Category: समाचार

  • शनिबार यता नेपालमा थपिएनन् कोरोना संक्रमित, सुदुरपश्चिमबाट आउन थाल्यो रिपोर्ट

    शनिबार यता नेपालमा थपिएनन् कोरोना संक्रमित, सुदुरपश्चिमबाट आउन थाल्यो रिपोर्ट

    काठमाडौं । शनिबार यता नेपालमा कोरोना संक्रमित फेला परेनन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना अतिप्रभावित क्षेत्रबाट प्राप्त कूल ६६ वटा नतिजा परिक्षण भएको थियो ।

    तर, सबै परिक्षण नेगेटिभ आएको छ । सरकारले सातवटै प्रदेशमा र्‍यापिड डाइगोनिस्टिक किटबाट कोरोनाको परीक्षणको तयारी समेत गरेको छ ।

    लकडाउन गरिरहेको सरकारले परिक्षण समेत सँगै बढाउँदै कोरोना संक्रमणविरुद्ध लड्ने योजना बनाएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

    उनका अनुसार प्रत्येक प्रदेशमा ५ हजारको दरले किट पठाइ सकिएको छ । सरकारले यो किटबाट सुदूरपश्चिमको कैलालीमा परीक्षण गर्न सुरू गरेको छ ।

    किटले १५ मिनेटमै परीक्षणको नतिजा दिने बताएको छ । यसरी संकलन भएको किटको गुणस्तर जाँच्न कैलाली र कञ्चनपुरबाट २ सय नमूना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ल्याइएको छ।

    त्यसमध्ये ६६ नमुना परिक्षण गरिएको हो । नेपालमा करीव २४ सय परिक्षण भइसकेको छ । जसमा ९ जनामा मात्र कोरोनाको संक्रमण देखिएको छ ।

    त्यसमा पनि १ जना निको भइसकेका छन् । कोरोना पोजेटिभ बिरामीको समेत कोरोनाको लक्षण नदेखिएको र स्वस्थ रहेको बताइएको छ ।

  • अवकास प्राप्त चिकित्सकलाई पनि सेवामा खटाउने तयारी

    अवकास प्राप्त चिकित्सकलाई पनि सेवामा खटाउने तयारी

    काठमाडौं । सरकारले कोरोना भाइरस रोकथाम र नियन्त्रणमा अवकाशप्राप्त चिकित्सकलाई समेत सेवामा खटाउने भएको छ ।

    यसबाहेक सरकारी छात्रवृत्तिमा गएर फर्किएका चिकित्सकलाई समेत परिचालनको योजना बनाएको छ ।

    सरकारले पारिश्रमिक लिएर वा स्वयंसेवी रुपमा केही अवधिका लागि उनीहरुको सेवा लिने तयारी गरिएको हो । यसका लागि सार्वजनिक आह्वान गर्न लागिएको  छ ।

    सरकारले निजी स्वास्थ्य संस्थाका चिकित्सकलाई पनि सरकारी सेवामा आउन चाहेमा कार्यरत पदमै मिलान गरी ल्याउने निर्णय गरिसकेको छ ।

    यसका लागि निजीका डाक्टरले पनि सरकारी डाक्टरसरह सुविधा पाउने भएका छन् । यस्ता जनशक्ति कम्तीमा तीन महिनाका लागि खटाइने भएको छ ।

    अवकाश प्राप्तलाई सेवामा लिँदा उमेरको कुनै हद नहुने र अनुभवी तथा पाका चिकित्सकलाई अझ बढी सुविधा र सम्मान आवश्यक परे राष्ट्रलाई आवश्यक परेका बेला उनीहरुको दक्षता उपयोग गर्ने तयारीमा सरकार रहेको हो ।

    नेपालको राष्ट्रिय समाचार संस्था रासससँग कुरा गर्दै स्वास्थ्य मन्त्री भानुभक्त ढकालले यस्तो जानकारी दिए ।

    मन्त्री ढकालले कोभिड–१९ को रोकथाम र नियन्त्रण गर्न स्वास्थ्यकर्मीको अभाव हुन नदिन सबै उपाय अवलम्बन गरिएको समेत बताएका छन् ।

    अहिलेकै स्वास्थ्य क्षेत्रमा भएकै जनशक्तिको पनि उचित परिचालन नभएको र स्वास्थ्य सुरक्षा सामग्रीको अभावमा लकडाउनको सुरुका अवधिमा सीमित सङ्ख्यामा भएको परीक्षणलाई प्रदेश र जिल्लास्तरमा विस्तार गरिएको उनले बताएका छन् ।

    अहिले काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु र काठमाडौ‌ं बाहिरका १० स्थानमा कोरोनाको भाइरसको परीक्षण भइरहेको छ ।

  • कांग्रेसका १० नेताको सुझाव, सांसद विकास कोषको रकम कोरोना रोकथाममा लगाउ

    कांग्रेसका १० नेताको सुझाव, सांसद विकास कोषको रकम कोरोना रोकथाममा लगाउ

    काठमाडौं । नेपाली कांग्रेसका १० नेताले सांसद विकास कोष र पूर्वपदाधिकारीको सुविधा कटौती गरी कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा लगाउन सुझाव दिएका छन् ।

    उनीहरुले बिहीबार एक विज्ञप्ति जारी गरी यस्तो सुझाव दिएका हुन् । अहिले सरकारले खर्च कटौती गरी रकमको जोहो गर्न खोजिरहेको छ ।

    संकटको समयमा खर्च कटौतीका लागि सांसद विकास कोषको रकम उपयुक्त हुने उनीहरुको सुझाव रहेको छ ।

    कोरोना रोकथाम तथा नियन्त्रणमा पूर्व पदाधिकारीले पाउने सुविधा र सुरक्षा कटौती गरेर जनताको हितमा लगाउन समेत उनीहरुले माग गरेका छन् ।

    संघीय सरकारले प्रतिनिधिसभा निर्वाचन क्षेत्रका लागि स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रममार्फत प्रतिसांसद ६ करोड रुपैयाँ विनियोजन गर्ने गरेको छ ।

    कांग्रेस नेताहरुले सुरक्षाकर्मीको तलब समेत नकाट्न सुझाव दिएका छन् ।

    नेताहरु डा. चन्द्र भण्डारी, धनराज गुरुङ, कमला पन्त, रत्ना शेरचन, गुरुराज घिमिरे, गगन थापा, बद्री पाण्डे, जीवन परियार, प्रदीप पौडेल, रामकृष्ण यादव, कल्याण गुरुङ र किरण यादवले विज्ञप्ति जारी गरेका हुन् ।

    सरकारले कोरोनाको संक्रमण पत्ता लगाउन परिक्षणको दायरा बढाउनु पर्ने उनीहरुको सुझाव रहेको छ ।

    उनीहरुले कोरोना भाइरसबाट संक्रमित ब्यक्तिको पहिचानका लागि आबश्यक पर्ने परीक्षणका लागि चाहिने परीक्षण किट, पिपिइ लगायतका स्वास्थ्य उपकरण तथा सामग्रीको बन्दोबस्त गर्न पनि सरकारसँग माग गरेका छन् ।

    नेताहरुले बिदेशबाट नेपाल आउन चाहने नेपालीलाई सहजै आउन दिने ब्यवस्थाको माग गरेका छन् ।

  • सरकारको आलोकाँचो निर्णयले जनता अन्यौलमा, यातायात खुलाउने निर्णय डेढ घण्टामै फिर्ता

    सरकारको आलोकाँचो निर्णयले जनता अन्यौलमा, यातायात खुलाउने निर्णय डेढ घण्टामै फिर्ता

    काठमाडौं । बिहीबार अपरान्ह सरकारले एक निर्णय गर्यो । निर्णय अनुसार काठमाडौंबाट उपत्यका छाड्ने चाहनेका लागि शुक्रबार र शनिबार सार्वजनिक यातायात खुला गर्ने ।

    काठमाडौं लकडाउनका कारण अलपत्र परेकाहरुलाई उपत्यका बाहिर जान दिने निर्णय कोभिड १९ सम्बन्धी उच्चस्तरीय संयन्त्रबाट भयो ।

    तर, यो निर्णय करीव डेढ घण्टा मात्र टिक्यो । सरकारको यो निर्णयलाई प्रदेश सरकारहरुले विरोध गरे ।

    यातायात व्यवसायीले पनि सरकारको यस निर्णयमा साथ नदिने बताए । त्यसपछि संघीय सरकार आफ्नो निर्णयबाट फिर्ता भयो । त्यति सम्म त ठिकै छ ।

    निर्णय फिर्ता भएसँगै उपप्रधानमन्त्री इश्वर पोखरेलको नाममा एक विज्ञप्ती सार्वजनिक गरियो ।

    जहाँ संचारमाध्यमले हुँदै नभएको निर्णयलाई अफवाह फिजाएको उल्लेख छ । तर, प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयले सामाजिक संजालबाट यथार्थ सार्वजनिक गरेको छ ।

    जसअनुसार सरकारले यातायात खुलाउने निर्णय गरेको थियो । तर, प्रदेश सरकारहरुको विरोध पछि निर्णय फिर्ता लिइएको अपडेट गरिएको छ ।

    तर, इश्वर पोखरेलले निर्णय गरेर पनि होइन भन्दै गरेको प्रचारको भने आलोचना भइरहेको छ ।

    कोरोना भाइरस (कोभिड १९) को सक्रमण फैलिन नदिन सरकारले ११ चैतदेखि लकडाउन गरेको छ ।

    लकडाउन वैशाख ३ सम्म लम्बिएपछि मानिसहरु हिँडेर समेत घर जान थालेका थिए । सोहीकारण संघीय सरकारले दुई दिन यातायात खुलाउने तयारी गरेको थियो ।

  • बहराइनमा नेपालीमाथि बढ्दो संक्रमण, २२ जनामा पुग्यो कोरोना संक्रमण

    बहराइनमा नेपालीमाथि बढ्दो संक्रमण, २२ जनामा पुग्यो कोरोना संक्रमण

    मनामा । बहराइनमा रहेक नेपालीमाथि कोरोनाको संक्रमण बढेको छ । यस मुलुकमा मात्र कोरोना भाइरस संक्रमित नेपालीहरुको संख्या २२ पुगेको हो ।

    बुधबार थप १० जनामा संक्रमण पुष्टि भएको मनामास्थित नेपाली राजदूतावासले जानकारी दिएको छ ।

