Category: समाचार

  • स्थानीय तहको निर्वाचनका लागि मतदाता नामावली आज प्रकाशन हुने

    स्थानीय तहको निर्वाचनका लागि मतदाता नामावली आज प्रकाशन हुने

    काठमाडौं । स्थानीय तह निर्वाचन–२०७९ का लागि मतदाता नामावलीको अन्तिम सूची आज प्रकाशित हुने भएको छ । निर्वाचन आयोगका अनुसार मतदाता नामावलीमा दाबी विरोधपछि मतदानका लागि योग्य मतदाताको सूची प्रकाशन गर्न लागिएको हो । आगामी निर्वाचनमा करिब एक करोड ७७ लाखभन्दा बढी मतदाताले मतदानबता गर्न पाउने बताइएको छ । दाबी विरोधपछि करिब एक लाख मतदाता सूचीबाट हटेका छन् । मतदाता नामावली ऐनअनुसार अद्यावधिक मतदाता नामावली प्राप्त भएको मितिले ३५ दिनभित्र पुनरावलोकन गरी प्रकाशन गर्नुपर्ने प्रावधान रहेको छ ।

    यसरी अन्तिम नामावली प्रकाशन भइसकेपछि कुनै प्रकारबाट हेरफेर, थपघट वा सच्याउन सकिने छैन । फागुन १९ गतेदेखि एक साताको म्याद राखेर मतदाता नामावली अद्यावधिक (दाबी विरोध) गर्न र त्रुटि भए सच्याउन आयोगले आवेदन आह्वान गरेको थियो । नाम दोहोरिएको, मृत्यु भएका वा नागरिकता त्याग गरेका, झुटा विवरण दिई नामावलीमा नाम समावेश गरेको भए विरोधमा उजुरी दिन आह्वान गरिएकोमा आयोगले वडा, पालिका र निर्वाचन कार्यालयसँगको समन्वयमा मतदाताको अन्तिम नामावली तयार गरेको हो ।

  • पोखरा विमानस्थल चीनले नेपाललाई हस्तान्तरण गर्यो

    पोखरा विमानस्थल चीनले नेपाललाई हस्तान्तरण गर्यो

    काठमाडौं । चिनियाँ विदेशमन्त्री वाङ यीले पोखरा विमानस्थल परियोजना नेपाललाई हस्तान्तरण गरेका छन् । शनिबार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट्दै उनले सो विमानस्थल हस्तान्तरण गरेका हुन् । शनिबार साँझ बालुवाटारमा उनीहरूबीच भेट भएको थियो । भेटमा परराष्ट्रमन्त्री नारायण खड्का पनि सहभागी भए । चीन सरकारको सहुलियतपूर्ण २२ अर्ब ऋणमा पोखरा विमानस्थल निर्माण गरिएको हो। विमानस्थल निर्माणको ठेक्कासमेत चीन सरकारकै स्वामित्वमा रहेको कम्पनी सिएएमसीईले पाएको थियो।

    राष्ट्रिय गौरवको आयोजनामा समावेश विमानस्थलको भौतिक प्रगती ९३ प्रतिशत पुगेको छ भने वित्तीय प्रगति ७४ प्रतिशत पुगेको आयोजनाले जनाएको छ। नेपाल सरकारले विमानस्थलको काम २०२१ जुलाई १० भित्र सक्ने कार्यादेश चिनियाँ कम्पनी सिएएमसीईलाई दिएको थियो। कम्पनीले सरकारले दिएको म्यादभन्दा ६ महिना अगावै आयोजना निर्माण गरेर सरकारलाई हस्तान्तरण गर्ने बताउँदै आएको थियो।

    तर कोभिड–१९ महामारीका कारण आयोजनालाई आवश्यक सामाग्री आयात गर्न लगायतका समस्या थपिएपछि १ वर्ष म्याद थपिएको थियो। यसअघि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा परराष्ट्र मन्त्री नारायण खड्का र चिनियाँ विदेश मन्त्री वाङ यी नेतृत्वका टोलीबीच द्वीपक्षीय औपचारिक वार्तापछि विभिन्न समझदारी पत्रहरूमा हस्ताक्षर भएको थियो ।

  • चिनियाँ विदेशमन्त्री शिवपुरी हाइकिङपछि औपचारिक भेटवार्तामा,कसलाई कहिले भेट्दै ?

    चिनियाँ विदेशमन्त्री शिवपुरी हाइकिङपछि औपचारिक भेटवार्तामा,कसलाई कहिले भेट्दै ?

    काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले आज औपचारिक कार्यक्रम व्यस्त रहने छन्। शुक्रवार नेपाल आइपुगेका वाङ हिजो कुनै कार्यक्रममा सहभागी भएनन्।

    विदेशमन्त्री वाङले शनिवार नेपाली समकक्षी डा. नारायण खड्काबीच द्वीपक्षीय वार्ता हुने कार्यक्रम रहेको छ। परराष्ट्र मन्त्रालयका अनुसार दिउँसो साढे ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा परराष्ट्रमन्त्री खड्का र चिनियाँ समकक्षी वाङबीच छुट्टै भेट हुनेछ।

    यस्ताे छ ​भ्रमणतालिका :

    शनिबार
    वाङ​ र मन्त्री खड्काबीच १५ मिनेट एक्लाएक्लै वार्ता
    चिनियाँ विदेशमन्त्री वाङ र परराष्ट्रमन्त्री डा. खड्काबीच शनिबार दिउँसो ३:३० देखि ३:४५ सम्म सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा एक्लाएक्लै भेटवार्ता हुनेछ।

    सामान्यतः विदेशका परराष्ट्रमन्त्री नेपाल आउँदा समकक्षीबीच परराष्ट्र मन्त्रालय वा बाहिर कुनै होटलमा भेटवार्ता हुने चलन भए पनि यसपटक मन्त्री खड्का र वाङबीच प्रधानमन्त्री कार्यालयमा वार्ता हुन लागेको स्रोतले जनाएको छ।

    वाङ र खड्काबीच प्रतिनिधिमण्डल स्तरमा भेट
    परराष्ट्र स्रोतका अनुसार एकल भेटवार्तापछि परराष्ट्रमन्त्री खड्का र चिनियाँ विदेशमन्त्री वाङबीच शनिबार अपराह्न ३:४५ देखि ५:४५ सम्म प्रतिनिधिमण्डल स्तरमा छलफल हुनेछ। यसपछि ५:१५ देखि ५:३० सम्म नेपाल र चीनबीच कम्तीमा १० वटा समझदारीपत्रमा हस्ताक्षर हुनेछ।

    केरुङ–काठमाडौँ रेल, आर्थिक तथा प्राविधिक सहयोग, रातामाटे-केरुङ विद्युत् प्रसारण लाइनको सम्भाव्यता अध्ययन परिमार्जन, ऊर्जा क्षेत्रमा थप सहकार्य, चीनतर्फ विकासे घाँस निर्यात र भरतपुर अस्पतालमा चीनको सहयोगलगायत विषयमा सहमति तथा सम्झौता पत्रमा हस्ताक्षर हुने भएको हो। ​

