Category: समाचार

  • नेपालमा थपिए २७ कोरोना संक्रमित, २२० जना संक्रमणबाट मुक्त

    नेपालमा थपिए २७ कोरोना संक्रमित, २२० जना संक्रमणबाट मुक्त

    काठमाडौं । नेपालमा थप २७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गरिएको ४,७४७ नमुना परीक्षण गरिएकामा थप २७ जना संक्रमित थपिएका हुन् ।

    आज थपिएका २७ जनासँगै नेपालमा हालसम्म ९ लाख ७८ हजार १०७ जना कोरोना संक्रमित भएका छन् । साथै आज थपिएका २२० जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ९ लाख ६१ हजार ७८१ पुगेका छन् ।

    त्यस्तै केही दिनयता नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य रहेको छ । नेपालमा हालसम्म ११ लाख ९५० जनाको मृत्यु भएको छ ।

    नेपालमा हाल ४,३७६ जना सक्रिय संक्रमित रहेका छन् । ती मध्ये ४,३०२ जना होम आइसोलेशनमा रहेका छन् भने ७४ जना संस्थागत आइसोलेसनमा रहेका छन् । साथै आइसीयुमा २८ र भेन्टिलेटरमा ६ जनाको उपचार भइरहेको छ ।

    नेपालमा थप १ लाख ४५ हजार ९८४ मात्रा कोरोनाविरुद्धको खोप लगाइएको छ ।

  • तराई-मधेसमा किन पूर्णिमाको भोलिपल्ट ?

    तराई-मधेसमा किन पूर्णिमाको भोलिपल्ट ?

    काठमाडौं । फागू पूर्णिमा अर्थात होली पर्व । रङहरूको रंगिन पर्व होली सबैभन्दा रमाइलो पर्व पनि हो। आपसमा खुशियाली साटासाट गरेर मनाइने रङ्गै–रङ्गको पर्व होलीको उमङ्ग शुरु भएको छ ।

    काठमाडौँ उपत्यकालगायत हिमाली र पहाडी क्षेत्रमा धुमधामका साथ एक–अर्कामा रङ दलेर होली मनाइन्छ । तराईका जिल्लामा भने भोली होली मनाइन्छ । नेपालमा विजयको प्रतीकको रुपमा होली पर्व मनाइन्छ ।

    हिमाल, पहाडमा पूर्णिमाकै दिन मनाइने होली तराई-मधेसमा किन भोलिपल्ट ?

    फागुन शुक्ल पक्षको पूर्णिमा तिथिका दिन होलिका दहन गरेसँगै होली मनाउने गरिन्छ । तर तराई भेगमा भने पूर्णिमाको दिन होलिका दहन गरेपनि भोलिपल्ट(प्रतिपदाको दिन) होली मनाउने चलन छ ।

    पौराणिक कथाअनुसार आगोबाट भष्म नहुने वरदान पाएकी होलिका दाह भएको घटनाको स्मरणमा खुसियाली मनाउने पर्व नै होली हो।

    पुराण प्रसिद्ध दैत्यराज हिरण्यकश्यपुले भगवान हरिका भक्त आफ्नो छोरा प्रह्लादलाई नष्ट गर्न बहिनी होलिकाको काखमा राखेर अग्निकुण्डमा होम्छ।

    उक्त षड्यन्त्रमा वरदान पाएकी भए पनि होलिका आफैं जलेर नष्ट हुन्छे। प्रह्लादलाई केही हुँदैन।

    होलिका आगोमा जलिसकेको देखेर हिमाल, पहाड तिर मान्छेहरु होलिकाको मृत्युको खुशीमा होली खेल्न थालिसकेका थिए । ‘

    होलिका वध होस् वा कामदेव भष्म भएको प्रसंग, नकारात्मक पक्षको अन्त्य भएको खुशीयालीमा होली मनाइएको हो।

    मध्यरातमा होलिकाको प्रतीक जलाई त्यसबाट निस्केको खरानीको टीका लगाएपछि होली सुरु भएको मानिन्छ। मध्यरातमा होलिकाको प्रतीक जलाएको हुनाले तराईमा भने भोलिपल्टमा होली मनाउने प्रचलन आएको दाबी छ ।

    एक क्षेत्रका मानिसले पूर्णिमाको राति होलिका दहन गरेपछि होली समापन भएको मान्छन् भने अर्को क्षेत्रका मानिसले ‘होलिका दहन’ भएपछि होली मनाउन सुरु गर्छन्। एउटै देश, एउटै पर्व, एउटै संस्कृति तर काठमाडौं उपत्यकामा एक दिन, तराई–मधेसमा अर्को दिन मनाउने चलन छ ।

    कुन देशमा कसरी मनाइन्छ होली

    फागु पर्व नेपाल, भारतलगायत देशमा पनि मौलिक तरिकाले मनाउने गरेको पाइन्छ। इटालीमा ‘बेलियाकोनोन्स’ को नामले मनाइने यो पर्वमा एकापसमा सुगन्धित जल छर्की घाँसको विशेष प्रकारको रङ्गीचङ्गी आभूषण लगाएर खेल्ने गरिन्छ।

    चीनमा १५ दिनसम्म ‘च्वेज’ नामले यो पर्व मनाइन्छ। यस पर्वमा नयाँ लुगा र गहना लगाउने गरिन्छ।

    अमेरिकामा ‘होबो’ नामले मनाइने यो पर्वमा मानिस विभिन्न प्रकारका हास्यात्मक वेषभूषा लगाई प्रतियोगिताको आयोजना गरी विजयीलाई पुरस्कार दिइन्छ।

    श्रीलङ्का र इन्डोनेसियामा आगोको पूजा गरेर, म्यान्मा र थाइल्यान्डमा पानीको पूजा गरेर, बौद्ध मन्दिरमा भिक्षुलाई दान दिएर, जापान र इन्डोनेसियामा नयाँ अन्नलाई नाचगानका साथ स्वागत गरेर, चीनको युनानमा डाइनोसियस देवताको पूजा तथा नाचगान गरेर र इजिप्टमा हास्य, विनोद तथा नाचगान गरी यो पर्व मनाइन्छ।

    फरक फरक नाममा मनाइए पनि फागु खेल्ने परम्परा धेरै देशमा भएको पाइन्छ। सबैतिर आपसी सद्भाव एवं सामाजिक एकतालाई प्रवर्द्धन गर्ने मूल उद्देश्यले यो पर्व मनाउने गरिन्छ। नाम फरक भए पनि पर्वको उद्देश्य एकै छ।

    नेपाल

    नेपालमा फाल्गुण शुक्ल अष्टमीका दिन होली मनाइन्छ । यस दिन काठमाडौंको वसन्तपुरमा विभिन्न रंगीन कपडाहरू मिलाएर बनाइएको चीर ठड्याएपछि होली पर्व सुरू भएको मानिन्छ । र, सोही दिन चीरलाई ढालेर जलाएपछि होली सम्पन्न हुन्छ ।

    त्यस्तै भक्तपुरमा चीर स्वायगू अर्थात् लिङ्ग घुमाएपछि फागुपर्वको सुरूवात भएको मानिन्छ । र, लिंग पखालेर भीमसेन मन्दिरमा ल्याएपछि होली समाप्त हुन्छ । तराईमा भने भोलिपल्ट होली खेलिन्छ । नेपालका गाउँ, सहरमा पनि होली भब्यताका साथ मनाइन्छ । होलीमा पानी छ्याप्ने, अबिर, केशरी लगायत रङ लगाउने चलन छ ।

    भारत

    भारतमा होलीलाई फगुवा, फागवह वा डोलजात्रा, डोलाजात्रा र वसन्तोत्सवको नामले मनाइन्छ । गुजरात, उत्तर प्रदेश, उत्तराखण्ड, बिहार, बंगाल, उडिसा, असम, गोवा, महाराष्ट्र, मणिपुर, केरला, कर्नाटक, तेलङ्गाना, आन्ध्र प्रदेश, जम्मु कश्मीर पञ्जाब, मध्यप्रदेश र तमिलनाडुको होलीमा स्थानीय लोकसंस्कृतिको झलक पाइन्छ ।

    साथै भगवान् श्रीकृष्णको ब्रजभूमि मथुरा, बृन्दावन, नन्दगाँव र बर्सनाको होली हेर्न पर्यटकको ओइरो नै लाग्छ ।
    छिमेकी बिहारको भोजपुरी शैलीको होली पनि चित्ताकर्षक हुन्छ ।

