Category: समाचार

  • ‘सूर्य कसरी हरियो हुन्छ? हामीलाई रातो सूर्य देऊ न त’

    ‘सूर्य कसरी हरियो हुन्छ? हामीलाई रातो सूर्य देऊ न त’

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोग र पाँच दलीय सत्ता गठबन्धनबीच साँठगाठ भएको आरोप लगाएका छन्।

    एमाले अध्यक्ष ओली बबरमहलस्थित कार्की ब्यांक्वेटमा आज सुरु भएको पोलिटब्युरो बैठकलाई सम्बोधन गर्दै ओलीले भने, ‘हाम्रो पार्टी विभाजन गर्न सभामुखले र निर्वाचन आयोग पनि लागेको प्रष्ट देखियो।

    अरूको चाहिँ व्यक्ति गरेको कारवाही सभामुखले सूचना टाँसेको छ। हाम्रो केन्द्रित कमिटीको निर्णयलाई चाहिँ सभामुखले लम्ब्याउने र उतातिर निर्वाचन आयोगको दल दर्ताको हतारो।’

    आयोगले आशन्न स्थानीय चुनावबारे सबै दलहरूसँग परामर्श नगरेकोमा पनि ओलीले असन्तुष्टि पोखे।

    आयोग सत्तारूढ गठबन्धनको दबाबमा रहेको ओलीको भनाइ छ। मतपत्रमा हुने दलहरूको चुनावी चिन्हको रङ बदल्दा सत्ता गठबन्धनसँग छलफल भए पनि अरू दलसँग आयोगले परामर्श नगरेको उनले बताए।

    ओलीले भने, ‘आयोगले दलहरूसँग परामर्श गरेको छैन। मतपत्रको रङ बदल्दा सत्ता गठबन्धनसँग छुट्टै छलफल भएको छ। भित्रभित्रै रङ बदलेर हरियो रूख किन राख्नुपर्थ्यो? सकेदेखि अरू पनि हरियो बनाउन पर्थ्यो। सूर्य कसरी हरियो हुन्छ? हामीलाई रातो सूर्य देऊ न त।’

    सरकारले आयोगसँग छलफल गरेर मतपत्रमा हुने चिन्हको रङ हरियो बनाएको दाबी ओलीले गरे। यसपालिको चुनावमा मतपेटिका आफूहरूकै वरपर हुनुपर्ने ओलीले बताए। ‘यसपल्ट मतपेटिका हाम्रो आँखाबाट पर हुनु हुँदैन। हाम्रो आँखा अगाडि मतपेटिका हुनुपर्छ।

    मत गनेर नसकिँदासम्म मतपेटिका छोड्ने होइन। पहिले सुनसरी–३ मा यस्तै भएको छ। सजगता अपनाउनुपर्छ,’ ओलीले भने। आगामी स्थानीय निर्वाचनमा पनि भरतपुर र सिरहा काण्ड दोहोरिन सक्ने आशंका छ ओलीले भने ।

    ओलीले सबै स्थानीय, प्रदेश र केन्द्रको सरकार एमालेले नै बनाउने दाबी गरे ।

    ‘चुनावपछि एमालेले तीनै तहका सरकार बनाउछ। तर स्थानीय तहमा भने छिटपुट ठाउँमा आफूहरूको सरकार बन्न सक्दैन । तर हामी जिम्मेवार भएर लाग्नुपर्छ,’ अध्यक्ष ओलीले भने ।

    बैठकमा सम्बोधन गर्दै अध्यक्ष ओलीले गठबन्धन सरकारले कलात्मक ढंगले स्थानीय तहको निर्वाचन सार्न खोजेको पनि आरोप लगाएका छन् ।

    ‘अहिले पनि कलात्मक ढंगले निर्वाचन सार्ने प्रयास भइरहेको छ । निर्वाचन आयोगका आयुक्तहरुको नियुक्ति बदर गरिदियो भने निर्वाचन हुदैन भन्ने परामर्श भइरहेको छ’, ओलीले भने ।

    निर्वाचन आयोगका आयुक्तहरुलाई भन्न लागाएर निर्वाचन सार्ने प्रयास भइरहेको अध्यक्ष ओलीको दाबी छ । दुई आयुक्तहलाई भन्न लगाएर भएपनि सार्न खोजिएको भन्दै उनले भने, ‘दुई आयुक्तले मात्रै निर्वाचन सम्भव हुदैन भन्दिनुपर्‍यो भन्नेसम्मका कुरा भइरहेका छन्। जो गठबन्धनका दलहरुले भनिरहेको छन्।’

  • प्रधानमन्त्री देउवा आज मोरङसहित प्रदेश नं १ का तीन जिल्लामा पुग्दै

    प्रधानमन्त्री देउवा आज मोरङसहित प्रदेश नं १ का तीन जिल्लामा पुग्दै

    काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवाले देश दौडाहा जारी राखेका छन् । यसक्रममा उनी सोमबार पूर्वी नेपालका तीन जिल्लाको भ्रमणमा जाँदैछन् । प्रधानमन्त्री कार्यालयका अनुसार उनी मोरङको सुन्दरहरैंचा नगरपालिकाको प्रशासनिक भवन शिलान्यास र अस्पताल उदघाटनका लागि मोरङ पुग्ने छन् । देउवाले मोरङको सुन्दरहरैंचा नगरपालिका–८ मा नगरपालिकाको प्रशासकीय भवन शिलान्यास र नगर अस्पताल उदघाटन गर्नेछन् ।

    सुन्दरहरैंचाको कार्यक्रमपछि प्रधानमन्त्री देउवा पाँचथर र खोटाङ जाने कार्यक्रम राखिएको छ । प्रधानमन्त्री सहभागी हुने तीन वटै जिल्लामा सुरक्षा सतर्कता उच्च बनाइएको छ । मोरङको लेटाङमा स्थानीयको आक्रमणबाट प्रहरीको ज्यान गएपछि सो जिल्लामा सुरक्षा व्यवस्थामाथि अझ निगरानी बढाइएको छ । प्रधानमन्त्री भने चुनावी रणनीति अनुसार स्थानीय तहमा भवन शिलान्यासमा सक्रियता बढाएका छन् ।

  • मोरङको लेटाङमा आज बिहानबाटै कर्फ्यु

    मोरङको लेटाङमा आज बिहानबाटै कर्फ्यु

    विराटनगर । स्थानीयको आक्रमणबाट महिला प्रहरीको निधन भएको स्थान मोरङको लेटाङमा आज बिहानैबाट स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ । स्थानीयको आक्रमणबाट एक जना प्रहरीको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालय मोरङले सोमबार बिहान ७ बजेदेखि कर्फ्यु आदेश जारी गरेको हो । प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले सूचना जारी गर्दै आज बिहान ७ बजेदेखि अर्को आदेश नभएसम्मको लागि कर्फ्यु आदेश जारी भएको बताएका छन् ।

    दक्षिणमा लेटाङ नगरपालिका वडा नं. ३ र ४ को गंगेचोक र कमलपुर क्षेत्र, लेटाङ नगरपालिका वडा नम्बर ५ को सबै क्षेत्र, उत्तरमा लेटाङ नगरपालिका वडा नं. ६ को वडा कार्यालय क्षेत्र, पूर्वमा मोरङे खोला क्षेत्र र पश्चिममा चिसाङ खोला क्षेत्रमा कर्फ्यु लगाइएको छ । यौन दुर्व्यवहारका आरोपीलाई पक्राउ गर्न गएको प्रहरी टोलीमाथि आइतबार स्थानीयले आक्रमण गरेका हुन् । सो क्रममा प्रहरी जवान उर्मिला श्रेष्ठको निधन भएको छ ।

