Category: समाचार

  • ओमिक्रोन पहिलोपटक देखिएको दक्षिण अफ्रिकामा कर्फ्यु हट्यो

    ओमिक्रोन पहिलोपटक देखिएको दक्षिण अफ्रिकामा कर्फ्यु हट्यो

    काठमाडौं  । कोरोना महामारीको जोखिमका बीच दक्षिण अफ्रिकाले रात्रिकालीन कर्फ्यु हटाउने निर्णय लिएको।छ । कोरोना भाइरसको नयाँ भेरियन्ट पहिलोपटक यहाँ पुष्टि भएको थियो । अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाए अनुसार सो मुलुकले बिहिवारबाट रात्रिकालीन कर्फ्यु हटाएको हो ।

    देशमा कोरोना महामारीको चौथो लहरको उच्चतम अवस्था सम्भवत अब टरेको विश्लेषण गर्दै रात्रिकालीन कर्फ्यू हटाइएको समाचारमा उल्लेख छ । दक्षिण अफ्रिकी सरकारका अनुसार कोरोनाको ओमिक्रोन भेरियन्ट बढी संक्रामक हुँदाहुँदै पनि बिरामीहरु अस्पतालमा भर्ना हुने दर कम छ । साथै मृत्युका घटना पनि नगण्य छन् । विश्व स्वास्थ्य संगठनले भने अझै पनि ओमिक्रोन ‘भेरियन्ट’को संक्रमणको सुनामी आउनसक्ने चेतावनी नै जारी गरेको छ

  • हिमपातका कारण मनाङ र म्याग्दीमा दुई जना बेपत्ता

    हिमपातका कारण मनाङ र म्याग्दीमा दुई जना बेपत्ता

     पोखरा । मंगलबार साँझदेखि परेको हिमपातका कारण मनाङ र म्याग्दीमा एक/एक जना बेपत्ता भएका छन् । जिल्ला प्रशासन कार्यालय मनाङका प्रमुख रवीन्द्रप्रसाद आचार्यका अनुसार भारी हिमपातमा परी बेपत्ता हुनेमा मनाङको नासों गाउँपालिकाका ५२ वर्षीय आच्छ्यु गुरुङ छन् ।

    बुधबार साँझ सोही वडाको तप्की लेकमा भेडीगोठ सार्नेबेला हिमपहिरोमा परेका हुन् । बेपत्ताको खोजी कार्य भइरहेको छ ।
    उता, म्याग्दीमा बिहीबार हिमपातमा परी धवलागिरि गाउँपालिका १, गुर्जाका एकजना बेपत्ता भएका छन् । जिल्ला प्रशासन कार्यालय म्याग्दी सहायक प्रमुख जिल्ला अधिकारी धिरेन्द्रराज पन्तका अनुसार बेपत्ता हुनेमा ५० वर्षीय रामबहादुर छन्त्याल छन् ।

    उनी पनि भेडीगोठमा गएकोबेला हिमपहिरोमा परी बेपत्ता भएका हुन् । उनिसङ्ग तीन जना बेपत्ता भएकोमा दुई जना भने  सम्पर्कमा आइसकेका छन् । बेपत्ता छन्त्यालको खोजी कार्य भइरहेको छ ।

  • नेपालमा थप २४१ जनामा कोरोना पुष्टी, दैनिक मृत्यु हुनेको संख्या शून्य

    नेपालमा थप २४१ जनामा कोरोना पुष्टी, दैनिक मृत्यु हुनेको संख्या शून्य

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २४१ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ८१४ जनाको पीसीआर परीक्षण गर्दा २३५ जना र २ हजार ८३ जनाको एन्टिजेन परीक्षण गर्दा ६ गरी २४१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख २८ हजार २०७ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा २२८ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ८ लाख ११ हजार ७४६ पुगेको छ । संक्रिय संक्रमितको संख्या ४ हजार ८७१ रहेको छ ।

    पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य रहेको छ । नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ५९० पुगेको छ ।

  • प्रचण्डको प्रतिवेदनमाथि लेखनाथ न्यौपानेको १० बुँदे फरकमत (पूर्णपाठ)

    प्रचण्डको प्रतिवेदनमाथि लेखनाथ न्यौपानेको १० बुँदे फरकमत (पूर्णपाठ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रको जारी आठौं महाधिवेशनको बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको वैचारिक तथा राजनीतिक प्रतिवेदनमाथि नेता लेखनाथ न्यौपानेले फरक मत पेश गरेका छन् ।

    महाधिवेशनको दोस्रो दिन सोमबार अध्यक्ष प्रचण्डले पेश गरेको वैचारिक तथा राजनीतिक प्रतिवेदनमाथि नेता न्यौपानेले १० बुँदे फरकमत प्रस्तुत गरेका हुन् ।

    अध्यक्षको राजनीतिक प्रतिवेदन र नेता देव गुरुङको विधान मस्यौदामाथि २५ समूहमा छलफल भएर समूहको निष्कर्ष प्रस्तुत गरिरहेका बेला बुधबार न्यौपानेले १० बुँदे फरक मत पेश गरेका हुन् ।

    यस्तो छ न्यौपानेको फरक मतको पूर्णपाठः

    हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को आठौं महाधिवेशन (पुष ११–१५, ०७८) मा अध्यक्ष कमरेड प्रचण्डले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमाथि निम्न विषयमा म लेखनाथ न्यौपाने फरक मत राख्दछु ।

    १ महाधिवेशनको अर्थ, मुल्य र गुरुत्व जुन हुन्छ त्यो अनुसार विषय र नीतिको कोणबाट यो प्रतिवेदन, प्रतिवेदनको समग्र तहमा संगठित छैन । विचार, दृष्टिकोण र दिशामा सातौं महाधिवेशनको प्रतिवेदनभन्दा पछाडि फर्किएको यो प्रतिवेदनले आजका भित्री र बाहिरी समस्याहरुको हल दिन सक्दैन ।

    कि अध्यक्ष कमरेडले लेख्नुभएको हुनाले जस्तो भएपनि प्रतिवेदनकै स्तरमा आएको छ भन्नु पर्यो कि त सम्मेलनको तयारीको अन्तिम क्षणमा महाधिवेशन भन्ने निर्णयको परिणाम भन्नु पर्यो । नत्र यो प्रतिवेदनले महाधिवेशनको गरिमा र ओज बोक्दैन ।

    २ यो प्रतिवेदन माथिमाथि उडान गरेको तर जमिनमा खुट्टा टेकेको छैन । जमिनमा खुट्टा टेकाउनको लागि नेपाली समाजको आजको चरित्र अथवा अन्तरविरोधहरु, वर्गहरुवीचको सम्बन्ध र संघर्ष, उत्पादन प्रणाली, उत्पादनका साधनमाथिको स्वामित्व र वितरण प्रणालीबारे अनिवार्य विश्लेषण हुनुपर्छ ।

    त्यसैगरी तीब्र रुपमा भइरहेको आन्तरिक बसाई सराई र यसले उत्पादन र राजनीतिक आन्दोलनमा पारेको दोहोरो नकारात्मक प्रभाव, विश्व श्रम बजारमा जाने नेपाली जनशक्ति र यसले पैसासँगै राजनीतिक धारणा एवं मतदानमा परिरहेको प्रभाव, विदेश पढ्न जाने विद्यार्थीहरुको बढ्दो संख्या र राम्रो जीवनको खोजीमा विश्वका विभिन्न देशमा जाने नेपाली युवाहरुको एक मात्र लक्ष्य, देशभित्र रहेका किसान, श्रमिक, अति गरिबीको रेखामुनी (२३ प्रतिशत) र गरिबीको रेखामुनी (५६ प्रतिशत) एवं हामीले भन्ने गरेको सर्वहारा वर्गको आकार र अवस्था आदिबारे खोज, अध्ययन र निष्कर्ष विना न प्रतिवेदन जमिनमा टेकेको हुन्छ न त प्रतिवेदनको शीर्षक ‘समाजवादको नेपाली बाटो’ लाई सही सिद्ध गर्न सकिन्छ ।

    ३ यो प्रतिवेदनले वाम बाटो समातेको छैन । दक्षिणपन्थी संशोधनवादी दिशा सोझिएको प्रतिवेदन माओवादी कम्युनिस्ट पार्टीको महाधिवेशनको प्रतिवेदन कसरी हुन्छ ? पहिलो, शान्तिपूर्ण प्रतिस्पर्धाबाट आजसम्म दुनियाँमा न कतै समाजवाद आएको थियो, न आउने सम्भावना नै छ । उहिल्यै १९५६ मा वदनाम भएको ख्रुश्चोवी लाइन अनुसार जनवादी कान्तिका बाँकी कार्यभार पुरा गर्दै समाजवादको आधार निर्माण भन्ने विषय गम्भीर सैद्धान्तिक विचलन हो ।

    तत्काल वा कार्यनीतिक रुपमा शान्तिपूर्ण प्रतिस्पर्धालाई अबलम्बन गर्ने हदसम्म ठिक मान्न सकिन्छ तर शान्तिपूर्ण प्रतिस्पर्धाबाट नै वैज्ञाजिक समाजवादको आधार निर्माण गर्ने धारणा दक्षिणपन्थ नै हुन आउँछ ।

