Category: समाचार

  • नेपालमा दुई जनामा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि

    नेपालमा दुई जनामा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि

    काठमाडौं । नेपालमा ओमिक्रोन भेरियन्टबाट संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार ओमिक्रोनको दुई जना संक्रमित भेटिएका हुन् ।

    ओमिक्रोन भेटिएको देशबाट मंसिर ३ गते नेपाल प्रवेश गरेका एक ६६ वर्षीय विदेशी र उनको सम्पर्कमा आएका अर्का एकजना ७१ वर्षीय व्यक्तिमा ओमिक्रोन सङ्क्रमण भेटिएको मन्त्रालयलले पत्रकार सम्मेलन गरेर जानाकारी दिएको हो ।

    उनीहरूको मंसिर ७ गते परीक्षण गरिएको थियो। उनीहरू दुवैले कोरोना भाइरसविरुद्धको खोपको पूर्ण मात्रा लगाएको र पीसीआर रिपोर्ट नेगेटिभसहित नेपाल प्रवेश गरेको पनि मन्त्रालयले जनाएको छ ।

    दुवै जनामा कुनै अस्पतालको आइसोलेसन कक्षमा रहेको र गम्भीर लक्षण नदेखिएको पनि मन्त्रालयको भनाइ छ ।

    उक्त दुई व्यक्तिहरुसंग सम्पर्कमा आएकाहरुको बृहत रुपमा कन्ट्याक्ट ट्रेसिंग गरिएको, कन्ट्याक्ट ट्रेसिंगबाट प्राप्त ६६ जना सम्पर्कहरुको पीसीआर परीक्षण गर्दा सबैको नतिजा नेगेटिभ आएको, सबै स्वस्थ रहेको मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयले जनस्वास्थ्यका सबै मापदण्डहरुको पालना (मास्कको सही प्रयोग, भौतिक दुरी कायम गर्ने, भिडभाड नगर्ने तथा हात धुने कार्य, हावा आवतजावत राम्रो हुने स्थानमा बस्ने) र खोपको प्रयोग महत्वपूर्ण हुने भएकोले सबैमा मापदण्डको पालना गर्न र खोप अभियानमा सहभागिता हुनु अनुरोध गरेको छ ।

    हालसम्म यो भेरिएन्ट विश्वका ३५ देशहरुमा फैलिसकेको जानकारी प्राप्त भएको छ । आजसम्म ५७४ जना ओमिक्रोन भेरिएन्टबाट संक्रमित भएका छन् ।

    विश्व स्वास्थ्य संगठनले गरेको प्रारम्भिक आँकलन अनुसार दक्षिण पूर्वी एसियामा ओमीक्रोनको उच्च जोखिम रहेको उल्लेख छ । दक्षीण एशियाका केहि देशहरुमा समेत यो भेरिएन्ट पुष्टि भैसकेको छ ।

  • तनहुँमा शिकार खेल्ने क्रममा गोली लागेर एक जनाको मृत्यु

    तनहुँमा शिकार खेल्ने क्रममा गोली लागेर एक जनाको मृत्यु

    तनहुँ । तनहुँमा शिकार खेल्ने क्रममा गोली लागेर एक जनाको मृतयु भएको छ । जिल्ला प्रहरी तनहुँका प्रवक्ता डिएसपी युवराज खड्कालाई उदृत गर्दै स्थानीय संचारमाध्यमले जनाए अनुसार जिल्लाको शुक्लागण्डकी नगरपालिका १ थप्रेकमा घटना भएको छ । आइतबार राति सिकार खेल्न गएका बेला गोली लागेर सोही ठाउँका १७ वर्षीय रोहित मल्लको ज्याा गएको छ ।

    शुक्लागण्डकीस्थित रतनपुर सामुदायिक वनको तुरतुरे पाखामा सिकार खेल्न गएको बेला घटना भएको प्रहरीको भनाइ छ । गोली लागेर युवकको घटनास्थलमै मृत्यु भएको हो । दुई जना सिकार खेल्न गएको र गोली लागेर एक जनाको घट्नास्थलमै मृत्यु भएको खबर प्रहरी समक्ष पुगेको थियो । प्रहरीका अनुसार बन्दुक रोहितले नै बोकेको देखिएको छ । प्रहरीले बन्दुकसहित छिमेकी ४७ वर्षीय सुनबहादुर गुरुङलाई पक्राउ गरेको समेत जनाएको छ ।

  • लुम्बिनीमा संस्थापन पक्ष पराजित, सभापतिमा पुन विजयी

    लुम्बिनीमा संस्थापन पक्ष पराजित, सभापतिमा पुन विजयी

    बुटवल । नेपाली कांग्रेसको बागमति र प्रदेश एकमा संस्थापन पक्ष विजयी भएकोमा लुम्बिनी प्रदेशमा भने संस्थापन इतर समूहले बाजी मारेको छ । यहाँ संस्थापनबाहेकका अन्य नेताको समर्थनमा उठेका अमरसिंह पुन मगर विजयी भए । पुनले संस्थापन पक्षका भरतकुमार शाहलाई ८५ मतान्तरले हराएका छन् । सभापतिमा विजयी पुनले ८५२ मत पाए । शाहको पक्षमा ७६७ मात्र मत आयो । पुन पूर्व राज्यमन्त्री तथा नेपाली कांग्रेस रोल्पाका निवर्तमान सभापति हुन् ।

    पदाधिकारीमा एक उपसभापति बाहेक सबै पुन प्यानलका उम्मेदवार विजयी भए । दुई उपसभापतिमा संस्थापन इतरका भुवन श्रेष्ठ (गुल्मी) र संस्थापन पक्षका राजु खनाल (दाङ)ले जिते । महामन्त्रीमा विक्रम खनाल (नवलपरासी पश्चिम) र सुरेन्द्रराज आचार्य (कपिलवस्तु)ले जिते । महिला सहमहामन्त्रीमा निमा गिरी विजयी भइन् । खुल्ला सहमहामन्त्रीमा अर्घाखाँचीका विष्णु खनाल मुस्कान र दाङका खगराज पाण्डे विजयी भएका छन् ।

  • कांग्रेस प्रदेश १ सभापतिमा थापा २ मतले विजयी

    कांग्रेस प्रदेश १ सभापतिमा थापा २ मतले विजयी

    विराटनगर । नेपाली कांग्रेसको प्रदेश १ को सभापतिमा देउवा पक्षका उमेदवार उद्धव थापा दुई मतले विजयी भएका छन् । उनले थापाले रामचन्द्र पौडेल पक्षका गुरुराज घिमिरेलाई पराजित गरे । थापाको पक्षमा ८४४ मत र घिमिरेको पक्षमा ८४२ मत परेको थियो । पदाधिकारीमा एक महामन्त्रीबाहेकका अन्य पदमा थापा समूहको प्यानल विजयी भएको छ ।

