Category: समाचार

  • प्रधानमन्त्रीको ट्वीट : म त घरभित्र छु, तपाई पनि घरमै बस्नुहोस

    प्रधानमन्त्रीको ट्वीट : म त घरभित्र छु, तपाई पनि घरमै बस्नुहोस

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली मृगौला प्रत्यारोपण पछि घरमा आराम गरिरहेका छन् । कोरोना भाइरसको संक्रमणविरुद्ध उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेल निकै सक्रिय छन् । उनले कुशलतापूर्वक जिम्मेवारी समेत बहन गरिरहेका छन् ।

    जसले गर्दा प्रधानमन्त्रीलाई तुलनात्मक रुपमा बढी आराम गर्ने मौका मिलेको छ । बुधबार प्रधानमन्त्रीले ट्वीटमा आफ्नो उपस्थिति देखाए ।

    सामाजिक सञ्जाल ट्विटरमार्फत प्रधानमन्त्री ओलीले नागरिकहरुलाई अर्को सूचना नआएसम्म घरमै सुरक्षित भएर बस्न आग्रह गरेका छन् ।

    ‘म पनि घरमै बसेर सरकार सञ्चालन गरिरहेको छु । तपाईँहरु पनि घरमै बस्नुहोस्,’ उनले भनेका छन् ।

    सरकारले कोरोना भाइरस भाइरसविरुद्ध सतर्कतास्वरु मङ्गलबारबाट देशभर लकडाउन घोषणा गरेको छ ।

    देशका विभिन्न स्थानमा लकडाउन तोडेको खबर आइरहँदा प्रधानमन्त्रीको सचेतनामुलक ट्वीट आएको हो ।

  • नेपालमा तेस्रो व्यक्तिमा देखियो कोरोना, यूएईबाट फर्किएका युवामा पुष्टी

    नेपालमा तेस्रो व्यक्तिमा देखियो कोरोना, यूएईबाट फर्किएका युवामा पुष्टी

    काठमाडौं । नेपालमा कोरोना भाइरसको तेस्रो संक्रमण पुष्टी भएको छ ।

    यूएईबाट ५ चैतमा फर्किएका एक युवामा कोरोना भाइरसको पुष्टी भएको टेकुस्थित शुक्रराज अस्पतालले जनाएको छ ।

    यो संगै अब नेपालमा तेस्रो पोजेटिभ पुष्टी भएको हो । यसअघि चीनबाट फर्किएका एक नेपालीमा कोरोना देखिएको थियो ।

    उनी निको भएर घर फर्किसकेका छन् । आइतबार मात्र एक जना युवतीमा कोरोना देखिएको थियो । उनी फ्रान्सबाट नेपाल आएकी थिइन् ।

    बुधबार भने यूएईबाट नेपाल आएका युवामा देखिएको हो । उनी धादिंगको स्थायी बासिन्दा भएको र ३२ वर्षिय रहेको पाइएको छ । उनी यूएईको सारजहाबाट एयर अरेवियाको जी९५३७ उडान नम्बरबाट नेपाल आई होटेलमा बसेका थिए ।

    अस्पताल स्रोतका अनुसार उनी १० चैतमा अस्पतालमा पुगेका थिए । उनको परीक्षणमा कोरोना पोजेटिभ देखिएको हो । उनलाई अलग्गै राखेर उपचार भइरहेको छ ।

  • भारतीय सीमाबाट नेपालीको उद्दार थालियो

    भारतीय सीमाबाट नेपालीको उद्दार थालियो

    कैलाली । भारतसँगको सीमामा आएर नेपाल प्रवेशमा रोक लगाइएका नेपाली नागरिकको उद्दार गर्न थालिएको छ ।

    मंगलबार राती गौरीफन्टा नाकाबाट मात्र ९ सय १४ जना नेपालीलाई नेपाल तर्फ ल्याइएको हो । उनीहरु कैलाली प्रवेश गरेका छन् । सीमाको भारतीय भूमिमा करिब २८ घण्टा रोकिएपछि बल्ल उनीरुको उद्दार भएको हो ।

    नेपाल सरकारले लकडाउन घोषणा गरेपछि उनीहरु सीमामा नै रोकिएका थिए । १९ जिल्लाका ९ सय १४ जनाको उद्दार गरी नेपाल प्रवेश अनुमति दिइएको प्रहरीले जनाएको छ ।

    संघीय सरकारले मंगलबार सीमा नाकामा आएर रोकिएका सबै नेपाली नागरिकलाई एक पटकका लागि प्रवेश अनुमति दिने तर उनीहरु अनिवार्य १४ दिनसम्म क्वारेन्टाइनमा बस्नु पर्ने शर्त राखेको छ ।

    सोही अनुसार स्थानीय प्रशासनले नेपाल प्रवेशको चाँजोपाँजो मिलाएको हो ।

    उनीहरुलाई प्रदेश सरकारले बसमा राखेर घरसम्म पुर्याउने जिम्मेवारी संघस्य सरकारले दिएको छ । उनीहरु सम्बन्धित जिल्लाको क्वारेन्टाइनमा अनिवार्य बस्नु पर्छ । अन्य नाकबाट पनि नेपालीको उद्दार थालिएको छ ।

  • कोरोना संक्रमित युवतीसँगै कतार एयरवेजबाट आएका सबैको पहिचान

    कोरोना संक्रमित युवतीसँगै कतार एयरवेजबाट आएका सबैको पहिचान

    काठमाडौं । नेपालम आइतबार थप एक जनामा कोरोना संक्रमणको पुष्टी भएको थियो । उनी फ्रान्सबाट कतार हुँदै नेपाली आएकी थिइन् ।

    उनीसँगै एउटै जहाजमा ४ चैतमा नेपाल आएका सबैमा कोरोना संक्रमणको आंशका छ । सरकारले उनीहरु सबैको पहिचान भइसकेको जानकारी दिएको छ ।

    मंगलबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विमल देवकोटाले ति युवतीसँगै हवाई यात्रा गरी काठमाडौं आएका सबै यात्रुको पहिचान भइसकेको जानकारी गराएका छन् ।

    उनीहरुमध्ये संक्रमणको आंशका तथा लक्षण भने कसैमा नदेखिएका कारण कडाईका साथ सेल्प क्वारेन्टाइनमा बस्न भनिएको छ ।

    युवतीका आफन्त तथा उनीको सम्पर्कमा आइसकेका मानिसलाई समेत क्वारेन्टाइनमा राखिएको छ । युवतीको अवस्था भने सामान्य रहेको मन्त्रालयले जनाएको छ ।

  • कोरोनाबारे सरकारीबाहेक छुट्टै कोष बनाउन नपाउने, बनाएको भए केन्द्रिय कोषमा जम्मा गर्नुपर्ने

    कोरोनाबारे सरकारीबाहेक छुट्टै कोष बनाउन नपाउने, बनाएको भए केन्द्रिय कोषमा जम्मा गर्नुपर्ने

