Category: समाचार

  • व्हाइट हाउस भित्रै मडारिन थाल्यो कोरोना

    व्हाइट हाउस भित्रै मडारिन थाल्यो कोरोना

    न्युयोर्क

    अमेरिकी राष्ट्रपति निवास ह्वाइट हाउस स्थित ‘वोभल अफिस’ नजिकै कोरोना भाइरस मडारिन थालेको छ । ह्वाइट हाउस परिसर भित्र कम्तिमा पनि ११ जना सिक्रेट सर्भिस एजेन्टमा कोरोना संक्रमण देखिएको समाचार सार्वजनिक भएपछि ओभल अफिस नजिकै कोरोना पुगिसकेको चर्चा हुन थालेको हो । 

    गत हप्ता सोमबारदेखि यता राष्ट्रपति ट्रम्प पुत्री इभान्का ट्रम्पको निजी सहयोगी (पिए) कोरोना संक्रमित भएका छन् । यद्यपी ती निजी सहयोगी बिगत केही हप्तादेखि घरमा बसेर ‘टेली वोर्किङ’गर्दै आएको र इभान्काको संपर्कमा नआएको जनाईएको छ । सोही हप्ता ट्रम्पका एक जना सैनिक सहयोगीमा पनि संक्रमण देखिएको ह्वाइट् हाउसले बिहीवार पुष्टी  गरेको थियो । ट्रम्पका ती सहयोगी नै  ह्वाइट हाउस भित्रका पहिलो कोरोना संक्रमित हुन् । उप-राष्ट्रपति माइक पेन्सकी २५ बर्षीय प्रेस सेक्रेटरी केटी  मिलरमा पनि शुक्रबारका दिन संक्रमण पुष्टी भएको हो । केटी ह्वाइट हाउसको सिनियर एड्भाईजर स्टेफेन मुलरकी पत्नी हुन् । केटी मिलरमा संक्रमण देखिए पछि नजिकको संपर्कमा आएर संक्रमणको जोखिम महसुस  गरी एफडिए कमिस्नर स्टेफन हानलाई २ हप्ताको लागि सेल्फ आईसोलेसनमा बस्न भनिएको छ ।  

    याहू न्युजले डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको हवाला दिंदै अमेरिकी राष्ट्रपति उप-रास्ट्रपति लगायत अन्य उच्च अधिकारीहरुको सुरक्षार्थ खटिएका ११ जना सिक्रेट सर्भिस एजेन्टहरु हाल संक्रमित अवस्थामा रहेको जनाएको छ । गत मार्चमा पहिलो सेक्रेट सर्भिस एजेन्ट संक्रमित भएका थिए भने अहिलेसम्म २३ एजेन्ट निको भएको र ६० जना सेल्फ क्वारेण्टिनमा बसेको याहू न्युजले लेखेको छ ।  

    अहिले हरेक दिन राष्ट्रपति डोनाल्ड ट्रम्प उप-राष्ट्रपति माइक पेन्स अन्य व्हाइट हाउस अधिकारी लगायत पत्रकारहरुको कोरोना परिक्षण नियमित रुपमा जाँच गर्ने गरिएको न्युयोर्क पोष्टले लेखेको छ । झन्डै ८० हजार नजिकै मृतकको संख्या पुग्न लाग्दा पुरै अमेरिकालाई सुचारु गर्न कस्सिएका राष्ट्रपति ट्रम्पले भाइरस संक्रमणबाट बच्न मास्क भने लगाउने गरेका छैनन्  ।

  • कोरोना कहालीले सम्झायो १०० बर्ष अघिको स्पेनिश फ्लू, डेढ बर्षमा ५ करोडको गएको थियो ज्यान

    कोरोना कहालीले सम्झायो १०० बर्ष अघिको स्पेनिश फ्लू, डेढ बर्षमा ५ करोडको गएको थियो ज्यान

    प्रभात भट्टराई/अमेरिका

    संसार पहिलो विश्वयुद्धको कहालीबाट बाहिर निस्किने तरखर मात्र गर्दै थियो, सबैलाई एक अदृश्य शत्रुले घेर्यो । चार बर्ष चलेको विश्वयुद्धभन्दा डेढ बर्षसम्म फैलिएको उक्त महामारीमा करोड बढिले ज्यान गुमाए । सन् १९१८ मा सुरु भएको स्पेनिस फ्लू  (इन्फ्लुएन्जा) पेन्डामिक यति कहालीलाग्दो सरुवा रोग भइ दियो कि पाँच करोड हाराहारीले यसको संक्रमणबाट ज्यान गुमाए । जबकी पहिलो विश्वयुद्धमा मारिनेको संख्या संसारभर चार करोड हाराहारी मात्र थियो ।

    एचवानएनवान भाइरसको कारण फैलिएको स्पेनिश फ्लू महामारी कोभिड १९  (कोरोना भाइरस)को प्रकोपसँगै एक पटक फेरि जनस्वास्थ्य विज्ञ र जानकारहरुको मानसपटलमा बल्झिएको छ । सन् १९१८ को वसन्तमा पहिलो पटक अमेरिकी सैन्य अधिकारको शरिरमा देखिएको स्पेनिश फ्लुको प्रसार यसरी भयो कि विश्वभरका ५० करोड व्यक्ति यो रोकको संक्रमणमा परे । त्यसबेलाको विश्व जनसंख्याको यो एक तिहाई हिस्सा थियो । संक्रमितमध्ये १० प्रतिशतले ज्यान गुमाएका थिए । अमेरिकामा यो भाइरसका कारण छ लाख ७५ हजारको ज्यान गयो । युरोपका १४ देशमा मात्र २३ लाख बढिको मृत्यु भएको थियो ।

    पहिलो पटक अमेरिकी सैनिकमा देखिएको भएपनि यो भाइरस कहाँबाट सुरु भयो भन्ने यकिन अहिलेसम्म हुन सकेको छैन । संक्रमणबाट ज्यान गुमाउनेमा अधिकांश पाँच बर्ष मुनिका, २० देखि ४० बर्षका र ६५ बर्ष माथिका थिए । २० देखि ४० बर्ष उमेर समुहका स्वस्थ व्यक्तिहरुको उच्च मृत्युदर भने संक्रमणको सबैभन्दा अनौठो विशेषताको रुपमा रहेको थियो । संक्रमणका लागि कुनै भ्याक्सिन पत्ता लागेको थिएन भने एन्टी बायोटिक औषधी पनि उपलब्ध थिएन । आइसोलेसन, क्वारेन्टाइन, स्वस्थवर्धक खाना, सेनिटाइजर  प्रयोग जस्ता रोकथामका गैर चिकित्सकीय उपाय पनि सिमित थिए ।

    सन् १९१७ को अप्रिलमा अमेरिकी पौने चार लाख सैनिक सहित पहिलो विश्वयुद्धमा होमियो । १९१८ को मार्चमा ‘फ्लू’ संक्रमणसँगो मिल्दोजुल्दो विशेषताको रोग अमेरिकी आर्मीहरुमा देखिन थाल्यो । कान्सास स्थित क्याम्प फनस्टोनमा सातामै १०० सैनिक जवान घाइते भए ।  छ महिना भित्र उक्त संक्रमण अमेरिका सहित युरो र एसियाका बिभिन्न देशमा देखिन थाल्यो ।

    सन् १९१८ को अक्टुबरमा मात्र एक लाख ९५ हजार अमेरिकीले भाइरस संक्रमणबाट ज्यान गुमाए । त्यसपछि अमेरिकामा व्यवसायीक नर्सहरुको अत्यधिक खाँचो हुन पुग्यो । ठूलो संख्यामा नर्सहरु युद्ध मैदानमा घाइते सैनिकको उपचारमा खटिएका कारण नियमित अस्पतालमा उनीहरुको अभाव भएको थियो । अत्यधिक अभाव पछि नर्सलाई सहायता गर्न तयार हुनेले साताको १५ देखि २५ डलरसम्म कमाइ हुने विज्ञापन अस्पतालहरुले गरेका थिए । पेन्डामिकबाट अत्यधिक प्रभावित फिलाडेल्फियामा शबदाहगृहको पालो पर्खाइमा ५०० बढि लास पुगि सकेका थिए । कैयन् शब साताभन्दा बढि समय लाइनमा थिए । क्लोड स्टोरेजहरुलाई अल्पकालका लागि शबगृहमा रुपान्तरण गरिएको थियो भने एक उत्पादकले २०० सय  ‘प्याकिङ क्रेट’ कफीन बनाउन अनुदान दिएका थिए । सिकागो लगायत कैयन् शहरले मुभि थिएटर,  रात्रीकालिन स्कुलहरु बन्द गरेर सर्वसाधारणलाई भिडभाड नगर्न अनुरोध गरेका थिए । सान फ्रान्सिस्को स्थित बोर्ड अफ हेल्थले सार्वजनिक सेवामा रहेका सबैलाई मास्क लगाउन अनिवार्य गरेको थियो भने आम नागरिकलाई पनि मास्क लगाउन अनुरोध गरेको थियो ।

    सेप्टेम्बर २०१८ मा बोस्टन स्थित अमेरिकी सेनाको तालिम केन्द्र क्याम्प डेभेन्समा दोस्रो चरणको संक्रमण फैलियो । त्यही चरणको संक्रमण अमेरिकाका लागि सर्वाधिक घातक बन्यो । सबैभन्दा धेरैको जीवन यही चरणमा गयो । न्यूयोर्क सिटी स्थित बोर्ड अफ हेल्थले संक्रमणलाई महामारीको संज्ञा दिँदै रोगीहरुलाई घरमै आइसोलेसनमा बस्न अनुरोध गर्यो । सेप्टेम्बर अन्त्यसम्ममा क्याम्प डेभेन्समा मात्र १४ हजार संक्रमित पुगि सकेका थिए भने ७५७ ले ज्यान गुमाएका थिए ।

    नोभेम्बर १९१८ मा विश्वयुद्ध अन्त्यको घोषणा भएसँगै सैनिकहरुले युद्धस्थलबाट स्वतन्त्रता पाए । युटाह स्थित साल्ट लेक सिटीका अधिकारीले दुई हजार घरका अगाडि र पछाडि ढोकामा क्वारेन्टाइन संकेत राखेर फ्लु संक्रमितलाई बसोबासको व्यवस्था मिलाएका थिए । त्यसरी क्वारेन्टाइनमा घरमा बस्नेमा धेरै युद्धबाट फर्किएका सैनिकहरु नै थिए ।