    त्यहाँको जोगिरा गायन अर्थात् ‘जोगिरा सरर…’ पूरै एसियामा लोकप्रिय छ । गुजरातको अहमदाबादमा नौनीले भरिएको माटाको भाँडा फोड्ने प्रतियोगिता र उत्तरप्रदेशको ब्रजक्षेत्रको मथुरानजिकैको बर्सनामा महिलाले पुरुषलाई लौरोले प्रहार गर्ने होली पनि निकै लोकप्रिय छ ।

    दक्षिण अफ्रिका

    दक्षिण अफ्रिकामा गीतहरू गाउने, नाच्ने र साथीभाइहरू जमघट भै होली खेल्ने चलन छ। विशेषतः भारतीय नागरिकको वर्चस्व रहेको क्षेत्रमा होलीको वातावरण देखिन्छ। दिनभर होली खेलेर साँझपख मिठाई तथा चकलेटहरू बाँडेर होली मनाउने चलन छ।

    सुरिनाम

    सुरिनाममा ३५ देखि ४० प्रतिशत हिन्दू छन्, जो भारतको उत्तर प्रदेश तथा विहारबाट गएका हुन्। त्यहाँ पनि होलीका गीत गाउने र रङ खेलेर होली मनाउने चलन छ। यसका साथै विभिन्न प्रकारका मिठाई बनाएर बाँड्ने र खाने चलन छ। साथीभाइ एवं परिवारसँग जमघट गरेर रमाइलो गर्ने चलन पनि छ।

    अमेरिका

    अमेरिकाका विभिन्न राज्यमा पनि होलीको रौनक देख्न पाइन्छ। विश्वभरका नागरिक बसोबास गर्ने यो मुलुकमा होली मनाउने आफ्नै परम्परा छ। यसका साथै अन्य नागरिकले पनि आफ्नो समुदाय र प्रचलनअनुसार होली मनाउने गरेका छन्। अमेरिकामा फेसन शो, म्युजिक कन्सर्ट तथा सांगीतिक कार्यक्रमहरू आयोजित गरेर होली मनाइन्छ। आफन्तहरूसँगको भेटघाट एवं खानपिन पनि अमेरिकी होलीको महत्त्वपूर्ण पक्ष हो।

    बंगलादेश

    बंगलादेशमा पनि होली पर्व मनाइन्छ। यो मुलुक बहुसांस्कृतिक मुलुक हो। यहाँ विशेषतः हिन्दू, बौद्ध एवं मुस्लिम समुदायका मानिसहरू बसोबास गर्छन्। मुस्लिम समुदायको वर्चस्व रहे पनि हिन्दू धर्मावलम्बीहरूले यो पर्व मनाउँछन्। हिन्दू धर्मावलम्बीहरू मन्दिरमा जम्मा भएर रङका साथमा होली खेल्ने चलन छ। बंगलादेशका अधिकांश क्षेत्रमा भारतीय संस्कृतिको प्रभाव छ।

    पाकिस्तान

    भारतीय संस्कृतिको प्रभाव रहेको तथा हिन्दू धर्म मनाउनेहरूको पनि उपस्थिति रहेकाले पाकिस्तानमा पनि होली मनाइन्छ । यहाँ होलीको दिन विशेषगरी घर–आँगन सफा गर्ने, विभिन्न खालका मिठाई बनाएर खाने तथा आफन्त एवं इष्टमित्रहरूलाई पनि खुवाउने र साथीहरूसँग सांगीतिक वातावरणमा रमाइलो गर्ने चलन छ । पाकिस्तानमा प्रायः मन्दिरहरूमा भेला भै होली मनाइन्छ ।

    बेलायत

    बेलायतमा होली मनाउने आफ्नै परम्परा र संस्कृति छ । यहाँ विशेष गरी आफन्त र साथीहरूलाई निम्तो गरेर होली मनाउने चलन छ । कतिपय ठाउँमा टिकट बेचेर होली मनाउने चलन पनि छ । ठूलो मूलुक र थुप्रै समुदाय भएकाले होली विभिन्न समय र प्रकृतिअनुसार मनाइन्छ । होलीमा सांगीतिक कार्यक्रमहरू पनि हुन्छन् । यहाँ विशेषतः भारतीय नागरिकको वर्चस्व रहेका क्षेत्रहरूमा धूमधामका साथ होली मनाउने चलन छ ।

    मौरिसस

    अफ्रिकी महादेशमा पर्ने यो मुलुकमा होलीको दिन सार्वजनिक बिदा नै दिइन्छ । करिब ६३ प्रतिशत नागरिक भारतीय मूलको भएकै कारण यहाँ होलीले महानता पाएको हो । यहाँ पनि होलिका दहन गरेर, एकापसमा मिठाई बाँडेर, पानी र रङको प्रयोग गरेर र साथीभाइसँग खानपिन र रमाइलो गरेर होली खेलिन्छ ।

    फिजी

    फिजीमा पनि धुमधामसँग होली मनाइन्छ । सांगीतिक रमझम गरेर, राधाकृष्णको प्रेमभावका गीतहरू गाएर र विभिन्न खालका रङ दलेर होली खेलिन्छ । फिजीमा होलीमा मात्र होइन, यो मौसम भरि नै होलीका गीतहरू गाइन्छ ।

  • ‘राजनीतिमा असम्भव हुँदैन,कांग्रेस अतिवादी ढंगले प्रस्तुत भए एमालेसँग तालमेल गर्छौं’

    ‘राजनीतिमा असम्भव हुँदैन,कांग्रेस अतिवादी ढंगले प्रस्तुत भए एमालेसँग तालमेल गर्छौं’

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख प्रतिपक्षी नेकपा (एमाले)सँग चुनावी तालमेल हुनसक्ने संकेत दिएका छन् ।

    प्रेस सेन्टर लुम्बिनीले विहीबार बुटवलमा गरेको कार्यक्रममा प्रचण्डले राजनीतिमा असम्भव भन्ने केही कुरा नहुने उल्लेख गर्दै चुनावी तालमेल कांग्रेसमा भर पर्ने बताएका हुन् ।

    प्रचण्डले भने, ‘कांग्रेसका केही नेताहरूले माओवादीसँग गठबन्धन हुनै सक्दैन भनेर अत्यन्त अतिवादी ढंगले बोलिराख्नुभएको छ। हुन त प्रधानमन्त्री देउवाले उहाँहरूलाई बोल्न बन्द गराइ सक्नुभएको छ। कांग्रेसले लखेट्न थाल्यो भने परिस्थिति के हुन्छ भन्न सकिँदैन।’

    आगामी निर्वाचनमा सबै ठाउँमा तालमेल जरुरी नभएको भन्दै प्रचण्डले केही ठाउँमा गठबन्धनका दलबीच स्वस्थ प्रतिस्पर्धा पनि हुने बताए।

    उनले आफ्नै एजेण्डा र संगठनको बलमा जनताको मन जित्ने र गठबन्धन पनि बचाउने ध्यानमा आफूहरु रहेको पनि बताएका छन्।

  • चितवनमा पोखरीको दलदलमा फसेर एक सैनिक जवानको मृत्यु

    चितवनमा पोखरीको दलदलमा फसेर एक सैनिक जवानको मृत्यु

    चितवन । चितवनमा दलदले पोखरीमा डुबेर एक जना नेपाली सेनाका जवानको मृत्यु भएको छ । गैँडाको आक्रमणबाट जोगिन पोखरीमा हाम फालेका जवान पवन कटुवालको डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनलाई उदृत गर्दै स्थानीय संचारमाध्यमले लेखेका छन् ।

    खोटाङ गाउँपालिका वडा नम्बर–४ घर भएका २६ वर्षका कटुवाल निकुञ्ज सुरक्षार्थ खड्गदल गणको साइलीमाइली पोस्टमा कार्यरत थिए । मंगलबार बेलुका निकुञ्जभित्र गस्ती जाने क्रममा गैँडाले आक्रमण गर्न खोज्दा कटुवाल पोखरीमा हाम फालेका थिए । त्यसपछि उनको उद्धार हुन नसक्दा ज्यान गएको बताइएको छ ।

  • होली विकृतिरहित बनाउन राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको आह्वान

    होली विकृतिरहित बनाउन राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको आह्वान

