Category: समाचार

  • राष्ट्रपतिद्धारा नागरिकता संशोधन अध्यादेश जारी, अब आमाको नामबाट वंशजको नागरिकता

    राष्ट्रपतिद्धारा नागरिकता संशोधन अध्यादेश जारी, अब आमाको नामबाट वंशजको नागरिकता

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकतासम्बन्धी अध्यादेश जारी गरेकी छिन् ।

    राष्ट्रपति कार्यालयले आइतवार सूचना जारी गरेर नेपालको संविधानको धारा ११४ को उपधारा ९१० बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश जारी गरेको जनाएको छ।

    अध्यादेश जारी भएसँगै जन्मसिद्ध नागरिकता पाएका व्यक्तिको सन्तानलाई वंशजको नागरिकता दिइनेछ । हाल जन्मको आधारमा नागरिकता पाएका व्यक्तिको सन्तानले वंशजको नागरिकता नपाउने व्यवस्था छ ।

    मधेसकेन्द्रित दलको मागअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकतासम्बन्धी अध्यादेश मन्त्रिपरिषदबाट पारित गराएका थिए ।

  • नेपालमा पछिल्लो २४ घण्टामा १९३ जना कोरोना संक्रमितको निधन

    नेपालमा पछिल्लो २४ घण्टामा १९३ जना कोरोना संक्रमितको निधन

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १९३ जना कोरोना संक्रमितको निधन भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १९३ जना कोरोना संक्रमितको निधन भएको हो । हालसम्म नेपालमा ६ हजार ३४६ जना संक्रमितको मृत्यु भएको छ।

  • देउवाको समर्थनमा हस्ताक्षर गरेका सांसद सर्वोच्च जाने

    देउवाको समर्थनमा हस्ताक्षर गरेका सांसद सर्वोच्च जाने

    काठमाडौं । संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्रीमा शेर बहादुर देउवालाई प्रस्ताव गरि हस्ताक्षर गरेका १४९ सांसद संसद विघटनविरुद्ध रिट हाल्न सर्वोच्च अदालत जाने भएका छन् । विपक्षी गठबन्धनले एक स्वरमा यो कदमको विरोध गरेका छन् । आज दलहरुले आफ्ना सांसदहरुलाई नागरिकतासहित संसद भवनमा भेला हुन निर्देशन दिएका छन् । सम्भवतः आजै रिट दायर गर्ने तयारी रहेको बताइएको छ ।राष्ट्रपति र सरकारको कदमको कानुनी उपचार गर्ने निर्णय भएसँगै दलहरु सर्वोच्च जान लागेका हुन् ।


    शनिबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दूर्गा पौडेलसमेत सहभागी संयुक्त बैठकले संसद विघटनको कानुनी र राजनीतिक लडाइँ लड्ने निर्णय गरेको हो । विपक्षी दलको बैधानिक दाविलाई लत्याउँदै राष्ट्रपतिले दाबी नपुगेको भन्दै प्रधानमन्त्रीको सिफारिसमा शुक्रबार मध्यराति संसद विघटनको निर्णय गरेकी थिइन् । साथै उनले कात्तिक २६ र मंसिर ३ गते नयाँ निर्वाचन समेत घोषणा गरेकी छिन् । कोरोना भाइरसको महामारीका बीच आएको यो कदमको व्यापक आलोचना भइरहेको छ ।

  • महन्थ ठाकुर, राजेन्द्र महतोसहित चार नेतालाई जसपाले सोध्यो स्पष्टीकरण

    महन्थ ठाकुर, राजेन्द्र महतोसहित चार नेतालाई जसपाले सोध्यो स्पष्टीकरण

    काठमाडौं । जनता समाजवादी पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदममा साथ दिएको भन्दै अध्यक्ष महन्थ ठाकुरसहित चार नेतालाई स्पष्टीकरण सोधेको छ । ठाकुरसहित वरिष्ठ नेता राजेन्द्र महतो, सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्णलाई पार्टी निर्णयविरुद्ध गतिविधि गरेको भन्दै स्पष्टीकरण सोधेको हो । जसपा कार्यकारिणी समितिको बहुमत सदस्यहरूको बैठकले यस्तो निर्णय लिएको हो । यो बैठकको अध्यक्षता उपेन्द्र यादवले गरेका थिए ।

    बैठकमा बहुमत सदस्य उपस्थित भएको बताइएको छ । ठाकुर–महतो समूहले शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा उभिने निर्णय गरेक थिए । सोही अनुसार पार्टीका सबै सदस्यको हस्ताक्षर समेत प्रधानमन्त्रीलाई दिएका थिए । यो पार्टीको निर्णय विपरित भएको जसपाको भनाई छ । शनिबारको बैठकमा भौतिक रूपमा २८ र भाइबरसमेतबाट गरि कुल ३२ जना सहभागी भए । बैठकले संसदीय दलको नेताका रूपमा राजेन्द्र महतोलाई गरिएको घोषणा अस्वीकृत गर्ने निर्णय समेत गरेको छ ।