    यसअघि सल्माबादस्थित एक क्याम्पमा एक जना विदेशी नागरिकमा कोरोना संक्रमण देखिएपछि त्यहाँ कार्यरत चार सय जनालाई क्वारेन्टाइनमा राखिएको थियो ।

    सोही क्याम्पबाट १० जना नेपालीमा समेत कोरोना संक्रमण पुष्टि भएको दूतावासले उल्लेख गरेको छ ।

    दूतावासका अनुसार बुधबार दिउँसो दुई बजेसम्म बहराइनमा ५२ हजार ३ सय ५१ जनामा कोरोना संक्रमणको परिक्षण गरिएको थियो ।

    जसमध्ये २२ जना नेपालीमा पुष्टी भएको छ । बहराइनमा कूल संक्रमितको संख्या ३ सय ४९ रहेको छ । यहाँ अहिलेसम्म ५ जनाको ज्यान गएको छ ।

    संक्रमितमध्ये तीन जनाको अवस्था गम्भीर रहेको दुतावासले उल्लेख गरेको छ । ४ सय ६७ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

    बहराइनले अवैधानिक रुपमा विना कागजात कार्यरत कामदारहरुका लागि वैधानिक हुन वा बहराइन छाड्न ३१ डिसेम्बर २०२० सम्मको समय समेत दिएको छ । यहा ठूलो संख्यामा नेपाली कामदार रहेका छन् ।

  • कोरोना संक्रमित १५ लाख नाघे, अमेरिकामा एकै दिन १९ सयको मृत्यु

    कोरोना संक्रमित १५ लाख नाघे, अमेरिकामा एकै दिन १९ सयको मृत्यु

    काठमाडौं । कोरोना भाइरसको इपिसेन्टर अमेरिकामा यस भाइरसको कहर जारी रहेको छ ।

    विश्व स्वास्थ्य संगठनको पछिल्लो तथ्यांक अनुसार अमेरिकामा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणकै कारण १९ सय मानिसले ज्यान गएको छ ।

    २४ घण्टामा अमेरिकामा १८ सय ९७ मानिसको ज्यान गएको बताइएको छ । यहाँ एक दिनमै थप २९ हजार ९ सय ३६ नयाँ संक्रमित फेला परेका छन् ।

    अब अमेरिकामा कूल संक्रमितको संख्या ४ लाख ३० हजार पुगेको छ। अमेरिकामा मृत्यु हुनेको संख्या १४ हजार ७ सय ३८ रहेको तथ्यांक छ ।

    अमेरिका पछि स्पेनमा मृतकको संख्या बढेको छ। पछिल्लो समय इटलीमा भने मृत्युदर घटेको छ । चीनले भने कोरोनाबाट मुक्त भई मूख्य प्रभावित शहर वुहान नै लकडाउनबाट खुला गरेको छ ।

    स्पेनमा मृत्यु हुनेको संख्या १४ हजार ७ सय ९२ पुगेको छ । यहाँ पछिल्लो २४ घण्टामा ७ सय ४७ जनाको मृत्यु भएको छ ।

    यस मुलुकमा संक्रमितको संख्या १ लाख ४८ हजार रहेको छ । इटालीमा १ लाख ३९ हजार ४ सय २२ मा कोरोना संक्रमण भएको छ ।

    इटालीमा सर्वाधिक १७ हजार ६ सय ६९ ले ज्यान गुमाइसकेका छन्। २६ हजार ४ सय ९१ जना उपचारपछि निको भई घर फर्किएको इटलीले जनाएको छ ।

    फ्रान्समा पनि कोरोना संक्रमितको संख्या १ लाख १३ हजार ९ सय ५९ पुगेको छ । १० हजार ८ सय ६९ जनाले संक्रमणबाट ज्यान गुमाइसकेका छन्।

    देश जर्मनीमा पनि संक्रमितको संख्या १ लाख १३ हजार २ सय ९६ जना पुगेको छ । यहाँ २ हजार सय ४९ जनाको ज्यान गइसकेको छ ।

    विश्वभर कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या ८८ हजार ४ सय ५ पुगेको छ।

    बिहीबार बिहानसम्मको तथ्यांक अनुसार १५ लाख १३ हजार ३ सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    त्यस्तै, ३ लाख २९ हजार ७ सय ३१ जना उपचारपछि निको भएका छन् । नेपालमा कूल ९ जनामा संक्रमण देखिएको छ । त्यसमध्ये १ जना निको भएर घर फर्किएका छन् ।

  • अवैतनिक वाणिज्यदूतको कूटनीतिक सुविधा खोसियो

    अवैतनिक वाणिज्यदूतको कूटनीतिक सुविधा खोसियो

    काठमाडौं । अवैतनिक वाणिज्यदूतले कुटनीतिक सुविधाअन्तर्गत सवारीमा नीलो नम्बर प्लेट लगाउन पाउने सुविधा खोसिएको छ ।

    यसअघि सुलभ अग्रवालले कालोबजारीको काममा कुटनीतिक सुविधाको सवारी साधन प्रयोग गरेका थिए । उनी पक्राउ परेका छन् ।

    यस काण्डपछि परराष्ट्र मन्त्रालयले बुधबार यस्तो निर्णय गरेको हो । मन्त्रालयका अनुसार कुनै पनि अवैतनिक वाणिज्यदूतहरुले आफ्नो सवारीमा निलो नम्बर प्लेट र अफिसियल झण्डा प्रयोग गर्न पाउने छैनन् ।

    सरकारले अर्को सूचना नआउँदासम्मका लागि ती सुविधा खोस्ने निर्णण गरेको हो ।

    ब्यापारी शंकर समूहका उपाध्यक्ष सुलभ अग्रवाल नेपालका लागि किर्गिस्तानका अवैतनिक वाणिज्य दूत हुन् । चीनमा निर्मित थर्मल गनको कालोबजारी गरेको आरोपमा प्रहरीले उनलाई मंगलबार पक्राउ गरेको हो ।

  • प्रधानमन्त्रीलाई गगन थापाका प्रश्नै-प्रश्न

    प्रधानमन्त्रीलाई गगन थापाका प्रश्नै-प्रश्न

    काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सोधेका करीव एक दर्जन प्रश्न सामाजिक संजालबाट सार्वजनिक गरेका छन् ।

    संसद स्थगित भएको अवस्थामा प्रधानमन्त्रीलाई सोध्नु पर्ने प्रश्नहरु आफुले सामाजिक संजालबाटै सोधेको उनको भनाई छ । प्रधानमन्त्रीलाई सम्बोधन गर्दै लेखेको पत्रमा उनले कूल ११ प्रश्न सोधेका छन् ।

    प्रधानमन्त्री ओलीले मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेका थिए । प्रधानमन्त्रीकै सम्बोधनको सेरोफेरोमा रहेर सांसद थापाले बुधबार यी प्रश्न सार्वजनिक गरेका हुन् ।

    संसद स्थगित भएको अवस्थामा आफूले प्रधानमन्त्रीलाई पत्रबाट नै प्रश्न राख्नुपरेको उनको भनाई रहेको छ । उनले कोरोनाभाइरस संक्रमण जोखिमसँग जुध्न सरकारको तयारी फितलो रहेको प्रतिक्रिया समेत दिएका छन् ।

    परीक्षण किट गुणस्तरहीन भएको भन्दै उनले परीक्षणका लागि आवश्यक जनशक्ति, तालिम र सुरक्षाको तयारी के छ भनेर सोधेका छन् ।

    दार्चुलापारि धार्चुलास्थित भारतीय भूमिमा नेपाली असुरक्षित रहेको भन्दै थापाले उनीहरुलाई नेपाल ल्याएर अनिवार्य क्वारेन्टाइनमा राख्नुपर्ने उल्लेख गरेका छन् ।

    प्रधानमन्त्रीले सम्बोधनका क्रममा के सोचेर जीवन या वैयक्तिक स्वतन्त्रतामध्ये एक रोज्न आग्रह गरेको हो भन्नेबारे पनि थापाले प्रश्न गरेका छन्।

    ‘के वैयक्तिक स्वतन्त्रताविनाको जीवन कल्पना गर्न सकिएला ?,’ थापाको प्रश्न रहेको छ ।

    थापाले विदेशमा रहेका नेपालीको अवस्थाबारे के भइरहेको छ भन्नेबारे पनि प्रश्न राखेका छ । कृषिको काममा भएका व्यवस्था, सुरक्षाकर्मीको सुरक्षाजस्ता विषयलाई समेत सांसद थापाले चासो दिएका छन् ।

  • कोरोना संकटका बेला पनि सेवामा नखट्ने ५ डाक्टर निलम्बित

    कोरोना संकटका बेला पनि सेवामा नखट्ने ५ डाक्टर निलम्बित

    बुटवल । प्रदेश नं ५ सरकारको निर्देशनमा कोरोनाका बेला बिरामीको सेवामा नखटिने ५ डाक्टर निलम्बनमा परेका छन् ।

    लुम्बिनी प्रादेशिक अस्पतालमा करारमा नियुक्त भई काम गर्दै आएका पाँच जना चिकित्सक पछिल्लो डेढ सातायता अस्पतालमा अनुपस्थित थिए ।

    उनीहरुबारे सूचना प्रदेश सरकारमा पुगेको थियो । सरकारले बर्खास्त गर्न सिफारिस गरेसँगै अस्पतालले उनीहरुलाई सेवाबाट निकालेको हो ।

    महामारीका बेला सबैभन्दा ठूलो भूमिका चिकित्सकको हुन्छ । तर, संकटकै समयमा अस्पताल नआउने चिकित्सकमाथि कारबाही थालिएको हो ।

    अस्पतालका अध्यक्ष सूर्य बहादुर भट्टराईले संकटको बेला बिरामीको सेवामा नखट्ने जो कोहीलाई पनि कारवाही गरिने बताएका छन् ।

    नेपालमा कोरोना देखिन थालेपछि चिकित्सक डरले सेवामा आउन छाडेका हुन् ।

    अस्पतालका अनुसार रेडियोलोजी विभागमा कार्यरत डा. वरदान वली र डा. तारा प्रसाद शर्मा, युरो सर्जन डा. सुवासचन्द्र चौधरी, इएनटी विभागका डा. प्रकाश न्यौपाने, आकस्मिक विभागमा कार्यरत डा. प्रकृति कार्की निलम्बनमा परेका हुन् ।