    दोस्रो, माक्र्सवादको रक्षा सिर्जनात्मक प्रयोग र थप विकास गर्ने उद्देश्यबाट चिप्लिएर प्रतिवेदनको धेरै ठाउँमा ‘प्रयोग र परिमार्जन’ भनिनु माक्र्सवाद विस्तारै छोड्दै जाने दक्षिणपन्थ हो । तेस्रो, कार्यशैली र संस्कृतिमा हामी जे भन्छौं त्यो गर्दैनौं र जे गछौं त्यो भन्न सक्दैनौं । यो कार्यशैली संस्कृतिमा देखिने अर्को दक्षिणपन्थ हो ।

    ०४८ मंसिरमा सम्पन्न नेकपा (एकता केन्द्र) को एकता महाधिवेशनमा प्रस्तुत राजनीतिक प्रतिवेदनको नेपाली कम्युनिस्ट आन्दोलनका आधारभूत समस्याहरु उपशीर्षकको ४ नं. बुँदा हेर्दा प्रमाणित हुन्छ । त्यहाँ भनिएको छ “भनाइ र गराइमा एकरुपताको अभाव तथा सिङ्गो कम्युनिस्ट आन्दोलनकै साँस्कृतिक र नैतिक मूल्यमान्यताको नितान्त दयनीय अवस्थाको रोगका कारणले हामी ग्रसित छौं ।

    हामीले जतिसुकै क्रान्तिकारी कुरा गरे पनि यदि त्यो हाम्रो दैनिक व्यवहार र आचरणसँग गाँसिएको छैन भने त्यो सिर्फ लफ्फाजी मात्र हुन जान्छ । नेपाली कम्युनिस्ट आन्दोलनमा लामो समयदेखि काम गरेर पनि नेतृत्वमा कम्युनिस्ट नैतिकता र आचरणको चिन्ताजनक हदसम्म अभाव पाइन्छ । सामान्यतः कार्यकर्ता र जनतामा नयाँ संस्कृति, नैतिक मूल्यमान्यता नेतृत्वबाट नै प्रसारित हुने कुरा हो । तर हाम्रो आन्दोलनको नेतृत्वको जीवनशैली, व्यक्तिगत आचरण र दिनचर्या सामन्ती र वुर्जवाहरुको भन्दा खासै फरक पाइँदैन ।

    अझ कतिपय अर्थमा त त्यो जस्तो कि भन्ने गरिन्छ ‘बुर्जुवा मानवतावादी’ को भन्दा पनि तल रहने गरेको छ । बोलीको ठेगाना नहुने, निम्न स्तरको झुटो बोल्ने, आर्थिक हिनामिना गर्ने, भ्रष्ट यौन आचरण प्रदर्शन गर्ने, आफ्ना निम्ति विशेष सुबिधाको माग गर्ने, संगठनमा जालझेल र षड्यन्त्र गरेर नेता बनिरहने, तानाशाही र उदारवादी बन्ने, संगठनलाई आफ्नो व्यक्तिगत पेवा वा सम्पत्ति सम्झने, बाहिर सर्वहारा आदर्शको कुरा गर्ने, भित्र लुकिछिपी जस्तोसुकै भ्रष्ट काम पनि गर्न पछि नपर्ने जस्ता नितान्त सामन्ती र बुर्जुवा नैतिकता हाम्रो आन्दोलनको नेतृत्वमा छरपस्टै देखापर्ने गरेका छन् ।

    जबसम्म आन्दोलनको नेतृत्व यस किसिमका घातक र व्यक्तिवादी प्रवृत्तिबाट मुक्त हुँदैन, तबसम्म जनताको क्रान्तिकारी आन्दोलनको नेतृत्व गर्ने र समाजलाई बदल्ने भन्ने कुरा ढाँट कुरा र ‘दिन काट्ने र काल पर्खने’ काम सिवाय केही हुँदैन । गतकालमा पार्टीमा अनावश्यक टुटफुट पार्ने, गुटबन्दी र षड्यन्त्र गर्ने कामको मूलमा नेतृत्वको सामन्ती र बुर्जुवा चिन्तनपद्धति र कार्यशैली प्रमुख रुपमा जिम्मेवार रहने गरेका छन् । पार्टीले यो प्रश्नलाई पूर्ण गम्भीरताकासाथ लिएर समाधानका उपायहरुको खोजी गर्ने पर्दछ । अन्यथा ‘घुमिफिरी रुम्जाटार भनेझैं’ हामी पनि संशोधनवादकै खाडलमा जाकिने कुरामा शंका रहन्न ।”

    पार्टी सानो हुँदा, सत्तामा नहुदा एवं स्रोत र साधनमा कमजोर हुँदाका समस्या त त्यति डरलाग्दा थिए भने आज ति तिनै चीजमा डुबेको बेला समास्या हजार गुणा नकार रुपमा बढेका छन् । जिम्मा क–कसले लिने हो ?

    ४ बनिबनाउ वुर्जुवा राज्यसत्ता अन्तर्गत हामी सरकारमा गएर समाजवादको आधार निर्माण गर्ने तरिका मौलिक होइन बरु माक्र्सवाद विरोधी हो । पहिलो, हाम्रै अनुभव छ कि जनयुद्धबाट आएर पहिलो चुनावमै त्यत्रो तागतसहित हाम्रै नेतृत्वमा सरकार बन्दा समेत जाबो एउटा सेनापति र पशुपतिको भट्ट फेर्न सकेनौं । दोस्रो, चुनावबाट अएको भेनेजुयलाका चावेज जो कम्युनिस्ट होइनन् वामपन्थी मात्र थिए उनले १९९८ मा निर्वाचित भएपछि पहिलो घोषणामा २२ हजार अमेरिकी सेनालाई २४ घण्टाभित्र भेनेजुयला छाड्ने आदेश दिए र अमेरिकासँगको सैन्य सम्बन्ध अन्त्यको घोषणा गरे ।

    अन्मुनियम र तेलमा भएको वैदेशिक लगानीको अन्त्यको घोषणा गर्दैै राष्ट्रियकरण गरे र भूमिसुधार लागु गरेर जमिन्दारहरुको जमिन किसानहरुलाई वितरण गरे तर सैन्य रणनीति अन्तर्गतको ःऋऋ परियोजनाप्रति हाम्रो लसपस र अस्वीकार्यको स्पष्ट धरणा नआउनु साथै माओवादी कम्युनिस्टहरुको नेतृत्वमा बनेका सरकारहरुले एक पटक पनि औपचारिक रुपमा कुख्यात सुगौली सन्धीलगायत अन्य असमान सन्धीबारे चुसम्म नबोल्नु जनवादी क्रान्तिका बाँकी कार्यभार पुरा गर्ने सन्दर्भसँग बाँझिन्छ । आगामी दिनमा सरकारमा गएर जनवादी क्रान्तिका बाँकी कार्यभार र समाजवादी आन्दोलनको नेतृत्व गर्ने सैद्धान्तिक र व्यवहारिक धरातल हाम्रो आजको राजनीति लाइनले सुरक्षित गर्दैन ।

    ५ ०६३ पछि हम्रो नेतृत्वमा ३ वटा सरकार बने साथै त्यस अतिरिक्त प्राय सबै सरकारमा हामी सहभागी छौं । एउटै पात्र पटकौं मन्त्री बनेको छ, उनीहरुको न पारदर्शिता र कार्यसम्पादनहितको मूल्याङ्कन छ, न त गणना गर्न लायक जनताले अनुभूत हुनेगरी गुणात्मक कुनै काम नै भयो ? हाम्रै नेतृत्वमा प्रादेशिक सरकार छन् । तिनीहरुले अरु पार्टीले नेतृत्व गरेको सरकारभन्दा भन्दा फरक के काम गरे ? स्थानीय सरकार हामीले जितेको ठाउँमा एउटा नमूना पालिका सरकार कतै छ ? यसको निर्मम समिक्षा नगरी सरकारदेखि सरकारसम्मको गोलचक्करले हामीलाई बदनाम मात्र बनाउछ ।

    जसरी सन् १९५९ को क्युवाली क्रान्तिभन्दा अघि सरकारमा गएका कम्युनिस्ट नेताहरुले गरेको भ्रष्टाचारले कम्युनिस्ट भन्ने शब्द नै घृणाको प्रयाय बनेको थियो । त्यसकारण त्यहाँ कम्युनिस्टको नाममा क्रान्ति गरिएन । बरु क्रान्ति सम्पन्न भएपछि फिडेलहरुले आफू कम्युनिस्ट भएको सार्वजनिक गरे । हाम्रो तर्फबाट मन्त्री भएकाहरुको कुरा छाडौं, मन्त्रीका अधिकांश पिएहरुको मात्र सम्पत्ति छानबिन गर्ने हो भने बदनामीको डरलाग्दो चित्र देखापर्दछ । यसलाई पुराका पुरा सच्याइएनभने सरकारमा गएर समाजवादको आधार निर्माण गर्ने कुरा काल्पनिक मात्र होइन, बदनामीको माध्यम हुनेछ ।