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले होली लगायतका नेपाली संस्कृतिका असल पक्षलाई प्रवद्र्धन गर्न यसलाई मितव्ययी र विकृतिरहित राख्नुपर्ने उल्लेख गरेकी छिन्. । न्यायपूर्ण, सभ्य र सुसंस्कृत समाज निर्माण गर्न होली पर्वबाट हामी सबैमा प्रेरणा मिलोस् भन्ने कामना पनि राष्ट्रपति भण्डारीको रहेको छ । नेपालीहरूको महान् पर्व फागु पूर्णिमा (होली)को अवसरमा बुधबार शुभकामना सन्देश दिंदै राष्ट्रपति भण्डारीले उक्त कामना गरेकी हुन् ।

    स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति तथा समृद्धिको कामना गर्दै राष्ट्रपति भण्डारीले होलीमा खेलिने विविध रङ जस्तै नेपाली समाज पनि जातीय, भाषिक र सांस्कृतिकरूपमा विविधतापूर्ण रहेको उल्लेख गरेकी छन् । वैदिक परम्परादेखि नै समाजमा असल र खराबबीच द्वन्द्व चल्दै आए तापनि सत्यको नै विजय हुने भन्दै उनले होली पर्वले सत्य र न्यायका पक्षमा अविचलितरूपले क्रियाशील रहन प्रेरणा प्रदान गर्ने विश्वास पनि व्यक्त गरेकी छन् ।

    उपराष्ट्रपति नन्दबहादुर पुनले पनि होली पर्वको अवसरमा सबै नेपालीहरुलाई शुभकामना दिंदै यस पर्वले स्थानीय तहको निर्वाचनलाई उत्सवका रूपमा सम्पन्न गर्न प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् । प्रत्यक्ष मतदानद्वारा आफ्नो सरकार आफैं बनाउने स्थानीय तहको निर्वाचनलाई उत्सवका रूपमा लिन र सक्रिय सहभागी हुन उनले आग्रह गरेका छन् । होली पर्वले सामाजिक सद्भाव थप फैलाउने र राष्ट्रिय एकतालाई बलियो बनाउने उनले विश्वास व्यक्त गरेका छन् ।


    प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य मापदण्ड पालना गर्दै मर्यादितरूपमा होली पर्व मनाउन सबै नेपालीहरुलाई आग्रह गरेका छन् । होलीको अवसरमा शुभकामना सन्देश दिंदै प्रधानमन्त्री देउवाले कोभिड–१९ को संक्रमण अझै पूर्णरूपमा नियन्त्रण भइनसकेकाले स्वास्थ्य मापदण्ड पालना गर्न र अरुलाई अवरोध नपुग्ने गरी होली मनाउन आग्रह गरेका छन् । उनले समाजमा विद्यमान विभिन्न प्रकारका विकृति, विसंगति एवं कुरीतिलाई निर्मूल गर्दै न्यायपूर्ण, सभ्य र सुसंस्कृत समाज निर्माण गर्न होली पर्वबाट सबैमा प्रेरणा मिल्ने विश्वाससमेत व्यक्त गरेका छन् ।

  • पेट्रोल प्रतिलिटर १५५ पुग्यो, अन्य इन्धनको मूल्य कति ?

    पेट्रोल प्रतिलिटर १५५ पुग्यो, अन्य इन्धनको मूल्य कति ?

    काठमाडौं । सरकारले नेपालमा पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । नेपाल आयल निगमले इन्धनको मूल्य आजै रातीबाट लागु हुने गरि बढाएको हो । निगम सञ्चालक समितिको बुधबार बसेको बैठकले मध्यरातिदेखि लागु हुने गरी डिजेल मट्टीतेल र पेट्रोलको मूल्य प्रतिलिटर ५ रुपैयाँ बढाउने निर्णय गरेको हो । नयाँ मूल्य सूचीअनुसार अब पेट्रोल लिटरको १५५ रुपैयाँ पर्छ भने मट्टितेल र डिजेलको १३८ रुपैयाँ पर्छ । हवाई इन्धनतर्फ आन्तरिकतर्फ १५ रुपैयाँ बढेको छ र प्रतिलिटर १५१ रुपैयाँ पुगेको छ । अन्तराष्ट्रियतर्फ प्रति किलोलिटर २०० डलर बढेको छ । अब अन्तर्राष्ट्रिय तर्फ हवाई इन्धनको मूल्य प्रति किलोलिटर मूल्य १४९५ अमेरिकी डलर पुगेको छ ।


    खाना पकाउने ग्लपी ग्यासको मूख्य भने बढेको छैन । यद्यपि प्रतिसिलिण्डर निगमलाई ६६५ रुपैयाँ ३४ पैसा घाटा रहेको निगमको दाबी छ । उसका अनुसार पेट्रोलमा प्रतिलिटर २८ रुपैयाँ ५७ पैसा, डिजेलमा ३२ रुपैयाँ १५ पैसा घाटा छ भने मट्टितेलमा प्रतिलिटर २४ रुपैयाँ ३४ पैसा नाफा छ । यस्तै हवाई इन्धनमा पनि नाफा छ । मूल्य समायोजनले १५ दिनको अनुमानित घाटा ५ अर्ब ३० करोडबाट घटेर ४ अर्ब ४४ करोडमा पुग्ने निगमले जनाएको छ ।

  • नागरिकता अध्यादेशविरुद्ध परेको रिट सर्वोच्चद्वारा खारेज

    नागरिकता अध्यादेशविरुद्ध परेको रिट सर्वोच्चद्वारा खारेज

    काठमाडौं । सर्वोच्च अदालतले नागरिकता अध्यादेशविरुद्ध परेको रिट खारेज गर्ने खारेज गर्ने फैसला गरेको छ ।

    बुधबार कामु प्रधानन्यायाधीश दीपकुमार कार्की, न्यायाधीशहरु मीरा खड्का, हरिकृष्ण कार्की, ईश्वर खतिवडा र आनन्दमोहन भट्टराईको इजलासले नागरिकता अध्यादेशविरुद्ध परेको रिट खारेज गर्ने फैसला गरेको हो ।

    तत्कालीन केपी ओली नेतृत्वले सरकारले ल्याएको नागरिकता ऐन संशोधनसम्बन्धी अध्यादेशविरुद्ध वरिष्ठ अधिवक्ता बोर्णबहादुर कार्कीसहित तीन छुट्टाछुट्टै रिट परेका थिए ।

    उक्त रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई विपक्षी बनाइएको थियो ।

    तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारले ९ जेठ २०७८ मा नागरिकता अध्यादेश ल्याएको थियो । तर सर्वोच्चले २७ जेठमा अध्यादेश कार्यान्वयनमा रोक लगाएको थियो ।

    जसपाको तत्कालीन महन्थ ठाकुर समूह (हाल लोसपा)लाई सरकारमा सामेल गराउन तत्कालीन प्रधानमन्त्री केपी ओलीले दोस्रोपटक प्रतिनिधिसभा विघटन गरेर नागरिकता अध्यादेश ल्याएका थिए।

  • होलीलाई मर्यादित बनाउन उपत्यकाको ट्राफिक व्यवस्थापनमा कडाई

    होलीलाई मर्यादित बनाउन उपत्यकाको ट्राफिक व्यवस्थापनमा कडाई

    काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले रङ्गहरूको पर्व होलीलाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन काठमाडौँ उपत्यकाको तीनै जिल्लामा १३०० भन्दा बढी ट्राफिक प्रहरी खटाई ट्राफिक व्यवस्थापन कडा गरिएको छ ।

    होली मनाउँदा सवारी नियम तोड्ने खालका गतिविधि नियन्त्रण गर्न तथा दुर्घटना रहित होली पर्व बनाउनका लागि लागि महाशाखाले ट्राफिक व्यवस्थापनको योजना तयार गरि आफ्नो जनशक्ति परिचालन गर्ने भएको हो ।

    होलीको पूर्व सन्ध्यामा होली पर्वलाई सभ्य र सुरक्षित तरिकाले सम्पन्न गराउन महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेश राज जोशीले सबै ट्राफिक ईकाई तथा ईन्चार्जहरूलाई ट्राफिक व्यवस्थापन कडा बनाउन निर्देशन दिनुका साथै खटिने प्रहरी कर्मचारीहरूलाई बुधबार ब्रिफिङ्ग समेत गरेका छन् ।

    ‘फागु पूर्णिमाको अवसरमा हुने सवारी व्यवस्थापनको विभिन्न चुनौतीहरू तथा खतराहरूलाई यथार्थपरक विश्लेषण र मूल्याङ्कन गरेर प्रविधि उपकरणहरूको समुचित उपयोग गर्ने गरी विशिष्टीकृत ट्राफिक प्रहरी परिचालन गर्न लागेका छौँ ।’ एसएसपी उमेश राज जोशीले भने, ‘बिहानैदेखि प्रहरी नायब उपरीक्षकको नेतृत्वमा २ वटा अनुगमन टोली, १४ वटा मोबाइल टोली, सवारी साधन अभिलेख व्यवस्थापन टोली र मोटरसाइकलमा थप ट्राफिक प्रहरी परिचालन गरिने छ ।’

