Category: समाचार

  • लकडाउनमा पनि कृषकले नियमित काम गर्न सक्ने

    लकडाउनमा पनि कृषकले नियमित काम गर्न सक्ने

    काठमाडौं । लकडाउनमा पनि कृषकले भने आफ्नो काम रोक्नु नपर्ने भएको छ । किसानले बाली लगाउन र उठाउन निर्वाध रुपमा पाउने भएका छन् ।

    तर बाली लगाउँदा र उठाउँदा कृषकले समेत कोरोना भाइरसको संक्रमणबाट बच्न अपनाउनु पर्ने सावधानीबारे पूर्ण पालना गर्नुपर्नेछ ।

    सरकारले ११ चैतबाट लकडाउन शुरु गरेको हो । यो २५ चैतसम्म जारी रहनेछ । त्यसपछि पनि केही समय लकडाउन लम्बिने सम्भावना छ ।

    यस अवस्थामा कृषि उपजको उत्पादन नघटोस भनेर सरकारले यस्तो निर्णय गरेको हो ।

    सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार बालि लगाउन र उठाउन लकडाउनले कुनै अवरोध गर्ने छैन ।

    सम्बन्धित स्थानीय तह र त्यहाँस्थित सुरक्षा निकायले संक्रमणबाट बच्न गरेको तयारीबारे भने अनुगमन गर्नुपर्ने भएको छ ।

    मन्त्रालयले स्थानीय तहहरुलाई खाद्यान्न बैंक स्थापनाको समेत सुझाव दिएको छ । केही स्थानीय तहमा यसको शुरुवात समेत भइसकेको छ ।

    बिभिन्न निकायबाट जम्मा भएको खाद्यान्न जम्मा गर्ने र संकलित खाद्यान्न प्याकिङ् गरेर तोकिएको मापदण्ड पुरा गरी वितरण गर्नुपर्नेछ ।

    बुटवल र धरान उपमहागरपालिकाले यसको शुरुवात गरिसकेका छन् ।

  • मेडिकल सामग्री खरीद पारदर्शी हुन्छ : नेपाली सेना

    मेडिकल सामग्री खरीद पारदर्शी हुन्छ : नेपाली सेना

    काठमाडौं । नेपाली सेनाले कोरोनासँग सम्बन्धित मेडिकल सामग्रीको खरीद पारदर्शी हुने दावि गरेको छ ।

    आइतबार पत्रकारहरुसँग भिडियो कन्फ्रेन्समार्फत गरेको अन्तरक्रियामा सेनाले उक्त दावि गरेको हो । स्वास्थ्य सामग्री खरिदको विषय विवादित बनेपछि यो जिम्मा सरकारले सेनालाई दिएको छ ।

    तर, बाहिर सेनालाई दिने निर्णयको समेत आलोचना भइरहेको छ । सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले विपदमा सरकारले प्रयोग गर्न सक्ने संवैधानिक व्यवस्था बमोजिम सेनाले स्वास्थ्य सामग्री खरिदको जिम्मेवारी पाएको भन्दै यसलाई पारदर्शी बनाउने दावि गरे ।

    ‘मन्त्रिपरिषदले स्वास्थ्य मन्त्रायलसँग समन्वय गरी रक्षा मन्त्रायलले नेपाली सेनामार्फत जीटुजी प्रक्रियाबाट मेडिकल सामग्री खरिद गर्ने निर्णय गरेको थियो ।

    सेनाले मेडिकल सामग्री खरीदको प्रक्रिया शुरु गरिसकेको दावि गरेको छ । यसअघि ओम्नी समूहले गरेको खरीद विवादित बनेको थियो ।

    पाण्डेका अनुसार सेनासहित विभिन्न निकाय रहेको ‘कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर’ले खरिद गर्न आवश्यक सामग्रीको सूची तयार पारिहेको छ । यो सेन्टरको नेतृत्व प्रधानमन्त्री कार्यालयका सचिव लक्ष्मण अर्यालले गरेका छन् ।

    सैनिक प्रवक्ता पाण्डेले कोभिड–१९ को स्थानीय संक्रमण देखिएको सन्दर्भमा सेना आफूलाई प्राप्त जिम्मेवारीबाट पछि नहट्ने उल्लेख गरे ।

    सेनाले नागरिकको जीवन रक्षाका लागि आवश्यक उपकरण गुणस्तरीय र प्रतिष्पर्धी मूल्यमा यथाशिघ्र हासिल गर्नुपर्ने चूनौति रहेको उनको भनाई छ ।

    उता, आइतबार नै कोरोना सम्बन्धी उच्चस्तरीय संयन्त्रले निजी तथा जीटूजी प्रक्रिया दुबैबाट स्वास्थ्य सामग्री खरीद गर्ने निर्णय गरेको छ ।

  • नेवा: नख न्यूयोर्कका सल्लाहकार अजयमान छोंच्छुको निधन

    नेवा: नख न्यूयोर्कका सल्लाहकार अजयमान छोंच्छुको निधन

    अप्रिल ४, न्यूयोर्क

    नेवा:नख न्यूयोर्कका सल्लाहकार तथा समाजसेवी अजय मान छोंच्छुको आज साँझ न्यूयोर्कस्थित एल्महर्ष्ट अस्पतालमा ६४ वर्षको उमेरमा असामयीक निधन भएको छ । ज्वरोको कारण निमोनिया भएपछि निजलाई २ हप्ता अघि अस्पताल भर्ना गरिएको थियो । उहाँको स्वास्थ्य अवस्थामा सुधार आएकोले भोली अस्पतालबाट डिस्चार्ज गरी घर पठाउने तयारी गरिरहेकै अवस्थामा एक्कासी हृदयघात भई दुखद निधन भएको नेवा :नखका अध्यक्ष बिष्णुमान प्रधानले बताए । उहाँको स्वास्थ्यमा सुधार आईसकेको र कोरोनाभाइरस समेत नेगेटिभ रहेकोले परिवार सहित शुभचिन्तक समेत निश्चिन्त थिए ।

    बिगत २५ वर्षदेखि अमेरिकामा बस्दै आएका छोंच्छु टेक्सासबाट ८ वर्ष अघि न्यूयोर्क सरेका थिए । श्रीमती संगीताका साथ न्यूयोर्कको क्वीन्समा वसोवास गर्दै आएका उनी सबै सामाजिक गतिबिधिमा संलग्न हुनुहुन्थ्यो । समुदाय र समाजसेवाको लागि उहाँको योगदान अग्रणी थियो । उहाँको आत्माको चिरशान्तिको कामना गर्दछौं ।

  • धनगढीमा अब उपभोग्य सामानको पसल समेत बन्द हुने

    धनगढीमा अब उपभोग्य सामानको पसल समेत बन्द हुने

    धनगढी । अब धनगढीमा आजबाट दैनिक उपभोग्य सामग्री बेच्ने पसल समेत बन्द हुने भएका छन् । धनगढीमा थप कोरोना संक्रमित फेला परेसँगै धनगढीमा आइतबारदेखि दैनिक उपभोग्य सामग्री बेच्ने पसल समेत बन्द गर्ने निर्णय भएको हो ।

    धनगढी उप–महानगरपालिकाले सम्पूर्ण पसल बन्द गर्ने निर्णय सार्वजनिक गरेको छ ।

    विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस फैलन नदिन उच्च सतर्कता अपनाउन आवश्यक रहेको भन्दै उपमहानगरले यसको जोखिमसँग जुध्न चुस्त बन्दोबस्त गरिएन भने त्यसले ठुलो मानवीय क्षति निम्त्याउने चेतावनी दिएको छ ।

    सोहीकारण उपमहानगरको श्रोत साधनले भ्याएसम्म सतर्कताको पूर्वतयारीमा जुटेको समेत उल्लेख गरेको छ ।

    उप–महानगरपालिकाले आइतबार बिहानै देखि लागु हुने गरी सम्पूर्ण खाद्यान्न, तरकारी लगायत दैनिक उपभोग्य सामाग्रीका पसलहरु, सबै किसिमका सवारी साधनहरु पूर्ण रुपमा बन्द गरेर सहयोग गरिदिनहुन व्यापारीहरुलाई आग्रह गरेको हो ।