    जनवरी १९१९ मा तेस्रो चरणको संक्रमण फैलियो । यो प्रसार त्यस बर्षको ‘समर’सम्म चलेको थियो । जनवरीको पहिलो पाँच दिनमा सान फ्रान्सिस्कोमा १८ सय संक्रमित फेला परि सकेका थिए भने १०१ ले ज्यान गुमाएका थिए । सान एन्टोनियोका सर्वसाधारणले धेरै नयाँ केशको रिपोर्टिङ नभएको गुनासो गरेका थिए भने न्यूयोर्कमा पनि केही दिन भित्रै ७०० संक्रमित र ६७ ले ज्यान गुमाएका थिए । अन्तत: त्यही समरबाट यो संक्रमण अन्त्य भयो ।

    सन् १९१९ को अप्रिलमा विश्वभरका नेता पहिलो विश्वयुद्ध अन्त्य र शान्ति सम्झौताको घोषणा गर्न फ्रान्सको पेरिस स्थित भर्सेल्स दरवारमा भेला भएका थिए । त्यहाँ अमेरिकी राष्ट्रपति उड्रो विल्सन बेहोस भए । केही इतिहासकारहरुले उनी भाइरस संक्रमणका कारण कमजोर बनि सकेको हुँदा बेहोस भएको उल्लेख गरेका छन् । तर , अमेरिकी राष्ट्रपतिलाई यो भाइरस लागे नलागेको भने अहिलेसम्म पुष्टि हुन सकेको छैन ।

    अहिले विश्व स्पेनिश फ्लू जस्तै कोभिड १९ संक्रमणसँग जुधि रहेको छ । त्यसबेला जस्तै अहिलेसम्म यसको पनि औषधि पत्ता लागेको छैन । विश्वभरमा ४१ लाख बढि संक्रमित भइ सकेका छन् भने झन्डै तीन लाखको ज्यान गइ सकेको छ । गत डिसेम्बरमा चीनबाट सुरु भएको यो संक्रमण अहिले विश्वका प्रायः सबै मुलुकमा पुगि सकेको छ । संक्रमणबाट अमेरिकामा सबैभन्दा धेरै ७९ हजारले ज्यान गुमाएका छन् भने १३ लाख बढिलाई यो रोगले च्यापि सकेको छ । शुक्रबार मात्र ह्वाइट हाउसमा कार्यरत तीन कर्मचारीलाई यो संक्रमण लागेको पुष्टि भएको छ । औषधि पत्ता नलागे पनि स्वास्थ्य क्षेत्रमा भएको नयाँ अनुसन्धान र सूचना प्रविधीको विकासका कारण स्नेनिश फ्लुको तुलनामा कोभिड १९ को तीब्र प्रसार रोक्न सरकार र जनस्वास्थ्य अधिकारीहरु सफल भइरहेका छन् । तर, त्यसबापत विश्वले ठूलो आर्थिक मूल्य चुकाउनु परेको छ ।

    स्पेनिश फ्लू संक्रमण पछि तीन दिन भित्र लक्षण देखिन्थ्यो भने कोभिड १९ लाई पाँच देखि छ दिन लाग्छ । यसरी कोभिड संक्रमितले बिना लक्षण अरुलाई रोग सार्ने संभावना बढि रहेको छ ।

     

    एजेन्सीको सहयोगमा

    तस्वीर: एजेन्सी

  • विश्व शान्तिको लागि ह्वाइट हाउसमा बैदिक मन्त्र पाठ गरियो

    विश्व शान्तिको लागि ह्वाइट हाउसमा बैदिक मन्त्र पाठ गरियो

    न्युयोर्क

    प्रार्थना दिवसको अवसर पारेर अमेरिकी राष्ट्रपति निवास व्हाइट हाउसमा गत ७ तारिख शान्ति पाठ गराइयो । न्युजर्सी राज्यस्थित स्वामी नारायण मन्दिरका पूजारी हरिस ब्रम्ह भट्टलाई राष्ट्रपति ट्रम्पले शान्ति पाठको लागि निमन्त्रणा गरेका थिए ।  पूजारी ब्रम्ह भट्टले बैदिक मन्त्रको साथमा शान्ति पाठ गरेका थिए । कोरोना भाईरसले विश्व अक्रान्त बनेको समयमा यो महामारीबाट प्रभावित सबैको सुरक्षा   कुशलता र स्वास्थको लागि ह्वाइट हाउस रोज गार्डनमा बैदिक मत्र पाठ गरिएको हो ।  

    मन्त्र पाठ गर्नु अगाडि पूजारी ब्रम्ह भट्टले मन्त्रको बारेमा भनेका थिए; “यो एउटा अत्यन्त प्रभावशाली हिन्दू प्रार्थना हो । यो बैदिक प्रार्थनालाई यजुर्बेदबाट लिइएको हो”।

    मन्त्र पाठ पछि उनले उक्त मन्त्रको अर्थ अंग्रेजीमा उल्था गरेका थिए । मन्त्रोच्चारण समारोहमा राष्ट्रपति ट्रम्प लगायत अन्य धर्मका गुरु तथा ह्वाइट हाउस कर्मचारीको उपस्थिती रहेको थियो ।

  • लिपुलेकमा भारतले सडक बनाएपछि सरकारले भन्यो : सीमा क्षेत्र एकलौटी प्रयोग गर्न मिल्दैन

    लिपुलेकमा भारतले सडक बनाएपछि सरकारले भन्यो : सीमा क्षेत्र एकलौटी प्रयोग गर्न मिल्दैन

    काठमाडौं । नेपाली भूमि लिपुलेक हुँदै भारतले सडक खनेर चीनको सीमासम्म पुर्‍याएको छ । यसले भारत र चीनसँग सडक मार्गले जोडिएको छ । शुक्रबार भारत सरकारले यो सार्वजनिक गरेको थियो ।

    यस विषयमा नेपाल भित्र भारतको व्यापक विरोध शुरु भएको छ । विरोधका बीच सरकारले आधिकारिक धारणा सार्वजनिक गरेको छ ।

    परराष्ट्र मन्त्रालयले शनिबार प्रेस विज्ञप्ति जारी गरेको हो । मन्त्रालयले भारतले नेपाली भूमि हुँदै सडक खनेकोप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ ।

    नेपालले सन् १८१६ को सुगौली सन्धिबारे समेत भारतलाई सम्झाएको छ । काली पूर्वका लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालमै पर्ने नेपाल सरकारले स्पष्ट पारेको छ ।

    यस सम्बन्धमा नेपालले कुटनीतिक नोट पठाउँदा पठाउँदै पनि भारतले सडक बनाउनु दुःखद पक्ष भएको परराष्ट मन्त्रालको भनाई रहेको छ ।

    सीमामा रहेका विषयमा दुई देशबीच छलफल हुनुपर्ने र ऐतिहासिक सन्धि, कागजात र नक्साको आधारमा सीमा विवाद समाधान गर्नुपर्ने नेपालको धारणा रहेको छ ।

    यस विषयलाई भारतले एकलौटी रुपमा प्रयोग गर्न नपाउने नेपाल सरकारका स्पष्टोक्ती रहेको छ । नेपाल सरकारले भारतको पछिल्लो कदम तत्काल फिर्ता लिन समेत माग गरेको छ ।

    यसअघि सन २०१५ मा भारत र चीनले नेपालको भूमि हुँदै सडक पुर्‍याउन सहमति गरेका थिए । यस विषयको सो समयमा समेत नेपालले विरोध जनाएको थियो ।

    परराष्ट्र मन्त्रालयले एकपक्षीय रुपमा सिमानामा भएका गतिविधिबारे तत्कालै कुटनीतिक छलफलको माग गरेको छ ।

  • आइतबारबाट उपत्यकामा सबै सरकारी कार्यालय सूचारु

    आइतबारबाट उपत्यकामा सबै सरकारी कार्यालय सूचारु

    काठमाडौं । ११ चैतयता लकडाउनका कारण घरमै बसेका सरकारी कर्मचारी अब आइतबार बाट नियमित कार्यालय जानु पर्ने भएको छ ।

    सरकारले निजी क्षेत्रतर्फ धेरैजसो क्षेत्र सन्चालनको निर्णय गरेपछि सरकारी कर्मचारीलाई पनि कार्यालय बोलाएको हो ।

    प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका अनुसार आइतबारबाट काठमाडौं उपत्यकाका सरकारी कार्यालयहरु पूर्ववत रुपमा सन्चालन हुनेछन् ।

    कार्यालय सूचारु भएपनि कर्मचारीको उपस्थिति भने प्रभावित हुन सक्नेछन् ।

    बुधबार मन्त्रिपरिषद बैठकले बढीमा एक चौथाइ कर्मचारीहरुमार्फत् सेवा प्रवाह गर्ने निर्णय गरेको हो । सोहीकारण सरकारी कार्यालयहरुले पनि आइतबारदेखि नियमित काममा हाजिर हुन कर्मचारीहरुलाई निर्देशन दिएका हुन् ।

    यो समय बजेट निर्माणको हो । नेपालका ५ जेठसम्म लकडाउन जारी छ । यसबेला बीना काम भने घरबाहिर निस्क्न पाइदैन ।

  • नेपाल आदिवासी जनजाती महासंघ अमेरीका, फिप्नाद्वारा नेपाल सरकारको भर्सना गर्दै प्रेस विज्ञप्ती जारी

    नेपाल आदिवासी जनजाती महासंघ अमेरीका, फिप्नाद्वारा नेपाल सरकारको भर्सना गर्दै प्रेस विज्ञप्ती जारी

    मे ८, २०२०, न्युयोर्क

    संसारभर व्याप्त कोभिड- १९ संकटको समयमा राज्यले नागरिकको आवश्यक संरक्षण नगरेको भन्दै नेपाल आदिवासी जनजाती महासंघ अमेरीका (फिप्ना) ले सशक्त प्रेस विज्ञप्ती जारी गरेको छ । महासंघका अध्यक्ष लोक चेम्जोङ्को नामबाट जारी विज्ञप्तीको पूर्णपाठ;