  • मोरङको लेटाङमा स्थानीयको आक्रमणबाट महिला प्रहरीको मृत्यु

    मोरङको लेटाङमा स्थानीयको आक्रमणबाट महिला प्रहरीको मृत्यु

    विराटनगर । यौन दुर्व्यवहारको आरोप लागेका एक शिक्षकलाई पक्राउ गर्न गएको प्रहरी टोलीमाथि स्थानीयले आक्रमण गर्दा एक महिला प्रहरी जवानको मृत्यु भएको छ । मोरङको लेटाङमा आइतबार साँझ स्थानीयबासी र प्रहरीबीच झडप हुँदा एक महिला प्रहरीको मृत्यु भएको पुष्टि स्थानीय संचारमाध्यमले गरेका छन् ।

    कोशी अञ्चल अस्पतालले महिला प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको घोषणा गरेको १ नं. प्रदेश प्रहरी कार्यालय, बिराटनगरका एसपी नविन राईलाई उद्तृत गर्दै संचारमाध्यमले लेखेका छन् ।
    यौन दुर्व्यवहार आरोपी लेटाङ नगरपालिका– ५ को शिक्षा विकास माध्यमिक विद्यालयका शिक्षक मनोज पौडेललाई पक्राउ गर्न प्रहरी पुगेको हो । प्रहरी टोली र स्थानीयबीच आइतबार दिनभर झडप भएको थियो ।
    त्यसक्रममा नेपाल प्रहरीको प्रदेश प्रहरी गणमा कार्यरत महिला प्रहरी जवान श्रेष्ठ गम्भीर घाइते भएकी थिइन् । उनको घाँटीमा गम्भीर चोट लागेपछि उपचारका लागि लगिएको थियो ।
    पौडेलले गत शुक्रबार छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोप लागेको छ । आरोपी शिक्षकलाई पक्राउ गर्न प्रहरी पुगेपछि आक्रोशित भिडले आक्रमण गरेको थियो
    आइतबार करिब साढे ७ बजे अवस्था सामान्य बनेपछि प्रहरीले शिक्षकलाई स्कुलबाट निकालेको थियो । प्रहरी कार्यालय ल्याउने क्रममा आक्रोशित भिडले प्रहरीमाथि आक्रमण गरेको हो ।

  • युक्रेनको हवाई क्षेत्र नियन्त्रणमा लिन रुस असफल

    युक्रेनको हवाई क्षेत्र नियन्त्रणमा लिन रुस असफल

    लण्डन (बीबीसी) । बेलायतको रक्षा मन्त्रालयले रुसले युक्रेनको हवाई क्षेत्रमाथि नियन्त्रण गर्न असफल भएको दावि गरेको छ । रुसी हवाई क्षेत्रबाट प्रक्षेपण गरिएका अस्त्रहरूमा मात्र रुस भर पर्नु परेको जनाएको छ । युक्रेनको हवाई क्षेत्रलाई कब्जा गर्नु मस्कोको प्रमुख उद्देश्यमध्ये एक भएको बेलायती रक्षा मन्त्रालयको दाबी छ। द्वन्द्वको सुरुवाती दिनमा युक्रेनको हवाई क्षेत्र आफ्नो नियन्त्रणमा ल्याउनु रुसको प्रमुख उद्देश्यमध्ये एक थियो। तर निरन्तर प्रयासपश्चात् पनि त्यसो गर्न असफल हुनुले रुसी पक्षको प्रगतिलाई धुमिल बनाएको त्यहाँको रक्षा मन्त्रालयले उल्लेख गरेको छ ।

    यद्यपि माइकोलाइभमा रुसी हवाई हमलाहरू दिनभर भइरहेको विवरणहरू सार्वजनिक भएका छन्। त्यहाँ करिब २०० सैनिकहरू बसिरहेको बताइन्छ। सडकहरूमा जारी झडपका कारण मारिओपोलस्थित एक नाटकघरको भग्नावशेषमा फसेका मानिसहरूको उद्धार प्रभावित भएको जनाइएको छ। बुधवार रुसले उक्त नाटकघरमा बम आक्रमण गरेको थियो। त्यहाँ अझै पनि सयौँ मानिसहरूले आश्रय लिइरहेका बताइएको छ।

    राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले त्यहाँको भूमिगत तलामा १,३०० जना जति रहेको बताएका थिए। तर झडपका कारण उद्धारकर्ताहरूलाई त्यहाँ पुग्न वाधा भइरहेको मारिओपोलका नगरप्रमुखले बताएका छन् । नगरप्रमुखका अनुसार रुसी सेनाले त्यस दक्षिणी बन्दरगाह सहरलाई घेरेका छन् र निरन्तर गोलाबारी भइरहेको छ। उनले त्यहाँका हजारौँ बासिन्दालाई रुस पठाइएको जानकारी दिए।

  • ८ महिनामा १ लाख २५ हजार विदेशीले नेपालको भिसा पाउँदा २११ जना निस्काशित

    ८ महिनामा १ लाख २५ हजार विदेशीले नेपालको भिसा पाउँदा २११ जना निस्काशित

    काठमाडौं । चालु आर्थिक वर्षको ८ महिना (साउनदेखि–फागुन)को अवधिमा नेपाल आउन १ लाख २५ हजार ६५८ जना विदेशी नागरिकले भिसा लिएका छन् । यसमा नेपाली नागरिकता त्याग गरेका गैरआवासीय नेपालीको संख्या समेत समावेश छ । अध्यागमन विभागको तथ्यांक अनुसार यस अवधिमा नेपालले २११ जना विदेशी नागरिकलाई भने निष्कासन गरेको छ । नेपालमा भिसा सकिएपछि पनि बसिरहने र आपराधिक गतिविधिमा संलग्न विदेशी नागरिकलाई निष्कासन गरिन्छ ।

    विभागका अनुसार फागुन महिनामा मात्रै १३ जना विदेशी नागरिक निष्कासनमा परेका छन् । यो अवधिमा कुल १ लाख २५ हजार ६५८ जनालाई भने नेपाल आउन भिसा पाएका छन् । यसमध्ये पर्यटक भिसामा १ लाख १३ हजार ६२७ जना आएका छन् । २ हजार ४ जना विदेशी नागरिक व्यवसायिक भिसामा नेपाल आएका छन् । ६ जनाले नेपाललाई ट्रान्जिट बनाएर आएका छन् । वैवाहिक भिसामा ९४३ जना विदेशी नेपाल आएका छन् ।

    अध्ययन भिसामा भने ८९३ जना विदेशी नेपाल आएको देखिएको छ । आवासीय भिसामा ११, गैरआवासीय भिसामा १२८६, नाता भिसामा ३८०८, कामदार भिसामा १७८१, कुटनीतिक भिसामा ४३६, अफिसियल भिसामा ५३८, प्रेस भिसामा ३ र अन्यमा ३२२ जनाले भिसा पाएको देखिएको छ । फागुन महिनामा मात्र २४ हजार १९८ जनाले नेपाल आउन भिसा पाएको विभागको तथ्यांक छ ।

