Category: समाचार

  • डा. गोविन्द केसीद्धारा दार्चुलामा दुई दिने सत्याग्रहको घोषणा

    डा. गोविन्द केसीद्धारा दार्चुलामा दुई दिने सत्याग्रहको घोषणा

    काठमाडौं । स्वास्थ्य क्षेत्रका अभियन्ता डा. गोविन्द केसीले जेठ २० देखि दार्चुला जिल्लामा दुई दिने सत्याग्रह गर्ने घोषणा गरेका छन्।

    सोमबार विज्ञप्ति जारी गरेर सर्वसाधारणको जीविकाको उचित व्यवस्था गर्न र नेपाली भूमि फिर्ताको प्रक्रिया सुरु गर्न माग गर्दै दुई दिने सत्याग्रह घोषणा गरेका हुन् ।

    उनले दुर्गम जिल्लाका मानिसहरुको पीडाप्रति राज्यको ध्यानाकर्षण गराउँदै त्यहाँको शिक्षा, स्वास्थ्य, यातायात र जीविकाको उचित व्यवस्था गर्न तथा नेपालको सार्वभौमसत्ताको रक्षा गर्दै भारतबाट मिचिएको नेपाली भुमि फिर्ता गर्ने प्रक्रिया तत्काल शुरु गर्न गर्नु पर्ने उनको माग छ । त्यस्तै

    ‘तबसम्म हामीसित हालसम्म भएका सबै माग पूरा गर्न, त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानमा वरिष्ठताका आधारमा डिनलगायतका पदाधिकारी नियुक्तिलगायतका सम्झौता कार्यान्वयन गर्न तथा गण्डकी प्रदेशलगायत डडेल्धुरा, बर्दिवास, उदयपुर, इलाम लगायतका ठाउँमा सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया द्रुत गतिमा अघि बढाउन, गेटा मेडिकल कलेजलाई शीघ्र सञ्चालनमा ल्याउन तथा कर्णाली र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शीघ्र एमबीबीएस कार्यक्रम सञ्चालनको व्यवस्था गर्न माग गर्दर्छौं,’ उनले दार्चुलाबाटै सोमबार जारी गरेको विज्ञप्तिमा भनेका छन्।

  • महोत्तरीमा प्रहरीको गोली लागि एक जना मारिए

    महोत्तरीमा प्रहरीको गोली लागि एक जना मारिए

    महोत्तरी । महोत्तरीमा प्रहरीको गोली लागेर एक जनाको ज्यान गएको छ । प्रहरीले ज्यान जाने व्यक्ति लागुऔषध कारोवारी भएको दाबी गरेको छ।

    लागुऔषधध कारोबारीलाई समात्न गएको प्रहरीको कारवाहीमा रौतहट रामगोपालपुर नगरपालिका ७ सहसौलाका सुरेन्द्र यादवका १६ वर्षीय  छोरा राजन यादवको ज्यान गएको प्रहरीले जनाएको छ ।

    उनको खुट्टा र तिघ्रामा गोली लागेको थियो । गम्भीर घाईते उनको उपचारको क्रममा आइतबार राति मृत्यु भएको प्रहरिको दावी छ ।

    घटनामा दुई जनालाइ प्रहरीले नियन्त्रणमा समेत लिएको छ । पक्राउ पर्ने मध्ये एक मृतकका बुबा हुन् । प्रहरीका अनुसार लागुऔसध कारोबारको सुराकीका आधारमा प्रहरी घटनास्थल थियो । तर, स्थानीयको ठूलो समुहले प्रहरीमाथी आक्रमण थालेपछी प्रहरीले गोली चलाउनु परेको थियो ।

  • काठमाडौंमा भेटिएका संक्रमित टोखा र बुढानिलकण्ठका, टोखामा एक किराना पसले

    काठमाडौंमा भेटिएका संक्रमित टोखा र बुढानिलकण्ठका, टोखामा एक किराना पसले

    काठमाडौं । काठमाडौंको टोखा र बुढानिलकण्ठका तीन पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा सोमबार जारी गरिएको विज्ञप्ति अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा थप तीन जनमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो ।

    मन्त्रालयका अनुसार टोखा नगरपालिका ३ का २७ वर्षीय पुरुष, सोही नगरपालिकाको वडा ६ का ४१ वर्षीय पुरुष तथा बूढानीलकण्ठ नगरपालिका ३ का ३७ वर्षीय पुरुषमा कोरोनाभाइरसको संक्रमण देखिएको हो ।

    काठमाडौंको टोखा नगरपालिकामा किराना पसलेमा कोरोना संक्रमण पुष्टि भएको छ। ४१ वर्षीय पुरुषले महिना दिनअघि मात्र किराना पसल किनेर व्यापार थालेका थिए।

    टोखा नगरपालिकाले ‍कोरोना परीक्षणको दायरा बढाउने क्रममा किराना पसले र मेडिकल सञ्चालकको कोरोना परीक्षण गरेको थियो।

  • काठमाडौंमा तीन सहित ७२ सङ्क्रमित थपिए

    काठमाडौंमा तीन सहित ७२ सङ्क्रमित थपिए

    काठमाडौं । नेपालमा सोमबार बिहान ७२ सङ्क्रमित थपिएका छन् । काठमाडौंमा तीन जना सहित ७२ जना थप बिरामी पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका अनुसार धनुषामा ३, कपिलवस्तुमा ३ र काठमाडौंमा ३ जनामा कोरोना देखियो । यसैगरी बारामा २, रौतहटमा २६ जनामा कोरोना पुष्टि भएको छ । सप्तरिमा २, बर्दियामा 1, बाकेमा ४ र बारामा २१ थप बिरामी भेटिएका छन् ।

    दैलेखमा ७ जना बिरामी थपिएको मन्त्रालयले उल्लेख गरेको छ । अब नेपालमा ६७५ जनामा कोरोना पुष्टि भएको छ । १०८ जना निको भएका छन् ।

  • न्युयोर्कमा प्रहरीले आइतबार खोलाबाट दुई वटा मृत शरीर निकाल्यो

    न्युयोर्कमा प्रहरीले आइतबार खोलाबाट दुई वटा मृत शरीर निकाल्यो

    न्युयोर्क

    न्युयोर्क प्रहरीले आईतबार क्वीन्स र म्यानह्याटनको फरक फरक ठाँऊबाट  दुई वटा मानव मृत शरीर फेला पारेको छ । ती दुबै लास प्रहरीले पानीबाट तानेको हो । प्रहरीले एउटा लास फार रकवेस्थित रकवे प्वाईन्ट याट क्लबका पानीबाट पन्छिएर रहेको अवस्थामा किनारामा फेला पारेको हो । प्रहरीका अनुसार आईतबार ११ बजे बिहान २०१ स्ट्रिट र ब्रिजी प्वाईन्ट नजिक मृत शरीर फेला परेको हो ।  

    आईतबार नै प्रहरीले जर्ज वासिङ्टन  ब्रिजबाट आधा माईल उत्तर तर्फ खोला किनारामा अन्दाजी ६० बर्ष उमेरको अर्को मृत शरीर फेला पारेको जनाएको छ । प्रहरीले ती मानिसहरुको मृत्‍यु कसरी भएको हो, अनुसन्धान गरिने बताएको छ ।

    प्रहरीका अनुसार हरेक बर्ष स्प्रिङ्ग सिजनमा खोलाको पानीको तापक्रम बढदै जाँदा मृत शरीर भित्रको तापक्रम पनि बढ्दै जान्छ र पानीमा डुबेको लास सतहमा उत्रिने गर्दछ । यो बर्ष प्रहरीले ईस्ट रिभर र बेरिज नजिकको पानीबाट ८ वटा मृत शरिर निकाली सकेको जनाएको छ । प्रहरीले सन् २०१० को स्प्रिङ्ग सिजनमा २६ वटा लास पानीबाट निकालेको बताएको छ ।