    आदरणीय जनसमुदायमा हार्दिक अभिवादन 

    नेपाल बहुभाषीक, बहुजातीय, बहुसास्कृतिक, विविधतायुक्त संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यव्यवस्था भएको मुलुक हो । नेपालको वर्तमान अवस्थामा १२३ मातृभाषाहरू बोलिने गर्दछन् । ती सबै नेपालको राष्ट्रिय भाषाहरू हुन । आ-आफ्नै समुदाय, क्षेत्रहरूमा हजारौं हजार वर्षदेखिको खोज अनुसन्धान हुँदै विकास भएको भाषाहरू राष्ट्रको सम्पत्ति हो । त्यसलाई राज्यले समान रूपमा संरक्षण र सम्बर्धन गर्नु राज्यको दायित्व हो । त्यसमा एकलाई काखा र अर्कोलाई पाखाको व्यवहार राज्यबाट हुनु हुदैन । नेपाल सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेल अध्यक्ष रहेको राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन  परिषद्को वि.स २०७६/१०/२ मा  बसेको बैठकको निर्णय बमोजिम संस्कृत विषयलाई २०७७ को शैक्षिक सत्रदेखि कक्षा १ मा पठनपाठन थाल्ने र आवश्यक परे सबै तहका कक्षामा पठनपाठन सञ्चालन गर्ने, राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को यस निर्णयप्रति नेपाल आदिवासी जनजाति महासंघ अमेरीकाको गम्भिर ध्यानाकर्षण भएको छ । सरकारको यसप्रकारको एकल जातीय भाषालाई मात्र संरक्षण गरेको प्रति घोर निन्दा एवं भर्त्सना गर्दछौं ।

    नेपालको संविधान २०७२, मौजुदा कानून र परिवर्तनको मर्म र भावन विपरीत शिक्षा मन्त्रालय र त्यस अन्तर्गतको पाठ्यक्रम विकास केन्द्रले संस्कृत विषयलाई मात्रै काखी च्यापेर नेपालका अरु भाषाहरूलाई विभेद गर्दै कक्षा १ देखि देशभरका विध्यालयहरूमा एकै साथ ऐच्छिक विषयको रुपमा पठनपाठन गर्ने गराउने, मृत प्राय: संस्कृत भाषालाई सबैभाषी विद्यार्थीहरूमाथि जबर्जस्ती लाद्ने र एकल जातीय–नश्लीय–भाषिक पक्षपोषण गर्ने गराउने यसखाले कदमप्रति हामी घोर निन्दा एवं भर्त्सना गर्दछौं । संविधानमा व्यवस्था भए बमेजिम माध्यामिक तहसम्मको शिक्षा स्थानीय तहको सरकारको अधिकार क्षेत्रमा रहेको प्रष्ट हुँदाहुँदै संघ(केन्द्र)को पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषदले चालेको कदम र गरेको कार्य असंवैधानिक र संघीयताको सिद्धान्त र अभ्यास विपरित रहेको छ।

    नेपालका बोलिने सबै मातृभाषा तथा रैथाने भाषाहरूमा पठनपाठन गर्न गराउन पाउनु संविधान, कानून, नेपाल सरकारले अनुमोदन गरेको र पक्ष राष्ट्र भएका अन्तर्राष्ट्रिय कानूनी दस्तावेजहरूले प्रत्याभूत गरेको भाषिक मानवअधिकारको सवाल हो । कुनै एउटा भाषा त्यो पनि सरकारले सदिऔदेखि  राज्यको ढुकुटी खर्चेर पनि जो मृतप्रायः छ र वक्ता संख्या नगन्य छ त्यस संस्कृत भाषालाई मात्रै फेरि पनि शाहीकालीन, राणाकालीन र अझ पञ्चायती शासन व्यवस्थामा झैँ पक्षपोषण गरिनु भनेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको धज्जी उडाउनु हो । देशमा भएको परिवर्तनको खातिर समानताको लडाईमा शहिदभएका महान शहिदहरूको वलिदानीको खिल्ली उडाउनु हो । जनआन्दोलन, जनयुद्द, मधेश विद्रोह, आदिवासी आन्दोलनको माग र सम्झौता विपरीत हो । यो वास्तवमा असम्वैधानिक कदम हो । त्यसकारण यो असम्वैधानिक र असमानतामा आधारित समानुपातिक समावेसीकरणको सिद्धान्त विपरीत निर्णय तत्काल फिर्ता लिन सम्बन्धित पक्षसंग जोडदार माग गर्दछौ । नेपालको संविधान २०७२, आदिवासीको अधिकार सम्बन्धि अन्तर्राष्ट्रिय श्रम संगठन महासन्धि नं. १६९ र आदिवासीको अधिकारसम्बन्धी संयुक्त राष्ट्रसंघीय घोषणापत्र-२००७, शिक्षा ऐन २०२८ (संशोधन २०७५)को स्पिरिट बमोजिम नेपालमा बोलिने सबै रैथाने मातृभाषाहरूको पाठ्यक्रम, पाठ्यपुस्तक तयार गर्न गराउन र पठनपाठनको व्यवस्था गर्न गराउन संघ, प्रदेश र स्थानीय तहको सरकारलाई नेपाल आदिवासी जनजाति महासंघ अमेरीका (फिप्ना) जोडदार माग गर्दछौ ।

    संसारलाई हायलकायल  पार्नेगरी महामारीको रूपमा फैलिएको कोरोना भाईरस covid-19 को संक्रमणवाट मानवजातिमा अपुरणीय क्षति भईरहेको छ । यो वेला सरकारको ध्यान नेपाली जनतालाई सुरक्षित गरी कम क्षति हुने उपायहरूमा सक्रियहुन जरूरी छ । हामी सधै सरकारको सकारात्मक निर्णयको पक्षमा छौं । तर यस्तो राज्य आफैले एकल जातीय, एकल भाषालाई मात्र संरक्षण हुने निर्णय गरेर राज्य नै एकल जातीय नश्लीय निर्णय गर्दै अगाडि बढ्नु दु:खद र खेदजनक छ ।

    कोरोना विरूद्धको अभियानमा हामी सधैं सँगसँगै छौ ।

    जय मातृभूमि, आदिवासी अभिवादन !

    लोक चेम्जोङ 

    अध्यक्ष

  • कोरोना महामारी पछि हवाई भाडामा ब्यापक बृद्धि ; आईटा

    कोरोना महामारी पछि हवाई भाडामा ब्यापक बृद्धि ; आईटा

    न्युयोर्क

    कोरोनाको महामारी पछि हवाई यातायात बिस्तारै सुचारु हुँदा टिकटको मुल्य अत्यन्तै महँगो हुने आईटा(ईन्टरनेशनल एयर ट्रान्सपोर्ट एसोसिएसन) ले जनाएको छ । हवाई यातायात पुन: सुचारु हुँदा लागू हुने ‘सोसल डिट्यान्सिङ’  नियमको कारण हवाई टिकट मुल्य अत्याधिक महँगो हुने बताइएको हो । 

    विश्वका १२० देशमा संचालित कुल २९० हवाई कम्पनीलाई प्रतिनिधित्व गर्दै आएको आईटाका अनुसार अघिल्लो बर्ष त्यही समयको तुलनामा यो बर्ष प्लेनको माझको  सिट खाली राखेर यात्रु ओसार पसार गर्दा मुल्यमा ४३ देखि ५० प्रतिशतसम्म बृद्धि हुने जनाएको छ । आईटाका चिफ एक्जुकेटिभ अफिसर अलेक्जान्ड्रे डि जुनियाकले  बिज्ञप्तीमा भनेका छन्; “यति बेला हवाई कम्पनीहरु अस्तित्वको लागि लडिरहेका छन्  । बीचको सिटको आय हटाएर मुल्य समयोजन गर्दा मुल्य बढ्ने भएको छ” ।  एसोसिएसनका अनुसार उत्तर अमेरिकाको लागि सन् २०१९ को तुलनामा २०२ देखि २८९ अमेरिकी डलरसम्म एसिया प्यासिफिकको लागि १४१ देखि २१७ अमेरिकी डलरसम्म टिकटमा मुल्य बृद्धि हुने आईटाले जनाएको छ ।  

    आईटाले हवाई सेवा लिने यात्रुका लागि सुरक्षा प्याकेज समेत सिफारिस गरेको छ ।  हरेक यात्रु तथा कर्मचारीलाई अनिवार्य मास्क प्रयोग, अनिवार्य तापक्रम जाँच, भिडभाड रहित बोर्डिङको ब्यबस्था र यात्रा अबधिभर क्याबिनमा हिंडी रहन बन्देज लगाउने साथै ईम्युनिटी पासपोर्ट लागू गर्ने जस्ता ब्यबस्था गरिने आईटाले जनाएको छ ।  

    एजेन्सी

  • अमेरिकामा जेट ब्लु बिमान कम्पनीले एक लाख स्वास्थकर्मीलाई नि:शुल्क टिकट दिने (यसरी अप्लाई गर्नुस् )

    अमेरिकामा जेट ब्लु बिमान कम्पनीले एक लाख स्वास्थकर्मीलाई नि:शुल्क टिकट दिने (यसरी अप्लाई गर्नुस् )

    न्युयोर्क      

    अमेरिकी बिमान कम्पनी “जेट ब्लु” ले अमेरिकाका एक लाख स्वास्थकर्मीहरुलाई नि:शुल्क ‘राउण्ड ट्रिप’ टिकट दिने भएको छ । कम्पनीले ‘जेट ब्लु हेल्थ केयर हिरो’ कार्यक्रम अन्तर्गत कोरोना भाईरसको महामारीको समयमा काम गर्ने स्वास्थकर्मीहरुलाई नि:शुल्क टिकट उपलब्ध गराउने घोषणा गरेको हो । एयरलाईन्सले कोरोना महामारीको समयमा अग्रपङ्तिमा काम गर्ने १ लाख जना अमेरिकामा काम गरेका स्वास्थकर्मीको लागि प्रति ब्यक्ती २ वटा ‘राउण्ड ट्रिप फ्लाईट सर्टिफिकेट’ दिने आफ्नो प्रेस बिज्ञप्तीमा जनाएको छ । बिमान कम्पनीले पहिलो १० हजार टिकट न्युयोर्कमा बिभिन्न अस्पातालमा काम गर्ने स्वास्थकर्मीहरुका लागि जारी गर्ने बिज्ञप्तीमा जनाएको छ । न्युयोर्कमा प्रदान गरिने त्यो १० हजार टिकट माउण्ट साईनाई हेल्थ सिस्टम अन्तर्गतका अस्पतालमा काम गर्ने र न्युयोर्क सिटी पब्लिक हस्पिटल सिस्टम अन्तर्गत न्युयोर्क हेल्थ प्लस हस्पिटलका स्वास्थकर्मीलाई प्रदान गरिने र टिकट बाँकी रहेमा न्युयोर्कका अन्य अस्पातलका स्वास्थकर्मीलाई पनि दिइने बिज्ञप्तीमा भनिएको छ । कम्पनीले डाक्टर नर्सदेखि फार्मेसीस्ट थेरापिस्ट सोसल वोर्कर पब्लिक हेल्थ वोर्कर लगायत अन्य थुप्रै स्वाथकर्मीहरु समेत उक्त कार्यक्रम अन्तर्गत निसुल्क टिकट प्राप्त गर्न योग्य हुने छन् । बिमान कम्पनीले जारी गरेको उक्त कार्यक्रममा मे महिनाको १५ तारिख भित्र http://www.jetblue.com/healthcarehero  मा गएर दरखास्त दिनु पर्ने छ । यात्रा टिकट भने १ जुलाई २०२० देखि १ जुलाई २०२१ सम्म मान्य हुने छ ।
    https://jetblue.readysweeps.com/

