Category: समाचार

  • नेपाली सेयरबजार फेरि ओरालो यात्रातिरै, सूचक र कारोबार दुवै ओर्लिए

    नेपाली सेयरबजार फेरि ओरालो यात्रातिरै, सूचक र कारोबार दुवै ओर्लिए

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकले घटेको छ ।

    साताको कारोबारको अन्तिम दिन शेयर बजार मापक सूचक नेप्से ३७.८७ अंकले घटेर २३७८.७४ विन्दुमा आइपुगेको छ ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार बिहीवार २२४ कम्पनीको २ अर्ब ३० करोड १७ लाख ५१ हजार ९६७ रुपैयाँ बराबरको ५३ लाख ७९ हजार ८६० कित्ता शेयर किनबेच भएका छन् ।

    आज कारोबार रकममा भारी गिरावट आएको छ । बुधवार ४ अर्ब ५८ करोड ८३ लाख ९० हजार ६७७ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

    आज कारोबारमा आएका १३ वटा समूहमध्ये १ समूहको परिसूचकमा हरियाली छाएको छ भने १२ समूहको परिसूचक राताम्मे भएका छन् । बजार घटेपनि एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । शेयरमूल्य बढ्ने कम्पनीमा नेपाल बङ्गलादेश बैंक रहेको छ ।

    तीन कम्पनीको शेयरमूल्यमा उच्च गिरावट आएको छ ।

    शेयरमूल्यमा उच्च गिरावट आउने कम्पनीहरुमा ग्रिनलाइफ हाइड्रोपावर, मैलुङखोला जलविद्युत कम्पनी र हिमालयन पावर पार्टनर रहेका छन् । आज यस कम्पनीको शेयरमूल्य ७ प्रतिशत भन्दा बढीले घटेको छ ।

  • महामन्त्रीमा पराजयसँगै रक्षामन्त्रीबाट राजीनामा दिने मिनेन्द्र रिजालको घोषणा

    महामन्त्रीमा पराजयसँगै रक्षामन्त्रीबाट राजीनामा दिने मिनेन्द्र रिजालको घोषणा

    काठमाडौं । रक्षामन्त्री मिनेन्द्र रिजालले राजीनामा घोषणा गरेका छन् ।

    कांग्रेसको महामन्त्रीमा पछाडि परेपछि रिजालले राजीनामा बिहीबार राजीनामा दिने घोषणा गरेका हुन्।

    १४ औं महाधिवेशनमा महामन्त्रीमा पराजय भएपछि उम्मेदवार बनेका रिजाल पराजय उन्मुख भएपछि राजीनामा दिन लागेका हुन्।

    उनले सामाजिक सञ्जालमा लेखेका छन्- नेपाली काङ्ग्रेसको चौधौं महाधिवेशनमा मैले प्रतिस्पर्धा गरेको महामन्त्री पदको प्रारम्भिक परिणामबाट नै स्पष्ट रूपमा प्राप्त सन्देशलाई दृष्टिगत गर्दै रक्षामन्त्रीको पदबाट राजीनामा दिने निर्णय लिएको छु। अन्तिम परिणाम प्राप्त हुनासाथ सम्माननीय प्रधानमन्त्रीसमक्ष राजीनामा पेश गर्नेछु।

    महामन्त्रीका लागि जारी मतगणनामा रिजाल पाँचौं नम्बरमा छन्।

    रिजाललाई प्रधानमन्त्री शेरबहादुर देउवाले असोज २२ गते रक्षामन्त्रीमा नियुक्त गरेका थिए ।

  • झापामा बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु

    झापामा बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु

    झापा । झापामा बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको कन्काई नगरपालिका वडा नम्बर ७ दुर्गापुरमा बस र मोटरसाइकल ठोक्किंदा दुई जनाको मृत्यु भएको हो । गतराति ७ः४० बजे ना ५ ख ७९३७ नम्बरको बस र मे. ७ प. २८४६ नम्बरको मोटरसाइकल ठोक्किएका थिए । सो क्रममा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो ।

    मृत्यु हुनेमा मोटरसाइकल चालक ईलामको रोङ गाउँपालिका–६ बस्ने ३३ वर्षीय सन्तोष राई र मोटरसाइकलको पछाडि सवार सोही ठाउँका चन्द्र बहादुर राई छन् । उनीहरुको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बस चालक ईलामको चुलाचुली–२ का ३१ वर्षीय सरोज ढकाललाई प्रहरीले नियन्त्रणमा लिएको समेत जनाइएको छ ।

  • कांग्रेस उपसभापतिमा खड्का र गुरुङ विजयी

    कांग्रेस उपसभापतिमा खड्का र गुरुङ विजयी

    काठमाडौं । नेपाली कांग्रेसको उपसभापति पदमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भएका छन् । गुरुङ शेखर कोइराला र खड्का शेर बहादुर देउवा प्यानलबाट चुनाव लडेका हुन् । बुधबार राति सम्पन्न मत गणनाको अन्तिम परिणाममा खड्का र गुरुङले बाजी मारे । देउवा पक्षका उम्मेदवार विजयकुमार गच्छदार दुई मतान्तरले पराजित भए । निर्वाचन समितिका अनुसार खड्काले २१२१ र गुरुङले १९०८ मत पाए ।

    गच्छदारले १९०६, चन्द्र भण्डारीले १५८०, सुजाता कोइरालाले ६४४, महेश आचार्यले ५८९ र दिव्यश्वरी शाहले १३२ मत ल्याएका छन् । १४ औं महाधिवेशनमा खड्का र गच्छदार देउवा प्यानलबाट, गुरुङ र भण्डारी शेखर कोइराला प्यानलबाट, सुजाता कोइराला प्रकाशमान सिंह प्यानलबाट र दिव्यश्वरी शाह विमलेन्द्र निधि प्यानलबाट उम्मेदवार बनेका थिए । आचार्य भने प्यानलमा थिएनन् ।

  • नेपालमा थप २८० जनामा कोरोना पुष्टी, ६ जना संक्रमितको निधन

    नेपालमा थप २८० जनामा कोरोना पुष्टी, ६ जना संक्रमितको निधन

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २८० जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार २१२ जनाको पीसीआर परीक्षण गर्दा २५२ जना र २७८२ जनाको एन्टिजेन परीक्षण गर्दा २८ गरी २८० जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख २५ हजार १६ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा ३०० जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ८ लाख ७ हजार ८१६ पुगेको छ । संक्रिय संक्रमितको संख्या ५ हजार ६३५ रहेको छ ।