    उपसभापतिमा संस्थापन पक्षका रमेशजंग रायमाझी ८९१ मत र टंकप्रसाद राई ८४७ मत ल्याएर जिते । महामन्त्रीमा संस्थापन पक्षका भूपेन्द्र राई ८२४ र संस्थापन इतरका उमेश थापा ८२३ मत ल्याएर विजयी भए । सहमहामन्त्रीमा खड्ग फागो लोकप्रिय मतसहित विजयी भए । उनले १०२६ मत पाए । सहमहामन्त्री मै प्रमिल गच्छदार ८३७ मतसहित विजयी भइन् ।

  • कांग्रेसको बागमति प्रदेश सभापतिमा देउवा पक्षका बानियाँ विजयी

    कांग्रेसको बागमति प्रदेश सभापतिमा देउवा पक्षका बानियाँ विजयी

    काठमाडौं । नेपाली कांग्रेसको बागमती प्रदेशको सभापति पदमा देउवा समूहका इन्द्र बानियाँ विजयी भएका छन् । आइतबार राति सम्पन्न अन्तिम मतगणनामा बानियाँले जगदीश्वर नरसिंह केसीलाई हराए । केसी प्रकाशमान सिंह र गगन थापा समुहका हुन् । बानियाँ कांग्रेस मकवानपुर जिल्ला सभापति समेत हुन् । मतदानमा २०३५ मत खसेकोमा बानियाँले १०८५ मत पाए । केसीले ९२७ मत पाए । दुबै पक्षबीच कडा टक्कर भएको छ ।

    पहिलो चरणमा तीन जना सभापतिका उम्मेदवार रहेकोमा कसैको पनि बहुमत नआएपछि आइतबार दोस्रो चरणको मतदान भएको हो । पहिलो चरणबाट बाहिरिएका सभापतिका उम्मेदवार भीमसेनदास प्रधानले बानियाँलाई समर्थन गरेसँगै उनले जितेका हुन् । पहिलो चरणमा बानियाँको ९९२ मत आएको थियो । केसीले ८७२ मत । प्रधानले १९७ मत ल्याएका थिए ।

  • नेपालमा थप २०५ जनामा कोरोना पुष्टी,४३६ जना संक्रमण मुक्त

    नेपालमा थप २०५ जनामा कोरोना पुष्टी,४३६ जना संक्रमण मुक्त

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २०५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ९९५ जनाको पीसीआर परीक्षण गर्दा २०० जना र २७५२ जनाको एन्टिजेन परीक्षण गर्दा ५ गरी २०५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख २२ हजार ५९२ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा ४३६ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ८ लाख ४ हजार ५४४ पुगेको छ । संक्रिय संक्रमितको संख्या ६ हजार ५०७ रहेको छ ।

    पछिल्लो २४ घण्टामा मृत्यु हुने संक्रमितको संख्या १ रहेको छ । नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ५४१ पुगेको छ ।

  • अध्यक्ष लिङ्देनसहित राप्रपाका नवनिर्वाचित पदाधिकारीले लिए सपथ, कमल थापा अनुपस्थित

    अध्यक्ष लिङ्देनसहित राप्रपाका नवनिर्वाचित पदाधिकारीले लिए सपथ, कमल थापा अनुपस्थित


    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्षमा निर्वाचित राजेन्द्र लिङ्देनसहित निर्वाचित पदाधिकारीहरुले शपथ ग्रहण गरेका छन् ।

    उपाध्यक्षमा निर्वाचित विक्रम पाण्डे, ध्रुवबहादुर प्रधान, बुद्धिमान तामाङ र रोशन कार्कीले पनि शपथ लिएका छन् । महामन्त्रीमा निर्वाचित धवलशमशेर राणा, भुवन पाठक र कुन्तीकुमारी शाहीले पनि शपथ लिएका छन् ।

    त्यस्तै, निर्वाचित केन्द्रीय सदस्यहरुले पनि शपथ ग्रहण गरेका छन् । उनीहरुलाई राप्रपा निर्वाचन कमिटीले प्रमाणपत्र पनि वितरण गरेको छ । प्रज्ञा भनमा आयोजित सपथ ग्रहण समारोहमा अध्यक्षमा पराजित कमल थापा भने उपस्थित भएका छैनन् ।

  • पूर्वराजापछि हिमानीलाई कमल थापाको कटाक्ष ‘अब चाँडै राजसंस्था पुनःस्थापना हुने भयो’

    पूर्वराजापछि हिमानीलाई कमल थापाको कटाक्ष ‘अब चाँडै राजसंस्था पुनःस्थापना हुने भयो’

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्ष पदमा पराजित भएका कमल थापाले पूर्वराजा परिवारमाथि अटाक्ष गरेका छन् ।

    आफू पराजित हुनुमा पूर्वराजा ज्ञानेन्द्र शाहको हात भएको आरोप लगाएका थापाले पूर्व युवराज्ञी हिमानी शाहले लिङ्देनलाई सामाजिक सञ्जाल ट्विटरमार्फत दिएको बधाई तथा शुभकामनाप्रति कटाक्ष गरेका हुन् ।

    हिमानीले ट्वीटमार्फत मुलुकले सच्चा राष्ट्रवादी नेता पाएको बताउँदै अध्यक्ष लेङ्देनलाई कार्यकालको शुभकामना दिएकी थिइन् ।

    हिमानीको सो ट्वीटमाथि प्रतिक्रिया जनाउँदै कमल थापाले अब चाँडै राजसंस्था पुनःस्थापना हुने भएको हुँदा हिमानीलाई पनि हार्दिक बधाई तथा शुभकामना दिएका छन् ।

    हिमानीले लेखेकी छन्, ‘अवसरबाद, नाताबाद, कृपाबाद को अन्त्य गर्न सफल हुनु भएकोमा राष्ट्रबादी नेता राजेन्द्र लिङ्देन लाई हार्दिक बधाई तथा सफल कार्यकाल को शुभकामना !!! राजेन्द्र लिङ्देन को जित सङ्गै मुलुकले मुलुक ले आज सच्चा राष्ट्रबादी नेता पाउन सफल भएको छ !!!’

