Category: समाचार

  • नेपालमा ३०४ पुगे सङ्क्रमित, सोमबार बिहान ९ जनामा पुष्टि

    नेपालमा ३०४ पुगे सङ्क्रमित, सोमबार बिहान ९ जनामा पुष्टि

    काठमाडौं । नेपालमा कोरोना सङ्क्रमितको आङ्कडा ३ सय नाघेको छ । रौतहट र बारामा सोमबार विहान ९ जना कोरोना संक्रमित भेटिएको स्वास्थ तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

    मन्त्रालयका अनुसार रौतहटको इशनाथ नगरपालिकामा ८ जना र बाराको करैयामाईमा एक जना कोरोना संक्रमित भेटिएका हुन् । नेपालमा कोरोनाबाट २ जनाको निधन भइसकेको छ । ३६ जना घर फर्किएका छन् ।

  • काठमाडौंमा जन्मिएका दिबेश पोखरेल बने फर्स्ट रनर अप, जस्ट सामले जितिन् उपाधि

    काठमाडौंमा जन्मिएका दिबेश पोखरेल बने फर्स्ट रनर अप, जस्ट सामले जितिन् उपाधि

    न्युयोर्क

    अमेरिकन आईडलको सिजन १८ मा नेपाली मुलका २२ वर्षीय अर्थर गन (दिबेश पोखरेल) प्रतिस्पर्धामा फर्स्ट रनर अप अर्थात दोश्रा बन्न सफल भएका छन् । अर्थर सन् १९९६ मा माता मैया र पिता दत्तरामको ४ सन्तान मध्येको एक सन्तानको रुपमा काठमाडौंमा जन्मिएका हुन् । सन् २०१४ मा कन्सास राज्यमा आप्रबासीका रुपमा प्रबेश गरेका अर्थरले आईतबार आयोजित अन्तिम प्रतिस्पर्धामा अमेरिकन आईडलको रनरअप बन्न सफल भएका हुन् ।  

    अन्तिम ३० प्रतिस्पर्धिको रुपमा अमेरिकन आईडलमा चर्चामा आएका अर्थरले क्रमश; अन्तिम बिस, अन्तिम १० र अन्तिम ५ मा पपुलर मतको आधारमा अगाडि बढ्दै उनी आईतबार दोश्रा भएका हुन् । प्रतिस्पर्धाको उपाधि भने अमेरिकन प्रतिस्पर्धि २१ वर्षीया जस्ट साम (सामन्था डियाज्) ले जितेकी हुन् । उनी न्युयोर्क सहरको बिभिन्न ट्रेन स्टेशनहरु गीत गाएर यात्रुहरुलाई मनोरञ्जन गराउने गर्दथिन् ।

    अर्थर गनलाई अमेरिकन आईडलको उपाधि नजिक पुर्याउनका लागि अमेरिकास्थित नेपाली समुदायले पपुलर भोटको लागि सामाजिक संजाल मार्फत प्रचार प्रसारमा निकै मेहनत गरेको थियो ।

  • ईतिहास रच्दै नेपालीको छोरो अमेरिकन आईडलको अन्तिम पाँचमा प्रवेश गरे; अब सबैले भोट गरौं

    ईतिहास रच्दै नेपालीको छोरो अमेरिकन आईडलको अन्तिम पाँचमा प्रवेश गरे; अब सबैले भोट गरौं

    न्युयोर्क      

    अमेरिकन आईडलको सिजन १८ को अन्तिम प्रतिस्पर्धाको उत्कृष्ट पाँच भित्र नेपाली मुलका अर्थर गन (दिबेश पोखरेल) प्रबेश गरेका छन्। उनलाई अबको एक घण्टा पब्लिक भोट दिन पाईने छ । अन्दाजी   पुर्वीय समय ९:१५ बजे भोटिङ् बन्द हुने छ ।

    भोटिङ एक जना प्रतिस्पर्धीको नाममा ३ तरिकाहरु – २१५२३ मा फोनबाट टेक्स्ट पठाएर, अर्को अमेरिकन आईडल वेब साईट  https://idolvote.abc.com/ मार्फत अर्को अमेरिकन आईडलको एप डाउनलोड गरेर गर्न सकिन्छ । ईतिहास रच्दै गरेका नेपाली मुलकापोखरेललाई तीन तरिकाबाट मत दिने हो भने, प्रत्येक तरिकाबाट १० पटक मत दिने हरुले १६ नम्बरमा मत दिनु पर्ने छ । राती १० बजेअगाडि यो बर्षको आईडल घोषणा हुने छ ।

  • ईतिहास रच्दै गरेको नेपालीको छोरा ‘अर्थर गन’ लाई आज राती अमेरिकन आईडलमा भोट हाल्न नछुटोस्

    ईतिहास रच्दै गरेको नेपालीको छोरा ‘अर्थर गन’ लाई आज राती अमेरिकन आईडलमा भोट हाल्न नछुटोस्

    न्युयोर्क

    अमेरिकन आईडलको सिजन १८ को अन्तिम प्रतिस्पर्धा आज राती पूर्वीय समय अनुसार बेलुकी ८ बजे सुरु हुँदै छ । राती आठ बजेदेखि यो बर्षको अमेरिकन आईडल सुरु हुने छ । आजको अन्तिम प्रतिस्पर्धामा नेपाली मुलका आर्थर गन (दिबेश पोखरेल ) ले प्रतिस्पर्धा गर्दै छन् । कार्यक्रममा अन्तिम प्रतिस्पर्धा गर्ने गायक गायिकाले आ-आफ्नै घरबाट गीत गाउने छन् भने अन्तिम ७ जनाबाट २ जना प्रतिस्पर्धी बाहिरिने छन् । दुई प्रतिस्पर्धी बाहिरिए संगै अन्तिम पाँच प्रतिस्पर्धी घोषणा हुनेछ । जसको लगतै पब्लिक भोटिङ् सुरु हुने छ । अन्दाजी पूर्वीय समय ९:१५ बजे भोटिङ् बन्द हुने छ ।  

    भोटिङ् एक जना प्रतिस्पर्धीको नाममा ३ तरिकाहरु – २१५२३ मा फोनबाट टेक्स्ट पठाएर, अर्को अमेरिकन आईडलो वेब साईट  https://idolvote.abc.com/ मार्फत, अर्को अमेरिकन आईडलको एप डाउनलोड गरेर गर्न सकिन्छ । ईतिहास रच्दै गरेका नेपाली मुलका पोखरेललाई तीन तरिकाबाट मत दिने हो भने, प्रत्येक तरिकाबाट १० पटक मत दिनेहरुले १६ नम्बरमा मत दिनु पर्ने छ ।  राती १० बजे अगाडि यो बर्षको आईडल घोषणा हुने छ ।

    https://idolvote.abc.com/

     

  • लकडाउन जेठ २० गतेसम्म थपियो

    लकडाउन जेठ २० गतेसम्म थपियो

    काठमाडौं । सरकारले लकडाउन जेठ २० गतेसम्म लम्ब्याउने निर्णय गरेको छ ।

    प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले लकडाउनका कारण संक्रमण नियन्त्रणमा सहयोग पुगेको निश्कर्ष निकाल्दै दुई साता लकडाउनको अवधि थप्ने निर्णय गरेको हो ।

    यसअघि बसेको उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउन लम्ब्याउनुपर्ने निष्कर्ष निकालेको थियो । यसअघि प्रधानमन्त्री कार्यालयमा बसेको कोभिड-१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले जेठ २० गतेसम्म लकडाउन लम्ब्याउन सिफारिस गरेको थियो।

    सरकारले पहिलोपटक चैत ११ देखि १८ गतेसम्म लकडाउन घोषणा गरेको थियो। त्यसपछि फेरि दोस्रोपटक एक हप्ता थपेर २५ चैतसम्मका लागि लम्ब्याइएको थियो।

    त्यसलाई निरन्तरता दिँदै वैशाख ३ गतेसम्म लकडाउन थपिएको थियो। त्यसगरी १२ दिन लकडाउनको अवधि थपेर वैशाख १५ सम्म पुर्‍याएको थियो। पछिल्लो पटक १० दिन थप गर्दै बैशाख २५ सम्म त्यसपछि जेठ ५ गतेसम्मको लागि पुर्‍याएको थियो।

  • थपिए तीन सङ्क्रमित, कुल २९५ मा सङ्क्रमण

    थपिए तीन सङ्क्रमित, कुल २९५ मा सङ्क्रमण

    काठमाडौं । नेपालमा आइतबार साझ ३ जना कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार वीपी स्वास्थ्य प्रतिष्ठानको परीक्षणमा एक स्वास्थ्यकर्मीसहित तीन जनाको पीसीआर रिपोर्ट पोजेटिभ आएको हो ।

    मोरङको विराटनगर निवासी २९ र ३६ वर्षका व्यक्तिमा कोरोना देखिएको हो । यस्तै धनकुटामा ३४ वर्षीय महिलामा कोरोना देखिको छ ।