    अतिआवश्यक दैनिक उपभोग्य वस्तुको होम डेलिभरी गरी सहयोग गर्न उद्योग वाणिज्य संघ कैलाली, किराना ब्यावसायी संघ कैलाली, दुग्ध ब्यावसायी, तरकारी ब्यावसायीलाई उपमहानगरपालिकाले आग्रह गरेको छ ।

    उपमहानगरपालिकाले शनिबार मात्रै बिहान ६ बजदेखि ९ बजेसम्म पसल खोल्ने निर्णय गरेको थियो। कैलालीको धनगढी उपमहानगरपालिकामा शनिबार नै थप एक संक्रमित देखिएपछि त्यो निर्णयलाई समेत सच्याइएको छ ।

    धनगढीसहित सुदूरपश्चिममा शनिबार तीन जनामा कोरोना संक्रमणको पुष्टि भएको थियो । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा कोरोना संक्रमितको संख्या अब ४ पुगेको छ। उनीहरु चारै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

  • बागलुंग, कैलाली र कंचनपुरमा अब कोरोनाको र्यापिड टेस्ट

    बागलुंग, कैलाली र कंचनपुरमा अब कोरोनाको र्यापिड टेस्ट

    काठमाडौं । कोरोना संक्रमित व्यक्ति भेटिएका तीन जिल्ला बागलुंग, कैलाली र कंचनपुरमा अब कोरोनाको र्यापिड टेस्ट गरिने भएको छ ।

    शनिबार बसेको मन्त्रिपरिषद् बैठकले यी तीन जिल्लामा कोरोनाको परिक्षणलाई वृहत बनाउने निर्णय गरेको हो । यसअघि विदेशबाट आएका नेपालीमा मात्र देखिएको यो रोग शनिबार पहिलो पटक समुदायमा समेत देखिएको छ ।

    सोहीकारण अब ती जिल्लामा कारोनाको शंका लागेका, संक्रमितको आसपास रहेका सबै मानिसलाई परिक्षणको दायरामा ल्याइने भएको छ ।

    त्यसक्रममा पोजेटिभ आएका नमूनालाई केन्द्रिय प्रयोगशालामा ल्याएर प्रमाणित गरिने सरकारका प्रवक्ता तथा अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए ।

    उनका अनुसार अब स्थानीय तहसम्मको समेत आवतजावतमा कडाई गरी एक समुदायबाट अर्को समुदायसम्म कोरोना फैलन नदिने गरी तयारी गरिएको छ ।

    सरकारले स्वस्थोपचारमा संलग्न चिकित्सकको सुरक्षालाई समेत उत्तिकै महत्व दिने निर्णय गरेको छ ।

  • अब एक स्थानीय तहबाट अर्को स्थानीय तहमा समेत जान नपाइने

    अब एक स्थानीय तहबाट अर्को स्थानीय तहमा समेत जान नपाइने

    काठमाडौं । सरकारले लकडाउनलाई कडाइ गर्ने निर्णय गरेको छ । यसअनुसार अब एक स्थानीय तहबाट अर्को स्थानीय तहमा समेत जान नपाइने गरी निर्णय गरेको हो ।

    सरकारका प्रवक्ता तथा अर्थमन्त्री डा. युवराज खतिवडाले लकडाउनलाई कडाई गर्ने निर्णय भएको जानकारी दिए ।

    त्यसअनुसार प्रदेशबाट प्रदेश र स्थानीय तहबाट स्थानीय तहसम्म समेत जान नपाउने गरी निर्णय भएको छ ।

    यसका साथै लकडाउनको कर्यान्वयनका लागि अब कडाईका साथ सबै तहले काम गर्ने भएका छन् ।

    सरकारले आज लकडाउन लम्ब्याउने वा नलम्ब्याउने भन्नेमा भने कुनै निर्णय नगरेको अर्थमन्त्री डा. खतिवडाले जानकारी दिए ।

    उनका अनुसार शनिबारको मन्त्रीपरिषद् बैठकमा अहिलेसम्मको परिस्थितिको विश्लेषण गरिएको थियो ।

  • नेपालमा कोरोना दोस्रो चरणमा, अब आगन्तुकबाट घरका मानिसमा सर्यो

    नेपालमा कोरोना दोस्रो चरणमा, अब आगन्तुकबाट घरका मानिसमा सर्यो

    काठमाडौं । नेपालमा कोरोना भाइरसको दोस्रो चरण शुरु भएको छ । सरकारले नेपाल कोरोना संक्रमणको दोस्रो चरणमा प्रवेश गरेको घोषणा गरेको हो ।

    यसअघि विदेशबाट नेपाल आउने मानिसमा मात्र कोरोना थियो । तर, शनिबार एकै पटक तीन जनामा देखिएको कोरोनाको संक्रमण अब विदेशबाट फर्किएपछि स्थानीय मानिसमा सर्न थालेको छ ।

    विश्व स्पास्थ्य संगठनले यसलाई संक्रमणको दोस्रो चरण मानेको छ । मन्त्रालयले लकडाउन कडाइका साथ पालना गर्न र घरभित्रै बस्न आह्वान गरेको छ ।

    यो कोरोना रोकथाम तथा नियन्त्रणको काममा सर्वसाधारणले गरेको सहयोग ठहरिने स्वास्थ्य मन्त्रालयको भनाई छ ।

    शनिबार स्वास्थ्य मन्त्रालयले नियमित प्रेस ब्रिफिंगका क्रममा कैलाली र कञ्चनपुरका थप तीन जनामा कोरोना संक्रमण भएको जानकारी गराएको थियो ।

    अब कुल संक्रमितको संख्या ९ पुगेको छ । जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा ४१ र २१ वर्षका दुई जना पुरुष तथा ३४ वर्षीया महिलामा कोरोना संक्रमण देखिएको हो ।

    ४१ र २१ वर्षका पुरुष भारतबाट आएका हुन् भने ३४ वर्षीया महिला कैलालीस्थित घरमै रहेको अवस्थामा संक्रमण भएको हो ।

    कैलालीकी ३४ वर्षीया महिला अर्का एक युवककी भाउजू भएको मन्त्रालयले जनाएको छ ।

  • नेपालमा थप तीनलाई कोरोना संक्रमण,पहिलो पटक एकबाट अर्कोमा सर्‍यो

    नेपालमा थप तीनलाई कोरोना संक्रमण,पहिलो पटक एकबाट अर्कोमा सर्‍यो

    काठमाडौं । नेपालमा थप तीन जनालाई कोरोना संक्रमणको पुष्टि भएको छ ।

    कैलाली र कन्चनपुरमा थप तीन जनामा कोरोना भाइरस पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।  यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ पुगेको छ ।

    मन्त्रालयका अनुसार मुम्बईबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूष, उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूषर कैलालीको ३४ वर्षीय महिलामा कोरोना संक्रमण भेटिएको हो।

    संक्रमण देखिएकी महिला यसअघि कैलालीमा संक्रमित भेटिएका पुरूषको आफन्त हुन्। योसँगै पहिलो पटक नेपालभित्रै अर्को व्यक्तिमा कोरोना संक्रमण भएको पनि पुष्टि भएको छ।

    संक्रमित तिनै जनालाई अहिले सेती प्रादेशीक अस्पताल धनगढीको आइसोलेसनमा राखिएको छ ।

  • बहराइनमा एकै क्याम्पका ९ नेपालीमा कोरोना पुष्टी

    बहराइनमा एकै क्याम्पका ९ नेपालीमा कोरोना पुष्टी

    काठमाडौं । बहराइनमा एकै क्याम्पमा बसेका ९ जना नेपालीमा कोरोनाको पुष्टी भएको छ । यसअघि पोर्चुगलमा एकै पटक ८ जना नेपालीमा कोरोनाको संक्रमण देखिएको थियो ।