  • न्यूयोर्कमा सम्पन्न भन्दा बिपन्न बसोबास गर्ने क्षेत्रमा अत्याधिक मानवीय क्षति

    न्यूयोर्कमा सम्पन्न भन्दा बिपन्न बसोबास गर्ने क्षेत्रमा अत्याधिक मानवीय क्षति

    मानिसलाई रोग लाग्न उसको वर्ग, रङ, लिंग, जाति, धर्म, उमेर र कदले पक्कै भेदभाब गर्दैन । मान्छेबाट मान्छेमा द्रुतगतिमा फैलने कोरोना भाइरस संक्रमण हुनलाई पनि यस्तो भेदभाब पक्कै हुँदैन । यद्यपी, न्यूयोर्क सहरमा यी मान्यता माथि प्रश्न उठेको छ । सहरको सम्पन्न क्षेत्रभन्दा विपन्न क्षेत्रमा संक्रमणबाट मृत्‍यु हुनेहरुको अनुपात उच्च देखिएको हो ।

    अधिकांश गरिबीको रेखा मुनीका जनता बसोबास गर्ने स्थान र समुदायमा अत्याधिक संक्रमित रहेको न्यूयोर्क सिटी हेल्थ डिपार्टमेण्टको नयाँ आँकडाले देखाएको छ । डिपार्टमेण्टको आँकडा अनुसार परिवारिक आम्दानी धेरै भएका मानिस बसोबास गर्ने समुदायमाभन्दा न्यून आय भएको ठाउँमा बस्ने मानिसको मृत्‍यु दोब्बर अनुपातमा भएको देखिएको छ । जुन ‘जिप कोड’मा बसोबास गर्ने ३० प्रतिशत बासिन्दा गरिबीको रेखा मुनी छन्, त्यो ठाउँका १ लाख बासिन्दा मध्ये २ सय ३२ जनाको कोभिड -१९ को कारण मृत्‍यु  भएको छ भने १० प्रतिशत मानिस मात्र गरीबीको रेखा मुनी रहेको जिप कोड इलाकामा बसोबास गर्ने १ लाख जनामा १ सय जनाको मात्र कोभिड -१९ को कारण मृत्‍यु भएको पाईएको छ । न्युयोर्क सिटी हेल्थ डिपार्टमेन्टद्वारा सार्बजनिक गरेको जिपकोड अन्तर्गतका मृतकका ती संख्याले न्युयोर्क सहरका बासिन्दालाई कसरी यहाँको आर्थिक असमानताले जन-जीवनलाई प्रभाबित गरेको छ भन्ने कुरा छर्लङ पारेको छ । अमेरिकामा कोरोना भाइरसको राष्ट्रिय एपिसेन्टर न्यूयोर्क शहरमा २० हजार ८ सय ६ को मृत्‍यु  भै सकेको छ ।

    १३ हजार मानिसको बसोबास रहेको ब्रुकलिनस्थित पूर्वी न्यूयोर्कको ‘स्टारेट सिटी हाउजिङ कम्प्लेक्स’मा बसोबास गर्ने ७६ जनाको कोभिड -१९ का कारण मृत्‍यु भै सकेको छ । यो क्षेत्रमा एक परिवारको वार्षिक  आम्दानी औषत ३७ हजार अमेरिकी डलर छ । क्वीन्सस्थित फार रकवे, फ्लसिङको केही भाग, उत्तर पूर्वी ब्रोंक्सको केही भाग लगायत ब्रुकलिनको कोनी आईल्याण्ड र क्वीन्सको ईस्ट एल्महर्स्टमा मृतकको संख्या निकै माथि छ । बिशेषगरी न्यूयोर्क सहरमा महामारीको समयमा काम गरी खानु पर्ने वर्ग र न्युन आय भएको बर्गले निकै ठुलो क्षति भोगेको देखिएको छ । 

    म्यानह्याटनको हार्लमदेखि दक्षिण भागमा भने कोरोनाले निकै कम मानवीय क्षति भएको छ । त्यस मध्ये पनि वार्षिक रुपमा एक लाख डलर माथि कमाई गर्ने समुदाय बस्ने म्यानह्याटन इलाकामा कोरोना संक्रमणका कारण सबैभन्दा कम मानिसको मृत्‍यु भएको छ । म्यानहाटनको सबैभन्दा तल्लो भाग (लोअर म्यानह्याटन) को दुई वटा जिपकोडमा आईतबारसम्म एक जनाको पनि मृत्‍यु भएको छैन । त्यो ठाउँ फाईनान्सियल डिस्ट्रिक नामले पनि परिचित छ । कोरोनाको कारण मृतक निकै कम भएको न्यूयोर्कको अर्को ठाउँ ब्रुकलिनस्थित ब्राउन स्टोन हो । ब्राउन स्टोनको औसत पारिवारिक वार्षिक आम्दानी  १ लाख ७५ हजार अमेरिकी डलर छ ।  

    न्यूयोर्क सहरका मेयर बिल दि ब्लाजियोले गत सोमबार भनेका छन्; ‘न्यूयोर्कको कतिपय स्थानमा कोरोनाको कारण मानिसहरुको धेरै मृत्‍यु हुनुको पछाडि लामो समयसम्म चिकित्सककोमा जाँच गर्न जान असमर्थ रहेको वर्ग रहेको र उनीहरुको शरिरमा सुगर, प्रेसर, दम, मुटु रोग भए पनि अनभिज्ञ बसेको कारण कोरोना संक्रमण हुँदा एकै पटक भाईरससँग लड्न असमर्थ भई मृत्‍यु भएको धेरै घटना देखियो ।’ मेयर ब्लाजियोले न्यूयोर्क वानसँग भनेका छन्;  ‘धेरै जसो न्यून आय भएका मानिस जसले न्यूनतमरुपमा स्तरिय स्वास्थ सेवा प्राप्त गर्न सकेका थिएनन्, त्यस्ता थुप्रैको संख्यामा मृत्‍यु हुन पुग्यो” ।

    अति गरिब समुदायमा संक्रमित र मृतक दुबैको संख्या उच्च रहेको छ । न्यूयोर्क सहरका पाँचवटै बोरोहरु मध्ये कोरोनाको कारण सबैभन्दा बढी मृतक ब्रोंक्समा, दोश्रोमा क्वीन्स, तेश्रोमा ब्रुकलिन, चौथोमा स्टेटन आईल्याण्ड र पाँचौमा म्यानह्याटन रहेको छ । ब्रोक्समा ४ लाख १ हजार, कुईन्समा २ लाख ८६ हजार, ब्रुकलिनमा ५ लाख २७ हजार, स्टेटन आईल्याण्डमा ५७ हजार र म्यानह्याटनमा २ लाख ५४ हजार मानिस गरीबीको रेखामुनी बसोबास गर्दछन् । न्यूयोर्कमा ४ जनाको परिवारको लागि वार्षिक ६८ हजार २ सय २० अमेरिकी डलर भन्दा कम आम्दानी गर्नेलाई गरीबीको रेखा मुनी गणना गरिन्छ ।  

    न्यूयोर्कको संक्रमित संख्यामा भने क्वीन्सको कोरोना भन्ने ठाँऊले अन्यत्रलाई उछिनेको छ । कोरोना पछि ब्रोक्सस्थित फोर्डम् दोश्रो नम्बरमा छ भने क्वीन्स कै एल्महर्स्ट क्षेत्र संक्रमितको संख्यामा तेश्रो र ब्रुकलिनको बोरो पार्क चौथो स्थानमा छन् ।   न्यूयोर्कमा आईतबारसम्म एक लाख ९४ हजार ६ सय ६७ संक्रमित र २१ हजार ३८ जनाको मृत्‍यु भइ सकेको छ ।  

