सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा जन्ती बोकेको बस दुर्घटनामा परि चालकको मृत्यु भएको छ । जिल्लाको बलेफी – ४ मा जन्ती बोकेको बस दुर्घटनामा परेको हो । दुर्घटनामा आठ जना घाइते भएको प्रहरीले जनाएको छ । बा २ ख ५६१४ नम्बरको बस दुर्घटना शनिबार राति नौ बजे दुर्घटनामा परेको थियो । चालक बलेफ(६ का राजु तामाङको मृत्यु भएको छ ।घाइतेको खाडीचौर र धुलिखेल अस्पतालमा उपचार जारी छ । बलेफी – ५ का सन्तोष भूजेलको बिहेको जन्ती लिएर बस काभ्रेको भुम्लु जाँदै गर्दा दुर्घटनामा परेको हो ।
Category: समाचार
-

कांग्रेसमा झण्झटिलो मतदान, एक जनालाई १ घण्टासम्म लाग्ने
काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा हुने निर्वाचनको मतदानमा झण्झटिलो प्रक्रियाका कारण लामो समय लाग्ने भएको छ । एक जना मतदाताले पदाधिकारी सहित १३४ जना उम्मेदवारका लागि कुल २९ वटा मतपत्रमा मतदान गर्नुपर्ने छ । सोहीकारण एक जना महाधिवेशन प्रतिनिधिलाई मतदान गर्न आधा घण्टादेखि एक घण्टासम्म समय लाग्ने छ । निर्वाचन समितिका अनुसार ूसभापति, हरेक पदाधिकारी र फरक समूहबाट उम्मेदवार बन्नेहरूका लागि छुट्टाछुट्टै मतपत्र बनाइएको छ ।
सोहीकारण २९ वटा मतपत्र हुने भएका हुन् । मतपत्र खसाल्ने ठाउँ समेत २९ वटा नै बनाइएको छ । कांग्रेसको पार्टी विधान अनुसार सभापतिमा निर्वाचित हुन ५० प्रतिशत मत कटाउनुपर्छ । ५० प्रतिशत भन्दा बढी मत नआए सबैभन्दा बढी मत आउने दुई जना उम्मेदवारबीच पुनः मतदान हुन्छ । शुरुमा सभापतिको मतगणना हुने र त्यसपछि अन्यको गर्ने तयारी छ ।
महाधिवेशनस्थलमा सोमवार बिहान ८ बजेबाट मतदान सुरु हुनेछ । मतदान स्थलमा एक पटकमा करिब एक हजार जना अटाउन सक्ने व्यवस्था गरिएको छ। तीन फरक ठाउँबाट मतदाताहरू मतदान स्थलमा प्रवेश गर्नेछन् । महाधिवेशनमा ४ हजार ७०० भन्दा बढी मतदाता छन् ।
-

कर्णालीमा एमबीबीएस पढाई शुरु, राष्ट्रपतिले शुभारम्भ गर्दै
जुम्ला । आज राष्ट्रपति विद्यादेवि भण्डारी कर्णालीको जुम्ला जाने कार्यक्रम तय भएको छ । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा एमबीबीएसको औपचारिक रुपमा शुभारम्भ गर्न राष्ट्रपति जुम्ला जाने भएकी हुन् । एमबीबीएस लगायत शैक्षिक कार्यक्रमको आज राष्ट्रपति विद्या भण्डारीले शुभारम्भ गर्ने प्रतिष्ठानले जनाएको छ । एमबीबीएस कार्यक्रम शुभारम्भका लागि बिहान ११ बजे हेलिकोप्टरमा राष्ट्रपति भण्डारी जुम्ला पुग्नेछिन् ।
राष्ट्रपतिले ७६ करोडमा बन्न लागेको क्वार्टर र एकेडेमिक भवनको शिलान्यास गर्ने छिन् । एमबीबीएस, बीएनएस, बीफार्मा लगायतका शैक्षिक कार्यक्रमको समेत शुभारम्भ आजै हुने छ । राष्ट्रपति जुम्ला आउने भएपछि कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियार र नेपाल सरकारका स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री भवानीप्रसाद खातुन जुम्ला पुगेका छन् । एमबीबीएसमा १९, बीपीएचमा ८, बीएनएसमा १६, बीफार्मामा ८ र बीएमएसमा ११ विद्यार्थी भर्ना भएका छन् । यहाँ छात्रवृत्तिका विद्यार्थी मात्र भर्ना भएका छन् ।
-

नेपालमा २३६ जनामा कोरोना पुष्टी, ३०७ जनाले जिते
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा दुई सय ३६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी नौ हजार एक सय ७८ जनाको नमूना परीक्षण गर्दा दुई दशमलव ५७ प्रतिशत अर्थात दुई सय ३६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । पछिल्लो २४ घण्टामा तीन सय सात जना कोरोना सङ्क्रमित निको भएका छन् ।
यो सहित नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या आठ लाख ६ हजार पाँच सय ४४ जना पुगेको छ । थप एक जनासहित कोरोना भाइरसको कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार पाँच सय ५३ जना पुगेको छ । नेपालमा पाँच हजार आठ सय ८३ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् ।
पछिल्लो २४ घण्टामा दुई लाख ६६ हजार नौ सय ८८ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । नेपालमा अहिलेसम्म दुई करोड पाँच लाख एक हजार आठ सय १० मात्रा कोरोना विरुद्धको खोप प्रयोग भएकोमा ९२ लाख ४१ हजार दुई सय ६१ जनाले पूर्ण मात्रा र एक करोड १२ लाख ६० हजार पाँच सय ४९ जनाले कम्तीमा पहिलो मात्रा खोप लगाएका छन् ।
-