    हिमानीको उक्त ट्वीटमाथि प्रतिक्रिया जनाउँदै थापाले लेखेका छन्- अब चाँडै राजसंस्था पुनःस्थापना हुने भएको हुँदा हिमानीलाई पनि हार्दिक बधाई तथा शुभकामना।

  • आजबाट बाघ गणना थालिँदै

    आजबाट बाघ गणना थालिँदै

    काठमाडौं । नेपालमा आजबाट बाघको गणना शुरु हुने भएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले आइतबारदेखि बाघ गणना गर्न थाल्ने जनाएको छ । गणना चितवन राष्ट्रिय निकुञ्जको सौराहा सेक्टरबाट हुनेछ । २०२१ भित्रै गणना गरिने भए पनि कार्यक्रमको नाम ‘राष्ट्रिय बाघ गणना २०२२’ राखिएको छ । नेपालमा पर्सा राष्ट्रिय निकुञ्ज, चितवन, बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ पाइन्छ । सबैभन्दा धेरै चितवनमा रहेको अनुमान छ ।

    गणनाका लागि बाघ पाइने ५ वटा निकुञ्ज र बाहिरको क्षेत्र समेटेर तीनवटा कम्प्लेक्स बनाइएको छ । पहिलो चरणमा चितवन–पर्सा कम्प्लेक्सबाट गणना हुने विभागले जनाएको छ । गणनाका दौरान नेपाली सेना र हात्तिको अधिकतम सहयोग लिइने भएको छ । बाघ गणनाका लागि क्यामेरा जडान मूख्य काम हुनेछ । यो पटक एउटा टोलीमा कम्तीमा पनि ६ देखि ८ जना प्राविधिक रहने बताइएको छ ।

    क्यामेरा ट्र्यापिङ र अकुपेन्सी सर्भे विधिबाट बाघको गणना हुने भएको छ । आगामी साउन १३ मा विश्व बाघ दिवसका दिन नतिजा सार्वजनिक गर्ने तयारी छ । गणना क्रममा बाघ ओहोरदोहोर गर्ने क्षेत्र र बाटो पत्ता लगाएर स्वचालित क्यामेरा राखिने भएको छ । क्यामेरा पार गरेर बाघ गए आफैं फोटो खिचिन्छ । क्यामेरामा कैद भएका बाघको तस्बिर हेरेर उक्त क्षेत्रमा कति बाघ छन् भन्ने निर्क्योल हुनेछ । नेपालमा सन् २०१८ मा २ सय ३५ बाघ रहेको अनुमान थियो ।

  • थापाथलीमा टिपरको ठक्क्रबाट स्कुटरमा सवार एक जनाको मृत्यु, एक घाइते

    थापाथलीमा टिपरको ठक्क्रबाट स्कुटरमा सवार एक जनाको मृत्यु, एक घाइते

    काठमाडौं । काठमाडौंको थापाथलीमा मिनी टिपरको ठक्करबाट स्कुटरमा सवार एक जनाको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।
    थापाथलीबाट त्रिपुरेश्वरतर्फ जाँदै गरेको बा २ ख ७३२७ नम्बरको मिनी टिपरले विपरीत दिशातर्फ आइरहेको बा २४ प ९३५९ नम्बरको स्कुटरलाई बिहान पौने ६ बजे ठक्कर दिएको थियो । ठक्करबाट स्कुटर चालक काभ्रेपलाञ्चोकको पनौती घर भई काठमाडौंको सीतापाइला बस्ने १९ वर्षीय सुजन सापकोटाको मृत्यु भएको हो ।

    थापाथलीमै रहेको नर्भिक अस्पतालमा उपचारको क्रममा सापकोटाको मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते भएका स्कुटरको पछाडि सवार सोही ठाउँका २२ वर्षीय आशिष हुमागाईंको नर्भिक अस्पतालममै उपचार जारी छ । टिपर चालकलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारले नियन्त्रणमा लिएको बताएको छ ।

  • आफ्नो हारमा पूर्वराजा ज्ञानेन्द्रको हात रहेको कमल थापाको आरोप

    आफ्नो हारमा पूर्वराजा ज्ञानेन्द्रको हात रहेको कमल थापाको आरोप

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्ष पदमा पराजित भएसँगै यसको कारक पूर्वराजा ज्ञानेन्द्र भएको कमल थापाले आरोप लगाएका छन् । उनलाई राजेन्द्र लिङ्देनले हराएका हुन् । थापाले पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासले हस्तक्षेप गरेको भन्दै आक्रोसित टिप्पणी गरेका छन् । थापाले सामाजिक संजाल टुइटरमार्फत आफूलाई ‘राजनीतिक रुपमा समाप्त पार्ने चेष्टा गरिएको आरोप लगाएका छन् ।

    उनले भनेका छन्, पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नांगो हस्तक्षेपको भ्रर्तसना गर्दछ ।,’ उनी अगाडी लेख्छन्, ‘सिंगो मुलुक गणतन्त्रमय भएको बेला शीरमा कफन बाँधेर २०६३ सालदेखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाइयो । सो एजेण्डाको मूल संवाहकलाई राजनीतिकरुपमा समाप्त पार्न गरिएको चेष्टाले राजाको भलो होस् । हार्दिक शुभकामना ।’

  • राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी, कमल थापा पराजित

    राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी, कमल थापा पराजित

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा ऐतिहासिक रुपमा नेतृत्व परिवर्तन भएको छ । राप्रपा अध्यक्षमा भएको निर्वाचनमा राजेन्द्र लिङ्देन विजयी भएका हुन् । उनले पूर्वअध्यक्ष कमल थापालाई २ सय मत अन्तरले हराए । निर्वाचन समितिका अनुसार लिङ्देन १ हजार ८ सय १७ मत पाए । कमल थापाले १ हजार ६ सय १७ मत पाए । ४३१ मत बदर भयो ।

    अध्यक्षका प्रत्यासी कमल थापाले आफ्नो हार स्वीकार गर्दै लिङ्देनलाई बधाई दिएका छन् । थापाले सामाजिक सन्जालबाट प्रजातान्त्रिक मूल्य र मान्यता आत्मसात गर्दै राप्रपा अध्यक्ष पदको निर्वाचनमा भएको पराजय सहर्ष स्विकार गर्ने बताएका छन् ।

    उनले नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनलाई बधाई तथा शुभकामना भनेका छन् । खुला उपाध्यक्षमा विक्रम पाण्डे, महिला उपाध्यक्षमा रोशन कार्की, खुला महामन्त्रीमा डा. धवलशम्सेर राणा र महिला महामन्त्रीमा कुन्ती शाही विजयी भएका छन् । रेखा थापा भने पराजित भएकी छिन् ।

