Category: समाचार

  • नेपालमा थप ८ हजार ४५४ जनामा कोरोना पुष्टी, सक्रिय संक्रमित ९० हजार नाघे

    नेपालमा थप ८ हजार ४५४ जनामा कोरोना पुष्टी, सक्रिय संक्रमित ९० हजार नाघे

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा देशभर ८ हजार ४५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ५४९ जनाको पीसीआर परीक्षण गर्दा ५ हजार ५७१ जना र ६८१० जनाको एन्टिजेन परीक्षण गर्दा २८८३ गरी ८ हजार ४५४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ३३ हजार ४५१ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा ४४३३ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ८ लाख ३१ हजार ७१२ पुगेको छ । संक्रिय संक्रमितको संख्या ९० हजार ६७ रहेको छ ।

    पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या ४ रहेको छ । नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ६६७१ पुगेको छ ।

  • विस्तृतमा हेर्नुहोस् ‘राष्ट्रिय जनगणना–२०७८ को प्रारम्भिक नतिजा’

    विस्तृतमा हेर्नुहोस् ‘राष्ट्रिय जनगणना–२०७८ को प्रारम्भिक नतिजा’

    काठमाडौं । केन्द्रीय तथ्यांक विभागले नेपालको जनगणना सार्वजनिक गरेको छ ।

    विभागले आज राष्ट्रिय जनगणना–२०७८ को प्रारम्भिक नतिजा सार्वजानिक गर्दै नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको जनाएको हो।

    नेपालमा पुरूषभन्दा ६ लाख बढी महिला रहेको प्रारम्भिक परिणाममा देखिएको छ। १० वर्षअघि नेपालको जनसंख्या दुई करोड ६४ लाख ९४ हजार ५०४ थियो ।

    गएको १० वर्षको तुलनामा नेपालको जनसंख्या २६ लाख ९७ हजार ९७६ ले बढी हो । १० वर्षमा नेपालको जनसंख्या १०.१८ प्रतिशतले बढेको देखिन्छ । गएको १० वर्षको सरदर वार्षिक वृद्धिदर ०.९३ प्रतिशत देखिएको छ । त्यो अघिल्लो जनगणनामा १.३५ प्रतिशत थियो ।

    जनगणनाको प्रारम्भिक तथ्यांकानुसार पुरुषको तुलनामा महिलाको जनसंख्या बढी देखिएको छ । एक करोड ४२ लाख ९१ हजार ३११ जना पुरुष (४८.९६%) र एक करोड ४९ लाख एक हजार १६९ जना महिला (५१.०४%) देखिएको छ । १० वर्षअघि ०६८ सालको जनगणनामा कुल जनसंख्यामध्ये पुरुष र महिलाको हिस्सा क्रमशः ४८.५ प्रतिशत र ५१.५ प्रतिशत थियो । हालको प्रारम्भिक नतिजाअनुसार लैंगिक अनुपात (१०० जना महिलामा पुरुषको संख्या ९५.९१ रहेको छ

    जनगणना घर र परिवार संख्या

    राष्ट्रिय जनगणना–२०७८ को प्रारम्भिक नतिजाअनुसार नेपालमा अक्सर बसोबास गर्ने परिवारको संख्या ६७ लाख ६१ हजार ५९ रहेको छ । ती परिवारहरू जम्मा ५६ लाख ४३ हजार ९४५ वटा घरमा बसेका देखिएको छ । अर्थात्, १० वटा घरमा औसतमा १२ परिवार बसोबास गरेको देखिएको छ । हालको परिवार संख्या १० वर्षअघिको भन्दा करिब २४.५७ प्रतिशतले वृद्धि भएको हो । यस अवधिमा जम्मा १३ लाख ३३ हजार ७५७ परिवार थप भएको देखिएको विभागले जनाएको छ ।

    परिवारको आकार

    राष्ट्रिय जनगणना–२०७८ को प्रारम्भिक नतिजाअनुसार प्रतिपरिवार ४.३२ जना सदस्य रहेको देखिन्छ, त्यो ०६८ मा ४.८८ जना थियो । सहरी क्षेत्रको परिवारमा सालाखाला ४.२५ जना रहेका छन् भने ग्रामीण क्षेत्रमा ४.५५ जना रहेको देखिएको छ । १० वर्षअघि क्रमशः ४.३२ जना र ५.०२ जना थियो । भौगोलिक क्षेत्रानुसार हेर्दा हिमाली क्षेत्रमा सालाखाला ४.२७ जना, पहाडमा ३.९५ जना र तराई क्षेत्रमा ४.६५ जना प्रतिपरिवार रहेको देखिएको छ ।

    प्रदेशगत आधारमा हेर्दा परिवारमा औसत सदस्य संख्या गण्डकी प्रदेशमा सबैभन्दा कम (३.६६ जना) र मधेस प्रदेशमा सबैभन्दा बढी (५.६६ जना) रहेको छ । ०६८ सालमा क्रमशः ४.१६ जना र ५.८० जना थियो ।

    जिल्लाअनुसार परिवारको आकार सबैभन्दा सानो दोलखामा (३.४१ जना) देखिएको छ भने परिवारको आकार सबैभन्दा ठूलो रौतहट जिल्लामा ५.९२ जना देखिएको छ ।

    भौगोलिक क्षेत्रअनुसार जनसंख्या, लैंगिक अनुपात र वृद्धिदर

    भौगोलिक क्षेत्रअनुसार कुल जनसंख्याको वितरणमा तराई क्षेत्रको अंश ०६८ सालको तुलनामा ०७८ मा वृद्धि भएको देखिएको छ । ०६८ को जनगणनामा तराईमा कुल जनसंख्याको ५०.२७ प्रतिशत हिस्सा रहेकोमा ०७८ मा वृद्धि भई ५३.६६ प्रतिशत पुगेको छ । हिमाली क्षेत्रमा कुल जनसंख्याको ६.७३ प्रतिशत अंश रहेकोमा ०७८ मा केही कम भई ६.०९ प्रतिशत देखिएको छ ।

    त्यसैगरी, पहाडी क्षेत्रमा ०६८ मा ४३.०१ प्रतिशत अंश रहेकोमा हाल ४०.२५ प्रतिशतमा झरेको छ ।

    १० वर्षको अवधिमा लैंगिक अनुपात तराईमा १ प्रतिशत विन्दुले घटेको देखिन्छ भने हिमाल तथा पहाडमा क्रमशः ३ प्रतिशत र ४ प्रतिशत विन्दुले बढेको देखिन्छ । यो ०६८ को जनगणनामा हिमाल, पहाड र तराईमा क्रमशः ९४, ९१ र ९७ रहेकोमा ०७८ सालको जनगणनाको प्रारम्भिक नतिजाअनुसार क्रमशः ९७, ९५ र ९६ देखिएको छ ।

    वार्षिक जनसंख्या वृद्धिदर हेर्दा हिमाली क्षेत्रमा ऋणात्मक देखिएको छ । हिमाली क्षेत्रमा ०.०२ प्रतिशतले ऋणात्मक देखिएको छ । पहाडी क्षेत्रमा न्यून मात्रामा धनात्मक ०.२९ प्रतिशत र तराई क्षेत्रमा अन्य क्षेत्रको तुलनामा उच्च धनात्मक १.५६% प्रतिशत वृद्धि देखिएको छ ।

    प्रदेश अनुसारको जनसंख्या, परिवर्तन र वृद्धिदर

    प्रदेशगत रूपमा जनसंख्याको वितरण हेर्दा सबैभन्दा धेरै जनसंख्या मधेस प्रदेशमा ६१ लाख २६ हजार २८८ र सबैभन्दा कम कर्णाली प्रदेशमा १६ लाख ९४ हजार ८८९ जना रहेको छ, त्यो समग्रको क्रमशः २०.९९ प्रतिशत र ५.८१ प्रतिशत छ । लैंगिक रूपले विश्लेषण गर्दा लैंगिक अनुपात सबैभन्दा धेरै मधेस प्रदेशमा र सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा क्रमशः १०१ र ९० रहेको विभागले जनाएको छ ।