  • एट्लेटिको म्याड्रिड बन्यो स्पानिस च्याम्पियन

    एट्लेटिको म्याड्रिड बन्यो स्पानिस च्याम्पियन

    म्याड्रिड — एट्लेटिको म्याड्रिडले यस वर्षको स्पानिस लिगको उपाधी जितेको छ । बार्सिलोनाले आफ्नो प्राथमिकतामा नराख्ने घोषणा गरेपछि म्याड्रिड पुगेका लुइस स्वारेज वर्षभर नै यो टीमका लागि भाग्यमानी सावित भए । शनिबार राती सम्पन्न निर्णायक खेलमा समेत उनकै गोलको सहायतामा एट्लेटि च्याम्पियन बन्न सफल भएको हो । शनिबार टोलीले रियल भालाडोलिडलाई हरायो ।

    हारसँगै भालाडोलिड भने रेलिगेसनमा परेको छ । एक गोलले पछाडि परेको अवस्था उल्टाउँदै एट्लेटिकोले भालाडोलिडलाई २–१ ले हराएको हो । सिजन निकै प्रतिस्पर्धात्मक रह्यो । सोहीकारण अन्तिम खेलबाट स्पेनिस लिगको उपाधि जित्ने टीमको छिनोफानो भएको हो ।

    ओस्कार प्लानोको गोलमा भालाडोलिडले १८ औं मिनेटमा अग्रता लियो । एन्जल कोरिआलेले एट्लेटिकोलाई ५७ औं मिनेटमा खेल बराबरीमा ल्याए । त्यसको १० मिनेटपछि स्वारेजले गरेको गोल निर्णायक सावित बन्यो । रियल म्याड्रिड समेत भिल्लारियललाई जित्दै उपाधी दावेदार थियो ।

    एट्लेटिको बराबरीमा मात्र रोकिएको भए रियले उपाधी जित्ने निश्चित थियो । ३८ खेल सकिँदा सम्म एट्लेटिकोको ८६ र रियलको ८४ र तेस्रो स्थानमा बार्सिलोनाको ७९ अंक रहयो । एट्लेटिकाले सन् २०१४ पछि पहिलो पटक लिगको उपाधि उचाल्न सकेको हो ।

  • महामारी फैलने गरि कुनै कार्यक्रम नगर्ने माओवादीको घोषणा, राष्ट्रपतिको कदमको प्रतिवाद गर्ने

    महामारी फैलने गरि कुनै कार्यक्रम नगर्ने माओवादीको घोषणा, राष्ट्रपतिको कदमको प्रतिवाद गर्ने

    काठकाडौं । नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभा विघटनपछि उत्पन्न परिस्थितिलाई राजनीतिक र कानुनी लडाईका माध्यमबाट प्रतिवाद गर्ने निर्णय गरेको छ। कोरोना भाइरसको महामारीका कारण यसलाई नजरअन्दाज गरिने गतिविधिले स्थिति थप गम्भीर हुने विषयलाई बुझेको माओवादीले जनाएको छ ।

    आज पार्टी कार्यालय पेरिसडाँडामा बसेको माओवादी स्थायी कमिटीको बैठकपछि अध्यक्ष प्रचण्डद्धारा जारी विज्ञप्ती अनुसार संसद विघटनलाई असंवैधानिक, निरंकुश र प्रतिगामी कदमको रुपमा लिइएको छ । यो कदमको भने सशक्त प्रतिवाद गर्ने निर्णय पार्टीले गरेको छ ।

    त्यसका लागि कोरोना महामारीलाई अनदेखा गरेर कुनै पनि कार्यक्रम नगर्ने निर्णय भएको प्रचण्डले उल्लेख गरेका छन् । यसअघि शनिबार नै बसेको विपक्षी मोर्चाको बैठकले संसद विघटनबारे साझा धारणा बनाएर सार्वजनिक गरिसकेको छ ।

    कोरोना भाइरसको महामारी नियन्त्रण मूख्य प्राथमिकता हुनुपर्नेमा सरकार यसतर्फ उदासिन रहँदा यसले बहुआयामिक क्षेत्रमा असर पुग्ने समेत माओवादीको निष्कर्ष छ । पार्टीले महामारी नियन्त्रणमा आफ्नो शक्ति परिचालनको निर्णय समेत गरेको छ ।

  • प्रतिनिधिसभा विघटनबारे  सभामुखको निष्कर्ष : असंवैधानिक र अलोकतान्त्रिक कदम

    प्रतिनिधिसभा विघटनबारे सभामुखको निष्कर्ष : असंवैधानिक र अलोकतान्त्रिक कदम

    काठमाडौं । सरकारको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा भंग गरी मध्यावधी निर्वाचन घोषणा गरेपछि सभामुख अग्निप्रसाद सापकोटाको प्रतिक्रिया सार्वजनिक भएको छ । उनले यो कदमलाई असंवैधानिक र अलोकतान्त्रिकको संज्ञा दिएका छन् । उनले शनिबार प्रेस वक्तव्य जारी गर्दै संसद विघटन ११ फागुनमा सर्वोच्च अदालतबाट भएको फैसलाको समेत विपरित भएको प्रतिक्रिया दिएका छन् ।

