Category: समाचार

  • नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आज, के के छन् एजेण्डा ?

    नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आज, के के छन् एजेण्डा ?

    काठमाडौं । माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आज बस्ने भएको छ । आइतबार ११ बजे बस्ने बैठकमा केन्द्रीय कमिटीलाई पूर्णता दिने लगायतका एजेण्डामा छलफल गर्ने तयारी रहेको पार्टीले जनाएको छ । आजको बैठकमा केन्द्रीय समितिलाई पूर्णता, पोलिटव्युरो, स्थायी कमिटी गठन, एमसीसी लगायतका एजेण्डामा छलफल हुने बताए । त्यसपछि पार्टी पदाधिकारी चयन गर्ने भएको छ । माओवादीको केन्द्रीय समिति बैठक गत शुक्रबारदेखि सुरु भएको हो । गृहकार्य गर्न भन्दै शनिबारको दिन बैठक स्थगित भयो ।

    गत पुस ११ गतेदेखि १८ गतेसम्म चलेको माओवादीको आठौं महाधिवेशनबाट पारित विधानमा केन्द्रीय समिति २९९ सदस्यीय हुने उल्लेख छ । तर ६३ जना केन्द्रीय सदस्य पछि चयन गर्ने गरी अपुरो केन्द्रीय समिति घोषणा गर्दै महाधिवेशन सम्पन्न गरिएको थियो । ती केन्द्रीय सदस्यहरुको पहिलो बैठकले पार्टी अध्यक्षमा प्रचण्डलाई नै निरन्तरता दिएको थियो । १५ सदस्यीय पदाधिकारीका अन्य पदहरु भने दुई महिनादेखि रिक्त छन् ।

  • ६ हजार २ सय नमुना परीक्षण गर्दा ९१ जनामा कोरोना पुष्टी

    ६ हजार २ सय नमुना परीक्षण गर्दा ९१ जनामा कोरोना पुष्टी

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ९१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी ६ हजार दुई सय २० जनाको नमूना परीक्षण गरेकोमा ९१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । कोरोना भाइरसको तेस्रो लहर शुरु भएपछि दैनिक विवरण अनुसार सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या पहिलो पटक एक सय भन्दा तल झरेको हो ।

    पछिल्लो २४ घण्टामा तीन सय ६२ जना निको भएका छन् । यो सहित कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ५८ हजार पाँच सय ५५ जना पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणका कारण कसैको पनि ज्यान गएको छैन । अहिले नेपालमा ६ हजार नौ सय ४७ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् । यसैबीच पछिल्लो २४ घण्टामा दुई लाख आठ सय ६१ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।

  • राष्ट्रिय सभाका १९ सांसदले लिए सपथ

    राष्ट्रिय सभाका १९ सांसदले लिए सपथ

    काठमाडौं । राष्ट्रियसभाका नवनिर्वाचित सदस्यहरुले शनिबार शपथग्रहण गरेका छन् । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसद् सचिवालय सिंहदरबारमा नवनिर्वाचित सांसदहरुलाई शपथग्रहण गराए । अध्यक्ष तिमिल्सिनाले नवनिर्वाचित सांसद्हरुलाई संघीय संसदको लोगो पनि प्रदान गरेका छन् । राष्ट्रियसभाका १९ सदस्यका लागि गत माघ १२ गते निर्वाचन भएको थियो ।

    निर्वाचनमा नेपाली काँग्रेसबाट गोपालकुमार बस्नेत, कृष्णप्रसाद पौडेल, कमला पन्त, युवराज शर्मा, दुर्गा गुरुङ र नारायणदत्त मिश्र निर्वाचित भएका थिए । एकीकृत समाजवादीबाट जयन्तीदेवी राई, गोमादेवी तिमिल्सिना, राजेन्द्रलक्ष्मी गैरे, उदयबहादुर बोहोरा र मदनकुमारी शाह (गरिमा) निर्वाचित भएका थिए ।

    नेकपा (माओवादी केन्द्र)बाट उर्मिला अर्याल, भुवनबहादुर सुनार, सुरेश आलेमगर, नरबहादुर विष्ट र जगतबहादुर पार्की निर्वाचित भएका छन् । नेकपा (एमाले)बाट सोनाम गेल्जेन शेर्पा, जनता समाजवादी पार्टीबाट मोहम्मद खालिद र राष्ट्रिय जनमोर्चाबाट तुलप्रसाद विश्वकर्मा राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका थिए ।

  • बुढानिलकण्ठबाट विद्यालय हिँडेपछि सम्पर्कबिहिन तीन बालिका मसाज सेन्टरमा भेटिए

    बुढानिलकण्ठबाट विद्यालय हिँडेपछि सम्पर्कबिहिन तीन बालिका मसाज सेन्टरमा भेटिए

    काठमाडौं । काठमाडौँको बूढानीलकण्ठबाट सम्पर्कविहीन भएका तीन बालिका मसाज सेन्टरमा भेटिएका छन्। फागुन १६ गते विद्यालय जाने भनी घरबाट निस्किएका उनीहरू काठमाडौँको बौद्धस्थित मसाज सेन्टरमा काम गर्दै गरेको अवस्थामा फेला परेका महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ।
    बूढानीलकण्ठ नगरपालिका–१३ चुनिखेलस्थित बसपार्क नजिकै डेरा गरी बस्ने उनीहरू स्यानीय विद्यालयमा कक्षा–७ मा अध्ययनरत छन्।

    फागुन १६ गते बिहान ९ बजे विद्यालय जाने भनी कोठाबाट निस्किएका बालिका घर नफर्किएपछि आफन्तले खोजीका लागि प्रहरीमा जाहेरी दिएका थिए। उक्त जाहेरीका आधारमा प्रहरी प्रभाग बूढानीलकण्ठबाट खटिएको प्रहरीले बौद्वस्थित एक मसाज सेन्टरमा काम गरिरहेको अवस्थामा फेला पारेको हो। प्रहरीले उनीहरुलाई आफन्तको जिम्मा लगाएको परिसरले एक सूचना जारी गरी जनाएको छ। उक्त घटनाको सम्बन्धमा प्रभागबाट थप अनुसन्धान भइरहेको परिसरले जनाएको छ।

  • उपत्यकामा हट्यो स्मार्ट लकडाउन, अब यी काम गर्न पाइने

    उपत्यकामा हट्यो स्मार्ट लकडाउन, अब यी काम गर्न पाइने

    काठमाडौं । कोभिड–१९ सङ्क्रमण रोकथामका लागि काठमाडौँ उपत्यकामा लगाइएका सबै प्रतिबन्धात्मक व्यवस्था हटाइएको छ ।

    उपत्यकाको तीनै जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर) ले आज एक आदेश जारी गरी यसअघि जारी भएका सबै प्रतिबन्धात्मक व्यवस्था पूर्ण रूपमा हटाइएको जानकारी गराएको छ ।

    पछिल्लो समयमा कोरोना सङ्क्रमण घट्दै गएको यही २१ गते शनिबारदेखि लागू हुनेगरी कानून बमोजिमका राजनीतिक, आर्थिक, सामाजिक, शैक्षिक तथा व्यावसायिक क्रियाकलाप सञ्चालन गर्न/गराउन उक्त आदेशमा भनिएको छ । आदेशमा यसरी गतिविधि सञ्चालन गर्दा प्रचलित स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्न आग्रह गरिएको छ ।

    ती प्रशासन कार्यालयले कोभिड–१९ सङ्क्रमण, रोकथाम, नियन्त्रण, निदान र उपचार प्रभावकारी बनाउन नेपाल सरकार मन्त्रिपरिषदबाट भएका निर्णय, कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्रको सिफारिस, कोभिड–१९ सङ्क्रमण जोखिम नियन्त्रणका लागि स्मार्ट लकडाउनसम्बन्धी कार्यविधि २०७८, सङ्क्रामक रोग ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८ समेतले दिएको अधिकार प्रयोग गरी विभिन्न आदेश जारी गरेको थियो ।

    प्रतिबन्ध हटाएसँगै सपिङ मल, डिमार्टमेन्ट स्टोरलगायत स्थानमा जाँदा खोप कार्ड अनिवार्य बोक्नु नपर्ने भएको छ । त्यस्तै, डान्सबार, दोहोरी, नाचघर, लाउन्ज, पब, क्लबजस्ता रात्रिकालीन व्यवसायहरु राति १० बजेपछि पनि संचालन गर्न पाइन्छ ।

