Category: समाचार

  • लकडाउनकै बीच हजारौं मानिसले काठमाडौं छाड्दै

    लकडाउनकै बीच हजारौं मानिसले काठमाडौं छाड्दै

    काठमाडौं । स्थानीय तह र केन्द्रमा रहेका सांसदहरुको पहलमा काठमाडौंमा अलपत्र परेका मानिसलाई घर पठाउन थालिएको छ । यद्दपी यो सरकारको घोषित नीति भने होइन ।

    काठमाडौंबाट नेता तथा मन्त्रीहरुले गाडी रिजर्भ गरेर मजदुर तथा नागरिकलाई घर पठाउन थालिएको करीव एक साता भएको छ ।

    उर्जामन्त्री वर्षमान पुनको पहलमा ४ हजारभन्दा बढी व्यक्तिलाई गाउँ पठाइएको छ ।

    उनले बसमा आउँदै गरेका मानिसलाई नरोक्न स्थानीय प्रशासनलाई फोन गरेरै काठमाडौंबाट पठाएका थिए ।

    मंगलबार दोलखा तथा रामेछापतर्फ हजारौं मानि घर फर्किए । उनीहरुलाई पनि स्थानीय तहले बसको व्यवस्था गरेको बताइएको छ ।

    मंगलबार नै अर्घाखाँचीमा नेता टोपबहादुर रायमाझीको पहलमा बस गएका छन् । सरकारले लकडाउन अवधिमा घरमै बस्न आग्रह गरेपनि हजारौं मानिस सडकमा जम्मा भएर बसको प्रतिक्षा गर्ने गरेका छन् ।

    प्रशासनले समेत अब ती नागरिकलाई नरोक्ने अघोषित नीति लिएको देखिन्छ । सम्भव भएसम्म व्यवस्थापन गरी घरमै पठाउने संकेत प्रशासनले गरेको छ ।

    यसको मतलव नेपालमा अझै लकडाउन कडा र लामो हुने सम्भावना छ । त्यसकारण शहरी मजदुरलाई सरकारले भित्रभित्रै घर पठाउन लागेको छ । यसरी घरमा पुगेका व्यक्ति पनि क्वारेन्टाइनमा बस्नुपर्छ ।

    यसैबीच, काठमाडौंबाट हिँडेका मजदुर बोकेको बस रामेछापमा दुर्घटना भएको छ ।

    दुर्घटनामा झण्डै १ दर्जन घाइते भएका छन् । बा २ ख ६८१८ नम्बरको बस बुधबार बिहान ४ बजे मन्थली नगरपालिका–६ मा दुर्घटना भएको हो । यो बस दोलखातर्फ जादै थियो ।

  • अमेरिकामा ६० दिनका लागि ग्रिन कार्ड बन्द

    अमेरिकामा ६० दिनका लागि ग्रिन कार्ड बन्द

    न्युयोर्क

    राष्ट्रपति डोनाल्ड ट्रम्पले ६० दिनको लागि अमेरिका आप्रवासन बन्द गर्ने घोषणा गरेका छन् । ट्रम्पले आफूमा निहित कार्यकारी अधिकार प्रयोग गर्दै उक्त घोषणा गरेका हुन् । ट्रम्पको उक्त घोषणापछि आगामी ६० दिनको लागि अमेरिका आउने आप्रबासीको लागि ग्रिन कार्ड जारी हुने छैन । कोरोना भाईरसका कारण लाखौं अमेरिकनले रोजगारी गुमाएको कारण आफ्नो प्राथमिकता अमेरिकन नागरिकको लागि रोजगारी भएको हुँदा तत्कालको लागि अमेरिका आप्रबासन बन्द गरेको ट्रम्पले मंगलवार आफ्नो नियमित प्रेस ब्रिफिङमा बताएका हुन् । यस अगाडि उनले सोमबार आप्रबासन सम्बधी कार्यकारी आदेश जारी गर्ने जनाएका थिए ।  

    तत्कालका लागि ग्रिन कार्ड जारी बन्द हुने भएपनि अस्थाई कामदारहरु भने अमेरिका आउन सक्ने उनले बताएका छन् । ट्रम्पले ६० दिन पछिको अवस्था मुल्याङ्कन गरेर यो बन्द अवधि थप्ने या फुकाउने निर्णय गर्ने समेत बताएका छन् ।

  • न्युयोर्क शहरमा कोरोना संक्रमण एसियनलाई न्युन, अश्वेत जातीमा उच्च : बृस्तित विवरण

    न्युयोर्क शहरमा कोरोना संक्रमण एसियनलाई न्युन, अश्वेत जातीमा उच्च : बृस्तित विवरण

    न्युयोर्क      

    विश्वकै कोरोना एपिसेन्टर न्युयोर्क राज्यमा मंगलवारसम्म २ लाख ५७ हजार संक्रमित र १९ हजार ७ सयको मृत्‍यु भै सकेको छ ।  सिंगो न्युयोर्क राज्यमा संक्रमितको संख्या  २ लाख ५७ हजार भएपनि म्यानह्याटन, क्वीन्स,   ब्रोंक्स, ब्रुक्लिन  र स्टेटन आइल्याण्डलाई ओगटेको न्युयोर्क शहर भित्र मात्र राज्यको झन्डै ५० प्रतिशत संक्रमित छन् । न्युयोर्क सहरमा १ लाख ३२ हजार ४ सय ६७ जना संक्रमित छन् भने ९ हजार १ सय १ जनाको मृत्‍यु भएको न्युयोर्क हेल्थ डिपार्टमेन्ट्को पछिल्लो आँकडा छ ।  

    न्युयोर्क सहरभित्र कोरोना संक्रमित मध्ये २ प्रतिशत मानिस १७ बर्षसम्म उमेर समुहका छन् भने ३७ प्रतिशत मानिस १८ देखि ४४ बर्ष उमेरका छन् । ४५ बर्षदेखि ६४ बर्ष उमेर समुहका संक्रमित पनि ३७ प्रतिशत नै छन् ।  ६५ देखि ७४ बर्ष उमेरका संक्रमित भने १३ प्रतिशत छन् । ७५ बर्ष माथिका संक्रमित भने १२ प्रतिशत छन् । त्यस्तै सुन्ना दशमलब सुन्ना दुई (०.०२ ) प्रतिशत संक्रमितको उमेर खुलेको छैन । न्युयोर्क हेल्थ डिपार्टमेन्टद्वारा जारी उक्त आँकडा अनुसार हालसम्म न्युयोर्क सहरमा कोरोना संक्रमितहुनेहरु १८ बर्षदेखि ६४ बर्ष उमेरका मानिसको संख्या उच्च छ । संक्रमितहरुको संख्यामा पनि महिलाहरु भन्दा पनि पुरुषहरुको संख्या अधिक छ ।  न्युयोर्क सहरमा ४७ प्रतिशत महिला संक्रमित छन् भने ५३ प्रतिशत पुरुष संक्रमित छन् ।  

    १ लाख ३२ हजार ४ सय ६७ संक्रमित मध्ये ३४ हजार ७ सय २९ जना उपचारत अस्पाताल भर्ना भएका छन् । उपचारका लागि अस्पाताल भर्ना हुने यो संख्या कुल संक्रमित मध्ये २६ प्रतिशत मात्र हो । सहरमा मृत्‍यु हुने ९ हजार १ सय १ संख्या कुल संक्रमितको ६ दशमलब ८७ प्रतिशत हो । त्यसैगरी मृत्‍यु भएकामध्ये ६ हजार ६ सय ८३ जना मधुमेह, फोक्सोको रोग, दम, क्यान्सर , मुटु रोग, ईमिनो डिफिसियन्सी हाईपरटेन्सन, मृगौला तथा कलेजोको रोगमध्ये कुनै न कुनै रोगका बिरामीहरु हुन् । हालसम्म ५२ जनामात्र कुनै पनि रोग नभएका मानिसको मृत्‍यु भएको छ । मृत्‍यु भएका मध्ये २ हजार ३ सय ६६ जना कोरोना संक्रमण अगाडि अन्य रोगका रोगी भए नभएको नखुलेको न्युयोर्क हेल्थ डिपार्ट्मेन्टले जनाएको छ ।  

    न्युयोर्क शहरमा कोरोना संक्रमणबाट मृत्‍यु भएकाहरुमा १७ बर्ष मुनीका ३ जना १८ देखि ४४ बर्ष बर्षसम्मका ३ सय ९५ जना, ४५ देखि ६४ बर्षसम्म उमेरका २ हजार ४८ जना, ६५ देखि ७४ बर्षसम्मका २ हजार २ सय ५३ र ७५ बर्ष माथिका ४ हजार ४ सय १ जनाको मृत्‍यु भएको छ । न्युयोर्क सहरमा मृत्‍यु भएका मध्ये ५ हजार ५ सय ५७ पुरुष छन् भने ३ हजार ५ सय १७ महिला रहेको छ । २७ जना मृतकको लिङ्ग खुलेको छैन ।  

    रङ्गका आधारमा भने अश्वेत जातीहरुमा संक्रमणको संख्या उच्च देखिएको छ र एसियनहरुमा न्युन संक्रमण देखिएको छ ।  ब्युरो अफ कम्युनिकेबल डिजिज सर्भिलेन्स सिस्टमद्वारा अप्रिल १६ तारिखमा प्रकाशित डाटा अनुसार अश्वेत जातीहरुमा संक्रमण उच्च देखिएको छ । संक्रमणको दोश्रो नम्बरमा हिस्प्यानिक  र ल्याटिनोहरु देखिएका छन् भने तेश्रोमा श्वेत जातीहरु छन् । चीनबाट सुरु भएको कोरोना भाइरसको संक्रमण न्युयोर्क सहरमा भने एसियनहरुमा निकै कम देखिएको छ । ब्युरोका अनुसार प्रतिशतमा अश्वेत ३२ दशमलब ६ प्रतिशत, ल्याटिनो हिस्प्यानिक ३२ दशमलब  ४ प्रतिशत, श्वेतजाती २८ दशमलब ६ प्रतिशत र एसियन ६ दशमलब ३ प्रतिशत संक्रमित देखिएका हुन् ।  

  • स्वास्थ्य मन्त्रालयको नयाँ अपडेट, ४२ पुगे कोरोना संक्रमित

    स्वास्थ्य मन्त्रालयको नयाँ अपडेट, ४२ पुगे कोरोना संक्रमित

    काठमाडौं । स्वास्थ्य मन्त्रालयले मंगलबारको अध्यावधिक अपडेट सार्वजनिक गरेको छ । जसअनुसार मंगलबार साँझसम्म कोरोना संक्रमितको संख्या ४२ पुगेको छ । मंगलबार उदयपुरमा मात्र ११ जनामा कोरोना पुष्टी भएको हो ।

    यससँगै देशभर ४२ जनामा संक्रमण पुष्टी भएको छ । मंगलबार काठमाडौंमा ३ जना र कोशी अस्पतालमा ८ जनाको नमुना पोजेटिभ पाइएको हो ।