कांग्रेस सभापतिका लागि ६ जना उमेदवार, रामचन्द्र पौडेल लडेनन्
काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट नयाँ नेतृत्व चयन हुँदैछ । यसका लागि आज भएको उम्मेदवारी मनोनयनमा कुल ६ जनाले सभापतिका लागि आवेदारी दिएका छन् । शनिबार अपरान्ह ५ बजेसम्म मात्र उम्मेदवारी दर्ता गर्न पाउने समय थियो । त्यसअवधिसम्म सभापति पदमा शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, कल्याण गुरुङ र युवराज न्यौपानेले मनोनयन दर्ता गराए ।
सभापतिको दौडबाट रामचन्द्र पौडेल भने बाहिरिएका छन् । उनले देउवा इत्तर समूहमा सहमति नजुटेपछि दावेदारी छाडेका हुन् । उपसभापतिमा विजय गच्छदार, पूर्णबहादुर खड्का, धनराज गुरुङ, चन्द्र भण्डारी, सुजाता कोइराला र दिव्यश्वरी शाहले मनोनयन दर्ता गराए । गच्छदार र खड्का देउवाको प्यानल, गुरुङ र भण्डारी कोइरालाको प्यानल, सुजाता कोइराला प्रकाशमान सिंह प्यानल र दिव्यश्वरी शाहले विमलेन्द्र निधिको प्यानलबाट उम्मेदवारी दिए । महामन्त्रीमा डा. प्रकाशशरण महत, प्रदीप पौडेल, डा. मिनेन्द्र रिजाल, गगन थापा, विश्वप्रकाश शर्मा र डा. राजाराम कार्कीको मनोनयन परेको छ ।
८ सहमहामन्त्रीका १९ जना भिड्दैछन् । देउवा समूहबाट महिला कोटाको सहमहामन्त्रीमा महालक्ष्मी उपाध्याय डिना, जनजातिबाट भीष्मराज आङ्देम्बे, दलितबाट मानबहादुर विश्वकर्मा, मधेशीबाट महेन्द्र यादव, खस आर्यबाट किशोरसिंह राठौर, थारुबाट उमाकान्त चौधरी, अल्पसंख्यकबाट फरमुल्लाह मन्सुर ९बारा० र पिछडिएको क्षेत्रबाट जीवनबहादुर शाही उम्मेदवार छन् ।
शेखर कोइराला समूहबाट सहमहामन्त्रीको उम्मेदवारमा खस आर्यबाट देवराज चालिसे, पिछडिएको क्षेत्रबाट बद्री पाण्डे, दलितबाट जीवन परियार, महिलाबाट कमला पन्त, जनजातिबाट विकास लामा, मधेसीबाट रामकृष्ण यादव र थारुबाट तेजुलाल चौधरी र अल्पसंख्यबाट शेख वकिलले उम्मेदवारी दिएका छन् ।
सहमहामन्त्रीमा यीबाहेक सुरेन्द्रप्रसाद चौधरी, रञ्जित कर्ण, गंगा सुनार र चेतराज बरालको उमेदवारी परेको छ । खुलातर्फको ३५ जना केन्द्रीय सदस्यका लागि १०९ जनाको उम्मेदवारी परेको छ । कुल १२१ केन्द्रीय सदस्यका लागि ५०९ जनाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ ।
-

कांग्रेसमा आज १३४ पदमा मनोनयन दर्ता
काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा चुनावी प्रंक्रिया शुरु भएको छ । यसअन्तर्गत नेतृत्व चयनको प्रक्रियामा आज मनोनयन दर्ता समेत हुँदैछ । अर्थातः उमेदवारको टुंगो आज लाग्दैछ । केन्द्रीय निर्वाचन समितिले शुक्रबार बेलुका मतदाताको अन्तिम नामावली प्रकाशन गरेको छ । शनिबार बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यक्रम रहेका छ ।
शनिबार केन्द्रीय सभापति, उपसभापति, महामन्त्री र सहमहामन्त्रीसहित १३४ पदमा उम्मेदवारको मनोनयन गर्ने कार्यक्रम रहेको छ । आइतबार उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने भएको छ । सोमबार बिहान ८ बजेदेखि मतदानको कार्यतालिका छ ।
उम्मेदवारले मनोनयन फिर्ता लिन चाहेमा आइबार बिहान ११ बजेसम्ममा फिर्ता लिन सक्नेछन् । मतदान राष्ट्रिय सभा गृह र भृकुटी मण्डपमा हुनेछ । कांग्रेस महाधिवेशनमा ४ हजार ७ सय ४३ जना मतदाता छन् । -

कांग्रेसमा देउवा इत्तर समूहमा जुटेन सहमति, प्रकाशमानले छुट्टै दावेदारी दिने
काठमाडौं । नेपाली कांग्रेसमा सभापति देउवा इत्तर समूहले सभापतिको साझा उमेदवार खडा गर्न नसक्ने भएको छ । नेता प्रकाशमान सिंहले आज उमेदवारी दर्ता गराउने तयारी गरेका छन् । उनले नेत्री सुजाता कोइरालालाई उपसभापतिमा राखेर आफ्नो उम्मेदवारी दर्ता गराउने तयारी गरेको बुझिएको छ ।
यसअघि देउवा इत्तर समूहले छुट्टाछुट्टै लड्दा स्वतः देउवाले जित्ने भन्दै उमेदवारी साझा बनाउन ठूलो प्रस्ताव गरेका थिए । शुक्रबार अबेरसम्मको प्रयासमा पनि प्रकाशमान सहमत नभएपछि अब साझा उमेदवार नहुने भएको हो । कांग्रेसको निर्वाचन प्रक्रिया शुरु भइसकेको छ । आजै मनोनयन दर्ता हुने छ ।
-

अब आउने सरकार गाउँदेखि माथिसम्म कांग्रेसको हुन्छ : देउवा
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी निर्वाचनपछि गाउँदेखि केन्द्रसम्म कांग्रेसको सरकार हुने खावि गरेका छन् । शुक्रबार पार्टीको १४ औं महाधिवेशनलाई सम्बोधन गर्दै सभापति देउवाले यस्तो दावि गरेका हुन् । आफ्नो सरकार बनेपछि जनताले ओली शासनबाट मुक्ति पाएको प्रसंग निकाल्दै उनले निर्वाचनपछि सबै तहमा कांग्रेसको सरकार हुने दावि गरेका हुन् । कांग्रेसको उत्साह कायमै राख्ने वा नराख्ने भन्ने महाधिवेशनले तय गर्नुपर्ने उनको भनाई छ ।
यसका लागि आफुलाई निर्वाचित गराउन समेत उनले आह्वान गरे । आन्तरिक निर्वाचनका कारण आगामी चुनावमा असर गर्न नहुने भन्दै देउवाले कांग्रेसको सरकार रहिरहने उल्लेख गरे । उनले आजै टुइट गर्दै महाधिवेशनमा राष्ट्रिय आकर्षण र उत्साह देखेर आफुलाई थप जिम्मेवारी बोध भएको बताएका छन् ।
-