    प्रतिनिधिमण्डल स्तरको वार्तामा परराष्ट्र, अर्थ, गृह, पर्यटन, ऊर्जा, भौतिक योजना, कृषि, उद्योग, भूमिसुधार र स्वास्थ्य मन्त्रालयका सचिव सहभागी हुनेछन्। त्यसैगरी परराष्ट्र मन्त्रालयका उच्च अधिकारी पनि बैठकमा सामेल हुनेछन्।

    प्रधानमन्त्रीलाई बालुवाटारमा भेट्ने
    परराष्ट्रमन्त्री खड्कासँग प्रतिनिधिमण्डल स्तरमा वार्ता र समझदारीपत्रमा हस्ताक्षरपछि चिनियाँ विदेशमन्त्री वाङ प्रधानमन्त्री निवास बालुवाटार पुग्नेछन्।

    साँझ ५:४५ देखि ६:१५ सम्म उनले प्रधानमन्त्री देउवासँग शिष्टाचार भेट गर्नेछन्।

    लगत्तै प्रधानमन्त्री देउवाको उपस्थितिमा भर्चुअल माध्यमबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भएको घोषणा गरिनेछ। पोखरा विमानस्थल चिनियाँ सहयोगमा बनाइएको हो। ​

    परराष्ट्रमन्त्री खड्काले रात्रिभोज दिने
    परराष्ट्रमन्त्री खड्काले चिनियाँ विदेशमन्त्रीको स्वागतमा शनिबार साँझ ७ः३० बजे होटल द्वारिकाजमा रात्रीभोज दिनेछन्।

    आइतबार
    आइतबार बिहान १० बजे चिनियाँ विदेशमन्त्रीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई शीतल निवासमा शिष्टाचार भेटवार्ता गर्नेछन्। त्यसअघि उनी बौद्धस्थित हायात८८ पुग्नेछन्।

    ओली र प्रचण्डसँग हायातमा भेट्ने
    स्रोतका अनुसार चिनियाँ विदेशमन्त्रीले पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री तथा सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई होटल हायातमा आइतबार भेट्ने कार्यक्रम छ।

    बिहान ११:१० देखि ११:४० सम्म पूर्व प्रधानमन्त्री ओलीसँग चिनियाँ विदेशमन्त्रीले होटल हायातमा शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ।

    अन्त्यमा प्रचण्डसँग
    चिनियाँ विदेशमन्त्री वाङले अन्तिममा सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग शिष्टाचार भेटवार्ता गर्ने तय भएको छ। उनले ११:४५ देखि १२:१५ सम्म प्रचण्डलाई होटल हायातमा भेट्नेछन्।

    स्वदेश फिर्ती
    चिनियाँ विदेशमन्त्री तीन दिनको नेपाल बसाइपछि सकेर आइतबार ३ बजे बेइजिङका लागि उड्ने कार्यक्रम छ।

    परराष्ट्र स्रोतका अनुसार विदेशमन्त्री वाङ नेतृत्वको २५ सदस्यीय टोलीमा दुई जना चिनियाँ सहायक मन्त्रीसहितका वरिष्ठ सरकारी अधिकारी छन्। सबै उच्चस्तरीय भेटवार्तामा नेपालस्थित चिनियाँ राजदूत होउ यान्छी पनि सहभागी हुनेछिन्।

    भ्रमण टोली

    १. वाङ यी, चिनियाँ विदेशमन्त्री

    २. उ जियाङ्घाओ, चिनियाँ विदेश मन्त्रालयका सहायक मन्त्री

    ३. सेङ किउपेङ, चिनियाँ वाणिज्य मन्त्रालयका सहायकमन्त्री

    ४. लिउ जिनसोङ, चिनियाँ विदेश मन्त्रालयका एसिया मामिला विभाग प्रमुख

    ५. वाङ दी, विदेश मन्त्रालयका पश्चिम एसिया तथा अफ्रिका मामिला उत्तर विभाग प्रमुख

    ६. जियाङ सियाओयन, चिनियाँ सञ्चार मन्त्रालय, सूचना विभागका डेपुटी डाइरेक्टर जेनरल

    ७. सोङ जिया, विदेश मन्त्रालयका प्रोटोकल डिपार्टमेन्ट हेर्ने डेपुटी डाइरेक्टर जेनरल

    ८. देङ सी, चिनियाँ विदेशमन्त्री वाङका सचिव

    ९. वु हाङतियान, विदेश मन्त्रालयका एसिया विभाग हेर्ने काउन्सिलर एवं डिभिजिन डाइरेक्टर

    १०. युआन युआन, विदेश मन्त्रालयका पश्चिम एसिया मामिला डिभिजन डाइरेक्टर

    ११. लिउ फेई, विदेश मन्त्रालयका ट्रान्सलेसन तथा इन्टरप्रिटेसन विभागका डिभिजन डाइरेक्टर

    १२. चु सोङ्बो, विदेश मन्त्रालयका एसिया मामिला हेर्ने डेपुटी डिभिजन डाइरेक्टर

    १३. वे चेङ्चोङ, विदेश मन्त्रालयका प्रोटोकल डिपार्टमेन्टका डेपुटी डिभिजन डाइरेक्टर

    १४. पेङ् पाई, विदेश मन्त्रालयका एसिया मामिला विभागका सेकेन्ड सेक्रेटरी

    १५. यु पेङ्चेङ्, विदेश मन्त्रालयका एसिया मामिला विभागका सेकन्ड सेक्रेटरी

    १६. यु सिचाउ, विदेश मन्त्रालयका एसिया मामिला विभागका सेकन्ड सेक्रेटरी

    १७. चाओ जियाङ्फेङ, विदेश मन्त्रालयका एसिया मामिला विभागका सेकेन्ड सेक्रेटरी

    १८. चेन यानहाङ, ट्रान्सलेसन तथा इन्टरप्रिटेसन विभागका सेकेन्ड सेक्रेटरी

    १९. लि रुई, वाङ यीका सुरक्षा अधिकृत

  • मागभन्दा तीन गुणा बढी पर्यो म्यादी पुलिसमा आवेदन

    मागभन्दा तीन गुणा बढी पर्यो म्यादी पुलिसमा आवेदन

    काठमाडौं । स्थानीय तह निर्वाचनमा खटिन  मागिएको १ लाख म्यादी प्रहरीमा झन्डै तेब्बर संख्यामा आवेदन परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । शुक्रबार अन्तिम दिनसम्म २ लाख ९३ हजार २६३ जनाले आवेदन दिएका छन् ।

    प्रधान कार्यालयले आगामी वैशाख ३० मा हुने निर्वाचनका लागि चैत ६ देखि ११ सम्म म्यादी प्रहरी भर्ना खोलेको थियो । सातै प्रदेशका जिल्ला प्रहरी कार्यालयहरुमा निवेदन दिन सक्ने व्यवस्था गरिएको थियो ।

    प्रधान कार्यालयका अनुसार चैत ९ गते सबभन्दा बढी ५८ हजार २२१ जनाले आवेदन दिएका थिए । त्यस दिन महिला ११ हजार २८६ र पुरुष ४६ हजार ९३५ जना छन् ।

    यसअनुसार प्रदेश १ मा १७८३१, मधेसमा २१६९८, वाग्मतीमा १९३६३, गण्डकीमा १०६२५, लुम्बिनीमा १६०९८, कर्णालीमा ७७१३ र सुदूरपश्चिममा ९९३७ म्यादी मागिएको थियो । काठमाडौं उपत्यकामा भने ४७३५ जना मागिएको थियो ।