    यो संगै नेपालमा संक्रमितको संख्या २९५ पुगेको छ । अहिलेसम्म प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३९ पुगेको छ । तीमध्ये १७ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् ।

  • नेपालमा कोरोनाको आशंकामा ९६ हजारको नमूना परीक्षण

    नेपालमा कोरोनाको आशंकामा ९६ हजारको नमूना परीक्षण

    काठमाडौं । नेपालमा कोरोनाको आशंकामा हालसम्म ९५ हजार ९ सय २९ जनाको कोरोना परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

    अहिलेसम्म पीसीआर विधिबाट २८ हजार १६० र आरडीटी विधिबाट ६७ हजार ७ सय ६९ वटा परीक्षण भएको प्रवक्ता देवकोटाले बताए ।

    पछिल्लो २४ घण्टामा ३ हजार ४ सय ८९ जनाको नमूना परीक्षण भएको छ। आरडीटी विधिबाट २ हजार २० गरी जम्मा ३ हजार ४ सय ८९ वटा परीक्षण भएका छन् ।

    प्रदेश नम्बर १ मा ९ हजार १ सय ८६, प्रदेश २ मा ६ हजार, वाग्मती प्रदेशमा ११ हजार २ सय ५७ आरडीटी परीक्षण भएका छन् ।

    यसैगरी गण्डकी प्रदेशमा ६ हजार ९ सय ३२, प्रदेश ५ मा ८ हजार ७ सय ५१, कर्णाली प्रदेशमा ७ हजार ३ सय ७२ र सुदूरपश्चिम प्रदेशमा १८ हजार २ सय ७१ वटा आरडीटी परीक्षण भएको उनले बताए ।

    प्रवक्ता देवकोटाका अनुसार उपत्यकामा ३५ र बाहिर ३ सय ११ गरी ३ सय ४६ जना आइसोलेसनमा छन् । प्रदेश १ मा २४, प्रदेश २ मा १ सय २२ र उपत्यमा ३५ सहित वाग्मती प्रदेशमा ७१ जना आइसोलेसनमा छन् । यस्तै गण्डकी प्रदेशमा एक, प्रदेश ५ मा ११७ र सुदूरपश्चिम प्रदेशमा ११ जना आइसोलेसनमा छन् ।

    कोरोना संक्रमणका कारण नेपालमा मृत्यु हुनेको संख्या दुई पुगेको छ। कुल संक्रमित २ सय ९२ मध्ये हालसम्म ३६ जना डिस्जार्च भएका छन्। अन्यको स्वास्थ्य अवस्था सामान्य रहेको प्रवक्ता देवकोटाले जानकारी दिए।

    काठमाडौंको गोगंबु, माछापोखरी लगायत स्थानबाट ४ सय जनाको नमूना संकलनका लागि टोली परिचालन गरिएको मन्त्रालयले जनाएको छ। काठमाडौं उपत्यकामा ३५ र बाहिर ३ सय ११ गरी कुल ३ सय ४६ जना अस्पतालको आईसोलेसनमा छन्। मन्त्रालयका अनुसार १८ हजार ३ सय ५७ जनालाई क्वारेन्टाइनमा राखिएको छ।

  • निजी तथा सामुदायिक स्वास्थ्य संस्थालाई आरडीटी परीक्षणको बाटो खुल्यो

    निजी तथा सामुदायिक स्वास्थ्य संस्थालाई आरडीटी परीक्षणको बाटो खुल्यो

    काठमाडौं । स्वास्थ्य मन्त्रालयले निजी तथा सामुदायिक स्वास्थ्य संस्थाले पनि अब शुल्क लिएर आरडीटी परीक्षण गर्न पाउने बाटो खोलेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले नियमित प्रेस ब्रिफिङमा निर्देशिका अनुसार निजी स्वास्थ्य संस्थाले आरडीटी गर्न सक्ने बताएका हुन् ।

    हामीले निर्देशिका जारी गरेका छौं। अब निजी तथा सामुदायिक अस्पतलालले आरडीटीका लागि अनुमति लिन सक्नेछन्, देवकोटाले भने।

    अस्पतालले उपत्यकामा स्वास्थ्य सेवा विभागबाट र उपत्यकाबाहिर स्वास्थ्य निर्देशनालयबाट अनुमति लिन पाउने भएका छन्।

    निर्देशिका अनुसार हरेक दिन अस्पतलाहरुले सरकारलाई आरडीटीको तथ्यांक उपलब्ध गराउनु पर्नेछ। आरडीटी पोजेटिभ आएमा पीसीआरका लागि रिफर गर्नु पर्नेछ।

  • नेपालमा कोरोनाले दोस्रो व्यक्तिको मृत्यु, बाँकेका युवाको ज्यान गयो

    नेपालमा कोरोनाले दोस्रो व्यक्तिको मृत्यु, बाँकेका युवाको ज्यान गयो

    काठमाडौं । नेपालमा कोरोनाबाट दोस्रो व्यक्तिको ज्यान गएको छ । स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार बाकेमा २५ वर्षका युवाको आइतबार बिहान निधन भएको छ । उनी क्वारेन्टाइनमा थिए ।

    परिक्षणबाट उनमा कोरोना पुष्टि भएको हो । उनमा स्वास प्रश्वासको समस्या देखिएको थियो । यसअघि बिहिवार धुलिखेल अस्पतालमा निधन भएकोे महिलामा समेत शनिबार कोरोना पुष्टि भएको थियो ।

  • ‘जनताका दुःख बोध नभएको सरकारसँग आश्वस्त हुने योजना छैन’

    ‘जनताका दुःख बोध नभएको सरकारसँग आश्वस्त हुने योजना छैन’

    काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसको संसदीय दलका नेता शेरबहादुर देउवाले सरकारमा जनताका दुःख बोध नभए टिप्पणी गरेका छन् ।

    आइतबार सरकारको आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रमा भाग लिँदै विपक्षी दलको नेता देउवाले सरकारलाई जनताका दुःख बोध नभएको जस्तो देखिएको आरोप लगाए।

    उनले भने, “सरकारसँग यो अप्ठेरो बेला भविष्यका लागि जनता आश्वस्त हुने योजना छैन । एक वर्षे नीति तथा कार्यक्रम उद्देश्यबाट बरालिएर बहुवर्षीय योजनाको कोरा कल्पना जस्तो देखिन्छ।”

    उनले सरकारलाई कोभिड १९ ले गरेको र गर्न सक्ने क्षतिबारे ज्ञान नै नभएको आरोप समेत लगाए ।

    ‘यो सरकारलाई कोभिड १९ ले गरेको र गर्न सक्ने क्षति बारे ज्ञान नै छैन’, उनले भने, ‘ सरकारलाई जनताको दुःखप्रति कुनै वेदना छैन र जनताको पीडा बुझ्न सक्ने हृदय छैन।’ उनले सरकारको एक वर्षको नीति तथा कार्यक्रम उद्देश्यबाट बरालिएर बहुवर्षीय योजनाको कोरा कल्पनाजस्तो देखिने प्रतिक्रिया दिए।

    यस्तो छ सभापति देउवाले संसदमा गरेको सम्बोधनको पूर्णपाठ

    सम्माननीय सभामुख महोदय,

    हामी सबै जान्दछौं यो असाधारण समय हो यस्तो बेला नेपाल सरकारको आ।व। २०७७ । ०७८ को नीति तथा कार्यक्रममाथी टिप्पणी गर्न सम्मानित सदनमा उभिदा म नेपाल र नेपालीको आजको स्थिति र केहि परिदृश्यलाई स्मरण गरिरहेको छु ।

    एकातर्फ म कोरोना संक्रमणको जोखिमसंग जुधेर देशभरि अग्रपंक्तिमा काम गरिरहेका स्वास्थकर्मी, सुरक्षाकर्मी, संचारकर्मी र सफाईकर्मीलाई स्मरण गरिरहेको छु भने अर्को तर्फ कोरोनावाट संक्रमित दिदिबहिनी, दाजूभाई, तीनका परिवार महामारीका कारण दुःखमा परेका किसान, स्वदेश तथा विदेशमा रोजगारी गुमाईरहेका श्रमिक, विदेशवाट घर फर्कन चाहेका तर नपाएका अप्ठ्यारोमा परेका नागरिक, बसेको ठाँउमा राहत नपाएर सयौं किलोमिटर हिडेर घर जान बाध्य हजारौं मजदूर, बिद्यार्थी र बेरोजगार

    उपचार पाउन कठिनाईमा परेका अन्य रोगका बिरामी, उद्योग व्यापार बन्द भएका साना ठुला उद्यमी व्यापारी, बिहान सांझको छाक टार्न नसक्ने अवस्थामा पुगेका मजदूर, समस्यामा परेका गरिव, अपागंता भएका ब्यक्ति र एकल महिलाहरुलाई सम्झी रहेको छु ।

    म परिक्षण सामग्रीको अभावमा कोरोना परिक्षणको प्रतिक्षामा बसेका नागरिकहरु र भाईरसको महामारीले आफु र परिवारलाई कसरी जोगाउने, प्रकोप बढ्दै गए स्थिति के होला, यस्ले मुलुकलाई के गर्ला भनेर संन्ताप र त्रासमा बसेका नेपाली दिदिबहिनी, दाजूभाईको मनोदशा स्मरण गरिरहेको छु ।