पूर्वराजालाई माधव नेपालको चेतावनी:’राजतन्त्र फर्किदैन्, शक्तिमा आउने भए पार्टी खोल्नुस्’
काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजनीतिमा चलखेल नगर्न चेतावनी दिएका छन् ।
नेपाली कांग्रेसको १४ औं महाधिवेशनको उद्घान कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले यस्तो बताएका हुन्।
नेपालले नेपालमा राजतन्त्र नफर्कने दाबी गर्दै पूर्वराजा ज्ञानेन्द्रलाई पार्टी खोलेर राजनीतिमा आउन आग्रह गरेका गरे ।
महाधिवेशनलाई सम्बोधन गर्दै भने, ‘राजाले पनि पार्टी खोले हुन्छ नभए व्यापार गरे हुन्छ । नेपालको रक्षा हामीले गर्न सक्छौँ । लोकतन्त्रलाई सुदृढ गर्ने काम हामी गर्न सक्नेछौँ ।’
उनले एउटै परिवारको वंशवाद आवश्यक नरहेको उल्लेख गर्दै राजतन्त्रले टाउको उठाउन नखोज्न चेतावनी दिए ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले देशमा राजतन्त्र आवश्यक रहेको बताएपछि जवाफ दिँदै नेपालले यस्तो चेतावनी दिएका हुन् ।
अध्यक्ष नेपालले देशको राजनीतिमा कालो बादल मडारिएको बताएका छन् । उनले भने, ‘सावधान ! देशमा कालो मादल मडारिएको छ ।’
राष्ट्रियतको रक्षा जनताले गर्न सक्ने भन्दै उनले राजनीतिक विकृतिलाई पन्छ्याउनुपर्नेमा जोड दिए ।
एमाले विभाजनपछि पहिलो पटक केपी ओलीसँगको मञ्चमा रहेका उनले ओलीलाई इंगित गर्दै सत्ताको दुरुपयोग गर्ने प्रवृत्तिले देशको राजनीतिलाई अस्थिरतामा ल्याएको आरोप लगाए ।
-

‘नेपालका नेताको जस्तो संस्कार अन्यत्र देख्न पाइन्न’-भाजपा नेता हर्ष वर्धन
काठमाडौं । नेपाली कांग्रेसको १४ औँ कांग्रेसको महाधिवेशनको उद्घाटनसत्रमा सहभागी हुन आएका भारतीय जनता पार्टीका प्रतिनिधि तथा पूर्व मन्त्री हर्ष वर्धन नेपालमा राजनीतिक दलबिचको संस्कारले धेरै पाठ सिकाउने बताएका छन् ।
उनले नेपालमा राजनीतिक दलहरुबिचको सम्बन्ध एकदमै राम्रो भएको बताउँदै उक्त सम्बन्ध संसारका कुनै देशमा नभएको दाबी गरे । उनले भने, ‘म यस्ता धेरै राजनीतिक कार्यक्रमहरुमा सहभागी भएको छु तर देशका सबै पूर्व प्रधानमन्त्रीहरु एकै मञ्चमा यसरी कतै देखेको छैन ।’
उनले केही अघिमात्र नेकपा एमालेको महाधिवेशनमा सहभागी हुन पाएको बताउँदै त्यसमा प्रधानमन्त्री शेरबहादुर देउवा ३ घन्टा बसेको प्रति पनि खुलेर प्रशंसा गरे । देशकै प्रधानमन्त्री भएर पनि पार्टीको महाधिवेशनमा त्यत्रो समय बताउनु एक दमै राम्रो भएको वर्धनले बताए ।
उनले भने, ‘केपी ओलीजीको निमन्त्रणामा म आउन पाएको थिएँ। त्यहाँ फरक पार्टीका प्रधानमन्त्री शुभकामना दिन पुगेर ३ घन्टा बस्नु भयो। यस्तो संस्कार अन्यत्र देख्न पाइन्न ।’
नेपाल-भारतबीच अद्भूत सम्बन्ध रहेको भन्दै उनले नेपाल संकटमा परेका बेला भारत सहयोग गर्दै आएको र आइरहने बताए । भूकम्प जाँदादेखि कोरोनाभाइरस संक्रमण महामारीका बेला पनि भारतले नेपाललाई सहयोग गरेको उनको भनाइ छ ।
कोरोनाभाइरसविरुद्धको खोप तुरुन्त पठाएर महामारी नियन्त्रणमा नेपाललाई भारतले सहयोग गरेको भन्दै उनले दैनिक नेपाल भारतबीचको सम्बन्ध झनै घनिष्ट बन्दै गएको बताए ।
-

नेपालमा थप २५९ जनामा कोरोना पुष्टी, ३३७ जना संक्रमण मुक्त
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २५९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ४७२ जनाको पीसीआर परीक्षण गर्दा २३२ जना र ४०१५ जनाको एन्टिजेन परीक्षण गर्दा २७ गरी २५९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख २३ हजार ७८६ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा ३३७ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ८ लाख ६ हजार २३७ पुगेको छ । संक्रिय संक्रमितको संख्या ५ हजार ९९७ रहेको छ ।
पछिल्लो २४ घण्टामा मृत्यु हुने संक्रमितको संख्या ३ रहेको छ । नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ५५२ पुगेको छ ।
-

एमाले विभाजनपछि ओली- नेपाल र प्रचण्ड एउटै मञ्चमा
काठमाडौं । नेकपा एमाले विभाजनपछि एमाले अध्यक्ष केपी शर्मा ओली, नेकप (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पहिलो पटक एउटै मञ्चमा देखिएका छन् ।
तत्कालिन नेकपा भंग भएपछि एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीसहित तीन समूहमा विभक्त कम्युनिष्ट पार्टीका प्रमुख नेता कांग्रेस महाधिवेशनमा शुभकामना दिन पहिलोपटक एउटै मञ्चमा भेला भएका हुन् ।
सुरुमै प्रचण्ड र नेपाल महाधिवेशन स्थल भृकुटीमण्डपमा पुगेका भए पनि ओली ढिलोगरी पुगेका हुन् ।
गत १० मंसिरमा भएको एमालेको १०औँ महाधिवेशनमा नेता नेपाल र उनको पार्टीलाई निमन्त्रण गरिएको थिएन । निमन्त्रण गरिएको माओवादी केन्द्रबाट प्रचण्ड आफू नगएर लिलामणि पोखरेललाई पठाएका थिए ।
-