  • चिनियाँ विदेशमन्त्री आज दिनभर उच्चस्तरीय भेटघाटमा व्यस्त रहने

    चिनियाँ विदेशमन्त्री आज दिनभर उच्चस्तरीय भेटघाटमा व्यस्त रहने

    काठमाडौं । शुक्रबार नेपाल आएका चिनियाँ विदेशमन्त्री वाङ यी आज भने दिनभर उच्चस्तरीय भेटघाटमा व्यस्त रहने भएका छन् । उनी तीन दिने भ्रमणका लागि विदेशमन्त्री शुक्रबार भारतको राजधानी नयाँदिल्लीबाट नेपाल अवतरण गरेका थिए । चिनियाँ विदेशमन्त्री वाङलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव भरतराज पौड्याल, नेपालका लागि चिनियाँ राजदूत हउ यान्छी, शिष्टाचार महापाल डा. दुर्गाबहादुर सुवेदीलगायतले स्वागत गरेका थिए ।

    विदेशमन्त्री वाङ अफगानिस्तान, पाकिस्तान र भारत हुँदै काठमाडौं आएका हुन् । उनि परराष्ट्रमन्त्री डा. नारायण खड्काको निमन्त्रणामा चिनियाँ विदेशमन्त्री वाङ नेपाल भ्रमणमा आएका हुन ।

    विमानस्थलबाट उहाँ बत्तीसपुतलीस्थित होटल द्वारिकामा पुगेका थिए । शुक्रबार कुनै औपचारिक कार्यक्रम राखिएन ।शनिबार उनि व्यस्त रहने छन । शनिबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा चीन–नेपाल प्रतिनिधिमण्डलस्तरीय वार्ता हुनेछ। प्रतिनिधिमण्डलको वार्तापछि दुई देशबीच पारस्परिक सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुनेछ।

    शनिबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा चिनियाँ विदेशमन्त्री वाङको प्रतिनिधिमण्डलले भेटवार्ता गर्ने कार्यक्रम छ। शनिबार साँझ नै परराष्ट्रमन्त्री खड्काले चिनियाँ समकक्षीको सम्मानमा रात्रीभोजको आयोजना गर्नेछन् ।  आइतबार बिहान राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट हुनेछ।

    शनिबार साँझ पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी ओली, पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत शीर्ष नेतासँग शिष्टाचार भेट हुनेछ। विदेशमन्त्री वाङ नेतृत्वको प्रतिनिधि मण्डलसहित आइतबार बेइजिङ प्रस्थान गर्नेछ ।

  • अमेरिकाद्वारा नेपाललाई थप ७ लाख ६६ हजार डोज खोप सहयोग

    अमेरिकाद्वारा नेपाललाई थप ७ लाख ६६ हजार डोज खोप सहयोग

    काठमाडौं । अमेरिकाले नेपाललाई उपलब्ध गराएको थप ७ लाख ६६ हजार ३ सय ५० डोज कोरोना खोप काठमाडौं ल्याइएको छ।

    नेपालस्थित अमेरिकी राजदूत बेरीले ट्वीटमा जनाए अनुसार शुक्रबार अपरान्ह उक्त संख्याको फाइजर खोप ल्याइएको हो।

    अमेरिकाले ३१ लाख डोज कोरोना खोप नेपाललाई उपलब्ध गराइसकेको छ।

    त्यसैगरी विश्वका ११० देशमा कूल ५० करोड डोज खोप अमेरिकाले उपलब्ध गराएको राजदूत बेरीले जनाएका छन्।

  • चुनावमा सहभागी हुने वा नहुनेलाई लिएर विप्लव नेकपा तीन धारमा विभाजित

    चुनावमा सहभागी हुने वा नहुनेलाई लिएर विप्लव नेकपा तीन धारमा विभाजित

    काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा आगामी चुनावमा सहभागी हुने वा नहुने भन्ने कोणबाट विभाजन देखिएको छ ।

    केन्द्रीय समिति बैठकमा पार्टी महासचिव विप्लवले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनलाई लिएर नेताहरु विभाजित भएका हुन् । चुनावको विषयले नेताहरु तीन धारमा विभाजित देखिएका छन् ।

    विप्लवले चुनावलाई उपयोग गरेर जानुपर्ने प्रस्ताव आफ्नो प्रतिवेदनमा समेटेका थिए । जुन मुद्दामा नेताहरु तीन कित्तामा विभाजित भएका छन् ।

    अधिकांश नेताहरुले चुनावमा जाने प्रस्ताव क्रान्ति विरोधी भएको भन्दै विपक्षमा आफ्नो मत राखेका छन् भने कतिपय नेताहरु चुनावलाई उपयोग गरेर जानुपर्ने अडानमा छन् । चुनावलाई उपयोग गरेर जानुपर्ने मतमा उभिएका नेतामध्ये केही माओवादी केन्द्रसँग सहकार्य गर्ने पक्षमा देखिएका छन् भने केही एमालेसँग सहकार्य गर्नुपर्ने पक्षमा देखिएका छन् ।

    मुख्यतः नेकपाको सचिवालय टिममै चुनावमा जाने वा नजाने भन्ने विषयमा तिक्ततापूर्णं विवाद देखिएको छ । विप्लव, प्रकाण्डलगायतका नेताहरु चुनावमा जानुपर्ने अडानमा देखिएका बेला धमेन्द्र बास्तोला, हेमन्तप्रकाशन ओलीसहितका नेताहरु कुनै हालतमा चुनावमा जान नहुने अडानमा छन् । यता विप्लव र प्रकाण्डबीच माओवादीसँग सहकार्य गर्ने वा एमालेसँग सहकार्य गर्ने भन्ने कोणबाट विवाद देखिएको छ ।

  • नेपालमा पछिल्लो २४ घण्टामा १८ जना कोरोना संक्रमित थपिए

    नेपालमा पछिल्लो २४ घण्टामा १८ जना कोरोना संक्रमित थपिए

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १८ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ८२२ जनाको पीसीआर परीक्षण गर्दा १२ जना र १ हजार ५२० जनाको एन्टिजेन परीक्षण गर्दा ६ गरी १८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ७८ हजार ३०९ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा २७१ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ९ लाख ६४ हजार ३९८ पुगेको छ । संक्रिय संक्रमितको संख्या १ हजार ९६० रहेको छ ।

    पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य रहेको छ । नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ९५१ पुगेको छ ।

  • यस्तो छ चिनियाँ विदेशमन्त्रीको भ्रमण तालिका

    यस्तो छ चिनियाँ विदेशमन्त्रीको भ्रमण तालिका

    काठमाडौं । चीनका विदेशमन्त्री वाङ यी आज शुक्रबार अपराह्न तीन बजे काठमाडौं आइपुग्दैछन्। वाङ नेतृत्वको टोली आज साँझ ५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिने कार्यतालिका रहेकोमा दुई घण्टा अगाडि सरेको छ।

    नयाँ दिल्लीबाट काठमाडौं आउन लागेका वाङलाई विमानस्थलमा परराष्ट्रमन्त्री नारायण खड्काको टोलीले स्वागत गर्नेछ। विमानस्थलबाट उनी सिधै बत्तिीसपुतलीस्थित होटल द्वारिकाज पुग्नेछन् र केहीबेर आराम गरेर बालुवाटारस्थित चिनियाँ दूतावास पुगेर ब्रिफिङ लिनेछन्। आजका लागि वाङको कुनै औपचारिक भेटघाट तय नभएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ।

