Category: समाचार

  • सिन्धुपाल्चोक पहिरोमा हराइरहेका ६ जना अझै भेटिएनन्, खोजी बन्द

    सिन्धुपाल्चोक पहिरोमा हराइरहेका ६ जना अझै भेटिएनन्, खोजी बन्द

    चौतारा । सिन्धुपालचोक, लिदी पहिरोमा हराइरहेकामध्ये ६ जना अझै वेपत्ता छन् । पहिरो गएको १५ दिनसम्म पनि नभेटिएपछि अब उनीहरुको खोजी बन्द गरिएको प्रहरीले जनाएको थियो । बुधबार र बिहीबार दिनभर सेना र प्रहरी तथा स्थानीयले उनीहरुको खोजी तिब्र बनाएका थिए । तर, कुनै प्रमाण फेला परेनन् । सोहीकारण पहिरोमा पुरिएर बेपत्ता भएकाको खोजी बन्द गरिएको हो ।

    साउन ३० मा जुगल गाउँपालिका २ लिदीमा गएको पहिरोले ३९ जना पुरेको थियो । जिल्ला प्रहरी कार्यालय सिन्धुपालचोकले दिएको जानकारी अनुसार अहिलेसम्म ३३ जनाको शव फेला परेको छ। ६ जना अहिले पनि बेपत्ता छन्। बेपत्ता हुनेमा सोही वडाका ४८ वर्षिया सोमरानी दोङ, २४ वर्षीया साइली दोङ, ८ वर्षीया प्रिया दोङ, २५ वर्षीय प्रकाश दोङ, दुई वर्षीय बालक आयुष दोङ र वडा नम्बर ३ का १७ वर्षीया सुवास दोङ रहेका छन्।

    बेपत्ता भएका मानिसलाई पहिरोसँगै खोलाले बगाएको आंशका गरिएको छ । परिवारको सहमति मै वेपत्ताको खोजी बन्द गरिएको स्थानीय तहका पदाधिकारीले बताएकाछन् । यहाँ अहिले वस्ती स्थानान्तरणको प्रक्रिया चलिरहेको छ । यो बस्ती भूकम्पपछि जोखिमपूर्ण भनी किटान गरिएको हो । तर, बेलैमा व्यवस्थापन हुन नसक्दा ठूलो मानवीय क्षति बेहोर्नु परेको छ ।

  • नेपालमा कोरोना संक्रमणबाट थप आठ जनाको मृत्यु

    नेपालमा कोरोना संक्रमणबाट थप आठ जनाको मृत्यु

    काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप आठ जनाको मृत्यु भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार २४ घण्टामा कोरोना संक्रमणबाट पाँच महिलासहित थप आठ जनाको मृत्यु भएको हो ।

    प्रवक्ता गौतका अनुसार कोरोना संक्रमणबाट ललितपुरकी ६५, बाराकी २३, कास्कीकी ३२, रुपन्देहीकी ६२ र बाँके ७० वर्षीया महिला तथा काठमाडौंका ४८, पर्साका ६२ र कपिलवस्तुका ५० वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो। योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८३ पुगेको छ।

  • नेपालमा थप ११११ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३५,५२९

    नेपालमा थप ११११ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३५,५२९

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार १ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्‍वर गौतमको अनुसार २४ घण्टामा गरिएको १२ हजार ४ सय २९ पीसीआर परीक्षणमा १ हजार १ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३५ हजार ५२९ जना पुगेको छ।

    पछिल्लो २४ घण्टामा थप ५६९ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म २० हजार ७३ उपचारपछि निको भएका छन्।

    नेपालमा हालसम्म १८३ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

  • उपत्यकामा ३ सय ७७ जनामा कोरोना संक्रमित थपिए

    उपत्यकामा ३ सय ७७ जनामा कोरोना संक्रमित थपिए

    काठमाडौं । काठमाडौं उपत्यकामा थप ३ सय ७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा।जागेश्‍वर गौतमको अनुसार २४ घण्टामा उपत्यकाभित्र ३ सय ७७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

    बिहीबार थपिएका संक्रमितहरू काठमाडौंका २ सय ७० जना, ललितपुरका ६६ जना र भक्तपुरका ४१ जना छन्।

    काठमाडौं उपत्यकामा एकै दिन संक्रमित हुनेको संख्या यो अहिलेसम्मकै बढी हो। योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या ४ हजार ३ सय ९६ पुगेको छ।

  • चितवनमा ५ महिनाको शिशुमा कोरोना, थपिए ५२ संक्रमित

    चितवनमा ५ महिनाको शिशुमा कोरोना, थपिए ५२ संक्रमित

    भरतपुर । बिहीबार चितवनमा थप ४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । यसरी पुष्टी हुनेमध्ये एक जना पाँच महिनाको शिशु समेत छन् । भरतपुर अस्पतालको कोभिड–१९ परीक्षण प्रयोगशाला र चितवन मेडिकल कलेज (सीएमसी) मा भएका परीक्षणबाट उक्त संख्यामा कोरोना भाइरसका बिरामी थप भएका हुन् ।