    पछिल्लो २४ घण्टामा मृत्यु हुने संक्रमितको संख्या ६ रहेको छ । नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ५६५ पुगेको छ ।

  • साढे ५ दशकदेखि राजनीतिको मियोमा देउवा

    साढे ५ दशकदेखि राजनीतिको मियोमा देउवा

    काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट सभापतिमा प्रधानमन्त्री समेत रहेका शेरबहादुर देउवा निर्वाचित भए । कांग्रेसमा नेतृत्व परिवर्तनको लामो बहस भएपनि प्रतिनिधिले भने पुरानै अनुहारलाई उचित ठाने । जसले गर्दा साढे ५ दशक लामो राजनीतिक विरासत बोकेका देउवाले अबको ५ वर्ष कांग्रेसलाई हाक्ने जिम्मा पाएका छन् । लगातार तीन तहको निर्वाचन आइरहेको छ ।

    सोहीकारण कांग्रेसलाई निर्वाचनमा अग्रस्थानमा राख्ने अपेक्षा मतदाताको छ । त्यसो हुन नसके अपजस देउवालाई मात्र जाने छैन, उनलाई जिताउने प्रतिनिधिमा समेत जाने छ । देउवाले दोस्रो पटक भएको निर्वाचनमा शेखर कोइरालालाई हराएका हुन. ।

    यो निर्वाचनबाट कोइरालाको राजनीतिक उचाई समेत निकै माथि गएको छ । किनकी देउवा, प्रकाशमान सिंह, विमलेन्द्र निधीसहितको गठबन्धनबाट निर्वाचित भएका हुन्.। कोइराला भने एक्लै लडेका थिए । देउवाको राजनीतिक यात्रा वि.सं २०२२ बाट शुरु भएको हो । त्यसयता पाँचौँ पटक प्रधानमन्त्री हुने व्यक्तिमा उनी पर्छन् ।
    सुदूरपश्चिमको डडेलधुरामा २००३ सालमा जन्मिएका उनले विद्यार्थी जीवनबाटै राजनीति थालेका थिए । २०२२ सालमा सुदूर पश्चिमाञ्चल विद्यार्थी सङ्घबाट देउवाले आफ्नो राजनीतिक यात्रा सुरु गरे । उनी नेपाल विद्यार्थी सङ्घको संस्थापक सदस्य र सभापति समेत बने। पञ्चायत विरोधी आन्दोलनमा देउवामा पटक-पटक जेल परेका छन् । पूर्वराजा ज्ञानेन्द्र शाहको शासनकालमा पनि उनीमाथि भ्रष्टाचार अभियोग लागेको थियो । त्यसबेला पनि उनी जेल परेका थिए ।

    २०४६ सालको जनआन्दोलनपछि देउवा सुदूरपश्चिम क्षेत्रमा नेपाली कांग्रेस पार्टीको राजनैतिक प्रमुख बने । २०४८ सालमा डलेलधुराबाट सांसद बने । सोही वर्ष देउवा प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा गृहमन्त्री बने । २०५१ सालको मध्यावधि निर्वाचनपछि उनी संसद्‌मा प्रमुख प्रतिपक्षी दलको नेता बनेका थिए । २०५२ सालमा एमाले नेता मनमोहन अधिकारी नेतृत्वको अल्पमतको सरकार ढलेपछि उनी पहिलोपटक संयुक्त सरकारको प्रधानमन्त्री बने ।

    २०५२ सालमा देउवा नै प्रधानमन्त्री भएका बेला बाबुराम भट्टराई लगायतले ४० बुँदे मागपत्र बुझाए । त्यो पूरा नभएपछि सोही वर्ष फागुन १ बाट माओवादीले सशस्त्र विद्रोह थाल्यो । २०५६ सालमा डडेलधुराबाटै निर्वाचित भएका देउवा २०५८ साल साउनमा दोस्रो पटक प्रधानमन्त्री बने । सोही वर्ष असोज १८ गते राजा ज्ञानेन्द्रले उनलाई पदच्युत गरे। २०६१ साल जेठमा राजा ज्ञानेन्द्रले देउवालाई प्रधानमन्त्रीमा पुनर्स्थापित गरेका थिए ।

    २०५२ सालमा देउवा नै प्रधानमन्त्री भएका बेला बाबुराम भट्टराई लगायतले ४० बुँदे मागपत्र बुझाए । त्यो पूरा नभएपछि सोही वर्ष फागुन १ बाट माओवादीले सशस्त्र विद्रोह थाल्यो ।

    ज्ञानेन्द्रले २०६१ साल माघ १९ मा सत्ता आफ्नै हातमा लिँदै देउवालाई हटाए । त्यसपछि देउवालाई राजाले गठन गरेको शाही आयोगले भ्रष्टाचार अभियोग लगायो । गिरिजाप्रसाद कोइरालासँगको अन्तर्द्वन्द्वका कारण उनले २०५९ सालमा नेपाली कांग्रेससलाई फुटाएर नेपाली कांग्रेस (प्रजातान्त्रिक) गठन गरेर सभापति बने ।

    २०६२\६३ सालको जनआन्दोलनपछि २०६४ सालमा देउवाको उक्त पार्टी पुनः नेपाली कांग्रेसमा एकिकरण गरियो । नेपालमा गणतन्त्र स्थापनापछि देउवा २०७४ सालमा चौथो पटक प्रधानमन्त्री बने । देउवा २०७२ साल फागुनमा भएको १३औँ पार्टी महाधिवेशनबाट उनी नेपाली कांग्रेसको सभापति बने ।

  • कांग्रेसमा अन्य पदाधिकारीको मतगणना कहिलेबाट ?

    कांग्रेसमा अन्य पदाधिकारीको मतगणना कहिलेबाट ?