    उनिहरु अस्पताल प्रशासनलाई जानकारी नदिई सेवामा अनुपस्थित रहेको बताइएको छ ।

    चिकित्सक अनुपस्थित भएको थाहा पाएसँगै प्रदेस ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले महामारीको बेलामा पनि सेवामा नखटिने चिकित्सकहरूलाई कारबाही गर्न निर्देशन दिएका छन् ।

    मन्त्री बरालले सुत्केरी बिदा, काजक्रिया बिदा र बिरामी बिदा बाहेकका कुनै पनि बिदा स्वीकृत नगर्न र बिना जानकारी सेवामा अनुपस्थित हुने चिकित्सक तथा कर्मचारीहरूलाई कारबाही गर्न अस्पताल प्रशासनलाई निर्देशन दिएका छन्।

    त्यसपछि अस्पतालले कारवाहीको प्रक्रिया अगाडी बढाएको हो ।

  • विश्वभर कोरोनाका कारण ८२ हजारको ज्यान गयो

    विश्वभर कोरोनाका कारण ८२ हजारको ज्यान गयो

    काठमाडौं । कोभिड १९ को त्रास यूरोप र अमेरिकामा अझै बढ्दो क्रममा छ । यसको संक्रमणको उग्र रुप मंगलबार पनि देखियो । मंगलबार रातीसम्म विश्वभर मृत्यु हुनेको संख्या ८२ हजार १९ पुगेको छ ।

    विश्व स्वास्थ्य संगठनका नुसार संक्रमितको संख्या १४ लाख २८ हजार ४ सय २८ पुगेको छ । ३ लाख १ सय ९८ जना भने सन्चो भइसकेका छन् ।

    इटलीमा अहिलेसम्म मृतक संख्या १७ हजार एक सय १७ पुगेको छ । संक्रमितको संख्या १ लाख ३५ हजार ४ सय ८६ पुगेको छ ।

    स्पेनमा मृतक संख्या १४ हजार ४५ र संक्रमितको संख्या एक लाख ४१ हजार नौ सय ४२ पुगेको छ । संयुक्त राज्य अमेरिकामा मृतक संख्या १२ हजार ८ सय ४४ पुगेको छ ।

    यहाँ संक्रमितको संख्या ३ लाख ९८ हजार एक सय ८५ पुगेको छ । यो मुलुकमा विश्वकै बढी संक्रमित रहेका छन । अमेरिकाको न्युयोर्कमा मात्र मृतक संख्या पाँच हजार पुगेको छ । यस शहरमा मंगलबार एकै दिन ७ सय ३१ जनाको मृत्यु भएको छ ।

    न्यूयोर्कमा संक्रमित १ लाख ३८ हजार ८ सय ३६ छन् । फ्रान्समा मृतक संख्या १० हजार ३ सय २८ पुगेको छ । संक्रमितको संख्या एक लाख १० हजार ७० पुगेको छ । पछिल्लो २४ घण्टामा फ्रान्समा ७ सय ७ जनाको मृत्यु भएको छ ।

    बेलायतमा मृतक संख्या ६ हजार एक सय ७० पुगेको छ । यहाँ संक्रमितको संख्या ५५ हजार हजार नौ सय ४९ रहेको छ ।

    पछिल्लो २४ घण्टामा बेलायतमा सात सय ५८ जनाको मृत्यु भएको छ । नेपालमा यस रोगबाट ९ जना संक्रमित छन् । एक जना निको भइसकेका छन् ।

    पछिल्लो तीन दिन यता भने नेपालमा संक्तमित देखिएका छैनन् ।

  • १०९९ मा काम गर्नेले आयका आधारमा होइन सिधा साताको ६०० डलर मात्र पाउँछन् : सिपिए विराज रिजालको अन्तर्वार्ता

    १०९९ मा काम गर्नेले आयका आधारमा होइन सिधा साताको ६०० डलर मात्र पाउँछन् : सिपिए विराज रिजालको अन्तर्वार्ता

    अमेरिकामा कोरोना भाइरस संक्रमण चर्किएसँगै बेरोजगारीदर ह्वात्तै बढेको छ । बढ्दो बेरोजगारीलाई सम्बोधन गर्न अमेरिकी संसदले अघिल्लो साता दुई हजार अर्ब डलरको राहत प्याकेज पारित गर्यो । राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रमाणिकरण गरेसँगै उक्त प्याकेज कानून बनि सकेको छ । जस अन्तर्गत हरेक अमेरिकी करदाताले एक हजार दुई सय डलरको चेक पाउँदैछन् भने बेरोजगार हुनेले चार महिनाका लागि साताकाे छ सय डलर बेरोजगार बीमा बापत पाउनेछन् । उक्त बीमा रकम अप्रिल चार तारिख पछिको साताबाट वितरण सुरु हुँदैछ । उक्त रकम लिन पुर्याउनु पर्ने प्रकृयाबारे न्यूयोर्कमा ट्याक्स राजा एसोसिएट्स एलएलसी सञ्चालन गरि रहेका सिपिए विराज रिजालसँग विश्व न्यूजले गरेको कुराकानी ।

     

    जसले पहिले देखिनै वेरोजगार बीमा (भत्ता) लिइ रहेका थिए, उनीहरुले नयाँ सुविधा कसरी पाउन सक्छन्?

    हरेक राज्यले डब्लुटु फर्ममा काम गर्ने कामदारको लागि बेरोजगार बीमाको व्यवस्था गरेको छ । कुनै रोजगार व्यक्तिको प्रत्येक ‘पे चेक’ बापत सम्बन्धित रोजगारदाता कम्पनीले बेरोजगार बीमा बापतको प्रिमियम बुझाएको हुन्छ । त्यही प्रिमियमबापत कुनै ब्यक्तिले रोजगारी गुमाए २६ सातासम्म साप्ताहिक कमाइको ४० प्रतिशत रकम बेरोजगार बीमाको रुपमा पाउँछ । यस्तो बीमा लिने व्यक्तिले हरेक साता आफु बेरोजगार रहेको जानकारी आफ्नो राज्यको श्रम विभागलाई उपलब्ध गराइ रहनु पर्छ । नयाँ काम खोज्नका लागि यो २६ साताको अवधि दिइएको हो । त्यस अघिनै काम पाए बीमा बापतको रकम आउन छोड्छ । अहिले कोरोना भाइरस प्रभावितका लागि साताको थप छ सय डलर दिने गरि बेरोजगार बीमा कार्यक्रम बिस्तार गरिएको छ । संसदले प्रतिघण्टा १५ का दरले कुनै व्यक्तिले फूल टाइम  (४० घण्टा) काम गर्दा सातामा छ सय डलरसम्म कमाउँछ भन्ने आँकलनका आधारमा उक्त रकम तय गरेको हो । जसले यो प्याकेज आउनु अगावै देखि आफ्नो राज्यबाट बेरोजगारी बीमा लिइ रहेका थिए उनीहरुले थप रकम लिन कुनै अतिरिक्त प्रकृया पुरा गरि रहनु पर्दैन । जसले भाइरस संक्रमणकै कारण रोजगारी गुमाए उनीहरुले भने आफ्नो साप्ताहिक डब्लुटु आर्जनको जानकारी सहित राज्यको श्रम बिमागमा बेरोजगारी फारम भरेपछि राज्यले दिन न्यूनतम बेरोजगारी बीमा र कोरोना भाइरस स्टिमुलेसन प्याकेज अन्तर्गतको छ सय डलर साप्ताहिक रुपमा पाउनेछन् । बेरोजगारी बीमा उपलब्ध गराउनु अघि श्रम बिभागले रोजगारदातालाई सम्बन्धित कामदारले जागिर गुमाए नगुमाएको पुष्टिका लागि पत्राचार गर्छ । रोजगारदाताले पुष्टि गरिदिएपछि बीमा रकम उपलब्ध गराउन सुरु हुन्छ ।

     

    कन्ट्र्याक्ट (१०९९) मा काम गर्नेहरुले पनि आयकै आधारमा रोजगारी बीमा बापतको रकम पाउने हुन् ?

    कन्ट्र्याक्ट (१०९९) मा काम गरेबापत बेरोजगारी बीमा कार्यक्रममा कुनै योगदान दिइएको हुँदैन । त्यसैले कन्ट्र्याक्टमा काम गर्नेलाई यसअघि बेरोजगारी बीमा उपलब्ध हुँदैन थियो । अहिले बिषेश परिस्थितको कारण कन्ट्र्याक्टमा काम गर्ने वा ‘सेल्फ इम्प्लोइमेन्ट’ मा रहेकाहरुले पनि बेरोजगार बीमा पाउने व्यवस्था कोरोना भाइरस स्टिमुलेसन प्याकेजले गरेको छ । जस्तो न्यूयोर्कको सन्दर्भमा कन्ट्र्याक्टमा काम गर्नेहरुले राज्यको श्रम बिभागमा बेरोजगार भएको फर्म भरेपछि वेवसाइटमा एउटा फोन नम्बर उपलब्ध हुन्छ । त्यसमा फोन गरेर पुष्टि गरेपछि आफु उक्त सुविधाका लागि योग्य भइन्छ । प्रत्येक राज्यले आफ्नै शैलीले यसको व्यवस्था मिलाएका हुन्छन् । सबैको न्यूयोर्क जस्तै नहुन सक्छ । कन्ट्र्याक्टमा काम गर्नेले आफ्नो आयका आधारमा होइन सिधा साताको छ सय डलर मात्र पाउने व्यवस्था रहेको छ ।

     

    कन्ट्र्याक्ट र डब्लुटु दुई तिर काम गर्नेको आय चाहिँ कसरी गणना हुन्छ ?

    यसमा पनि डब्लुटुको आय गणना गरि चलि आएको बेरोजगारी बीमाको रकम निकालिन्छ र त्यसमा राहत प्याकेज बापतको छ सय डलर थप भएर आउँछ । कन्ट्र्याक्टमा काम गरेर आर्जन गरिएको आय बीमा रकम भुक्तानीमा गणना हुँदैन ।

     

    बेरोजगारी बीमा सरकारले दिने ‘फुड स्टाम्प’ जस्ता सार्वजनिक राहत (पब्लिक चार्ज)मा पर्छ कि पर्दैन?

