Category: समाचार

  • संघीय संसदमा २५ जना भन्दा बढी सांसदमा कोरोना पुष्टी

    संघीय संसदमा २५ जना भन्दा बढी सांसदमा कोरोना पुष्टी

    काठमाडौं । संघीय संसदका २५ जना बढी सांसदलाई कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । संसद सचिवालयका अनुसार प्रतिनिधि सभा र राष्ट्रिय सभा दुबै तर्फका गरी २५ जना बढी सांसद कोरोना संक्रमित भएका छन् । संसद सचिवालयकै ७ जना कर्मचारीमा पनि कोरोना संक्रमण देखिएको छ । सांसद र संसद सचिवालयका कर्मचारीहरुमै कोरोना संक्रमण देखिएपछि दुबै सभाको बैठक स्थगित भएको हो ।

    यही माघ ३ गतेका लागि तय भएको राष्ट्रिय सभाको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित भएको छ । माघ ३ गते नै बस्ने तय भएको प्रतिनिधि सभाको बैठक माघ १६ गतेसम्मका लागि स्थगित भएको छ । यसअघि माघ १८ गते, २२ गते र २८ गतेलाई बोलाइएको प्रतिनिधिसभाको बैठक पनि स्थगित भएको थियो । तर कारण खुलाइएको थिएन ।

  • आजबाट स्वस्थानी व्रत आरम्भ, शालीनदीमा प्रोटोकल

    आजबाट स्वस्थानी व्रत आरम्भ, शालीनदीमा प्रोटोकल

    काठमाडौं । हिन्दु धर्मावलम्बीले हरेक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना विधिपूर्वक गर्ने स्वस्थानी व्रत एवं माघस्नान आजदेखि सुरु भएको छ । पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर व्रत आरम्भ गरिन्छ । बिहान माघ स्नान गरी नित्य मध्याह्नकालमा महादेवको पूजा गरिन्छ । बेलुकी स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी व्रत कथा सुन्ने सुनाउने गरिन्छ ।

    एक महिनासम्म यो विधिबाट व्रत गरी माघ शुक्ल पूर्णिमाका दिन १०८ जनै, १०८ सुपारी, १०८ पान, १०८ फूल, १०८ रोटी, १०८ अक्षता विभिन्न थरीका फलफूल, धूप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दूर, वस्त्र, भेटी चढाई व्रतको कामना पूर्ण होस् भनी भगवतीलाई अघ्र्य दिइन्छ । चढाइएका प्रसादमध्ये सबैबाट आठ,आठ पतिलाई, पति नभए छोरालाई र छोरा पनि नभए मीत छोरालाई एवं मीत छोरा पनि नभएमा कामना सिद्ध होस् भनी नजिकको पवित्र नदीमा लगी बगाउने व्रत विधि छ ।

    सय रोटी व्रतालु आफैँले फलाहार गरी रातमा जाग्राम बसिन्छ । जाग्रामका समयमा देवीको माहात्म्य सुन्ने सुनाउने गरिन्छ । यसो गरेमा वर्तालुको मनोकाङ्क्षा पूरा हुन्छ भन्ने धार्मिक विश्वास छ । स्वस्थानीको शाब्दिक अर्थ आफू बसेको स्थानको देवी भन्ने बुझिन्छ । आफू बसेकी स्थानकी देवीको पूजा गर्नु नै स्वस्थानी पूजा हो । उत्तरायणपछिको समय ध्यान योग साधनाका लागि उपयुक्त भएकाले स्वस्थान अर्थात् आफ्नो आत्मामा सम्पर्कको अभ्यास गर्नुलाई स्वस्थानी भनिएको विश्वास पनि छ ।

    यसका लागि पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको समय राम्रो मानिन्छ । देवीको विधिपूर्वक व्रत गरेमा बिछोड भएका जोडीको पुनर्मिलन हुन्छ भन्ने विश्वास छ । रोग व्याध लागेको भए ठीक हुने र पति वा पत्नीका रुपमा कसैलाई इच्छाएको भए प्राप्त हुने कथा समेत नेपाली समुदायमा प्रचलित छ ।

    सत्य युगमा हिमालय पर्वतकी पुत्री पार्वतीले महादेवलाई पति पाऊँ भनी विष्णुको निर्देशानुसार स्वस्थानीको व्रत गरेको कथा स्वस्थानीमा वर्णन गरिएको छ । व्रतपछि बिछोडमा परेका नाग नागिनीको पुनर्मिलन भएको कथामा उल्लेख छ । गोमा ब्राह्मणीले सप्तऋषिले सिकाएको व्रतविधिअनुसार व्रत गर्दा पुत्र वियोगबाट मुक्ति मिलेको र व्रतकै प्रभावले छोरा नवराज लावण्य देश हालको साँखु क्षेत्रको राजा भएको कथा स्वस्थानीमा वर्णन गरिएको छ ।


    यसैबीच आजबाट एक महिनासम्म उपत्यकाको उत्तरपूर्वी भेगस्थित १८ किमीको दूरीमा रहेको साँखुस्थित शालिनदीमा माघस्नानसहित माधवनारायणको मेला लाग्छ । यहाँ कोभिड विरुद्धको प्रोटोकल पालना गर्नुपर्नेछ । यस वर्ष कोरोनाको महामारीका कारण माधनारायण मेला नगरी व्रतमात्र गरिने भएको छ । वर्तालुका लागि साँखुस्थित शालिनदीमा सम्पूर्ण तयारी पूरा गरिएको श्री माधवनारायण स्वस्थानी व्रत तथा शालीनदी सुधार समितिले जनाएको छ । विगत वर्षमा करीब ४०० जनाले माधवनारायण व्रत गर्ने गरेकामा यस वर्ष करिब १५० जनालाई मात्र स्वास्थ्य सुरक्षाका विधि अपनाएर सुरक्षित साथ राखिने भएको छ ।

  • सरकारले भन्यो : लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भू-भाग हो

    सरकारले भन्यो : लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भू-भाग हो

    काठमाडौं । नेपाल र भारतबीचको विवादित क्षेत्र लिम्पियाधुरा, लिपुलेक र कालापानीको सम्बन्धमा आधिकारिक धारणा सार्वजनिक नगरेको भन्दै सरकारको आलोचना भइरहेको समयमा सरकारले यी भूभाग नेपालको अभिन्न अंग रहेको बताएको छ । आइतबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुअघि सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारको आधिकारिक धारणा सार्वजनिक गरे ।

    उनले महाकाली नदीको पूर्व लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग भएको तथ्यमा सरकार दृढ र स्पष्ट रहेको बताए । सरकारले भारतलाई नेपाली भूभाग भएर जाने कुनै किसिमको एक पक्षीय सडक निर्माण र विस्तार रोक्न आग्रह गर्दै आएको उनको भनाई छ । नेपाल र भारतबीच घनिष्ठ र मैत्रीपूर्ण सम्बन्धको मर्म र भावना अनुसार सीमाको विवाद सन्धि, सम्झौता, तथ्य र नक्साको आधारमा समाधान गर्नुपर्ने कुरामा सरकार प्रतिवद्ध रहेको प्रवक्ता कार्कीले उल्लेख गरे ।

  • हवाई यात्रुलाई फेससिल्ड अनिवार्य गरियो

    हवाई यात्रुलाई फेससिल्ड अनिवार्य गरियो

    काठमाडौं । नेपालमा हवाई यात्रुलाई पुनः फेससिल्ड अनिवार्य गरिएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले आन्तरिक हवाई यात्रालाई सुरक्षित बनाउने सन्दर्भमा सो निर्णय गरेको हो । हवाईजहाजमा चालक दल तथा सबै यात्रुलाई मास्क तथा फेससिल्ड अनिवार्य गर्ने निर्णय भएको हो । हवाईजहाज भित्र सेनिटाइजरको व्यवस्था समेत हवाई कम्पनीले मिलाउनु पर्नेछ ।