  • भारतमा कोरोनाबाट ज्यान गुमाउने झण्डै २ हजार पुगे

    भारतमा कोरोनाबाट ज्यान गुमाउने झण्डै २ हजार पुगे

    नयाँ दिल्ली । भारतमा कोरोना भाइरसका कारण ज्यान गुमाउने व्यक्तिको आंकडा हरेक दिन उकालो लागिरहेको छ ।

    शुक्रबारसम्मको तथ्यांक अनुसार त्यहा १ हजार ८ सय ८६ जना व्यक्तिको कोरोनाका कारण ज्यान गएको हो । यस मुलुकमा कोभिड–१९ बाट संक्रमितको संख्या भने ५६ हजार ३४२ पुगेको छ ।

    भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार संक्रमणबाट निको भएका विरामीको संख्या १६ हजार ५३९ जना रहेको छ ।

    भारतमा सबैभन्दा बढी प्रभावित राज्य महाराष्ट्र हो । यहाँ १८ हजार १२० नागरिक कोरोना भाइरसबाट संक्रमित भएका छन् ।

    गुजरातमा ७ हजार १३ जनामा कोरोना भाइरस देखिएको छ । दिल्लीमा ५ हजार ९८० जना संक्रमित रहेका छन् ।

    भारतमा अहिले लकडाउन खुकुलो पारिएको छ । शर्तसहित व्यवसाय संचालनमा आउन लागेको छ ।

  • रुसमा लगातार छैटौं दिन १० हजार माथिको संक्रमण

    रुसमा लगातार छैटौं दिन १० हजार माथिको संक्रमण

    मस्को । कोरोना भाइरसको चपेटामा आइरहेको रुसमा रहेक दिन १० हजार माथिको संक्रमण पुष्टी भइरहेको छ ।

    यो क्रम पछिल्लो ६ दिन देखि जारी रहेको छ । रसियामा पछिल्लो २४ घण्टामा मात्र १० हजार बढी कोरोना भाइरसका संक्रमित पुष्टी भएका छन् ।

    शुक्रबार साँझ सम्मको तथ्यांक अनुसार २४ घण्टा भित्र १० हजार ६ सय ९९ जना बिरामी थपिएका हुन् ।

    यसरी १० हजार माथि बिरामी थपिएको शुक्रबार छैटौं दिन हो । बिहीबार एकै दिन ११ हजार २ सय ३१ जनामा कोरोना भाइरस पुष्टी भएको थियो ।

    रुसमा अहिलेसम्म १ लाख ८७ हजार ८ सय ५९ जनामा कोरोना भाइरस पुष्टी भएको छ । शुक्रबारसम्म रुसमा १ हजार ७ सय २३ जनाको ज्यान गइसकेको छ ।

    २६ हजार ६ सय ८ जनाले भने कोरोनालाई जित्न सफल भएका छन् ।

    अहिले यूरोपमा अन्य मुलुकमा भने कोरोना धेरैहद सम्म नियन्त्रणमा आइसकेको छ । तर, रुस, अमेरिका र भारतमा यसको तिब्र फैलावट जारी रहेको छ ।

  • शुरु भयो बजेट अधिवेशन, भट्टराईले मागे प्रधानमन्त्रीको राजिनामा

    शुरु भयो बजेट अधिवेशन, भट्टराईले मागे प्रधानमन्त्रीको राजिनामा

    काठमाडौं । बजेट अधिवेशन शुरु भएको छ । कोरोना भाइरसको त्रासका बीच पूर्ण सृुरक्षा सचेतना अपनाएर शुक्रबारबाट संसदको अधिवेशन प्रारम्भ भएको हो ।

    बजेट अधिवेशनको पहिलो दिन नेताहरुले आफ्नो धारणा राखे । त्यसक्रममा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले राजिनामा दिनुपर्ने बताए ।

    उनले जीर्ण शरीरलाई आराम दिन समेत प्रधानमन्त्री समक्ष अपिल गरे ।

    उनले संसदमा प्रधानमन्त्रीले केही दिन अगाडी गरेको हर्कतको प्रसंग निकाल्दै दल फुटाउने र संवैधानिक परिषद्मा विपक्षी दलको नेता नभए पनि निर्णय गर्न सक्ने गरी सरकारले ल्याएको अध्यादेशको विरोध गरे ।

    उनले यस कदमलाई लोकतन्त्रविरोधी हर्कतको समेत संज्ञा दिए ।

    सांसद अपहरण काण्डमा समेत प्रधानमन्त्री वा निकटस्थ संलग्न भएको प्रसंग निकाल्दै उनीहरु विरुद्ध प्रहरीले जाहेरी नलिन गलत भएको उनको भनाई छ ।

    प्रधानमन्त्रीबाट लोकतन्त्रविरोधी खालका गम्भीर गतिविधि भइरहेको उनको भनाई छ ।

    उनले नैतिकताका आधारमा राजीनामा दिन प्रधानमन्त्री समक्ष आग्रह गरेका हुन् ।

    उनले ६०, ६५ वर्ष उमेर कटेका व्यक्ति प्रत्यक्ष कार्यकारीको भूमिकामा नरहने, प्रधानमन्त्रीको दाबेदार नबन्ने र हामीले नयाँ पुस्तालाई अगाडि ल्याउने दिशातिर गयौं भने देशले निकास पाउने भन्दै उनले युवापुस्तालाई अवसर दिने वातावरण बनाउनु पर्ने समेत उल्लेख गरे ।

  • कपिलवस्तुमा लुकिछिपी नेपाल छिरेका दुई जनामा देखिएयो कोरोना

    कपिलवस्तुमा लुकिछिपी नेपाल छिरेका दुई जनामा देखिएयो कोरोना

    काठमाडौं । बिहीवार कपिलवस्तुमा दुई जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यी दुई युवा एक साता अगाडी मात्र खुला सीमानाको फाइदा उठाउँदै लुकिछिपी नेपाल छिरेको पाइएको छ ।

    १६ र २२ वर्षका ती युवक भारतको मुम्बईबाट एकसाता अघि मात्र कपिलवस्तु आएका थिए । उनीहरु भारतबाट आएको थाहा पाएलगत्तै स्थानीयले क्वारेन्टाइनमा लगेका थिए ।

    त्यहाबाट नमुना परीक्षण गर्दा कोरोना देखिएको छ । सोहीकारण कपिलवस्तुमा समेत समुदायमा संक्रमित नभई आयातित भएको खुलेको छ ।

    उनीहरु मायादेवी गाउँपालिका वडा नं. १ पकडीमा निर्माण गरिएको छत्रपाली तिर्थादेवी माविको क्वारेन्टाइनमा थिए ।

    नेपालमा भेटिएका अधिकांश भारत र तेस्रो मुलुकबाट आएका व्यक्तिमा कोरोना संक्रमण भएको छ ।

    संक्रमित दुवै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरुलाई बुटवलस्थित कोरोना विशेष अस्पतालको आइसोलेसनमा राखिएको छ ।

  • बजेट अधिवेशनभर सांसदलाई आचारसंहिता, सीट फेर्न नपाइने

    बजेट अधिवेशनभर सांसदलाई आचारसंहिता, सीट फेर्न नपाइने

    काठमाडौं । शुक्रबारबाट संसदको बजेट अधिवेशन शुरु हुँदैछ । शुक्रबार राष्ट्रिय र प्रतिनिधिसभा, दुबै सदनको अधिवेशन बस्दैछ ।

    त्यसअगाडी बिहीबार सबै सांसदको पिसिआर विधिबाट कोरोना परीक्षण गरिएको छ । यसको नतिजा भोली सम्म आइपुग्नेछ ।

    कोरोना भाइरसको महामारीकोबीच सुरु हुन लागेको बजेट अधिवेशनको संसद सचिवालयले भने सांसदका लागि आचारसंहिता बनाएको छ ।

    यो आचारसंहिता अनिवार्य पालना गर्नपर्ने भएको छ । शुक्रबारदेखि सुरु हुने संसदको बजेट अधिवेशनमा सहभागी हुने सांसद र अन्य व्यक्तिहरुलाई छुट्टाछुट्टै आधारसंशिता बनाइएको छ ।

    बानेश्वरस्थित संसद भवनमा भएको राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिको बिहीबारको बैठकले आचारसंहिता स्वीकृत गरेको हो ।

    यस आचारसंहिता अनुसार बजेट अधिवेशन नसकिएसम्म अब सांसदहरु कुर्सी फेर्न पाउने छैनन् । सदस्यहरुले रोष्टम प्रयोग गर्न पाउने छैनन् ।

    बोल्दा आफ्नो टेवलमा रहेको माइक नै प्रयोग गर्नुपर्नेछ । विश्व स्वास्थ्य संगठनले तोकेका सबै मापदण्डलाई पालना गर्दै एक मिटरको दूरी कायम गरेर दुई सिट छोडेर बस्ने व्यवस्था मिलाइएको छ ।

    प्रधानमन्त्री, मन्त्री तथा राष्ट्रिय सभा दलको नेताबाहेक अन्य सदस्यहरुले रोष्टम प्रयोग गर्न पाउँदैनन् ।

    संसद भवनमा प्रवेश गर्दा र फर्कँदा फरक ढोकाको प्रयोग गरिने छ। क्यान्टिन र सभाहल बाहिर पनि अनावश्यक भीड नगर्न तथा दूरी कायम गर्न भनिएको छ।