    भ्रमणको दोस्रो दिन शनिबार भने वाङ निकै व्यस्त रहनेछन्। बिहान साढे ६ बजे विदेशमन्त्री वाङ शिवपुरी हाइकिङ जाने कार्यक्रम तय भएको छ। त्यसपछि उनको टोलीले परराष्ट्रमन्त्री नारायण खड्कासँग सिंहदरबारमा भेटघाट गर्नेछ। त्यसक्रममा विभिन्न सहमति तथा समझदारीपत्रमा हस्ताक्षर हुने कार्यक्रम छ। त्यसपछि उनले प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधभानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्नेछन्।

    शनिबार नै विदेशमन्त्री यी र प्रधानमन्त्री शेरबहादुर देउवाले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको भर्चुअल उद्घाटन गर्ने कार्यक्रम छ। पोखरा विमानस्थल चिनियाँ सरकारको ऋण तथा अनुदान सहयोगमा निर्माण भएको हो।

    काठमाडौं ओर्लिएको तेस्रो दिन आइतबार बिहान वाङले राष्ट्रपति विद्यादेवी भण्डारीलाई शीतल निवासमा भेट गर्नेछन्। राष्ट्रपतिपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालसँग भेट्ने कार्यक्रम तय भएको छ। पूर्वप्रधानमन्त्रीद्वयसँगको भेट नक्सालस्थित होटेल मेरियटमा तय भएको बताइएको छ। त्यसपछि वाङ होटल द्वारिकाज जाने र त्यहीँबाट स्वदेश फर्कने कार्यतालिका छ।

    वाङको सुरक्षामा नेपाल प्रहरीको विशेष टोली तैनाथ गरिएको छ। बिहीबार गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा बसेको केन्द्रीय सुरक्षा समिति बैठकले चिनियाँ विदेशमन्त्री यीको सुरक्षामा विशेष टोली तैनाथ गर्न निर्देशन दिएको थियो। भ्रमण र भेटघाटका क्रममा पर्ने रूटमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको विशेष टोली खटिनेछ।

  • चिनियाँ विदेश मन्त्री तीन दिने नेपाल भ्रमणका लागि आज काठमाडौं आउदै

    चिनियाँ विदेश मन्त्री तीन दिने नेपाल भ्रमणका लागि आज काठमाडौं आउदै

    काठमाडौं ।  चीनका विदेशमन्त्री एवम् स्टेट काउन्सिलर वाङ यी तीन दिने नेपाल भ्रमणको सिलसिलामा शुक्रबार  काठमाडौं अवतरण गर्दैछन् । बिहिवार अफगानिस्तानको काबुलबाट भारत झरेका उनी नयाँ दिल्लीबाट काठमाडौं आउन लागेका हुन् ।

    नेपालमा शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकार गठन भएपछि आउने उनी पहिलो उच्चस्तरीय पाहुना हुन् ।
    परराष्ट्रमन्त्री डा. नारायण खड्काको औपचारिक निमन्त्रणामा उनी नेपाल भ्रमणमा आउन लागेको परराष्ट्र मन्त्रालयले बताएको छ । नेपाल बसाइको क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री खड्का र प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुसँग भेटवार्ता गर्ने छन् । उनी आइतबार स्वदेश फर्कने छन् ।

    भेटवार्ताको क्रममा चीनले अघि सारेको पूर्वाधार विकास परियोजना ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’अन्तर्गत सहयोगका परियोजना कार्यान्वयनका विषयमा केन्द्रित रहेर विदेशमन्त्री वाङ नेतृत्वको प्रतिनिधिमण्डलसँग नेपालले छलफल गर्ने भएको छ । उनी दोस्रोपटक नेपाल भ्रमणमा आउन लागेका हुन् ।

  • स्थानीय तह निर्वाचनमा काङ्ग्रेसको घोषणापत्र गगनको नेतृत्वमा बन्ने

    स्थानीय तह निर्वाचनमा काङ्ग्रेसको घोषणापत्र गगनको नेतृत्वमा बन्ने

    काठमाडौं । नेपाली कांग्रेसले महामन्त्री गगनकुमार थापालाई स्थानीय तह निर्वाचन घोषणापत्र तयारी समितिको संयोजक बनाएको छ ।

    केन्द्रीय कार्यसमिति बैठकको अघिल्लो दिन देउवाले महामन्त्री थापालाई घोषणापत्र तयारी समितिको संयोजक तोकेका हुन् । ३० वैशाखमा स्थानीय तहको निर्वाचन तोकिएको छ । अहिले दलहरू निर्वाचन केन्द्रित तयारीमा होमिएका छन् ।

  • नेपालमा थप ३५ जनामा कोरोना संक्रमण, २६६ जना संक्रमण मुक्त

    नेपालमा थप ३५ जनामा कोरोना संक्रमण, २६६ जना संक्रमण मुक्त

    काठमाडौं । नेपालमा थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    देशभर गरिएको ३ हजार ८ सय ८१ पिसिआर परिक्षणका क्रममा ३२ जना र १ हजार ३ सय ८७ एन्टीजेन परिक्षणका क्रममा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    कोरोनाका कारण बिहीबार कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै २ सय ६६ जना निको हुँदा हालसम्म नेपालमा ९ लाख ६४ हजार १ सय २७ जना निको भएका छन् ।

    देशभर २ हजार २ सय १९ सक्रिय संक्रमित आइशोलेशन र १०६ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

  • नेपालमा ९३.१ प्रतिशतले लगाए कोरानाविरुद्धको खोप, धेरै खोपदिने चीन

    नेपालमा ९३.१ प्रतिशतले लगाए कोरानाविरुद्धको खोप, धेरै खोपदिने चीन

    काठमाडौं । नेपाललाई कोरोना भाइरसविरुद्धको खोप सबैभन्दा बढी चीन सरकारले उपलब्ध गराएको छ । कोरोना रोकथाम तथा नियन्त्रणमा चीन सरकारले स्वास्थ्य सामग्रीसहित सबैभन्दा बढी खोप उपलब्ध गराएको हो ।

    चीन सरकारले अनुदान, खरिद र सहयोग गरेर नेपाललाई विभिन्न समयमा कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराएको हो । चीनले सिनोफार्म कम्पनीको भेरोसेल खोप उपलब्ध गराएको छ ।

    चीन सरकारले पटक–पटक गरी एक करोड ९७ लाख ३६ हजार ४०० मात्रा खोप नेपाल सरकारलाई उपलब्ध गराएको स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका वरिष्ठ फार्मेसी अधिकृत बादेबाबु थापाले जानकारी दिए।

    नेपालमा हालसम्म कूल चार करोड ७८ लाख ८२ हजार ८०० मात्रा कोरोना भाइरसविरुद्धको खोप प्राप्त भएको छ । तीमध्ये चीन सरकारले एक करोड ९७ लाख ३६ हजार ४०० मात्रा खोप उपलब्ध गराएको हो ।