    अनि हिजो मात्रै समयमै उपचार नपाएर कोरोनाका कारण मृत्यु भएकी सिन्धुपाल्चोककि सुत्केरी महिला, उनको काखको शिशु र उनको परिवारको मनोदशा सम्झिरहेको छु

    सरकारले यी सबैलाई आफु अभिभावक भएको अनुभूति गराउनु पर्ने समय हो हाम्रो अपेक्षा थियो सरकारले ल्याउने नीतिले यस्ता सबै विषयलाई सम्बोधन गर्नेछ । सरकारका कार्यक्रमले स्रोत साधनको समुचित व्यवस्थापन गरि समस्याको उचित समाधान गर्नेछ । तर सरकारको नीति तथा कार्यक्रमले अर्कै सन्देश दिएको छ ।

    पहिलो सन्देश यो सरकारलाई कोभिड १९ ले गरेको र गर्न सक्ने क्षति बारे ज्ञान नै छैन । दोस्रो, सरकारलाई जनताको दुखः प्रति कुनै वेदना छैन र जनताको पिडा बुझ्न सक्ने हृदय छैन ।

    तेश्रो, सरकारसंग यो अप्ठेरो बेला भविष्यकालागि जनता आश्वस्त हुने कुनै योजना छैन । एक वर्षे नीति तथा कार्यक्रम उद्देश्यवाट बरालिएर बहुवर्षिय योजनाको कोरा कल्पना जस्तो देखिन्छ । यो नीति तथा कार्यक्रम जनतामा आशा र विश्वास जगाउन पुर्णतः असफल भएको छ ।

    यो सरकार महामारी नियन्त्रण गर्ने व्यापक तयारी गर्न पूर्णरुपले चुकेको छ । नेपालमा पहिलो संक्रमित व्यक्ति ०७६ माघ १० मा भेटिएको ४ महिना पुग्न लाग्यो। लकडाउन भएको पनि आज ५५ दिन पुरा भयो ।

    हिजो सम्म पीसीआर विधिवाट केवल २६ हजार ६ सय ९१ जनाको मात्र परिक्षण भएको स्वयं सरकारी तथ्यांकले देखाउंछ । यतीका दिनपछि पनि स्वास्थकर्मीको सुरक्षा उपकरण लगायतका आवश्यक सामग्रीको उपलब्धताको प्रत्याभूति नहुनु, विश्वसनिय परिक्षण किटको अभाव हुनु,

    अस्पतालमा भेन्टीलेटर लगायत अन्य उपचार सामग्रीको आपुर्ति नहुनु, कोरोना प्रभाववाट मर्कामा परेकालाई उचित राहतको व्यवस्था नहुनु, सिमाना बाहिर बिचल्लीमा रहेका र देश भित्र नै पनि घरबाहिर असहाय अवस्थामा रहेका नागरिकलाई सुरक्षित र ईज्जतपूर्वक घरमा पुर्याउने कुनै योजना नहुनुले जनताले सरकार भएको अनुभूति गरेका छैनन् ।

    म प्रश्न गर्न चाहन्छु सरकारले लकडाउनको यो अबधीमा के तयारी गर्यो रु परिस्थितिको गम्भीरता प्रति सरकार संवेदनशिल हुन नसकेको दृष्टान्त हो तयारी विहिनता । विदेशमा लाखौं नेपाली कोरोनाका कारण समस्यामा परेका छन ।

    भारतिय सिमा नाकामा हजारौं नागरिक बिचल्लीमा परेका छन । तीनले सरकारवाट सुरक्षित रुपमा घर फर्किने वातावरण र सहजीकरणको अपेक्षा गरेका छन् । तीनका बारेमा नीति कार्यक्रममा ठोस योजनाको अभाव छ ।

    स्वास्थ सामग्री तत्काल पर्याप्त प्रबन्ध गर्न, पीसिआर परिक्षणको दायरा व्यापक रुपले समुदाय स्तरमा पुर्याउन, विभिन्न क्षेत्रका लागि आवश्यक राहतको ब्यवस्थित प्याकेज ल्याउन र बिदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई स्वदेश फर्काएर मापदण्डयुक्त क्वारेन्टाइनमा ब्यवस्थित रुपले राखेर परिक्षण पश्चात् घर पुर्याउने बन्दोबस्त मिलाउन सरकार समक्ष माग गर्दछु
    ि
    नीति तथा कार्यक्रममा सरकार आत्म प्रशंसामा रमाएको छ । विगत दुई वर्षमा निकै काम गरेको दावा गरिएको छ । म सम्माननिय प्रधानमंत्रीज्यूलाई विगत दुई वर्षका नीति कार्यक्रम पुनः एक पटक पढ्न अनुरोध गर्दछु । जस्ले नयाँ नीति कार्यक्रमका असत्य दावालाई उजागर गर्नेछ ।

    सरकार दुई पहिलेको नीति कार्यक्रम हेरेर आफै लज्जित बन्नुपर्ने स्थिति छ । त्यो बेला एक वर्ष भित्र बनाउछु भनेको गौतम बुद्ध एयरपोर्ट बनेको छैन । तीन वटा मुख्य राजमार्गको छेऊमा बनाउछु भनेको ७६५ केभी ट्रान्समिसन लाईन, निजगढ एयरपोर्ट निर्माण प्रतिक्षामा छन् ।

    पहिलेका नीति कार्यक्रममा उल्लेख गरिएका सातवटै प्रदेशका प्रमुख शहरमा विद्युतिय बस सेवा संचालनमा ल्याईने जस्ता केहि सपना पुरा नभई बिना कुनै स्पष्टिकरण तुहिएका छन । यी त केहि उदाहरण मात्र हुन ।

    दुई वर्ष पहिलेका नीति कार्यक्रममा उल्लेख गरिएकानै कतिपय योजना र कार्यक्रम अहिलेपनि पुनरावृति गरिएका छन । यस्ले नीति कार्यक्रमको कार्यान्वयन कति फितलो छ भन्ने देखाएको छ ।

    विकासको गति गजवले अगाडी बढेको दावी गर्ने सरकारलाई न्यून पूँजीगत खर्चको अवस्थाले जिस्काई रहेको छ । राजनीतिक प्रचार र सुविधाकालागि जेपनि गर्छु भन्ने सस्तो प्रवृत्ति मौलाएको छ । यस्ले नीति तथा कार्यक्रमको विश्वसनियता र उच्च गरिमा हराएको छ ।

    सरकार वर्तमान समस्यालाई ठिकसंग हेर्न सकिरहेको छैन वा अप्ठेराहरुको गांभिर्यता बुझीरहेको छैन । विगत दुई वर्षका कार्यक्रम अहिलेपनि दोहोरिएका छन । पहिले पनि गुरुयोजना बनाएर कार्यक्रम ल्याइएको थिएन । अहिले फेरी त्यसरीनै दोहोरिएका छन ।

    यसले खर्चको लक्ष्य धेरै राख्ने संकेत मिलेको छ । राजश्वको यो वर्षको लक्ष्य समेत नभेटिएको परिप्रेक्षमा पुराना योजना पनि दोहोर्याउने र महामारीसंग लड्न नयाँ खर्चपनि छुट्याउने हो भने यो सबैका लागि स्रोत कहाँबाट आउँछ रु यसले नीजि क्षेत्रलाई दोहन गर्ने, उनीहरुलाई बैंकवाट उपलब्ध हुने पूँजी सरकारले आन्तरिक ऋण उठाउने र जथाभावी बैदेशिक ऋण लिने गलत नीति तर्फ जान्छ ।

    नीति तथा कार्यक्रममा सरकारले सुशासन, शान्ति सुरक्षा कायम गरेको, भ्रष्टाचार विरुद्ध कारवाहिलाई तिब्रता दिएको भनिएको छ । बालिका निर्मला पन्तको बलात्कार र हत्या भएको दुई वर्ष पुग्दैछ यो आपराधिक घटनाका प्रति सरकारको उदासिनता र गैर जिम्मेवार व्यवहारले सुशासन, शान्ति सुरक्षाको विषयमा सरकारी दावालाई चुनौति दिएको छ ।

    यो त एक प्रतिनिधि मुलक घटना मात्र हो, यस्ता अपराधका अनेक घटनालाई नियन्त्रण गर्न सरकार असफल भएको छ । भ्रष्टाचारका एक पछि अर्का काण्ड भएका छन । पछिल्लो समयमा सार्वजनिक भएको यति काण्ड हुंदै सेक्युरीटी प्रेस खरिद सम्बन्धि काण्डमा मंत्री नै भ्रष्टाचारमा संलग्न भएको घटनापछि सरकारले भ्रष्टाचार नियन्त्रणको कुरा गर्नु जग हसाउने विषय होईन र ?