    साथै रंङका आधारमा न्यूयोर्कमा ल्याटिनो  हिस्प्यानिक २२ दशमलब ८ प्रतिशत, काला जातीका १९ दशमलब ८ प्रतिशत, श्वेत जाती १० दशमलब २ प्रतिशत र एसियन ८ दशमलब  ४ प्रतिशतको मृत्‍यु भएको छ ।

    (एजेन्सीको सहयोगमा बिजय राम पौडेलले तयार पारेको रिपोर्ट)

    फोटो श्रोत : पोलिटिको

  • अमेरिका राजनीतिक भाईरसबाट संक्रमित भएको चीनियाँ बिदेश मन्त्रीको आरोप

    अमेरिका राजनीतिक भाईरसबाट संक्रमित भएको चीनियाँ बिदेश मन्त्रीको आरोप

    चीनले कोरोना भाईरसको मुल श्रोत उहान ल्याब नै हो भन्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आरोपमा असन्तुष्टी जनाउँदै अमेरिका राजनीतिक भाईरसबाट संक्रमित भएको आरोप लगाएका छन् । चीनका बिदेश मन्त्री वाङ यिले आईतबार एक पत्रकार सम्मेलनमा अमेरिका राजनीतिक भाईरसबाट संक्रमित भएको आरोप लगाउँदै कोरोना भाईरसको श्रोत पत्ता लगाउन चीन सधैंभरी खुल्ला रहेको र पूर्ण सहयोग गर्ने प्रतिबद्दता समेत ब्यक्त गरेका हुन ।

    बिदेश मन्त्री यिले पत्रकार सम्मेलनमा भनें “हाम्रो जानकारीमा आएको छ कि अमेरिकाको केही शक्ती चीन – अमेरिका सम्बन्धलाई शीत युद्धको किनारामा पुर्याउन उद्दत छन् । अमेरिकाका केही राजनीतिज्ञले भाईरसको बारेमा बनावटी हल्ला फैलाएको हुँदा चीनले सधैंभरी अन्तरराष्ट्रिय बैज्ञानिकहरुको समुहसँग मिलेर भाईरसको उत्पत्ती पत्ता लगाउन भरपुर सहयोग गर्ने छ” ।
    विश्वमा कोरोना महामारीका कारण ३ लाख ४२ हजारको मृत्‍यु र ५३ लाख संक्रमित भएको अवस्थामा विश्वभरका बैज्ञाननिकहरु कोरोना भाईरस जनावरबाट मानिसमा सरेको र चीनको उहान प्रान्तको बजारबाट पहिलो पटक कोरोना संक्रमण सुरु भएको विश्वास गर्दै आएका छन् ।

    एजेन्सी

  • नेपालमा थप १९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६०३ पुग्यो

    नेपालमा थप १९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६०३ पुग्यो

    काठमाडौं । नेपालमा थप १९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

    मोरङ एक, बारा एक, पर्सा दुई, रौतहट एक, सर्लाही एक, रुपन्देही ६, काठमाडौं सोह्रखुट्टेमा एक, नुवाकोट ककनी एक कपिलवस्तु तीन, गुल्मी एक गरी १९ जना थपिएकोस्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए।

    आज थपिएका १९ सहित नेपालमा संक्रमितको संख्या ६०३ पुगेको छ।

    डा देवकोटाका अनुसार मोरोङका १, बारा कलैयाका १, पर्साका ३, रौतहटका १, सर्लाहीका १, रुपन्देहीका ६, काठमाडौं सोह्रखुट्टेका १, नुवाकोट ककनीका १ जना संक्रमित देखिएका हुन्। यस्तै कपिलवस्तुका ३ जना र गुल्मीका १ गरी १९ जनामा संक्रमण देखिएको हो।

    नेपालमा हालसम्म कोरोनाका कारण ३ जनाको मृत्यु भएको छ।

  • स्वयम्भुमा प्रहरी सहायक निरिक्षक मृत भेटिए, टाउकोमा गोली

    स्वयम्भुमा प्रहरी सहायक निरिक्षक मृत भेटिए, टाउकोमा गोली

    काठमाडौं । प्रहरी बिट, स्वयम्भूका प्रहरी सहायक निरीक्षक (असई) विष्णु कार्कीलाई प्रहरीले मृत अवस्थामा फेला पारेको छ । आइतबार बिहान सुत्ने ठाउँमा उनी मृत भेटिएको काठमाडौं प्रहरी परिसर, टेकुले पुष्टी गरेको छ ।

    ती असईको कन्चटमा गोली लागेको छ । प्रारम्भिक अनुसन्धानमा असई कार्कीले आफैंले गोली हानेको हुनसक्ने देखिएको प्रहरी स्रोतको भनाई रहेको छ । घटनाका सम्बन्धमा पथ अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

  • टेक्सस फ्लुगरभिलमा एक नेपालीको मृत्‍यु

    टेक्सस फ्लुगरभिलमा एक नेपालीको मृत्‍यु

    देवराज न्यौपाने, टेक्सस

    टेक्सस, फ्लुगरभिल निवासी चन्द्र कडेलको ६३ बर्षको उमेरमा मृत्‍यु भएको छ । गत मेई २० तारिख बुधबारका दिन सुतिरहेकै अबस्थामा हृदयघातका कारण उनको दु:खद् निधन भएको पारिवारिक श्रोतले बताएको छ । २०१३ सालमा धरानमा जन्मिएका कडेल बिगत २० बर्षदेखि अमेरिकामा बसोबास गर्दै आएका थिए । नेपालमा गार्मेण्ट्स ब्यवसायी कडेल अमेरिकामा ग्रोसरी ब्यवसाय गर्दै आएका थिए । उनको अटोस्पी लगायतको प्रकृयाले गर्दा उनको अन्तिम संकार भने हुन बाँकी नै रहेको छ ।

    स्वर्गीय कडेलको श्रीमती, एक छोरा र दुई छोरी छन् । ग्रेटर अस्टिन नेपाली सोसाईटीले एक बिज्ञप्ती मार्फत “कडेल एक कर्मठ, सामाजिक र मृदुभाषी ब्यक्तित्वको रुपमा वहाँलाई सधैं सम्झिरहने छौं” भन्दै हार्दिक श्रद्धाञ्जली तथा परिवारमा समबेदना प्रकट गरेको छ ।

  • लस एन्जलस, शिकागो र वासिङ्टन डिसिमा कोरोना संक्रमित नघट्नुको कारण खोजी गर्दै सिडिसि

    लस एन्जलस, शिकागो र वासिङ्टन डिसिमा कोरोना संक्रमित नघट्नुको कारण खोजी गर्दै सिडिसि