    यअसघि कोरोना देखिएका मानिसको संसर्गमा आएका २६० जनाको नमुना परिक्षणबाट उक्त मानिसहरुलाई पोजेटिभ देखिएको मन्त्रालयका सहप्रवक्ता डा. समिर कुमार अधिकारीले जानकारी दिए ।

    उनका अनुसार मंगलबार दुई महिना र ९ पुरुषमा संक्रमण देखिएको हो । उनीहरु सबै जना उदरपुरको भूल्कका हुन् ।

    कोरोनाको संक्रमणले तिब्र रुप लिन थालेसँगै प्रदेश सरकारले उदरपुरलाई सील गर्ने निर्णय गरिसकेको छ ।

  • नेपालका पाँचौ संक्रमितले पनि जीते कोरोना, धनगढीका युवा डिस्चार्ज

    नेपालका पाँचौ संक्रमितले पनि जीते कोरोना, धनगढीका युवा डिस्चार्ज

    धनगढी । नेपालमा कोरोना संक्रमित मध्ये पाँचौ व्यक्तिले पनि कोरोना भाइरसको आक्रमणलाई जित्न सफल भएका छन् ।

    कैलालीको धनगढीका युवक ३० दिनमा कोरोना जितेर घर फर्किएका हुन् । सुदूरपश्‍चिम क्षेत्रमै पहिलो पटक उनमा कोरोना भाइरसको संक्रमण देखिएको थियो ।

    सेती प्रादेशिक अस्पतालमा उपचार गराइरहेका उनको मंगलबार साँझ डिस्चार्ज गरिएको अस्पतालले जानकारी दिएको छ । यससँगै अब नेपालमा डिस्चार्ज हुने बिरामीको संख्या ५ पुगेको छ ।

    धनगढी उप(महानगरपालिका ५ का ३४ वर्षीय युवकको लगातार दुई पटकसम्म कोरोना परीक्षण रिपोर्ट ‘नेगेटिभ’ आएपछि अस्पतालले डिस्चार्ज गरेको हो।

    दुबईबाट आएका उनमा चैत १४ गते कोरोना पुष्टि भएको थियो। तीनपटक परीक्षण गर्दासम्म उनमा कोरोना रिपोर्ट ‘पोजेटिभ’ देखाएपछि अस्पताल भनाई गरिएको थियो ।

    यसअघि सोही अस्पतालमा कैलाली लम्कीका २१ वर्षीय संक्रमित युवक पनि डिस्चार्ज भएका थिए। सेतीमा अस्पतालमा अझै तीन जना संक्रमितको उपचार भइरहेको छ।

    यता काठमाडौंको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट दुईजना र बाग्लुङ अस्पतालबाट एकजना कोरोना संक्रमित निको भएर घर गएका छन् ।

    नेपालमा मंगलबार साँझसम्म कूल ४१ जनामा संक्रमण पुष्टी भएको छ । त्यसमध्ये २३ जना उदयपुरमा छन् ।

  • उदयपुरमा थपिए ८ जना नयाँ कोरोना संक्रमित

    उदयपुरमा थपिए ८ जना नयाँ कोरोना संक्रमित

    काठमाडौ । उदयपुरमा मंगलबार थप ८ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ ।यो संगै अब नेपालमा कोरोना संक्रमितको संख्या  ४० पुगेको छ भने  उदयपुरमामात्रै कोरोनासंक्रमितको संख्या २२ जना पुगेको छ ।

    उनीहरुको संकलन गरिएको नमुना धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठानको ल्याबमा परीक्षण गर्दा ८ जनाको नमुना पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    संक्रमित पुष्टि भएका ८ जनाको थप विवरण आउन बाँकी छ । हालसम्म नेपालमा देखिएका कोरोना संक्रमितमध्ये ४ जना (टेकु अस्पतालबाट दुईजना, बाग्लुङस्थित धौलागिरि अस्पतालबाट एक जना र कैलालीस्थित सेती अस्पतालबाट एक जना ) उपचार पछि निको भएर घर फर्किसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

  • ट्रम्पद्वारा अमेरिका प्रबेश गर्ने आप्रबासीहरु माथि अस्थाई प्रतिबन्ध लगाउने घोषणा

    ट्रम्पद्वारा अमेरिका प्रबेश गर्ने आप्रबासीहरु माथि अस्थाई प्रतिबन्ध लगाउने घोषणा

    न्युयोर्क

    राष्ट्रपती डोनाल्ड  ट्रम्पले अमेरिका प्रबेश गर्ने अप्रबासीहरु माथि अस्थाई प्रतिबन्ध लगाउने घोषणा  गरेका छँन् । ट्रम्पले सोमबार  राती आफ्नो ट्विटर् मार्फत अदृश्य शत्रु कोरोनाको कारण भन्दै  अमेरिकी नागरिककाे कामकाे सुरक्षालाइ दृष्टिगत गरी अाफूमा निहित कार्यकारी अधिकार प्रयाेग गर्दै अाप्रवासीलाइ अमेरिका प्रवेशमा अस्थायी राेक लगाउने निर्णय गर्न लागेकाे बताएका हुँन्   ।  

    ट्रम्पले कस्तो सँयन्त्र प्रयोग गरेर आप्रबासनको निममलाई अस्थाईरुपमा  खारेज गर्ने हुँन् ?  कती समयलाई त्यो नियम लागु हुने हो ? र ग्रिन कार्ड बाहकलाई अमेरिका प्रबेश गर्दा यो नियमले  कसरी प्रभाब पार्छ?  त्यो भने प्रस्ट भएको छैन । ट्रम्पले गरेको आप्रबासनको नियमको अस्थाई खारेजी बारेको उक्त ट्विटको प्रतिकृया तत्कालनै व्हाईट हाऊस श्रोतले नदिएको समाचार संस्था एसोसिएट्स प्रेसले  जनाएको छ ।कोरोना महामारीका कारण यस अगाडि नै अमेरिकाका लागि स्टेट डिपार्ट्मेन्टद्वारा जारी गरिने प्राय सबै भिसा प्रकृया बन्द छँन् भने केही हप्ताकालागि आप्रबासी भिसा समेत बन्द छँन् । चिन लगायत युरोपका सम्पूर्ण देशबाट अमेरिका प्रबेशमा प्रतिबन्ध लगाईएको अवस्थामा राष्ट्रपती ट्रम्पले उक्त घोषणा गरेका हुँन् ।अमेरिकामा कोरोनाको कारण झन्डै ८ लाख संक्रमित र ४३ हजारको मृत्‍यु भै सकेको छ ।

  • आज कांग्रेस पदाधिकारी बैठक बस्दै, दुई अध्यादेशबारे आधिकारिक धारणा बनाउने

    आज कांग्रेस पदाधिकारी बैठक बस्दै, दुई अध्यादेशबारे आधिकारिक धारणा बनाउने

    काठमाडौं । आज प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्ने भएको छ । सरकारले ल्याएका दुई अध्यादेशबारे छलफल गर्न नेपाली कांग्रेसको पदाधिकारी बैठक मंगलबार बस्न लागेको हो ।

    खासगरी संवैधानिक परिषद्मा विपक्षी दलको नेता नभएपनि निर्णय दिन सक्ने व्यवस्थ र दल विभाजनलाई सहज बनाउने गरी सरकारले सोमबार दुई अध्यादेश ल्याएको थियो ।

    त्यसमध्य एक नेपाली कांग्रेससँग सिधै सम्बन्धित छ । किनकी कांग्रेस सभापति विपक्षी दलका नेता हुन् ।

    बैठक पार्टी सभापति शेरबहादुर देउवाका निवास बूढानीलकण्ठमा मंगलबार बिहान बस्न लागेको हो ।

    सरकारले जारी गरेका दुवै अध्यादेश राष्ट्रपतिबाट प्रमाणीकरण भएर नेपाल राजपत्रमा प्रकाशित भइसकेको छन् । यसअघि कांगेसले अध्यादेशलाई बेमौसमी बाँसुरीको संज्ञा दिइसकेको छ ।

  • अमेरिकामा रहेका नेपाली विद्यार्थीको समस्या : अर्को महिनादेखि घरभाडा तिर्नै गाह्रो

    कल्पना घिमिरे
    न्यूयोर्क/अमेरिका
    कोरोना भाइसरको संक्रमणले यतिबेला अमेरिका ठप्प छ । दिन दुगुना रात चौगुना फैलदो संक्रमणले सम्पूर्ण अमेरिकाबासीको दैनिकी अस्तब्यस्त बनेको छ । महिना दिन भन्दा बढी घर भित्रै थुनिएर बस्नुपर्दा यहा रहेको नेपाली समुदायमा निकै छटपटि र अत्यास बढिरहेको छ । अझ अध्ययनका लागि अमेरिका आएका नेपाली विद्यार्थीहरुले भने बढी मार खेपिरहेका छन् ।
    काम गर्न नपाएकाले उनीहरुलाई आगामी महिनादेखि आर्थिक भार बढ्ने आँकलन गरिएको छ । हालसम्म कलेजको शुल्क बुझाइएकाले अहिलेलाई समस्या नपरेपनि अर्को महिनादेखि कलेजमा बुझाउने मासिक शुल्क र घरभाडाका लागि समस्या पर्ने विद्याथीहरुले बताएका छन् ।
    नेपालबाट एफ वान भिषामा पढ्नका लागि अमेरिका आएका करिब ४५ हजार विद्यार्थी समस्यामा पर्ने अनुमान गरिएको छ । अमेरिकाका बिभिन्न राज्यमा भएका ४ हजार भन्दा बढी युनिर्भसिटिमा नेपाली बिद्यार्थीहरु अध्ययनरत छन् ।
    नेपाल बिद्यार्थी संघ अमेरिकाका सभापति प्रभात सापकोटा कोरोना भाइरस संक्रमणको प्रत्यक्ष र अप्रत्यक्ष मारमा नेपाली बिद्यार्थीहरु रहेको बताउ“छन् । ‘एउटा विद्यार्थीले सातामा १५/२० घण्टा काम गरेर कलेजमा तिर्ने शुल्क जसोतसो ब्यवस्थापन गर्थ्यो पढिरहेको विद्यार्थीले काम गर्न नपाएको अवस्थामा आर्थिक समस्या बेहोर्नुपर्छ ।’
    उनका अनुसार एफवान भिषामा अध्ययन गरिरहेका अधिकांश विद्यार्थीहरुको सोसल सेक्युरिटि नभएकाले अमेरिकी सरकारले उपलब्ध गराएको राहत रकम पनि उनीहरुले पाउदैनन् ।
    एउटा विद्यार्थीका लागि मासिक घरभाडा ६/७ सय, कलेजको शुल्क १ हजार देखि १२ सय, खाना गरेर मासिक २ हजार अमेरिकी डलर खर्च हुने गर्छ । नेपालबाट मासिक २ हजार अमेरिकी डलर सम्म खर्च पठाउन सक्ने परिवार संख्या अत्यन्तै थोरै छ । अध्ययनका लागि अमेरिका आएका अधिकांश नेपाली विद्यार्थीहरु आफै कमाएर पढेका हुन्छन् । तोकिएको समय (घण्टा) मात्रै काम गर्नुपर्दा उनीहरुसंग बचत नहुने भएकाले पनि बढी समस्यामा पर्नेछन् ।
    लुजियाना टेक युनिभर्सिटिमा अध्ययनरत अंकित अर्याल भन्छन्, ‘काम गरेर ‘पे चेक टु पे चेक’ दैनिकी गुजारिरहेका हुन्छौ । अझै लामो समयसम्म काममा जान पाइएन भने अर्को महिनादेखि घरभाडा तिर्नै मुस्किल पर्छ ।’ उनका अनुसार नेपालबाट खर्च पठाउने अवस्था नै छैन । लकडाउनले गर्दा अब नेपालमै रहेको परिवारले आर्थिक समस्या झेल्नुपर्ने हुनसक्छ ।
    न्यूयोर्कमा रहेर नेपाली विद्यार्थीहरुलाई सहयोग गर्दै आएका छिरिङ लामाले यतिबेला संक्रमणबाट न्यूयोर्क धेरै प्रभावित भएकाले यहाँका विद्यार्थीलाई ग्रोसरी (खाद्यान्न) किन्न जानै समस्या परेको बताए । आफुले भ्वाइस फर युथ मार्फत समस्यामा परेका बिद्यार्थीहरुलाई सहयोग गर्दै आएको बताए । ’ग्रोसरी गर्न नपाएका हरुलाई घरमै ‘फुड डेलीवरी’ गर्ने व्यवस्था गर्दैछौं । कोभिड १९ संग एक्पोज भइसकेका विद्यार्थीहरुलाई कसरी सहयोग गर्ने चुनौती छ ।’
    इन्स्टिच्युट अफ इन्टरनेसनल एजुकेसनको तथ्याक अनुसार करिब ४५ हजार बिद्यार्थीहरुमध्ये धेरैको सोसल सेक्युरिटि नम्बर छैन । ‘सोसल सेक्युरिटि नम्बर नभएका कारणले अनइम्प्लोइमेन्ट फारम दर्ता गर्न नसकेको अवस्थामा कलेज र ट्युसनका लागि बुझाउने शुल्कमा केही गर्न सकिन्छ कि भनेर समुदायका अगुवाहरुसंग छलफल गरिरहेका छौं ।’