    परम्परागत रुपमा रोजगारी गुमाउनेलाई २६ सातासम्म दिइँदै आएको बेरोजगारी बीमा योगदानमा आधारित भएका कारण पब्लिक चार्जमा पर्दैन थियो । तर, अहिले सरकारले स्टिमुलेसन प्याकेज अन्तर्गत सबै क्षेत्रका बेरोजगारलाई दिने भनेको साप्ताहिक छ सय डलरबारे भने केही प्रष्ट भनिएको छैन । तर, यो आयलाई बार्षिक आम्दानीमा समावेश गरि कर विवरणमा देखाउनु पर्ने र कर समेत लाग्ने भएको कारण पब्लिक चार्जमा समेटिन्न भन्ने बुझाइ रहेको छ ।

     

    कोरोना भाइरस प्रभावितका लागि ल्याइएको बेरोजगारी बीमा कहिले देखि उपलब्ध हुने हो?

    यो रकम अप्रिल ४ पछिको साताबाट उपलब्ध गराउने भनिएको छ । अर्थात आगामी साताबाट यो रकम बेरोजगारको खातामा जानुपर्ने हुन्छ । तर, बेरोजगारी फाराम भर्नेको अत्यधिक चापका कारण कतिपय राज्यले कार्यान्वयनमा समय लाग्ने समेत बताएका छन् ।

     

    न्यूयोर्कमा कन्ट्र्याक्टमा काम गर्ने धेरैले श्रम बिभागमा बेरोजगारी फारामनै भर्न सकेका छैनन्, उनीहरुले राहत पाउने ढिला हुने हो?

    न्यूयोर्कमा कन्ट्र्याक्टमा काम गर्नेहरुले बेरोजगारी फारम भरेपछि राज्यको श्रम विभागले दिएको टेलिफोनमा कुरा गर्न नसकेको गुनासो ब्याप्त छ । अत्यधिक चापका कारण यस्तो भएको हो । राज्यले आफ्नो नामका आधारमा फाराम भर्न एवं टेलीफोन गर्न बार तोकि दिएको छ । उक्त दिन राज्यको श्रम विभागको साइटमा गएर फाराम भर्नुपर्ने हुन्छ । डब्लुटु एवं १०९९ सबैमा काम गर्नेले भर्ने फाराम एउटै हो । कामको प्रकृति अनुसार फारामको विवरण मात्र फरक पर्छ । त्यसपछि आफुलाई तोकेकै दिनमा फोनमा प्रयास गर्नुपर्छ । फोन लागेन भने पनि आफुले प्रयास गरेको प्रमाण राख्न उपयुक्त हुन्छ । त्यसो भएमा आफुलाई बीमा रकम आउन ढिला भयो भने समयमै प्रयास गरेको जानकारी दिएर दावी गर्न सकिन्छ ।

    (तश्वीर: दिपिका श्रेष्ठ/पडकाष्ट एट द इन्ड अफ द डे डट कम)

     

  • कोरोना महामारीमा पनि ट्याक्सी चलाएका न्युयोर्क सहरका : एक चालकको पिडादायी कथा

    कोरोना महामारीमा पनि ट्याक्सी चलाएका न्युयोर्क सहरका : एक चालकको पिडादायी कथा

    कोरोनाको महामारी चर्कदै गर्दा न्युयोर्क सहरमा ट्याक्सी चालकको काम गर्दै आएका राउल रोमेरोलाई माक्स लगाएर ट्याक्सी चलाउने कामलाई निरन्तरता दिंदा कोरोनाबाट सुरक्षित हुन सकिन्छ भन्ने लाग्यो  । न्युयोर्कमा कोरोना संक्रमण फैलिन सुरु हुँदादेखि नै रोमेरोले न्युयोर्क सहरका सम्पूर्ण ट्याक्सी व्यवसायीको नियमनकारी संस्था “ट्याक्सी एण्ड लिमोजिन कमिसन” को प्रत्येक सुचना नछुटाई पढ्दै आएका थिए । अन्य थुप्रै ब्यवसाय र काम बन्द भए पनि ट्याक्सी एण्ड लिमोजिन कमिसनको ‘ट्याक्सी सेवा अत्यावस्यक भएको हुँदा थप सतर्कता साथ ड्राईभरले काम गर्नु’ भन्ने सुचना रोमेरोले पनि पढे । कोरोनाले न्युयोर्कमा महामारीको रुप लिंदै गर्दा रोमेरोले अत्यावस्यक सेवा अन्तर्गत पर्ने भनिएको ट्याक्सी चलाऊने कामलाई नियमित गर्ने भएपछि उनको छोरीले गाडी सफा गर्ने लाइजोल, सुरक्षाको लागि पंजा र माक्स पनि बाबुको लागि किनेर ल्याइदिइन् ।एकतिर कोरोना संक्रमणको चिन्ता अर्को तर्फ रोमेरोले हरेक महिना तिर्नै पर्ने ११ सय डेरा भाडा, ४ सय ४० डलर गाडीको मार्गेज, लायबिलिटी ईन्सुरेन्स ३ सय २० डलर, ट्याक्सी डिस्प्याच फि १ सय ५० डलर, पार्किङ फि १ सय २० डलर, फोन बिल र ६० डलर ईन्टर्नेट शुल्क गरेर हुने मासिक २ हजार १ सय नब्बे साथमा मेडिकल ईन्सुरेन्सको मासिक शुल्कको बोझ थायो । त्यसको अतिरिक्त दैनिक उपभोग्य बस्तु किन्नु त छँदैछ । महिनैपिच्छे तिर्नु पर्ने यिनै अनगिन्ती बिलहरुले रोमेरोलाई कोरोनाको केन्द्र बिन्दु शहरमा कोठा भित्र सुरक्षित राख्न सकेन ।त्यो महामारीमा पनि ट्याक्सी चलाएर जिबिका चलाऊने सोच अनुसार रोमेरोले आफ्नी ३२ बर्षीया पत्नीलाई भने “न्युयोर्क शहरमा ट्याक्सी चलाऊनु मेरो काम हो ।  हाम्रो सिंगो परिवार त्यही काममा निर्भर छ” ।  रोमेरोले पंजा र मास्क लगाएर कामलाई नियमिता दिए ।

    अहिले उनी बिरामी छन् । उनकी ३२ बर्षीया पत्नी स्याण्ड्रा पनि बिरामी छिन् । उनको जेठी छोरी ज्वाँई पनि बिरामी छन् । अहिले राऊल रोमेरो काम गर्ने अवस्थामा छैन । अप्रिलको पहिलो हप्ता पुरा हुन लाग्यो उनीसँग कोठा भाडा तिर्ने पैसा पनि छैन । ब्रोंक्सस्थित साँघुरो अपार्ट्मेन्टमा परिवारका साथ बसोबास गर्दै आएका राऊल अहिले कोरोना सुरु भै सक्दा पनि जोखिम लिएर काम गरेको पुराना दिन सम्झने कोशिस गर्छन् । कोरोना संक्रमण न्युयोर्कमा सुरु हुँदै गर्दाको सुरुवाती दिनमा राऊल ट्याक्सी ब्यबसायमा निकै ब्यस्त थिए । थुप्रै ट्याक्सी र उबर थन्किएका थिए तर राऊलको रफ्तार ब्यापक थियो । अस्पतालमा कोरोनाका संक्रमितको चाप बढ्दै थियो अनि शहरमा डाक्टर र नर्सको ब्यस्तता पनि बढ्दै थियो । तिनै ब्यस्त डाक्टर र नर्सलाई घरबाट अस्पताल र अस्पतालबाट घर गराउन पाएको राऊलले त्यतिबेला आफुलाई एउटा “हिरो” जस्तो महसुस गरेका थिए । महामारीको समय यस्तो सेवाको काम गर्न पाएकोमा राऊल गौरवान्वित थिए । उनले त्यतिबेला पेसेन्जरमात्र बोकेनन्, सिनियर सिटिजनको घर घरमा ग्रोसरी पुर्याउने सेवा समेत                                             गरे । बिस्तारै बिस्तारै राऊलको ट्याक्सीमा अस्पताल जाने बिरामी पनि चढ्न थाले ।  अस्पताल जाने कतिपय पेसेन्जरले आफु कोभिड -१९ टेस्ट गर्न अस्पताल जान लागेको बताएका थिए । राऊलको सानो “टोयटा क्याम्री” गाडी चढ्ने पेसेन्जर कतिपयले जोड जोडले खोक्ने गर्दथे । गाडी भित्र खोक्ने कतिपय ग्राहक कतिले मुख छोपेर खोक्थे भने कतिले मुख नछोपी खोक्थे । राऊल आफु मास्क लगाउँथे, पंजा लगाउँथे तर पेसेन्जर कतिपयले मास्क नै लगाउदैन थिए ।  

    अहिले राऊल कोठामा बसेर गत मार्च १४ तारिकका दिन उनको ट्याक्सी चढने सबै ग्राहकको अनुहार र घटना सम्झिने कोशीसमा छन् । राऊललाई अहिले कुन ग्राहकले कोरोना सारेको हो त्यो पनि प्रष्ट अनुमान छ । उनी सम्झिन्छन्; “एक जना ग्राहकले उनलाई आफु कोभिड  -१९ पोजेटिभ भएको र अस्पताल जान लागेको भन्दै जोड जोडले खोक्दै थिए । पछाडि बसेर खोकेको पेसेन्जरको छिटा राऊलको सिटको पछाडिसम्म परेको अनुमान पछि राऊलले आफ्नो ज्याकेटको हूड उचालेर टाउको छोपेको उनी बातउँछन् । न्युयोर्क सिटीका ड्राईबरलाई आफ्नो पेसेन्जर अस्विकार गरेर बाहिर निकाल्न मिल्ने अधिकार छैन । २० मिनेट मात्र टाढा जाने ती ग्राहक बोकेको ४ दिन पछि राऊल बिरामी परे । राऊलसँग ज्वरो नाप्ने थर्मोमिटर पनि थिएन ।  राऊललाई निकै गार्हो हुँदै थियो । उनकी पत्नी स्याण्ड्राले लसुन र अन्य मसला भएको तातो- तातो सुप कर गर्दै खुवाउन थालिन् ।  राऊलको शरिरको तापक्रम बृद्धि हुँदै थियो ।पत्नी स्याण्ड्राले उनलाई कोठा बाहिर जान दिईनन । स्याण्ड्राले सिटी हट लाईनमा फोन गरिन र आफ्नो पतिको सबै लक्षण बताईन् तर उताबाट जवाफ आयो कि “अहिले अस्पताल प्याक छ घरमा नै आराम गर्नु” ।  