    बहराइनमा मात्र कोरोना संक्रमित नेपालीको संख्या १२ पुगेको छ। बहराइनस्थित नेपाली दूतावासका अनुसार एउटै क्याम्पमा बसेका कामदारको नमुना परीक्षण गर्दा सबैमा कोरोना पोजिटिभ देखिएको छ ।

    क्याम्पमा अरु पनि मानिस भए नभएको भने खुलेको छैन । शुक्रबारसम्म १२ नेपालीसहित २ सय ८६ संक्रमित बहराइनमा फेला परेका छन् । उनीहरुको उपचार रहेको रहेको छ । बहराइनमा नेपाली कामदार ठूलो संख्यामा रहेका छन् ।

  • कपिलवस्तुमा आगलागीको कहर, ४२ घर जले

    कपिलवस्तुमा आगलागीको कहर, ४२ घर जले

    कपिलवस्तु । कपिलवस्तुमा आगलागीमा परी ४२ घर जलेर नष्ट भएका छन् ।

    कपिलवस्तुको विजयनगर गाउँपालिका वडा नं १ गुगौलीमा शुक्रबार भएको भीषण आगलागीमा ४२ घर पुरै जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

    गुगौलीस्थित काशीराम यादवको घरबाट सल्किएको आगोले बस्ती नै सखाप पारेको हो । आगलालीले मानवीय क्षति भने हुन भएन ।

    गाउँको उत्तरदेखि शुरू भएको आगोलाई हावा चलिरहेका कारण थप फैलन सहयोग गरेको थियो ।

    आगलागीबाट करीब एक करोड बराबरको धनमाल क्षति भएको अनुमान स्थानीयको छ ।

    क्षतिको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ । गर्मी मौसममा तराई भेगमा बढी आगोलागीका घटना हुने गरेका छन् ।

  • कोरोनाविरुद्ध सजगता अपनाउन राष्ट्रपतिको आह्वान

    कोरोनाविरुद्ध सजगता अपनाउन राष्ट्रपतिको आह्वान

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले कोरोनाको महामारीबाट बच्न सजगता अपनाउनु पर्ने बताएकी छिन् ।

    शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले सरकारले समयमै प्रभावकारी कदम चालेका कारण नेपालमा कोरोनाको संक्रमण नियन्त्रणमै रहेको समेत उल्लेख गरेकी छिन् ।

    राष्ट्रपति भण्डारीले कोरोना रोकथामका लागि अहिले सरकारले गरिरकेको गृहकार्यलाई विश्‍वले प्रशंसा गरिरहेको उनको दावि छ ।

    सरकारले घोषणा गरेको लकडाउनमा सक्दो सहयोग गरेर सबै नेपाली जनताले घर भित्रै बस्न समेत उनले आग्रह गरेकी छिन् । सामाजिक दूरी कायम गरेरै यस रोगसँग लड्न सकिने उनको दावि थियो ।

    जनताले अझै सजगता अपनाउन सके देशमा कोरोना संक्रमण फैलिएर महामारीको अवस्था आउन नसक्ने उनको भनाई छ ।

    लकडाउनका कारण समस्यामा परेकालाई सरकारले राहत कार्यक्रम ल्याएको स्मरण गर्दै उनले भाइरसले विश्‍वभर नै संकट ल्याएको बताइन् ।

    विभिन्‍न देशमा रहेका नेपालीहरु जहाँ जस्तो अवस्थामा छन्, त्यस्तै अवस्थामा सुरक्षित रहेर बस्न समेत उनले सुझाव दिएकी छिन् । सबैले आफ्नो सुरक्षा र स्वास्थ्यलाई ख्याल गर्दै सुरक्षित रहनु अहिलेको पहिलो आवश्यकता रहेको उनको भनाई छ ।

  • औषधी खरीदमा अनियमितता गर्नेलाई जिम्मेवारीबाट हटाउ : कांग्रेस

    औषधी खरीदमा अनियमितता गर्नेलाई जिम्मेवारीबाट हटाउ : कांग्रेस

    काठमाडौं । नेपाली कांग्रेसले औषधि खरिद प्रक्रियामा अनियमितता गर्नेहरुलाई जिम्मेवारीबाट हटाउन माग गरेको छ ।

    कोरोना रोकथामसम्बन्धी मेडिकल सामग्री ढिलासुस्ती र अनियमितता गर्नेलाई तत्काल जिम्मेवारी हटाएर कारवाहीको दायरामा ल्याउन कांग्रेसले माग गरेको हो ।

    यो काम माफी योग्य नभएको कांग्रेस सभापति शेरबहादुर देउवाको भनाई छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एक शुक्रबार विज्ञप्ति जारी गरेका छन् ।

    उनले अत्यावश्यक मेडिकल सामग्री खरिद प्रकरणमा भएको गम्भीर अनियमितताको घटनाले देशकै प्रतिष्ठामा आघात पुर्‍याएको उल्लेख छन् ।

    त्यसको अनुसन्धान अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गर्नुपर्ने उनको तर्क छ ।

    आवश्यक सामग्री खरिदमा ढिलाइ, टेन्डर प्रक्रियाको अपारदर्शीता, बढी मूल्य निकासा गराएर राज्य कोषमा गरिएको भ्रष्टाचार एवं विश्व स्वास्थ संगठनको मापदण्ड विपरीतको कमसल सामग्री खरिद जस्ता अत्यन्तै आपत्तिजनक र लज्जास्पद घटना कुनैपनि दृष्टिले माफीयोग्य नभएको उनको भनाई छ ।

    ढिलासुस्ती र अनियमिततामा सामेललाई जिम्मेवारीबाट मुक्त गरेर अनुसन्धान र कारबाहीको प्रक्रियालाई सघाउन उनले प्रधानमन्त्रीलाई आग्रह गरेका छन् ।

    मेडिकल सामग्री खरिद प्रकरणको निष्पक्ष अनुसन्धान गर्न ढिलाइ गर्न खोजिएको, ढाकछोप गर्ने प्रयत्न भइरहेको एवं समाचार लेख्ने र बोल्नेहरुलाई हतोत्साहित गर्न खोजिएको उनले बताएका छन् ।

    यसअघि चीनबाट ल्याउने मेडिकल सामग्रीको खरीद प्रक्रिया विवादित बनेपछि सरकारले खरीद प्रक्रिया खारेज गरेको छ । यो खरीद सेनाको जिम्मा दिने तयारी सरकारले गरेको छ ।

  • पोखरामा कोरोना संक्रमित देखिएको हल्लाले बजार ततायो, के थियो वास्तविकता ?

    पोखरामा कोरोना संक्रमित देखिएको हल्लाले बजार ततायो, के थियो वास्तविकता ?

    काठमाडौं । शुक्रबार अपरान्ह एक समाचार भाइरल बन्यो । समाचार अनुसार पोखरामा एक कोरोना संक्रमित भेटिएको पुष्टी भएको थियो ।

    उक्त समाचारलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिउसो नियमित प्रेस ब्रिफिंगका दौरान खारेज गरिदियो ।

    स्वयम स्वास्थ्य मन्त्री र गण्डकी प्रदेशका प्रदेशस्तरीय कोरोना रोकथाम समितिका संयोजक मन्त्री किरण गुरुङले एकजनामा पोजेटिभ रिपोर्टको खबर संचारमाध्यमलाई टिपाएका थिए ।

    तर, वास्तविकता खोतल्दै जाँदा प्रदेशमा स्थापना भएको ल्यावले पोजेटिभ देखाएको एक नमूनाका आधारमा समाचार बाहिरिएको थियो ।

    त्यो रिपार्ट काठमाडौंको ल्यावले भने नेगेटिभ देखाएको छ । यसले प्रदेशस्तरमा बिस्तार गरिएका ल्यावको समेत विश्वसनीयता घटेको छ ।

    पोखरामा भर्खरै स्थापना गरिएको प्रयोगशालाको मेसिनको बैधता र प्रक्रियाको कुरामा प्रवक्ता देवकोटाको समेत स्वीकारोक्ति थियो ।