    योर्क कलेजमा अध्यापन गराइरहेका डाक्टर अबिन ओझा भन्छन्, ‘नेपालको पैसासंग यहाको डलर तुलना गर्न सकिन्दैन । विद्यार्थीहरुले काम गर्दै शुल्कको ब्यवस्थापन गर्नुपर्ने हुँदा उनीहरु संग बचत (सेभिङ) नै हुँदैन । जसले गर्दा उनीहरुलाई आर्थिक भार बढ्नेछ ।’

  • कच्चा तेलको मूल्य इतिहासकै न्यून विन्दुमा, शुन्यभन्दा तल झर्यो भाउ

    कच्चा तेलको मूल्य इतिहासकै न्यून विन्दुमा, शुन्यभन्दा तल झर्यो भाउ

    न्यूयोर्क

    कोरोना भाइरसको संक्रमण गहिरिँदा कच्चा तेलको मूल्य इतिहासकै न्यून विन्दुमा झरेको छ । अमेरिकी कच्चा तेल सोमबार शुन्यभन्दा पनि तलको बिन्दुमा झरेको हो ।

    आज एनवाईमेक्समा एक ब्यारल कच्चा तेलको मूल्य माइनस १.४३ डलरसम्म झर्यो । सन् १९८३ मा एनवाईमेक्स स्थापना भएयताकै सबैभन्दा कम मूल्य हो त्यो । फ्युचर बजारमा अहिले मे कन्ट्र्याक्टमा लगानीकर्ताले कुनै चासो दिएका छैनन् । अधिकांश लगानीकर्ताले जुन कन्ट्र्याक्टमा आँखा लगाउन थालेका छन् ।

    जुन फ्युचर कन्ट्र्याक्टमा पनि अमेरिकी बेञ्चमार्कको रुपमा रहेको वेष्ट टेक्सास इन्टरन्शनलले २२ डलर प्रति ब्यारलमा कारोबार गरेको छ । यो मूल्य पनि एक दिनमा १२ प्रतिशत गिरावट पछिको हो । अन्तर्राष्ट्रिय बेञ्चमार्कको रुपमा रहेको ब्रेन्ड क्रुड फ्युचर्सले पनि झन्डै चार प्रतिशतले मूल्य घटाउँदै प्रति ब्यारल २७ डलरको दरले कारोवार गरेको छ ।

    कोरोना भाइरस संक्रमणको कारण विश्वव्यापी रुपमा पेट्रोलियम खपत घटेपछि गत महिना ठूला उत्पादकहरु रसिया र साउदी अरेवियाले मूल्य गिरावटको होड सुरु गरेका थिए । पछि अमेरिका सहित उनीहरुबीच उत्पादन कटौतीमा सहमति भएको थियो । तर, त्यति हुँदा पनि मूल्यको गिरावट रोकिएन ।

    तेलको मूल्यमा तीब्र गिरावटसँगै अमेरिकी सेयर बजार पनि ओरालो लागेको छ । सोमबार तीन बजेसम्ममा डाउजन इन्डष्ट्रियल एभरेज दुई प्रतिशत भन्दा धेरैले घटि सकेको छ । अर्का साता कोकाकोला, नेटफ्लिक्स, डेल्टा जस्ता कम्पनीहरुले सन् २०२० को पहिलो तीन महिनाको आय सार्वजनिक गर्दैछन् । यसपाली यी कम्पनीको सन् १९९८ पछिकै ठूलो आय गिरावट झेल्ने अनुमान सुरु भएको छ ।

  • नेकपा सचिवालय बैठक चल्दाचल्दै अध्यादेश पारित, बैठकको औचित्य नभएको प्रतिक्रिया

    नेकपा सचिवालय बैठक चल्दाचल्दै अध्यादेश पारित, बैठकको औचित्य नभएको प्रतिक्रिया

    काठमाडौं । सरकारले पार्टीमा बीना छलफल दुई वटा अध्यादेश पारित गरेसँगै राजनीतिक मौहाल गर्माएको छ । यसै सन्दर्भमा नेकपा अध्यक्ष प्रचण्डको आग्रहमा सोमबार साँझ नै नेकपा सचिवालय बैठक बस्यो ।

    तर, बैठकले कुनै ठोस निर्णय भने नगरेको नेकपाका प्रवक्ता तथा सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले जानकारी दिए । उनका अनुसार सचिवालय बैठक बस्दाबस्दै राष्ट्रपतिबाट अध्यादेश पारित भएको जानकारी आयो ।

    त्यसपछि छलफलको कुनै औचित्य नै नरहेको उनले बताए । उनका अनुसार बैठकमा सबै नेताले गम्भीरतापूर्वक आफ्नो धारणा राखेका थिए ।

    यद्दपी यस विषयमा कसको सरकारलाई समर्थन थियो वा विरोध थियो भन्ने चाही उनले खुलाएनन् ।

    उनका अनुसार प्रधानमन्त्री ओलीले अध्यादेश ल्याउनुको औचित्यबारे प्रष्ट पार्ने कोसिस गरेका थिए ।

  • कोरोनाले हजारौंको मृत्‍यु हुँदै गर्दा अमेरिकामा लकडाउन बिरुद्ध धमाधम प्रदर्शन

    कोरोनाले हजारौंको मृत्‍यु हुँदै गर्दा अमेरिकामा लकडाउन बिरुद्ध धमाधम प्रदर्शन

    न्युयोर्क

    विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरसका कारण हाल अमेरिका कोरोनाको केन्द्र बनेको छ भने ७ लाख ७५ हजार संक्रमित र ४१ हजारको मृत्‍यु भै सकेको छ । संक्रमित र मृत्‍यु हुनेको संख्या उच्च बिन्दुमा पुगेको अवस्थामा एरिजोना कोलोर्‍याडो, मन्टाना तथा वाशिङ्गटन राज्यहरुमा आईतबार लक डाउन बिरुद्ध  प्रदर्शन गरिएका थिए । त्यो भन्दा अगाडि अन्य आधा दर्जन राज्यहरूमा पनि लक डाउनका बिरुद्ध प्रदर्शन गरिएका थिए ।

    हतार गरेर अर्थतन्त्र खोल्दा कोभिड-१९ को घातक पुनरोदय हुनसक्ने त्रासका बीच अमेरिकामा त्यस्ता प्रदर्शन चर्किएका हुन्  । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले त्यस्ता प्रदर्शनप्रति आफ्नो समर्थन दर्शाएका छन् ।

    बढी प्रभाबित राज्यहरुमा सङ्क्रमण उच्च विन्दुमा पुगेको तथा केही क्षेत्रमा नयाँ सङ्क्रमणको वृद्धि दर घटिरहेको सङ्केत पनि आएका छन् ।

    अमेरिकामा प्रारम्भिक चरणमै सङ्क्रमण फैलिएको वाशिङ्गटन राज्यमा सयौँ मानिस राजधानी ‌ओलम्पियामा भेला भएर गभर्नरलाई अर्थतन्त्रमा लागेका बन्देज खुकुलो पार्न माग गरे ।

    प्रहरीले भेलामा २५ सय जति सामेल भएको अनुमान गरेको छ। लकडाउन लागू भएपछिको त्यो सबभन्दा ठूलो त्यस्तो जमघट भएको समाचार संस्था रोयटर्सले जनाएको छ । प्रदर्शनका क्रममा कैयन प्रदर्शनकारीले सामाजिक दुरी सम्बन्धि नियम अनि मास्क लगाउनु पर्ने नियम समेत उल्लंघन गरेका थिए ।

    लकडाउन बिरुद्ध प्रदर्शन गर्ने समुह सामुन्ने स्वास्थ्यकर्मी उपस्थित भएका थिए ।  एसोसिएटेड प्रेसका अनुसार मन्टानाको हेलेनामा आयोजित र्‍यालीमा केही सय मानिस थिए ।

    कोलोराडोको डेन्भरमा पनि उत्रै र्‍याली भएको थियो ।

    प्रदर्शनकारीका गाडी सडकमा खचाखच भएपछि अस्पतालमा रहँदाकै पोशाक र मास्क लगाएका स्वास्थ्यकर्मीहरू उनीहरूको सामु उपस्थित भएका थिए ।

    यस अगाडि अमेरिकामा कोरोनाभाइरस उत्कर्षमा पुगिसकेको राष्ट्रपति ट्रम्पले दाबी गर्दै प्रतिबन्ध चाँडै फुक्का गर्ने योजना रहेको बताउदै ट्विट् गरेका थिए ।  

