Category: समाचार

  • एमसीसी टेबुल गर्ने निर्णयको विरोधमा नेपाल बन्द आह्वान, प्रभाव सामान्य

    एमसीसी टेबुल गर्ने निर्णयको विरोधमा नेपाल बन्द आह्वान, प्रभाव सामान्य

    काठमाडौं । बुधबार सरकारले संसदमा एमसीसी टेबुल गर्ने सम्भावना छ । यस दिनको विरोधमा विभिन्न कम्यूनिष्ट घटकहरुले नेपाल बन्दको आह्वान गरेका छन् । नेपाल बन्दको आह्वान गरेसँगै गृह मन्त्रालयले समेत काठमाडौं उपत्यकासहित ७७ वटै जिल्लामा सुरक्षा सतर्कता बढाएको बताएको छ । अमेरिकी सहयोग परियोजना एमसिसीको विरोधमा ६ वटा कम्युनिस्ट पार्टी र एउटा मोर्चाले आज नेपाल बन्दको घोषणा गरेका हुन् ।

    मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी) माओवादी), नेत्रविक्रम चन्द )विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेकपा, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी र कर्णजीत बुढाथोकी नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी र सीपी गजुरेल नेतृत्वको देशभक्त गणतान्त्रिक मोर्चा नेपालले बन्द आह्वान गरेको हो। बन्दको प्रभाव काठमाडौं उपत्यकामा भने त्यति परेन । लामो दूरीका सवारी साधन भने प्रभावित भएका छन् ।

  • आज प्रतिनिधिसभाको बैठक, एमसीसी पेश गर्ने तयारी

    आज प्रतिनिधिसभाको बैठक, एमसीसी पेश गर्ने तयारी

    काठमाडौं । प्रतिनिधि सभाको बैठक बुधबारका लागि बोलाइएको छ । दिउँसो १ बजे बस्ने गरि बैठक बोलाइएको छ । बैठकका कार्यसूची तय गर्न सभामुख अग्नि सापकोटाले बिहान साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । सत्तँरुढ दलहरुबीच बुधबार नै अमेरिकी सहयोग परियोजना एमसीसी टेबुल गर्ने सहमति जुटेको छ । नेपाली कांग्रेसले एमसीसी आजै टेबुल गर्नुपर्ने प्रस्ताव राखेका छन् । यसमा पास गर्ने दिन आफुहरु अनुपस्थित हुने शर्तमा माओवादी र समाजवादीले समेत सहमति गरेको बुझिएको छ ।

    यस्तो अवस्थामा गठबन्धन कायम रही एमसीसी पास गर्न एमालेको भूमिका निर्णायक हुनेछ । मंगलबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच एमसीसी सम्झौता अनुमोदनका लागि संसदमा टेबल गर्ने समझदारी बनेको हो । एमसीसी अनुमोदन भने कहिले हुने निश्चित छैन । अमेरिकाले एमसीसीबारे छिटो टुंगोमा पुग्न भनेको छ । संघीय संसद सचिवालयले मंगलबार सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा एमसीसी राखिएको छैन ।

  • पोखराबाट धनगढी र जनकपुरमा हुने भयो सिधा उडान

    पोखराबाट धनगढी र जनकपुरमा हुने भयो सिधा उडान

    काठमाडौं । अब पोखराबाट जनकपुर र धनगढी सिधा हवाई उडान हुने भएको छ । बुद्ध एयरले सिधा उडानको घोषणा गरेको हो । कम्पनीका नुसार आगामी १७ फागुनबाट यी दुई रुटमा उडान गर्न लागेको हो । पोखराबाट सोमबार, बिहीबार र शनिबार जनकपुरका लागि सिधा उडान हुनेछ । पोखराबाट धनगढीका लागि भने आइतबार, बुधबार र शुक्रबार उडान हुने गरी तोकिएको छ । पछिल्लो समय बुद्धले क्षेत्रीय उडानलाई प्राथमिकता दिएको छ । पोखराबाट साढे ११ बजे उड्ने जहाज धनगढीबाट भने १२ः४० मा पोखराका लागि उड्ने छ । बुद्धले अहिले पोखराबाट सिमरा, नेपालगञ्ज, भैरहवामा सिधा उडान गरिरहेको छ ।

  • ज्ञानेन्द्र शाहीको समूह राप्रपामा प्रवेश गर्ने

    ज्ञानेन्द्र शाहीको समूह राप्रपामा प्रवेश गर्ने

    काठमाडौं । ज्ञानेन्द्र शाही नेतृत्वको हाम्रो नेपाल हाम्रो नेपाली अभियानको समूह राष्ट्रिय प्रजातन्त्र पार्टीमा समाहित हुने भएको छ । मंगलबार बसेको राप्रपाको केन्द्रीय पदाधिकारी बैठकले शाही नेतृत्वको अभियानलाई पार्टीमा समाहित गर्ने प्रस्ताव अनुमोदन गरेको हो । राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार फागुन ६ गते राप्रपा र शाही नेतृत्वको अभियानबीच एकता घोषणा हुने भएको छ ।

    राप्रपाले समान विचार भएका व्यक्ति, समूह र दलसँग एकता, मोर्चा वा सहकार्य गर्न महामन्त्री डा। धवलशमशेर राणाको संयोजकत्वमा वार्ता समिति गठन गरेको थियो । सो वार्ता समितिले शाही नेतृत्वको अभियानलाई राप्रपामा समाहित गर्न प्रस्ताव गरेको थियो । आफुलाई भ्रष्टाचार विरोधी अभियन्ता बताउने शाही विवादित पात्र हुन् ।

  • संसदमा एमसीसी पेश गर्ने कांग्रेस संसदीय दलको निर्णय

    संसदमा एमसीसी पेश गर्ने कांग्रेस संसदीय दलको निर्णय

    काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)लाई संसदमा पेश गर्ने निर्णय गरेको छ।

    नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा जारी संसदीय दलको बैठकले एमसीसी संसद्‌मा पेश गर्ने निर्णय गरेको हो ।

    गठबन्धनमा रहेका अन्य दलहरुले पनि एमसीसीलाई सकारात्मक रुपमा लिँदै संसदबाट अनुमोदन गराउन सहयोग गर्नुपर्ने कांग्रेसको ठहर छ ।