    तीनै जिल्लाका प्रशासन कार्यालयले सङ्क्रमणको कठिन समयमा आदेशको पालना गरी सङ्क्रमण रोकथाममा सहयोग गरेकामा सबैलाई धन्यवाद पनि दिएको छ ।

  • नेपालमा थप १२६ जनामा कोरोना संक्रमण, ३८५ जना संक्रमण मुक्त

    नेपालमा थप १२६ जनामा कोरोना संक्रमण, ३८५ जना संक्रमण मुक्त

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १२६ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ९१ जनाको पीसीआर परीक्षण गर्दा १११ जना र १ हजार ८४२ जनाको एन्टिजेन परीक्षण गर्दा १५ गरी १२६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ७७ हजार ३८० जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा ३८५ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ९ लाख ५८ हजार १९३ पुगेको छ । संक्रिय संक्रमितको संख्या ७ हजार२४२ रहेको छ ।

    पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या १ रहेको छ । नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ९४५ पुगेको छ ।

  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘क्यालिब्रेशन फ्लाइट’ सकियो

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘क्यालिब्रेशन फ्लाइट’ सकियो

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग परीक्षणका लागि भइरहेको यान्त्रिक परीक्षण उडान अर्थात् ‘क्यालिब्रेशन फ्लाइट’ सम्पन्न भएको छ ।

    बिहीबार र आज शुक्रबार दुई दिन भएको उक्त फ्लाइटका कारण अन्य उडानहरु भने नियमित हुन सकेका थिएनन् ।

    आज पनि दुई घण्टा उक्त क्यालिब्रेशन फ्लाइट भएको थियो । उक्त उडानका कारण आज पनि दुई घण्टा उडान र अवतरण हुन सकेको थिएन । अहिले भने आजका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्यालिब्रेशन फ्लाइट सकिएको विमानस्थलका निर्देशक प्रेमनाथ ठाकुरले बताए।

    उनले भने, “क्यालिब्रेशन फ्लाइटका कारण केही समय जहाज अडान र अवतरणमा केही कठिनाइ भई आकासमै होल्ड गराएका थियौँ, केही जहाज अवतरण गराएका थियौँ, आजलाई सकिएको छ, अब सिमरामा हुन्छ ।” करिब दुई घण्टा भएको उक्त क्यालिब्रेशन फ्लाइटका कारण आज बिहान ११ः३० देखि १ः३० बजेसम्म धेरै जहाज आकासमै होल्ड भएका थिए भने सो अवधिमा आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान हुने जहाज आकासमै घुमिरहेका थिए ।

    क्यालिब्रेशन फ्लाइट सकिएका कारण आकासमै होल्ड भएका जहाजहरु अहिले अवतरण भएका छन् भने आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरु सञ्चालन भएको विमानस्थल कार्यालयले जनाएको छ ।

    उक्त क्यालिब्रेशन फ्लाइटका लागि आएको जहाज अझै केही दिन नेपालमै रहने र केही दिनपछि समय हेरेर पुनः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा क्यालिब्रेशन फ्लाइट गरिने निर्देशक ठाकुरले जानकारी दिए।

  • अनुसन्धान कार्यलाई प्रभावित पार्ने खालका गतिविधि नगर्न साइबर ब्यूरोको अनुरोध

    अनुसन्धान कार्यलाई प्रभावित पार्ने खालका गतिविधि नगर्न साइबर ब्यूरोको अनुरोध

    काठमाडौं । प्रहरीको साइबर ब्यूरोले सामाजिक सञ्जालमा गम्भीर प्रकृतिका अपराधको अनुसन्धान कार्यलाई प्रभावित पार्ने खालका गतिविधि नगर्न आग्रह गरेको छ ।

    प्रहरी प्रधान कार्यालय, साइबर ब्यूरो, भोटाहिटीले शुक्रवार एक सूचना जारी गर्दै उक्त आग्रह गरेको हो ।

    केही समयदेखि विभिन्न व्यक्ति र समूहले प्रविधिको दुरुपयोग गरी युट्युब र टिकटकलगायतका सामाजिक सञ्जालमा अनुसन्धान कार्यलाई प्रभावित पार्ने उद्देश्यले भ्रामक, झूटा क्याप्सन राखेर भिडियो तथा तस्वीर अपलोड गरेको पाइएकाले त्यसो नगर्न ब्यूरोले आग्रह गरेको हो ।

    ‘समाजमा उत्तेजना एवं अफवाह फैलाउने, सामाजिक सद्भावमा खलल पुर्‍याउने, पीडितको गोपनीयताको हक हनन गर्दै निजको सामाजिक एवं मानसिक स्वास्थ्यमा नकारात्मक असर पुर्‍याउने किसिमका प्रवृत्ति देखिएको’ ब्यूरोको सूचनामा भनिएको छ ।

    त्यस्ता क्रियाकलापहरू गरे विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ अनुसार कारबाही हुने ब्यूरोले जनाएको छ ।

  • विश्वकप लिग–२ सिरिजका लागि नेपाली टोलीको घोषणा, को-को खेलाडी परे ?

    विश्वकप लिग–२ सिरिजका लागि नेपाली टोलीको घोषणा, को-को खेलाडी परे ?

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान्) ले सन्दीप लामिछानेको कप्तानीमा आईसीसी विश्वकप लिग–२ अन्तर्गत यूएई र पपुवा न्युगिनी (पीएनजी) सँगको एकदिवसीय सिरिजको लागि खेलाडी छनोट गरेको छ । क्यानले यूएईमा आयोजना हुने त्रिदेशीय सिरिजको लागि बिहीबार अबेर घोषणा गरेको टोलीमा तीव्र गतिका बलर सोमपाल कामी, विक्रम सोब, भीम सार्की र विनोद भण्डारीले पूनरागमन गरेका छन् ।

    यसअघि टी–२० विश्वकप ग्लोबल छनोटमा रहनुभएका बलर गुलशन झा र स्पिनर सुशान भारी, अनिल कुमार शाह र राजु रिजाल बन्द प्रशिक्षणबाट बाहिरिए । क्यानले छनोट समिति र प्रशिक्षक पुबुदु दसानायकेले बन्दप्रशिक्षणमा रहेका २० खेलाडीबाट अन्तिम टोलीको नाम सार्वजनिक गरेको हो । नेपालले यूएई जानुअघि श्रीलंकामा स्थाननीय टोलीसँग चार वटा अभ्यास खेल खेल्नेछ । नेपाली टोली शनिबार श्रीलंका जाने क्यानले जनाएको छ ।

    नेपाल श्रीलंकाबाट १४ मार्चमा यूएई प्रस्थान गर्नेछ । विश्वकप लिग–२ मा नेपालले मार्च १६ देखि २२ सम्म यूएई र पीएनजीसँग खेल्नेछ । नेपालको टोलीमा सन्दीप लामिछाने (कप्तान), ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आरिफ शेख, आसिफ शेख, कमलसिंह ऐरी, विवेक यादव, सागर ढकाल, विनोद भण्डारी, रोहित कुमार पौडेल, सोमपाल कामी, विक्रम सोब, भीम सार्की, पवन सरार्फ र करण केसी रहेका छन् ।

  • माओवादी केन्द्रको केन्द्रिय समिति बैठक आजबाट, असन्तुष्ट समूहले एमसीसीको विषय उचाल्ने

    माओवादी केन्द्रको केन्द्रिय समिति बैठक आजबाट, असन्तुष्ट समूहले एमसीसीको विषय उचाल्ने

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक आजबाट शुरु हुँदैछ । बिहान ११ बजेदेखि राष्ट्रिय सभा गृहमा बैठक आयोजना गरिएको बैठकमा पार्टी भित्र एमसीसी पास भएपछि देखिएको असन्टुष्टीले बढी प्राथमिकता पाउने देखिएको छ । नेता नारायणकाजी श्रेष्ठ समूहले एमसीसीको चर्को विरोध गरिरहेको छ । बैठकमा साङ्गठनिक एवं समसामयिक राजनीतिका विषयमा छलफल हुने बताइएको छ ।