‘रामचन्द्रलाई प्रस्ताव गरे म बाधक बन्दिनँ, नभए मेरो उमेदवारी कायम रहन्छ’- विमलेन्द्र निधि
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले रामचन्द्र पौडेललाई सर्वसम्मत सभापति बनाउने अवस्था आए आफू बाधक नबन्ने बताएका छन्। शुक्रबार चितवन–काठमाडौं प्रजातान्त्रिक संगमले गरेको कार्यक्रममा सभापतिका आकांक्षीसमेत रहेका निधिले यस्तो बताएका हुन्।
उनले भने, ‘रामचन्द्र पौडेललाई सर्वसम्मत बनाउन सकिन्छ भने प्रयास गरौँ, सर्वसम्मति हुन्छ भने म बाधक बन्दिनँ। शेरबहादुर देउवाले रामचन्द्रलाई प्रस्ताव गरे म बाधक बन्दिनँ, नभए मेरो उमेदवारी कायम रहन्छ।’
कांग्रेसको १४औँ महाधिवेशनको उद्घाटन आज दिउँसो १ बजे भृकुटीमण्डपमा हुँदैछ। उद्घाटनका लागि मुख्य मञ्च भृकुटीमण्डपको प्राङ्गणमा १५० जनाभन्दा बढी क्षमताको मञ्च तयार गरिएको छ।
-

झनै बढ्यो चिसो, काठमाडौंमा ६.५ डिग्री तापक्रम
काठमाडौं । देशभर चिसो झनै बढेको छ । मौसमविद्ले चिसो अझै बढ्ने भन्दै आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन आह्वान गरेका छन् । चिसोमा न्यानो हुन आगो, कोइला तथा ब्रिकेट र हिटर बाल्दा सावधानी अपनाउन नसकिए आगलागीको जोखिम हुने भएकाले ख्याल गर्न मौसमविद्ले आग्रह गरेका हुन् । केही दिनयता दिउँसोको समयमा पारिलो घाम लाग्ने गरेको छ ।
काठमाडौंमा आज न्यूनतम तापक्रम आज ६ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ। बिहीबार ६ दशमलव २ डिग्री सेल्सियस मापन भएको थियो । नेपालमा अहिले उल्लेखनीय मौसमी प्रणाली नभएकाले अबको केही दिन पनि मौसम सफा हने भएको छ । आज प्रदेश(१, वाग्मती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका केही ठाउँमा भने मौसम आंशिक बद्ली हुने सम्भावना छ ।
-

कांग्रेसको १४ औं महाधिवेशन आजबाट
काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन शुक्रबारबाट सुरु हुँदैछ । काठमाडौंको भृकुटिमण्डपमा महाधिवेशनको उद्घाटन हुनेछ । ‘उत्साह, एकता, रूपान्तरण : सफल बनाऔं १४औं महाधिवेशन’ मूल नारा तय गरिएको छ । दिउँसो १ बजे भृकुटीमण्डपमा महाधिवेशन उदघाटनको कार्यतालिका छ । उदघाटन समारोहलाई देशका प्रमुख पार्टीका नेता, विदेशी प्रतिनिधि र कांग्रेसका शीर्ष नेताले सम्बोधन गर्ने छन् । कोरोना संक्रमणका कारण कांग्रेसले शक्ति प्रदर्शन भने नगर्ने बताएको छ ।
तीन दिनसम्म चल्ने महाधिवेशनमा सहभागी करिब चार हजार तीन सय प्रतिनिधिहरुले कांग्रेसको केन्द्रीय नेतृत्व चयन गर्दैछन् एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्रीका लागि निर्वाचन हुनेछ । ३५ खुला केन्द्रीय सदस्य, ९ महिला केन्द्रीय सदस्य, प्रत्येक प्रदेशबाट एक महिलासहित २१ केन्द्रीय सदस्य र विभिन्न समावेशी समूह अन्तर्गत ५६ जना केन्द्रीय सदस्यका लागि समेत निर्वाचन हुनेछ । सभापतिले ३३ जना केन्द्रीय सदस्य मनोनित गर्ने विधानको व्यवस्था छ भने कोषाध्यक्ष निर्वाचित केन्द्रीय सदस्यहरुबाट चयन हुनेछन् ।
कांग्रेसको बन्दसत्र र निर्वाचन प्रक्रिया आजैबाट सुरु हुनेछ । पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार महाधिवेशन प्रतिनिधिको नामावली प्रकाशन शुक्रबार बिहान १० बजे हुनेछ । उम्मेदवार मनोनयन दर्ता मंसिर २५ गते बिहान १० बजेदेखि साँझ ५ बजेसम्म, उम्मेदवारी मनोनयन दर्ताउपर दाबी विरोध र जाँचबुझ मंसिर २५ गते साँझ ५ देखि ७ बजेसम्म र दाबी विरोधउपर निर्णय मंसिर २५ गते साँझ ७ बजेदेखि ९ बजेसम्म हुनेछ ।
-

लमजुङमा जिप दुर्घटना, तीन जनाको मृत्यु
लमजुङ । लमजुङमा जिप दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । लमजुङमा शिक्षक, विद्यार्थी चढेको जिप दुर्घटनामा परेको हो । दुर्घटनामा ९ जना घाइते भएका छन् । ग१ज ६३१७ नम्बरको जिप मर्स्याङ्दी गाउँपालिका ८ भुस्मे भन्ने स्थानमा दुर्घटनामा परेको हो ।
गाउँपालिकाको वडानम्बर २ मा रहेको गणेश माविका शिक्षक, विद्यार्थी ‘पिस हिल’ भन्ने ठाउँतिर शैक्षिक भ्रमणका लागि जाँदै गरेको जिप दुर्घटनामा परेको लमजुङका प्रमुख जिल्ला अधिकारी सुशील वैद्यलाई उदृत गर्दै संचारमाध्यमले लेखेका छन् ।
प्रहरीका अनुसार मृत्यु हुनेमा मस्र्याङदी गाउँपालिका वडा नं. ९ भलामचौरका प्रमिसा गुरुङ, मस्र्याङदी गाउँपालिका ९ सेग्लेका गणेश भण्डारी छन् । साथै, कपिलवस्तु घर भएका शिक्षक कमल थापामगरको पनि घटनास्थलमै मृत्यु भएको छ ।
-