    कुनै केस शंकास्पद भयो भने त्यहाँ फेरि दोहोर्‍याएर हेर्ने गरिएको स्पष्टिकरण उनले दिए ।

    प्रदेशमा ल्याब विस्तार गरेपनि त्यसले दिने विश्वसनीयता भने पुनः पुष्टी गर्नुपर्ने उनको भनाई छ ।

    उता, गण्डकी प्रदेश मुख्यमन्त्री कार्यालयको आधिकारिक बेवसाइटमै कुल संक्रमितको संख्या ७ भनेर अपडेट गरिएको थियो । तर, केन्द्र सरकारले नेगेटिभ रिपोर्ट देखाएपछि उक्त अपडेट पनि सच्याइएको छ ।

  • कोरोनाबाट १० लाख माथि संक्रमण, ५३ हजारको ज्यान गयो

    कोरोनाबाट १० लाख माथि संक्रमण, ५३ हजारको ज्यान गयो

    काठमाडौं । कोरोना भाइरसको संक्रमणले १० लाख माथिको आंकडा पार गरेको छ । विश्व स्वास्थ्य संगठनले प्रक्षेपण गरेको केही घण्टा भित्रै संक्रमितको संख्यामा भारी वृद्धि भएको हो ।

    बिहीबार साँझसम्मको तथ्यांक अनुसार कोभिड–१९बाट संक्रमितको संख्या विश्वभर १० लाखको नेटो काटेको हो । यस रोगबाट अहिलेसम्म ५२ हजार ९ सय ८३ जनाको मृत्यु भइसकेको छ ।

    संगठनले यस रोगबाट मर्नेको संख्या ३ हजार नाघेपछि विश्वव्यापी महामारी घोषणा गरेको थियो । त्यसबेला यो रोगबाट चीन मात्र लडिरहेको थियो ।

    अहिले भने पुरै संसार यो रोगको संक्रमणविरुद्ध लड्नु परेको छ । यस भारइबाट अमेरिकामा सबैभन्दा धेरै २ लाख ४३ हजार ४ सय ५३ जना संक्रमित भएका छन् ।

    इटालीमा १ लाख १५ हजार २ सय ४२ र स्पेनमा १ लाख १२ हजार ६५ जना संक्रमित रहेको आंकडा छ ।

    जर्मनीमा संक्रमितको संख्या ८४ हजार ७ सय ९४ रहेको छ । मृतक भने इटलीमा धेरै छन् । इटलीमा कोरोना भाइरसल अहिलेसम्म १३ हजार ९ सय १५ जनाको ज्यान गइसकेको छ ।

    स्पेनमा १० हजार ३ सय ४८ र फ्रान्समा ५ हजार ३ सय ८७ जनाको मृत्यु भएको छ । पछिल्ला दिनमा बेलायत र फ्रान्समा मृत्युदर बढी रहेको छ ।

    इटलीमा नयाँ संक्रमण हुन दर घटिरहेको छ ।

  • कोरोनाकै बीचमा फ्रान्समा गैह्र कानूनी आप्रबासीलाई खुसीको खबर : आप्रवासी बैधानिकताका लागि अपिल

    कोरोनाकै बीचमा फ्रान्समा गैह्र कानूनी आप्रबासीलाई खुसीको खबर : आप्रवासी बैधानिकताका लागि अपिल

    प्रसान्त उप्रेती / पेरिस, फ्रान्स 

    विश्वभर कोरोनाले आतंक मच्चाई रहँदा युरोपेली राष्ट्र फ्रान्स भने कोरोनाकै कहर बीच आप्रबासीहरुको हितमा उभिएको छ ।  फ्रान्सस्थित प्रभावशाली राजनीतिक दलहरु फ्रेन्च कम्युनिष्ट पार्टी, समाजवादी पार्टी अनि रिपब्लिक एन मार्च सहितका दलहरुले  कोरोना भाइरस महामारीको समयमा गैह्र-कानूनी आप्रवाशीलाई  बैधानिक गर्न सरकारसँग अपील गरेका छन् ।

    ओलिभियर फाउर (संसद पीएस), फेबियन रसेल (संसद पीसीएफ) र सोनिया क्रिमी (संसद लारेम) बिहीबार अभियान सुरुकर्ता फ्रान्सियोइस-मिशेल लाम्बर्टसंग जोडिएका छन् । लाम्बार्ट लिबर्टीज र टेरीटरीज ग्रुपका नेता हुन् । महामारीको समयमा गैह्र कानूनी आप्रवाशीहरुलाई महामारीबाट जोगाउन यो कदम उचित ठाँनिएको छ ।

    “हामी फ्रान्सेली सरकारलाई पोर्चुगाली सरकारले जस्तै उस्तै कदम चाल्न आग्रह गर्दछौं । जसले हालसालै आपतकालको अवधिमा आप्रवासीहरूलाई नियमित गर्न अनि कोरोना भाइरस महामारीलाई रोक्न  मद्दत गर्न सक्ने बिश्वास गरिएको छ”, भन्दै संयुक्त रुपमा ओलिभियर फाउर फेबियन रसेल सोनिया क्रिमी र मिशेल लाम्बार्टले संयुक्त आबेदनमा हस्ताक्षर गरेका छन् ।  फ्रान्स सरकारलाई गरिएको निबेदनमा २० जना प्रभावशाली बिभिन्न्न राजनीतिक दलका नेताहरुले हस्ताक्षर गरेका छन् ।  

    उनीहरूको विश्वास छ कि; पोर्चुगलले  लिएको यो उपाय जसले गैह्र कानूनीरुपमा बसोबास गर्दै आएका सम्पूर्ण आप्रवासीलाई स्वास्थ्य सेवा र वित्तीय सहायतामा “समान अधिकारहरू” प्रदान गर्न मद्दत गर्दछ । कोरोनाको महामरीको समयमा यो कदमले पोर्चुगिज नागरिकहरू र आप्रबासी सबै बासिन्दाहरूलाई बचाउन मद्दत गर्दछ ।  

    बीस हस्ताक्षरकर्ताहरु मध्ये आसुमिस पार्टीका लोइक  प्रुदोम, कम्युनिष्ट मैरी – जर्ज बुफे वा पूर्व ल आर ए म पार्टीका जीन मिशेल क्लमेन्ट र सेन्द्रिने जोशो पनि छन्।

    कोरोनाको महामारी सुरु भएयता युरोपको पहिलो मुलुक पोर्चुगलका आप्रबासीको पक्षमा निर्णय भएपछि, वामपन्थीका ल आर एम नायब अरुलीयन टाचाले ट्विटरमा आफ्नो अनुमान गरेका थिए, “आपतकालिन अवस्थामा एकजुट हुनु भनेको आफ्नो इलाकामा रहेका सबै मानिसलाई रक्षा गर्नु हो” भनेका छन् ।

    यो खबरसंगै फ्रान्सवासी नेपाली समुदायमा खुसी छाएको छ । आशा गरौं , चाँडो भन्दा चाँडो फ्रेन्च सरकारले आधिकारिक निर्णय लिनेछ ।

  • रक्षा र स्वास्थ्य मन्त्रीविरुद्ध अख्तियारमा उजुरी

    रक्षा र स्वास्थ्य मन्त्रीविरुद्ध अख्तियारमा उजुरी

    काठमाडौं । कोरोनासँग लड्ने स्वास्थ्य सामग्री खरिद गर्दा अनियमितता गरेको भन्दै रक्षा मन्त्री इश्वर पोखरेल र स्वास्थ्य मन्त्री भानुभक्त ढकालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

    नोवेल कोरोना भाइरस (कोभिड १९) भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रण गर्न आवश्यक मेडिकल सामग्री खरिद गर्ने सम्बन्धी सम्झौामा भ्रष्टाचार भएको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले विहीबार अख्तियारीमा उजुरी दिएका छन् ।

    उपप्रधानमन्त्री तथा कोभिड १९ को संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक ईश्वर पोखरेल, स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल, मन्त्रालयका सचिव यादवप्रसाद कोइराला, स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठ र ठेक्का लिएका ओम्नी बिजनेस कर्पोरेट इन्टरनेसनल प्रालिका सञ्चालकलाई विपक्षी बनाउदै उजुरी परेको हो ।