    उच्छृङ्खल तथा अवान्छित तरिकाले सवारी साधनको प्रयोग गर्ने, तिब्र गति र जिकज्याक गरी मोटरसाइकल चलाउने, मादकपदार्थ सेवन गरी मोटरसाइकल हुइक्याउने, मोटरसाइकलमा हेल्मेट नलगाउने, मोटरसाइकलमा तीनजना भन्दा बढी सवार गरी चलाउने, सवारी साधनको प्रयोग गरी महिलाहरूलाई लक्षित गरी रङ लोला हान्ने र अभद्र व्यवहार गर्ने, ठूलो आवाज निकाल्ने र मोडिफाई गरी सवारी चलाउने, सवारी चालक अनुमति पत्र नभएकाहरूले सवारी साधन चलाउने, ट्राफिक नियम विपरीत सवारी चलाउने माथि विशेष निगरानी गर्ने गरी महाशाखाले सुरक्षा योजना तयार गरेको जनाइएको छ ।

    महाशाखाले होली पर्वलाई दुर्घटनारहित बनाउन उपत्यकाका विभिन्न नाकासहित ६८ स्थानमा विशेष चेकजाँचको व्यवस्था मिलाएको छ भने बिहानैदेखि मापसे परीक्षण कडाईका साथ शुरू गर्ने भएको छ ।

    फागु पूर्णिमा (होली) को शुभकामना सहित दुर्घटना रहित व्यवस्थित, मर्यादित र सुरक्षित पर्वको रूपमा मनाउन सम्पूर्ण महानुभावहरूलाई ट्राफिक महाशाखाले विशेष अनुरोध समेत गरेको छ ।

  • मर्मतसम्भार गर्नुपर्ने अवस्थामा पुगेको पुलको मेयर शाक्यले गरे उद्घाटन

    मर्मतसम्भार गर्नुपर्ने अवस्थामा पुगेको पुलको मेयर शाक्यले गरे उद्घाटन

    काठमाडौं । कतिपय नटबोल्ट खुकुलो भएर मर्मतसम्भार गर्नुपर्ने अवस्थामा पुगेको पुलको काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य मंगलबार विहान उद्घाटन गरेका छन् ।

    चुनावको छेको पारेर डेढ वर्षदेखि प्रयोग भइरहेको माइतीघर (पुरातत्व विभागअघि) को आकाशे पुलको उद्घाटन गरेका हुन् ।

    शिलालेखसमेत तयार गरेर आकाशे पुल उद्घाटनको तयारी गर्दैगर्दा नियमित रुपमा पुल प्रयोग गर्नेहरु अचम्मित भएका थिए । किनकि यो पुल डेढ वर्षअघि नै निर्माण सम्पन्न भएर हाल प्रयोग भइरहेको छ ।

    यो पुल जेठ २०७७ मै निर्माण सकिएर सर्वसाधारणले प्रयोग गर्न थालेका थिए ।

  • भिजिट भिसामा आई समस्यामा परेका नेपालीको सहजीकरण गर्न यूएई  सहमत

    भिजिट भिसामा आई समस्यामा परेका नेपालीको सहजीकरण गर्न यूएई सहमत

    काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई)ले भिजिट भिसामा पुगेर अलपत्र परेका नेपाली नागरिकको समस्या समाधान गर्न सहमति जनाएको छ । यूएई भ्रमणमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ र युएईका मानव संशाधन मन्त्री डा. अव्दुलरहमान अव्दुलमानन अल अवारबीच मंगलबार भएको भेटवार्तामा यस्तो सहमति भएइको हो । राजधानी आबुधावीस्थित मानव संशाधन मन्त्रालयमा भएको भेटवार्तामा उनीहरूबीच दुई देशको आपसी सम्बन्ध र युएईमा कार्यरत नेपाली श्रमिकको हितका विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।

    श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री श्रेष्ठले युएई सरकारले हालै जारी गरेको श्रम कानुन आप्रवासी श्रमिकको पक्षमा रहेको भन्दै युएई सरकारको प्रसंशा गरे । भेटवार्ताका क्रममा उनीहरूबीच रोजगारीको प्रलोभनमा भिजिट भिसामा युएई आएर अलपत्र परेका नेपालीको समस्या समाधान गर्ने र दोषीलाई कारवाहीको दायरामा ल्याउन दुई देश मिलेर काम गर्ने सहमति भएको हो । रोजगारीको प्रलोभन देखाइ भिजिट भिसामा युएई ल्याउने गैरकानुनी एजेन्टलाई कारवाहीको दायरामा ल्याउन युएई सरकारले सहयोग गर्नेछ।

    मन्त्री अवारले युएई सरकारले नेपालमा सीप विकास तालिम केन्द्र स्थापना र क्षमता वृद्धिमा लगानी गरी दक्ष जनशक्ती उत्पादनमा सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । उनले नेपाल सरकारले स्थापना गर्न लागेको श्रमिक अस्पताल निर्माणमा पनि युएई सरकारले सहयोग गर्ने बताए। उनीहरूबीच युएईमा कार्यरत नेपाली श्रमिकको सामाजिक सुरक्षा, कार्यस्थल सुरक्षा, स्वास्थ्य र वीमा, पारिश्रमिक वृद्धि लगायतका विषयमा पनि छलफल भएको मन्त्रालयले उल्लेख गरेको छ ।

  • म्यादी प्रहरीमा भर्ना खुल्यो, देशभर एक लाख भर्ति गरिने

    म्यादी प्रहरीमा भर्ना खुल्यो, देशभर एक लाख भर्ति गरिने

    काठमाडौं । आसन्न निर्वाचनलाई लक्षित गरि नेपाल प्रहरीले एक लाख म्यादी प्रहरीका लागि भर्ना खुलाएको छ । म्यादी प्रहरीमा चैत ६ देखि ११ गतेसम्म दर्खास्त दिन सकिने भएको छ । प्रहरी प्रधान कार्यालय, नक्सालले मंगलबार एक सूचना जारी गरि भर्ना खुलेको जानकारी गराएको हो । दर्खास्त फारम सम्पूर्ण जिल्ला प्रहरी कार्यालयमा पाइने छ । म्यादी प्रहरीमा १८ वर्ष पूरा भइ ५४ वर्ष ननाघेका व्यक्तिले दर्खास्त दिन पाउने सूचनामा उल्लेख छ ।

    म्यादी प्रहरीमा भर्ना हुनका लागि नेपाली नागरिक हुनुपर्ने, फौजदारी अभियोग लागेको नहुनुपर्ने, कुनै राजनीतिक दलको सदस्य हुनु नहुने, शारीरिक र मानसिकरुपले तन्दुरुस्त हुनुपर्ने लगायतका मापदण्ड राखिएका छन् । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका पूर्वसुरक्षाकर्मीलाई प्राथमिकता दिइने छ । २०७८ साउन १ गतेदेखि आवेदन दिएर शारीरिक तन्दुरुस्ती र स्वास्थ्य परीक्षणमा उत्तीर्ण भएकाहरुले पनि प्राथमिकता पाउनेछन् ।

    नेपाल बाहिरका सुरक्षा निकायमा काम गरेका र विगतका निर्वाचनमा म्यादी प्रहरीका रुपमा काम गरेकाले पनि प्राथमिकता पाउने भनिएको छ । म्यादी प्रहरी सम्बन्धी अन्तिम नतिजा २२ चैतमा प्रकाशित हुनेछ भने उनीहरुको सेवा अवधि ४० दिन रहेनछ ।

    प्रहरी प्रधान कार्यालय, नक्सालको मानव स्रोत तथा प्रशासन विभागका अनुसार म्यादी प्रहरीका लागि प्रहरी जवानको तलब सरह (आधारभूत तलब महिनाको २२,६८० रुपैयाँ) ले ३० हजार २४० रुपैयाँ दिइनेछ । उनीहरुलाई खाद्यान्नवापत एकमुष्ठ ७ हजार २०० रुपैयाँ र पोशाक र अन्य सामग्री खरिदका लागि प्रतिव्यक्ति ६ हजार रुपैयाँका दरले थप रकम उपलब्ध गराइने समेत सूचनामा उल्लेख छ ।