    बिहीबार चितवनका मात्र ४५ जनामा कोरोना देखिएको छ । ती अस्पतालमा अन्य जिल्लाका ७ जनामा समेत कोरोना देखिएसँगै कुल ५२ जनामा संक्रमण पुष्टि भएको हो । भरतपुर अस्पतालको प्रयोगशालामा १५९ नमुना परीक्षणबाट २६ जनामा संक्रमण देखिएको छ । यो संक्रमणको उच्च दर हो । बिहीबार पुष्टी भएकामध्ये १४ जना रत्ननगर नगरपालिकाका हुन् ।

    माडी नगरपालिकाका ९ र भरतपुर महानगरपालिकामा दुई जनामा संक्रमण देखिएको प्रयोगशालाले जनाएको छ । एक जना तनहुँ, देवाघाट गाउँपालिकाका रहेका छन् । बिहीबार सबैभन्दा धेरै भरतपुर महानगरपालिकामा १८ जना संक्रमित भेटिए । उता, रत्ननगर नगरपालिकामा समेत १८ जना नै भेटिएका छन् ।

    माडी नगरपालिकामा थप ९ जनामा संक्रमण पुष्टी भएको छ । तनहुँको देवघाट र भानुका २ जना, पूर्वी नवलपरासीको गैंडाकोटका १, मध्यविन्दुका २ जना गरी ३ जना, सर्लाहीको इश्वरपुरका १ र हरिपुरका १ गरी दुई जनामा संक्रमण पुष्टि भएको प्रयोगशालाले जनाएको छ ।

  • बुटवलमा कोरोनाबाट थप एकको मृत्यु

    बुटवलमा कोरोनाबाट थप एकको मृत्यु

    बुटवल । बुटवलमा कोरोना भाइरसको संक्रमणबाट एक जनाको निधन भएको छ । बुटवलस्थित कोरोना विशेष अस्थायी अस्पतालमा उपचाररत कपिलवस्तुका एकजनाको ज्यान गएको हो । कपिलवस्तु नगरपालिका–१ का ५० वर्षीय पुरुषको उपचारका क्रममा बुधबार राति मृत्यु भएको अस्पतालले जनाएको छ । उनी ५ भदौमा अस्पताल भर्ना भएका थिए । उनी उच्च रक्तचाप, मधुमेह र रक्तअल्पताको समस्या समेत झेलिरहेका बिरामी थिए ।

    पछिल्लो केही दिनमा दीर्घकालिन रोग बोकेका अधिकांश संक्रमितको ज्यान गइरहेको छ । त्यसमा पनि जोखिममा रहेको बिरामीको संख्या समेत बढिरहेको छ । सोही अनुसार सरकारले अब लक्षण नभएका बिरामीलाई अस्पताल भर्ना समेत नलिने निर्णय गरिसकेको छ ।

  • झापामा प्रहरीको गोली लागेर एक जनाको मृत्यु

    झापामा प्रहरीको गोली लागेर एक जनाको मृत्यु

    झापा । झापामा प्रहरीको गोली लागेर एक जनाको ज्यान गएको छ । झापाको झापा गाँउपालिका ३ कामाटोलीमा सशस्त्र प्रहरीले स्थानीय बासिन्दासँगको झडपका क्रममा गोली चलाएको हो । स्थानीयबासीबाट सुरक्षाकर्मीमाथि आक्रमण भएपछि आत्मरक्षाका लागि सशस्त्र प्रहरीले गोली चलाएको बताइएको छ ।

    गोली लागि घाइते भएका कामाटोलीका ३८ वर्षीय रमिकुल आलमको ज्यान गएको छ । उक्त स्थानमा गोरु काटेको सुराकीका आधारमा प्रहरी पुगेको थियो । जनपथ प्रहरीले ब्याकअपका लागि सशस्त्रको सहयोग मागेको थियो । त्यसपछि गएको सशस्त्र प्रहरीमाथि स्थानीयबाट आक्रमण भएपछि प्रहरीले गोली चलाउनु परेको बताइएको छ ।

    प्रहरीको लागि लागेर घाइते भएका आलमको बी एण्ड सी अस्पताल विर्तामोडमा उपचारका क्रममा साँझ ज्यान गएको प्रहरीले जनाएको छ । प्रहरीले १० राउण्ड हवाई फायर समेत गरेको थियो । प्रहरी र स्थानीयबीच हिंस्रक झपड भएपछि उक्त स्थान अशान्त बनेको छ ।

  • कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु

    कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु

    काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्‍वर गौतमका अनुसार मृत्यु हुनेमा दुई महिला र ९ पुरुषहरु रहेका छन् ।

