Category: समाचार

  • नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणको वृद्धिमा नयाँ रेकर्ड

    नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणको वृद्धिमा नयाँ रेकर्ड

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ७ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्‍वर गौतमको अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ७ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार कोरोना भाइरस संक्रमितको संख्या १५ हजार २ सय ५९ पुगेको छ ।

    पछिल्लो २४ घण्टामा थप ८२३ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। यो सहित डिस्चार्ज हुनेको संख्या ६ हजार १ सय ४३ पुगेको छ।

  • कोरोनाका कारण काठमाडौंमा एक जनाको मृत्यु, मृतकको संख्या ३२ पुग्यो

    कोरोनाका कारण काठमाडौंमा एक जनाको मृत्यु, मृतकको संख्या ३२ पुग्यो

    काठमाडौं । नेपालमा कोरोना संक्रमणको कारण थप एक जनाको मृत्यु भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार नयाँ बानेश्वर बस्दै आएका ८५ वर्षीय एक पुरुषको असार १७ गते मृत्यु भएको हो।

    उनलाई उच्च रक्तचाप र पार्किन्सनको समस्या भएपछि अस्पताल पुर्‍याइएको थियो।

    मृतक ती पुरुषको पिसिआर परीक्षण गर्दा पोजेटिभ आएको गौतमले बताए।

    हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ३२ पुगेको छ।

  • क्वारेन्टिनमै आत्महत्या गरेका रोल्पाका युवकमा कोरोना पुष्टि

    क्वारेन्टिनमै आत्महत्या गरेका रोल्पाका युवकमा कोरोना पुष्टि

    काठमाडौं । रोल्पामा क्वारेन्टिनमै आत्महत्या गरेका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

    बुधबार झुन्डिएर आत्महत्या गरेका रोल्पा, गंगादेव गाउँपालिका ५ का ३१ वर्षका पुरुषमा कोरोना भाइरस पोजेटिभ देखिएको हो ।

    राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शुक्रबार गरिएको पीसीआर परीक्षणका क्रममा उनमा संक्रमण पुष्टि भएको हो । मृतक दुवईबाट गत असार १० गते रोल्पा पुगेका थिए । क्वारेन्टिनहरु खाली नभएपछि गाउँकै काका नाता पर्नेको घरमा बस्दै आएका उनले झुण्डिएर आत्महत्या गरेका थिए ।

    संक्रमण पुष्टि भएपछि उनको सम्पर्कमा आएका ब्यक्तिको पनि स्वाब परीक्षणको तयारी गरिएको छ ।

  • स्व. गिरिजा प्रसाद कोइरालाको ९७ औं जन्मजयन्ती अमेरिकामा मनाए

    स्व. गिरिजा प्रसाद कोइरालाको ९७ औं जन्मजयन्ती अमेरिकामा मनाए

    न्युयोर्क

    नेपाली कांग्रेसका पुर्व सभापति, नेपाली राजनीतिका शिखर पुरुष तथा पुर्व प्रधानमन्त्री स्व. गिरिजा प्रसाद कोइरालाको ९७ औं जन्मजयन्ती अमेरिकाको न्युयोर्कमा मनाए । जिपी कोइराला फाउण्डेशन अमेरिकाले न्युयोर्क ज्याक्सन हाइट्सस्थित डाइभर्सिटी प्लाजामा मनाएको हो । 

    जन्मदिवस जुलाई २ तारिखको अवसर पारेर KBF Peanut Butter Dark Chocolate Bars ५०० बक्स र ५०० शुद्ध दुध ज्याक्सन हाईट्सको डाईभर्सीटी प्लाजावाट जिपी कोइराला फाउण्डेशन अमेरिकाले वितरण गरेको फाउण्सडेशनका अध्यक्ष सोमनाथ घिमिरेले जानकारी दिए ।

    ब्रुक्लिनबोरो प्रेसिडेन्ट एरिक अडाम्सले जन्म जयन्तीकै अवसर पारेर दिएको ५०० बक्स चकलेट वितरण कार्यक्रमको उद्घाटन नेकाका नेता एवम् एनआरएन अमेरिकाका सल्लाहकार श्यामकाजी गुरुङ्गले गरेको थियो। बितरण कार्यमा सुवर्ण लामा, सूर्य सिम्खडा, अन्जन चौंलागाई, ज्ञानल थापा, रेखा श्रेष्ठ र प्रदिप लामिछानेले सहयोग गरेका थिए । बितरण गरिएका चकलेट र दुधका ग्यालनहरु; मधुर गिरी, दिनेश भण्डारी, बिमला हमाल श्रेष्ठ, आङ गेलु शेर्पा र टेम्बा शेर्पा आदीले सहयोग गरेका थिए ।

  • रोटरी क्लव न्युयोर्क डिष्ट्रिक्ट ७२५५ को नयाँ अध्यक्षमा जनक भण्डारी

    रोटरी क्लव न्युयोर्क डिष्ट्रिक्ट ७२५५ को नयाँ अध्यक्षमा जनक भण्डारी

    न्युयोर्क

    आगामी कार्यकाल २०२०/२१ को लागि रोटरी क्लव न्युयोर्क, डिष्ट्रिक्ट ७२५५ ले भर्चुअल भेला (भिडियो सम्मेलन) गरी नयाँ अध्यक्षमा जनक भण्डारीलाई चुनेको छ । नव निर्वाचित अध्यक्ष लगायतका नयाँ कार्य समितिलाई क्लवको तेश्रो कार्यकालको लागि चुनेको हो। 

    भेलाका प्रमुख अतिथि, रोटरी डिस्ट्रिक्ट ७२५५ का District Governor Jacquelyn (Jax) Yonick ले नयाँ कार्यसमितिका पदाधिकारीहरु सपथ गराएको थियो । सपथ लिनेहरुमा; प्रेसिडेन्ट जनक भण्डारी, प्रेसिडेन्ट इलेक्ट खाम भट्ट, सेक्रेटरी गुरुदत्त पराजुली, एक्जुकेटिभ सेक्रेटरी हन्सराज जोशी, कोषाध्यक्ष भुना भण्डारी, सर्जेन्ट एट आर्म्स विदुर पौड्याल, फाउन्डेसन चेयर गोपीप्रसाद ढुंगाना, मेम्बरशिप चेयर कञ्चन बस्नेत थिए ।

    सोही अवसरमा उर्गेन शेर्पा, बिकाश पान्डे र श्याम कर्कीलाई नयाँ सदस्य घोषणा गरिएको थियो भने संस्थापक अध्यक्ष तथा (पूर्व असिस्टेण्ट गभर्नर ७२५५) डा. तारा निरौला, पूर्व प्रेसिडेन्ट मोहनबहादुर ज्ञवाली, पूर्व डिस्ट्रिक्ट गवर्नर डा. तुल्सी महर्जन, चार्टर्ड प्रेसिडेन्ट रोटरी क्लब अफ महाराजगन्ज काठमाडौंका डा. जयबहादुर टन्डन लगायतले शुभकामना मन्तव्य दिएका थिए । भेलाले आगामी कार्ययोजना प्रस्तुत गर्र्दै नव निर्वाचित पदाधिकारीहरुलाई पदीय जिम्वेवारी निर्वाह गर्न भनिएको थियो । एक बर्षको कार्यविवरण पेश गर्दै कार्यक्रम संचालन तथा समापन निबर्तमान अध्यक्ष नवराज केसीले गरेको थियो ।