    काठमाडौं । नेपाली कांग्रेसमो महाधिवेशन अन्तर्गत भएको निर्वाचनको सभापतिबाहेकको मतगणना आजबाट थालनी गरिने भएको छ । सभापतिको टुंगो लागेसँगै अन्य पदाधिकारी र केन्द्रीय सदस्यको मतगणना बुधबारबाट थाल्ने तयारीमा निर्वाचन समिति छ । अहिले मतपेटिका पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिएको छ ।

    निर्वाचन समितिका अनुसार बाँकी मतगणना बुधबार अपरान्हबाट थाँलिदैछ । शुरूमा पदाधिकारीको मतगणना हुने भएको छ । ५ पुस भित्रै सबै मत परिणाम सार्वजनिक गर्ने तयारी रहेको छ । गत २४ गतेबाट शुरु भएको कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि २७ गते मतदान भएको हो ।

  • शेरबहादुर देउवा लगातार दोस्रो कार्यकालका लागि कांग्रेस सभापतिमा निर्वाचित

    शेरबहादुर देउवा लगातार दोस्रो कार्यकालका लागि कांग्रेस सभापतिमा निर्वाचित

    काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा निर्वाचित भएका छन् । उनी लगातार दोस्रो कार्यकालका लागि सभापतिमा निर्वाचित भएका हुन् । मंगलबार बिहान आएको मतपरिणाममा उनले शेखर कोइरालालाई ९०७ मतान्तरले पराजित गरे । दोस्रो चरणको मतदानमा ४ हजार ६२३ मत खसेको थियो । सभापतिमा निर्वाचित हुन २३११ मत चाहिन्थ्यो । देउवाले २७३३ मत पाए । कोइरालाको पक्षमा १८५५ मत खस्यो । ३५ मत बदर भयो ।

    सोमबार भएको पहिलो चरणको मतदानमा सभापतिमा पहिलो र दोस्रो भएका देउवा र कोइरालाबीच दोस्रो चरणको निर्वाचन भएको हो । २०७२ मा भएको कांग्रेसको १३औं महाधिवेशनमा समेत देउवाले दोस्रो चरणमा सभापति जितेका थिए । त्यो बेला रामचन्द्र पौडेल र कृष्ण सिटौला उनको प्रतिस्पर्धी थिए ।

  • सभापतिको दोस्रो चरणको मतदानमा पहिलो चरणभन्दा कम मत खस्यो

    सभापतिको दोस्रो चरणको मतदानमा पहिलो चरणभन्दा कम मत खस्यो

    काठमाडौं । कांग्रेसको नयाँ नेतृत्वका लागि भएको मतदान सकिएको छ । दोस्रो चरणमा भएको मतदान भर्खरै सकिएको हो । निर्वाचन समितिका अनुसार कुल ४७४३ मतदाता रहेकोमा ४५६२ ले भोट खसालेका छन् । यो पहिलो चरणमा खसेको मतको तुलनामा भने कम हो । पहिलो चरणमा ४६८१ मत खसेको थियो ।

    पहिलो चरणमा चार जना सभापतिका लागि लडेका थिए । उनीहरुमध्ये कसैले पनि ५० प्रतिशत मत कटाउन नसकेपछि दोस्रो चरणमा प्रवेश गरेको हो । यस चरणमा शेर बहादुर देउवा र शेखर कोइरालाबीच भिडन्त भएको छ । आजै राती मतगणना गर्ने तयारी छ ।

  • बागमती प्रदेशमा मन्त्रीमण्डल बिस्तार, को-को बने मन्त्री ?

    बागमती प्रदेशमा मन्त्रीमण्डल बिस्तार, को-को बने मन्त्री ?

    हेटौडा । बागमती प्रदेशमा मन्त्रीमण्डल बिस्तार भएको छ । मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले मङ्गलबार प्रदेशको मन्त्रिपरिषद् विस्तार गरेका हुन् । मुख्यमन्त्री पाण्डेको सिफारिशमा बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले घनश्याम दाहाल, विशाल खड्का, रत्नप्रसाद ढकाल, वसन्तप्रसाद मानन्धर र बसुन्धरा हुमागाईँ मन्त्री तथा इन्द्रमाया गुरुङ राज्यमन्त्रीमा नियुक्त गरेका छन् ।

    मन्त्रीमा नियुक्त भएकाहरुलाई प्रदेश प्रमुख शर्माले प्रदेश प्रमुखको कार्यालयमा आयोजित कार्यक्रममा पद तथा गोपनियताको सपथग्रहण गराए । राज्यमन्त्री गुरुङलाई प्रदेश प्रमुखको उपस्थितिमा मुख्यमन्त्री पाण्डेले पद तथा गोपनियताको सपथग्रहण गराएका छन् ।

    दाहालले श्रम, रोजगार तथा यातायात मन्त्रालय, मानन्धरले खानेपानी, उर्जा तथा सिँचाइ मन्त्रालय, हुमागाईँले कृषि तथा पशुपंक्षी मन्त्रालय, खड्काले वन तथा वातावरण मन्त्रालय र ढकालले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाएका छन् । गुरुङलाई कृषि तथा पशुपंक्षी राज्यमन्त्रीमा नियुक्त गरिएको छ । नवनियुक्त मन्त्री र राज्यमन्त्रीले आजै मन्त्रालयमा पदभार ग्रहण गरेका छन् ।

  • कांग्रेस सभापतिको मतगणना आज राती हुने

    कांग्रेस सभापतिको मतगणना आज राती हुने

    काठमाडौं । नेपाली कांग्रेसको सभापति निर्वाचनको मतगणना आजै राती हुने भएको छ । कांग्रेसको नेतृत्व चयनका लागि अहिले मतदान भइरहेको छ । दोस्रो चरणमा भएको मतदानको गणना मंगलबार राति १० बजेपछि गर्ने तयारी छ । पहिलो चरणमा कुनै पनि उमेदवारले ५० प्रतिशत मत कटाउन नसकेपछि दोस्रो चरणको मतदान भएको हो ।

    सभापतिका लागि शेरबहादुर देउवा र शेखर कोइराला भिडिरहेका छन् । पहिलो चरणमा देउवाले २२५८ मत र कोइरालाले १७०२ मत पाएका थिए । दोस्रो चरणमा देउवालाई पहिलो चरणका अन्य प्रत्यासी प्रंकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङले समेत समर्थन गरेका छन् । शेखर एक्लै भिडेका छन् ।

  • प्रकाशमान र निधिको समर्थन देउवालाई

    प्रकाशमान र निधिको समर्थन देउवालाई

    काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि हुने दोस्रो चरणको चुनावमा पहिलो चुनावमा पराजित प्रकाशमान सिंह र विमलेन्द्र निधिले देउवालाई नै सहयोग गर्ने भएका छन्।

    प्रकाशमानले भेट्न चाक्सीबारी पुगेका सभापतिका प्रत्यासी देउवालाई समर्थन गर्ने बताएका हुन् । दोस्रो चरणमा सहयोग माग्दै हिँड्ने निधिको निवास पुगेका देउवालाई निधिले पनि सहयोग गर्ने बताएका हुन् ।