    कोरोना महामारीको बेलामा अत्यावश्यक सामग्री र औषधी समेतमा भ्रष्टाचार भएको भनि प्रश्न उठ्नु, त्यसमा छानविन हुनुको साटो प्रधानमन्त्री आफै भ्रष्टाचारजन्य घटनाको बचाउमा उत्रिने र उन्मुक्ति दिने जस्ता घटनाले सुशासन र सदाचारको विषयमा सरकार पूर्ण असफल भएको पुष्टि हुन्छ ।

    उल्टै समाचार सम्प्रेषण गर्ने संचार माध्यम र सामाजिक संजाललाई अस्थिरता फैलाएको आरोप प्रधानमन्त्रीले लगाउनु भयो, उहाँको तहबाट यो अभिव्यक्ति आउनु एकातर्फ दुस्खद थियो अर्कातर्फ प्रेसको स्वतन्त्र भुमिकालाई कुण्ठित गर्ने नियत थियो ।

    कोरोनाले मुलुकका सबै क्षेत्रलाई अत्यन्त नकारात्मक रुपले प्रभावित गरेको छ । यसका अल्पकालिन र दिर्घकालिन प्रभाव रहने छन् । सरकारका नीति तथा कार्यक्रम समस्या समाधान तर्फ उन्मुख छैनन् ।

    देश भित्र उद्योग धन्दा, निर्माण क्षेत्रमा पर्ने प्रभाव र विदेशवाट रोजगारीवाट देश फर्किनेको ठूलो संख्याले बेराजगारीको समस्या भयावह रुपले बढ्ने देखिन्छ । यसलाई सम्बोधन गर्न सरकारसंग ईच्छा शक्ति, क्षमता, ईमान्दारी र दूरदृष्टिको नितान्त अभाव छ ।

    सरकारको दावा विपरित संघीयताको कार्यन्वयनमा सरकारको उदासिनताको देश साक्षी छ । प्रदेश सरकारहरु संविधान प्रदत्त अधिकारको उपयोग गर्न वंन्चित भएका छन ।

    संघ, प्रदेश र स्थानिय तह बिच समन्वय गर्ने संयन्त्रहरु अन्तर प्रदेश परिषद्, अन्तर सरकारी वित्त परिषद् जस्ता निष्क्रिय जस्ता छन् । प्रदेशका राजनीतिक नेतृत्वले संघीय सरकारसंग ब्यवस्थित समन्वय नभएको गुनासो गरी रहन्छन् ।

    हस्तकला, कृषिमा आधारित साना उद्योगहरु नकारात्मक रुपमा प्रभावित भएका छन । आत्म निर्भरता र धेरै ठूलो रोजगारीको माध्यम बनेका कुखुरा पालन, मत्स्य पालन, मह, केरा, तरकारी, फलफुल उत्पादन तथा प्रशोधन गर्ने उद्योगमा परेको असर र तीनलाई दिन पर्ने राहतको उल्लेख छैन ।

    ती उद्योगमा आधारित व्यक्तिले रोजगारी गुमाउने, आर्थिक मन्दीका कारण उद्योग धरासायी भई देश भित्र आर्थिक असमानता थप बढ्ने स्थिति छ ।

    सरकार अहिलेपनि उद्योग, रेमिटेन्स आदि क्षेत्रमा कोरोनावाट भएको प्रारम्भीक क्षति अनुमान गर्न सकेको छैन । यसले राहत पाउनु पर्ने उद्योगलाई प्रोत्साहित गर्ने विषय नीति कार्यक्रममा समेटिएको छैन ।

    सरकारसंग निर्यात बढाउने विश्वसनिय र नयाँ योजना छैनन् । सरकारले संचालन गरेका रोजगार योजनाहरुको गुणस्तर र स्रोत परिचालनको तरिकामा गम्भीर प्रशन उठेका छन् ।

    विगतमा संचालन गरिएको प्रधानमंत्री रोजगार योजनाले देशको सम्पत्तीको दूरुपयोग भएको भनि आम जनता र संचार माध्यममा व्यापक विरोध भएको थियो । दिगो पुर्वाधार निर्माणकालागि लिनु पर्ने वैदेशिक ऋणलाई कार्यकर्ता पोस्ने काममा खर्च गर्ने कुरा स्विकार्य हुन सक्दैन ।

    अहिले कोरोनावाट व्यापक रुपमा प्रभावित भएको पर्यटन क्षेत्र पनि हो । प्रर्यटन प्रवर्द्धन सम्बन्धि कुनै नीति आएको छैन । केहि एयरपोर्टको निर्माण र मर्मत मात्र दिगो र गुणस्तरिय पर्यटनको स्रोत होईन । सबै भन्दा बढी राहत चाहिएको पर्यटन क्षेत्रमा पुराना सामान्य किसिमका विषयको पुनराबृति बाहेक कुनै नविन सोच र योजना छैन ।

    राष्टिय गौरवमा परेका योजनाको अवधी र लागत दुवै बढेको छ । सरकारले उच्च प्रविधि प्रयोग गरेर सडक बनाउन सकेको छैन । सहि योजनाको छनौट, विकास कार्यको गुणस्तर र निर्माणको क्षमता बृद्धिमा ध्यान गएको छैन ।

    उर्जा क्षेत्रको कार्यक्रमले नीजि क्षेत्रलाई वेवास्ता गरेको छ । कयौं योजना महामारीले पिडित छन् । तीनलाई राहतको वा अन्य कुनै व्यवस्था गरिएको छैन ।

    यस्तो अप्ठ्यारो बेलामा पनि सरकार मितव्ययीताको पक्षमा देखिएन । यो सरकार आफैले गठन गरेको आयोगको मितव्ययीताको सिफारिस समेत लागु गर्न तयार छैन । वैदेशिक ऋण निरन्तर बढेको छ । सरकार मितव्ययी हुन र वैदेशिक ऋणको नीति पारदर्शी हुन आवश्यक छ ।

    नेपाली भूमि अतिक्रमण खास गरि लिम्पीयाधुरा, लिपुलेक र कालापानी बारे नीति कार्यक्रममा उल्लेख भएको विषय सकारात्मक छ तर यो अपूर्ण पनि छ । मित्र रास्ट्र भारत र चीन दुवै मुलुकले सन २०१५ मा गरेको सहमति अनुरुप नेपाली भूमिमा भारतवाट सडक निर्माण गर्ने काम गरिएको छ ।

    दुई छिमेकि मुलुक बिच भएको सहमतिको नेपाली काँग्रेसले तत्कालनै विरोध जनाएको र सुशील कोइराला प्रधानमन्त्री रहनुभएको नेपाली कांग्रेसको नेतृत्वको सरकारले तत्काल प्रोटेस्ट नोट पठाएको म स्मरण गरिरहेको छु ।

    नेपाली भूभागमा भएको अतिक्रमण र सडक निमार्ण बारे छिमेकी मुलुक मित्र राष्ट चीनसंग समेत उच्च स्तरमा सार्थक र परिणामीमुखी वार्ता गरि समस्याको समाधान गर्नु पर्दछ ।

    अघिल्लो सरकारले गरेको हालसम्मकै सबैभन्दा ठूलो सहयोग सम्बन्धि सम्झौता एमसीसीलाई यो सदनबाट पारित गर्नेबारे सरकारको उदासिनता देखिएको छ नीति तथा कार्यक्रममा यसलाई समावेश गरेरै जिम्मेवारी र जवाफदेहितासाथ सरकार अग्रसर हुन सकेको देखिएन यहि सदनमा प्रस्तुत गरेर पारित गर्ने प्रक्रिया अघि बढाउन म माग गर्दछु पुर्ववर्ती सरकारले गरेका निर्णय र सम्झौता उलंघन गर्दै जाने प्रवृत्तिले गलत नजिर स्थापित गर्ने चेतावनी म दिन चाहन्छु
    ि
    अन्तमा यो वर्षको नीति तथा कार्यक्रमले मुलुकलाई प्रगतिको वाटोमा लैजाने सिर्जनशिलता देखाउन सकेको छैन । आवश्यक नीति र कार्यक्रमको अभाव छ । पुराना कार्यक्रम दोहोर्याईएका छन्।

    राजश्वमा आउने कमीले हुने प्रभाव बारे केहि बोलेको छैन । अहिलेको महामारीले पार्ने बहुआयामीक प्रभाव बारे नीति कार्यक्रमले बोल्न सकेको छैन र नेपाली समाजमा कोरोनाले पार्ने नकारात्मक प्रभावको अल्पकालिन र दीर्घकालिन समाधानका उचित उपायको खोजी गर्न सकेको छैन । म सरकारलाई बजेट बनाउदा यी सबै विषयमा गम्भीरतापूर्वक ध्यान दिएर निर्माण गर्न सुझाव दिन्छु ।

    धन्यवाद, जय नेपाल ।

  • थप १० जनामा सङ्क्रमण पुष्टि, २९१ पुगे कुल सङ्क्रमित

    थप १० जनामा सङ्क्रमण पुष्टि, २९१ पुगे कुल सङ्क्रमित

    काठमाडौ । नेपालमा थप १० जनामा कोरोना संक्रमण देखिएको छ।

    आइतवार बिहान स्वास्थ्य मन्त्रालयले विज्ञप्ति जारी गर्दै थप १० जनामा कोरोना पोजेटिभ देखिएको जानकारी दिएको हो। थपिएका १० जना नै रौतहट जिल्लाका रहेका छन्।