  • नेपालमा पर्यााप्त खोप, दैनिक २ लाख मानिसमा कोरोना खोप लगाईंदै

    नेपालमा पर्यााप्त खोप, दैनिक २ लाख मानिसमा कोरोना खोप लगाईंदै

    काठमाडौं । नेपाल सरकारले दैनिक दुई लाख जनालाई कोरोना भाइरसविरुद्धको खोप वितरण गर्ने भएको छ । यसका लागि तयारी पूरा गरेको सरकारले जनाएको छ । राससका अनुसार आवश्यक खोप, खोपकेन्द्र र जनशक्तिको व्यवस्था गरिसकेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले विदेशबाट नियमित खोप आउन थालेपछि खोप आवश्यक पर्ने सबैलाई लगाउने जनाएको छ ।

    मन्त्रिपरिषद्को यही मङ्सिर १३ गते बसेको बैठकले सबै नागरिकलाई निःशुल्क रुपमा कोभिड–१९ खोप उपलब्ध गराउने निर्णय गरेको थियो । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले दैनिक दुई लाख जनालाई खोप लगाउने गरी आवश्यक सबै तयारी पूरा भएको जानकारी दिए । उनले खोप लगाउन आएका कोहीलाई पनि खोप नलगाई नफर्काएको जानकारी गराए ।


    सर्वसाधारणमा कोभिड–१९ विरुद्धको खोप पु¥याउनका लागि नियमित सञ्चालन हुने खोप केन्द्रबाट नै खोप लगाउने तयारी सरकारको छ । नेपालमा स्वास्थ्यकर्मी, कर्मचारी र अग्रपंक्तिमा काम गर्नेले करीव सबैले खोप पाइसकेका छन् । नेपालमा दुई करोड ७३ लाख ५६ हजार ५३० मात्रा खोप आइसकेको छ । तीन करोड ५० लाख खोप आउने क्रममा छ ।

    अहिलेसम्म एक करोड ८८ लाख ६२ हजार २१६ जनाले खोप लगाइसकेका छन् । तीमध्ये एक करोड दुई लाख ४८ हजार ३६९ पहिलो मात्रा र ८६ लाख १३ हजार ८४७ जनाले पूर्ण मात्राको खोप लगाइसकेका छन् ।

    अहिलेसम्म एक करोड ८८ लाख ६२ हजार २१६ जनाले खोप लगाइसकेका छन् । तीमध्ये एक करोड दुई लाख ४८ हजार ३६९ पहिलो मात्रा र ८६ लाख १३ हजार ८४७ जनाले पूर्ण मात्राको खोप लगाइसकेका छन् । कूल जनसङ्ख्यामध्ये ३३.७ प्रतिशतले पहिलो मात्रा र २८४ प्रतिशतले पूर्ण मात्रा खोप लगाइसकेका छन् ।

    सरकारले पुस मसान्तभित्र कूल लक्षितको दुई तिहाई र चैतमसान्तसम्म लक्षित सबै नागरिकलाई खोप लगाउने लक्ष्य लिएको छ । सरकारले खरिद गरेर र कोभ्याक्स सुविधामार्फत दैनिक खोप ल्याइरहेको छ । अहिले नेपालमा १८ वर्षभन्दा माथिका सबै नागरिकले चाहेको बेला खोप पाइरहेका छन् ।

    सरकारले बालबालिका खोप लगाउन मोडर्ना र फाइजर ल्याउने अन्तिम तयारीमा गरेको छ । फाइजर खोप एक लाख मात्रा आइसकेको छ । यही पुस १५ गतेभित्र मोडर्ना र फाइजर खोप ल्याउने मन्त्रालयको तयारी रहेको छ । मोडर्ना ७७ लाख र फाइजर ६० लाख ल्याउनका लागि सबै प्रक्रिया पूरा गरिएको मन्त्रालयका सहप्रवक्ता डा.अधिकारीले जानकारी दिएका छन् ।

  • नेपालमा २३८ जनामा कोरोना, ५ जनाको मृत्यु

    नेपालमा २३८ जनामा कोरोना, ५ जनाको मृत्यु

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा नेपालमा २३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार ५ हजार २९५ जनामा पीसीआर परीक्षण गर्दा २२० जनामा संक्रमण देखिएको हो । १ हजार ५०२ जनामा एन्टिजेन परीक्षण गर्दा १८ जनामा संक्रमण देखिएको छ । एन्टिजेन र पीसीआर गरी ६ हजार ७९७ परीक्षण गर्दा २३८ जनामा पोजिटिभ देखिएको हो । २४ घण्टामा ३९२ जना संक्रमणमुक्त भएका छन् ।

    नेपालमा हालसम्म कोरोनाबाट ८ लाख २२ हजार ३९२ जना संक्रमित भएका छन् । यस्तै, ८ लाख ४ हजार १०८ जना संक्रमणमुक्त भएका छन् । नेपालमा कोरोना निको हुने दर ९७।७ प्रतिशत छ । २४ घण्टाको अवधिमा ५ जनाको मृत्यु भएको छ । हालसम्म संक्रमणबाट ११ हजार ५४० जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । हाल देशमा सक्रिय संक्रमितको संख्या ६ हजार ७४४ रहेको छ । यस्तै, ९८ जना क्वारेन्टाइनमा छन् । २४ घण्टामा १ लाख ३० हजार ६८८ जनाले खोप लगाएको तथ्यांक छ ।

  • कोभिडको नयाँ भेरियन्ट ४० मुलुकमा पुष्टी

    कोभिडको नयाँ भेरियन्ट ४० मुलुकमा पुष्टी

    काठमाडौं । कोभिड १९ को नयाँ भेरियन्ट ओमिक्रोन ४० मुलुकमा देखिएको छ । यो भाइरसको फैलावटसँगै संसारभर त्रास बढेको छ । तर, विश्व स्वास्थ्य सङ्गठनले भने आत्तिनु भन्दा पनि सतर्क रहेर न्यूनिकरणको तयारी गर्न आह्वान गरेको छ । एउटा सम्मेलनलाई सम्बोधन गर्ने क्रममा डब्ल्यूएचओकी वरिष्ठ वैज्ञानिक सौम्या स्वामीनाथनले शुक्रवार अहिलेको अवस्था गत वर्षको भन्दा निकै फरक रहेको बताइकी छन्।

    बीबीसीका अनुसार प्राप्त विवरणहरूमा ओमिक्रोन झन्डै ४० वटा राष्ट्रमा पुगिसकेको उनको भनाई छ । भारतमा ओमिक्रोनबाट सङ्क्रमित कम्तीमा दुई व्यक्ति भेटिएका छन्। नेपाल भने अहिलेसम्म सुरक्षित छ । दक्षिण अफ्रिकाका वैज्ञानिकहरूले प्रस्तुत गरेका प्रारम्भिक विवरणअनुसार ओमिक्रोनले कोभिड(१९ विरुद्धको प्रतिरोधात्मक क्षमतालाई छल्न सक्ने सम्भावना छ। तर यो विश्लेषण शत प्रतिशत सही नहुन सक्ने बताइएको छ।