    अदालतले फैसलामा अन्य विकल्प हुँदाहुँदै कसैको इच्छा वा आत्मनिष्ट रुपमा देखेको आवश्यकताका आधारमा आवधिक चुनाव बाहेकको अवस्थामा जनतालाई समेत आर्थिक दायित्व पर्ने गरी प्रतिनिधिसभा विघटन गरिनु संविधानको मर्म र उद्देश्य नहुँदा त्यस्तो कार्य संविधानसम्मत हुँदैन भनेको उनले स्मरणण गराएका छन् । संविधानको धारा ७६ .५) अनुसार वैकल्पिक सरकार गठन गर्न वस्तुगत आधार पेश भइसकेको अवस्थामा प्रधानमन्त्री नियुक्त गर्ने विकल्प रहँदारहँदै संसद विघटन गरिएको उनको निष्कर्ष रहेको छ ।

  • एमालेले माधवकुमार नेपालसहित ११ सांसदलाई स्पष्टिकरण सोध्यो

    एमालेले माधवकुमार नेपालसहित ११ सांसदलाई स्पष्टिकरण सोध्यो

    काठमाडौं । नेकपा एमालेले माधवकुमार नेपालसहित ११ सांसदलाई स्पष्टीकरण सोधेको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टीको स्थायी कमिटी बैठकले यस्तो निर्णय गरेको हो । पार्टी प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार पार्टी अध्यक्षलाई प्रधानमन्त्रीबाट हटाउन र विपक्षी दललाई सरकारमा पुर्‍याउन हस्ताक्षर गरेका सांसदमध्ये ११ जनालाई स्पष्टीकरण सोधिने भएको हो । अन्यको हकमा भने थप सोधपुछपछि मात्र निर्णय लिइने ज्ञवालीले बताए ।

    एमालका २६ सांसदले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीमा दाबी पेश गर्दा हस्ताक्षर गरेका थिए । एमालले माधवकुमार नेपाल, झलनाथ खनाल, भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, सरला यादव, पुष्पा कर्ण, लक्ष्मी चौधरी, कलिला खातुन र निरा जैरुलाई स्पष्टीकरण सोधिएको हो । उनीहरुले सोमबार बिहानसम्म स्पष्टीकरण बुझाउनु पर्ने भएको हो । स्पष्टीकरणका आधारमा थप निर्णय हुने बताइएको छ ।

  • तातोपानी नाका हुँदै चीनबाट आयो लिक्विड अक्सिजन

    तातोपानी नाका हुँदै चीनबाट आयो लिक्विड अक्सिजन

    सिन्धुपाल्चोक । चीनले अनुदानमा दिएका ठूलो परिमाणको लिक्विड अक्सिजन आज तातोपानी भन्सारबाट नेपाल प्रवेश गरेको छ । नेपालस्थित चिनियाँ दूतावासले यसको पुष्टी गरेको हो । यो सामग्री चीनको स्वशासित तिब्बत सरकारले अनुदानमा दिएको हो । ल्हासास्थित महावाणिज्य दूतावासबाट १५० सिलिन्डर लिक्विड अक्सिजन स्थलमार्ग हुँदै तातोपानी पठाएको हो ।

    लिक्विड अक्सिजनका १५० सिलिण्डर अब काठमाडौं ल्याइने भएको छ । नाकामा आइपुगेको यो लिक्विड अक्सिजनले ४० लिटर क्षमताका ६ हजार सिलिन्डरमा अक्सिजन भर्न सकिने भएको छ । यसले एक साथ धेरै बिरामीले अत्यावश्यक अक्सिजन प्राप्त गर्न सक्नेछन् ।

    तिब्बतबाट लिक्विड अक्सिजनसहित थप २०० थान आइसियू, पाँच थान भेन्टिलेटर र १० थान अक्सिजन कन्सन्ट्रेटरसहितका सामान समेत आउने क्रममा छन् । यी सबै चीन सरकारले अनुदानमा दिएको छ । कोरोना भाइरसको दोस्रो लहरको महामारीमा चीन सरकारले नेपाललाई उच्च प्राथमिकताका साथ सहयोग गरिरहेको छ ।

  • नेपालमा थप १२९ ले कोरोनाका कारण गुमाए ज्यान

    नेपालमा थप १२९ ले कोरोनाका कारण गुमाए ज्यान

    काठमाडौं । नेपालमा थप १२९ जनाले कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार २४ घण्टामा उक्त संख्यामा मानिसको ज्यान गएको हो । अब नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६ हजार १५३ पुगेको छ। पछिल्लो दुई सातायता लगातार करीव २ सय हाराहारी रहेको मृत्युको संख्या शनिबार केही कम देखिएको छ ।

    संक्रमणदर स्थिर रहेपनि निको हुने मानिसको संख्यामा उल्लेख्य वृद्धि भएको छ । यसले अस्पतालहरुका समेत मानिसहरुको अत्यधिक भिड केही कम भएको छ । साथै यो अवधिमा चीनसहितका मुलुकबाट आएको स्वास्थ्य सामग्रीका कारण मृत्युदर कम गर्न ठूलो सहयोग पुगेको छ । चीनबाट नेपाल वायुसेवा निगमको जहाजले मात्र २ हजार सिलिण्डर ल्याइसकेको छ । आज थप स्वास्थ्य सामग्री तातोपानी नाकाबाट नेपाल छिरेको छ ।

  • नेपालमा ९ हजार संक्रमित थपिए, ८८४८ संक्रमित निको भए

    नेपालमा ९ हजार संक्रमित थपिए, ८८४८ संक्रमित निको भए

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८९८० जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार सो संख्यामा संक्रमित थपिएका हुन् । अब नेपालमा कुल संक्रमितको संख्या ५ लाख ५ हजार ६ सय ४३ पुगेको छ । यस अवधिमा २० हजार १०५ जनाको नमूना परीक्षण गरिएको थियो ।