  • पछिल्लो २४ घण्टामा थप ३७ जनामा संक्रमित थपिए, ३८३ जना संक्रमण मुक्त

    पछिल्लो २४ घण्टामा थप ३७ जनामा संक्रमित थपिए, ३८३ जना संक्रमण मुक्त

    काठमाडौं । नेपालमा थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    देशभर गरिएको २ हजार ७ सय ९८ पिसिआर परिक्षणका क्रममा २८ जना र १ हजार २ सय ६३ एन्टीजेन परीक्षणका क्रममा नाैजनामा कोरोना पुष्टि भएको छ।

    आइतबार पनि कोरोनाका कारण कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

    त्यस्तै थप ३ सय ८३ संक्रमित कोरोनामुक्त भएका छन्। हाल नेपालमा ३ हजार २ सय ४१ सक्रिय संक्रमित आइसाेलेसनमा रहेका छन्।

  • देशभरका ११ जिल्लामा फैलियो बर्डफ्लु, ६५ हजारभन्दा धेरै पक्षी नष्ट

    देशभरका ११ जिल्लामा फैलियो बर्डफ्लु, ६५ हजारभन्दा धेरै पक्षी नष्ट

    काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका र चितवनको राप्ती नगरपालिकामा गएको माग २७ गते पहिचान भएको बर्डफ्लु देशभरका ११ जिल्लामा फैलिएको छ ।

    पशु सेवा विभागका अनुसार ११ जिल्लाका कुखुराको नमुना परीक्षण गर्दा बर्डफ्लु पहिचान भएको हो । बर्डफ्लु देखिएका जिल्लामा काठमाडौं, भक्तपुर, ललितपुर, मोरङ, सुनसरी, उदयपुर, मकवानपुर, चितवन, सिन्धुली, पर्सा, धनुषा र कास्की छन् ।

    यी जिल्लाका विभिन्न फार्ममा पालिएका व्यावसायिक कुखुराको नमुना त्रिपुरेश्वरस्थित केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशालामा परीक्षण गर्दा बर्डफ्लुको (एच ५ एन १ एभिएन एन्फ्लुएन्जा) प्रजाति पहिचान भएको हो । बर्डफ्लु पहिचान भएका स्थानहरूमा ६५ हजारभन्दा धेरै कुखुरालगायत घरपालुवा पक्षी नष्ट गरिएको छ ।

  • यी हुन् बक्यौता नतिर्ने ७ वायुसेवा कम्पनी, कालोसूचीमा राख्ने चेतावनी

    यी हुन् बक्यौता नतिर्ने ७ वायुसेवा कम्पनी, कालोसूचीमा राख्ने चेतावनी

    काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले ७ वायुसेवा कम्मनीहरुलाई तत्कालय बक्यौता नतिरे कालोसूचीमा राख्ने चेतावनी दिएको छ ।

    प्राधिकरणले आइतबार एक सूचना जारी गर्दै तीन पटक पत्राचार गर्दा पनि बक्यौता तिर्न नआएपछि सञ्चालकहरूलाई कारबाही गर्ने चेतावनी दिएको हो

    बक्यौता नतिर्नेमा नेकोन एयर, शिवानी एयर, गोरखा एयर, माउण्टेन एयर, कस्मिक एयर, स्काईलाईन एयरवेज र एयर काष्ठमण्डप रहेको सूचनामा उल्लेख गरिएको छ ।

    प्राधिकरणले यी कम्पनीहरूलाई वक्यौता तिर्न आउन २०७७ असोज ७, २०७७ माघ २६ र २०७८ भदौ १२ समेत गरी तीनपटक सार्वजनिक सूचना नै प्रकाशित गरेको थियो।प्राधिकरणले आज अन्तिम पटक भन्दै निकालेको सूचनामा ७ दिन भित्र वक्यौता तिर्न आउन भनिएको छ।

    यदि बक्यौता तिर्न नआए कम्पनीलाई कालोसूचीमा राख्दै भविष्यमा हवाई सेवासम्बन्धी कुनै पनि कामकारबाही गर्न नदिने र सञ्चालकहरूको बैंक खाता रोक्कादेखि राहदानी रोक्कासम्म गरिने चेतावनी दिइएको छ।

    क्यानले नेकोन, शिवानी, गोरखा, माउण्टेन एयर, कस्मिक, स्काईलाइन र एयर काष्ठमण्डपलाई ९ करोड १७ लाख रुपैयाँ बुझाउन भनेको छ।

    क्यानका अनुसार नेकोनका सञ्चालकहरु दीपमणि राजभण्डारी, मुकुन्दभक्त श्रेष्ठ, दीपकराज कोइराला, रविन्द्र श्रेष्ठ, मृगेन्द्र जोशी र रविचन्द्रमान जोशीले ४ करोड ७२ लाख, २५ हजार ३५३ रुपैयाँ बुझाउन बाँकी छ।

    साथै, शिवानी एयरका सञ्चालक मणिन्द्रलाल रञ्जितकारले ५५ लाख ५१ हजार ५३ रुपैयाँ र गोरखा एयरका सञ्चालकहरु प्रज्वल श्रेष्ठ, डा, उज्वल श्रेष्ठ, गिन्नी बाबा श्रेष्ठ, सूर्यप्रसाद श्रेष्ठले २० लाख ३५ हजार २९ रुपैयाँ बुझाउन बाँकी छ।

    क्यानका अनुसार माउण्टेन एयरका सञ्चालकहरु प्रज्ञान शमशेर जबरा, सिद्धिका राणा र शिवेन्द्रबहादुर बस्नेतले ६ लाख १० हजार ८३४ रुपैयाँ र कस्मिक एयरका सञ्चालक क्याप्टेन रविन्द्र प्रसाद प्रधानले ३ करोड ४७ लाख ५८ हजार ७० रुपैयाँ बुझाउन बाँकी छ।

    साथै, स्काइलाइन एयरवेजका सञ्चालकहरु आङ छिरिङ शेर्पा, मिङ्मा दोर्जे शेर्पा, पेम्बा छिरिङ शेर्पा, तेञ्जिङ नोर्बु शेर्पा, यादब खरेल, बिक्रम पाँडे, केदारबहादुर प्रधानांग, उत्तम कृष्ण खरेलले ७ लाख ८० हजार ४०० रुपैयाँ बुझाउन बाँकी छ।

    त्यसैगरी एयर काष्ठमण्डपका सञ्चालकहरु प्रज्वल श्रेष्ठ, उज्ज्वल श्रेष्ठ र हमाद अली जावोर (कतार)ले गरी ७ लाख ३८ हजार ४४७ रुपैयाँ बुझाउन बाँकी छ।

  • यी व्यक्तिहरूको लागि सीमा नाका र विमानस्थलमा कोरोना परीक्षण अनिवार्य

    यी व्यक्तिहरूको लागि सीमा नाका र विमानस्थलमा कोरोना परीक्षण अनिवार्य

    काठमाडौं । स्वास्थ्य मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित सीमा नाकामा रहेका हेल्थ डेस्कमा कोरोना परीक्षण गराउनुपर्ने अवस्थाहरूबारे सूचना जारी गरेको छ ।

    आइतवार मन्त्रालयअन्तर्गतको स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रले सूचना जारी गर्दै पूर्ण खोप प्राप्त नगरेका वा ७२ घण्टाभित्र कोरोना परीक्षण रिपोर्ट नेगेटिभ भएतापनि लक्षण देखिएका यात्रीहरूलाई परीक्षण अनिवार्य गरेको छ ।