    संसद भवनलाई बैठक अगाडि स्यानिटाइज तथा अन्य सरसफाईमा विशेष ध्यान दिइने बताइएको छ।

    दर्शक दिर्घामा कसैलाई पनि प्रवेश गर्न नदिइने तथा मिडियालाई आम रुपमा सचिवालयले फोटो उपलब्ध गराउने तथा फोटो खिच्न भीड नहुनेगरी व्यवस्थापन गर्ने सचिवालयले जनाएको छ।

    यी हुन् बैठकका सहभागीले पालना गर्नुपर्ने आचारसंहिताः

    – सबै सहभागीले बैठक कक्ष प्रवेश गर्दा अनिवार्य रुपमा साबुन पानीले हात धुनु पर्नेछ।

    – बैठक अवधीभर सबैले अनिवार्य रुपमा मेडिकल मास्कको प्रयोग गर्नुपर्नेछ ।

    – सबै सहभागीहरुले बैठक समयमा भौतिक दूरीको पालना गरि तोकिएको कुर्सीमा मात्र बस्नु पर्नेछ।

    – सकेसम्म समूहगत छलफल नगर्ने, यदी गर्नै परेको अवस्थामा भौतिक दूरीको अनिवार्य पालना गर्नुपर्नेछ ।

    – आफूलाई स्वास्थ्य सम्बन्धी कुनै पनि समस्या ९ज्वोरो, खोकी, थकान, शरिर दुखाई आदी० देखा परेमा तुरुन्त स्वास्थ्यकर्मीलाई खबर गर्नुपर्नेछ।

    – बैठक हलबाट बाहिर निस्कनु परेमा पुनः प्रवेश गर्दा साबुन पानी वा ह्याण्ड स्यानिटाइजरको प्रयोग अनिवार्य गर्नुपर्नेछ।

    – बैठक अवधीभर घरमा गई स्वयम् एकान्तवासको नियमहरुको पालना गर्नु पर्नेछ।

    निर्णय

    १. विश्व स्वास्थ्य संगठनले तोकेका सबै मापदण्डलाई पालना गर्दै एक मिटरको दूरी कायम गरेर दुई सिट छोडेर बस्ने व्यवस्था मिलाउने ।

    २. राष्ट्रिय सभा बैठक कक्षमा अधिवेशन अवधिभर माननीय सदस्य ज्यूहरु एउटै सिटमा बस्ने।

    ३. सम्माननीय प्रधानमन्त्री, माननीय मन्त्री तथा राष्ट्रिय सभा दलको नेताबाहेक अन्य माननीय सदस्य ज्यूहरुले आम रुपमा रोष्टम प्रयोग नगर्ने र आफू बसेको सिटमा रहेको माइकको प्रयोग गर्ने। सामान्य अवस्थामा विधेयकको सिद्धान्त माथिको छलफमा सबै माननीय ज्यू ले रोष्टमको प्रयोग गर्ने प्रचल रहि आएको थियो।

    ४. संसद भवनमा प्रवेश गर्दा र फर्कँदा फरक ढोकाको प्रयोग गर्ने ।

    ५. क्यान्टिन र सभाहल बाहिर पनि अनावश्यक भीड नगर्ने तथा दूरी कायम गर्ने।

    ६. संसद भवनलाई बैठक अगाडि स्यानिटाइज तथा अन्य सरसफाईमा विशेष ध्यान दिने ।

    ७. दर्शक दिर्घामा कसैलाई पनि प्रवेश गर्न नदिइने।

    ८. मिडियालाई आम रुपमा सचिवालयले फोटो उपलब्ध गराउने तथा फोटो खिच्न भीड नहुनेगरी व्यवस्थापन गर्ने।

    ९. त्यसैगरी स्वास्थ्य सेवा विभागको विज्ञ टोलीले रोग संक्रमणको सम्भावित जोखिम रोकथाम गर्नेगरी संसद भवनको स्थलगत अनुगमन पश्चात तयार पारेको सुझाव प्रतिवेदनमा उल्लेखित आचारसंहिताको पालना गर्ने।

  • सिमानाको पर्खालमा कालो रङ लगाउँदा सिमा झन सुरक्षित हुने  ट्रम्पको तर्क – कालो रङ पोत्न दिए आदेश

    सिमानाको पर्खालमा कालो रङ लगाउँदा सिमा झन सुरक्षित हुने ट्रम्पको तर्क – कालो रङ पोत्न दिए आदेश

    न्युयोर्क      

    राष्ट्रपति डोनाल्ड  ट्रम्पले दक्षिण सिमानामा निर्माण गरेको फलामको पर्खाललाई कालो रंग लगाउने आदेश दिएका छन् । ट्रम्पले फलामको पर्खालमा कालो रङ लगाउँदा सुर्यको ताप कालो रङले संचित गर्ने र बिशेष गरी गर्मी याममा तातेको फलाम छोएर पर्खाल चढन गार्हो हुने भन्दै सिमानामा लगाइएको फलामको बारमा कालै रङ लगाउने आदेश दिएका हुन् ।  

    वासिङ्टन पोष्टले प्राप्त गरेको रंग सम्बन्धि सरकारी कन्ट्र्याक पत्रका अनुसार एक्रेलिक रंग लगाउँदा ५० लाख अमेरिकी डलर खर्च हुने यदि पाउडर कोट गरेर प्रिमियम रङ लगाउने हो भने ३ अरब अमेरिकी डलर खर्च हुने अनुमान छ । राष्ट्रपति ट्रम्पले अहिले भर्खरै मन परिवर्तन गरेर बारलाई रंग्याउने चाहना राख्नु भयो अब हामी कन्ट्र्याक बदल्दै छौं, सिमानामा बार लगाउने कामको जिम्मेवारी लिदैं आएका एक सरकारी कर्मचारीको हावाला दिदैं वासिङ्टन पोस्टले लेखेको छ । राष्ट्रपति ट्रम्पले गत महिनाको व्हाईट हाऊस बैठकमा नै सिमानाको बारमा रङ लागाउने निर्देशन दिएका थिए । ट्रम्पले आफ्नो ज्वाँइ जरेद कुस्नरलाई रङ लगाउन लाग्ने खर्च र अन्य प्रकृयाको लागि अगाडि बढ्न भनेका थिए ।  

    ट्रम्पले सिमानाको बारमा रङ लगाउने कुरा भने अहिले मात्र गरेका होईनन् । गत बर्ष मे महिनामा पनि राष्ट्रपति ट्रम्पले दक्षिणी सिमानाका बारमा निक्खर कालो रङ लगाउँदा फलामले धेरै सौर्य किरण सोसेर राख्ने र बार चढेर अमेरिका प्रबेश गर्नेलाई कठीन हुने तर्क राखेका थिए । ट्रम्पले ती पर्खालको चुचोमा फलामको तिखो सुईरो राख्नु पर्ने जस्ले गर्दा पर्खाल नाघ्न खोज्नेहरुको हात काट्ने तर्क पनि पेस गरेको जनाईएको छ ।  

    साउथ डकोटा राज्यस्थित फिशर स्याण्ड एण्ड  ग्राभल नामक कम्पनीले ४० करोड अमेरिकी डलर लागतको एरिजोनाको सिमानामा निर्माण गर्न लागिएको नयाँ पर्खाल निर्माणको ठेक्का पाउने अपेक्षा गरे अनुसार कालो रङको लागि लाग्ने अनुमानित मुल्य समेत माग गरिएको छ । फिशर स्याण्ड एण्ड ग्राभलले ३० फिट आग्लो उक्त बारमा कालो रङ लगाउन अनुमानित ५० लाख अमेरिकी डलरदेखि ३ अरब अमेरिकी डलरसम्म लागत लाग्ने बताएको वासिङ्टन् पोस्टले जनाएको छ ।  

    राष्ट्रपति ट्रम्प पछिल्ला समय सिमानाको पर्खाल गैह्र कानूनी रुपमा अमेरिका प्रवेश गर्नेहरुलाई रोक्न मात्र नभै यो पर्खालले जनस्वास्थ र सुरक्षाको लागि पनि दाबी गर्दै आएका छन् । ट्रम्पले मंगलवार सिमानाको बारको महत्वसँग आफ्नो पनि महत्व दर्साउँदै एक ट्विट गरे “मेक्सिको दु:खका साथ धेरै ठुलो कोरोना महामारीसँग जुधिरहेको छ ।  अहिले क्यालिफोर्नियामा त्यहीबाट आयो ।  म दक्षिण सिमाबाट मान्छे भित्रिन दिन्न । सिमान अहिले धेरै कडा छ र बारहरु लगाउनने काम ब्यापक छ । तिनीहरु सबै भाग्यमानी छन् किनकि म राष्ट्रपति छु” ।

  • रोल्पा र पर्सामा चट्याङ लागेर तीनको मृत्यु

    रोल्पा र पर्सामा चट्याङ लागेर तीनको मृत्यु

    काठमाडौं । रोल्पा र पर्सामा चट्याङ लागेर तीन जनाको मृत्यु भएको छ । बिहीबार भएका छुट्टाछुट्टै घटनामा तीन जनाले ज्यान गुमाएको प्रहरीको भनाई छ ।

    रोल्पामा लुंग्री गाउँपालिका २ सीर्पका ६३ वर्षीय भिमबहादुर विक र ४० वर्षीय चित्रबहादुर पुनको ज्यान गएको हो ।

    बिहान करिब साढे ८ बजे विकको घर नजिकैको रुखमा चट्याङ पर्दा उनीहरुलाई समेत असर गरेको बताइएको छ । उनीहरु दुवै जना छिमेकी हुन् ।

    बिहीबार नै चट्याङ लागेर पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर २ पाँडेपुरमा एक बालिकाको ज्यान गएको छ ।

    मृत्यु हुनेमा स्थानीय राजु साहकी ६ वर्षीया छोरी उषाकुमारी साह रहेको प्रहरीले जनाएको छ । बिहीबार देशैभर मौसम प्रतिकुल बनेको थियो ।

    नेपाल बढी चट्याङ लाग्ने देशमध्ये विश्वमै अग्रपंक्तिमा आउने गरेको छ ।

  • भारतीय नागरिक नेपाल छिर्न खोजेपछि सीमामा विवाद, प्रहरीले गर्यो हवाई फायर

    भारतीय नागरिक नेपाल छिर्न खोजेपछि सीमामा विवाद, प्रहरीले गर्यो हवाई फायर

    बारा । नेपाल र भारतीय सिमाना बन्द छ । यसकारण सिमा नाकाबाट एक अर्काको मुलुकमा छिर्न प्रतिवन्ध लागेको छ ।

