Category: समाचार

  • डाक्टर कुट्ने प्रहरी कर्मचारी कारवाहीमा

    डाक्टर कुट्ने प्रहरी कर्मचारी कारवाहीमा

    काठमाडौं । बुधबार ड्यूटी सकेर खाना खान जाने क्रममा डाक्टरलाई लकडाउन उल्लंघनको अभियोगमा कुटपिट गर्ने प्रहरीमाथि संगठनले कारवाही थालेको छ ।

    सोहीक्रममा महानगरीय प्रहरी वृत्त, महाराजगञ्जका डीएसपी उमेशराज लम्साललाई जिम्मेवारीबाट हटाएको छ ।

    त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका आवासीय डाक्टरमाथि प्रहरीले बुधबार साँझ लाठि बर्साएको थियो ।

    लकडाउन उल्लङ्घन गरेको भन्दै प्रहरीले चिकित्सकलाई गरेको कुटपिटको घटना बुधबार नै सार्वजनिक भएको थियो ।

    लम्साललाई महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीका तानिएको नेपाल प्रहरीले जनाएको छ । लम्साललाई छानबिनका लागि रानीपोखरी तानिएको बताइएको छ ।

    यसअघि संगठनले घटनाको छानविनका लागि एसएसपी किरण बज्राचार्यको नेतृत्वमा एसपी मुकेश सिंह र डीएसपी होविन्द्र बोगटी सदस्य रहेको समिति समेत गठन गरेको थियो ।

    समितिले अनुसन्धान थाल्नु अगाडी नै लम्साललाई जिम्मेवारीबाट हटाइएको छ।

    घटनामा प्रहरीबाट कमजोरी भएको संलग्न प्रहरी कर्मचारीले स्वीकार गरिसकेका छन् । डाक्टरले आफु डाक्टर भएको कार्ड देखाउँदा समेत प्रहरीले कुटपिट गरेको जानकारी गराएका थिए ।

  • सहयोग रोक्ने अमेरिकी चेतावनी दुखदः : डब्लूएचओ

    सहयोग रोक्ने अमेरिकी चेतावनी दुखदः : डब्लूएचओ

    जेनेभा । विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)ले संगठनलाई अमेरिकाले दिदै आएको सहयोग रोक्ने चेतावनीप्रति दुख व्यक्त गरेको छ ।

    अमेरिकी राष्ट्रपतिले संगठनलाई अमेरिकाले दिँदै आएको सहयोग कटौतीको घोषणा गरेका थिए ।

    उनको यस निर्णयको विश्वभर आलोचना भएको छ । राष्ट्रसंघले समेत संकटको समयमा संगठनलाई सहयोग कटौती गर्न नहुने बताइसकेको छ ।

    डब्लूएचओले समेत वर्तमान समय विश्व नै एक भएर नयाँ कोरोना भाइरसविरुद्ध लड्ने समय भएको भन्दै सहयोग काट्नु दुखद भएको उल्लेख गरेको छ ।

    अमेरिका कोरोनाबाट सबैभन्दा बढी प्रभावित मुलुक हो । डब्लूएचओले बेलैमा सही परामर्श नदिएको र चीन परस्त भएको आरोप अमेरिकाको छ ।

    डब्लुएचओका प्रमुख डा. ट्रेडोस अडामोन गेब्रेससले आफ्नो सबैभन्दा ठूलो आर्थिक दाता अमेरिकाले उठाएको कदमप्रति प्रतिक्रिया दिदैं अमेरिका डब्लुएचओको लामो समयदेखिको उदार मित्र भएको र उसले त्यसलाई निरन्तरता दिइराख्ने आशा राखिएको उल्लेख गरे ।

    अमेरिकी सहयोग बन्द भएपछि त्यसले डब्लुएचओको कामलाई पार्ने प्रभावको बारेमा समीक्षा भइरहेको समेत उनले जानकारी दिए । अमेरिकाले डब्लूएचओको सबैभन्दा ठूलो दाता हो ।

  • लड्दा लड्दै कोरोनाले लडायो पवनलाई

    लड्दा लड्दै कोरोनाले लडायो पवनलाई

    न्यूयोर्क, अप्रिल १५

    “योगेश दाई महिना दिनसम्म पकाउने, ख्वाउने, भाँडा माझ्ने मात्र होइन कि खकार सिंगान सोहोरेर स्याहार्दा पनि पवन दाई आज मेरै आँखा अगाडिबाट लास बनेर बिदा भयो” सँगै बस्ने साथीको चीर बिदाईपछि सरगम पनि आफ्नै खर्चमा अनिश्चित समयको लागि होटलमा बस्न पुगेका छन् । सरगम भट्टराई भाई आफैपनि पत्रकार/लेखक भएकोले यो घटनाको नालिबेली कुनै दिन बृस्तितमा पक्कै आउला तर मलाई उहाँसँगको १५ मिनेटको बातचितले भावुक बनायो । २ महिनाअघि रुम पार्टनरको रुपमा सरगमसँग बस्न आएका थिए – उनी ।

    आज न्यूयोर्क सहरको नेपाली समुदायले कोरोना भाइरसको कारण प्रकाश उपनामले चिनिने पवनकुमार मल्ललाई गुमाएको छ । उनको मृत्यु आज अपरान्ह उनकै निवास उडसाइडस्थित कोठामा भएको थियो । ५४ वर्षका पवनकुमार ८ वर्षअघि एक्लै अमेरिका आएका थिए भने न्यूयोर्कमा ग्रिन क्याब चलाउने गर्दथे । कोरोना भाइरसको प्रकोप बढ्दै गर्दा उनी नियमित काममै हुन्थे । संक्रमित भएपछि भने रुम पार्टनरको सहयोगमा घरमै उपचार गर्दै आएका थिए । नेपालमा छँदा नेपाल प्रहरी सेवामा रहेका उनका श्रीमती र दुई छोरी नेपालमै छन् ।

    अमेरिकाको न्यूयोर्क शहरमा रहेर पनि कोठामै मर्नु परेको कारण र तथ्य नबुझी समाचारलाई उद्देलित बनाएर लेख्नमा हतार गरेकोमा सँगै बसेर सबै व्यहोरेका सरगम भट्टराई दुखेसो व्यक्त गर्छन् । सरगम भन्छन्; “हामी दुईजना मात्र घरमा हुँदा मेरो मान्छे भनेर तातो पानी तताई दिन समेत कहिल्यै कोही आएनन् । मैले पटक पटक एम्बुलेन्स बोलाएँ । तर उनी गएनन् । हिजो उनले सास फेरेको असामान्य लागेपछि मैले पुन: ९११ मा फोन गरेर एम्बुलेन्स बोलाएँ । आयो तर जब नर्सहरु हेर्न आए पवनदाई सामान्य जस्तै बोल्न थाल्नुभयो । म चकित परें । नर्सले घरमै खानेगरेको औषधिलाई निरन्तरता दिदै बस्नु । अस्पताल लैजानु पर्ने जस्तो छैन भनेर गयो । आज यस्तो भयो” ।
    पवनको मृत्युले परिवारबाट टाढिएर प्रवासमा एक्लै संघर्ष गर्नेको कथाको अर्को पाटो उजागर गरेको छ ।

  • अफगानिस्तानबाट नेपालीको उद्दार गरिने

    अफगानिस्तानबाट नेपालीको उद्दार गरिने

    काठमाडौं । सरकारले अफगानिस्तानबाट नेपाली नागरिकको उद्दार गरी स्वदेश फर्काउने भएको छ । अफगानिस्तानमा रहेर संयुक्त राष्ट्रसंघीय निकायहरुमा कार्यरत नेपालीको उद्दार गर्न लागिएको हो ।

    कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

    प्रक्रिया पुरा गरी उनीहरुलाई स्वदेश फर्काइने प्रधानमन्त्री कार्यालयका सचिव नारायणप्रसाद बिडारीले जानकारी दिए ।

    उनका अनुसार राष्ट्रसंघले नै त्यहा रहेका आफ्ना नागरिकलाई उद्दार गर्न अनुरोध गरेको छ । सोहीकारण उपयुक्त प्रक्रिया पुर्‍याएर नेपाल ल्याउने निर्णय बैठकमा भएको छ ।

    यहाँ औपचारिक ढंगले करीव ६० देखि ७० जना सम्म नेपाली कार्यरत रहेको अनुमान सरकारको छ ।

    बैठकले लकडाउनलाई कडा बनाउने निर्णय गर्दै उल्लंघन गरेमा जेल सजायसम्मको कारवाहीमा जाने निर्णय गरेको छ ।