    अहिले पत्नी स्याण्ड्रा, जेठी छोरी, ज्वाँई सबै बिरामी परेका छन् । उनीहरु सबै आफ्नै घरमा आराम गर्दै छन् ।अमेरिकी नागरिक राऊलको परिवार ४० बर्षदेखि ब्रोंक्समा बसोबास गर्दै आएको छ । राऊल लगातार अनइम्प्ल्वाईमेन्ट दाबी गर्ने सोचमा डिपार्ट्मेन्ट् अफ लेबरको वेब साईटमा ट्राई गर्दै छन् ।  तर कहिले सिस्टमले काम गर्दैन कहिले फोन गर्न खोज्यो फोन लाग्दैन । अब उनीहरुको आशा सरकारले पठाउने प्रतिब्यक्ती १२ सय डलरको प्याकेज अन्तर्गत आउने २४ डलर हिसाब गर्दै कुरेर बसेका छन् ।  

    (यो आलेख वासिङ्टन पोष्टबाट उल्था गरेका हौं)

  • विदेशमा समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउन सर्वोच्चबाट सरकारलाई निर्देशन

    विदेशमा समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउन सर्वोच्चबाट सरकारलाई निर्देशन

    काठमाडौं । सर्वोच्च अदालतले विदेशमा समस्यामा परेका नेपालीलाई घर फर्काउन सरकारका नाममा आदेश दिएको छ ।

    विदेशमा खाना, बस्न र उपचारको समस्या झेलिरहेका नेपाली नागरिकलाई स्वदेश ल्याउने व्यवस्था मिलाउन सर्वोच्चले आदेश दिएको हो ।

    न्यायाधीशद्वय दीपककुमार कार्की र मनोजकुमार शर्माको संयुक्त इजलासले मंगलबार विपतमा परेका र नेपाल फर्कन इच्छुक नागरिकलाई स्वदेश फर्कने वातावरण बनाउन सरकारका नाममा आदेश दिएको हो ।

    उनीहरुलाई स्वदेशमा ल्याएर क्वारेन्टाइनमा राख्न सर्वोच्चले आदेश गरेको हो ।

    अधिवक्ताद्वय मीना खड्का बस्नेत, मनीषकुमार श्रेष्ठलगायतले समस्यामा परेका नेपालीलाई स्वदेश फकार्उनु पर्ने माग गर्दै रिट दायर गरेका थिए ।

    रिटमाथि अन्तरिम आदेश जारी गर्दै अदालतले तत्काल ल्याउन सम्भव नभएमा भने सम्बन्धित देशमै खाना, बस्न र उपचारको व्यवस्था मिलाउन सरकारका नाममा आदेश गरेको छ ।

    खासगरी नेपालको सीमा क्षेत्रमा सयौं नेपाली अलपत्र छन । उनीहरुलाई खान, बस्न र उपचारको समेत समस्या छ ।

    अदालतको आदेशपछि सीमानामा रहेका नेपालीले नेपाल आउन चाहे नेपाल ल्याउनु पर्नेछ ।

    नेपाल आउन नचाहनेका लागि भने जहाँ छन्, त्यही व्यवस्थापन गर्नुपर्ने भएको छ ।

    ‘विदेशमा खाना बस्न, र स्वास्थ्य उपचारको अभाव झेलिरहेका वा विपतमा परेका नेपाली नागरिकहरूको पहिचान गरी नेपाल फर्कन चाहने इच्छुक नेपाली नागरिकहरूलाई सम्बन्धित मुलुकसँग कुटनीतिक माध्यमबाट समन्वय गरी नेपाल ल्याउने आवश्यक व्यवस्था गर्नू’ आदेशमा उल्लेख छ ।

    उक्त कार्य तत्काल सम्भव नभएको अवस्थामा निजहरूलाई तत् तत् स्थानमा खान, बस्न र स्वास्थ्य उपचारको यथोचित प्रवन्ध गरी नागरिकहरूको हकहित रक्षा गर्ने व्यवस्था मिलाउन आवश्यक पहल गर्नू भन्ने आदेशसमेत अदालतले दिएको छ ।

    विदेशमा रहेका नेपालीको भिसा वा राहदानीको म्याद सकिएको कारणले कुनै समस्या भए सम्बन्धित देशसँग समन्वय गरेर बसाइँ नियमित गर्न पनि अदालतले आदेश दिएको छ । नेपाल र भारत सीमानामा दुई हजार एक सय ४७ नागरिक अलपत्र छन् ।

  • प्रधानमन्त्रीको सन्देश : अझै केही साता कठिन समयबाट गुज्रनु पर्नेछ

    प्रधानमन्त्रीको सन्देश : अझै केही साता कठिन समयबाट गुज्रनु पर्नेछ

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अझै केही साता नेपालले कठिन अवस्थाका सामना गर्नुपर्ने बताएका छन् ।

    मंगलबार नेपाल टेलिभिजनबाट देशका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले समुदायमा कोरोनाको सन्त्रास नफैलियोस भन्नकै लागि लकडाउन लम्ब्याउनु परेको उल्लेख गरे ।

    सरकारले आजबाट लकडाउन ८ दिन थपेको छ । सम्बोधनका क्रममा उनले आगामी दुई साता थप चुनौतीपूर्ण हुन सक्ने भन्दै त्यसका लागि तयार रहनु आग्रह गरेका छन् । सरकारले पहिलो पटक ११ चैतबाट लकडाउन शुरु गरेको थियो ।

    त्यो लकडाउन १८ चैतसम्मका लागि थियो । तर, कोरोनाका संक्तमित बढ्दै गएपछि लकडाउन २५ चैतसम्म सारिएको थियो । तर, त्यसपछि पनि लकडाउन भने लम्बिएर ३ बैशाखसम्म पुगेको छ ।

    प्रधानमन्त्रीका अनुसार अबको दुई साता कोरोनाको लक्षण प्रकट हुने अवधि मात्रै नभई समुदायमा फैलिने उच्च जोखिमको अवधि समेत भएको भन्दै सचेत गराएका छन् ।

    प्रधानमन्त्रीले मेडिकल सामग्री खरीदमा भएको अनियमितता र त्यसपछि भएको सरकारको आलोचनाको समेत बचाउ गरेका छन् ।

    सरकारले स्वास्थ्य सामाग्री आपूर्तिको जिम्मा अहिले नेपाली सेनालाई दिएको छ । तर, प्रधानमन्त्रीले भने आरोप निराधार रहेको र मिथ्या प्रचार भएको भन्दै सरकारको बचाउ गरेका छन् ।

    सरकारका कामबारे संवैधानिक अंगहरुहरुले अध्ययन गर्ने भन्दै उनले कामै गर्न नसक्ने वा प्रक्रिया सुरु हुन नसक्ने गरी ‘आधारहीन’ प्रश्न गर्दा काम गरिरहेकाहरुलाई निरुत्साहित गर्न खोजिएको उनले बताए ।

    मानवजातिविरुद्ध आइलागेको राष्ट्रिय र विश्वव्यापी संकटको यस्तो परिस्थितिमा एकजुट भई लड्नु पर्ने समयमा सरकारलाई असफल देखाउन र आफ्ना विभिन्न प्रकारका निहीत स्वार्थ पूरा गर्न चलाइएका प्रचारबाजी बेमौसमी बाजा जस्तै भएको उनको भनाई छ ।

  • अब काठमाडौंका ११ स्थानमा अस्थायी तरकारी बजार

    अब काठमाडौंका ११ स्थानमा अस्थायी तरकारी बजार

    काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौंका विभिन्न ११ स्थानमा अस्थायी तरकारी बजार सञ्चालन गर्ने भएको छ ।

    कालिमाटी तरकारी बजारमा अधिक भिडभाड भएको र अन्य स्थानमा तरकारीको अभाव भएको भन्दै महानगरपालिकाले भोलीबाट अस्थायी तरकारी बजार सञ्चालनको योजना बनाएको हो ।

    अहिले कालीमाटी र बल्खुस्थित फलफूल तथा तरकारी बजारमा मानिसहरुको बढी भीड लाग्ने गरेको छ । तर, लकडाउनका कारण अन्य स्थानमा भने तरकारीको अभाव रहेको छ ।

    भीड नियन्त्रण गर्दै कोरोनाको संक्रमण घटाउन काठमाडौँ महानगरपालिका क्षेत्र भित्र ११ स्थानमा तरकारी बेच्ने ठाउँ उपलब्ध गराइएको छ ।

    महानगरपालिकाका अनुसार काठमाडौंमा कलंकी चोक, वाफल चोक, स्वयम्भू चोक, वनस्थली चोक, गंगबु चोक, बसुन्धरा चोक, गोपीकृष्ण हल नजिकको चोक, तिनकुने चोक, लैनचौर, रत्नपार्क र कोटेश्वरचोकमा लकडाउन अवधीभर अस्थायी तरकारी बजार लाग्ने भएको छ ।

    ११ ठाउँबाट थोक बिक्रि हुने भएको छ । यहाँबाट खुद्रा बिक्रि गर्ने व्यापारीले लैजान सक्ने भएका छन् ।

    यस्तो बजार बिहान ८ बजेसम्म मात्र चल्नेछ । सबै स्थानमा ठाउँमा सबै खाले फलफूल र तरकारी उपलब्ध हुने भएका छन् ।

    यसअघि कालिमाटीमा अधिक भिडभाड बढेको भन्दै महानगरपालिकाले त्यहा भित्र खुद्रा पसल बन्द गरेको छ ।

  • यूएईका युवराजले गरे नेपालीको प्रसंशा, आफ्नै नागरिक सरह व्यवहार गर्ने प्रतिवद्धता

    यूएईका युवराजले गरे नेपालीको प्रसंशा, आफ्नै नागरिक सरह व्यवहार गर्ने प्रतिवद्धता

    काठमाडौं । यूएइका युवराज मोहम्मद बीन जायदले नेपालीको प्रसंशा गरेका छन् ।

    सोमबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीसँगको टेलिफोन वार्ताका क्रममा उनले नेपाली इमानदार र परिश्रमी रहेको भन्दै प्रसंशा गरेका हुन ।