    ६ हाम्रो आन्दोलन ओरालो लाग्नाको र जनतासँगको सम्बन्ध कमजोर हुनाको मुख्यकारण पार्टीका नेताहरुको अपारदर्शी आर्थिक जीवन हो । हामीमाथि भ्रष्टाचार, कमिसन, घुसमार्फत अकुत सम्पत्ति थोपरेको गम्भीर आरोप छ । हाम्रो जीवनशैली र परिवार नातागोताको फूर्ती हेर्दा अर्थमोह होइन भन्ने ठाउँ छैन ।

    सम्पत्तिमाथिको निजी स्वामित्वको अन्त्य गर्दै समाजवादी र साम्यवादी समाज निर्माण गर्ने चेतना र आन्दोलन सीमित नेताहरुको वर्ग उत्थानमा गएर बदनाम हुने कुरो कसरी सहन सकिन्छ । त्यसकारण हाम्रा नेताहरु, जनप्रतिनिधिहरु र लाभको पदमा गएका सदस्यहरुको सम्पत्ति छानविन गर्न तत्काल पार्टीभित्र समिति बनाऔं । आन्दोलनको अख्तियारी दुरुपयोग गरेर सम्पत्ति थोपर्ने नेताहरुलाई पार्टीबाट कारवाही गर्ने आँट गरौं । अनि बल्ल समाजवादबारे छलफल गर्न सक्ने धरातल बन्छ ।

    ७ एकातिर हामीले दलाल पुँजीवाद विरुद्ध लड्ने कुरा गरेका छौं भने अर्कोतिर दलाल पूँजीवादको घोडा चडेर दौडिरहेको उदार पुँजीवादी शक्तिसँग रणनीतिक मोर्चा बनाएर अघि बढ्ने प्रगोग र घोषणामा छौं । यसलाई सैद्धान्तिक र व्यवहारिक रुपमा सच्याएनौं भने हामी पनि दलाल पुँजीवादको घोडसवार बन्नुको बिकल्प छैन । सायद यही कारण प्रतिवेदनले हाम्रो समाजको वर्ग विश्लेषण गर्न चाहेन र कुन कुन राजनीतिक शक्तिले कुन वर्गको हितमा काम गरिरहेको भनेर विषय प्रवेश गर्न आवश्यक ठानेन ।

    जुन वर्गसँग लडेर जित्नु छ, त्यही वर्गलाई मित्रशक्ति बनाउने व्यवहारले हाम्रो कार्यनीति, कार्यनीतिले रणनीतिलाई पुयाउने योगदान र वैज्ञानिक समाजवादको आधार निर्माणको पहल अघि होइन पछाडि फर्कन्छ साथै यसले वर्ग संघर्षलाई अस्वीकार गर्दछ । जब वर्ग विश्लेषण र वर्ग संघर्षमा हामी मौन वा निष्कृय हुन्छौं तब पार्टीमा अन्तरसंघर्ष विहिन मान्छेहरुको झुण्ड मात्र बाँकी रहन्छ । अन्तरसंघर्ष विहिन पार्टी मृत् पार्टी हुन्छ, जुन माओवादी हुनै सक्दैन ।

    ८ दलाल पुँजीवाद विरुद्ध लड्ने पार्टीले सबभन्दा पहिला त्यो प्रवृत्तिबाट मुक्त संगठन, नेता–कार्यकर्ता निर्माण गर्नैपर्छ । पसिना बगााएर वा उत्पादनसँग जोडिएका श्रमशील नेता–कार्यकर्ता समाजवादका खास आधार हुन । श्रम नगर्ने वा उत्पादनसँग नजोडिएका नेता–कार्यकर्ताको सघनता जब पार्टीमा देखापर्दछ तब त्यहाँ दलाल पुँजीले हैकम चलाउँछ । विना पसिना, उत्पादनसँगको विना सहकार्य दैनिक लाखौं गरिने हाम्रा नेता–कार्यकताहरुको खर्चको स्रोत के हो ? हामीमाथि विरोधीले आक्रमण गर्ने हतियार यही हो ।

    यसकारण दलाल पँजीसँगको हाम्रो हितैषी सम्बन्धलाई व्यवहारिक अन्त्यको घोषणा, उद्योग÷व्यापारबाट सम्पत्ति कमाएको तप्कालाई पार्टी समर्थक समूहमा झार्ने कार्यक्रम र विचौलीया धन्दाबाट सम्पत्तिवाल बनेको वर्गलाई पार्टीबाट निकाल्ने दृढताले मात्र हामी माक्र्सवादी बन्न सक्छौं । आधारभूत वर्ग धरातलमा हाम्रो आन्दोलनले खुट्टा टेक्छ । यसरी मात्र दलाल पँजीवादका विरुद्ध लड्ने कार्यनीति कार्यान्वयन गर्ने ठाउँमा उभिने नैतिकता राख्दछौं ।

    ९ एमालेसँगको एकता सबै कोणबाट सही थियो भन्ने विषय प्रतिवेदनमा उल्लेख गर्ने कुरो समग्रतामा सही छैन । एमालेसँगको चुनावी तामलमेल र कार्यगत मोर्चासम्मलाई सही मान्न सकिन्छ तर शान्तिपूर्ण संसदवादमा डुबेको, उदारवादी अर्थतन्त्रको घोडा चढ्ने र ओली जस्तो दक्षिणपन्थी विचारको नेतृत्वसँग छापामार तरिकाले गरिएको एकता सैद्धान्तिक र प्रक्रियागत हिसाबले गम्भीर गल्ती थियो ।

    त्यस्तो पँजीवादी पार्टीसँग एकता गरेर समाजवादको तयारी भन्ने आँट आजसम्म बिना संकोच गरिरहेका छौं ? यो दक्षिणपन्थ होइन ? अदालतले दुई पार्टीलाई अलग बनाएपछि ओली त जान्थे गए तर ओलीलाई हामीले कारवाही गरेपछि बनाइएका अध्यक्षसहितको समूह पेरिसडाँडाबाट लुरुलुरु धुम्बराही जाने कुराले एकतालाई सही थियो भनेर पुष्टि गर्छ ? त्यसकारण त्यो गल्ती सामान्य उदारवादी कार्यशैलीमा मात्र सीमित थिएन, यसमा कमरेड प्रचण्डभित्र विकास भइरहेको व्यक्तिवादी अराजकता र संसदवादी रुझान पनि जिम्मेवार छ ।

    १० हामी सबै मुख्यतः कमरेड अध्यक्षमा आत्मकेन्द्रित व्यक्तिवादको समस्या देखिएको छ । तपाईका प्राय सबै सार्वजनिक अभिव्यक्तिमा हाम्रो वर्ग, हाम्रो पार्टी, हाम्रो आन्दोलन र हाम्रो केन्द्रिय समितिको निर्णय भन्ने कतै सुनिदैन । सुनिन्छ त म, मेरो, मेलै, प्रचण्डले मात्र ।

    यसको एउटा उदाहरण तपाईले नेकपा कालमा केपी ओलीलाई लेखेको पत्रमा म भन्ने शब्द ३४ पटक दोहोरिएको छ भने हामी भन्ने एक ठाउँमा मात्र । हामीले ओलीभित्रको बा प्रवृत्तिले कम्युनिस्ट आन्दोलनमा पारेको नकारात्मक प्रभावको खण्डन गर्दै गर्दा हामीभित्र पनि अर्को रुपको बा प्रवृत्ति देखिएको छ । तपाई आफै ससशिर उपस्थित भएको ठाँउमा तपाईका लस्करै तस्बीर राख्न कसले निर्देशन दिएको हो ? कमरेड अध्यक्ष, त्यो ठाउँमा दिलबहादुर वा सुरेश वाग्ले अथवा सहिदहरुको तस्बीर राखेको भए हाम्रो संस्कति कति सुसंगत हुन्थ्यो होला ?
    १४ पुस, ०७८

  • पूर्वयुवराज पारसकी कान्छी छोरी कृतिकाले बनाइन् नागरिकता, हिमानीले गरिन् सनाखत

    पूर्वयुवराज पारसकी कान्छी छोरी कृतिकाले बनाइन् नागरिकता, हिमानीले गरिन् सनाखत

    काठमाडौं । पूर्वयुवराज पारस शाहकी कान्छी छोरी कृतिका शाहले नेपाली नागरिकता लिएकी छन्।

    उनले बुधबार जिल्ला प्रशासन कार्यालय (काठमाडौं) पुगेर वंशजका आधारमा नागरिकता बनाएकी हुन्।

    छोरी कृतिकाको नागरिकतामा पूर्वयुवराज्ञी हिमानी शाहले सनाखत गरेकी हुन्। त्यसका लागि उनी छोरीसँगै काठमाडौं जिल्ला प्रशासनको कार्यालय पुगेकी थिइन्।

    यसअघि जेठी छोरी पूर्णिकाको नागरिकतामा पनि हिमानीले नै सनाखत गरेकी थिइन्। पूर्वयुवराज पारस भने दुवै छोरीको नागरिकता बनाउँदा जिल्ला प्रशासन गएनन्।

    संविधानमा बुवा वा आमामध्ये एकको नामबाट नागरिकता लिन सकिने प्रावधान छ।जानकारका भनाइमा पहिले राजपरिवारलाई संविधानभन्दामाथि राखिएको थियो। त्यसैले उनीहरूले नागरिकता लिइरहनुपर्थेन।

    तर संविधान सभाबाट २०७२ सालमा नयाँ संविधान जारी भएपछि सबै नेपालीलाई समान मानिएको छ अर्थात् संविधानमुनि राखिएको छ।