    त्यस्तै पूर्ण खोप प्राप्त नगरेका वा ७२ घन्टाको पीसीआर रिपोर्ट नेगेटिभ नभएका, पूर्ण खोप वा पीसीआर रिपोर्ट नेगेटिभ भए पनि कोभिड-१९ सँग मिल्दोजुल्दो लक्षण देखिएका व्यक्तिले नाकामा कोभिड-१९ परीक्षण गराउनुपर्ने बताएको छ ।

    ‘५ वर्षमाथिका बालबालिकाहरू जसले पूर्ण खोप प्राप्त गरेका छैनन् वा जसको ७२ घण्टाभित्रको कोभिड–१९ परीक्षणको नेगेटिभ रिपोर्ट छैन वा दुवैमध्ये कुनै एउटा भए पनि कोभिड-१९ सँग मिल्दाजुल्दा लक्षण छन् भने परीक्षण गराउनुपर्ने’ सूचनामा उल्लेख छ ।

    साथै सीमानाका वा हवाई नाकामा खटिएका स्वास्थ्यकर्मीहरूले आवश्यक ठानेमा कोरोना परीक्षणलगायत अन्य संक्रामक रोगहरूको समेत परीक्षण गर्न सक्ने मन्त्रालयले जनाएको छ ।

  • नेपालमा निरन्तर बढ्दै तापक्रम, काठमाडौंमा उच्चतम ३१.५ डिग्री पुग्यो

    नेपालमा निरन्तर बढ्दै तापक्रम, काठमाडौंमा उच्चतम ३१.५ डिग्री पुग्यो

    काठमाडौं । नेपालमा सुख्खायाम शुरु भएपछि तापक्रम समेत निरन्तर बढिरहेको छ । पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव कायम रहेपछि देशभर मौसम भने सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शनिबार काठमाडौंको उच्चतम तापमान ३१‍.५ डिग्री सेल्सियस मापन भएको छ । शनिबार सबैभन्दा उच्च तापक्रम धरानमा ३६.७ डिग्री सेल्सियस मापन भएको महाशाखाले जनाएको छ ।

    विराटनगरमा ३६.६ र भैरहवामा ३६.५ डिग्री सेल्सियस तापक्रम मापन भएको छ । आइतबार सुदूर पश्चिम, कर्णाली, गण्डकी प्रदेश र प्रदेश १ लगायत बाँकी प्रदेशको पहाडी भू(भागमा आंशिक देखि सामान्य बदली र अन्य भू भागमा आंशिक बदली रहने देखिएको छ । पहाडी भूभागमा कतै मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । सोमबार देशको पहाडी भू-भागमा आंशिक बदली रही अन्य भूभागमा सामान्यतया सफा रहने भएको छ ।

  • नेपाल टेलिकमले इन्टरनेट डाटामा लाग्ने शूल्क घटाउने

    नेपाल टेलिकमले इन्टरनेट डाटामा लाग्ने शूल्क घटाउने

    काठमाडौं । नेपाल टेलिकमले इन्टरनेट डेटा सेवाको शुल्क घटाउने तयारी गरेको छ । उपभोक्तालाई सस्तोमा डेटा दिन टेलिकमले अहिले विभिन्न अवसरमा दिइने अफरलाई स्थायी गर्ने जानकारी गराएको हो । अफरमा दिइने डेटा शुल्क १५ देखि २० प्रतिशतसम्म बढाउँदा मेन ब्यालेन्सबाट चल्ने डेटा शुल्क १५ देखि २० प्रतिशतले घट्ने टेलिकमको भनाइ छ ।

    होली, नयाँ वर्ष लगायत विभिन्न चाडपर्व, दिवस र अवसरका बेला दिइएका अफरहरूलाई स्थायी बनाउन टेलिकमले दूरसञ्चार प्राधिकरणमा प्रस्ताव गरेको छ । प्याकेज नलिई इन्टरनेट चलाउँदा प्रतिएमबीपीएस एक रुपैयाँ पर्ने गरेकोमा स्किमहरु किन्दा ४÷५ पैसामै लिन सकिन्छ ।

  • नेपाल आइडल सिजन-४ को उपाधी थापालाई

    नेपाल आइडल सिजन-४ को उपाधी थापालाई

    काठमाडौं । नेपाल आइडल सिजन-४ को उपाधि भैरहवाका भूपेन्द्र थापा मगरले प्राप्त गरेका छन् । झापाका नामगेल तामाङ फस्ट रनरअप र रामेछापका रञ्जित नेपाली सेकेन्ड रनरअप बने । गतराति सम्पन्न ग्रान्ड फिनालेबाट दर्शकको भोटको आधारमा अन्य चार प्रतिस्पर्धीलाई पछि पार्दै भूपेन्द्रले उपाधि उचाल्न सफल भए । उपाधि विजेता भूपेन्द्रले ट्रफीसँगै ३० लाख रुपैयाँ नगद प्राप्त गरे । तामाङले ५ लाख र नेपालीले ३ लाख रुपैयाँ प्राप्त गरेको आयोजकले जनाएको छ ।

  • म्यादी प्रहरीमा आजबाट आवेदन दिन सकिने

    म्यादी प्रहरीमा आजबाट आवेदन दिन सकिने

    काठमाडौं । ३० वैशाखमा तोकिएको स्थानीय तहको निर्वाचनको प्रयोजनका लागि नेपाल प्रहरीले आजबाट म्यादी प्रहरीको भर्ना खुलाएको छ । आइतबारबाट ११ गतेसम्म १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका इच्छुक व्यक्तिले म्यादी प्रहरीमा भर्नाका लागि आवेदन दिन सक्ने प्रहरीले जनाएको छ । भर्ना हुन अन्य स्वास्थ्य मापदण्ड प्रहरी जवान सरह मानिएको छ । ४० दिनका लागि म्यादी प्रहरी भर्ना गर्न लागिएको हो । म्यादी प्रहरीमा भर्ना हुन सबै जिल्ला प्रहरी कार्यालयमा आवेदन दिन सकिनेछ ।

    म्यादी प्रहरीले प्रहरी जवानसरह नै सेवा सुविधा पाउनेछन्। छनोट भएका म्यादी प्रहरीलाई ७ दिन तालिम दिएर चुनावको सुरक्षामा खटाउने तयारी छ । म्यादी प्रहरीको प्रशिक्षण आउँदो २८ गतेदेखि सुरु हुनेछ । म्यादी प्रहरीले दिनको सात सय ५६ रुपैयाँका दरले तलब पाउनेछन् । ४० दिनको ७ हजार रुपैयाँ रासन भत्ता, पोसाक भत्ता ६ हजार र एक हजार रुपैयाँ यातायात खर्च उपलब्ध गराइनेछ । यस पटक १ लाख म्यादी प्रहरी भर्ना गर्न लागिएको हो ।

  • निर्वाचन नजिकिएसँगै सार्वजनिक कार्यक्रममा प्रधानमन्त्रीको दौडाहा बढ्यो

    निर्वाचन नजिकिएसँगै सार्वजनिक कार्यक्रममा प्रधानमन्त्रीको दौडाहा बढ्यो

    काठमाडौं । स्थानीय तहको निर्वाचन नजिकिएसँगै दलहरु आआफ्नो रणनीतिमा लागेका छन् । नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा भने सार्वजनिक कार्यक्रममा बाक्लै उपस्थित हुन थालेका छन् । उनी पछिल्लो समय स्थानीय तहका प्रशासनिक भवनको उद्घाटनमा बढी सक्रिय देखिएका छन् । अघिल्लो साता नुवाकोटमा विभिन्न स्थानीय तहको भवन उद्घाटनमा पुगेका प्रधानमन्त्री देउवा शनिबार रामेछाप, दोलखा र काभ्रेपलान्चोक जिल्लाको भ्रमणमा निस्किए ।