    प्रदेशगत रूपमा वार्षिक जनसंख्या वृद्धिदर हेर्दा सात प्रदेशहरूमध्ये सबैभन्दा बढी लुम्बिनी प्रदेशमा १.२५ प्रतिशत प्रतिवर्ष र सबैभन्दा कम गण्डकी प्रदेशमा ०.३० प्रतिशत प्रतिवर्ष जनसंख्या वृद्धि देखिएको विभागले जनाएको छ । दोस्रो धेरै वार्षिक जनसंख्या वृद्धिदर हुने प्रदेशमा मधेस प्रदेश रहेको छ । यसको वृद्धिदर १.२० प्रतिशत प्रतिवर्ष छ । अन्य प्रदेशको वार्षिक जनसंख्या वृद्धिदर १ प्रतिशतभन्दा कम नै देखिन्छ ।

    जिल्लाअनुसारको जनसंख्या र वार्षिक वृद्धिदर

    प्राप्त प्रारम्भिक नतिजाअनुसार देशका ७७ जिल्लाहरूमध्ये सबैभन्दा धेरै जनसंख्या काठमाडौंमा २० लाख १७ हजार ५३२ जना र सबैभन्दा कम जनसंख्या मनाङमा पाँच हजार ६४५ जनाको अक्सर बसोबास रहेको छ ।

    मोरङ, रूपन्देही, झापा र सुनसरी जिल्ला क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौँ धेरै जनसंख्या भएका जिल्ला बनेका छन् । कम जनसंख्या भएका जिल्लातर्फ मुस्ताङ, डोल्पा, रसुवा र हुम्ला क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौँ स्थानमा पर्छन् । जिल्लाअनुसार हेर्दा सबैभन्दा बढी लैंगिक अनुपात मनाङको १३० र सबैभन्दा कम लैंगिक अनुपात प्युठानको ८२ छ ।

    जिल्लागत वार्षिक जनसंख्या वृद्धिदरलाई हेर्दा हिमाली र पहाडी क्षेत्रका ३२ वटा जिल्लामा वार्षिक जनसंख्या वृद्धिदर ऋणात्मक देखिएको छ । त्यो ०६८ को जनगणनाअनुसार २७ वटा जिल्लामा ऋणात्मक देखिएको थियो । यसैगरी, सबैभन्दा धेरै वार्षिक वृद्धिदर भक्तपुरमा ३.३२ प्रतिशत र सबैभन्दा कम रामेछाममा ऋणात्मक १.६५ प्रतिशत रहेको छ ।

    हिमाली जिल्लाहरूमध्ये मुगुमा सबैभन्दा बढी १.८० प्रतिशत वार्षिक जनसंख्या वृद्धिदर देखिएको छ ।

    ग्रामीण—सहरी जनसंख्या वितरण

    नगरपालिका, उपमहानगरपालिका र महानगरपालिका क्षेत्रलाई सहरी तथा गाउँपालिकाको क्षेत्रलाई ग्रामीण क्षेत्र मान्दा ०७८ सालको कुल जनसंख्यामा सहरी जनसंख्या ६६.०८ प्रतिशत पुगेको छ भने ग्रामीण जनसंख्या ३३.९२ प्रतिशत रहेको छ । संघीय संरचनापछि स्थानीय तहलाई सहरी र ग्रामीण क्षेत्रानुसार वर्गीकरण गरी ०६८ सालको जनसंख्यालाई समायोजन गर्दा सहरी जनसंख्या ६३.१९ प्रतिशत र ग्रामीण जनसंख्या ३६.८१ प्रतिशत थियो ।

    राष्ट्रिय जनगणना ०६८ मा ५८ वटा नगरपालिका रहेको अवस्थामा कुल जनसंख्याको १७.०७ प्रतिशत सहरी जनसंख्या र ८२.९३ प्रतिशत ग्रामीण जनसंख्या थियो ।

    स्थानीय तहअनुसारको जनसंख्या वितरण

    राष्ट्रिय जनगणना–२०७८ को प्रारम्भिक नतिजाअनुसार सबैभन्दा धेरै जनसंख्या भएका पाँच पालिकाहरूमा क्रमशः काठमाडौं, पोखरा, भरतपुर, ललितपुर र वीरगन्ज महानगरपालिका हुन् भने सबैभन्दा कम जनसंख्या भएका पाँच नगरपालिकाहरूमा क्रमशः ठूलीभेरी नगरपालिका, त्रिपुरासुन्दरी नगरपालिका, मादी नगरपालिका, लालीगुराँस नगरपालिका र जिरी नगरपालिका रहेका छन् ।

    सबैभन्दा धेरै जनसख्या भएको काठमाडौं महानगरपालिकामा आठ लाख ६५ हजार ९०६ र सबैभन्दा कम जनसंख्या भएको ठूलीभेरी नगरपालिकामा १० हजार १८७ जनसंख्या रहेको छ । २० हजारभन्दा कम जनसंख्या हुने नगरपालिकाको संख्या १४ छ भने एक लाखभन्दा बढी जनसंख्या हुने नगरपालिकाको संख्या ३९ वटा रहेको छ ।

    गाउँपालिकातर्फ सबैभन्दा धेरै जनसंख्या बैजनाथ गाउँपालिकामा ७० हजार ३१५ र सबैभन्दा कम जनसंख्या नार्पाभूिम गाउँपालिकामा ४४२ जना छन् । १० हजारभन्दा कम जनसंख्या हुने गाउँपालिकाको संख्या ४६ रहेको छ भने ५० हजारभन्दा बढी जनसंख्या हुने गाउँपालिकाको संख्या १५ वटा रहेको छ ।

    जनघनत्व

    राष्ट्रिय जनगणना–२०७८ को प्रारम्भिक नतिजाअनुसार नेपालको जनघनत्व १९८ जना प्रतिवर्ग किमि पुगेको छ । ०६८ सालमा १८० जना मात्र थियो । भौगोलिक क्षेत्रानुसार हेर्दा २०६८ सालमा सबैभन्दा धेरै जनघनत्व तराई क्षेत्रमा ३९२ जना प्रतिवर्ग किलोमिटर र सबैभन्दा कम हिमाली क्षेत्रमा ३४ जना प्रतिवर्ग किलोमिटर रहेकोमा ०७८ को प्रारम्भिक नतिजाअनुसार पनि सबैभन्दा धेरै जनघनत्व तराई क्षेत्रमा ४६१ जना प्रतिवर्ग किलोमिटर र सबैभन्दा कम हिमाली क्षेत्रमा ३४ जना प्रतिवर्ग किलोमिटर रहेको देखिएको छ ।

    राष्ट्रिय जनगणना ०७८ को प्रारम्भिक नतिजाअनुसार काठमाडौं जिल्लामा सबैभन्दा धेरै पाँच हजार १०८ जना प्रतिवर्ग किलोमिटर र मनाङमा सबैभन्दा कम तीनजना प्रतिवर्ग किलोमिटर जनघनत्व रहेको छ ।

    जनघनत्वको आधारमा भक्तपुर, ललितपुर, धनुषा र महोत्तरी क्रमशः धेरै जनघनत्व रहेका दोस्रो, तेस्रो, चौथो र पाँचौँ जिल्लाहरू हुन् । त्यसैगरी, मनाङ, मुस्ताङ, डोल्पा र हुम्ला जिल्लामा जनघनत्व १० जना प्रतिवर्ग किमिभन्दा कम रहेको छ । तराईमा सबैभन्दा कम जनघनन्व भएको जिल्लामा उदयपुर (१६६ जना) र पहाडमा रुकुम पूर्व (३५ जना) पर्छन् ।

    परिवारमा अनुपस्थित (अक्सर बसोबास विदेशमा रहेका) जनसंख्या

    जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार जम्मा २१,६९,४७८ व्यक्तिहरु नेपालको परिवारबाट अनुपस्थित भई अक्सर विदेशमा बसोबास गरेका देखिन्छन्जसमध्ये १७,६३,३१५ पुरूष (८१.२८%) र ४,०६,१०३ महिला (१८.७२%) रहेका छन् ।

    दश वर्षअघि २०६८ सालमा घरपरिवारमा अनुपस्थित (विदेशमा अक्सर बसोवास गर्नेहरू) सब्ख्या १९,२१,४९४ थियो, जसमध्ये पुरूष १६,८४,०२९ (८७.६४%) र महिला २,३७,४०० (१२.३६%) थिए । यसरी समग्रमा हेर्दा २०६८ को तुलनामा २०७८ मा विदेशिने महिलाहरुको संख्या ७१.०९% ले बढेको देखिन्छ ।