    न्युयोर्क

    व्हाईट हाऊस कोरोना भाईरस टास्क फोर्सले अमेरिकास्थित “सेन्टर फर डिजिज कन्ट्रोल”  लाई लस एन्जलस, शिकागो र वासिङ्टन  डिसिमा कोरोना संक्रमित नघट्नुको के कारण हुन सक्छ ? अनुसन्धान गर्न भनेको छ । सहरहरु “सट डाऊन’ हुँदा हुँदै पनि लस एन्जलस, शिकागो र वासिङ्टन डिसिमा संक्रमितको दैनिक संख्या नघट्नु चासोको बिषय भएको टास्क फोर्स संयोजक डा. डेबोरा ब्रक्सले शुक्रबार बताएकी छिन् ।  शुक्रबार डा. ब्रक्सले प्रेस ब्रिफिङमा भनिन्; “वासिङ्टन डिसि बन्द छ । लस एन्जलस बन्द छ । सिकागो बन्द छ र पनि हामी देख्दै छौं कि संक्रमितको संख्यामा बृद्धि भै रहेको छ” । उनले थप प्रस्ट पार्दै भनिन् ‘मैले सिडिसिलाई भनि सकेको छु र सिडिसिले स्थानीय क्षेत्रसँग मिलेर पत्ता लगाउन सुरु गरिसकेको छ कि, त्यो नयाँ संक्रमण कताबाट भै रहेको छ र भविष्यमा रोक्नको लागि कसरी काम गर्न सकिन्छ ? भनेर ” 

    डा. ब्रक्सले शुक्रबार न्युयोर्क, डेट्रोईट, बोस्टन, एट्लान्टा र मायामीमा नाटकीय रुपमा संक्रमित घटेको समेत बताएकी छिन् ।

  • ‘क्यान नट डाई ईन द स्ट्रिट’ का गायकको सडकमा गाडी चलाउँदा चलाऊउँदै हत्या

    ‘क्यान नट डाई ईन द स्ट्रिट’ का गायकको सडकमा गाडी चलाउँदा चलाऊउँदै हत्या

    न्युयोर्क

    न्युयोर्क ब्रुकलिनमा बसोबास गर्दै आएका एक उदाउदो र्यापरको फिल्मी शैलीमा शुक्रबार राती हत्या भएको छ । हालै ‘क्यान नट डाई ईन द स्ट्रिट’ यानेकी ‘म सडकमा मर्न सक्दिन’ बोलको गीत गाएर चर्चामा आएका २३ बर्षीय के जे बाल्लाको गोली प्रहारबाट हत्या गरिएको हो । २२ तारिख शुक्रबार राती ब्रुकलिनमा गाडी चलाईरहेको अवस्थामा र्यापर बाल्लामाथि गोली प्रहार भएको हो ।  ब्रुकलिन ईस्ट न्युयोर्कस्थित आफ्नै निवासबाट एक माईलको दुरीमा राती १० बज्न केही मिनेट बाँकी हुँदा र्यापर बाल्लालाई ५ राउण्ड  गोली प्रहार गरिएको न्युयोर्क प्रहरीले जनाएको छ । बाल्लालाई आफ्नो गाडीसँगै सडकमा गुडिरहेको अर्को गाडीबाट फिल्मी शैलीमा गोली प्रहार गरिएको प्रहरीले जनाएको छ । र्यापर बाल्लालाई ब्रुकलिन युनिभर्सिटी मेडिकल सेन्टरमा शुक्रबार राती नै मृत घोषणा गरिएको थियो । 

    घटनाको समय र्यापर बाल्लासंगै गाडीमा रहेका अर्को एक जनाको गोली लागेर घाईते अवस्था उपचार भै रहेको बताईएको छ ।  घटनामा संलग्न कोही पनि हालसम्म पक्राउ परेको छैन ।

     

  • अमेरिकामा हरेक तीन कोरोना संक्रमित मध्ये एकमा लक्षण देखिदैन : सि डि सि

    अमेरिकामा हरेक तीन कोरोना संक्रमित मध्ये एकमा लक्षण देखिदैन : सि डि सि

    न्युयोर्क

    अमेरिकाना प्रत्येक ३ जना कोरोना संक्रमित मध्ये १ जना बिना लक्षण हुने गरेको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनद्वारा जारी  नयाँ निर्देशिकामा जनाईएको छ । सि डि सि को पछिल्लो अद्यावधिक  सुचनाका अनुसार अमेरिकामा ३५ प्रतिशत कोरोना संक्रमितमा लक्षण नै नदेखिने गरेको जनाईएको हो । सि डि सिले कोरोना लक्षण देखिने मानिसहरु मध्येबाट भने सुन्य दशमलब ४ प्रतिशतको र अति नै खराब अवस्था भएमा १ प्रतिशतसम्मको अनुपातमा मानिसको मृत्‍यु हुने जनाईएको छ ।  

    सि डि सिका अनुसार ६५ बर्ष मुनिका ३ दशमलब ४ प्रतिशत मानिसलाई अस्पताल भर्ना गरेरै उपचार गर्नु पर्ने र ६५ बर्ष माथिका ७ दशमलब ४ प्रतिशतलाई अस्पतालमा राखेर उपचार गर्नु पर्ने गरेको बताईएको छ । एजेन्सीका अनुसार ६५ बर्ष माथिका संक्रमित मध्ये १ दसमलब ३ प्रतिशतको मृत्‍यु हुने गरेको र ४९ बर्ष मुनिका संक्रमित मध्ये भने सुन्य दशमलब ५ प्रतिशतको मात्र मृत्‍यु हुने गरेको छ । सि डि सिले यी अंकहरु कोभिड -१९ को अनुसन्धान र ब्यबस्थापनको उदेश्यले तयार पारिएको र समय समयमा फरक हुने गरेको समेत जनाएको छ । गत अप्रिल २९ सम्मको आँकडाको आधारमा सि डि सिले केही नयाँ निष्कर्ष सार्वजनिक गरेको हो ।  

    सि डि सि का अनुसार ४० प्रतिशत कोरोना संक्रमण मानिस बिरामी देखिनु अगाडि नै अर्को मान्छेमा सरि सक्ने गरेको छ ।

  • कोरोना महामारी पछि न्युयोर्कमा शुक्रबार सबैभन्दा कम मानिसको मृत्‍यु

    कोरोना महामारी पछि न्युयोर्कमा शुक्रबार सबैभन्दा कम मानिसको मृत्‍यु

    न्युयोर्क      

    मार्च २४ पछि न्युयोर्कमा कोरोनाको कारण सबैभन्दा थोरै मानिसको मृत्‍यु भएको छ ।  न्युयोर्कमा गत २३ तारिख शुक्रबार ८४ जनाको मृत्‍यु भएको र यो संख्या मार्च २४ पछिको सबैभन्दा कम प्रति दिन मृतकको संख्या भएको गभर्नर कुमोले बताएका छन् । शनिबार आफ्नै निजी निवासमा आयोजित पत्रकार सम्मेलनमा गभर्नर कुमोले उक्त जानकारी दिएका हुन । उनले अस्पातल भर्ना हुनेको संख्यामा पनि उलेख्य गिरावट आएको बताउदै भनें “यो समाचार सुखद समाचार हो । हामीले कोरोना नियन्त्रणमा साँच्ची कै प्रगति गरेका छौं”। 

    न्युयोर्कमा शुक्रबारदेखि १० जनासम्म भेला हुन खुल्ला गरिएको छ ।

  • नेपालमा थपिए ७ सङ्क्रमित, दाङका व्यक्तिलाइ गुल्मीमा भेटियो कोरोना

    नेपालमा थपिए ७ सङ्क्रमित, दाङका व्यक्तिलाइ गुल्मीमा भेटियो कोरोना

    बुटवल । नेपालमा शनिबार साझ थप ७ जनामा कोरोना पुष्टि भएको छ । शनिबार रुपन्देही, कपिलवस्तु र दाङका सातजनामा शनिबार कोरोना पोजेटिभ देखिएको हो । प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको पीसीआर परीक्षणमा सात जनामा कोरोना पोजेटिभ देखिएको पुष्टि भएको छ ।