    राष्ट्रिय जनस्वास्थ प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षण अनुसार रौतहट राजापुर नगरपालिका फरहदवा ९ का १८, ३२, ३६, ३९, ३९, ४२ र ४८ वर्षका पुरुष तथा रौतहत इशनाथ नगरपालिका ३ र ५ मा बस्ने २८, ३० र ३३ वर्षका पुरुषमा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता समिरकुमार अधिकारीले जनाएका छन् । यो सँगै नेपालमा संक्रमितको सङख्या २ सय ९१ पुगेको छ।

  • कोरोनाले मृत्यु भएकी महिलाको पशुपतिमा अन्त्येष्टि,यसरी हुन्छ शव व्यवस्थापन

    कोरोनाले मृत्यु भएकी महिलाको पशुपतिमा अन्त्येष्टि,यसरी हुन्छ शव व्यवस्थापन

    काठमाडौं। सरकारले कोरोना संक्रममणको कारण निधन भएकी महिलाको शव पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने भएको छ ।
    सिन्धुपाल्चोकको बाह्रविसेकी २९वर्षीया महिलाको शुक्रबार साँझ धुलिखेल अस्पतालमा निधन भएको थियो।

    कोरोनाको संक्रमणबाट निधन भएका व्यक्तिको प्राटोकल अनुसार सेना र प्रहरीले धुलिखेल अस्पतालबाट महिलाको शव पशुपति आर्यघाटमा ल्याएर अन्त्येष्टि गर्ने तयारी थालेको हो । ‘मृतकको अन्त्येष्टि आर्यघाटस्थित विद्युतीय शवदाह गृहमा गरिने प्रहरीले जनाएको छ ।

    धुलिखेल अस्पतालमा गरिएको कोरोनाको पीसीआर परीक्षणको रिपोर्ट तीन पटकसम्म पोजेटिभ आएको थियो। श्वास फेर्न अप्ठ्यारो भएपछि भेन्टिलेटरमा राख्ने तयारी भइरहेका बेला निधन भएको अस्पतालले जनाएको छ।

    श्वास फेर्न गाह्रो हुने लगायतका लक्षण देखिएपछि उनको स्वाब निकालेर धुलिखेल अस्पतालमै पीसीआर परीक्षण गरिएको थियो।

    राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा पनि उनको रिपोर्ट पोजेटिभ नै आएको छ ।

    शनिबार नै स्वास्थ्य मन्त्रालयले उनको मृत्युको कारणबारे अध्ययन गर्न धुलिखेलमा टोली पठाएको छ । टोलीको रिपोर्टका आधारमा मन्त्रालयले उनको मृत्यु कोरोनाका कारण भएको घोषणा गरेको छ ।

    कसरी शवको व्यवस्थापन गर्ने यस्तो छ कार्यविधि

    कसरी शवको व्यवस्थापन गर्ने भनेर सरकारले चैत २५ गते जारी कार्यविधिमा मृृतकका आफन्तले शव चाहेमा एक मिटरको दुरीबाट मात्र हेर्न पाउने उल्लेख छ ।

    कार्यविधिअनुसार कोरोनाबाट मृत्यु भएकाको शव उठाउनुअघि शव वाहनका चालक र कर्मचारीले व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) अनिवार्य प्रयोग गर्नुपर्नेछ ।

    त्यस्तै मृतकको अन्तिम संस्कारमा सहभागी हुने आफन्त र नातेदार सबैले अनिवार्य रुपमा पन्जा, चस्मा, टोपी, मास्क सहितको पीपीई लगाउनुपर्ने तथा मृतकको शवलाई कम चलाउने र शवमा लागेका पाइप, केथेटरलगायत सामग्री सतर्कतापूर्वक हटाउन भनिएको छ ।

    त्यस्तै मृतकलाई अन्तिम संस्कार गर्ने घाटसम्म लान साधारण शव वाहनको प्रयोग गर्न सकिएपनि सकेसम्म शवलाई छिटो अन्तिम संस्कार गर्ने ठाउँमा पुर्याउनपर्ने भनिएको छ ।

    ६० वर्ष उमेर कटेका व्यक्ति र दीर्घ रोगीलाई कोरोनाका कारण ज्यान गुमाएका व्यक्तिको नजिकै जान दिनु नदिने, अन्तिम संस्कार गर्दा सकभर शव नछुनेतथा कोरोनाबाट मृत्यु भएकाको पोष्टमार्टम सामान्यतया गर्न नपर्ने गरेपनि सावधानी अपनाएर मात्रै गर्ने कार्यविधिमा उल्लेख छ ।

  • नेपालमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु

    नेपालमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु

    काठमाडौं । काभ्रेको धुलिखेल अस्पतालमा उपचारका लागि भर्ना भएकी सिन्धुपाल्चोक बाह्रेबिसेकी २९ वर्षीय एक महिलाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ।

    ९ दिने सुत्केरी महिलाको बिहीबार राति उपचारको क्रममा धुलिखेल अस्पताल मृत्यु भएको हो ।

    राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको स्वाब परीक्षणको रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य मन्त्रालय जनाएको छ ।

    बिहीबार साँझ नै सिन्धुपाल्चोकको बाह्रबिसेबाट स्वासप्रस्वासमा समस्या भएपछि उपचारका लागि उनलाई धुलिखेल अस्पताल ल्याइएको थियो ।

    श्वास फेर्न अप्ठ्यारो भएपछि भेन्टिलेटरमा राख्ने तयारी भइरहेका बेला निधन भएको अस्पतालले जनाएको छ। श्वास फेर्न गाह्रो हुने लगायतका लक्षण देखिएपछि उनको स्वाब निकालेर धुलिखेल अस्पतालमै पीसीआर परीक्षण गरिएको थियो।

    राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा पनि उनको रिपोर्ट पोजेटिभ नै आएको छ ।

    शनिबार नै स्वास्थ्य मन्त्रालयले उनको मृत्युको कारणबारे अध्ययन गर्न धुलिखेलमा टोली पठाएको छ । टोलीको रिपोर्टका आधारमा मन्त्रालयले उनको मृत्यु कोरोनाका कारण भएको घोषणा गरेको छ ।

  • नीति तथा कार्यक्रममा काङ्ग्रेसको टिप्पणी : सङ्कटलाइ सम्बोधन गरेन

    नीति तथा कार्यक्रममा काङ्ग्रेसको टिप्पणी : सङ्कटलाइ सम्बोधन गरेन

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले ल्याएको वार्षिक नीति तथा कार्यक्रमले सङ्कटलाइ सम्बोधन गर्न नसकेको टिप्पणी गरेको छ । पट्यारलाग्दो कार्यक्रमको सूचीले कार्यक्रम कार्यान्वयनयोग्य नभएको काङ्ग्रेसको टिप्पणी छ ।
    काङ्ग्रेसले नीति तथा कार्यक्रम पुनर्लेखनको समेत माग गरेको छ । पार्टीले सोही प्रयोजनका लागि शनिबार संसद सचिवालयलमा संशोधन प्रस्तावसमेत दर्ता समेत गराएको छ ।

    शनिबार दर्ता गरिएको संशोधन प्रस्तावमा डा. मिनेन्द्र रिजाल, पुष्पा भुसाल र सञ्जयकुमार गौतमले हस्ताक्षर गरेका छन् ।

    शुक्रबार राष्ट्रपतिले संसदमा प्रस्तुत गरेको सरकारको वार्षिक नीति तथा कार्यक्रमले कोरोनाको महामारीलाई सम्बोधन गर्न नसक्ने, विदेशमा रोजगारी गुमाएका नेपालीहरुलाई जोखिमबाट सुरक्षित गराउन नसक्ने र देशका सामु उत्पन्न चुनौतीको समामना गर्न नसक्ने निचोडमा काङ्ग्रेस पुगेको छ ।

    काङ्ग्रेस संसदिय दलको बैठक समेत शनिबार नै बसेको थियो । बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवाले सीमानामा अलपत्र नेपालीलाई उद्दार गर्न सरकारको ध्यानाकर्षण गराए ।
    उनले क्वारेन्टाइनमा बस्ने प्रवन्ध मिलाउन र विदेशमा रहेका नेपालीहरुलाई स्वदेश र्फकने वातावरण बनाउन माग गरेका हुन् ।
    देउवाको जोड अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सम्झौता संसदबाट ततकाल अनुमोदन हुनुपर्नेमा समेत रहेको छ ।

  • धुलिखेल अस्पतालमा स्वास्थ्य मन्त्रालयको टोली

    धुलिखेल अस्पतालमा स्वास्थ्य मन्त्रालयको टोली

    काठमाडौं । धुलिखेल अस्पतालमा बिहीबार राती निधन भएकी सुत्केरी महिलाको मृत्युबारे अनुसन्धान गर्न स्वास्थ्य मन्त्रालयको टोली धुलिखेल अस्पताल पुगेको छ ।