    काठमाडौं । सरकारले अब कोरोनासम्बन्धी छुट्टै राहत कोषमा रकम जम्मा गर्न नपाउने नियम ल्याएको छ । कोरोना सम्बन्धी उच्चस्तरीय संयन्त्रको बैठकले यस्तो निर्णय गरेको हो ।

    यसअघि कोष खोली सकेको भए सबै निजी कोषहरुले जम्मा भइसकेको रकम एक साता भित्र सरकारी कोषमा जम्मा गरिसक्नु पर्ने भएको छ ।

    खासगरी संकटका बेला पैसा उठाउने नाममा कोष खडा गर्ने तर उठेको रकम हिनामिना गर्ने गरेको गुनासो धेरै सुनिन्छ ।

    सोही कारण सरकारले केन्द्रिय कोषमात्र सक्रिय बनाउने घोषणा गरेको हो ।

    सरकारले विदेशबाट मेमिडल किट तथ औषधीको अभाव हुन नदिन निजी क्षेत्रमार्फत आपूतिको व्यवस्था गर्ने निर्णय समेत गरेको छ ।

    पारदर्शी ढंगले निजी क्षेत्रबाट आपूर्ति गर्ने र त्यसलाई सहजिकरणको काम भने सरकारले गर्ने अर्थ मन्त्री डा. युवराज खतिवडाले जानकारी दिए ।

  • यशूको नाम लिँदै कोरोनाबारे भ्रम फैलाउने पास्टर पक्राउ

    यशूको नाम लिँदै कोरोनाबारे भ्रम फैलाउने पास्टर पक्राउ

    कास्की । यशूको नाम लिँदै कोरोना भाइरसको भ्रम फैलाउने एक जना पास्टरलाई प्रहरीले पक्राउ गरेको छ कोरोनाका बिरामी निको पार्ने भन्दै भ्रम फैलाउने पास्टर पोखराबाट पक्राउ परेका हुन् ।

    सोमबार राति पोखराको पावर हाउसबाट पास्टर केशवराज आचार्य पक्राउ परेको प्रहरीले जनाएको छ ।

    उनले केही दिन अगाडी चर्चमा गरेको भाषण सामाजिक संजालमा भाइरल भएको थियो । मान्छेहरूलाई एकै स्थानमा भेला पारी यशूले कोरोना भाइरस निको पार्ने भन्दै भ्रम छरेका थिए ।

    उनले परमेश्वरको कृपा चाइनामाथि छ भन्दै मानिसहरुलाई अलमलमा परेका थिए । पछिल्लो समय सरकारले भ्रम छर्ने सबै मानिसहरुलाई पक्राउ गरिरहेको छ ।

  • सिमानामा रोकिएका नेपाली घर फर्कन पाउने, क्वारेन्टाइनमा बस्नु पर्ने

    सिमानामा रोकिएका नेपाली घर फर्कन पाउने, क्वारेन्टाइनमा बस्नु पर्ने

    काठमाडौं । नेपाल-भारत सीमा नाकामा अलपत्र अवस्थामा रहेका नेपालीलाई स्वदेश प्रवेश गर्न दिइने भएको छ। सरकारले उनीहरुलाई नेपाल आउन दिने निर्णय गरेको छ ।

    लकडाउनका वावजुत ठूलो संख्यामा नेपाली नेपाल र भारतीयका सीमा नाकामा आएर रोकिएका छन् ।

    अर्थ र सञ्चार तथा सूचना मन्त्री डा. युवराज खतिवडाले सीमा क्षेत्रमा अलपत्र नेपालीलाई नागरिकतालगायत कागजपत्र हेरेर नेपाल प्रवेश गर्न दिने निर्णय भएको जानकारी दिएका छन् ।

    मंगलबार कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समिति बैठकले उक्त निर्णय गरेको हो ।

    अलपत्र परेका नेपालीलाई नेपाल प्रवेशको अन्तिम मौका दिन लागिएको उनले जानकारी दिए । पूर्वसूचनाको अभावमा नेपाली सिमानामा आएर बसेका थिए ।

    मन्त्री खतिवडाका अनुसार नेपाली भएको प्रमाणित गरेपछि मात्र उनीहरूलाई नेपाल आउन दिइने भएको हो ।

    पूर्वदेखि पश्चिमसम्म भारतसँगका सीमा क्षेत्रमा नेपालीहरू अलपत्र परेको जानकारी स्थानीय प्रशासन र सञ्चार माध्यमबाट जानकारी आएको उनले जानकारी दिए ।

    सीमा नाकामा अलपत्र परेका नेपालीलाई नेपाल पभत्र आइसकेपछि भने अनिवार्य क्वारेन्टाइनमा राखिने भएको छ ।

    १४ दिनमा क्वारेन्टाइनमा राख्ने निर्णय भएको हो । स्थानीय सरकारहरुले यसको समन्वय गर्ने भएका छन् ।

  • कोरोना भाइरसको संक्रमणबाट अमेरिकामा एक नेपालीको मृत्यु

    कोरोना भाइरसको संक्रमणबाट अमेरिकामा एक नेपालीको मृत्यु

    न्युयोर्क । अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट एक नेपालीको मृत्यु भएको छ । अमेरिकाको न्युयोर्क, इष्ट एल्महर्ष्ट, क्वीन्समा बसोबास गर्दै आएका ५० वर्षीय नेपाली अनिल लिम्बु (शुब्बा) को एल्महर्ष्ट अस्पतालमा मृत्यु भएको नेपाली जनसम्पर्क समिति अमेरिकाका महासचिव मुनेन्द्र नेम्बाङले जानकारी दिए ।

    पाँचथरको रानीगाउँका अनिल (नेपालमा स्थानीय स्तरमा रमेश भनेर चिनिने) १५ वर्षदेखि अमेरिकामा २ छोरा १ छोरी र श्रीमतीका साथ बस्दै आएका थिए । स्थानीय समयअनुसार आज बिहानमात्रै उनको उपचारका क्रममा मृत्यु भएको हो । यसअघि उनमा डाइबिटिज र हाई ब्लड प्रेसरको समस्या थियो ।

    कोरोना भाइरसको संक्रमणपछि उनलाई स्थानीय अस्पतालमा भर्ना गरिएको थियो ।

  • लकडाउनमा खाद्यान्न पसल बन्द नहुने

    लकडाउनमा खाद्यान्न पसल बन्द नहुने

    काठमाडौं । आजबाट नेपाल पूर्ण लकडाउनमा गएको छ । जसले गर्दा हवाई र सडक यातायात ठप्प भएको छ । सडकमा सुरक्षाकर्मी र सरकारी अत्यावश्यक प्रयोजनका सवारी मात्र गुडेका छन् ।

    मानिसको चहलपहल शून्य प्राय भएको छ । यसले मानिस घर भित्रै बस्नु पर्ने अवस्था सिर्जना गरेको छ ।

    सरकारले घोषणा गरेको लकडाउनमा खाद्यान्नका पसलहरु भने बन्द नहुने सरकारले स्पष्ट पारेको छ । सरकारले कोरोना संक्रमण विरुद्धको लडाइमा राष्ट्र एकताबद्ध भएर लड्नुपर्ने भन्दै ‘लकडाउन’ घोषणा गरेको हो ।