    लकडाउनसँगै परीक्षणको दायरा समेत अझ बढाउने निर्णय सरकारले गरेको हो ।

  • अब मृत्यु संस्कारमा सहभागी हुन मात्र सवारी पास पाइने

    अब मृत्यु संस्कारमा सहभागी हुन मात्र सवारी पास पाइने

    काठमाडौं । सरकारले लकडाउनमा सवारी पारसको दुरुपयोग बढेको भन्दै पास वितरणमा कडाई थालेको छ ।

    अब जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट मृत्यु संस्कारमा सहभागी हुन जान आफन्तबाहेक अरुले पास पाउने छैनन् ।

    लकडाउनका बेला अत्यावश्यक परेको भन्दै सवारी पास बनाउन मानिसहरू कार्यालयमा भीड लागेपछि सवारी पास नदिने कार्यालयले जनाएको छ ।

    सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटवालले बुधबार सूचना निकालेर सवारी पासको माग अत्याधिक बढ्नुका साथै भीडभाड हुन गई लकडाउनसमेत उल्लंघन हुने अवस्था सिर्जना भएकोले आजैदेखि पास बन्द गरिएको उल्लेख गरेका छन् ।

    परिवारको सदस्यको मृत्यु संस्कारमा जाने व्यक्तिहरूबाहेक अन्य प्रयोजनका लागि सवारी पास जारी नहुने उनको भनाई छ ।

  • वीरगन्जमा अत्यावश्यक सामानको किनमेल ७ बजेसम्म मात्र

    वीरगन्जमा अत्यावश्यक सामानको किनमेल ७ बजेसम्म मात्र

    वीरगन्ज । कोरोनाबाट प्रभावित क्षेत्र वीरगञ्जमा सर्वसाधारणको उपस्थितिलाई अब कम गरिने भएको छ । बिहीबारदेखि अत्यावश्यक वस्तुका पसल बिहान ७ बजेसम्म मात्र खोल्न पाइने गरी स्थानीय प्रशासनले सूचना जारी गरेको छ ।

    खाद्यान्न, दूध, ग्यास, तरकारीजस्ता अत्यावश्यक वस्तुको किनमेल बिहान ७ बजेसम्म मात्र गर्न पाइने प्रशासनले जनाएको छ ।

    जिल्ला प्रशासन कार्यालय पर्साले बुधबार जारी गरेको सूचना अनुसार औषधि पसल मात्र २४ सै घण्टा खुला हुनेछन् ।

    सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतका अनुसार अत्यावश्यक वस्तुको पसलबाहेक गल्ली, ठेलागाडा र चोकमा भने कुनै पनि सामानको बिक्री वितरण गर्न नपाइने भएको छ ।

    वीरगञ्जमा तीन जना भारतीय नागरिकमा कोरोना संक्रमण भेटिएको थियो । यसबाहेक वीरगन्जमा काम गर्ने एक महिनामा कैलाली पुगेपछि कोरोना देखिएको हो ।

    तर, उनीहरुमा कसरी कोरोना आयो भन्ने खुलेको छैन । वीरगन्जमा कोरोना देखिएपछि यहाँ प्रशासनले कडाई गरेको हो ।

  • शेर्पा किदुगले बुधबार निशुल्क तरकारी र फलफुल बाँड्ने

    शेर्पा किदुगले बुधबार निशुल्क तरकारी र फलफुल बाँड्ने

    न्यूयोर्क/अमेरिका
    शेर्पा किदुगले बुधबार निशुल्क तरकारी र फलफुल बाँड्ने भएको छ । ज्याक्सन हाइट वरपर बस्ने नेपाली समुदायलाई केन्द्रित गरी किदुगको भवनमा बुधबार १:३० देखि ३ बजेसम्म सागसब्जी र फलफुल बितरण गरिनेछ । किदुगले ग्रो एनवाइसीसंग मिलेर खानेकुरा वितरण गर्न लागेको हो । किदुगले पहिलो पटक गर्न लागेको यस बितरण कार्यक्रमका लागि न्यूयोर्क सिटी डिस्ट्रिक २५ का काउन्सिल मेम्बर ड्यानियल ड्रमले निशुल्क खानेकुरा उपलब्ध गराएका हुन् ।
    बिशेष गरी नेपाली समुदायमा स्वस्थ खानाको पहुच  पुर्याउने उदेश्यले किदुगले हरेक साता बितरण गर्ने जनाएको छ । सामान लिनका लागि शेर्पा किदुगमा आएका प्रत्येक ब्यक्तिले स्याउ, सुन्तला, सखरखण्ड, प्याज, लेटेस, सिलान्त्रो, दुध, चामल, राजमा(बिन्स) राखेर तयार पारेको १ प्याकेट लिन पाउने किदुगका अध्यक्ष उर्गेन शेर्पाले जानकारी दिए । ‘ड्यानियल ड्रमले पहिलो साताका लागि हामीलाई निशुल्क खाना उपलब्ध गराएकाले समुदायलाई निशुल्क वितरण गर्ने तयारी गरेका हौं । अर्को साता देखि मेयर अफिस र ग्रो एनवाइसिसंग मिलेर बजार भाउ भन्दा आधा नै सस्तोमा खानेकुरा उपलब्ध गराउने तयारी गरिरहेका छौं ।’ उनका अनुसार आफुहरुले बितरण गर्ने सागसब्जी र फलफुल गुणस्तरीय र ताजा हुनेछ ।
    एक ब्यक्तिले ६ वटा स्याउ, २ वटा सुन्तला, २.५ पाउण्ड सखरखण्ड, ३ पाउण्ड प्याज, लेटेस, सिलान्त्रो, दुध, चामल, राजमा राखेर तयार पारेको १ प्याकेट पाउनेछन् । बिरामीका परिवारलाई पहिलो प्राथमिकता दिइने किदुगले जनाएको छ । सामान लिन आउनेहरुले लाइनमा बस्दा ६ फिट दुरी कायम गर्नुपर्नेछ । अहिले बिरामी र संक्रमित परिवारले स्वास्थ र ताजा खानेकुरा खानुपर्ने आवश्यकतालाई मध्येनजर गर्दै वितरण गर्न लागिएको अध्यक्ष शेर्पाले बताए । बुधबार ३ सय जनालाई बितरण गर्ने तयारी गरेका छौं ।
    ‘एनआरएन र न्यूयोर्कको सहयोग समुहसंग मिलेर घर/घरमा पुर्याउन सकिन्छ कि भनेर हामी छलफल गरिरहेका छौ’ शेर्पाले भने ।

  • जब अमेरिकी संघीय सरकारको १२ सय डलर राहतको आशामा बस्दा ८२ लाख डलर खातामा देखियो

    जब अमेरिकी संघीय सरकारको १२ सय डलर राहतको आशामा बस्दा ८२ लाख डलर खातामा देखियो

    न्युयोर्क      

    अमेरिकामा यतिबेला लाखौं मानिस संघीय सरकारले पठाउने भनिएको १२ सय वा २४ सय डलरको राहत रकम पर्खिरहेका छन् । इन्डियाना राज्य निवासी एक मानिस पनि यसैगरी कोरोना राहत रकम कुरिरहेका थिए । न्यु शिकागोका एक अग्नी नियन्त्रक जागिरे चार्ल्स केल्भिन त्यति बेला छक्क परे जतिबेला उनले आफ्नो बैंक खातामा ८२ लाख अमेरिकी डलर जम्मा भएको देखे ।  न्युज विक अनलाईन पत्रिकाले लेखेको छ; “चार्ल्स ,सरकारले दिने आफ्नो १२ सय र बच्चाको नामको ५ सय डलर जम्मा गरेर  हुने १७ सय अमेरिकी डलर कुरेर बसेका थिए । चार्ल्सले बैंक खातामा पैसा आयो कि भनेर थाहा पाउन नजिकैको ‘फेमेली एक्स्प्रेस’ नामको स्टोरको ए टि एममा पुगे र २ सय डलर ए टि एमबाट झिके । चार्ल्सले २ सय डलर झिकेपछि रिसिट लिए त्यतिबेला उनी छक्क परे । उनको खातामा ८२ लाख अमेरिकी डलर थियो” ।

    चार्ल्सले सोमबार बैंक खुल्ने बित्तिकै बैंकसँग कुरा गरे तर बैंकले भन्यो; ‘उनको बैंक खातामा ८२ लाख डलर होईन १३ डलर ६९ सेन्ट मात्र छ’ । चार्ल्सले प्रयोग गरेको ए टि एमले पैसा झिकेपछि दिएको रिसिटले गलत नम्बर प्रिन्ट गरेको जानकारी चार्ल्सले बैंकबाट पाएका थिए ।केही समय पछी चार्ल्सलाई बैंकले सरकारले दिने कोरोना राहत १७ सय डलर जम्मा भएको जानकारी दिएको थियो ।

