Category: समाचार

  • टेक्सासमा घर झगडाको उजुरी आएपछि घटनास्थल पुगेका दुई प्रहरी अधिकृतको गोली हानी हत्या

    टेक्सासमा घर झगडाको उजुरी आएपछि घटनास्थल पुगेका दुई प्रहरी अधिकृतको गोली हानी हत्या

    एजेन्सी

    शनिबार साँझ टेक्सास राज्यको मक्लेनमा दुई प्रहरी अधिकृतको गोली हानी हत्या भएको छ । घरायसी झगडाको उजुरी आएपछि सो सम्बोधन गर्न घटनास्थल पुगेका प्रहरीको गोली हानी हत्या गरिएको हो । घटनास्थल पुगेका प्रहरी अधिकृतलाई घरको ढोकामा पुगेपछि गोली प्रहार गरिएको मक्लेन पुलिस चिफ भिक्टर रोड्रिगेजको हवाला दिदैं स्थानीय संचार माध्यमले जनाएका छन् ।  बन्दुकधारीको आक्रमणबाट ४५ बर्षीय प्रहरी अधिकृत एडेल्मिरो गर्जा र ३९ बर्षीय ईस्माईल चाभेजको अस्पतालमा उपचारका क्रममा मृत्‍यु भएको हो । प्रहरी अधिकृतलाई गोली प्रहार गर्ने सन्धिग्द बन्दुकधारी आफुले आँफैलाई पनि गोली प्रहार गरी आत्महत्या गरेको मक्लेन प्रहरीले जनाएको छ ।  

    सन्धिग्द बन्धुकधारीको नाम प्रहरीले सार्वजनिक नगरे पनि ती ब्यक्ती पटक पटक प्रहरी हिरासतमा परिसकेको २३ बर्षीय पुरुष भएको जनाइएको छ ।

  • कालो रंगको मास्क लगाएर पहिलो पटक फुर्तिले हिंडे राष्ट्रपति ट्रम्प

    कालो रंगको मास्क लगाएर पहिलो पटक फुर्तिले हिंडे राष्ट्रपति ट्रम्प

    न्युयोर्क

    राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार वाल्टर रिड नेशनल मेलिटरी मेडिकल सेन्टर भ्रमणका क्रममा मुखमा मास्क लगाएका छन् ।  अमेरिकामा कोरोना संक्रमणको महामारी सुरु भएपछि राष्ट्रपति ट्रम्पले सार्वजनिक रुपमा मुखमा मास्क लगाएर हिंडेको पहिलो पटक हो । सार्वजनिक स्थलमा मास्क लगाउने कुरामा असन्तुष्टी ब्यक्त गर्दै आएका ट्रम्प शनिबार भने मेरिल्यान्डको वाल्टर रिड नेशनल मेलिटरी अस्पतालको हलमा हिंडिरहँदा कालो रङको मास्क लगाएको भिडियो तथा तस्बिर सार्वजनिक भएको छ ।

      

    यस अघि गत मेई महिनामा मिचिगन राज्यस्थित फोर्ड गाडी कम्पनी भ्रमणको क्रममा कारखानाको पछाडिको भागमा जाँदा मास्क लगाएको तस्बिर सार्वजनिक भए पनि सार्वजनिक स्थानमा भने लगाएका थिएनन् ।आफ्नै राजनीतिक दलका कतिपय नेताले राष्ट्रपति ट्रम्पले मास्क लगाएर हिंड्नु पर्ने प्रतिकृया दिदै आए पनि उनले लगाउन मानेका थिएनन् ।उनले आफ्ना राजनैतिक प्रतिस्पर्धी जो बाईडेनले मास्क लगाएको बिषयमा समेत खिसी गर्दै आएका थिए ।आफुले मुखमा मास्क लगाउँदा पत्रकार र संचार माध्यम खुसी हुने भन्दै  मास्क लगाएर उनिहरुलाई खुसी नपार्ने प्रतिकृया दिदै आएका ट्रम्पले शनिबार भने गाढा कालो रंगको मास्क लागाएर हिंडेका छन् ।

  • अमिताभ बच्चन कोरोना संक्रमित भएपछि अस्पताल भर्ना

    अमिताभ बच्चन कोरोना संक्रमित भएपछि अस्पताल भर्ना

    नयाँ दिल्ली

    बलिउड अभिनेता अमिताभ बच्चन कोरोना संक्रमित भएपछि अस्पताल भर्ना भएका छन् ।जुलाई ११ तारिख शनिबार बच्चनले ट्विटर मार्फत आफु कोरोना संक्रमित भएको र अस्पताल भर्ना भएको बताएका हुन् ।अभिनेता बच्चनले आफु कोरोना संक्रमित हुनुका साथै परिवारको समेत संक्रमण जाँच गरिएको र रिजल्ट कुरी रहेको ट्विटरमा लेखेका छन् । उनलाई मुम्बईस्थित नानावती  अस्पताल भर्ना गरिएको छ ।

    अभिनेता बच्चनले कोरोना संक्रमित भएको ट्विट गरे लगत्तै बलिउड कलाकार र हजारौं प्रशंसकले उनको सिघ्र स्वास्थ लाभको कामना गरेका छन् ।

  • सिन्धुपाल्चोक पहिरोमा हराइरहेका २० जना अझै भेटिएनन्

    सिन्धुपाल्चोक पहिरोमा हराइरहेका २० जना अझै भेटिएनन्

    सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा पहिरोमा परी हराइरहेका २० जना नागरिकको खोजी कार्य शनिबार समेत जारी रह्यो । तर, उनीहरुबारे कुनै जानकारी भने प्राप्त भएन् । बाह्रबिसे नगरपालिका ५ जम्बुमा बुधबार राति गएको बाढी पहिरोमा परी २० जना वेपत्ता रहेका छन् । लगातार परिरहेको वर्षापछि आएको बाढी र पहिरोमा परी धनजनको ठूलो क्षति भएको छ ।

    तर, सडक अवरुद्ध भएको र पहिरोले ठूलो क्षति पुर्याएका कारण वेपत्ताहरुको खोजी कार्यमा भने कठिनाई उत्पन्न भइरहेको छ । शनिबार पनि बेपत्ताको खोजी जारी राखिएको प्रहरीले जनाएको छ । शनिबार काठमाडौंबाट समेत उद्धार टोली उद्दारमा खटिएको थियो । बाढी पहिरोका कारण सिन्धुपाल्चोकमा अहिलेसम्म ५२ घरमा क्षति पुगेको छ ।

    जम्बुका विस्थापित ३० परिवारको लागि नगरपालिकासँग समन्वय गरी जिल्ला विपद् व्यवस्थापन समितिबाट ३० थान त्रिपाल, म्याट्रेस, भाँडाकुँडा र लत्ताकपडा पठाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । यता अरनिको राजमार्गको जुरेमा सडक खुलाउने काम समेत थालिएको प्रहरीको भनाई छ । बाढीले सम्पूर्ण भाग कटान गरेको झण्डै एक सय ५० मिटर सडक भित्ताको कडा चट्टान काटेर डाइभर्ट गरी निर्माण शुरु भएको छ ।

  • म्याग्दी पहिरोमा ज्यान गुमाउनेको संख्या २० पुग्यो, अझै १३ वेपत्ता

    म्याग्दी पहिरोमा ज्यान गुमाउनेको संख्या २० पुग्यो, अझै १३ वेपत्ता

    म्याग्दी । म्याग्दीमा गत शुक्रबार रातीबाट विभिन्न स्थानमा आएको पहिरोमा परी ज्यान गुमाउने व्यक्तिको संख्या २० पुगेको छ । बिहीबार रातबाट लगातार वर्षा भएपछि म्याग्दीका थुप्रै स्थानमा पहिरो गएको थियो । म्याग्दीको धवलागिरि, मालिका र रघुगंगा गाउँपालिकामा पहिरोले ठूलो मानवीय क्षति पुर्याएको छ ।