  • लगातार वर्षापछि गुल्मीका विभिन्न स्थानमा पहिरो, दुई जना वेपत्ता

    लगातार वर्षापछि गुल्मीका विभिन्न स्थानमा पहिरो, दुई जना वेपत्ता

    गुल्मी । पहाडी जिल्ला गुल्मीमा पहिरोले क्षति पुर्याउन थालेको छ । लगातार वर्षाछि गुल्मीको इश्मा गाउँपालिका–१ मल्दी ढाँटफाँट भन्ने स्थानमा पहिरोले घर बगाउँदा दुई जना वेपत्ता भएका छन् । पहिरोमा परेका दुई जनाको उद्धार भएको छ ।

    एक जना महिला र एक जना पुरुष वेपत्ता रहेको स्थानीय प्रशासनले जानकारी गराएको छ । एकजना महिला र एकजना पुरुषको भने उद्धार गरिएको हो । गुल्मीमा गएरातदेखि अविरल वर्षा भएको थियो । यस स्थानमा मात्र १५–२० घर जोखिममा रहेको बताइएको छ ।

    घटनास्थलमा प्रहरी तथा सैनिक टोली पुगेका छन् । गुल्मीमा पहिरोले अन्य विभिन्न स्थानमा पनि क्षति पुर्याएको र त्यसको विवरण आउने क्रममा रहेको बताइएको छ । स्थानीय कच्चि सडकमा समेत यातायात बन्द भएको छ ।

  • प्रधानमन्त्रीबाट दुबै पद नछाड्ने अडान, के हुन्छ अब ?

    प्रधानमन्त्रीबाट दुबै पद नछाड्ने अडान, के हुन्छ अब ?

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री र नेकपाको अध्यक्ष दुबै पद नछाड्ने अडान दोहोर्याएपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विवाद उत्कर्षमा पुगेको छ । राष्ट्रपतिसँग मिलेर सुटुक्क संसद अधिवेशन स्थगित गरेका प्रधानमन्त्रीले पार्टी फुटाउने गरी फेरी अध्यादेश ल्याउने तयारी गर्न लागेको आशंका गरिएको छ ।

    नेकपाको स्थायी कमिटी बैठक दुई दिनका लागि स्थगित भएको छ । बिहीबार प्रधानमन्त्रीले राष्ट्रपतिसँग भेटेका छन् भने अर्को अध्यक्ष प्रचण्डले समेत राष्ट्रपतिसँग भेट गरेका छन् । सभामुख र पार्टीलाई समेत वेवास्था गरी संसद अधिवेशन अत्न्य गरेपछि प्रचण्ड र माधव नेपाल फेरी चिढिएका छन् । यता, प्रधानमन्त्रीले भने प्रधानमन्त्री र अध्यक्ष दुबै पद नछाड्ने अडान आज पनि दोहोर्याएका छन् ।

    आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक मञ्चबाटै भारतले आफूलाई पदबाट हटाउन खोजेको र त्यसमा नेपालका नेताले साथ त्यसमा लागेको अभिव्यक्ति दिएलगत्तै नेकपाको विवाद सघन बनेको हो । बिहीबार विभिन्न चरणका बैठकमा ओलीले आफ्नो अडान छाडेनन । जसले गर्दा अन्य नेता सशंकित बनेका हुन् ।

    बिहीबार दिनभर बालुवाटार र शीतल निवासको दौडधुपपछि प्रचण्ड र नेपाल पक्षका नेताहरू अब पार्टी एकता लामो समय नजाने निष्कर्षमा पुगेको बताइएको छ । सोहीकारण ओलीले पार्टी फुटाउन सजिलो हुने गरी अध्यादेश ल्याउने तयारीमा रहेको र उक्त प्रयोजनका लागि संसद बैठक स्थगित गरेको तर्क नेताहरुले गरेका छन् । संसद बैठक अकास्मात बन्द गरिएकोप्रति भने विपक्षी दलहरुले समेत विरोध गरेका छन् । प्रधानमन्त्री स्थायी समिति बैठकमा गएका छैनन् । तर, बैठक उनकै निवास बालुवाटारमा बसिरहेको छ ।

  • २४ घण्टामा उपत्यकामा थप ३२ जना संक्रमित थपिए

    २४ घण्टामा उपत्यकामा थप ३२ जना संक्रमित थपिए

    काठमाडौं । काठमाडौं उपत्यकामा गत चौबीस घण्टा ३२ जना नयाँ संक्रमित फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा ललितपुरका एक पुरुष कोरोना भाइरसको संक्रमण देखिएको हो ।

    यसैगरी त्रिवि शिक्षण अस्पतालमा गरिएको परीक्षणमा ललितपुरका एक पुरुष, भक्तपुरका दुई पुरुष, काठमाडौंका १७ महिला र ११ पुरुषमा कोरोना देखिएको प्रवक्ता गौतमले जानकारी दिए ।

  • नेपालमा थप ४७३ जनामा कोरोनाको संक्रमण, संक्रमितको संख्या १४५१९

    नेपालमा थप ४७३ जनामा कोरोनाको संक्रमण, संक्रमितको संख्या १४५१९

    काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा थप ४ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४ सय जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    जसमा १०९ महिला र ३६४ पुरुष रहेका छन् ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या संक्रमितको संख्या १४ हजार ५१९ पुगेको छ ।

    पछिल्लो २४ घण्टामा थप ६६४ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। यो सहित डिस्चार्ज हुनेको संख्या ५३२० पुगेको छ।

    कुल संक्रमितमध्ये ३१ जनाको मृत्यु भएको छ।

  • कोरोना संक्रमणबाट नेपालमा डेढ महिने शिशुको मृत्यु, मृतकको संख्या ३१ पुग्यो

    कोरोना संक्रमणबाट नेपालमा डेढ महिने शिशुको मृत्यु, मृतकको संख्या ३१ पुग्यो

    काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । घाँटीमा समस्या देखिएपछि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका ४८ दिनका शिशुको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

    मंगलबार कोरोना पुष्टि भएका ती शिशुको बुधबार राति मृत्यु भएको अस्पतालले जनाएको छ।
    म्याग्दी घर भएका शिशुलाई श्वासप्रश्वासमा समस्या भएपछि ती शिशुको सोमबार घाँटीको शल्यक्रिया गरिएको थियो।

    शल्यक्रिया गर्नुअघि कोरोना परीक्षणका लागि सोमबार राति उनको पिसिआर परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएको थियो। उनको बुबा, आमा र फुपुमा कोरोना संक्रमण परीक्षण गर्न नमुना सं‌कलन गरी पठाइएको छ ।