  • हिउँदे अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय

    हिउँदे अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय

    काठमाडौं । सरकारले चालू हिउँद अधिवेशन अन्त्यका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको छ ।

    मन्त्रिपरिषद बैठकले चालु हिउँदे अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको हो ।

    वैशाखदेखि बजेट अधिवेशन सुरु हुने भएकाले सरकारले हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको हो ।

  • नेपालमा थप ८३ जनामा कोरोना पुष्टी, दैनिक हुने मृत्यु संख्या शून्य

    नेपालमा थप ८३ जनामा कोरोना पुष्टी, दैनिक हुने मृत्यु संख्या शून्य

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ७ हजार ८८४ परीक्षण गरिएको छ। जसमध्ये ८३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको पछिल्लो तथ्यांकमा उल्लेख छ ।

    यस अवधिमा मृत्यु संख्या शून्य रहेको छ। यस्तै संक्रमणमुक्त हुनेको संख्या १३० रहेको छ।

    विगत २४ घन्टामा १ लाख ३ हजार ५३८ जनामा कोरोना संक्रमणविरूद्धको खोप लगाइएको छ। सक्रिय संक्रमितको संख्या ४ हजार ७४६ रहेको छ।

  • ‘एमालेलाई कसैको बैशाखी आवश्यक छैन, एक्लैले ७० प्रतिशत स्थानीय तह जित्छ’

    ‘एमालेलाई कसैको बैशाखी आवश्यक छैन, एक्लैले ७० प्रतिशत स्थानीय तह जित्छ’

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले एक्लैले स्थानीय चुनावमा ७० प्रतिशत जित्ने दाबी गरेका छन् । मंगलबार अखिल नेपाल महिला संघको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो दावी गरेका हुन् ।

    ‘हामी ६० देखि ७० प्रतिशत एक्लै जित्न सक्छौ । यति जित्नका लागि अरुको साहारा लिनुपर्दैन । हामी एक्लै लड्न सक्छौ, एमालेलाई कसैको बैशाखी टेक्न आवश्यक छैन,’ उनले भने । उनले आफ्नै पार्टीका नेता घनश्याम भुसालप्रति व्यंग्य हाने । भुसालले विभाजित भएका कम्युनिष्टहरु आउने स्थानीय निर्वाचनमा मिल्नुपर्ने बताएपछि अध्यक्ष ओलीले उनीप्रति सो व्यंग्य हानेका हुन् ।

    ‘माधव नेपाल भन्ने गुटलाई भनेको कि एमालेलाई ? एमालेलाई भनेको हो भने यस्तो जिस्काउने कुरा नगर्न म सबैलाई सुझाव दिन्छु । झण्डै दुईतिहाइको हैसियतमा रहेको कम्युनिष्ट पार्टीलाई फुटाउने कम्युनिष्ट हुन्छ आफ्नो पार्टीको सरकारलाई भोट नदिएर भाग्ने, अन्त गएर भोट हाल्ने । पार्टीलाई भोट हाल्न परे नहाल्ने, प्रतिक्रियावादीलाई परे पछिल्लो ढोकाबाट गएर भोट हाल्ने । यस्तालाई कम्युनिष्ट मानेर एमालेले मिलिदिनुपर्ने ?’, उनले भने ।

  • साउदी विदेशमन्त्री आज दिनभर उच्चस्तरीय भ्रमणमा व्यस्त रहने, के के कार्यक्रम

    साउदी विदेशमन्त्री आज दिनभर उच्चस्तरीय भ्रमणमा व्यस्त रहने, के के कार्यक्रम

    काठमाडौं । नेपाल भ्रमणका लागि सोमबार काठमाडौं ओर्लिएका साउदी अरबका विदेशमन्त्री राजकुमार फैसल बिन फहरान अल साउद आज दिनभर व्यस्त रहनेछन् । उनले आजै उच्चस्तरीय भेटवार्ता गर्नेछन् । उनले मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्दैछन् । उनले आजै परराष्ट्रमन्त्री नारायण खड्कासँग पनि भेटवार्ता गर्ने र पारस्परिक सहयोग अभिवृद्धि सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गर्ने कार्यक्रम छ । उक्त सम्झौतापछि नेपाल र साउदी अरबबीच सञ्चार, शिक्षा, संस्कृति, उद्योग, खेलकुदलगायत क्षेत्रमा सहकार्य गर्न बाटो खुल्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    साउदी अरब नेपाली श्रमिकका निम्ति प्रमुख गन्तव्य देश हो । करिब चार लाख नेपालीले उक्त मुलुकमा रोजगारी पाएका छन् । साउदी अरबका विदेशमन्त्री राजकुमार फैसल २३ सदस्यीय भ्रमण टोलीको नेतृत्व गर्दै निजी विमानमार्फत् फागुन ३० गते बेलुकी नेपाल आएका थिए । उनको सम्मानमा परराष्ट्रमन्त्री खड्काले दिवा भोज आयोजना गरेका छन् । त्यसपछि उनी आजै स्वदेश फर्कने छन् ।

  • राप्रपा अध्यक्षको चेतावनी: हलो चिन्ह नदिए सडकमा जान्छौं

    राप्रपा अध्यक्षको चेतावनी: हलो चिन्ह नदिए सडकमा जान्छौं

    बर्दिया। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो पार्टीलाई चुनाव चिह्न हलो नदिए सडकमा जाने चेतावनी दिएका छन् । बर्दियामा सोमबार आयोजित आमसभालाई सम्बोधन गर्दै अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपालाई चुनाव चिह्न हलो दिनुपर्ने माग गरे । नदिए सडकबाट विकल्प खोज्ने उनको चेतावनी छ । राप्रपालाई चुनाव चिह्न हलो नदिएमा निर्वाचन बहिस्कार नगर्ने तर हुन नदिने उनको भनाई छ ।

    राप्रपालाई राजनीतिक मुलधारबाट धकेल्ने र देशलाई मुठभेडतर्फ लैजान खोजेको भन्दै लिङ्देनले सरकार र निर्वाचन आयोगको ध्यानाकर्षण समेृत गराए । राप्रपालाई राष्ट्रिय राजनीतिको मूलधारबाट पर धकेल्ने कुरा स्वीकार्य नभएको भन्दै द्वन्द्व र मुठभेडतर्फ मुलुकलाई नधेकेल्न सरकार र निर्वाचन आयोगको गम्भीर ध्यानाकर्षण गराए ।

  • एमसीसी प्रकरणमा भीम रावलविरुद्ध प्रधानमन्त्रीको आक्रोस

    एमसीसी प्रकरणमा भीम रावलविरुद्ध प्रधानमन्त्रीको आक्रोस

    काठमाडौं । एमसीसी प्रकरणमा प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले नेता भीम रावलविरुद्ध आक्रोस व्यक्त गरेका छन् । रावल मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विरोध गर्दै आएका नेता हुन् । सोमबार किस्पाङ गाउँपालिकाको भवन उद्घाटनमा नुवाकोट पुगेका प्रधानमन्त्री देउवाले एमसीसी नेपालको हितमा रहेको मिेत उल्लेख गरे ।

    तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सदनमा ल्याएको प्रस्तावलाई आफूले पारित गरेको भन्दै देउवाले अगाडी भने, , ‘मैले एमसीसी पास गर्दा भीमबहादुर रावललाई किन टाउको दुख्ने ?’ एमसीसी परियोजनाका बारेमा गरिएका नकारात्मक टिप्पणीहरु भ्रममात्र भएको भन्दै उनले रावल मन्त्री हुँदा एसमसिसीको प्रक्रिया अघि बढेको उल्लेख गरे ।

    ‘एमसिसी राष्ट्रघाती भन्दै हिँड्ने उहाँ रक्षामन्त्री हुँदा अनुमोदनका लागि संसद्मा लैजान हस्ताक्षर गर्ने अनि अहिले विरोध गर्दै हिँड्ने ?’ उनले नेता रावललाई आफैं सहभागी मन्त्रिपरिषद्ले एमसीसी संसदमा लैजान पास गर्दा किन राजीनामा नदिएको भनेर प्रश्न समेत गरे । सरकारमा हुँदा एमसिसी चाहिन्छ भनेर संसद्बाट पास गर्न लाग्नेहरु अहिले सत्ताबाट बाहिर हुँदा विरोध गरेको भन्दै उनले दोहोरो चरित्र नदेखाउन उनको आग्रह छ ।