    जिल्लागत आधारमा ७७ वटै जिल्लाबाट व्यक्तिहरू विदेश अनुपस्थित देखिएका छन्। सबैभन्दा बढी विदेश अनुपस्थित भएका ५ जिल्लाहरुमा काठमाडौं, कैलाली, झापा, रुपन्देही र मोरब छन्भने सबैभन्दा कम विदेश अनुपस्थित हुने ५ जिल्लाहरुमा मनाङ, डोल्पा, हुम्ला, मुगु र मुस्ताङ रहेका छन्।

  • सबैभन्दा बढी जनसंख्या काठमाडौंमा, मनाङमा कम

    सबैभन्दा बढी जनसंख्या काठमाडौंमा, मनाङमा कम

    काठमाडौं । नेपालका ७७ वटै जिल्लामध्ये सबैभन्दा धेरै जनसंख्या काठमाडौंमा रहेको छ।

    बुधबार केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको प्रारम्भिक नतिजा अनुसार ७७ जिल्लामध्ये काठमाडौंको जनसंख्या २० लाख १७ हजार ५३२ रहेको छ। सबैभन्दा कम जनसंख्या रहेको मनाङमा ५ हजार ६४५ जना रहेका छन्।

    धेरै जनसंख्या भएका जिल्लाहरुमा मोरङ, रुपन्देही, झापा र सुनसरी जिल्ला क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौ जिल्लामा रहेका छन्।

    कम जनसंख्या भएका जिल्लाहरुमा मुस्ताङ, डोल्पा, रसुवा र हुम्ला क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौ स्थानमा रहको केन्द्रिय तथ्यांक विभागले जनाएको छ।

  • नेपालको जनसंख्या २ करोड ९१ लाख, सबैभन्दा धेरै मधेसमा

    नेपालको जनसंख्या २ करोड ९१ लाख, सबैभन्दा धेरै मधेसमा

    काठमाडौं । केन्द्रीय तथ्यांक विभागले नेपालको जनगणना सार्वजनिक गरेको छ ।

    विभागले आज राष्ट्रिय जनगणना–२०७८ को प्रारम्भिक नतिजा सार्वजानिक गर्दै नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको जनाएको हो।

    नेपालमा पुरूषभन्दा ६ लाख बढी महिला रहेको प्रारम्भिक परिणाममा देखिएको छ।

    नेपालमा अहिले पुरूषको संख्या १ करोड ४२ लाख ९१ हजार ३ सय ११ छ भने महिलाको संख्या १ करोड ४९ लाख १हजार १ सय ६९ छ।

    जनसंख्यामध्ये सबैभन्दा धेरै मधेसमा बसोबास रहेको देखिएको हो।

    यस्तै सबैभन्दा कम जनसंख्या गण्डकी प्रदेशमा छन् । यस्तै, यो १० वर्षमा प्रतिपरिवार जनसंख्यामा पनि गिरावट आएको छ । २०६८ सालमा नेपालमा एउटा परिवारमा ५ जना बस्थे । अहिले प्रतिपरिवार ४.३२ जना बस्न थालेका छन् ।

    नेपालको कुल जनसंख्याको २१ प्रतिशत जनसंख्या मधेश प्रदेशमा बसोबास गर्ने गरेको विभागको तथ्यांकमा उल्लेख छ ।

    यसपछि बागमती प्रदेशमा सबैभन्दा बढी जनसंख्या रहेको यो वर्षको जनगणनाले देखाएको छ । मधेश प्रदेशमा ६१ लाखभन्दा बढी, बागमतीमा ६० लाख जनसंख्या बसोबास गर्ने गरेको पाइएको छ ।

    विभागका अनुसार विदेशमा बसोबास गर्ने नेपालीको संख्या २१ लाख ६९ हजार ४७८ छ ।

    अघिल्लो पटकको जनगणनामा नेपालको जनसंख्या २ करोड ६४ लाख थियो ।

    आगामी ६ महिनाभित्र विस्तृत नतिजा सार्वजनिक गर्ने विभागको योजना रहे पनि कोरोनाका कारण थप समय लाग्ने अनुमान गरिएको विभागले जनाएको छ।

    जनगणनाको स्थलगत कार्य पहिलो चरणको गत भदौ ३० देखि असोज १८ गते सम्म गरिएको थियो भने कात्तिक २५ देखि मंसिर ९ गतेसम्म मुख्य जनगणनाको काम गरिएको थियो।

  • पशुपति धर्मशाला चलाउन बतास समूहसँग भएको सम्झौता सरकारले गर्यो रद्द

    पशुपति धर्मशाला चलाउन बतास समूहसँग भएको सम्झौता सरकारले गर्यो रद्द

    काठमाडौं । सरकारले नेपाल–भारत मैत्री पशुपति धर्मशाला सञ्चालनको सम्झौता रद्द गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेमबहादुर आलेले यस्तो जानकारी गराएका हुन् । आलेका अनुसार बतास समूहले सञ्चालन गर्दै आएको सो धर्मशालाको सम्झौता फिर्ता लिइएको हो । मन्त्रीस्तरीय निर्णयबाट धर्मशाला सञ्चालनका लागि व्यावसायिक फार्म बतास समूहसँग सम्झौता रद्द भएको मन्त्री आलेले जानकारी गराए । छानबिन समितिले गरेको सिफारिसका आधारमा धर्मशाला फिर्ता लिने निर्णय गरेको उनको भनाई छ । अब धर्मशाला बसात समूहले सञ्चालन गर्दैन । पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायण सुवेदीको संयोजकत्वमा गठित छानबिन समितिले धर्मशाला भाडामा दिँदा मिलेमतो भएको भन्दै फिर्ता लिनुपर्ने निष्कर्षसहित मन्त्री आलेलाई प्रतिवेदन बुझाएको थियो । पशुपति विकास कोष र बतास समूहअन्तर्गतको होटल आनन्द प्रालिबीच सम्झौता भएर पशुपति धर्मशाला सञ्चालनमा आएको थियो । कोषले निर्माण गरेको संरचनामा बतास समूहले महङ्गो मूल्य लिँदै होटलका रूपमा धर्मशाला सञ्चालन गरेको गुनासोपछि सरकारले हस्तक्षेप गरेको हो ।

  • भारतको गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति र प्रधानमन्त्रीले पठाए शुभकामना सन्देश

    भारतको गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति र प्रधानमन्त्रीले पठाए शुभकामना सन्देश

    काठमाडौं । भारतको ७३ औँ गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय समकक्षी रामनाथ कोविन्दलाई शुभकामना सन्देश पठाउँदै उनको सुस्वास्थ्य र सुखका साथै भारतीय जनताको उत्तरोत्तर प्रगति र समृद्धिको कामना गरेकी छन्। भारतको स्वतन्त्रताको ७५औं वार्षिकोत्सव भारतमा ‘आजादीको अमृत महोत्सव’का रूपमा मनाइन लागेकामा राष्ट्रपति भण्डारीले बधाई तथा शुभकामना व्यक्त गरेकी हुन्।

    प्रधानमन्त्री शेरबहादुर देउवाले पनि प्रधानमन्त्री नरेन्द्र मोदीलाई पठाएको सन्देशमा उनको सुस्वास्थ्य र सुखको कामनाका साथै भारतीय जनताको उत्तरोत्तर प्रगति र समृद्धिको कामना गरेका छन्। सन्देशमा प्रधानमन्त्री देउवाले सामाजिक, आर्थिक विकासमा भारतले हासिल गरेको उल्लेखनीय उपलब्धि तथा प्रविधि र नवप्रवर्तनमा गरेको प्रभावकारी प्रगतिको प्रशंसा गरेका छन्। प्रधानमन्त्रीले आगामी दिनमा नेपाल र भारतबीचको सम्बन्ध थप मजबुत हुँदै जाने विश्वास पनि व्यक्त गरेका छन्।

    परराष्ट्रमन्त्री नारायण खड्काले आफ्ना भारतीय समकक्षी एस जयशंकरलाई पठाएको सन्देशमा उनका साथै भारतका जनताप्रति हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका छन्। मन्त्री खड्काले दुई देशबीचको न्यानो र मैत्रीपूर्ण सम्बन्ध आगामी दिनमा थप प्रगाढ हुने विश्वास पनि सन्देशमा व्यक्त गरेका छन्।