    उहाँका अनुसार चीन सरकारसँग खरिद गरेर सरकारबाट सरकार (जिटुजी) मार्फत एक करोड, एशियाली विकास बैंकको ऋण सहायतामा ५९ लाख ३६ हजार ४००, अनुदानमा ३४ लाख मात्रा खोप उपलब्ध गराएको हो । यस्तै एक लाख चिनियाँ रेडक्रमले नेपाल रेडक्रसलाई र तीन लाख मात्रा चीनले नेपाली सेनालाई उपलब्ध गराएको छ ।

    नेपालमा अहिलेसम्म लक्षित जनसङ्ख्याको ९३.१ प्रतिशतले पहिलो मात्रा र ८१.६ प्रतिशतले पूर्ण मात्राको खोप लगाइसकेका छन् । यस्तै चीन सरकारले ३४ लाख सिरिञ्ज पनि उपलब्ध गराएको छ । चीनसहित छिमेकी मुलुक भारत, अमेरिका, जापानलगायत देशले पनि कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराएका छन् ।

    यस्तै चीन सरकारले नयाँ बानेश्वरस्थित सिभिल अस्पताल र चितवनको भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल निर्माण गर्नसमेत सहयोग गरेको छ ।

  • स्थानीय तहको निर्वाचनमा एमालेको उम्मेदवार हुन यी ६ मापदण्ड अनिवार्य

    स्थानीय तहको निर्वाचनमा एमालेको उम्मेदवार हुन यी ६ मापदण्ड अनिवार्य

    काठमाडौं । नेकपा एमालेले स्थानीय तहको उम्मेदवार चयनका लागि प्रारम्भिक रुपमा ६ वटा मापदण्ड तय गरेको छ । बिहीबार कार्की ब्यांक्वेट काठमाडौंमा जारी केन्द्रीय कमिटीकाे दोस्रो दिनको बैठकमा उम्मेदवार सिफारिस र चयनका बारेमा ६ वटा प्रारम्भिक मापदण्ड तय गर्दै एमालेमा छलफल सुरु भएको हो ।

    जसअनुसार एमालेबाट स्थानीय तहको उम्मेदवार हुनका लागि पार्टी नीति र कार्यक्रमप्रति प्रतिबद्धता भएको हुनुपर्ने, निर्वाचित प्रतिनिधिहरुको कामको मुल्यांकनको आधार लिनुपर्ने, व्यक्तिगत लोकप्रियता र विजयको सुनिश्चितता देखिनुपर्ने, आन्दोलनमा योगदान र पार्टीप्रतिको निष्ठा कायम राखिरहेको हुनुपर्ने, कार्यक्षमता, एव सुशासन र विकास प्रतिको दृष्टीकोण भएकाले मात्र उम्मेदवार हुन पाउने गरी मापदण्ड बनाएको हो ।

    सो सैद्धान्तिक मापदण्ड भित्र अटाएकाले मात्र स्थानीय तहको निर्वाचनमा भाग लिन पाउने जनाउँदै एमालेले सन्तुलन र समावेसी प्रतिनिधित्व गराउन सक्ने गरी उम्मेदवार सिफारिस गर्न सम्बन्धित कमिटीहरूलाई निर्देशन दिनेबारे छलफल जारी छ ।

    यसरी सिफारिस भएकामध्ये महानगर र उपमहानगगरका प्रमुख÷उपप्रमुखका उम्मेदवार भने पार्टी केन्द्रले नै चयन गरी नाम निर्धारण गर्नेछ । ‘सम्बन्धित पालिका कमिटी तथा जिल्ला र प्रदेशको सिफारिसमा केन्द्रीय कमिटीले महानगरका प्रमुख र उपप्रमुख चयन गरी उम्मेदवार खडा गर्नेछ,’ एक केन्द्रिय सदस्यले भने ।

    उनका अनुसार उपमहानगरपालिका वा नगरपालिकाहरुको नगरप्रमुख÷उपप्रमुख तथा गाउँपालिका अध्यक्ष र उपाध्यक्षको उम्मेदवारको चयन पालिका कमिटी र जिल्ला कमिटीको सिफारिमा प्रदेश कमिटीले निर्धारण गरेपछि मात्रै उम्मेदवार हुन पाइनेछ ।

    जिल्ला कमिटीलाई भने उपमहानगरपालिका, नगरपालिका, गाउँपालिकाका वडा अध्यक्ष र सदस्यहरुको उम्मेदवार चयनका बारेमा निर्णय गर्ने अधिकार एमालेले प्रदान गर्ने भएको छ । ‘केन्द्रले आवाश्यक ठानेमा कुनै पनि निर्णयमा पुनर्विचार गर्न सक्ने,’ अध्यक्ष ओलीले बैठकमा जानकारी गराइसकेका छन् ।

  • मोरङको लेटाङमा आजबाट हट्यो कर्फ्यु

    मोरङको लेटाङमा आजबाट हट्यो कर्फ्यु

    विराटनगर । मोरङको लेटाङमा बिहिवार बिहानबाट  कर्फ्यु हटाइएको छ । जिल्ला सुरक्षा समितिको बुधबार  बसेको बैठकले अवस्था सामान्य बनेको भन्दै आज बिहान ६ बजेदेखि कर्फ्यु हटाउने निर्णय गरेको हो ।

    लेटाङ–५ मा स्थानीय एक शिक्षकले आफ्नै विद्यालयका छात्रालाई होलीको दिन यौन दुर्व्यवहार गरेको विषयलाई लिएर गएको आइतवार तनाव भएको हो ।  आइतवार स्थानीय बासिन्दा र सुरक्षाकर्मीबीच झडप हुँदा प्रहरी जवान उर्मिला श्रेष्ठको निधन भएको  थियो ।

    घटनापछि लेटाङ नगरपालिका-३ र ४ को गंगेचोक र कमलपुर, लेटाङ–५ को सम्पूर्ण क्षेत्र र लेटाङ–६ को वडा कार्यालय क्षेत्र, मोरङे खोला र चिसाङ खोला क्षेत्रमा कर्फ्युकाे आदेश जारी भएको थियो। कर्फ्यु हटेपछि जनजीवन सामान्य बनेको छ ।

  • चोभारमा टाटा सुमोको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

    चोभारमा टाटा सुमोको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

    काठमाडौं । काठमाडौंको चोभारमा टाटा सुमोको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको ज्यान गएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार न. १ ज ६३५४ नम्बरको गाडीले बा ९२ प २३१ नम्बरको बाइकलाई ठक्कर दिएको थियो । मोटरसाइकलमा सवार दुई जनालाई प्रहरीले उपचारका लागि बल्खुस्थित बयोधा अस्पतालमा लगेको थियो। त्यहाँ पुर्‍याउँदा उनीहरूलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।

    मृत्यु हुनेमा नागार्जुन नगरपालिका बस्ने २६ वर्षीय समीर गिरी र काठमाडौं महानगरपालिका १४ बस्ने १८ वर्षीय नविन्द्र तिमिल्सिना रहेका छन् । ठक्कर दिएपछि मोटरसाइकल भीरबाट खसेको थियो । प्रहरीले टाटा सुमो चालक सिमरा उपमहानगरपालिका(६ का सन्जय खानलाई नियन्त्रणमा लिएको छ।

  • पर्यटनमन्त्री आले र बलिउड अभिनेता सलमान खानबीच भिडियो वार्ता, के भयो कुराकानी ?