  • नेपालमा थप ५८ जनामा कोरोना, १४८ जना संक्रमण मुक्त

    नेपालमा थप ५८ जनामा कोरोना, १४८ जना संक्रमण मुक्त

    काठमाडौं । नेपालमा थप ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    देशभर गरिएको ३ हजार ५ सय ३९ पिसिआर परीक्षणका क्रममा ५० जना र १ हजार ८ सय ७९ एन्टिजेन परिक्षणका क्रममा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

    त्यस्तै सोमबार पनि कोरोनाका कारण कसैको पनि मृत्यु भएको छ। हालसम्म नेपालमा कोरानाका कारण ११ हजार ९ सय ५० जनाको मृत्यु भएको छ।

    त्यस्तै थप १ सय ४८ जना कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ९ लाख ६१ हजार २ सय १८ जना निको भएका छन्। हाल नेपालमा ४ हजार ८ सय १९ सक्रिय संक्रमित आइशोलेशनमा र १०६ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।

  • कोरियन भाषा परीक्षाका लागि चैत १४ देखि आवेदन खुल्ने, साढे ९ हजार लैजाने

    कोरियन भाषा परीक्षाका लागि चैत १४ देखि आवेदन खुल्ने, साढे ९ हजार लैजाने

    काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस)अन्तर्गत कोरियन भाषा परीक्षाको आवेदन खुला भएको छ । ईपिएस कोरिया शाखाले आज सूचना जारी गर्दै भाषा परीक्षाका लागि इच्छुक नेपाली नागरिकबाट आवेदन माग गरेको हो ।

    दक्षिण कोरिया सरकारले सन् २०२२ मा नेपालबाट ९ हजार ६५४ नेपाली रोजगारीका लागि लैजाने छ । तीमध्ये ६ हजार ९१३ उत्पादनमूलक र २ हजार ७४१ कृषि तथा पशुपालनतर्फ लैजाने कोरियाको तयारी छ । कोरियामा श्रमिकको मागका आधारमा नेपाली श्रमिकको छनोट थपघट हुने शाखाले जनाएको छ ।

    भाषा परीक्षामा सहभागी हुन आगामी चैत १४ देखि २१ गतेसम्म आवदेन फारम भर्न सक्ने शाखाले जनाएको छ । आवेदन फाराम httpsM//eoers.epsnepal.gov.np मार्फत भर्न सकिनेछ । परीक्षामा सहभागीको भाषा परीक्षाका साथै सीप परीक्षण पनि हुनेछ । आवेदन फारम शुल्क अमेरिकी डलर २४ लाग्नेछ ।

    आवेदन दिएकामध्ये कृषि तथा पशुपालन क्षेत्रतर्फको भाषा परीक्षा र सीप परीक्षण आगामी वैशाख २६ देखि जेठ १३ सम्म पहिलो चरण र आगामी जेठ २४ देखि असार १६ गतेसम्म दोस्रो चरणमा हुनेछ ।

    यस्तै उत्पादनमूलक क्षेत्रतर्फको परीक्षा आगामी असार २० देखि भदौ १० सम्म पहिलो चरण र आगामी भदौ १६ देखि असोज २१ गतेसम्म दोस्रो चरणमा हुनेछ । परीक्षा एक दिनमा चार सिफ्टमा सञ्चालन हुने शाखाले जनाएको छ ।

    कृषि तथा पशुपालन क्षेत्रतर्फ पहिलो चरणमा भएको भाषा परीक्षाको नतिजा आगामी जेठ २४ गते र दोस्रो चरणमा भएको परीक्षाको नतिजा आगामी असार २३ गते प्रकाशन हुनेछ । यस्तै उत्पादनमूलक क्षेत्रतर्फ पहिलो चरणमा सम्पन्न भाषा परीक्षाको नतिजा आगामी भदौ १६ गते र असोज २७ गते प्रकाशन हुनेछ ।

  • साउदी अरेबियाका राजकुमार तथा विदेशमन्त्री आज नेपाल भ्रमणमा आउँदै

    साउदी अरेबियाका राजकुमार तथा विदेशमन्त्री आज नेपाल भ्रमणमा आउँदै

    काठमाडौं । साउदी अरेबियाका राजकुमार तथा विदेशमन्त्री फैजल अल बिन फरहान अल साउद सोमबार नेपाल भ्रमणमा आउँदैछन् । परराष्ट्र मन्त्रालयले यस्तो पुष्टी गरेको हो । राजकुमार फैजल दुई दिने भ्रमणका लागि नेपाल आउन लागेका हुन् । प्रवक्ता सेवा लम्सालका अनुसार राजकुमार फैजल सोमबार अपराह्न नेपाल आइपुग्ने छन् । उनको भ्रमणका अवसरमा नेपाल सरकारले गर्ने तयारीको काम पुरा गरिसकेको छ ।

    नेपाल भ्रमणका क्रममा राजकुमार फैजलले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्नुहुने कार्यक्रम छ । परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग राजकुमार तथा साउदी विदेशमन्त्री फैजलको मङ्गलबार द्विपक्षीय भेटवार्ता गर्नुहुने कार्यक्रम रहेको छ ।

    मन्त्री खड्काले राजकुमार फैजलसहितका साउदी प्रतिनिधिमण्डललाई नेपाल सरकारका तर्फबाट दिवा भोजको आयोजना गर्नेछन् । साउदी अरव धेरै नेपाली रहेको मुलुकमध्ये एक हो । यस भ्रमणमा दौरान नेपाली कामदारको हकहित र द्धिपक्षीय हितका विषयमा छलफल हुने बताइएको छ ।

  • तनहुँमा बस र जिप ठोक्किए, ३ जनाको मृत्यु

    तनहुँमा बस र जिप ठोक्किए, ३ जनाको मृत्यु

    तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका दुई ऐनापहरामा आज आइतवार भएको सडक दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । आइतबार दिउँसो बस र जीप ठोक्किएका हुन् । दुर्घटनामा अन्य १० जना घाइते भएका छन् । दुई जना पुरुष र एक जना महिलाको मृत्यु भएको र उनीहरुको परिचय नखुलेको प्रहरीले जनाएको छ । घाइतेलाई थप उपचारका लागि चितवन पठाइएको छ । मुग्लिनङबाट आँबुखैरेनीका लागि छुटेको ग २ ख ३०७ नम्बरको बस र विपरीत दिशाबाट जाँदै गरेको ग ३ च ६०१२ नम्बरको जीप एकआपसमा ठोक्किएर दुर्घटनामा परेको हो ।

  • निलम्बित प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोग प्रस्ताव संसदमा, यस्ता छन् आरोप

    निलम्बित प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोग प्रस्ताव संसदमा, यस्ता छन् आरोप

    काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव प्रतिनिधिसभामा पेस गरिएको छ ।

    आइतबार बसेको प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठकमा सत्तारुढ नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक देव गुरुङले महाअभियोग प्रस्ताव पेस गरेका हुन्।

    न्यायालयको विकृति, विसंगति अन्त्य गर्न नसकेको, न्याय परिषद्को बैठक राख्न नसकेको तथा आफ्नो क्षेत्राधिकारअनुसार काम गर्न नसक्दा न्याय अवरुद्ध हुँदा महाभियोग प्रस्ताव ल्याएको गुरुङले बैठकमा जानकारी दिए ।

    उनले न्याय सम्पादनमा आँच आएको तथा न्यायालय क्षेत्रमा भइरहेको गत्यारोध अन्त्य गर्न महाअभियोगको प्रस्ताव ल्याएको जानकारी दिए ।

    संवैधानिक जिम्मेवारीलाई दुरुपयोग गरेको आरोप लगाएको महाअभियोग प्रस्तावमा जबराका कार्य एकपछि अर्को विवादास्पद बनेको बताइएको छ ।

    १ फागुनमा दर्ता गरिएको महाअभियोग प्रस्ताव आइतबार प्रतिनिधिसभा बैठकमा पेस गर्दै उनले पारित गर्न सघाउन सबै सांसदहरूलाई आग्रह गरे ।

    उक्त महाअभियोग दर्ता भएको करिब तीन सातापछि मात्रै संसदमा अघि बढाइएको हो। प्रतिनिधिसभा नियमावलीको नियम १६१ को उपनियम (५) बमोजिम गुरुङले संसद् बैठकमा प्रस्तुत गरेपछि छलफल अघि बढेको हो।

    यसअघि फागुन २२ को प्रतिनिधिसभाको बैठकले जबराविरुद्ध लगाइएको महाअभियोग अघि बढाउन ११ सदस्यीय सिफारिस समिति बनाएको थियो।