    लकडाउनको समिक्षा आजै सरकारले गर्दैछ । पहिलो दिन केही मानिसबाहेक धेरैजसो मानिसले लकडाउनको पूर्ण पालना गरेका छन् ।

    मंगलबार बहिना भने केही मानिस राजधानी र जिल्लाहरुमा समेत बाहिर निस्किएका थिए । सरकारले लकडाउन पूर्ण पालना गर्नासाथ धेरैजसो समस्या हल हुने भन्दै त्यसका लागि आह्वान समेत गरेको छ ।

    सामान्यतया लकडाउन कुनै आन्दोलन दवाउन भन्दा पनि एक राष्ट्रिय अभियान भएकाले जनताबाट पूर्ण पाला हुनेमा सरकारको विश्वास रहेको छ ।

  • नेपालमा लकडाउन शुरु, सडकमा सुरक्षाकर्मी

    नेपालमा लकडाउन शुरु, सडकमा सुरक्षाकर्मी

    काठमाडौं । सरकारले सडकमा सुरक्षाकर्मी परिचालन गर्दै लकडाउन कार्यान्वयन थालेको छ । काठमाडौंसहित जिल्ला सदरमुकामहरुमा बिहान केही मानिस बाहिर निस्किएका थिए ।

    उनीहरुलाई सुरक्षकर्मीले सम्झाएर घर पठाएको छ । दिउँसो हुँदै गएपछि भने क्रमशः मानिस घर बाहिर निस्कन छाडेका छन् ।

    सरकारले कोरोना भाइरसको संक्तमण फैलन नदिन कडाई शुरु गरेको हो । यसघि सोमबार स्वास्थ्य मन्त्रालयले नेपालमा एक जनामा कोरोनाको पुष्टी भएको सार्वजनिक गरेको थियो ।

    यो दोस्रो बिरामीको पुष्टी थियो । यसअघि एक जा बिरामी पुष्टी भएपनि उनी उपचारपछि घर फर्किसकेका थिए ।

    संसारभर महामारीका रुपमा फैलिएको यस रोगको संक्रमणले १५ हजार मानिसको ज्यान गइसकेको छ ।

    लकडाउनको समयमा अतिआवश्यक सवारीका साधन बाहेक अन्य सवारी चलाउन पाइदैन । मानिसले घरबाहिर निस्कन पाउने छैनन् ।

  • टम ह्यान्क्स र रिटा विल्सन कोरोना संक्रमणबाट सन्चो हुँदै

    टम ह्यान्क्स र रिटा विल्सन कोरोना संक्रमणबाट सन्चो हुँदै

    हलिवुडका चर्चित अभिनेता टम ह्यान्क्स्ले आफुमा कोरोना संक्रमणको लक्षण देखिएको २ हप्ता पछी रोग सम्बन्धि केही अनुभव सेयर गर्दै आफू र आफ्नो पत्नीले  स्वास्थलाभ गर्दै गरेको बताएका छन् । अभिनेता टम ह्यान्क्सले “आफू र आफ्नो पत्नी रिटा विल्सनले निक्कै सजिलो महसुस गर्न थालेको” बताएका छन् ।

    ह्यान्क्सले आफ्नो ट्विटरमा लेखेका छन् “कतै पनि नगईकन एकै ठाउँमा बस्यो भने यस्तो राम्रो हुन्छ, आफुले कसैलाई नसार्ने अनि अरुबाट पनि आफुलाई नसार्ने । केही समय लाग्न सक्छ तर आफुले अरुलाई सकेको सहयोग गर्ने । आरामसँग बस्ने अनि यो पनि जान्छ” ।

    ६३ बर्षीय ह्यान्क्स् र विल्सनले आफुहरु कोरोना संक्रमित भएको खबर गत मार्च ११ मा पहिलो पटक सार्वजनिक गरेका थिए ।उनिहरुले त्यति बेला अस्ट्रेलियामा रहेर नै उपचार गर्ने बताएका थिए ।

    एजेन्सी

  • मंगलबारबाट नेपाल लकडाउन, घरबाहिर निस्कन समेत नपाइने

    मंगलबारबाट नेपाल लकडाउन, घरबाहिर निस्कन समेत नपाइने

    काठमाडौं । सरकारले नेपालभर लकडाउन घोषणा गरेको छ । अब एक सातासम्म सर्वसाधारण घरबाहिर निस्कन पाउने छैनन् । नेपालमा कोरोनाको पुष्टी भएसँगै सरकारले लकडाउन घोषणा गरेको हो ।

    नेपालमा कोरोनाको संक्रमण पुष्टी भएसँगै सरकारले लकडाउनमा जाने निर्ण गरेको हो । फ्रान्सबाट कतारको दोहा हुँदै चैत ४ गते नेपाल आएकी एक युवतीमा कोरोना संक्रमण भएको पुष्टि भएको छ ।

    कोरोनासम्बन्धी उच्चस्तरीय समितिको सोमबार बसेको बैठकले मंगलबार विहान ६ बजेबाट एक सातासम्म सार्वसाधारणलाई घरबाट बाहिर निस्कन रोक लगाएको छ ।

    खाद्यान्न र अत्यावश्यक बस्तु ढुवानी गर्ने बाहेक अरु सवारी साधन पनि चलाउने पाइने छैन । मानिसको आवागमन पूर्ण रुपमा प्रतिवन्ध लगाइएको छ । अब उडान समेत रोकिएका छन् ।

  • देशभरका जिल्लामा धमाधम लकडाउन

    देशभरका जिल्लामा धमाधम लकडाउन

    काठमाडौं । नेपालमा एक जनामा कोरोनाको पुष्टी भएसँगै देशभर आवागमन ठप्प बनाइने भएको छ । सरकारले सोमबारबाट लामो दूरीका सवारी साधन चलाउन नपाउने गरी रोक लगाएर कार्यान्वयनमा ल्याएको छ ।

    यससँगै स्थानीय प्रशासनले पनि स्थानीय तहमा जिल्लाहरुमा आवागमन रोक्ने तयारी थालिसकेका छन् । नेपालका अधिकांश जिल्लाले मंगलबार बिहान १२ बजेबाट लागु हुने गरी जिल्लाहरुलाई लकडाउन घोषणा गरेका छन् ।

    काठमाडौं उपत्यका बाट बाहिरिने र भित्रने सबै सबै सवारी साधनलाई रोक्ने तयारी गरिएको छ । राजधानीमा समेत मानिसको आवागमन बन्द गर्ने तयारी गरिएको छ ।

    सोमबार नेपालमा थप एक जनामा कोरोनाको पुष्टी भएसँगै सरकारले आवागमन रोक्ने तयारी गरेको हो ।

    स्थानीय तहहरुले भने पहाड र तराईमा आवागमन रोक्ने गरी धमाधम निर्णय गरिसकेका छन् । यसले कम्तिमा एक साता मुलुक ठप्प हुने देखिएको छ ।