    प्रहरीका अनुसार पहिरोले पुरिएका मराङको ठूलोगाउँका ६२ वर्षीय तुलबहादुर केसीको शव शुक्रबार भेटिएको थियो । बाँकी शव शनिबार भेटिएका हुन् । प्रहरीका अनुसार धवलागिरि–६ मराङका ११, मालिका–७ बिमका ८ र रघुगंगा–६ ठाडाखानीका १ जनाको शव भेटिएको छ ।

    धवलागिरी–६ कल्लेनीका राम्चेका सुबना लामगादे, प्रकाश केसी, आयुष लामगादे, आशिष दामगादे,आयुषा लामगादे, रेश्मा सुनार, मनबहादुर श्रीपाली, कमला श्रीपाली, सुरक्षा श्रीपाली र सुरज श्रीपालीको शव भेटिएको छ । बिमकी बिष्णु शर्मा, इच्छा केसी, गौदेवी नेपाली, विशेष नेपाली, बिरबहादुर नेपाली, उनका ३ महिनाका छोरा, बिष्णु नेपाली, सन्दीप नेपालीको शव भेटिएको प्रहरीको तथ्यांकमा उल्लेख छ ।

    मराङमा ४० वर्षीय धनबहादुर जुग्जाली, ३३ वर्षीया रितुकुमारी जुग्जाली, ८ वर्षीय कञ्चन जुग्जाली, ५ वर्षीय अर्जुन जुग्जाली, १० वर्षीया करिस्मा जुग्जाली, ५५ वर्षीया गौशरा जुग्जाली, हिराकुमारी जुग्जाली, २१ वर्षीया दिमा जुग्जाली, ३ वर्षीया दिप्ती जुग्जाली र १ वर्षीय दिवन जुग्जाली बेपत्ता छन्।

    मालिका–६ की गीता रोका दुखुखोलामा बेपत्ता छन् । कल्लेनीका ५१ वर्षीया जनिमा केसी र १६ वर्षीय सबिन पुन पनि पहिरोका कारण हराइरहेका छन् । वेपत्ता नागरिकको खोजी कार्य जारी रहेको समेत प्रहरीले जनाएको छ ।

  • नेपालमा कोेरोना संक्रमणबाट थप तीन जनाको मृत्यु

    नेपालमा कोेरोना संक्रमणबाट थप तीन जनाको मृत्यु

    काठमाडौं । नेपालमा कोरोनाबबाट थप तीन जनाको मृत्यु भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्‍वर गौतमको अनुसार काठमाडौं महानगपालिका-१० शंमखुलका ६० वर्षीय पुरुष, गोकर्णेश्वर-४ का ४५ वर्षीय पुरुष र सिन्धुपाल्चोक पाँचपोखरी थाङपालका पाँचपोखरीका ४५ वर्षीय पुरुषको मृत्यु भएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३८ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।

    कुल संक्रमितमध्ये ३८ जनाको मृत्यु भएको छ।

  • नेपालमा थपिए ७० कोरोना संक्रमित, संक्रमितको संख्या १६ हजार ७१९ पुग्यो

    नेपालमा थपिए ७० कोरोना संक्रमित, संक्रमितको संख्या १६ हजार ७१९ पुग्यो

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्‍वर गौतमको अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ७० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार कोरोना भाइरस संक्रमितको संख्या १६ हजार ७ सय १९पुगेको छ ।

    पछिल्लो २४ घण्टामा थप ४ सय ३१ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। यो सहित डिस्चार्ज हुनेको संख्या ८ हजार ४ सय ४२ पुगेको छ।

    कुल संक्रमितमध्ये ३८ जनाको मृत्यु भएको छ।

  • म यो उमेरमा मर्न चाहन्न !

    म यो उमेरमा मर्न चाहन्न !

    सुवास तामाङ, रसुवा 

    म दुर्गम हिमाली जिल्ला रसुवाको ग्रामिण परिवेशमा जन्मे, हुर्कें । सडक र बिजुलीको सपना देखेरै बाल्यकाल बित्यो । आम पहाडी गरिबको बच्चाले भोग्ने सबै अभाव व्यहोरें । कलेज गएर उच्च शिक्षा हाँसिल गर्ने रहर घर-व्यवहारको बोझले छिन्यो । मन परेको केटी बिहे गरें । छोरा जन्मियो । आर्थिक अभावको कारण बाध्य भएर बिदेश गई केही कमाएर ल्याएँ । जसोतसो गरी बैंकबाट ऋण निकाली एउटा मिनी ट्रक निकालेर चलाउन थालें । मेरो दुर्भाग्य; ट्रक पल्टियो । गुल्टिएर त्रिशुली खोलामा पुग्यो । धन्न म सहित अन्य मरेनौं । हामी घाइतेलाई उपचार गर्न काठमाडौं लगियो । त्यतिबेला म २६ वर्षको थिएँ । त्यसैबेला मेरो ‘मृगौलाले काम गरेको छैन’ रहेछ भन्ने थाहा भयो । म छाँगाबाट खसेजस्तो भएँ । सानो नाबालक छोराको अनुहार सम्झेर म बेहोस् सरह थिएँ । श्रीमतीले छोरा समातेर रातभर रुदै अस्पालको भुँईमा सुतेको हेर्न सक्दैनथे । रोएर मेरो आँसु सुक्यो । उपचार गर्दै भएको अलिअलि पनि सकियो । डाक्टरले तुरुन्तै डायलासिस गर्नु पर्छ भनेर फिस्टुला बनायो । ५ वर्षदेखि हेमो डायलासिस गराउँदै आएको छु । मेरो मृगौला फेल भएको पाँचौं चरणमा पुगि सकेकोले हप्ताको ३ पटक डायलासिस गर्नु पर्छ । 


    अहिले म ३२ वर्षको भएँ । म आफै बिरामी भएर अस्पताल धाउनु परेकोले घरको आर्थिक अवस्था थप नाजुक भएको छ । सरकारले डायलासिस नि:शुल्क हुने व्यवस्था गरेपनि औषधी किन्न थुप्रै खर्च हुन्छ । डायलासिस गर्न काठमाडौं नै बस्नु पर्ने भएकोले खान बस्न धेरै खर्च हुन्छ । युवाअवस्थामा यसरी बाँच्न कै लागि हारगुहार गर्नुपर्दा साह्रै अफ्ठेरो लाग्छ । तर मसँग बिकल्प छैन । बाबुआमा, श्रीमती र छोराकै लागि भएपनि म बाँच्नु पर्छ भन्ने लाग्छ । म यो उमेरमा मर्न चाहन्न ।

    मैले अझैपनि भ्याएसम्म पहिलेजस्तै सामाजिक कार्यमा हिड्ने गरेको छु । मेरो मनोबल र बाँच्ने चाहना देखेर मेरो परिवारले एउटा मृगौला दिन तयार भएको छ । तर पटक पटक सबै चेकअप गरेर प्रारम्भिक तयारी गरिसक्दा पनि उपचार खर्च अभावका कारण मृगौला प्रत्यारोपणको कार्य हुन सकेको छैन । गरिब भएर बाँच्नु, त्यो माथि पनि डरलाग्दो रोगको चपेटामा पर्नु साह्रै गाह्रो रहेछ । अझ सानो बच्चा देख्दा बोल्नै सक्दिन । हाम्रो देशको सरकारी अस्पतालमा पनि निशुल्क उपचार हुँदैन । मृगौला प्रत्यारोपणको लागि मेरो परिवारले आफ्नो सद्दे किड्नी दिन्छु भन्दापनि उपचार खर्च नभएकोले मैले उपचार पाएको छैन ।
    IMG_9156 (डायलासिसको भिडियो)
     

    मान्छेले बाँच्नको लागि जे पनि गर्नु पर्दो रहेछ । समयले मलाई माग्नुपर्ने बनाएको छ । मैलै सकेको बेला सबैलाई दिएरै खुसी राख्न खोजें । म अरुको त्यत्तिकै लिन नसक्ने स्वाभावको मान्छे हुँ तर आज बाँच्नको लागि माग्दै छु । देशभित्रै चिनेजानेकालाई भनें । अलिअलि दिएका पनि छन् । त्यसैले औषधी किन्न, खान र हिड्न थेगेको छु । तर मलाई किड्नी अर्को राख्न १५ लाख जति उपचार खर्च लाग्ने भएकोले बिदेशमा बस्ने सबैसँग अलिअलि सहयोग गरिदिन हुन अनुरोध गर्दछु । सबै सहयोगीको नाम लेखेर जीवनभर डायरीमा लेखेर राख्नेछु । म मरें भने मेरो बच्चा र श्रीमतीको के हालत होला जस्तो लाग्छ । पिर, अभाव अनि रोग लिएर बाँच्नुको पिडा कसरी सबै बताउन सकुँला । कृपया थोरै भएपनि सहयोग गरेर मेरो बाँच्ने आशा जोगाई दिनु है । मेरो मोबाइल नम्बर : ९८१३९७२४६१