    पर्यटनमन्त्री आले र बलिउड अभिनेता सलमान खानबीच भिडियो वार्ता, के भयो कुराकानी ?

    काठमाडौं । पर्यटनमन्त्री प्रेम आले र अभिनेता सलमान खानबीच मंगलबार भर्चुअल संवाद भएको छ । उनीहरु झण्डै १० मिनेट भिडियोको माध्यमबाट जोडिए । सो क्रममा फिल्मी कहानीदेखि सलमानलाई नेपाल भ्रमणको निमन्त्रणसम्मका सन्दर्भ जोडिए । नेपालको पर्यटन प्रवद्र्धनमा सलमान खानलाई सहभागी गराउने एक अयिभानेका प्रयास थियो, भर्चुअल संवाद ।


    आगामी जेठ १४ गते काठमाडौंको दशरथ रंगशालामा आयोजना हुन लागेको ‘द ब्याङ रिलोडेड टुर’को जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा मन्त्री आले र अभिनेता खानबीच संवाद भएको हो । मन्त्री आलेले सलमानलाई भिडियोमा स्वागत गर्दै हिन्दी, मराठी र अंग्रेजी सम्म बोले । मराठी भासामा समेत दुईबीच कुराकानी भएको छ । त्यसक्रममा सलमानले आफू एक फिल्मको सुटिङमा नेपाल आएको, तर त्यो फिल्मको छायांकन हुन नसकेपछि फर्किएको किस्सा सुनाए । यसपटक आउने मेसो मिलेकाले सम्पूर्ण टिम खुसी भएको उनको भनाई छ ।

    मन्त्री आलेले पटक(पटक आफू सलमानको ठूलो फ्यान भएको दोहोर्याए । उनले सलमानका फिल्म र सिरिज नेपालमा छायांकन गर्न सरकारले सघाउने समेत बताए । कोरोना महामारीले थलिएको नेपाली पर्यटनलाई सघाउन द ब्याङ टुर उपयोगी हुने आशा आलेले व्यक्त गरे । उनले सलमानलाई सगरमाथा आरोहण, माउन्टेन फ्लाइटदेखि सगरमाथामा ब्रेकफास्टको समेत निम्ता दिए । जवाफमा सलमानले निम्ता स्वीकार गरे ।

  • नेपालमा थप ३८ जनामा कोरोना पुष्टी, २६९ जना संक्रमण मुक्त

    नेपालमा थप ३८ जनामा कोरोना पुष्टी, २६९ जना संक्रमण मुक्त

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ८५५ जनाको पीसीआर परीक्षण गर्दा ३४ जना र १ हजार ५२१ जनाको एन्टिजेन परीक्षण गर्दा ४ गरी ३८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ७८ हजार २६५ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा २६९ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ९ लाख ६३ हजार ८६१ पुगेको छ । संक्रिय संक्रमितको संख्या २ हजार ४५३ रहेको छ ।

    पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य रहेको छ । नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ९५१ पुगेको छ ।

  • बालुवाटारबाट हेलिकोप्टर चढेर प्रधानमन्त्री चन्द्रागिरिमा

    बालुवाटारबाट हेलिकोप्टर चढेर प्रधानमन्त्री चन्द्रागिरिमा

    काठमाडौं । दिगो पर्वतीय समाधानका निम्ति क्षेत्रीय नीति संवाद कार्यक्रमलाई सम्बाेधन गर्न प्रधानमन्त्री शेरबहादुर देउवा हेलिकोप्टर चढेर चन्द्रागिरि पुगेका छन् ।

    दिगो पर्वतीय अन्तर्राष्ट्रिय सम्मेलन सहभागी हुन आएका १३ मुलुकका प्रतिनिधिलाई ‍नेपालको तर्फबाट सम्वोधन गर्न प्रधानमन्त्री देउवा हेलिकोप्टर चढेर चन्द्रागिरि पुगेका हुन् ।

    वन तथा वातावरण मन्त्रालयले आयोजना गरेको सो सम्मेलनमा पर्वतीय महिला, पर्वत–समथर भू–भाग, पर्वतीय अर्थतन्त्र, पर्वतीय दिगो विकास, पर्वतीय संस्कृतिलगायतका विषयमा कार्यपत्र प्रस्तुत हुनेछन् ।

  • विश्वका प्रदूषित देशमध्ये नेपाल १० नम्बरमा

    विश्वका प्रदूषित देशमध्ये नेपाल १० नम्बरमा

    काठमाडौं । विश्वका ८० प्रतिशतभन्दा पनि बढी नागरिक प्रदूषित हावामा सास फेर्न बाध्य छन् । यसका कारणले जनस्वास्थ्यमा जटिलताहरू थपिँदै गएको पाइएको छ ।

    विश्व स्वास्थ्य संगठनको अनुसन्धानमा संसारका कम्तीमा पनि ८० प्रतिशत नागरिकले फेर्ने सासको हावाको गुणस्तर अत्यन्तै कमसल तथा प्रदूषित रहेको पाइएको हो ।

    यस्ता सहरमा यात्रा गर्ने वा स्थायी बसोबास गर्ने गरको व्यक्तिमा फोक्सोको क्यान्सको खतरा रहेको अनुमान गरिएको पनि देखाइएको छ ।

    विश्वका गरिब देशका शहरहरूमा हिँड्ने बटुवा यस्तो समस्याबाट बढी ग्रस्त हुने देखाईएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वव्यापी रुपमा वायु प्रदुषणका कारण वार्षिक ७० लाख मानिसको समय अगावै मृत्यु हुने गरेको छ ।

    जसमा दूषित हावा हुने शहरहरुको सूचीमा भारत नै शीर्ष स्थानमा परेको छ । एक्यूआइ अर्थात एअर कण्डिशन इन्डेक्सको नयाँ रिपोर्ट अनुसार देशका हिसाबले नेपाल प्रदूषित देशको सूचीको १० औं नम्बरमा छ ।

    तथ्यांक अनुसार पोल्याण्ड दुई शहर विश्वकै सबैभन्दा प्रदूषित राजधानीको १/२ नम्बरमा परेको छ । वायु प्रदूषण मापन गर्ने एक्यूआई १७५ र १७६ पुगेको छ ।

    तेस्रोमा पाकिस्तानको लाहोर शहर परेको छ । भारतको राजधानी नयाँ दिल्ली ७ औं नम्बरमा परेको छ । देशका हिसाबले नेपाल प्रदूषित देशको सूचीको १० औं नम्बरमा परेको छ । बुधवार १२: ३० सम्ममा वायु प्रदूषणको मात्रा १३५ एक्युआई रहेको छ ।

    एक सय १७ देशका ६ हजार ४ सय ७५ शहरको वायु गुणस्तर तथ्यांकमा आधारित प्रतिवेदनले सन् २०२१ मा विश्वव्यापी वायु गुणस्तरको एउटा सारांश प्रस्तुत गरेको छ ।

    कम्तीमा ९३ शहरहरूको पीएम २ दशमलव ५ तह विश्व स्वास्थ्य संगठन डब्लूएचओले सुझाव दिएकोभन्दा १० गुणा बढी पाइएको थियो ।