  • नेपालमा १२ दिन बढ्यो लकडाउन

    नेपालमा १२ दिन बढ्यो लकडाउन

    काठमाडौं । नेपालमा लकडाउन १२ दिन थप भएको छ । सरकारले कोरोना भाइरस रोकथामका लागि जारी राखेको लकडाउन वैशाख १५ गतेसम्म बढाउने निर्णय गरेको हो ।

    मंगलबार बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो । यस अवधिसम्म आन्तरिक तर्फको हवाई उडान समेत बन्द हुने भएको छ ।

    अन्तर्राष्ट्रिय हवाई उडान १८ वैशाखसम्म बन्द छ । सरकारले ११ चैतबाट लकडाउन शुरु गरेको थियो ।

    त्यसयता नेपालमा कूल १६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । मंगलबार मात्र दुई जनामा कोरोनाको संक्रमण पुष्टी भएको छ ।

    पछिल्लो समय र्यापिड टेस्टको दायरा बढेपछि विदेशबाट नेपाल फर्किएर अस्पतालमा चेकजाँच नगराई बसेका व्यक्तिमा धमाधम कोरोनाको पोजेटिभ देखिएको छ ।

    सोहीकारण सरकारले परिक्षण र लकडाउनलाई सँगसँगै लैजान लागेको हो ।

    लकडाउनको समयमा खाद्यवस्तु किन्न र आकस्मिक कामले अस्पताल जान दिइने छ । त्यसबोहक अन्य कामका लागि भने बाहिर जान पाइने छैन ।

    उता, भारत सरकारले समेत लकडाउन ३ मे सम्म लम्ब्याएको छ । सरकारले सीमा नाकालाई अझ कडाई गर्ने निर्णय समेत गरेको छ ।

  • सनसीटी अपार्टमेण्टमा बस्ने दुई जनामा कोरोना पुष्टी

    सनसीटी अपार्टमेण्टमा बस्ने दुई जनामा कोरोना पुष्टी

    भक्तपुर । सोमबार साँझ सनसीटी अपार्टमेन्टबाट अस्पताल भर्ना भएका तीन जना मध्ये दुई जनामा कोरोना पुष्टी भएको छ । यससँगै अब नेपालमा कोरोना संक्रमितको संख्या १६ पुगेको छ ।

    आमा, छोरा र बुहारी मध्ये आमा र छोरामा कोरोना पुष्टी भएको हो । तर, बुहारीको भने नेगेटिभ आएको छ ।

    भक्तपुरको पेप्सीकोला–टाउनप्लानिङमा रहेको सनसिटी अपार्टमेन्टमा एकै परिवारका दुई जनालाई कोरोना संक्रमण पुष्टि भएसँगै यस अपार्टमेन्ट र आसपासका क्षेत्रमा भने सन्त्रास शुरु भएको छ ।

    प्रहरीले अपार्टमेन्टलाई पूर्णतया सिल गरेको छ । मानिसहरु अब बाहिर निस्कने पाउने छैनन् ।

    यहाँ करीव ५ सय १० परिवारका करिब १५ सय मानिस बसोबास गर्छन् । उनीहरुमा कोरोनाको परिक्षण शुरु गरिएको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ ।

    गत ५ गते बेलायतबाट नेपाल आएका आमा, छोरा र बुहारी यस अपार्टमेन्टको ‘ए’ ब्लकको १४ औं तल्लामा बस्दै आएको प्रहरीले जनाएको छ । आमा ८१ वर्षीया, छोरा ५८ वर्षीय र बुहारी ५२ वर्षिया हुन् ।

    अपार्टमेन्टमा ६ वटा ब्लक छन् । संक्रमितहरु बस्ने ब्लकमा करिब एक सय परिवार रहेको प्रहरीले जनाएको छ । संक्रमितहरुमा शुरुमा लक्षण देखिएको थिएन । त्यसकारण उनीहरु १४ दिनको कडा क्वारेन्टाइनपछि भने बाहिर ओर्लने, घुम्ने गर्थे ।

    अपार्टमेण्टमा साझा लिफ्ट समेत प्रयोग गरेका थिए । यसले उनीहरुले नचाहँदा नचाहँदै पनि संक्रमण अन्य व्यक्तिमा फैलिएको आशंका बढेको छ । संक्रमित व्यक्ति तीन जना नै बेलायतबाट दोहा हुँदै चैत ५ गते राति नेपाल आएका थिए ।

    अपार्टमेन्टमा आएपछि १४ दिन सेल्फ क्वारेन्टाइनमा बसेको संक्रमितहरूले बताएका छन् । १४ दिनको कोर्स पुरा गरेपछि उनीहरू तल कम्पाउन्डमा र गेटबाहिर निस्किन थालेको बताएका छन् ।

  • भीआइपीका सुरक्षाकर्मी कटौती हुने, सीमामा थप बल पठाउने तयारी

    भीआइपीका सुरक्षाकर्मी कटौती हुने, सीमामा थप बल पठाउने तयारी

    काठमाडौं । भारतमा कोरोना भाइरसको बढ्दो संक्रमण र नेपालमा हुन सक्ने अनाधिकृत प्रवेश रोक्न सीमा नाकामा सुरक्षा बल थप हुने भएको छ ।

    गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले भीआईपीको सुरक्षामा अनावश्यक रहेका सुरक्षाकर्मीलाई फिर्ता बोलाएर सीमामा बल खटाउन प्रहरी प्रशासनलाई निर्देशन दिएका छन् ।

    नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबाट विशिष्ट व्यक्तिको सुरक्षामा खटाइएका उनीहरुलाई फिर्ता बोलाएर सीमाको सुरक्षामा खटाउन गृहमन्त्रीले निर्देशन दिएका हुन् ।

    गृह मन्त्रालय स्रोतका अनुसार सोमबार प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवाली र सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालसँगको भेटमा गृहमन्त्री बादलले भीआइपीका नाममा अनावश्यक रुपमा खटाइएका सुरक्षाकर्मीलाई तत्काल फिर्ता बोलाउन निर्देशन दिएका हुन् ।

    दुबै संगठनले गृहमन्त्रीको निर्देशन अनुसार विशिष्ट सुरक्षा कार्यविधि विपरित खटिएका सुरक्षाकर्मीको तथ्यांक संकलन गरिरहेका छन् ।

    यसअघि सशस्त्र प्रहरीले करीव २ हजार अतिरिक्त फौजलाई सीमा नाकामा तैनाथ गरिसकेको छ ।

    अहिले कम्तिमा दुई हजार सुरक्षाकर्मी विशिष्ट व्यक्तिको सुरक्षामा खटिएको अनुमान छ ।

    पहाडी भेगमा कम सुरक्षा थ्रेट भएका स्थानमा रहेका पोष्टबाट पनि सुरक्षाबललाई अब तराईमा झारिने भएको छ ।

  • मंगलबारसमेत हावाहुरी र चट्याङको सम्भावना

    मंगलबारसमेत हावाहुरी र चट्याङको सम्भावना

    काठमाडौं । नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभावले मौसममा प्रभाव पार्न थालिसकेको छ ।

    जसले गर्दा मंगलबारसमेत देशका विभिन्न स्थानमा मेघ गर्जन, हावाहुरी र चट्याङसहित पानी पर्ने संभावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

    मंगलबार दिउँसो पुर्व, मध्य र पश्चिमी भेगका केहि स्थानमा पानी पर्ने विभागले उल्लेख गरेको छ ।

    मौसम पुर्वानुमान महाशाखाका अनुसार मंगलबार दिउँसो काठमाडौंमा समेत पानी पर्ने सम्भावना छ ।

    यसअघि सोमबार राती नै काठमाडौंसहित देशका विभिन्न स्थानमा ठूलो आँधिसहित वर्षा भएको छ । काठमाडौंमा गतराति २ मिलीमिटर बर्षा मापन गरिएको छ ।

    अहिले उपत्यकाको न्युनतम तापक्रम १५ डिग्री सेल्सियस रहेको छ । काठमाडौंको अधिकतम तापक्रम २९ डिग्रीसम्म पुग्ने अनुमान छ ।

    पानी पर्दा मकै छर्ने तयारीमा रहेका कृषकलाई भने फाइदा पुग्छ ।

  • नेपालमा थपिदैछ लकडाउन, आज मन्त्रीपरिषद् बैठक

    नेपालमा थपिदैछ लकडाउन, आज मन्त्रीपरिषद् बैठक

    काठमाडौं । सरकारले नेपालमा लकडाउन लब्याउने तयारी गरेको छ । सोही प्रयोजनका लागि आज मन्त्रीपरिषद् बैठक समेत बोलाइएको छ ।

    बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकले एकसाता लकडाउन थप्ने निर्णय गर्ने तयारी गरिएको छ ।

    सरकारले अन्तिमपटक थपेको लकडाउनको अवधि भोली सकिदैछ । मुलुकभित्र कोरोना सङ्क्रमितको संख्या पछिल्लो साता बढेको छ ।

    सोहीकारण सरकारले लकडाउन थपेर यसको कार्यान्वयन अझ कडा बनाउने तयारीमा जुटेको हो । सरकारले पछिल्लो दिनमा परीक्षणको दायरा समेत बिस्तार गरेको छ ।

    अहिले दैनिक २ हजार हाराहारीमा परिक्षण हुने गरेको छ । सरकारले ११ चैतमा पहिलो पटक लकडाउन घोषणा गरेको थियो ।

    त्यसयता दुई पटकसम्म लकडाउनको अवधि लम्बिसकेको छ । नेपालमा कोरोना भाइरसबाट संक्रिमित हुनेको संख्या १४ पुगेको छ।

  • बेलायतबाट फर्किएका पेप्सीकोलाका तीन जनामा कोरोनाको लक्षण

    बेलायतबाट फर्किएका पेप्सीकोलाका तीन जनामा कोरोनाको लक्षण

    काठमाडौं । बेलायतबाट फर्किएपछि पनि घरमै लुकेर बसिरहेका एकै परिवारका तीन जनामा कोरोनाको लक्षण देखिएको छ । उनीहरुको र्यापिड टेष्टमा पोजेटिभ रिपोर्ट आएको छ ।

    विदेशबाट फर्किएपछि पनि अस्पताल जचाउन नगएका उनीहरुबारे छिमेकीले प्रहरीलाई खबर गरेका थिए । उनीहरु आएपछि नै छिमेकीमा भने त्रास बढेको बताईको छ ।

    उनीहरु पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्दै आएका थिए । अहिले तीन जनालाई नै अस्पतालमा भर्ना गरिएको छ ।

    उनीहरु आमा, छोरा र बुहारी रहेको बताइएको छ । उनीहरुलाई पाटन अस्पतालमा भर्ना गरिएको छ ।

    पीसीआर विधिबाट नमुना संकलनका लागि उनीहरुको थ्रोट स्वाब लिइएको अस्पतालले जनाएको छ ।

    उनीहरु २८ दिनअघि बेलायतबाट आएर बसेका थिए । तर, अस्पताल गएका थिएनन् । लक्षण बढ्दै गएपछि छिमेकीले खबर गरेका हुन् ।

    सनसीटीको ब्लक एमा उनीहरु बस्ने गरेका थिए । अहिले अर्पाटमेन्टलाई प्रहरीले आफ्नो नियन्त्रणमा राखेको छ ।

  • कैलाली र रौटहतमा भेटिए कोरोना संक्रमित, कूल संक्रमण १४ जनामा

    कैलाली र रौटहतमा भेटिए कोरोना संक्रमित, कूल संक्रमण १४ जनामा

    काठमाडौं । नेपालमा कैलाली र रौटहतमा कारोना भाइरस (कोभिड–१९)का एक एक जना संक्रमित फेला परेका छन् । सोमबार दुई जनामा बढेसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या १४ पुगेको छ ।

    वीरगन्जमा चिया पसल गरेर बस्ने एक ६५ वर्षिय महिलामा कोरोना देखिएको हो । उनी कैलाली निवासी रहेको बुझिएको छ ।

    यता, भारतको राजधानी नयाँ दिल्लीबाट नेपालमा लकडाउन भएकै समयमा भित्रिएका एक युवामा समेत संक्रमणको पुष्टी भएको छ ।

    १९ वर्षिय युवामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । दिल्लीमा ब्याग फ्याक्ट्रीमा काम गर्ने उनी चैत १६ गते मध्यराति भारतीय सीमाबाट नेपाल प्रवेश गरेर घरमा पुगेको प्रहरीले जनाएको छ ।

    परिवारका समस्यले उनलाई सिधै क्वारेन्टाइनमा पठाएका थिए ।

    उनीहरु जनकपुरबाट आएका थिए । क्वारेन्टाइनमा रहेका ३० मध्ये २५ जनाको नमुना संकलन गरेर लगिएको थियो । त्यसमध्ये १९ वर्षका युवकमा संक्रमण देखिएको हो ।

  • क्वारेन्टाइनका लागि निशुल्क होटलको ब्यवस्था

    क्वारेन्टाइनका लागि निशुल्क होटलको ब्यवस्था

    न्यूयोर्क/अमेरिका

    कोभिड १९ को बिरामी भएर अस्पताल भर्ना भएका बिरामीलाई क्वारेन्टाइनको ब्यवस्था गरिएको छ । न्युयोर्कमा कोरोना भाईरसका कारण क्वारान्टाईनमा बस्नु पर्ने भएमा निशुल्क होटल ब्यवस्था गरिएको छ । अधिकारले आज एक सुचना जारी गरी क्वारेन्टाइनमा बस्नु पर्ने बिरामीका लागि होटलको नाम र ठेगाना सार्वजनिक गरेको छ ।

    कोभिड १९ पोजेटिभ देखिएपछि परिवारका सदस्यबाट अलग्गै बस्नु पर्ने बिरामीहरुका लागि विषेश बसोबासको व्यवस्था मिलाउन अधिकारले काउन्सिल मेम्बर ड्यानिल ड्रोम र न्यूयोर्क सिटि हस्पिटलसंग मिलेर काम गर्दै आएको थियो ।
    यो निर्देशिका न्यूयोर्क शहरको स्वास्थ्य तथा अस्पताल सेवा न्यूयोर्क सिटि स्वास्थ्य तथा अस्पताल(एच एच) अन्तर्गतका अस्पतालहरुमा मात्र लागु हुन्छ । एचएचका अनुसार यदि १४ दिनसम्म क्वारेन्टाइनमा बस्नु परेमा सबै खर्च तिरिएको होटेलको कोठाको माग गर्न सकिनेछ । एच एच अन्तर्गतको अस्पतालमा आकस्मिक सेवा (ईमरजेन्सी) मा भर्ना भइ अस्पतालले क्वारेन्टाइनमा बस्न पठाएको र उपचार पछि अस्पतालले घर पठाउन लागेको अवस्थामा यो सेवा लिन सकिनेछ । अस्पतालमा दोभाषेको आवश्यक परेमा ३११ मा फोन गरेर यो सेवा लिनका लागि अनुरोध गर्न सकिनेछ ।
    क्वारान्टाईनका लागि निस्शुल्क होटेलको कोठा सहित खानपिनको पनि व्यवस्था गरिनेछ । त्यसको साथै अन्य रोगको लागि विषेश हेरचाह, होम केयर र स्वभाव बारे स्वास्थ (बिहेबियरल हेल्थ) सेवा पनि उपलब्ध गराईनेछ । तर होटेलमा आईसियू सेवा भने पाईंदैन ।
    अधिकारले यी जानकारीका सुचनाहरु विभिन्न भाषाहरुमा छापेर अस्पतालको ढोकाहरुमा टाँस्न र प्रवेशद्वारमा बस्ने कर्मचारी र सुरक्षाकर्मीहरुलाई पर्चाहरु बाड्न लगाउन पनि अनुरोध गरेको जनाएको छ । ज्याक्सन हाइट स्थित एल्मष्र्ट हस्पिटलमा भने यस बारे तयारी शुरु गरिएको छ । अधिकारलेथप जानकारीका लागि आगामी साता जानकारी मुलक भिडियो बनाउने तयारी गरेको जनाएको छ ।

  • नेपालमा साढे ८ हजार जनामा कोरोना परिक्षण, १२ जनामा पुष्टी

    नेपालमा साढे ८ हजार जनामा कोरोना परिक्षण, १२ जनामा पुष्टी

    काठमाडौं । नेपालमा अहिलेसम्म साढे ८ हजार मानिसमा कोरोना परिक्षण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ५ सय भन्दा बढी मानिसको नमुना परीक्षण गरिएको छ ।

    मन्त्रालयका अनुसार पीसीआर मेसिनबाट ५ हजार १८४ र र्‍यापिट टेष्ट किटबाट ३ हजार ३२१ गरी कुल ८ हजार ५ सय ५ जनाको नमुना परीक्षण गरिएको हो।

    मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार यी परिक्षणबाट १२ जनामा पोजेटिभ भाइरस देखिएको छ । तीन जनामा आइतबार मात्र पुष्टी भएको हो ।

    राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ४ हजार २० वटा परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा मात्र ६२८ वटा परीक्षण गरिएको मन्त्रालयको तथ्यांक छ ।

    काठमाडौंबाहिर पीसीआर मेसिनबाट १ हजार १६४ वटा परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

    सबै प्रदेशमा पीसीआर मेसिन र र्‍यापिट टेष्ट किट सबै जिल्लामा पुगिसकेको छ । धेरै जिल्लामा परीक्षण भइरहेको र त्यसको रिपोर्ट आउने क्रम जारी रहेको प्रवक्ता देवकोटाको भनाई रहेको छ ।

    आइतबारसम्म देशभर ७ हजार ९७३ जना क्वारेन्टाइनमा रहेका छन्। बागलुंगमा थप एक जनाका कोरोनाको पोजेटिभ देखिएको छ ।

    थप परिक्षणका लागि काठमाडौं ल्याइएको छ । त्यो पुष्टी भएका नेपालमा कूल १३ जनामा कोरोना पुष्टी हुनेछ ।

  • विश्व बैंकले भन्यो : नेपालको आर्थिक क्षेत्रमा गहिरो प्रभाव, वृद्धिदर १.५ प्रतिशतमा झर्छ

    विश्व बैंकले भन्यो : नेपालको आर्थिक क्षेत्रमा गहिरो प्रभाव, वृद्धिदर १.५ प्रतिशतमा झर्छ

    काठमाडौं । विश्व बैंकले कोरोना भाइरसले उत्पन्न गराएको संकटले नेपालको अर्थतन्त्रमा गहिरो प्रभाव पर्ने आंकलन गरेको छ ।

    यसले आर्थिक वृद्धिलाई संकुचनमा पार्ने भएको छ । सरकारले ८.५ प्रतिशतको आर्थिक वृद्धिको अनुमान गरेको थियो ।

    तर, अब कोरोनाका कारण आर्थिक् गतिविधि ठप्प भएको अवस्थामा नेपालको आर्थिक वृद्धिदर १.५ प्रतिशतसम्म झर्न सक्ने आंकलन विश्व बैंकले गरेको छ ।

    विश्व बैंकले आइतबार दक्षिण एसियाली क्षेत्रको आर्थिक अवस्थाबारे एक रिर्पोट सार्वजनिक गरेको छ । जसमा आर्थिक वृद्धिदरमा उच्च गिरावट आउने अनुमान गरिएको छ ।

    यसले आगामी दुई आर्थिक वर्षसमेत प्रभावित हुने देखिएको छ । विश्व बैंकले दक्षिण एसियाली क्षेत्रमै कोभिड १९ ले नराम्रो प्रभाव पार्ने बताएका छ ।

    यसमा पनि पर्यटनमा आधारित अर्थतन्त्र भएका मुलुक बढी प्रभावित बन्दैछन् । यसबाट माल्दिभ्सको अर्थतन्त्रमा १३ प्रतिशसम्मको ऋणात्मक अवस्था आउने देखिएको छ ।

    भारत, भूटान, बंगलादेशको आर्थिक वृद्धिसमेत घट्ने भएको छ । अफगानिस्तान, श्रीलंका र पाकिस्तानको आर्थिक वृद्धिदर पनि ऋणात्मकमा जाने भएको विश्वबैंकले उल्लेख गरेको छ ।

    खासगरी रेमिट्यान्समा आउने कमी, व्यापार र पर्यटनमा परेको प्रभावले आर्थिक वृद्धिमा कमी आउने विश्व बैंकको भनाई रहेको छ ।

    कोभिड १९ ले कम आयस्रोत भएका व्यक्तिको जीवन कष्टकर बन्ने देखिएको छ ।

    होटेल तथा रेष्टुरेन्ट, खुद्रा व्यापार र अनौपचारिक क्षेत्रमा काम गर्ने मानिसलाई कोभिडले नराम्रोसँग प्रभावित बनाउनेछ ।

  • कोरोना महामारीबाट मृत्यु हुने गैरआवासीय नेपालीको संख्या १४ पुग्यो

    कोरोना महामारीबाट मृत्यु हुने गैरआवासीय नेपालीको संख्या १४ पुग्यो

    काठमाडौं । विश्वभर फैलिएको कोरोना महामारी (कोबिड–१९) बाट शनिवार साँझसम्म मृत्यु हुने गैरआवासीय नेपाली (एनआरएनए) को संख्या १४ पुगेको छ ।

    गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा गठित उच्चस्तरीय समितिअन्तरर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार बेलायतमा ८, अमेरिकामा ५, युएईमा १ जनाको ज्यान गएको छ ।

    स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार ६ सय ६५ जना गैरआवासीय नेपालीहरु कोरोनाबाट संक्रमित भएका छन् । नेपालमा ३ हजार ५ सय २५ जनामा परिक्षण गरिएकोमा १२ जनामा कोरोना संक्रमण देखिएको छ भने १ जना कोरोना मुक्तको समितिले जनाएको छ ।

    विदेशस्थित नेपाली राजदूतावास, गैरआवासीय नेपाली संघका शाखाहरु तथा स्थानीय संघसँस्थाद्धारा प्राप्त सूचनाका आधारमा सो आँकडा तयार पारिएको डा. सापकोटाले जनाए ।

    संक्रमित हुनेमा देशमा अमेरिका ५ सय, युके १ सय, स्पेन १८, युएई १०, जर्मनी ४, पोतुगल ८, अष्ट्रेलिया ९, साउदी अरब ४, कुवेत ५, जापान १, मलेसिया १, म्यानरमार १ र हङकंङ १ जना कोरोना संक्रमित रहेको समितिले जनाएको छ ।

  • नेपालमा थप तीन जनामा कोरोना पुष्टी

    नेपालमा थप तीन जनामा कोरोना पुष्टी

    काठमाडौं । लगातार एक सातासम्म कोरोना नदेखिएको नेपालमा एकै दिन थप तीन जनामा कोरोनाको पुष्टी भएको छ ।

    पर्साको वीरगञ्जमा तीन जना भारतीय नागरिकमा कोरोना संक्रमण पुष्टि भएको हो ।

    स्वास्थ्य मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा नमुना परीक्षणले नतिजा पोजेटिभ देखाएको हो ।

    वीरगञ्जबाट नमुना संकलन गरी हेटौंडास्थित प्रयोगशालामा परीक्षणका लागि पठाइएको थियो । त्यहाँ पोजेटिभ रिपोर्ट आएपछि पुनः जाँच गर्न राष्ट्रिय प्रयोगशालामा पठाइएको हो ।

    उनीहरु भारतीय नागरिक हुन । कूल २४ जना भारतीयसहित ३३ जनाको नमुना संकलन बिहीबार परीक्षण गर्न हेटौंडा प्रयोगशाला ल्याइएको थियो ।

    तीन जनामा प्रारम्भिक रिपोर्ट आएपछि काठमाडौं पठाइएको थिया । यससँगै अब नेपालमा संक्रमितको संख्या १२ पुगेको हो ।

  • सीमा नाका झन कडा, भावनामा बगेर लकडाउन खुल्दैन

    सीमा नाका झन कडा, भावनामा बगेर लकडाउन खुल्दैन

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सीमा नाकामा अझ बढी कडाई गरिने बताएका छन् । उनले भावनामा बगेर लकडाउन समेत नखुल्ने स्पष्ट पारेका छन् ।

    कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि अपनाइएका सबै कदमललाई अझ कडाईका साथ लागु गरिने प्रधानमन्त्रीको भनाई छ ।

    शनिबार सिंहदरबारस्थित एक्सन रूमबाट सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै प्रधानमन्त्री ओलीले लकडाउन तत्काल नहट्ने जानकारी गराएका हुन् ।

    प्रधानमन्त्री ओलीले भावकु कुरा गरेर नहुने समेत स्पष्ट पारे । अहिले लाखौं मानिस शहरमा कमाई खाने माध्यम बन्द भएपछि आफ्नो जन्मस्थान जान खोजिरहेका छन् । तर, लकडाउनका कारण जान सकिरहेका छैनन् ।

    उनीहरुलाई न राज्यले शहरमा व्यवस्थापन गर्न सकेको छ, न घर जाने वातावरण नै बनाउन सकेको छ । प्रधानमन्त्रीले भने लकडाउन छिट्टै अन्त्य नहुने, सीमामा अझ कडाइ गरिने उल्लेख गरे ।