    पूर्वअर्थमन्त्री तथा नेपाली काँग्रेसका नेता डा.रामशरण महतले एमसीसी राष्ट्रिय हितमा रहेकाले कुनै पनि हालतमा पारित गर्नुपर्ने बताए ।

    उनले एमसीसीको बारेमा गलत आलोचना गरेर शक्तिशाली र सहयोगी राष्ट्रसँगको सम्बन्धमा दखल गर्न खोजिएको आरोप समेत लगाए। नेता महतले एमसीसी पारित गरेमा राष्ट्रको आर्थिक वृद्धि हुने, रोजगारीका अवसरहरु बढ्ने र पूर्वाधारको विकास हुने पनि बताए।

    एमसीसीको बारेमा अमेरिकी सेनासँग सम्झौता हुने लगायतका भ्रमपूर्ण प्रचार गरिएको भन्दै एमसीसी नेपालको कानून अनुसार सम्झौता गरिएको उनको भनाइ छ।

    उनले बीआरआई र इण्डोप्यासिफिक रणनीतिसँग एमसीसीको कुनै सम्बन्ध नरहेको बताए । एमसीसी सहयोग कुनै पनि मुलुकको हितविपरित नभएको दाबीसमेत उनले गरे।

  • भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा क्यालिब्रेसन उडान गर्दा नियमित उडान प्रभावित हुने

    भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा क्यालिब्रेसन उडान गर्दा नियमित उडान प्रभावित हुने

    काठमाडौं । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा १० दिन परीक्षण उडान (क्यालिब्रेसन उडान) हुने भएको छ ।

    राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको भैरहवा (रुपन्देही) मा निर्माण गरिएको गौतमबुद्ध विमानस्थलमा फागुन ६ देखि १५ गते सम्म परीक्षण उडान हुन लागेको हो ।

    नागरिक उड्डयन प्रधिकरणले मंगलवार एक सूचना जारी गर्दै परीक्षण उडानको समयमा नियमित उडान प्रभावित हुने जनाएको छ ।

    क्यालिब्रेसन फ्लाइट विमानस्थलको ग्राउन्ड र जहाजबीचको सूचना आदानप्रदान सही छ, छैन भनेर जाँच गर्ने विधि हो।

    यो उडानले विमानस्थलमा जडान भएका उपकरणहरु उपयुक्त छ/छैन भन्ने परीक्षण गर्नेछ । यो आयोजनामा उपकरण जडानसहित प्राविधिक कामको जिम्मेवारी एरोनटिकल रेडियो अफ थाइल्याण्ड (एरोथाई) ले पाएको छ ।

    उक्त कम्पनीले क्यालिब्रेसन फ्लाइटको जिम्मा समेत लिएको हो । एरोथाई कम्पनीले क्यालिब्रेसन उडानका लागि अहिले अन्तिम चरणका काम गरिरहेको छ ।

    यसका लागि पाँच/सात सिट भएको विमानले विमानस्थललाई केन्द्रित गरी उडानका क्रममा एन्टिना, सिग्नल रिसिभ, लाइटिङ, कम्युनिकेसन लगायतका सूचना ठीक छ छैन भनी परीक्षण गरिन्छ।

    क्यालिब्रेसन फ्लाइटमा सबै सिग्नल र सूचना सही देखिएपछि मात्रै अरू जहाजको उडान र अवतरण सुरू गरिन्छ।

    बुद्ध जन्मस्थल लुम्बिनीसँगै जोडिएर निर्माण भइरहेको गौतमबुद्ध विमानस्थललाई नेपाल सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा अगाडि बढाएको थियो ।

    २०७४ साल पुस मसान्तभित्रै निर्माण सम्पन्न गर्नेगरी निर्माण सुरू गरिएको रूपन्देहीको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य ५ वर्ष ढिलो गरी सम्पन्न भएको हो।

    २०७१ साल माघ १ गते तत्कालीन प्रधानमन्त्री सुशिल कोइरालाले शिलान्यास गरेका थिए ।

  • शताब्दी पुरुष जोशी उपचारपछि डिस्चार्ज

    शताब्दी पुरुष जोशी उपचारपछि डिस्चार्ज

    काठमाडौं । स्वास्थ्यमा सुधार आएसँगै संस्कृतिविद् एवं शताब्दी पुरुष सत्यमोहन जोशी डिस्चार्ज भएका छन् । उनी सोमबार उपचारपछि घर फर्किएका हुन् । निमोनिया र स्वास प्रस्वासमा समस्या आएपछि उनी ललितपुरको ग्वार्कोस्थित किष्ट अस्पताल भर्ना भएका थिए । उनी एक साता अस्पतालमा बसे । यसबीचमा उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीसहित विशिष्ट व्यक्तिले स्वास्थ्यलाभको कामना गर्दै सन्देश पठाएका थिए ।

  • भक्तपुरमा बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

    भक्तपुरमा बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

    काठमाडौं । भक्तपुरको च्यामासिंमा बस र मोटरसाइकल ठोक्किएर भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । सोमबार बेलुका ८ बजे बा ३ ख ४७६५ नम्बरको बस र बा ६१ प ६६१८ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा पछाडि बसेका दोलखाका ३४ वर्षिय देवेन्द्र कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ। मोटरसाइकलका चालक घाइते छन् । उनको मध्यपुर थिमि अस्पतालमा उपचार जारी छ । बस चालक पक्राउ परेका छन् ।

  • अभिनेत्री रेखा थापाले गरिन् कोर्ट म्यारिज

    अभिनेत्री रेखा थापाले गरिन् कोर्ट म्यारिज

    काठमाडौं । अभिनेत्री रेखा थापाले कोर्ट म्यारिज गरेकी छिन् । इजरायल बस्दै आएका जाजरकोटका बलराम शाहीसँग उनले केही दिनअघि कोर्ट म्यारिज गरेको नेपाली संचारमाध्यमले लेखेका छन् । थापा नेपाली चलचित्र जगतमा सफल अभिनेत्री मानिन्छिन् । रेखा थापाले दोस्रो विवाह गरेकी हुन् ।