    मृत्युपछि उनको स्वाव परिक्षण गरिएको थियो । परिक्षणमा महिलामा पीसीआर पोजेटिभ देखिएको छ । यद्दपी उनको मृत्यु कोरोनाका कारण हो या होइन भन्ने बारेमा भने स्वास्थ्य मन्त्रालयले कुनै पुष्टी गरेको छैन ।

    सिन्धुपाल्चोककी २९ वर्षिय महिला ९ दिनकी सुत्केरी हुन् । उनको डेलिभरी भने टिचिङ हस्पिटलमा भएको थियो । सामान्य डेलिभरी भएकी उनलाई बिहीबार दिउँसो अस्पतालमा ल्याइएको थियो ।

    अस्पतालले भने कोरोनाका कारण मृत्यु भएको हो या होइन भन्ने सम्बन्धमा पुष्टी गरिसकेको छैन । यसको जिम्मा स्वास्थ्य मन्त्रालयलाई दिइएको छ ।

    अहिले धुलिखेल अस्पताललाई सील गरिएको छ । मृतकका आफन्तको समेत स्वाव परीक्षण गर्न नुमना संकलन गरिएको छ ।

  • २७८ को कोरोना सङ्क्रमण पुष्टि, धुलिखेल अस्पतालमा निधन भएको महिलाबारे अनुसन्धान शुरु

    २७८ को कोरोना सङ्क्रमण पुष्टि, धुलिखेल अस्पतालमा निधन भएको महिलाबारे अनुसन्धान शुरु

    नेपालमा शनिबार थप दुई जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार महोत्तरी र काभ्रेमा कोरोना पुष्टि भएको छ । अब नेपालमा कुल सङ्क्रमीत २७८ पुगेको छ । ३६ जना निको भएका छन् ।

    यता धुलिखेल अस्पतालमा बिहीवार राती निधन भएकि २९ वर्षकि महिलामा कोरोनाको लक्षण पुष्टि भएपछि अनुसन्धान थालिएको छ । मन्त्रालयका प्रवक्ता डा. बिकास देवकोटाले उनको मृत्युको कारणबारे अनुसन्धान जारी रहेको बताएका छँन्  ।

     

  • २७६ पुगे कोरोना सङ्क्रमित, कपिलवस्तुमा थपिए ३ जना

    २७६ पुगे कोरोना सङ्क्रमित, कपिलवस्तुमा थपिए ३ जना

    काठमाडौं । कपिलवस्तुमा फेरि तीन जना कोरोना सङ्क्रमीत भेटिएका छन् । स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार तीन जना पुरुषमा कोरोना देखिएको हो ।

    शुक्रबार नै बिहान ६ जनामा कोरोना पुष्टि भएको थियो । नयाँ आङ्कडा अनुसार अब नेपालमा कुल सङ्क्रमित २७६ पुगेका छन् । ३६ जना भने निको भइसकेका छन् ।

  • कोरोनाले लियो ३ लाख ७ हजारको ज्यान, साढे ४५ लाखमा सङ्क्रमण

    कोरोनाले लियो ३ लाख ७ हजारको ज्यान, साढे ४५ लाखमा सङ्क्रमण

    काठमाडौं । कोरोना भाइरस संक्रमणले सन्सारभर ३ लाख ७ हजार ४ सय ८६ जनाको ज्यान गएको छ । अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार त्यसमध्ये सबैभन्दा धेरै मानिसको ज्यान गइसकेको छ । अहिलेसम्म विश्वभर ४५ लाख ३८ हजार ४ सय ६ जनामा संक्रमण देखिएको छ ।

    कोरोनाले अमेरिकामा १४ लाख ४२ हजार ८ सय १९ जनालाई सङ्क्रमित बनाएको छ । यस मुलुकमा कुल ८७ हजार ५ सय ३० जना मानिसको ज्यान गइसकेको छ ।

    कोरोनाले रसियामा २ लाख ६२ हजार ८ सय ४३ जनालाई संक्रमित बनाएको छ । अमेरिकापछि रुसमा धेरै सङ्क्रमित भेटिएका छन् । यस मुलुकमा २ हजार ४ सय १८ जनाको ज्यान गएको छ ।

    बेलायतमा २ लाख ३८ हजार संक्रमित पुगेका छन् । यो देशमा ३४ हजार ७८ को ज्यान गएको छ । स्पेनमा २ लाख ३० हजार १ सय ८३ संक्रमित छन् भने २७ हजार ४ सय ५९ जनाको मृत्यु भएको छ ।

    कोरोनाले इटलीमा संक्रमितको संख्या २ लाख २३ हजार पुगेको छ । मृतक संख्या ३१ हजार ६ सय १० पुगेको सन्चारमाध्यमले जनाएका छन् ।

    ब्राजिलमा २ लाख १८ हजार २ सय २३ जना संक्रमित भएका छन् र १४ हजार ८ सय १७ जनाको मृत्यु भएको छ ।

    फ्रान्समा १ लाख ७९ हजार ६ सय ३० जना संक्रमित भएका छन् र २७ हजार ५ सय ३२ जनाको मृत्यु भएको छ । नेपालमा २६७ जनामा सङ्कमण पुष्टि भएको छ । त्यसमध्ये ३६ जनाले कोरोना जित्न सफल भएका छन् ।

  • म्याक डोनाल्डसले बाड्ने भयो नि:शुल्क ‘फ्रेन्च फ्राइज्’

    म्याक डोनाल्डसले बाड्ने भयो नि:शुल्क ‘फ्रेन्च फ्राइज्’

    न्युयोर्क      

    फास्टफुड दुनियाँको चर्चित नाम म्याक डोनाल्डसले जुन महिनाको अन्त्यसम्म हरेक शुक्रबार ‘फ्रेन्च फ्राई’ नि:शुल्क दिने भएको छ । आज शुक्रबारदेखि लागू हुने गरी हरेक ‘फ्राई – डे (शुक्रबार) फ्राईज’ म्याकडोनाल्डसले आफ्ना ग्राहकलाई आगामी ७ हप्तासम्म नि:शुल्क दिने योजना अगाडि ल्याएको हो । ‘फ्रेन्च फ्राईज’ म्याकडोनाल्डस्को चर्चित परिकार मध्येको एक हो । ग्राहकले नि:शुल्क मिडियम साईजको ‘फ्रेन्च फ्राईज’ लिनको लागि १ डलरको अर्को कुनै खाना लिनु पर्ने छ ।  

    यसरी महामारी पछि आफ्ना उत्पादन नि:शुल्क दिने वा न्युन मुल्यमा बिक्री गर्ने फास्ट फुडहरुमा म्याकडोनाल्डस् मात्र पहिलो भने होईन । यस अगाडि बर्गर किङले जम्मा १ डलरमा ८ पिस चिकेन नगेट्स, चकी चिजले ५ डलर र ३ डलरको डेलिभरी र टेक आउट मेनु, क्रिस्पी क्रिमले एक दर्जन डुनट किन्दा अर्को एक दर्जन नि:शुल्क अनि आईस क्रिम स्टोर कार्भेलले हरेक बुधबारका दिन बाई वान गेट वान फ्री (एउटा किन्दा अर्को नि:शुल्क) कार्यक्रम सार्वजनिक गरिसकेको छ ।

  • १ सय ८ बर्षकी यी बृद्धाले संसार हल्लाउने भाईरसलाई जीवनमा दोश्रो पटक यसरी गरिन् परास्त

    १ सय ८ बर्षकी यी बृद्धाले संसार हल्लाउने भाईरसलाई जीवनमा दोश्रो पटक यसरी गरिन् परास्त

    न्युजर्सी          

    न्युजर्सीस्थित एक १०८ बर्षीया बृद्धाले कोरोनालाई जितेर सामान्य जीवनमा फर्किएकी छिन् । ती १ सय ८ वर्षीया बृद्धाले १०१ बर्ष पहिले सन् १९१८ को स्पेनिस फ्लुलाई समेत परास्त गरेको जनाइएको छ । पाँच करोड मानिसको ज्यान लिएको तात्कालिन स्पेनिस फ्लुको संक्रमण हुँदा सिल्भिया गोल्डसेल भर्खर ७ बर्षकी थिईन्  । १०१ बर्ष पछि सेल्भियाले विश्व हल्लाई रहेको कोरोनालाई पुन: परास्त गरेकी हुन् ।  

    न्युजर्सी राज्यको एलेनडेल शहरको एक नर्सिङ होम (बृद्धाश्रम) मा बसोबास गर्दै आएकी सिल्भियालाई गत महिना अप्रिलमा कोरोना संक्रमण भएको थियो ।अहिले सेल्भिया न्युजर्सी राज्यमा कोरोना निको हुने सबैभन्दा जेष्ठ नागरिकको सुचीमा परेकी छिन् । बिहीवार न्युजर्सी गभर्नर फिल मर्फीले सिल्भियाको स्वास्थ लाभमा खुसी ब्यक्त गर्दै उनको आत्मशक्तीको प्रसंसामा ट्विट गरेका थिए । कोरोना संक्रमणबाट मुक्त भएकी सिल्भियाले भनें “मैले कोरोनालाई जितें किनकी मसँग यस्लाई जित्छु भन्ने दृढ  विश्वास थियो” भन्ने प्रतिकृया दिएकी छिन् ।

