरीस्थित आईटीसी मौर्य होटलमा पुग्ने कार्यक्रम छ ।

    देउवा यसै होटेलमा बस्नेछन् । देउवाको पहिलो भेट भारतीय विदेशमन्त्री एस जयशंकरसँग हुने छ । विदेशमन्त्री जयशंकर देउवालाई भेट्न अपराह्न साढे चार बजे मौर्य होटलमा पुग्ने छन् । त्यसपछि देउवा पाँच बजे सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)को केन्द्रीय कार्यालयमा पुग्ने तालीका छ । भाजपाका नेताहरुको स्वागतपछि देउवा नयाँदिल्लीस्थित नेपाली राजदूतावासमा पुग्नेछन् । दूतावासले प्रधानमन्त्रीको सम्मानमा आयोजना गरेको रात्रिभोजमा देउवा सहभागी हुनेछन् ।

    शनिबारको बिहान १०ः४० बजे देउवा महात्मा गान्धीको समाधीस्थल राजघाट पुग्ने छन् । त्यहाँ पुष्पुच्छा अर्पण गरेपछि औपचारिक कार्यक्रममा सहभागी हुन देउवा हैदरावाद हाउस पुग्ने छन् । हैदरावाद हाउसमा समकक्षी नरेन्द्र मोदीसँग छुट्टै भेटवार्ता गर्ने कार्यक्रम छ । हैदरावाद हाउसमै नेपाली र भारतीय प्रतिनिधिमण्डलस्तरीय छुट्टै वार्ता पनि हुने छ ।

    शनिबार दिउँसो सवा १२ बजे जनकपुर–जयनगर रेल सेवा र सोलु करिडोर विद्युत प्रसारण लाइनको दुवै देशका प्रधानमन्त्रीले भर्चुअल माध्यमबाट उदघाटन गर्ने कार्यक्रम छ । त्यसैगरी भारतको सहयोगमा निर्माण गरिएका १३२ वटा स्वास्थ्य चौकी भवन पनि नेपाललाई हस्तान्तरण गर्ने कार्यक्रम छ । संयुक्त पत्रकार सम्मेलनमा सहभागी भएपछि देउवाले अपराह्न साढे ४ बजे भारतका राष्ट्रपति र उपराष्ट्रपतिसँग शिष्टाचार भेटवार्ता गर्ने छन् ।

    शनिबारसाँझ होटलमा भारतका उद्योगी व्यवसायीका प्रतिनिधिहरुले देउवालाई भेटवार्ता गर्ने कार्यक्रम पनि तय भएको छ । आइतबार बिहान ९ बजे विशेष जहाजमार्फत् बनारस जाने छन् । बनारसमा उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले देउवालाई स्वागत गर्ने छन् । बनारसमा रहँदा देउवाले काशी विश्वनाथ मन्दिर र त्यहाँ रहेको पशुपतिनाथ मन्दिरमा दर्शन गर्नेछन् । बनारसबाट अपराह्न चार बजे देउवा पुनः दिल्ली जाने र स्वदेश फर्किने कार्यक्रम तय भएको छ ।

  • अर्थमा ११३८ मा फोन गरेर  बजेटका सुझाव दिन सकिने

    अर्थमा ११३८ मा फोन गरेर बजेटका सुझाव दिन सकिने

    काठमाडौं । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०७९\८० को बजेट निर्माणका लागि सुझाव संकलन गर्न टोल फ्रि नम्बर ११३८ सञ्चालनमा ल्याएको छ ।
    आगामी आवको बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालयले बिषयगत छलफलमा बोलाइने विज्ञ र सरोकारवाला क्षेत्रका प्रतिनिधि बाहेक दूरदराजका सर्वसाधारणको सुझावसमेत संकलन गरी बजेटमा सम्बोधन गर्ने प्रयासका लागि टोल फ्रि नम्बर ११३८ सञ्चालनमा ल्याएको हो ।