तामिलनाडु हेलिकोप्टर दुर्घटनामा एक मात्र जिवित क्याप्टेन सिंहको स्वास्थ्य कस्तो छ ?
नयाँ दिल्ली । बुधबार भारतको तामिलनाडुमा भएको हेलिकोप्टर दुर्घटनामा भारतीय सेनाका सबैभन्दा माथिल्लो पदका अधिकारी बिपिन रावतसहित १३ को मृत्यु भयो । आगोले जलेर शवहरु चिन्न नसकिने अवस्थामा रहेको भारतीय संचारमाध्यमले जनाएका छन् । यद्दपी रावत र उनकी पत्नीको शवको भने पहिचान बुधबार नै भएको थियो । यस्तो भयानक दुर्धटनामा समेत एक चमत्कारको आश अझै गरिएको छ । त्यो हो हेलिकोप्टरका चालक क्याप्टेन वरुण सिंहको स्वास्थ्यमा नाटकीय सुधार ।
भारतीय रक्षामन्त्री राजनाथ सिंहले बिहीबार यो घटनबारे राज्यसभामा जानकारी गराएका छन् । उनले त्यहाँ ग्रुप क्याप्टेन वरुण सिंहको स्थितिबारे पनि बयान दिए । उनका अनुसार सिंहको स्थिति गम्भीर तर स्थिर छ । यसै वर्ष अगस्ट महिनामा सिंहलाई शौर्य चक्र प्रदान गरिएको थियो। उनले उडाएको तेजस विमानमा उडानको समयमा प्राविधिक समस्या आएको थियो तर उक्त आपत्कालीन स्थितिमा सिंहले तेजसको सुरक्षित अवतरण गराउन सफल भएका थिए।
संसारभरबाट उनको स्वास्थ्य लाभको कामना भइरहेको छ । यसैबीच, रावत र उनकी श्रीमतीको अन्तिम संस्कार शुक्रवार दिल्लीमा गरिने भएको छ । सोही सिलसिलामा उनको शव दिल्ली लगिएको छ ।
-

कांग्रेस महामन्त्रीमा गगन थापाको उम्मेदवारी घोषणा
काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका छन् ।
राजधानीमा एक कार्यक्रम गर्दै शुक्रवारदेखि सुरु हुने नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।
थापाले कुर्सीमा बस्नमात्रै उमेदवारी दिन लागेको नभइ परिवर्तनका लागि भएको बताएका छन् ।
‘कुर्सीमा बस्नमात्रै महामन्त्रीमा उमेदवारी दिन लागेको होइन । राजनीतिक लाइन प्रस्तावित गर्ने काम महामन्त्रीको हो उनले भने ।’
उम्मेदवारी घोषणा गर्दै भने- ‘म महामन्त्री हुन्छुरहुन्न, थाहा छैन, तर यही पार्टीभित्र बसेर योगदान पुर्याउनका लागि मैले महामन्त्री पदमा उम्मेदवारी दिएको हुँ।’
नेपाली कांग्रेसको समुचित प्रयोग गरेर हाम्रै जीवनमा परिवर्तन ल्याउन सकिन्छ भन्नेमा आफूलाई विश्वास रहेको उनले बताए।
-

नेपालमा थप २११ जनामा कोरोना पुष्टी, ३२९ जना संक्रमण मुक्त
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २११ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार १८ जनाको पीसीआर परीक्षण गर्दा १९७ जना र १४३३ जनाको एन्टिजेन परीक्षण गर्दा १४ गरी २११जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख २३ हजार ५५४ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा ३२९ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ८ लाख ५ हजार ९०० पुगेको छ । संक्रिय संक्रमितको संख्या ६ हजार १०५ रहेको छ ।
पछिल्लो २४ घण्टामा मृत्यु हुने संक्रमितको संख्या २ रहेको छ । नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ५४४९ पुगेको छ ।
-

मोरङ कारागारको चौकीदारमा ‘गुन्डा नाइके’ अभिषेक गिरी
काठमाडौं । गुण्डा नाइके अभिषेक गिरीलाई मोरङ कारागारको जिम्मेवारी दिइएको छ । अपहरण तथा शरीर बन्धक मुद्दामा कैद भुक्तान गरिरहेका गिरीलाई सरकारको दबाबमा मोरङ कारागारको चौकिदारीको जिम्मेवारी दिइएको हो ।
गिरीलाई करिब साढे ३ वर्षअघि मोरङबाट काठमाण्डुस्थित डिल्ली बजार कारागारमा स्थानान्तरण गरिएको थियो । कैदीबन्दीलाई अनावश्यक रुपमा यातना दिने गरेका गिरीको समूहलाई नै मोरङ ल्याइएको छ ।
नेपाली कांग्रेसका नेताको लबिइङ र गृहमन्त्री बालकृष्ण खाँणको ठाडो निर्देशनमा गिरीसहितको समूहलाई मोरङ लगिएको हो । अपहरण मुद्दामा कैद भुक्तान गरिरहेका गिरीका सहयोगी राजु श्रेष्ठ, असित सैँवु र वन मुद्दाका कैदी मनोज कार्कीको पनि मोरङ कारागार सरुवा गरिएको हो ।
गिरी पुनः मोरङ आउने भएपछि कारागारभित्र खैलाबैला मच्चिएको छ । उनको विगतका गलत हर्कतका कारण कैदीबन्दीले असुरक्षित महसुस गर्न थालेका छन् । यसअघि मोरङ कारागारमा हुँदा कैदीबन्दीको नेतृत्व गर्ने चौकीदारको जिम्मेवारी उनलाई नै दिइएको थियो ।
उनीमाथि कैदीबन्दीलाई चरम यातना दिने, कुटपिट गर्ने, महिनावारी असुल्ने तथा कारागारभित्र सजाय भुक्तान गरिरहेकाहरुलाई उपभोग्य वस्तु महँगो मूल्यमा बिक्री गर्ने र टेलिफोनमा महँगो मूल्य लिने गरेको आरोप छ ।
गिरीलाई डिल्ली बजार पठाएपछि मोरङमा चौकीदारको जिम्मेवारी नवीन राईलाई दिइएको थियो । राईले पनि कारागारमा आतंक मच्चाउँदै आएका थिए । कैदीबन्दीहरुले गिरीलई आउन नदिन र राईको सरुवाको माग गर्दै आन्दोलनमा उत्रिएका थिए । गिरीलाई ल्याउन राईलाई झुम्का कारागारमा सरुवा गरिएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार आएपछि गिरीले विराटनगर आउने मौका पाएका हुन् ।
गत भदौ १७ गते गिरीलाई विराटनगर पठाउने निर्णय भएपनि कैदीबन्दीहरुको विरोधका बावजुत गत कात्तिक १६ गते डिल्लीबजार कारागारबाट मोरङ ल्याइएको थियो । तर, विरोध चर्किँदै गएपछि गिरीलाई सप्तरी सरुवा गरिएको थियो । सप्तरी पठाएको १७ दिनपछि कारागार व्यवस्था विभागले विराटनगर ल्याएको हो ।
-