    ओम्नी समूहसँग सामान खरिदका लागि भएको सम्झौता बुधबार सरकारले खारेज गरेको छ ।

    ओम्नीसँग सरकारले एक अर्ब भन्दा बढी मूल्यका सामान ल्याउने सम्झौता गरेको थियो ।

    १० प्रतिशत सामान आइसकेपछि सम्झौता खारेज गरेर सरकारले जीटुजीमार्फत सामान खरिद गर्ने तयारी थालेको छ ।

    गत आइतबार सामान काठमाडौं आएपछि विवाद बाहिरिएको थियो । सरकारले बुधबार विवादित खरीद सम्झौता खारेज गर्ने निर्णय गरेको थियो ।

  • १४ दिन क्वारेन्टाइनमा बसेपछि मात्र सीमाका नेपाली घर आउन पाउने

    १४ दिन क्वारेन्टाइनमा बसेपछि मात्र सीमाका नेपाली घर आउन पाउने

    काठमाडौं । भारतीय सीमा क्षेत्रमा हरेक दिन जसो प्रदर्शन भइरहेको छ । भारतबाट घर हिँडेका तर लकडाउन कारण सीमा नाकामा फसेका नेपालीले हरेक दिन जसो आन्दोलन गरिरहेका हुन् ।

    तर, नेपाल सरकारले भने भारतीय सीमा क्षेत्रमा अलपत्र परेका नेपालीहरुलाई भारततर्फ नै १४ दिन क्वारेन्टाइनमा बसेपछि मात्र नेपाल आउन दिने निर्णय गरेको छ ।

    धार्चुला, रुपैडिहा लगायत क्षेत्रमा नेपाली नागरिक अलपत्र अवस्थामा रहेका छन ।

    त्यसो त नेपालमा रहेका भारतीय नागरिक समेत घर फर्किन नेपाल र भारतको सीमा नाकामा पुगेर अड्किएका छन् । तर, नेपाल र भारतबीच सीमा नाकाबाट आवत–जावत नखोल्ने र क्वारेन्टाइन बनाएर राख्ने सहमति यसअघि नै भइसकेको छ ।

    कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको बिहीबारको बैठकले सीमा पारी आएका नेपालीलाई सोही स्थानमा १४ दिनको क्वारेन्टाइनमा नबसेसम्म नेपाल आउन नदिने निर्णय गरेको हो ।

    सरुवा रोगको संक्रमण मुलुक भित्र फैलन नदिन यस्तो निर्णय गर्नु परेको सरकारको भनाई छ । भारतीय सीमा क्षेत्रमा आइपुगेकालाई १४ दिन क्वारेन्टाइनमा बसेपछि मात्र आउन अनुरोध गरेको अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए ।

  • आवासीय मजदुर राखेर उद्योग खोल्न सकिने

    आवासीय मजदुर राखेर उद्योग खोल्न सकिने

    काठमाडौं । सरकारले लकडाउनका अवधिमा समेत उद्योग तथा आर्थिक प्रतिष्ठानहरु भने संचालनको वातावरण बनाउने भएको छ ।

    यसका लागि शर्तसहित उद्योग तथा आर्थिक प्रतिष्ठान संचालन गर्ने निर्णय सरकारले गरेको छ ।

    कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको बैठक बिहीबार बसेको थियो ।

    बैठकले विशेषगरी खाद्य र अत्यावश्यक बस्तु उत्पादन गर्ने उद्योग प्रतिष्ठानलाई खुला गर्ने निर्णय गरेको हो ।

    तर, उद्योगहरुले कामदारलाई आवासीय सुविधा दिनुपर्नेछ । उनीहरु बस्ने र काम गर्ने स्थानमा समेत सुरक्षाको पूर्ण प्रत्याभूति हुनुपर्ने शर्त राखिएको छ ।

    सरकारका प्रवक्ता डा. युवराज खतिवडाले यस्तो जानकारी दिएका हुन् । उनका अनुसार सुरक्षा मापदण्ड पुरा गरी उद्योगहरु खुल्ने भएका छन् ।

    अन्य उद्योग चलाउनु परेमा भने स्थानीय प्रशासनको अनुमति चाहिने भएको छ ।

  • नेपालमा कोरोनाको छैटौं संक्रमित पुष्टी

    नेपालमा कोरोनाको छैटौं संक्रमित पुष्टी

    काठमाडौं । नेपालमा कारोनाको छैटौं संक्रमित पुष्टी भएको छ । बागलुङकी ६५ वर्षीया वृद्धामा कोरोनाको संक्रमण पुष्टी भएको हो ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बिहीबार नियमित प्रेस ब्रिफिंगका क्रममा उक्त जानकारी गराएका हुन् ।

    उनका अनुसार कोरोना संक्रमण भएकी वृद्धा पनि कतार एयरवेजको चैत ४ गतेकै विमानबाट नेपाल आएकी हुन् ।

    यस विमानबाट नेपाल आएका तीन जनामा कोरोना देखिएको छ । उनी चैत ४ गते बेल्जियमबाट कतारको दोहा हुँदै कतार एयरवेजको विमान क्युआर ६५२ बाट नेपाल आएको पुष्टी भएको छ ।

    अहिले संक्रमण पुष्टि भएकी वृद्धा र तेस्रो संक्रमित बागलुङकै १९ वर्षीया किशोरीकी रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    उनीहरु एकसाथ बेल्जियमबाट नेपाल आएका थिए । त्यसपछि यती एयरलाइन्सको विमानबाट काठमाडौं हुँदै पोखरा पुगेका थिए ।

    एकदिन पोखरा बसेपछि उनीहरु दुबैजना जिप चढेर बाग्लुङ पुगेको खुलेको छ । बागलुङ अस्पताल स्रोतकाअनुसार महिलामा दमको समस्या रहेको बताइएको छ ।

    संक्रमण देखिएपछि उनलाई होम क्वारेन्टाइनबाट बागलुङ अस्पताल ल्याउने तयारी रहेको मन्त्रालयले जनाएको छ ।

    नेपालमा अहिलेसम्म ६ जनामा कोरोना संक्रमण देखिएको छ । सबै व्यक्ति विदेशबाट नेपाल आएका हुन् । त्यसमध्ये दोस्रो, तेस्रो र छैटौं संक्रमित चैत ४ गते दोहाबाट कतार एयरवेजको एउटै विमानमा आएको खुलेको छ ।

  • कोरोनाले भारतमा एकै दिन २३ जनाको मृत्यु

    कोरोनाले भारतमा एकै दिन २३ जनाको मृत्यु

    नयाँ दिल्ली । कोरोना भाइरसका कारण नेपालको छिमेकी मुलुक भारतमा एकैदिन २३ जनाको मृत्यु भएको छ। नेपालका लागि भारतको स्वास्थ्य अवस्था निकै महत्वपूर्ण हुने गर्छ ।

    किनकी भारतमा संक्रमण बढ्दा त्यसको प्रत्यक्ष प्रभाव नेपालसम्म हुने गर्छ । भारतमा कोरानका कारण सबैभन्दा धेरै मानिसले ज्यान गुमाएको यो पहिलो पटक हो ।

    मंगलबार ३ जनाले मात्र ज्यान गुमाएकोमा बुधबार एकै दिन २३ जना मानिसको ज्यान गएको हो । भारतमा कुल मृत्यु हुनेको संख्या ५८ पुगेको छ।

    भारतमा बुधबार मात्र ६ सय १ जना संक्रमित भेटिए । यो पनि अहिलेसम्मकै सबैभन्दा धेरै हो । भारतमा कोरोना भाइरसबाट संक्रमित बिरामी भने करिब दुई हजार पुगेका छन् ।