    नेपालमा दुई साता लगातार संक्रमण दर स्थिर रहेको छ । यो अवधिमा ८ हजार ८ सय ४८ जनाले भने कोरोना जित्न सफल भएको मन्त्रालयले जनाएको छ । अब नेपालमा कोरोनालाई जित्ने संक्रमितको संख्या ३ लाख ८३ हजार ६ सय ८४ पुगेको छ । नेपालमा कोरोनालाई जित्नेको दर ७५.८ प्रतिशत छ ।

  • राष्ट्रपतिको कदमको प्रतिवाद गर्ने कांग्रेसको निर्णय

    राष्ट्रपतिको कदमको प्रतिवाद गर्ने कांग्रेसको निर्णय

    काठमाडौं । नेपाली कांग्रेसले सरकारको सिफारिसमा राष्ट्रपतिले चालेको कदमको प्रतिवाद गर्ने निर्ण गरेको छ । कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले प्रतिनिधिसभा विघटन गर्ने राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध राजनीतिक र कानुनी लडाइँ लड्ने निर्णय गरेको हो ।

    आज सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले प्रतिनिधिसभा विघटन गरेर राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीले लोकतन्त्रविरुद्ध षडयन्त्र गरेको निष्कर्ष निकालेको हो ।

    नेताहरुका अनुसार लोकतन्त्रको रक्षाको लागि नेपाली कांग्रेसले राजनीतिक र कानुनी लडाइँ लड्ने निर्णय गरेको हो । यसका लागि विक्षी दलहरुसँग समेत कांग्रेसले सहकार्य गर्ने भएको छ । प्रतिनिधिसभा विघटनको विरोधमा उत्रिन नागरिक समाजलाई समेत आह्वान गरिने भएको छ ।

  • प्रतिगमन दोहोरियो, डटेर सामना गरौं : माधव कुमार नेपाल

    प्रतिगमन दोहोरियो, डटेर सामना गरौं : माधव कुमार नेपाल

    काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले राष्ट्रपति र प्रधानमन्त्रीको कदमको भत्र्सना गरेका छन् । उनले शनिबार आफ्नो धारणा सार्वजनिक गर्दै षडयन्त्रकारीहरुको उक्सावट र चाहनामा फेरी पनि संसदको चिरहरण गरिएको बताएका छन् ।

    उनले प्रतिगमन दोहोरिएको भन्दै संविधानका मर्ममाथि प्रहार गर्दै सर्वसत्तावाद लाद्ने उद्देह्यले भएको कथित चुनाव उद्घोष जालझेल भएको समेत बताएका छन् । शीतल निवासबाट यस व्यवस्थाकै कु गर्ने प्रयास भएको भन्दै नेता नेपालले यो प्रतिगमन भाग २ भएको उल्लेख गरे । यसको डटेर सामना गर्न समेत उनले सबैसँग आह्वान गरेका छन् ।

  • संविधान नै खारेज गर्ने प्रपञ्च भयो : भट्टराई

    संविधान नै खारेज गर्ने प्रपञ्च भयो : भट्टराई

    काठमाडौं । शुक्रबार राति संसद् भंग गरेर राष्ट्रपति विद्या भण्डारीले कात्तिक २६ र मंसिर ३ का लागि तोकेको चुनावको मितिप्रति टिप्पणी गर्दै जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले संविधान नै खारेज गर्ने प्रपञ्च भएको बताएका छन् । भट्टराईले यो मध्यावधि चुनाव नभई संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान खारेज गर्ने प्रपञ्च रहेको उल्लेख गरेका हुन् ।

    उनले भनेका छन् ‘भित्री र बाहिरी प्रतिगामी शक्तिहरूको षडयन्त्र, सेटिंगमा गत पुस ५ बाट जुन अलोकतान्त्रिकरअसंवैधानिकरप्रतिक्रान्तिकारी हर्कत शुरू भएको थियो त्यसैको कडी हो यो ओली, विद्या कुकर्म), यो कुनै मध्यावधि चुनाव होइन संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान खारेजगर्ने प्रपञ्च हो । एकजुट होऔं, प्रतिवाद गरौं ’

  • राष्ट्रपति र सरकारको कदमको चर्को आलोचना, कांग्रेस पदाधिकारी बैठक बस्दै

    राष्ट्रपति र सरकारको कदमको चर्को आलोचना, कांग्रेस पदाधिकारी बैठक बस्दै

    काठमाडौं । मध्यरातमा प्रतिनिधिसभा भंग गरेर मध्यावधि निर्वाचन घोषणा गरेसँगै राष्ट्रपति विद्यादेवि भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको व्यापक आलोचना भइरहेको छ । एमाले ओली पक्षको गुटबाहेक अन्य राजनीतिक दल महामारीमा निर्वाचन भन्दा जनजिविका सहज बनाउन लाग्नुपर्ने पक्षमा थिए । तर, प्रधानमन्त्रीको भित्रि इच्छा पुरा गर्दै अन्ततः मुलुकमा निर्वाचन घोषणा भएको हो ।