    भेटघाटको क्रममा निधिले देउवालाई नै सहयोग गर्ने बताएको निधिको सचिवालयले जानकारी दिएको हो।

    सोमवार भएको मतदानमा कसैले पनि ५० प्रतिशत मत नल्याएपछि दोस्रो चरणको मतदान हुँदैछ ।

    प्रधानमन्त्री एवं वर्तमान सभापति शेरबहादुर देउवाले दुई हजार २५८ उनका निकटतम प्रतिद्वन्द्वी पार्टीका केन्द्रीय सदस्य डा शेखर कोइरालाले एक हजार ७ सय मत प्राप्त गरे।

    सभापतिका अन्य प्रत्यासी पूर्वमहामन्त्री प्रकाशमान सिंहले ३७१, उपसभापति विमलेन्द्र निधिले २५० र कल्याण गुरुङले २२ मत प्राप्त गरे।

    सोमबार बिहानदेखि रातिसम्म भएको मतदानमा जम्मा चार हजार ७४३ मतदातामध्ये चार हजार ६७९ मतदाताले मतदान गरेका थिए। मतदानमा कूल ७६ मत बदर भएको थियो।

    कांग्रेस विधानअनुसार सभापतिमा निर्वाचित हुन खसेको मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नु अनिवार्य हुन्छ।

  • एमालेको अवरोधकाबीच ४ अध्यादेश संसदमा पेश, बैठक एक हप्ताका लागि स्थगित

    एमालेको अवरोधकाबीच ४ अध्यादेश संसदमा पेश, बैठक एक हप्ताका लागि स्थगित

    काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले अवरोधको बीच ४ अध्यादेश संसदमा पेश भएको छ ।
    मंगलवार बसेको प्रतिनिधि सभाको १० औँ अधिवेशनको पहिलो बैठक एमालेको नाराबाजीका बीच गृहमन्त्री बालकृष्ण खाँणका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले नेपाल प्रहरी, प्रहरी प्रदेश, प्रहरी कार्यसम्पादन सुपरिवेक्षण समन्वय पहिलो संसोधन अध्यादेश २०७८, तेजाव तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेश २०७८ र सामाजिक सुरक्षा पहिलो संशोधन अध्यादेश २०७८ पेश गरे ।

    त्यस्तै भौतिक पूर्वाधार तथा संसदीय मामिलामन्त्रीको तर्फबाट पनि मन्त्री बडूले रेल्वे अध्यादेश २०७८ पेश गरे । त्यसै गरी यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७८ र फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश २०७८ पनि पेश मन्त्री बडूले बैठकमा पेश गरे ।

    सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको बैठक एक हप्ताका लागि स्थगित गरेका छन् ।

    मंगलबार संसद अधिवेशनको पहिलो बैठक बसेपछि अर्को बैठक पुस ६ गते मंगलबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको छ ।

  • कांग्रेस सभापतिमा पहिलो चरणमा कसले कति मत ल्याए ?

    कांग्रेस सभापतिमा पहिलो चरणमा कसले कति मत ल्याए ?

    काठमाडौं । कांग्रेस सभापतिको चयनका लागि पुनः मतदान हुने भएको छ । पहिलो चरणको निर्वाचनमा पहिलो र दोस्रो भएका क्रमशः शेर बहादुर देउृवा र शेखर कोइरालाबीचमा दोस्रो चरणको निर्वाचन हुने भएको हो । पहिलो चरणको निर्वाचनमा कसैले पनि ५० प्रतिशत कटाउन नसकेपछि पुनः मतदान हुने भएको हो । महाधिवेशनका ४ हजार ७ सय ४३ प्रतिनिधिहरूमध्ये ४ हजार ६ सय ७९ ले भोट हालेका थिए । पहिलो चरणमै जित निकाल्न २३४० मत चाहिन्थ्यो ।

    पहिलो चरणमा देउवाले २२५८ मत प्राप्त गरे । उनी बहुमत पाउनबाट ८२ मत पछि रहे । कोइरालाले १७२९, प्रकाशमान सिंहले ३७१ विमलेन्द्र निधिले २४९ र कल्याण गुरुङले २० मत पाए । निर्वाचन आजै हुने छ । कांग्रेसमा सभापति १, उपसभापति २, महामन्त्री २ र सहमहामन्त्री ८ सहित १३४ पदका लागि निर्वाचन भएको छ । अब अन्य पदको मतगणना थाल्ने तयारी छ ।

  • दोस्रो चरणमा देउवा र कोइराला भिड्ने निश्चित

    दोस्रो चरणमा देउवा र कोइराला भिड्ने निश्चित

    काठमाडौं । नेपाली कांग्रेसको नयाँ सभापति पदका लागि दोस्रो चरणको निर्वाचन हुने निश्चित भएको छ । मंगलबार बिहान जारी मतगणनामा कुनै पनि उमेदवारले ५१ प्रतिशत भोट कटाउन सकेनन् । पछिटल्लो अपडेट अनुसार ४५६३ मत गणना भइसकेको छ । अब १ सय मत मात्र गन्न बाँकि छ । जसमा शेर बहादुर देउवाको २१४२ मत आएको छ । शेखर कोइरालाको १७०८ भोट आएको छ । विमलेन्द्र निधीको २४५, प्रकाशमान सिंहको ३५५ र कल्याण गुरुंगको २० भोट आएको छ । अब शेर बहादुर देउवा र कोइरालाबीच पुनः सभापति पदका लागि आजै मतदान हुने छ ।

  • पहिलो चरणमा सभापति निर्वाचित हुन कठिन

    पहिलो चरणमा सभापति निर्वाचित हुन कठिन

    काठमाडौं । नेपाली कांग्रेसको सभापतिका लागि भएको निर्वाचनको मतगणना जारी छ । पछिल्लो अपट अनुसार सभापतिमा शेर बहादुर देउवाले अग्रता लिएका छन् । तर, उनी एक्लैले ५१ प्रतिशत भोट ल्याउन सक्ने सम्भावना कम छ । अहिलेसम्म कुल ४२७६ भोट गणना भएको छ । खसेको मत ४६७१ हो । यस अवस्थामा जितका लागि २३४० भोट ल्याउनु पर्छ ।