  • यातायात कार्यालयको सेवा अनिश्चितकालका लागि बन्द

    यातायात कार्यालयको सेवा अनिश्चितकालका लागि बन्द

    काठमाडौं । देशभरका यातायात व्यवस्था विभाग कार्यालयको सर्भरमा समस्या देखिएको छ ।

    सर्भरमा समस्या देखिएपछि विभागले देशभरका यातायात कार्यालयहरुबाट दिने सबै सेवा अनिश्चतकालका लागि बन्द गर्ने निर्णय गरेको छ ।

    विभागले बुधवार एक सूचना निकाल्दै अपरान्ह ५ बजेदेखि सबै सेवा बन्द गर्ने निर्णय गरेको हो । यो निर्णयसँगै अब सवारी दर्ता, नामसारी, नवीकरण र कर भुक्तानीसहितका सबै सेवा अनिश्चतकालका लागि बन्द हुनेछ ।

    ‘समस्या समाधान नभएसम्मका लागि सबै सेवा अवरुद्ध हुने जानकारीका लागि अनुरोध छ,’ विभागका प्रवक्ता लोकनाथ भुसालले सूचना जारी गरेर भनेका छन् ।

  • मोरङको लेटाङमा आजबाट कर्फ्यू खुकुलो पारियो

    मोरङको लेटाङमा आजबाट कर्फ्यू खुकुलो पारियो

    मोरङ । स्थानीयको आक्रमणबाट एक जना महिला प्रहरीको ज्यान गएपछि स्थानीय प्रशासनले मोरङको लेटाङमा लगाएको कर्फ्यू केही खुकुलो पारिएको छ । जिल्ला प्रशासन कार्यालय मोरङका अनुसार लेटाङको चार किल्ला सिमानाभित्र भने अनिश्चितकालीन कर्फ्यू जारी रहने छ । मंगलबार जिल्ला सुरक्षा समितिको बैठकले दिनको ६ घण्टा आवागमन गर्न पाउने छुटसहित कर्फ्यू जारी राख्ने निर्णय गरेको हो ।

    मोरङ प्रशासनका अनुसार बुधबार बिहान ६ बजेदेखि १० बजेसम्म ४ घण्टा र दिनको ४ बजेदेखि बेलुकी ६ बजेसम्म २ घण्टा कर्फ्यू खुकुलो पारिएको छ । लेटाङमा एक शिक्षकले एक छात्रालाई यौन दुर्व्यवहारको घटना सार्वजनिक भएपछि स्थानीय र प्रहरीबीच झडपको स्थिति बनेको हो । झडपमा आइतबार प्रहरी जवान उर्मिला श्रेष्ठको घाँटीमा धारिलो हतियार प्रहार भएपछि उनको निधन भएको हो । घटनामा एसपीसहित २८ प्रहरी घाइते भएका छन् ।

  • एमाले केन्द्रिय कमिटी बैठक आजबाट

    एमाले केन्द्रिय कमिटी बैठक आजबाट

    काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आजबाट शुरु हुने भएको छ । केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार बबरमहलमा आज बिहान ११ बजे केन्द्रीय कमिटी बैठक बस्न लागेको छ । बैठकमा अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलका प्रतिवेदनमाथि छलफल हुनेछन्।
    साथै सातै प्रदेशका अध्यक्षहरूले रिपोर्टिङ गर्नेछन्। चुनावी घोषणा पत्र तथा उम्मेदवार चयन मापदण्डलगायतबारे पनि छलफल गर्ने एजेन्डा रहेको छ ।
    बैठक बिहीबारसम्म चल्ने भएको छ । चुनाव नजिकिएसँगै पार्टीहरु त्यसतर्फ होमिएका छन् ।

  • नेपालमा थप ४४ जनामा कोरोना पुष्टी, ४८१ जना संक्रमण मुक्त

    नेपालमा थप ४४ जनामा कोरोना पुष्टी, ४८१ जना संक्रमण मुक्त

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ४९५ जनाको पीसीआर परीक्षण गर्दा ३५ जना र २ हजार ९९ जनाको एन्टिजेन परीक्षण गर्दा ९ गरी ४४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ७८ हजार २३१ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा ४८१ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ९ लाख ६३ हजार ५९२ पुगेको छ । संक्रिय संक्रमितको संख्या २ हजार ६८८ रहेको छ ।

    पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या १ रहेको छ । नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ९५१ पुगेको छ ।

  • एमालेमा प्रवेश गर्दै अभिनेत्री करिश्मा मानन्धरले भनिन्- ओलीकाे भाषण सुनेर थाक्दिनँ

    एमालेमा प्रवेश गर्दै अभिनेत्री करिश्मा मानन्धरले भनिन्- ओलीकाे भाषण सुनेर थाक्दिनँ

    काठमाडौं । अभिनेत्री करिश्मा मानन्धर एमालेमा प्रवेश गरेकी छन् ।

    काठमाडौंमा मंगलबार आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष केपी ओली, महासचिव शंकर पोखरेलले अभिनेत्री करिश्मालाई एमालेमा स्वागत गरेर भित्र्याएका हुन् ।

    अभिनेत्री करिष्माले बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीबाट राजनीति सुरु गरेकी हुन् ।

    एमाले प्रवेश गर्दै अभिनेत्री करिश्माले आफू चलचित्र क्षेत्रमा सक्रिय रहँदै आए पनि यस क्षेत्रको विकासका लागि राजनीतिमा लागेको बताइन् ।

    देशको विकास र समृद्धिका लागि एमालेबाट राजनीति गर्ने सोचका साथ पार्टी प्रवेश गरेको उनले जानकारी दिइन् । अध्यक्ष ओलीकाे भाषण सुनेर आफू कहिल्यै नथाक्ने बताइन् ।

  • उम्मेदवार हुन जनप्रतिनिधिले राजीनामा दिनुपर्ने आचारसंहिता कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

    उम्मेदवार हुन जनप्रतिनिधिले राजीनामा दिनुपर्ने आचारसंहिता कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

    काठमाडौं । सर्वोच्च अदालतले स्थानीय निर्वाचनमा उम्मेदवार हुन जनप्रतिनिधिले राजीनामा दिनुपर्ने निर्वाचन आचारसंहिता तत्काल कार्यान्वयन नगर्न आदेश जारी गरेको छ।

    न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले निर्वाचन आचारसंहिताको सो व्यवस्था तत्काल कार्यान्वन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

    जनप्रतिनिधिले पदमा वहाल रहेर स्थानीय तहको निर्वाचनमा प्रतिस्पर्धा गर्न पाउनुपर्ने माग गर्दै सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले निर्वाचन आयोगलगायतका निकायलाई विपक्षी बनाएर सर्वोच्चमा रिट दिएका थिए ।

    सो रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले अन्तरिम आदेशका लागि भने रिट निवेदक र विपक्षी दुबै पक्षलाई छलफलमा बोलाएको छ ।

    आउँदो वैशाख ३० गते हुने स्थानीय निर्वाचन हुँदैछ । निर्वाचनकोको लागि निर्वाचन आयोगले केही अघि आचारसंहिता सार्वजनिक गरेको थियो ।