    यसअनुरूप पारस र हिमानीले पनि नेपाली नागरिकता लिइसकेका छन्।

  • भेरी अस्पतालको क्वाटरमा निसास्सिएर चार जनाको मृत्यु

    भेरी अस्पतालको क्वाटरमा निसास्सिएर चार जनाको मृत्यु

    नेपालगन्ज ।  बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा निसास्सिएर एकै परिवारका चार जनाको मृत्यु भएको छ । अस्पतालको क्वाटरमा घटना भएको हो । प्रहरीका अनुसार
    अस्पतालको क्वाटरमा बसेका कार्यालय सहयोगी धर्मप्रसाद भट्टराई र उनका परिवारका सदस्यहरुको मृत्यु भएको हो ।

    मृत्यु हुनेमा कालिकोटको खाडाचक्र घर भएका धर्मप्रसाद भट्टराई, उनको तीन महिनाको छोरा इप्सन भट्टराई, धर्मप्रसादकी आमा कोकिला भट्टराई र धर्मप्रसादकी बहिनी कोलीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

  • भारतको उत्तराखन्डमा भुकम्प, सुदुरपश्चिमका जिल्लामा धक्का महसुस

    भारतको उत्तराखन्डमा भुकम्प, सुदुरपश्चिमका जिल्लामा धक्का महसुस

    बैतडी । बैतडीसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ। गए राति १२ बजेर ५३ मिनेटमा गएको भूकम्पले बैतडी, दार्चुलालगायत जिल्लामा धक्का महसुस गरिएको राससले लेखेको छ ।

    भूकम्प मापन केन्द्र सुर्खेतका टेक्निकल असिस्टेन्ट राजेश शर्माका अनुसार चार दशमलव छ रेक्टर स्केलको उक्त भूकम्पको केन्द्रबिन्दु भने भारतमा रहेको छ। भारतको उत्तराखण्ड प्रदेशको खाडा केन्द्रबिन्दु भएर उक्त भूकम्प गएको हो।

  • कोरोनाको डेल्टा र ओमिक्रोनको चेपुवामा विश्व स्वास्थ प्रणाली

    कोरोनाको डेल्टा र ओमिक्रोनको चेपुवामा विश्व स्वास्थ प्रणाली

    जुरिच । डेल्टा र ओमिक्रोन भेरिअन्टको मिश्रणले कोभिड घटनाहरूको एउटा डरलाग्दो सुनामी ल्याउन लागिरहेको भन्दै  विश्व स्वास्थ्य सङ्गठनले चिन्ता व्यक्त गरेको छ ।

    युरोप र अमेरिकामा कीर्तिमानी सङ्ख्यामा कोभिडका नयाँ सङ्क्रमितहरू देखा परिरहँदा सङ्गठनका अध्यक्ष डा. टेड्रोस एड्हानोम गेहब्रेयससले यस्तो चिन्ता व्यक्त गरेका हुन् ।

    बिबिसीका अनुसार अध्ययनहरूले कैयौँ देशमा निकै छिटो मुख्य भेरिअन्ट बनेको ओमिक्रोन डेल्टाभन्दा मध्यम रहेको तर निकै धेरै सङ्क्रामक रहेको बताएका छन्।

    फ्रान्सका स्वास्थ्यमन्त्रीले ओमिक्रोनका हकमा अब लहर मात्र भनेर नपुग्ने बरु ‘आँधीजस्तो लहर’ भन्नुपर्ने बताएका छन्।

    डब्ल्यूएचओका प्रमुखले दुईवटा भेरिअन्टको चुनौतीले समग्र घटनाको चाप बढाएको भन्दै चेतावनी दिएका छन्।

    डा. टेड्रोस एड्हानोम गेहब्रेयससले भने, “थकित स्वास्थ्यकर्मीमा यसले निकै उच्च चाप थप्नेछ र थपिसकेको पनि छ। र स्वास्थ्य प्रणालीहरू काम गर्न नसक्ने अवस्था नजिक पुगेका छन्।”
    रोयटर्सका अनुसार विश्वभरि यतिखेर दैनिक झन्डै नौ लाख सङ्क्रमित थप भइरहेका छन्। अमेरिकाका शीर्ष सङ्क्रामक रोग विज्ञ डा. एन्थोनी फाउचीले सीएनएनसँग बोल्दै सङ्क्रमणले जनवरीको  अन्त्यसम्ममा अमेरिकामा उच्च बिन्दु लिने सम्भावना रहेको बताएका छन्।

    कैयौँ देशले कोभिडको तेस्रो मात्रा खोप दिनेगरी बूस्टर अभियान सुरु गरेका छन्। जसमा यूकेबेलायत  समेत छ । यहाँ १२ वर्ष माथिका ५७ प्रतिशत मानिसले तेस्रो मात्रा खोप लिइसकेका छन्।
    डब्ल्यूएचओ प्रमुखले भने ठूलो स्तरका बूस्टर अभियानले गरिब देशमा हुनुपर्ने आपूर्ति मोडिरहेको र त्यसले ‘महामारी लम्ब्याउने देखिएको’ बताए ।

  • आज तमु ल्होसार, देशभर सार्वजनिक बिदा

    आज तमु ल्होसार, देशभर सार्वजनिक बिदा

    काठमाडौं । आज  गुरुङ समुदायले ‘तमु ल्होसार’ पर्व धुमधामसाथ मनाउँदैछन् । पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गर्न १५ पुसका दिन तमु ल्होसार मनाउने गरिन्छ । 

    ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनुभएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रुपमा भव्यरुपमा मनाउँछन् ।

    ‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वत लगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको हो ।

    यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोबास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा यो पर्व मनाइने विश्वास गरिन्छ ।

    पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्व रहेको बताइन्छ । पर्वका अवसरमा आज सरकारले देशभर सार्वजनिक बिदा दिएको छ ।

  • बिहिवारका लागि सरकारले दियो सार्वजनिक बिदा

    बिहिवारका लागि सरकारले दियो सार्वजनिक बिदा

    काठमाडौं । सरकारले तमु ल्होसार पर्वको अवसरमा बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको गृह मन्त्रालयले एक सूचना जारी गरी जनाएको छ ।

    सरकारको निर्णयअनुसार बिहीबार देशभरका सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायमा सार्वजनिक बिदा दिइने छ । बुधबार मन्त्रीपरिषद बैठक नबस्दै बिदाको फेक सूचना भाइरल गराइएको थियो ।

  • पर्यटन बोर्डका सीइओ रेग्मीलाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम

    पर्यटन बोर्डका सीइओ रेग्मीलाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम

    काठमाडौं । सर्वोच्च अदालतले पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा.धनन्जय रेग्मीलाई निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

    न्यायाधीश दीपककुमार कार्कीको एकल इजलासले रेग्मीको निलम्बन तत्काल कार्यान्वयन नगर्न उक्त आदेश दिएको हो ।

    अदालतले माघ ३ गते दुबै पक्षलाई छलफलमा समेत बोलाएको छ। दुबै पक्षको छलफलबाट एकल इजलासबाट जारी भएको आदेशले निरन्तरता पाएमा निलम्बनको निर्णय कार्यान्वयन रोकिने छ। आदेश निरन्तर नभएमा भने निर्णय कार्यान्वयन हुने छ।

    सर्वोच्चले रेग्मीलाई हटाउनुपर्ने कारण समेत माग गरेको छ । पर्यटन मन्त्रालयको निर्देशनमा पर्यटन बोर्डले सीइओ रेग्मीमाथि छानविन गर्न समिति गठन गरेको थियो ।

    पर्यटनमन्त्री प्रेम आलेले ठाडो निर्देशन दिएपछि बोर्डले उपाध्यक्ष चन्द्रप्रसाद रिजालको संयोजकत्वमा छानविन समिति गठन गरेको थियो । छानविन समितिले रेग्मीलाई निलम्बन गरेको थियो।

    रेग्मले पुस १३ गते सर्वोच्चमा रिट दायर गरेका थिए। आफूलाई गैरकानुनी रुपमा निलम्बन गरिएको रेग्मीले निवेदनमा जिकिर गरेका छन्।

    पुस २ गते पर्यटन मन्त्रालयका सचिव तथा बोर्डका अध्यक्ष महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको बैठकले रेग्मीलाई निलम्बित गर्दै उनीमाथि छानबिन गर्न समिति गठन गरेको थियो।

    विदेशबाट फर्कने क्रममा आफूले ल्याएको मदिरा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सारका अधिकारीले जाँच गर्न खोज्दा रेग्मीले हातपात गरेको भन्दै उनी विवादमा आएका थिए।

  • नेपालमा थप २२० जनामा कोरोना पुष्टी, २ जना संक्रमितको निधन

    नेपालमा थप २२० जनामा कोरोना पुष्टी, २ जना संक्रमितको निधन

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २२० जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ४३३ जनाको पीसीआर परीक्षण र ११७५ जनाको एन्टिजेन परीक्षण गर्दा २२० जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख २७ हजार ९८३ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा २५३ जना संक्रमण मुक्त भएका छन् । संक्रिय संक्रमितको संख्या ४ हजार ८६४ रहेको छ ।