    यता, नेपाली सेनाले समेत आवश्यक परे लकडाउनको तयारीमा उत्रनु पर्ने भन्दै त्यसका लागि तयार रहन सबै निकायलाई सचेत गराइसकेको छ । लकडाउन कार्यान्वयनमा सेना समेत परिचालन हुन सक्छ ।

  • फ्रान्सबाट कतार हुँदै नेपाल आएकी युवतीमा कोरोना पोजेटिभ

    फ्रान्सबाट कतार हुँदै नेपाल आएकी युवतीमा कोरोना पोजेटिभ

    काठमाडौं । नेपालका कोरोना भाइरसको दोस्रो बिरामी पुष्टी भएको छ । काठमाडौं स्थायी घर भएकी एक १९ वर्षिय युवतिमा कोरोनाको संक्रमण पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले जानकारी दिए ।

    मन्त्रालयले सोमबार आकस्मिक पत्रकार सम्मेलन गरी नेपालमा कोरोना सांक्रमणको पुष्टी गरेको हो । यो केश दोस्रो हो । यसअघि चीनबाट नेपाल आएका एक युवामा कोरोना पोजिेटिभ देखिएको थियो ।

    उनी उपचार पछि निको भएर घर फर्किसकेका छन् । १९ वर्षिय युवती फ्रान्सबाट कतार हुँदै ४ चैतमा नेपाल आएकी थिइन् । उनीसँगै कतारसम्म आएकी भियतनामकी एक साथिमा कोरोनाको पुष्टी भएपछि उनी टेकु अस्पतालमा जाँचका लागि स्वयम पुगेकी थिइन् ।

    जाँच गर्दा उनमा कोरोनाको पुष्टी भएको हो । आइतबार साँझ उनको अन्तिम रिपोर्ट आएको थियो । उनको अन्तिम रिपोर्टले कोरोना पोजेटिभ देखिएपछि मन्त्रालयले आकस्मिक पत्रकार सम्मेलन गरेको हो ।

    मन्त्रालयका अनुसार ति युवतीको सम्पर्कमा आएका आफन्तहरुलाई आइसोलेसनमा राखिएको छ । साथै उनी आएको जहाजमा भएका सबै मानिसहरुलाई जाँचका लागि टेकु अस्पतालमा आउन आह्वान समेत गरिएको छ ।

  • नेपालको हवाइ र स्थल नाका बन्द, शहरभित्र भने आवतजावत खुला

    नेपालको हवाइ र स्थल नाका बन्द, शहरभित्र भने आवतजावत खुला

    काठमाडौं । आजबाट नेपाल अन्तराष्ट्रिय समूदायसँगको सम्पर्कबाट  अलग भएको छ । आजबाट सरकारले हवाई र स्थल दुबै माध्यमबाट नेपाल प्रवेशमा पूर्णतया रोक लगाइएको छ ।

    राती १२ बजेबाट हवाईजहाजहरु नेपाल आउन रोकिए । अब आकस्मिक उडानका जहाज बाहेक अन्य सबै जहाज नेपाल आउन पाउने छैनन् ।

    स्थलमार्गमा समेत नेपालले प्रतिवन्ध लगाएको छ । खासगरी भारतमा कोरोनाको संक्रमण बढ्दै गएपछि सरकारले स्थलमार्गको प्रवेश समेत रोक्ने निर्णय गरेको हो ।

    यसले कम्तिमा १० दिन अब नेपालमा कुनै पनि मुलुकबाट सबै नागरिकको प्रवेश बन्द हुने भएको हो । यस बीचमा नेपाली नागरिकसमेत नेपाल आउन पाउने छैनन् ।

    विश्वव्यापी महामारीका रुपमा फैलिएको यस रोगको संक्रमणका कारण संसारभर १० हजार भन्दा बढी मानिसको ज्यान गएको छ ।

    यसले ३ लाख भन्दा बढी मानिस प्रभावित बनेका छन् । यद्दपी कोरोनाको संक्रमण नेपालमा भने भित्रिसकेको छैन ।

    एक जिल्लादेखि अर्को जिल्लासम्म जाने सवारी साधन रोकिए पनि एउटै शहर भित्रको आवतजावत भने रोकिएको छैन ।

  • न्यूजर्सी राज्यका पहिलो कोरोना संक्रमित बिरामी आज अस्पतालबाट डिस्चार्ज भए

    न्यूजर्सी राज्यका पहिलो कोरोना संक्रमित बिरामी आज अस्पतालबाट डिस्चार्ज भए

    न्युजर्सी

    न्युजर्सी राज्यकै पहिलो कोरोना भाइरस संक्रमित बिरामी आज अस्पतालबाट डिस्चार्ज भएका छन् । गत मार्च २ तारिख सामान्य लक्षणका कारण ह्याक्यान्साक मेडिकल सेन्टर पुगेका उनी १९ दिन पछि आज अक्सिजन मेसिन जोडेर नै अस्पतालबाट डिस्चार्ज भएका छन् । ३२ बर्षीय जेम्स काई आँफै फिजिसियन एसिस्टेन्ट हुन् । काईले आफ्नो फोक्सोले पूर्ण रुपमा काम गर्ने कुरामा ‘भगवानसँग पुकार गर्दै गरेको’ प्रतिकृया दिएको न्युयोर्क  पोष्टले लेखेको छ भने काईले न्यूयोर्क पोष्टलाई आफु केही कमजोर महसुस गर्दै गरेको कारण फोनमा धेरै बोल्ने नगरेको प्रतिकृया दिएका छन् । 

    पोष्टका अनुसार काईको क्षती ग्रस्त फोक्सोले तत्कालनै पूर्णरुपमा काम गर्छ वा गर्दैन भन्ने कुरा चिकित्सकहरुले एकिन गर्न सकेका छैनन् । उनले भनेका छन् “म भर्खर ३२ बर्षको भए अक्सिजनको भरमा कसरी बिताउनु ? जे होस् बाँच्न सफल भए ।”

    कुनै पनि अन्य रोग नभएका स्वस्थ्य काई आफ्नो पत्नी र २० महिनाको बच्चा सहित फोर्ट्लीमा बस्दै आएका थिए । आज उनी अस्पतालबाट डिस्चार्ज भएर जाँदा पत्नी र बच्चा भने उनको नातेदारको घरमा बसेका छन् । दुई पटक जाँच गर्दा नेगेटिभ रिजल्ट आएर डिस्चार्ज भए पनि सामान्यतया कोरोना मानिसको शरीरमा ३० दिनसम्म रहने हुँदा अहिले उनी पत्नी र बच्चाको नजिक जाने छैनन् ।

    तस्बिर : न्यूयोर्क पोष्ट
    जेम्स काईको फेसबुक

  • कोरोना संक्रमितको उपचार सहयोगका लागि राष्ट्रपति ट्रम्पले खटाउने भए तीन राज्यमा सेना

    कोरोना संक्रमितको उपचार सहयोगका लागि राष्ट्रपति ट्रम्पले खटाउने भए तीन राज्यमा सेना