    तर, बाराको सुवर्ण गाउँपालिकामा भारतीयको ठूलो संख्या नेपाल छिर्न खोजेपछि बिहीबार तनाव उत्पन्न भएको छ ।

    शुरुमा दुई जना भारतीय नागरिक नेपाल छिर्न खोजेको र उनीहरुलाई प्रहरीले रोकेपछि ठूलो संख्यामा भारतीय चेकपोष्टमा आक्रमण गर्न थालेको थिए ।

    त्यसक्रममा सशस्त्र प्रहरीले एक राउण्ड हवाई फायर गर्नुपरेको प्रहरीले जनाएको छ ।

    बाराको सुवर्ण गाउँपालिका– ३ कबहीगोठ पचगछिया क्षेत्रमा भारतीयहरु नेपाल प्रवेश गर्न खोजेका थिए । भारतीयले सशस्त्र प्रहरीको ड्युटी पोष्ट नै भत्काउन खोेजेपछि प्रहरीले एक राउण्ड हवाई फायर गरेको हो ।

    दिउँसो भएको यस घटनालाई तत्काल नियन्त्रणमा लिइएको ्प्रहरीले जनाएको छ ।

    भारतको बिहार राज्य अन्तर्गत हनुमाननगर गाउँबाट दुईवटा गाडीमा ठूलो समूह नेपाल प्रवेश गर्न खोजेको थियो ।

    भारतीय नागरिकले हातपात र ढुंगामुढा गरेको र त्यस भीडलाई नियन्त्रणमा दिन प्रहरीले हवाई फायर गरेको बताइएको छ ।

    नेपाली सुरक्षाकर्मी माथि भारतीय नागरिकले आक्रमण गर्न खोजेपछि नेपाली समेत प्रतिकारमा उत्रन पुगेका थिए ।

    त्यसपछि स्थिती झनै तनावपूर्ण हुने अवस्था आएको थियो । तर, दुबै मुलुकका सुरक्षाकर्मीले आफ्ना नागरिकलाई सम्झाएर स्थिति नियन्त्रणमा लिएका थिए ।

    यस क्षेत्रमा कतिपय भारतीय नागरिकको खेतमा जान समेत नेपालको भूमि प्रयोग गर्नुपर्ने बाध्यता र नेपाल र भारतको सीमानाका बन्द भएको परिस्थितिका कारण यहाँ तनाव उत्पन्न भएको छ । खेतमा बाली खेर जाने भन्दै उनीहरुले जान पाउने माग गरेका थिए ।

  • प्रचण्ड भन्छन्, ‘एक दुई दिनमै बस्छ स्थायी कमिटि बैठक’

    प्रचण्ड भन्छन्, ‘एक दुई दिनमै बस्छ स्थायी कमिटि बैठक’

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटि बैठक एक दुई दिनमै बस्ने कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले जानकारी दिएका छन् ।

    बिहीबार कोरोना परीक्षणका सिलसिलामा संसद भवनमा पुगेका अध्यक्ष प्रचण्डले पत्रकारसँग संक्षिप्त कुराकानी गरेका थिए ।

    त्यसक्रममा उनले एक–दुई दिनभित्र पार्टीको स्थायी कमिटी बैठक बोलाइने बताएका हुन् । यसअघि बिहीबारका लागि बैठक डाकिएको थियो ।

    तर, दुई अध्यक्षले एजण्डा तय गर्न नसक्दा बैठक अनिश्चित कालका लागि स्थगित भएको छ ।

    उनले गृहकार्य नपुगेको कारण बिहीबार निर्धारित बैठक नबसेको समेत स्पष्ट पारे । उनका अनुसार दुबै अध्यक्षको सहमतिमा बैठक बोलाइने छ ।

  • कोरोना संक्रमित ब्यक्ती अमेरिकी सेनाको लागि अयोग्य हुने नयाँ निर्देशिका जारी

    कोरोना संक्रमित ब्यक्ती अमेरिकी सेनाको लागि अयोग्य हुने नयाँ निर्देशिका जारी

    न्युयोर्क      

    अमेरिकामा महामारी सुरु भए यता दशलाख भन्दा धेरै मानिस कोरोना पोजेटिभ भै सकेका छन् । तर विश्वकै शक्तिशाली सैन्य शक्ती अमेरिकी सेनाले भने कोरोना पोजेटिभ देखिएका र कोरोनालाई जितेर सामान्य जीवनमा फर्किएकालाई अमेरिकी सेनामा  प्रबेश नदिने प्रस्ताव अगाडि ल्याएको छ । यु एस मेलिटरी एन्ट्रान्स प्रोसेसिङ कमाण्डद्वारा जारी नयाँ निर्देशिकाका अनुसार अमेरिकी सेनाको लागि नयाँ दरखास्त वाला कोही पनि ब्यक्तीमा कोरोना संक्रमणको पूर्व रेकर्ड भएमा ति ब्यक्ती अमेरिकी सेनाको लागि स्वत: अयोग्य हुने छन् । नयाँ निर्देशिकाले थप प्रष्ट पार्दै भनेको छ; “अमेरिकी सेना प्रबेश अन्तर्गत लिइने स्वास्थ परिक्षण र अन्तर्वार्ताका क्रममा गरिने चिकित्सक परिक्षण वा प्रयोगशाला परिक्षण मार्फत कोभिड -१९ को हिस्ट्री देखिएमा त्यस्ता दरखास्तवाला व्यक्ती स्थाईरुपमा अमेरिकी सेनाका लागि आयोग्य हुने छन्” ।  

    मिलिटरी टाइम्सका अनुसार कोरोना संक्रमण  जस्तै मिल्दो जुल्दो लक्षण भएका अन्य भाइरसबाट हुने सरुवा रोगहरुलाई नयाँ नियमले छुट्याएको छ । कोरोनासँग समानान्तर लक्षण हुने अन्य भाईरस संक्रमण भएका मानिस सेनाका लागि योग्य भए पनि कोरोना संक्रमितलाई भने अमेरिकी सेनामा बार बन्देज लगाइने भएको हो । नयाँ निर्देशिकालाई सेना मुख्यालय पेन्टागनले अन्तरिम निर्देशिकाले भनेको न्युजविकले लेखेको छ ।  मेलिटरी एन्ट्रान्स प्रोसेसिङ कमाण्डद्वारा कोरोना संक्रमितहरुलाई सेनामा बन्देज लगाउने भनिएको जारी नयाँ निर्देशिका पछि कोभिड संक्रमितलाई सेनामा अयोग्य ठहर्याउनुको कारणको बिषयमा पहिलो पटक समाचार लेखेको मेलिटरी टाईम्सलाई पेन्टागन प्रबक्ता जेसिका मेक्स्वेलले प्रतिकृया दिन अस्विकार गरेको जनाएको छ ।

  • आज सांसदहरुको कोरोना परीक्षण गरिदै

    आज सांसदहरुको कोरोना परीक्षण गरिदै

    काठमाडौं । आज राष्ट्रिय तथा प्रतिनिधिसभा सांसदहरुको  कोरोना परीक्षण गरिने भएको छ ।

    शुक्रबारबाट शुरु हुने संघीय संसदको बजेट अधिवेशन संचालन अगाडी आज सबै सांसद र कर्मचारीको कोरोना परीक्षण गरिने भएको हो ।

    कोरोनाको पिसिआर विधिबाट सांसद र कर्मचारीको परिक्षण हुने भएको छ ।

    आज संसदका सबै सांसदको स्वाब संकलन गरी परीक्षणका लागि राष्ट्रिय जन स्वास्थ्य प्रयोगशाला टेकु पठाउने संसच सचिवालयले जनाएको छ ।

    बिहान १० बजेदेखि राष्ट्रिय सभा र ११ बजेदेखि प्रतिनिधि सभाका सांसदको संसद भवन नयाँ बानेश्वरको ल्होत्से हलमा स्वाब संकलन गरिने भएको छ ।

    सांसद र कर्मचारी समेत गरि पाँच सय जनाको पिसिआर परीक्षण हुने भएको छ ।

    प्रतिनिधि सभामा दुई सय ७५ र राष्ट्रिय सभामा ५८ जना सांसद रहेका छन् । भोलीबाट बजेट अधिवेशन शुरु हुँदैछ ।

  • न्युयोर्कमा पछिल्लो समय काम नगरेर घर बस्नेहरु कोरोना संक्रमित

    न्युयोर्कमा पछिल्लो समय काम नगरेर घर बस्नेहरु कोरोना संक्रमित

    न्युयोर्क

    न्युयोर्क राज्यमा कोरोनाका कारण पछिल्ला समय अस्पताल भर्ना हुन आउनेहरु मध्येको ठुलो हिस्सा ‘स्टे एट होम अर्डर’ अन्तर्गत घरमा नै बस्नेहरु देखिएको अनौठो तथ्यांक बाहिर आएको छ । काममा नगएर अधिकांश घरमा बस्नेहरु नै संक्रमित भएर अस्पताल भर्ना हुन पुगेको तथ्यांक बाहिर आएसंगै के वास्तवमा “स्टे एट होम अर्डर” ले काम गरेको छ ? भन्ने प्रश्न पक्कै उब्जाएको छ ।  

    गत हप्ता न्युयोर्कमा अस्पताल भर्ना भएका एक हजार कोरोनाका बिरामी मध्ये ६६ प्रतिशत बिरामी लामो समयदेखि काममा नगएर घरमा नै बस्दै आएकाहरु छन् भने १८ प्रतिशत नर्सिङ होम (बृद्धा आश्रम) मा बस्दै आएकाहरु छन् । अस्पताल भर्ना हुन पुगेका ती ६६ प्रतिशत बिरामी काममा नगएर घर बसेको तर समय समयमा ग्रोसरी गर्न वा अन्य अत्यावश्यक सामाग्री लिन स्टोर वा अन्यत्र  जाने गरेको पाईएको न्युयोर्क राज्यका गभर्नर एन्ड्रु कुमोले बताएका हुन् । कुमोले बुधाबार नयाँ तथ्यांक सार्वजनिक गर्दै भनें; ती बिरामीहरु जो घर बसेको समयमा पनि संक्रमित हुन पुगे उनीहरु स्वयमको व्यबहारले संक्रमित भएको पाईयो जुन व्यबहारलाई हालको “लक डाउन” ले नियन्त्रण गर्न सक्दैन भन्ने प्रस्ट भयो” ।  