    भारतमा कोरोना भाइरसको जोखिम फैलन नदिन २१ दिनको लकडाउन जारी रहेको छ ।

  • एकै दिन थपिए कोरोनाका ७६ हजार संक्रमित

    एकै दिन थपिए कोरोनाका ७६ हजार संक्रमित

    काठमाडौं । कोरोना (केभिड १९) को संक्रमण दिनप्रतिदिन बढ्दो छ ।

    ३१ डिसेम्बरबाट फैलावट शुरु भएको यो भाइरस संसारका करीव सबै मुलुक प्रभावित छन् । बुधबार विश्वभर एकै दिन ७६ हजार नयाँ संक्रमित भेटिएको आंकडा विश्व स्वास्थ्य संगठनको रहेको छ ।

    यसअनुसार यो भाइरस अझै पनि थामिने पक्षमा छैन । अमेरिकामा मात्र २६ हजार भन्दा बढी नयाँ संक्रमित भेटिएका छन् ।

    स्पेनमा ८ हजार बढी नयाँ संक्रमित बुधबार थपिएका छन् । इटलीमा बुधबार थप साढे ४ हजार संक्रमित भेटिए ।

    इटलीमा भने नयाँ संक्रमित आउने दर घटिसकेको छ । तर, अमेरिका र स्पेनमा भने यो दर तिब्र रहेको छ । विश्वव्यापी महामारी कोरोना भाइरसका कारण बुधबार एकै दिनमा करीव ५ हजार मानिसको ज्यान गएको छ ।

    अमेरिकामा पछिल्लो २४ घण्टामा १ हजार भन्दा मानिसले ज्यान गुमाए । स्पेनमा बुधबार एकैदिन ९ सय २३ जनाको मृत्यु भयो ।

    स्पेनमा मृत्यु हुनेको संख्या ९ हजार ३ सय पुगेको छ । यहाँ कुल संक्रमित १ लाख ४ हजार रहेका छन् । इटलीमा बुधबार ७ सय २७ जनाको मृत्यु भएको छ ।

    यहाँ कुल १३ हजारले ज्यान गुमाएका छन् । इटलीमा कुल संक्रमितको संख्या १ लाख १० हजार पुगेको छ ।

    फ्रान्समा एकै दिन ५ सय जनाले ज्यान गुमाए । बेलायतमा साढे ५ सय जनाको मृत्यु भएको छ।

    विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ९ लाख ३० हजार भन्दा बढी पुगेको छ। यसबाट करीव २ लाख मानिस उपचारपछि निको भएका छन् । संसारभर करीव ४७ हजार मानिसले ज्यान गुमाएका छन् ।

  • पेट्रोलियम पदार्थको मूल्यमा भारी कटौती

    पेट्रोलियम पदार्थको मूल्यमा भारी कटौती

    काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्यमा भारी कटौती गरेको छ । नेपाल आयल निगम  संचालक समितिको बुधबार बसेको बैठकले मूल्य घटाउने निर्णय गरेको हो ।

    अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको गिरावट सँगै नेपालमा पनि पेट्रोलियम पदार्थको मूल्य कटौती भएको हो ।

    कोरोना भाइरसका कारण करीव संसार नै लकडाउन भएको छ । यसले पेट्रोलियम पदार्थको खपत उल्लेख्य घटेको छ । जसले गर्दा मूल्यमा समेत गिरावट आइरहेको छ ।

    १ अप्रिल २०२० मा ईन्डियन आयल कर्पोरेशनबाट प्राप्त मूल्यअनुसार निगम संचालक समितिको १२ बजे रातीबाट लागू हुने गरी पेट्रोल, डिजल र मटितेलमा साविकको खुद्रा विक्री मूल्यमा प्रतिलिटर १० रुपैयाँका दरले घटाएको हो ।

    काठमाडौंमा अब पेट्रोलको खुद्रा विक्री मूल्य ९६ रुपैयाँ कायम भएको छ । डिजेल र मटितेलको खुद्रा विक्री मूल्य ८५ रुपैयाँ प्रतिलिटरमा आएको छ ।

    हवाई इन्धनको मूल्य आन्तरिकतर्फ प्रतिलिटर १५ रुपैयाँले घटेर ७५ रुपैयाँ कायम भएको छ । हवाई इन्धनको बाह्यतर्फको मूल्य  अब प्रतिलिटर ०.९५ डलर प्रतिलिटर कायम भएको निगमले जनाएको छ ।

  • पछिल्लो तीन दिनयता नेपालमा भेटिएनन् कोरोना संक्रमित

    पछिल्लो तीन दिनयता नेपालमा भेटिएनन् कोरोना संक्रमित

    काठमाडौं । पछिल्लो तीन दिनयता नेपालमा थप कोरोना संक्रमित नभेटिएको सरकारले बताएको छ । देशभर कूल ११ सय ३३ परिक्षण भएकोमा कूल ५ जनामा कोरोना देखिएको छ ।

    तर, पछिल्लो तीन दिनयता कुनै पनि नयाँ संक्रमित नभेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास कोइरालाले जानकारी दिए ।

    उनका अनुसार देशभर आइसुलेसनमा ९९ बिरामी रहेका छन् ।

    ५ जनामा पुष्टी भएका मध्ये पनि एक जना भने निको भएर घर फर्किसकेका छन् । सरकारले अहिले कोरोनाको परिक्षण हुने स्थान बिस्तार गरेको छ ।

    यसले दायरा समेत फराकिलो भएको उनले जानकारी दिए । उनका अनुसार कोरोना संक्रमितसको नजिकमा रहेका मानिसको परिक्षण गर्ने काम ८४ प्रतिशत सम्पन्न भएको छ ।

    पछिल्लो समय धनगढीमा भेटिएका संक्रमितको नजिकका आफन्तसहित कूल १२ जनाको नमुना परिक्षणका लागि पठाइएको छ । उनीहरुको रिपोर्ट आउन बाँकि रहेको छ ।

  • लकडाउनपछि सीमानामा रोकिएका नेपाली भारतमै क्वारेन्टाइनमा

    लकडाउनपछि सीमानामा रोकिएका नेपाली भारतमै क्वारेन्टाइनमा

    काठमाडौं । नेपालले लकडाउन गरेपछि नेपाल र भारतको सीमानामा आएर रोकिएका नेपाली नागरिकलाई भारती भूमिमै क्वारेन्टाइनमा राखिने भएको छ ।

    यसअघि सीमामै आइसकेका नेपालीलाई घर छिर्नु दिनुपर्ने चर्को दवाव थियो । तर, सरकारले भने सीमापारी रोकिएका नेपाली नागरिकको भारतीय भूमिमै व्यवस्थापन गरिएको बताएको छ ।

    महामारी फैलन नदिन नेपाल सरकारले सीमा नाका बन्द गरेको छ । यसअवस्थामा कुनै पनि व्यक्ति अब भारतबाट नेपाल छिर्न सक्दैनन् ।

    नेपाल र भारतबीच सीमा बन्दपछि सीमाक्षेत्रमा पुगेका नागरिकलाई जुन देशमा छन् त्यही देशको सरकारले व्यवस्थापन गर्ने सहमति भएको बताइएको छ ।

    यसअनुसार अब भारतीय नागरिक नेपालमा छन् भने भारत छिर्न पाउने छैनन् । नेपाली पनि आफ्नो मुलुक छिर्न पाउनै छैनन् ।

    सहमतिपछि सुनौली नाकामा रोकिएकाहरुलाई भारतको नौतनवास्थित क्वारेन्टाइन र दार्चुलामा रोकिएकालाई भारतको धार्चुलास्थित क्वारेन्टाइनमा राखिएको बताइएको छ ।

    सीमाना बन्दका कारण नेपालमै रोकिएका भारतीय नागरिकमध्ये भैरहवामा १५१ जनालाई नेपालले व्यवस्थापन गरिरहेको छ ।

    रौतहटमा ६० जना रहेका छन् । उनीहरुको जिम्मा नेपालले लिनेछ ।

  • कोरोनाका कारण चीनमा भन्दा अमेरिकामा धेरैको ज्यान गयो

    कोरोनाका कारण चीनमा भन्दा अमेरिकामा धेरैको ज्यान गयो

    काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट अमेरिकमा ३ हजार ६ सय मानिसको ज्यान गएको छ । यो संख्या चीनमा कोरोनाका कारण मर्ने मानिसको संख्या भन्दा धेरै हो ।