    प्रवक्ता गौतका अनुसार मृत्यु हुनेमा मोरङकी ४६ वर्षीया महिला, भक्तपुरकी ५३ वर्षीया महिला, कैलालीका ४५ र ५० वर्षीय पुरुष, महोत्तरीका ६०, ७३ र ७५ वर्षीय पुरुष, बाँकेका ३७ वर्षीय पुरुष, काठमाडौंका ५१ वर्षीय पुरुष, बाराका ४१ र ४६ वर्षीय पुरुषको रहेका छन् । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७५ पुगेको छ।

  • लक्षण नदेखिएका संक्रमितलाई १४ दिनमा परीक्षण नगरी डिस्चार्ज गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

    लक्षण नदेखिएका संक्रमितलाई १४ दिनमा परीक्षण नगरी डिस्चार्ज गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

    काठमाडौं । स्वास्थ्य मन्त्रालयले लक्षण नभएका कोरोना संक्रमितलाई १४ दिनमा अनिवार्य डिस्चार्ज गर्न देशभरका कोभिड अस्पताललाई निर्देशन दिएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा।जागेश्‍वर गौतमले मन्त्रालय अन्तर्गतको स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रले देशभरका कोभिड अस्पताललाई पत्रचार गर्दै लक्षण नभएका संक्रमितलाई संक्रमण पुष्टि भएको १० दिनमा पीसीआर परीक्षण गरी डिस्चार्ज गर्न निर्देशन दिएको जानाकारी दिए ।

    १० दिनमा टेष्ट गर्दा नेगेटिभ आए होम आइसोलेनसमा बस्ने गरी घर पठाउनुपर्नेछ । पोजेटिभ आएकाहरुलाई थप चार दिन अस्पतालमा राख्नुपर्नेछ र, १४ औं दिनको दिन पीसीआर टेष्ट नगरी डिस्चार्ज गर्नुपर्नेछ ।

    १४ दिनमा डिस्चार्ज नगरिए सरकारले संक्रमितको उपचारमा लागेको खर्च स्रोत भर्ना नगरिने केन्द्रले जनाएको छ। स्वास्थ्य मन्त्रालयले साउन २९ गते नै केन्द्रलाई लक्षण नभएका संक्रमितलाई १४ दिनमा अनिवार्य डिस्चार्ज गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको थियो।

  • उपत्यकामा कोरोना संक्रमितको रेकर्ड,एकैदिन थपिए ३०१ संक्रमित

    उपत्यकामा कोरोना संक्रमितको रेकर्ड,एकैदिन थपिए ३०१ संक्रमित

    काठमाडौं । काठमाडौं उपत्यकामा थप ३ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार २४ घण्टामा गरिएको पीसीआर परीक्षणमा उपत्यकाका अहिले सम्मकै धेरै संक्रमित थपिएका हुन् ।

    मन्त्रालयका अनुसार बुधबार काठमाडौंमा २ सय ३०, ललितपुरमा ४७ र भक्तपुरमा २४ जना संक्रमित थपिएका छन् ।

  • नेपालमा थप ८ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि

    नेपालमा थप ८ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८ सय ८५जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्‍वर गौतमको अनुसार २४ घण्टामा गरिएको १३ हजार २ सय ५३ पीसीआर परीक्षणमा ८ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३४ हजार ४१८ जना पुगेको छ।

    पछिल्लो २४ घण्टामा थप ३८५ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म १९ हजार ५०४ उपचारपछि निको भएका छन्।

    नेपालमा हालसम्म १७५ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

  • काठमाडौं निषेधाज्ञा तोड्ने ८ हजार गाडी कारवाहीमा

    काठमाडौं निषेधाज्ञा तोड्ने ८ हजार गाडी कारवाहीमा

    काठमाडौं । काठमाडौं उपत्यकामा घोषित निषेधाज्ञा तोड्दै गुडेक ८ हजार सवारी साधन एक साता भित्र कारवाहीमा परेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका तथ्यांक अनुसार एक सातामा उपत्यकामा ८ हजार १ सय बढी गाडीलाई कारवाहीस्वरुप होल्ड गराइएको छ । उपत्यकामा बिहीबारदेखि निषेधाज्ञा प्रारम्भ भएको थियो ।

    बुधबार पूर्वघोषित निषेधाज्ञाको अन्तिम दिन हो । बुधबार बिहानसम्म ८ हजार १ सय ९१ गाडीलाई होल्ड गरिएको महाशाखाले जानकारी दिएको छ । यसरी होल्डमा पर्नेमा ६ हजार ५ सय ४७ दुई पाङग्रे सवारी हुन् । चारपाङग्रे सवारीको संख्या भने १६ सय ४४ वटा छ । बुधबार मात्र निषेधाज्ञा उलङ्घन गर्ने १ सय ६६ वटा सवारी कारवाहीमा परेका छन् ।