    निर्माता छविराज ओझासँगको वैवाहिक जीवन १० वर्षअघि सम्बन्धविच्छेद भएको थियो । रेखा र शाही केही समयदेखि प्रेम सम्बन्धमा रहेको सार्वजनिक भएको थियो । उनीहरुले काठमाडौं जिल्ला अदालतमा पुगेर विवाह गरेका हुन् । रेखा पछिल्लो समय राजनीतिमा तानिएकी छिन् । उनी राप्रपामा आवद्ध छिन् ।

  • नेपालमा थप ७४७ जनामा कोरोना पुष्टी,२३१९ जना संक्रमण मुक्त

    नेपालमा थप ७४७ जनामा कोरोना पुष्टी,२३१९ जना संक्रमण मुक्त

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ७४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको
    छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार २७९ जनाको पीसीआर परीक्षण गर्दा ४८२ जना र २४१७ जनाको एन्टिजेन परीक्षण गर्दा २६५ गरी ७४७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ७३ हजार ५४१ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा २३१९ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ९ लाख ४० हजार ९०२ पुगेको छ । संक्रिय संक्रमितको संख्या २० हजार ७३९ रहेको छ ।

    पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या ८ रहेको छ । नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ९०० पुगेको छ ।

  • चार न्यायाधीशविरुद्ध तत्काल ‘काउन्टर महाअभियोग’ नल्याउने एमालेको निर्णय

    चार न्यायाधीशविरुद्ध तत्काल ‘काउन्टर महाअभियोग’ नल्याउने एमालेको निर्णय

    काठमाडौं । नेकपा एमाले संसदीय दलको बैठकले तत्काल सर्वोच्चका ४ न्यायाधीश विरुद्ध महाभियोग अघि नबढाउने निर्णय गरेको छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा बसेको वैठकले उक्त निर्णय गरेको हो ।

    अध्यक्ष केपी शर्मा ओलीले महाभियोग प्रकरणमा आफ्नो पार्टीले आवेग र उत्तेजनामा होइन, सुझबुझपूर्ण रूपमा निर्णय गर्ने बताए ।

    ओलीले परिस्थितिलाई नजिकबाट नियालिरहेको उल्लेख गर्दै सत्ता गठबन्धन कसरी प्रस्तुत हुन्छ, त्यस आधारमा निर्णय गर्ने बताएका छन्।

    आइतबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध सत्ता गठबन्धनका ९८ जना सांसदले महाअभियोग प्रस्ताव दर्ता गराएका छन् । छापामार शैलीमा उक्त प्रस्ताव आएकाे भाेलिपल्टै बसेको एमाले संसदीय दलको बैठकले वस्तुस्थितिको ठोस अध्ययन गरेर मात्रै यसबारे निष्कर्षमा पुग्ने निर्णय गरेको हो ।

    बैठकबारे जानकारी गराउँदै एमालेका प्रमुख सचेतक विशाल भट्टराईले यसको म्याण्डेट उच्च तहका नेताहरूलाई दिएको जानकारी दिए । ‘एमालेले चार न्यायाधीशमाथि महाअभियोग ल्याउँछ भनेर समाचारहरु आए, यो पूर्वअनुमान मात्रै थियो । हतारमा निर्णय गरिनुहुँदैन । वस्तुस्थितिको ठोस अध्ययन गरेर मात्रै निर्णय गर्छौ,’ उनले भने ।

    त्यस्तै अर्को विषय अमेरिकी सहायता परियोजना (एमसीसी) बारे पहिले सत्ता पक्षको धारणा आउनुपर्ने पुरानै अडान दोहोर्‍याएको छ । ‘जबसम्म उहाँहरू एउटै धारणका साथ आउनहुन्न तबसम्म एमाले पर्ख र हेरको नीतिमा उभिएको छ,’ उनले भने, ‘आवश्यक परेका बेला एमालेले आवश्यक निर्णय लिन्छ ।’

    बैठकमा आफ्ना धारणा राखेका मध्ये भीम रावल, घनश्याम भुसाललगायतले चुनावको मुखमा चोलेन्द्र र एमसीसी बोकेर जान नहुने बताएका थिए । अन्य सांसदहरूको पनि यी दुई विषयमा पार्टीको ठोस धाराणा आउनुपर्ने सुझाव थियो ।

  • आज एमालको संसदीय दलको बैठक, संसदमा महाअभियोगको प्रतिवाद गर्ने तयारी

    आज एमालको संसदीय दलको बैठक, संसदमा महाअभियोगको प्रतिवाद गर्ने तयारी

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सोमबारका लागि संसदीय दलको बैठक बोलाएको छ । बिहान ११ बजे बस्ने बैठकले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरूद्ध सत्तारूढ दलले ल्याएको महाभियोग प्रस्तावको प्रतिवाद गर्ने सम्बन्धमा महत्त्वपूर्ण निर्णय गर्ने भएको छ । आइतबार साँझ अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको केन्द्रीय सचिवालय बैठकपछि महासचिव शंकर पोखरेलले संसदीय दलको बैठकले यसबारे महत्त्वपूर्ण निर्णय लिने बताएका थिए । सचिवालय बैठकले महाभियोग प्रस्ताव न्यायपालिका र लोकतन्त्रविरुद्धको षड्यन्त्रपूर्ण कदम भएको भन्दै प्रतिवाद गर्ने निर्णय गरिसकेको छ । प्रतिवादको स्वरुप के हुने भन्नेबारे संसदीय दलको बैठकले निर्णय गर्नेछ ।

  • सभामुखले बोलाएको सर्वदलीय बैठक आज

    सभामुखले बोलाएको सर्वदलीय बैठक आज

    काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाको आह्वानमा सोमबार सर्वदलीय बैठक बस्दैछ । सभामुख सापकोटाले दिउँसो २ बजे संसदमा प्रतिनिधित्व गर्ने दलहरुको बैठक बोलाएका हुन् । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसद सचिवालयमा सत्ता गठबन्धनका सांसदहरुले महाअभियोग प्रस्ताव दर्ता गराएपछिको घटनाक्रमबारे छलफल गर्न सभामुख सापकोटाले सर्वदलीय बैठक बोलाएका छन् ।