    न्यूयोर्क

    सपनाको शहर न्युयोर्कमा नाटकीय रुपमा कोरोना संक्रमितहरुको संख्या बढेपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले उपचार सहयोगको लागि नेसनल गार्ड (सेना) लाई खटाउने भएका छन् । विश्वका मानिसको सपनाको शहर न्युयोर्क यति बेला कोरोनासँग लडिरहेको छ । सडकहरु सुनसान छन् । मानिसहरु बाहिर निस्कन डराउन थालेका छन् । आइतबार दिउँसोसम्म न्युयोर्क राज्यमा झन्डै १६ हजार मानिस कोरोना संक्रमित भै सकेका छन् भने ११४ जनाको मृत्‍यु भै सकेको छ ।  

    राष्ट्रपति ट्रम्पले वासिङ्टन राज्य र क्यालिफोर्नियामा पनि उपचार सहयोगको लागि सेना खटाउने भएका छन् । आईतबार साँझ भएको ह्वाईट् हाऊस कोरोना भाइरस टाक्स फोर्स ब्रिफिङमा राष्ट्रपति ट्रम्पले उक्त कुरा बताएका हुन । उपचार सहयोगमा सेना खटाउनुका साथै ठुलो संख्यामा मास्क, रेस्पिरेटर्स गाउन, फेस सिल्ड लगायतका चिकित्सा उपकरण र सुबिधा सम्पन्न बिरामीका बेडहरु समेत ठुलो संख्यामा यी तीन राज्यमा ४८ घण्टा भित्र पठाउने आदेश दिएको ट्रम्पले ब्रिफिङमा बताएका छन् ।  

    अमेरिकाको ५० वटै राज्यमा संक्रमितको संख्या बढ्दै गएको छ । अमेरिकामा आइतबारसम्म संक्रमितको संख्या ३२ हजार ३ सय ५६ पुगेको छ भने ४ सय १४ को ज्यान गई सकेको छ ।

  • कोरोनाविरुद्ध लड्न सरकारले बनायो कोष, मन्त्रीले हाले एक महिनाको तलव

    कोरोनाविरुद्ध लड्न सरकारले बनायो कोष, मन्त्रीले हाले एक महिनाको तलव

    काठमाडौं । सरकारले कोरोना संक्रमणको महामारीविरुद्ध लड्न कोष खडा गरेको छ ।

    रोगको रोकथाम र संक्रमण आइहालेमा त्यसको उपचार तथा अन्य उपकरण तथा औषधीजन्य सामाग्री खरीदमा योगदान गर्ने गरी केन्द्रीय राहत कोष खडा गर्ने निर्णय मन्त्रीपरिषद्ले गरेको छ ।

    यस कोषमा मन्त्रीहरुले एक महिनाको तलव हालेका छन् भने सरकारले ५० करोड रुपैयाँ हालेको छ ।

    प्रधानमन्त्रीको पनि तलवबाट एक महिनाको रकम हालिने भएको छ । यो कोषमा रकम राख्न सरकारले सार्वजनिक आह्वान समेत गरेको छ ।

    सरकारले सशस्त्र प्रहरीको अस्पताललाई कोरोना सं‌क्रमितको उपचारमा मात्र केन्द्रित गर्ने निर्णय गरेको छ ।

    सोही बैठकले सीमा नाकालाई समेत बन्द गर्ने निर्णय गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले उपचारपछि फर्केर पहिलो पटक मन्त्रीपरिषद् बैठक राखेका हुन् ।

  • एक साता सीमा नाका बन्द हुने, सोमबारबाट लागू

    एक साता सीमा नाका बन्द हुने, सोमबारबाट लागू

    काठमाडौं । अबको एक साता भारत र चीनतर्फको सीमा नाका नेपालले बन्द गर्ने भएको छ । सरकारले भारत र चीनतर्फका सबै सीमा नाका एक सातासम्म बन्द गर्ने निर्णय गरेको हो ।

    आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले सीमा नाका बन्द गर्ने निर्णय गरेको हो । सोमबार विहान १० बजेबाट एक साताका लागि नाका बन्द हुने भएका छन् ।

    भारतमा कोरोनाको संक्रमण देखिएपछि नेपालले सीमा नाका बन्द गर्ने प्रस्ताव राखेको थियो । भारतले भने आनकानी गर्दै आएको छ ।

    यसबीचमा धेरै ठूलो सख्यामा नेपालीहर घर फर्किसकेका छन् । भारतमो कोरोनाको संक्रमण तिब्र रुपमा फैलिरहेको छ । बिहारमा समेत यसबाट मानिसको ज्यान गएको छ । सोहीकारण नेपालले नाका बन्द गर्ने निर्णय लिएको हो ।

    शनिबार बसेको कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको बैठकमा मन्त्रीहरुले भारत सहमत नभए एकतर्फी रुपमै भएपनि सीमा नाका बन्द गर्नुपर्नेमा निष्कर्ष निकालेको संचारमाध्यमले उल्लेख गरेका छन् । भारतले आइतबार मध्यरातिबाट अन्तरप्रदेश बस सेवा र रेल्वे बन्द गरेको छ ।

    नेपालको यो निर्णयले नियमित वस्तु आपूर्तिमा भने असर नपर्ने नेपाल आयल निगमले जनाएको छ ।

  • कोरोना संक्रमितको उपचारका लागि एफडिएले यसरी काम गर्दैछ

    कोरोना संक्रमितको उपचारका लागि एफडिएले यसरी काम गर्दैछ

    न्युयोर्क

    चीनबाट सुरु भएको कोरोना भाइरसको प्रकोप विश्वभर महामारीको रुपमा फैंलिदा हालसम्म तीन लाख २० हजार मानिस संक्रमित भइसकेका छन् भने १४ हजार मानिसले ज्यान गुमाई सकेका छन् । यो बीचमा संक्रमित मध्ये ९६ हजारले स्वास्थ्यलाभ पनि गरेका छन् । यतिबेला  विश्वभर नाम चलेका प्रयोगशालामा बैज्ञानिक तथा चिकित्सकहरु दिन रात भ्याक्सिन तथा औषधि तयार गर्न लागि परेका छन् । आजको दिनसम्म न उपचार पद्धती न भ्याक्सिन नै टुङोमा पुगेको छ ।  विश्वभरका शक्तिशाली देशहरु यो महामारी बिरुद्ध संघर्ष गरिरहेका छन् । यस्तै अन्योलका बीच पनि कोरोना भाइरस बिरुद्ध केही आशा भने जगाएको छ । कोरोना संक्रमणबाट स्वास्थ्यलाभ गरेका मानिसको रगत नै अहिलेको अनुसन्धानको मुख्य साँचो हुन पुगेको छ भने स्वास्थलाभ गरेका मानिसको रगतको प्रयोग मात्र कोभिड -१९ को उपचार साधन हुन पुगेको बैज्ञाननिकहरु बताउन थालेका छन् । स्वास्थ्यलाभ गरेका मानिसको रगत मार्फत कसरी प्रतिरोध क्षमताले काम गर्छ भन्ने पत्ता लगाउन बैज्ञाननिकहरुलाई सहयोग पुग्ने र उपचार बिधि समेत त्यस्ता मानिसको रगतबाट पत्ता लगाउन मद्दत पुग्ने बैज्ञाननिकहरुले बताएका छन् ।  