    युवराज जायदले नेपालीलाई यूएइले आफ्नै नागरिक सरह व्यवहार गर्ने भन्दै उनीहरुको सुरक्षामा ढुक्क हुन समेत प्रधानमन्त्रीलाई आश्वस्त पारेका छन् ।

    प्रधानमन्त्रीले यूएईमा रहेका नेपाली कामदारको सुरक्षा र कोरोनाका कारण उनीहरुको रोजगारी समस्याका सन्दर्भमा त्यहाका राजकुमारसँग आग्रह गरेका हुन् ।

    पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली नागरिकको बाहुल्य रहेका मुलुकका सरकार प्रमुखहरुसँग सम्वाद गरी उनीहरुको सुरक्षामा चासो दिइरहेका छन् ।

    यसअघि उनले बहराइनका प्रधानमन्त्रीसँग टेलिफोन वार्ता गरेका थिए । यूएइमा करीव २ हजार मानिसमा कोरोना भइसकेको छ । त्यसमध्ये अधिकांश आप्रबासी रहेका छन् ।

  • प्रधानमन्त्रीले आज देशबासीलाई सम्बोधन गर्दै, लकडाउनको औचित्य पुष्टी गर्ने तयारी

    प्रधानमन्त्रीले आज देशबासीलाई सम्बोधन गर्दै, लकडाउनको औचित्य पुष्टी गर्ने तयारी

    काठमाडौं । सरकारले आजबाट सकिएको लकडाउनलाई थप ८ दिन लब्याउने निर्णय लिएको छ ।

    यससँगै अब ३ वैशाखसम्म मुलुक अहिलेकै अवस्थामा ठप्प रहनेछ । यसै सन्दर्भलाई लिएर प्रधानमन्त्री केपी ओलीले आज देशवासीका नाममा सम्बोधन गर्दैछन् ।

    प्रधानमन्त्री निकट स्रोतका अनुसार आज उनले सरकारले गरेको लकडाउनको औचित्य पुष्टी गर्ने प्रयास गर्नेछन् ।

    साथै, सरकारले कारोना संक्रमणसाग लड्न गरेका प्रयास र प्राप्त उपलब्धीमा समेत चर्चा गर्ने बताइएको छ ।

    सोमबार प्रधानमन्त्री ओलीले देशबासीलाई सम्बोधन गर्न लागेको मन्त्रिपरिषद् बैठकबाट जानकारी गराएका थिए ।

    उनले सम्बोधनका क्रममा स्वास्थ्यकर्मीलाई ढाडस दिनेछन् भने लकडाउनको पालना गरी संक्रमणविरुद्ध सचेत रहन सर्वसाधारणलाई अपिल गर्ने भएको छन् । नेपालमा ९ जनामा संक्तमण देखिएको छ ।

  • कोरोनाबाट मर्नेको संख्या ७४ हजार ६ सय, साढे १३ लाखमा संक्रमण

    कोरोनाबाट मर्नेको संख्या ७४ हजार ६ सय, साढे १३ लाखमा संक्रमण

    काठमाडौं । संसारभर कोभिड १९ को त्रास जारी छ । ३१ डिसेम्बर २०१९ मा चीनको बुहानमा पहिलो पटक देखिएको यस भाइरसले विश्वका करीव सबैजसो मुलुक प्रभावित बनेका छन् ।

    सोमबार रातीसम्मको तथ्यांक अनुसार कोरोनाका कारण विश्वभर ७४ हजार ६ सय ७८ मानिसको ज्यान गएको छ । विश्वभर १३ लाख ४६ हजार दुई सय ९९ जनामा यसको संक्रमण पुष्टी भएको छ ।

    त्यसमध्ये नेपालमा ९ जनामा संक्रमण पुष्टी भएको छ । २ लाख ५३ हजार ७ सय जना भने निको भएर घर फर्किसकेका छन् ।

    संसारभरका मुलुकमध्ये सबैभन्दा धेरै मानिस इटलीमा मरेका छन् । सोमबार इटलीमा ६ सय ३६ जनाको ज्यान गएको छ ।

    इटलीमा मृत्यु हुनेको कुल संख्या १६ हजार ५ सय २३ पुगेको छ । यस मुलुकमा संक्रमितको संख्या १ लाख ३२ हजार ५ सय ४७ रहेको छ ।

    सोमबार ३ हजार ५ सय ९९ नयाँ संक्रमित देखिए । स्पेनमा मृतकको संख्या १३ हजार तीन सय ४१ पुगेको छ । यहाँ संक्रमितको संख्या एक लाख ३६ हजार छ सय ७५ पुगेको छ ।

    अमेरिकामा मृत्यु हुनेको संख्या १० हजार ९ सय ८ पुगेको छ । अमेरिकाको न्युयोर्कमा मात्र ४ हजार ७ सय ५८ जनाको मृत्यु भएको छ ।

    अमेरिकामा संक्रमितको संख्या ३ लाख ६७ हजार ५ सय ७ रहेको छ । फ्रान्समा सोमबार ८ सय ३३ जनाको मृत्यु भएको छ ।

    फ्रान्समा एकै दिन धेरै जनाको मृत्यु भएको पहिलो पटक हो । अब फ्रान्समा मृत्यु हुनेको संख्या ८ हजार ९ सय ११ पुगेको छ ।

    बेलायतमा मृत्यु हुनेको संख्या ५ हजार ३ सय ७३ र संक्रमितको संख्या ५२ हजार दुई सय ७९ पुगेको छ ।

     

    जर्मनीमा संक्रमित संख्या १ लाख ३ हजार ३ सय ७४ र मृतक संख्या १ हजार ८ सय १० पुगेको छ । इरानमा ३ हजार ७ सय ३९ को ज्यान गएको छ ।

  • कोरोना कहर- न्यूयोर्कमा अस्पतालका शवगृह भरिए सार्वजनिक ठाउँमा अल्पकालिन शवगृह बनाइने

    कोरोना कहर- न्यूयोर्कमा अस्पतालका शवगृह भरिए सार्वजनिक ठाउँमा अल्पकालिन शवगृह बनाइने

    न्यूयोर्क

    कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या बढ्दै जाँदा न्यूयोर्क सिटी अधिकारीहरु तत्कालका लागि सार्वजनिक स्थानमा राख्ने ठाउँ बनाउने निर्णयमा पुगेकाछन् । मृत्युको अत्यधिक संख्याका कारण शवदाह गर्न पालोमा राख्नु पर्ने अवस्था आएमा उक्त विकल्प अपनाउने निर्णयमा सिटी अधिकारीहरु पुगेका हुन् ।

    न्यूयोर्कका मेयर बिल दे ब्लाजियोले सिटी स्थित अस्पतालहरुका शवगृह भरिए सार्वजनिक स्थानमा शव राख्ने ठाउँ बनाउने सोमबार बताएको न्यूयोर्क टाइम्सले प्रकाशित गरेको छ । ‘हामी प्रतिकुल अवस्थातर्फ धकेलिँदै छौँ तर हामीसँग ठूलो मात्रामा शवगृह उपलब्ध छन्, ब्लाजियोले सोमबार पत्रकारहरुसँग भने-  त्यसले नधाने मृतकका परिवारका साथमा नयाँ विकल्प सोच्नु पर्ने हुन्छ ।’

    सोमबार विहान सिटी काउन्सिल हेल्थ कमिसनका प्रमुख मार्क डि लेभिनले सार्वजनिक पार्कहरुमा अल्पकालिन शवगृह बनाउने संकेत गरेका थिए । मेयर ब्लाजियोले पार्कमा शवगृह बनाउने भनाइ भने अश्विकार गरेका छन् । उनका प्रेस सेक्रेटरीका अनुसार त्यस्तो वाध्यता आइलागे सिटीले ब्रोङ्स स्थित हार्ट आइल्याण्डमा शब थान्को गर्ने व्यवस्था मिलाउने जनाएका छन् ।

    न्यूयोर्क सिटीमा अहिलेसम्म ७२ हजार कोरोना भाइरसबाट संक्रमित भइ सकेका छन् भने तीन हजार पाँच सयले ज्यान गुमाइ सकेका छन् ।

    (तश्वीर न्यूयोर्क टाइम्स)

     

  • कोरोना संक्रमित बेलायती प्रधानमन्त्री जोन्सनलाई आईसीयूमा सारियाे, अवस्था गम्भिर

    कोरोना संक्रमित बेलायती प्रधानमन्त्री जोन्सनलाई आईसीयूमा सारियाे, अवस्था गम्भिर

    लन्डन

    कोरोना भाइरस संक्रमित बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई आईसीयूमा सारिएकाे छ । भाइसरको संक्रमण पछि अवस्था प्रतिकुल बन्दै जाँदा जोन्सन आइतबार अस्पताल भर्ना भएका थिए ।

    लण्डन स्थित सेन्ट थोमस अस्पतालमा उनको उपचार भइ रहेको । ‘सोमबार अपरान्हसम्ममा प्रधानमन्त्रीको स्वास्थ्य अवस्था थप जटिल बनेका कारण स्वास्थ्यकर्मीहरुको परामर्शमा इन्टेन्सिभ केयर युनिटमा भर्ना गरिएको छ’ अस्पतालका प्रवक्ताले भनेका छन् ।

    जोन्सनलाई १० दिन अघि भाइरसको लक्षण देखिएको थियो । पछि जाँच गर्दा उनमा भाइरस रहेको पुष्टि भयो । ५५ बर्षिय जोन्सनले स्वास्थ्य प्रतिकुलताका कारण देशलाई नेतृत्व दिन नसके बेलायत समक्ष दोस्रो विकल्प तयार नरहेको समाचार सोमबार बिहान रोयटर्सले प्रकाशित गरेको थियो । जोन्सनले विदेशमन्त्री डोमिनिक रावलाई आवश्यक परेको बेला नेतृत्वका लागि तयार रहन भनेको बिबिसीले उल्लेख गरेको छ । अहिलेसम्म बेलायतमा ५१ हजार कोरोना भाइरस संक्रमित पुगेका छन् भने पाँच हजार बढिले ज्यान गुमाइ सकेका छन् ।

  • निजी अस्पतालका डाक्टरले समेत सरकारीसरह सुविधा पाउने

    निजी अस्पतालका डाक्टरले समेत सरकारीसरह सुविधा पाउने

    काठमाडौं । अब निजी अस्पतालका डाक्टरले पनि कोरोना रोगसँग लड्दा सरकारी डाक्टरसरह सुविधा पाउने भएको छन् ।