    सात जनामध्ये दाङ घर भएका ३३ वर्षका पुरुष गुल्मी मदानेका कोरोना संक्रमितको घरमा कोठा भाडामा बस्दै आएका व्यक्ति रहेको बताएको छ । उनी बैंकमा काम गर्छन ।
    शनिबार पुष्टि भएका मध्ये रुपन्देहीको तीनजना गैडहवा गाउँपालिकाका हुन् । अब नेपालमा कुल ५९१ सङ्क्रमित पुगेका छन् । शनिबार मात्र ७५ जना नयाँ बिरामी थपिए । शनिबार १९ जना भने निको भइ घर फर्किए ।

  • गाडी भाडा ब्यवसायमा सम्राट मानिएको हर्ट्जले कोरोना मार थेग्न सकेन : गर्‍यो बैंकरप्सी फाइल

    गाडी भाडा ब्यवसायमा सम्राट मानिएको हर्ट्जले कोरोना मार थेग्न सकेन : गर्‍यो बैंकरप्सी फाइल

    न्युयोर्क

    गाडी भाडा ब्यापारको दुनियाँमा चर्चित नाम ‘हर्ट्ज’ ले कोरोना महामारीको कारण ब्यवसाय टाट पल्टिएको घोषणा गरेको छ ।  १ सय २ बर्षदेखि गाडी भाडामा लगाउने काम गर्दै आएको हर्ट्जले शुक्रबार ‘बैंकरप्सी’ फाईल गरेको हो । एक दर्जन फोर्ड मोडलका गाडी सहित सन् १९१८ मा ब्यापार सुरु गरेको हर्ट्जले दोश्रो विश्व युद्ध लगायतका ठुला ठुला आर्थिक मन्दि समेत पचाएको थियो तर हर्ट्जले कोभिड -१९ को महामारीको आर्थिक भार भने थेग्न सकेन ।

    कोभिड १९ को कारण अकस्मात र नाटकीय रुपमा यात्राहरुमा आएको गिरावटले कम्पनीको आम्दानी र भविष्यको गाडी बुकिङ निकै घटेको कारण बैंकरप्सी फाईल गर्न बाध्य भएको कम्पनीले जारी गरेको बिज्ञप्तीमा जनाएको छ । कम्पनीले थप भनेको छ; “कहिलेदेखि आम्दानी हुन थाल्ने हो र कहिलेदेखि युज्ड कार बजार पूर्ण रुपमा बिक्रीको लागि तयार हुने हो ? भन्ने अनिश्चित भएपछि कम्पनी यो निर्णयमा पुगेको हो” ।  

    आफ्नो आम्दानीको तीन भागको दुई भाग बिमानस्थलबाट आउने यात्रुलाई गाडी भाडामा लगाएर ब्यापार गर्दै आएको हर्ट्जले कोभिड -१९ को महामारीका कारण आम्दानीमा ठुलो गिरावट आएको दाबी गरेको छ ।  अमेरिकामा गत बर्षको यही समयमा भन्दा यो बर्ष ९४ प्रतिशत कम यात्रुले हवाई  यात्रा गरेको टिएसएले जनाएको छ । कोभिड -१९ को महामारी पछि अमेरिकामा नाम चलेका ठुला कम्पनी जेसि पेनी, नेम्यान मार्कस, जेई क्रिउको साथमा व्हाईट्निङ पेट्रोलियम डायमन्ड अफ सोर ड्रिलिङ लगायतका उर्जा कम्पनीले समेत बैंकरप्सी फाईल गरिसकेका छन् ।

  • जुन महिनादेखि बेलायत भ्रमण गर्ने सबैले अनिबार्य क्वारेन्टिन बस्नै पर्ने

    जुन महिनादेखि बेलायत भ्रमण गर्ने सबैले अनिबार्य क्वारेन्टिन बस्नै पर्ने

    लन्डन

    कोरोना महामारीको कारण लकडाउनमा रहेको बेलायतको भ्रमण गर्ने अन्तरराष्ट्रिय यात्रुहरुले अनिबार्य क्वारेन्टिनमा बस्नु पर्ने भएको छ । महामारी पछि बिस्तारै खुकुलो हुँदै गएको बेलायतमा भ्रमण गर्ने अन्तरराष्ट्रिय यात्रुहरुलाई क्वारेन्टिनको नियम आगामी जुन ६ तारिखदेखि लागू हुने गृह सचिव प्रिती पटेलले शुक्रबार बताएकी छिन् । १४ दिनसम्म अनिबार्य क्वारेन्टिन बस्नु पर्ने नियम बेलायती नागरिकलाई समेत लागू हुने छ ।  

    आगामी जुन ६ तारिखदेखि बेलायती बिमानस्थलमा यात्रुहरुको संपर्क फोन नम्बर र बेलायतमा रहँदा बस्ने ठेगाना मागिने र कसैले क्वारेन्टिनको नियम तोडेमा १२ सय डलर वा त्यो भन्दा बढी जरिवाना गराईने सचिव पटेलले बताएकी छिन् । बेलायतमा शनिबारसम्म २ लाख ५६ हजार संक्रमित र ३६ हजार ५ सयको मृत्‍यु भै सकेको छ ।

  • नेपालमा २४ घण्टामा ३४९४ जनाको कोरोना परीक्षण

    नेपालमा २४ घण्टामा ३४९४ जनाको कोरोना परीक्षण

    काठमाडौं। नेपालमा कोरोनाको आशंकामा हालसम्म १ लाख ३२ हजार १ सय ९२ जनाको कोरोना परीक्षण भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार ४५ हजार ९ सय ५७ जनाको पिसिआर र ८६ हजार २ सय ३५ जनाको आरडिटिबाट परीक्षण भएको हो । जसमा पछिल्लो २४ घण्टामा ३ हजार ४ सय ९४ जनाको पिसिआरबाट नमूना परीक्षण भएको छ।

    मुलुकभर हाल ५ सय ८ जना अस्पतालको आईसोलेसनमा छन् भने ३२ हजार ५ सय ८७ जनालाई क्वारेन्टाइनमा राखिएको मन्त्रालयले जनाएको छ। संक्रमितको संख्या ५ सय ८४ पुगेको छ । जसमध्ये ३ जनाको मृत्यु भएको छ भने ७० जना उपचारपछि डिस्जार्च भएका छन्।

  • प्रचण्डलाई दिइयो अध्यावधिक नेपालको नक्सा

    प्रचण्डलाई दिइयो अध्यावधिक नेपालको नक्सा

    काठमाडौं । सरकारले नेकपा अध्यक्ष प्रचण्डलाई नेपालको अध्यावधिक नक्सा हस्तान्तरण गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नयाँ नक्सा हस्तान्तरण गरेकी हुन् । यस नक्सामा लिम्पियाधुरा, लिपुलेक र कालापानी समावेश गरिएको छ । मन्त्री अर्यालले शनिवार बिहान अध्यक्ष प्रचण्ड निवास खुमलटार पुगेर नेपालको राजनीतिक तथा प्रशासनिक नक्सा प्रदान गरेकी हुन्।

    उक्त अवसरमा अध्यक्ष प्रचण्डले नक्सा तयार पार्न खटिने मन्त्रीसहित मन्त्रालयका कर्मचारीलाई धन्यवाद दिएका थिए । मन्त्री अर्यालले आफूहरु नक्सा प्रकाशनको तयारी अवस्थामा नै रहेको र त्यसका लागि पार्टी र सरकारको निर्देशनको पर्खाइमा रहेको जानकारी दिएकी र्थिन् । सरकारले नयाँ नक्सा राजपत्रमा समेत प्रकाशन गरिसकेको छ । यसअघि कांग्रेस सभापति शेरबहादुर देउवालाई समेत नक्सा दिइएको थियो ।

  • गभर्नर कुमोलाई अदालतमा नालिस : शुक्रबारदेखि न्युयोर्कमा दश जनासम्म भेला हुन पाउने