    यस अगाडि अमेरिकाको ओरेगन राज्यस्थित दोश्रो विश्व युद्ध लडेका दुई सिपाहीले कोरोना जितेका थिए । ओरेगनका ९५ बर्षीया बिली केली र १०४ बर्षीया विलियम ल्याप्सचीले कोरोनालाई परास्त गरेका थिए ।

  • जनमुक्ती सेना नेपालद्वारा नेपाली भूमि अतिक्रमणकको विरोधमा भारतीय प्रधानमन्त्रीको पुत्ला दहन

    जनमुक्ती सेना नेपालद्वारा नेपाली भूमि अतिक्रमणकको विरोधमा भारतीय प्रधानमन्त्रीको पुत्ला दहन

    काठमाडौं । बहिर्गमित जनमुक्ती सेना नेपालले नेपाली भूमि अतिक्रमणकको विरोधमा बुधबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरेको छ । बुधबार साँझ बहिर्गमित जनमुक्ती सेना नेपालका अध्यक्ष रमेश बसेल (करन) वरिष्ठ उपाध्यक्ष योग्य बहादुर कार्की प्रदिप, र प्रबक्ता राजन थापा सुवाषको नेतृत्वमा काठमाण्डौ स्वएम्भु चोकमा नरेन्द्र मोदिको पुत्ला दहन गरि भूमि अतिक्रमणको बिरोध गरिएको प्रवक्ता थापाले जानकारी दिए । ‘नेपाली  भुमी लुट्ने भारतीय सरकार  र अतिक्रमित भूमि फिर्ता गर्न पहल नगर्ने नेपाल सरकारको बिरुद्ध सम्पुर्ण देशभक्त जनसमुदायहरु एक जुट भई राष्टिय स्वधिन्ताको लडाई लड्न हार्दिक अपिल गर्दछौ’, प्रवक्ता थापाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

    बिरोध दिउसो १२:४५ बजे लैनचौरस्थित भारतीय दुताबास अगाडिनै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदिको पुत्ला दहन गर्दै गर्ने पूर्व निर्धारित कार्यक्रम भए पनि ललितपुर, भक्तपुर र काठमाडौं कै बिभिन्न ठाँउबाट कार्यक्रममा आउने सहभागिलाई नेपाल प्रहरीले रोके पछि बिरोध कार्यक्रम साँझको समयमा झुक्याएर गर्नु परेको समेत                                                          बिज्ञप्तीमा जनाईएको छ । 

    देश बिदेशमा भएका आम नेपाली नागरिकलाई कोभिड १९ नोभेल कोरोना भाईरससँग जोगिदै नेपाली भूमि लुट्ने भारत सरकारका बिरुद्ध र अतिक्रमित भूमि फिर्ता गर्न पहल नगर्ने नेपाल सरकारको बिरुद्ध सम्पुर्ण देशभक्त जनसमुदायहरुलाई जन मुक्ती सेनाले अपिल समेत गरेको छ ।

  • चीनमा ६ लाख भन्दा धेरै मानिस कोरोना संक्रमित भएको गोप्य अभिलेख बाहिरियो

    चीनमा ६ लाख भन्दा धेरै मानिस कोरोना संक्रमित भएको गोप्य अभिलेख बाहिरियो

    न्युयोर्क

    कोरोना भाईरसको उद्गमस्थल चीनले कोरोना संक्रमितको अधिकारिक संख्या हालसम्म ८४ हजार २९ भएको जनाए पनि, लाखौं संक्रमितको संख्या चीनले लुकाएर थोरै संख्या देखाएको एक समाचार सार्वजनिक  भएको छ । चीनको चाङ्सास्थित सैनिक शिक्षालय, नेशनल युभर्सिटी अफ डिफेन्स टेक्नोलोजीबाट चुहिएको एक डाटाबेसका अनुसार चीनमा हालसम्म ६ लाख ४० हजार मानिस कोरोना संक्रमित भएको जनाईएको हो । कोरोना संक्रमणको बारेमा चीनस्थित सेनाले तयार पारेको उक्त  अभिलेख नाम गोप्य राख्ने सर्तमा संचार संस्था फरेन पोलिसी र १०० रिपोर्टर्सले हात पारेको जनाएको छ ।  

    नेशनल युनिभर्सिटी अफ डिफेन्स टेक्नोलोजीबाट प्राप्त अभिलेखमा पूर्ण विवरण नभए पनि अभिलेखमा थुप्रै कुरा भएको फरेन पोलिसीले जनाएको छ । गोप्य अभिलेखको हवाला दिदै फरेन पोलिसीले भनेको छ; “चिनमा हालसम्म ६ लाख ४० हजार संक्रमित भएको र संक्रमण युहानमा मात्र नभई २ सय ३० वटा शहरमा फैलिएको छ” ।  यध्यपी फरेन पोलिसी र १०० रिपोटर्सले प्राप्त गरेको उक्त गोप्य अभिलेखको बारेमा विश्व स्वास्थ संगठनले जानकारी नभएको भन्दै कुनै प्रतिकृया दिएको छैन ।

  • के-के छ सरकारको  आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा (पूर्ण पाठ)

    के-के छ सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा (पूर्ण पाठ)

    काठमाडौं । सरकारले मुलुकको आर्थिक पुनरुत्थानलाई केन्द्रमा राखेर आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ।

    संसद्को दुवै सदनको संयुक्त बैठकमा आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी वर्ष स्वास्थ्य, शिक्षा, रोजगारी र आर्थिक पुनरुत्थानमा केन्द्रित हुने जानाकारी दिईन् ।

    यस पटकको नीति तथा कार्यक्रममा लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालकै भूमि भएको उल्लेख गरिएको छ ।

     

     

     

     

  • बुढानीलकण्ठस्थित सरकारी बिद्यालय यज्ञमती माबिले गर्‍यो यस्तो सराहनीय सेवा

    बुढानीलकण्ठस्थित सरकारी बिद्यालय यज्ञमती माबिले गर्‍यो यस्तो सराहनीय सेवा

    सुदर्शन केसी, काठमाडौं

    बुढानीलकण्ठ नगरपालिका वडा नम्बर ११ पैयाटारस्थित यज्ञमती माद्यामिक बिद्यालयका थप २० अभिभावकलाई शुक्रबार राहत वितरण गरियो । पैयाटार युथ क्लबको पहलमा विद्यालय व्यवस्थापन समिति , अभिभावक शिक्षक संघ, विद्यालय शिक्षक संघ, स्थानीय समाजसेवीहरुको सहयोग तथा वडा कार्यालयको समन्वयमा विद्यालयका अभिभावकलाई राहत वितरण गरिएको पैयाटार युथ क्लबका अध्यक्ष राजन कार्कीले बताए । क्लबका सचिब पल्लभ पौडेलले दिएको जानकारी अनुसार स्थानीय समाजसेवीहरु मार्फत रुपैंया एक लाख छयहत्तर हजार छ सय पचहत्तर संकलन भएको थियो । करिब चार सय विद्यार्थी रहेको उक्त विद्यालयमा यस अगाडि ८० परिवार र शुक्रबार थप २० परिवार गरि जम्मा १०० परिवारलाई राहत वितरण गरिएको विद्यालयका प्रधानाध्यापक मुकुन्द बुढाथोकीले बताए । लकडाउनका कारण खाद्यान्न अभावले संकटमा परेका  विद्यालयका अभिभावक पहिचान गरि प्रति परिवारलाई ३० के जी चामल, १ के जी दाल, १ के जी नुन र आधा लिटर तेल प्रदान गरिएको उक्त अभियानका एक जना समाजसेवी दुर्गा भन्डारीले बताए । बु.न.पा. वडा न. ११ का वडा सद्स्य तथा सोही विद्यालयकको पुर्व विद्यार्थी साथै राहत संकलन  तथा वितरण अभियानमा समेत सम्लग्न  बिमल लामा राहत बितरण बारे भन्छन्; “यसरी १०० परिवारलाई राहत दिदा करिब १५० विद्यार्थीको  केही दिनको  भोजन  टर्नेछ” ।

    उक्त विद्यालयमा एउटै परिवारका तीन-चार जना समेत विद्यार्थी अध्ययन गर्ने गर्दछ्न । आर्थिक अबस्था राम्रो नभएर सरकारी विद्यालयमा आफ्ना  बच्चाहरु पढाए भए पनि यज्ञमती माबिको शिक्षाको स्तर कुनै महँगो प्राईभेट बिद्यालयको भन्दा कम नभएको भन्दै यस्तो अप्ठेरो अवस्थामा हामी जस्ता बिपन्नलाई बिद्यालयले नै राहत सहयोग गर्नु यज्ञमतीको ठुलो योगदान भएको एक अभिभाबकले प्रतिकृया दिए ।