    (सुवास तामाङ्सँग विश्वन्युजका योगेश आदीले गरेको कुराकानीमा हुबहु आधारित)

  • कोरोना संक्रमणपछि १ सय १० दिन अस्पताल बसेका धार्मिक गुरुको जीवन मृत्‍यु बीचको डरलाग्दो संघर्षको कथा

    कोरोना संक्रमणपछि १ सय १० दिन अस्पताल बसेका धार्मिक गुरुको जीवन मृत्‍यु बीचको डरलाग्दो संघर्षको कथा

    न्युयोर्क      

    गत डिसेम्बरमा अकस्मात चीनमा देखिएको अज्ञात भाइरसले विज्ञानलाई चुनौति दियो । कोरोना नामाकरण गरिएको उक्त भाईरसबाट शक्तिसम्पन्न राष्ट्रहरु समेत आच्छु आच्छु भएका छन् ।१ करोड २२ लाखलाई संक्रमित बनाएको यो भाईरसको संक्रमणबाट कोही पत्तै नपाई निको भई सकेको खबर आईरहेका छन् भने कसैलाई ३ महिनासम्म पनि निको नभएर महिनौं अस्पातलको बेडमा जीवन र मृत्‍युसँग पौंठाजोरी खेल्नु परेको समाचार आईरहेका छन्।हालसम्म विश्वमा ५ लाख ५५ हजार मानिसले भाईरसका कारण ज्यान गुमाएका छन् ।यहाँ हामी कुनै समय कोरोना महामारीको एपिसेन्टर बनेर हाल केही राहत महसुस गर्दै गरेको न्युयोर्क कुईन्सका एक धार्मिक गुरुले कोरोनासँग पौंठाजोरी खेल्दै बिताएको तीन महिना २० दिनको अनुभव बाँड्दै छौं ।

    न्युयोर्क कुईन्सस्थित एक चर्चका धार्मिक गुरु गत मार्चको मध्यमा कोरोना संक्रमित भएपछि झण्डै स्वर्गको ढोका ढक्ढक्याउन पुगे ।उनी ५४ दिनसम्म भेन्टिलेटरमा बसे भने ६ हप्ता त कोमा (बेहोस) मा नै रहे ।३० बर्ष अगाडि भारतबाट अमेरिका आएका धार्मिक गुरु बेन्जामिन थोमसलाई कोरोना संक्रमण भएपछि लङ आईल्यान्डस्थित नासाऊ युनिभर्सिटी मेडिकल सेन्टरमा उपचारका लागि लगियो । उनलाई दुई हप्ता लङ्ग आईल्याण्डकै अस्पातलको भेन्टिलेटरमा राखेर उपचार त गरियो तर उनको स्थितमा सुधार भएन ।उनको जीवन प्रतिको आशा अन्त्य हुँदै गयो ।गुरुको स्वास्थ्य लगातार बिग्रिदै गएपछि थोमसको परिवार न्युयोर्कस्थित चर्चित अस्पताल माउण्ट साईनाइका चिनेजानेका एक मुटु सर्जन रबिन भर्गिजको संपर्कमा पुगे ।डा. भर्गिजको सल्लाहमा नै उनलाई माउण्ट साईनाइमा भर्ना गरी उपचार गरिएको बिहिबार अस्पतालले सार्वजनिक गरेको भिडियोमा डा भर्गिजले भनेका छन्; “धार्मिक गुरुको उपचार महामारी कै सबैभन्दा चुनौतिपूर्ण र अचम्मको उपचार हो”।

    कोरोना संक्रमणपछि बेन्जामिनको शरीरको तौल ५० पाउण्ड घटेको छ । आधुनिक चिकित्सा बिज्ञानले उपलब्ध गराएका सबै किसिमका औषधीले पनि बेन्जामिनको स्वास्थ्यलाभको आशाको अन्त्य गरि सकेको अवस्थामा चिकित्सकले अन्तिम अस्त्रका रुपमा ‘मेडिकल्ली इन्ड्युस कोमा’ मा राखेको थियो।त्यसको दुई हप्तापछि भने गुरु बेन्जामिनको स्वास्थ्यमा हल्का सुधार देखिएको बताईएको छ ।कोरोनासँगको १ सय १० दिनको लडाईंमा जित हासिल गरी नयाँ जीवन पाएको खुसीमा चर्चका सम्पूर्ण परिवारसँग भेट गर्न पाउने इच्छा ब्यक्त गर्दै अस्पताल परिवारसँग हेलो-हाई गरी जुलाई २ तारिख बेन्जामिन अस्पतालबाट घर फर्किएका छन् । ईष्ट मेडो लङ आईल्यान्डमा बसोबास गर्दै आएका धार्मिकगुरुले अस्पतालबाट डिस्चार्ज हुँदै गर्दा तयार पारेको भिडियोमा भनेका छन्; “मास्क लगाउने कुरा र सामाजिक दुरीको कुरामा अत्यन्त सम्बेदनशील हुनु” ।

  • पार्टीको आन्तरिक विवादले सरकारको काम प्रभावित हुँदैन : प्रधानमन्त्री

    पार्टीको आन्तरिक विवादले सरकारको काम प्रभावित हुँदैन : प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज टेलिभिजनबाट जनताका नाममा सम्बोधन गरेका छन् । शुक्रबार राती ९ बजे नेपाल टेलिभिजनबाट सम्बोधन गरेका उनले सरकारको प्राथमिकतामा पार्टी भित्रको विवादले कुनै प्रभाव नपार्ने बताएका छन् । पार्टी विवाद आन्तरिक मामला भएको भन्दै उनले त्यसबाट सरकारको प्राथमिकतामा कुनै कमी नआउने उनको भनाई थियो ।

    जनताको जीवन रक्षाको दायित्वबाट कसैले पनि विमुख हुन नमिल्ने भन्दै उनले केही दिनयता देशमा निम्तिएको बाढीपहिरोसहितका प्राकृतिक विपदको सामना गर्न सबै संयन्त्र प्रयत्नसिल रहेको समेत उल्लेख गरे । आन्तरिक विमति वा समस्यामा अल्झिएर जनताको जीवन रक्षाको दायित्वबाट कोही पनि पछि हट्न नमिल्ने प्रधानमन्त्रीको तर्क थियो ।

    रोग र भोकबाट देशबासीलाई जोगाउने दायित्वबाट सरकार कुनै हालतमा पनि पछि नहट्ने उनको प्रतिवद्धता रहेको छ । आफ्नो र आफुले नेतृत्व गरेको सरकारको सारा ध्यान र संम्पूर्ण प्रयास महामारी र विपत्तिमा परेका नागरिकको जिउधनको रक्षामा केन्द्रित रहेको समेत प्रधानमन्त्रीेले बताएका छन् ।

    प्रधानमन्त्रीले अब नेकपाको विवाद मत्थर भएको संकेत समेत सम्बोधनका दौरान गरेका छन् । पार्टी विवादपछि सार्वजनिक रुपमा नबोलेका प्रधानमन्त्रीले विवाद कम भएसँगै सम्बोधन गरेको आंकलन गरिएको छ ।

  • बाढी पहिरोले देशभर शुक्रबार १८ जनाको मृत्यु, ४१ जना अझै वेपत्ता

    बाढी पहिरोले देशभर शुक्रबार १८ जनाको मृत्यु, ४१ जना अझै वेपत्ता

    काठमाडौं । शुक्रबार प्राकृतिक विपत्तिका कारण नेपालमा ठूलो मानवीय क्षति भएको छ । मनसुन प्रारम्भ भएपछिको अविरल वर्षासँगै आएको बाढी र पहिरोमा परी देशभर १८ जनाको मृत्यु भएको छ । ४१ जना वेपत्ता रहेका छन् । राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रको तथ्यांक अनुसार कास्कीमा ७, म्याग्दी, लमजुङ र जाजरकोटमा ३–३ जना र रुकुममा २ जनाको मृत्यु भएको छ ।