  • राष्ट्रिय जनगणनाको प्रारम्भिक नतिजा सार्वजनिक गरिँदै

    राष्ट्रिय जनगणनाको प्रारम्भिक नतिजा सार्वजनिक गरिँदै

    काठमाडौं । आज राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा सार्वजनिक हुँदैछ । केन्द्रीय तथ्यांक विभागले राष्ट्रिय जनगणना-२०७८ को प्रारम्भिक नतिजा सार्वजनिक गर्न कार्यक्रम राखेको छ । जनगणना कात्तिक २५ बाट मंसिर ५ सम्म चलेको थियो । तीन महिना भित्र जनगणनाको प्रारम्भिक र ६ महिनाभित्र विस्तृत नतिजा सार्वजनिक गर्ने विभागको योजना अनुसार आज प्रारम्भिक नतिजा आउन लागेको छ ।

    जनगणनाका सबै विवरण भने आगामी दुई वर्ष भित्र सार्वजनिक हुनेछन् । नेपालमा जनसंख्याको वृद्धिदर तुलनात्मक रुपमा घटेको पाइएको छ । सोही अनुसार नतिजा आउने अपेक्षा गरिएको छ । प्रारम्भिक नतिजामा नेपालमा जम्मा परिवार संख्या, महिला र पुरुषसहित जम्मा जनसंख्या र विदेशमा रहेका नेपालीको जनसंख्या सार्वजनिक गरिने भएको छ । प्रारम्भिक नतिजामा लिंगको आधारमा महिला र पुरुषको मात्र संख्या सार्वजनिक गरिनेछ । अन्य लैंगिक र यौनिक पहिचान भएकाहरुको विवरण भने पछि सार्वजनिक हुनेछ ।

  • आज राष्ट्रिय सभा निर्वाचन, आजै नतिजा आउने

    आज राष्ट्रिय सभा निर्वाचन, आजै नतिजा आउने

    काठमाडौं । आज राष्ट्रिय सभा निर्वाचन अन्तर्गत आज मतदान हुदैछ । आगामी फागुन २० गतेदेखि राष्ट्रिय सभामा रिक्त हुन लागेका १९ सदस्यका लागि आज सात वटै प्रदेशमा निर्वाचन हुन लागेको हो । नतिजा आजै सार्वजनिक हुने छ । निर्वाचन आयोगका अनुसार मतदान ९ बजेबाट शुरु भइ ३ बजे सम्पन्न हुनेछ । त्यसपछि मतगणना हुनेछ ।

    निर्वाचनमा  सरकारमा रहेका पाँच दलले गठबन्धन गरेका छन् । मधेश प्रदेशमा प्रमुख प्रतिपक्षी नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले गठबन्धन गरेका छन् । राप्रपाले प्रदेश १ मा बाहेक अन्त मतदान नगर्ने निर्णय गरेको छ ।

    प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख÷उपप्रमुखको मतभार हेर्दा सत्ता गठबन्धन सात वटै प्रदेशमा अगाडि देखिएको छ ।

    प्रदेश १ मा एमालेभन्दा सत्ता गठबन्धन १४४ मतभारले मात्रै अगाडि छ । एमाले नेताहरुले पनि अन्य प्रदेशमा हार्ने निश्चित भए पनि प्रदेश १ मा भने जित्न सकिने सम्भावना रहेको भन्दै प्रयास जारी राखेका छन् ।

    प्रदेश १ मा प्रदेशसभा सदस्य ९३ जना (हाल ९२) र स्थानीय पालिका प्रमुख/उपप्रमुख २७४ (हाल २७२) गरी ३६४ मतदाता छन् । ३ सय ६७ मतदातामध्ये तीन सदस्य रिक्त छ । निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तहका प्रमुख/उपप्रमुखको मतभार १८ हुन्छ ।

  • भिजिट भिसामा खाडी मुलुकमा जाने युवाका समस्याबारे अध्ययन गर्न समिति गठन

    भिजिट भिसामा खाडी मुलुकमा जाने युवाका समस्याबारे अध्ययन गर्न समिति गठन

    काठमाडौं । नेपालबाट भिजिट भिसामा खाडी मुलुक पुग्ने नेपाली युवाका समस्याबारे अध्ययन गर्न सरकारले समिति गठन गरेको छ । भिजिट भिसामा दुबईलगायत खाडी मुलुकमा गई भोग्नु परेका कठिनाई र समस्या समाधान उपाय खोज्न गृह मन्त्रालयका सहसचिव फणिन्द्रमणि पोखरेलको संयोजकत्वमा सात सदस्यीय समिति गठन भएको हो ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विभिन्न निकायको समन्वयात्मक परिचालन र व्यवस्थापनबारे सरोकारवाला निकायबीच छलफलबाट समिति गठन भएको हो । गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ, परराष्ट्रसचिव भरतराज पौड्याल, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपाने, गृहसचिव टेकनारायण पाण्डेसहितका अधिकारीहरू बैठकमा सहभागी थिए ।

    नवगठित समितिका सदस्यहरूमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव शेषनारायण पौडेल, परराष्ट्र मन्त्रालयका सहसचिव हरिसचन्द्र घिमिरे, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका वरिष्ठ प्रहरी उपरीक्षक भीम ढकाल र अध्यागमन विभागका निर्देशक (उपसचिव) प्रकाशचन्द्र अधिकारी रहेका छन् ।

    समितिको सदस्यसचिवमा वैदेशिक रोजगार बोर्डका उपसचिव दिनबन्धु सुवेदी रहेका छन् । बैठकमा विदेशमा जाने नेपालीहरूका श्रमजन्य गतिविधि र श्रमका लागि भिजिट भिसाको प्रयोग, अध्यागमन प्रणाली र विदेशमा कार्यरत नेपालीहरूका समस्या समाधानबारे छलफल भएको गृह मन्त्रालयका सहसचिव मुकुन्दप्रसाद निरौलाले जानकारी दिए । बैठकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ट्रान्जिट प्यासेन्जर्सको सहजताका लागि उपयुक्त संरचनात्मक सुधार तथा व्यवस्थापन गर्न संस्कृति पर्याटन तथा नागरिक उड्डयन मन्त्रालयले समन्वय गर्ने निर्णय निर्णय गरेको छ ।

    यस्तै पर्यटन मन्त्रालयले नै अन्तर्राष्ट्रिय उडानको आगमन तथा प्रस्थानलाई व्यवस्थित बनाउन उपयुक्त समय अन्तरालसहितको उडान तालिका व्यवस्थापन गर्ने निर्णय पनि बैठकले गरेको छ । कार्गो र लगेजको एक्सरेसहित स्क्यानिङ र आवश्यक नियमनका लागि भन्सार विभागसमेतको समन्वयनमा नेपाल प्रहरीले आवश्यक प्रबन्ध गर्ने निर्णय पनि बैठकले गरेको छ ।

    बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल व्यवस्थित बनाउन सके मुलुकको प्रतिष्ठा बढ्ने बताए । नेपालको एयरपोर्ट प्रयोग भएर कुनै पनि मुलुक र मित्रराष्ट्रलाई असर पर्ने कामहरू हुन नहुने उनले बताएका थिए । नेपालको यएरपोर्ट प्रयोग गर्दा कुनै पनि मुलुक र मित्रराष्ट्रलाई असर पर्ने काम भए ठूलो मूल्य चुकाउनु पर्ने उनको भनाइ थियो । मुलुकलाई सुरक्षित रूपमा परिचित बनाउन पनि एयरपोर्टलाई व्यवस्थित बनाउनु पर्ने उनको भनाइ थियो ।

  • नेपालमा मल कारखाना खोल्न उद्योगीहरुसँग प्रधानमन्त्रीको आग्रह

    नेपालमा मल कारखाना खोल्न उद्योगीहरुसँग प्रधानमन्त्रीको आग्रह

    काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवाले नेपालमा मल कारखाना खोल्न उद्योगीहरुसँग आग्रह गरेका छन् । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा अफगानी नागरिकहरुलाई सहयोग गरेर फर्किएका उद्योगी, व्यवसायी र सरकारका प्रतिनिधिहरुसँग भेट्दै प्रधानमन्त्री देउवाले नेपालमै मल कारखाना स्थापना गर्न आह्वान गरेका हुन् ।
    उनले उद्योगी, व्यवसायीहरुले मल कारखाना स्थापना गरेमा सरकार सहयोग गर्न तयार रहेको पनि बताए । प्रधानमन्त्री देउवाले भने,’ कतिपय सरकारलाई प्रायोरेटिजहरु हुन्छन्, जस्तो अहिले कुरा आएको छ, फर्टिलाइजर प्रायोरेटीको कुरा भएन, पाइएकै छैन के गर्नु ? यहाँ त्यो उद्योग खोल्नुस् । यस्ता कति कुराहरुमा सहयोग गर्नुपर्ने उद्योग खोल्नुपर्ने कुरा छ । त्यसैले तपाईंहरुलाई त्यो सहयोग दिन हामी तयार छौँ ।’