    यसैबीच निषेधाज्ञा थप एक साता बढाउने सिफारिस अनुसार आज त्यसको औपचारिक घोषणा गर्ने तयारी छ । उपत्यकामा अब १७ भदौसम्म निषेधाज्ञा जारी रहनेछ । यसबीचमा करीव २८ हजार मानिसमा पिसिआर परीक्षण गर्ने तयारी समेत गरिएको छ ।

  • लागुऔषध कारोबारीलाई पक्रन रुकुममा प्रहरीले चलायो गोली

    लागुऔषध कारोबारीलाई पक्रन रुकुममा प्रहरीले चलायो गोली

    मुसिकोट । रुकुमपश्चिममा प्रहरीले दुई व्यक्तिलाई पक्राउ गर्ने क्रममा गोली चलाएको छ । दुई लागुऔषध कारोबारीलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको पुष्टी गरेको छ । मुसीकोट नगरपालिका–४ ठाराढुंगाबाट प्रहरीले गोली प्रहार गरी दुई जनालाई पक्रेको हो । गोली प्रहारबाट एकजना घाइते भएका छन् ।

    दुई जना पक्राउ परेपनि एकजना भने भागेको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमले जानकारी दिएको छ । रुकुमपश्चिमको मुसीकोट नगरपालिका–११ भलाक्चाका २५ वर्षीय निर्मल पुनलाई गोली लागेको छ । पुलिसले उनको तिघ्रामा गोली हानेको थियो । उनको नेपालगञ्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उनीसँगै रहेका मुसीकोट–११ कै ३५ वर्षीय लक्ष्मी पुन पक्राउ परेका छन् । अर्का जयप्रकाश घर्ती भने फरार छन् ।

    रुकुमपूर्वमा लागुऔषध अफिमसहित केही व्यक्ति पक्राउ परेको विषयमा अनुसन्धान गर्दा उनीहरुको समेत नाम जोडिएपछि प्रहरी खोजीमा थियो । सोही खोजीका क्रममा प्रहरीले गोली चलाएर पक्राउ गरेको बताइएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

  • चितवनमा बुधबार थपिए ४४ संक्रमित

    चितवनमा बुधबार थपिए ४४ संक्रमित

    भरतपुर । चितवन कोरोना भाइरसको अर्को इपिसेन्टर बन्ने संकेत गरेको छ । दैनिक तिब्र गतिमा बढिरहेको संक्रमणले चितवन र यस आसपासका क्षेत्र नराम्रोसँग प्रभावित हुने देखिएको छ । बुधबार मात्र यहाँ ४४ जनामा कोरोनो भाइरस संक्रमण पुष्टि भएको छ। भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा मंगलबार राति भएको परीक्षणमा चितवनका ४० जनासहित ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    संक्रमण पुुष्टि हुनेमा भरतपुर महानगरपालिकामा सबैभन्दा धेरै मानिस छन् । महानगरमा २० महिला र १६ पुरुष गरि ३६ जनामा संक्रमण देखिएको छ । ५ वर्षदेखि ४६ वर्षसम्मका पुरुष र ८ वर्षदेखि ५४ वर्षसम्मका महिलामा कोरोना पुष्टी भएको हो । भरतपुर–२, ४, ५, ७, ९, १०, ११, १२, १४, १५, १६ नम्बर वडामा कोरोना देखिएको छ ।

    भरतपुर अस्पताल स्वाब संकलन केन्द्र, वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र पुरानो मेडिकल कलेजबाट गरिएको स्वाब संकलनमा उनीहरुमा संक्रमण पुष्टि ल्यावले जनाएको छ । पूर्वी चितवनको रत्ननगर नगरपालिकाका २७ र ७१ वर्षीया दुई महिला र २४ वर्षीय एक पुरुष गरी ३ जनामा संक्रमण पुष्टि भएको छ।

    उता, खैरहनी नगरपालिका–१ का २६ वर्षीय एक जनामा पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । पूर्वी नवलपरासीका २३ वर्षीया एक महिला, रुपन्देहीका ५४ वर्षीया एक महिला, तनहुँका ३८ वर्षीय एक पुरुष र धनुषाका ५४ वर्षीया एक महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।

  • कोरोना संक्रमणबाट काठमाडौंमा तीनसहित थप सात जनाको मृत्यु

    कोरोना संक्रमणबाट काठमाडौंमा तीनसहित थप सात जनाको मृत्यु

    काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप सात जनाको मृत्यु भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता डा. जागेश्वर गौतमको अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट काठमाडौंका तीन जनासहित थप सात जनाको मृत्यु भएको हो ।

    कोरोना संक्रमणबाट मृत्यु हुनेमा काठमाडौंका ७४ र ६६ वर्षीय पुरुष तथा ७१ वर्षीया महिला, सिरहाका २२ वर्षीय पुरुष, पर्साका ६८ वर्षीय पुरुष, धनुषाका ७६ वर्षीय पुरुष र रुपन्देहीका ५३ वर्षीय पुरुष रहेका छन् ।

    योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६४ पुगेको छ।

  • काठमाडौं उपत्यकामा २३२ कोरोना संक्रमित थपिए

    काठमाडौं उपत्यकामा २३२ कोरोना संक्रमित थपिए

    काठमाडौं । पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप २ सय ३२ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार २४ घण्टामा गरिएको परीक्षणमा काठमाडौंमा १ सय ९९, ललितपुरमा १९ र भक्तपुरमा १४ जनामा संक्रमण पुष्टि भएको हो ।

    योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या ३ हजार ७ सय १८ पुगेको छ।

    त्यसैगरि, काठमाडौंमा २ हजार ९५५, ललितपुरको ४६३ र भक्तपुरमा ३०० संक्रमित पुगेका छन्।

  • नेपालमा थप ८ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि

    नेपालमा थप ८ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्‍वर गौतमको अनुसार २४ घण्टामा गरिएको ११ हजार ३ सय २७ पीसीआर परीक्षणमा ८ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३३ हजार ५ सय ३३ पुगेको छ ।

    पछिल्लो २४ घण्टामा थप ३१३ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म १९ हजार ११९ उपचारपछि निको भएका छन्।

    नेपालमा हालसम्म १५७ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

  • चितवनमा बिहानै थपिए १७ संक्रमित

    चितवनमा बिहानै थपिए १७ संक्रमित

    भरतपुर । चितवनमा मंगलबार बिहान थप १७ जनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ । भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा सोमबार आएको नतिजा अनुसार चितवनका १५, मकवानपुरका एक र पूर्वी नवलपरासीको गैँडाकोटका एक जनामा कोरोना संक्रमण भेटिएको हो । संक्रमिता भरतपुर महानगरपालिका भित्रै ९ जना भेटिएको ल्यावले जनाएको छ ।

    श्रीपुष्पाञ्जली हस्पिटलमा उपचाररत भरतपुर–३ का ५१ वर्षीय पुरुषमा कोरोना पोजेटिभ पाइएको हो । ६ जनाको स्वाव भने पुरानो मेडिकल कलेज र नारायणी सामुदायिक अस्पतालबाट संकलन गरिएको हो । संक्रमितहरु राप्तीको क्वारेन्टिनमा रहेका व्यक्ति रहेको बताइएको छ ।

    पुरानो मेडिकल कलेजमा उपचाररत मकवानपुरको हेटौंडाकाकी ३८ वर्षीया महिला र पूर्वी नवलपरासीको गैँडाकोटकी ५२ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । अब चितवनमा कोरोना संक्रमितको संख्या ३ सय ८३ पुगेक‍ो छ । पछिल्लो समय पोखराबाहेक अन्य सबै जसो महानगरपालिका कोरोना भाइरसको चपेटामा आएका छन् ।

  • सबै अस्पताललाई कोभिड अस्पतालमा परिणत

    सबै अस्पताललाई कोभिड अस्पतालमा परिणत

    काठमाडौं । सरकारले देशभरका सबै अस्पताललाई कोभिड अस्पतालमा परिणत गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार सरकारले यसअघि कोरोना संक्रमितको उपचारका लागि छुट्याएको लेभल वान, लेभल २ र लेभल ३ को व्यवस्थालाई खारेज गर्दै सबै सरकारी अस्पताललाई कोभिड अस्पतालमा परिणत गर्ने निर्णय गरेको हो ।

    प्रवक्ता गौतमले सबै अस्पतालले काभिड पोजेटिभ भएपनि नेगेटिभ भएपनि उपचार गर्नुपर्ने बताए।

    ‘सबै अस्पतालाई कोभिड अस्पताल बनाइएको छ। यसमा जिल्लास्थित अस्पताल, प्रादेशिक अस्पताल, शिक्षण अस्पताल, केन्द्रीय अस्पताल र कतिपय निजी अस्पताल पर्छन्,’ उनले भने, ‘अब यी अस्पतालमा उपलब्ध सबै सेवा कोभिड पोजेटिभ भएपनि नभए पनि उपचार गर्नुपर्ने निर्णय भएको छ।’

    मन्त्रालयले काठमाडौं र तराईका जिल्लामा संक्रमितको संख्या थपिँदै जाँदा लक्षण भएका बिरामीले बेड नपाउने र लक्षण नभएकाले ओगट्ने प्रवृत्ति देखिएकाले लक्षण भएका बिरामीलाई मात्रै अस्पतालमा भर्ना गर्न निर्देशन दिएको छ ।