    गत पुस १८ गते सम्पन्न महाधिवेशनले तय गरेको भावी कार्यदिशाबारे बैठकले कार्यनीति तय गर्ने छ । बैठकमा स्थानीय निर्वाचनको तयारी र रणनीति समेत तय गर्ने पार्टीको भनाई छ । बैठकबाट पदाधिकारी चयन टुग्याउने तयारी छ । सङ्गठनात्मक कार्य विभाजनको काम समेत यसै बैठकले गर्ने भएको छ । आठौँ महाधिवेशनले २४७ केन्द्रीय सदस्य चयन गरेको थियो ।

  • युक्रेनी शरणार्थीले यूरोपेली संघका मुलुकमा तीन वर्षको अस्थायी आवास सुविधा पाउने

    युक्रेनी शरणार्थीले यूरोपेली संघका मुलुकमा तीन वर्षको अस्थायी आवास सुविधा पाउने

    काठमाडौं । रुसको आक्रमणबाट विस्थापित भई अन्य मुलुक पुगेका शरणार्थीलाई युरोपेली सङ्घमा आबद्ध देशले विशेष सुविधा दिन सहमत भएका छन् । ती मुलुकका आन्तरिक मामिलामन्त्रीहरू युक्रेनी शरणार्थीहरूलाई तीन वर्षसम्म विशेष अस्थायी सुविधा दिने विषयमा सहमत भएको अन्तर्राष्ट्रिय संचारमाध्यमले लेखेका छन् । यसमा आप्रवासीको अवस्था के हुन्छ भन्ने बारे भने उल्लेख छैन ।

    सहमतिअनुसार उनीहरूलाई रोजगारी बजारमा पहुँच,स्वास्थ्य तथा शिक्षालगायतका सेवासुविधासहित बसोबासको अनुमति दिइनेछ। संयुक्त राष्ट्रसङ्घका अनुसार युक्रेनमा अतिक्रमणयता दश लाखभन्दा बढी मानिसले देश छोडिसकेका छन्। यो संख्या अझ बढ्ने सक्ने बताइएको छ । रुसले युक्रेनमा आक्रमण गरेको आज आठौं दिन हो । रुसले युक्रेनका धेरै भूभाग कब्जामा लिने क्रममा हताहती समेत ठूलो भएको छ ।

  • युक्रेनमा रहेका सबै रुसी नागरिकको सम्पत्ति जफत हुने

    युक्रेनमा रहेका सबै रुसी नागरिकको सम्पत्ति जफत हुने

    काठमाडौं । रुसविरुद्ध युक्रेनले रणनीतिक निर्णय लिएको छ । युक्रेनको संसदले बिहीबार कानून पारित गर्दै रुसी नागरिकको सम्पत्ति जफत गर्न सरकारलाई मन्जुरी दिएको हो । राष्ट्रपति भ्लादमिर जेलेन्स्कीले यो निर्णयलाई ऐतिहासिक भनेका छन् । संसदमा उपस्थित सबै सांसदले राष्ट्रिय गान गाएर जनतालाई हौसला प्रदान गरेको रोयटर्सले लेखेको छ । यसअघि संसदमा राष्ट्रपतिले गत मंगलबार सम्बोधन गरेका थिए ।

    उनले युक्रेनी जनतामाथि रुसले बर्साएको सिमाइलबारे त्यहाँका जनताले कहिले पनि माफी नदिने बताएका थिए । अहिले संसारभरबाट रुसमाथि असहयोग शुरु भएको छ । उसमाथि प्रतिवन्धहरु कडा गरिएका छन् । यद्दपी रुसले भने आक्रमण जारी रहने बताएको छ । आक्रमणमा दुबै मुलुकतर्फ ठूलो मानवीय क्षति भए पनि हताहतीको यकिन संख्या बाहिरिएको छैन ।

  • रुस-युक्रेन युद्ध शुरु भएयता १८ हजार भारतीयले छाडे युक्रेन

    रुस-युक्रेन युद्ध शुरु भएयता १८ हजार भारतीयले छाडे युक्रेन

    नयाँ दिल्ली । रुस र युक्रेनबीच युद्ध हुरु भएको एक साताको अवधिमा १८ हजार भारतीय नागरिकले युक्रेन छाडेका छन् । भारतीय विदेश मन्त्रालयले यस्तो आंकडा सार्वजनिक गरेको हो । मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीका अनुसार भारतले आफ्ना नागरिकलाई स्वदेश फर्काउन अपरेशन गंगा चलाइरहेको छ । अहिलेसम्म हरेक दिन न्यूनतम १५ वटा उडानबाट ३ हजार भारतीय नागरिकलाई भारत ल्याउने काम जारी छ ।

    विदेशी नागरिकलाई युक्रेनका छिमेकी मुलुकहरुले शरण दिइरहेका छन् । युक्रेनमा एक जना भारतीयको ज्यान गएको पुष्टी भएको छ । भारतीय विदेश मन्त्रालयले जति सक्दो छिटो युक्रेन छाड्न समेत आफ्ना नागरिकलाई भनेको छ । किनकी युक्रेनमा अहिले हवाई उडानको सुविधा छैन । छिमेकी मुलुकमा पुगेका नागरिकलाई मात्र उद्धार गर्न सम्भव भएको हो ।

  • नेपालमा थप १०५ जनामा कोरोना संक्रमण, ३ जना संक्रमितको निधन

    नेपालमा थप १०५ जनामा कोरोना संक्रमण, ३ जना संक्रमितको निधन

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १०५ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ४४८ जनाको पीसीआर परीक्षण गर्दा ७० जना र २ हजार ४६७ जनाको एन्टिजेन परीक्षण गर्दा ३५ गरी १०५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ७७ हजार २६९ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा ३२० जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ९ लाख ५७ हजार ८०८ पुगेको छ । संक्रिय संक्रमितको संख्या ७ हजार ५१७ रहेको छ ।

    पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या ३ रहेको छ । नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ९४४ पुगेको छ ।

  • एक महिनामै नेपाल भित्रिए १९ हजार विदेशी, चिनियाँ पर्यटक घटे

    एक महिनामै नेपाल भित्रिए १९ हजार विदेशी, चिनियाँ पर्यटक घटे

    काठमाडौं । नेपालमा पछिल्ला दिनमा पर्यटक आगमन उत्साहजनक देखिएको छ । नेपाल पर्यटन बोर्डको तथ्यांक अनुसार अघिल्लो वर्षको सोही अवधिको तुलनामा नेपालमा विदेशी पर्यटकको संख्या ११६ प्रतिशतले बढेको हो ।

    तथ्यांक अनुसार फेब्रुअरीमा मात्रै विभिन्न देशबाट १९ हजार ७६६ पर्यटक नेपाल आएका छन् । सन २०२१ को फेब्रुअरीमा ९ हजार १४६ जना पर्यटक नेपाल आएका थिए ।

    फेब्रुअरीमा महिनामा भारतसहित बंगलादेश, पाकिस्तान, भूटान, श्रीलंका लगायतका मुलुकबाट ७ हजार २६२ जना पर्यटक नेपाल भित्रिएका छन् ।

    यस्तै चीन, जापान लगायतका अन्य एसियाली मुलुकबाट ९५३ जना, यूरोपेली मुलुकबाट ४ हजार ८ सय १३, ओसियाना क्षेत्रबाट १ हजार ५३० तथा अमेरिका, क्यानडा लगायतबाट ३ हजार ६ सय १४ पर्यटक नेपाल भित्रिएका छन् ।

    अन्य विभिन्न मुलुकबाट २ हजार ५१ जना नेपाल भ्रमणमा आएको विभागले जनाएको छ । बोर्डका अनुसार २०२१ भरी कुल १ लाख २६ हजार २ सय ८३ जना पर्यटक नेपाल भित्रिएका छन्।

    सन् २०२० मा दुई लाख ३० हजार विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । सन् २०१९ मा ११ लाख ९७ हजार एक सय ९१ विदेशी पर्यटक नेपाल घुम्न आएका थिए ।

  • एमसीसीविरोधी नेता संगठित हुँदै, झलनाथदेखि विप्लवसम्मले एउटै मञ्चबाट सम्बोधन गर्ने