    म्याग्दीमा ३१, जाजरकोटमा ९ र रुकुममा एक जना गरी ४१ जना बेपत्ता छन्। उता, बुधबार राति सिन्धुपाल्चोक पहिरोमा परी २ जनाको मृत्यु भएको थियो । सिन्धुपाल्चोकमा १८ जना अझै बेपत्ता रहेका छन् । जेठ ३१ मा पर्वतको कुस्मामा गएको पहिरोमा ९ जनाको मृत्यु भएको थियो। असार २० मा बझाङको केदारस्यु गाउँपालिकामा गएको पहिरोमा परी ६ जनाको मृत्यु भएको थियो ।

    यसवर्ष मनसुन सुरु भएयता मृत्यु हुनेको संख्या ३५ पुगेको छ । वेपत्ताको खोजी कार्य जारी रहेको केन्द्रले जनाएको छ । म्याग्दीमा पटक पटक हेलिकोप्टर लैजान खोजेपछि आज सम्भव भने भएन ।

  • काठमाडौंका २८ सहित उपत्यकामा थप ४२ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौंका २८ सहित उपत्यकामा थप ४२ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं । उपत्यकामा थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्‍वर गौतमको अनुसार शुक्रराज ट्रपिकलमा गरिएको नमुना परीक्षणमा काठमाडौंका १ जना, पाटन अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ललितपुरका १३ जना र काठमाडौंका १५ जनामा कोरोना पुष्टि भएको हो।

    यही अस्पतालमा भक्तपुरका १ जनामा कोरोना पुष्टि भएको छ। शिक्षण अस्पताल महाराजगञ्जमा काठमाडौंमा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

  • नेपालमा थप ११८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १६ हजार ६४९ पुग्यो

    नेपालमा थप ११८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १६ हजार ६४९ पुग्यो

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्‍वर गौतमको अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार कोरोना भाइरस संक्रमितको संख्या १६ हजार ६ सय ४९ पुगेको छ ।

    पछिल्लो २४ घण्टामा थप १ सय २० जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। यो सहित डिस्चार्ज हुनेको संख्या ८ हजार ११ पुगेको छ।

    कुल संक्रमितमध्ये ३५ जनाको मृत्यु भएको छ।

  • कास्की पहिरो : ४ जनाको मृत्यु, ९ घाइते

    कास्की पहिरो : ४ जनाको मृत्यु, ९ घाइते

    पोखरा । कास्कीका समेत पहिरोमा परी ४ जनाको ज्यान गएको छ । मनसुनपछि बिहीबारबाट लगातार वर्षा जारी रहेको छ । यसले देशभर पहिरो र बाढी निम्याएको छ । शुक्रबार राती अविरल वर्षाका कारण गएको पहिरोमा परी पोखराका विभिन्न स्थानमा चार जनाको मृत्यु भएको छ । नौ जना घाइते भएका छन् ।

    पोखरा महानगरपालिका–१८ सराङकोट गोठादीस्थित टंकबहादुर थापाको घरमाथिबाट खसेको पहिरोमा पुरिँदा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । यो घटनामा परी घाइते भएका अन्य  ६ जनालाई उद्धार गरी मणिपाल शिक्षण अस्पताल र पश्चिमाञ्चल अस्पतालमा लगिएको छ ।

    उता, पोखरा महानगरपालिका–२५ हेमजामा रामचन्द्र अधिकारीको घर पहिरोमा पुरिँदा अधिकारीकी आमा ७० वर्षीया भीमकली अधिकारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । यता पोखरा–१८ छोरेपाटन सिमलटुँडामा चन्द्रबहादुर मगरको घर माथिबाट खसेको पहिरोमा परी मगरसहित उहाँका श्रीमति शान्ति र छोरा सुशान मगर सामान्य घाइते भएका छन् ।

    उनीहरुको नमस्ते अस्पतालमा उपचार भइरहेको स्थानीय प्रशासनले जनाएको छ । पोखराको रामघाटस्थित सेती नदी थुनिँदा सुकुम्वासी बस्ती डुबानमा परेको छ । स्थानीयवासीलाई राति नै सुरक्षित स्थानमा सारिएको छ । गण्डकी प्रदेशका अन्य जिल्लामा समेत पहिरोले ठूलो मानवीय क्षति पुर्याइरहेको छ ।

  • लम्जुङमा पहिरो : एकै घरका तीन जनाको मृत्यु

    लम्जुङमा पहिरो : एकै घरका तीन जनाको मृत्यु

    लम्जुङ । नेपालमा मनसुनका कारण लगातार आएको वर्षाका कारण देशभर बाढ तथा पहिरो आउने क्रम जारी रहेको छ । यसैक्रममा लम्जुङको बेसिशहर नगरपालिका वडा नम्बर ७ सातबिसेमा पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । अन्य चार जना सामान्य घाइते भएका छन् । गतराती करिब ११ बजे ढुंगासहितको पहिरोले घर पुरिँदा दीपक तामाङ, उनकी श्रीमती र छोराको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

    जिल्ला प्रहरी कार्यालय लम्जुङका अनुसार पहिरोमा पुरिएको अवस्थामा उनीहरुलाई उद्धार गरेर अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो । दीपककी आमा, बुवा र छोरी भने आफन्तको घरमा गएकाले सकुशल छन् ।

    गएराति नै लम्जुङको क्व्होलासोथार गाउँपालिका वडा नम्बर ३ का तुलबहादुर गुरुङको घर पहिरोमा पुरिँदा तुलबहादुरकी बुहारी र एक जना बच्चा घाइते भएका थिए । यसअघि बिहीबार सिन्धुपाल्चोक पहिरोमा वेपत्ता भएका १९ जनाको अझै कुनै अत्तोपत्तो लागेको छैन ।

  • अमेरिकामा कोरोना महामारी; हालको अवस्था ठ्याक्कै यस्तो

    अमेरिकामा कोरोना महामारी; हालको अवस्था ठ्याक्कै यस्तो

    न्युयोर्क

    नोवल कोरोनाभाइरसको कारण विश्वमा ५ लाख ५१ हजार मानिसले ज्यान गुमाई सकेका छन् । १ करोड २१ लाख ३० हजार मानिस भाईरस संक्रमित भई सकेको जोन हप्किन्स युनिभर्सिटीको पछिल्लो आँकडाले जनाएको छ । कतिपय देशको सरकारले तथ्यांक नै लुकाएर वा पर्याप्त जाँच नगरेर वा संक्रमित व्यक्तिलाई नै संक्रमण भएको पत्तो नभएका कारण अधिकारिक रुपमा देखिएको संक्रमितको कुल संख्या भन्दा निकै धेरैको संख्यामा संक्रमित भएको हुन सक्ने अनुमान समेत गरिएको छ । गत साल डिसेम्बरमा चीनमा पहिलो संक्रमित देखिए यता अमेरिका सबैभन्दा कोरोना प्रभावित देश भएको छ । अमेरिकामा ३० लाख भन्दा धेरै संक्रमित भै सकेका छन् भने १ लाख ३३ हजार भन्दा धेरैको मृत्‍यु भै सकेको छ । त्यसैगरी ९ लाख ६९ हजार १ सय ११ जना निको भएका छन् ।
    अमेरिकामा महामारी सुरु भए यता ११ हजार ३ सय १२ गर्भवती महिला संक्रमित भएका छन् भने ३१ जना गर्भवती महिलाको कोरोनाको कारण मृत्‍यु भएको सिडिसिले जनाएको छ । कोरोना संक्रमित ११ हजार ३ सय १२ गर्भवती महिला मध्ये ४ हजार ५ सय ५३ जना हिस्प्यानिक र ल्याटिन समुहका महिला भएको समेत सिडिसिले जनाएको छ । साथै महामारी सुरु भए यता ट्रान्स्पोर्टेसन सेक्युरिटी एड्मिनिस्ट्रेसन (टिएसए) का १ हजार १८ कर्मचारी अमेरिकामा कोरोना संक्रमित भएका छन् । संक्रमित मध्ये ६ सय ४७ निको भए भने ६ जनाको मृत्‍यु भयो । अमेरिकाको बिमानस्थलमा काम गर्ने टिएसए कर्मचारी सबैभन्दा धेरै संक्रमित भएको छ ।न्युयोर्कस्थित जोन अफ केनेडी बिमानस्थलमा १ सय १६ जना संक्रमित भए भने न्युजर्सीस्थित नेवार्क लिबर्टि ईन्टर्नेसनल एयरपोर्टमा काम गर्ने ६९ टिएसए कर्मचारी संक्रमित भए ।
    मिसिसिपीका १३ वटा काउन्टीमा मास्क अनिबार्य गरिएको छ भने न्युयोर्क राज्यका मेयर ब्लजियोले सेप्टेम्बर अन्त्यसम्म कुनै पनि ठुलो भिडभाडको कार्यक्रम आयोजना खुला नगर्ने घोषणा गरेका छन् ।
    कोरोना महामारीको सुरुवातमा एपिसेन्टर बनेको न्युयोर्क र न्युजर्सीको जीवन सामान्यिकरण तर्फ उन्मुख भएको छ ।न्युयोर्क राज्यमा बुधबार ५ सय ८४ जना संक्रमित भेटिएका छन् भने बुधबार ८ जनाको मृत्‍यु भएको छ ।