    बुधबार दिउसोसम्म न्युयोर्कमा १९ हजार ८ सय ७७ को मृत्‍यु भै सकेको छ भने ३ लाख २१ हजार संक्रमित भएका छन् । सिंगो अमेरिकामा भने ७२ हजार भन्दा धेरैको मृत्‍यु र १२ लाखमाथि संक्रमित भै सकेको जोन हप्किन्सको तथ्यांकमा जनाइएको छ । पछिल्ला केही दिनको तथ्यांकले न्युयोर्कमा संक्रमित र मृतकको संख्यामा केही गिरावट आएपनि बाँकी अमेरिकामा भने त्यो संख्या उकालो लाग्दै गरेको देखिएको छ । 

    अघिल्लो हप्ता न्युयोर्कमा अस्पताल भर्ना हुने ८० प्रतिशतले मार्चमा जारी गरिएको ‘स्टे होम अर्डर’ देखि कुनै पनि सार्वजनिक सवारी समेत प्रयोग नगरेको देखिएको छ । उपचारको लागि भर्ना भएकाहरु मध्ये ७३ प्रतिशत मानिस ५१ बर्ष माथिको रहेको र त्यो समुह मध्येबाट पनि सिकिस्त बिरामी भने ६१ देखि ७० बर्ष उमेर समुहका रहेको छन् ।अस्पताल भर्ना हुने मध्ये ९६ प्रतिशत बिरामी पहिल्यैदेखि कुनै न कुनै रोगसँग लडि रहेकाहरु भएको बताइएको छ ।  

    गभर्नर कुमोले बुधबार नियमित ब्रिफिङका क्रममा थप चर्चा गर्दै भनें; “लकडाउन गरेको यति लामो समय भै सक्दा पनि किन यति धेरै मानिस संक्रमित भईरहेका छन् ? भनेर न्युयोर्कस्थित अस्प्तालहरुले गत हप्ता गरेको एक सर्बेक्षणबाट मानिसको ब्यक्तिगत व्यबहारबाट नै संक्रमित भै रहेको र अहिलेको स्टे होम अर्डरले पूर्णरुपमा काम नगरेको तथ्य फेला परेको छ” ।  

    • को धेरै संक्रमित ? 

    न्युयोर्क सहरको पाँचै बोरोमा देखिएका कोरोना संक्रमित मध्ये सबैभन्दा धेरै २५ प्रतिशत अस्वेत जातीहरु छन् भने दोश्रो नम्बरमा २४ प्रतिशत स्वेत जातीका छन् ।  २० प्रतिशत हिस्प्यानिक अथवा ल्याटिनो छन् ।  नयुयोर्कमा सबैभन्दा कम एसियनहरु ८ प्रतिशत मात्र संक्रमित छन् । बाँकी २२ प्रतिशत मिश्रित जातीहरु छन् ।

    न्युयोर्क राज्य मे १५ तारिख सम्मका लागि बन्द छ ।  मे १५ पछाडि पहिलो नम्बरमा उत्पादन र निर्माण ब्यवसाय सम्बन्धि कामहरु खुल्ने छन् । दोश्रो चरणमा प्रोफेसनल कामहरु खुल्ने छन् भने तेश्रो चरणमा मात्र रेस्टुरेन्ट ब्यवसाय खुल्ने छन् । अन्तिम चरणमा मात्र शैक्षिक र मनोरञ्जनात्मक क्षेत्रहरु खोलिने छन् ।  

    प्रस्तुति : बिजय राम पौडेल

  • कोरोनाले पारेको असर अध्ययन गर्न कांग्रेसले बनायो समिति

    कोरोनाले पारेको असर अध्ययन गर्न कांग्रेसले बनायो समिति

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोनाले अर्थतन्त्रमा पारेको अध्ययन गर्न एक समिति गठन गरेको छ ।

    पूर्वअर्थमन्त्री रामशरण महतका संयोजकत्वमा अर्थतन्त्र विशेष समिति गठन गरिएको नेपाली कांग्रेसले जनाएको छ ।

    गत वैशाख १७ गते बसेको केन्द्रीय समितिको बैठकले गरेको निर्णयअनुसार समिति गठन भएको कांग्रेसको भनाई छ ।

    कोरोनाले अर्थतन्त्रमा पारेको असरबारे अध्ययन, विश्लेषण एवं देशका लागि आवश्यक दृष्टिकोण निर्माण गर्न समितिले काम गर्ने भएको छ ।

    विगतमा अर्थ मन्त्रालयमा मन्त्री र राज्यमन्त्रीको जिम्मेवारी सम्हालिसक्नु भएका, संसदीय दलमा अर्थ मन्त्रालयको संयोजन गरेका, राष्ट्रिय योजना आयोगमा उपाध्यक्ष रहेर विगतमा नेतृत्व गरिसकेका नेताहरु रहने गरी समिति गठन गरेको नेपाली कांग्रेसले उल्लेख गरेको छ ।

    समितिको संयोजक डा. रामशरण महत छन् । समितिमा १४ जना सदस्य राखिएको छ । कांग्रेसका अनुसार महेश आचार्य, ज्ञानेन्द्र बहादुर कार्की, नारायण खड्का, मीनेन्द्र रिजाल, चिनकाजी श्रेष्ठ, दीपकुमार उपाध्याय, भरत शाह, उदय शम्शेर राणा, डा.पृथ्वीराज लिगल, डा. शंकर शर्मा, डा. जगदिशचन्द्र पोखरेल, डा. गोविन्द पोखरेल र डा. स्वर्णिम वाग्ले सदस्यका रुपमा रहेका छन्।

    समितिले तत्कालीन रुपमा अत्याश्यक राहतबारे सुझाव, अल्पकालीन रुपमा आगामी बजेटका प्राथमिकताबारे, धारणा र दीर्घकालीन रुपमा कोरोनापछिको अर्थतन्त्रबारे दुरगामी दृष्टिकोण निर्माण गर्ने भएको छ ।

  • नाइकले अमेरिका र युरोपमा नयाँ जुत्ता नि:शुल्क दिंदै

    नाइकले अमेरिका र युरोपमा नयाँ जुत्ता नि:शुल्क दिंदै

    न्युयोर्क

    जुत्ता उत्पादनको दुनियाँमा शिखरमा रहेको नाम “नाइक” ले कोरोना भाइरसको महामारीमा ३२ हजार ५ सय जोर नयाँ जुत्ता दान दिने भएको छ । अमेरिकाको ओरेगन राज्यस्थित मुख्य कार्यालय रहेको नाईकले अमेरिका र युरोपको स्वास्थ सेवा क्षेत्रको लागि आफ्नो नयाँ उत्पादन “जुम प्लस” दिन लागेको सोमबार जनाएको हो । नाईकले निकट भबिष्यमा “गूड ३६०” नामक गैह्र नाफामुलक संस्था मार्फत अमेरिकामा र युरोपमा स्थानीय संस्थासँग सहकार्य गरेर अर्को १ लाख ४० हजार जोर जुत्ताको साथमा लत्ता कपडा र स्वास्थ सामाग्री बितरण गरिने समेत जनाएको छ । नाईकले सन् २०१९ मा पहिलो पटक “एयर जुम प्लस” जुत्ता स्वास्थकर्मीहरुलाई लक्षित गरी तयार गरेको थियो । कम्पनीले उक्त जुत्तालाई ओरेगनस्थित हेल्थ एण्ड साईन्स युभर्सिटीका कर्मचारी र डोएर्नबिचर चिल्डेर्न हस्पिटलका कर्मचारीहरुलाई जुत्ता लगाउन दिएर परिक्षण गरेको थियो ।

  • मास्क लगायो भने भगवानको अपमान हुन्छ त्यसैले म लगाउँदिन; ओहायो सभासद

    मास्क लगायो भने भगवानको अपमान हुन्छ त्यसैले म लगाउँदिन; ओहायो सभासद

    ओहायो

    ओहायोस्थित एक सभासदले भगवानको अपमान हुने भन्दै मुखमा मास्क लगाउन अस्विकार गरेका छन् । सत्तारुढ दल रिपब्लिकनका सभासद निनो भिटालेले आफ्नो फेसबुकमा लेखेका छन्; “यो देश जुडिओ क्रिस्टियनको सिद्धान्तमा बनेको महान राष्ट्र हो । ती सिद्धान्त मध्ये एक हो हामी सबै भगवानको छायाँबाट बनेका हौं । त्यो छाँया प्राय: हाम्रो अनुहारमा देखिन्छ । त्यसैले म मास्क लगाउँदिन” । मंगलवार भिटालेले आफ्नो फेसबुक क्याम्पेन पेजमा आफ्नो ‘मास्क’ सम्बन्धि धारणामा आधारित भिडियोको आधारमा “न्युज विक” पत्रिकाले लेखेको समाचारलाई समेत पेजमा शेयर गर्दै लेखेका छन्; “कसैले मास्क लगाउँछ भने मलाई भन्नु केही छैन । तर बाध्य गराउने कुरा भने अर्कै हो” । मंगलवारको उनको फेसबुक पोस्टमा उनले मास्कका बारेमा लेखेका छँन् – ‘कसैले पनि अरुलाई मास्क लगाउन रोक्दैन । तर प्रस्ट भन्नु पर्दा मास्क लगाउँदा सबैको स्वतन्त्रताको अन्त्य नाकको टुप्पोमा पुगेर हुन्छ । मास्क लगाउनु पर्छ कि पर्दैन भनेर मलाई कसैले सिकाईरहनु पर्दैन’।  अमेरिकामा कोरोना संक्रमणको आधारमा पन्ध्रौं स्थानमा रहेको राज्य ओहायोमा  हालसम्म ११ सय ३६ को मृत्‍यु भै सकेको छ । ओहायो गभर्नर माईक डिवाईन भने मास्क लगाउनु पर्ने कुरामा वकालत गर्दै आएका छन् । गभर्नर डिवाईन रिपब्लिकन पार्टी समर्थक नै हुन् । अमेरिकामा सेन्टर फर डिजिज कन्ट्रोलले मुख छोपेर हिंड्नु पर्ने बाध्यकारी ब्यबस्था भनेको छ । यद्यपी राष्ट्रपति डोनाल्ड ट्रम्प समेत कुनै पनि सार्वजनिक ठाउँहरुमा मास्कमा देखिएका छैनन्  ।