    सो क्रममा उनले तेमाल गाउँपालिकामा शनिबार प्रशासकीय भवनको उद्घाटन कार्यक्रममा सहभागी भएका उनले आगामी निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न सबै प्रतिबद्ध हुनुपर्ने बताए । प्रधानमन्त्री शनिकार खिम्ची सवस्टेशनको उद्घाटनका लागि सो भेगमा पुगेका थिए । जनता उपस्थित हुने सार्वजनिक कार्यक्रममा कमै जान रुचाउने प्रधानमन्त्रीले निर्वाचन नजिकिएपछि भने जनताबीच पुग्ने माध्यम उदघाटनलाई बनाएका छन् ।

    शनिबार प्रशासकीय भवनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले निर्वाचनलाई सबै पक्षले निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्नुपर्ने आवश्यकता रहेको बताए । जनप्रतिनिधिले जनसवालका काम मात्र गरेर नहुने भएकाले काममा पारदर्शिता, गुणस्तरीयता, जवाफदेहिता र जनताको अपनत्व पनि सुनिश्चित गर्नसमेत आवश्यक रहेको उनको भनाई छ ।

  • भक्तपुरमा गुडिरहेको ट्याक्टरबाट झरेर एक जनाको मृत्यु

    भक्तपुरमा गुडिरहेको ट्याक्टरबाट झरेर एक जनाको मृत्यु

    काठमाडौं । मध्यपुरथिमि–३ कौशलटारस्थित अरनिको राजमार्ग सडकखण्डमा काठमाडौँबाट भक्तपुरतर्फ आउँदै गरेको ट्र्याक्टरबाट खसेर शनिबार एक जनाको ज्यान गएको छ । उदयपुर गाईघाट घर भई ललितपुर इमाडोल बस्ने १८ वर्षीय प्रदीप कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    गुडिरहेको मिक्सचर बोकेको ना ७ त २७७४ नम्बरको ट्र्याक्टरबाट खसेर घाइते भएका कार्कीको उपचारका लागि नेसनल ट्रमा सेन्टर पु¥याइए पनि मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरको भनाई छ । ट्र्याक्टर चालक झापा कन्काई नगरपालिका–५ घर भई ललितपुर इमाडोल बस्ने २७ वर्षीय रोशन गुरुङलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ ।

  • चार हजार नमूना परीक्षण गर्दा मात्र १७ जनामा कोरोना पुष्टी

    चार हजार नमूना परीक्षण गर्दा मात्र १७ जनामा कोरोना पुष्टी

    काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणदर करीव शून्यको हाराहारीमा पुगेको छ । पछिल्लो २४ घण्टामा १७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी चार हजार पाँच सय ४३ जनाको नमूना परीक्षण गरेकोमा १७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।

    थप चार सय नौ जना कोरोना सङ्क्रमित निको भएका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणका कारण कसैको पनि मृत्यु भएन । नेपालमा तीन हजार पाँच सय ९५ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित छन् । यसैबीच पछिल्लो २४ घण्टामा आठ हजार सात सय २९ जनाले कोरोना विरुद्धको खोप लगाएको समेत सरकारको तथ्यांक छ ।

  • नयाँ खिम्ची सव-स्टेशनको प्रधानमन्त्रीद्धारा उद्घाटन

    नयाँ खिम्ची सव-स्टेशनको प्रधानमन्त्रीद्धारा उद्घाटन

    रामेछाप । तामाकोशी जलविद्युत आयोजनाको मुख्य सब-स्टेशनका रुपमा रहेको नयाँ खिम्ची सवस्टेशनको शनिबार प्रधानमन्त्री शेर बहादुर देउवाले उद्घाटन गरेका छन् । शेरबहादुर देउवाले रामेछापको मन्थली नगरपालिका वडा नं. १३ को साँखे (फुलासी)मा निर्माण सम्पन्न भएको नयाँ खिम्ती २२०–१३२ के.भी. सबस्टेशन शनिबार उद्घाटन गरेका छन् ।

    सबस्टेशन स्वदेशी पूँजीमा निर्माण भएको देशकै ठूलो ४५६ मेगावाटको राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको एउटा मुख्य भाग हो । माथिल्लो तामाकोसी आयोजनाले नै निर्माण गरेको यो सब-स्टेशन नेपालमा हालसम्म निर्माण र सञ्चालनमा रहेको ढल्केबरपछिको दोस्रो ठूलो सब-स्टेशन हो।

    तामाकोसी र त्यसका सहायक नदी तथा खोलाबाट उत्पादित विद्युत् जोडिने नयाँ खिम्ती सबस्टेशनबाट करिब एक हजार दुई सय मेगावाटसम्म विद्युत् प्रवाह गर्न सकिने भएको छ । माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् ४७ किलो मिटर लामो २२० के.भी डबल सर्किट प्रसारण लाइनबाट नयाँ खिम्ती सब-स्टेशन जोडिएको छ ।

    माथिल्लो तामाकोसीको अतिरिक्त ६० मेगावाट क्षमताको खिम्ती पहिलो, ५२.४ मेगावाट क्षमताको लिखू चौथो र २४.२ मेगावाट क्षमताको लिखू खोला ’ए’ बाट उत्पादित विद्युत् यही सब-स्टेशनमा जोडिएको छ । नयाँ खिम्ती सब-स्टेशनमा जोडिएको विद्युत् ७६ किलोमिटर २२० केभी प्रसारण लाइनबाट धनुषाको ढल्केवरस्थित ४००–२२०–१३२ केभी सबस्टेशनमा लगिएको छ । ढल्केबरबाट मुलुकभित्र खपतका लागि पूर्व–पश्चिम पठाइएको छ भने बढी भएको विद्युत ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनमार्फत भारततर्फ निर्यात गरिन्छ ।

  • युक्रेनको महत्वपूर्ण शहर मारिओपोलको केन्द्रमा रुसी सैनिक पुगे, भिडन्त जारी

    युक्रेनको महत्वपूर्ण शहर मारिओपोलको केन्द्रमा रुसी सैनिक पुगे, भिडन्त जारी

    काठमाडौं । रुसी सेना युक्रेनको महत्त्वपूर्ण सहर मारिओपोलको केन्द्रमा पुगेपछि त्यहाँ दुई पक्षबीच सङ्घर्ष भइरहेको अन्त्र्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । रुसी सञ्चारमाध्यमले यसबारे विवरणहरू प्रकाशित गरेको बीबीसीले लेखेको छ । मारिओपोलका नगरप्रमुखले भाडिम बोइचेन्कोले बीबीसीसँग सहरको केन्द्रमा सङ्घर्ष भइरहेको पुष्टि गरेका छन् । शसहरको केन्द्र बाँकी छैन। सहरमा युद्धको प्रभाव परेको नदेखिने एउटा सानो ठाउँ पनि छैन,’ उनले भनेका छन् ।