    यसै प्रसंगमा यो हप्ता नेसनल इन्स्टिचुट अफ एलर्जी तथा इन्फेक्टिस् डिजिज अन्तर्गतका भ्याक्सिन  रिसर्च सेन्टरले कोभिड -१९ रोगलाई जितेर ठीक भएका मनिसहरुबाट रक्तदान आह्वान समेत गरेको छ । एफ डि एले पनि स्वास्थलाभ गरेको मानिसका रगत प्रयोग गरी कोभिड -१९ को उपचार गर्ने पद्धतीको लागि काम गरिरहेको बताएको छ । उक्त प्रयोगको पुष्टी ह्वाईट् हाऊस ब्रिफिङमा कमिस्नर स्टेफेस हानले गरेका छन् ।

    झन्डै १०० बर्ष अगाडिको स्प्यानिस फ्लु पोलियो र दादुराको महामारीमा समेत प्रयोग गरिएको यो उपचार पद्धती नै अर्को बिकल्प तयार नहुँदासम्म प्रयोगमा ल्याउनु पर्ने जोन हप्किन्स युभर्सिटीका अनुसन्धानकर्ता डा. अर्टुरो कसाडेभलले बताउँदै आएका छन् ।  डा. कसाडेभलले संचारमाध्यमहरुलाई  बताएका छन्; “ठ्याकै अहिले जस्तो अवस्था बिसौं सताब्दीको सुरु तिर पनि भएको थियो । स्प्यानिस फ्लु पोलियो र दादुराको महामारी सुरु हुँदा न भ्याक्सिन थियो न उपचारको औषधि ? त्यो परिस्थितीमा पनि ठीक भएका बिरामीको रगत प्रयोग गर्ने बिधि ‘सम्भोग सिरम’ पद्धती नै तत्काल प्रयोगमा ल्याएर थुप्रै ज्यान बचाइएको थियो” ।

  • वीरगन्जका व्यापारीलाई कोरोना पुष्टी नभएको अस्पतालको स्पष्टिकरण

    वीरगन्जका व्यापारीलाई कोरोना पुष्टी नभएको अस्पतालको स्पष्टिकरण

    वीरगन्ज । आइतबार साँझ एकाएक समाचार फैलियो, वीरगन्जका एक व्यापारीमा कोरोना भाइरसको संक्रमण पुष्टी भयो ।

    संक्रमणको आशंकामा एक नेपाली पटना मेडिकल कलेज, बिहारमा भर्ना भएको खबर सार्वजनिक भयो । तर, यो खबर झुटो सावित भएको छ ।

    उनलाई कोरोना संक्रमण भएको पुष्टि भइनसकेको पटना मेडिकल कलेज, बिहारले जानकारी गराएको छ ।

    यद्दपी उनको रिपोर्ट नै नआएको र बाहिर हल्ला मात्र फिजिएको अस्पतालको भनाई छ । उनको उपचार भने जारी रहेको बताइएको छ ।

    वीरगञ्जका व्यापारी उनी केही दिनअघि अस्पतालमा भर्ना भएको परिवारले जनाएको छ ।

    भारतीय टेलिभिजन च्यानलमा भने उनलाई कोरोना संक्रमण भएको पुष्टि भएको दाबी गर्दै समाचार प्रकाशन गरेका छन् । नेपालमा भने अहिलेसम्म कोरोनाको पुष्टि भएको छैन ।

  • प्रतिवन्धित मुलुकबाट धमाधम यात्रु ल्याउँदै एयरलाइन्स

    प्रतिवन्धित मुलुकबाट धमाधम यात्रु ल्याउँदै एयरलाइन्स

    काठमाडौं । सरकारले अनअराइभल भिषा रोकेको छ । यूरोपसहित ६६ देशबाट आजका दिनसम्म नेपाल भित्रन नपाउने नियम छ । तर, आइतबार रातीसम्म प्रतिवन्धित मुलुकबाट वायुसेवा कम्पनीले यात्रु ल्याउन भने छाडेनन् ।

    आइतबार राती त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सिंगापुरबाट सिल्क एयरले आकस्मिक अवतरण गर्यो । इन्धन सकिएको बाहनामा अवतरण गरेको जहाजमा ८५ जना यात्रु रहेको पाइएको छ ।

    त्यसमध्ये नेदरल्याण्डबाट आएका एक नेपालीसमेत रहेको पाइएपछि तिब्र विवाद भएको थियो । करीव एक घण्टा यात्रुलाई जहाज भित्रै राखिएको थियो ।

    पछि पर्यटन मन्त्रालयको समन्वयमा यात्रुलाई बाहिर निकालियो । उनीहरुमध्ये ३ जनालाई खरीपाटीस्थित क्वारेन्टाइनमा पठाइयो ।

    अन्य यात्रुलाई भने होम क्वारेन्टाइनमा बस्ने शर्तसहित घर पठाइएको छ । यसअघि पनि वायुसेवा कम्पनीहरुले पटक पटक प्रतिवन्धित मुलुकबाट यात्रु ल्याएका छन् ।

    यसरी आएका यात्रुलाई खरीपाटी पठाइएको छ भने वायुसेवा कम्पनीहरुलाई कारवाही गर्ने तयारी छ ।

    शनिबार थाइ एयरवेजले ४९ र एयर इण्डियाले १२ जना नेपालीलाई त्रिभुवन अन्तर्रािष्ट्रय विमानस्थलमा ल्याएका थिए ।

    उनीहरु पनि प्रतिवन्धित मुलुकबाट आएका थिए । कोरोनाको संक्रमणको जोखिमले अहिले सरकारले यात्रामा कडाई गरेको छ ।

  • कोरोना भाइरसबाट मुक्तिका लागि विश्वभर जपयज्ञ हुने

    कोरोना भाइरसबाट मुक्तिका लागि विश्वभर जपयज्ञ हुने

    न्यूयोर्क

    अहिले विश्वव्यापीरुपमा फैलिरहेको काेराेना भाइरसको संकटबाट मुक्ति पाउन तथा विश्वशान्तिका लागि ‘विश्वशान्ति जपयज्ञ’ गरिने भएको छ । विश्व अध्यात्म केन्द्रकाे आह्वान तथा अन्य स्थानीय संस्था र व्यक्तिकाे संयाेजकत्वमा हुने यज्ञका लागि प्रार्थना गर्न आ-आफ्नै घरमा बसी कार्यक्रममा सहभागी जनाई दिनुहुन आह्वान समेत गरिएको छ । 

    यही मार्च २०, शुक्रवार साँझ ९ बजे बसेको अनलाईन बैठकको निर्णय अनुसार उक्त आह्वान गरिएकोले सम्पूर्ण गुरुवर तथा यस सम्बन्धि ज्ञाता एवम् ईच्छुक महानुभावहरुलाई विश्वभरबाट प्रार्थना र स्वस्तिशान्तिको लागि आह्वान गरिएको हो । बैठकले विश्वभर रहनुहुने सम्पूर्ण गुरुवर्ग लगायत सबैले आ-आफ्नै घरमा बसी पाठ तथा जप गरि दिनका लागि अनुरोध पनि गरेको छ । 