    बैठकमा संसदमा एमालेले गर्दै आएको अवरोध खुलाउने र महाअभियोग प्रस्ताव प्रक्रियामा लैजाने विषयमा छलफल हुने सभामुखको सचिवालयले जनाएको छ । संसदमा नेकपा एमालेको अवरोध कायम रहेको छ । संसदमा एमसीसी लैजाने विषयमा समेत छलफल हुने भएको छ ।

  • हिउँ खेल्दा वेपत्ता भएका दुई किशोर मृत फेला

    हिउँ खेल्दा वेपत्ता भएका दुई किशोर मृत फेला

    काठमाडौं । गोरखामा हिउँ खेल्ने क्रममा वेपत्ता भएका बारपाकका दुई किशोर मृत भेटिएका छन् । बारपाक सुलिकोट गाउँपालिका–१ तिम्रास्थित डाँडाको खोचमा आइतबार उनीहरूको शव फेला परेको प्रहरीको भनाई छ । हिउँ खेल्न भन्दै माघ २० गते बारपाक सुलिकोट गाउँपालिका १ का साइला भन्ने सञ्जय घले र बारपाक सुलिकोट २ का करण घले लाप्राक गएका थिए । सोही दिनदेखि उनीहरू सम्पर्कविहीन थिए ।

    २३ गते आफन्तले खोजी कार्यका लागी भन्दै प्रहरीमा निवदेन दिएपछि स्थानीयको सहयोगमा प्रहरीले खोजी कार्य सुरु गरेको थियो । आइतबार साँझ करिब पाँच बजे उनीहरू मृत अवस्थामा भेटिएको प्रहरीको भनाई छ । ‘घटनाको प्रकृति हेर्दा हिउँ खेल्ने क्रममा उनीहरु चिप्लिएर खोचमा पुगेको र माथि आउन नसकेर त्यही मृत्यु भएको अनुमान प्रहरीले गरेको छ ।

  • क्यानका महानिर्देशकलाई अवकाश दिने निर्णय कार्यान्वन नगर्न सर्वोच्चको आदेश

    क्यानका महानिर्देशकलाई अवकाश दिने निर्णय कार्यान्वन नगर्न सर्वोच्चको आदेश

    काठमाडौं । नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) को महानिर्देशक राजकुमार क्षेत्रीलाई अनिवार्य अवकाश दिने निर्णय तत्काल कार्यान्वन नगर्न सर्वोच्च अदातलले अन्तरिम आदेश दिएको छ ।

    न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले आइतवार छलफलको टुंगो नलागेसम्म क्षेत्रीलाई अवकाश नदिन अल्पकालिन अन्तरिम आदेश दिएको हो ।

    निवेदकको मागबमोजिम अन्तरिम आदेश दिने वा नदिने विषयमा छलफल गर्न आगामी फागुन ९ गते दुवै पक्षलाई छलफलमा झिकाउन समेत आदेश दिएको हो ।

    सरकारले क्षेत्रीको ठाँउमा वरियतामापछि रहेका प्रदीप अधिकारीलाई महानिर्देशक नियुक्त गरिसकेको छ । यससंगै उनले काम गर्न नपाउने भएका छन् ।

    क्षेत्रीले उमेर हदका कारण अवकाश पाएका थिए। तर, नागरिक उड्डयन प्राधिकरण ऐनमा महानिर्देशकको उमेर हदका विषयमा केही उल्लेख नभएको दाबी गर्दै उनले सर्वोच्चमा रिट दायर गरेका थिए।

  • पार्टी खारेज र माधव नेपालसहित १४ सांसदविरुद्धको रिट पेशीबाट हटाइयो

    पार्टी खारेज र माधव नेपालसहित १४ सांसदविरुद्धको रिट पेशीबाट हटाइयो

    काठमाडौं । एकीकृत समाजवादी पार्टी खारेज र माधव नेपालसहित १४ सांसदलाई कारबाही गर्न गर्दै परेको रिटमा आज पनि सुनुवाइपछि पेशीबाट हटाइएको छ।

    लुम्बिनी प्रदेशका मुख्य न्यायाधिवक्ता कृष्ण सुवेदीले पेशीमा चढे पनि सो रिट आज आइतबार हटाउन माग गर्दै निवेदन दिएपछि यो रिटलाई पेसीबाट हटाइएको हो।

    न्यायाधीश ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको संयुक्त इजलासमा रिट पेशी तोकिएको थियो।

    आदेशमा भनिएको छ, ‘यसमा प्रत्यर्थीमध्येको लुम्बिनी प्रदेश सभा सचिवालय समेतबाट प्रतिरक्षामा खटिएको अवस्थामा रूघा खोकी र ज्वरो समेतले ग्रस्त भई कोभिड पोजेटिभजस्ता लक्षणहरू देखिई आइसोलेसनमा रहेको कारण आजको पेशी हटाई पाऊँ भनी प्रदेश नं. ५ का मुख्य न्यायाधिवक्ता कृष्ण सुवेदीको निवेदन पर्न आएको हुँदा आजको पेशीबाट हटाइएको छ।

    सर्वोच्चले यसअघि निर्वाचन आयोग र सभामुख सचिवालयबाट यससम्बन्धी निर्णय गर्दाका कागजात झिकाएको थियो।

    काममा रोक लगाउन अन्तरिम आदेश माग गरिए पनि अन्तरिम आदेश भने आएको थिएन।

  • महाभियोगको पत्र बुझेर सर्वाेच्चबाट बाहिरिए राणा, छिनोफानो नभएसम्म भूमिकाविहीन

    महाभियोगको पत्र बुझेर सर्वाेच्चबाट बाहिरिए राणा, छिनोफानो नभएसम्म भूमिकाविहीन

    काठमाडौं । आफूविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएको जानकारी पत्र बुझेपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा सर्वाेच्च अदालतबाट बाहिरिएका छन् ।

    कांग्रेस, माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)का सांसदले आइतबार बिहान प्रधानन्यायाधीश जबराविरुद्ध संघीय संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गरेका थिए ।