    बिद्यालय प्रशासनले राहत बितरण गर्दा बर्तमान अवस्थामा खाध्य संकटमा परेका सबै अभिभाबक भन्दा पनि काठमाडौ जिल्ला भित्र आफ्नै घर नभएका र डेरामा बसोबास गर्दै आई खाध्य संकटको चपेटामा परेका अभिभाबक पहिचान गरी राहत बितरण गरेको जनाएको छ ।

  • न्युयोर्क नम्बर प्लेटको गाडीलाई भर्मोन्टको सडकमा रोकी फर्किएर जान भनियो

    न्युयोर्क नम्बर प्लेटको गाडीलाई भर्मोन्टको सडकमा रोकी फर्किएर जान भनियो

    न्युयोर्क

    कोरोना भाईरस संक्रमणसँग जोडेर अमेरिकामा क्षेत्रीयता जातीयताका आधारमा हुने भेदभाब र हिँसा बढ्दै गएको छ । गत शुक्रबार भर्मोण्ट राज्यमा यस्तै प्रकृतीको एक घटना घटेको छ । शुक्रबार भर्मोन्टमा न्युयोर्क राज्यको नम्बर प्लेट भएको अस्वेत गाडी चालकलाई बाटोमा रोकेर ‘तत्काल न्युयोर्क फर्की हाल्न भनिएको’ भर्मोन्ट प्रहरीले जनाएको छ । शुक्रबार घटेको उक्त घटनाको दोषीको खोजी भै रहेको प्रहरीले जनाएको छ । यो घटनामा कोलम्बिया युभर्सिटीका प्रोफेसर क्रिष ब्राउन माथि घटेको हो ।  घटना न्यु हेम्सायर राज्यको सिमानामा रहेको सानो हार्टफोर्ड शहरमा भएको बुधबार जारी प्रेस बिज्ञप्तीमा जनाईएको छ ।  

    प्रोफेसर ब्राउनको घर भर्मोन्टमा छ । उनी आफ्नो ११ बर्षीय छोराको साथ गाडीमा सवार अवस्थामा एउटा पिक अप ट्रकमा आएका दुई जनाले बीच बाटोमा रोकेर तुरुन्तै न्युयोर्क फर्किन भनेको प्रहरीले जनाएको छ । बाटोमा हात हल्लाएर गाडी रोक्न ईसारा गरे पछि न्युयोर्क नम्बर प्लेटको गाडी ब्राउनले सायद कुनै सहयोग माग्न रोकेको होला भन्ने सम्झेर गाडी रोकेको जनाईएको छ । “न्युयोर्क फर्किएर जाउ” भन्ने ब्यक्ती श्वेत जातीको पुरुष भएको जनाईएको छ । गाडी रोके पछि केही नस्लबादी शब्दहरु समेत  प्रयोग गरेर ‘भर्मोन्टमा बस्ने होईन, फर्की हाल’ भनिएको समेत प्रहरिले बिज्ञप्तीमा भनेको छ । घटनामा कुनै भौतिक क्षती भएको छैन ।

  • आवागमनमा झन् कडाइ, इ-पास र पहेलो रङको सबारी पास खारेज

    आवागमनमा झन् कडाइ, इ-पास र पहेलो रङको सबारी पास खारेज

    काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले लकडाउनलाई थप कडाइ गरेको छ । शुक्रबार एक सूचना जारी गर्दै जिल्ला प्रशासनले मुल सडक र भित्री सडकमा पनि अनावश्यक भिड हुने गरेको भन्दै त्यसमा कडाई गर्ने जनाएको जनाएको हो।

    सूचनामा लकडाउनमा प्रयोगमा ल्याइएको इ-पास र पहेलो रङको सबारी पास खारेज भएको र आजबाट जारी हुने पासको रङ नीलो हुने उल्लेख छ ।

    प्रशासनले जारी गरेको सूचना अनुसार एम्बुलेन्स, शव वाहन, औषधीजन्य सामाग्री, फोहोरका गाडी, फलफूल, तरकारी तथा खाद्यान्न बोक्ने सवारी साधनलाई बिना पास आवतजावत गर्न दिने जनाएको छ।

    निर्माण सामाग्री बोक्ने सवारी साधनलाई बेलुका ८ बजेदेखि बिहान ६ बजेसम्म चल्न दिइने भएको छ। यस्तै पास आवस्यक पर्ने व्यक्ति वा संस्थाले नियामक निकायमार्फत पासका लागि आवेदन दिन पाउने बताइएको छ ।

  • जापान र हङकङको भिसा भएकालाई सम्बन्धित देश जान दिने

    जापान र हङकङको भिसा भएकालाई सम्बन्धित देश जान दिने

    काठमाडौं । सरकारले जापान र हङकङको भिसा भएका र स्थायी बसोबास अनुमति पाएकाहरूलाई निजी खर्चमा सम्बन्धित देश जान दिने निर्णय गरेको छ।

    कोभिड—१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले अध्ययन वा अन्य कामको सिलसिलामा जापान र हङकङमा बस्दै आएका तर लकडाउनका कारण नेपालमै रहेका नागरिकहरुलाई चार्टर्ड फ्लाइटमार्फत पठाउने निर्णय गरेको हो ।

    लकडाउनका कारण जापान जानबाट रोकिएका ६ सय र हङकङको आइडी प्राप्त नागरिकलाई स्वास्थ्य परीक्षण, अध्यागमन प्रक्रिया पूरा गरी पठाउने निर्णय भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायण विडारीले बताए ।

  • सरकारको पहिलो प्राथमिकता देशलाई कोरोना मुक्त बनाउने

    सरकारको पहिलो प्राथमिकता देशलाई कोरोना मुक्त बनाउने

    काठमाडौं । सरकारले कोभिड १९ बाट देशलाई मुक्त बनाउनु पहिलो प्राथमिकता रहेको बताएको छ ।

    राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार संघीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कोभिड १९ बाट ज्यान जाने अवस्था आउन नदिन देशलाई कोरोना मुक्त बनाउने बताइन् ।

    त्यसका लागि सरकारले कोरोना संक्रमणको परीक्षण ब्यापक बनाउने, औषधि उपकरण र चिकित्सक लगायत स्वास्थ्यकर्मीको पर्याप्त व्यवस्था र परिचालन गर्ने राष्ट्रपति भण्डारीले बताइन् ।

  • शुक्रबार बिहानै थपिए ९ कोरोना संक्रमित, अब कुल २५८ मा सङ्क्रमण

    शुक्रबार बिहानै थपिए ९ कोरोना संक्रमित, अब कुल २५८ मा सङ्क्रमण

    काठमाडौं । नेपालमा शुक्रबार बिहानै ९ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौं र भेरी अस्पताल नेपालगञ्ज प्रयोगशालामा गरिएको परीक्षणमा मकवानपुरमा १ जना र बाँकेमा ८ जना संक्रमित थपिएको स्वास्थ तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

    स्वास्थ्य मन्त्रालयका अनुसार बाँके नैनापुर वडा १,३ र ५ का १८ देखि ३६ वर्षीय पुरुषहरुमा संक्रमण देखिएको छ ।

    मकवानपुरमा समेत भाइरसको संक्रमण देखिएको छ। मकवानपुरका ३७ वर्षीय पुरुषमा संक्रमण देखिएको हो। यससँगै नेपालभर २ सय ५८ मा संक्रमण देखिएको छ।

  • राष्ट्रपति र उपराष्ट्रपतिको कोरोना परिक्षण नतिजा नेगेटिभ

    राष्ट्रपति र उपराष्ट्रपतिको कोरोना परिक्षण नतिजा नेगेटिभ

    काठमाडौं । रास्ट्रपति विद्यादेवि भन्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनको कोरोना परीक्षणपछिको रिपोर्ट नेगेटिभ आएको छ । राष्ट्रपति र उपराष्ट्रपतिसहित उनको कार्यालयका कर्मचारीको पीसीआर परीक्षण गरिएको थियो । उनिहरु सबैको रिपोर्ट नेगेटिभ आएको अस्पतालले जनाएको छ ।

    शितलनिवासमा राष्ट्रपति भण्डारीसहित उनको कार्यालयमा रहने ३७ जनाको परिक्षण भएको हो । उपराष्ट्रपति कार्यालयमा उपराष्ट्रपति पुनसहित ६४ जनाको पीसीआर टेष्ट गरिएको बताइएको छ ।

    कार्यालयमा रहेका सरकारी कर्मचारी, सचिवालयका सदस्य, परिवारका सदस्य, सेना र स्वास्थ्यकर्मीलगायतको पीसीआर विधिबाट परिक्षण गरिएको हो । आज रास्ट्रपति तथा उपराष्ट्रपति संसद भवन जादैछन । यहाँ भित्र छिर्न कोरोना परिक्षण अनिवार्य गरिएका कारण रास्ट्रपति र उपराष्ट्रपतिको कोरोना परिक्षण गरिएको हो ।