    पछिल्लो २४ घण्टामा मृत्यु हुने संक्रमितको संख्या २ रहेको छ । नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ५९० पुगेको छ ।

  • ‘नेपालका राजाहरू विदेशीसामु झुकेनन्’ – राजेन्द्र लिङ्देन

    ‘नेपालका राजाहरू विदेशीसामु झुकेनन्’ – राजेन्द्र लिङ्देन

    काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले विदेशीकोसामु झुक्नुभन्दा नेपाली जनताको चाहना अनुरुप चल्ने नेपालको राजसंस्थाको विशेषता रहेको बताएका छन् ।

    राजा वीरेन्द्रको ७७ औं जन्मजयन्तीको अवसरमा बुधबार राप्रपाको भातृ संगठन नेपाल प्राज्ञिक परिषद्ले आयोजना गरेको ‘स्व. श्री ५ वीरेन्द्रः एक बहुआयामिक व्यक्तित्व’ विषयक विचार गोष्ठीमा बोल्दै अध्यक्ष लिङ्देनले नेपालको सार्वभौमिकता, स्वतन्त्रता, राष्ट्रिय अखण्डताको रक्षा, राष्ट्रनिर्माण, जनताको जीवनस्तर र विकासको जग हाल्ने काममा राजसंस्थाको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।

    उनले प्रजातन्त्र, विकास र क्षेत्रीय सन्तुलन राजा वीरेन्द्रको अटुट प्राथमिकता रहेको र जनताको चाहना बुझ्ने राजाको रूपमा आफ्नो जीवन समर्पण गरेको उल्लेख गरेका छन् ।

    सिक्किमले देशको पहिचान गुमाउँदै गर्दा राजा वीरेन्द्रले नेपाली राष्ट्रियताको जग बलियो बनाउन ऐतिहासिक भूमिका निर्वाह गरेको प्रसङ्ग उल्लेख गर्दै लिङ्देनले नेपालका राजा र राजसंस्थाले पटकपटक देशभक्ति प्रमाणित गरेको बताएका छन् ।

    नेपाली कांग्रेसका नेता एवं नेविसंघका संस्थापक सभापति विपीन कोइरालाले नेपालो संविधानले सबैलाई समेट्न नसकेको बताउँदै संविधान बनाउने मतियारहरू नेतृत्व तहबाट पाखा नलागेसम्म देश बन्न नसक्ने खरो टिप्पणी गरेका छन् ।

    राप्रपाले महाधिवेशनबाट नेतृत्व परिवर्तन गरेर राष्ट्रियता, प्रजातन्त्र र धर्म संस्कृतिको रक्षाको आशा राख्ने र परिवर्तनको चाहना राख्ने जनताको ठूलो पंक्तिलाई आशा जगाएको उनको भनाइ छ ।

    दलीय सदस्यबाट गणतन्त्रको राष्ट्रपति चयन हुने व्यवस्था नेपालका लागि उपयुक्त नभएको बताएका कोइरालाले नेपालमा संघीयताको खारेजी, राजसंस्था र हिन्दु राष्ट्रको पुनःस्थापना नभएसम्म देशमा स्थिरता कायम हुन नसक्ने र कालान्तरमा नेपाल सुरक्षित पनि नरहने ठोकुवा गरेका छन् ।

    पूर्व जलस्रोत मन्त्री दिपक ज्ञवालीले राजा वीरेन्द्र राष्ट्र हित र जनताको अपेक्षालाई सर्वोपरि ठान्ने राजा भएको तर राजा भन्नासाथ सामन्त हुने गलत भाष्यको विकास गरेर राजसंस्थालाई बदनाम गरिएको बताएका छन् ।

    ज्ञवालीले राजाहरूबाट जलस्रोतको क्षेत्रमा राष्ट्रघात नभएको तर जनताबाट निर्वाचित दल र नेताहरूबाट जलश्रोतमा गम्भीर त्रुटि भएको र त्यसले देशलाई दीर्घकालसम्म असर पार्ने उल्लेख गरेका छन् ।

    नेपाल भारत सम्बन्धको विषयमा चर्चा गर्दै ज्ञवालीले नेपालले विकासको नजरबाट हेर्ने तर भारतले सुरक्षाको नजरबाट नेपाललाइ हेर्ने गरेको हुँदा यदाकदा समस्या पैदा हुने गरेको बताएका छन् ।

    पूर्व सचिव द्वारिकानाथ ढुंगेलले राजा वीरेन्द्र जनचाहना अनुरुप चल्ने प्रजातान्त्रिक राजा भएको बताएका छन् । उनले विकास क्षेत्रको अवधारणाले क्षेत्रीय विकासमा योगदान दिने राजा वीरेन्द्रको प्रयास उल्लेखनीय रहेको बताएका छन् ।

    कुनै पनि ठाउँमा नातावाद, कृपावाद र दलीय स्वार्थका आधारमा पात्र छनौट गर्ने र प्राथमिकता दिने अहिले खराब प्रचलन बढिरहेको अवस्थामा त्यसबेला पढेलेखेका योग्य व्यक्तिको पहिचान गरि जिम्मेवारी प्रदान गर्ने राजा वीरेन्द्रको अभाव खट्किरहने पनि ढुंगेलले बताएका छन् ।

    नेपाल प्राज्ञिक परिषद्का अध्यक्ष जयन्तनाथ खनालले इतिहासका राम्रा पक्ष र राम्रा पात्रको योगदानको चर्चा गर्ने परम्पराको अन्त्य भएको गुनासो गर्दै राजा वीरेन्द्रको योगदानबारे विद्यालय र कलेजका पाठ्यक्रममा समावेश गर्न माग गरेका छन् ।

  • माओवादी महाधिवेशन : जनयुद्धकालमा लगाइएका सबै मुद्दाहरू तत्काल खारेज गर्नुपर्ने माग

    माओवादी महाधिवेशन : जनयुद्धकालमा लगाइएका सबै मुद्दाहरू तत्काल खारेज गर्नुपर्ने माग

    काठमाडौं । नेकपा माओवादी केन्द्रको जारी आठौं महाधिवेशनको बन्दसत्रमा प्रस्तुत प्रतिवेदनमाथिको समूहगत निष्कर्ष समूहका नेताले प्रस्तुत गरिरहेका छन् ।

    महाधिवेशनको दोस्रो दिन सोमबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वैचारिक तथा राजनीतिक र नेता देव गुरुङले विधान मस्यौदा पेस गरेका थिए । प्रचण्डको राजनीतिक प्रतिवेदन र गुरुङको विधान मस्यौदामाथि मंगलबार विभिन्न २५ वटा समूहमा छलफल भएको थियो ।

    मंगलबार समूहगत छलफल सकिएपछि बुधबार समूहका नेताले आफ्नो समूहको निष्कर्ष प्रस्तुत गर्ने कार्य चलिरहेको छ । प्रदेश १ समूहले जनयुद्धकालमा लगाइएका सबै खाले मुद्दाहरू तत्काल खारेज गर्न माग गरेको छ ।

    प्रदेश १ समूहको माग र सुझाव

    जनयुद्धका सहिद परिवार, बेपत्ता परिवार, घाइते तथा अपाङ्गहरूलाई रोजगारी आर्थिक सुविधा प्रमाणपत्र र परिचय पत्र उपलब्ध गराइनु पर्दछ । तिनलाई सांगठनिक जिम्मेवारीमा समेटिने व्यवस्था हुनुपर्दछ ।

    जनमुक्ति सेनाबारे शान्ति प्रक्रियाअघि र पछिका बहिर्गमित स्वेच्छिक अवकास लिएका र क्यान्टोनमेन्टमा बसेका जनमुक्ति सेनालाई राखी तिनीहरूको आवश्यक आर्थिक व्यवस्थापनसहित सांगठनिक जिम्मेवारीमा समेटिने व्यवस्था हुनुपर्दछ । जनयुद्धकालमा लगाइएका सबै खाले मुद्दाहरू तत्काल खारेज गर्न पार्टीले पहल गर्न पर्दछ ।

    धनकुटाको खोकु छिन्ताङको किसान विद्रोह राजनीतिक प्रतिवेदनमा भाषा विद्रोहसँगै धनकुटाको खोकु छिन्ताङको किसान विद्रोहको पनि उल्लेख गरियोस् ।

    गत आइतबारबाट सुरु भएको सो महाधिवेशनले १५ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गर्नेछ ।

  • वर्षाका कारण देशभर चिसो, उच्च भेगमा हिमपात

    वर्षाका कारण देशभर चिसो, उच्च भेगमा हिमपात

    काठमाडौं । नेपालमा हिउँदे वर्षाका कारण देशभर चिसो बढेको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण काठमाडौंसहित देशभर पानी परेको हो । यसले चिसो बढ्नुका साथै उच्च पहाडी र हिमाली भेगमा हिमपात भएको छ । अहिले देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिनभर नै देशभरको मौसम बद्ली हुनेछ । पानी पर्न थालेसँगै देशभरको अधिकतम तापक्रम घटेको हो ।