    योसँगै नेपालमा ३१ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

  • संसद्को जारी चालू अधिवेशन अन्त्य गर्ने मन्त्रिपरिषदको निर्णय

    संसद्को जारी चालू अधिवेशन अन्त्य गर्ने मन्त्रिपरिषदको निर्णय

    काठमाडौं । सरकारले संसद्को चालू अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ ।

    बिहिबार बसेको मन्त्रिपरिषद बैठकले आज ५ बजेपछि लागू हुने गरी संसद्को जारी अधिवेशन अन्त्य गर्ने निर्णय गरेको हो ।

    मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले संसद् बैठक अन्त्य गर्ने प्रावधान छ ।

    आगामी सोमबारका लागि बैठक बोलाइएको भएपनि त्यसअघि नै अधिवेशन स्थगनको निर्णय भएको हो ।

    आजै मन्त्रिपरिषद् बैठक अगाडि प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका थिए ।

  • बारामा चट्याङ लागेर ४ जना महिलाको मृत्यु

    बारामा चट्याङ लागेर ४ जना महिलाको मृत्यु

    बारा । बारामा चट्याङ लागेर चार जना महिलाको ज्यान गएको छ । बाराका दुई छुट्टाछुट्टै बिहाीबार बिहान परेको चट्याङले उनीहरुको मृत्यु भएको हो । घटनामा ५ जना घाइते छन् ।
    बिहीबार बिहान साढे सात बजे खेतमा चट्याङ परेको थियो । त्यसबेला खेतमा धान रोपिरहेका महिलाहरु यसको शिकार बन्न पुगेका हुन् । खेतमा धान रोपीरहेका बाराको कलैया उपमहानगरपालिका–१२ की ३५ वर्षीया आशादेवी महतो र सोही ठाउँ बस्ने ४५ वर्षीया हलिमा खातुनको मृत्यु भएको हो ।

    उता, फेटा गाउँपालिका–१ त्रिवेणीका ३० वर्षीया इन्दुदेवी महतो र ४० वर्षीया सुनरपति देवी महताको पनि मृत्यु भएको प्रहरीले पुष्टी गरेको छ । चट्याङले सोही ठाउँ बस्ने अन्य ५ जना पनि घाइते छन् । उनीहरुको उपचार भइरहेको छ ।

  • अब कोरोनाको परीक्षण निजी प्रयोगशालामा समेत, तीन अस्पतालले पाए अनुमति

    अब कोरोनाको परीक्षण निजी प्रयोगशालामा समेत, तीन अस्पतालले पाए अनुमति

    काठमाडौं । अब नेपालमा निजी प्रयोगशालाबाट समेत कोरोना परीक्षण हुने भएको छ । सरकारी प्रयोगशालालाले नमुनाको चाप धान्न नसकेपछि निजीमा जाने निर्णय सरकारले गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिले तीन निजी प्रयोगशालालाई पिसिआर विधिबाट कोरोना भाइरसको परीक्षणको अनुमति दिइएको छ ।

    अनुमति पाएका प्रयोगशालाले परीक्षणको लागि आवश्यक सरसामान र उपकरणको जोहो भने आफै गर्नपर्छ । मन्त्रालयका अनुसार काठमाडौं मेडिकल कलेज, स्टार हस्पिटल र सेन्ट्रल डाइग्नोस्टिक ल्याबोरोटरीले कोरोना परीक्षणको अनुमति पाएका छन् । अब प्रयोगशालामा बढी भएका नमूनाहरू निजी प्रयोगशालामा परीक्षण गरिनेछ। कुन परीक्षण निजीमा गर्ने भन्ने निक्यौल भने मन्त्रालय आफैले गर्ने भएको छ ।

    सरकारले अन्य निजीलाई समेत अनुमति दिएर एकै दिन ठूलो संख्यामा नमुना परीक्षण गर्ने तयारी गरेको हो । अझै ७ वटा निजी प्रयोगशालालाई सरकारको अनुमति दिने तयारी गरेको छ । सरकारले करीव डेढ दर्जन प्रयोगशालाबाट परीक्षण गरिरहेको छ ।

    केही साता अघि स्वास्थ्य मन्त्रीले दैनिक १० हजार पिसीआर परीक्षणको नतिजा सार्वजनिक गर्ने बताएका थिए । अहिले दैनिक करीव ७ हजार हाराहारी मात्र नतिजा आइरहेको छ । त्यसमा औसतः ५ सय जना नयाँ संक्रमित थप भइरहेका छन् ।

  • लायन्स क्लव क्वीन्स बुद्धको अध्यक्षमा रिमाया नेपाली निर्वाचित

    लायन्स क्लव क्वीन्स बुद्धको अध्यक्षमा रिमाया नेपाली निर्वाचित

    कृष्ण आचार्य, न्युयोर्क

    न्युयोर्कका नेपाली समुदायको पहिलो लायन्स क्लब क्वीन्स बुद्धको अध्यक्षमा रिमाया नेपाली निर्वाचित भएको छ । आगामी कार्यकाल वर्ष २०२०/२१ को लागि नयाँ कार्यसमिति चयन गर्न बसेको भेलाले नेपालीलाई अध्यक्षमा चुनेको हो । 

    ‘हामी सेवा गर्छौं’ भन्ने उद्देश्यले सन् १९१७ मा अमेरिकाको शिकागोमा स्थापना भएको अन्तर्राष्ट्रिय लायन्स क्लवले स्थापनाको १०० वर्ष मनाइ सकेको छ ।  यसका संसारभर १.४ मिलियन सदस्यहरु छन् भने चालिस हजार भन्दा वढी क्लवहरू मानवीय र सामाजिक सेवाको कार्यमा सक्रिय छन् । 

    लायन्स क्लव क्वीन्स बुद्धको स्थापना सन् २०१६ मा न्युयोर्कको क्वीन्समा भएको हो । स्थापना कालदेखिनै यसले समुदायको हितमा कार्य गर्दै आइरहेको छ । क्लवले नयाँ कार्य समिति चयन गर्दै अध्यक्षमा रिमाया नेपाली, प्रथम उपाध्यक्ष बुध्द पौडेल, द्धितीय उपाध्यक्ष खड्गबहादुर पुलामी, तृतीय उपाध्यक्ष चन्द्र नेपाली, सचिव शिवजी खड्का, कोषाध्यक्ष सोनु मल्ल र मेम्बरसिप प्रमुखमा सोफिया अधिकारीलाई निर्वाचित गरेको छ । नयाँ कार्यसमितिको कार्यकाल १ वर्षको हुनेछ ।