    सोमबार बसेको मन्त्रिपरिषद बैठकले निजी क्षेत्रका डाक्टर सरकारी अस्पतालमा आएमा सम्बन्धित तहअनुसार मिलान गरी कामको अवसर दिने निर्णय गरेको छ ।

    सरकारले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारी अस्पतालमा आएर काम गर्न इच्छुक निजी डाक्टरहरुलाई सरकारी डाक्टरसरह सेवा सुविधा दिने निर्णय गरेको छ ।

    सरकारका प्रवक्ता डा. युवराज खतिवडाका अनुसार निजी क्षेत्रका चिकित्सकहरुले पनि सरकारी अस्पतालहरुमा आएर काम गर्न चाहेमा वा काम गर्न खोजेमा उनीहरुलाई सरकारी अस्पतालले स्वागत गर्नेछन् ।

    कोरोना नियन्त्रण तथा रोकथाममा खटिने चिकित्सक, नर्स र सुरक्षाकर्मीको मनोबल उकास्न सरकारले शतप्रतिशत भत्ताको निर्णय गरिसकेको छ ।

  • फ्लोरिडा एयरपोर्ट नजिक आगो लाग्दा ३५ सय गाडी जले

    फ्लोरिडा एयरपोर्ट नजिक आगो लाग्दा ३५ सय गाडी जले

    न्युयोर्क      

    अमेरिकाको फ्लोरिडा राज्यको एक बिमानस्थल नजिक आगलागी हुँदा झन्डै ३५ सय गाडी जलेका छन् । अधिकांश भाडाका गाडी पर्किङ् गरी राखिएको १५ एकर्डको घाँसे मैदानमा आगलागी हुँदा ती सबै गाडी जलेका हुन् । आगलागी शुक्रबार साँझ साउथ वेष्ट फ्लोरिडा इन्टर्नेसनल एयरपोर्ट नजिकैको पार्किङ् लटमा भएको हो ।  आगलागीको समयमा स-साना बिस्फोटनको आवाज सुनिएको र आगोका ठुला ठुला लप्काहरु आकाशमा देखिएको प्रत्यक्षदर्शीहरुले बिभिन्न संचार माध्यमलाई बताएका छन् । यद्यपी आगलागीको समयमा कुनै पनि गाडीमा मनिस नभएको हुँदा मानवीय क्षती नभएको बताईएको छ । कुल ३५ सय १६ गाडी पूर्णरुपमा जलेको र ३८ सय ५० गाडीमा क्षती नपुगेको फ्लोरिडास्थित स्थानीय संचार माध्यमहरुले लेखेका छन् ।  

    आगलागी कसरी सुरु भयो भन्ने बारेको अनुसन्धान फ्लोरिडा राज्यको फायर मार्सलले सुरु गरेको जनाईएको छ ।

    तस्बिर श्रोत : यु एस ए टुडे

  • २४ घण्टामा कोरोनाको २२५ नमुना परीक्षण, नयाँ संक्रमण देखिएन

    २४ घण्टामा कोरोनाको २२५ नमुना परीक्षण, नयाँ संक्रमण देखिएन

    काठमाडौं । नेपालमा लगातार दोस्रो दिन कोरोनाका नयाँ संक्रमित बिरामी फेला परेनन् । स्वास्थ्य मन्त्रालयले सोमबार जारी गरेको नियमित प्रेस ब्रिफिंग अनुसार आइतबार र सोमबार थप संक्रमण पुष्टी भएन ।

    २४ घण्टा भित्र कूल २२५ वटा नमुनाको परीक्षण भएको थियो । यससँगै नेपालमा कूल नमूना परीक्षणको संख्या १८९० पुगेको छ ।

    जसमध्ये ९ जनामा मात्र कोरोनाको पुष्टी भएको छ । उनीहरुमध्ये पनि एक जना भने घर फर्किसकेका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार १ सय ९ जनाको नमुनाको रिपोर्ट भने आउन बाँकि रहेको छ ।

    देशभर कूल ३० हजार ५ सय ६६ क्यारेन्टाइन बेड उपलब्ध रहेका े छ । जहाँ अहिले ९ हजार १ सय ६८ जना व्यक्ति बसेका छन् ।

    अझै पनि तेब्बर संख्यामा सम्भावित संक्रमितलाई राख्ने गरी क्वारेन्टाइन तयार भएको मन्त्रालयले जनाएको छ ।

    देशभर आइसोलेसन बेड भने ३ हजार २ सय ५९ रहेको छ । अहिले आइसोलेसनमा भने ९५ जना बिरामी रहेका छन् ।

    सरकारले सुदुरपश्चिम र बागलुंगमा भने र्यापिड टेस्टको तयारी गरेको छ । यसका लागि टोलीहरु खटिइसकेको मन्त्रालयले जनाएको छ ।

    र्यापिड टेस्ट भने २० हजार मानिसमा गरिने भएको छ ।

  • कोभिड -१९ को उपचारमा अमेरिकामा उदायो नयाँ आशा

    कोभिड -१९ को उपचारमा अमेरिकामा उदायो नयाँ आशा

    न्युयोर्क

    हरेक अंध्यारो पछी उज्यालो पक्का आउँछ अनी खराब समय सधैं रहदैन भने जस्तो अमेरिकामा अब बिस्तारै कोरोना भाईरसबाट बच्ने उपचार बिधी पहिल्याईदै छ।अमेरिकाको न्युयोर्क शहरमा ४ हजार जना कोभिडका बिरामीहरुलाई एन्टीमलेरियाको औषधी  हाईड्रोक्सक्लोरोकुईन दिएर उपचार सुरु गरिएको राज्यका स्वास्थ अधिकारीहरुले जनाएका छँन् ।न्युयोर्क राज्यका स्वास्थ अधिकारीहरुले बताएका छँन् -डिपार्ट्मेन्ट अफ हेल्थले न्युयोर्कका ५६ वटा अस्पातलमा उपचारत ४ हजार कोभिड -१९ का  बिरामीको उपचारको लागि पर्याप्त हुने हाईड्रोक्सक्लोरोकुईनको डोज पठाईसकेको छ । कोभिड -१९ का बिरामीको लागि आबस्यक पर्ने १० दिने औषधीको कोर्स न्युयोर्कका अस्पातलहरुमा बिरामीलाई दिन सुरु गरिएको छ । एन्टीमलेरिया औषधीको कोभिड -१९ का बिरामीमा पर्ने सकारात्मक असरका बारेमा युभर्सिटी अफ अल्बानीज स्कुल अफ पब्लिक हेल्थले निरिक्षण गरिरहेको छ । यो औषधी कोभिड -१९ का बिरामीलाई दिएर उपचार गर्न हुने वा नहुनेको निर्क्योल यसै हप्ताको अन्त्यसम्म हुने बताईएको छ ।

    यो हप्ताको अन्त्य सम्म कोभिडका बिरामीलाई निको पार्न हाईड्रोक्सक्लोरोकुईन काम लाग्ने औषधी  ठहरेको खण्डमा यो अत्यन्त महत्वपूर्ण हतियार हुने बाताईको छ । फेडरल फुड एन्ड ड्रग एड्मिनिस्ट्रेसन ( एफ डि ए ) ले  एक हप्ता पहिले नै हाईड्रोक्सक्लोरोकुईनको दिएर कोभिड -१९ का बिरामीलाई उपचार गर्न अस्थाई स्वीक्रिती दिएको थियो ।

    यस अगाडि लसएन्जलसस्थित मेन्ड अर्जेन्ट केयरका सि ई ओ डा एन्थोनी कार्डिलो हाईड्रोक्सक्लोरोकुईनको कोभिड-१९ बिरामीमा असर बारे भनेका थिए ” अती नै सम्बेदनसिल अवस्थामा पुगेका कोभिड -१९ का बिरामी छँन्  उनिहरुमा जिंकको साथमा हाईड्रोक्सक्लोरोकुईन चलाऊदा सम्बन्धित बिरामी ८ देखी १२ घण्न्टामा सुधारउन्मुख हुने गरेका छँन् ” ।  

    क्लोरिकुईन र हाईड्रोक्सक्लोरोकुईन संन्  १९४४ देखी मलेरिया रोकथाममा प्रयोग हुँदै  आएको औषधी हो ।  

  • बृटिश प्रधानमन्त्री बोरिस जोन्सन अस्पताल भर्ना

    बृटिश प्रधानमन्त्री बोरिस जोन्सन अस्पताल भर्ना

    न्युयोर्क

    बृटेनका प्रधानमन्त्री बोरिस जोन्सन कोरोनाभाइरसको सङ्क्रमण देखिएको १० दिनपछि अस्पताल भर्ना भएको लन्डनस्थित डाउनिङ्ग स्ट्रीट प्रबक्ताले जनाएका छन् ।  

    प्रधानमन्त्री जोन्सनमा कोरोना पोजेटिभ भएर लक्षणहरुमा आइतवार साँझसम्म पनि कमी नदेखिए पछि अस्पताल लगिएको बताइएको छ । तापक्रम पनि कायम नै रहेकाले लन्डन अस्पतालमा पुर्‍याइएको हो ।

    जोन्सनको निजी चिकित्सकको सुझाव अनुरुप प्रधानमन्त्री जोन्सन लाई अस्पातल लगिएको बताइएको छ । डाउनिङ्ग स्ट्रीटले निकालेको विज्ञप्तिमा भनिएको छ; “चिकित्सकको सल्लाहमा प्रधानमन्त्री आज राती परीक्षणका लागि अस्पताल भर्ना हुनुभएको छ । कोरोनाभाइरसको सङ्क्रमण देखिएको १० दिन बितिसक्दा पनि प्रधानमन्त्रीलाई लक्षणहरू निरन्तर उस्तै देखिएकोले यो कदम सावधानीका रुपमा चालिएको हो” ।

    मार्च २७ तारिखमा उनलाई कोरोनाभाइरसको सङ्क्रमण भएको घोषणा भएयता जोन्सनले निवासमै बसेर काम गर्दै आएका थिए ।

    उनी पछिल्लो पटक बिहीवार डाउनिङ्ग स्ट्रीटको आफ्नो फ्ल्याटमा देखापरेका थिए।

    (बि बि सि नेपालीको समाचारका आधारमा तयार पारिएको रिपोर्ट)