    चीनमा ३ हजार ३ सय ५ मानिसको ज्यान गएको तथ्यांक रहेको छ । अहिले कोरोनाको मूख्य महामारी यूरोप र अमेरिकामा सरेको छ । चीन र युरोपपछि कोरोनाको इपिसेन्टर अमेरिका बनेको हो ।

    धेरै मानिस इटली र स्पेनमा मरेका छन् । अमेरिकामा संसारका सबैभन्दा धेरै संक्रमित छन् । यस मुलुकमा कूल संक्रमितको २० प्रतिशत रहेको छ ।

    अमेरिकामा कुल कोरोना संक्रमित संख्या १ लाख ८१ हजार पुगेको छ ।

    डिसेम्बर अन्तिम साताबाट देखापरेको कोरोनाबाट हालसम्म ४१ हजार बढी मानिसको ज्यान गएको छ । झण्डै ८ लाख ५० हजार मानिसमा संक्रमण देखिएको छ । यो संक्रमण विश्वका सबैजसो मुलुकमा फैलिएको छ ।

  • संयुक्त राष्ट्रसघंका महासचिवको चेतावनी : कोरोना दोस्रो विश्वयताकै ठूलो चूनौति

    संयुक्त राष्ट्रसघंका महासचिवको चेतावनी : कोरोना दोस्रो विश्वयताकै ठूलो चूनौति

    काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुट्रेसले कोरोना भाइरस (कोभिड १९)लाई दोस्रो विश्वयुद्ध यताकै ठूलो चेतावनीको संज्ञा दिएका छन् ।

    यस महामारीले दोस्रो विश्वयुद्धयताकै ठूलो चुनौती पेश गरेको उनको भनाई छ । कोरोनाले विश्वमा पार्ने सामाजिक तथा आर्थिक प्रभावबारे संयुक्त राष्ट्रसंघले एक प्रतिवेदन सार्वजनिक गरेको छ ।

    सोहीअवसरमा महासचिव गुट्रेसले विश्व समुदायको ध्यानाकर्षण गराएका हुन् ।

    कोरोना महामारीका कारण विश्वव्यापी मन्द्यीप्रक्षेपण राष्टसंघले गरेको छ । यसले अहिलेसम्मकै ठूलो आर्थिक मन्दी आउने र यसको परिणाम भयाभह हुने अनुमान उनको छ ।

    राष्ट्रसंघले निम्न र मध्यमस्तरका देशलाई कोरोना भाइरसको महामारीबाट परेको मारमा सहयोग गर्न राहत कोष स्थापनाको समेत जानकारी दिएका छन् ।

    यस भाइरसले समाजका सबैजसो अंगलाई आक्रमण गरेको भन्दै कोभिड–१९ कठिन परीक्षा भएको समेत उल्लेख गरको छन् । यसको समाना सबै मिलेर गर्नुपर्ने उनको भनाई छ ।

    समन्वयकारी स्वास्थ्य सतर्कता अपनाएर महामारी अन्त्यका लागि भूमिका खेल्न उनले सरोकारवाला सबैसँग आग्रह गरेका छन् । कोरोनाबाट हालसम्म ४१ हजार बढी मानिसको मृत्यु भएको छ । ८ लाख ५० हजार मानिस संक्रमति छन् ।

  • दुई सय दुई राष्ट्रमा फैलिएको कोरोनाको मृत्‍युदर भने यस्तो छ

    दुई सय दुई राष्ट्रमा फैलिएको कोरोनाको मृत्‍युदर भने यस्तो छ

    न्युयोर्क

    कोरोना भाइरसको महामारीले विश्व नै ठप्प छ ।  चीनको उहान राज्यबाट गत डिसेम्बर महिनामा सुरु भएको यो भाईरसको महामारी अहिले विश्वका २ सय दुई राष्ट्रमा फैलिसकेको छ । भाइरस फैलिएका २ सय २ राष्ट्र मध्ये कतिपय राष्ट्र पूर्णरुपामा बन्द (लकडाऊन) छन् भने कतिपय राष्ट्रहरु आंसिक रुपमा बन्द छन् । समाचार तयार पार्दासम्म ८ लाख ५३ हजार ७ सय ९९ जना यो भाईरसबाट संक्रमित भै सकेका छन् ।संक्रमितको संख्या विश्वभरबाट हरेक मिनेट बढीरहेको छ । ४२ हजार मानिसको कोभिड -१९ बाट मृत्‍यु समेत भै सकेको छ । संक्रमितको संख्या मात्र होईन मृतकको संख्या समेत लगातार उकालो चढ्दै छ ।हालसम्म यो भाईरसबाट संक्रमित मध्ये १ लाख ७६ हजार ९ सय ६ जनाले पूर्णरुपमा स्वास्थ लाभ समेत गरेका छन् । विश्वभरका कुल मृतकको संख्यालाई आधार मान्दा यो रोगको मृत्‍युदर अहिले ४ दशमलब ९१ प्रतिशत छ । विश्वभर संक्रमितहरुको संख्यालाई  आधार मान्दा मृत्‍युदर कम जस्तो देखिए पनि कतिपय देशहरुमा मृत्‍युदर अत्यन्त उच्च छ ।  कोरोनाको महामारी  फैलिएका राष्ट्रहरु मध्ये हालसम्म १९ वटा देशमा मात्र १०० जना भन्दा धेरै मानिसको मृत्‍यु भएको छ ।  

    हालसम्म कोरोनाको कारण ईटालीमा सबै भन्दा धेरै  मान्छेको मृत्‍यु भएको छ ।  ईटालीमा १ लाख ५ हजार ७ सय ९२ जना संक्रमित भएका छन् भने १२ हजार ४ सय २८ जनाको मृत्‍यु भएको छ । कुल संक्रमित मध्ये मृत्‍यु हुनेको यो संख्या ११ दशमलब  ७४ प्रतिशत हो ।  

    ईटाली पछि अर्को युरोपियन देश स्पेनमा पनि मृत्‍यु दर उच्च  छ ।  स्पेनमा ९५ हजार ९ सय २३ जना संक्रमित मध्ये ८ हजार ४ सय ६४ को मृत्‍यु भएको छ । यो मृत्‍युदर ८ दशमलब   ८२ प्रतिशत हो । स्पेनको हाराहारीमा मृत्‍युदर धेरै भएको अर्को देश ईन्डोनेसिया हो । हालसम्म मृत्‍युदर धेरै भएको एसियाको एक मात्र देश हो ईन्डोनेसिया । ईन्डोनेसियामा संक्रमितको संख्या जम्मा १५ सय २८ भए पनि मृतकको संख्या १ सय ३६ पुगिसकेको छ । यो मृत्‍युदर ८ दशमलब ९० प्रतिशत हो । एसियाको अर्को देश दक्षिण कोरियामा हालसम्म ९ हजार ७ सय ८६ संक्रमित छन् भने १ सय ६२ को मृत्‍यु हुँदा मृत्‍युदर १ दशमलब ६५ मात्र छ । अर्को युरोपियन देश नेदरल्यान्डमा पनि मृत्‍युदर उच नै छ । १२ हजार ५ सय ९५ संक्रमित मध्ये १ हजार ३९ को मृत्‍यु भै सकेको छ । नेदरल्यान्डमा यो मृत्‍युदर ८ दशमलब २४ प्रतिशत हो । अन्य युरोपियन देशहरु फ्रान्समा मृत्‍युदर ६ दशमलब ७५  प्रतिशत बेलायतमा ७ दशमलब ११ प्रतिशत बेल्जियममा ५ दशमलब ५१ प्रतिशत स्विडेनमा ४ दशमलब   ०५ प्रतिशत पोर्चुगलमा २ दशमलब  १४ प्रतिशत छ । हालसम्म सय जना भन्दा धेरैको मृत्‍यु भएका युरोपियन देशहरु मध्ये जर्मनमा सबैभन्दा कम मृत्‍युदर छ । जर्मनमा ७१ हजार ६ सय ९० संक्रमितमध्ये ७ सय ७४ जनाको मृत्‍यु भएको छ । यो संख्या १ दशमलब ०७ प्रतिशत मात्र हो । अन्य दुई युरोपियन देश स्विजरल्यान्ड र अस्ट्रियामा मृत्‍युदर क्रमस: २ दशमलब ६० प्रतिशत र १ दशमलब  २६ प्रतिशत छ । सय जना भन्दा धेरैको मृत्‍यु भएको अर्को देश टर्कीमा मृत्‍युदर १ दशमलब ५८ प्रतिशत छ । हालसम्म ठुलो संख्यामा मानिसहरु संक्रमित भएको एक मात्र मध्यपुर्बको देश ईरानमा २८ सय ९८ को मृत्‍यु भै सकेको छ । ईरानमा मृत्‍यु हुने यो संख्या ६ दशमलब ४९ प्रतिशत हो । मध्यपुर्बका अन्य देशहरुमा संक्रमित र मृत्‍यु हुनेको संख्या कम छ । यता दक्षिण अमेरिकामा भने हालसम्म ब्राजिलमा संक्रमितको संख्या ऊकालो लाग्दै छ ।  ब्राजिलमा हालसम्म ५ हजार ७ सय १७ जना संक्रमित भएका छन् भने २ सय १ जनाको मृत्‍यु भएको छ । ब्राजिलमा मृत्‍युदरको यो संख्या ३ दशमलब ५१ प्रतिशत हो । अन्य दक्षिण अमेरिकी देशहरुमा हालसम्म कोरोनाको प्रभाब अन्य देशहरुको तुलनामा न्युन छ ।  