  • योग्य हङ्कङ्बासीलाई बेलायतको नागरिकता दिने प्रधानमन्त्री जोन्सनको भनाई

    योग्य हङ्कङ्बासीलाई बेलायतको नागरिकता दिने प्रधानमन्त्री जोन्सनको भनाई

    एजेन्सी

    ब्रिटिश प्रधानमन्त्री बोरिस जोन्सनले बुधबार ३० लाख हङ्कङबासीलाई बेलायतको नागरिक बन्ने सुबिधाको प्रस्ताव गरेका छन् । चीनले मंगलवार हङ्कङमा लागू गरेको नयाँ राष्ट्रिय सुरक्षा कानूनपछि प्रधानमन्त्री जोनसनले बेलायत आउन योग्य ३० लाख हङकङ नागरिकलाई यो प्रस्ताव गरेका हुन् । जोनसनले बुधबार हाऊस अफ कमन्समा  बोल्दै उनले आफुले ३० लाख हङ्कङवासीलाई बेलायत ल्याउने प्रस्ताव अगाडि बढाउन लागेको बताएका थिए ।  

    बेलायत युरोपियन युनियन सम्बद्द देशहरु र संयुक्त राज्य अमेरिकाको बिरोधको बाबजुद चीनले हङ्कङमा जारी आन्दोलनलाई निस्तेज पार्न नयाँ सुरक्षा सम्बन्धि कानून मंगलवार पास गरेको थियो भने बुधबार हङ्कङमा झन्डै २ सय प्रदर्शनकारीलाई पक्राऊ गरिएको छ । बेलायतस्थित बिदेश मन्त्री डोमिनिक रावले एक टेलिभिजन  अन्तर्वार्तामा चीले जारी गरेको नयाँ सुरक्षा कानूनका बिषयमा भनेका छन्; ‘हङ्कङको स्वसाशनको ठाडो उलंघन भएको छ भने त्यहाँका जनताको स्वतन्त्रता माथि खतरा भएको छ’ ।

    प्रधानमन्त्री जोन्सनले हङ्कङमा बसोबास गर्ने ब्रिटिश नेशनल ओभरसिज (बिएनओ) पासपोर्ट बाहकलाई नयाँ सुरक्षा कानूनले आन्दोलनमा प्रदर्शन गरेको बहानामा आजीवन काराबासको सजाय हुने भन्दै बेलायतमा स्वागत गर्ने बताएका हुन् ।

  • प्रधानमन्त्री अस्पतालबाट निवास फर्किए

    प्रधानमन्त्री अस्पतालबाट निवास फर्किए

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट स्वास्थ्य जाँच गरी निवासमा फर्किएका छन् । प्रधानमन्त्री ‌‌ओली मुटुको नियमित स्वास्थ्य जाँच गराउन गंगालाल हृदयरोग केन्द्र गएका थिए ।

    अत्यावश्यक परीक्षण गरी निवासमा फर्किएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् । प्रधानमन्त्रीमा स्वास्थ्य समस्या आएको नभई नियमित जाँचको लागि अस्पताल गएको उनको भनाई छ । प्रधानमन्त्री बुधबार साँझ अस्पताल गएका थिए ।

  • चर्चित अमेरिकी अनुदान एमसिसि बारे कनकमणी दिक्षितले २० बुँदाको वास्तविकता यस्तो लेखे

    चर्चित अमेरिकी अनुदान एमसिसि बारे कनकमणी दिक्षितले २० बुँदाको वास्तविकता यस्तो लेखे

    कनकमणी दिक्षित   

    संयुक्त राज्य अमेरिकाले विपन्न मुलुकको गरिबी उन्मूलनका लागि सन २००४ देखि सुरु गरेको ‘मिलेनियम च्यालेन्ज कम्प्याक्ट’ अर्थात् एमसिसी नेपालमा कस्को स्वार्थमा र किन रोकिन खोजिदै छ ? भन्ने २० बुँदाहरु;

    – तीन तर्फबाट आज एमसिसीको विरोध भइरहेछ । विरोधको मियो हुन्, पुष्पकमल दाहाल, जो पर्दा पछाडिबाट गोटी चलाइरहेछन् ।

    – एमसिसीको विरोधको दोश्रो हिस्सा हो, केपी शर्मा ओलीले अपहेलित गरेको महसुस गर्ने पूर्वएमाले तप्का । जहाँ ओलीका स्वभाव र सरकार सञ्चालन दुवैप्रति यत्रो वितृष्णा छ कि एमसिसीको विरोध एकखालको ‘धर्म’ नै बन्न गएको छ।

    – तेश्रो पंक्ति हो, निरन्तर नयाँ संविधानलाई ढाल्ने मनसाय बोकेका, नसके यसको कार्यान्वयन कमजोर बनाउने जुनसुकै मौका नछोड्ने मनस्थितिका दक्षिणपन्थी ‘राजावादी’हरू, जो दर्शन र कार्यनीति दुवैमा असहमत भएपनि पुष्पकमल दाहालसँग हातेमालो गर्न तयार छन्।

    – सरकारको ढंग नपुगेको र प्रम केपी ओलीको अहंकारी शैलीका कारण एमसिसी धरापमा परेको भन्ने कुरामा राम्रै दम छ । तर, बृहत् नेपाली अर्थतन्त्र र समाजको हितलाई बिर्सेर ओली र उनको सरकारलाई कमजोर बनाउन अर्थतन्त्रलाई संकटमा पार्ने गरी यो प्रपञ्च किन ?

    – एमसिसीको वार्ता थालनी र सम्झौतासम्म प्रधानमन्त्री तथा अर्थमन्त्रीको सूची यस्तो छ: बाबुराम भट्टराई, झलनाथ खनाल, शेरबहादुर देउवा, खिलराज रेग्मी, सुशील कोइराला र पुष्पकमल दाहाल; अनि वर्षमान पुन, शंकर कोइराला, रामशरण महत र ज्ञानेन्द्र कार्की । अहिले केहीको तीब्र विरोध छ।

    – कोही एमसिसी बिगार्न तल्लीन छन्, सरकारी पदाधिकारी ‘बिग्रे बिग्रोस्’मा पुगेका छन् । अन्य राजनीतिक र भूराजनीतिक मुद्दामाझ राति उज्यालो पाउने, इन्डक्सन चुलो चलाउने, अनेकन् तरिकाले रोजगारी वृद्धि गर्ने जनताको अधिकारको लागि बोलिदिने थोरै भए ।

    – कोभिड–१९का कारण पश्चिमा दातृराष्ट्रहरु ठूलै मन्दीमा पस्दै गर्दा विदेशी सहायता ह्वात्तै सुक्ने स्थितिमा छ । यस्तो बेला पाँच वर्षका लागि हरेक वर्ष १० करोड अमेरिकी डलर (अनुदान) खर्च हुने चानचुने परियोजना होइन यो, यसले नेपाली अर्थतन्त्रलाई चाहिएकै बेला ‘लिक्विडिटी’ दिलाउने छ ।

    – एमसीसी बिरुद्धको अभियान सफल हुने हो भने संसारको आँखामा नेपालले ताकेर नै आफ्नै खुट्टामा बन्चरो हानेको ठहर्ने छ । हामीलाई चोट त पर्ने नै भयो, एमसिसीको अनुदान लिएर काम थालेका र सम्पन्न गरेका अन्य ५० मुलुकले हामीलाई ‘पत्याइनसक्नु’ भन्दै कर्के नजरले हेर्नेछन् ।