    यस सम्बन्धमा आफ्नो औपचारिक धारणा लिन नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेर चुनावको मिति घोषणा गरेपछि कांग्रेस नेताहरुले छलफल गर्न लागेका हुन् । बैठकमा पूर्वपदाधिकारीहरुलाई पनि बोलाइएको छ ।

    बैठक बिहान ९ बजे देउवा निवास बुढानीलकण्ठमा बस्दैछ । पार्टी सभापति शेरबहादुर देउवाले बहुमत सांसदहरुको हस्ताक्षरसहित प्रधानमन्त्रीमा दाबी गरे पनि राष्ट्रपतिले त्यसलाई नमानेपछि कांग्रेस रुष्ट बनेको हो । राष्ट्रपति र प्रधानमन्त्रीबाट विधि–पद्धति मिचेर लोकतन्त्रमाथि हमला गरेको भन्दै कांग्रेस नेताहरूको भनाई छ ।

  • प्रतिनिधिसभा भङ्ग, कात्तिक २६ र मङ्सिर ३ गते निर्वाचन घोषणा

    प्रतिनिधिसभा भङ्ग, कात्तिक २६ र मङ्सिर ३ गते निर्वाचन घोषणा


    काठमाडौं । सरकारले वर्तमान प्रतिनिधिसभा भङ्ग गरि मध्यावधि निर्वाचनको मिति तोकेको छ । शुक्रबार मध्यरात १२ बजे बालुवाटारमा बसेको आकस्मिक मन्त्रीपरिसद बैठकले यस्तो निर्णय गरेको हो । यो सिफारिस अब रास्ट्रपति विद्यादेवि भन्डारी समक्ष पुग्ने छ । यसअघि आजै प्रधानमन्त्रीका लागि पेश भएका दुबै दावी खारेज गरि रास्ट्रपतिले निर्वाचनको ढोका खोलिदिएकि थिइन् ।

  • रास्ट्रपतिबाट प्रधानमन्त्री दावी गरिएको दुबै प्रस्ताव खारेज

    रास्ट्रपतिबाट प्रधानमन्त्री दावी गरिएको दुबै प्रस्ताव खारेज


    काठमाडौं । रास्ट्रपति विद्यादेवि भण्डारीले संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री पदका लागि परेका दुबै प्रस्ताव अयोग्य भएको घोषणा गरेकी छिन् । शुक्रवार मध्यरातमा रास्ट्रपति कार्यालयबाट जारि सूचनामा उक्त जानकारी दिइएको हो । प्रधानमन्त्री केपि शर्मा ओलि र विपक्षी दलका नेता शेर बहादुर देउवा दुबैको प्रस्ताव अमान्य घोषणा भए सङ्गै अब प्रधानमन्त्री ओलिको रणनीति अनुसार चुनावी सरकारको घोषणा गर्न समेत ढोका खुलेको छ ।

  • एमालेको ओली खेमामा आए योगेश भट्टराई

    एमालेको ओली खेमामा आए योगेश भट्टराई

    काठमाडौं । एमाले नेता तथा सांसद योगेश भट्टराई अब ओली पक्षमा लागेका छन् । नेपाल समुहबाट सक्रिय उनले शुक्रबार शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा प्रस्ताव गर्ने पक्षमा हस्ताक्षर गरेनन् । यससँगै उनी अब अध्यक्ष ओली पक्षको खेमामा उभिएका छन् । यद्दपी उनले यो कदमलाई एमालेको एकता बचाउन गरेको दावि गरेका छन् । उनी नेकपामा शुरु भएको विवादबाटै माधव नेपाल पक्षमा दरिलो गरि उभिएका नेता हुन् ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि सो कदमको विरोधमा उनले मन्त्री पदबाटै राजीनामा गरेका थिए । उनले भनेका छन्, ‘मेरो राजनीतिक जीवन कै सबैभन्दा कठिन दिन आज । नेकपा एमालेको एकतालाई जोगाउन सकिन्छ कि भन्ने आशाले मैले आजको निर्णय लिएको हुँ । सही गरेकी, गलत गरेँ इतिहासको कठोर मूल्याङ्कनमा खडा छु।

  • प्रधानमन्त्री हाकाहाकी बोल्छन् झुट, बाबुराम भट्टराई पनि आफ्नो पक्षमा रहेको दावि

    प्रधानमन्त्री हाकाहाकी बोल्छन् झुट, बाबुराम भट्टराई पनि आफ्नो पक्षमा रहेको दावि

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार दिउँसो नेपाली संचारमाध्यमका सम्पादकसँग अन्तरक्रियामा बसे । उक्त अवसरमा वर्तमान संसदले आफुलाई विश्वासको मत नदिने भन्दै सोहीकारण एक महिना भित्र लिनु पर्ने विश्वासको मतको प्रक्रियामा आफु नगएको दावि गरे । त्यस्तो दावि गरेको एक घण्टा भित्रै उनी राष्ट्रपति कार्यालय पुगेर भने, ‘म सँग १५३ जना सांसदको समर्थन छ, मलाई प्रधानमन्त्री पदमा नियुक्त गरियोस ।’