    लापरबाही स्वीकार्य नहुने भन्दै उनले संक्रमण फैलिन नदिन सबै सचेत हुन पर्ने बताए ।

    भारतमा संक्रमण फैलिने क्रम बढिरहेको देख्दादेख्दै नेपालमा लकडाउन खुला गर्ने अवस्था नरहेको प्रधानमन्त्रीको भनाई छ ।

    प्रधानमन्त्री ओलीले जनतालाई दुःख दिन होइन, जनताको जीवन रक्षा गर्न नै लकडाउन अनिवार्य रहेको बुझ्न र बुझाउन सबैलाई सचेतनताको लागि आह्ह्वान समेत गरेका छन् ।

    उनले सरसफाइमा ध्यान दिन, माक्स र चश्मा प्रयोग गर्न र मनोवैज्ञानिक काउन्सेलिङ बढाउन पनि आग्रह गरेका छन् ।

  • एक सातायता नेपालमा देखिएन थप संक्रमण

    एक सातायता नेपालमा देखिएन थप संक्रमण

    काठमाडौं । नेपालमा एक सातायता कोरोना भाइरसको थप संक्रमण नदेखिएको सरकारले जनाएको छ ।

    नेपालमा अहिलेसम्म ४ हजार ४ सय २६ जनामा कोरोनाको परिक्षण भएको छ । पछिल्लो २४ घण्टामा ८ सय ९७ जनामा नमुना परिक्षण भएको छ ।

    त्यस परिक्षणबाट कुनै पनि थप संक्रमण पुष्टी नभएको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा मात्र ६ सय ९ जनाको परिक्षण भएको थियो ।

    उपत्यका बाहिरका १० वटा प्रयोगशालामा कुल २८८ वटा नमुना परिक्षण भएका थिए । ती कुनै पनि परिक्षणमा कोरोनाको पुष्टी भएन ।

    यससँगै नेपालमा अघिल्लो शनिबार यता कोरोनाको संक्रमण डरलाग्दो गरी नफैलिएको पुष्टी भएको छ । सरकारले नेपालमा कोरोना रोकथामका लागि अन्तर्राष्ट्रिय हवाई उडान बन्द गरेको छ ।

    देशभित्र आवतजावत गर्न नपाउने गरी लकडाउन घोषणा गरिएको छ । नेपालमा अहिलेसम्म ९ जनामा कोरोना देखिएको छ ।

    एक जना निको भएर घर फर्किसकेका छन् । अन्य संक्रमितको पनि स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

    नेपालमा अहिले देशभर क्वारेन्टानइमा ८ हजार ८२ जना मानिस रहेका छन् । आइसोलेसनमा ८२ जना रहेको मन्त्रालयको तथ्यांक छ ।

    सबै जिल्लामा परिक्षणको दायरा बढाइएको र अहिले दैनिक औसतः ८ सय नमुना परिक्षण भइरहेको मन्त्रालयको भनाई छ ।

  • हृदयघातका कारण मृत्यु भएका सैनिकलाई लिन श्री एयर सुडानतर्फ

    हृदयघातका कारण मृत्यु भएका सैनिकलाई लिन श्री एयर सुडानतर्फ

    काठमाडौं । श्री एयरलाइन्सको जहाज शनिबार काठमाडौंबाट सुडानका लागि उडेको छ । यो जहाज नेपाली सेनाले चार्टर्ड गरेको हो ।

    श्री एयरलाइन्सका अनुसार एक सैन्य अधिकारीको सुडानमा भएको शव लिन यो जहाज सुडानतर्फ गएको हो । हृदयघातका कारण उनको निधन भएको थियो ।

    त्रिभुवन विमानस्थलबाट उडेको यो जहाजले सैनिकको शव बोकेर आइतबार काठमाडौं आइपुग्ने बताइएको छ ।

    लकडाउन र अन्तराष्ट्रिय उडानमा लागेको प्रतिवन्धका कारण अहिले आकिस्मक उडानमा विमान चार्टर्ड गर्नुको विकल्प छैन ।

    यो विमान राष्ट्रसंघीय शान्ती मिसन र नेपाली सेनाको समन्वयमा चार्टर्ड गरिएको हो ।

    शनिबार नै क्यानडाका नागरिक लिएर कतार एयरवेज काठमाडौंबाट उडेको छ । २ सय २ जना क्यानेडियन नागरिक लिन कतार एयरवेज नेपाल आएको थियो ।

  • कोरोनाबाट बढी ज्यान जाने मुलुकमा अमेरिका दोस्रो

    कोरोनाबाट बढी ज्यान जाने मुलुकमा अमेरिका दोस्रो

    काठमाडौं । कोरोना भाइरसका कारण सबैभन्दा बढी मानिसको ज्यान गएको मुलुकमा अमेरिका दोस्रो स्थानमा आइसकेको छ ।

    कोरोना भाइरसबाट अमेरिकामा एकैदिन २ हजार ३७ जनाको मृत्यु भयो । यो सँगै अमेरिकामा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १८ हजार ७ सय १९ पुगेको छ। अमेरिकाभन्दा माथि इटली छ ।

    इटलीमा १८ हजार ८ सय मानिसको ज्यान गएको छ । अर्थातः अब कोरोनाबाट विश्वमा सबैभन्दा ठूलो मानवीय क्षति अमरिकाले भोगिरहेको छ ।

    किनकी पछिल्ला दिनहरुमा यूरोपमा यसको संक्रमणको दर र मृत्युदर पनि निरन्तर घटिरहेको छ । तर, अमेरिकाले चालेका सबै कदम असफल भइरहेका छन् ।

    अमेरिकामा मात्र संक्रमितको संख्या ५ लाख २ हजार ८ सय ७६ रहेको छ । शुक्रबारसम्म न्युयोर्कमा सबैभन्दा धेरै संक्रमितको ज्यान गएको छ।

    त्यहाँ हालसम्म ७ हजार ८ सय ४४ जनाको मृत्यु भएको छ । यहा १ लाख ७२ हजार मानिसमा संक्रमण भएको छ ।

    न्युजर्सीमा १ हजार ९ सय ३२ जनाको मृत्यु भएको छ । विश्वभर कोरोना महामारीका कारण शनिबार बिहानसम्म १ लाख २ हजार ७ सय ३४ जनाको ज्यान गएको छ ।

    फ्रान्स र बेलायतमा पछिल्लो २४ घण्टामा झण्डै १, १ हजार जनाको मृत्यु भएको छ। फ्रान्समा अहिलेसम्म १३ हजार संक्रमितको जनाको ज्यान गएको छ ।

    बेलायतमा मृत्यु हुनेको संख्या ९ हजार पुगेको छ । स्पेन र इटलीमा पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्यामा कमी आएको छ ।

    स्पेनमा ६३४ र इटलीमा ५७० जनाको मृत्यु भएको छ । हालसम्म स्पेनमा मृत्यु हुनेको संख्या १६ हजार पुगेको छ।

    इटलीमा मृत्यु हुनेको संख्या १८ हजार ८ सय रहेको छ । विश्वभर संक्रमितको संख्या १७ लाख नजिक पुगेको छ । नेपालमा ९ जना संक्रमित छन् । एक जना निको भइसकेका छन् ।

  • १० एसएसपीको भयो डीआइजीमा बढुवा

    १० एसएसपीको भयो डीआइजीमा बढुवा

    काठमाडौं । शुक्रबार रातीसम्म बालुवाटारमा भएको छलफलपछि डीआइजी बढुवा प्रक्रिया टुंगो लागेको छ ।

    गृह मन्त्रायलले नेपाल प्रहरीका १० जना वरिष्ठ उपरीक्षक (एसएसपी) लाई प्रहरी नायब महानिरीक्षक (डीआईजी)मा बढुवाका लागि सिफारिस गर्न गरेको छ ।

    बढुवा गरिएका मध्ये चार जना ०४९ वैशाखमा एकै पटक प्रहरी सेवामा छिरेका हुन् । ६ जना भने ०४९ चैतमा प्रहरीमा भर्ना भएका अधिकृतहरु रहेको गृह मन्त्रालयल् जनाएको छ ।

    बढुवा सिफारिसको १ नम्बरमा घनश्याम अर्याल रहेका छन् । त्यसपछि प्रकाशजंग कार्की र वसन्तकुमार पन्तको नाम सिफारिस भएको छ ।

    इश्वरबाबु कार्की समेत बढुवाको सिफारिसमा परेका छन् ।

    शहकुल थापा, धिरजप्रताप सिंह, वसन्तकुमार लामा, रविन्द्रबहादुर धानुक, उत्तमराज सुवेदी र अरुणकुमार विसी पनि बढुवा सूचीमा रहेको गृह मन्त्रालयले जानकारी दिएको छ ।