    यद्यपि गत साता रुसी सैनिकहरू युक्रेनमा खासै अघि बढ्न नसकेको सैन्य विश्लेषकहरूले बताएका छन्। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी पक्षले गोलाबारी गरिरहेकाले अझै पनि मारिओपोलबाट गैरसैनिक नागरिकलाई सुरक्षित रूपमा अन्यत्र जान बाटो दिन नसकिएको बताएका छन्। मारिओपोलबाट पश्चिमी युक्रेनको ल्भिभमा पुग्न सफल भएका मानिसहरूले रुसले निरन्तर आक्रमण गरिरहेकाले त्यहाँ व्याप्त आतङ्कबारे बताएका छन्।

    तीमध्ये एक २८ वर्षीया युलिया याशेन्कोले भनिन्, ‘हाम्रो सहर मेटिँदैछ। गोलाबारीले हाम्रा घरहरू जलाएको छ।’ उनले सहरमा जताततै धुवाँको मुस्लो र शव देखिएको बताइन्। तर ती शव जम्मा गर्ने कोही छैन। रुसले बम आक्रमण गर्न थालेपछि उक्त सहरका ८० प्रतिशतभन्दा बढी आवासीय भवनहरू क्षतिग्रस्त वा ध्वस्त भएको बताइएको छ। दुई सातादेखि झन्डै चार लाख मारिओपोलमा फसेका छन्। यद्यपि युक्रेनी अधिकारीहरूले शुक्रवार झन्डै ५,००० जना त्यहाँबाट बाहिर निस्किएको बताएका छन्।

  • नेपाल र सेसेल्सबीच श्रम सम्झौता हुने

    नेपाल र सेसेल्सबीच श्रम सम्झौता हुने

    काठमाडौं । नेपाल र गणतन्त्र सेसेल्सबीच श्रम सम्झौता हुने भएको छ । सेसेल्सको भ्रमणमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले त्यहाँका रोजगार तथा सामाजिक मामिलामन्त्री प्याट्रिका फ्यानकोट र आन्तरिक मामिलामन्त्री इरोल फोन्स्कासँग द्विपक्षीय भेटवार्ता गरेका छन् । भेटवार्तामा नेपाल र सेसेल्सबीचको द्धिपक्षीय हित र आपसी सम्बन्धबारे छलफल भएको श्रम मन्त्रालयले जनाएको छ ।

    रोजगार तथा सामाजिक मामिलामन्त्री फ्यानकोटसँगको भेटमा एक महिनाभित्र द्विपक्षीय श्रम सम्झौतालाई टुङ्गोमा पुर्याउन संयुक्त कार्यदल गठन गर्ने सहमति भएको छ । वैदेशिक रोजगारीका लागि नेपाली कामदार लैजान गणतन्त्र सेसेल्सबाट यसअघि प्राप्त भएको द्विपक्षीय श्रम सम्झौताको प्रस्तावका लागि मन्त्री श्रेष्ठले धन्यवादसहित सेसेल्ससँग द्विपक्षीय श्रम सम्झौता गर्न नेपाल तयार रहेको बताए । न्यूनतम योग्यता, भाषागत क्षमता, न्यूनतम पारिश्रमिक लगायत सेवा सुविधा, कामदार छनोट र स्वदेश फिर्ती लगायत विषयमा संयुक्त कार्यदलले तयारी गर्नेछ ।

    कार्यदलमा नेपालको तर्फबाट मन्त्रालयका उपसचिव डा. थानेश्वर भुषालले नेतृत्व गरेका छन् । अहिले १२ सय ५० भन्दा धेरै नेपाली सेसेल्समा रोजगारीको क्रममा रहेका छन् । सेसेल्स रहेका धेरै नेपाली अहिले सुरक्षागार्डका रुपमा कार्यरत छन् । यसबाहेक होटल तथा पर्यटन क्षेत्रमा पनि केही श्रमिक कार्यरत छन् । नेपाल र सेसेल्सबीच कुटनीतिक सम्बन्ध स्थापना भएको साढे तीन दशक भइसकेको छ ।

  • खिम्ती सवस्टेशनको आज प्रधानमन्त्रीले उद्घाटन गर्दै

    खिम्ती सवस्टेशनको आज प्रधानमन्त्रीले उद्घाटन गर्दै

    काठमाडौं । नयाँ खिम्ती सवस्टेशनको आज उद्घाटन हुने भएको छ । यसका लागि प्रधानमन्त्री देउवा दोलखा जाने कार्यक्रम रहेको छ । स्वदेशी लगानीमा बनेको राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत् आयोजना (४५६ मेगावाट) अन्तर्गत बनेको नयाँ खिम्ती सबस्टेसनको आज उद्घाटन हुन लागेको हो ।

    यसबाट तामाकोशीको जलविद्युत आपूर्तिमा ठूलो सहयोग पुग्ने छ । सबस्टेसनमार्फत ४५६ मेगावाटको माथिल्लो तामाकोशीसहित ५२.४ मेगावाटको लिखु ४ र २४.२ मेगावाटको लिखु ‘ए’ आयोजनाहरुको विद्युत केन्द्रिय प्रणालीमा जोडिनेछ ।

  • अन्तर्राष्ट्रिय जगतमा नेपालको छवि बढेको प्रधानमन्त्रीको दावि

    अन्तर्राष्ट्रिय जगतमा नेपालको छवि बढेको प्रधानमन्त्रीको दावि

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकार सत्तामा आएपछि अन्तर्राष्ट्रिय जगतमा नेपालको छवि र विश्वसनीयतामा उल्लेख्य वृद्धि भएको बताएका छन् । नेपाल विश्व सम्बन्ध परिषद्को ७४औँ वार्षिकोत्सवको अवसरमा आयोजित समारोहमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । नेपाल र नेपाली जनताको हित प्रवद्र्धनमा केन्द्रित भएर अन्तर्राष्ट्रिय समुदायमा देशको छवि उकास्ने, सबै देशबाट अधिकतम सद्भाव, समर्थन अनुकूल अन्तर्राष्ट्रिय वातावरण सिर्जना गर्ने लक्ष्य राखेको उनको भनाई छ ।

    प्रधानमन्त्री देउवाले कोभिड १९ ले निम्त्याएको सीमितताका बाबजुद सरकारले अन्तर्राष्ट्रिय संलग्नतालाई तीव्रता दिइरहेको बताए । विदेशी फोरमहरूमा नेपालको सक्रिय र अर्थपूर्ण सहभागिताले हाम्रो अन्तर्राष्ट्रिय दृश्यता बढाउन मद्दत गरेको उनको भनाइ छ। सरकारले घोषणा गरेको साझा न्यूनतम कार्यक्रमले कार्यान्वयन गर्नुपर्ने प्रमुख प्राथमिकता उल्लेख गर्दै उनले भने, ‘राष्ट्रिय र जनताको हितको संरक्षण तथा प्रवद्र्धन सरकारको प्रमुख प्राथमिकतामा रहेको छ।’

    उच्च र समतामूलक आर्थिक विकास, सामाजिक–आर्थिक रूपान्तरणको आधारशिला निर्माण, सङ्घीयताको कार्यान्वयन र शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्नेलगायतका विषय सरकारको प्राथमिकतामा रहेको उनको भनाइ छ। प्रधानमन्त्री देउवाले पञ्चशीलका सिद्धान्त, असंलग्नता, संयुक्त राष्ट्रसङ्घको बडापत्र, अन्तर्राष्ट्रिय कानुन र विश्व शान्तिका मापदण्डहरूले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको परराष्ट्र नीतिले मार्गदर्शन गरिरहने विश्वास व्यक्त गरे । उदार, नियममा आधारित, न्यायोचित, निष्पक्ष र सहकारी विश्वव्यापी व्यवस्थाको वकालत गर्न जारी राख्ने प्रधानमन्त्रीको भनाइ छ।