    एरिजोनामा पनि प्रदर्शनकारीले सयवटा जति गाडीलाई राजधानी फिनिक्सको एक चोकमा घुमाएर प्रदर्शन गरेका थिए ।

    कतिपय राज्यहरूमा गभर्नरहरूले सङ्क्रमणको दर कम हुँदै गएका सङ्केतका माझ अर्थतन्त्र खोल्नेबारे छलफल थालेका छन् ।

    क्यालिफोर्नियाका गभर्नर गेभिन न्युसमले पहिलो पटक मार्च १९ मा राज्यभरि घरमै बस्न आदेश जारी गरेका थिए । वाशिङ्गटन तथा ओरेगन राज्यहरूले त्यही पाइला पच्छ्याए ।

    न्यूयोर्कका गभर्नर एन्ड्र्यु कुमोले न्युयोर्कको  लकडाउनलाई मे १५ सम्म लम्ब्याएका छन् ।

    उनले अहिले संक्रमणको हाफ टाईम भएको बताउदै  हतारिन नहुने भन्दै सावधानीको खाँचो भएको औँल्याएका छन्।

    तर राष्ट्रपति ट्रम्पले कडा लकडाउनको विरोधमा प्रदर्शन गरेकाहरुको  समर्थन गरिरहेका छन् । राष्ट्रपतिले गत शुक्रवार मिनिसोटा, मिचिगन  तथा भर्जिनियामा लागू आदेश धेरै कडा भएको प्रतिकृया दिएका  थिए ।

    वाशिङ्गटन राज्यका गभर्नर जे इन्सलीले राष्ट्रपतिको लक डाउन बिरुद्ध प्रदर्शन गर्ने समुहको समर्थन गर्ने कदमलाई खतरनाक भन्दै त्यसले राज्यका कानूनलाई उल्लंघन गर्न उक्साउने बताएका छन ।

    “अमेरिकी राष्ट्रपतिले मानिसहरूलाई कानून उल्लंघन गर्न उक्साएको मैले आफ्नो जीवनकालमा देखेको थिइनँ,” उनले समचार संस्था बि बि सिलाई बताएका थिए ।  

    समाचार श्रोत : बि बि नेपाली

  • राष्ट्रपतिबाट दुबै अध्यादेश जारी

    राष्ट्रपतिबाट दुबै अध्यादेश जारी

    काठमाडौं । मन्त्रीपरिषद् बैठकले सोमबार सिफारिस गरेका दुई अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले आजै जारी गरिदिएकी छिन् ।

    मन्त्रिपरिषद्ले सिफारिस गरेर शितल निवास पठाएको दुबै अध्यादेश राष्ट्रपतिबाट तत्काल जारी भएको हो ।

    राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) अध्यादेश २०७७ र संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी पहिलो संशोधन अध्यादेश,२०७७ जारी भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

    राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेका अनुसार नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीबाट अध्यादेश जारी भएको हो ।

    सरकारले राजनीतिक दलसम्बन्धी ऐन संशोधन अध्यादेशमा पार्टी केन्द्रीय समिति वा संसदीय दलमध्ये एउटामा ४० प्रतिशत मत पुर्‍याएमा पार्टी विभाजन गर्न सकिने व्यवस्था सहित पठाएको थियो ।

    संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमा परिषद् बैठक बस्न प्रमुख प्रतिपक्षी दल नचाहिने गरी संशोधन भएको छ । अहिले विपक्षी दलका नेता कांग्रेस सभापति शेरबहादुर देउवा रहेका छन् ।

  • अब विपक्षी दलको नेताबीनै संवैधानिक परिषद्ले निर्णय गर्न सक्ने

    अब विपक्षी दलको नेताबीनै संवैधानिक परिषद्ले निर्णय गर्न सक्ने

    काठमाडौं । अब विपक्षी दलका नेता उपस्थित नभए पनि संवैधानिक परिषद्को बैठक बस्न र बैठकले निर्णय गर्न सक्ने भएको छ ।

    सरकारले सोमबार दुई अध्यादेश जारी गरेको छ । जसमा पहिलो अध्यादेश राजनीतिक दलको विभाजनसम्बन्धी थियो भने दोस्रो चाही संवैधानिक परिषद्सम्बन्धी थियो ।

    सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दल र संवैधानिक परिषद्सम्बन्धी दुई अध्यादेशको प्रस्ताव गरेका हुने ।

    अध्यादेश अनुसार अब विपक्ष दलका नेता नभएपनि परिषद्को बैठक बस्न मिल्ने भएको छ । साथै उक्त बैठकले गरेका निर्णयसमेत मान्य हुनेछन् ।

    विद्यमान प्रावधान अनुसार परिषद्को बैठक बस्नु अगाडी कम्तीमा ४८ घण्टा अगाडि नै सदस्यहरूलाई एजेण्डा पठाउनुपर्छ ।

    गणपूरक संख्या पुग्न प्रधानमन्त्री र अन्य चार सदस्य उपस्थित हुनुपर्छ र निर्णय भने सर्वसम्मत हुनुपर्छ ।

    पहिलो बैठकमा सर्वसम्मत हुन नसके अर्को बैठकमा सहमति खोज्नुपर्ने र त्यसमा पनि सहमति नभए मात्र बहुमतका आधारमा निर्णय गर्न सक्ने प्रावधान अहिले रहेको छ ।

  • प्रधानमन्त्रीले पार्टी फुटाउने कानुनमा संशोधन चाहनुको अर्थ यस्तो हुन सक्छ

    प्रधानमन्त्रीले पार्टी फुटाउने कानुनमा संशोधन चाहनुको अर्थ यस्तो हुन सक्छ

    न्युयोर्क

    पछिल्ला दिनहरूमा नेकपाभित्र विवाद चर्किँदै गएको देखिएको थियो। हालसालै एक अध्यक्ष प्रचण्डले कोरोना भाइरसले निम्त्याएको सङ्कटको सामना गर्न उच्चस्तरीय संयन्त्र गठनको पक्षमा धारणा राखेका थिए।

    तर प्रधानमन्त्रीले त्यसप्रति असन्तुष्टि जनाउँदै उक्त प्रस्ताव लत्याइ दिएका थिए।

    प्रचण्डले पूर्वएमालेका नेताहरूबीच फाटो ल्याएर चलखेल गरिरहेको र ओलीको विकल्प खोज्ने तयारी समेत गरेको भन्ने सूचना पाएको प्रधानमन्त्री निकटहरूले अनौपचारिक रूपमा बताउने गरेका थिए।

    अर्कोतर्फ प्रधानमन्त्रीले विपक्षमा रहेका राष्ट्रिय जनता पार्टी नेपाल लगायतका दलहरूलाई साथमा लिएर अघि बढ्ने विकल्पको सुरसार गरेको सूचना आफूहरूलाई प्राप्त भएको प्रचण्ड निकट नेताहरूको भनाइ थियो।

    यस्तो स्थितिमा प्रधानमन्त्री ओलीले आफू हरेक सम्भावनाको निम्ति तयार रहेको सन्देश प्रचण्डलाई दिन अध्यादेश ल्याउने कदम उठाउन खोजेको कतिपयको विश्लेषण छ। उनीहरूको ठम्याइमा आफ्नो कदम प्रचण्डको भावी निर्णयमा निर्भर हुने गरि त्यस्तो तयारी गरेका हुनसक्छन्।

    तर कतिपय नेताहरूले खासगरी तराई केन्द्रित दुई प्रमुख दलहरूभित्र असन्तुष्टि रहेको र उनीहरूको निम्ति विभाजनको बाटो खुला गरिदिन उक्त कानुन संशोधन गर्न लागिएको प्रधानमन्त्रीको योजना रहेको बताएका छन्।

    अचानक उत्पन्न तरङ्ग लगत्तै नेकपाको सचिवालयको बैठक बसिरहेको छ।

    ( हामीले यो सामाग्री बि बि सि नेपालीबाट लिएका हौ ) 

  • आज नेपालबाट रुसले आफ्ना नागरिक लैजाने

    आज नेपालबाट रुसले आफ्ना नागरिक लैजाने

    काठमाडौं । आज नेपालबाट रुसले आफ्ना नागरिकलाई फिर्ता लैजाने भएको छ । रुसको रोयल फ्लाइट एयरलाइन्स बिहान काठमाडौं अवतरण गर्दैछ ।

    जहाजले लकडाउनपछि नेपालमा अडकिएका नागरिकलाई रुस फिर्ता लैजाने रुसी दूतावासले जनाएको छ । जहाज १ बजे काठमाडौंबाट फिर्ता हुनेछ ।

    यो जहाजको उडान मस्कोसम्मको हो । उक्त जहाजले काठमाडौंमा रहेका १ सय ४३ यात्रु लिएर जाने बताइएको छ ।

    लकडाउन र अन्तरराष्ट्रिय उडानमाथिको प्रतिवन्ध लम्बिएसँगै नेपालमा फसेका विदेशी नगरिकलाई मुलुकहरुले धमाधम फिर्ता लगिरहेको छन् ।

    यद्दपी रुसले ढिला गरी आफ्ना नागरिक लगेको हो ।

  • गभर्नर कुमोले भनें; न्युयोर्कमा कोरोना महामारीको ‘हाफ टाईम’ भयो

    गभर्नर कुमोले भनें; न्युयोर्कमा कोरोना महामारीको ‘हाफ टाईम’ भयो

    न्युयोर्क

    न्युयोर्क राज्यका गभर्नर एन्ड्रु कुमोले न्युयोर्कमा कोरोना संक्रमण महामारीको ” ‘हाफ टाईम’ भएको बताएका छन् । गत मार्च १ तारिख ईरान भ्रमणबाट न्युयोर्क फर्किएकी ३९ बर्षीया महिलामा पहिलो पटक कोरोना संक्रमण देखिएको न्युयोर्कमा झन्डै डेढ महिना पछि २ लाख संक्रमित र १८ हजार ५ सयको मृत्‍यु भै सकेको छ । गभर्नर कुमोले न्युयोर्कमा कोरोना संक्रमणको हाफ टाईम भएको कुरा आइतबार उनको नियमित प्रेस ब्रिफिङमा बताएका हुन् । आईतबार आयोजित प्रेस ब्रिफिङमा कुमोले भनें; “कोरोनासँगको लडाईं अहिलेसम्म हामीले जितेका छैनौं र कुनै पनि ब्यापार ब्यवसाय पुन: सुचारु गर्ने कुरा आगामी दिनमा देखिने कोरोना संक्रमितको संख्या र कोरोना जाँचको संख्यामा निर्भर हुनेछ। कोरोनासँगको हाम्रो लडाईंको अवस्था अहिले हाफ टाईम मात्र हो” ।  