    – के, अमेरिकी सेनाले नेपालमा चीनलाई लक्षित ‘मिसाइल बेस’ बनाउनै खोजे नेपाली नागरिक चुप बस्लान् ? कुनै कारण अमेरिकी रणनीतिक पूर्वाग्रह नेपालमा लाद्न खोजियो भने त्यसको खिलाफमा उभिने क्षमता नेपालीमा छैन ? फेरी एक महिनाको सूचना दिएर सम्झौताबाट बाहिरिन सकिने त छँदै छ ।

    –  ‘इन्डो प्यासिफिक स्ट्राटेजी’ नामको रणनीति सन् २०१७मा अमेरिकी परराष्ट्र मन्त्री माइक पम्पेओले घोषणा गरेका हुन भने नेपाल-अमेरिकाले एमसिसी सम्झौतामा काम थालेको सन् २०११ मा हो। अमेरिकीले नै आएर पछि ‘यो आइपिएस अन्तर्गत हो’ भन्दैमा हामी किन मान्ने? बरु आफ्नो हित हेरेर प्रतिवद गर्ने!

    – केपी ओली सरकार र प्रतिपक्ष नेपाली कांग्रेस एमसिसीको पक्षमा रहँदारहँदै परियोजनाको प्रतिरक्षामा गर्नुपर्ने जति कसरत गरिरहेका छैनन् । कांग्रेसका केही नेतालाई ‘डलर खाइस् र एमसिसीको पक्षमा बोलिस्’ भनेर निःसन्देह आउने आरोपको त्रास छ ।

    – तर, कांग्रेसभन्दा बढी स्थितिलाई यो अवस्थामा पु-याउनमा प्रम केपी ओली जिम्मेवार छन् । कतिपय महत्वपूर्ण काम उनको तयारीको कमजोरीका कारण अलपत्र परेका छन् भने धेरै विषयमा उनी र उनको सरकारले ध्यान नदिँदा कुरा बिग्रेको छ । उदाहरण सर्वत्र छन्, जस्तै संक्रमणकालीन न्यायको कुरा…

     – प्रसारण लाईनको कुरा गर्नेहो भने- भारतसँग त्यत्रो दुश्मनी पनि गर्नुपर्दैन कि उसको नाम लिने बित्तिकै परियोजना गलत ठहरियोस् र जनता भड्किऊन्। नेपाली माग पूरा नगरी जलविद्युत् उत्पादन भारत निर्यात गर्न राष्ट्रिय, प्रान्तीय र स्थानीय राजनीतिले दिन्छ भन्ने विश्वास लिनु नै जगहँसाइ हो।

    – उग्रराष्ट्रवादको डर र पुष्पकमल दाहालको एमसिसी बिरुद्धको भूमिकाका कारण जलविद्युत व्यवसायी समेत सुनिने गरी एमसीसीका लागि आवाज उठाइरहेका छैनन्। यस्तै- उद्योग वाणिज्य महासंघ, सिआइआई, नेरु र डलर ‘बिलोनेर’, अर्थतन्त्र वरिपरि काम गर्ने संस्थाहरुबाट मात्र मन्द खासखुस सुनिन्छ।

    – एमसिसीबाट सीधै फाइदा पाउने प्रान्त-प्रान्तका सरकार, जनप्रतिनिधि तथा बौद्धिकवर्गले आफ्नो आवाज मुखर गर्न नसकेको अवस्था छ । नेपालमा नयाँ संविधानको आसय र जनचाहना बमोजिम देशको पुनर्संरचनासहित विकेन्द्रीकरण नभएको प्रमाण पनि अफसोच मिलेको छ ।

    – पहिलेका सरकारमै सहभागी नेताहरूको तर्फबाट सरकारले गरेको सम्झौता ग्रहण गर्नेभन्दा उल्टिने अवस्था छ । त्यो पनि नेकपा ‘सचिवालय’का नेताहरूले राजकाजलाई सिद्धान्तहीन, आफुखुसी खेलवाडको फुटबल बनाएका छन् ।

    – “बिआरआई”मा सहभागी भएर नेपालको उत्तरपट्टिको प्राचीन व्यापार सम्बन्धलाई पुनर्जागरण, तर यसको अर्थ नेपालले आफ्नो हितअनुसार र अरू कसैसँग अनुदान सहयोग लिनुहुँदैन भन्ने होइन। नीति–निर्माता र विश्लेषकले देशको हितमा एमसिसीलाई नेपाल–चीन सम्बन्धबाट पूर्णतः अलग राखेर हेर्नुपर्छ।

    – प्रतिनिधिसभाको सभामुखले आफ्नो दलीय सदस्यता त्याग्नुपर्छ किनकि पूरै राज्यको जनप्रतिनिधिको नेतृत्व त्यो पद धारण गर्नेले गर्छन् । तर पहिला कृष्णबहादुर महरा र अहिले अग्नि सापकोटाले अमर्यादित हिसाबले सरकारले एक वर्षअघि दर्ता गराएको विधेयक दराजमा ताला लगाएर राखेका छन् ।

    – बृहत् भूराजनीतिक मैदानमा नेपालले कसैको सामरिक गठबन्धनमा सामेल नभई सबैसँग राम्रो सम्बन्ध राख्नुपर्छ, कसैको प्रतिस्पर्धाको जालोमा फस्नुहुँदैन । चीन र भारतबीच समदूरी राख्दाराख्दै पश्चिमा मुलुकसँग पनि राम्रो सम्बन्ध कायम राख्ने पुरानो नीति त्याग्नु हुँदैन।

    – एमसिसीलाई उग्र–लोकरिझ्याइँको भासबाट उद्धार गर्नुपर्छ र यस खेलका प्रमुख गोटी चालक पनि पछि हट्नुपर्छ । कुनै एउटा सरकारको खिलाफमा जाने क्रममा नेपाल राज्यमाथि दुश्मनी नसाँध ।

    (एमसिसिको बर्तमान अवस्था र वास्तविकताको बारेमा कनक मणी दिक्षितले लेख्नु भएको २० बुँदा हामीले प्राप्त ईमेलबाट साभार गरेका हौं)

  • नेकपामा बुधबार छुट्टाछुट्टै भेला र दौडधुप, बिहीबार के नतिजा आउला ?

    नेकपामा बुधबार छुट्टाछुट्टै भेला र दौडधुप, बिहीबार के नतिजा आउला ?