    पछिल्लो अपडेटमा देउवाले २०४६, शेखर कोइरालाले १६१५, प्रकाशमान सिंहले ३३५, विमलेन्द्र निधीले २३८ र कल्याण गुरुंगले २० भोट पाएका छन् । पहिलो चरणमा ५१ प्रतिशत भोट नआएमा आजै पहिलो र दोस्रो हुनेबीच मतदान हुने छ ।

  • कांग्रेस सभापति : शेरबहादुरको अग्रता, ५१ प्रतिशत ल्याउने सम्भावना कति

    कांग्रेस सभापति : शेरबहादुरको अग्रता, ५१ प्रतिशत ल्याउने सम्भावना कति

    काठमाडौं । नेपाली कांग्रेसको नयाँ सभापति चयन गर्न जारी निर्वाचन मतगणनामा शेरबहादुर देउवाले अग्रता लिएका छन् । बिहान ८ः२० सम्मको अपडेट अनुसार कुल ३९७७ मत गनिएको छ । यसमध्ये देउवाले १९०० मत पाएका छन् । शेखर कोइरालाले १४६७ मत पाएका छन् । प्रकाशमान सिंहले २९६ मत पाउँदा विमलेन्द्र निधीले २३० मत पाएका छन् । कल्याण गुरुङले मात्र २० मत पाएका छन् । सभापतिमा निर्वाचित हुन ५१ प्रतिशत भोट ल्याउनुपर्छ ।

    मंगलबार बिहान पौने ४ बजेदेखि मतगणना सुरु भएको हो । पहिलो चरणमा सभापतिको मतगणना सुरु भएको हो । बिहान ११ बजे सुरु भएको मतदान राति साढे ११ बजे सम्पन्‍न भएको थियो । कूल ४ हजार ७ सय ४३ मतदातामध्ये ४ हजार ६ सय ७९ मत खसेको थियो । सभापतिका कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत कटाउन नसकेमा शीर्ष दुईबीच दोस्रो चरणमा प्रतिस्पर्धा हुनेछ ।

  • कांग्रेसमा मतदानको झमेला, १०:३० सम्म लम्बियो मतदान गर्ने समय

    कांग्रेसमा मतदानको झमेला, १०:३० सम्म लम्बियो मतदान गर्ने समय

    काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि अहिले मतदान भइरहेको छ । मतपत्र छपाईमा ढिला भएको भन्दै बिहान अबेर शुरु भएको मतदान अहिले पनि जारी रहेको छ । कांग्रेसको निर्वाचन समितिले ९ बजेसम्मका लागि तोकिएको अवधिमा मतदान नसकिएपछि सो समय साढे १० बजेसम्मका लागि लम्ब्याइएको छ । एकातर्फ मतपत्र नपुगेको भन्दै मतदान रोकिएको थियो । सोही अवसरमा आज केहीबेर प्रतिनिधिले होहल्ला समेत गरेका थिए ।

    नेतृत्व चयनका लागि नेपाली कांग्रेसको जारी मतदान लगत्तै सभापति पदको मत गणना शुरु हुने निर्वाचन समितिले जनाएको छ । निर्वाचनमा ४ हजार ७ सय ४३ जना प्रतिनिधि सहभागी रहेका छन् । कांग्रेसको सभापति पदका लागि शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ प्रतिस्पर्धा गरिरहेका छन् ।

  • नेपालमा भेटिएन कोमिक्रोनको थप संक्रमण

    नेपालमा भेटिएन कोमिक्रोनको थप संक्रमण

    काठमाडौं । नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन नफैलिएको पुष्टी भएको छ । पहिलो पृष्टि भएयता आइतबारसम्म टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (एनपीएचएल)मा एक हजार ८ सय जनाको जीन सिक्वेन्सिङ गरिएको थियो । जसमा थप व्यक्तिमा ओमिक्रोन पुष्टी नभएको प्रयोगशालाले जनाएको छ ।
    नेपालमा १९ मंसिरमा पहिलो पटक ओमिक्रोन पुष्टी भएको हो । त्यसपछि प्रयोगशालामा सबै प्रदेशबाट एक हजार ८ सय स्याम्पल परिक्षण गरिएको थियो ।

    कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भएका दुई जना व्यक्तिको समेत पीसीआर रिपार्ट नेगेटिभ आइसकेको छ । नेपालमा ६६ वर्षीय विदेशी नागरिक र उनको सम्पर्कमा आएका ७१ वर्षीय वृद्धमा जिन सिक्वासिङ गर्दा ओमिक्रोन संक्रमण पुष्टि भएको थियो। दुई व्यक्तिसँग सम्पर्कमा आएकाको कन्ट्याक्ट ट्रेसिङगमा रहेका ६६ जनाको पिसिआर परीक्षण गर्दा कोरोना नेगेटिभ रिर्पोट आएको थियो ।

  • प्रचण्ड भन्छन् -‘शेयर बजारका साना लगानीकर्ताको हितप्रति प्रतिबद्ध छौँ, कोही भ्रमित नहुनु’

    प्रचण्ड भन्छन् -‘शेयर बजारका साना लगानीकर्ताको हितप्रति प्रतिबद्ध छौँ, कोही भ्रमित नहुनु’


    काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले आफनो पार्टी शेयर बजारका साना लगानीकर्ताको हित संरक्षण गर्न प्रतिबद्ध रहेको बताएका छन् ।

    शनिबार पार्टीको प्रदेश सम्मेलनको उद्घाटनका क्रममा उनले पूँजीको लगानी पूँजीमा नै हुँदा उद्योगधन्दाको विकास नभएको र वित्तीय पूँजीवादको विस्तारले समग्रमा जनताको हित नगर्ने बताएका थिए ।

    शेयर बजार विरोधी वक्तव्य आएको भन्दै प्रश्न उठेपछि अध्यक्ष दाहालले आफूले सैद्धान्तिक रुपमा राखेको विषयमा उत्तिकै प्रतिबद्ध रहेको र त्यो एकदमै सही भएको दोहोर्‍याए ।

    अध्यक्ष दाहालका स्वकीय सचिव रमेश मल्लले भने, ‘अध्यक्ष प्रचण्डले मन्तव्यका क्रममा राखेको सैद्धान्तिक विषय एकदम सही छ ।’ उनले अहिलेको नेपाली पूँजी/शेयर बजारमा लगानीकर्ताको लगानी संरक्षण गर्न, त्यसमा अझ बढी साना लगानीकर्ताको हित संरक्षण गर्न प्रतिबद्ध रहेको बताए ।