    प्रेस ब्रिफिङमा कुमोले अहिलेको अनुभबबाट अब न्युयोर्कको पुनर्निमाण गर्नु पर्ने शिक्षा मिलेको समेत बताउँदै भनें “यसबाट  सिकेर अगाडि बढदै पहिले भन्दा कसरी राम्रो न्युयोर्क बनाउने भन्ने शिक्षा मिलेको छ । अब न्युयोर्कलाई सुचारु गर्दा पहिले भन्दा सहज परिस्थितीमा खोल्न्नु पर्दछ” ।

  • नेदरल्यान्डमा कोरोनाको कारण लक्ष्मीको निधन

    नेदरल्यान्डमा कोरोनाको कारण लक्ष्मीको निधन

    अप्रिल १९ 

    नेपालमा म्याग्दी जिल्लाकी स्थायी बसिन्दा ४० वर्षीय लक्ष्मी भट्टचनको कोरोना भाइरसबाट संक्रमित भई नेदरल्यान्डमा निधन भएको छ । मृत्यु बारे नेदरल्याण्डका लागि पर्यटनदूतसमेत रहेका शशि पौडेलले संचार माध्यमलाई जानकारी दिएको हो । उनले भट्टचनको अकस्मात निधनले समस्त नेपाली समाज नेदरफ्याण्डलाई स्तब्ध बनाएको बताएका छन् ।  हालसम्म २९ प्रबासी नेपालीले कोरोनाको कारण ज्यान गुमाइसकेको अवस्थामा नेदरल्याण्डमा कोरोनाबाट ज्यान गुमाउनेमा लक्ष्मी पहिलो नेपाली हुन् ।

    थकाली समाज बेल्जियमका सचिव रोशन शेरचनले संसारभर बसोवास गर्ने थकाली समुदायका सदस्यहरू मध्येमा यो नै पहिलो दुःखद घटना भएको उल्लेख गरेका छन् । उनले भट्टचनको निधनको खबरले स्तब्ध बनाएको भन्दै दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा धैर्य धारणा गर्ने शक्ति प्राप्त होस, भन्ने कामना गरेका छन् ।

    आजैमात्र गैरआवासीय नेपाली संघले विश्वमा कोरोनबाट ज्यान गुमाउने नेपालीको संख्या २९ भएको जनाएको थियो । लक्ष्मीको निधनसँगै विश्वमा कोरोनाका कारण ज्यान गुमाउने नेपालीको संख्या ३० पुगेको छ।

    तस्बिर : संसार न्युज

  • नेपालका चौथो संक्रमित पनि निको भएर घर फर्किए

    नेपालका चौथो संक्रमित पनि निको भएर घर फर्किए

    धनगढी । नेपालमा कूल ३१ जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिएको छ । यसरी संक्रमण पुष्टी भएका ३१ जनामध्ये १२ जना भारतीय रहेका छन् ।

    नेपाल भित्रका नागरिकमध्ये पनि ४ जना भने निको भएर घर फर्किएका छन् ।

    आइतबार धनगढीस्थित सेती अस्पतालमा उपचाररत कोरोना संक्रमित युवक निको भएर घर फर्किएका हुन् ।

    कैलाली लम्कीचुहा नगरपालिका–९ प्रतापपुरका २१ वर्षीय युवकको दोस्रो र तेस्रो पटकको कोरोनामा नतिजा नेगेटिभ आएसँगै उनलाई आइतबार डिस्चार्ज गरिएको हो ।

    पहिलो रिपोर्ट पोजेटिभ आएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । उनी चैत २२ मा अस्पताल भर्ना भएका हुन् । उनको शनिबार र आइतबार नेगेटिभ रिपोर्ट आएसँगै डिस्चार्ज गरिएको छ ।

    घर फर्किएपछि पनि बिरामीले एक सातासम्म भने सामाजिक दुरी कायम गर्नुपर्छ । भारतबाट चैत ११ मा घर फर्किएका उनलाई कैलालीको प्रतापपुर क्वारेन्टाइनमा ११ दिन बसेपछि कोरोना देखिएको थियो ।

    यसअघि शनिबार नै काठमाडौं र बागलुंगमा एक एक जना महिला कोरोनालाई जित्दै घर फकिएका थिए ।

    नेपालका पहिलो संक्रमित युवक भने ३ महिना अगाडी नै घर फर्किएका हुन् । अब नेपालका विभिन्न अस्पतालमा २८ जना संक्रमित उपचारार्थ रहेका छन् । उनीहरु सबैको अवस्था सामान्य रहेको छ ।

  • कोरोनाले जापानको स्वास्थ्य प्रणाली नै जोखिममा जाने चेतावनी

    कोरोनाले जापानको स्वास्थ्य प्रणाली नै जोखिममा जाने चेतावनी

    टोकियो । कोरोना भाइरसले संसारका विकसित मुलुकलाई हायलकायल पारेको छ । किनकी उनीहरुलाई चूनौति गिर्दो साँख जोजाउनु पनि रहेको छ ।

    गरिब त यसै गरिब, उसलाई खासै गुमाउनु केही छैन ।

    तर, विकसित मुलुकलाई आफ्ना नागरिकको जीवन बचाउनु एकातर्फ छ भने आफ्नो मुलुकको स्वास्थ्य प्रणालीबार् विश्वभर उठिरहेको प्रश्नको जवाफ दिनु र त्यो साँखा गिरेको छैन भन्ने मान्यता कायम राखिराख्नु चूनौतिपूर्ण अवस्था सिर्जना भएको छ ।

    अहिले यस्तै प्रश्नको सामना गरिरहेको छ, जापान । यहाँ कोरोनाका नयाँ नयाँ बिरामी आउने क्रम जारी रहिको छ ।

    यसले छिट्टै जापानको चिकित्सा प्रणाली नै बिग्रन सक्ने चेतावनी त्यहाँका चिकित्सकहरुको रहेको छ ।

    संक्रमित बिरामीको भार र उनीहरुको उपचारमा केन्द्रित हुँदा आपतकालिनरुपमा आएका केही गम्भिर बिरामीलाई समेत अस्पतालले उपचार गर्न नपाएको गुनासो जापानमा आएको छ ।

    यसले त्यहाको स्वास्थ्य प्रणालीलाई चूनौति पेश गरेको छ । खासगरी चीनको कोरोनाको उपचारका लागि छुट्टै अस्पताल निकै तिब्र गतिमा बनायो जसले गर्दा अन्य रोगको उपचार पनि रोकिएन ।

    तर, विश्वका ठूलो र विकसित मुलुक नै कोरोनाको संक्रमणबाट बच्न र लड्न चुक्दै आइरहेका छन् ।

    कोरोना लक्षण भएका एक विरामीलाई ८० वटा अस्पतालले भर्ना लिन नमानेको विवरण सार्वजनिक भएका छन् ।

    जापानका दुई चिकित्सक संघहरूले कोरोनाका कारण गम्भिर र आपतकालिन स्थितिमा उपचार गराउन आउने अन्य विरामीहरूको उपचार गर्ने अस्पतालको क्षमता कम भइरहेको उल्लेख गर्दै सरकारलाई सचेत गराएका छन् ।

    चिकित्सकहरूले कोरोना उपचारका लागि आवश्यक सुरक्षात्मक पोसाक तथा उपकरण लगायत सामग्रीको समेत अभाव भएको भन्दै जापान कोरोनाविरुद्ध लड्न तयारी अवस्थामा नरहेको प्रतिक्रिया दिएका छन् ।

    शनिबारसम्म जापानमा १० हजार जनामा कोरोनाको संक्रमण पुष्टि भइसकेको छ। यहाँ अहिलेसम्म २ सय जनाको ज्यान गएको छ ।

  • सामाजिक अगुवाहरुद्वारा न्यूयोर्क निवासीहरुलाई संघीय सहयोग रकम जोखिममा परेका समुदायलाई सहयोग गर्न आह्वान

    सामाजिक अगुवाहरुद्वारा न्यूयोर्क निवासीहरुलाई संघीय सहयोग रकम जोखिममा परेका समुदायलाई सहयोग गर्न आह्वान

    (यो आर्टिकल यसअघि अंग्रेजी भाषाको डिजिटल अनलाइन ‘द सिटी’ मा अप्रिल १४ तारिखका दिन प्रकाशित भएको थियो)

    कृष्टिन चुन, न्यूयोर्क 

    गोमाले म्यानह्याटन शहरको एक नेल्स सलनमा काम गर्न थालेको झण्डै दुई दशक भयो । उनी मिड-टाउन म्यानह्याटनमा काम गर्न आफ्नो एल्महर्ष्टस्थित अपार्टमेन्टबाट हरेक दिन जसो गइरहेकी थिइन् भने उनको श्रीमान उबर चलाउँछन् ।

    अहिले कारोना भाइरसका कारण दुबै जनाको काम छैन र भएको संचित रकम बिस्तारै सकिरहेको छ । गोमा, जो आफ्नो थर खुलाउन चाहँदिनन्, उनी ‘क्यास’मा काम गर्थिन् । त्यही भएर अहिले उनले बेरोजगारी भत्ताको फर्म भर्न पाउँदिनन् । त्यसमाथि संघीय सरकारबाट दिइने रकम पाउन पनि उनी योग्य छैनन् ।

    ‘मलाई लाग्छ सरकारले हाम्रो कामलाई पनि कदर गर्नुपर्छ, अझ यतिबेला झन्, किनभने यस महामारीले सबैलाई असर गरिरहेको छ’, उनले अनुवादकको सहयोगमा भनिन् ।

    ‘यतिखेर केहीलाई सहयोग दिने र केहीलाई नदिने गर्न मिल्दैन । यतिखेर सबैले समान सहयोगको अपेक्षा गरेका छन्’ उनले थपिन् । न्युयोर्क शहरमा काम गरिरहेका धेरै सामाजिक समुहहरुले संघीय सरकारबाट पाएको रकम त्यस्ता व्यक्तिहरुलाई सहयोग गर्न आग्रह गरिरहेका छन्, जो सरकारी सहयोग पाउनबाट कानूनी रुपमा वञ्चित छन् ।

    ‘यही बेला हो हामी अग्रसर भएर ती न्युयोर्कवासीलाई सहयोग गर्ने जो यस्ता सहयोगबाट वञ्चित छन्’ स्ट्रिट भेन्डर प्राजेक्टकी डेपुटी डिरेक्टर करिना कोफमान गुटेरिजले भनिन् ।

    राहत प्याकेजबाट छुटेकाहरु:

     संघीय सरकारले भर्खरै ल्याएको २ ट्रिलियन डलरको राहत प्याकेजले सोसियल सेक्युरिटी भएका ती व्यक्तिहरु जसले वार्षिक ७५ हजार डलरभन्दा कम कमाउँछन्, उनीहरुलाई एक पटकको लागि १२०० डलर दिंदै छ । त्यस्तै, वार्षिक ९९ हजार डलरसम्म कमाउनेले पनि केही रकम पाउँदैछन् ।