    प्रधानमन्त्री देउवाले अफगानिस्तानमा खाद्यान्न संकटको बेला मानवीय सहयोग गर्नु सरकारको दायित्व भएको भन्दै अफगानी नागरिकहरुलाई सहयोग गरेकोमा सरकारको तर्फबाट धन्यवाद ज्ञापन गरे । ‘अफगानिस्तानमा अत्यन्तै खाद्य संकट छ । त्यसमा यूएनएसमेतले अफगानीहरु भोकै मर्न थाले मानवीय सहायता सहयोग चाहियो भनेर सहयोग माग्दा नेपालका सबै उद्योगपति सबैले मानवीय संकटमा खाद्यान्न पुर्‍याउने जस्तो कुरामा मद्दत गर्नुभयो, सबैलाई हार्दिक धन्यवाद’ उनले भने ।

    प्रधानमन्त्री देउवाले अहिले देश कोरोना भाइरसबाट आक्रान्त बनेको भन्दै सबैले स्वास्थ्यका मापदण्ड पूर्ण पालना गरेर कोरोनालाई परास्त गर्नुपर्ने बताए । उनले कोरोनाबिरुद्धको खोप सरकारको पहिलो प्राथमिकता भएकोले सबैले लगाएर कोरोनाबाट सुरक्षित हुन पनि आग्रह गरेका छन् ।

  • नेपालमा थप १२ हजार ८ जनामा कोरोना पुष्टी, ८ जना संक्रमितको निधन

    नेपालमा थप १२ हजार ८ जनामा कोरोना पुष्टी, ८ जना संक्रमितको निधन

    काठमाडौं । नेपालमा कोरोना संक्रमितकोदर दिन प्रतिदिन बढिरहेको छ । पछिल्लो २४ घण्टामा देशभर १२ हजार ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ हजार १०३ जनाको पीसीआर परीक्षण गर्दा ९हजार ४३२ जना र ७८०६ जनाको एन्टिजेन परीक्षण गर्दा २५७६ गरी १२ हजार ८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख २७ हजार ८८० जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा ३०४० जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ८ लाख २७ हजार २७९ पुगेको छ । संक्रिय संक्रमितको संख्या ८८ हजार ९३४ रहेको छ ।

    पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या ८ रहेको छ । नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ६६७ पुगेको छ ।

  • राप्रपाको उर्दी-‘राष्ट्रियसभा निर्वाचनमा प्रदेश १ बाहेक अन्य प्रदेशमा ‘भोट’ नहाल्नु’

    राप्रपाको उर्दी-‘राष्ट्रियसभा निर्वाचनमा प्रदेश १ बाहेक अन्य प्रदेशमा ‘भोट’ नहाल्नु’

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) राष्ट्रियसभाका निर्वाचनमा प्रदेश १ बाहेक अन्य प्रदेशका मतदान प्रक्रियामा सहभागी नहुने भएको छ ।

    राप्रपाका केन्द्रीय पदधिकारीहरूको बैठकले प्रदेश १ बाहेक अन्य प्रदेशको मतदान प्रक्रियामासहभागी नहुने निर्णय गरेको हो ।

    राप्रपाले मंगलबार विज्ञप्ति जारी गर्दै प्रदेश १ मा पार्टीका उम्मेदवार अम्बरबहादुर विष्ट र रन्जु प्याकुरेललाई मत दिन आफ्ना मतदातालाई निर्देशन दिएको छ ।

    १९ पदका लागि भोलि १२ गते सातै प्रदेशमा राष्ट्रियसभाको निर्वाचन हुदैछ । तर, अन्य प्रदेशमा भने राप्रपाका उम्मेदवार नभएकाले मतदान प्रक्रियामा सहभागी नहुने निर्णय गरेको महामन्त्री भुवन पाठकले जानकारी दिएका छन् ।

    राप्रपाका वागमती प्रदेशमा दुई प्रदेशसभा सदस्य र दुई जना गाउँपालिकाका अध्यक्ष उपाध्यक्ष मतदाता छन् । कर्णालीमा एक प्रदेशसभा सदस्य छन् । अन्य प्रदेशमा राप्रपाका मतदाता छैनन् ।

  • तत्काल स्थानीय तह निर्वाचनको मिति तोक्न सरकारलाई निर्वाचन आयोगको आग्रह

    तत्काल स्थानीय तह निर्वाचनको मिति तोक्न सरकारलाई निर्वाचन आयोगको आग्रह

    काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको मिति तत्काल तोक्न सरकारलाई आग्रह गरेको छ।

    आयोगका प्रवक्ता एवं सहसचिव शालिग्राम शर्मा पौडेलले आज एक विज्ञप्ति जारी गर्दै सरकारलाई मिति तोक्न आग्रह गरिएको जानकारी दिएका हुन्।

    स्थानीय तहको निर्वाचन बैशाखमै गर्नेगरि आयोगले तयारी गरिसकेको भन्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सरकारले तत्काल चुनावको मिति घोषणा गर्नुपर्ने बताए ।

    ‘स्थानीय तहको चुनाव रोक्नुहुँदैन् र रोकिँदैन पनि । यो मेरो आग्रह हो,’ उनले भने, ‘बैशाखमै निर्वाचन गर्न आयोग तयार छ । मैले सबै दलका नेताहरुलाई भेटेर यो कुरा राखिसकेको छु । सरकारले निर्वाचनको मिति मात्र दिओस् ।’

    चुनाव सारिए स्थानिय तह प्रतिनिधिविहीन हुने भन्दै उनले ऐन संशोधनलगायतका कामहरु चुनावपछि पनि गर्न सकिने धारणा राखे । पछिल्लो समय स्थानीय तहको निर्वाचन बैशाखमा नगर्ने र यसलाई पछि धकेल्नेगरि तयारी भएको चर्चा चलिरहेको छ ।

    सत्तारुढ गठबन्धनले संविधान बाझिएको भन्दै ऐन संशोन गरेर मात्र निर्वाचन गर्ने सहमति गरेको छ । तर, स्थानिय तह प्रतिनिधिविहीन बनाउन नहुने भन्दै सरकारले तोकिएको समय बैशाखमै निर्वाचन गर्नुपर्ने सर्वत्र दबाव बढेको छ ।

    यता प्रधानमन्त्री शेरबहादुर देउवा भने तीनै तहको निर्वाचन एकैपटक मंसिर, माघ वा फागुनमा गर्ने रणनीतिमा छन् । एकैपटक निर्वाचन गर्दा खर्च कम लाग्ने उनको धारणा छ । तर नेकपा एमाले, राप्रपा, नेपाली कांग्रेसको संस्थापन इतर पक्ष, लगायत विभिन्न राजीनितक दलका नेताहरुले स्थानिय तहको निर्वाचन बैशाखमै हुनुपर्ने अडान राखेका छन् ।

  • टेकु अस्पतालमा आजबाट खोप लगाउन पाइने

    टेकु अस्पतालमा आजबाट खोप लगाउन पाइने

    काठमाडौं । स्वास्थ्यकर्मीलाई कोरोना भाइरसको संक्रमण भएपछि रोकिएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुको खोप अभियान आजबाट पुनः संचालनमा आउने भएको छ । एक हप्ताका लागि स्थगन गरिएको कोरोना भाइरसविरुद्धको खोप अभियान मंगलबारबाट पुनः सञ्चालन गरिने भएको छ । काठमाडौँ महानगरपालिका स्वास्थ्य शाखा र नेपाल रेडक्रस सोसाइटीबाट जनशक्ति व्यवस्थापन गरिएपछि खोप अभियान पुनः सञ्चालन गर्न लागिएको हो । मंगलबार बिहान १० बजेदेखि खोप लगाउन शुरु गरिने छ ।

    आइतबार अस्पतालमा ५० भन्दा बढी चिकित्सक, स्वास्थ्यकर्मी र अन्य कर्मचारीलाई कोरोना भाइरसको सङ्क्रमण भएपछि सोमबारदेखि एक हप्ताका लागि खोप अभियान स्थगन गरिएको थियो । यो अस्पतालमा कोरोना भाइरसविरुद्धको पहिलो मात्रा, पूर्ण मात्रा र बुस्टर डोज लगाइन्छ । टेकु सबैभन्दा व्यस्त अस्पताल हो ।