    वायुसेवा कम्पनीले हरेक उडानपछि हवाई जहाज र ब्यागेजलाई निसंक्रमित गराउनु पर्ने समेत निर्णयमा उल्लेख छ । चेकइन, बोर्डिङ क्लेम गर्ने स्थान तथा प्रतिक्षालयमा भीडभाड हुन नदिने र जनस्वास्थ्यका मापदण्ड लागु गर्ने निर्णय समेत भएको छ । सम्बन्धित वायुसेवा सञ्चालकको खर्चमा यात्रुको एन्टिजेट परीक्षण गरी रिर्पोट नेगेटिभ आएमा मात्र यात्रा गराउने निर्णय समेत सरकारले गरेको छ ।

  • नेपालमा थप ४९६१ जनामा कोरोना पुष्टी, तीन जना संक्रमितको निधन

    नेपालमा थप ४९६१ जनामा कोरोना पुष्टी, तीन जना संक्रमितको निधन

    काठमाडौं । नेपालमा कोरोना संक्रमितकोदर दिन प्रतिदिन बढिरहेको छ । पछिल्लो २४ घण्टामा देशभर ४९६१ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा १५ हजार १३१ नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना भाइरसको संक्रमण देखिएको हो । यही अवधिमा थप ३ जना काेराेना संक्रमितले ज्यान गुमाएका छन् । यससँगै काेराेनाबाट ज्यान गुमाउनेकाे संख्या ११ हजार ६२० पुगेकाे छ ।

  • प्रतिनिधि सभाको बैठक माघ १६ गतेसम्मका लागि स्थगित

    प्रतिनिधि सभाको बैठक माघ १६ गतेसम्मका लागि स्थगित

    काठमाडौं । प्रतिनिधि सभा बैठक स्थगित भएको छ ।

    सोमबार दिउँसो १ बजे बस्ने गरी तोकिएको वैठक माघ १६ गतेसम्मको लागि स्थगित संसद सचिवालयले जनाएको छ ।

    विभिन्न दलका सांसदहरू कोरोना संक्रमित भएको र देशमा पनि कोरोना संक्रमण बढ्दै गएका बेला सोमवारका लागि तोकिएको बैठक सारिएको हो ।

    प्रतिनिधि सभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम सभामुख अग्नी प्रसाद सापकोटाले माघ १६ गते दिउँसो १ बजे बस्नेगरी बैठक निर्धारण गरेको संघीय संसदका महासचिव डा. भरतराज गौतमले जारी गरेको सूचनामा उल्लेख छ ।

  • रात्रीकालीन व्यवसाय बन्द गर्ने सरकारको निर्णय

    रात्रीकालीन व्यवसाय बन्द गर्ने सरकारको निर्णय

    काठमाडौं । सरकारले माग १५ गते सम्मका लागि मनारञ्जन क्षेत्र बन्द गर्ने निर्णय गरेको छ ।

    सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले शुक्रबारको बैठकले गरेका मन्त्रिपरिषदका निर्णय आज सार्वजनिक गर्दै उक्त निर्णय गरेको बताएका हुन् ।

    जसमा डिर्पाटमेन्ट स्टोर, सपिङमल लगायतका क्षेत्रमा एकपटकमा २५ जना मात्रै जान पाइने र दुई व्यक्तिविच दुई मिटर दुरी हुनुपर्ने, सामान छुन नपाइने, र जनस्वास्थ्य सम्बन्धी मापदण्ड पालना गर्नुपर्ने छ ।

    तेस्रो लहर रोकथाम तथा नियन्त्रण आदेश २०७८’ जारी गरेको छ । भीडभाड हुने क्षेत्रको बारेमा सरकारले कोभिड प्रोटोकल जारी गरेको बताएका छन् । पछिल्लो समय नेपालमा दिनहुँ कोरोना संक्रमितको संख्यामा वृद्धि भइरहेको छ ।

    जसअनुसार माघ मसान्तसम्म सार्वजनिक स्थान, समारोह, सामाजिक कार्यहरूमा २५ जनाभन्दा बढी जम्मा हुन पाइने छैन ।

    पार्टी प्यालेसमा कुल क्षमताको बढिमा ५० जना मात्रै उपस्थित हुन पाइने छ । यसैगरी विवाह, व्रतबन्ध, पास्नी लगायत समारोहमा सम्बन्धित जिल्ला अधिकारीबाट पूर्व स्वीकृती लिनुपर्ने भनिएको छ ।

    त्यस्तै सिनेमा हल, डान्सबार, दोहोरी साँझ, नाचघर, जिम, स्विमङपुल लगायत रात्रीकालीन व्यवसाय माघ १५ गतेसम्म सञ्चालन नगर्न आदेशमा उल्लेख गरिएको छ ।

  • सिमा विवादमा बोल्यो भारतीय दूतावास, यस्तो छ भनाइ

    सिमा विवादमा बोल्यो भारतीय दूतावास, यस्तो छ भनाइ

    काठमाडौं ।  नेपालस्थित भारतीय राजदूतावासले सीमा विवादबारे भारतको धारणा नेपाल सरकारलाई जानकारी गराइसकेको बताएको छ ।

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विवादित क्षेत्र लिपुलेकमा सडक विस्तार गरिरहेको बताउनुभएपछि नेपालमा त्यसको आलोचना भइराखेको छ । यसै सन्दर्भमा शनिबार विज्ञप्ति सार्वजनिक गर्दै भारतीय दूतावासले यो विषयमा नेपाल सरकारलाई जानकारी भएको बताएको हो ।

    विज्ञप्तिमा विवादको विषयमा अन्तर सरकारी संयन्त्रको माध्यमबाट छलफल गर्नु उपयुक्त हुने उल्लेख छ ।

    भारतीय दूतावासले शनिबार सार्वजनिक गरेको विज्ञप्तिमा सीमाबारे भारत सरकारको धारणा स्थिर र प्रष्ट रहेको भन्दै यस्तो बताएको हो । सीमा विवादबारेको भारतीय धारणा नेपाल सरकारलाई जानकारी गराएको भन्दै विज्ञप्तिमा लेखिएको छ, ‘यो विषयमा संवादका लागि स्थापित अन्तर सरकारी संयन्त्र र च्यानल नै उपयुक्त माध्यम हुन् ।’

    काठमाडौंस्थित भारतीय दूतावासका प्रवक्ताले सार्वजनिक गर्नुभएको धारणामा विवाद समाधानका लागि निकट तथा मैत्री द्विपक्षीय सम्बन्धका मर्मका आधारमा सम्बोधन गर्न सकिने उल्लेख गरिएको छ ।

  • आजबाट नेपालमा बुस्टर डोज दिइने

    आजबाट नेपालमा बुस्टर डोज दिइने

    काठमाडौं । सरकारले आइतबारदेखि कोरोना भाइरसविरुद्धको ‘बुस्टर’ मात्रा खोप दिन सुरु गर्दैछ । अग्रपङ्क्तिमा काम गर्ने व्यक्तिलाई माघ २ गतेदेखि र ६० वर्षभन्दा माथिका सबै ज्येष्ठ नागरिक र खोपको पूर्ण मात्रा लगाएको ६ महिना पूरा भएका व्यक्तिलाई माघ १४ गतेदेखि ‘बुस्टर’ मात्राको खोप दिइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

    ‘बुस्टर’ डोजका लागि मन्त्रालयले प्रदेश स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र र ७७ वटै स्वास्थ्य कार्यालयलाई निर्देशन दिइसकेको छ । ‘बुस्टर’ डोज कोरोना भाइरसविरुद्धको पूर्ण मात्रा खोप लगाएका छ महिना पूरा भएका व्यक्ति, अग्रपङ्क्ति र ६० वर्षभन्दा माथिका तथा रोग प्रतिरोधात्मक क्षमता कम भएका सबैलाई दिइने मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले जानकारी दिए ।