    उक्त अनलाइन बैठकमा अमेरिकाका विभिन्न स्टेट, क्यानडा, बेलायत, अस्ट्रेलिया र नेपालबाट समेत संयोजकका रुपमा गुरुहरुको सहभागिता रहेको थियो ।  जसमध्ये न्यूयाेर्कबाट पिपलमणि सिग्देल तथा उद्धव शास्त्री, न्युजर्सीबाट डिल्लीराम उपाध्याय तथा श्रीहरि कँडेल, डिसी, मेरील्यान्ड तथा भर्जिनियाबाट राजेन्द्र खनाल, टेक्सासबाट मेघराज निरौला तथा तुलसीराम कँडेल, क्यालिफोर्नियाबाट चूड़ामणि पाठक, टेनेसीबाट उदयराज सिग्देल, नेपालबाट हरिनारायण सापकोटा, क्यानडाबाट जगदीश गैरे, बेलायतबाट जगदीश पौडेल, दुर्गाप्रसाद पोखरेल र शेखर शाण्डिल्य र अस्ट्रेलियाबाट प्रकाश ढोडारी सहभागी भई आफ्नो धारणा व्यक्त गर्नुभएको थियो । 

    सनातन वैदिक ग्रन्थमा विद्यमान एवं प्राच्य त्रिकालदर्शी महर्षिहरुद्वारा प्रत्यक्ष अनुभव गरिएका मन्त्र शक्तिकाे माध्यमबाट विश्वभर एकै समयमा (स्थानीय समय ९ बजे) जपयज्ञ प्रारम्भ हुने कुरा बताइएकाे छ । 

    प्रात: स्नान, आचमन, ध्यान, याेग तथा प्राणायाम आदि नित्यकर्म गरी निम्नानुसार 

    जपयज्ञमा सहभागी हुनुहुन सबैमा सूचना मार्फ़त आयाेजकले अनुरोध गरेकाे छ  । 

    कार्यक्रम शुरुवात मार्च २५, २०२० बुधबार बिहान ९ देखि १० बजेसम्म स्थानीय समय अनुसार महामृत्युंजय – ॐ ह्राैं जूं स: ॐ भूर्भुव: स्व: ॐ त्र्यम्बकं यजामहे सुगन्धिं पुष्टिवर्धनम् । उर्वारूकमिव बंधनान्मृत्याेर्मुक्षीयमाऽमृतात् । ॐ स्व: भुव: भू ॐ स: जूं ह्राैं ॐ मन्त्रले यथाशक्य जप तथा मार्च २६, २०२० बिहीबार बिहान ९ देखि १० बजेसम्म – राेगानशेषानपहंसि तुष्टा

    रुष्टा तु कामान् सकलानभीष्टान् ।

    त्वमाश्रितानां न विपन्नराणां 

    त्वमाश्रिता ह्याश्रयतां प्रयान्ति ।। 

    तथा अन्य देवी स्ताेत्र ! मन्त्रले पाठ तथा 

    मार्च २७, २०२० शुक्रवार बिहान ९ देखि १० बजे सम्म – ॐ नमाे भगवते वासुदेवाय !, 

    श्रीकृष्ण गाेविन्द हरे मुरारे हे नाथ नारायण वासुदेव: ! 

    तथा अन्य नामसंकीर्तन वा विष्णु सहस्रनाम स्तोत्र आदि पाठ तथा जप गर्न आयाेजकले आह्वान गर्नुभएकाे छ । 

    हाल विश्वमा व्याप्त यो महामारीबाट जीवन गुमाउनेहरुप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै संक्रमितहरुकाे सिघ्र स्वास्थ्यलाभकाे कामनासमेत बैठकमा सहभागी विद्वानहरुले गर्नुभएकाे थियाे ।

  • अब ४५ मिनेटमा नै कोरोना संक्रमणको नतिजा

    अब ४५ मिनेटमा नै कोरोना संक्रमणको नतिजा

    न्यूयोर्क

    युएस फुड एन्ड ड्रग (एफ.डि.ए) ले विश्वभर फैलिदै गएको कोरोना संक्रमणको प्रयोगशाला परिक्षणको नतिजा ४५ मिनेट भित्रै दिने परिक्षण पद्दतिलाई मान्यता दिएको जनाइएको छ । कोरोना संक्रमणको परिक्षणको नतिजा प्राप्त गर्न ३ दिनसम्म कुर्नुपर्ने अप्ठेरो परिस्थितीमा अब जाँच गरेको ४५ मिनेट भित्रै नतिजा प्राप्त हुने नयाँ प्रयोगले रोकथाम र उपचारमा सजिलो हुने अपेक्षा गरिएको छ । कोरोना परिक्षणको नयाँ प्रयोग उत्पादक कम्पनी क्यालिफोर्नियास्थित शेफिडका अनुसार एफ डि एले शुक्रबार स्विकृती दिएको हो र आगामी हप्तादेखि शेफिडले बजारमा पठाउने छ ।

    हाल अमेरिकामा कोरोना संक्रमणको जाँचलाई ब्यापक बनाउँदै लगिएको छ ।  उप-रास्ट्रपति माईक पेन्सका अनुसार अमेरिकामा प्रकोप शुरु भए यता १ लाख ९५ हजारले संक्रमण परिक्षण गराईसकेका छन् जस मध्ये २५ हजारमा कोरोना संक्रमण भेटिएको छ भने ३ सय ४० को मृत्‍यु भई सकेको छ ।

  • चिनियाँ अर्बपति ज्याक माले नेपालसहित एसियाली मुलुकलाई सहयोग गर्ने

    चिनियाँ अर्बपति ज्याक माले नेपालसहित एसियाली मुलुकलाई सहयोग गर्ने

    काठमाडौं । चिनियाँ अर्बपति तथा विश्वप्रख्यात व्यवसायी ज्याक माले नेपालसहित एसियाका ९ मुलुकलाई कोरोना विरुद्ध लड्न सहयोग गर्ने भएका छन ।

    उनले ९ एसियाली मुुलुकलाई कोरोना भाइरससँग जुझ्न आवश्यक स्वास्थ्य सामग्री सहायता उपलब्ध गराउने घोषणा गरेका हुन् ।

    उनका अनुसार १० लाख मास्क, २ लाख १० टेष्ट किट, ३६ हजार सुरक्षा पोसाक, केही भेन्टिलेटर र थर्मोटिर यी मुलुकका लागि सहायताको घोषणा उनले गरेका हुन् ।

    शनिबार विहान ट्वीट गरेका थिए । उनले यी सामान पुर्‍याउन सहज नभए पनि सम्पन्न गरिने उल्लेख गरेका छन् ।

    उनका अनुसार नेपालसँगै अफगानिस्तान, बंगलादेश, कम्बोडिया, लाओस, माल्दिभ्स, म्यानमार, पाकिस्तान र श्रीलंकाले यो सहायता पाउने भएका छन् ।