    गभर्नर कुमोलाई अदालतमा नालिस : शुक्रबारदेखि न्युयोर्कमा दश जनासम्म भेला हुन पाउने

    न्युयोर्क

    न्युयोर्क राज्यमा १० जनासम्म भेला हुन खुल्ला गरिएको छ । यस अगाडि न्युयोर्क राज्यका गभर्नर एन्ड्रु कुमोले आगामी २५ तारिख सोमबार परेको मेमोरियल डे र केही धार्मिक कृयाकलापको लागि मात्र जमघट गर्न दिने संकेत गरेका कारण गभर्नरलाई उनको नीति भेदभाब पूर्ण भन्दै अदालतमा नालिस दिइएको थियो । कोरोना महामारीका कारण गत मार्च मध्यदेखि राज्यस्तरमा ‘लकडाउन’ गरिएको कारण न्युयोर्क सिभिल लिबर्टिज युनियनले गभर्नर कुमोलाई अदालतमा नालिस दिएपछि शुक्रबार साँझदेखि १० जनासम्म भेला हुन पाउने निर्णय गरिएको छ । यस अगाडि न्युयोर्कमा जारी लकडाउनको बिरोधमा न्युयोर्क सिटी हल अगाडि केही दिनदेखि बिरोध प्रदर्शनी समेत भएको थियो । गभर्नर कुमोले १० जनासम्म मानिस कानूनले बर्जित नगरेको काम बाहेकमा भेला हुन पाउने संसोधित कार्यकारी आदेशमा शुक्रबार हस्ताक्षर गरेका छन् ।  

    केही समयदेखीि गभर्नर कुमोद्वारा जारी गरिएको राज्यस्तरको लकडाउन र स्टे होम अर्डरको बिरुद्ध न्युयोर्क सिटीहल अगाडि बिरोध प्रदर्शन गर्दै आएकी लिण्डा बोफर्गन जो २ पटक बिरोध प्रदर्शनीको क्रममा पक्राउ परेकी थिईन । उनकै पक्षमा सिभिल लिबर्टिज युनियनले अदालतमा नालिस दिएको थियो ।

  • अमेरिकाका सम्पूर्ण गिर्जाघरहरु अत्यावश्यक सेवा अन्तर्गत राखेर खुला गर्न गभर्नरहरुलाई ट्रम्पको आदेश

    अमेरिकाका सम्पूर्ण गिर्जाघरहरु अत्यावश्यक सेवा अन्तर्गत राखेर खुला गर्न गभर्नरहरुलाई ट्रम्पको आदेश

    न्युयोर्क      

    राष्ट्रपति डोनाल्ड ट्रम्पले यसै सप्ताहन्तदेखि अमेरिकामा अत्यावश्यक सेवा अन्तर्गत राखेर सम्पूर्ण गिर्जाघरहरु खोल्न्नु पर्ने जिकिर गरेका छन् । राष्ट्रपति ट्रम्पले कोरोना महामारी बीच प्रार्थनाको लागि गिर्जाघरहरु खोल्ने बिषयमा आफ्नो प्रशासनले निर्देशिका समेत जारी गर्ने शुक्रबार बताएका छन् । ट्रम्पले भनेका छन्; “कतिपय राज्यका गभर्नरले रक्सी पसल र एबोर्सन क्लिनिकलाई अत्यावश्यक सेवा अन्तर्गत राखेर खोलेका छन् तर हाम्रो प्रार्थना गर्ने चर्चलाई छुटाए । यो काम ठीक भएन । त्यसैले म यो अन्यायलाई सुधार गर्दै सम्पूर्ण गिर्जाघरहरुलाई अत्यावश्यक सेवा भनेर खोल्न भन्छु”।

    राष्ट्रपति ट्रम्पले अमेरिका सबै राज्यका गभर्नरलाई आजैदेखि सम्पूर्ण गिर्जाघरहरु खुला गर्न भन्ने समेत बताउदै उनको आदेशमा सरुवा रोग नियन्त्रण केन्द्र (सिडिसि) ले निर्देशिका जारी गर्ने बताएका हुन् । यो बिषयमा कुनै गभर्नरको केही प्रश्न भए उनलाई फोन गर्न सक्ने तर गभर्नरहरु सफल नहुने ट्रम्पले बताएका छन् ।  

    राष्ट्रपति ट्रम्पले गभर्नरहरुले यस्तो महत्वपूर्ण अत्यावश्यक निष्ठाको ठाउँ खुल्ला गरेर राख्नु पर्ने बताउँदै उनको प्रशासनको महामारीमा गिर्जाघरहरु खोल्ने निर्णय नमान्ने गभर्नरलाई नियन्त्रणमा लिने समेत शुक्रबार ह्वाईट हाऊसबाट भनेका छन् । अमेरिकामा शुक्रबारसम्म १५ लाख ९० हजार संक्रमित र ९५ हजारको मृत्‍यु भै सकेको छ ।

  • अमेरिकास्थित युनिभर्सिटी अफ क्यलिफोर्नियाले विद्यार्थी भर्नाको लागि हटाउने भयो; एसएटि र एसिटि ब्यबस्था

    अमेरिकास्थित युनिभर्सिटी अफ क्यलिफोर्नियाले विद्यार्थी भर्नाको लागि हटाउने भयो; एसएटि र एसिटि ब्यबस्था

    क्यालिफोर्निया

    अमेरिकास्थित विश्व कै प्रतिष्ठित मध्येको युनिभर्सिटी अफ क्यालिफोर्नियाले विद्यार्थी भर्ना लिँदा प्रयोग गर्दै आएको एसएटि (स्याट) र एसिटिलाई आफ्नो भर्ना मापद्ण्डबाट हटाउने निर्णय गरेको छ । युनिभर्सिटीले बिहीवार एसएटि र एसिटिलाई मापद्ण्डबाट हटाउन युनिभर्सिटी बोर्डमा मतदान गरिएको थियो । बिहिबार विश्व बिद्यालयकी अध्यक्ष जनेट नापोलिटानोको एसएटि र एसिटि हटाउने प्रस्ताब माथि ६ घण्टाको छलफल पछि बोर्डको पूर्ण बहुमतले सन् २०२४ सम्म भर्नाको लागि ब्याध्यात्मक मापदण्ड एसएटि र एसिटि हटाउने निर्णय गरेको हो । विश्वकै प्रतिष्ठित मध्येको युनिभर्सिटीको यो निर्णयले कलेज भर्ना परिक्षाको दुनियाँको अरबौं रकमको ब्यवसायमा भने महत्वपूर्ण धक्का लाग्ने बाताईएको छ ।  

    सन् २०२४ सम्म क्यालिफोर्निया बाहिरको अन्य राज्य र अमेरिका बाहिरका देशबाट युनिभर्सिटी अफ क्यालिफोर्नियामा अध्ययनका लागि आउने विद्यार्थीहरुले हाललाई एसएटि र एसिटिको स्कोर प्रयोग गर्न सकिने जनाईएको छ । विश्वबिद्यालयले सन २०२१ को फल सिजनको लागि कोभिड -१९ को कारण एसएटि र एसिटिको ब्यबस्था हटाई सकेको छ भने सन् २०२४ सम्म पूर्ण रुपमा त्यो ब्यबस्था हटाएर आफ्नै नयाँ भर्ना परिक्षा संयन्त्र बिकास गरिने जनाईएको छ । यो विश्वबिद्यालय अन्तर्गत ९ वटा कलेजहरु छन्  ।

  • नेपालमा थप २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

    नेपालमा थप २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

    काठमाडौं । थप २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयको पछिल्लो अपडेट अनुसार बाँके जिल्लामा १४ जनामा संक्रमण पुष्टि भएको छ।