    जुम्ला, जोमसोम र जिरीलगायत स्थामनमा तापक्रम माइनसमा झरेको छ । जिरीको न्यूनतम तापक्रम शून्य दशमलव ९ डिग्री सेल्सियस छ भने अधिकतम तापक्रम ११ दशमलव २ डिग्री सेल्सियस छ । जोमसोममा न्यूनतम तापक्रम माइनस एक दशमलव २ र जुम्लाको न्यूनतम तापक्रम माइनस ४ डिग्री सेल्सियस पगेको छ । तराई भेगमा शितलहरको जोखिम बढेको छ ।

  • यूरोपमा अहिलेसम्मकै उच्च संख्यामा देखियो कोरोना संक्रमण

    यूरोपमा अहिलेसम्मकै उच्च संख्यामा देखियो कोरोना संक्रमण

    पेरिस । यूरोपमा अहिलेसम्मकै बढी संख्यामा कोरोना भाइरसको संक्रमण देखिएको छ । फ्रान्समा युरोपकै हालसम्मकै सर्वाधिक उच्च एक लाख ८० हजार नयाँ दैनिक कोभिड(१९ सङ्क्रमण पुष्टि भएको बीबीसीले लेखेको छ । युरोपका सबै देशले ओमिक्रोन भेरिअन्ट नियन्त्रण गर्न सङ्घर्ष गरिरहेका छन् र इट्ली, ग्रीस, पोर्चुगल र इङ्ग्ल्यान्ड सबैमा कीर्तिमानी सङ्ख्यामा सङ्क्रमणहरू पुष्टि भएका छन्।

    क्रिसमसका कारण परीक्षणका परिणामहरू आउन ढिलो हुनुलाई आँकडा बढ्नुको आंशिक कारण मानिएको छ। विश्व स्वास्थ्य सङ्गठनले युरोपमा बढ्दो सङ्क्रमणले स्वास्थ्य प्रणालीमा थेग्नै नसक्ने किसिमको चाप उत्पन्न गराउनसक्ने चेतावनी दिएको छ। मङ्गलवार फ्रान्समा १ लाख ७९ हजारभन्दा बढी सङ्क्रमण पुष्टि भएको थियो। सङ्क्रमित सङ्ख्यामा कीर्तिमान कायम गर्नेमा फ्रान्ससहित इटली, ग्रीस, पोर्चुगल र इङ्ग्ल्यान्ड पनि छन्।

    चाडपर्वलगत्तै आइरहेको बढ्दो सङ्क्रमणको विवरण तीव्र गतिमा फैलिने ओमिक्रोन भेरिअन्टका कारण निम्तिएको ठानिन्छ। अध्ययनहरूले डेल्टाभन्दा ओमिक्रोन भेरिअन्ट कमजोर रहेको र त्यसका कारण अस्पताल भर्ना हुनुपर्ने अवस्था ३० देखि ७० प्रतिशत कम हुने देखाएका छन्। सोमवार फ्रान्सका स्वास्थ्यमन्त्रीले ज्यानुअरीको सुरुबाट दैनिक अढाई लाख सङ्क्रमण देखिनसक्ने बताए।


    फ्रान्सेली अस्पतालहरूको एउटा सङ्गठनले अझै अप्ठेरा दिनहरू आउन बाँकी नै रहेको जनाएका छन्। इटलीमा सङ्क्रमितको सङ्ख्या ७८ हजार नाघेको छ जुन महामारी यताकै उच्च हो। त्यहाँ २०२ जनाको मृत्यु भएसँगै हालसम्म ज्यान गुमाउनेको सङ्ख्या १ लाख ३६ हजार ७ सय ५३ पुगेको छ। पोर्चुगलमा सङ्क्रमितको नयाँ कुल सङ्ख्या मङ्गलवार १७ हजार १ सय ७२ पुगेको छ ।

    ग्रीसमा २१ हजार ६७५ वटा सङ्क्रमणका घटना पुष्टि भएपछि त्यहाँका स्वास्थ्यमन्त्रीले शान्त रहन अनुरोध गरेका छन् । साइप्रसमा २ हजार २४१ नयाँ सङ्क्रमणका घटना पुष्टि भएको छ जुन एक दिनको सर्वाधिक उच्च सङ्ख्या हो ।

  • चन्द्रागिरिसहित काठमाडौं आसपासका चुचुरोमा हिमपात

    चन्द्रागिरिसहित काठमाडौं आसपासका चुचुरोमा हिमपात

    काठमाडौं । नेपालको मूख्य पर्यटकीय गन्तब्यमध्ये एक चन्द्रागिरि डाँडा र यस पासपासका चुचुरोमा हिमपात भएको छ । मंगलबार रातीबाट शुरु भएको वर्षाले काठमाडौंमा हिमपात गराएको हो । चन्द्रागिरमा हिमपातले सेताम्य भएको चन्द्रागिरि हिल्सले जनाएको छ । चन्द्रागिरिमा यो वर्षको पहिलो पटक हिमपात भएको हो । हिउँ डाँडामा बाक्लै जम्मा भइसकेको छ ।

    चन्द्रागिर क्षेत्र सेताम्य छ । आज देशभर मौसम बदली भई देशैभरका उच्च पहाडी र हिमाली क्षेत्रमा पनि हिमताप भएको छ भने अन्य क्षेत्रमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले उल्लेख गरेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबारसम्मै मौसममा आंशिकदेखि सामान्य बदली आई हिमपात र पानी पर्ने सम्भावना छ ।

  • रौतहटमा जन्ती बोकेको स्करपियो दुर्घटना, ६ जनाको मृत्यु

    रौतहट । रौतहटमा जन्ती बोकेको स्करपियो गाडी दुर्घटनामा ५ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार बिआर ०५ पिए ६९५३ नम्बरको स्करपियो दुर्घटनामा परेको छ । विवाह सकेर घर फर्किने क्रममा गरुडा नगरपालिका १ स्थित जयनगरमा स्करपियो दुर्घटनामा परेको हो । तीव्र गतिको स्करपियो अनियन्त्रित भएर सडकबाट २० मिटर तल खसेको प्रहरीको भनाई छ ।

    दुर्घटनामा तीन जना घाइते भएका छन् । उनीहरुको उपचार जारी छ । मृतक ६ जना गढीमाई नगरपालिका वडा नम्बर ३ का हुन् । प्रहरीका अनुसार मृत्यु हुनेमा १६ वर्षीय सेख नौसाद, २२ वर्षीय सेख सैनुल्लाद, २५ वर्षीय सेख छोटु, ५५ वर्षीय डा।मसिफिर, १५ वर्षीय सेख अतिउल्लाह रहनुभएको छ । अन्दाजी ४५ वर्षीय एक जनाको भने पहिचान खुलेको छैन ।

  • नेपालमा थप २६४ जनामा कोरोना पुष्टी, २ जना संक्रमितको निधन

    नेपालमा थप २६४ जनामा कोरोना पुष्टी, २ जना संक्रमितको निधन

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २६४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ५३६ जनाको पीसीआर परीक्षण गर्दा २४१ जना र ४ हजार ३० जनाको एन्टिजेन परीक्षण गर्दा २३ गरी २६४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख २७ हजार ७६३ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा २६० जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ८ लाख ११ हजार २६५ पुगेको छ । संक्रिय संक्रमितको संख्या ४ हजार ९१० रहेको छ ।

    पछिल्लो २४ घण्टामा मृत्यु हुने संक्रमितको संख्या २ रहेको छ । नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ५८८ पुगेको छ ।

  • नेकपा जनवादी एकीकृत समाजवादीमा विलय

    नेकपा जनवादी एकीकृत समाजवादीमा विलय

    काठमाडौं । नेकपा एकीकृत समाजवादी र नेकपा जनवादी पार्टीबीच एकता भएको छ ।

    एमाले विभाजन गरेर माधव नेपालले बनाएको नेकपा एस र माओवादीबाट अलग्गिएर देवेन्द्रसिंह महताले बनाएको नेकपा जनवादीबीच मंगलबार राष्ट्रिय सभागृहमा एकताको घोषणा भएको हो ।

    माधव नेपालले एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग असन्तुष्ट हुँदै पार्टी विभाजन गरेर नयाँ पार्टी दर्ता गराएका थिए ।

    त्यस्तै तत्कालिन माओवादीसँग असन्तुष्ट हुँदै देवेन्द्रसिंह महताले २०६२ सालमा नेकपा जनवादी गठन गरेका थिए ।

  • ‘द क्लिफ’मा विश्वकै अग्लो र लामो व्यवसायिक स्काइ साइक्लिङ शुरु

    ‘द क्लिफ’मा विश्वकै अग्लो र लामो व्यवसायिक स्काइ साइक्लिङ शुरु

    काठमाडौ । विभिन्न एड्भेन्चर लगायत विश्वकै दोस्रो अग्लो बन्जी सञ्चालन गरिरहेको द क्लिफ प्रालिको रिसोर्ट परिसरमा विश्वकै अग्लो र लामो व्यवसायिक स्काइ साइक्लिङ शुरु भएको छ ।

    कालीगण्डकी माथिको भिरमा रिसोर्ट परिसरमा ९बाग्लुङ बलेवा तर्फ० स्काइ साइक्लिङ निर्माण गरिएको हो । साइक्लिङ दुई तर्फी गरि छ सय मिटर रहेको बताइएको छ ।