    रोएटर्स नेक्स्ट कन्फरेन्समा बोल्ने क्रममा डा. स्वामीनाथनले दक्षिण अफ्रिकाको तथ्याङ्कलाई उद्धृत गर्दै यो भेरिअन्ट अत्यन्तै सङ्क्रामक रहेको र यो विश्वभरि प्रभाव पार्न सक्ने स्ट्रेन बन्न सक्ने सम्भावना छ । अहिले विश्वमा फेला परेका कोभिड बिरामीमध्ये ९९ प्रतिशत डेल्टा भेरिअन्टबाट सङ्क्रमित छन्।

  • राप्रपामा नयाँ नेतृत्वका लागि मतदान शुरु

    राप्रपामा नयाँ नेतृत्वका लागि मतदान शुरु

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को नयाँ नेतृत्व चयन गर्न काठमाडौंमा मतदान जारी रहेको छ । काठमाडौंमा आयोजित राप्रपाको एकता महाधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयन गर्न शनिबार बिहान आठ बजेबाट मतदान थालिएको हो । अध्यक्ष पदमा कमल थापा र राजेन्द्र लिङ्देन भिडिरहेका छन् । राप्रपाको १ सय ९९ सदस्यीय कार्यसमितिमध्ये मतदानबाट अध्यक्षसहित एक सय ४९ सदस्य चुनिदैछन् ।

    बाँकी ५० जना अध्यक्षले मनोनित गर्ने राप्रपाको संशोधित विधानमा उल्लेख छ । समावेशीसहित १४१ केन्द्रीय सदस्यका लागि २ सय ६४ जनाले उम्मेदवारी दिएका छन् । आठ सदस्यीय पदाधिकारीका लागि १६ जनाको उम्मेदवारी परेको छ । पदाधिकारीमा एक महिलासहित चार उपाध्यक्षका लागि आठ जना र एक महिलासहित तीन महामन्त्रीका लागि ६ जना चुनावी प्रतिस्पर्धामा छन् ।

  • चितवनमा आजबाट स्मार्ट लाइसेन्स वितरण

    चितवनमा आजबाट स्मार्ट लाइसेन्स वितरण

    भरतपुर । चितवनमा आजबाट स्मार्ट लाइसेन्स नवीकरण शुरु हुने भएको छ । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्मार्ट लाइसेन्स सेवाको शुभारम्भ गर्ने भएका छन् । हालसालै सुरुआत गरिएका सवारी दर्ता र स्मार्ट लाइसेन्स नवीकरण सेवाको शुभारम्भ हुने भएको हो ।

    यातायात कार्यालयमा भीडभाड नहोस् भन्ने उद्देश्यले सेवाग्राहीका लागि भेटघाट व्यवस्थापन प्रणालीमार्फत अनलाइन टोकन प्रणाली लागू गरिएको छ । चितवन यातायात डट बागमती डट जिओभी डट एनपी मा लगइन गरी आफ्नो विवरण भरेर टोकन लिन सकिने छ । सोही टोकन र समयका आधारमा सेवा लिन सकिने यातायात कार्यालयले जनाएको छ ।

  • कंचनपुरमा जन्ती बोकेको ट्याक्टर दुर्घटना, तीन जनाको मृत्यु

    कंचनपुरमा जन्ती बोकेको ट्याक्टर दुर्घटना, तीन जनाको मृत्यु

    धनगढी । कञ्चनपुरमा जन्ती बोकेको ट्याक्टर दुर्घटनामा परि तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका लालझाडी गाउँपालिका ९ का ५५ वर्षीय रानि राना, ४३ वर्षीया रतना राना र ६५ वर्षीय द्रोपति रानाको उपचारका क्रममा धनगढीमा मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय झलारीका अनुसार दुर्घटनामा गम्भीर घाइते रामप्रसाद चौधरीको सेती प्रादेशिक अस्पतालमा उपचार जारी छ ।

    शुक्रबार दिउँसो वेदकोट नगरपालिकाको दैजीबाट जन्ती बोकेर फर्किदै गरेको से १ त ३८४१ नम्बरको ट्याक्टर झलारीमा दुर्घटनामा परेको हो । दुर्घटनामा चालकसहित १४ जना घाइते भएका थिए। उनीहरू मध्ये ८ जनालाई उपचारका लागि धनगढी पठाइएको थियो । दुर्घटनाको कारण खुलेको छैन ।

  • ‘हामीले निष्कासन गरेका राखे एमालेले फेरि पनि संसद् चल्‍न दिँदैन’- केपी ओली

    ‘हामीले निष्कासन गरेका राखे एमालेले फेरि पनि संसद् चल्‍न दिँदैन’- केपी ओली

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले फेरि पनि संसद चल्न नदिने भएको छ।

    दोस्रो कार्यकालका लागि अध्यक्ष निर्वाचित भएपछि केन्द्रीय कार्यालय थापाथलीमा पदभार ग्रहणका क्रममा अध्यक्ष केपी शर्मा ओलीले यस्तो संकेत गरेका हुन्।

    एमालेले निष्कासन गरेका व्‍यक्तिहरूलाई संसदमा राखेर कुनै पनि हालतमा स्वीकार गर्न नसकिने पनि उनले बताए।

    उनले भने, ‘हामीले निष्कासन गरेका व्यक्तिहरू संसदभित्र राखेर कसरी संसद् चल्न सक्छ ?,’ एमालेले निष्कासन गरेका व्यक्तिहरु फेरि संसदमा आउँछन् भने हामी स्वीकार गर्न सक्दैनौं।’

    उनले गठबन्धनबाट देश अहिले नचलेको भन्दै छिटोभन्दा छिटो ताजा जनादेशमा जानुपर्ने बताए । ओलीले अदालतमा देखिएको समस्या सत्तारुढ पाँच दलको गठबन्धनको विसंगतिका कारण भएको बताए ।

    ‘अदालतको हुर्मत लिने काम भएको छ । गलत फैसला गराउने र आफै हुर्मत लिने । कार्यपालिकाले न्यायपालिकालाई बर्वाद गरेको छ’ ओलीले भने, ‘गठबन्धनले हरेक क्षेत्रलाई गठबन्धनले निकम्मा बनायो । लोकतन्त्रका आधार भत्काउने काम भएको छ ।