    रोग प्रतिरोधात्मक क्षमता कम भएका बिरामीमा सक्रिय क्यान्सर रोगी, अङ्ग प्रत्यारोपण गरेका बिरामी, एचआइभी भएका बिरामी, उपचारका क्रममा रोग प्रतिरोधात्मक क्षमता कम गराउने औषधि सेवन गरेका बिरामी पर्दछन् ।

    कोरोना भाइरस सङ्क्रमण बढेसँगै सरकारले ‘बुस्टर’ डोज दिन थालेको हो । हिजो पुस ३० गते पाँच हजार ८७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको थियो । ‘बुस्टर’ डोजमा पहिले जुन खोप लगाएको हो सोही खोप लगाउनुपर्ने हुन्छ । कोभिड–१९ खोप सल्लाहाकार समितिले ‘बुस्टर’ डोज खोप लगाउन सरकारलाई सुझाव दिइसकेको छ ।

  • सुर्खेतमा एकै परिवारका चार जना मृत फेला

    सुर्खेतमा एकै परिवारका चार जना मृत फेला

    सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा एकै पारिवारका चारजना मृत अवस्थामा भेटिएका छन् । वीरेन्द्रनगर नगरपालिका–१०, बुदबुदेमा एकै परिवारका चार जना मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।
    मृत्यु हुनेमा शिवालय गाउँपालिका ४, जाजरकोटकी ३५ वर्षीया कल्पा बुढासँगै उनका ९ वर्षीय छोरा निरज बुढा, अर्का ८ वर्षीय छोरा चिरञ्जिवी बुढा र कल्पाका दाइ मानबहादुर बुढाका छोरा ५ वर्षीय सोमराज बुढा छन् ।

    शुक्रबार बेलुका चारैजना खाना खाएर एउटै कोठामा सुतेको बताइएको छ ।  ससुरा बिहानै पूजाआजाका लागि मन्दिर गएर अरान्ह चार बजे फर्किदा कोही पनि उठेको नदेखेपछि शनिबार बेलुका ६ बजे प्रहरीलाई खबर गरेका थिए । उनीहरु कोठामा भित्रबाट चुक्कुल लगाएर खाटमा सुतेको अवस्थामा मृत भेटिएको डीएसपी घर्तीले बताए । चिसोमा कोइला बालेर सुतेका कारण निसासिएर मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ । 

  • अफगानिस्तानमा नेपालले सहयोग सामग्री पठाउने

    अफगानिस्तानमा नेपालले सहयोग सामग्री पठाउने

    काठमाडौं । मानवीय संकटसँग जुधिरहेको अफगानिस्तानलाई नेपाल सरकारले सहयोग सामग्री पठाउने भएको छ । आइतबार परराष्ट्र मन्त्रालयको नेतृत्वमा एउटा टोली मानवीय सहायता सामग्रीसहित काबुल जाने भएको हो । अगस्टमा तालिबानले सत्ता कब्जा गरेसँगै अफगानिस्तानमा विश्वकै सबैभन्दा ठूलो मानवीय संकट उत्पन्न भएको रिपोर्टहरू सार्वजनिक भएको छ । तालिबान सत्तामा आएसँगै अन्तर्राष्ट्रिय सहयोग रोकिएकाले अफगानिस्तानमा मानवीय संकट उत्पन्न भएको हो ।

    आइतबार राति औषधि, लत्ताकपडा र अन्य सामग्रीसहित टोली अफगानिस्तानको काबुल जाने परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले जानकारी दिइन् । नेपाली टोली काबुल अन्तराष्ट्रिय विमानस्थलमै राष्ट्रसंघीय टोलीलाई सामग्री हस्तान्तरण गरेर फकर्ने उनले बताइन् । अफगानिस्तानलाई के–के सामग्री सहयोगस्वरूप उपलब्ध गराइँदै छ भन्ने कुरा आइतबार बिहान ७ः४५ बजे परराष्ट्रमन्त्री नारायण खड्काले पत्रकार सम्मेलनमार्फत जानकारी दिने प्रवक्ता लम्सालले जानकारी दिइन् ।

    संयुक्त राष्ट्र संघको विश्व खाद्य कार्यक्रम (डब्लूएफपी)ले यो हिउँदमा अफगानिस्तानमा भोकमरीको ठूलो समस्या देखिने बताएको छ । २ करोड भन्दा बढी जनसंख्याले भोकमरीको समस्या भोग्नुपर्ने पनि डब्लूएफपीको चेतावनी छ । त्यस्तै ५ वर्षमुनिका झन्डै ३२ लाख बालबालिका कुपोषणको सिकार हुनसक्ने बताइएको छ । वर्तमान खाद्य संकटलाई सम्बोधन गर्नका लागि प्रतिमहिना २२० मिलियन अमेरिकी डलर चाहिने पनि डब्लूएफपीले जनाएको छ । तत्काल पर्याप्त खाद्यान्न र औषधोपचार नपाउने हो भने करिब १० लाख बालबालिकाको मृत्यु हुन सक्ने डब्लूएफपीको चेतावनी छ ।

  • नेपालमा ४६३६ जनामा कोरोना पुष्टी, ४ जनाको मृत्यु

    नेपालमा ४६३६ जनामा कोरोना पुष्टी, ४ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा ४,६३६ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०,४१२ पीसीआर परीक्षणमा ३,७०३ र ४,१४४ एन्टिजेन परीक्षणमा ९३३ जना गरी ४,६३६ जनामा कोरोना संक्रमण भएको छ । मन्त्रायलका अनुसार पछिल्लफो २४ घण्टामा ३५० जना कोरोना संक्रमणमुक्त भएका छन् । कोरोना संक्रमणबाट यसअवधिमा ४ जनाको मृत्यु भएको छ । अहिले देशभर कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या २१ हजार ५८४ पुगेको छ । सक्रिय संक्रमितमध्ये २० हजार ५३६ जना होम आइसोलेसनमा र १०४८ जना संस्थागत आइसोलेसन अर्थात अस्पतालमा छन् ।

    अस्पतालमा रहेकामध्ये ११९ जना आईसीयूमा र २६ जना भेन्टिलेटरमा छन् । कोरोना संक्रमणका कारण नेपालमा हालसम्म ११ हजार ६१७ जनाले ज्यान गुमाएका छन् । यसअवधिमा काठमाडौं जिल्लामा १५९१, ललितपुरमा ४८६, भक्तपुरमा १४२ जना गरी उपत्यकामा २,२१९ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै चितवनमा २०५, सुनसरीमा ११६, कैलालीमा १०७, मोरङमा १०४, मकवानपुरमा ८३, कास्कीमा ७३, धनुषामा ६९, नवलपरासी पूर्वमा ६६ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

  • नेपाली नर्स लैजान बेलायत तयार, कहिलेबाट शुरु हुन्छ प्रक्रिया ?

    नेपाली नर्स लैजान बेलायत तयार, कहिलेबाट शुरु हुन्छ प्रक्रिया ?