    एमसीसीविरोधी नेता संगठित हुँदै, झलनाथदेखि विप्लवसम्मले एउटै मञ्चबाट सम्बोधन गर्ने

    काठमाडौं । अमेरिकी सहायता परियोजना (एमसीसी) विरोधी नेताहरु संगठित हुँदै गएका छन् । एमसीसीसँग असन्तुष्ट नेताहरु फकाउन (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले इन्ट्री गरेका छन् ।

    उनले एमसीसी सम्झौताको संसदमा चर्को विरोध गर्दै आएको नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारयणमान विजुक्छे,एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल, माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ र एमाले नेता भीम रावल भेटवार्तासँग गरेका छन् ।

    जनस्तरमा व्यापक चासो रहेको र विरोध भइरहेको एमसीसीलाई संसदले अनुमोदन गरेसँगै विप्लव लगायतले विरोधी धारको नेतृत्व गरिरहेका छन् ।

    एमसीसी राष्ट्रघाती रहेको भन्दै संसदमा टेबल गर्नुअघिबाटै आन्दोनमा उत्रिएको वाम पार्टीहरुको समूहले आन्दोलनलाई प्रभावकारी बनाउन पहल थालेको छ ।

    सत्तारुढ दलहरुबीच लामो रस्साकस्सीका बीच गठबन्धन जोगाउने गरि व्याख्यात्मक घोषणाको साहरा लिइएको भए पनि नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीमा असन्तुष्टि बढेको छ ।

    उक्त नेताहरुले शुक्रबार एकै स्टेजबाट सम्बोधन गर्ने भएका छन् ।

    एमसीसी अनुमोदन भएको विरोधमा यसअघिदेखि नै आन्दोलित भएका साना कम्युनिष्ट पार्टी र मोर्चाले शुक्रबार जनसभाको आयोजना गरेका छन् ।

    जनसभाको प्रमुख वक्तामा विप्लवसहित राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य, आहुतीलगायतका नेताहरू छन् ।

    एमसीसीको विरोधमा साना दलहरूले शुक्रबारदेखि निरन्तर ६ चैतसम्म विरोधका कार्यक्रम तय गरेका छन् ।

  • ‘विप्लव’को भेटावार्ता तीव्र, एमसीसीविरुद्ध एकताबद्ध भएर संघर्ष गर्ने !

    ‘विप्लव’को भेटावार्ता तीव्र, एमसीसीविरुद्ध एकताबद्ध भएर संघर्ष गर्ने !

    काठमाडौं । नेकपा एमालेका नेता डा. भीम रावल र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच भेटवार्ता भएको छ । बिहीबार बिहान विप्लव आफ्ना पार्टीका नेता खड्कबहादुर विश्वकर्मासँग नेता रावललाई भेट्न उनै निवास पुगेका हुन् ।

    तीने नेताबीचको भेटवार्तामा एमसीसी र राष्ट्रिय स्वाधिनता रक्षाका पक्षमा कुरा भएको बताइएको छ । एमसीसी र राष्ट्रिय स्वाधिनता रक्षा लागि एकताबद्ध भएर संघर्ष गर्ने विषयमा छलफल भएको विप्लवको सचिवालयले जनाएको छ ।

    यसअघि विप्लवले माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल, नेमकिपाका अध्यक्ष नारायमाण बिछुक्छेसँग भेटवार्ता गरेका थिए ।

  • संयुक्त राष्ट्र संघमा नेपालसहित १४१ देश युक्रेनको पक्षमा, भारत र पाकिस्तान अनुपस्थित

    संयुक्त राष्ट्र संघमा नेपालसहित १४१ देश युक्रेनको पक्षमा, भारत र पाकिस्तान अनुपस्थित

    काठमाडौं । संयुक्त राष्ट्रसंघको महासभामा रुसले गरेको युक्रेन आक्रमणको विरुद्धमा नेपालसहित विश्वभरबाट १४१२ मुलुक उभिएका छन् । ५ मुलुक रुसको समर्थनमा देखिएका छन् । भारत र पाकस्तानसहित ३५ देशले भने कुनै पनि मुलुकको पक्षमा भोट दिएनन् । उनीहरु अनुपस्थित भए । कुल १९३ मुलुक संयुक्त राष्ट्रसंघमा आवद्ध रहेका छन् । मतदानमा भाग नलिने मुलुकमा चीन, श्रीलंका, बंगलादेश समेत सामेल छन् । संयुक्त राष्ट्रसंघले विशेष महासभा बोलाएर आक्रमण विरुद्धको जनमत लिएको हो । यस महासभामा कुल १२० देशका प्रतिनिधिले आफ्नो धारणा राखेका छन् ।

    २४ फेब्रुअरीमा रुसले युक्रेनमा हमला थालेसँगै विश्वभर तेस्रो विश्वयुद्धको आशंका मडारिएको हो । यस अवस्थामा संयुक्त राष्ट्रसंघको भूमिका महत्वपूर्ण मानिन्छ । नेपालको दुबै छिमेकी मुलुक चीन र भारत तथस्त बस्दै अप्रत्यक्ष रुपमा रुसको समर्थन गरेका छन् । किनकी भारत र रुसबीच ठूलो सैन्य व्यापारको मामला रहेको छ । चीन भने पश्चिमा मुलुकको विरोधी भएका कारण समेत स्वभाविक रुपमा उ रुसको पक्षमा रहन्छ । यस पटक नेपालले भने खुलेरै रुसको विरोध जनाएको हो ।

  • रुसको स्वीकारोक्ति : ५ सय सैनिक मारिए

    रुसको स्वीकारोक्ति : ५ सय सैनिक मारिए

    काठमाडौं । युक्रेनमाथि आक्रमण गरेयता रुसले ठूलो संख्यामा सैनिक गुमाएको स्वयमः स्वीकार गरेको छ । यसअघि दावि भए पनि रुसले स्वीकार भने गरेको थिएन । युक्रेनमाथि आक्रमण गरेको एक सातामा आफ्ना सैनिकको हताहतीबारे रुसी रक्षा मन्त्रालयले पहिलो पटक विवरण सार्वजनिक गरेको हो । बीबीसीले लेखे अनुसार आक्रमणका दौरान करिब पाँच सय सैनिक मारिएका छन् । १,६०० सैनिक घाइते भएका छन्।

    तर विश्लेषकहरूले त्यो सङ्ख्या निकै बढी हुनसक्ने आंकलवन गरेका छन् । यद्यपि हताहतीबारे मस्कोले दिएको विवरणले रुसी फौजले युक्रेनको तर्फबाट कडा प्रतिवादको सामना गर्नुपरेको देखाएको विश्लेषकहरूको ठहर छ।

    रुसी सैनिकलाई युक्रेनी सैनिक तथा स्वयमसेवक दलले दिएको कडा टक्करका कारण रुसले अनुमान गरेभन्दा कठिन परिस्थितिको सामना गर्नु परेको बताइएको छ । सोहीकारण रुसी राष्ट्रपतिले आणविक हतियार चलाउने चेतावनी दिन थालेका छन् ।

  • गैरआवासीय नेपालीले १ हजार डलरमा नेपालमा डलर खाता खोल्न सक्ने

    गैरआवासीय नेपालीले १ हजार डलरमा नेपालमा डलर खाता खोल्न सक्ने

    काठमाडौं । गैरआवासी नेपालीले एक हजार डलरमा नेपाली बैंकमा विदेशी मुद्रामा खाता खोल्न सक्ने प्रावधान कार्यान्वयनमा आएको छ छ । यस अघि डलर खाता खोल्न न्यूनतम ५ हजार डलर वा सो बराबरको रकम चाहिन्थ्यो । बुधबार राष्ट्र बैंकले बैंकहरुका लागि परिपत्र जारी गर्दै यस्तो व्यवस्था भएको जनाएको हो । विदेशी मुद्रा सञ्चितिको अवस्था नाजुक बनेका बेला गरिएको यो व्यवस्थाले देशको अर्थतन्त्र र गैरआवासीय नेपालीहरु दुवैलाई फाइदा हुने राष्ट्र बैंकको विश्वास छ ।