    स्वकीय सचिव मल्लले साना लगानीकर्ताको हित र उनीहरुको लगानीको सुरक्षाका लागि पार्टीले सचेत पहल र प्रयत्न गर्ने स्पष्ट पारे । उनले कोही पनि भ्रमित हुन र यस विषयलाई अनावश्यक राजनीतिक मुद्दा बनाउनुको कुनै तुक नभएको उल्लेख गरे ।

  • महाधिवेशन प्रक्रियाबाट अलग भएका पौडेलले राखे चियापानको कार्यक्रम

    महाधिवेशन प्रक्रियाबाट अलग भएका पौडेलले राखे चियापानको कार्यक्रम

    काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीका महाधिवेशन प्रतिनिधिहरुसँग चियापन–छलफलको आयोजना गरेका छन् ।

    पार्टीको जारी १४औं महाधिवेशनको क्रममा अस्वस्थ प्रतिष्पर्धा भएको भन्दै महाधिवेशनको प्रक्रियाबाट नै अलग भएको घोषणा गरेका नेता पौडेलले भोलि ९मंगलबार० महाधिवेशन प्रतिनिधिहरुसँग अन्तरक्रिया गर्ने भन्दै चियापानको कार्यक्रम आयोजना गरेका छन् ।

    पौडेलले महाधिवेशनमा मतदान पनि बहिष्कार गरेका छन् । उद्घाटनसत्रमा पुगेका पौडेल त्यसपछि भने बाहिर नै बस्ने घोषणा गरेका छन् ।

    पौडेलको सचिवालयले भने महाधिवेशनमा सहभागी हुन आएका सबै प्रतिनिधिहरुलाई भोलिको चियापानको लागि निम्तो दिईसकेको एक नेताले जनाए । उक्त कार्यक्रम भने लैनचौरस्थित् एक ब्यांक्वेटमा आयोजना गरिने भएको छ ।

  • रामचन्द्र पौडेलले मतदान बहिष्कार गर्ने

    रामचन्द्र पौडेलले मतदान बहिष्कार गर्ने

    काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि हुने मतदानमा नजाने भएका छन् । उनले जारी १४औं महाधिवेशनमा सभापतिका प्रतिस्पर्र्धी शेर बहादुर देउवा विरुद्ध विपक्षीको साझा उमेदवार उठाउन चाहेका थिए ।

    तर, नेताहरुको अडानका कारण त्यो सम्भव नभएपछि निरास बनेका उनले मतदान प्रक्रिया नै बहिष्कार गर्ने भएका हुन् । पौडेलका स्वकीय सचिव चिरञ्जिवी अधिकारीलाई उदृत गर्दै स्थानीय संचारमाध्यमले जनाए अनुसार उनले मतदानमा भाग नलिने जानकारी गराएका छन् । पौडेलले केन्द्रीय सदस्य पदमा समेत उम्मेदवारी दिएका छैनन् । कांग्रेसको नयाँ नेतृत्वका लागि आज मतदान हुने छ ।

  • कांग्रेसमा नयाँ नेतृत्वका लागि आज मतदान

    कांग्रेसमा नयाँ नेतृत्वका लागि आज मतदान

    काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वका लागि मतदान शुरु भएको छ । १४ औं महाधिवेशनअन्तर्गत आज मतदान हुँदैछ । सभापति पदमा पाँच जनाबीच प्रतिस्पर्धा भइरहेको छ । शेरबहादुर देउवा, प्रकाशमान सिंह, शेखर कोइराला, विमलेन्द्र निधि र कल्याण गुरूङ नेतृत्वको होडमा छन् । बिहान ८ बजेबाट मतदान सुरू भएको हो ।
    मतदानका लागि प्रदर्शनीमार्गमा तीन मतदान स्थल तोकिएका छन्। भृकुटीमण्डप, नेपाल पुलिस क्लव र राष्ट्रिय सभा गृहमा मतदान स्थल छ । मत खसाल्न एक हजार एक सय बुथ तयार गरिएका छन्। महाधिवेशनमा ४७४३ जना प्रतिनिधि छन्। एक महाधिवेशन प्रतिनिधिलाई मतदान गर्न करिब ४५ मिनेटसम्म लाग्ने अनुमान छ। २९ मतपत्रमा मत दिनुपर्ने भएकोले समय लाग्नेछ ।

    १२१ केन्द्रीय सदस्य र १३ पदाधिकारीका लागि निर्वाचन जारी छ । मतदान सुरू भएको करिब १० घन्टामा मतदान सकिने निर्वाचन समितिको अनुमान छ। मतदान सकिएपछि सभापति पदका लागि भने गणना सुरू हुनेछ।

    उपसभापतिलगायत अन्य पदका लागि भने मतबाकस पार्टी केन्द्रीय कार्यालय सानेपामा लगेर शिलबन्दी गरेर राख्ने तयारी छ।

    सभापति पदको मतपरिणाम आइसकेपछि कुनै उम्मेदवारले ५० प्रतिशत मत कटाएमा मात्रै अरू पदका लागि भएको मतदानको मतगणना सुरू हुनेछ। कसैले पनि ५० प्रतिशत मत नकटाएमा सभापति पदमा २८ गत पुनः मतदान हुनेछ ।

  • एमालेका पदाधिकारीको तोकियो वरियताक्रम, गोकर्ण र योगेश पुछारमा

    एमालेका पदाधिकारीको तोकियो वरियताक्रम, गोकर्ण र योगेश पुछारमा

    काठमाडौं । नेकपा एमालेले पदाधिकारी बनेका पार्टीका नेताहरूको वरीयताक्रम तोकेको छ । आइतवार भक्तपुरमा बसेको केन्द्रीय कमिटी बैठकले पदाधिकारीहरूको वरीयताक्रम तोक्ने निर्णय गरेको हो । वरीयताक्रम अनुसार अध्यक्ष केपी ओली पहिलो र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल दोस्रोमा रहने भएका छन् । उपाध्यक्षमा युवराज ज्ञवाली पहिलो, रामबहादुर थापा दोस्रो, विष्णु पौडेल तेस्रो, सुवास नेम्वाङ चौथो र सुरेन्द्र पाण्डे पाँचौँ वरीयतामा रहने भएका छन् ।