    अमेरिकामा मंगलवारसम्म १ लाख ८५ हजार १ सय ५९ जना संक्रमित मध्ये ३ हजार ७ सय ७३ को मृत्‍यु भएको छ । अमेरिकामा संक्रमितको संख्या उच्च भएपनि मृत्‍युदर कम छ । अमेरिकामा मृत्‍युदर २ दशमलब  ०३ प्रतिशत छ । झन्डै ३३ करोड जनसंख्या भएको अमेरिकामा ९० लाख मानिस बसोबास गर्ने न्युयोर्क शहर हाल कोरोना  महामारीको ईपिसेन्टरको रुपमा उदाएको छ । कोरोना भाईरसको ऊद्गमस्थल चिनमा हालसम्म ८१ हजार ५ सय १८ जना संक्रमित भएका छँन् भने ३३ सय ५ को मृत्‍यु हुँदा मृत्‍युदर ४ दशमलब ०५ प्रतिशत छ ।  

    (प्रस्तुती : बिजय राम पौडेल)

  • अख्तियारलाई कांग्रेसको स्मृति पत्र : संकटको नाममा भ्रष्टाचारले उन्मुक्ति पाउनु हुन्न

    अख्तियारलाई कांग्रेसको स्मृति पत्र : संकटको नाममा भ्रष्टाचारले उन्मुक्ति पाउनु हुन्न

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संकटको समयमा हुन सक्ने सम्भावित अनियमितताका काममा सतर्क रहन सचेत गराएको छ ।

    कांग्रेस प्रवक्ता विश्‍वप्रकाश शर्माले मंगलबार अख्तियारका नाममा टुइटरमार्फत एक स्मृति पत्र लेखेका छन् । छोटो यस पत्रमा उनले संकटको बेलामा सहयोग गर्नु सबै दलको दायित्व भएको बताएका छन्।

    तर, संकटका नाममा भ्रष्टाचारले भने उन्मुक्ति पाउन नहुने उनको भनाई छ । कोरोना रोकथाम गर्न चीनबाट ल्याएको स्वास्थ्य सामग्री खरिदमा अनियमितताको आरोप सरकारमाथि लागेको छ ।

    यसै सन्दर्भमा कांग्रेसले यस्तो सचेत गराएको हो ।

    यस्तो छ कांग्रेसको पत्र :

    ‘अख्तियारलाई स्मृति पत्र, संकटमा सरकारलाई साथ दिनु दल र नागरिकको दायित्वु,  तर साथ दिइरहँदा अनियमितता नोटिसमा लिन अख्तियारको दायित्व ध्यानाकर्षण। अहोरात्र जारी मेहनतलाई प्रोत्साहित गरौं, तर संकटको नाममा भ्रष्टाचारले उन्मुक्ति पाउनुहुन्‍न’

    सरकारले भने यस खरीदमा अनियमितता नभएको स्पष्ट पारेको छ ।

  • खुसीको खबर : पछिल्लो ४८ घण्टामा नेपालमा भेटिएनन् कोरोना संक्रमित

    खुसीको खबर : पछिल्लो ४८ घण्टामा नेपालमा भेटिएनन् कोरोना संक्रमित

    काठमाडौं । पछिल्लो ४८ घण्टा यता नेपालमा कोरोनाको संक्रमित फेला परेका छैनन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ जनामा सिमित छ । त्यसमध्ये पनि एक जना भने निको भएर घर फर्किसकेका छन् ।

    अन्यको समेत स्वास्थ् अवस्था सामन्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पछिल्लो २४ घन्टामा नयाँ संक्रमित नथपिएको जानकारी दिए ।

    उनका अनुसार पछिल्लो २४ घन्टामा ६७ जनामा कोरोना परीक्षण भएको छ । मंगलबार सवा ४ बजेसम्म नेपालमा १ हजार ६० जनामा कोरोना भाइरसको परीक्षण गरिएको छ।

    जसमध्ये पाँच जनामा मात्र कोरोना संक्रमण पुष्टी भएको हो । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा दुई जना उपचारत रहेका छन् ।

    उक्त अस्पतालमा फ्रान्सबाट गत चैत ४ गते आएकी काठमाडौंकी १९ वर्षीया युवती र गत चैत ६ गते युएईबाट नेपाल आएका एक युवक रहेका छन् ।

    उनीहरु दुवै जनाको अहिले अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ ।

    यसैगरी कैलालीको धनगढीस्थित सुदूरपश्चिम प्रादेशिक अस्पतालमा उपचार गराइरहेका दुवईबाट चैत ६ गते आएका ३४ वर्षीय संक्रमित युवाको अवस्था पनि सामान्य रहेको छ ।

    चैत ४ गते बेल्जियमबाट नेपाल आएकी बागलुङकी १९ वर्षीया युवतीको पनि स्वास्थ्य अवस्था सामान्य रहेको धौलागिरी अस्पतालले उल्लेख गरेको छ ।

  • ३ सय २ अमेरिकी नागरिक काठमाडौंबाट चार्टर विमानबाट अमेरिका प्रस्थान

    ३ सय २ अमेरिकी नागरिक काठमाडौंबाट चार्टर विमानबाट अमेरिका प्रस्थान

    विश्वसन्देश संवाददाता

    काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज कतार एयरले ३ सय २ जना अमेरिकी नागरिक लगेको छ । काठमाडौंस्थित अमेरिकी दूतावासको पहलमा कतार एयरको चार्टर विमानमार्फत ३ सय २ जना अमेरिकी नागरिक आफ्नो देशतर्फ लागेका छन् ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अध्यागमन प्रमुख सागर आचार्यले २ सय ९३ जना वयश्क र ९ जना बालबालिका मंगलबार दिउँसो १:३० बजे अमेरिकातर्फ प्रस्थान गरेका जानकारी दिए ।

    नेपालका विभिन्न ठाउँको भ्रमणका लागि आएका उनीहरु अलपत्र परेपछि अमेरिकी दूतावासले कतार एयरको जहाज चार्टर गरेर स्वदेश फर्काएको हो ।

    कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले वैशाख ३ गतेसम्म अन्तर्राष्ट्रिय उडान प्रतिबन्ध लगाएको छ । चार्टर गरेर भने बाहिरिन सक्ने व्यवस्था गरिएकाले विभिन्न देशले आफ्ना नागरिक लैजाने क्रम जारी रहेको छ ।