  • बालबालिकालाई लगाउन थप ४० लाख मोडर्ना खोप ल्याइयो

    बालबालिकालाई लगाउन थप ४० लाख मोडर्ना खोप ल्याइयो

    काठमाडौं । नेपालमा बालबालिकालाई लगाउने थप ४० लाख मोडर्ना खोप ल्याइएको छ । सोमबार १६ लाख ६० हजार कोरोनाविरुद्धको मोडर्ना खोप नेपाल आइपुगेको छ । स्वास्थ्य सेवा विभाग आपूर्ति शाखाका अनुसार यो खोप १८ वर्षमुनिका बालबालिकालाई लगाउने हो । अमेरिकी खोप मोडर्ना कतार हुँदै नेपाल आएको हो । बाँकी २३ लाख ४० हजार मात्रा खोप मङ्गलबार नेपाल आउँदैछ ।

    कोभ्याक्समार्फत विश्व बैङ्कको सहुलियतमा यो खोप आएको हो । यसअघि ३८ लाख मोडर्ना खोप ल्याएर बालबालिकामा लगाइएको छ । सरकारले हिमाली तथा पहाडी क्षेत्रका बालबालिकालाई खोप लगाइसकेको छ । यो खोपको वितरणका सम्बन्धमा ठोस निर्णय भइसकेको छैन ।

  • काठमाडौं उपत्यकामा सक्रिय संक्रमित ५२ हजार नाघ्यो

    काठमाडौं उपत्यकामा सक्रिय संक्रमित ५२ हजार नाघ्यो

    काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४६७६जना कोरोना संक्रमित थपिएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ३६३४, भक्तपुरमा ४५५ र ललितपुरमा ५८७ जना संक्रमित थपिएका हुन् ।

    योसँगै काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या ५२ हजार ८४२ पुगेको छ ।

  • नेपालमा थप १० हजार ३१९ जनामा कोरोना पुष्टी, ४ जना संक्रमितको निधन

    नेपालमा थप १० हजार ३१९ जनामा कोरोना पुष्टी, ४ जना संक्रमितको निधन

    काठमाडौं । नेपालमा कोरोना संक्रमितकोदर दिन प्रतिदिन बढिरहेको छ । पछिल्लो २४ घण्टामा देशभर १० हजार ३१९ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार ६५४ जनाको पीसीआर परीक्षण गर्दा ८ हजार ५४ जना र ४५४७ जनाको एन्टिजेन परीक्षण गर्दा २२६५ गरी १० हजार ३१९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख १८ हजार ४४८ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा २५४० जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ८ लाख २४ हजार २३९ पुगेको छ । संक्रिय संक्रमितको संख्या ८२ हजार ५५० रहेको छ ।

    पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या ४ रहेको छ । नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ६५९ पुगेको छ ।

  • उपचार अभावमा साउदीको कोठामा छट्पटाइरहेका युवाको श्रम मन्त्रीको पहलपछि उद्धार

    उपचार अभावमा साउदीको कोठामा छट्पटाइरहेका युवाको श्रम मन्त्रीको पहलपछि उद्धार

    काठमाडौं । शनिबार सामाजिक संजालमा एक भिडियो भाइरल भयो । जसमा साउदी अरेवीयमा उपचारको अभावमा एक युवा कोठामा छट्पटाइरहेका थिए । उनी थिए जाजरकोटका आइस राना । यो भिडियो भाइरल भएसँगै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले उनका सम्बन्धमा चासो लिए । साउदी अरवको जेद्धामा कोठामा छटपटाइरहेका रानाको उपचार र उद्धारमा मन्त्री श्रेष्ठले नै चासो देखाएपछि साउदी अरेबियास्थित नेपाली दूतावास तात्तियो ।

    आइतवार नेपाली दूतावासका कर्मचारी र श्रम सहचारी सहितको टोली उनी रहेको स्थानमा गएर उनको अवस्थाबारे जानकारी लिएका छन् । श्रम सहचारी प्रेम उपाध्याय र भाषा अनुवादकसहित दूतावासको टोली राना भएको ठाउँमा गइ उपचारका लागि स्थानीय अस्पतालमा लगेको छ । नेपाली दूतावासले रानासहित जेद्धामा अलपत्र परेका आठ जना नेपाली श्रमिकहरुको दैनिक खानाको प्रवन्ध गर्दै आएको थियो । आठमध्ये एकजना नेपाल फर्किसकेका छन् भने अन्य छ जना मंगलवार नेपाल फर्कने भएका छन् ।


    रानाको पनि नेपाल फर्कने टिकटको व्यवस्था गरिएको थियो । उनीमाथि पुलिस केस भएकोले एक्जिट भिसाको लागि समय लाग्ने नेपाली दूतावासले जनाएको छ । उनी बिरामी परेपछि नेपाल फर्कने व्यवस्थाका लागि नेपाली दूतावासले आइतवार नै इमिग्रेसनलाई पत्राचार समेत गरेको नेपाली काउन्सिलर शत्रुधन पोखरेलले बताएका छन् । रानाको अवस्था अहिले सामान्य छ ।

  • आजबाट राष्ट्रिय सभा निर्वाचनको मौन अवधी शुरु

    आजबाट राष्ट्रिय सभा निर्वाचनको मौन अवधी शुरु

    काठमाडौं । १२ माघमा हुने राष्ट्रिय सभा निर्वाचन अन्तर्गत मौन अवधी आजबाट शुरु भएको छ । आइतबार राति १२ बजेबाट मौन अवधी प्रारम्भ भएको हो । मौन अवधि शुरु हुनुभन्दा अगाडि नै निर्वाचन चिह्न लगायतका प्रचार सामग्री हटाउनुपर्ने लगायतका आचरण पार्टीहरुले पालना गर्नु पर्छ । यसमा निर्वाचन आयोगले सचेत गराएको छ । मौन अवधिमा निर्वाचन प्रचारप्रसार गर्न र मत माग्न पाइँदैन । साथै मतदान केन्द्रको ३०० मिटर वरिपरि राखिएका निर्वाचन चिह्न, प्रचार सामग्री हटाउनुपर्दछ ।

    एसएमएस, फेसबुक, भाइबर जस्ता विद्युतीय माध्यमबाट पनि निर्वाचन प्रचार गर्न नपाइने निर्वाचन आयोगको सूचनामा उल्लेख छ । मौन अवधिमा उम्मेदवार वा कुनै राजनीतिक दलको प्रचार हुने गरी समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न पनि निषेध गरिएको छ । साथै निर्वाचन आयोगले निर्वाचक मण्डलको अन्तिम मतदाता नामावली विवरणसँग भिडाई यकिन गरी मतदान गर्न पाउने व्यवस्था मिलाउन सम्बन्धित निर्वाचन अधिकृतलाई निर्देशन समेत दिएको छ ।


    राष्ट्रिय सभामा रिक्त हुन लागेका १९ सिटका लागि सात वटै प्रदेशमा माघ १२ गते मतदान हुँदैछ । निर्वाचनमा नौ दलका ४३ जना उम्मेदवार छन् । प्रदेश १ मा तीन, मधेस प्रदेशमा दुई, बागमतीमा दुई, गण्डकीमा तीन, लुम्बिनीमा तीन, कर्णालीमा तीन र सुदूरपश्चिम प्रदेशमा तीन पदका लागि निर्वाचन हुनेछ ।

    सातै प्रदेशमा कुल २०२५ मतदाता छन् । निर्वाचन आयोगका अनुसार निर्वाचनमा हरियो र रातो रंगको मतपत्र प्रयोग हुने छ । रातो रंगको मतपत्र स्थानीय तहका प्रमुख र उपप्रमुखले प्रयोग गर्नेछन् । हरियो रंगको मतपत्र भने प्रदेश सभा सदस्यले प्रयोग गर्ने छन् ।

  • पठाओ राइडरलाई अपहरण गरि लुटपाट गर्ने दुई जना प्रहरीको फन्दामा

    पठाओ राइडरलाई अपहरण गरि लुटपाट गर्ने दुई जना प्रहरीको फन्दामा

    काठमाडौं । पठाओ राइडरलाई अपहरण गरि लुटपाट गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । गत राती काठमाडौंको कोटेश्वरबाट एक जना पठाओ राइडरको बाइकमा एक युवा चढेका थिए । उनले शनिबार राति ११ बजे कोटेश्वरबाट धापाखेल पु¥याएका उनलाई अर्का साथीको मद्दतमा अपहरण र लुटपाट गरेको खुलेको छ ।