    काठमाडौं । नेपाल र बेलायतबीच श्रम सम्बन्ध कायम गर्ने विषयमा दुई देशका अधिकारी सहमत भएका छन्। राससका अनुसार दुवै देशका अधिकारीबीच शुक्रबार भएको वार्तामा नेपालबाट श्रमिक पठाउने र बेलायतले उनीहरूलाई रोजगारीका अवसर प्रदान गर्ने सहमति भएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ।

    बेलायतको ‘डिपार्टमेन्ट अफ हेल्थ सर्भिस’ र ‘नेशनल हेल्थ सर्भिस’ का प्रतिनिधि र नेपाल सरकारका प्रतिनिधिबीचको वार्ताबाट दुवै देशबीच समझदारी गरी नेपाली श्रमिकलाई बेलायतमा रोजगारीको व्यवस्था गर्ने सहमति भएको श्रम मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेले जानकारी दिए। दुवै देशका वार्ता टोलीबीच आगामी मार्चसम्म श्रम समझदारी सम्पन्न गर्ने सहमति भएको छ । सहमतिअनुसार समझदारीको मस्यौदा निर्माणमा दुवै पक्ष जट्नेछन्। समझदारी गरेर नेपालबाट बेलायतको स्वास्थ्य क्षेत्रमा श्रमिक लैजाने विषयलाई छिटो टुङ्गोमा पुर्‍याउने विषयमा बैठकमा सहमति भएको उनले जानकारी दिए।

    यद्यपि, नेपाली श्रमिक लैजाने मोडालिटीको बारेमा टुङ्गो भने लागेको छैन । नेपालमा विभिन्न तहका नर्सिङ जनशक्ति रहेका छन्। बेलायतले नेशनल हेल्थ सर्भिसेसअन्तर्गत नेपाली नर्सिङ जनशक्तिलाई रोजगारीको अवसर दिने बताइएको छ ।

    बैठकमा नेपालका तर्फबाट श्रम मन्त्रालयअन्तर्गतको रोजगार व्यवस्थापन महाशाखा प्रमुख राजिव पोखरेल, उपसचिव थानेश्वर भुसाल, वैदेशिक रोजगार विभाग र परराष्ट्र मन्त्रालयका प्रतिनिधिको सहभागिता रहेको थियो । बेलायतका तर्फबाट डिपार्टमेन्ट अफ हेल्थ र नेशनल हेल्थका साथै काठमाडौँस्थित बेलायती दूतावासका प्रतिनिधिको सहभागिता थियो । बैठकमा बेलायतबाट उनीहरू ‘भर्चुअल’ रुपमा सहभागी भएका थिए ।

    बेलायतले दक्षिण एसियाली क्षेत्रबाट स्वास्थ्य क्षेत्रमा एक लाख श्रमिक भित्र्याउने घोषणा गरेको छ। नेपालबाट करिब १० हजार नर्सिङ जनशक्ति लैजाने बेलायतको तयारी छ। नेपाल नर्सिङ सङ्घका अनुसार हालसम्म नेपालमा ६६ हजार नर्स उत्पादन भएका छन् । ती मध्ये २५ हजार विदेशमा छन् । नौ हजार नर्स सरकारी सेवामा रहेको सङ्घको तथ्याङ्क छ । केही निजी अस्पतालमा कार्यरत छन्।

    वैदेशिक रोजगारीलाई विविधीकरण गर्ने लक्ष्य लिएको सरकारले आकर्षक गन्तव्यको खोजी गरिरहेको छ । यसअघि जापान, इजरायल, मरिससलगायत मुलुकसँग नेपालले विशिष्टकृत क्षमताका श्रमिक पठाउने समझदारी गरिसकेको छ । छिट्टै नेपाली श्रमिक इजरायलको स्वास्थ्य क्षेत्रमा काम गर्न त्यसतर्फ जाँदैछन्।

  • आज माघी पर्व, थारु समुदायले नयाँ वर्षका रुपमा मनाउँदै

    आज माघी पर्व, थारु समुदायले नयाँ वर्षका रुपमा मनाउँदै

    काठमाडौं । माघ १ गते विभिन्न सम्प्रदायले आफ्नै तरिकाले मनाउने पर्व हो । माघी पर्वका रुपमा थारु समुदायले भने आज नयाँ वर्षका रुपमा मनाउँछन् । स्नान, दान, एवम् खानपिन र रमाइलो गरेर माघी पर्व मनाउने गरिन्छ । सूर्य उत्तरायण प्रवेश गर्ने दिन माघ १ गते थारु समुदायको नयाँ वर्ष अर्थात् माघी पर्व पर्दछ । यो पर्वलाई ठाउँअनुसार विभिन्न नाम पनि दिने गरिएको छ । माघ १ गतदेखि पाँच दिनसम्म धुमधामका साथ तराई क्षेत्रमा यो पर्व मनाइन्छ ।

    माघ १ गते बिहानै जलाशयमा गई स्नान, पूजा गरी ठूला बडाकहाँ गएर आशीर्वाद लिने परम्परा थारु समुदायको छ । बेलुका घरमा ठूला मुढा बालेर धुनी जगाउँछन् । धुनीको चारैतिर घरपरिवार र पाहुना बसेर खानपीन गर्छन् । यस दिनदेखि पाँच दिनसम्म उनीहरुले आफू स्वतन्त्र भएको अनुभव गर्छन् । यस अवसरमा सक्ने चारधाम जाने र नसक्नेहरुले नजिकको तीर्थमा गई गच्छेअनुसार दीनदुःखीलाई दान गर्ने चलन छ । कुनै कारणवश श्राद्ध कर्म रोकिएकाले आजैका दिन श्राद्ध गर्नुपर्छ भन्ने मान्यता रहेको छ ।

    तिलले स्नान गर्नु, तिलको तेल घस्नु, पितृलाई तिल युक्त जल दिनु, तिल हवन गर्नु, तिल दान गर्नु र तिल खानु गरी जम्मा छ प्रकारले तिलको प्रयोग यस दिन जसले गर्छ त्यो असफल हुँदैन भन्ने विश्वास यस समुदायमा छ । तिलको तेल घस्नाले शरीरको तापक्रम बढ्न गई जाडो कम हुन्छ भन्ने वैज्ञानिक मत छ । विशेष गरी तराईका थारुले चामल र मासको दालबाट बनाइएको खिचडी खाने हुनाले यस चाडलाई खिचडी भन्ने चलन पनि छ । थारु समुदायका मानिसले माघीका दिन खानका लागि पुसकै दिन अनदी चामलको जाँड बनाएर राख्ने गर्छन् ।

    विवाह, यात्रा, बसाइँ सराइका लागि माघीका समयमा साइत हेर्न नपर्ने चलन पनि थारु समुदायमा छ । सरकारले विसं २०७२ साउन २ गते निर्णय गरेर कमैया प्रथा उन्मुलन गरी त्यसै वर्ष माघ १ गतेदेखि कार्यान्वयनमा ल्याएपछि यस पर्वलाई स्वतन्त्रता दिवसका रुपमा समेत मनाइन्छ ।

  • तनहुँमा जिप दुर्घटना, ६ जनाको मृत्यु

    तनहुँमा जिप दुर्घटना, ६ जनाको मृत्यु

    तनहुँ । तनहुँमा जिप दुर्घटनामा परि ६ जनाको मृत्यु भएको छ । जिल्लाको बन्दीपुर गाउँपालिकामा जिप पल्टिँदा ९ महिनाकी बालिकासहित ६ जनाको मृत्यु भएको हो । दुर्घटनामा ८ जना घाइते छन् । आँबुखैरेनी घुमाउनेबाट साराङघाट हुँदै बन्दीपुर जाँदै गरेको जीप वडानम्बर ६ हटियानजिकै बाक्से भन्ने ठाउँमा भीरबाट खसेको प्रहरीले जनाएको छ । ग१ज ६५५५ नम्बरको जिप भीरबाट खसेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । चार जनाको घटनास्थलमै मृत्यु भएको थियो । दुई जनाको उपचारका लागि बन्दीपुर अस्पताल पुर्‍याउँदै गर्दा मृत्यु भएको हो ।

    बन्दीपुर गाउँपालिका अध्यक्ष पूर्णसिंह थापाका अनुसार ९ महिने बालिका आरुबी थापा, २४ वर्षीय रोशन गुरुङ, ५३ वर्षीय हरिबहादुर न्यौपान, ४८ वर्षीय सुशीलादेवी न्यौपाने, ४८ वर्षीय सन्तबहादुर गुरुङ र ५० वर्षीय विमाया गुरुङको मृत्यु भएको छ । मृत्यु हुने सबै जना वडा नम्बर ६ कै छन् । घाइते ८ जनाको थप उपचारका लागि चितवन रिफर गरिएको छ ।