    काठमाडौं । बुधबार नेकपाको स्थायी समिति बैठक छोटो समय बस्यो । ५ जना मात्र वत्ताले आज बोले । बोलेका मध्ये धेरैले प्रधानमन्त्रीको राजिनामा माग गरे । संकटमा परेको सरकारलाई पार्टी भित्रैबाट राजिनामा माग भएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बिहान आफु निकटका मन्त्री र नेकपाका दोस्रो तहका नेतासँग छलफल गरे ।

    छलफलमा नेताहरुले नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्रीलाई एकता प्रक्रियामा प्रभाव नपर्ने गरी नेतृत्वसँग सहमति गनए सुझाव दिएका थिए । सत्ता संकटमा परेपछि पछिल्ला केही दिन प्रधानमन्त्रीले दौडधुप बढाएका छन् । बुधबार नेकपा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधव कुमार नेपाल निकट स्थायी समिति सदस्यको समेत छुट्टै भेला भएको छ ।

    उनीहरु ललितपुरको एक होटलमा भेला भएका हुन् । बिहीबार बस्ने स्थायी समितिमा बनाउने रणनीतिबारे छलफल गर्न यो भेला भएको बताइएको छ । भेलामा प्रचण्ड, उपाध्यक्ष बामदेव गौतम, वरिष्ठ नेता झलनाथ खनाल, गृहमन्त्री रामबहादुर थापा लगायत नेता पुगेका छन् । नेकपाको बैठक असार १३ गतेदेखि जारी छ ।

    मंगलबार बसेको स्थायी समितिमा १८ स्थायी समिति सदस्यमध्ये १७ सदस्यले ओली पार्टी अध्यक्ष तथा प्रधानमन्त्री दुबै पदबाट राजीनामा दिनुपर्ने माग गरेपछि प्रधानमन्त्रीको पद संकटमा परेको हो ।

    यसअघि प्रधानमन्त्री ओलीले गत आइतबार बालुवाटारमा एक कार्यक्रममा आफूलाई भारतको इसारामा हटाइन लागेको र त्यसमा नेपालका नेताले साथ दिएको अभिव्यक्ति दिएपछि उनीविरुद्ध पार्टी भित्रै आलोचना शुरु भएको हो । स्थायी समिति बैठक बिहीबार समेत बस्नेछ ।

  • मुटुसम्बन्धी समस्या आएपछि प्रधानमन्त्री ओली गंगालाल अस्पतालमा

    मुटुसम्बन्धी समस्या आएपछि प्रधानमन्त्री ओली गंगालाल अस्पतालमा

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि शहीद गंगालाल हृदयरोग केन्द्र (मुटु अस्पताल) बाँसवारी पुगेका छन् ।

    इसीजी र इकोको परीक्षणको लागि प्रधानमन्त्री ओली अस्पताल आएको र परीक्षण भइरहेको अस्पताल स्रोतले बताएको छ ।

    प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्रीको अस्पताल जाने योजना पहिले नै तय भएको जानकारी दिएका छन् ।

  • नेपालमा २ हजार ६१ जना बालबालिकामा कोरोना संक्रमण

    नेपालमा २ हजार ६१ जना बालबालिकामा कोरोना संक्रमण

    काठमाडौं । नेपालमा बालबालिकामा कोरोना संक्रमण बढ्दै गएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार १४ हजार ४६ संक्रमित मध्ये २ हजार ६१ जना बालबालिका रहेका छन् ।

    जसमा सुदूरपश्चिम प्रदेशमा मात्र ९ वर्षमुनिका १७५ जना बालबालिकामा कोरोना संक्रमण देखिएको उनले जानकारी दिए ।

    सुदूरपश्चिममा कोरोना संक्रमण देखिएका सबै बालबालिकाहरू आमाबुबासँग भारतबाट आएको देखिएको मन्त्रालयले जनाएको छ । बालबालिकाहरूबाट अरूमा सर्नेदर बढी हुने हुँदा अभिभावकहरू सचेत भएर उनीहरूलाई सकेसम्म घरमै राख्न आग्रह गरे ।

  • उपत्यकामा थप १७ जनामा कोरोना संक्रमण

    उपत्यकामा थप १७ जनामा कोरोना संक्रमण

    काठमाडौं  । काठमाडौंका काठमाडौंमा १० सहित उपत्यकामा बुधबार १७ जनामा कोरोना संक्रमण देखिएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार काठमाडौंमा १० जना, ललितपुरमा ५ जना भक्तपुरमा २ जनामा कोरोना संक्रमण देखिएको हो ।

    संक्रमितहरु काठमाडाैंकाे ५ जना पुरुष र ५ महिला, ललितपुरकाे २ पुरुष र ३ महिला र भक्तपुरकाे १ पुरुष र महिला रहेकाे गाैतमले बताए ।

  • नेपालमा ४८२ कोरोना संक्रमित थपिए, संक्रमितको संख्या १४ हजार नाघ्यो

    नेपालमा ४८२ कोरोना संक्रमित थपिए, संक्रमितको संख्या १४ हजार नाघ्यो

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ सय ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४ सय ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    जसमा ११७ महिला र ३६५ पुरुष रहेको प्रवक्ताले गौतमले जानकारी दिएका छन् ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १४ हजार ४६ पुगेको छ ।

  • नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु, मृतकको संख्या ३० पुग्यो

    नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु, मृतकको संख्या ३० पुग्यो

    काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।
    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार अछामको रामारोशन गाउँपालिका ५ का ४५ वर्षीय पुरुषमा मृत्युपछि कोरोना पुष्टि भएको हो ।

    ती पुरुषको असार १४ गते आइतबार बयालपाटा अस्पतालमा मृत्यु भएको थियो । उनी भारतबाट गौरीफन्टा नाका हुँदै जेठ २७ गते अछाम पुगेर क्वरेण्टीनमा बसिरहेका थिए।

    असार १३ गते श्वासप्रश्वासमा समस्या आएपछि उनलाई उपचारको लागि बयालपाटा अस्पतालमा लगिएको थियो ।

    आकस्मिक कक्षमा उपचारको क्रममा उनको आइतबार दिउँसो २ बजे मृत्यु भएको थियो । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ३० पुगेको छ ।

  • बुधबार बिहान थपिए कोरोनाका ४२ संक्रमित

    बुधबार बिहान थपिए कोरोनाका ४२ संक्रमित

    काठमाडौं । नेपालमा बुधबार बिहानै ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रदेश क्षयरोग केन्द्र, पोखरा र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र भरतपुर अस्पताल, चितवनमा गरिएको परीक्षणबाट नयाँ संक्रमित थप भएका हुन् । गण्डकी प्रदेशमा २८ नयाँ संक्रमित थपिए ।

    गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार नवलपरासी पूर्वका १२ जना, गोरखाका ३ जना, कास्कीका एक जना थप भएका छन् । यसैगरी स्याङ्जाका आठ जना, बाग्लुङका ३ जना र तनहुँका एक जना रहेको निर्देशनालयको विज्ञप्तीमा उल्लेख गरेको छ ।

    अब गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ९ सय ९४ पुगको छ। चितवनको भरतपुर अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका १३ जना र झापाका एक जनामा पनि कोरोना संक्रमण पुष्टि भएको बताइएको छ ।

    चितवनको भरतपुर महानगरपालिकाका ११ र माडीका दुई जना रहेको भरतपुर अस्पतालको तथ्यांकमा उल्लेख छ । नेपालमा १३ हजारभन्दा बढीमा कोरोना देखिएको छ । पछिल्ला दिनमा कोरोना तिब्र रुपमा फैलिरहेको छ ।