    महानगरीय प्रहरी परिसर, ललितपुरका अनुसार धापाखेलमा मुखमा टेप र हातखुट्टा डोरीले बाँधेर नगद ८ हजार र राइडरको मोटरसाइकल पनि लिएर दुई व्यक्ति फरार भएका थिए । ‘आइतबार बिहान साढे १ बजे स्थानीयले धापाखेलमा बन्धक बनाइएका राइडर काठमाडौंका २५ वर्षीय प्रविन राइलाई हारगुहार गर्दै गरेको देखेपछि प्रहरीमा खबर गरेका हुन् ।

    प्रहरी टोलीले उद्दार गरी उनलाई उपचारका लागि पाटन अस्पताल लगेको थियो । पठाओ बुक लगेर लैजाने २१ वर्षीय सुमन तामाङ र धापाखेलमा बन्धक बनाउन सहयोग गर्ने उनका साथी मिनराज राईलाई प्रंहरीले आइतबार बिहान पक्राउ गरेको छ ।

    आइतबार बिहान दुई जनालाई बलम्बुस्थित चन्द्रागिरी रिकन्डिसन सोरुममा राइडरको मोटरसाइकल विक्री गर्न लागेको अवस्थामा पक्राउ गरिएको हो । ‘चोरी भएको बागमती प्रदेश ०२–०१–००१ प ११६६ नम्बरको मोटरसाइकल र सँगै चोरी भएको मोबाइल पनि उनीहरुको साथबाटै बरामद भएको समेत प्रहरीले जनाएको छ ।

  • नेपालमा थपिए २८ जना ‘ओमिक्रोन’ संक्रमित

    नेपालमा थपिए २८ जना ‘ओमिक्रोन’ संक्रमित

    काठमाडौं । नेपालमा थप २८ जनामा ओमिक्रोन पुष्टी भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो समय गरिएका ३२ नमुनाको जिन सिक्वेन्सिङ परीक्षणमा २८ जनामा ओमिक्रोन भेटिएको हो । बाँकी ४ जनामा डेल्टा भेरियन्ट भेटिएको जनाएको छ ।

    पछिल्लो समय परीक्षण गरिएका नमुनामा ८८ प्रतिशतमा ओमिक्रोन भेटिएको मन्त्रालयका सह प्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए ।

  • सरकारमाथि ओलीको काउन्टर- सिटामोल त दिन सकेनौं, कसले बेच्यो २४ लाख खोप ?

    सरकारमाथि ओलीको काउन्टर- सिटामोल त दिन सकेनौं, कसले बेच्यो २४ लाख खोप ?

    काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारलाइ प्रश्नै प्रश्न गरेको छ ।

    आइतबार एमालेको धारणा सार्वजनिक गर्दै विज्ञप्तिमार्फत ओलीले देउवा नेतृत्वको सरकारले जनताको स्वास्थ्यलाई लिएर गैरजिम्मेवारी काम गरेको भन्दै प्रश्न गरेका हुन् ।

    १५ बुँदे असहमति पत्रमा सरकार महामारीको नयाँ लहरमा गैरजिम्मेवार र निष्प्रभावी देखिएको आरोप लगाएका छन्।

    उनले भनेका छन् -‘खोप लगाउन आवश्यक सिरिन्ज र अत्यन्त आधारभूत मानिएको औषधि सिटामोलसमेत उपलब्ध गराउन नसक्नुले सरकार कति गैरजिम्मेवार छ भन्ने स्पष्ट हुन्छ।’

    ‘२४ लाखभन्दा बढी मात्रा खोप हराएको चरम गैरजिम्मेवार र लज्जास्पद अभिव्यक्ति सरकारी अधिकारीहरूले नै दिइरहेका छन्। कहाँ गयो त्यति धेरै मात्राको खोप ? कसले लुकायो वा बेच्यो ? यसका लागि को जिम्मेवार छ ?’

    अघिल्लो सरकारले व्यवस्था गरिदिएका खोपको आपूर्ति, व्यवस्थापन, भण्डारण र वितरण पनि राम्ररी गर्न असक्षम वर्तमान सरकारले तुलनात्मक रूपमा सहज अवस्थामा समेत नागरिकलाई पर्याप्त मात्रामा खोप लगाउन नसकिरहेका वेला सार्वजनिक सेवा उपयोगका लागि खोप कार्ड अनिवार्य भनेर हास्यास्पद कदम चालेको छ’‚ ओलीले भनेका छन्।

    वर्तमान सरकारले पुस मसान्तभित्र दुई तिहाइ र चैत मसान्तभित्र सबै नागरिकलाई खोप लगाइसक्ने घोषणा गरेकोमा हालसम्म यो संख्या ४० प्रतिशत मात्र पुगेको बताए।

  • प्रचण्ड पत्नी सीता दाहाललाई कोेरोना संक्रमण,आईसीयूमा उपचार हुँदै

    प्रचण्ड पत्नी सीता दाहाललाई कोेरोना संक्रमण,आईसीयूमा उपचार हुँदै

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहाल अस्पताल भर्ना भएकी छन् । कोरोना संक्रमण भएपछि उनलाई केही दिनअघि ललितपुरको मेडिसेटी अस्पताल भर्ना गरिएको हो ।

    कोरोना संक्रमणपछि सीतालाई निमोनिया भएको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए । स्वास्थ्यमा सुधार हुन नसकेपछि उनलाई आइतबार आईसीयूमा राखेर उपचार भइरहेको छ ।

    लामो समयदेखि सीता पार्किन्सन्ससँग मिल्दोजुल्दो लक्षण भएको रोगबाट पीडित छन् । यता प्रचण्डको भने कोरोना रिपोर्ट नेगेटिभ आइसकेको उनको सचिवालयले जनाएको छ ।

  • एमाले अध्यक्ष ओलीलाई कोरोना संक्रमण, पूर्व निर्धारित सबै कार्यक्रम स्थगित

    एमाले अध्यक्ष ओलीलाई कोरोना संक्रमण, पूर्व निर्धारित सबै कार्यक्रम स्थगित

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कोरोना संक्रमण भएको छ।

    शनिबार पीसीआर विधिबाट परीक्षण गर्दा उनलाई कोरोना पुष्टी भएको सचिवालयले जानकारी दिएको छ।

    केही दिनदेखि ओलीको स्वास्थ्यमा असहजता देखिएको थियो। उनी हाल बालकोटस्थित आफ्नै निवासमा स्वास्थ्यलाभ गरिरहेका छन्।

    सचिवालय स्रोतका अनुसार ओलीलाई हल्का रुघा खोकी र जिउ सामान्य दुख्ने समस्या छ। कोरोना संक्रमित भएसँगै पूर्व निर्धारित सबै कार्यक्रम स्थगित भएका छन्।

    यस्तै अध्यक्ष ओली पत्नी राधिका शाक्यलाई पनि संक्रमण देखिएको छ।

  • गुडिरहेको जिपमाथि ढुङ्गा खस्दा एकै परिवारका दुईसहित तीन जनाको मृत्यु

    गुडिरहेको जिपमाथि ढुङ्गा खस्दा एकै परिवारका दुईसहित तीन जनाको मृत्यु

    काठमाडौं । ओखलढुङ्गाको सिद्धिचरण नगरपालिकामा गुडिरहेको जिपमा पहाड माथिबाट ढुङ्गा खस्दा तीन जनाको मृत्यु भएको छ।

    आइतबार बिहान सिद्दिचरण नगरपालिका ३ मा सडक निर्माण गर्दै गरेको डोजरले माथिबाट लडाएको ढुंगाले सडकमा गुडिरहेको को १ ज ३५६९ नंबरको बोलेरोलाई किचेको प्रहरीले जनाएको छ। दुर्घटनामा अन्य तीन जना घाइते भएका छन्।

    ज्यान गुमाउनेमा सिद्धिचरण नगरपालिका १ का ७ वर्षीय युनिषा कोइराला,१० वर्षीय इशव कोइराला र मानेभञ्ज्याङ गाउँपालिका १ मोलीका ३० वर्षीय हेमबहादुर मगर रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ।