    प्रधानमन्त्री ओलीको झुट त्यतिमा सिमित थिएन, उनकै विरुद्धमा हस्ताक्षर गरि शीतल निवास पुगेका माधवकुमार नेपाल, डा. बाबुराम भट्टराई सहितका नेता समेत आफ्नो समर्थनमा रहेको झुटो दावि गरे । यो दाविको राष्ट्रपतिकै अगाडी प्रतिवाद समेत गरेका छन् । डा. बाबुराम भट्टराई ओलीका कडा आलोचक मात्र होइनन्, ओलीको बहिर्गमनमा सबैभन्दा पहिले खुलेर लागेका नेता समेत हुन् ।

    उनलाई समेत आफ्नो समर्थक दावि गरेसँगै प्रधानमन्त्रीको झुट पर्दाफास भएको छ । उनले संविधान अनुसार बहुमत सिद्ध गर्न विवासको मत लिनु पर्ने थियो । उनी त्यसो नगरि नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गरेको बताएका थिए । शुक्रबार बिहानसम्म पनि ओली आफ्नो हैसियत बैशाख २७ को भन्दा फरक नभएकाले विश्वासको मत नलिई सीधै संविधानको धारा ५ जान बाध्य भएको दावि गर्दै थिए ।

    तर, जब शुक्रबार उनी राष्ट्रपति निवास पुगे, त्यहाँ उनले आफुसँग नै बहुमत रहेको भन्दै दावि प्रस्तुत गरे । बहुमतको भरपर्दो आधारै पेश नगरी पार्टीको तर्फबाट पत्रमात्रै दर्ता गरेर ओलीले दाबी गरेको यो पत्रलाई राष्ट्रपतिले वैधानिकता दिन्छिन् वा विपक्षी दलले आधारसहित दिएको दाविलाई, यो अहिले प्रतिक्षाको विषय बनेको छ ।

  • प्रधानमन्त्रीमा देउवा र ओलीको दावि, राष्ट्रपतिको फैसला निर्णायक

    प्रधानमन्त्रीमा देउवा र ओलीको दावि, राष्ट्रपतिको फैसला निर्णायक

    काठमाडौं । संविधानको धारा ७६ (५) अनुसार सरकार गठनको प्रक्रिया शुरु भएको छ । यस प्रक्रिया अनुसार राष्ट्रपतिले दिएको समय सीमा आज साँझ ५ बजेसम्म शेरबहादुर देउवा र केपी शर्मा ओलीले आफ्नो पक्षमा बहुमत रहेको दावि गर्दै राष्ट्रपति समक्ष दावि पेश गरेका छन् ।

    देउवाले विपक्षी सांसदसहित एमाले माधव नेपाल समुहका २७ सांसदको समेत हस्ताक्षरसहित आफ्नो दावि पेश गरेका हुन् । उनलाई कांग्रेस, माओवादी केन्द्र र समाजवादी पार्टीभित्र उपेन्द्र यादव समुहले समर्थन गरेको छ । उता, प्रधानमन्त्री केपी शर्मा ओली भने आफुलाई सिंगै एमाले र सिंगै जसपाको समर्थन रहेको दावि गर्दै राष्ट्रपति समक्ष पुगेका छन् ।

    देउवाले १४९ सांसदको समथर्न रहेको दावि गरेका छन् । ओलीले १५३ सांसद रहेको दावि गरेका छन् । यसअनुसार एमाले र समाजवादीका सांसद दोहोरिएका हुन् । संसदमा कायम सदस्य संख्याको बहुमत पुर्याएमा प्रधानमन्त्रीमा नियुक्त हुन सक्ने प्रावधान रहेको छ ।

    प्रधानमन्त्री र विपक्षी दलका नेताबाट छुट्टाछुट्टै दावि आएपछि अहिले राष्ट्रपति विद्यादेवि भण्डारी परामर्शमा रहेकी छिन् । उनले लिने फैसलामा आगामी प्रधानमन्त्रीको टुंगो लाग्ने छ ।

  • नेपालमा ८६०७ जनामा कोरोना पुष्टी, ७८९० जना संक्रमणमुक्त

    नेपालमा ८६०७ जनामा कोरोना पुष्टी, ७८९० जना संक्रमणमुक्त

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८६०७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको २२३५३ जनाको पिसिआरमा ८४०७ र ८३७ एन्टीजेन विधिबाट २०० जना संक्रमित पुष्टि भएका हुन्।

    यो सहित हालसम्म ४ लाख ९७ हजार ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ७८९० रहेको छ । हालसम्म ३ लाख ७४ हजार ८३६ जना संक्रमणमुक्त भएका छन् ।

    २४ घण्टामा कोरोना संक्रमणबाट थप १७७ जनाको मृत्यु भएको छ । मृतकको संख्या ६०२४ पुगेको छ । यससँगै संक्रिय संक्रमितको संख्या १ लाख १६ हजार ज्ञ९२ पुगेको छ ।

  • नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ६ हजार नाघ्यो

    नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ६ हजार नाघ्यो

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १७७ जना कोरोना संक्रमितको निधन भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १७७ जना कोरोना संक्रमितको निधन भएको हो । हालसम्म नेपालमा ६ हजार २४ जना संक्रमितको मृत्यु भएको छ।