  • मन्त्रीहरुसँग छलफल गर्दै प्रधानमन्त्री

    मन्त्रीहरुसँग छलफल गर्दै प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रीहरुसँग छलफल शुरु गरेका छन् । पार्टी भित्र र बाहिरबाट सरकारको तिब्र आलोचना तथा राजिनामा माग भइरहेका बेला उनले मन्त्रीहरुसँग परामर्श गर्न लागेका हुन् । प्रधानमन्त्रीले परामर्शका लागि भन्दै मन्त्रीहरुलाई बालुवाटारस्थित प्रधानमन्त्री निवासमा डाकेका छन् ।

    नेकपाको स्थायी कमिटी बैठकका बहुमत सदस्यहरुले राजीनामा मागेपछि प्रधानमन्त्री ओली संकटमा छन् । सत्ता बचाउन उनले प्रयोग गरेको भारतीय षडयन्त्रको कार्डसमेत असफल भएपछि प्रधानमन्त्रीले मन्त्रीहरुसँग परामर्श थालेका हुन् । यसअघि मंगलबार स्थायी कमिटी बैठकमा जानु अगाडि उनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफल गरेका थिए ।

  • २० हजार डलरको लोकसेवा परिक्षा उत्प्रेरणा कोष स्थापना गर्दै तामाङ समाज अमेरिकाको वार्षिकोत्सव सम्पन्न

    २० हजार डलरको लोकसेवा परिक्षा उत्प्रेरणा कोष स्थापना गर्दै तामाङ समाज अमेरिकाको वार्षिकोत्सव सम्पन्न

    न्युयोर्क

    गत आईतबार जून २८ का दिन तामाङ समाज अमेरिकाले आफ्नो दोश्रो वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको छ । न्युयोर्कको लङ्ग आइल्याण्डस्थित भ्याली स्ट्रिम पार्कमा संस्थाका कार्य समितिका पदाधिकारी एवं सदस्य र उनका परिवारहरु समेत सहभागी भएर समाजले दोश्रो वार्षिकोत्सव कार्यक्रम मनाएको हो । कोरोना महामारीको कारण समाजले आफ्नो समुदायका ब्यक्तिहरुको स्वास्थमा प्रतिकुल असर नपरोस भनेर वार्षिकोत्सव कार्यक्रम सिमित घेराभित्रको उपस्थितिमा मात्र सम्पन्न गरिएको समाजकी महासचिव बिनिता तमाङले बताईन । न्युयोर्कमा गर्मी छिप्पिदै जाँदा बार्बेक्यू सहित सम्पन्न दोश्रो वार्षिकोत्सवको अवसर पारेर संस्थाका अध्यक्ष सानुमाया तामाङले तत्काल कार्यान्वयन हुने गरी २० हजार अमेरिकी डलर बराबरको नेपालमा ‘लोकसेवा परिक्षा उत्प्रेरणा कोष’ संचालन गर्ने घोषणा गरेकी थिईन । अध्यक्ष सानुमाया तामाङको अनुसार नेपालको निजामती क्षेत्रमा तामाङ जातिको नगन्य उपस्थिति रहेको सन्दर्भमा लोकसेवा परिक्षा मार्फत निजामती सेवामा प्रवेश गर्न चाहने तामाङ विधार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्ने उद्देश्यले यो कोष स्थापना गरिएको बताएका छन् । छात्रवृत्ति नेपालको स्थानीय संस्थासँग सहकार्य गरेर संचालन गरिने बताइएको छ ।  

    कोषको लागि दोश्रो वार्षिकोत्सवकै दिन उपस्थित सहभागीहरुबाट १२,५०० अमेरिकी डलर संकलन भएको र बाँकी अपुग रकम संस्थाका शुभचिन्तकहरुबाट संकलन गरिने कोषाध्यक्ष तुलबहादुर तामाङले जनाएका छन् । कार्य समितिको आगामी बैठकबाट कोष संचालनको लागि एउटा विशेष समिति गठन हुने र कोष संचालनको विधि र प्रक्रिया सो समितिले तयारी गरेर कार्य समितिले अनुमोदन गरेपछि लोकसेवा परिक्षा उत्प्रेरणा कोषको बिस्तृत जानकारी समुदायलाई सम्प्रेषण गर्ने योजना रहेको संस्थाका सचिव रोज बहादुर घिसिङले बताएका छन् ।

  • गुल्मीमा एकै दिन ४५ जना कोरोना संक्रमित डिस्चार्ज

    गुल्मीमा एकै दिन ४५ जना कोरोना संक्रमित डिस्चार्ज

    गुल्मी । गुल्मीमा एकै दिन ४५ जना कोरोना संक्रमित बिरामी अस्पतालबाट डिस्चार्ज भएका छन् । विभिन्न स्थानीय तहमा निर्माण गरिएको आइसोलेसनमा १४ दिन बसेपछि उनीहरुलाई म‌ंगलबार डिस्चार्ज गरिएको हो । मंगलबार ४५ जना सँगै अब गुल्मीमा आइसोलेसनबाट घर जाने कोरोना संक्रमितको संख्या ८७ पुगेको छ ।

    जिल्लामा ७८ जना पुरुष र ९ जना महिला महिलाले कोरोनालाई जित्न सफल भएका हुन् । मंगलबार आइसोलेसनबाट घर फर्किनेहरुमा रेसुङ्ग नगरपालिकाका ३६, रुरुक्षेत्र गाउँपालिकाका १६, इस्मा गाउँपालिकाका १७, मालिकाका ४ तथा चन्द्रकोट, मदाने, धुर्कोट र छत्रकोटका १\१ जना छन् ।

    गुल्मी दरबारका ४ जना र सत्यवती गाउँपालिकाबाट समेत ६ जना डिस्चार्ज भएका छन् । जिल्लामा लक्षण नदेखिएका कोरोना संक्रमितको पुनः परीक्षण नगरी १४ दिन आसोलेसनमा राखेर घर पठाउने गरिएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लामा कोरोना संक्रमितको संख्या ३२४ जना पुगेको छ । गुल्मीमा कोरोना संक्रमणबाट तीन जनाको भने मृत्यु भएको छ ।

  • बिरामी, कर्मचारी र व्यवसायीलाई काठमाडौं आउन देउ : संसदीय समिति

    बिरामी, कर्मचारी र व्यवसायीलाई काठमाडौं आउन देउ : संसदीय समिति

    काठमाडौं । संसदीय समितिले बिरामी, कर्मचारी र व्यवसायीलाई काठमाडौं आवतजावत सहज बनाउन सरकारलाई निर्देशिन दिएको छ । राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिले बिरामी, कर्मचारी र व्यवसायीलाई काठमाडौं आउने वातावरण सहज बनाउन सरकारलाई निर्देशन दिएको हो ।