    डीआईजीको दरबन्दी घटेपछि लामो समयदेखि बढुवा प्रक्रिया रोकिएको थियो ।

    अन्ततः सरकारले प्रहरी अधिकृतहरुको बढुवा टुंगो लगाएको हो । अब प्राविधिकबाहेक २६ जना रहेको डीआईजीको दरबन्दी घटेर १४ कायम भएको छ ।

    प्रहरीमा ४ जना डीआईजी भने अहिले पनि कार्यरत छन् ।

  • पैसा कुरेर बसेका झन्डै ६ करोड ५० लाख अमेरिकाबासीले प्राप्त नगर्ने भए अमेरिकी सरकारको राहत रकम

    पैसा कुरेर बसेका झन्डै ६ करोड ५० लाख अमेरिकाबासीले प्राप्त नगर्ने भए अमेरिकी सरकारको राहत रकम

    न्युयोर्क

    अमेरिकी संघिय सरकार मार्फत प्राप्त हुने कोरोना महामारी राहत रकम कुरेर बसेका थुप्रै अमेरिकाबासीले त्यो रकम प्राप्त गर्ने छैनन् ।  शुक्रबारसम्म अमेरिकामा  ४ लाख ७५ हजार अमेरिकन कोरोना संक्रमित र १७ हजारको मृत्‍यु भै सकेको छ भने झन्डै १ करोड ७० लाख मानिसले बेरोजगार  भत्ताको लागि सरकारी निकायमा निबेदन गरेका छँन् ।  कोरोना महामारीमा वार्षिक ७५ हजार डलर कमाईको सिलिङ भित्र पर्नेलाई प्रती ब्यक्ती १२ सय डलर राहत रकम दिने सरकारी घोषणा भए पनि सरकारले तोकेको आम्दानीको मापदण्ड अनुसार योग्य हुँदा हुँदै लाखौं मानिसले त्यो राहत रकम प्राप्त नगर्ने भएका छँन् । ठुलो संख्यामा कलेज पढ्दै गरेका विद्यार्थी,  सोसल सेक्युरिटी नभएका आप्रबासी,केही अपांग ब्यक्तिहरु र भर्खरै डिभोर्स भएका जोडीहरु यो राहतबाट बन्चित हुने भएका हुँन् । महामारीको चपेटामा परेका अमेरिकाबासीहरुलाई दैनिक जिबिकोपार्जनका लागि सहज होस् भनी अघिल्लो महिना नै अमेरिकी कङ्रेसबाट पास भएको राहत  रकम शुक्रबार  सम्म आई आर एसले बितरण  सुरु गरेको छैन ।  आई आर एसले पहिलो चरणमा संन् २०१९ को ट्याक्स  फाईलको विवरण    अनुसार  अप्रिल मध्यबाट राहत रकम बितरण गर्ने जनाएको छ । आई आर एस सेक्रेटरी  स्टिभन मुनचेनका अनुसार पहिलो चरणमा ५ करोड अमेरिकनलाई राहत   रकम पठाईने छ । जसले  संन् २०१९ को ट्याक्स फाईल गर्न भ्याएको छैन उसको हकमा भने संन्  २०१८ को ट्याक्स  विवरणको आधारमा रकम पठाउने बताएको छ ।  महामारीको समयमा राज्यले घर घरमा र ब्यांकको खातामा  पठाउने यो आर्थिक राहतबाट थुप्रै अमेरिकाबासीलाई सहज हुने भए पनि वास्तविक महामारी पिडीत लाखौं अमेरिकाबासी भने यो राहतबाट बिमुख हुने छँन् ।  यो राहत रकम नपाउनेको संख्या अमेरिकामा ६ करोड ५० लाख जती हुने अनुमान गरिएको छ ।  

    १७ बर्ष माथिका कलेज पढ्ने विद्यार्थी :

    यदी १७ बर्ष मुनिका विद्यार्थी आफ्ना अभिभाबकको ट्याक्स फाईलमा आश्रितका रुपमा जनाईएका छँन् उनिहरुको नाममा आउने ५ सय डलर सम्बन्धित विद्यार्थीका नाममा आउने छैन ।  उनिहरुको नाममा आउने उक्त रकम उनको अभिभाबकले पाउने छँन् ।  

    जो १७ बर्ष माथिका छँन् ।  जस्ले आफ्नो ट्याक्स फाईल आँफै गरेको छैन र अभिभाबकले आश्रित जनाएर ट्याक्स फाईल गरेका छँन् ।यस्तो अवस्था भएका लगभग २ करोडका न अभिभाबक न विद्यार्थी  स्वयम् कसैले पनि केही प्राप्त गर्दैनन्   ।  

    अभिभाबक आश्रित अपांग ब्यक्ती : 

    ट्याक्स फाईल गर्दा अभिभाबकहरुले  आश्रितका रुपमा दाबी गरिएका अपांगहरुले छुट्टै त्यो राहत रकम प्राप्त गर्ने छैनन् ।  तर सोसल सेक्युरिटी एडमिनिस्ट्रेसन तथा भेट्रान एफेयर्स मार्फत अपांग सुबिधा लिएर बसेकाहरुले भने यो आर्थिक राहत प्राप्त गर्ने छँन् ।  

    आफ्नो सन्तानको आश्रितमा रहेका ब्रिद्ध ब्रिद्धाहरु :

    सोसल सेक्युरिटी अन्तर्गत रहेका र वार्षिक रुपमा सरकारले राहत प्राप्त गर्न तोकेको आम्दानीको मापदण्ड भित्र पर्ने ब्रिद्ध ब्रिद्धाहरुले संघिय सरकारको यो आर्थिक राहत प्राप्त गर्छन् । तर  आफ्ना सन्तानको आश्रितका रुपमा ट्याक्समा रिपोर्ट भएका ब्रिद्ध ब्रिद्धा    छँन् उनिहरुले त्यो राहत रकम प्राप्त गर्दैनन् ।

    सोसल सेक्युरिटी  नभएका आप्रबासी :

    संघिय सरकारको यो राहत प्राप्त गर्न अमेरिकन नागरिक भने हुनु पर्दैन ।  तर मान्यताप्राप्त सोसल सेक्युरिटी नम्बर भने हुनै पर्छ ।  यसको मतलब ग्रिन कार्ड भएका र एच् – १ बि र एच् – २ ए भिसा भएकाले यो राहत रकम प्राप्त गर्छन् ।  तर गैर आवासिय बिदेशी

    ( नन रेसिडेण्ट एलियन ) आस्थाई कामदारी र गैर कानुनी रुपमा अमेरिका बसोबास गरिरहेकाहरुले यो राहत प्राप्त गर्दैनन् ।  

    संन् २०२० मा जन्मिएका नाबालक : 

    सरकारले संन् २०१८ र २०१९ को ट्याक्स फाईललाई आधार मानेर राहत रकम बितरण गर्ने हुँदा संन् २०२० मा स्वागत गरिएका नवजात सिशुहरुको नाममा रकम प्राप्त हुने छैन ।  

    भर्खरै डिभोर्स  :

    भर्खरै डिभोर्स भएकाहरुको  हकमा पनि संन् २०१८ र २०१९ को ट्याक्स फाईललाई आधार मानेर राहत रकम बितरण गरिने हुँदा हालसाल मात्र डिभोर्स भएका जोडीहरुले प्राप्त गर्ने रकम आई आर एसको रेकर्डमा भएको ब्यांक खातामा रकम जान्छ । त्यसैले डिभोर्स भएका पती पत्नी दुबैलाई छुट्टा छुट्टै रकम आउँदैन । आफुहरु डिभोर्स  भएको जानकारी आई आर एसलाई जानकारी गराउने संयन्त्र आई आर एसमा छैन ।

    ( एन बि सि न्युजमा प्रकाशित रिपोर्ट्लाई उल्था गरिएको हो ) 

  • लगातार छैटौं दिन पनि नेपालमा भेटिएनन् थप संक्रमित

    लगातार छैटौं दिन पनि नेपालमा भेटिएनन् थप संक्रमित

    काठमाडौं । नेपालमा लगातार छैटौं दिनसम्म पनि कोरोना भाइरसका थप संक्रमित फेला परेनन् । यसअघि अघिल्लो साता शनिबार एकैपटक तीन जनामा संक्रमण पुष्टी भएको थियो ।

    तर, त्यसपछिको परिक्षणमा भने कोरोना देखिएन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक सातायता कोरोनाको परिक्षण तिब्र बनाइएको छ ।