    समितिमा भदौ २३ देखि संसदमा अवरोध गरिरहेको नेकपा एमालेका चारजना सांसदलाई पनि राखिएको थियो। एमालेबाट विष्णु पौडेल, लालबाबु पण्डित, डा. शिवमाया तुम्बाहम्फे र कृष्णभक्त पोखरेल रहेका छन्।

    यस्ता छन् आरोपहरू :

    १) लोकतन्त्र, मानवअधिकार, जनताको न्याय, विधिको शासन संवैधानिक सर्वोच्चता, स्वतन्त्र, सक्षम र जिम्मेवार न्यायपालिकाको जगेर्ना गर्न वर्तमान प्रधानन्यायाधीश असक्षम रहेका छन्।

    २) सर्वोच्च अदालत लगायत न्यायपालिका भित्र नै निजको कार्यकालमा अतिशयोक्ति विकृति विसंगती, भष्टाचार, विचौलियहरुले प्रवेश पाएको र प्रभाव बढाउँदै लगेको अवस्था विद्यमान छ।
    ३) नेपालको संविधानले स्वतन्त्र, सक्षम र निष्पक्ष जवाफदेही न्यायपालिकाको परिकल्पना गरी तदनुसारको संवैधानिक प्रवन्ध गरेको छ। संविधानले परिकल्पना गरेको मूल्य र आदर्श सहितको न्यायपालिकाको लागि न्यायाधीशहरुको लागि सोही अनुसारको सेवा र सुविधाको सर्त कानुन अनुसार नै तय गरिएको छ।

    शक्ति पृथकीकरणको सिद्धान्त अनुसार राज्यका सम्पूर्ण अवयवहरूलाई आत्मसाथ नेपालको संविधानले नेपालको न्यायपालिका यसमा कार्यरत न्यायाधिसहरूलाई स्वतन्त्र र निर्भिकताका साथ इमान्दारितापूर्वक ढंगले पदीय कर्तब्य निर्वाह गर्ने संवैधानिक दायित्व सुम्पी त्यो दायित्व नेपाली जनताले बुझाएको करबाट स्थापित संचित कोषबाट निजहरूले पारिश्रमिक सेवा सुविधा प्राप्त गर्ने व्यवस्था गरेको छ।

    संविधानको पवित्र दर्शनलाई भत्ताभुंग पार्ने गरी स्वयं पदासीन निज प्रधानन्यायाधीशबाट उक्त संवैधानिक जिम्मेवारीलाई आफ्नो निजी सम्पत्ति सरह स्वेच्छाचारी ढंगले देखादेखी दुरुपयोग गरेकोले नेपालको सिंगो न्याय क्षेत्र कानुनको रक्षा एवं स्वतन्त्र र सक्षम न्यायपालिकाको अभिबृद्धि गर्नुपर्ने दायित्व बोकेका स्वयं प्रधानन्यायाधीशले सो अनुसारको कर्तब्य पालना गर्न असक्षम तथा विफल हुन पुगेका छन्।

    ४) न्यायपालिका संविधानको अन्तिम व्याख्याता हो भने यसको नेतृत्व गर्ने प्रधानन्यायाधीश यसको जिम्मेवारी पाउने अन्तिम पदाधिकारी हुन्। प्रधानन्यायाधीशले नियुक्त हुने वित्तिकै संविधान र कानूनको रक्षाका लागि सपथ लिएको मानिन्छ तर दुर्भाग्य नै भन्नुपर्छ। तर प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराका एकपछि अर्को विवादास्पद, आपत्तिजनक, पदीय मर्यादा र आचरण विपरित एवं संविधान र कानुन विपरित हुँदै गएका छन्।

    सक्षम एवं शसक्त न्यायालयको अभावमा सिंगो संविधान र कानुन जीवन्त हुन संभव छैन्। यसका लागि सिंगो न्यायालय स्वतन्त्र, सक्षम, निश्पक्ष , भष्टाचार मुक्त र जिम्मेवार हुन जरुरी छ। न्यायशीलता न्यायालयको पहिलो गुण हो। त्यसैले न्यायालयलाई न्यायका लागि अन्तिम उपाय भनिएको हो।

  • माधव नेपालसहित १४ सांसदविरुद्धको रिट पूर्ण इजलासमा पठाउन आदेश

    माधव नेपालसहित १४ सांसदविरुद्धको रिट पूर्ण इजलासमा पठाउन आदेश

    काठमाडौं । सर्वोच्च अदालतले एमालेले निष्कासन गरेका १४ सांसदको मुद्दालाई फैसलाका लागि पूर्ण इजलासमा पठाउन आदेश गरेको छ।

    सर्वोच्च अदालतका न्यायाधीश ईश्वर खतिवडा र कुमार चुँडालको इजलासले फैसलाका लागि पूर्ण इजलासमा पठाउन आदेश दिएको हो।

    पूर्ण सुनुवाईको लागि मिति भने तोकेको छैन् । अब पूर्ण सुनुवाईपछि १४ सांसदको पद कायम रहने वा पदमुक्त हुने टुंगो लाग्नेछ ।

    नेकपा एमालेले पार्टी विभाजन हुँदा सभामुख अग्निप्रसाद सापकोटाले असंवैधानिक कदम चालेको र अवैध तरिकाले माधवकुमार नेपालसहित १४ सांसदको पद जोगाएको भन्दै गत भदौ १७ गते सर्वोच्चमा रिट दायर गरेको थियो ।

    लामो समय हेर्न नभ्याउने लगायतका सूचीमा परेको उक्त रिटमाथि फैसला हुन सकेको छैन् । नेकपा एमालेले आफुले कारबाही गरेका १४ संसदको पद खारेज नभएसम्म संसद अवरुद्ध जारी राख्ने अडान कायमै राखेको छ ।

  • कांग्रेसको चुनाव लक्षित घरदैलो अभियान आजबाट

    कांग्रेसको चुनाव लक्षित घरदैलो अभियान आजबाट

    काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तहलाई लक्षित गरि आजबाट देशभर घरदैलो अभियान चलाउने भएको छ । यस अभियानका दौरान कार्यक्रतालाई हरेक घरमा पठाउने तयारी कांग्रेसको रहेको छ । ३० वैशाखमा घोषित निर्वाचनका लागि कांग्रेसले चैत २९ गतेसम्म यो अभियान चलाउन लागेको हो । कांग्रेसले घरघर जाऔं कांग्रेस जिताऔं अभियान सुरू गरेको हो।


    यसका लागि ७७ जिल्लामा केन्द्रीय सदस्यहरूलाई केन्द्रीय प्रतिनिधिका रूपमा खटाइएको छ। ०७९ वैशाख ३० मा स्थानीय चुनाव हुने भएकोले त्यसअघि दुई चरणमा घरदैलो अभियान गर्ने कांग्रेसको तयारी छ। कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माका अनुसार यस अभियानमा मतदानमा सबैलाई सहभागी हुन अपिल गरिनेछ।

    साथै आचारसंहिता पालना गर्दै स्वस्थ प्रतिस्पर्धामा जोड दिने, स्थानीय पार्टी संरचनालाई पूर्णता दिने, सम्वृद्धि संवाद गर्ने, जनतासँग सम्बन्ध प्रगाढ बनाउने तयारी छ। पार्टीका विभिन्न समिति र नेतारकार्यकर्ताबीच समन्वय तथा सौहार्दता वृद्धि अभियानमार्फत् गरिने उनले बताए। सत्यतथ्यको प्रचार र अनेक भ्रमका चिरफार यस चुनावी अभियानमार्फत् सञ्चालन गरिने उनले जानकारी दिए ।

  • भेरी नदीमा नुहाउने क्रममा सुर्खेतमा तीन बाल-बालिका वेपत्ता

    भेरी नदीमा नुहाउने क्रममा सुर्खेतमा तीन बाल-बालिका वेपत्ता

    सुर्खेत । सुर्खेतमा भेरी नदीमा नुहाउने क्रममा तीन जना बालबालिका बेपत्ता भएको प्रहरीले जनाएको छ । शनिबार बेलुका पाँच बजेको समयमा दुई जना बालिका र एक जना बालक बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी गराएको छ ।

    स्थानीय संचारमाध्यमले लेखे अनुसार भेरीगङ्गा नगरपालिका वडा नम्बर १३ की १२ वर्षीया गङ्गा खड्का, १२ वर्षीया कृष्णा सिञ्जाली र लेकवेशी नगरपालिका वडा नम्बर पाँचका ८ वर्षका दिनेश बुढा बेपत्ता भएका छन् ।