    नर्थ क्यारोलाइनामा अस्पताल भर्ना हुनेको बिहिबार नयाँ रेकर्ड

    नर्थ क्यारोलाइनामा आजसम्म कै धेरै कोरोना संक्रमित अस्पताल भर्ना भएका छन् । गभर्नर रोई कुपरले नर्थ क्यारोलाइना राज्यमा बिहीबार १ हजार ३४ जना कोरोना संक्रमित अस्पताल भर्ना भएको बताए । गभर्नर कुपरले अझै अस्पताल र आईसियुको क्षमता प्रशस्त भएको बताए पनि स्वास्थ अधिकारीहरुले भने सार्लेट क्षेत्रका अस्पतालमा निकट भविष्यको लागि चिन्ता ब्यक्त गरेका छन् ।

    टेक्सास, क्यलिफोर्निया र फ्लोरिडामा दैनिक मृत्‍यु हुनेको संख्यामा बिहिबार नयाँ रेकर्ड

    क्यालिफोर्निया राज्यले बिहीबार कोरोनाबाट मृत्‍यु हुनेको दैनिक संख्यामा नयाँ रेकर्ड राखेको छ । त्यहाँ बिहीवार १ सय ४९ जनाको मृत्‍यु भएको गभर्नर गेभिन न्यु समले बताए ।

    यो संख्या क्यालिफोर्नियामा महामारी सुरु भएपछि मृत्‍यु हुनेको दैनिक कुल संख्यामा आजसम्म कै उच्च हो ।यो संख्यासंगै त्यहाँ ६ हजार ७ सय ११ को मृत्‍यु भएको छ । क्यालिफोर्नियामा बुधबार ११ हजार ६ सय ९४ संक्रमित थपिए भने ६ हजार १ सय २७ जना अस्पताल भर्ना भएका छन् । त्यसमध्ये १७ सय ५२ जना आईसियुमा उपचारत छन् ।
    फ्लोरिडाले पनि दैनिक मृतक संख्यामा बिहिबार नयाँ रेकर्ड राखेको छ । बिहिबार फ्लोरिडामा १ सय २० जनाको मृत्‍यु भयो । यो संख्यासंगै बिहीबारसम्म फ्लोरिडामा ४ हजार जनाको मृत्‍यु भएको छ । बिहीबार ९ हजार नयाँ संक्रमित थपिएपछि त्यहाँ संक्रमितको संख्या २ लाख ३२ हजार ७ सय १८ पुगेको छ ।
    टेक्सासमा पनि कोरोना संक्रमितको दैनिक मृत्‍यु हुनेको संख्यामा बिहिबार नयाँ रेकर्ड कायम भयो । बिहीबार टेक्सासमा ९८ जनाको एकै दिन मृत्‍यु भएपछि त्यहाँ २ हजार ९ सय ४३ को मृत्‍यु भै सकेको छ । टेक्सासमा मंगलबारदेखि लगातार मृत्‍यु हुनेको संख्यामा बृद्धि हुँदै गएको छ । बिहिबारसम्म टेक्सासका अस्पतालमा ९ हजार ६ सय ८९ भर्ना भएर उपचार गराईरहेका छन् । टेक्सासमा कुल संक्रमितको संख्या २ लाख ३० हजार पुगेको छ ।

    एरिजोनामा अस्पताल भर्ना हुने र भेन्टिलेटरमा उपचारतको संख्यामा नयाँ रेकर्ड

    एरिजोना राज्यमा बिहीबार अस्पताल भर्ना हुने र भेन्टिलेटरमा रहेर उपचार गरी रहेका बिरामीको नयाँ रेकर्ड कायम भएको छ । बिहिबारसम्म एरिजोनाको अस्पतालमा ३ हजार ४ सय ३७ जना भर्ना भएर उपचार गरिरहेका छन् भने त्यसमध्ये ५ सय ७५ जना भेन्टिलेटरमा छन् । बिहीबार एरिजोनामा ७५ जनाको मृत्‍यु भयो । यो संख्यासंगै त्यहाँ २ हजार ३८ जनाको मृत्‍यु भै सकेको छ । एरिजोनामा बिहीबार ४ हजार ५७ जना नयाँ संक्रमित भेटिएपछि त्यहाँ १ लाख १२ हजार ६ सय ७१ संक्रमित पुगेको छ ।

  • ट्रम्पले सधैं आफ्नो वित्तिय कागजात लुकाउन नपाउने सर्बोच्चको आदेश

    ट्रम्पले सधैं आफ्नो वित्तिय कागजात लुकाउन नपाउने सर्बोच्चको आदेश

    न्यूयोर्क

    अमेरिकी सर्बोच्च अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पले सधैं आफ्नो वित्तिय कागजात लुकाउन नपाउने फैसला गरेको छ । न्यूयोर्क डिष्ट्रिक्ट एटोर्नी कार्यालयले माग गरेको ट्रम्पको बिभिन्न आर्थिक कारोबारको विवरणमा माथि फैसला सुनाउँदै सर्बोच्चले उक्त आदेश जारी गरेको हो ।

    न्यूयोर्क डिष्ट्रिक्ट एटोर्नी कार्यलयले ट्रम्पले पूँजी पलायन गरेको लगायत विषयमा अनुसन्धान सुरु गरि कागजात माग गरेको थियो । त्यस बिरुद्ध ट्रम्पले अदालत गुहारेका थिए । तल्लो तहका अदालतमा पराजय पछि ट्रम्प सर्बोच्च पुगेका थिए । सर्बोच्चले ट्रम्पलाई डिष्ट्रिक्ट एटोर्नीले मागेको कागजात उपलब्ध गराउन आदेश दिएको हो । ट्रम्पले मनोनित गरेका नेल गोर्सेच र ब्रेट काभानाफ सहित सात जना न्यायाधिशले राष्ट्रपतिको दावी विरुद्ध आदेश जारी गरेका हुन् । कन्जरभेटिभ न्यायाधिशहरु क्लेरेन्स थोमस र सामुएल अलितोले मात्र ट्रम्प पक्षमा धारणा राखेका छन् ।

    अदालतले आसन्न राष्ट्रपतीय चुनावसम्म भने ट्रम्पले वित्तिय कागजात गोप्य राख्न सक्ने आदेश दिएको छ । विश्लेषकहरुले चुनावसम्म कागजात सार्वजनिक नहुँदा ट्रम्पलाई राजनीतिक घाटा केही कम भए पनि उनले कुनै आर्थिक अपराध गरेको भए अब मुक्ति नपाउने बताएका छन् । म्यानहाटन डिष्ट्रिक्ट एटोर्नीले साइरस भान्स जुनियरले सर्बोच्चको फैसलले कानूनी शासनको मान्यताले जित हासिल गरेका र अब अनुन्धानले निरन्तार पाउने बताएका छन् । ट्रम्पले अदालत गुहार्दा आफ्नो अनुसन्धान एक बर्ष ढिलो भएकोमा अब छिट्टै निश्कर्षमा पुग्ने उनको भनाइ छ ।