  • नेपालमा थप ५१ जनामा कोरोना, ३९२ जना संक्रमण मुक्त

    नेपालमा थप ५१ जनामा कोरोना, ३९२ जना संक्रमण मुक्त

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    ५ हजार ९१४ जनामा गरिएको परिक्षण मध्य ५१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।

    मन्त्रालयको अनुसार २ हजार ५९२ जनामा पिसिआर परिक्षण गर्दा १२ जना र ३ हजार ३२२ जनामा एन्टिजन परिक्षण गर्दा ३९ जनामा संक्रमण पुष्टि भएको हो ।

    यस्तै, पछिल्लो २४ घण्टामा ३९२ जना कोरोना संक्रमणमुक्त भएका छन् भने हालसम्म देशभर ९ लाख ६२ हजार १७३ जना संक्रमणमुक्त भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

    मन्त्रालयमा उल्लेख गरेको विवरण अनुसार आज कोरोनाबाट मत्यु हुनेको संख्या शुन्य रहेको छ भने हालसम्म ११ हजार ९५० जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ ।

    यस्तै अहिले नेपालमा संक्रिय संक्रमित ३ हजार ९९६ जना रहेको छ भने आज २९ हजार ३९० जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।

  • पल शाहलाई थप पाँच दिन हिरासतमा राख्न अदालतको अनुमति

    पल शाहलाई थप पाँच दिन हिरासतमा राख्न अदालतको अनुमति

    काठमाडौं । अभिनेता पल शाहलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ।

    नाबालिग गायिकालाई करणी गरेको आरोपमा प्रहरी नियन्त्रणमा रहेका कलाकार शाहमाथि अनुसन्धानका लागि भन्दै जिल्ला अदालत तनहुँले शुक्रवार ५ दिनको समय थप गरेको हो ।

    फागुन १५ गते पक्राउ परेका शाहलाई यसअघि सुरुमा सात दिन र दोस्रोपटक १२ दिन गरी १९ दिन म्याद थप भइसकेको छ।

    पछिल्लोपटकको म्याद आज सकिएपछि तेस्रोपटक थपिएको हो।

    तनहुँ अदालतले अभिनेता शाहसँगै उनका म्यानेजर कृष्णप्रसाद जोशीलाई पनि थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।

    नवलपुर जिल्ला अदालतमा भने शाहविरुद्ध बिहीबार अभियोगपत्र दर्ता भइसकेको छ। अभियोगपत्रमा शाहलाई १२ देखि १४ वर्ष जेल सयाजको मागदाबी गरिएको छ।

    अब तनहुँमा अनुसन्धान सकिएलगत्तै थुनछेक बहसका लागि शाहलाई नवलपुर लगिनेछ।

  • निर्वाचन कार्यतालिका: उम्मेदवारी दर्ता वैशाख ११ र १२ गते, १६ गते नामावली प्रकाशन

    निर्वाचन कार्यतालिका: उम्मेदवारी दर्ता वैशाख ११ र १२ गते, १६ गते नामावली प्रकाशन

    काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन कार्यक्रम सार्वजनिक गरेको हो।

    आयोगले सार्वजनिक गरेको कार्यक्रम अनुसार आगामी वैशाख ११ र १२ गते सम्बन्धित जिल्लास्थित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी मनोनयन दर्ता हुनेछ।

    आयोगले उम्मेदवारको विरोधमा उजुरी दिने मिति वैशाख १३ गते बिहान १० बजेदेखि अपरान्ह ५ बजेसम्मलाई तय गरेको छ।

    वैशाख १४ गते आयोगले मनोनयन पत्र र उम्मेदवारविरुद्ध परेको उजुरी जाँचबुझ गरी निर्णय गर्नेछ भने १५ गते उम्मेदवारको नामावली प्रकाशन गर्नेछ।

    उम्मेदवारहरुलाई नाम फिर्ताका लागि वैशाख १६ गते बिहान १० देखि साँझ ५ बजेसम्मको समय निर्धारण गरेको छ। आयोगले वैशाख १६ गते उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गर्ने र १७ गते निर्वाचन चिन्ह प्रदान गर्दै वैशाख ३० गते मतदान गराउने कार्यक्रम रहेको छ।

    आयोगका अनुसार वैशाख ३० गते निर्वाचनका क्रममा मतदान सुरु हुनु ४८ घण्टाअघि वैशाख २७ गते राति १२ बजेदेखि मौन अवधि सुरु हुनेछ।

    आयोगले सबै मतदान केन्द्रबाट मतपेटिका सम्बन्धित जिल्लाका निर्वाचन अधिकृतले बुझेपछि मात्रै मतगणना थाल्ने कार्यक्रम बनाएको छ।

    वैशाख ३० गते देशभरका सबै स्थानीय तहहरुमा एकै चरणमा निर्वाचन हुँदैछ। २०७४ मा भने जेठ, असार र कात्तिक गरी तीन चरणमा स्थानीय निर्वाचन भएको थियो।

  • ओली सरकारले संवैधानिक आयोगमा गरेका नियुक्तिविरुद्ध मुद्दाको रिट हेर्दा हेर्दैमा

    ओली सरकारले संवैधानिक आयोगमा गरेका नियुक्तिविरुद्ध मुद्दाको रिट हेर्दा हेर्दैमा

    काठमाडौं । तत्कालीन ओली सरकारले संवैधानिक आयोगमा गरेका ५२ पदाधिकारी नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा हालिएको मुद्दाको हेर्दा हेर्दैमा राखिएको छ ।

    संवैधानिक इजलासले रिटमाथिको सुनुवाइ अघि बढाउन माग गरेपनि हेर्दा हेर्दैमा राखेको हो । रिटमाथि अब आगामी बुधबार सुनुवाइ हुनेछ ।

    संवैधानिक इजलासमा कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरू मिरा खड़का, हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ र ईश्वरप्रसाद खतिवडा छन् ।

    सत्तारुढ दलका सांसदले संसदमा महाभियोग प्रस्ताव दर्ता गरेकाले चोलेन्द्र शमशेर जबराको प्रधानन्यायाधीश पद निलम्बन भएको छ।

    तत्कालीन नेकपामा विवाद चर्किएका बेला तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ मंसिर ३० गते संवैधानिक परिषद्को बैठक राखेका थिए ।

    जसमा सभामुख अग्निप्रसाद सापकोटा र तत्कालीन प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा सहभागी भएका थिएनन्।

  • किन आयो अमेरिकी सैनिकको जहाज काठमाडौंमा ?

    किन आयो अमेरिकी सैनिकको जहाज काठमाडौंमा ?