    यसबारे सचिवालयले जबरालाई पत्रमार्फत जानकारी गराएको हो । संसद सचिवालयले आइतबार दर्ता भएको पत्र सर्वोच्च अदालतमा पनि पठाएको हो। पत्र पुगेको केही बेरमै प्रधानन्यायाधीश राणाले सर्वोच्च छाडेका हुन्।

    महाभियोग दर्तासँगै उनी स्वतः निलम्बित हुने भएकाले अब यसको छिनोफानो नभएसम्म सर्वोच्च फर्किनेछैनन्।

    महाभियोग पारित गर्न २ तिहाइ सांसद चाहिन्छ। महाभियोग दर्ता गरेका दलसँग त्यो पनि छैन।

    तर महाभियोगको टुंगो लाग्न समय लाग्ने भएकाले राणा लामो समय भूमिकाविहीन हुनेछन्।

    यस्तै महाभियोगविरुद्ध सर्वोच्च अदालतमै पनि रिट दायर हुन सक्नेछ। यसअघि सुशीला कार्कीमाथि पनि महाभियोग लगाइएको थियो। त्यसविरुद्ध रिट परेपछि सर्वोच्चले नै महाभियोग खारेज गरिदिएको थियो।

    प्रधानन्यायाधीश राणा निलम्बनमा परेसँगै वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की कायममुकायम प्रधानन्यायाधीश भएका छन्।

  • प्रधानन्यायाधीश राणा स्वतः निलम्बनमा, कामुको जिम्मेवारीमा कार्की

    प्रधानन्यायाधीश राणा स्वतः निलम्बनमा, कामुको जिम्मेवारीमा कार्की

    काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा निलम्बनमा परेका छन्।

    संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता भएसँगै नेपालको संविधानको धारा १०१ अनुसार राणा निलम्बनमा परेका हुन्।

    राणा निलम्बित भएसँगै सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश दीपककुमार कार्कीले स्वतः कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी बहन गर्नेछन् ।

    राणाविरूद्ध सत्तारूढ दल नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका ९८ जना सांसदले आइतबार बिहान महाअभियोग दर्ता गरेका हुन्।

    महाअभियोग दर्ता गर्नेमा सांसदहरू गगन थापा, मीनेन्द्र रिजाल, जीवनराम श्रेष्ठ, पुष्पा भुसाल, देव गुरूङलगायत छन्।

  • प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाविरुद्ध महाभियोग प्रस्ताव संसद्‌मा दर्ता

    प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाविरुद्ध महाभियोग प्रस्ताव संसद्‌मा दर्ता

    काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरामाथि महाअभियोगग प्रस्ताव दर्ता भएको छ ।

    सत्तारुढ पाँचदलीयका ९८ सांसदले हस्ताक्षरसहित आइतबार विहान ११ बजेर १० मिनेटमा संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गरेका हुन् ।

    महाभियोग दिलेन्द्रप्रसाद बडू, देव गुरुङ, जीवनराम श्रेष्ठको प्रस्तावमा महाभियोग दर्ता भएको हो। महाभियोगमा कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका सांसदको हस्ताक्षर छ।

    जबराको राजीनामा माग गर्दै नेपाल बार एशोसिएसनले लामो समयदेखि आन्दोलन गर्दै आएको छ । सर्वोच्च अदालतका न्यायाधीशहरुले पनि लामो समय इजलास बहिस्कार गरेका थिए ।

    केही महिना अघि मन्त्रिमण्डलमा भागबन्डा खोजेको भन्ने विषयले चर्चा पाएपछि उनको आलोचना हुन थालेको थियो । लगत्तै उनलाई राजीनामा दिन चौतर्फी दबाब परेको थियो ।

    उनले बरु महाअभियोगको सामना गर्न तयार रहेको आत्मविश्वास प्रकट गरेका थिए।

  • माओवादी घटक एक हुनुपर्छ : प्रचण्ड

    माओवादी घटक एक हुनुपर्छ : प्रचण्ड

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी घटक एक हुनुपर्ने बताएका छन् । जनयुद्ध लडेर आएको यो पार्टी भित्र चरम असन्तुष्टीका कारण अत्यधिक फुटको प्रवृत्ति रहेको छ । देशी–विदेशी प्रतिक्रियावादी शक्तिले जनताको बलिदानबाट प्राप्त परिवर्तनलाई उल्ट्याउन तथा परिवर्तनको नेतृत्व नेता र पार्टीलाई बदनाम गर्न अहिले पनि लागिरहेको भन्दै प्रचण्डले देशको अगाडि आइपरेको समस्या आत्मसात गरि माओवादी घटक एक हुनुपर्ने बताएका छन् ।


    २७ औं जनयुद्ध दिवसको सन्दर्भमा उनले आइतबार शुभकामना सन्देश जारी गरि यस्तो बताएका हुन् । परिवर्तनका लागि लडेका शक्ति एक भए वर्तमान परिवर्तनलाई अझै सुदृढ र समृद्ध गर्न सकिने उनको विश्वास छ । उनले पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्ता र शुभेच्छुकरशुभचिन्तक आम जनसमुदायलाई एकतावद्ध भएर सबै खाले प्रतिक्रियावादी षडयन्त्रलाई परास्त गर्न अगाडि बढ्न अपील समेत गरेका छन् ।

    जनयुद्ध दिवसको मनाउनुको सबैभन्दा ठूलो अर्थ, महत्व र औचित्य परिवर्तनकारी क्रान्तिकारी शक्तिहरुबीचको एकता भएको विश्वाससहित उनले देशभित्र र बाहिर रहेका सम्पूर्ण कम्युनिष्ट क्रान्तिकारीहरु र श्रमजीवि नेपाली जनसमुदायमा बधाई तथा शुभकामना व्यक्त गरेका हुन् ।

  • आज जनयुद्ध दिवस, मधेष प्रदेशमा सार्वजनिक बिदा

    आज जनयुद्ध दिवस, मधेष प्रदेशमा सार्वजनिक बिदा

    काठमाडौं । माओवादी जनयुद्ध शुरु भएको अवसरमा मनाउन थालिएको जनयुद्ध दिवसका अवसरमा पहिलो पटक मधेश प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ । मधेषमा यसअघि मधेश बलिदानी दिवस मनाउ्ने गरिएको थियो । यो पटक सरकारले तत्कालीन माओवादीले सशस्त्र युद्ध सुरु गरेको दिनको सम्झनामा जनयुद्ध दिवस मनाउन लागेको हो । यता, माओवादी पार्टीका विभिन्न घटकले समेत जनयुद्ध दिवस मनाउने गर्छन । मधेश सरकारमा अहिले माओवादी केन्द्रको समेत सहभागिता रहेको छ ।