ट्राफिकले चिट काट्ने वित्तिकै ‘अन द स्पट’ जरिवाना तिर्न सकिने, कागजात तत्कालै फिर्ता
काठमाडौं । उपत्यकामा ट्राफिक प्रहरीले आफ्नो सेवालाई प्रविधिमैत्री बनाउन अभियान नै थालेको छ ।ट्राफिक प्रहरीले दिने सेवालाई प्रविधि मैत्री बनाउदै आम सेवाग्राहीलाई सहज सेवा प्रदान गर्ने अभियान तर्फ लम्कीरहेको अबस्थामा आजदेखी थप सेवा सुचारु गरेको हो ।
सवारी चालकहरुले ट्राफिक नियम उल्लंघन गरे पश्चात ट्राफिक प्रहरीले जारि गर्ने २४ घण्टे पुर्जी बापत नियमानुसार तिर्नुपर्ने जरिवाना रकम अब तत्कालै कारवाही स्थलबाटै भुक्तान गरी आफ्नो कागजपत्र फिर्ता लिन सकिने भएको छ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले आज एक कार्यक्रमका वीच प्रविधिमा आधारित ‘पे फाइन अन द स्पोर्ट ( इन्स्ट्यान्ट पेमेन्ट सिस्टम’ व्यवस्थाको शुरुवात गरेका हुन् ।
सो अवसरमा एसएसपी भट्टराईले ट्राफिक सेवा आधुनिक तथा प्रविधियुक्त हुदै गएको चर्चा गर्नुहुदैं अबदेखि चिट काटेपछि जरिवाना तिरेर ट्राफिक कार्यालयमा गई कागजात फिर्ता लिने व्यवस्थामा परिमार्जन गरी थप सहज बनाउन जरिवाना रकम तत्काल भुक्तान गरी कागजात फिर्ता लिने प्रणालीको शुरू गरेको बताए ।
चिटकाटेको चिट नम्बर र रसिद नम्बर मोबाइलमा राखेपछि क्यूआरबाट सजिलै जरिवाना तिर्न मिल्ने व्यवस्था मिलाइएको छ ।
व्यक्तिले ३० दिन भित्र बैंकमा गएर समेत चिटको रकम भुक्तानी गर्न सक्ने छन् । अहिले ट्राफिक कारवाहीमा परेरमा सवारीधनीले अनलाइन भुक्तानी वा ग्लोबल आइएमई बैंकको कुनै पनि शाखामा जरिवाना तिर्नुपर्ने व्यवस्था छ ।
साथै, जरिवाना भुक्तानी गरेकोे प्रमाण लिएर सम्बन्धित ट्राफिक प्रहरी कार्यालय गएर कागजात फिर्ता लिने गरेका छन् ।
यसका लागि ट्राफिक प्रहरी महाशाखाले डकुमेन्ट ट्र्याकिङ प्रणालीमार्फत् एसएमएस पठाएर कारवाहीमा नियन्त्रणमा लिइएको कागजात कुन कार्यालयमा छ भनेर बुझ्न सकिने व्यवस्था गरेको थियो ।
पहिलो चरणमा गौशाला, दरबारमार्ग, थापाथली, जावालाखेल र जनसेवा गरी पाँच वटा ट्राफिक कार्यालयबाट शुरु गरेको यो सेवालाई क्रमश अन्य कार्यालयमा समेत विस्तार गर्ने महाशाखाले जनाएको छ ।
यद्दपि महाशाखाको अनुसार मादक पदार्थ सेवन गरी सवारी चलाएको, लेन अनुशासन पालना नगरेको र रातो बत्ती उल्लंघन गरेका चालकहरुले भने ट्राफिक जनचेतनामुलक प्रशिक्षण लिएपछि ट्राफिक प्रहरी महाशाखाबाट मात्र आफ्नो कागजात फिर्ता लिन सकिनेछन् ।
-

कांग्रेसमा वर्तमान कार्यसमितिको अन्तिम बैठक आज
काठमाडौं । नेपाली कांग्रेसको वर्तमान कार्यसमितिको अन्तिम बैठक बिहीबार बस्ने भएको छ । पार्टीको १४ औं महाधिवेशन शुक्रबारदेखि सुरु हुँदैछ । महाधिवेशनबारे छलफल गर्न नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्न लागेको हो । बिहान साढे ११ बजे ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा बैठक बोलाइएको छ ।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरू तथा आमन्त्रित केन्द्रीय सदस्यलाई बोलाइएको छ । शुक्रबारबाट सुरु हुने महाधिवेशनले नयाँ कार्यसमिति चयन गर्ने भएकाले वर्तमान केन्द्रीय कार्यसमितिको यो अन्तिम बैठक हो । कांग्रेसको १४औं महाधिवेशन शुक्रबार काठमाडौंको भृकुटीमण्डपमा उदघाटन हुँदैछ । उदघाटनसत्रपछि सुरु हुने बन्दसत्रले नयाँ नेतृत्व चयन गर्ने छ । -

प्रकाशमानले अडान नछाड्दा कांग्रेसमा देउवाको प्रतिस्पर्धी छान्न सकस
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री प्रकाशमान सिंहले आफु पार्टी सभापतिमा उम्मेदवार हुने अडान नछाडेका कारण संस्थापन इत्तर पक्षले उमेदवार तय गर्न अझै सकेको छैन । साझा उम्मेदवार खोजि देउवालाई टक्कर दिने रामचन्द्र पौडेल समूहको प्रयास अझै सार्थक हुन सकेको छैन । कांग्रेसको १४औं महाधिवेशन २४ मंसिरबाट शुरु हुँदैछ , तर, अहिलेसम्म साझा उमेदवार तय हुन नसक्दा देउवाको सम्भावना अझ बलियो बन्दै गएको छ । निर्वाचन कार्यतालिका अनुसार २५ गते उम्मेदवारी दर्ता र २७ गते मतदानको तालिका छ ।
सभापतिका आकांक्षीमा सहमतिको प्रयास गर्न पछिल्लो तीन दिन लगातार बैठक बस्दा पनि सहमति जुुटेन । बुधबार चाक्सीबारीमा बसेको बैठक तनावपूर्ण रहेका कारण अब साझा उमेदवार चयन हुने सम्भावना कम भएको हो । वरिष्ठ नेता पौडेल, महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य डा. शेखर कोइरालाबीच भएको छलफलमा पौडेलले पूर्वमहामन्त्री सिंह र केन्द्रीय सदस्य कोइरालालाई ‘तपाईहरु मिल्नुस्, नभए मलाई मान्नुस्’ भनेका थिए ।
-