  • न्यूयोर्कको बाघमा समेत कोरोना भाइरस संक्रमण

    न्यूयोर्कको बाघमा समेत कोरोना भाइरस संक्रमण

    न्युयोर्क शहर कोरोना महामारीको ईपिसेन्टर त हुँदै हो तर यहाँ मानिसमा मात्र कोरोना संक्रमण देखिएन । चिडियाखानाको बाघमा पनि कोरोना संक्रमण पोजेटिभ भेटिएको छ । न्युयोर्क ब्रोंक्सस्थित ब्रोंक्स जूमा राखिएको ४ बर्षीय बाघलाई सुख्खा खोकी देखिएपछि गरिएको जाँचमा कोभिड -१९ पोजेटिभ देखिएको वाईल्ड लाईफ कन्जर्भेसन सोसाईटीद्वारा आईतबार जारी बिज्ञप्तीमा जनाईएको छ । नदिया नामकी ४ बर्षीया मलायन बघिनीमा कोभिड – १९

    पोजेटिभ देखिएको हो । बिज्ञप्तीमा भनिएको छ – नदियासँगै अजुल नामकी उनकी दिदी बाघ दुई वटा अमुर बाघहरु तीनवटा अफ्रिकन सिँहमा समेत सुख्खा खोकी देखिएको छ र छिट्टै सन्चो हुने अपेक्षा गरिएको छ । बिज्ञप्तीमा भनिएको छ आईवास्थित नेशनल भेटेरिनरी सर्भिस ल्याबमा उनिहरुको कोरोना संक्रमणको जाँच गरिएको थियो ।  

    तस्बिर : ब्रोंक्स जुहुस्थित मलायन बघिनीका दुई जुम्ल्याहा नदिया र अजुल 

    श्रोत : न्युयोर्क  पोष्ट

  • ह्वाईट हाउसले भन्यो आगामी दुई हप्ता ग्रोसरी गर्न र औषधी किन्न पनि बाहिर नजाऊ

    ह्वाईट हाउसले भन्यो आगामी दुई हप्ता ग्रोसरी गर्न र औषधी किन्न पनि बाहिर नजाऊ

    न्युयोर्क

    अमेरिकी राष्ट्रपति कार्यालयको कोरोना भाइरस कार्यदलले आगामी दुई साता अझै डरलाग्दो परिस्थिति सिर्जना हुने बताएको छ । भाइरस संक्रमणको उच्च जोखिम बाँकी रहेको कारण कार्यदलले सकेसम्म दैनिक उपभोग्य बस्तु किनमेलका लागि पनि बाहिर नजान अनुरोध गरेको हो ।

    कोरोना भाइरस कार्यदलका सदस्य डा. डेबराह ब्रिक्सले शनिबार साँझको पत्रकार सम्मेलनमा भनिन् “आगामी दुई हप्ता अति नै महत्वपूर्ण  छ । यो अवधिभर मिलेसम्म ग्रोसरी गर्न स्टोरमा र औषधी किन्न फार्मेसीमा नजानु उपयुक्त हुन्छ ।”

    आईतबार साँझसम्म ९ हजार ५ सयको मृत्‍यु र ३ लाख ३४ हजार संक्रमित भएर अमेरिका कोरोना संक्रमितको संख्यामा विश्वमा नै नम्बर एक बनेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबारको पत्रकार सम्मेलनमा भने “सबैभन्दा खराब समय आउन बाँकी नै छ । यो हप्ता र आगामी हप्ता सम्भबतः त्यो कठिन अवधि हुनेछ” ।  यो अवधिमा धेरै ठूलो संख्यामा मृत्युको समाचार आउने समेत उनले बताए । । ४ हजार १ सय ६० को मृत्‍यु र १ लाख २३ हजार संक्रमित भएर न्युयोर्क राज्य अमेरिकाकै कोरोना ईपिसेन्टर बनेको अवस्थामा गभर्नर एन्ड्रु कुमोले पनि चेतावनी दिदै भनेका छन् “संघर्षको पहाडको टुप्पोमा पुग्न नै बाँकी छ ।”

  • अस्पतालको सूचना पत्याएर ङिमाको नाममा परिवारले श्रद्धाञ्जली पुजा लगाइसकेपछि हष्पिटलले फेरि भन्यो– उपचार हुँदैछ

    अस्पतालको सूचना पत्याएर ङिमाको नाममा परिवारले श्रद्धाञ्जली पुजा लगाइसकेपछि हष्पिटलले फेरि भन्यो– उपचार हुँदैछ

    न्यूयोर्क

    शनिबार अस्पतालले मृत्युको सूचना दिएका नेपाली आप्रवासी ङिमा तेम्बा शेर्पाको मुटु चलि रहेको नयाँ जानकारी प्राप्त भएको छ । ङिमाका दाजु लाक्पा यौलु शेर्पाले शनिबार न्यूयोर्क स्थित एलमष्ट हष्पिटलले भाइको मृत्यु भएको सूचना दिएपछि उनको नाममा परिवारमा पुजापाठ एवं फेसबुकमा श्रद्धाञ्जली लेख्ने काम भएको जानकारी दिएका हुन् ।

    उनले अस्पतालको सूचनालाई आधेर मानेर फेसबुकमा भाइप्रति श्रद्धाञ्जली समेत अपर्ण गरेको थिए । तर, अस्पतालमा कसैको पनि जाने अवस्था नरहेको र आज विहान सम्पर्क गर्दा फेरि ङिमाको मुटु चलि रहेको जानकारी प्राप्त भएको लाक्पाले जनाएका छन् ।

    उनले भाइको शिघ्र स्वास्थ्य लाभको लागि प्रार्थना गर्न पनि सबैसँग अनुरोध गरेका छन् । शनिबार आफुले दिएको सूचनाकै आधारमा ङिमाबारे सञ्चार माध्यमले समाचार र साथीसंगीले श्रद्धाञ्जली अर्पण गरेको उल्लेख गर्दै फेसबुक स्टाटस मार्फ उनले नयाँ जानकारी प्रवाह गरेका हुन् । ४४ बर्षिय ङिमा कोरोना केही दिन अघि अस्पताल भर्ना भएका थिए । उनमा कोरोना भाइरस संक्रमण भएको हो या अरु कुनै रोग लागेको पनि पुष्टि हुन सकेको छैन ।

  • कांग्रेस सभापति देउवाबाट कोरोनाबारे पूर्वप्रधानमन्त्रीसँग टेलिफोन वार्ता

    कांग्रेस सभापति देउवाबाट कोरोनाबारे पूर्वप्रधानमन्त्रीसँग टेलिफोन वार्ता

    काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना भाइरस संक्रमणका विषयमा पूर्वप्रधानमन्त्रीहरुसँग छलफल गरेका छन् ।

    उनले कोरोनाको संकटसँग जुध्न आवश्यक रणनीति तयार गर्नु पर्नेबारे छलफल गरेको बताइएको छ ।

    उनले पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराई र मन्त्रिपरिषदका पूर्वअध्यक्ष खिलराज रेग्मीसँग टेलिफोनमा वार्ता गरेका हुन् ।

    आइतबार सभापति देउवाले पूर्वप्रधानमन्त्रीहरूसँग टेलिफोनमा वार्ता गरी कोरोना संक्रमणसँग जुध्न सरकारले गरेका तयारी र अब चाल्नु पर्ने कदमबारे छलफल गरेका हुन् ।

    सभापति देउवाको सचिवालयका अनुसार कोरोना संकटबाट नेपाल र नेपालीलाई जोगाउन ऐक्यवद्ध भएर गम्भीर ढंगले काम गर्न पूर्वप्रधानमन्त्रीसँग कुराकानी गरेका हुन् ।

    देउवाले सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्षसमेत रहेका प्रचण्ड, वरिष्ठ नेता खनाल र नेपालसँग सरकारका कमीकमजोरी सच्याएर जानुपर्ने बताएका थिए ।

    वर्तमान संकट नेपाल र नेपालीमाथिको संकट भएको भन्दै दल भन्दा माथि उठेर समाधानमा लाग्नु पर्ने देउवाले बताएका छन् ।

    सरकारले गरेको प्रयत्नलाई अझ प्रभावकारी बनाउने सन्दर्भका सभापतिले छलफल गरेका हुन् । नेपालमा अहिलेसम्म कूल ९ जनामा कोरोनाको संक्रमण देखिएको छ ।

  • खेलकुद परिषद्को चासो खेलाडी र पदाधिकारीमा

    खेलकुद परिषद्को चासो खेलाडी र पदाधिकारीमा

    काठमाडौं । कोराना भाइरसको संक्रमणबाट बच्न सरकारले गरेको लकडाउनका कारण अहिले सबै मानिस घरभित्र थुनिन बाध्य छन् ।

    यसले सबैभन्दा बढी व्यापार र शारीरिक गतिविधि आवश्यक पर्ने खेलकुद क्षेत्र नराम्रोसँग प्रभावित बनेको छ ।

    घरमै बसेका खेलाडी, प्रशिक्षक, कर्मचारी र खेलकुद संघसंस्थाका पदाधिकारीको अवस्थाको विषयमा राष्ट्रिय खेलकुद परिषद्‌ले चासो देखाउन थालेको छ ।

    परिषद्का प्रशासन बिभागका प्रमुख कुलबहादुर थापाले लकडाउनको अवधिमा आफु मतहत संघसंस्था तथा सम्पूर्ण कर्मचारीको अवस्था बुझेर के कस्तो छ बुझि विवरण पेश गर्न र कुनै कठिनाई भए सहयोग गर्न अग्रह गरेका छन् ।

    यस कठिन परिस्थितिमा परिषद्को तर्फबाट गर्न सकिने सहयोगबारे सिघ्र जानकारीका लागि समेत आह्वान गरेका छन् ।

    परिषद्ले लकडाउनको अवस्थामा धैर्य, संमियमित भई बस्न समेत आग्रह गरेको छ ।

    संभव भएसम्म आफ्ना भौतिक संरचनालाई आइसोलेसन कक्षका रुपमा प्रयोगको वातावरण बनाउन समेत परिषद्ले खेलकुदसँग सम्बन्धित निकायलाई आग्रह गरेको छ ।

    परिषदले लकडाउन शुरु हुनुअघि नै नेपालमा हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद गतिविधि बन्द गर्ने निर्णय गरेको थियो।