    अघिल्लो सताको तुलनामा दोब्बर भन्दा बढीमा परिक्षण भएको छ । आफूलाई कारोनाको आंकका गरी अस्पतालसम्म धाउने बिरामी, संक्रमण देखिएका बिरामीका आफन्त, उनीहरुले संगत गरेका व्यक्तिलगायतमा अहिले परिक्षण भइरहेको छ ।

    मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार पछिल्लो २४ घण्टामा परीक्षण रिपोर्ट आएका कूल ६ सय ३० जनामा नेगेटिभ देखिएको छ ।

    यस अवधिमा उपत्यका ४ सय १ र बाहिर २ सय २९ वटा परीक्षण भएका छन् । यो पछिल्ला दिनहरुमा भएको सबैभन्दा धेरै परिक्षण हो ।

    उनका अनुसार नेपालमा अहिलेसम्म ३ हजार ५ सय २४ जनाको कोरोना परीक्षण भएको छ । अझै ८ सय भन्दा बढी नमुना परीक्षणको क्रममा छन् ।

    नतिजाबाट ९ जनामा पोजेटिभ देखिएको छ । बिहीबारबाट र्‍यापिड डाइग्नोष्टिक परीक्षण सुरु गरिएको हो ।

    सातवटै प्रदेशमा ५ हजारका दरले वितरण गरिएको परिक्षण किटको जिल्लाबाट रिपोर्ट समेत आउन सुरु गरेको मन्त्रालयले उल्लेख गरेको छ ।

    चार जनामा कोरोना संक्रमण देखिएको कैलालीमा बिहीबारयता ३ सय ३९ जनामा परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

    यसैगरी कञ्चनपुरमा ३ सय ७६, कपिलवस्तुमा २१ र बाग्लुङमा १९ जनाको परीक्षण गरिएको छ । उनीहरु सबैको रिपोर्ट पनि नेगेटिभ आएको छ ।

    उपत्यकाबाहिर १० स्थानबाट कोरोना परीक्षण भइरहेको छ ।

    कोशी अस्पतालमा शुक्रबारबाट मेसिन जडान भएसँगै उपत्यका सहित देशभरी १० स्थानबाट परीक्षण थालिएको हो ।

    इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र नेपाली सेनाको टोलीले डडेल्धुरा, बैतडी तथा कर्णाली प्रदेशका विभिन्न जिल्लाबाट ७ सय बढी नमुना परीक्षणका लागि संकलन गरी पठाएको छ ।

  • भारतमा बढ्दो संक्रमण, नेपालमा जोखिम

    भारतमा बढ्दो संक्रमण, नेपालमा जोखिम

    काठमाडौं । भारतमा कोरोना भाइरसको संक्रमण र मानवीय क्षति निरन्तर बढिरहेको छ ।

    बिहीबार सम्मको तथ्यांक अनुसार कोभिड–१९ बाट भारतमा २ सय २७ जनाको ज्यान गइसकेको छ ।

    भारतमा यस भाइरसबाट संक्रमित मानिसको संख्या ६ हजार ७ सय २५ रहेको छ । भारतमा पछिल्लो समय संक्रमित बढ्ने क्रम तिब्र रहेको छ ।

    २१ दिनको लकडाउन घोषणा गरेको भारतमा लकडाउन कार्यान्वयनमा चूनौति थपिएको छ । किनकी यहाँ बहुसंख्यक मानिस अति गरिबीको चपेटामा छन् ।

    निम्न वर्गिय परिवारले हरेक दिन काम गरेर पेट पाल्नु पर्ने समस्या रहेको छ । भारतमा महाराष्ट्र सबैभन्दा प्रभावित राष्ट्र हो ।

    महाराष्ट्रमा अहिलेसम्म १ हजार ३ सय ६४ संक्रमित पुष्टी भइसकेको छ । यहाँ ९८ जनाको मृत्यु भएको छ ।

    तामिलनाडुमा अहिलेसम्म ८ सय २४ जना मानिसमा संक्रमण भएको छ । यहाँ ८ जनाको ज्यान गएको छ ।

    दिल्ली र तेलंगानामा भाइरसबाट मृत्यु हुनेको संख्या १२ रहेको छ । दिल्लीमा ७ सय २० संक्रमित फेला परेका छन् ।

    तेलंगानामा संक्रमितको संख्या ४ सय ७१ रहेको छ । मध्यप्रदेशमा संक्रमितको संख्या ४ सय ११ छ । यहाँ मृत्यु हुने मानिसको संख्या ३३ पुगिसकेको छ ।

    अहिलेसम्म भारतमा ६ सय २० संक्रमित निको भएर घर फर्किएका छन् ।

    भारतमा संक्रमण फैलिरहँदा त्यसले नेपालमा भने जोखिम बढाएको छ । किनकी नेपालको दक्षिणी भेगमा खुला सिमाना रहेको छ ।

    बोर्डरहरु सिल गरिएको भए पनि मानिसहरु अनाधिकृत रुपमा छिर्न सक्ने सम्भावना भने रहेको छ ।

    सोहीकारण नेपालको केन्द्र सरकारले सशस्त्र प्रहरी बलको तैनाथी सीमा क्षेत्रमा बढाइदिएको छ ।

  • नेपाल-भारत सीमानामा बढाइयो प्रहरी बल

    नेपाल-भारत सीमानामा बढाइयो प्रहरी बल

    काठमाडौं । सरकारले नेपाल र भारतको सीमा क्षेत्रमा सशस्त्र प्रहरीको सुरक्षा दस्ता बढाएको छ । भारतमा कोरोना संक्रमितको संख्यामा उल्लेख्य वृद्धि भएसँगै सरकारले नेपाल-भारत सीमानामा कडाई थालेको हो ।

    भारतसँग सिमाना जोडिएका जिल्लामा थप २२ सय ८० जना जनशक्ति थपिएको सशस्त्र प्रहरीले जनाएको छ । सशस्त्रले जनशक्तिसँगै सीमा नाकामा चेकपोस्टको संख्या समेत बढाएको छ ।

    भारतीय सीमामा सशस्त्रका १ सय २० वटा चेकपोस्ट रहेका थिए । अहिले ८ सय ५ वटा अस्थायी चेकपोस्ट थपिएको छ ।

    काठमाडौंबाट थप जनशक्ति पठाएर सीमानामा खटाइएको छ । अहिले सीमानामा करिब साढे पाँच हजार सशस्त्र प्रहरी खटिएका छन्।

    उनीहरुको काम भारतबाट कुनै पनि व्यक्तिलाई नेपालतर्फ छिर्न नदिने हुने छ । किनकी भारतमा कोरोनाको संक्रमण बढ्दा अनाधिकृत रुपमा नेपाल आउन सक्ने जोखिम हुन्छ ।

    नेपाल र भारतमा खुला सीमाना रहेको छ । सरकारले काठमाडौंका तालिमकेन्द्र, बाहिनी र तालिम सकेर बसेको टोलीलाई सीमा सुरक्षामा खटाएको छ

  • कोरोना संक्रमित बेलायती प्रधानमन्त्री जोन्सन आईसीयूबाट बाहिर, स्वास्थ्यमा निरन्तर सुधार

    कोरोना संक्रमित बेलायती प्रधानमन्त्री जोन्सन आईसीयूबाट बाहिर, स्वास्थ्यमा निरन्तर सुधार

    लण्डन

    कोरोना भाइरस संक्रमित बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई इन्टेन्सिभ केयर युनिट (आईसीयू) बाट बाहिर निकालिएको छ । स्वास्थ्यमा निरन्तर सुधार आएपछि उनलाई स्थानीय समय अनुसार बिहिबार साँझ जनरल वार्डमा सारिएको उनका प्रवक्ताले जनाएका हुन् ।

    वार्डमा उनी चिकित्सकहरुको प्रत्यक्ष निगरानीमा रहेको जनाइएको छ । ५५ बर्षिय जोन्सनलाई दुई साता अघि कोरोना भाइरस संक्रमण देखिएको थियो । स्वास्थ्यमा जटिलता देखिएपछि उनी आईतबार लण्डन स्थित सेन्ट थोमस अस्पतालमा भर्ना भएका थिए । अस्पतालमा थप समस्या देखिएपछि भोलीपल्टै उनलाई आईसीयूमा सारेर अक्सिजन दिएको थियो ।

    जोन्सन आईसीयूबाट निस्किनु अघि जोन्सनले युके नेशनल हेल्थ सर्भिसका विज्ञहरुको सेवाप्रति धन्यवाद दिएको उनलाई उद्धृत गर्दै प्रवक्ताले जनाएका छन् । जोन्सन अस्पताल भर्ना भएपछि बिदेशी मन्त्री डोमिनिक राबले कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी सम्हाली रहेका छन् ।

    (तश्वीर: एनबीसी न्यूज)