  • लिपुलेकमा भारतले संरचना बनाइरहेको बारे बोल्यो कांग्रेस

    लिपुलेकमा भारतले संरचना बनाइरहेको बारे बोल्यो कांग्रेस

    काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले लिपुलेकमा भारतले सडक निर्माण गर्नु आपत्तिजनक भएको प्रतिक्रिया दिएको छ । यस विषयमा सरकारले भने अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन । सडक निर्माण रोक्न माग गर्दै कांग्रेसले नेपाल र भारतको सीमासम्बन्धी प्रश्नको समाधान ऐतिहासिक तथ्यका आधारमा उच्चस्तरीय कुटनैतिक माध्यमबाट खोजिनुपर्ने समेत बताएको छ ।

    कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले शुक्रबार वक्तव्य जारी गर्दै लिपुलेक क्षेत्रमा भारत सरकारले सडक बनाइरहेको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अभिव्यक्तिप्रति पार्टीको ध्यानाकर्षण भएको समेत बताएका छन् । लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको भू–भाग हो भन्नेमा कांग्रेस प्रष्ट रहेको भन्दै महामन्त्रीद्वयको वक्तव्यमा यी भूगोलमा नेपालको भोगाधिकार कायम हुनुपर्ने बताएका छन् ।

    कालापानीबाट भारतीय सैनिक फिर्ता हुनुपर्ने समेत उनीहरुको भनाई छ । कांग्रेसका महामन्त्रीद्वयको वक्तव्यमा भनिएको छ,‘नेपाल–भारत संयुक्त आयोगमा दुई देश बीचको सबै प्रश्नमा कुटनैतिक सम्वादबाट समाधानमा पुग्ने गरी भएको सहमति विपरीत लिपुलेकमा सडक निर्माण भनेर आएको विषय गम्भीर छ, आपत्तिजनक छ र अविलम्ब यो रोकिनुपर्छ ।’

    यस्तो छ कांग्रेसको वक्तव्य

    पुस ३०, २०७८

    लिपुलेक प्रकरण उपर नेपाली कांग्रेसको धारणा

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ‘लिपुलेक क्षेत्रमा भारत सरकारले सडक बनाइरहेको’ भनेर केहिदिन अघि एक कार्यक्रममा व्यक्त गर्नुभएको भनाइप्रति नेपाली कांग्रेसको ध्यानाकर्षण भएको छ । लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपाली भूमि हो र यसका सम्बन्धमा नेपाली कांग्रेसले विगत देखिनै संस्थागत रुपले आफ्नो धारणा र अडान स्पष्ट रुपमा राख्दै आएको छ ।

    नेपाली कांग्रेसले विगत देखिनै संस्थागत रुपले राख्दै आएको निम्न धारणा र अडानमा पार्टी प्रष्ट र दृढ रहेको व्यहोरा सार्वजनिक रुपले पुनः दोहोर्‍याउन चाहन्छ ।

    १. लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको भू–भाग हो ।

    २. नेपालको भोगाधिकार यी भूगोलमा कायम हुनुपर्दछ भन्ने बिषयमा नेपाली कांग्रेस प्रष्ट छ ।

    ३. कालापानीबाट भारतीय सैनिक फिर्ता हुनुपर्दछ ।

    ४. नेपालको संसदले सर्वदलीय एकता साथ संविधान संशोधन मार्फत पारित गरेको नेपालको नक्सा सुगौली सन्धिपछिको नेपाल थियो, हो र त्यसको कार्यान्वयन हुनुपर्छ भन्ने बिषय राजनैतिक दलहरू एवं नेपाल सरकार समेतको साझा अभिमत हो भन्ने बिषयमा नेपाली कांग्रेस प्रष्ट छ ।

    ५. दुई राष्ट्र बीचको सीमासम्बन्धी कुनैपनि प्रश्नको हल ऐतिहासिक तथ्यका आधारमा हुनुपर्दछ । १८१६ को सुगौली सन्धिको दस्तावेज दुवै राष्ट्रको साझा स्वीकारोक्तिको तथ्य हो भन्नेमा हामी प्रष्ट छौं ।

    ६. नेपाल–भारत संयुक्त आयोगमा दुई देश बीचको सबै प्रश्नमा कुटनैतिक संवादबाट समाधानमा पुग्ने गरी भएको सहमति विपरीत लिपुलेकमा सडक निर्माण भनेर आएको बिषय गम्भीर छ, आपत्तिजनक छ र अविलम्ब यो रोकिनुपर्छ ।

    ७. दुबै छिमेकी राष्ट्रसँग नेपालको पुरानो र ऐतिहासिक सम्बन्ध रहि आएको छ । यस अर्थमा सिमा सम्बन्धी कुनैपनि प्रश्नको हल ऐतिहासिक तथ्यका आधारमा उच्च स्तरीय कुटनैतिक माध्यमबाट खोजिनु पर्दछ भन्ने बिषयमा नेपाली कांग्रेस प्रष्ट छ ।

    जय नेपाल
    गगनकुमार थापा, महामन्त्री
    विश्वप्रकाश शर्मा, महामन्त्री

  • नेपालमा एक दिनमै थपिए ५०८७ कोरोना संक्रमित

    नेपालमा एक दिनमै थपिए ५०८७ कोरोना संक्रमित

    काठमाडौं । पछिल्लो २४ घण्टामा ५०८७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार देशभरका प्रयोगशालाहरुमा २०५६० जनाको (पीसीआर र एन्टिजेन) परीक्षण गर्दा सो संख्यामा कोरोना संक्रमण देखिएको छ ।
    पछिल्लो २४ घण्टामा ३ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ६१३ पुगेको छ ।

    शुक्रबार ३०६ जनाले कोरोना जितेका छन् । अब देशभर १८ हजार २३ सक्रिय संक्रमित रहेको तथ्यांक छ । काठमाडौं उपत्यकामा मात्रै २६०७ जना कोरोना संक्रमित थपिएका छन् । मन्त्रालयको तथ्यांक अनुसार ५ सयभन्दा बढी सक्रिय संक्रमित हुने जिल्ला ६ पुगेको छ । काठमाडौं, भक्तपुर, ललितपुर, मोरङ, कास्की र सुनसरीमा सक्रिय संक्रमित संख्या ५ सय नाघेको छ ।

  • अन्तःशूल्क स्टीकर छपाई नेपालमै गर्न अर्थमन्त्रीको निर्देशन

    अन्तःशूल्क स्टीकर छपाई नेपालमै गर्न अर्थमन्त्रीको निर्देशन

    काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले अन्तःशुल्क स्टिकर को सुरक्षित मुद्रण नेपालमै गर्न निर्देशन दिएका छन् । काभ्रेको पनौतीस्थित आईटी पार्कमा जडान हुँदै गरेको सुरक्षण मुद्रण प्रिन्टिङ प्रेसको बिहीवार निरीक्षण गर्दै उनले अर्थ मन्त्रालयलाई आवश्यक स्टिकर तत्कालै उपलब्ध गराउन सुरक्षण मुद्रण केन्द्रलाई निर्देशन दिए । उनका अनुसार अर्थलाई मात्र करिब तीन अर्ब पिस स्टिकर चाहिन्छ । तीन अर्ब स्टिकर छाप्न यस्ता मेशिन कति चाहिन्छन्, तत्काल ल्याएर जडान गर्न समेत उनले आग्रह गरे ।