    यो दीर्घकालिन महत्वको निर्णय भएको समेत राष्ट्र बैंकको भनाई छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासको मौद्रिक नीतिको समीक्षा गर्दै राष्ट्र बैंकले विदेशी मुद्रामा खोलिने खातालाई केही सहजता प्रदान गर्ने नीति ल्याएको थियो । गैरआवासीय नेपालीको नाममा खाता खोल्दा तथा सञ्चालन गर्दा नेपाल सरकारको सम्बन्धित निकायबाट जारी भएको गैरआवासीय नेपालीको अद्यावधिक परिचय पत्रको प्रतिलिपि पेश गरे पुग्ने छ ।

  • नेपालमा थप १२७ जनामा कोरोना संक्रमण, ३ जना संक्रमितको निधन

    नेपालमा थप १२७ जनामा कोरोना संक्रमण, ३ जना संक्रमितको निधन

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १२७ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार २७६ जनाको पीसीआर परीक्षण गर्दा १२३ जना र २ हजार २०२ जनाको एन्टिजेन परीक्षण गर्दा ४ गरी १२७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ७७ हजार १९९ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा ३२१ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ९ लाख ५७ हजार ४८८ पुगेको छ । संक्रिय संक्रमितको संख्या ७ हजार ७७० रहेको छ ।

    पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या ३ रहेको छ । नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ९४१ पुगेको छ ।

  • प्रतिनिधिसभाको बैठक आइतबारसम्मका लागि स्थगित

    प्रतिनिधिसभाको बैठक आइतबारसम्मका लागि स्थगित

    काठमाडौं । प्रतिनिधिसभा बैठक फागुन २२ गते सम्मका लागि स्थगित भएको छ । बुधबार बसेको बैठकमा राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७/०७८ पेस गरिएको छ ।

    एमाले सांसदको नाराबाजीकाबीच सो प्रतिवेदन पेस गरिएको थियो । तत् पश्चात सभामुख अग्निप्रसाद सापकोटाले २२ फागुन आइतबार दिउँसो १ बजे बस्नेगरी बैठक स्थगित गरेको जानकारी दिए ।

  • बिहीवार सार्वजनिक बिदा

    बिहीवार सार्वजनिक बिदा

    काठमाडौं । । सरकारले फागुन १९ गते बिहीवार सार्वजनिक बिदा घोषणा गरेको छ ।

    शेर्पा समुदायको नयाँ वर्ष अर्थात ग्याल्पो ल्होसार परेको हुनाले सो अवसरमा देशभरका सरकारी कार्यालय तथा सार्वजनिक निकायमा सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

    प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले सांस्कृतिक पर्व ग्याल्पो ल्होसार मनाउँदै आएका छन् । यस वर्ष नयाँ वर्षका रूपमा शेर्पा समुदायले २१४९ औँ ग्याल्पो ल्होसार मनाउन लागेका हुन् ।

    मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्षमा ग्याल्पो ल्होसारलाई विभाजन गरिएको छ ।

    ग्याल्पो ल्होसार भोटका नवौं राजा उदे गुङ्ग्यालका पालादेखि वसन्त पर्वका नामले मनाउन सुरु गरिएको हो । समयक्रममा ग्याल्पो ल्होसार नामकरण भएको अनुसन्धाता बताउँछन् ।

  • आज प्रतिनिधिसभाको बैठक आज बस्ने

    आज प्रतिनिधिसभाको बैठक आज बस्ने

    काठमाडौं । प्रतिनिध सभाको बैठक आज बस्ने भएको छ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । संघीय संसद सचिवालयका अनुसार आजको बैठकमा सूचना आयोगको वार्षिक प्रतिवेदन पेस गर्नेलगायतका सम्भावित कार्यसूची रहेका छन् । एमसीसी अनुमोदन भएपछि आज पहिलो पटक संसद बैठक बस्न लागेको छ । आइतबारको संसद बैठकबाट एमसीसी सम्झौता अनुमोदन भएको थियो । सो बैठकपछि संसद स्थगित भएको थियो ।

  • प्रधानमन्त्री देउवा र अमेरिकी विदेशमन्त्री एन्टोनीबीच टेलिफोन वार्ता, के भयो कुराकानी ?

    प्रधानमन्त्री देउवा र अमेरिकी विदेशमन्त्री एन्टोनीबीच टेलिफोन वार्ता, के भयो कुराकानी ?

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनबीच टेलिफोन वार्ता भएको विदेश मन्त्री ब्लिन्केनले पुष्टी गरेका छन् । उनले ट्विटरमार्फत यस्तो जानकारी गराएका हुन् । विदेशमन्त्री एन्टोनीका अनुसार मंगलबार साँझ भएको कुराकानी युक्रेन संकटका विषयमा केन्द्रित थियो । रुसले युक्रेनमा गरेको आक्रमणको विषयमा कुरा भएको उनले बताएका छन् ।

    रूसले युक्रेनमाथि गरेको अप्रत्याशित आक्रमण र युक्रेनको सार्वभौमसत्ता र अखण्डतामा समर्थनको बारेमा छलफल भएको उनले बताएका हुन् । नेपाल र अमेरिकाले आर्थिक विकास र क्षेत्रीय चुनौतीमा मिलेर काम गर्ने समेत उनले उल्लेख गरेका छन् । नेपालमा एसमीसी पास भएपछि भएको यो कुराकानीमा यस विष्यामा कुरा भयो वा भएन भन्ने चाँही खुलेको छैन ।

  • रुसलाई समर्थन गरिरहेको भारतका एक विद्यार्थी रुसी सैनिकको आक्रमणमा युक्रेनमा मारिए

    रुसलाई समर्थन गरिरहेको भारतका एक विद्यार्थी रुसी सैनिकको आक्रमणमा युक्रेनमा मारिए

    काठमाडौं । युक्रेन र रुसबीचको युद्धमा भारत रुसको पक्षमा लागेको छ । उता, युक्रेनमा रुसकै आक्रमणमा परि एक भारतीय विद्यार्थीको ज्यान गएपछि भने भारत सरकारको व्यापक आलोचना शुरु भएको छ । रूसको आक्रमणमा परि युक्रेनमा बसिरहेका एक भारतीयको मंगलबार मृत्यु भएको हो । भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीले सामाजिक सञ्जाल ट्विटरमा युक्रेनको दोस्रो ठूलो सहर खार्किभमा मंगलबार बिहान एक भारतीय विद्यार्थी मारिएको पुष्टी गरेका हुन् ।

    युक्रेनमा २० हजार बढी मेडिकल विद्यार्थी रहेको अनुमान छ। तीमध्ये पाँच हजार जति युक्रेनबाट बाहिरएको अनुमान छ । घटनापछि विद्यार्थीका बुबासँग टेलिफोनमा कुरा गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीले दुखः व्यक्त गरेको भारतीय संचारमाध्यमले लेखेका छन् ।

  • नेपालमा १५८ जनामा कोरोना पुष्टी, ३५४ ले जिते

    नेपालमा १५८ जनामा कोरोना पुष्टी, ३५४ ले जिते

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १५८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चार हजार ४५८ पीसीआर परीक्षणमा ९२ जना र दुई हजार ४६ एन्टिजेन परीक्षणमा ६६ जना गरी १५८ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या ३५४ रहेको छ भने संक्रमणका कारण दुई जनाको मृत्यु भएको छ । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमित संख्या सात हजार ९७१ रहेको छ ।

    जसमध्ये ७ हजार ७७३ जना होम आइसोलेसनमा रहेका छन् भने १९८ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ७५ जना आईसीयू र ८ जना भेन्टिलेटरमा उपचाररत् छन् । मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १६ हजार ५२९ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ९३८ पुगेको छ भने ९ लाख ५७ हजार १६७ जना संक्रमणमुक्त भएका छन् । यस्तै १० वर्ष मुनिका बालबालिकामा कोरोना संक्रमण शून्‍यमा झरेको छ भने ११ देखि २० वर्ष उमेर समूहका ५ जना कोरोना संक्रमित थपिएका छन् ।

  • एमसीसीलाई लिएर सत्तारुढ गठबन्धनको दोहोरो चरित्र  -एमाले

    एमसीसीलाई लिएर सत्तारुढ गठबन्धनको दोहोरो चरित्र -एमाले

    काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले अमेरिकी सहायता परियोजना एमसीसीलाई लिएर सत्तारुढ गठबन्धनको दोहोरो चरित्र उदांगो भएको जनाएको छ।