    प्रतिव्यक्ति ३ हजार ५ सय रहेको साइक्लिङ खेल्न हाल सुभारम्भ छुट अन्तर्गत २ हजार ५ सयमै टिकट पाइने कम्पनीका अध्यक्ष राजु कार्कीले बताए । बन्जी वा स्विङ गर्नेलाई अतिरिक्त बीस प्रतिशत छुट दिइने बताइएको छ ।

    गुलेली पिङ, पारिवारिक पिङ, हाइ रोप स्टेसन, स्काइ चियर, घोडाचडी सञ्चालनमा ल्याएको द क्लिफले नयाँ प्रडक्टका रुपमा स्काइ साइक्लिङ सुरु गरेको कार्कीले बताए ।

    विश्वमा २ सय अठ्ठाइस मिटर उचाइमा र छ सय मिटरको कुनै पनी ब्यवसायिक स्काइ साइक्लिङ नरहेकोले यो नै बिश्वको लामो र अग्लो ब्यवसायिक जिपलाइन भएको कार्कीको दावी छ ।

    बिश्वकै अग्लो स्विङ समेत सन्चालन गर्दै आइरहेको द क्लिफको गुलेली पिङ र हाइ रोप स्टेसन पनि अहिले युवाहरू माझ निकै लोकप्रिय छन्। उक्त क्षेत्रलाई एड्भेन्चर हबका रूपमा विकास गर्ने योजना भएको र भविष्यमा अन्य गतिविधि समेत थपिने कार्कीले बताए।

  • नेपालमा मेडिकल कलेज र निजी अस्पतालले पनि खोप केन्द्र राख्न पाउने

    नेपालमा मेडिकल कलेज र निजी अस्पतालले पनि खोप केन्द्र राख्न पाउने

    काठमाडौं । नेपालमा मेडिकल कलेज तथा निजी अस्पतालहरुले पनि कोभिड–१९ विरुद्धको खोप केन्द्र राखेर सञ्चालन गर्न पाउने भएका छन् । यसअघि सरकारले सरकारी अस्पतालहरुमा मात्रै खोप केन्द्र तोकेर नागरिकलाई खोप दिइरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार सूचना निकाल्दै यस्तो जानकारी गराएको हो । अब सबै मेडिकल कलेज र ५० बेडभन्दा बढी क्षमताका निजी अस्पतालमा खोप केन्द्र सञ्चालन गर्न सकिने छ ।

    सम्बन्धित जिल्लाको स्वास्थ्य संस्थासँग समन्वय गरी खोप केन्द्र सञ्चालन गर्न सकिने सूचनामा उल्लेख छ । सरकारको नियमभित्र रही खोपको उपलब्धताको आधारमा विहान ९ बजेदेखि बेलुका ४ बजेसम्म १८ वर्षमाथि उमेर समूहका नागरिकलाई खोप दिन सकिने बताइएको छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले उच्च प्राथमिकता दिँदै खोप अभियान सञ्चालन गरिरहेको भन्दै मेडिकल कलेज तथा निजी अस्पताहरुलाई मन्त्रालयले आह्वान समेत गरेको छ ।

  • आज सिरहामा निषेधाज्ञा, कारण के हो ?

    आज सिरहामा निषेधाज्ञा, कारण के हो ?

    सिरहा । स्थानीय प्रशासनले सिरहामा बिहानैबाट निषेधाज्ञा जारी गरेको छ । प्रहरीका अनुसार जनमत पार्टीले केही दिनदेखि यहाँ आमहडताल र चक्काजाम गरिररहेको छ । जनमत पार्टीले पूर्वपश्चिम राजमार्गलाई लक्षित गरेर चक्काजाम गरेको छ । स्थानीय प्रशासनले बुधबारसम्मका लागि निषेधाज्ञा आदेश जारी गरेको छ । बिहान ५ बजेदेखि बेलुका ७ बजेसम्म दुई दिन निषेधाज्ञा आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले उल्लेख गरेका छन् ।

    पूर्वमा बलान खोला, पश्चिममा कमला नदीसम्मको राष्ट्रिय लोकमार्ग तथा लोकमार्गको उत्तर दक्षिण ५०० मिटर आसपासका क्षेत्रसम्म, चोहर्वादेखि सिरहा सडकखण्डको पि।के।राज इन्टरप्राइजेज (पेट्रोल पम्पसम्म० तथा सो मार्गको ५०० मिटर पूर्वपश्चिम आसपासका क्षेत्रसम्म निषेधाज्ञा जारी गरिएको छ ।

    तोकिएको क्षेत्रमा कुनै किसिमको भेला हुन, बाहिर हिडडुल गर्न, राजनीतिक सभा तथा गतिविधि गर्न नपाउने गरी स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ -२० र ३० बमोजिम निषेधाज्ञा जारी गरिएको सूचनामा उल्लेख छ । यो आदेश उल्लघन गर्नेलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएर आवश्यक कानूनी कारबाही गर्ने चेतावनी दिइएको छ । जनमत पार्टीले किसानलाई नियन्त्रणमा लिएको भन्दै उनीहरूलाई छाड्न माग राख्दै हडताल गरेको हो ।

  • माओवादी केन्द्रको पदाधिकारी १५ सदस्यीय हुने

    माओवादी केन्द्रको पदाधिकारी १५ सदस्यीय हुने

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)को पदाधिकारी १५ सदस्यीय हुने भएको छ । राजधानीमा जारी आठौँ राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा स्थायी समिति सदस्य देवप्रसाद गुरुङले विधान मस्यौदा प्रस्तुत गरेका छन् । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक प्रतिवेदन पेश गर्नुभएलगत्तै नेता गुरुङले विधान मस्यौदा प्रस्तुत गरेका थिए ।

    विधानको मस्यौदाअनुसार माओवादी केन्द्रको केन्द्रीय समिति २९९ सदस्यीय हुने भएको हो । एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, छ उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र कोषाध्यक्षसहित १५ सदस्यीय पदाधिकारीको व्यवस्था गरिएको छ । पदाधिकारीलाई पनि समावेशी बनाइने भएको छ । केन्द्रीय समितिमा १० प्रतिशत मनोनीत गर्न सकिने प्रस्ताव गरिएको छ ।

  • नेपालमा एकै दिन साढे ५ लाखसम्मले लगाए कोरोना खोप

    नेपालमा एकै दिन साढे ५ लाखसम्मले लगाए कोरोना खोप

    काठमाडौं । नेपालमा खोप अभियानले तीब्रता पाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोभिड १९ विरुद्धको खोप अभियानलाई तीव्र बनाएसँगै दैनिक खोप लगाउने मानिसको संख्यामा समेत वृद्धि भएको छ । मन्त्रालयको सोमबारको तथ्यांक अनुसार एकैदिन ५ लाखभन्दा बढी मानिसले खोप लगाएका छन् । दैनिक खोप लगाएको मानिसको यो संख्या अहिलेसम्मकै बढी हो ।

    पछिल्लो २४ घन्टामा ५ लाख ६८ हजार ३१९ जनाले कोरोना खोप लगाएका छन् । दैनिक २ लाख जनालाई खोप लगाउने लक्ष्य मन्त्रालयको हो । मन्त्रालयको तथ्यांक अनुसार नेपालमा अहिलेसम्म लक्षित जनसंख्याको ६८.१ प्रतिशतले कम्तीमा एक मात्रा र ५१ प्रतिशतले पूर्ण मात्रा खोप लगाइसकेका छन् ।

  • नेपालमा थप २७१ जनामा कोरोना पुष्टी, २२५ जना संक्रमण मुक्त

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २७१ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार १५७ जनाको पीसीआर परीक्षण गर्दा २५१ जना र १ हजार ७२९ जनाको एन्टिजेन परीक्षण गर्दा २० गरी २७१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख २७ हजार ५२२ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा २२५ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ८ लाख ११ हजार ५ पुगेको छ । संक्रिय संक्रमितको संख्या ४ हजार ९३१ रहेको छ ।

    पछिल्लो २४ घण्टामा मृत्यु हुने संक्रमितको संख्या १ रहेको छ । नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ५८६ पुगेको छ ।

  • माओवादी महाधिवेशन : प्रचण्डद्वारा राजनीतिक प्रतिवेदन पेश

    माओवादी महाधिवेशन : प्रचण्डद्वारा राजनीतिक प्रतिवेदन पेश

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) को जारी आठौं महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीति प्रतिवेदन पेश गरेका छन् ।

    कमलादीस्थित प्रज्ञा भवनमा जारी महाधिवेशनमा अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गरेका हुन् । बन्द सत्रमा नेपाली विशेषतासहितको समाजवादी मोडलको राजनीतिक प्रतिवेदन पेश गरिएको हो ।

    अध्यक्ष प्रचण्डले विभिन्न सात बुँदामा ‘एक्काइसौँ शताब्दीमा समाजवादको नेपाली बाटो, ऐतिहासिक आठौँ राष्ट्रिय महाधिवेशनमा प्रस्तुत प्रतिवेदन’ शीर्षकको राजनीतिक प्रतिवेदन पेश गरेका हुन् ।

    स्थायी समिति सदस्य देवप्रसाद गुरुङले विधान संशोधन प्रस्ताव पेश गर्ने कार्यक्रम रहेको छ । बन्द सत्रमा राजनीतिक प्रतिवेदन र विधान पेश भइसकेपछि समूहमा छलफल हुनेछ ।