    राष्ट्रपति विद्या भण्डारीले आगामी मंसिर २८ गते संघीय संसद बैठक आह्वान गरेकी छन्।

    नेकपमा एमालेले माधव नेपाल, झलनाथ खनाललगायतका १४ जना नेताहरूलाई कारबाही गरेको थियो। माधव नेपालको नेतृत्वमा नेकपा एकीकृत समाजवादी पार्टी दर्ता भई संसदमा दर्ता भइसकेको छ।

  • कक्षा–१२ को परीक्षाफल सार्वजनिक, ७ हजार ३६ जनाले ल्याए ‘ए प्लस’

    कक्षा–१२ को परीक्षाफल सार्वजनिक, ७ हजार ३६ जनाले ल्याए ‘ए प्लस’

    काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल प्रकाशित गरेको छ ।

    शुक्रबार बिहान बसेको बोर्डको बैठकले नतिजा प्रकाशित गरेको हो।

    सार्वजनिक नतिजाअनुसार सात हजार ३६ परीक्षार्थीले ‘ए प्लस’ ल्याएका छन् । ‘ए’ ग्रेड ल्याउने परीक्षार्थीको संख्या ४८ हजार २३९ छ ।

    ७० हजार एक परीक्षार्थीले ‘बी प्लस’, ९९ हजार ५३७ ‘बी’, ७५ हजार ८८ ‘सी प्लस’ र २४ हजार ५१५ परीक्षार्थीले ‘सी’ ग्रेड ल्याएका छन्।

    डी प्लस ल्याउनेमा ३ हजार ८ सय ७५ परीक्षार्थी छन् भने डी प्लस ल्याउनेमा २ सय ९६ जना छन्। १० हजार ७३ परीक्षार्थीले इ ल्याएका छन्।

    नतिजा https://neb.ntc.net.np/ मा हेर्न सकिनेछ।

    एनईबी स्पेस अनि सिम्बोल नम्बर लेखी १६०० मा एसएमएस पठाएर वा आईभीआर १६०१ मा फोन गरेर पनि नतिजा जानकारी पाउन सकिने बोर्डले जनाएको छ।

    सिस्टममा अपलोड भइनसकेकोले केही समयपछि मात्रै नतिजा हेर्न सकिने बोर्डले जनाएको छ।

    राष्ट्रिय परीक्षा बोर्डले विद्यार्थीको भौतिक उपस्थितिमै भदौ ३० गतेदेखि होम सेन्टरमा कक्षा १२ को परीक्षा लिएको थियो।

    परीक्षामा सहभागी हुने अधिकांश विद्यार्थीलाई कोभिडविरुद्धको खोप लगाएर स्वास्थ्य मापदण्ड अपनाउँदै होम सेन्टरमा सञ्चालन भएको थियो।

  • २८ मंसिरबाट एमआरपी वितरण बन्द, अनिवार्य इ-पासपोर्ट

    २८ मंसिरबाट एमआरपी वितरण बन्द, अनिवार्य इ-पासपोर्ट

    काठमाडौं । सरकारले आगामी मंसिर २८ गतेबाट मेसिन रिडेबल पासपोर्ट (एमआरपी) वितरण बन्द गर्ने भएको छ । अब राहदानी विभागबाट अनिवार्य रुपमा ई-पासपोर्ट वितरण गरिने विभागले जनाएको छ । विभागले नारायणहिटीबाट एमआरपी वितरण गरिरहेकोमा टोकन दिन बन्द गरेको जनाएको छ । २८ गतेबाट सेवाग्राहीलाई त्रिपुरेश्वरस्थित नयाँ भवनबाट ई-पासपोर्ट मात्रै वितरण गरिने भएको हो ।

    अनलाइन आवेदनबाट बुक गरेको समयमा सेवाग्राही बायोट्रिक दिन त्रिपुरेश्वरस्थित कार्यालयमा जानुपर्छ । ईपासपोर्ट वितरण थालेपनि एमआरपी जारी गर्न भने विभागले बन्द गरेको छैन । एमआरपी प्रणालीको तथ्यांक नयाँ प्रणालीमा सार्न र छपाइको काम प्रभावकारी बनाउन विभागले केही दिन दुवै खालका पासपोर्ट वितरण गरिरहेको बताएको हो ।

    अब विभागको मुख्य कार्यालयबाट ईपासपोर्ट मात्रै वितरण गरिने भएको हो । ‘विदेशस्थित कुटनीतिक नियोगबाट भरिसकेका फारमहरु अनुसार एमआरापी नै छपाइ भएर वितरण हुनेछ । विभागका अनुसार अहिलेसम्म विभागले ७१ लाख १० हजार एमआरपी वितरण गरिएका छन् । जसमा करिब एक लाख एमआरपी बुक मौज्दात छ । अर्को साताबाट काठमाडौं उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयबाट विद्युतीय राहदानी ईपासपोर्ट वितरण हुनेछ ।

    ई-पासपोर्ट बनाउनेले राष्ट्रिय परिचयपत्र वा त्यसको भेरिफाइड नम्बर अनिवार्य भर्नुपर्नेछ । जिल्ला प्रशासन कार्यलयहरुबाट तत्कालै राष्ट्रिय परिचयपत्र नपाए पनि जिल्ला प्राशसन कार्यालयमा आवेदन भरेपछि पाइने परिचयपत्र नम्बर पासपोर्टमा अनिवार्य गरिएको छ ।

    ३४ पृष्ठको राहदानी जिल्ला प्रशासन कार्यालयबाट बनाउँदा ५ हजार रुपैयाँ दस्तुर लाग्नेछ । तर, ६६ पृष्ठको बनाउन चाहे १० हजार रुपैयाँ दस्तुर तोकिएको छ । राहदानी विभागबाट दुई दिने सेवा अवधि बुक गरेर पासपोर्ट बनाउँदा ३४ पृष्ठको दस्तुर १२ हजार र ६६ पृष्ठको रहादानीको दस्तुर २० हजार तोकिएको छ ।

    राहदानी हराएको, केरमेट भएको, पाना च्यातिएको वा अन्य कारणले राहदानी प्रयोग गर्न नसक्ने भएर नयाँ बनाउनुपर्दा तोकिएको शुल्कमा थप ५ हजार रुपैयाँ दस्तुर लाग्नेछ । नियोगहरुमार्फत राहदानी बनाउँदा लाग्ने शुल्क भने क्षेत्र तथा क्षेत्रअनुसार फरक फरक तोकिएको छ ।

  • राष्ट्रपतिबाट २८ मंसिरमा संसद बैठक आह्वान

    राष्ट्रपतिबाट २८ मंसिरमा संसद बैठक आह्वान

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् बैठक आह्वान गरेकी छिन् । राष्ट्रपति भण्डारीले २८ मङ्सिरमा संसद् बैठक आह्वान गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । बिहीवार बसेको मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट संसद बैठक आह्वान भएको हो । यो दिन प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्ने भएको छ । बजेट अधिवेशन सँगै संसद बैठक अन्त्य भएको थियो । अब संसदको हिँउदे अधिवेशन आह्वान भएको हो ।