    पत्रकार सम्मेलनमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको वक्तव्य वाचन गर्दै उपमहासचिव प्रदीप ज्ञवालीले संसद्को सबैभन्दा ठूलो र प्रमुख प्रतिपक्षी दललाई सम्झौता पास गर्ने प्रक्रियाबाट वञ्चित गरिएको टिप्पणी गरेको छ।

    विज्ञप्तिमा भनिएको छ यस सम्बन्धमा एमसीसी आफैँले वक्तव्य दिएर यस्ता कथित घोषणाले सम्झौतामा कुनै फरक नपार्ने कुरा स्पष्ट पारिसकेको छ ।

    तर, अझै पनि केही नेताहरु ‘व्याख्यात्मक घोषणा’ हिजो आफुले गलत थियो भनिएको एमसीसीलाई दुरुस्त पार्ने भ्याक्सिनका रुपमा प्रचार गर्न खोज्दै छन् । यो जनतालाई दिग्भ्रमित पार्ने अर्को चालबाजी हो ।

    हामी केही नेताहरुका ‘लत्रिएका जुँगा’लाई ‘ठाडो पार्ने हतियार’का रुपमा संसदीय अभ्यासलाई विकृत पार्दै दुरुपयोग गरिएकोमा दुःखित छौँ ।

    यसक्रममा निहित स्वार्थसहित सत्ता गठबन्धनबाट चालिएका चालको पटाक्षेप भएको छ’, ओलीले विज्ञप्तिमा भनेका छन्, ‘यसक्रममा अनेक भ्रम फिँजाइएको थियो। दुई पक्षीय या बहुपक्षीय लगानीमा एक पक्षीय घोषणा गरिएको छ। व्याख्यात्मक घोषणाका नाममा सत्ता सञ्चालकको छेपारे प्रवृत्ति उदांगो भएको छ।’

    एमालेको विज्ञप्तिको पूर्णपाठ

    १. अमेरिकी सहयोग निकाय मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सँगको अनुदानसम्बन्धी सम्झौता प्रतिनिधिसभाको २०७८ फागुन १५ गतेको बैठकबाट अनुमोदन भएको छ । यस घोषणासँगै निहीत स्वार्थसहित चालिएका चाल र चलाइएको प्रचारवाजीको पटाक्षेप भएको छ । यसक्रममा फिँजाइएका भ्रम तथा विभिन्न रंग र आकारका पुलिन्दा निर्माण गरी बिक्री गर्न खोजिएका घिनलाग्दा स्वार्थहरुले द्विपक्षीय वा बहुपक्षीय प्रत्यक्ष लगानी, ऋण वा अनुदान सहायता प्राप्त हुने प्रक्रिया, प्रस्तावको तयारी र त्यसमा प्रयोग हुने भाषा तथा कार्यान्वयन प्रतिबद्धताजस्ता कैयौँ विषयमा सत्ता–गठबन्धनका केही नेताहरुमा रहेको अज्ञानता वा गैरजिम्मेवारपन प्रकट भएको छ । राष्ट्रिय हितको वास्ता नगरी आफ्नै क्षुद्र र निजी स्वार्थ पूरा गर्न खोज्ने उनीहरुका बोली र व्यवहारमा रहेको अवसरवादी छेपारेपनले सत्ता सञ्चालक पार्टी र तिनका नेताहरुको अविश्वसनीयता समेत उदाङ्गो भएको छ ।

    २. फागुन १५ गतेको प्रतिनिधिसभा बैठकका दुबै सत्रमा हाम्रो पार्टीलाई प्रक्रियामा सहभागी हुनबाट बञ्चित गरियो । यसले देशको प्रमुख प्रतिपक्षलाई यस प्रक्रियाबाट बाहिर राख्ने सत्ताधारी गठबन्धनको षड्यन्त्रपूर्ण व्यवहार पनि स्पष्ट भएको छ । संसद्को सबैभन्दा ठूलो दल– नेकपा (एमाले)लाई वेलमा राखेर अवरोधका बीच यस्तो संवेदनशील निर्णय गरिएको छ । केही अघि हाम्रो नेतृत्वमा सरकार रहेको बेलामा नयाँ नक्सालाई संविधानको अनुसूचीमा समेट्न संविधान संशोधन गर्ने जस्तो संवेदनशील विषयमा संसद्लाई एक बनाई राष्ट्रिय एकता प्रदर्शन गरिएको घटनालाई हामी स्मरण गरिरहेका छौँ । यस सन्दर्भमा राष्ट्रिय महत्वको मुद्दामा सबै दलहरुलाई एक ठाउँमा उभ्याउने दायित्वबाट स्वयम् प्रधानमन्त्री समेत विमुख हुन पुग्नु दुःखद् कुरा हो । ‘प्रमुख प्रतिपक्षी दललाई छक्याएर गठबन्धन टिकायौँ’ भन्नेजस्ता सत्ताधारीहरुको प्रलापले लोकतान्त्रिक अभ्यासको उपेक्षा मात्र होइन, समाजमा कलह सिर्जना गर्ने र हाम्रो दललगायतका दलहरुलाई विभाजन गर्ने ठगी धन्दाको पर्दाफास भएको छ ।

    ३. संसदमा माननीय सदस्यहरुको अवरोधलाई अनदेखा गर्दै बलमिच्याइँ गर्ने सभामुखको व्यवहार झनै आपत्तिजनक छ । सरकारले दिएको विजनेस सदनमा प्रस्तुत नगर्नेजस्ता पदीय दायित्व प्रतिकुल व्यवहार गर्दै आउनुभएका सभामुखले कुनै समय एमसीसीसम्बन्धी प्रस्ताव टेबल गर्नुपरेमा आत्महत्या गर्छु भन्नेजस्ता आवेगपूर्ण अभिव्यक्ति दिनुभयो । षड्यन्त्रको पटकथा तयार भएपछि भने ‘सभामुख भनेको अम्पायर हो’ भन्नेजस्ता शब्दावली प्रयोगमा ओर्लिनु भयो । यसले उहाँको यो व्यवहार पदीय कर्तव्यको पालनाभन्दा पनि दल विशेषको आज्ञापालन गर्ने देखिन्छ । उहाँ नै दलहरुले कारबाही गरेका अनुशासनहीन सांसदलाई जोगाएर दल विभाजनको मतियार बन्नुभयो । अहिले राष्ट्रिय राजनीति लिकबाट बाहिरिएको छ । संसदभित्र वा बाहिरको हाम्रो जारी लडाइँ लोकतन्त्रको आधारभूत मूल्य, मान्यता र दलीय प्रणालीको मर्मलाई स्थापित गर्न र त्यसलाई अझ सुदृढ गर्नका लागि हो । संसद् जननिर्वाचित प्रतिनिधिमार्फत् लोकतन्त्रको अभ्यास गरिने थलो हो । चार वर्षअघिको जनादेश अहिले खण्डित भएको छ । त्यसैले संसद् प्रभावकारी हुन सकिरहेको छैन । त्यसमाथि सभामुखको भूमिकाले थप गतिरोध सिर्जना भएको छ । यी सबै घटनाक्रमले सभामुख यस गरिमामय पदका लागि योग्य हुनुहुन्न भन्ने थप पुष्टि भएको छ ।