  • प्रधानमन्त्रीको दावीसहित शीतलनिवासमा ओलीको पत्र

    प्रधानमन्त्रीको दावीसहित शीतलनिवासमा ओलीको पत्र

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति निवास शीतलनिवासबाट बाहिरिएका छन् । ओलीले पनि प्रधानमन्त्रीमा आफ्नो पनि दाबी प्रस्तुत गरेर बाहिरिएका स्रोतले जनाएको छ । उनले एमालेका १२१ र जनता समाजवादी पार्टी (जसपा) का १६ सांसदको हस्ताक्षरसहित दाबी पेश गरेका हुन् ।

    राष्ट्रपति बिद्यादेवी भण्डारीले संबिधानको धारा ७६ को उपधारा ५ अनुसार सरकार गठनको आह्वान गरेपछि प्रधानमन्त्री नियुक्त गर्न दावीसहित राष्ट्रपति समक्ष पत्र बुझाइएको हो ।

  • नयाँ सरकार बनाउन प्रतिनिधि सभा सफल भएन: प्रधानमन्‍त्री ओली

    नयाँ सरकार बनाउन प्रतिनिधि सभा सफल भएन: प्रधानमन्‍त्री ओली

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा नयाँ सरकार बनाउन सफल नभएको दाबी गरेका छन् ।

    शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री ओलीले प्रतिनिधि सभाले सरकार बनाउन असफल भएको बताएका हुन् । उनले

    उनले भने परिस्थितीलाई विश्लेषण गरेर नै संवैधानिक व्यवस्थाको राजनीतिक व्याख्या अनुसार नै विघटन गरेको बताए ।

    अदालतको व्यख्या रह्यो, प्रतिनिधी सभा पुनस्स्थापन भयो । अविश्वासको प्रस्ताव ल्याउन बाटो खोलेँ । तर अविश्वासको प्रस्ताव अढाई महिनासम्‍म पनि आएन ।

    नयाँ सरकार बनाउन प्रतिनिधि सभा सफल भएन । अथवा प्रतिनिधिसभालाई सफल बनाउन दिइएन उनले भने । सरकारसँग विश्वासको मत लिने समय पनि नभएको बताए ।

    ‘फेरी जाने ७६ (५) मै हो । हामीले जेठ १५ मा बजेट प्रस्तुत र त्यो भन्दाअघि नीति तथा कार्यक्रम पेश गर्नुपर्ने छ ।

    बजेट कसरी तर्जुमा गर्ने ? नयाँ सरकारले कसरी नीति तथा कार्यक्रम तर्जुमा गर्ने ? हामीले विश्वासको मत लिने कर्मकाण्ड गर्ने समयको सुविधा हामीलाई छैन’, ओलीले भने, ‘७६(५) मै जानुपर्ने भएपछि प्रधानमन्त्रीले मार्ग प्रशस्त गर्नु उचित मात्रै होइन, अनिवार्य हो । त्यसैल] वैकल्पिक सरकार निर्माणका लागि आह्वान गरिएको हो । छलेर सरकार बनाउन खोजेको होइन ।’

    यो विषयमा बाहिर अनावश्यक हल्ला फैलाइएकोसमेत प्रधानमन्त्रीले प्रष्ट पारे ।

  • संविधान संशोधनका लागि पाँच जनाको कार्यदल गठन

    संविधान संशोधनका लागि पाँच जनाको कार्यदल गठन

    काठमाडौं । सरकारले संविधान संशोधन गर्नका लागि पाँच जनाको कार्यदल बनाएको छ। जसपाका अध्यक्ष महन्थ ठाकुरले शुक्रबार संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग बिहीबार पाँच सदस्य कार्यदल गठन भएको बताए ।

    उक्त कार्यदलमा एमालेबाट पूर्वमहान्यायाधीवक्ता अग्नि खरेल, सांसद कृष्णभक्त पोखरेल र प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहकार बिष्णु रिमाल भने जसपाबाट लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ल छन्।

  • इजिप्टको मध्यस्थतामा थामियो इजरायल-प्यालेस्टाइन युद्ध, अमेरिकाको स्वागत

    इजिप्टको मध्यस्थतामा थामियो इजरायल-प्यालेस्टाइन युद्ध, अमेरिकाको स्वागत

    काठमाडौं\एजेन्सी । इजिप्टको मध्यस्थतापछि इजरायल र प्यालेस्टीनी विद्रोहीबीचका युद्ध थामिएको छ । करीव दुई सातायता जारी युद्धका कारण अढाइ सय मानिसले ज्यान गुमाइसकेका छन् । बीबीसीका अनुसार युद्धविराम स्थानीय समयानुसार शुक्रवार राति २ बजेबाट शुरु भएको छ।

    प्यालेस्टिनी विद्रोही तथा इजरायलको सुरक्षा क्याबिनेटले इजिप्टको मध्यस्थतामा गरिएको युद्धविरामप्रति स्वीकृति जनाएका हुन् । युद्धविरामपछि गाजामा विजयोत्सव मनाउन गोली चलाइएका आवाज आएको खबर छ । तर, इजरायल रकेट हान्न छाडिएको छ । यसअघि इजिप्टले इजरायल तथा गाजामा युद्धविराम पालना गराउन सुरक्षा प्रतिनिधिमण्डल पठाएको थियो ।