१८ वर्ष मुनीका बालबालिकालाई लगाउन १५ लाख मोडर्ना खोप बिहिबार आउने
काठमाडौं । नेपालमा १८ वर्ष भन्दा मुनीका बालबालिकालाई लगाउने प्रयोजनका लागि कोभ्याक्स सुविधाअन्तर्गत प्राप्त कोरोनाविरुद्धको करिब १५ लाख मोडर्ना खोप बिहीबार नेपाल आइपुग्दैछ । स्वास्थ्य सेवा विभागले यस्तो जानकारी गराएको हो । बिहीबार १४ लाख ९७ हजार छ सय डोज मोडर्ना खोप आउन लागेको हो । यसअघि गत शुक्रबार एक लाख ८८ हजार चार सय डोज मोडर्ना खोप नेपाल आएको छ ।
त्यसो त बुधबार समेत कोभिशिल्ड खोप नेपाल आएको छ । नेपालमा अहिलेसम्म कुल एक करोड ९२ लाख ८५ हजार १९७ मात्रा खोप वितरण भइसकेको ेछ । एक करोड पाँच लाख चार हजार ७६४ जनाले पहिलो मात्रा र ८७ लाख ८० हजार ४३३ जनाले पूर्ण मात्रा खोप लगाएका छन् । सरकारले आगामी चैत भित्र सबै नागरिकमा खोप वितरण गरिसक्ने लक्ष्य लिएको छ ।
-

कांग्रेसको महाधिवेशन लक्षित आचारसंहिता, के-के छन् नियम ?
काठमाडौं । कांग्रेसले १४ औं महाधिवेशन लक्षित आचारसंहिता जारी गरेको छ। कांग्रेसको निर्वाचन समितिले बुधबार निर्वाचनलाई लक्षित गरि ६ बुँदे आचारसंहिता जारी गरेको हो । नियम अनुसार उम्मेदवारीको प्रचारप्रसार गर्दा भिजिटिङ कार्ड सामान्य अपिल मात्र वितरण गर्न सकिने छ। कसैको पनि व्यक्तिगत चरित्रमा लान्छना लाग्ने गरी प्रचार(प्रसार गर्न पाइने छैन । कांग्रेसको केन्द्रीय कार्यालय र राष्ट्रिय सभागृह, भृकुटीमण्डपको वरपर पाँच सय मिटर क्षेत्रभित्र निर्वाचनसँग सम्बन्धित कुनै पनि प्रचार सामग्री, ब्यानर, भित्तेलेखन, पोस्टर, चुल, पम्प्लेट टाँस्न र माइकिङ गर्न पाइने छैन ।
प्रचारलाई मर्यादित, संयमित र अनुशासित बनाउन निर्वाचन समितिले अनुरोध गरेको छ। मतदानस्थलभित्र प्रवेश गर्दा मोबाइल फोन लिएर जान पाइने छैन । कांग्रेस महाधिवेशन मंसिर २४ मा उद्घाटन हुँदैछ। उम्मेदवारी मनोनयन मंसिर २५ मा, मतदान मंसिर २७ बिहान ८ बजेदेखि हुने कार्यक्रम छ । यज्ञपी महाधिवेशन स्थलमा पप्लेट र बोर्ड राख्न आजैबाट शुरु भइसकेको छ ।
-

थप २८० जनामा कोरोना पुष्टी, उपत्यकामा थपिए १४६ संक्रमित
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २८० जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार १६८ जनाको पीसीआर परीक्षण गर्दा २५५ जना र ३००६ जनाको एन्टिजेन परीक्षण गर्दा २५ गरी २८० जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख २३ हजार ३५७जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा ३६६ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ८ लाख ५ हजार ५७१ पुगेको छ । संक्रिय संक्रमितको संख्या ६ हजार २३९ रहेको छ ।
पछिल्लो २४ घण्टामा मृत्यु हुने संक्रमितको संख्या २ रहेको छ । नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ५४७ पुगेको छ ।
त्यस्तै काठमाडौं उपत्यकामा १४६ जना संक्रमित भेटिएका छन् । जसमध्ये काठमाडौंमा १००, ललितपुरमा ३१ र भक्तपुरमा १५ जना संक्रमित भेटिएका छन् ।
-

कोरोना विरुद्धका खोप अमिक्रोनविरुद्ध पनि प्रभावकारी छन् : डब्चूएचओ
काठमाडौं । विश्व स्वास्थ्य संगठनले अहिले प्रयोगमा रहेका कोरोना भाइरस विरुद्धका खोपहरु नयाँ भेरियन्ट ओमिक्रोन विरुद्ध समेत प्रभावकारी रहेको जनाएको छ । पहिलो पटक दक्षिण अफ्रिकामा देखिएको यो भेरियन्टलाई फाइजर खोपमा परीक्षण गरिएको थियो । प्रयोगशाला परीक्षणमा सकारात्मक नजिता आएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । सोही आधारमा डब्ल्यूएचओले अहिले प्रयोगमा रहेका खोपले ओमिक्रोनविरुद्ध समेत काम गर्ने छन् ।
खोपले ओमिक्रोन भेरियन्टबाट संक्रमित भए पनि गम्भीर बिरामी पर्न नदिने डब्ल्यूएचओका आपतकालीन निर्देशक डा. माइक रायनले बताएका छन् । अनुसन्धानकर्ताहरुले नयाँ भेरियन्टविरुद्ध खोपले कसरी काम गर्छ भन्नेबारे थाहा पाउन भने थप अनुसन्धानको आवश्यकता औल्याएका छन् । ओमिक्रोनले खोपलाई छल्ने सम्बन्धमा अरु भेरियन्ट भन्दा शक्तिशाली भने बाहिर हल्ला भएजसतो पाइएको छैन ।
-