    गौतमलले लक्षण नभएका बिरामीलाई होम आइसोलेसन वा संस्थागत आइसोलेसनमा राख्न अस्पतालहरुलाई निर्देशन दिएका छन्। ‘लक्षण भएकाले बेड नपाउने र लक्षण नभएकाले बेड ओगट्ने प्रवृत्ति देखिएकाले यस्तो निर्णय गरिएको हो,’ उनले भने, ‘लक्षण भएकालाई बेडमा भर्ना गर्न र नभएकालाई आइसोलेसन सेन्टरमा राख्न निर्देशन दिइएको छ।’

  • नेपालमा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु

    नेपालमा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु

    काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ८ जनाको मृत्यु भएको हो ।

    मृत्यु हुनेमा रुपन्देहीका ३८, ५३ र ५४ वर्षीय पुरुष तथा ६७ वर्षीया महिला, सुनसरीका ६८ वर्षीय पुरुष, मोरङका ६५ वर्षीय पुरुष, पर्साकी ७० वर्षीया महिला र काठमाडौंकी ४८ वर्षीया महिला रहेका छनन् ।

    योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५७ पुगेको छ।

  • काठमाडौं उपत्यकामा २ सय २४ जना कोरोना संक्रमित थपिए

    काठमाडौं उपत्यकामा २ सय २४ जना कोरोना संक्रमित थपिए

    काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप २ सय २४ जना कोरोना संक्रमित थपिएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार काठमाडौंमा १ सय ७७, ललितपुरमा ३३ र १४ भक्तपुरमा संक्रमित थपिएका हुन् ।

  • नेपालमा थप ७ सय ४३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३२ हजार ६७८

    नेपालमा थप ७ सय ४३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३२ हजार ६७८

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ७ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा।जागेश्‍वर गौतमको अनुसार २४ घण्टामा गरिएको १० हजार २ सय ३४ पीसीआर परीक्षणमा ७ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३२ हजार ६७८ पुगेको छ । पछिल्लो २४ घण्टामा देशभरका विभिन्‍न अस्पतालबाट १७५ जना डिस्चार्ज भएका छन् ।

    त्यसैगरी हालसम्म १८ हजार ८०६ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ५८ प्रतिशत रहेको छ ।

    देशभरका संस्थागत आइसोलेसन ९ हजार १५४ जना र होम आइसोलेसनमा ४ हजार ५६१ रहेका छन् । आजसम्म देशभर ११ हजार २७५ जना क्‍वारेन्टिनमा रहेका छन् । बागमती प्रदेशमा १० जना भेन्टिलेटरमा रहेका छन् ।

  • देशभर ३५ जिल्लामा निषेधाज्ञा

    देशभर ३५ जिल्लामा निषेधाज्ञा

    काठमाडौं । कोरोना भाइरसको संक्रमणको फैलावटसँगै देश पुनः एकपटक ठप्प हुने अवस्थाा पुगेको छ । गृह मन्त्रालयका अनुसार देशव्यापी लकडाउन खुलेपछि विभिन्न स्थानीय प्रशासनले आफ्नो क्षेत्रमा निषेधाज्ञा जारी गरेका छन् । त्यसक्रममा अहिलेसम्म ३५ जिल्लामा निषेधाज्ञा जारी भइसकेको मन्त्रालयले जनाएको छ । निश्चित क्षेत्रमा संक्रमण देखिए आंशिक निषेधाज्ञा जारी गरिन्छ । आंशिक निषेधाज्ञा १२ जिल्लामा लागु भएको छ ।

    जोखिम रहेका जिल्लामा कोभिड–१९ जिल्ला संकट व्यवस्थापन समितिको निष्कर्ष अनुुसार प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञा लागू गर्न सक्छन् । सरकारले देशब्यापी लकडाउन नगर्ने बताइसकेको छ ।

    गृह मन्त्रालयका अनुसार अहिले सप्तरी, धुनषा, बाँके, पर्सा, बारा, महोत्तरी, सुनसरी, सर्लाही, स्याङ्जा, सिरहा, काठमाडौं, ललितपुर, भक्तपुर, रौतहट, धनकुटा, पाल्पा, रामेछाप, दोलखामा पूर्ण निषेधाज्ञा जारी भएको छ । नवलपरासी पश्चिम, सिन्धुपाल्चोक, गोरखा, अर्घाखाँची, कास्की, कैलाली, प्युठान, दैलेख, गुल्मी, कञ्चनपुर, डडेलधुरा, कालिकोट, तेह्रथुम, संखुवासभा, रुपन्देही, चितवन र बैतडीमा पनि निषेधाज्ञा छ ।

    नुवाकोट, जुम्ला, मोरङ, दार्चुला, झापा, मकवानपुर, धादिङ, उदयपुर, तनहुँ, सुर्खेत, बाग्लुङ, पश्चिम रुकुम र जाजरकोटमा आंशिक निषेधाज्ञा जारी भएको छ । कपिलवस्तु र नुवाकोटमा जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने सेवा बन्द भएको छ ।