  • नेकपा स्थायी समिति बैठक अनिश्चित

    नेकपा स्थायी समिति बैठक अनिश्चित

    काठमाडौं । नेकपा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्धय पुष्पकमल दाहाल प्रचण्ड र केपी ओलीले स्थायी कमिटि बैठकका लागि एजेण्डा तय गर्न नसकेपछि बिहीबार बस्ने भनिएको स्थायी कमिटीको बैठक अनिश्चित बनेको छ ।

    बुधबार बसेको सचिवालय बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले एजेण्डा तय गर्नु पर्ने थियो । तर, २० गतेको निर्णयअनुसार सहमतिको प्रस्ताव तयार गर्न भने नेताहरु असफल भएका छन् ।

    सोहीकारण स्थायी कमिटि बैठक अनिश्चित बनेको छ । यससँगै नेकपा भित्रको विवाद अझै कायम छ भन्ने संकेत स्पष्ट बनेको छ ।

    बैठकको कार्यसूची वा बैठकबारे नै के गर्ने भन्ने निर्णय दुई अध्यक्षबाट हुने नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

    उनका अनुसार बुधबारको सचिवालय बैठकले भने कुनै निर्णय गर्न सकेन ।

    बुधबार सचिवालय बैठक चलिरहेका बेला आराम गर्न भन्दै प्रधानमन्त्री बीचमै उठेका थिए । यो सामान्य विषय भएको प्रवक्ता श्रेष्ठले उल्लेख गरे ।

  • दुई महिने शिशुसहित नेपालमा एकैदिन थपिए १७ जना कोरोना संक्रमित

    दुई महिने शिशुसहित नेपालमा एकैदिन थपिए १७ जना कोरोना संक्रमित

    काठमाडौं । नेपालमा एकैदिन थपिए १७ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा पर्साका १७ जनामा कोरोनाभाइरस पुष्टि भएको हो।

    स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार आज कोरोना भाइरसको संक्रमण पुष्टि भएकामा २ महिनाका शिशु पनि छन्।

    थपिएका सबै संक्रमित पर्सा जिल्लाका हुन्। उनीहरूमध्ये १० पुरूष र ७ महिला छन्। संक्रमण देखिनेमा दुई महिनादेखि ६६ वर्षको उमेरसम्मका रहेका छन् । उनीहरुको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।
    योसँगै नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या ९९ पुगेको छ।

  • जेठ १८ गतेसम्म हवाई उडान बन्द, सीमा सिल

    जेठ १८ गतेसम्म हवाई उडान बन्द, सीमा सिल

    काठमाडौं । सरकारले अन्तर्राष्ट्रिय सीमानाका जेठ १८ गतेसम्मलाई बन्द राख्ने निर्णय गरेको छ।

    मन्त्रिपरिषदको बैठकले भारत कोरोनाको जोखिम दिनप्रतिदिन बढिरहेकाले जेठ १८ गतेसम्म आवागमन रोक्ने निर्णय भएको एकमन्त्रीले जानकारी दिए ।

    बैठकले लक डाउनको १० दिन थपेसँगै सीमानाका बन्दलाई पनि निरन्तरता दिएको हो। कोरोना परीक्षणको दायरा अझै बढाउने निर्णय गरेको छ । त्यस्तै सरकारले आन्तरिक र अन्तर्राष्ट्रिय उडान जेठ १८ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ ।

    कोभिड १९ रोकथाम तथा नियन्त्रण को लागि आन्तरिक एवम् वाह्य हवाई उडान जेठ १८ गतेसम्म रोक्ने निर्णय गरेको छ । यसअघि नै जेठ २ गतेसम्मका लागि हवाई सेवामाथि रोक लगाइ सकेको छ । त्यसपछि १८ गतेसम्म थप बन्द हुनेछ ।

  • जेठ ५ गतेसम्म लकडाउन गर्ने सरकारको निर्णय

    जेठ ५ गतेसम्म लकडाउन गर्ने सरकारको निर्णय

    काठमाडौं । सरकारले लकडाउनलाई जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ ।

    बुधबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनको समय थप गर्दै जेठ ५ गतेसम्म पुर्‍याएको हो।

    त्यस्तै हिजो बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले सरकारले गर्दै आएको लकडाउनलाई निरन्तरता दिने निर्णय गरेको थियो।

    पछिल्लोपटक थपेको १० दिने लकडाउन बिहीबार अर्थात वैशाख २५ गते सकिदै छ। सरकारले पहिलोपटक चैत ११ देखि १८ गतेसम्म लकडाउन घोषणा गरेको थियो। त्यसपछि फेरि दोस्रोपटक एक हप्ता थपेर २५ चैतसम्मका लागि लम्ब्याइएको थियो।

    त्यसलाई निरन्तरता दिँदै वैशाख ३ गतेसम्म लकडाउन थपिएको थियो। त्यसगरी १२ दिन लकडाउनको अवधि थपेर वैशाख १५ सम्म पुर्‍याएको थियो। पछिल्लो पटक १० दिन थप गर्दै बैशाख २५ गतेसम्म लकडाउन जारी राख्ने निर्णय गरेको थियो।

    संक्रमणको जोखिम बढ्दै गएपछि लकडाउनको समय बढाएको जनाइएको छ । नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ८२ पुगेको छ।

  • नेकपा सचिवालयको बैठक आज बस्दै, स्थायी समिति बैठकका एजेण्डा तय गर्ने

    नेकपा सचिवालयको बैठक आज बस्दै, स्थायी समिति बैठकका एजेण्डा तय गर्ने

    काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक बुधबार बस्दैछ । बिहीबारबाट शुरु हुने स्थायी कमिटि बैठकमा पार्टीको एजेण्डा तय गर्ने उद्देश्यले सचिवालय बैठक बस्न लागेको नेकपाले जनाएको छ ।

    बैठक प्रधानमन्त्री निवास बालुवाटारमा अपरान्ह तीन बजे डाकिएको छ ।

    यसअघि २० बैशाखमा बसेको सचिवालय बैठकले तत्कालिन विवाद मत्थर पारेको भएपनि त्यसलाई स्थायी समितिले अनुमोदन गर्न भने बाँकि रहेको छ ।

    नेकपामा प्रचण्ड र माधव नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामा मागिरहेको छ । तर, भागबण्डामा सहमती भएपछि तत्कालका लागि नेकपा भित्रको विवाद सचिवालयबाटै कम भएको छ ।

    त्यसलाई स्थायी समितिमा छलफल हुन बाँक रहेको छ । यसअघि स्थायी समितिमा लैजाने एजन्डाबारे नेताहरुबीच विभिन्न चरणमा छलफल भइरहेका छन् ।

    मंगलबार नेकपा अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता झलनाथ खनालसँग प्रधानमन्त्रीले छुट्टाछुट्टै छलफल गरेका थिए ।

    दाहाल र नेपाल समूहका नेताहरु पनि एजेण्डाबारे छलफलमा छन् । पार्टीमा सल्लाह नगरी प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख ८ गते दुई अध्यादेश जारी गरेपछि नेकपामा तनाव उचाईमा पुगेको हो ।

  • अरिङ्गाल जस्तो किरा अमेरिका आउँदा मिडियामा हाहाकार

    अरिङ्गाल जस्तो किरा अमेरिका आउँदा मिडियामा हाहाकार

    न्युयोर्क

    अमेरिकी ईतिहासमा नै पहिलो पटक “मडर हर्नेट” अमेरिका प्रवेश गरेको छ ।  सामान्यतया अरिङ्गाल जस्तो देखिने “मर्डर हर्नेट” ले जापानमा एक बर्षमा ५० जना मानिसलाई मार्ने गरेको न्युयोर्क टाईम्सले लेखेको छ । एसियन हर्नेट भेस्पा मन्डारिनिया नामले समेत चिनिने यो “मर्डर हर्नेट” गत डिसेम्बरमा पहिलो पटक वासिङ्टन स्टेटमा देखिएको थियो । वासिङ्टन स्टेट डिपार्ट्मेन्ट्  अफ एग्रिकल्चरका अनुसार उक्त किरा वासिङ्टन राज्यका ४ ठाउँमा देखिएको पुष्टी गरेको छ भने डिपार्ट्मेन्ट्का अनुसार गत फल सिजनमा ब्रिटिश कोलम्बियाका दुई ठाउँमा ती पहेंलो अनुहार भएका हर्नेट देखिएका थिए । मान्छे मार्न सक्ने ‘मर्डर हर्नेट’ अमेरिकाका बिभिन्न राज्यमा फैलिन सक्ने अनुमानका साथ अहिले अमेरिकी मिडियामा यो समाचारले स्थान पाएको छ । साधारणतया ती हर्नेटहरु गर्मीयाम सकिने बेलादेखि फल सिजनसम्म निकै खतरनाक हुने गर्दछन् ।

    दुई इन्च लम्बाईको उक्त हर्नेटले टोकेर चिनमा सन् २०१३ मा सयौं मानिस घाईते भएका थिए भने २८ जनाको मृत्‍यु भएको थियो ।

  • नेपालमा कोरोना निको भएर घर फर्किएका व्यक्तिमा दोहोरियो भाइरस

    नेपालमा कोरोना निको भएर घर फर्किएका व्यक्तिमा दोहोरियो भाइरस

    काठमाडौं । नेपालमा कोरोना जितेर घर फर्किएका व्यक्तिमा पुनः कोरोना भाइरसको संक्रमण देखिएको छ ।

    कुल १६ जना उपचारपछि निको भएर घर फर्किएका थिए । तर, उनीहरुमध्ये दुई जनामा कोरोना पुनः देखा परेको पुष्टी भएको छ ।

    थप एक जनामा पनि पुनः संक्रमणको आंशका गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार निको भएर फर्किएका दुई जनामा कोरोना भाइरसको पुनः संक्रमण पुष्टी भएको हो ।

    रौतहटका एक युवक र वीरगञ्जको छपकैयास्थित मस्जिदका जमातीमा पुनः संक्रमण देखिएको छ ।

    यता, सनराइज अपार्टमेण्टका एक जनामा समेत पुनः कोरोना देखिएको आंशका छ । उनको परीक्षण भइरहेको छ ।

    रौतहटका युवक र भारतीय तीन जमाती नारायणी अस्पतालबाट वैशाख १४ गते डिस्चार्ज भएका थिए ।

    छपकैयास्थित मस्जिदमा बस्दै आएका जमातीमा ३० चैतमा र भारतबाट आएका रौतहटका युवकमा १ वैशाखमा संक्रमण पुष्टि भएको थियो ।