    सर्बोच्चको यहि प्यानलले हाउस अफ रिप्रिजेन्टेटिभले माग गरे बमोजिम ट्रम्पले तत्काल ट्याक्स रिटर्न विवरण बुझाउनु नपर्ने फैसला सुनाएको छ । सर्बोच्चले यसमा ट्रम्प र संसद दुबैको दावी पर्याप्त चित्तबुझ्दो नरहेको कारण तल्लो तहकै अदालतले शक्ति पृथकिकरणको सिद्धान्तबाट यसलाई अझ गहिरिएर विश्लेषण गर्नुपर्ने राय दिएको छ । त्यस अनुरुप आफूहरु जिल्ला अदालत जान तयार रहेको हाउस स्पिकर न्यान्सी पेलोसीले प्रतिकृया दिइ सकेकी छिन् । अमेरिकी राष्ट्रपतिको उम्मेद्वारले सुरुमै ट्याक्स रिटर्न सार्वजनिक गर्ने चलन रहे पनि ट्रम्पले अस्वीकार गर्दै आएका छन् ।

    ट्रम्पका वकिलहरुले दावी गरे बमोजिम अमेरिकी राष्ट्रपति कुनै निकायको अनुसन्धानभन्दा माथि रहने भनाइलाई भने सर्बोच्चले खारेज गरिदिएको छ । सर्बोच्चले राष्ट्रपति कानूनभन्दा माथि नरहेको र डिष्ट्रिक्ट एटोर्नीहरुले स्थानीय मुद्दामा अनुसन्धान गर्न सक्ने नजिर सर्बोच्चले एक पटक स्मरण गराएको छ । ट्रम्पले भने दुबै मुद्दाको फैसलाप्रति चित्त बुझाएका छैनन् । सर्बोच्चमा आफैंले मनोनित गरेका दुई सहित रिपब्लिकन राष्ट्रपतिले मनोनित गरेका बहुमत न्यायाधिश रहेको कारण आफ्नो पक्षमा फैसला आउने उनको अपेक्षा थियो । फैसलापछि ट्विट गर्दै अदालतले विगतभन्दा फरक शैलीमा आफुप्रति पक्षपात गरेको उनले आरोप लगाएका छन् ।

  • नेपालमा भारतीय न्यूज च्यानलको प्रसारण बन्द

    नेपालमा भारतीय न्यूज च्यानलको प्रसारण बन्द

    काठमाडौं । नेपालमा भारतीय न्यूज च्यानलको प्रसारण बन्द भएको छ । विदेशी च्यानल वितरक मल्टी सिस्टम अपरेटर (एमएसओ) हरुले भारतीय न्युज च्यानल नेपालमा प्रसारण नगर्ने निर्णय गरेका हुन् । बिहीबार साँझबाटै यो निर्णय कार्यान्वयनमा आउने भएको छ ।

    च्यानल वितरकहरुले बिहीबार साँझदेखि भारतीय सरकारी स्वामित्वको दूरदर्शनबाहेक सबै भारतीय न्युज च्यानलको प्रसारण रोक्ने निर्णय गरेका हुन् । भारतीय टिभी च्यानलमा नेपाल र नेपालका प्रधानमन्त्रीबारे तल्लो स्तरमा गिरेर सामग्रीहरु प्रसारण गरिरहेका छन् । सोहीकारण भारतीय च्यानलको प्रसारण नेपालमा रोक लगाउन माग भइरहेको थियो ।

    प्रधानमन्त्री तथा चिनिया राजदूतको नाम जोडेर आपत्तिजनक विषय प्रसारण गरी भारतीय च्यानलहरुले अपमान गरिरहेका छन् । सोहीकारण अब इन्टरनेटको माध्यमबाट आउने च्यानलबाहेक अन्य माध्यमबाट आउने च्यानलहरु भने बन्द भएको हो ।

    भारतीय न्युज च्यानलमा नेपाल विरोधी गालीगलौज अति धेरै भएपछि वितरक आफैंले आपत्तिजनक न्युज प्रसारण गर्ने सबै भारतीय न्युज च्यानलहरुको प्रसारण बन्द गर्ने निर्णय गरेका हुन् । नेपालमा इन्टरनेटका माध्यमबाट आउने च्यानलको समेत प्रसारण बन्द गर्ने तयारी सरकारले गरेको छ ।

  • सार्वजनिक सवारी साधन चलाउन दिने सरकारको निर्णय

    सार्वजनिक सवारी साधन चलाउन दिने सरकारको निर्णय

    काठमाडौं । सरकारले सार्वजनिक यातायात चलाउन दिने निर्णय गरेको छ ।

    बिहीबार प्रेस ब्रिफिङका क्रममा सरकारका प्रवक्ता अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले जिल्लाभित्र मात्रै सार्वजनिक यातायात चलाउन दिने निर्णय गरेको जानाकारी दिए ।

    यात्रु सिट क्षमताको ५० प्रतिशतमात्र राख्न पाइने गरी सार्वजनिक यातायात सञ्चालन गर्ने दिने निर्णय सरकारले गरेको हो ।

    काठमाडौंको हकमा उपत्यका भित्र र बाहिरको हकमा जिल्लाभित्रमात्र चल्न पाउनेछन् ।

    तर यस्ता सवारी साधन चलाउँदा सुरक्षा विधि अपनाउनुपर्ने र सरकारले तोकेका अन्य विधि समेत अपनाउनुपर्ने जनाइएको छ।

    यसैबीच यात्रुले तिर्नुपर्ने भाडा ५० प्रतिशतले बढाइएको छ ।

  • थप १३९ जनाले जिते कोरोना, संक्रमणमुक्त हुनेको संख्या ७ हजार ८९१

    थप १३९ जनाले जिते कोरोना, संक्रमणमुक्त हुनेको संख्या ७ हजार ८९१

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्‍वर गौतमको अनुसार २४ घण्टामा थप १ सय ३९ जना कोरोना संक्रमणमुक्त भएका छन्।

    उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको हो।

    योसहित नेपालमा हालसम्म ७ हजार ८ सय ९१ जना उपचारपछि निको भएका छन्।

  • नेपालमा थप १०८ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १६,५३१

    नेपालमा थप १०८ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १६,५३१

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्‍वर गौतमको अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १ सय ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार कोरोना भाइरस संक्रमितको संख्या १६ हजार ५ सय ३१ पुगेको छ ।
    पछिल्लो २४ घण्टामा थप १३९ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। यो सहित डिस्चार्ज हुनेको संख्या ७८९१ पुगेको छ।

    कुल संक्रमितमध्ये ३५ जनाको मृत्यु भएको छ।

    प्रवक्ता डा गौतमका अनुसार हालसम्म देशका सबै जिल्लामा संक्रमण देखिएको छ।

  • सिन्धुपाल्चोकमा युद्धस्तरमा उद्दारमा खटिन कांग्रेसको माग

    सिन्धुपाल्चोकमा युद्धस्तरमा उद्दारमा खटिन कांग्रेसको माग

    काठमाडौं । नेपाली कांग्रेसले बाह्रबिसे क्षेत्रमा गएको बाढी र पहिरोमा भएको क्षति न्यूनिकरण तथा उद्दारमा युद्धस्तरमा खटिन माग गरेको छ । कांग्रेस सभापति शेर बहादुर देउवाले उद्धारकार्यमा खटिन आफ्ना कार्यकर्ताहरुलाई समेत निर्देशन दिएका छन् ।

    सरकारले छिटोभन्दा छिटो उद्धार टोली परिचालन गरी उद्दारमा खटिनु पर्ने उनको माग रहेको छ । देउवाले ट्वीट गर्दै सिन्धुपाल्चोकका कांग्रेसका साथिहरुलाई तत्काल उद्धारमा खटिन निर्देशन गरेका हुन् ।