    महासचिव शंकर पोखरेलपछि उपमहासचिवमा प्रदीप ज्ञवाली पहिलो, पृथ्वीसुब्बा गुरुङ दोस्रो र विष्णु रिमाल तेस्रो वरीयतामा रहेका छन् । सचिवहरूमा टोपबहादुर रायमाझी पहिलो, लेखराज भट्ट दोस्रो, रघुवीर महासेठ तेस्रो, छविलाल विश्वकर्मा चौथो, गोकर्ण विष्ट पाँचौँ, योगेश भट्टराई छैटौँ र पद्मा अर्याल सातौँ नम्बरमा परेका छन् । एमालेमा गोकर्ण र योगेश पुछारमा पर्दा माओवादी त्यागेर आएका नेताहरुले भने वरियतामा समेत छलांग मारेका छन् ।

  • दाङमा जिप दुर्घटना, तीनको मृत्यु

    दाङमा जिप दुर्घटना, तीनको मृत्यु

    दाङ । दाङमा भएको जिप दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार जिल्लाको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ सिरखोला नजिकै जीप दुर्घटनामा तीन जनाको मृत्यु भएको हो । दुर्घटनामा कपुरकोट गाउँपालिका वडा नम्बर ३ का ४८ बर्षिय प्रेम प्रकाश शर्मा, सोही गाउँपालिका वडा नम्बर ४ का सौनी घर्ती र लालमती खड्काको मृत्यु भएको प्रहरीलाई उदृत गर्दै स्थानीय संचारमाध्यमले जनाएका छन् ।

    दुर्घटनामा परी १९ जना घाईते भएका छन् । घाईते मध्ये छ जनालाई थप उपचारका लागि नेपालगन्ज पठाइएको छ । १३ जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार जारी छ । तुलसीपुरबाट सल्यानको सिमपानी जादै गरेको रा १ ज ४३८ नम्बरको जिप तुलसीपुर ३ सिरखोला नजिक आईतवार अपरान्ह चार बजे दुर्घटनामा परेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

  • नेपालमा थप २५४ जनामा कोरोना पुष्टी, उपत्यकामा थपिए १५४ संक्रमित

    नेपालमा थप २५४ जनामा कोरोना पुष्टी, उपत्यकामा थपिए १५४ संक्रमित

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २५४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार २६८ जनाको पीसीआर परीक्षण गर्दा २४२ जना र २४१४ जनाको एन्टिजेन परीक्षण गर्दा १२ गरी २५४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख २४ हजार २२२ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा २३४ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ८ लाख ६ हजार ७७८ पुगेको छ । संक्रिय संक्रमितको संख्या ५ हजार ८९० रहेको छ ।

    पछिल्लो २४ घण्टामा मृत्यु हुने संक्रमितको संख्या १ रहेको छ । नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ५५४ पुगेको छ ।

    काठमाडौं उपत्यकामा १५४ संक्रमित थपिएका छन्।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ११९, ललितपुरमा ३० र भक्तपुरमा ५ संक्रमित छन्।

    यस्तै, काठमाडौं उपत्यकामा १७६५ सक्रिय संक्रमित छन्।जसमध्ये काठमाडौंमा ६९०, भक्तपुरमा ४७४ र ललितपुरमा ६०१ सक्रिय संक्रमित छन्।

  • नेपाली सेयर बजारमा उच्च अंकको गिरावट

    नेपाली सेयर बजारमा उच्च अंकको गिरावट

    काठमाडौं । शेयर बजारमा उच्च अंकको गिरावट आएको छ । साताको कारोबारको पहिलो दिन शेयर बजार मापक सूचक नेप्से ८८.७० अंकले घटेर २३६१.२७ विन्दुमा झरेको छ ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार २२८ कम्पनीको ३ अर्ब १९ करोड ९१ लाख ७२ हजार २५१ रुपैयाँ बराबरको ७२ लाख २३ हजार २४० कित्ता शेयर किनबेच भएका छन् ।

    आज कारोबारमा आएका १३ समूहको परिसूचक राताम्मे भएका छन् । बैंकिङ समूहको शेयर ४४ अङ्कले, विकास बैंकको दुई सय ८१, होटलको ८७ , फाइनान्सको १००, माइक्रोफाइनान्सको १८६ र जलविद्युत् समूहको शेयर १२४ ले घटेको छ ।

    यस्तै उत्पादन समूहको शेयर १८६ अङ्कले, जीवन बीमा समूहको ५०७ अङ्कले, निर्जीवन बीमा समूहको ४९० घटेको छ । र अन्य समूहको शेयर ६३ अङ्कले घटेको छ । आइतबार सबैभन्दा बढी मञ्जुश्री फाइनान्सको कारोबार भएको छ । ञ्जुश्री को १९ करोड ७७ लाख रुपैयाँको कारोबार भएको छ ।

    सबैभन्दा धेरै गुमाउने १० वटा कम्पनीका लगानीकर्ता परेका छन् । जसमा सबैभन्दा धेरै नयाँ सारथी लघवित्तका लगानीकर्ताको लगानी १० प्रतिशतभन्दा बढीले घटेको छ ।

    त्यस्तै ९ प्रतिशतभन्दा बढी शेयर मूल्य घट्नेमा कालिका पावर, जानकी फाइनान्स, जोशी हाइड्रो पावर, समता घरेलु लघुवित्त, मैलुङ खोला जलविद्युत,स्वाभिमान लघुवित्त र लक्ष्मी इक्वटी फण्ड रहेका छन् ।

    मौद्रिक नीतिको समीक्षापछि निरन्तर ओरालो लागेको शेयर बजार आइतबार चालु आर्थिक वर्षकै न्यून बिन्दुमा झरेको छ।

    गत आर्थिक वर्ष २०७७/०७८ को अन्तिम दिन असार ३१ गते बजार ३०२२.११ मा पुगेर रोकिएको थियो।

    नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/०७९ को मौद्रिक नीति २०७८ साउन २९ मा जारी गर्दा सेयर कर्जामा व्यक्तिगत तर्फ ४ करोड र संस्थागत १२ करोडको सीमा तोकेसँगै बजार निरन्तर ओरालो लागि रहेको छ ।

    राष्ट्र बैंकले अघिल्लो सार्वजनिक गरेको समीक्षामा शेयर धितो राखेर लिइने कर्जाको सीमामा कुनै पनि हेरफेर नगरेपछि लगानीकर्ताहरु आत्तिए बिक्रीको चाप बढ्दै गएको छ । जसका कारण शेयर बजारमा भारी गिरावट आइरहेको छ ।

  • एमाले केन्द्रीय कमिटीमा दुर्गा प्रसाईंसहित ४३ जना मनोनित (सूचीसहित)