    उनले अब एक वर्षको अवधिमा मन्त्रालयलाई आवश्यक पर्ने परिमाणको स्टिकर छाप्न सक्नेगरी व्यवस्था गर्न निर्देशन दिएका छन् । जडान हुँदै गरेका अत्याधुनिक मेशिनले नोटबाहेक अन्य सबै किसिमका मुद्रण गर्ने जानकारी आफूलाई दिइएको बताउँदै उनले यसको ठूलो बजारसमेत रहेको उल्लेख गरे । उनले बैंक, यातायात, मालपोतलगायतका विभिन्न क्षेत्रको काम यसले पाउनसक्ने बताए । आफूले सुरक्षण प्रिन्टिङ प्रेसमा नाफा मात्रै देखेको स्पष्ट पार्दै मन्त्री शर्माले यसका लागि सरकार लगानी गर्न नहिच्किचाउने बताए । यसबाट अर्बौँको राजस्व चुहावटलाई नियन्त्रण गर्न सकिने विश्वास उनको छ ।

  • सार्वजनिक सेवामा खोप कार्ड अनिवार्य गरिएपछि खोप केन्द्रमा थामिनसक्नु भिड

    सार्वजनिक सेवामा खोप कार्ड अनिवार्य गरिएपछि खोप केन्द्रमा थामिनसक्नु भिड

    काठमाडौं । सरकारले आगामी माघ ७ गतेबाट सार्वजनिक सेवामा कोरोना भाइरसविरुद्धको खोप कार्ड अनिवार्य गरेको छ । यस्तो निर्णय लागु हुने दिन नजिकिँदै जाँदा नेपालमा खोप केन्द्रमा मानिसहरुको अत्यधिक भिड बढेको छ । खोप केन्द्रमा थामिनसक्नु भिड बढेपछि कोरोनाको जोखिम समेत अझ बढेको हो । सरकारले यसअघि प्राथमिकतामा परेका बाहेकलाई खोप लगाउन प्रोत्साहन गर्न सकेको थिएन । तर, सार्वजनिक सेवामा खोप कार्य अनिवार्य गरिएपछि भने मानिसहरु खोप लगाउन बाध्य भएका हुन् ।

    ७ माघबाट सरकारी तथा गैरसरकारी कार्यालय, होटल, रेस्टुरेन्ट, सिनेमा हल, रङ्गशाला, हवाईयात्रा, पार्क आदिमा प्रवेश गर्दा कोभिडविरुद्धको खोप लगाएको कार्ड अनिवार्य गरिएको छ । बिहीबार मात्र काठमाडौँमा २५ हजारभन्दा बढीले खोप लगाएको तथ्यांक छ। यसमा फाइजर लगाएका बालबालिकाको सङ्ख्या जोडिएको छैन । काठमाडौँमा फाइजर लगाउने बालबालिकाको सङ्ख्या दैनिक २४ हजारभन्दा माथि रहेको अनुमान छ । अहिले सरकारी मात्र नभएर निजी अस्पतालबाट पनि खोप लगाउन पाइन्छ । खोप निशुल्क दिइएको हो । काठमाडौँमा मात्र १८ केन्द्रबाट नियमित खोप वितरण भइरहेको छ ।

  • धादिङमा बाटो खन्दा डोजरसहित पुरिएका तीन जना अझै वेपत्ता

    धादिङमा बाटो खन्दा डोजरसहित पुरिएका तीन जना अझै वेपत्ता

    धादिङ । धादिङमा बाटो खन्ने क्रममा डोजरसहित पुरिएका तीन जना अझै वेपत्ता छन् । सेना, प्रहरी र स्थानीयले बिहीबार दिनभर खोजी कार्य जारी राखेपनि भेटाउन सकेनन् । उनीहरुको आज पनि खोजी शुरु भएको छ । जिल्लाको रुबी भ्याली गाउँपालिकामा बाटो खन्ने क्रममा खसेको पहिरोले डोजर सहित उनीहरुलाई पुरेको हो । बिहीबार बिहान रुबी भ्याली गाउँपालिका–१ मा बाटो खन्ने क्रममा पहिरो खस्दा डोजरसहित तीन जना पुरिएका थिए । साँझसम्म खोज्दा नभेटिएपछि खोजी कार्य स्थगित गरिएको थियो ।

    पहिरो खसेको ठाउँमा मेसिन औजार प्रयोग गर्न सकिने अवस्था नभएको र मानिसले माटो पन्छाउदा खोजी कार्य कठिन भएको प्रहरीको भनाई छ । रसुवा–तिप्लिङ सडकखण्डमा जोडिने सडकमा पहिरो खस्दा डोजरसहित चालक आकाश तामाङ, सहचालक राजु तामाङ र स्थानीय अनिश तामाङ पुरिएका छन् । बिहीबार हेलिकप्टरबाट नेपाली सेनाका मेजर नेतृत्वको उद्धारकर्मीको टोली पुर्याइएको थियो । सशस्त्र र नेपाल प्रहरीको टोली समेत पुगेर खोजी थालेका थिए ।

  • नेपालमा लकडाउन नगर्ने सरकारको संकेत

    नेपालमा लकडाउन नगर्ने सरकारको संकेत

    काठमाडौं । नेपालमा तत्काल लकडाउन नहुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले यस्तो संकेत गरेका छन् । सरकार अनावश्यक लकडाउन गर्ने पक्षमा नरहेको उनको भनाई छ । बिहीवार कीर्तिपुर अस्पतालमा आयोजित कार्यक्रमपछि बोल्दै मन्त्री खतिवडाले यसअघि अन्य देशहरुको कुरा सुनेर लकडाउन गरिएको भन्दै उनले आवश्यक ठाउँ हेरेर आवश्यक परेको अवस्थामा मात्र लकडाउन हुने उनले बताए ।

    उनले यसअघिका लकडाउनले देशको आर्थिक, सामाजिक र शैक्षिक क्षेत्रमा धेरै असर गरेको समेत उल्लेख गरे । अब लकडाउन नै समाधान हो भन्ने किसिमबाट सरकार नजाने उनको भनाई छ । मन्त्री खतिवडाले सरकार स्वास्थ्य क्षेत्रमा विशेष तयारीका साथ काम गरिरहेकोले लकडाउन हुन्छ भनेर आत्तिनु नपर्ने बताए । आवश्यक्ता हेरेर खास ठाउँमा मात्रै लडकाउन हुने भन्दै उनले तत्काल लकडाउनको विषयमा आतंकित नहुन समेत आह्वान गरेका छन् ।

  • उपत्यकामा एकैदिन १९१६ जनामा कोरोना पुष्टी, सक्रिय संक्रमित ८ हजार नाघ्यो

    उपत्यकामा एकैदिन १९१६ जनामा कोरोना पुष्टी, सक्रिय संक्रमित ८ हजार नाघ्यो

    काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १९१६ जना कोभिड–१९ संक्रमित थपिएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १४४९, भक्तपुरमा १५० र ललितपुरमा ३१७ संक्रमित थपिएका हुन् ।

    योसँगै काठमाडौं उपत्यकामा कोरोनाका सक्रिय संक्रमितको संख्या आठ हजार ३९६ पुगेको छ ।

  • नेपालमा एकैदिन थपिए ३५५३ जना कोरोना संक्रमित

    नेपालमा एकैदिन थपिए ३५५३ जना कोरोना संक्रमित

    काठमाडौं । नेपालमा कोरोना संक्रमितकोदर दिन प्रतिदिन बढिरहेको छ । पछिल्लो २४ घण्टामा देशभर ३५५३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ४९८ जनाको पीसीआर परीक्षण गर्दा २९२२ जना र ४५८४ जनाको एन्टिजेन परीक्षण गर्दा ६३१ गरी ३५५३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ४१ हजार २९७ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा २७१ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ८ लाख १५ हजार ३४७ पुगेको छ । संक्रिय संक्रमितको संख्या १४ हजार ३४० रहेको छ ।

    पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या १ रहेको छ । नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ६१० पुगेको छ ।

  • संयुक्त इजालसमै फर्काइयो प्रचण्डको मुद्धा

    संयुक्त इजालसमै फर्काइयो प्रचण्डको मुद्धा

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादी छाडेर अर्को दलमा सामेल भएका स्थानीय तहका जनप्रतिनिधिलाई गरिएको कारवाही सदर गरिपाउ भनि सर्वोच्चमा दायर गरेको रिट संयुक्त इजलासमै फर्काइएको छ ।