    जनकपुरधामस्थित मधेश भवनको कभर्ड हलभित्र आयोजना हुने कार्यक्रमका प्रमुख अतिथि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बन्दैछन्् । कार्यक्रममा जनयुद्धका शहीद परिवारलाई आर्थिक सहयोगसहित सम्मान गरिने भएको छ । प्रदेशका प्रत्येक जिल्लाबाट पाँच÷पाँच जना गरी ४० जनालाई एक लाखका दरले आर्थिक सहयोगसहित सम्मान गरिने भएको हो । माओवादीले २०५२ साल फागुन १ गतबोट जनयुद्ध थालेको हो ।

  • ८३६ जनामा कोरोना पुष्टी, ४ जनाको मृत्यु

    ८३६ जनामा कोरोना पुष्टी, ४ जनाको मृत्यु

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ८३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । कोरोना संक्रमितको दैनिक संक्रमण तेस्रो लहर शुरु भएयता पहिलो पटक एक हजार भन्दा तल आएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन परीक्षणबाट पछिल्लो २४ घण्टामा जम्मा ८३६ संक्रमण पुष्टि भएको हो ।


    चार हजार २६० पीसीआर परीक्षणमा ४९१ जना र दुई हजार ३९४ एन्टिजेन परीक्षणमा ३४५ जना गरी ८३६ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण चार जनाले ज्यान गुमाएका छन् । यस अवधिमा एक हजार ८२६ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमित संख्या २६ हजार १०२ रहेको छ ।

  • एमसीसीबारे सत्तारुढ दलका शीर्ष नेताबीच भेटवार्ता

    एमसीसीबारे सत्तारुढ दलका शीर्ष नेताबीच भेटवार्ता

    काठमाडौं । शनिबार सत्तारुढ दलका शीर्ष नेताबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादीका अध्यक्ष ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच शनिबार भेटवार्ता भएको हो ।

    बालुवाटारमा भएको बैठकमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजनाका सन्दर्भमा छलफल भएको बताइएको छ । तर, बैठकले कुनै निर्णय भने गरेन । छलफलमा प्रधानमन्त्री देउवा, माओवादीका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपाल र कानुन मन्त्री दिलेन्द्रप्रसाद बडू उपस्थित थिए ।

  • नेपाल सरकार र विप्लव नेकपाबीच तीन बुँदे सहमति कार्यान्वयन गर्नेबारे छलफल

    नेपाल सरकार र विप्लव नेकपाबीच तीन बुँदे सहमति कार्यान्वयन गर्नेबारे छलफल

    काठमाडौं । नेपाल सरकार र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बीच यसअघि दुई पक्षबीच भएको तीन बुँदे सहमति कार्यान्वयनबारे छलफल भएको छ । गृह मन्त्रालयमा शनिबार भएको छलफलमा सरकारका तर्फबाट गृहमन्त्री बालकृष्ण खाँण, कानुन न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडू, महान्यायाधिवक्ता खम्मबहादुर खाती, गृहसचिव टेकनारायण पाण्डे, कानुनसचिव उदयराज सापकोटा तथा नेकपाका तर्फबाट नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा सहभागी थिए ।

    नेकपासँग सरकारले विसं २०७७ फागुन २० मा तीन बुँदे सहमति गरेको थियो । उक्त सहमति कार्यान्वयनमा अहिलेसम्म भएका प्रगति र अब कसरी अगाडि बढ्ने भन्ने विषयमा कुराकानी भएको हो । वार्तामा नेकपाका प्रवक्ता विश्वकर्माले विभिन्न आन्दोलनका क्रममा पार्टी कार्याकर्तालाई लगाइएका मुद्दा र जेलमा रहेका कार्यकर्ताको विवरण सरकारलाई बुझाएका छन् । बैठकपछि नेकपा प्रवक्ता विश्वकर्माले तीन बुँदे सहमति कार्यान्वयनको टाइमलाइन वार्तामा बनाइएको र माग कार्यान्वयनमा सरकार सकारात्मक देखिएको बताए ।

  • खप्तड र बडिमालिका घुम्न हेलिकोप्टर टूर प्याकेज सार्वजनिक

    खप्तड र बडिमालिका घुम्न हेलिकोप्टर टूर प्याकेज सार्वजनिक

    काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाटा) सुदूरपश्चिम प्रदेशले नेपाल पर्यटन बोर्ड तथा माउन्टेन हेलिकोप्टर प्रालिसँग सहकार्य गर्दै फागुन १ देखि सुदूरपश्चिमका खप्तड, बडिमालिका लगायत क्षेत्रमा टुर प्याकेज सार्वजनिक गरेको छ । नाटाका सुदूरपश्चिम प्रदेश अध्यक्ष मायाप्रकाश भट्टले शुक्रबार भृकुटीमण्डपमा पत्रकार सम्मेलन गर्दै खप्तड, बडिमालिकालगायत पर्यटकीय गन्तव्य यति बेला हिउँले सेताम्मे रहेकाले उक्त क्षेत्रको भ्रमण गर्ने चाहना भएका तथा समय अभावका कारण जान नसक्नेहरूका लागि यस्तो कार्यक्रम ल्याइएको जानकारी दिए ।

    १० दिनमा कम्तीमा पनि ३५० जना आन्तरिक पर्यटकलाई खप्तड र बडिमालिका भ्रमण अवलोकन गराउने नाटा सुदूरपश्चिमको लक्ष्य छ । प्याकेजमा खप्तड घुम्न चाहनेलाई दिपायल विमानस्थल, झिग्राना धनगढी, महेन्द्रनगर र साँफेबगरबाट हेलिकोप्टरले लैजाने र ल्याउनेछ । घुमफिरमा जाने यात्रुहरूले स्थानका हिसाबले प्रतिव्यक्ति १२ हजारदेखि ४० हजार रुपैयाँसम्म शुल्क तिर्नुपर्नेछ । सुदूरपश्चिम प्रदेश भारतका विभिन्न सहरसँग जोडिएकाले यस कार्यक्रममा भारतीय पर्यटकसमेत सहभागी हुने बोर्डका वरिष्ठ निर्देशक हिक्मत सिंह ऐरले बताए ।