    उक्त परिवारमा रहेका १७ वर्षमुनिका प्रत्येक बच्चाको भाग ५०० डलर भने छुट्याइएको छ । ट्रेजरी सेक्रेटरी स्टिभन मनुसिनका अनुसार जसले ट्याक्स फाइल गर्दा बैंकको जानकारी दिएका छन्, उनीहको खातामा पहिलो रकम अप्रिल १७ तारिखतिर आउँदैछ । सन् २०१८ वा २०१९ मा ट्याक्स फाइल गरेकाहरुले अरु केही गर्नु पर्दैन । आइ. आर. एस. ले अन्यका लागि भने अनलाईन पोर्टल बनाएको छ ।

    यता १०औं लाख व्यक्तिहरु जसको आफ्नो बैंक खाता छैन, कानूनी रुपमा अनडकुमेन्टेड छन् र अरुमाथि डिपेन्डेन्ट छन्, उनीहरु यो सहयोग पाउन योग्य हुंदैनन् । न्यू अमेरिकन एकोनोमिले सन् २०१८ मा गरेका रिसर्च अनुसार लगभग १ करोड आप्रवासीहरु ‘अनडकुमेन्टेड’ छन् ।

    ‘आप्रवासीहरु जो संघीय सरकार र राज्य सरकार दुबैलाई कर तिर्छन् तर उनीहरुसंग सोसियल सेक्युरिटी कार्ड छैन भने उनीहरु राहत प्याकेज पाउन हकदार हुंदैनन्,’ न्यूयोर्क इमिग्रेशन कोलिसनका उपाध्यक्ष अनु जोशीले बताइन् ।

    द डेली न्युजका अनुसार कम्तीमा १ लाख १२ हजार न्युयोर्कवासीसंग व्यक्तिगत कर नम्बर छ तर सोसल सेक्युरिटी छैन । ‘अनडकुमेन्टेड आप्रवासीहरु यतिखेर सबैभन्दा बढी प्रभावित छन् र उनीहरु आफ्नो ज्यानलाई जोखिममा पारेर काम गरिरहका छन् ताकि हामी सुरक्षित रहौं,’ जोशीले बताइन् । ‘उनीहरुलाई जानीजानी राहत प्याकेजबाट वञ्चित गराइएको हो । यसको अर्थ कि घरमा बस वा बाहिर गएर काम गरेर आफ्नो परिवारलाई पाल भन्न खाजिएको हो,’ जोशीले बताइन् ।

     सामाजिक समुहहरु जस्तै मेक द रोड न्युयोर्क, द स्ट्रिट भेन्डर प्रोजेक्ट, अनलोकल , न्यूयोर्क नेल सलन वर्कर्स संघ लगायतले मानिसहरुलाई डोनेशन गर्न प्रोत्साहन गरिरहेका छन् । ‘यसरी पैसा उठाएर सहयोग गर्नु ती प्रभावितहरुको लागि अस्थायी रुपमै भएपनि एकदमै महत्वपूर्ण काम होे,’ न्यूयोर्क नेल सलन वर्कस संघका अर्गनाइजिङ डिरेक्टर लुइस गोमेजले बताए ।

    ती समुहहरुले यसको स्थायी समाधानका लागि लडिरहँदा ती प्रभावितहरुका लागि यस्ता सहयोग गर्न अघि बढ्नु एकदमै सराहनीय कदम भएका गोमेजले ठम्याए ।

    ऋणको चिन्ता :

    इस्ट हार्लममा चुरोज र आइसक्रिम बेच्ने मेक्सिकन मुलकी ५० वर्षीया फ्रान्सिस्काले १ महिनादेखि काम गर्न पाएकी छैनन् । उनलाई अर्को महिनाको घरभाडा कसरी तिर्ने भन्ने चिन्ता छ । उनकी कलेज पढ्ने १९ वर्षिया छोरी र उनले फुड बैंकबाट प्राप्त गरेका खाना खाएर बांचिरहेका छन् । आफुसंग भएका चामल र गेडागुडी खटाइ–खटाइ खाइरहेका छन् । ‘मलाई चिन्ता छ यो कोराना भाइरसको असर सिद्धिएपछि म ऋणमा चुर्लुम्म डुबेको हुनेछु,’ स्पेनिस भाषामा उनले बताइन् । ‘हामी जस्तालाई सरकारले सहयोग नगरेको देखेर एकदमै नरमाइलो लागि रहेको छ । यो अन्याय नै हो,’ उनले भनिन् । ‘यदि त्यो चेक पाएको भए ग्रोसरी र अन्य बिल तिर्न पुग्थ्यो जुन अहिलेको प्रमुख आवश्यक्ता हो,’ उनले थपिन् ।

     स्टेटन आइल्याण्डमा ६ बेरोजगार साथीहरुसंग बस्ने २७ वर्षीया बेरेनिश एगुले केही सहयोग पाए आफुले खाना किन्ने बताइन् । मेक्सिकोबाट आएकी बेरेनिस पनि उनको इमिग्रेसन स्ट्याटसका कारण राहत पाउनबाट वञ्चित छिन् । ‘मलाई थाहा छैन विना काम हामी कतिन्जेल टिक्न सक्छौं भनेर,’ स्पेनिस भाषामा बेरेनिशले बताइन् । ‘हामी पनि मान्छे हौं नि,’ उनले भनिन् । ‘हामी यहाँको नागरिक नभएपनि हामीले कामदारले पाउने अधिकार त पाउनुपर्छ,’ उनले भनिन् ।

    यो आर्टिकल तयार पार्न स्ट्रिट भेन्डर प्रोजेक्टकी एमेलि रोजन्जिग, वर्कस युनाइटेडकी लियन टोरी मर्फी र अधिकारकी प्रार्थना गुरुङले अनुवादमा सहयोग गरेका थिए ।

     (यो रिपोर्ट ‘द सिटी डट न्युयोर्क’ को अनुरोधमा नेपालीमा उल्था गरी प्रकाशित गरिएको हो)

  • कोरोना संक्रमित बागलुङकी ६५ वर्षीया महिला पनि डिस्चार्ज

    कोरोना संक्रमित बागलुङकी ६५ वर्षीया महिला पनि डिस्चार्ज

    पोखरा । कोरोना सम्बन्धी शनिबार नेपालमा दुई उत्साहजनक खबर सार्वजनिक भएका छन् ।

    कोरोनाबाट दोस्रो संक्रमित युवती अस्पतालबाट डिस्चार्ज भएकै दिन बागलुङकी ६५ वर्षीया महिला पनि डिस्चार्ज भएकी छिन् ।

    यससँगै नेपालमा तीन जनाले कोरोना रोगलाई जित्दै घर फर्कन सफल भएका छन् । नेपालमा कूल ३० जनामा संक्रमण पुष्टी भएको छ ।

    त्यसमध्ये एक जना पुरुष शूरुवाती दिनमै निको भएर घर फर्केका थिए । आज दुई जना घर फर्किएका छन् ।

    बागलुङकी ६५ वर्षीया महिला नेपालमा कोरोना संक्रमित छैटौं बिरामी हुन्। उनको धौलागिरि अञ्‍चल अस्पतालको आइसोलेसनमा उपचार भइरहेको थियो ।

    चौथोपटक गरिएको थ्रोट स्वाव परीक्षणमा नतिजा नेगेटिभ आएपछि उनलाई अस्पतालले शनिबार डिस्चार्ज गरेको छ ।

    बेल्जियमबाट कतार हुँदै नेपाल आएकी उनलाई चैत २० मा कोरोना संक्रमण पुष्टि भएको थियो।

  • सुदुरपश्चिमका एक कोरोना संक्रमितको दोस्रो रिपोर्ट नेगेटिभ

    सुदुरपश्चिमका एक कोरोना संक्रमितको दोस्रो रिपोर्ट नेगेटिभ

    धनगढी । सुदुरपश्चिममा कोरोना सक्रमण पुष्टी भएका ५ जनामध्ये एक जना पुरुषको दोस्रो रिपोर्ट निगेटिभ आएको छ ।

    यसको मतलव उनमा समेत कोरोनाको भाइरस अब निष्क्रिय बनेको छ । सेती प्रादेशिक अस्पतालमा उपचार गराइरहेका कोरोना संक्रमित ५ जनामध्ये एक जनाको दोस्रो रिपोर्ट नेगेटिभ आएको हो ।

    भारतबाट फर्किएका लम्की चुहा नगरपालिका १ का २१ वर्षका युवकमा दोस्रो रिपोर्ट नेगेटिभ आएको हो ।

    अस्पतालका अनुसार भारतबाट आएर कैलालीस्थित प्रतापपुर क्वारेन्टाइनमा बसेका उनको स्वाब परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

    त्यसपछि उनलाई सेती प्रादेशिक अस्पतालको आइसोलेसन वार्डमा ल्याइएको थियो । सेती प्रादेशिक अस्पतालमा उपचाररत अन्य चार जना कोरोना संक्रमितको भने दोस्रो रिपोर्ट पनि पोजेटिभ नै आएको छ ।

    धनगढी उप–महानगरपालिका वडा नम्वर ५ का ३४ बर्षीय युवक, उनकी ३४ बर्षीय भाउजु, कञ्चनपुरको बेदकोट नगरपालिकाका ४१ बर्षीय पुरुष र लम्की चुहा नगरपालिका १ कि ६५ वर्षीया महिलाको कोरोना रिपोर्ट पोजेटिभ नै आएको छ ।

    दुई पटकसम्म पोजेटिभ आएको धनगढी ५ का ३४ बर्षीय अर्का युवकको तेस्रो रिपोर्ट पनि पोजेटिभ आएको छ ।

    काठमाडौंमा दोस्रो संक्रमित भने अस्पतालबाट डिस्चार्ज भएकी छिन् । नेपालमा कुल ३० जनामा संक्रमण देखिए पनि सबैको अवस्था सामान्य रहेको छ ।

  • कोरोनालाई जितेकी न्युयोर्ककी नर्स निमाको नेपालीलाई सहयोग गर्ने अठोट

    कोरोनालाई जितेकी न्युयोर्ककी नर्स निमाको नेपालीलाई सहयोग गर्ने अठोट

    न्युयोर्क

    सानो होस् या ठुलो अनि निर्बलदेखि शक्तिसालीसम्म र धनीदेखि गरिबसम्म  सबैलाई त्रासमा बाँच्न वाध्य पार्ने एउटै नाम छ, कोरोना भाइरस । बाहिरी आँखाले देख्न नसकिने यो भाइरस संक्रमणको त्रासले संसारभरका दुई सय राष्ट्रहरु यसको नियन्त्रयको लागि क्षमताले भ्याएसम्म पौंठेजोरी खेल्दै छन् । बिसौं लाख संक्रमित भइसकेका छन् । डेढ लाख भन्दा बढी मानिसले कोरोना कै कारण जीवन गुमाई सकेका छन् । प्रवासमा बसोबास गर्ने नेपाली जनसंख्याको ठुलो हिस्सा पनि यही महामारीका कारण त्रास र पिडादायी अवस्थामा बाँच्न वाध्य छन् । पछिल्लो समय कोरोना केन्द्र बिन्दुको रुपमा उदाएको न्युयोर्क सहरमा बसोबास गर्दै आएको नेपालीको ठुलो हिस्सा पनि त्यतिकै प्रभावित हुन पुगेको छ । 