    हमासले पूर्वी जेरुसलेमबारे नखुलाइएका केही सहमति भएको बताएको छ। तर इजरायलले भने दाबी अस्वीकार गरेको छ। अमेरिकी राष्ट्रपति जो बाइडनले युद्धविरामको स्वागत गरेका छन्। यसले मध्येपूर्वमा प्रगतिका निम्ति अवसर दिएको उनको भनाई छ ।
    युद्धविराम लागु हुनुअगावै बोल्दै उनले इजरेलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग कुरा गरेको र लडाइँ अन्त्य गराएकोमा उनलाई बधाइ दिएको बताएका थिए। साथै बाइडनले युद्धविरामको मध्यस्थता गराएकोमा इजिप्टका राष्ट्रपति सीसीलाई पनि धन्यवाद दिएका छन्।

  • महामारी ओझेलमा, प्रधानमन्त्रीको मुडेबलमा मुलुकलाई अग्रिम निर्वाचनमा होम्ने प्रयास

    महामारी ओझेलमा, प्रधानमन्त्रीको मुडेबलमा मुलुकलाई अग्रिम निर्वाचनमा होम्ने प्रयास

    काठमाडौं । कोरोना महामारीका कारण दैनिक २ सय मानिसले ज्यान गुमाइरहेका छन् । अस्पतालमा बेड र अक्सिजनको अभाव यद्दपी अभाव छ । जनतामा चरम निरासा र सास्ती छ । तर, प्रधानमन्त्री केपी शर्मा ओली गत पुसमा आफुले चालेको संसद विघटन सही थियो भन्ने देखाउन हरसम्भव प्रयासमा लागेका छन् । उनकै मुडेबलमा अब मुलुक अग्रिम निर्वाचनमा होमिने निश्चित भएको छ ।

    सोही चालबाजी अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीबाट संविधानको धारा ७६ को उपधारा ५ वमोजिम नयाँ सरकार गठनको प्रक्रिया शुरु भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले उपधारा ४ बमोजिम संसदबाट विश्वासको मत नलिई नयाँ सरकार गठनको मार्ग प्रशस्त गरेको जानकारी आज राष्ट्रपतिलाई गराएका छन् ।

    राष्ट्रपति कार्यालयले बिहीबार राति विज्ञप्ति जारी गर्दै शुक्रबार साँझ ५ बजेसम्म विश्वासको मत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गर्न दलहरुलाई समय दिएको उल्लेख छ । अब विपक्षी गठबन्धनले आज रातभर र शुक्रबार दिनभरमा बहुमत देखाएर सरकारको दावि गर्न नसके प्रतिनिधिसभा संवैधानिक रुपमा भंग हुन्छ । त्यसपछि वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा निर्वाचन घोषणा हुन्छ ।

    प्रधानमन्त्री ओली यही चाहन्छन् । उनको चाहना अनुसार मुलुकलाई राजनीतिक खेलबाट बचाउने हो भने अहिले निर्णायक मत बोकेको माधव नेपाल समुहका सांसदले राजिनामा गरि विपक्षी दलको बहुमत पुर्याउन सहयोग गर्नुपर्छ । त्यसो हुन नसके मुलुक महामारीका बीच निर्वाचनमा जाने छ । यसले थप जटिलता ल्याउने छ । जनस्वास्थ्य पुनः एक पटक ओझेलमा पर्नेछ ।

  • पुनः नयाँ सरकार गठनको कसरत शुरु, राष्ट्रपतिबाट २१ घण्टाको समय प्रदान

    पुनः नयाँ सरकार गठनको कसरत शुरु, राष्ट्रपतिबाट २१ घण्टाको समय प्रदान

    काठमाडौं । नेपालमा नयाँ सरकार गठनको कसरत शुरु भएको छ । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले एक महिना भित्र विश्वासको मत लिनु पर्ने थियो । तर, आफ्नो पक्षमा विश्वासको मत लिन नसक्ने निश्चित भएपछि ओली पुनः अर्को कदममा गएका हुन् । उनले विश्वासको मत नलिई वैकल्पिक सरकार गठनका लागि मार्ग प्रशस्त गर्ने जानकारी राष्ट्रपति विद्यादेवी भण्डारीलाई गराएका थिए ।

    त्यसलगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(५) अनुसार नयाँ सरकार गठन गर्न आह्वान गरेकी छन् । राष्ट्रपतिले नयाँ सरकार गठन गर्न दलहरुलाई २१ घण्टाको समय दिएकी छिन् । अब दलहरुले शुक्रबार साँझ ५ बजेसम्म बहुमतको सरकार गठन गर्न दावि पेश गर्नुपर्नेछ ।

  • शपथ ग्रहण र कोभिड १९ संकट व्यवस्थापन सम्बन्धी अध्यादेश जारी

    शपथ ग्रहण र कोभिड १९ संकट व्यवस्थापन सम्बन्धी अध्यादेश जारी

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार दुईवटा अध्यादेश जारी गरेकी छन् ।

    मन्त्रिपरिषदको सिफारिसमा शपथ सम्बन्धी अध्यादेश, २०७८ र कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश, २०७८ जारी गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

  • पछिल्लो २४ घण्टामा १९० जना कोरोना संक्रमितको निधन

    पछिल्लो २४ घण्टामा १९० जना कोरोना संक्रमितको निधन

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १९० जना कोरोना संक्रमितको निधन भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १९० जना कोरोना संक्रमितको निधन भएको हो । हालसम्म नेपालमा ५ हजार ८४७ जना संक्रमितको मृत्यु भएको छ।