    कोभिडले सुस्ताएको पर्यटनलाई चलायमान बनाउन कार्यक्रम सहयोगी हुने बोर्डका सदस्य कृष्ण शाहको भनाइ छ । कार्यक्रमले सुदूरपश्चिम प्रदेशको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने नाटाका केन्द्रीय अध्यक्ष अच्युत गुरागाईंले बताए ।
    नाफाभन्दा पनि सुदूरपश्चिम प्रदेशका विभिन्न क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि लागत मूल्यमै आफ्नो कम्पनीले टुर प्याकेज ल्याएको माउन्टेन हेलिकोप्टरका महाप्रबन्धक दिलबहादुर ओलीले जानकारी दिए ।

  • बालकुमारी मन्दिरबाट चोरी भएको मूर्ति फेला, अबिर जात्रासहित भित्राइयो

    बालकुमारी मन्दिरबाट चोरी भएको मूर्ति फेला, अबिर जात्रासहित भित्राइयो

    काठमाडौं । ८ माघ शनिबारको राती ललितपुरको सुनाकोठी बालकुमारी मन्दिरबाट चोरी भएको मूर्ति फेला परेको छ । महानगरीय प्रहरी परिसर जावलाखेलले २० दिनपछि भेटिएको मूर्ति सार्वजनिक गरेको हो । गत राती ललितपुरको हात्तीवन क्षेत्रमा रहेको करूणामयको मन्दिर क्षेत्रमा बोरामा पोको पारी फालेको अवस्थामा मूर्ति फेला परेको हो । हात्तीवनका स्थानीय बुढी आमाले बोरामा राखेको अवस्थामा मूर्ति देखेपछि स्थानीयबीचमा हल्ला भएको थियो । त्यसपछि मूर्ति महानगरीय प्रहरी परिसर जावलाखेल लगिएको थियो ।

    मूर्ति भेटिएको जानकारीपछि गुठीका सदस्य बाजागाजासहित प्रहरी परिसर जावलाखेल पुगेका थिए । त्यसपछि अबिर जात्रासहित मूर्ति मन्दिरमा भित्राइएको छ । गुठीले मूर्ति भेटिएको सूचना दिनेको नाम गोप्य राखिने र पाँच लाख पुरस्कार दिने अपिलसमेत निकालेको थियो । मूर्ति चोरीको अनुसन्धान गर्न ललितपुर परिसर, महानगरीय प्रहरी वृत्त चापागाउँ र महानगरीय अपराध महाशाखाको संयुक्त टोलीले अनुसन्धान गरिरहेको थियो । मूर्ति चोरीको विषयमा हालसम्म कसैलाई पक्राउ भने गरिएको छैन । यो ३ सय वर्ष पुरानो मूर्ति मानिएको छ ।

  • हत्या आरोपमा अघोरी बाबा पक्राउ

    हत्या आरोपमा अघोरी बाबा पक्राउ

    काठमाडौं । काठमाडौंको फर्पिङमा एक पुरूषको हत्याको आरोपमा प्रहरीले एक ‘अघोरी’ बाबालाई पक्राउ गरेको छ। हत्या आरोपमा प्रहरीले दक्षिणकाली नगरपालिका ६ फर्पिङस्थित दक्षिणकाली पार्टी प्यालेस अगाडि बस्ने ३५ वर्षीय शिव गिरी (अघोरी)लाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । उनले बिहीबार साँझ अन्दाजी ४०\४५ वर्षका बोल्न नसक्ने पुरूषमाथि दाउराको चिर्पट र बाँसले टाउकोमा हिर्काएका थिए। प्रहारबाट पुरूष गम्भीर घाइते भएका थिए।

    गम्भीर भएका उनलाई प्रहरीले मनमोहन स्मृति सामुदायिक अस्पताल लगिएको थियो। त्यहाँबाट थप उपचारको लागि वीर अस्पताल काठमाडौं रिफर गरिएको थियो। उनको शुक्रबार बिहान अस्पतालमा मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय फर्पिङले गिरीलाई नियन्त्रणमा लिएको हो । गिरी लामो समयदेखि त्यस क्षेत्रमा बस्थे। अर्का पुरूष पनि त्यही ठाउँमा मागी खाने गर्थे। प्रहरीका अनुसार उनीहरूबीच गाँजाको विषयमा पटक÷पटक झडप हुने गरेको खुलेको छ । बिहीबार पनि उनीहरूबीच झडप हुँदा गिरीले ती पुरूषमाथि चिर्पटले प्रहार गरेका हुन्।

  • के छ स्वास्थ्यमन्त्री खतिवडाले सार्वजनिक गरेको प्रगति विवरणमा ?

    के छ स्वास्थ्यमन्त्री खतिवडाले सार्वजनिक गरेको प्रगति विवरणमा ?

    काठमाडौं । स्वास्थ्यमन्त्री विरोध खतिवडाले आफ्नो १०० दिने कार्यप्रगति सार्वजनिक गरेका छन् ।

    असोज २२ गते स्वास्थ्यमन्त्री नियुक्त भएका खतिवडाले शुक्रबार १०० दिनको कार्य प्रगति सार्वजनिक गरेका हुन् ।

    उनले प्रधानमन्त्री शेरबहादुर देउवाले घोषणा गरेको ‘खोप, खोप र खोप’ अभियानलाई महत्व दिँदै कोरोनाको परिक्षण गर्ने प्रयोगशालाको संख्या बढाउनेदेखि पीसीआर परिक्षणको मूल्य घटाउनेसम्मका विषय समेटेका छन् ।

    मन्त्री खतिवडाले सार्वजनिक गरेका प्रगति विवरणमा ५–११ वर्ष उमेर समूहको बालबालिकालाई समेत कोभिड–१९ विरुद्धको खोप प्रदान गर्न खोपको उपलब्धता सुनिश्चितता भएको उल्लेख छ ।