    सर्वोच्च अदालतका न्यायाधीशहरू दीपककुमार कार्की, ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको पूर्ण इजलासमा आज सुनुवाइ भइ उक्त रिट निवेदनलाई संयुक्त इजलासमै फर्काइएको हो ।

    नेकपा माओवादी केन्द्रका तर्फबाट निर्वाचित भइ पछिल्लो समय अन्य दलमा सामेल भएको भन्दै माओवादी केन्द्रले स्थानीय तहका केही जनप्रतिनिधिलाई कारवाही गरेको थियो । सोही आधारमा निर्वाचन आयोगले उनीहरुको पद रिक्त गरेको थियो ।

    तर, सर्वोच्च अदालतमा उनीहरुले दिएको रिट निवेदनमाथि सुनुवाइ गर्दै अदालतले उनीहरुलाई कामकाज गर्नबाट नरोक्न अन्तरिम आदेश जारी गरेको थियो । सोही आदेश खारेजीका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले रिट निवेदन दिएका थिए ।

  • धादिङमा बाटो खन्ने क्रममा डोजर पुरिदाँ तीन जना वेपत्ता

    धादिङमा बाटो खन्ने क्रममा डोजर पुरिदाँ तीन जना वेपत्ता

    धादिङ । धादिङमा बाटो खन्ने क्रममा डोजर पुरिएको छ । जिल्लाको रुबी भ्यालीमा डोजरसहित तीन जना बेपत्ता भएको प्रहरीलाई उदृत गर्दै स्थानीय संचारमाध्यमले जनाएका छन् । रुबीभ्याली गाउँपालिका–१ मा बाटो खन्ने क्रममा आज बिहान पहिरो खस्दा डोजरसहित तीन जना बेपत्ता भएको खबर आएको हो ।

    जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार घटना स्थल पैदल दूरी ४ घण्टा पर पर्छ । बिहान साढे आठ बजे प्रहरी समक्ष पहिरोमा मानिस पुगेको खबर पुगेको थियो । प्रहरीले उद्धार टोली खटाएको छ । चालक, सहचालक र बाटो समितिका एक जना पुरिएको स्थानीयले बताएका छन् । घटनाबारे विस्तृत विवरण भने आइसकेको छैन ।

  • आज निर्वाचन आयोगको आह्वानमा सर्वदलीय बैठक, राष्ट्रिय सभा निर्वाचन तोकिएकै दिन हुने

    आज निर्वाचन आयोगको आह्वानमा सर्वदलीय बैठक, राष्ट्रिय सभा निर्वाचन तोकिएकै दिन हुने

    काठमाडौं । राष्ट्रिय सभा निर्वाचन तोकिएकै दिनमा हुने भएको छ । निर्वाचन आयोगले कोभिड–१९ ले उत्पन्न परिस्थितिका वावजुत निर्वाचन भने नरोकिने स्पष्ट पारेको छ । राष्ट्रिय सभा सदस्यको निर्वाचन तालिकामा कुनै परिवर्तन नहुने आयोगको भनाई छ । आयोगका अनुसार स्वास्थ्य मापदण्ड अपनाएर राष्ट्रिय सभा सदस्यको मतदान माघ १२ गते हुने छ । राष्ट्रिय सभामा मतदान गर्ने मतदाता सङ्ख्या सीमित हुन्छ ।

    यस्तो बेला आवश्यक स्वास्थ्य मापदण्ड अपनाएर निर्धारित कार्यक्रमबमोजिम नै मतदान गर्न सम्भव रहेको आयोगको निष्कर्ष रहेको छ । आयोगका अनुसार आठ मतदानस्थलमा १४ वटा मतदान केन्द्र तोकिएको छ । प्रत्येक मतदानस्थलमा दुुई–दुुईवटा मतदान केन्द्र रहनेछन् । सातवटै प्रदेशका आठ मतदानस्थलमा १४ मतदान केन्द्र तोकिएका छन् । प्रदेश १ मा भने प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुखका लागि छुट्टाछुट्टै ठाउँमा दुुईवटा मतदानस्थल रहनेछन् ।

    राष्ट्रिय सभाको १९ सदस्यका लागि माघ १२ गतेका लागि तय गरिएको मतदान सातवटै प्रदेशमा हुनेछ । सातवटै प्रदेशमा कुल दुुई हजार २५ जना मतदाता छन् । ५३२ प्रदेश सभा सदस्य र एक हजार ४९३ स्थानीय तहका प्रमुख र उपप्रमुख राष्ट्रिय सभा सदस्यको मतदाता छन् । राष्ट्रिय सभा सदस्यको मतदान, स्थानीय तहको निर्वाचनलगायतबारे छलफल गर्न शुक्रबार आयोगले सर्वदलीय बैठक बोलाइएको छ ।

  • बुधबारदेखि परेको वर्षा थामियो, बिहीबार दिउँसोबाट घाम लाग्ने

    बुधबारदेखि परेको वर्षा थामियो, बिहीबार दिउँसोबाट घाम लाग्ने

    काठमाडौं । बुधबार राती मुलुकका अधिकांश स्थानमा वर्षा भएको छ । पश्चिमी वायु तथा भारतको उत्तर प्रदेशमा रहेको न्यून चापीय प्रणालीको प्रभावले नेपालको अधिकांश स्थानमा पानी परेको थियो । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहीबार दिउँसोबाट मौसममा सुधार हुने छ । अहिलेको यो प्रणाली कमजोर भइसकेको छ । काठमाडौं उपत्यकामा समेत बिहीबार घाम लाग्नेछ । अहिले प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा सामान्य बदली तथा देशका अन्य भूभागमा आंशिक बदली रहेको छ ।

    प्रदेश १ का एक-दुई स्थानमा बिहानपख भएको हल्का वर्षा पनि अहिले रोकिइसकेको विभागका भनाई छ । गएराति काठमाडौं उपत्यकासहित धेरैजसो स्थानमा मेघ गर्जनसहित पानी पनि परेको थियो । उच्च पहाडी र हिमाली भेगमा हिउँसमेत परेको छ । राति पानी परेकाले काठमाडौं उपत्यकामा आज बिहान चिसो बढेको महसुस भएको छ ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो र राति देशभर बदली हुने छ । शुक्रबार प्रदेश १ र प्रदेश २ मा सामान्य बदली तथा देशका अन्य भूभागमा आंशिक बदली रहने छ । शुक्रबार राति सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र प्रदेश १ मा सामान्य बदली रही देशका अन्य भूभागमा आंशिक बदली रहने छ । प्रदेश १ र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ ।

    माघ १ गते प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा बाँकी प्रदेशमा आंशिक बदली रहने छ । प्रदेश १ र बागमती प्रदेशका एक(दुई स्थानमा हल्का वर्षाको सम्भावना समेत छ । प्रदेश १ र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू(भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

  • स्याङ्जामा चक्कु प्रहार गरि १६ महिने बालकको हत्या

    स्याङ्जामा चक्कु प्रहार गरि १६ महिने बालकको हत्या

    काठमाडौं । स्याङ्जामा चक्कु प्रहार गरि १६ महिने बालकको हत्या भएको छ । जिल्लाको वालिङ नगरपालिका १० भकुण्डेमा बुधवार दिउँसो चक्कु प्रहारबाट १६ महिने बालकको ज्यान गएको हो । पर्वतको पैयूँ गाउँपालिका ५ घर भइ वालिङ १० भकुण्डेमा डेरा गरी बस्ने ३३ वर्षीय जितेन्द्र गुरुङले बालकलाई चक्कु प्रहार गरेको प्रहरीले जनाएको छ । उनले वालिङ १२ सिर्सेकोट घर भइ एउटै घरमा डेरा गरी बस्ने रनमाया गुरुङका १६ महिनाका छोरा साइमन गुरुङको घाँटीमा चक्कु प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