    संक्रमित मध्ये भेरी अस्पतालमा परीक्षण गरिएका १८ देखि ६१ वर्षका पुरुषहरु छन्। जसमध्ये बाँकेको नरैनापुर गाउँपालिकाका १३ जना रहेका छन्।

    त्यस्तै संक्रमित मध्ये कैलालीका तीन जना रहेका छन्। कैलालीका १९, २३ र २६ वर्षका व्यक्तिमा संक्रमण पुष्टि भएको छ।

    त्यस्तै मोरङ रतुवामाईका एक जना पुरुषमा पनि संक्रमण पुष्टि भएको छ।

    त्यस्तै आज डढेल्धुरा र बैतडीमा नयाँ संक्रमण पुष्टि भएको छ। डडेल्धुराका २८ वर्षका पुरुष र बैतडीका २२ वर्षका पुरुषमा संक्रमण पुष्टि भएसँगै संक्रमण फैलिने जिल्ला ४० पुगेका छन्।

    योसँगै संक्रमितको संख्या पाँच सय सात पुगेको छ।

  • संविधान संसोधन प्रस्ताव संसदमा लैजाने सरकारको निर्णय

    संविधान संसोधन प्रस्ताव संसदमा लैजाने सरकारको निर्णय

    काठमाडौं । सरकारले संविधान संशोधनको प्रस्ताव प्रतिनिधि सभामा पेस गर्ने भएको छ ।

    प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले संविधान संशोधन प्रस्ताव संसदमा पेश गर्ने निर्णय गरेको हो ।

    नेपालको नयाँ नक्सा कार्यान्वयन गर्न संविधानको अनुसूचीमा रहेको निशान छाप परिवर्तन गर्न संविधान संशोधन गर्नुपर्ने ठहरसहित निर्णय गरिएको स्रोतले जनाएको छ ।

    निर्णय अनुसार नयाँ नक्सा कार्यान्वयनका गर्न संविधानको अनुसूची ३ मा रहेको निशान छाप संशोधनका लागि संविधान संशोधनको प्रस्ताव संसदमा लैजाने छ । संविधान संसोधनको प्रस्ताव दुईतिहाई बहुमतबाट मात्र पारित हुनसक्छ ।

    प्रतिनिधि सभाको बैठक जेठ १३ गतेका लागि बोलाइएको छ।

    सरकारले ल्याएको नयाँ नक्सा बुधबार सार्वजनिक गरिएको थियो । नयाँ नक्सामा भारतबाट अतिक्रमित लिम्पियाधुरा, लिपुलेक र कालापानी समावेश गरिएको छ ।

  • कोरोनाबाट मृत्यु भएकी महिलाको शिशुसहित आफन्त डिस्चार्ज

    कोरोनाबाट मृत्यु भएकी महिलाको शिशुसहित आफन्त डिस्चार्ज

    काठमाडौं । नेपालमा कोरोनाबाट निधन भएकी पहिलो संक्रमित महिलाको नवजात शिशु र उनका आफन्तहरु अस्पतालबाट डिस्चार्ज भएका छन् ।

    कोरोना परीक्षणमा शिशुसहित परिवारका सबै सदस्यमा कोरोना नेगेटिभ देखिएको थियो ।

    ति नवजात शिुश र परिवारलाई आज आइसुलेसन वार्डबाट डिस्चार्ज गरिएको धुलिखेल अस्पतालले जनाएको छ । वैशाख २४ गते त्रिवि शिक्षण अस्पतालमा छोरालाई जन्म दिएर डिस्चार्ज भई घर गएकी सुत्केरीको स्वास्थ्यमा समस्या भएपछि उपचारका लागि धुलिखेल ल्याउँदै गर्दा जेठ २१ गते मृत्यु भएको थियो ।

  • नेपालमा कोरोनालाई जित्ने बिरामीको संख्या ७० पुग्यो

    नेपालमा कोरोनालाई जित्ने बिरामीको संख्या ७० पुग्यो

    काठमाडौं । एकै दिन २१ जना डिस्चार्ज भएसँगै नेपालमा कोरोनालाई जित्ने बिरामीको संख्या ७० पुगेको छ । बाँकेका २१ जना कोरोना संक्रमित शुक्रबार बिहान निको भएर घर फर्किएका हुन् ।

    बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा रहेको कोभिड १९ को आइसोलेसनमा उपचाररत उनीहरु लगातार दोस्रो पटकको कोरोना परीक्षणको रिपोर्ट नेगिटिभ आएपछि शुक्रबार बिहान डिस्चार्ज भएको अस्पतालले जनाएको छ ।

    नेपालमा एकै दिन ठूलो संख्यामा बिरामी डिस्चार्ज भएका हुन् । यसले सकारात्मक सन्देश भने प्रवाह गर्नेछ । आज डिस्चार्ज भएकाहरु नेपालगञ्ज उपमहानगरालिका वडा नम्बर ८ का हुन्। जहाँ २५ संक्रमित भेटिएका थिए।

    डिस्चार्ज हुनेमध्ये बाँकेका पहिलो पटक कोरोना देखिएका मुस्लिम धर्मगुरु ६० वर्षिय पुरुष समेत छन् । वैशाख १९ गते पहिलो संक्रमित भेटिएका थिए। बाँकेमा कुल संक्रमितको संख्या १०१ पुगेको छ।

    बाँकेको नरैनापुरमा मात्र संक्रमित हुनेको संख्या एक मृत्युसहित ७४, नेपालगञ्ज उपमहानगरपालिकामा २५ र खजुरा गाउँपालिका एक नर्ससहित दुई जना संक्रमित छन्। नेपालमा शुक्रबार बिहानसम्म कुल ४८७ जनामा कोरोना पुष्टी भएको छ । ३ जनाको ज्यान गएको छ ।

  • साउदी अरबमा १३६४ नेपालीमा कोरोना, ७ को गयो ज्यान

    साउदी अरबमा १३६४ नेपालीमा कोरोना, ७ को गयो ज्यान

    काठमाडौं । कोरोना कहरका बीच साउदी अरवमा ७ जना नेपालीको यस भाइरसका कारण निधन भएको छ । यस मुलुकमा कोरोना संक्रमित नेपालीको संख्या एक हजार ३ सय ६४ पुगेको त्यहास्थित नेपाली दूतावासले जनाएको छ ।

    दूतावासका अनुसार राजधानी रियाद क्षेत्रमा २९९ जना, पूर्व क्षेत्रमा ६९५, कसिम क्षेत्रमा १९ जना, अन्य क्षेत्रमा ३ जना छन् । उनीहरुमध्ये १७ जना महिला छन् । जेद्दा १७६, मक्का ६५, मदिना ७२, जाजान क्षेत्रमा ३३ र ताबुकमा २ जना संक्रमित भएको तथ्यांक छ ।

    साउदी अधिकारीहरुका अनुसार संक्रमणबाट निको हुने समेत उत्तिकै छन् । कोरोनाको संक्रमण भएकासँग टेलिफोन सम्पर्कमा रहनेलाई उच्च मनोबल दिने र हौसला प्रदान गर्ने प्रकारका कुराकानी गर्न समेत दूतावासले आग्रह गरेको छ ।

    रूघाखोकी, ज्वरो तथा स्वासप्रश्वासको समस्या भएमा आफ्नो कम्पनीको व्यवस्थापनलाई अनुरोध गरी स्वास्थ्य जाँच गराउन साउदीमा रहेका नेपालीलाई दूतावासले आग्रह गरेको हो ।

    कोरोनाबाट समस्यामा परेका नेपालीहरूको विवरण सङ्कलन गर्न नेपाली राजदूतावासले जेष्ठ १ गतेदेखि अनलाइन फारम समेत सार्वजनिक गरेको छ ।