    जिल्ला प्रहरी कार्यालय सुुर्खेतका प्रवक्ता डीएसपी रामप्रसाद घर्तीले घटनाको पुष्टी गरेका छन् । भेरीगङ्गा नगरपालिका वडा नम्बरं ११ रामघाटमा रहेको भेरी नदीमा नुहाउने क्रममा बालबालिका बेपत्ता भएका हुन् । उनीहरुको खोजी कार्य जारी रहेको छ ।

  • नेपालमा ७३ जनामा कोरोना पुष्टी

    नेपालमा ७३ जनामा कोरोना पुष्टी

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टमा ७३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दुई हजार २३८ पीसीआर परीक्षणमा ३० जना र दुई हजार ८२४ एन्टिजेन परीक्षणमा ४३ जना गरी ७३ जनामा संक्रमण पुष्टि भएको हो ।

    पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या १९२ रहेको छ । कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन । मन्त्रालयका अनुसार हाल देशभर कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या पाँच हजार ५० रहेको छ ।

  • भारतमा वैकल्पिक शक्तिको सानदार बिस्तार : दिल्लीपछि पंजावमा आम आदमीको दुई तिहाईको सरकार

    भारतमा वैकल्पिक शक्तिको सानदार बिस्तार : दिल्लीपछि पंजावमा आम आदमीको दुई तिहाईको सरकार

    नयाँ दिल्ली । परम्परागत राजनीतिक शक्तिलाई चूनौति दिँदै वैकल्पिक शक्तिका रुपमा उदाए्का अरविन्द केजरीवालले आफ्नो शक्तिलाई अझ मजवुत बनाउन सफल भएका छन् । भारतको राजधानी शहर नयाँ दिल्ली राज्यमा लगातार दुई कार्यकाल मूख्यमन्त्री पद सम्हालिरहेका उनले आफ्नो पार्टीलाई पंजाव राज्यमा समेत ऐतिहासिक जित दिलाएका छन् ।

    कुल ११७ सीट रहेको यो राज्यमा आम आदमी एक्लैले ९२ पदमा जित निकालेको छ । जुन दुई तिहाई बहुमत हो । सोहीकारण पूर्वघोषित उमेदवारका रुपमा भगवंत मान यो प्रदेशका मूख्यमन्त्री बन्ने निश्चित भएको छ । उनले राज्यपालसँग आज आफ्नो सरकारको दावा पेश गर्नेछन् । त्यसपछि राज्यपालले उनलाई मूख्यमन्त्री पदमा नियुक्ति दिने भएका छन् ।

    भारतीय संचारमाध्यमहरुका अनुसार आइतबार अरविन्द केजरीवालसमेतको सहभागितामा आमआदमी पार्टीले पञ्जावमा विशाल विजयी ¥याली गर्ने भएको छ । त्यसपछि भगवंतले मूख्यमन्त्री पदको सपथ लिनेछन् । पञ्जाव कांग्रेसको गढ हो । तर, आमआदमको झाडुले यस पटक राष्ट्रिय पार्टीहरु नराम्रोसँग बढारिएका छन् । जसले गर्दा कांग्रेस भित्रै आन्तरिक कलह चुलिएको छ । यस पटक आम आदम पार्टीले गोवामा समेत दुई सिटमा जित निकाल्दै आफ्नो उपस्थिति देखाएका छ ।

    राजनीतिक गुरुहरुले अरविन्दको यही क्रेज कायम रहेमा केही वर्ष भित्रै उनी राष्ट्रिय दलको मान्यतासहित शक्तिशाली बन्ने संकेत गरेका छन् । उनले खासगरि जनजिविकालाई आफ्नो शासनकालको मूख्य हतियार बनाइरहेका छन् । यसमा जनतालाई विजुली, पानी निशुल्क गर्नेदेखि शिक्षा र स्वास्थ्यको क्षेत्रमो उनले क्रान्ती नै ल्याएका छन् ।

  • दुई थाई युवतिको साथबाट प्रतिवन्धित भारतीय नोट बरामद

    दुई थाई युवतिको साथबाट प्रतिवन्धित भारतीय नोट बरामद

    काठमाडौं । नेपालमा प्रतिबन्धित भारतीय मुद्रासहित दुई विदेशी महिला पक्राउ गरेका छन् । नेपालबाट भारत जन लागेका दुवै जनालाई त्रिभुवन विमानस्थलबाट पक्राउ गरिएको प्रहरीको भनाई छ । पक्राउ पर्नेमा थाई नागरिक ३२ वर्षीया वान्विसा जन्टासन र वारापर्न खुर्सोम्बात छन् ।

    वान्विसाको साथबाट एक हजार र पाँचसयका एक लाख ७९ हजार ५०० र वारापर्नको साथबाट एक लाख १५ हजार भारतीय रुपैयाँसमेत बरामद गरेको छ । उनीहरूलाई आवश्यक कार्बाहीका लागि राजश्व अनुसन्धान विभाग ललितपुरमा बुझाइएको प्रहरीको भनाई छ ।

  • चितवनमा तीन जना सवार मोटरसाइकल दुर्घटना, सबैको मृत्यु

    चितवनमा तीन जना सवार मोटरसाइकल दुर्घटना, सबैको मृत्यु

    चितवन । चितवनमा तीन जना सवार मोटरसाइकल दुर्घटनामा सबै यात्रुको निधन भएको छ । प्रहरीका अनुसार इच्छाकामना गाउँपालिका-२ मा मोटरसाइकल दुर्घटनामा उनीहरुको निधन भएको हो शुक्रबार साँझ पाँच बजे इच्छाकामना २ रमाइलोडाँडास्थित भित्री सडकखण्डमा शक्तिखोरतर्फ जाँदै गरेको प्रदेश २–०३(००२ प ५९८६ नं.को मोटरसाइकल अनियन्त्रित भएर सडकबाट ४०० मिटर तल खसेको हो ।

    दुर्घटनामा परी मृत्यु हुनेमा इच्छाकामना गाउँपालिका २ का ३४ वर्षीय नवीन गुरुङ, सोही वडा नं. ३ बस्ने ३० वर्षको प्रतिभा गुरुङ र उनका पाँच वर्षका छोरा ५ का आरोन गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

  • स्थानीय तहमा उठ्ने उमेदवारले खर्च गर्न पाउने रकमको सिलिङ तोकियो, कसको कति ?

    स्थानीय तहमा उठ्ने उमेदवारले खर्च गर्न पाउने रकमको सिलिङ तोकियो, कसको कति ?

    काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहमा उमेदवार बन्ने उमेदवारले खर्च गर्न पाउने रकमको सिलिङ तोकेको छ । निर्वाचन ३० वैशाखमा घोषणा गरिएको छ । शुक्रबार विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूसँग छलफल गर्दै आयोगले खर्च सीमाबारे जानकारी गराएको हो । आयोगका अनुसार निर्वाचनमा महानगरपालिका प्रमुख र उपप्रमुख उम्मेदवारले बढीमा ७ लाख ५० हजार रुपैयाँमात्रै खर्च गर्न पाउने छन् ।

    उपमहानगरपालिका प्रमुख र उपप्रमुखको उम्मेदवारले बढीमा ५ लाख ५० हजार रुपैयाँ र नगरपालिका प्रमुख र उपप्रमुखका उम्मेदवारले बढीमा ४ लाख ५० हजार रुपैयाँसम्म खर्च गर्न पाउनेछन् । आयोगले गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षले बढीमा ३ लाख ५० हजार रुपैयाँ खर्च गर्न पाउने ‘सिलिङ’ तोकेको छ। महानगरपालिकाको वडा अध्यक्ष र सदस्यको उम्मेदवारले बढीमा ३ लाख रुपैयाँ र उपमहानगरको वडा अध्यक्ष र सदस्यको उम्मेदवारले बढीमा २ लाख ५० हजार रुपैयाँसम्म खर्च गर्न पाउने व्यवस्था आयोगले गरेको छ।

    नगरपालिकाको वडा अध्यक्ष र सदस्यको उम्मेदवारले बढीमा २ लाख रुपैयाँ खर्च गर्न पाउने र गाउँपालिकाको वडा अध्यक्ष र सदस्यको उम्मेदवारले बढीमा १ लाख ५० हजार रुपैयाँ खर्च गर्न पाउने छन् । जिल्ला समन्वय समिति प्रमुखको उम्मेदवारले ५० हजार रुपैयाँसम्म र सदस्यको उम्मेदवारले २५ हजार रुपैयाँसम्म खर्च गर्न पाउनेछन्।