    जीपमा सवार देवबहादुर श्रेष्ठ, सञ्जीव श्रेष्ठ, लक्ष्मी कोइराला घाइते भएका छन्।

  • काठमाडौं महानगरले भन्यो : अध्ययन-अध्यापनमा वैकल्पिक माध्यम अपनाउनु

    काठमाडौं महानगरले भन्यो : अध्ययन-अध्यापनमा वैकल्पिक माध्यम अपनाउनु

    काठमाडौं । काठमाडौं महानगरपालिकाले उपत्यका भित्र अध्ययन अध्यापनमा वैकल्पिक माध्यम प्रयोग गर्न सबै सरोकारवालालाई निर्देशन दिएको छ । कोरोना भाइरस संक्रमण तीव्र रूपमा बढिरहेको भन्दै तत्काल वैकल्पिक माध्यमबाट कक्षा सञ्चालन गर्न काठमाडौंका विद्यालयलाई महानगरपालिकाले निर्देशन दिएको हो । केही निजी विद्यालयले भौतिक उपस्थितिमा नै कक्षा सञ्चालन गरिरहेको गुनासो आएपछि महानगरपालिकाले तत्काल वैकल्पिक माध्यमबाट कक्षा सञ्चालन गर्न निर्देशन दिएको हो।

    कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, जिल्ला प्रशासन कार्यालय काठमाडौं, कामपा शिक्षा विभागसमेतको निर्देशनलाई समेत बेवास्ता गरेको भन्दै कामपा शिक्षा विभागले सूचना जारी गर्दै भौतिक रूपमा कक्षा सञ्चालन भएको पठनपाठनलाई तत्काल बन्द गर्न निर्देशन दिएको हो।

    पुनःनिर्देशनको बेवास्था गरी विद्यार्थीको भौतिक सहभागितामा गतिविधि अघि बढाए कामपा कारबाही गर्न बाध्य हुने सूचनामा उल्लेख छ । कोरोना भाइरस सङ्क्रमणको तेस्रो लहर तीव्र रूपमा बढिरहेको भन्दै सरकाले गत पुस २७ गतेदेखि भौतिक उपस्थितमा कक्षा सञ्चालन नगरी वैकल्पिक माध्यमबाट सञ्चालन गर्न सबै विद्यालयलाई निर्देशन दिएको थियो ।

    सरकाले निर्देशनको बेवास्था गरी कामपाका भित्री वडामा विद्यालय सञ्चालन भएको जनगुनासो आएपनि कामपाले पुनः सूचना जारी गरेको र फेरि बेवास्था गरे थप कारबाही अघि बढाउने कामपा शिक्षा विभाग प्रमुख रामप्रसाद सुवेदीले जानकारी दिए। उपत्यकामा दैनिक सात हजार सङ्क्रमित देखिन थालेको सन्दर्भमा असुरक्षित बनेको छ ।

  • नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ह्वात्तै बढ्यो, एकै दिन १६ ले गुमाए ज्यान

    नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ह्वात्तै बढ्यो, एकै दिन १६ ले गुमाए ज्यान

    काठमाडौं । नेपालमा कोरोना भाइरसको सङ्क्रमण बढेपनि मृत्युको आङ्कडा अत्यासलाग्दो थिएन । तर, शनिबार सार्वजनिक तथ्यांकले भने झस्काएको छ । पछिल्लो २४ घण्टामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १६ रहेको छ । अब नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ६५१ पुगेको छ । पछिल्लो लहरमा ज्यान गुमाउनेमा धेरै जसो खोप नलगाउनेहरु रहेको देखिएको छ ।

  • नेपालमा १०,२५४ जनामा कोरोना देखियो

    नेपालमा १०,२५४ जनामा कोरोना देखियो

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा देशभर १० हजार २५४ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ  । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको आङ्कडा अनुसार १४ हजार ४६२ जनाको पीसीआर परीक्षण गर्दा ८ हजार २१२ जना र ५७२५ जनाको एन्टिजेन परीक्षण गर्दा २०४२ गरी १० हजार २५४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ४ हजार ७९६ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा ७०८ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ८ लाख २० हजार २८३ पुगेको छ । संक्रिय संक्रमितको संख्या ७२ हजार ८६२ रहेको छ ।

  • वर्षमान पुन १० माघमा स्वदेश फर्कने

    वर्षमान पुन १० माघमा स्वदेश फर्कने

    काठमाडौं । स्वास्थ्योपचारका सिलसिलामा चीनमा रहेका माओवादी केन्द्रका नेता वर्षमान पुन १० माघमा नेपाल आउने भएका छन् । उनी नेपालमा नभएका कारण माओवादी केन्द्रले पदाधिकारी चयन गर्न सकेको छैन । पुनले शनिबार एक सन्देश जारी गर्दै सोमबार नेपाल आउन लागेको बताएका हुन् । आफु पूर्ण रुपमा स्वस्थ रहेको समेत उनले जनाएका छन् । नेपालबाट उपचारका लागि थाइल्याण्ड लगिएका उनलाई त्यहाँ निको नभएपछि चिन्ताजनक अवस्थामा चीनमा लगिएको थियो ।

  • आजबाट काठमाडौंमा जोर-बिजोर प्रणाली लागू, कुन कुन सवारीलाई अनिवार्य छैन ?

    आजबाट काठमाडौंमा जोर-बिजोर प्रणाली लागू, कुन कुन सवारीलाई अनिवार्य छैन ?

    काठमाडौं । आजबाट काठमाडौं उपत्यकामा जोर-बिजोर प्रणाली कार्यान्वयनमा आएको छ । कोभिड–१९ सङ्क्रमण रोक्न काठमाडौँ उपत्यकामा शनिबार बिहानबाट  यातायातमा जोरबिजोर प्रणाली लागू गरिएको हो ।

    स्थानीय प्रशासन (काठमाडौँ, ललितपुर र भक्तपुर) को संयुक्त बैठकको निर्णयानुसार जोरबिजोर प्रणाली लागू गरिएको हो । काठमाडौँ उपत्यकामा सार्वजनिक र निजी सवारी साधनमा जोर गते जोर तथा बिजोर गते बिजोर नम्बर प्लेटका सवारी साधन सञ्चालन हुने गरी उक्त प्रणाली लागू गरिएको हो ।

    प्रशासनले सार्वजनिक सवारीमा सीट क्षमताभन्दा बढी यात्रु नराख्न, सबै यत्रुलाई मास्क अनिवार्य गर्न, सवारी साधनको ढोकामा र सवारी साधनभित्र यात्रुले प्रयोग गर्ने गरी स्यानिटाइजरको व्यवस्था गर्न आदेश दिएको छ ।
     जिल्लाभित्रका सबै सार्वजनिक र सरकारी निकायमा आलोपालोमा सेवा प्रवाहको उचित प्रबन्ध कार्यालय प्रमुखले गर्ने आदेशमा भनिएको छ । उक्त आदेश कार्यान्वयनका लागि आज बिहानैदेखि सुरक्षाकर्मीलाई ठाउँठाउँमा परिचालन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

    आदेशानुसार अत्यावश्यक सेवामा प्रयोग हुने र तोकिएका सवारीलाई भने जोरबिजोर प्रणाली लागू हुने छैन । आदेशमा औषधि एवं स्वास्थ्य सामग्री बोकेका, एम्बुलेन्स, दमकल, शवबाहन, ग्यास, पेट्रोलियम पदार्थ बोकेका सवारी साधनमा जोर बिजोर प्रणाली लागू हुने छैन ।

    खाद्यान्न, दुग्धजन्य पदार्थ, फलफूल, तरकारी, पानी, अण्डा, माछामासु, पशुपन्छी, दाना एवं कृषि तथा पशुजन्य सामग्री बोक्ने सवारी साधन पनि निर्वाधरुपमा सञ्चालन गर्न पाइने छ । यस्तै निर्माण सामग्री बोक्ने सवारी साधन (चालक सहचालक मात्र) सञ्चालन गर्न पाइने छ ।

    परिचयपत्रका आधारमा बैंक, बीमा, वित्तीय संस्था, वायुसेवा कम्पनी, डाँक तथा कुरियर सेवा, दूरसञ्चार, सेवा प्रदायक निकायका कर्मचारीले प्रयोग गर्ने सवारी साधन सञ्चालन गर्न पाइने आदेशमा उल्लेख छ ।

    यस्तै सूचना तथा प्रसारण विभागबाट जारी प्रेस पास तथा पत्रकार परिचयपत्र रहेका सञ्चारकर्मीले प्रयोग गरेका सवारी साधन, सरकारी र कूटनीतिक नियोगका सवारी साधन सञ्चालन गर्न पाइने छ ।