राम-सिता विवाह महोत्सव आज, जनकपुरमा धुमधामसहित मनाईंदै
जनकपुर । त्रेता युगमा अयोध्याका राजकुमार राम र मिथिलाका राजा जनककी छोरी सीता (जानकी) को बिहे भएको दिनका रुपमा आज विवाह पञ्चमी महोत्सव मनाइँदै छ ।विवाह पञ्चमी भनिने यसदिन राम र सीताको पूजाआराधनासहित प्रतीकात्मक रुपमा विवाह गरिदिएर देशभर मनाइन्छ । जनकपुरमा भने ठूलो मेला लाग्छ । जनकपुरमा साप्ताहिक रुपमा विवाह पञ्चमी मनाइन्छ ।
यसको मुख्य आकर्षण भने आजको राम(जानकीको प्रतीकात्मक विवाह हो । महोत्सव मनाउने क्रममा मिथिलाको संस्कृतिअनुसार मटकोर, तिलकोत्सव, स्वयंवर र विवाह संस्कार सम्पन्न गरिन्छ । राम मन्दिरबाट बाजागाजा, झाँकीसहित भगवान् रामको प्रतिमालाई विशेष रूपमा निर्मित डोला सिंहासनमा राखी जनकपुरको रंगभूमिमा पुर्याइन्छ । जानकी मन्दिरबाट सीतालाई विशेष सुसज्जित डोलामा राखी रंगभूमिमा लगिन्छ ।
रङ्गभूमिमा स्वयंवरविधि, परीक्षणको वैवाहिक विधि सम्पन्न भएपछि सीता(रामलाई जानकी मन्दिरमा ल्याइन्छ । त्यसपछि मिथिला संस्कृतिअनुसार विवाह सम्पन्न हुन्छ । विवाह महोत्सवमा बाजागाजासहित झाँकी प्रस्तुत हुने तथा जन्ति र डोला हेरिने परम्परा छ । नेपाल र भारतबाट ठूलो संख्यामा श्रद्धालु आज जन्तीका रुपमा जनकपुर पुग्छन् ।
-

ढोरपाटनमा नौ नाउर र तीन झारलको शिकार
बागलुङ । नेपालको एक मात्र शिकार आरक्ष ढोरपाटनमा यो सिजनमा ९ नाउर तथा तीन वटा झारलको शिकार गरिएको छ । यो क्षेत्र नेपालको शिकार पर्यटनको एक मात्र गन्तब्य हो । ढोरपाटन शिकार आरक्षको विभिन्न ब्लकमा नौ नाउर र तीन झारलको शिकार गरिएको आरक्ष प्रशासनले जनाएको छ । नेपालका पाँच शिकार कम्पनीमार्फत शिकार गरिएको छ । शिकारमा पुगेका विदेशी शिकारीले यस पटक निर्धारित कोटाभन्दा कम शिकार गरेका हुन् ।
पहिलो शिकार यामको लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले छ वटा झारल र १० वटा नाउरको कोटा निर्धारण गरेको थियो । यस पटक तीन वटा झारल र एक नाउरको शिकार हुन सकेनन् । एक झारल र एक नाउरको अनुमति प्राप्त गरे पनि अन्तिम समयमा रसियाली नागरिक इभिजिनी सिरोक्यो शिकारका लागि आएनन् । शिकार याममा नेपाल ट्राभल्स एक्सपिडिसनमार्फत फ्रान्सेली नागरिक मार्लियर आन्द्रेले सेन ब्लकमा एक नाउर, ओभिन एन्टोनी नोयलले सेनब्लकमा एक नाउरको शिकार गरे ।
हिमालयन सफारीमार्फत मेक्सिकन नागरिक फ्रान्सीको जोई भिजेकोनले सेन ब्लकमा एक नाउरको शिकार गरे । ट्याक एण्ड ट्राभल्सले दुई जना युक्रेनी नागरिकलाई शिकारमा लगेको थियो । सेरिया लरेन र नाटालियन लरेनले धुस्तुङ ब्लकमा दुई नाउर र एक झारलको शिकार गरे । ग्लोबल सफारीमार्फत दोगाडी ब्लकमा स्पेनिस नागरिक जोएक्वाईन बेन्जिमेनले एक नाउरको शिकार गरे । स्पेनिस नागरिक मुगलले पनि सोही ब्लकमा नाउरको शिकार गरे ।
चे रिब्लिकन नागरिक रोमनले सुनदह ब्लकमा एक झारल र एक नाउरको शिकार गरे । ढोरपाटनमा शिकार गरेपछि अधिकांश शिकारीले मासु खान्छन् । सिङ, खुर र छाला भने आफ्नो मुलुक लैजान्छन् । शिकार अनुमति प्राप्त कम्पनीले १५ दिनको अवधिमा आरक्षबाट खटिएका कर्मचारीको प्रत्यक्ष निगरानीमा शिकार गर्न पाउँछन् ।
-

शशांकले सभापतिको दावेदारी छाड्ने, रामचन्द्रमा होला सहमती ?
काठमाडौं । नेपाली कांग्रेसमा संस्थापन इत्तर समूहबाट सभापतिको उमेदवार तय गर्न सकस भएको छ । तर, महामन्त्री डा. शशांक कोइरालाले १४ औं महाधिवेशनमा सभापति पदमा दावी छाड्न तयार रहेको बताएका छन् । मंगलबार नेता प्रकाशमान सिंहको निवास चाक्सीबारीमा बसेको बैठकमा कोइरालाले रामचन्द्र पौडेल, प्रकाशमान सिंह र शेखर कोइरालाबीच सहमति भए आफू सभापतिमा दावी छाड्न तयार रहेको जानकारी गराएका हुन् ।
बैठकमा उनले सबभन्दा पपुलर आफू भएको दाबी गर्दै साझा उम्मेदवार दिन नसक्ने हो भने हार्ने निश्चित भएकाले सभापतिमा दाबी छाड्न आफू तयार रहेको बताए । बैठकपछि महामन्त्री कोइरालाले मैले त छाडेँ, तीन जनामा छलफल भइरहेको भन्दै प्रतिक्रिया दिएका थिए । उनले दावि छाडेपछि अब रामचन्द्र पौडेलको स्वभाविक दावेदारी रहने छ ।