    मन्त्रालयका अनुसार कार्यालय समयमा फोन गरी सर्वसाधारणले आफूलाई लागेको सुझाव टिपाउन सक्ने व्यवस्था गरिएको छ । मन्त्रालयको वेवसाइटमा रहेको ‘बजेट सजेसन’ मा क्लिक गरेर पनि सुझाव पेश गर्न सक्ने व्यवस्था गरिएको छ । इमेलमार्फत पनि सुझाव पेश गर्न सकिने व्यवस्था गरिएको छ ।

    बजेट तथा कार्यक्रमलाई थप प्रभावकारी र कार्यान्वयनयोग्य बनाउन उद्योगी, व्यवसायी, बुद्धिजिवी, राजनीतिज्ञ, समाजसेवी, पेशाकर्मी, सञ्चारकर्मी, आम नागरिक एवं सरोकार राख्ने सबैको सुझाव महत्वपूर्ण हुने भएकाले बजेटमा सम्बोधन गर्नुपर्ने सान्दर्भिक विषयवस्तुहरु चैत मसान्त भित्र लिखित वा मौखिक (टेलिफोन) रुपमा उपलब्ध गराउन अर्थ मन्त्रालयले आग्रह गरेको हो ।

    मन्त्रालयले अहिले कृषि, शिक्षा, बैंक, वित्तीय संस्था तथा बीमा क्षेत्र, निजी क्षेत्र, अर्थविद्लगायतसँग नीति तथा कार्यक्रम र बजेटका लागि सुझाव संकलन गरिसकेको छ । मन्त्रालयले हप्तामा दुई वटासम्म छलफल आयोजना गरी विभिन्न क्षेत्रका विज्ञ तथा सरोकारवाला क्षेत्रका प्रतिनिधिबाट बजेटबारे सुझाव संकलन गरिरहेको छ ।

  • शेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकममा पनि घट्यो

    शेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकममा पनि घट्यो

    काठमाडौं । शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ ।

    बुधवार उच्च अंकले कमब्याक भएको बजार साताको कारोबारको अन्तिम दिन शेयर बजार मापक सूचक (नेप्से) २३.९५ अंकले घटेर २५४४.३० विन्दुमा झरेको हो ।

    पछिल्लो ५ कारोबार दिनमा ११५ अंकले घटेको नेप्से बुधवार ४० अंकले फर्किएको थियो ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार विहीवार २२८ कम्पनीको १ अर्ब ८९ करोड १ लाख ६४ हजार ६८६ रुपैयाँ बराबरको ३७ लाख ८७ हजार ४५ कित्ता शेयर किनबेच भएका छन् ।

    अघिल्लो दिनको तुलनामा कारोबार रकममा भारी गिरावट आएको छ । बुधवार २ अर्ब २५ करोड १ लाख १७ हजार २९६ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

    आज कारोबारमा आएका १३ समूहको परिसूचक मध्ये १ हरियो भएको छ । भने १२ वटा घटेको छ । धेरै गुमाउने फाइनान्सका र विकास बैंकका लगानीकर्ता रहेका छन् ।

    फाइनान्स समूह सबैभन्दा धेरै २.७६ प्रतिशतले घटेको छ । त्यस्तै, विकास बैंक पनि २.३१ प्रतिशतले नै घटेको छ । होटल तथा पर्यटन समूह २.५१ प्रतिशतले घटेको छ ।

    घट्दो बजारमा राष्ट्र उत्थान, नेष्डो लघुवित्त वित्तिय संस्था र इमर्जिङ नेपालको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

    इमर्जिङ नेपालको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १२२४.८० रुपैयाँ पुगेको छ भने राष्ट्र उत्थानको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता १३१९.५० रुपैयाँ पुगेको छ ।

    त्यस्तै, नेष्डो समृद्धी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता १०५५.७० रुपैयाँ पुगेको छ ।

    नेप्सेका अनुसार आज ६ कम्पनीका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । कारोबारको आधारमा सबैभन्दा बढी इमर्जिङ नेपालको शेयर किनबेच भएको छ । यस कम्पनीको ९ करोड २३ लाख भन्दा बढीको कारोबार भएको छ ।

    दोस्रोमा एभरेष्ट इन्स्योरेन्स, कारोबार भएको छ । यसको ८ करोड ९५ लाख भन्दा बढीको कारोबार भएको छ ।