    अध्यक्ष प्रचण्ड र नेता गुरुङको विधान संशोधन प्रस्तावमाथि समूहगत छलफल गर्नका लागि संयोजक र सहसंयोजकको व्यवस्था गरिनेछ । समूहका संयोजकले आफ्नो समूहमा उठेका विषयलाई बन्द सत्रको हलमा प्रस्तुत गर्ने कार्यसूची तय गरिएको छ ।

    ती प्रतिवेदन पारित गरेपछि नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु हुनेछ । त्यसका लागि विष्णुपुकार श्रेष्ठ अध्यक्ष रहेको निर्वाचन आयोगले पनि आवश्यक काम सुरु गरिसकेको छ ।

    जारी महाधिवेशनले १५ पदाधिकारीसहित २९९ जना केन्द्रीय सदस्य चयन गर्नेछ । आइतबारबाट सुरु भएको सो महाधिवेशन १५ पुससम्म चल्नेछ ।

    बन्दसत्रका लागि सात सदस्यीय अध्यक्ष मण्डल गठन गरिएको छ। मण्डलमा कृष्णबहादुर महरा‚ गिरिराजमणि पोखरेल‚ गणेश साह‚ परशुराम तामाङ‚ पर्शुराम रम्तेल‚ पूर्णा सुवेदी र रुपा महर्जन श्रेष्ठ रहेका छन्।

    बन्दशत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक प्रतिवेदन, विधानलगायतका अन्य प्रतिवेदन पेश हुनेछ। विचारको महाविधेशनको रुपमा चित्रण गरेको माओवादीको बन्दशत्रमा कुल एक हजार ६३१ जना प्रतिनिधि तथा पर्यवेक्षक सहभागी हुनेछन्।

  • विद्यालय तहको सबै कक्षामा पास हुन न्यूनतम ३५ प्रतिशत अंक अनिवार्य

    विद्यालय तहको सबै कक्षामा पास हुन न्यूनतम ३५ प्रतिशत अंक अनिवार्य

    काठमाडौं । नेपालमा विद्यालय तह (कक्षा १ देखि १२ सम्म)का सबै कक्षामा अब ग्रेडिङ प्रणाली लागु हुने भएको छ । नयाँ प्रणाली अनुसार कुनै पनि विषयको परीक्षामा न्यूनतम ३५ प्रतिशत अंक प्राप्त गरेपछि मात्र विद्यार्थी उत्तिर्णं हुने छ । शिक्षा मन्त्रालयले विद्यालय शिक्षाको लेटर ग्रेडिङ निर्देशिका २०७८ मा यस्तो व्यवस्था गरेको हो ।

    पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्को बैठकले अक्षरांकन पद्धति कार्यान्वयन कार्यविधि २०७२ खारेज गर्दै राष्ट्रिय पाठ्यक्रम पारूप २०७६ अनुरूप नयाँ लेटर ग्रेडिङ निर्देशिका लागू गरेको हो । परिष्दको अध्यक्ष शिक्षामन्त्री देवेन्द्र पौडेल छन् । अब कुनै पनि विषयको सैद्धान्तिक परीक्षामा कम्तीमा ३५ प्रतिशत र प्रयोगात्मकतर्फ ४० प्रतिशत अंक प्राप्त गर्नुपर्ने छ ।

    सैद्धान्तिक परीक्षामा ३५ प्रतिशत अंक प्राप्त नगरे ग्रेडसिटमा ‘नट ग्रेडिङ’ (एनजी) उल्लेख हुने छ । त्यस्तो विद्यार्थीले माथिल्लो कक्षामा भर्ना हुन नपाउने गरि मापदण्ड तय भएको छ । ३ पटकसम्म ग्रेडवृद्धि परीक्षाको अवसर मिल्ने छ । यसअघि सैद्धान्तिकतर्फको अंकमा प्रयोगात्मक अंक जोडेर मात्र विद्यार्थीको ग्रेडिङ गरिन्थ्यो ।

    ९ वटा तहमा विद्यार्थीको ग्रेडिङलाई वर्गीकरण हुन्थ्यो । तर अब ७ वटा तहमा मात्रै विद्यार्थीको ग्रेडिङ हुने छ । यसअघि प्रयोगात्मकको नम्बर जोडेर ३२ प्रतिशत अंक ल्याउने विद्यार्थीले पनि माथिल्लो कक्षामा पढ्न पाउँथे । एनजी तहमा परेका विद्यार्थीले माथिल्लो कक्षामा भर्ना हुन नपाए पनि प्राविधिक टी–एसईई अध्ययनबाट भने वञ्चित हुने छैनन् ।

    लेटर ग्रेडिङ प्रणालीअनुसार ९० र त्यसभन्दा माथिको प्रतिशत ल्याउने विद्यार्थीको नतिजालाई सर्वोत्तम (ए प्लस) मानिनेछ । ८० र त्यसभन्दा माथि ९० भन्दा कम प्रतिशत उपलब्धि हासिल गरे ग्रेडसिटमा अत्युत्तम (ए) उल्लेख गरिनेछ ।

    ७० माथि ८० भन्दा कमलाई उत्कृष्ट (बी प्लस), ६० माथि ७० भन्दा कमलाई उत्तम (बी), ५० माथि ६० भन्दा कमलाई सन्तोषजनक (सी प्लस) ४० र त्यसभन्दा माथि ५० भन्दा कमलाई ग्राह्य (सी) र ३५ माथि ४० भन्दा कमलाई आधारभूत (डी) को मान्यता दिइनेछ । चालु शैक्षिक सत्रदेखि नै नयाँ निर्देशिकाअनुसार विद्यार्थीको मूल्यांकन गरिने भएको छ ।

  • आजबाट माओवादी केन्द्रको बन्दसत्र

    आजबाट माओवादी केन्द्रको बन्दसत्र

    काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनमा आजबाट बन्दसत्र सुरु हुनेछ । काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा महाधिवेशन जारी छ । बिहान ११ बजेदेखि बन्दसत्र सुरु हुने कार्यतालिका रहेको छ । आइतबार प्रज्ञा भवनमै माओवादीको महाधिवेशनको उदघाटन समारोह सम्पन्न भएको हा । आजको बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रतिवेदन, विधानलगायतका प्रतिवेदनहरु पेस गर्ने कार्यक्रम छ ।

    प्रतिवेदनहरुमा समूहगत छलफल हुने छ । समूहगत छलफलका लागि महाधिवेशन प्रतिनिधिहरुलाई २० भन्दा बढी समूहमा बिभाजन गरिने भएको छ । माओवादीको आइतबार बिहान बसेको केन्द्रीय समितिको बैठकले पारित गरेको विधानमा १५ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय समिति बनाउने प्रस्ताव छ ।

    एक जना अध्यक्ष, एक जना वरिष्ठ उपाध्यक्ष, ६ जना उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक जना कोषाध्यक्ष रहने प्रस्तावलाई महाधिवेशनले अनुमोदन गर्नेछ । राजनीतिक र विधान पारित भएपछि नयाँ नेतृत्व चयनको प्रक्रिया अघि बढ्नेछ ।

  • तीन घण्टा माओवादीको महाधिवेशन उद्घाटनमा बसेका देउवाले यसरी गरे प्रचण्डको प्रशंसा

    तीन घण्टा माओवादीको महाधिवेशन उद्घाटनमा बसेका देउवाले यसरी गरे प्रचण्डको प्रशंसा

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा आइतबार नेकपा माओवादी केन्द्रको महाधिवेशन तथा राष्ट्रिय सम्मेलनको उद्घाटन सत्रमा करीप ३ घण्टा बसे । आफुभन्दा अगाडीका सबै वक्ताको भाषण सुनेका उनले प्रचण्ड भन्दा अगाडी अन्तिम दोस्रो वक्ताका रुपमा भोषण गरे । सो क्रममा उनले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको खुलेर प्रसंशा गरे ।

    प्रचण्डको जोडबलमा नेपालमा संविधानसभा निर्वाचन भएको र सोही निर्वाचनमा टेकेरै मुलुकमा गणतन्त्र, संघीयता, समानुपातिक समावेशी संविधान बनेको उनको भनाई छ । प्रचण्डकैं कारण २००७ सालदेखि देखेको सपना नेपालमा पुरा भएको समेत उनले उल्लेख गरे ।

    ‘नेपालको राजनीतिमा प्रचण्डको ठूलो योगदान छ, उनले भने ‘उहाँको बलले संविधानसभामा हामीहरु गएका हौं । पुष्पकमलजीकै अगुवाइमा संविधानसभाको चुनाव भएर संविधानसभाबाट संविधान बनेको छ ।’

    संविधान बनाउन समेत प्रचण्डको सबैभन्दा महत्वपूर्ण योगदान भएको विषय सबैले मान्नुपर्ने उनको भनाई छ । फरक प्रसंगमा उनले ठबन्धन कसैको बर्खिलापमा नबनेको भन्दै शंका नगर्न अनुरोध गरे । अहिलेको गठबन्धन कसैको विरुद्धमा बनेको होइन भन्दै उनले अहिलेको संविधानबाट संसद्‍ बीचमा भंग नहोस् । संविधान अनुसार संसद चलोस् भन्ने पुनित लक्ष्यका साथ बनेको उल्लेख गरे ।