    ४. गठबन्धनका केही दलहरुले एमसीसी सम्झौता राष्ट्रघाती भन्दै कार्यकर्ता भड्काउने र जनतामा अन्यौल सिर्जना गर्ने कार्य गर्दै आए, विषाक्त प्रचारबाजी गरे । द्विपक्षीय विषयलाई भूराजनीतिक विषयजस्तो बनाइयो । चौबीस घन्टाअघि उनीहरुले सत्ता छोड्ने तर सहमति नगर्ने पनि भन्न भ्याए । २४ घण्टापछि उनीहरुमा ‘दिव्यज्ञान’ पलायो र शुरु भयो अर्को स्पष्टिकरणको सिलसिला– पद जोगिनु क्रान्ति, पद जानु प्रतिक्रान्ति, गठबन्धन ढले आफू ढल्ने, आफ्ना हितैषीहरुको पनि पद जाने भएकोले समर्थन गर्नुको विकल्प नरहेको वयानबाजी गरे । खासगरी नेकपा (एमाले)का विरुद्ध हतियारका रुपमा प्रयोग गरिएको यस सम्झौताका सन्दर्भमा अढाई वर्षको अवधिमा के–के मात्रै भनिएन र गरिएन ? पहिलो– केपी ओली प्रधानमन्त्री पदबाट प्mयाँकिएपछि अनुमोदन गर्ने । दोस्रो– ४÷५ महिना समय पाऊँ, पारित गर्छौं । तेस्रो– चुनावपछि पारित गरौंला । चौथो– यथास्थितिमा पारित गर्दैनौं । पाँचौंं– बहिस्कार गरेर पारित गर्न सहयोग गर्छाैं । छैटौं– लाज छोप्ने पातलो र पारदर्शी पर्दा पाऊँ, अनि पारित गर्छौंं, आदि । यी सबै रङ्गीविरङ्गी हरकतको सार एउटै थियो– नेकपा (एमाले)लाई कमजोर पार्ने र सत्ता टिकाउने । एकातिर आप्mनो स्वार्थअनुकूल सत्ताको लेनदेन गर्ने, अर्कातिर आप्mना नेता–कार्यकर्तालाई राष्ट्रवादको नाममा सडकमा उतार्ने, सार्वजनिक सम्पत्तिमा तोडफोड गर्न लगाउने र कार्यकर्ता तथा राज्यका सुरक्षा निकायबीच भिडन्त गराउने दुष्कर्म गराए । यस्तो लबस्तरोपनले उनीहरुको वास्तविक अनुहार उदाङ्गो भएको छ र भ्रमको पर्दा च्यातिएको छ ।

    ५. प्रतिनिधिसभाको बैठकमा प्रस्तुत ‘व्याख्यात्मक घोषणा’ शाकाहारीले ‘कितावको माछा पो खान हुन्न, खोलाको त भइहाल्छ नि’ भनेजस्तै हो । गठबन्धनका नेताहरु त्यस घोषणालाई लालीपाउडर घसीघसी अझै भ्रमको खेती गर्नमा सक्रिय छन् । दुई सरकारबीच भएको सम्झौता, सहमतिको झन्डै आधा दशकपछि एकतर्फी व्याख्याद्वारा संशोधन हुन्छ भन्नु जनतालाई ढाँट्ने दुष्प्रयास हो र यो हास्यास्पद कुरा हो । यो तथ्य प्रतिनिधिसभाको बैठकमा सत्तापक्षीय केही माननीयहरुद्वारा समेत अभिव्यक्त भएको छ । यस सम्बन्धमा एमसीसी आफैँले वक्तव्य दिएर यस्ता कथित घोषणाले सम्झौतामा कुनै फरक नपार्ने कुरा स्पष्ट पारिसकेको छ । तर, अझै पनि केही नेताहरु ‘व्याख्यात्मक घोषणा’ हिजो आपूmले गलत थियो भनिएको एमसीसीलाई दुरुस्त पार्ने भ्याक्सिनका रुपमा प्रचार गर्न खोज्दै छन् । यो जनतालाई दिग्भ्रमित पार्ने अर्को चालबाजी हो । हामी केही नेताहरुका ‘लत्रिएका जुँगा’लाई ‘ठाडो पार्ने हतियार’का रुपमा संसदीय अभ्यासलाई विकृत पार्दै दुरुपयोग गरिएकोमा दुःखित छौँ ।

    ६. एउटा तथ्यमा हामी सबै स्पष्ट हुनुपर्छ, एमसीसीसम्वन्धी मुद्दा तत्कालीन नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदच्यूत गर्ने लक्ष्यसहित विकृत रुपमा शुरु गरिएको योजनाबद्ध दुष्प्रचार थियो । गलत मनशायमा आधारित त्यस ‘अभियान’ले झण्डै तीन वर्षदेखि नेपाली जनमानसलाई अनावश्यक ढङ्गले गिजोल्यो, विभाजित गर्‍यो । विवाद यसरी उछालियो कि त्यसले नेपाल राष्ट्रको सामथ्र्यलाई उपेक्षा गर्‍यो र नेपाली स्वाभिमानको समेत तेजोबध गर्‍यो । मुलुकलाई माया गर्ने र विकास तथा समृद्धिको सपना बोकेका नेताप्रति द्वेषपूर्ण अभिव्यक्तिको लागि सिङ्गो समाजलाई उकास्यो । कुत्सित स्वार्थपूर्तिको लागि चलाइएको अफवाह र हल्लैहल्लामा सिर्जना गरिएको कृत्रिम विवादमार्फत् नेपाली–नेपालकाबीच एकापसमा अविश्वासको अकल्पनीय खाडल खडा गर्‍यो ।

    ७. एमसीसी सम्झौता अहिलेका सत्तागठबन्धनमा रहेका दलहरुले गरे । यसलाई विवादास्पद पनि तिनै गठबन्धनका नेताहरुले बनाए । सम्झौता आफूले गरे, जनताले जवाफ माग्दा उत्तर दिनुको साटो प्रश्न एमसीसीतिर तेस्र्याए । सन्धि¬–सम्झौताका सन्दर्भमा राज्यले गर्नुपर्ने पत्राचारजस्तो विषयमा दलका नेताले हात हालेर कूटनीतिक मर्यादाको घोर उल्लंघन गरे । हाम्रो पार्टी विभाजनको लागि समेत हतियारको रुपमा यसैलाई प्रयोग गरे । हाम्रो पार्टी यसखाले दुःषित अभियानमा संलग्नहरुप्रति खेद प्रकट गर्दछ ।

    ८ नेपाललाई चाहिने कुनै पनि विकास अभियान सञ्चालन गर्न हामी नेपाली सक्षम र स्वतन्त्र छौँ । नेपालको संविधान जारी भएसँगै नेपाल विकास र समृद्धिको नयाँ चरणमा प्रवेश गरेको छ । ‘समृद्ध नेपाल, सुखी नेपाली’को हाम्रो राष्ट्रिय आकाङ्क्षा पूरा गर्न हामीलाई द्विपक्षीय होस् वा बहुपक्षीय व्यापक मात्रामा वैदेशिक सहायताको आवश्यकता छ । हामीले भनेका छौँ– हामी हाम्रो राष्ट्रिय हित र स्वाभिमान विपरीत कुनै पनि अनुचित शर्तसहित आउने लगानी होस् वा सहायता केही पनि स्वीकार्दैनौं । हामी हाम्रो आवश्यकता र प्राथमिकता एवम् उचित आधारमा आउने बाह्य ऋण, लगानी वा सहायता स्वीकार्छाैं । हामी त्यस्तो सहायता परिचालन गरी विकासको प्रतिफल आप्mना देशवासीलाई उपलब्ध गराउने सामथ्र्य राख्छौँ । सार्वभौम समानताको आधारमा कुनै पनि मित्रराष्ट्र र हितैषी दातृसंस्थासँग सहायता परियोजना लिने वा नलिने निर्णय गर्न पनि स्वतन्त्र तथा सक्षम छौँ । कुनैै पनि दाताबाट प्राप्त विकास सहायता परिचालन गर्दा छिमेकी मित्रराष्ट्रहरुको संवेदनशीलताप्रति हामी सजग रहन्छौँ । हामी सबै मित्रराष्ट्रको सहयोगलाई उत्तिकै महत्व दिन्छौं । सहयोगी कुनै पनि राष्ट्रहरुका चासो तथा संवेदनशीलताप्रति सजग रहन्छौँ ।

    ९ सरकार भनेको राज्यका तर्फबाट अधिकारप्राप्त अविच्छिन्न उत्तराधिकारवाला संस्था हो । एउटा सरकारले दातृराष्ट्र या निकायसँग गरेको सहमति वा सम्झौता अर्को सरकारले उपयुक्त कारण र प्रक्रियाविनै रद्द गर्ने हो भने त्यस्ता राष्ट्रप्रति विश्वासको सङ्कट उत्पन्न हुन्छ । तसर्थ, राज्यका निकायहरुले विमर्श गरी, हाम्रो राष्ट्रिय आवश्यकता पूरा गर्न अनुरोध गरिएका, सम्झौता गरिएका परियोजनाहरुलाई जुन सरकारको नेतृत्वमा शुरु भएको भए पनि उत्तराधिकारी सरकारले निरन्तरता दिनुपर्ने सामान्य विधिप्रति हामी स्पष्ट छौँ भन्ने कुरा व्यवहारले नै प्रमाणित गरिसकेको कुरा हो । यसले हाम्रो पार्टी अरुभन्दा फरक र जिम्मेवार पार्टी हो भन्ने कुरा थप पुष्टि भएको छ ।