    उक्त फारम नेपाली राजदूतावासको वेबसाइटमा गई भर्न सकिन्छ । यसअघि टेलिफोन, ह्वाट्सएप तथा इमेलबाट आफ्नो विवरण टिपाएकाले फारम भर्न नपर्ने दुतावासले उल्लेख गरेको छ । कोरोना कहरका बीच घर फर्कन चाहने धेरै नेपाली रहेको मुलुकमध्ये साउदी पनि एक हो ।

  • नेपालमा थपिए ३० कोरोना संक्रमित, कुल संक्रमितको संख्या ४८७

    नेपालमा थपिए ३० कोरोना संक्रमित, कुल संक्रमितको संख्या ४८७

    काठमाडौं । शुक्रबार बिहान थप ३० जना व्यक्तिमा कोरोनाभाइरसको संक्रमण देखिएको छ।

    शुक्रवार बिहान स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको वक्तव्य अनुसार काठमाडौं र चितवनमा गरिएको परीक्षणमा नयाँ संक्रमण थपिएका हुन् ।

    संक्रमण पुष्टि भएकाहरुमा नवलपरासी, चितवन, कपिलवस्तु, सर्लाहीका रहेका मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जनाएका छन्। तीमध्ये १५ जना सर्लाहीका रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

    बाँकी संक्रमितहरूमध्ये कपिलवस्तुका ९, नवलपरासी सुस्ताका ३, चितवनका २ र नवलपरासी सुस्तापूर्वका एकजना छन्।

    सर्लाही गाडैता नगरपालिका ८, ९, ११, १३ र १४ तथा रामनगर बहुअर्वा गाउँपालिका ७ निवासी २२, २२, २४, २५, २५, २७, ३२, ३४, ३५, ३८, ३८, ३८ र ३९ वर्षका पुरुष तथा १८ वर्षिय महिलामा करोना देखिएको हो ।

    कपिलबस्तु वाणगंगा नगरपालिका मायादेवी गाउँपालिका निवासी २४, २५, २७, २९, ३४, ३६, ४५ र ५३ वर्षिय पुरुषहरु तथा ८ वर्षिया बालिकामा पनि कोरोना देखिएको छ ।

    नवलपरासी वर्दाघाट सुस्ता पूर्व विनय त्रिवेणी गाउँपालिका ६ का ४५ वर्षका पुरुष, भरतपुर महानगरपालिका ६ केसरबाघ चितवनका ७४ वर्षका पुरुष र ७३ वर्षकी महिलामा कोरोना संक्रमण देखिएको छ ।

    नवलपरासी सुस्ता गाउँपालिका ५ र रामग्राम नगरपालिका ३ र १८ का ३३ र ३५ वर्षका पुरुष तथा १५ वर्षिय महिलामा पनि कोरोना संक्रमण देखिएको छ ।

    यो सँगै संक्रमितको संख्या ४ सय ८७ पुगेको छ । कुल संक्रमितमध्ये हालसम्म ४९ जना उपचारपछि निको भएका छन्। संक्रमण देखिएका मध्ये ३ जनाको निधन भएको छ।

  • दुई महिने लकडाउनमा अमेरिकाका अरब पतिहरुले कमाए अर्को ४ सय ३४ अरब अमेरिकी डलर

    दुई महिने लकडाउनमा अमेरिकाका अरब पतिहरुले कमाए अर्को ४ सय ३४ अरब अमेरिकी डलर

    कसैको नराम्रो अर्कोको लागि राम्रो हुन्छ भन्ने भनाई अमेरिकाको अरबपतिमा लागू भएको छ । एमेजोनका मालिक जेफ बिजोस र फेसबुक टाईकुन मार्क जुकरबर्ग लगायतका केही अर्बपतिमा यस्तै भनाई चरितार्थ भएको छ । विश्वभर कोरोना महामारीको कारण ५० लाख ७५ हजार मानिस संक्रमित भए, ३ लाख ३१ हजार मानिसको मृत्‍यु भयो ।  अमेरिकामा मात्र १५ लाख ७३ हजार संक्रमित भए ९४ हजार ५ सयको मृत्‍यु भयो ।  करोडौं मानिसले रोजगारी गुमाए, लाखौंले ब्यापार ब्यवसाय गुमाए । करोडौंको भविष्य अन्योलमा छ । तर एमेजोन र फेशबुकका मालिकद्वय जेफ बिजोस र मार्क जुकरबर्गले आफ्नो सम्पत्तिमा अरबौं धन थप्न सफल भए । मार्च महिनाको मध्येदेखि मेई महिनाको मध्य भित्र लकडाउनको २ महिनाको अन्तरालमा एमेजोन मालिक जेफ बिजोसले ३४ अरब ६ करोड अमेरिकी डलर थप्न सफल भए भने फेसबुक मालिक मार्क जुकरबर्गले आफ्नो सम्पत्तीमा २५ अरब अमेरिकी डलर थप्न्न सफल भएको “अमेरिकन्स फर ट्याक्स फेयरनेस एन्ड द इन्स्टिचुट फर पोलिसी स्टडिज” ले जनाएको छ । उक्त रिपोर्टका अनुसार लकडाउनको दुई महिनामा अमेरिकाका अरबपतिहरुले १५ प्रतिशत थप सम्पत्ति थप्न सफल भएका छन् । अमेरिकाका कुल ६ सय अरबपति मध्ये पाँच अरबपति जेफ बिजोस, मार्क जुकरबर्ग, बिल गेट्स, वारेन बफेट, ल्यारी ईलिसनले गरेर ७६ अरब अमेरिकी डलर महामारीको लकडाउनमा कमाई गरेका छन् ।

    अर्का अरबपति ईलन मस्कले आफ्नो सम्पत्तीमा ४८ प्रतिशत बृद्धि गरेर ३६ अरबको सम्पत्ति पुर्‍याउन सफल भएका छन् ।  जुकरबर्गले ४६ प्रतिशत  बृद्धि गरेर ८० अरब सम्पत्तिको मालिक बन्न सफल भएका छन् ।  बिजोसले लकडाउनको समयमा ३१ प्रतिशत थपेर १ सय ४७ अरब सम्पत्तिको मालिक बनेका छन् । बिजोसकी पूर्व पत्नी म्याकेन्जी बिजोस जो हालै जेफ बिजोससँग छुट्टीएकी थिईन, उनको पनि सम्पत्तिमा बृद्धि भएर ४८ अरब अमेरिकी डलरको सम्पत्ति पुगेको छ ।  

    समाचार श्रोत : एन बि सि

  • ४५७ पुगे नेपालमा कोरोना सङ्क्रमित, बिहिवार फेरि थपिए ३ जना

    ४५७ पुगे नेपालमा कोरोना सङ्क्रमित, बिहिवार फेरि थपिए ३ जना

    काठमाडौं । नेपालमा कुल कोरोना सङ्क्रमितको सङ्ख्या ४५७ पुगेको छ । बिहिवार साझ थप ३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ती निकाल्दै बाँके र कपिलवस्तुमा ३ जनामा कोरोना संक्रमण देखिएको जनाएको हो ।

    बाँकेको नरैनापुर-३ का ३२ वर्षीय पुरुष र खजुराकी ४२ वर्षीय महिलामा र कपिलवस्तु सद्दोधन गाउँपालिकाका १९ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो।

    संक्रमितहरू सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरू स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४५७ पुगेको छ। कुल संक्रमितमध्ये हालसम्म ४९ जना उपचारपछि निको भएका छन्। संक्रमण देखिएका मध्ये ३ जनाको निधन भएको छ।