  • चिनियाँ विदेशमन्त्री वाङ यी तीन दिने नेपाल भ्रमणमा शुक्रबार आउँदै

    चिनियाँ विदेशमन्त्री वाङ यी तीन दिने नेपाल भ्रमणमा शुक्रबार आउँदै

    काठमाडौं । चिनियाँ राज्य परिषद्का सदस्य तथा विदेशमन्त्री वाङ यीले शुक्रबारबाट नेपालको तीनदिने औपचारिक भ्रमण शुरु गर्ने भएका छन् । उनी परराष्ट्रमन्त्री डा. नारायण खड्काको निमन्त्रणमा नेपाल आउन लागेका हुन् । परराष्ट्र मन्त्रालयका अनुसार उनको भ्रमणको तयारी पुरा भएको छ । भ्रमणका क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।

    परराष्ट्रमन्त्री खड्का र चिनियाँ समकक्षीबीच शनिवार द्विपक्षीय वार्ता हुनेछ । भ्रमणका क्रममा पूर्वप्रधानमन्त्री तथा विपक्षी दलका नेता केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग पनि भेट गर्ने कार्यक्रम रहेको बताइएको छ । यो चीनका तर्फबाट पछिल्लो समय हुन लागेको उच्चस्तरीय भ्रमण हो ।

  • मेलम्चीको पानी पुनः काठमाडौं आउने सम्भावना बढ्यो

    मेलम्चीको पानी पुनः काठमाडौं आउने सम्भावना बढ्यो

    काठमाडौं । अघिल्लो वर्षायाममा बाढी र पहिरोले क्षतिग्रस्त बनाएको मेलम्ची खानेपानी आयोजनाको मर्मत कार्य अहिले तिव्र गतिमा भइरहेको छ । असार १ र साउन १७ गतेको बाढीपहिरोले मेलम्चीमा ठूलो क्षति गरेको थियो । मेलम्ची खानेपानी आयोजनाको सुरुङको सफाइ अन्तिम चरणमा पुगेको छ । सफाइ सकिएसँगै पानी परीक्षण गरी सुन्दरीजल पठाउने तयारी भएको छ । पहिरोसँगै आएको बाढीले परियोजनाको प्रवेशद्वारदेखि अम्बाथानसम्मको ८०५ मिटर सुरुङ र सुरुङभित्र प्रवेश गर्ने अन्य सहायक ढोकासमेत बन्द भएका थिए ।

    पहिरोसँगै आएको गेग्य्रानले आयोजनाको मुख्य द्वार (बफर जोन) नौ नम्बर, १० नम्बर ढोका (हेडवक्र्स), अम्बाथानतर्फका १७ र २१ का ढोका (अडिट टनेल) पूरै थुनेको थियो । सुरुङसम्म पुग्ने सहायक ढोकासमेत लेदोले पुरिएपछि आयोजना सञ्चालन हुने नहुनेबारे समेत अन्योल भएको थियो । मेलम्ची खानेपानी विकास समितिका सिनियर डिभिजनल इन्जिनियर पदम कुँवरले सफाइको काम अन्तिम चरणमा पुगेको बताएका छन् ।

    बाढीले बढी क्षति गरेको १ नम्बर ढोकादेखि हेडवक्र्ससम्मको सफाइ सकिएसँगै भित्र पानी पठाएर लेदो निकाल्ने काम अहिले जारी छ । मुख्य हेडवक्र्सको ढोका खुलेको र मुख्य ढोका बफर ड्यामबाट ३८ नम्बरको ढोका हुँदै अम्बाथानको अडिट टनेलको २१ ढोकाबाट पानी बाहिर पठाएर सुरुङ सफाइको तयारी भइरहेको आयोजनाले जनाएको छ । सरकारले बाढीले पुयाएको क्षतिको पुनर्निर्माण र सुरुङको सफाइ गरी यही चैत मसान्तभित्र काठमाडौँमा पानी ल्याउने लक्ष्य राखेको छ ।

  • पानी दिवसमा प्रधानमन्त्रीको सन्देशः जलाधार क्षेत्रको संरक्षण गरौं

    पानी दिवसमा प्रधानमन्त्रीको सन्देशः जलाधार क्षेत्रको संरक्षण गरौं

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले जलस्रोतको ठूलो अंश मानिने भूमिगत जलस्रोतको प्रयोगमा जनसङ्ख्याको ठूलो हिस्सा आश्रित भइरहेको बताएका छन् । जसले गर्दा जलभण्डारको पहिचान र दिगो उपयोग गर्दै उपलब्ध जलभण्डार र पानीको गुणस्तरको संरक्षण गर्नु सबैको साझा जिम्मेवारी भएको बताएका छन् ।

    ‘भूमिगत जलस्रोतको संरक्षण र संवर्धन गरौं’ भन्ने नाराका साथ यस वर्ष मार्च २२ का दिन मनाइने विश्व पानी दिवसका अवसरमा शुभकामना दिंदै उनले भूमिगत जलस्रोतको संरक्षण र संवर्धनमा आफ्नो क्षेत्रबाट योगदान पुर्‍याउन सबैमा आह्वान गरेका हुन् । संरक्षणको जिम्मेवारीलाई प्रभावकारी तवरले कार्यान्वयनमा उतार्न अन्तर निकाय समन्वय, सूचना प्रणालीको सुदृढीकरण, जलस्रोतको समन्यायिक वितरणका साथै यस विषयमा प्राज्ञिक अध्ययन, अनुसन्धान र प्रभाव विश्लेषणलगायतका कार्यलाई निरन्तर सञ्चालन गर्न आवश्यक हुने उनको भनाई छ ।

    प्रधानमन्त्री देउवाले सरकारको एकल प्रयासले मात्र भूमिगत जलस्रोतको संरक्षण र दिगो विकास लक्ष्यअन्तर्गत खानेपानी तथा सरसफाइसम्बन्धी लक्ष्य हासिल गर्ने प्रयास पर्याप्त नहुने हुँदा यस कार्यमा सबैको सहयोग, सहकार्य र समन्वय आवश्यक रहेको उल्लेख गरेका छन् ।

  • नेपालमा थप ४५ जनामा कोरोना पुष्टी, दैनिक मृत्यु हुनेको संख्या शून्य

    नेपालमा थप ४५ जनामा कोरोना पुष्टी, दैनिक मृत्यु हुनेको संख्या शून्य

    काठमाडौं । नेपालमा कोरोनाबाट संक्रमण हुनेको संख्या निरन्तर घट्दै आइरहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ४,७५२ नमुना परीक्षणमा ४५ जनामा संक्रमण पुष्टि भएको हो ।

    आज थपिएका ४५ जनासँगै नेपालमा हालसम्म ९ लाख ७८ हजार १९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । साथै आज निको भएका १४७ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ९ लाख ६३ हजार १११ पुगेका छन् ।

    त्यस्तै केही दिनयता नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य रहेको छ ।

    नेपालमा हालसम्म ११ लाख ९५० जनाको मृत्यु भएको छ ।

    नेपालमा हाल ३,१३५ जना सक्रिय संक्रमित रहेका छन् । ती मध्ये ३,०७९ जना होम आइसोलेशनमा रहेका छन् भने ५६ जना संस्थागत आइसोलेसनमा रहेका छन् । साथै आइसीयुमा २२ र भेन्टिलेटरमा ५ जनाको उपचार भइरहेको छ ।

    नेपालमा थप ५९ हजार ३७८ मात्रा कोरोनाविरुद्धको खोप लगाइएको छ ।