  • लागुऔषध र हतियार कारोबारी भारतका गुण्डा नाइके बग्गा नेपालमा पक्राउ

    लागुऔषध र हतियार कारोबारी भारतका गुण्डा नाइके बग्गा नेपालमा पक्राउ

    काठमाडौं । लागु औषध र अवैध हातहतियारको कारोबारीमा कुख्यात गुण्डा नाइके भारत बिहारका ‘बग्गा’ भनिने ३९ वर्षीय प्रदीप यादव नेपालमा पक्राउ परेका छन् । उनले भारतमा बसेर नेपालमा हतियार तथा लागुऔषधको कारोबार गर्दै आएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मोरङले भारत बिहारका उनलाई शनिबार पक्राउ पछि सार्वजनिक गरेको छ ।

    उनी विराटनगर महानगरपालिका १६ दरैया नाकामा प्रतिवन्धित लागुऔषधसहित प्रहरीको फन्दामा परेका हुन् । उनको साथबाट १५ बोतल डाइलेक्स डिसी, ५० चक्की नाट्रोसन र ५१ चक्कली नाइट्राभेट बरामद भएको प्रहरीले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।

    भारतमा बसेर नेपालमा आपराधिक गतिविधि गर्ने उनी प्रहरीको खोजीको सूचिमा थिए । प्रहरीका अनुसार उनीविरूद्ध नेपालमा हातहतियार, खरखजना तथा लागुऔषध मुद्दा छन् । उनले १ नम्बर र २ नम्बर प्रदेशका जिल्लामा अवैध रुपमा हातहतियार र लागूऔषधको कारोबारको सञ्जाल विस्तार गरेको प्रहरीको भनाई छ । प्रहरीले थप अनुसन्धान थालेको बताएको छ ।

  • उपत्यकामा थप १ सय ६६ जनामा कोरोना संक्रमण पुष्टि

    उपत्यकामा थप १ सय ६६ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं । काठमाडौं उपत्यकामा थप १ सय ६६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार काठमाडौं उपत्यकामा थप १ सय ६६ जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो ।

    गौतमका अनुसार कोरोना संक्रमित हुनेहरुमा काठमाडौंमा १सय २६, ललितपुरमा १२ जना र भक्तपुरमा २८ जना रहेका छन्।

  • नेपालमा थप ८ सय १८ जनामा कोरोना संक्रमण, २ सय ८१ डिस्चार्ज

    नेपालमा थप ८ सय १८ जनामा कोरोना संक्रमण, २ सय ८१ डिस्चार्ज

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्‍वर गौतमको अनुसार २४ घण्टामा गरिएको ८ हजार २६ पीसीआर परीक्षणमा ८ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३१ हजार ९ सय ३५ पुगेको पुगेको छ ।

    पछिल्लो २४ घण्टामा २ सय ८१ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। यो सहित डिस्चार्ज हुनेको संख्या १८ हजार ६ सय ३१ पुगेको छ। कुल संक्रमितमध्ये १४९ जनाको मृत्यु भएको छ।

  • प्रधानमन्त्रीले सरकार र प्रचण्डले पार्टी संचालन गर्ने गरी पौडेल कार्यदलले बुझायो प्रतिवेदन

    प्रधानमन्त्रीले सरकार र प्रचण्डले पार्टी संचालन गर्ने गरी पौडेल कार्यदलले बुझायो प्रतिवेदन

    काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी भित्रको विवाद समाधानको उपायसहितको सुझाव दिन गठन भएको कार्यदलले आफ्नो प्रतिवेदन शनिबार दुबै अध्यक्षलाई बुझाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड)लाई कार्यदलले प्रतिवेदन बुझाएको हो। साउन ३० मा गठित कार्यदलले आफ्नो प्रतिवेदन सर्वसम्मतिले तयार पारि बुझाएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

    उक्त कार्यदलले प्रधानमन्त्री सरकारको काममा केन्द्रित हुने र प्रचण्डले पार्टी संचालन गर्ने गरी सहमति खोजिएको छ । दुई अध्यक्षले पार्टी भित्रको विवाद मिलाउन महासचिव विष्णुप्रसाद पौडेलको संयोजकत्वमा शंकर पोखरेल, सुरेन्द्र पाण्डे, भीम रावल, जनार्दन शर्मा र पम्फा भुसाल सदस्य रहेको कार्यदल बनाएका थिए। कार्यदलले तत्कालका लागि पार्टीभित्रको विवाद साम्य पार्दै सचिवालय, स्थायी कमिटी, केन्द्रीय कमिटी हुँदै एकता महाधिवेशन सम्म जाने गरी सुझाव दिएको छ ।