    सरकारलाई छिटोभन्दा छिटो त्यो क्षेत्रमा उद्धार टोली खटाएर थप मानविय र भौतिक क्षेत्र हुन जोगाउन समेत अनुरोध गरेका छन् । सिन्धुपाल्चोकमा आएको बाढी र पहिरोले बाह्रबिसे नगरपालिका र भोटेकोशी गाउँपालिकामा ठूलो मानवीय क्षति भएको छ । अहिलेसम्म दुई जनाको शव भेटिएको । दर्जनौं मानिस वेपत्ता भएका छन् ।

  • सिन्धुपाल्चोकमा बाढी र पहिरोको कहर, डेढ दर्जन वेपत्ता-२ को शव भेटियो

    सिन्धुपाल्चोकमा बाढी र पहिरोको कहर, डेढ दर्जन वेपत्ता-२ को शव भेटियो

    सिन्धुपाल्चोक । सिन्धुपाल्चोकका विभिन्न स्थानमा बाढी र पहिरोले ठूलो मानवीय षति निम्त्याएको छ । सिन्धुपाल्चोकको बाह्रबिसेमा मात्र बाढीले करिब एक दर्जन घर बगाएको छ ।

    यहाँ कम्तिमा १६ जना मानिस वेपत्ता रहेको अनुमान प्रहरीले गरेको छ । यस क्षेत्रमा रहेको जलविद्यूत आयोजनामा समेत बाढीले क्षति गरेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार जिल्लाको नदी किनारमा बाढी र पहिरोले ठूलो क्षति गरेको छ । जम्बु र भोटेकोशी गाउँपालिकामा बढी क्षति भएको छ । बाढीले जम्बु बजार बगाएको प्रहरीले जानकारी गराएको छ ।

    बाढीले अरनिको राजमार्गका विभिन्न स्थानमा क्षति पुर्याउँदा आवतजावत बन्द भएको छ । जुरे पहिरो नजिक अरनिको राजमार्ग अवरुद्ध भएको छ । अरनिको राजमार्गअन्तर्गत बाह्रबिसे–कोदारीखण्डको खगदल भन्ने स्थानको पक्की पुल समेत बाढीले बगाएको प्रहरीले उल्लेख गरेको छ ।

    अहिलेसम्म दुई जनाको शव भेटिएको जानकारी प्रहरीले दिएको छ । डाडे खोलामा समेत पुल बगेको छ । सिन्धुपाल्चोक पटक पटक बाढी र पहिरोको चपेटामा पर्दै आएको छ ।

  • हतार-हतार संसद बन्द गर्ने सरकारी निर्णयको विरुद्धमा विपक्षी दल

    हतार-हतार संसद बन्द गर्ने सरकारी निर्णयको विरुद्धमा विपक्षी दल

    काठमाडौं । सरकारले प्रमुख प्रतिपक्षी दल त परै आओस, आफ्नै दलमा समेत छलफल नगरी संसदको बजेट अधिवेशन बन्द गरेको थियो । यसको जानकारी सभामुख अग्नी प्रसाद सापकोटालाई समेत थिएन । सरकारले हतारमा बन्द गरेको संसदमा थुप्रै विधेयक अड्किएका थिए । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित जनता समाजवादी दलसमेत सरकारको यस निर्णयको विपक्षमा उभिएका छन् ।

    संसद अधिवेशन अन्त्य भएपछि उनीहरुले विशेष अधिवेशन आह्वान गर्नुपर्ने माग गरेका छन् । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा दुई पार्टीका शीर्ष नेताबीच छलफल भएको छ । छलफलमा संसदमा दर्ता गरेको संकल्प प्रस्ताव, जरुरी सार्वजनिक महत्वको प्रस्तावलाई तत्कालै अगाडि बढाउन माग गर्दै विशेष अधिवेशन आह्वानको माग गरेका छन् ।

    संसदमा विशेष अधिवेशन आह्वान गर्न कुल सांसदको २५ प्रतिशत सदस्य आवश्यक पर्छ। कांग्रेससँग २२ प्रतिशत सांसद रहेका छन् । एमसीसी पास गराउने सवालमा प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेर बहादुर देउवाको एक मत थियो । तर, सत्तारुढ दल भित्रैबाट दवावमा आएका प्रधानमन्त्रीले संसद बन्द गर्दा नेपालमा एमसीसीको भविश्य नै अन्यौलमा छ ।

    त्यसकारण प्रमुख प्रतिपक्षी दल कांग्रेस प्रधानमन्त्रीसँग संशकित बनेको हो । यसअघि प्रधानमन्त्रीले बर्खे अधिवेशनमै अमेरिकी परियोजना एमसिसी संसदबाट अनुमोदन हुने आश्वासन दिएका थिए । तर, उनले पार्टीमा यसबारे सहमति जुटाउन सकेनन् । एमसीसीबारे नेकपा भित्र भने ठूलो विवाद रहेको छ ।

  • अनलाइनबाट मात्र अध्ययन गर्ने विद्यार्थीलाई देश निकाला गर्ने निर्णय बिरुद्ध हार्भर्ड र एमआइटि सुप्रिम कोर्ट पुगे

    अनलाइनबाट मात्र अध्ययन गर्ने विद्यार्थीलाई देश निकाला गर्ने निर्णय बिरुद्ध हार्भर्ड र एमआइटि सुप्रिम कोर्ट पुगे

    न्युयोर्क

    इमिग्रेसन एण्ड कस्टम एजेन्सीले अनलाईनमार्फत अध्ययन गर्दै आएका विदेशी विद्यार्थीलाई अमेरिका बस्न नपाउने नीति लागू गर्ने निर्णय उपर चर्चित युनिभर्सिटीहरु हार्भर्ड र एमआइटिले ट्रम्प प्रशासन बिरुद्ध मुद्धा दायर गरेको छ । सोमबार अमेरिकाको इमिग्रेसन एण्ड कस्टम एजेन्सीले महामारीको समयमा भौतिकरुपमा अध्यापन गराउन सम्भव नभएपछि अनलाईन मार्फत अध्ययन गरेर बसेका लाखौं अन्तरराष्ट्रिय विद्यार्थी लक्षित नयाँ आप्रबासन नीति सार्वजनिक गरेको थियो । सोही निर्णयको सम्वन्धमा हार्भर्ड र म्यासिचुइस्टेट्स ईन्स्टिचुट अफ टेक्नोलोजीले बुधबार उक्त नीति बिरुद्ध मुद्धा दायर गरेका हुन् । ती दुई चर्चित विश्वबिद्यालयले ट्रम्प प्रशासन बिरुद्धको मुद्धामा यदि आफुले अध्ययन गर्दै आएको विश्वबिद्यालयले भौतिक कक्षा संचालन गर्न असमर्थ भएको खण्डमा अमेरिका छोड्नु पर्ने नीतिलाई तत्कालका लागि अस्थयीरुपमा फिर्ता लिन माग गरेको हार्भर्ड विश्वबिद्यालयका प्रेसिडेन्ट लरेन्स बाकाउले बुधबार जनाएका छन् ।

    ईमिग्रेसन एन्ड कस्टम एजेन्सीले अनलाईन मात्र अध्ययन गर्ने त्यस्ता विद्यार्थीहरुको भिषा फिर्ता लिइने जनाएको थियो । साथै अटेर गरे अमेरिकाबाट स्वदेशसम्म फर्काउन सकिने चेतावनी समेत एजेन्सीको रहेको छ । अमेरिकाको यो नयाँ आप्रवासन नीतिबाट धेरै विदेशी समस्यामा पर्ने चिन्ता बढेको छ । यकिन तथ्यांक नभए पनि १० लाख भन्दा धेरै अन्तरराष्ट्रिय विद्यार्थी अमेरिकी विश्वबिद्यालयहरुमा अध्ययन गर्दै गरेको अनुमान छ । अमेरिकी अर्थतन्त्रमा वार्षिक ४४ दशमलब ७ अरब अमेरिकी डलर योगदान बिदेशी विद्यार्थीले दिने गरेका छन् ।