  • नेपालमा थप ३१५ जनामा कोरोना पुष्टी, ६ जना संक्रमितको निधन

    नेपालमा थप ३१५ जनामा कोरोना पुष्टी, ६ जना संक्रमितको निधन

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३१५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ५११ जनाको पीसीआर परीक्षण गर्दा २९८ जना र १८९२ जनाको एन्टिजेन परीक्षण गर्दा १७ गरी ३१५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख २१ हजार ९४९ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा २०२ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ८ लाख ३ हजार ३६९ पुगेको छ । संक्रिय संक्रमितको संख्या ७ हजार ४५ रहेको छ ।

    पछिल्लो २४ घण्टामा ६ जना संक्रमितको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ५३५ पुगेको छ ।

  • राप्रपा अध्यक्षको उम्मेदवारी शुल्क १ लाख, अन्य पदमा कति ?

    राप्रपा अध्यक्षको उम्मेदवारी शुल्क १ लाख, अन्य पदमा कति ?

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्षको उम्मेदवारी शुल्क एक लाख रुपैँया तोकिएको छ । राप्रपा केन्द्रीय निर्वाचन समितिले तय गरेको निर्वाचन कार्यतालिका अनुसार अध्यक्षको उम्मेदवार बन्न १ लाख शुल्क तोकेको हो ।

    त्यस्तै केन्द्रीय उपाध्यक्ष पदको उमेदवार बन्न ७५ हजार तोकिएको छ । केन्द्रीय महामन्त्री पदको लागि ५० हजार, केन्द्रीय सदस्यको लागि १५ हजार तोकिएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । राप्रपाको महाधिवेशन काठमाण्डुको भृकुटीमण्डपमा जारी छ ।

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जारी एकता महाधिवेशन अन्तर्गत बन्दसत्रमा आर्थिक कार्यपत्र प्रस्तुत गरिएको छ ।

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले पार्टीको जारी महाधिवेशनमा आर्थिक कार्यपत्र प्रस्तुत गरेका हुन् ।

    कार्यपत्रमा राप्रपाले आउँदो १५ वर्ष भित्र नेपालको प्रति व्यक्ति आम्दानी ३००० डलर पुर्‍याउनु हाम्रो बृहत् आर्थिक लक्ष्य हुने जनाएको छ ।

    यसको लागि कृषिको वृद्धिदर सालाखाला ४.५ र गैर–कृषि क्षेत्रको वृद्धिदर ८ देखि ९ प्रतिशत कायम गरिने कार्यपत्रमा उल्लेख छ ।

    कार्यपत्रमा नेपाल राष्ट्र निर्माता पृथ्वीनारायण शाहले नेपालको अर्थ राजनीति र नेपालको विशिष्टताबारे गरेको चिन्तन २१ औँ शताब्दीमा निरन्तरतासहितको गतिशीलता कायम गर्दै अगाडी बढ्न उपयुक्त हुन्छ भन्ने ठहर गरिएको छ ।

    वर्तमान सन्दर्भमा निरन्तरतासहितको गतिशीलता आर्थत् संवर्द्धनवाद भएको बताउँदै यस दृष्टिकोणलाई ‘पृथ्वीपथ’ नाम दिइएको छ ।

  • प्रधानन्यायाधीशलाई बिदामा बसेर कार्यवाहक तोक्न गठबन्धनको सुझाव

    प्रधानन्यायाधीशलाई बिदामा बसेर कार्यवाहक तोक्न गठबन्धनको सुझाव

    काठमाडौं । सत्तारूढ गठबन्धनका शीर्ष नेताहरूको बैठकले कोभिड-१९ सङ्क्रमण भई उपचाररत प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई बिदामा बसेर कार्यवाहक प्रधानन्यायाधीश तोक्न सुझाव दिएका छन्।

    प्रधानन्यायाधीश जबरालाई कोरोनाभाइरसको सङ्क्रमण भएको छ। उनको सशस्त्र प्रहरी अस्पतालमा उपचार चलिरहेको छ।

    बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पाँच दलका शीर्ष नेताहरूको बैठकले लामो समयदेखि अदालतमा अवरोध भएको र प्रधानन्यायाधीश बिरामी परेकाले तत्काल कार्यवाहक प्रधानन्यायाधीश तोकेर अदालतको काम–कारबाही अघि बढाउन सुझाव दिएका हुन्।

    “प्रधानन्यायाधीश बिरामी भएकाले तत्काल कार्यवाहक प्रधानन्यायाधीश तोकेर सर्वोच्च अदालतको काम–कारबाही अघि बढाउन सुझाव दिने गठबन्धनले निष्कर्ष निकालेको छ,” सञ्‍चारमन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले भने।

    बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल लगायत नेताहरू सहभागी थिए।

  • आजबाट कांग्रेसको प्रदेश अधिवेशन

    आजबाट कांग्रेसको प्रदेश अधिवेशन

    काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन कार्यतालीका अन्तर्गत आजबाट प्रदेश अधिवेशन हुने भएको छ । बिहीबार प्रदेश २ बाहेक बाँकी सबै प्रदेशमा अधिवेशन उद्घाटन हुनेछ । प्रदेश २ मा भने सर्लाही जिल्लामा प्रदेश सभा क्षेत्रीय अधिवेशन हुन नसकेका कारण आज अधिवेशन शुरु हुने छैन । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले सात वटै प्रदेशको प्रदेश अधिवेशन भर्चुअल माध्यमबाट एकैपटक उद्घाटन गर्नेछन् ।

    प्रदेश एकको अधिवेशन विराटनगर, प्रदेश २ को जनकपुर, बागमती प्रदेश अधिवेशन हेटौंडा, गण्डकीको कर्णाली, लुम्बिनी अधिवेशन भैरहवा, कर्णालीको सुर्खेत र सुदूरपश्चिम प्रदेशको अधिवेशन धनगढीमा हुने छ । कांग्रेसमा पहिलो पटक प्रदेश कमिटी बन्न लागेको छ ।

  • नेपालमा थप ३१६ जनामा कोरोना पुष्टी, ३ जना संक्रमितको निधन

    नेपालमा थप ३१६ जनामा कोरोना पुष्टी, ३ जना संक्रमितको निधन

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३१६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ९१९ जनाको पीसीआर परीक्षण गर्दा २८५ जना र १८०८ जनाको एन्टिजेन परीक्षण गर्दा ३१ गरी ३१६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख २१ हजार ६५१ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा २५९ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ८ लाख ३ हजार १६८ पुगेको छ । संक्रिय संक्रमितको संख्या ६ हजार ९५४ रहेको छ ।