    त्यस्तै माघ २७ सम्म १२ वर्षभन्दा माथिको लक्षित जनसंख्याको ७७ प्रतिशतलाई पहिलो मात्रा र ६९ प्रतिशतलाई पूर्ण खोप प्रदान गरिएको छ ।

    हालसम्म ४ करोड ६५ लाख ७० हजार ७२० मात्रा खोप प्राप्त भएको र खोप लगाएको मात्रा ३ करोड ४८ लाख २५ हजार ६०१ रहेको विवरणमा उल्लेख छ ।

    आफूले कार्यभार सम्हालेपछि १२ देखि १७ बर्ष उमेर समुहका करिब ३४ लाख बालबालिकाहरूलाई खोप दिने कार्य शुरु गरिएको उनले उल्लेख गरेका छन् ।

    ‘विगतमा जोखिममा रहेका गर्भवती महिलाहरूलाई मात्र खोप दिइएकोमा, हाल सबै गर्भवती महिलाहरूलाई (पहिलो त्रैमासिकपछि) खोप दिने नीति अपनाइएको छ,’ उनले भने, ‘लक्षित सबै जनसंख्यालाई पूर्ण मात्रा खोप प्रदान गर्ने तथा जोखिम समूह लक्षित बुस्टर मात्रा प्रदान गर्ने नीति अनुरुप पर्याप्त मात्रामा खोप अनुदान एवं खरिद मार्फत निरन्तर आपूर्ति भैरहेको छ ।’

    २०७७ माघ महिना देखि संचालित कोभिड–१९ बिरुद्धको खोप अभियान समय तालिका बनाई सञ्चालन गरिएकोमा २०७८ मंसिर महिनादेखि कोभिड–१९ विरुद्धको खोप अभियान देशब्यापि रुपमा निरन्तर र नियमित सञ्चालन भईरहेको उनले जनाए ।

  • चितवनमा बर्डफ्लू भेटियो, फर्म आसपासका पक्षीहरू नष्ट गरिने

    चितवनमा बर्डफ्लू भेटियो, फर्म आसपासका पक्षीहरू नष्ट गरिने

    काठमाडौं । पूर्वी चितवनको राप्ती नगरपालिकामा बर्डफ्लू रोग (एच फाइभ एन वान, एच फाइभ एन वान) भेटिएको छ ।

    राप्ती नगरपालिका-६ स्थित अनिता पशुपक्षी कृषि फर्मका कुखुरामा बर्डफ्लू भेटिएको हो । फर्ममा पालिएका कुखुरा भटाभट मरेपछि २५ माघमा कुखुराको नमुना लिएर बर्डफ्लू परीक्षण गरिएको थियो ।

    उक्त नमुनामा बर्डफ्लू पुष्टी भएको स्थानियबासीले बताएका छन् । बर्डफ्लू रोकथाम तथा नियन्त्रणका लागि केन्द्रबाटै फर्मको सय मिटर आसपासमा पालिएका पक्षीहरू नष्ट गर्न निर्देशन दिइएको छ ।

    यस अघि डेढसाता अघि मोरङको ग्रामथान–१, खुनियाकट्टा र बूढीगंगाका कृषकले पालेका कुखुरामा बर्डफ्लू रोग (एच फाइभ एन वान, एच फाइभ एन वान) पुष्टी भएको थियो ।

    सो क्षेत्रमा बर्डफ्लु देखिएको र गत शुक्रबार र शनिबार १६ सय ५० लेयर्स कुखुरा, ५० परेवा, ४२ सय अण्डा ११५० केजी दाना र ४ हजार अण्डा सुरक्षित तरिकाले नष्ट गरिएको पशु सेवा विभागले जनाएको छ।

    ‘एच फाइभ एन वान’ भाइरसको संक्रमणले नेपालमा पहिलोपटक १५ चैत २०७५ मा एकजना मानिसको मृत्युसमेत भएको थियो ।

  • दाङमा आगलागीमा मृत्यु भएका पाँचै जनाको पहिचान

    दाङमा आगलागीमा मृत्यु भएका पाँचै जनाको पहिचान

    दाङ । दाङको तुल्सिपुरमा गएराति दुई बजेदेखि लागेको आगलागीमा परि मृत्यु भएका पाँचै जनाको पहिचान भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा ५मा ङ लाइनमा रहेको एक चप्पल गोदाममा आगलागी हुँदा पाँच जनाको मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख श्याम अर्यालका अनुसार मृतकमध्ये चार पुरुष र एक महिला रहेको सरकारी संचारमाध्यम गोरखापत्रले लेखेको छ । ती मध्ये चार जना बालबालिका रहेका छन् ।

    तुलसीपुर उपमहानगरपालिका वडा नम्बर पाँच मा बस्ने १३ वर्षिय सजिता खातुन,१४ वर्षका हसन बकस, १५ वर्षका मसिन बकस,पाँच वर्षिय अबिददिन अलि र ४० वर्षिय नजरदिन अलि रहेको प्रहरीले जनाएको छ । आगलागी भएपछि निस्सासिएर मृत्यु भएको प्रारम्भिक जानकारीमा आएको उहाँले बताउनुभयो । इरम फुटवेयर चप्पल गोदाममा रहेको घरमा आगलागीको कारण भने अझै खुल्न सकेको छैन । आगलागी नियन्त्रणमा आएपनि क्षतिको विवरण भने अझै आएको छैन ।
    । पाँचै जनाको शवलाई राप्ती प्रादेशिक अस्पतालको शब घरमा लगिएको छ ।

    तुलसीपुर घोराही उपमहानगरपालिकाका दमकल,सेना,प्रहरी,स्थानीयवासीले आगो नियन्त्रणमा ल्याएका हुन् । आगलागीको कारण भने अझै आएको छैन । प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको नेतृत्वमा सम्बन्धित क्षेत्रमा एक टोली पुगेको छ । आगलागीमा परकाहरुको उद्दार गर्नका गएका सोही ठाउँका ३८ वर्षिय अमर डाँगी बेहोस अवस्थामा रहेको प्रहरीले जनाएको छ ।