    अब ओली सरकारको काममा केन्द्रित हुनेछन् । दाहाललाई भने पार्टीको पूर्ण अधिकार दिइने छ । मन्त्रिपरिषद् र मुख्यमन्त्रीमा हेरफेर गरिनेछ । अब सरकारले कुनै निर्णय लिँदा एकलौटी गर्न पाउने छैन । पार्टी एकताका बाँकि काम सकेर महाधिवेशन तयारी थाल्ने गरी सहमतिको प्रयास कार्यदलले गरेको छ ।

    राजनीतिक नियुक्तिमा पार्टीसँग सहमति दिनुपर्ने प्रस्ताव समेत गरिएको छ । यसअघि पार्टीमा प्रधानमन्त्री ओलीले प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजीनामा दिनु पर्ने माग उठेको थियो । तर, पार्टीको सल्लाहमा सरकार संचालन गर्न तयार भएमा ओलीले राजिनामा दिनु नपर्ने गरी सहमतिको प्रस्ताव गरिएको नेकपा स्रोतको भनाई छ ।

  • उपत्यकामा २१६ जनामा कोरोना पुष्टी

    उपत्यकामा २१६ जनामा कोरोना पुष्टी

    काठमाडौं । काठमाडौं उपत्यकामा मात्र पछिल्लो २४ घण्टामा थप २१६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । देशभर ६३४ जनामा कोरोना भाइरस देखियो । उपत्यकामा देखिएको कुल संख्या देशभर देखिएको संख्याको तुलनामा एक चौथाई भन्दा बढी हो । यसले काठमाडौं उपत्यका भित्रको कोरोना भाइरसको जोखिमलाई स्पष्ट पारेको छ ।

    देशभरका प्रयोगशालामा १२५१९ स्वाब परीक्षण गर्दा उपत्यकामा मात्र २१६ जनामा संक्रमण पुष्टि भएको हो । काठमाडौं जिल्लामा १६० जना, ललितपुरमा ६ र भक्तपुरका ५० जनामा कोरोना पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । सरकारले बढ्दो संक्रमणका बीच काठमाडौंमा निषेधाज्ञा जारी गरेको छ । यस्तो निषेधाज्ञा १० भदौसम्म कायम रहनेछ ।

  • नेपालमा थप ६ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि

    नेपालमा थप ६ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ६ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार २४ घण्टामा गरिएको १२ हजार ५ सय १९ पीसीआर परीक्षणमा ६ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३१ हजार १ सय १७ पुगेको पुगेको छ ।

    पछिल्लो २४ घण्टामा १ सय १३ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। यो सहित डिस्चार्ज हुनेको संख्या १८ हजार ३ सय ५० पुगेको छ। कुल संक्रमितमध्ये १४६ जनाको मृत्यु भएको छ।

  • लिदी पहिरोमा ३२ को शव फेला, अछाममा अझै ११ वेपत्ता

    लिदी पहिरोमा ३२ को शव फेला, अछाममा अझै ११ वेपत्ता

    चौतारा । सिन्धुपाल्चोक र अछाममा गत साता गएको पहिरोमा परी हराइरहेका मध्ये अझै १८ जना वेपत्ता छन् । जुगल गाउँपालिका–२ लिदीमा साउन ३० गते गएको पहिरोमा पुरिएका मध्ये शनिबारसम्म ३२ जनाको शव फेला परिसकेको छ । शनिबार ३५ वर्षीया सानोकान्छी दोङ र उनकी ४ वर्षीया छोरी करिस्माई दोङको शव भेटिएको प्रहरीले जनाएको छ । यहाँ ३९ जना वेपत्ता थिए ।

    अझै वेपत्ता रहेका ७ जनाको खोजी जारी रहेको छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी र स्थानीय हराइरहेकाको खोजीमा जुटिरहेका छन् । उता, अछामको रामारोसन गाउँपालिका–५ कैलाश खोलामा यही ३ भदौमा आएको बाढीका कारण बगेर बेपत्ता भएका १७ जनामध्ये ११ जना अझै वेपत्ता छन् ।

    बेपत्ता भएकाहरुको खोजीका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोली बुधबारदेखि नै खटिएपनि अहिलेसम्म भेटाउन नसकेको स्थानीय प्रहरीले जनाएको छ ।

    बाढीमा बगेका ६ जनाको भने मृत्यु भइसकेको छ । प्रहरीका अनुसार रामारोसन गाउँपालिका–५ बस्ने वर्ष ४७ का नन्दु साउद, वर्ष ४५ का गङ्गा साउद, वर्ष १७ का रुपेश साउद, वर्ष छ का प्राकृति साउद, वर्ष ५५ को जोगा साउद, वर्ष ४५ का अम्मर शाह, वर्ष ४० का पवित्रादेवी शाह, वर्ष चारका समिर शाह, वर्ष ३५ की सम्झना शाह, वर्ष ४५ का वासु साउद, वर्ष ४५ का लालसरा शाही, वर्ष आठका बसन्ती शाही वेपत्ता छन् । बेपत्ता मध्ये दुई जनाको भने नाम खुलेको छैन ।