  • उपत्यकाका थप २३ जनामा कोरोना पुष्टि,पाँच जिल्लामा संक्रमण मुक्त

    उपत्यकाका थप २३ जनामा कोरोना पुष्टि,पाँच जिल्लामा संक्रमण मुक्त

    काठमाडौं । काठमाडौं उपत्यकामा २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्‍वर गौतमको अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा काठमाडौंका ६ जना, पाटन अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका १० जना र ललितपुरका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

    त्यसैगरी देशभरका ७७ जिल्लामा फैलिएको कोरोना संक्रमण पाँच जिल्लामा संक्रमण शून्य देखिएको छ ।

    मन्त्रालयका प्रवक्ता गौतमका अनुसार धनकुटा, भोजपुर, सोलुखुम्बु, मुस्ताङ र हुम्लामा संक्रमण शून्य देखिएको हो ।

  • नेपालमा थप २ सय ५५ जनामा कोरोना संक्रमण

    नेपालमा थप २ सय ५५ जनामा कोरोना संक्रमण

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा।जागेश्‍वर गौतमको अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार कोरोना भाइरस संक्रमितको संख्या १६ हजार ४ सय २३ पुगेको छ ।

    पछिल्लो २४ घण्टामा थप २ सय ५३ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्।

    यो सहित डिस्चार्ज हुनेको संख्या ७ हजार ७ सय ५२ पुगेको छ। मृतकको संख्या ३५ पुगेको छ ।

  • नेकपा स्थायी कमिटि बैठक आज पनि स्थगित

    नेकपा स्थायी कमिटि बैठक आज पनि स्थगित

    काठमाडौं । नेकपाको स्थायी कमिटी बैठक आज पनि स्थागित भएको छ । बैठक असार २६ गते ११ बजे बस्ने गरि स्थगित भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले उल्लेख गरेका छन् । आज विहान ११ बजेका लागि बैठक राखिएको थियो । त्यसअगाडी अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री केपी शर्मा ओलीबीच छलफल हुने कार्यक्रम थियो ।

    नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सहमति कायम गर्नका लागि भन्दै बैठक स्थगित भइरहेको छ । तर, सहमति भने जुट्न सकेको छैन । सोमबार र मंगलबार दुई अध्यक्षबीच करीव ६ घण्टा वार्ता भएपनि टुंगोमा भने पुग्न सकेन ।

    असार १० गतेदेखि सुरु भएको बैठकमा बोल्ने अधिकांश सदस्यले प्रधानमन्त्री ओलीले सत्ता र पार्टी दुवैको नेतृत्व छाड्नुपर्ने माग गरिरहेका छन् । सोहीकारण प्रधानमन्त्री बैठक आलटाल गर्ने पक्षमा छन् । प्रचण्ड र ओलीबीच बुधबारसमेत छलफलको तयारी रहेको बताइएको छ । तर, त्यसको समय भने तय भइसकेको छैन ।

  • बुधबार बस्ला नेकपा स्थायी समिति बैठक ?

    बुधबार बस्ला नेकपा स्थायी समिति बैठक ?

    काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटि बैठक बुधबारका लागि बोलाइएको छ । नेकपामा चरमोत्कर्षमा पुगेको विवाद केही मथ्थर भएसँगै बुधबार भने स्थायी कमिटि बैठक बस्ने अपेक्षा गरिएको छ । विवाद समाधान गर्न दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको वार्ता मंगलबार समेत निरन्तर रह्यो । करीव ३ घण्टा वार्ता गरेका दुई अध्यक्षबीच सहमति भने मंगलबार समेत जुटेन ।

    वार्तामा कुनै निचोड ननिस्किए पनि संवादलाई निरन्तरता दिने निर्णय भएको हो । छलफललाई निरन्तरता दिएर स्थायी कमिटी बैठक पनि राख्ने सहमति जुटाएका दुई अध्यक्षको प्रयासले तत्कालका लागि पार्टी विभाजन हुने खतरा टरेको अनुमान गरिएको छ ।

    संवादबाटै अहिलेका विवाद निरुपण गर्ने गरी दुई अध्यक्ष अघि बढेको नेताहरु बताउँछन् । समस्या समाधानका उपाय खोज्नुका साथै स्थायी कमिटी बैठकलाई समेत निरन्तरता दिने सहमति दुई अध्यक्षबीच भएको छ । विवाद चर्किएपछि दुई पटकसम्म स्थायी कमिटी बैठक रोकेर दुई अध्यक्ष संवाद भएको छ । तर, सहमति भने जुटेको छैन ।

  • नेपालमा कोरोना संक्रमितको ग्राफ घट्यो, अब जोखिम काठमाडौंमा

    नेपालमा कोरोना संक्रमितको ग्राफ घट्यो, अब जोखिम काठमाडौंमा

    काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणको ग्राफ ओरालो लागेको छ । खासगरी भारतबाट आउने मानिस कम भएसँगै देशभरबाट कोरोना संक्रमितको संख्या उल्लेख्य घटेको हो । पिसिआर परीक्षणको दायरा उस्तै रहेको र क्वारेन्टिनमा बस्ने मानिसको समेत संख्या घटेसँगै अहिले देशभर संक्रमण कम हुँदै गएको पाइएको छ । यो साता पहिलो दिनबाटै संक्रमितको संख्या कम देखिन थालेको हो ।

    पछिल्लो २४ घण्टामा ६ हजार १ सय ३३ नमुना परीक्षण भएको थियो । त्यसबाट मात्र २ सय ४ जनामा कोरोना देखिएको छ । यो संक्रमणको दरको हिसावले अघिल्लो साताहरुको तुलनामा निकै संतोषजनक अवस्था हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो साता कोरोना भाइरसबाट संक्रमित हुनेको संख्यासँगै संक्रमणको दर समेत ओरालो लागेको हो ।

    १९ असारमा देशभरका ल्याबमा ४ हजार ८८६ नमुना परीक्षणबाट ७४० मा संक्रमण पुष्टि भएको थियो । यो दिन नेपालमा संक्रमितको ग्राफ सबैभन्दा उचाईमा पुगेको थियो । त्यो दिन औसतः संक्रमित दर दर १६.५ प्रतिशत देखिएको थियो । त्यसदिन पछि भने संक्रमित र संक्रमणको दरसमेत सुधारोन्मुख देखिएको छ ।

    असार २० मा ४०५० नमुना परीक्षणबाट २३२ जनामा मात्र कोरोना देखियो । सो दिनदेखि यता भने ३ सय संक्रमित कटेको छैन । सोमबार सबैभन्दा कम १८० जनामा मात्र कोरोना देखियो । यस दिन ४७०० नमुना परीक्षण भएका थिए ।

    मन्त्रालयका अनुसार मंगलबार काठमाडौं र ललितपुरमा मात्र क्रमशः १४ र १० जनामा संक्रमण देखिएको छ । यसले अब कोरोनाको जोखिम काठमाडौंमा बढी रहेको देखाएको छ । किनकी अहिले काठमाडौंमा लकडाउन खुकुलो भएसँगै मानिसहरुको चहलपहल बढेको छ । यसले जोखिम पनि उत्तिकै बढाएको हो ।

    मंगलबार सबैभन्दा धेरै बाजुरामा ५४ जना संक्रमित थपिए । अछाम र बैतडीमा ११, ११ जना थप भएका छन् । महोत्तरीमा ९, धनुषा र अर्घाखाँचीमा ८, डोटीमा ७, मोरङ र डडेलधुरामा ६, ६ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । मंगलबार रुकुम पश्चिम, नवलपुर र सल्यानमा ५, ५ जना, सप्तरीमा ४, सुनसरी, गोरखा, मकवानपुर, दाङ, सुर्खेत, र सर्लाहीमा ३, ३ जनामा कोरोना देखिएको छ ।

    तनहुँ, पाल्पा र बर्दियामा २, २ जना, झापा, सिन्धुली, सिन्धुपाल्चोक, धादिङ, भक्तपुर, कास्की, लमजुङ, नुवाकोट, पर्सा, रामेछाप, रुपन्देही, बागलुङ, कविलवस्तु, नवलपरासी र रुकुम पूर्वका एकएक जनाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयको तथ्यांक छ ।