    चक्कु प्रहारबाट गम्भीर घाइते भएका साइमनलाई गह्रौँ प्राथमिक स्वास्थ्य केन्द्रले मृत घोषणा गरेको थियो । मृतककी दिदी पाँच वर्षीया साइना गुरुङको घाँटीको अगाडिको भाग र बायाँ हातको बूढीऔँलामा चोट लागेको छ । उनको स्वास्थ्य अवस्था मध्यम रहेको छ । चक्कु प्रहार गर्ने जितेन्द्रलाई वडा प्रहरी कार्यालय वालिङले नियन्त्रणमा लिएको समेत प्रहरीले जानकारी गराएको छ । घटना के कारणले भएको भन्ने खुलेको छैन ।

  • सिंहदरबार प्रवेश गर्न यसअघि जारी भएका सबै पास खारेज

    सिंहदरबार प्रवेश गर्न यसअघि जारी भएका सबै पास खारेज

    काठमाडौं । सरकारले सिंहदरबार प्रवेश गर्न यसअघि जारी भएका सबै पास खारेज गरेको छ । गृह मन्त्रालयले सिंहदरबार प्रवेशमा कडाइ गर्दै यस्तो निर्णय गरेको हो । मन्त्रालयले ओमिक्रोन भेरियन्टको जोखिमलाई हेरेर सबै मन्त्रालय, निकाय, सचिवालय, आयोगले जारी गरेको स्थायी तथा अस्थायी पास र अस्थायी परिपत्रपत्र खारेज गरिएको जानकारी समेत गराएको छ । अब कुनै पनि निकायले नयाँ अस्थायी पास वा परिपत्रपय जारी गर्नु परेमा गृह मन्त्रालयको पूर्व सहमति लिनुपर्ने प्रावधान थपिएको छ ।

    मन्त्रालयले बुधबार जारी गरेको सूचनाअनुसार सरसफाइसँग सम्बन्धित व्यक्तिहरुको हकमा यसअघि जारी भएको पासकै आधारमा प्रवेश दिइनेछ भने पत्रकारहरुले सूचना विभागले जारी गरेको परिचयपत्रका आधारमा प्रवेश पाउनेछन् । क्यान्टिन संचालक तथा कर्मचारीले समेत अब गृहको अनुमतिमा मात्र नयाँ पास पाउने भएका छन् ।

  • विश्वकै कमजोर पासपोर्टको सूचीमा नेपाल ७ औँ स्थानमा, जापान र सिंगापुरको सबैभन्दा शक्तिशाली

    विश्वकै कमजोर पासपोर्टको सूचीमा नेपाल ७ औँ स्थानमा, जापान र सिंगापुरको सबैभन्दा शक्तिशाली

    काठमाडौं । विश्वको शक्तिशाली पासपोर्टको सूचीमा नेपाली पासपोर्ट १०५ औं स्थानमा परेको छ ।

    हेन्ली पासपोर्ट इन्डेक्स ले सार्वजनिक गरेको सूचीको नेपालले पाँच स्थान सुधार गरेको हो । यसअघि नेपाल ११० औं स्थानमा रहेको थियो । जुन देशको पासपोर्टले सबैभन्दा बढि देशमा अन अराइभल भिसा पाउँछ त्यसलाई सबैभन्दा शक्तिशाली मानिन्छ ।

    नेपाललाई विश्वका जम्मा ३७ देशले मात्र अन अराइभल भिसा उपलब्ध गर्ने गरेको हेन्ली एण्ड पार्टनरको वार्षिक सूचीमा उल्लेख छ ।

    नेपाली पासपोर्टमा अनअराइभल भिसा दिनेमा अफ्रिकाका १६, दक्षिण अमेरिकी एक, एसियाका ११, क्यारेबियन क्षेत्रका ३ र ओसेनिया क्षेत्रका ६ राष्ट्र रहेका छन् ।

    नेपाली पासपोर्टमा अनअराइभल भिसा दिन एक मात्र दक्षिण अमेरिकी राष्ट्रमा बोलेभिया रहेको छ ।

    एसियाका बंगलादेश, भारत, लाओस, पाकिस्तान, सिंगापुर, टिमोर–लेस्टे, क्याम्बोडिया, इन्डोनेसिया, माल्दिभ्स, फिलिपिन्स र श्रीलंकाले नेपाली पासपोर्टमा अनअराइभल भिसा दिने गरेका छन् ।

    क्यारेबियन राष्ट्र डोमिनिका, हाइटी र सेन्ट भिन्सेन्टले पनि नेपाली पासपोर्टमा अनअराइभल भिसा दिने गरेका छन् ।

    ओसेनिया क्षेत्रका कुक आइल्याण्ड्स, निउइ, सामोआ, माइक्रोनेसिया, पलाउ आइल्याण्ड र तुभालुले पनि नेपाली पासपोर्ट वाहकलाई अनअराइभल भिसा दिंदै आएका छन् ।

    पहिलो स्थानमा जापान र सिंगापुरको पासपोर्ट पर्न सफल भएको छ । अर्थात, जापानी, सिंगापुरको पासपोर्ट विश्वको सबैभन्दा शक्तिशाली पासपोर्ट बनेको छ ।

    यी देशका पासपोर्ट वाहकले विश्वका १९२ वटा देशमा विना भिसा वा अन अराइभल (गन्तव्यमा पुग्नासाथ भिसा पाउने) पोर्ट अफ इन्ट्रीमै भिसा प्राप्त गरेर यात्रा गर्न पाउनेछन् ।

    विश्वको सबैभन्दा शक्तिशाली पासपोर्ट सूचीको दोस्रोमा सिंगापुर परेको छ । सिंगापुरको पासपोर्टले विश्वका १ सय ९२ देशमा अन अराईभल भिसा पाउँदै आएका छन् ।

    विश्वको सबैभन्दा शक्तिशाली पासपोर्ट सूचीको दोस्रोमा जर्मनी र दक्षिण कोरिया परेको छ । जर्मनी र दक्षिण कोरियाको पासपोर्टले विश्वका १ सय ९० देशमा अन अराईभल भिसा पाउँदै आएका छन् ।

    टपटेनमा युरोपका देशहरु अग्रपंक्तिमा देखिएका छन् । इटाली, फिनल्याण्ड, स्पेन र लक्जेम्बर्ग तेस्रो नम्बरमा छन् ।

    डेनमार्क,नेदरल्याण्ड र अष्ट्रिया चौंथो नम्बरमा रहेको छ । अष्ट्रीया, डेनमार्क, फ्रान्स, नेदरल्याण्ड्स र स्वीडेन र पाँचौं स्थानमा आयरल्याण्ड र पोर्चुगल रहेका छन् ।

    जुन देशको पासपोर्टलाई बढी देशले अनअराइभल भिसा उपलब्ध गराउँछन् उक्त देशको पासपोर्ट सबैभन्दा शक्तिशाली मानिएको छ ।

    सार्वजनिक सूचीमा नेपालको छिमेकी भारत ८३ औं स्थानमा रहेको छ । भारतीय राहदानीले विश्वका ६० देशहरुमा यात्रा गर्न सकिन्छ ।

    विश्वका सबैभन्दा कमजोर पासपोर्टमा पहिलो नम्बरमा अफगानिस्तान रहेको छ । जसबाट जम्मा २६ वटा देशमा विना भिसा वा भिसा अन एराइभलमा यात्रा गर्न सकिन्छ ।

    कमजोर पासपोर्टमा इराक दोश्रो, सिरिया तेश्रो, पाकिस्तान चौथो, यमन पाँचौं, सोमालिया छैठौं, प्यालेस्टाइन सातौं, लिबिया र नेपाल सातौं नम्बरमा परेका छन् ।