    महामारीको समयमा भाईरस संक्रमित हुनु एवम् रोग लाग्नुलाई अस्वाभाविक मानिदैन तर रोग लागेर पनि अन्धविश्वासी भई रहनु चाँहि अहिले प्रबासमा ठुलो चुनौती बनेको छ । अधिकांश संक्रमित सुरुमा देखिने कोरोनाको लक्षण ज्वरो आउनु, खोकी लाग्नु, घाँटी दुख्नु, टाउको दुख्नुलाई कोरोना भनेर सहस्र स्विकार गर्दैनन् । धेरै चिसो खाएको कारणले खोकी लागेको, राती निन्द्रा नपुगेर टाऊको दुखेको, चिल्लो पिरो खाएर घाँटी दुखेको, टाईफाईडको ज्वरो आएको आदी भन्दै संक्रमणको लक्षण देखिएको १० औं दिनसम्म पनि अधिकांश नेपालीहरु त्यतिकै घरमा बस्ने समस्या देखिएको दृष्टान्त न्युयोर्कमा लामो समयदेखि नर्सिङ पेसामा आबद्ध निमा शेर्पा आफ्नो अनुभव सुनाउँछिन् । नेपालमा सोलुखुम्बु घर भएकी निमा स्वयम् कोरोना संक्रमणलाई जितेर स्वस्थ भएकी हुन् । कोरोना संक्रमणबाट सिंगो परिवार संक्रमित भएर स्वस्थ भए यता निमा न्युयोर्कस्थित नेपाली समुदायमा संक्रमित ब्यक्तिहरुलाई कोरोनासँग जितेर फर्काउनको लागि लगातार खटिरहेकी छिन् ।  

    निमा आफु मात्र होईन आफ्नो पति र दुई बच्चा समेत संक्रमित भई दुई हप्ता कोरोनासँगको युद्ध जितेर आएपछि आफू झनै शक्तिशाली भएको महसुस गर्छिन् । तर अहिले एपिसेन्टर न्युयोर्कमा हरेक दिन आउने नेपालीको मृत्‍युको खबरले भने उनलाई निकै बिचलित बनाएको छ । निमाले आफू सञ्चो भएर न्युयोर्कको नेपाली समुदायका बिरामीहरुलाई उपचार, सल्लाह र सहयोग गर्न थालेको झन्डै २ हप्ता हुन लाग्यो । तर दुई दिन अगाडि मात्र न्युयोर्कमा मृत्‍यु भएका पवन मल्लको खबरले त झनै बिचलित बनाएको बताउँदै निमा भन्छिन् “त्यो मल्ल भाई यही उड साईडमा बस्ने मान्छे रहेछन् म पनि यँही उड साईडमा बस्छु । उनी बिरामी भएको समयमा यदि राम्रो चिकित्सकको उपचार नपाए पनि मसँग मात्र संपर्कमा आएको भए मैले धेरै नै मद्दत गर्न सक्ने थिए तर अब समय बितिसक्यो पश्चाताप गर्नुको बिकल्प छैन । तर पनि यो घटनाले निकै दिक्क लागेको छ” । १४ बर्षदेखि अमेरिकास्थित नर्सिङ पेसामा सेवारत निमा बिगत ४ बर्षदेखि प्रख्यात माउन्ट साइनाई हेल्थ सिस्टम न्युयोर्कमा कार्यरत छिन् । निमा आफु भित्र कोरोना संक्रमित नेपालीलाई रोगबाट उन्मुक्तीको लागि सहयोग गर्ने हुटहुटी बढेको बताउँदै भन्छिन् “महामारीको समय छ चिकित्सकहरु धेरै ब्यस्त छन् ।  अस्पातलहरु भरिभराउ छन् । बिरामीहरु आत्तिने गर्दछन् । कोसँग सल्लाह लिने ?कस्लाई सोध्ने ? भन्ने कुराको आन्योल छ त्यसैले यस्तो समयमा मलाई २४ घण्टा नै संपर्क गरेपनि मैले जानेको बुझेको सहयोग गर्ने थिए” ।

    हाल न्युयोर्कमा ५ सय भन्दा धेरै नेपाली कोरोना संक्रमित भएर आफ्नो निवासमा स्वास्थ लाभ गरिरहेको र झन्डै ५० जना अस्पातलमा उपचार गरिरहेको अनुमानित आँकडा छ । जुन आँकडाको अधिकारिक पुष्टि भने छैन ।  

    कोरोना संक्रमणले मान्छेको शरिर मात्र कमजोर नबनाई यस्ले आत्मबल समेत कमजोर बनाउने हुँदा यस्तो अवस्थामा बिरामीसँग स्वास्थ क्षेत्रको अलिकति  अनुभवी ब्यक्तीको सुझाबले निकै आत्मबल बढ्ने र बिरामीको ज्यान नै जोगिने निमाको अनुभव छ । सही काउन्सेलिङ नहुँदा थुप्रै नेपाली बिरामीले अहिले नेपालबाट ल्याएको औषधी र अमेरिकाकै फार्मेसीको काउन्टरमा किनेको औषधी दुईवटा नै खाने गरेको आफूले भेटेको निमा सुनाउँदै भन्छिन् – “थुप्रै नेपाली दाजूभाईले नेपालबाट ल्याएको औषधी र अमेरिकामा किनेको औषधी दुई थरी नै खाने गरेका छन् । उनीहरुले नेपालको औषधी र अमेरिकाको औषधीको नाम फरक देखेको कारण दुई वटा नै खान्छन् तर औषधीमा भएको केमिकल एउटै भएर डलब डोज औषधी खाएर थप बिरामी हुँदै गएको अवस्था छ” ।  

    अन्त्यमा निमा भन्छिन्; “अरु समय कम्युनिटीको साथ आवस्यक नहुन सक्छ तर यस्तो अवस्थामा नेपाली समुदाय एक भएर कानूनी कागजात भएका/नभएका, जात धर्म र समुदाय मतलब नगरि कोरोनासँग बिजय प्राप्त गर्नु महत्वपूर्ण कुरा हो । त्यसैले खानु पर्ने औषधी नखाएर नखानु पर्ने औषधी खाएर थुप्रै मान्छे थप रोगी हुनबाट र मृत्‍यु हुनबाट  जोगाउने लगायत बिरामीलाई आत्मबल दिने काम महत्वपूर्ण भएको छ । यसर्थ मलाई जुनसुकै बेला इमेल मार्फत सम्पर्क गरि आफ्नो समस्या र फोन नम्बर छोडेमा फेसटाईम र भिडियो कलबाट समेत म सहयोग गर्दछु । संकोच नमान्नु होला । मेरो इमेल : [email protected] हो” ।

    (विश्वन्युज र विश्व सन्देश साप्ताहिकको लागि बिजय राम पौडेलसँगको कुराकानीमा आधारित )

  • १२ सय डलर खातामा आएको छैन भने ५ कारण यस्ता छन्

    १२ सय डलर खातामा आएको छैन भने ५ कारण यस्ता छन्

    न्युयोर्क

    यो हप्ता आई आर एसले ८ करोड मानिसको खातामा संघीय सरकारद्वारा उपलव्ध गराइएको कोरोना राहत प्याकेजको रकम पठायो । यदि तपाईं त्यो पैसा पाउने भाग्यमानीमा पर्नु भएन भने यो नसोच्नुस् कि तपाईंले अब पैसा प्राप्त गर्नु हुन्न ।

    कुल जनसंख्याको झन्डै ८० प्रतिशत मानिस यो राहत रकम प्राप्त गर्न योग्य हुँदा हुँदै पनि यो हप्ता तपाईंले मात्र आफ्नो बैंक खातामा पैसा नदेखेको होईन । अर्को ६ करोड मानिस पनि ब्यांक खातामा डाइरेक्ट डिपोजिटको लागि कुरी रहेका छन् । तपाईंले यो हप्ता पैसा नपाउनुको ५ कारण यस्ता छन् :

    १) यदि सन् २०१८ र १९ मा फेडरल ट्याक्स  रिफन्ड लिएको छैन भने : अहिले राहत रकम पठाउदा आई आर एसले सन् २०१८/१९ मा फेडरल रिफन्ड रकम पठाएको ब्यांक खातामा पैसा पठाएको हो । यदि तपाईंले २०१८ र २०१९ मा ईलेक्ट्रोनिक ट्याक्स फाईल पनि गर्नु भएको छ । तपाईंको खाता नम्बर आई आर एससँग भए पनि तपाईंले फेडरल रिफन्ड प्राप्त गरेको छ भने मात्र त्यो खातामा पैसा आएको हो । तपाईंले आई आर एसलाई ट्याक्सको पैसा तिरेको छ भने त्यो खातामा अहिले आई आर एसले पैसा पठाएको छैन ।  

    २) तपाईंको पैसा पुरानो खातामा गएको पनि हुन सक्छ : यदि तपाईंले सन् २०१९ मा फेडरल  टयाक्स रिफन्ड पाएको छैन वा सन् २०१९ को ट्याक्स फाईल गरेको छैन भने सन् २०१८ मा रिफन्ड् प्राप्त गरेको ब्यांक खातामा पैसा गएको हुन सक्छ । केही मानिसहरुले समाचार एजेन्सी सि एन एनलाई भनेका छन् उनिहरुको पैसा आई आर एसलाई बन्द भै सकेको खातामा पठाएको छ । यस्तो अवस्थामा ब्यांकले पैसा आई आर एसलाई फिर्ता पठाउँदछ र केही हप्ता पछि चेक घरमा आउँदछ ।  

    ३) कर दाखिला गर्ने ब्यक्तीले खडा गरेको अस्थाई खातामा : तपाईंलाई थाहा नहुन पनि सक्छ कहिले काँही ट्याक्स तयार गर्ने ब्यक्तीले खडा गरेको अस्थाई खातामा तपाईंको ट्याक्स रिफन्ड लिई पछी आफ्नो ट्याक्स तयार गरेको सुल्क कटाएर त्यसपछी मात्र तपाईंको आफ्नो ब्यांक खातामा वा डेबिट कार्डमा पठाउने गरेको पनि हुन सक्छ ।  यस्तो अवस्थामा पैसा प्राप्त गर्न समय लाग्न सक्छ । सन् २००८ मा सरकारले पठाएको स्टिमुलस रकम प्राप्त गर्दा २ करोड मान्छे यस्तो अवस्थाले अप्ठेरोमा परेका थिए ।  पछि ती २ करोड मानिसको चेक घरमा आएको थियो ।  