    काठमाडौं । अमेरिकी सेनाको जहाज राजधानीमा अवतरण आएको छ ।

    अमेरिकी कुटनीतिज्ञलाई लिएर शुक्रबार बिहान अमेरिकी एयर फोर्सको बिमान काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । यो जहाज शुक्रबार नै फिर्ता भइसकेको छ ।

  • रुपन्देहीमा भएका दुई छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

    रुपन्देहीमा भएका दुई छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

    बुटवल । रुन्देहीमा भएका दुई छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । अन्य दुई जना घाइते भएको प्रहरीले बताएको छ । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत रुपन्देहीको देवदह नगरपालिका भलुहीमा बिहीबार बेलुका लु २ ख ३५७३ नम्बरको टिपरले लु ५८ प ३९६५ नम्बरको मोटरसाइकलाई ठक्कर दिँदा नवलपरासी सुनवल ४ की ३४ वर्षीया शान्ति भण्डारीको ज्यान गएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । उनका श्रीमान र तीन वर्षीय छोरा घाइते छन् । घाइते दुवै जनाको देवदह मेडिकल कलेजमा उपचार भइरहेको छ ।

    उता, तिलोत्तमा नगरपालिका वडा नम्बर १५ पत्थरडाँडामा गएराति मोटरसाइकलबाट खसेर २३ वर्षीय जितबहादुर थापाको ज्यान गएको छ । मोटरसाइकलका चालक भने फरार रहेको प्रहरीले जनाएको छ । मोटरसाइकलको समेत नम्बर नखुलेको र खोजी कार्य जारी रहेको प्रहरीको भनाई छ ।

  • पुटिनले युक्रेनसँग युद्ध रोक्न के चाहन्छन् ?

    पुटिनले युक्रेनसँग युद्ध रोक्न के चाहन्छन् ?

    काठमाडौं (बीबीसी । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँग शान्ति सम्झौताका लागि आफ्ना टर्किश समकक्षीसमक्ष मागहरू सार्वजनिक गरेका छन् ।
    बिहीवार टेलिफोनवार्ताका क्रममा पुटिनले रेजेप तय्यीप एर्दोआनलाई रुसका ठोस मागहरू बताएका हुन्। एर्दोआनका एक प्रमुख सल्लाहकार इब्राहिम कालिनसँग बीबीसीले कुराकानी गरेको थियो । पुटिन र एर्दोआनबीच भएको कुराकानी टर्किश अधिकारीहरूको एउटा सानो समूहले पनि सुनेको थियो जुन समूहमा कालिन पनि थिए। उनका अनुसार रुसका मागहरू दुई भागमा बाँडिएका छन्।

    कालिनले बताएअनुसार शुरूका चारवटा रुसी मागहरू पूरा गर्न युक्रेनलाई धेरै गाह्रो छैन। तीमध्ये एउटा प्रमुख माग भनेको युक्रेन तटस्थ बस्नुपर्ने र उत्तर एट्लान्टिक सन्धि सङ्गठन नेटोको सदस्यताका लागि अघि बढ्न नहुने रहेको छ। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यो मागलाई स्वीकारिसकेका छन्। पहिलो भागका अरू मागहरू धेरैजसो रुसले जितेको जस्तो देखाउने खालका छन्। युक्रेन निरस्त्रीकरणको प्रक्रियामा जानुपर्ने हुन्छ जसले रुसका लागि ऊ खतरा नभएको सुनिश्चित गरोस्।

    युक्रेनमा रुसी भाषालाई संरक्षण गर्नुपर्ने र सार्वजनिक जीवनबाट नाजीवादका सबै अवशेष एवम् प्रभावको अन्त्य हुनुपर्ने माग छ। यो माग चाहिँ जेलेन्स्कीका लागि अपमानजक छ जो आफैँ एक यहुदी हुन् र उनका पनि केही आफन्तहरू यहुदी नरसंहारमा मारिएका थिए। तर रुसको त्यो माग पनि पूरा गर्न जेलेन्स्कीलाई खासै गाह्रो नहुने टर्कीको विश्वास छ।

    नवनाजीवादका सबै स्वरूपको युक्रेनले निन्दा गर्दा पर्याप्त हुनेछ। दोस्रो भागका मागको हकमा चाहिँ कठिनाइ देखिन्छ र सहमतिमा पुग्नुअघि पुटिनका अनुसार जेलेन्स्कीसँग उनले साक्षात वार्ता गर्नुपर्ने हुन्छ। जेलेन्स्कीले पनि पुटिनसँग प्रत्यक्ष वार्ता गर्नका लागि आफू तयार रहेको पहिल्यै बताइसकेका छन्।

  • निर्वाचन आचारसंहिता : स्थानीय तहमा उम्मेदवार बन्न जनप्रतिनिधिले राजीनामा दिनुपर्ने

    निर्वाचन आचारसंहिता : स्थानीय तहमा उम्मेदवार बन्न जनप्रतिनिधिले राजीनामा दिनुपर्ने

    काठमाडौं । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि निर्वाचन आयोगले निर्वाचन आचारसंहिता राजपत्रमा प्रकाशित गरेको छ।

    निर्वाचनमा स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरण कायम राख्न आवश्यक भएकोले निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गर आचारसंहिता राजपत्रमा प्रकाशित गरेको हो।

    आचारसंहिताको परिच्छेद ४ मा राजनीतिक दल, उम्मेदवार तथा दलको भातृ संगठनले पालना गर्नुपर्ने आचारसंहिता तय गरिएको छ।

    त्यहाँ जुलुस, आमसभा, कोणसभा, बैठक एवम् भेला गर्दा पालना गर्नुपर्ने आचरणका रुपमा गर्न हुने र नहुने विषय स्पष्ट पारिएको छ।

    निर्वाचनमा बढ्दो खर्च नियन्त्रण गर्न भड्किलो प्रचारशैलीलाई रोक लगाइएको छ। सार्वजनिक स्थान तथा कसैको निजी घरमा अनुमति नलिइ प्रचार सामग्री टाँस्न समेत नपाइने भएको छ।

    त्यस्तै उम्मेदवार बन्न चाहने वहालवाला जनप्रतिनिधिले राजीनामा दिनुपर्ने भएको छ। यो चुनावमा हाल पदमा बहाल रहेका जनप्रतिनिधिहरु पनि उम्मेदवारका दाबेदार छन् ।

    पदमा बसेर चुनाव लड्दा सरकारी स्रोतको दुरुपयोग गर्न सक्ने भन्दै निर्वाचन आयोगले नयाँ आचारसंहितामा यस्तो प्रावधान राखेको बताएको छ ।

    निर्वाचन आचारसंहिताको दफा ३६ मा भनिएको छ, ‘कुनै स्थानीय तह वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको वा स्थानीय तहबाट अनुदान प्राप्त संस्थामा सुविधा वा पारिश्रमिक पाउने गरी वहाल रहेक निर्वाचित वा मनोनित पदाधिकारीले स्थानीय तहको निर्वाचनमा उम्मेदवारको मनोनयन गर्नु अगावै वहाल रहेको पदबाट राजीनामा दिनुपर्नेछ।’

    राजनीतिक दलले हेलिकप्टर सेवा प्रयोग गर्दा राजनीतिक दलको लागि आयोगले निर्धारण गरेको समानुपातिक निर्वाचन प्रणाली बमोजिम बन्दसूचीका उम्मेदवारको संख्याको आधारमा राजनीतिक दलले गर्न पाउने खर्चको सीमाभित्र रही गर्नु पर्नेछ।

    राजनीतिक दल वा दलको निर्वाचन प्रतिनिधिले सवारी साधन प्रयोग गर्न सम्बन्धित निर्वाचन अधिकृतबाट अनुमतिपत्र लिनु पर्ने, तर, सवारी साधन प्रयोग गर्न अनुमतिपत्र दिँदा विदेशी नम्बर प्लेटको सवारी साधनलाई अनुमतिपत्र दिइने छैन।