    उपत्यका आउने जाने नागरिकको सन्दर्भमा बिरामी, कर्मचारी र व्यावसायीलाई सरलीकृत गर्ने भनी मंगलबार समितिले सरकारलाई निर्देशन दिएको हो । आवश्यक सर्तकता अपनाएर आर्थिक क्षेत्रलाई चलायमान बनाउन आवश्यक रहेको भन्दै समितिले सरकारलाई यस्तो निर्देशन दिएको हो ।

    समितिले प्रदेश र स्थानीय तहको समन्वयमा क्वारेन्टिन र आइसोलेसन सेन्टरको व्यवस्थापन र अनुगमन गर्न समेत संघीय सरकारलाई निर्देशन दिएको छ । अहिले आफ्नो सवारी साधन हुनेहरु निर्वाध काठमाडौं आइरहेका छन् । तर, सार्वजनिक यातायात बन्द हुँदा आम सर्वसाधारण भने काठमाडौं आउन पाएका छैनन् । यसले काठमाडौंमा रोजगारी गर्नेहरुलाई समस्यामा पारेको छ ।

  • प्रधानमन्त्रीको अभिव्यक्तिको पार्टीभित्र तिब्र आलोचना, अध्यक्ष र प्रधानमन्त्रीबाट राजिनामा मागियो

    प्रधानमन्त्रीको अभिव्यक्तिको पार्टीभित्र तिब्र आलोचना, अध्यक्ष र प्रधानमन्त्रीबाट राजिनामा मागियो

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता बचाउन भारतीय कार्ड फ्याँक्दा आफै समस्यामा परेका छन् । नेपाल कम्यूनिष्ट पार्टीको राजधानीमा जारी स्थायी कमिटिमा बोल्ने अधिकांश शीर्ष नेताले केपी शर्मा ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुबै पदबाट राजिनामा दिनुपर्ने धारणा राखे । यसले नेकपा भित्र प्रधानमन्त्री अझ कमजोर बनेका छन् ।

    प्रधानमन्त्रीले यसअघि भारतले आफूलाई प्रधानमन्त्रीबाट हटाउन खोजेको र त्यसमा नेपालका नेताहरु नै लागेको गम्भीर आरोप लगाएका थिए । धेरैले यसलाई सत्ता बचाउने भारतीय कार्डका रुपमा प्रधानमन्त्रीको अभिव्यक्ति आएको बताएका थिए ।

    मंगलबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठकमा शीर्षनेताले प्रधानमन्त्रीको अभिव्यक्तिमाथि गम्भीर प्रश्न उठाउँदै ओलीले अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट राजीनामा दिनुपर्ने माग समेत गरेका छन् । मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठक ओलीको अभिव्यक्तिका कारण अन्य विषयमा प्रवेश नै नभएको एक नेताले जानकारी दिए ।

    आजको बैठकमा सुरुमै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बोलेका थिए । उनले नियमित एजेण्डाअनुसार सीमा विवाद र नयाँ नक्साबारे छलफल गर्नुपर्ने भए पनि परिस्थिति बदलिएको भन्दै राजिनामा भारतले नभई पार्टीले माग्ने उल्लेख गरे । उनले मदन भण्डारी जयन्तीको दिन अध्यक्ष ओलीले दिएको अभिव्यक्तिले अवस्था गम्भीर बनाएको भन्दै यस्तो अभिव्यक्तिबाट नेपाल अझै पनि आत्मनिर्णयको अधिकार प्रयोग गर्न पाएको छैन भन्ने सन्देश विश्वभर जाने उल्लेख गरे ।

    उनले पार्टीका नेतामाथि प्रधानमन्त्रीबाट भएको अविश्वासको समेत समिक्षा हुनुपर्ने उल्लेख गरे । उता, आजको बैठकमा सोमबार निर्वाचन आयोगमा नेकपा एमाले दल दर्ताका लागि निवेदन परेको सम्बन्धमा समेत चर्चा भएको छ ।

    झापाका मान्छेले यस्तो दल दर्ता गरेका कारण पनि धेरैले यसलाई ओलीकै षडयन्त्रका रुपमा हेरेका छन् । मंगलबार आफुविरुद्ध उठेका प्रश्नबारे जवाफ दिँदै प्रधानमन्त्रीले भने भारतको विरोध गर्दा पार्टीका नेताको चित्त दुखेको भन्दै आलोचना गरेका थिए ।

    उनले भारतीय मिडियामा आएको पक्षलाई मात्र आफुलाई उल्लेख गरेको उनको स्पटोक्ती थियो । निर्वाचन आयोगमा नेकपा एमाले दल दर्ता भएको बारे भने आफू अनविज्ञ रहेको प्रधानमन्त्रीको भनाई थियो । बैठकमा वरिष्ठ नेता झलनाथ खनालले पार्टी र सरकार संचालनमा असफल भएको भन्दै प्रधानमन्त्रीको राजीनामा मागेका छन् ।

    ओलीले सरकार एकलौटी चलाएको र पार्टी बैठकहरुको पनि उपेक्षा गरेको भन्दै खनालको आरोप थियो । वरिष्ठ नेता माधवकुमार नेपालले ओलीमा दम्भ, अहंकार र अरुलाई दास बनाउने प्रवृत्ति रहेको भन्दै उनको तिब्र आलोचना गरेका थिए ।

    ओलीलाई पार्टी भन्दा गुट चाहिएको भन्दै उनको सोही प्रवृत्ति नै पार्टी र सरकारका लागि समस्या भएको उल्लेख गरे । उपाध्यक्ष बामदेव गौतमले समेत प्रधानमन्त्री एवं अध्यक्ष ओलीको राजीनामा माग गरेका छन् ।

  • नेपालमा मंगलवार थपिए ३ सय १६ संक्रमित  अब कुल संख्या  १३ हजार ५ सय ६४

    नेपालमा मंगलवार थपिए ३ सय १६ संक्रमित अब कुल संख्या १३ हजार ५ सय ६४

    काठमाडौ

    नेपालमा पछील्लो  २४ घण्टामा थप ३१६ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।  

    यो वृद्धिसँगै मङ्गलवारसम्म  देशभरि पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या १३,५६४ पुगेको छ।

    तीमध्ये ३,१९४ जना निको भएका छन् भने २९ जनाको मृत्यु भएको मन्त्रालयको तथ्याङ्कले देखाएको छ।

    मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार अहिले आइसोलेशनमा भएका सङ्क्रमितको सङ्ख्या १०,३४१ छ।

    अहिलेसम्म प्रदेश नं ५ मा सर्वाधिक ३,८०७ जना र २ मा ३,७९४ जना कोभिड-१९ भएका व्यक्ति भेटिएका छन्।

    सुदूरपश्चिम र कर्णाली प्रदेशमा पनि सङ्क्रमितको सङ्ख्या उल्लेख्य रूपमा बढिरहेको छ।

    मङ्गलवार सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा १२१ जना र प्रदेश नं २ मा ८२ जना थप सङ्क्रमित पुष्टि भएको छ।