    ४) यदि तपाईंले सन् २०१९ मा ट्याक्स फाईल गर्दा ईलेक्ट्रोनिक नगरेर कागजी फाईल गर्नु भएको छ भने : यदि तपाईको सन् २०१८ को ट्याक्स रिफन्ड ब्यांक खातामा डाइरेक्ट डिपोजिट भएको छैन र सन् २०१९ मा ट्याक्स फाईल कागज नै हुलाकबाट पठाएर गर्नु भएको छ भने पनि तपाईंले यो हप्ता राहत रकम खातामा देख्नु भएन ।  अहिले आई आर एसको अधिकांश काम कोरोना महामारीका कारण ‘रिमोट्ली’ (नियमित कार्यालयमा नगई) भई रहेको छ । हुलाकबाट आएका कागजी ट्याक्स अभिलेख पुन: कार्यालय नखुलेसम्म प्रकृयामा गएका छैनन । यस्तो अबस्थामा केही समय पछि हुलाक मार्फत चेक तपाईंको घरमा आउने छ ।  

    ५) ट्याक्स फाईल गर्नै नपर्ने अवस्था हुँदा :

    अमेरिकामा लाखौं त्यस्ता ब्यक्ती पनि छन् जसले न्युन आम्दानी भएको कारण ट्याक्स फाईल गर्नु पर्दैन । साधारणतया अघिल्लो बर्ष प्रतिब्यक्ती १२,२०० डलर र दम्पत्तीले २४,४०० डलर आम्दानी गर्नेले आई आर एसको पूर्ण नयाँ फर्म भर्नु नपर्ने अवस्थाका मानिसले हालै स्टिमुलस रकमको लागि आई आर एसले सुरु गरेको नाम जन्ममिति र सोसल सेक्युरिटी नम्बर भर्नु पर्दछ । जुन सामान्य फर्ममा आम्दानी भने खुलाउनु पर्दैन ।    

    श्रोत : सि एन एन

  • जनकपुरमा दुई महिलाले सडकमा छरे नोट, कोरोना फैलाउने प्रयासको आंशका

    जनकपुरमा दुई महिलाले सडकमा छरे नोट, कोरोना फैलाउने प्रयासको आंशका

    जनकपुर । जनकपुरमा दुईजना अपरिचित महिलाले सडकमा नेपाली रुपैयाँका नोट छर्दै हिँडेपछि स्थानीयमा त्रास बढेको छ ।

    प्रहरीका अनुसार उनीहरुले शुक्रबार दिउँसो साढे १२ बजेतिर सडकमा नेपाली नोट छर्दै हिँडेका थिए । घटनाबारे प्रहरीले अनुसन्धान थालेको बताएको छ।

    शुक्रबार मध्यान्ह साढे १२ बजेको समयमा जनकपुर उपममहानगरपालिका ६ महावीर चोकस्थित सडकमा अपरिचित दुई महिलाले १० रुपैयाँ दरका करिब १५ वटा नोट छरेको प्रहरीको भनाई छ ।

    बाटोमा नोट छरेर भागेका ती महिलाको प्रहरी चौकी जनकपुरधामबाट प्रहरी नायब निरीक्षकको टोलीले खोजी थालेको बताइएको छ ।

    प्रहरीले ती महिला कोरोना संक्रमणसम्बन्धी शंकास्पद हुन सक्ने बताएको छ। ती नोट बरामद गरी आवश्यक अनुसन्धानको लागि ल्याएर परीक्षण गर्न प्रादेशिक अस्पताल जनकपुरमा पठाइएको छ ।

    ‘नोट छर्ने महिलाहरुको खोजी भइरहेको छु, जिप्रका धनुषाले भनेको छ ‘नोट छरिएको क्षेत्रलाई सेनिटाइजसमेत गरिएको छ। अफवाह र गलत समाचारमा विश्‍वास नगर्न पनि अपिल गर्दछौं।’

  • बेलायतबाट फर्केका आमाछोरासहित नेपालमा एकै दिन १४ नयाँ संक्रमित पुष्टी

    बेलायतबाट फर्केका आमाछोरासहित नेपालमा एकै दिन १४ नयाँ संक्रमित पुष्टी

    काठमाडौं । नेपालमा एकैदिन १४ जना कोरोना भाइरस (कोभिड १९) का नयाँ संक्रमित भेटिएका छन् । स्वास्थ तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार उदयपुरमा १२ जना र चितवनमा दुई नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

    चितवनमा बेलायतबाट फर्किएका आमाछोरामा कोरोना पुष्टी भएको हो । उदयपुरमा भेटिएका १२ जना मध्ये भने ६ जना भारतीय रहेको बताइएको छ ।

    उनीहरु एक मस्जिदमा लुकेर बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो । त्यसपछि चिकित्सकसहितको टोलीले कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएको हो ।

    यससँगै अब नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ । नेपालको पहिलो संक्रमित भने निको भएर घर फर्किसकेका छन् ।

    नेपालमा विदेशबाट फर्केर पनि अस्पतालमा स्वास्थ्य चेकअप नगराएका कारण उनीहरुमार्फत समुदायमा जोखिम बढेको छ ।

    त्यसमा पनि विकसित र सचेत मुलुकबाटै फर्किएका नागरिकले बढी वेवास्थ गरेका छन् । यसै समस्याले गर्दा पछिल्लो समय विदेशबाट फर्केर लुकेर बसिरहेका मानिसको खोजी गर्न स्थानिय तहरु सक्रिय भएका छन् ।

  • कोरोनाको संक्रमणबाट न्यूयोर्कमा थप एक नेपालीको निधन

    कोरोनाको संक्रमणबाट न्यूयोर्कमा थप एक नेपालीको निधन

    एप्रिल १६, न्यूयोर्क

    विश्वव्यापी महामारी बनेको कोरोनाले न्यूयोर्क सहरलाई सबैभन्दा आक्रान्त पारेको अवस्थामा न्यूयोर्कको क्वीन्सस्थित रक्कवेमा बस्दै आएका महेश अमात्यको निधन भएको छ ।

    श्रीमती शारदा लक्ष्मी श्रेष्ठका साथ बस्दै आएका ७० वर्षीय अमात्यको बिहीबार बिहान आज क्वीन्सको जमैका हस्पिटलमा निधन भएको हो । बुधबार साँझ उहाँलाई गाह्रो भएपछि एम्बुलेन्समा अस्पताल लगिएको थियो । निरन्तर ज्वरो आउने क्रम नरोकिएपछि पिसाब समेत रोकिएको थियो । मे महिनामा नेपाल जाने तयारीमा रहेका अमात्य बिगत २ हप्तादेखि कोरोना भाइरस संक्रमित भएपछि घरमै बसेर उपचार गराउँदै आएका थिए ।

    यो घटनासँगै हालसम्म न्यूयोर्क सहरबाट ७ जना नेपालीको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भइसकेको छ ।

    (योगेश आदी)

  • न्युयोर्कको लकडाउन मे १५ सम्म लम्बियो

    न्युयोर्कको लकडाउन मे १५ सम्म लम्बियो

    न्युयोर्क      

    न्युयोर्क राज्यको लकडाउन आगामी मे १५ सम्म कायम हुने भएको छ । गभर्नर एन्ड्रु कुमोले न्युयोर्कमा कायम रहेको लकडाउन आगामी मे १५ सम्म रहने न्युयोर्कको राजधानी अल्बानीबाट बिहीवारको प्रेस ब्रिफिङमा बताएका हुन् । कुमोले अन्य राज्यहरुसँगको सहकार्यमा अहिलेको लकडाउनलाई कायम राखिने बताएका छन् ।  यस अगाडि तय गरिएको अप्रिल ३० सम्मको लक डाउनलाई मे १५ सम्म बढाउने निर्णय गरेको बताउदै कुमोले भनेका छन् “अहिले हामीले जे गरी रहेका छौं, यसैलाई नियमीत गर्छौ । म यो भन्दा धेरै कम संक्रमित दर भएको म हेर्न चाहन्छु” ।

    न्युयोर्कमा कोरोना संक्रमण सुरु भए यता सबै भन्दा कम संक्रमितको संख्या बुधबार देखिएको र आी सि युसम्म पुग्ने र अस्पातल भर्ना हुने बिरामीको संख्यामा पनि निकै सुधार आएको भन्दै उनले छिमेकी राज्यहरुसँगको सहकार्यमा अहिलेको लकडाउनलाई एक महिना लम्ब्याउने बताएका हुन् । यद्यपी कुमोले कुन कुन राज्यले लकडाउन बढाउने सहमती गरेको हो त्यो भने खुलाएका छैनन् ।  यस अगाडि डेलावर राज्यले मे १५ सम्म बढाउने निर्णय गरिसकेको छ भने न्युयोर्क राज्यमा यस अगाडि नै अर्को सुचना नआउन्जेलसम्म “पुट इन प्लेस” घोषणा गरिएको छ ।  

    अमेरिकामा ६ लाख ४० हजार २ सय संक्रमित र ३१ हजार भन्दा धेरैको मृत्‍यु हुँदा  न्युयोर्क राज्यमा मात्र २ लाख १४ हजार ८ सय संक्रमित र १५ हजारको कोभिड -१९ का कारण मृत्‍यु भै सकेको छ ।

  • सीमा पारी क्वारेन्टाइनमै आमाको किरिया बसेका भट्टलाई घर ल्याइने

    सीमा पारी क्वारेन्टाइनमै आमाको किरिया बसेका भट्टलाई घर ल्याइने

    दार्चुला । भारतबाट नेपाल आउँदा आउँदै नेपालको सीमाना बन्द भयो । सीमा बन्द गर्नु सरकारको पनि बाध्यता थियो । तर, सीमानामा रोकिएका नेपालीको उचित व्यवस्थापनमा भने सरकार चुकेको छ ।

    यसको चरम रुप भारतको धार्चुलामा देखिएको छ । घरमा आमाको निधन भएपछि घर आउँदै गरेका छोरा पनि सीमा पारी नै रोकिए ।

    उनलाई सरकारले घर आउन दिएन । सोहीकारण उनी रोकिएकै स्थानमा आमाको किरिया बसे । यो खबर सार्वजनिक भएपछि सरकारले उनलाई घरसम्म लैजाने भएको छ ।

    यसका लागि प्रक्रिया थाल्न गृह मन्त्रालयले स्थानीय प्रशासनलाई निर्देशन दिएको हो ।

    दार्चुलाको शैल्यशिखर नगरपालिका–१, भलाँचका वासुदेव भट्ट आमाको मृत्युपछि भारतको धार्चुलास्थित आश्रय स्थलमा मै किरियामा बसेका छन् ।

    नेपाल सरकारले उनलाई घर फर्काउने निर्देशन दिएपनि भारत सरकारको अनुमति चाहिने भएकाले उनलाई बिहीबार घर ल्याउन भने सकिएन ।

    दार्चुलाबाट शैल्यशिखर नगरपालिकाको टोली गाडीसहित गएको छ । लकडाउन घोषणापछि दार्चुलापारि धार्चुलामा साढे पाँच सयभन्दा बढी नेपाली रोकिएका छन् ।