    एमाले केन्द्रीय कमिटीमा दुर्गा प्रसाईंसहित ४३ जना मनोनित (सूचीसहित)

    काठमाडौं । नेकपा एमालेले केन्द्रीय कमिटी सदस्यमा १० प्रतिशत सदस्य मनोनित गरेको छ । शनिबारदेखि भक्तपुरमा जारी पार्टीको केन्द्रीय कमिटी बैठकले केहि नेताहरुलाई मनोनित गरेको हो ।

    एमालेको मनोनयनमा परेकाहरूमा दुर्गा प्रसाई, विशाल भट्टराई, लालबाबु पण्डितलगायतका नेताहरू छन् । चितवनमा सम्पन्न पार्टीको दशौं महाधिवेशनमा केपी शर्मा ओलीसँग अध्यक्ष पदमा पराजित भएका नेता भीम रावल भने मनोनीतमा परेनन् । केन्द्रीय सदस्यमा मनोनित हुन उनले नमानेको बताइएको छ ।

    यस्ताे छ मनोनितमा परेकाहरूको सूची:

    मानवीर राई
    ऐन महर
    चन्द्रमोहन गौचन
    रतननाथ योगी
    दल फडेरा
    रमेश पौडेल
    सूर्य पाठक
    हरि घिमिरे
    पदम गिरी
    युवराज बाँस्कोटा
    यज्ञबहादुर बोगटी
    विशाल भट्टराई
    बद्री न्यौपाने
    रुपनारायण श्रेष्ठ
    उद्धव रेग्मी
    प्रेम दंगला
    भीम केसी
    सुवास देवकोटा
    हरिकृष्ण व्यञ्जनकार
    इन्दिरा गौतम
    सरस्वती चौधरी
    लालबाबु पण्डित
    यमुना रोका
    कल्पना चापागाईँ
    आशा विक
    उमा कोइराला
    नैनकला ओझा
    मञ्जु गुरुङ
    इन्दिरा सञ्जेल
    विमला अर्याल
    गीता कार्की
    शान्ति अधिकारी
    रुक्मिणी राना
    तारादेवी गुरुङ
    सविता यादव
    विषमलाल अधिकारी
    रेशम लामा
    गोविन्द दुवाल
    दुर्गा प्रसाई
    चन्द्रबहादुर विश्वकर्मा
    सहदेव बोटी
    बालसिंह काउछा
    कृष्ण केसी

  • कांग्रेस महाधिवेशन: सभापति, सहमहामन्त्रीसहित ५५ जनाले लिए उम्मेदवारी फिर्ता

    कांग्रेस महाधिवेशन: सभापति, सहमहामन्त्रीसहित ५५ जनाले लिए उम्मेदवारी फिर्ता

    काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत अहिले उम्मेदवारी फिर्ता लिने समय ५५ जनाले मनोनयन फिर्ता लिएको लिएका छन् ।

    आइतवार दिउँसो एक जना सभापति, एक सहमहामन्त्री र ५३ केन्द्रीय सदस्यका उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका हुन् ।

    ६० जनाले उम्मेदवारी फिर्ताका लागि निवेदन दिए पनि ५ जनाको प्रकिया नमिलेको भन्दै फिर्ता नभएको निर्वाचन समितिले जनाएको छ ।

    एक सय ३४ केन्द्रीय कमिटीका लागि शनिबार भएको मनोनयन दर्ताका क्रममा पाँच सय ४८ जनाले उम्मेदवारी दिएका थिए ।

    जसमध्ये आइतबार दिउँसो सभापतिका प्रत्यासी युवराज न्यौपाने, सहमहामन्त्रीका प्रत्यासी (थारुतर्फ) सुरेन्द्रप्रसाद चौधरीले मनोनयन फिर्ता लिएका छन् ।

    चौधरीले संस्थापन पक्षबाट उम्मेदवारी दिएका थिए । तर, संस्थापनको प्यानलमा बाराका उमाकान्त चौधरीले मनोनयन दर्ता गरेकाले सभापति शेरबहादुर देउवाको आग्रहमा सुरेन्द्रले आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन् । उमाकान्त कृष्णप्रसाद सिटौला पक्षबाट सहमहामन्त्रीको उम्मेदवार बनेका हुन् ।

    कांग्रेसमा खुला, आरक्षित, महिला, दलित, मुसलमान, पिछडिएको क्लस्टरतर्फका ५८ केन्द्रीय सदस्यका उम्मेदवारले मनोनयन फिर्ता लिएका हुन् ।

  • कांग्रेसको नेतृत्व होडबाट बाहिरिएका पौडेललाई निवासमै पुगेर सभापति देउवाले भेटे

    कांग्रेसको नेतृत्व होडबाट बाहिरिएका पौडेललाई निवासमै पुगेर सभापति देउवाले भेटे

    काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापति शेर बहादुर देउवालाई टक्कर दिन आफुलाई सभापतिको उमेदवार मान्न आग्रह गरेका वरिष्ठ नेता रामचन्द्र पौडेललाई उनकै समूहमा बढी आकंक्षी देखिएपछि चित्त दुख्यो । त्यसो नभए आफ्नो समूहबाट सर्वसम्मत नेतृत्वको उमेदवार छान्ने उनको चाहना थियो । सोहीकारण उनले आफु सभापतिको दौडबाट बाहिरिएको घोषणा गरे । उनले शेखर कोइरालालाई आफ्नो समर्थन हुने बताए ।

    महाधिवेशनमा अपमानित महसुश गरेका नेता रामचन्द्र पौडेललाई भेट्न प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास बोहराटारमै पुगेका छन् । सभापतिमा उम्मेदवारी दिएको केही घन्टापछि नै देउवा शनिबार राती पौडेल निवास बोहराटार पुगेर हुन् । सभापति देउवाले पौडेललाई राजनीतिबाट बाहिर नजान आग्रह गरेको स्रोतले जनाएको छ ।

    उनले पौडेलको स्वास्थ्य अवस्थाबारे सोध्दै ख्याल गर्न भनेका थिए । पौडेलले भने महाधिवेशनमा आफ्नो सिद्धान्त र आदर्शबाहिर गएर प्रतिस्पर्धा भइरहेको भन्दै चित्त दुखाएका थिए । पौडेलले उम्मेदवारी दर्ता गरेकालाई स्वस्थ प्रतिस्पर्धा गर्न भनेका छन् । पौडेल समूहमा प्रकाशमान सिंह र शेखर कोइराला सभापतिको होडमा छन् ।