    पछिल्लो २४ घण्टामा ३ जना संक्रमितको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ५२९ पुगेको छ ।

  • एयरपोर्ट गेटदेखि टर्मिनलसम्म निःशुल्क सवारी सेवा, विदेशिने श्रमिकलाई छुट्टै विश्राम कक्ष

    एयरपोर्ट गेटदेखि टर्मिनलसम्म निःशुल्क सवारी सेवा, विदेशिने श्रमिकलाई छुट्टै विश्राम कक्ष

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल भवनदेखि गोल्डेन गेटसम निःशुल्क सटल बससेवा सुरु गरिएको छ ।

    नेपाल नागरिक उड्डयन प्राधिकरणले वैदेशिक रोजगारमा जाने श्रमिकका लागि अन्तर्राष्ट्रिय टर्मिनल भवनभित्र विश्रामकक्षको समेत व्यवस्था गरेको छ ।

    सटल बस र विश्रामकक्षको संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री प्रेमबहादुर आलेले आज शुभारम्भ गरे। टर्मिनल भवनदेखि नै ट्याक्सी प्रयोग गर्दा महँगो भाडा तिर्नुपर्ने यात्रुको गुनासोलाई मध्येनजर गर्दै प्राधिकरणले गोल्डेन गेटसम्म तत्कालका लागि तीन वटा निःशुल्क सटल बसको व्यवस्था गरेको हो ।

    सवारी सुरु भएसँगै गोल्डेन गेटबाट पैदल यात्रा गरि टर्मिनल पुग्नुपर्ने यात्रुले सवारीसाधन प्रयोग गर्न सक्नेछन्। साथै विमानस्थलबाट बाहिर निस्किएपछि समेत यात्रुले यी बसबाट निःशुल्क गोल्डेन गेटसम्म झरेर यहाँबाट सार्वजनिक यातायात चढेर गन्तव्यसम्म जान सक्नेछन्।

    सो सटल बस बिहान ६ बजेदेखि राति ११ बजेसम्म सञ्चालन हुनेछन् । त्यसैगरी वैदेशिक रोजगारीमा जाने यात्रु टर्मिनल भवन बाहिरै उभिनुपर्ने समस्या देखिएपछि ४० यात्रु बस्न मिल्ने विश्रामकक्षको व्यवस्था गरिएको छ ।

    सो विश्राम कक्षमा मोबाइल चार्जिङ प्वाइन्ट, वाईफाई, कुर्सी, तातो/चिसो खानेपानी, टिभी, टेलिफोन र उडानबारे थाहा पाउने डिजिटल डिस्प्ले बोर्ड राखिएको छ ।

  • राप्रपाको महाधिवेशन आजबाट, नयाँ नेतृत्व छानिने

    राप्रपाको महाधिवेशन आजबाट, नयाँ नेतृत्व छानिने

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा) को महाधिवेशन आजबाट काठमाडौंमा हुँदैछ । कमल थापा, पशुपतिशम्शेर जबरा र डाक्टर प्रकाशचन्द्र लोहनी नेतृत्वले नेतृत्व गरेका तीन वटा घटकबीचको एकीकरण पछि पहिलो पटक महाधिवेशन हुन लागेको हो । महाधिवेशनले आगामी नेतृत्व चयन गर्नेछ । महाधिवेशनबाट राप्रपाको नयाँ नेतृत्व चयन गर्न करीव ४ हजार प्रतिनिधि काठमाडौं आएका छन् ।

    महाधिवेशन १७ गतेसम्म चल्नेछ । राप्रपामा १९९ सदस्यीय कार्य समिति रहेको छ । अध्यक्षसहित १४७ जना प्रत्यक्ष निर्वाचित र २५ प्रतिशत अर्थात् ५२ जना निर्वाचित कार्य समितिले मनोनित गर्ने प्रवाधान छ । राप्रपाको नेतृत्वमा यस पटक राजेन्द्रप्रसाद लिङ्देन र कमल थापा उठ्दैछन् ।

  • बार्बेडोस बन्यो कान्छो गणतन्त्रात्मक मुलुक, ब्रिटेनकी महारानीलाई राष्ट्रप्रमुख नमान्ने

    बार्बेडोस बन्यो कान्छो गणतन्त्रात्मक मुलुक, ब्रिटेनकी महारानीलाई राष्ट्रप्रमुख नमान्ने

    लण्डन । क्यारेबियन टापु मुलुक बार्बेडोस विश्वकै कान्छो गणतन्त्रात्मक मुलुक बनेको छ । ब्रिटेनकी महारानी एलिजाबेथलाई आफ्नो राष्ट्रप्रमुखको पदबाट औपचारिक रूपमा हटाउँदै यो देश विश्वकै कान्छो गणतन्त्र बनेको हो । राजधानी ब्रिजटाउनमा गए राति गरिएको समारोहमा डेम स्यान्ड्रा मेसनलाई बार्बाडोसको राष्ट्रपति पदको शपथ दिलाइएको छ।

    बीबीसीका अनुसार ब्रिजटाउनमा आयोजित उक्त समारोहमा ब्रिटेनका युवराज प्रिन्स अफ वेल्स तथा बार्बेडियन गायिका रिहाना समेत उपस्थिति भए । सो समारोह उक्त देश स्वतन्त्र बनेको ५५ औँ वार्षिकीको अवसरसँगै पारिएको थियो। समारोहलाई सम्बोधन गर्दै युवराज चार्ल्सले उक्त क्यारेबियन टापुले विगतमा दासताको त्रासदीपूर्ण ज्यादती भोगेको स्वीकार गरे। बार्बेडोसको नयाँ युगसँगै ब्रिटेनको शताब्दीयौँ पुरानो प्रभाव समाप्त हुनेछ।


    झन्डै २ सय वर्षसम्म त उक्त टापु एटलान्टिक महासागर वारपार हुने दासदासी व्यापारको केन्द्र समेत बनेको थियो। आधिकारिक रूपमा शक्ति हस्तान्तरणको प्रतीक स्वरूप समारोहमा ब्रिटिश राजतन्त्रप्रति अन्तिम सलामी दिइएको थियो । त्यसपछि शाही झन्डा विस्थापित गरिएको थियो। मुख्य अतिथिको रूपमा निम्त्याइएका युवराज चार्ल्सले संवैधानिक परिवर्तनका बाबजुद दुई देशबीच निरन्तर सम्बन्ध रहने बताए।