    १० कुनै पनि बाह्य सहायता लिनुपूर्व वा लिने सम्झौता गर्नुपूर्व सबै पक्षहरुमा यथेष्ट ध्यान दिनु आवश्यक छ । सम्झौता गरिसकेपछि कार्यान्वयनतर्फ लाग्नुपर्दछ । यस सम्बन्धमा केही प्रश्न उठेमा स्पष्ट पार्ने दायित्व पनि सरकारकै हुन्छ । अहिले सत्ता गठबन्धनका केही नेताहरुबाट अपारदर्शी ढङ्गले जे–जस्तो सहमति पनि गर्न तयार हुने तर जननिर्वाचित प्रतिनिधिहरुको नजरबाट लुकाउन खोज्नेजस्ता द्वैध चरित्र प्रदर्शन भएको छ । ‘सरकारले गरेको सम्झौता सुटुक्क लागू गर्न छोडेर संसद्मा किन पेश गरियो’ भन्नेजस्ता छली प्रवृत्तिसँग नेकपा (एमाले) सहमत हुन सक्दैन । त्यसै कारण यो संसद्मा अनुमोदनका लागि प्रस्तुत गरिएको थियो ।

    ११ एमसीसी परियोजनासम्बन्धी सम्झौता संसद्बाट अनुमोदन भइसकेको छ । अब राष्ट्रको हित प्रतिकूलन हुने गरी यसको कार्यान्वयन हुनुपर्दछ । पारित भइसकेको परियोजनाका बारेमा राष्ट्रको जनमतलाई थप विभाजित गर्नु हानिकारक हुन्छ ।

    १२ मुलुकको विकासका लागि दूरदृष्टिसहितको बलियो राष्ट्रिय सङ्कल्प चाहिन्छ । त्यो सङ्कल्प पूरा गर्न राष्ट्रिय दृष्टिकोण र अडान भएको बलियो राष्ट्रिय पार्टी चाहिन्छ । दरिलो राष्ट्रिय एकता कायम गरी विकास अभियान सञ्चालन गर्न कुण्ठा एवम् स्वार्थप्रेरित अतिरञ्जनापूर्ण प्रचारबाजीबाट मुक्त हुनु आवश्यक छ । एमसीसी प्रकरणमा गठबन्धनमा रहेका केही पार्टीका गलत चालवाजी र उनीहरुबाट प्रकट भएका घातक प्रवृत्तिबाट मुलुकलाई मुक्त पार्न आवश्यक छ । ती दलहरुसँग आस्थाका कारण भावना जोडिएका निर्दोष कार्यकर्ताहरु अझै हुनुहुन्छ । सङ्कीर्ण राजनीतिक स्वार्थका लागि भ्रमको पर्दा खडा गरेर आफ्ना कार्यकर्तालाई बारम्बार दुरुपयोग गर्ने नेतृत्वबाट सचेत रहँदै बलियो राष्ट्रिय शक्ति निर्माणमा योगदान गर्नका लागि हाम्रो पार्टी त्यस्ता कार्यकर्ता तथा सदस्यहरुलाई आह्वान गर्दछ ।

    केपी शर्मा ओली
    अध्यक्ष

  • राप्रपा परित्याग गरेका कमल थापाले पाएनन् छोरी र भतिजको पनि साथ

    राप्रपा परित्याग गरेका कमल थापाले पाएनन् छोरी र भतिजको पनि साथ

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरेर नेपाल प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल)मा अध्यक्षको जिम्मेवारी सम्हालेका कमल थापालाई पारिवारिक सदस्यले नै औपचारिक रूपमा अझै साथ दिएका छैनन् ।

    गत १५–१७ मंसिरमा महाधिवेशनमा पूर्वराजा ज्ञानेन्द्र शाह र निर्मल निवासको सचिवालयले ‘हस्तक्षेप गरेको’ र सो घटनामा अध्यक्ष राजेन्द्र लिङदेनले छलफल ‘नचलाएको’ भन्दै असन्तुष्ट थापाले पार्टी परित्याग गरे पनि नयाँ पार्टीका लागि पारिवारिक सदस्यका छोरी र भतिजाले नै साथ नदिएका हुन् ।

    गत महाधिवेशनवाट केन्द्रीय सदस्य निर्वाचित छोरी प्रतिष्ठा रायमाझी थापा र भतिजा अभिषेक थापाले लिङ्देन नेतृत्वको राप्रपाबाट अझै राजीनामा दिएका छैनन्, राजीनामा नदिएका कारण छोरी र भतिजा अझै पनि लिङ्देन नेतृत्वको राप्रपाका केन्द्रीय सदस्यको जिम्मेवारीमा कायमै छन् ।

    ‘ठूलो बुबा (कमल थापा) ले नयाँ पार्टीका जिम्मेवारी लिए पनि हामीले औपचारिक रूपमा राप्रपा छाडेका छैनाैँ । राप्रपामा हाम्रो माग सम्बोधन गराउनका लागि अझै दबाब दिने र आफ्ना धारणा राख्ने भन्नेमा नै छौं,’ अभिषेकले न्युज कारखानासँग भने, ‘भोलिदेखि सुरु हुने केन्द्रीय समिति बैठकमा सम्भव भएसम्म उपस्थित हुने र आफनो धारणा राख्नेबारेमा गृहकार्य गरिरहेका छौं ।’

    उनका अनुसार भोलिदेखि सुरु हुने राप्रपा केन्द्रीय समिति बैठकमा उपस्थिति हुने नहुनेदेखि धारणा राख्नेबारेमा औपचारिक निर्णय भने अझै भइसकेको छैन ।

    यसैगरी, थापाको प्यानलवाट विजयी भएका उपाध्यक्ष बुद्धीमान तामाङ, रोशन कार्की, धु्रबहादुर प्रधान, महामन्त्रीद्वय कुन्ती शाही र भुवन पाठकलगायतले उनलाई ‘नैतिक समर्थन’ जनाए पनि राप्रपा भने अझै परित्याग गरिसकेका छैनन् ।

    यसबारेमा थापाले शीर्ष नेतृत्वसँग आजै अनौपचारिक कुराकानी गर्ने बुझिएको छ । महाधिवेशनमा पराजित भएका थापाले गत २५ माघ गते लिङ्देन नेतृत्वको पार्टी परित्याग गरी राप्रपा नेपालको अध्यक्षको जिम्मेवारी सम्हालिसकेको दुई साता नाघिसकेको छ ।

  • आज नेपाली सेना दिवस, राष्ट्रपति टुडिखेल जाने

    आज नेपाली सेना दिवस, राष्ट्रपति टुडिखेल जाने

    काठमाडौं । नेपाली सेनाले आज सेना दिवस मनाउँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारी शिवरात्रि तथा सेना दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने विशेष समारोहमा प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यक्रम रहेको छ । नेपाली सेनाले दुई दशकअघिदेखि शिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ। दिवसका अवसरमा सैनिक मञ्चमा परेड तथा तोप बढाइँ, कवाजलगायत विविध सांस्कृतिक कार्यक्रम सञ्चालन गरिन्छ ।

    यस पटक बेलायती सेनाको गोर्खा बिग्रेडबाटसमेत ब्यान्ड डिस्प्लेसहित गीतसङ्गीतको धुन प्रस्तुत गर्ने तयारी रहेको छ । जङ्गीअड्डा मातहत देशका विभिन्न भागमा तैनाथ कमाण्ड, बाहिनी, गण, गुल्मलगायत निकायमा आज विभिन्न कार्यक्रम गरेर सेना दिवस मनाइन्छ । नेपाली सेनाले पशुपतिनाथ मन्दिरमा हेलिकोप्टरबाट पुष्पवृष्टि गर्ने गर्छ ।