    यसअघि माले अमेरिकामा स्वास्थ्य सामग्री सहायता पठाएका थिए । उनी एसियाका सबैभन्दा धनी व्यापारी हुन् ।

  • कोरोनाबारे झुटो हल्ला फिजाउने पक्राउ

    कोरोनाबारे झुटो हल्ला फिजाउने पक्राउ

    काठमाडौं । कोरोना भाइरस (कोभिड १९) बारे झुटो हल्ला फिजाएको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

    कोरोनाको संक्रमणबाट एक जनाको मृत्यु भएको तर नर्भिक अस्पतालले लुकाइरहेको भन्दै अडियो सन्देश सामाजिक संजालमा पठाएका थिए ।

    यो अडियो भाइरल बनेको थियो । यसले सर्वसाधारणमा त्रास फैलिएको थियो ।

    प्रहरीका अनुसार रामेछाप घर भई भक्तपुरको सिपाडोल बस्ने २० वर्षका विवेक थापा मगर पक्राउ परेका हुन् । कोरोना भाइरसको महामारी विश्वभर फैलिएको छ भने नेपालमा पनि उच्च जोखिममा छ ।

    तर कोरोना संक्रमणको पुष्टि नेपालमा भएको छैन ।

    उनले भने नेपालमा संक्रमण्ले मानिसको मृत्यु भएपनि अस्पताल र सरकारले लुकाएको भन्दै अफवाह फैलाएका थिए । प्रहरीले अब यसरी अफवाह फैलाउनविरुद्ध कडा कारवाहीको तयारी गरेको छ ।

  • कोरोनाको डरले काठमाडौं छाड्ने बढे, सडक र आकास दुबैमा उत्तिकै चाप

    कोरोनाको डरले काठमाडौं छाड्ने बढे, सडक र आकास दुबैमा उत्तिकै चाप

    काठमाडौं । कोरोना भाइरस संक्रमणको डरले काठमाडौं उपत्यका छाड्ने क्रम तिब्र भएको छ । पछिल्लो तीन दिनयता मात्र करीव ३ लाख मानिसले सडक मार्ग हुँदै काठमाडौं छाडेको प्रहरीका तथ्यांक छ ।

    आकासमा पनि उत्तिकै चाप छ । बिहीबारबाटै जहाजहरु पूर्ण क्षमतामा उडिरहेका छन् । शुक्रबार र शनिबारसम्म पनि जहाजमा उत्तिकै भीड छ ।

    काठमाडौं छाड्नेको संख्या बढेसँगै वायुसेवा कम्पनीले भाडा बढाएका छन् । तराईका ठूला विमानस्थलमा यात्रुको चाप उत्तिकै बढेको हो ।

    राजमार्गहरु व्यस्त भएका छन् । सरकारले कोरोना संक्रमणको डरले विद्यालय बन्द गरेको छ । एसइइ परीक्षासमेत स्थगित भएको छ ।

    यससँगै शहर छाडेर गाउँ फर्कनेको ताँती लागेको हो । सरकारले काठमाडौंमा समेत घर भित्रै बस्न र अत्यावश्यक नपरेसम्म घर बाहिर ननिस्कन जनतालाई आह्वान गरेको छ ।

    २५ जना भन्दा बढीको संख्यामा भेला नहुन समेत आग्रह गरिएको छ । ९ चैतबाट विदेशबाट आउने हवाईजहाज र १० चैतबाट लामो दूरीमा सडक यात्रा समेत गर्न नपाउने गरी प्रतिवन्ध लागिसकेको छ ।

    अहिले बसपार्क र विमानस्थलमा अधिक भीड बढेको छ । यी स्थानमा मास्कको अनिवार्य प्रयोग गर्न आह्वान गरिएको छ ।

  • ढुवानीका सवारी साधन नरोकिने, सामान आपूर्ति नियमित

    ढुवानीका सवारी साधन नरोकिने, सामान आपूर्ति नियमित

    काठमाडौं । सरकारले १० चैतबाट सार्वजनिक सवारी साधन र लामो दूरीको यातायात सेवा बन्द गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार साँझ जनताका नाममा गरेको सम्बोधनमार्फत यस्तो घोषणा गरेका हुन् ।

    यस घोषणाबाट सामग्री आपूर्ति र ढुवानीका सवारी साधनको आवतजावत भने प्रभावित नहुने सरकारले स्पष्ट पारेको छ ।

    अर्थमन्त्री डा. युवराज खतिवडाका अनुसार कुनै पनि ढुवानीका साधन रोकिने छैनन् । यसले बजारमा सामानको आपूर्ति रोकिने छैन ।

    जहाज बन्द भएपछि हुने कठिनाइका सम्बन्धमा पनि विशेष व्यवस्थामार्फत व्यवस्थापन गरिने भएको छ । जहाज बन्द हुँदा विमानस्थलमै अलपत्र परेका नेपाली तथा विदेशी यात्रुलाई सम्बन्धित दूतावाससँगको समन्वयमा क्वारेन्टाइनमा राख्ने गरी व्यवस्थापन मिलाउने भएका छन् ।

    सरकारले कोरोनाको संक्रमण भित्रन नदिन व्यापक तयारी गरेको उनले जानकारी दिए । भित्रिहालेमा समेत प्रभावकारी उपचारको व्यवस्थापन हुने उनको भनाई छ ।

    संसारका अधिकांश मुलुकमा महामारीका रुपमा फैलिएको कोरोना नेपालमा भने देखा परिसकेको छैन । तर, सरकारले तयारीको काम तिब्र बनाएको छ ।

  • तिब्बतमा भूकम्प, काठमाडौंसम्म धक्का

    तिब्बतमा भूकम्प, काठमाडौंसम्म धक्का

    काठमाडौं । चीनको तिब्बतमा शुक्रबार बिहानै भूकम्प गएको छ । भूकम्पको धक्का काठमाडौंसहित यस आसपासका क्षेत्रसम्म अनुभव गरिएको छ ।

    राष्ट्रिय भूकम्पमापन केन्द्रका अनुसार, नियाताङजियाङ केन्द्रविन्दु भएर शुक्रबार बिहान ७ः१८ बजे ६.२ रेक्टर स्केलको भूकम्प गएको छ ।

    बिहान काठमाडौंमा यसको अनुभव गरिएको थियो । भूकम्पको केन्द्रमा क्षति भएको बताइएको छ । यद्दपी विवरणहरु आउन बाँकि छ ।

    भर्खरै कोरोाको सन्त्रासबाट माथि उठ्दै गरेको चीनलाई पछिल्लो समय प्राकृतिक विपत्तीले दुख दिन थालेको छ । तिब्बतमा केही दिन अगाडी समेत ५ रेक्टर स्केलको भूकम्प गएको थियो ।

  • आजबाट सहुलियत पसल संचालन

    आजबाट सहुलियत पसल संचालन

    काठमाडौं । सरकारले आजबाट सहुलियत पसल संचालनमा ल्याउँदैछ । उपभोक्तालाई सुपथ मूल्यमा खाद्यवस्तु बिक्री गर्न सरकारले उपत्यकाका पाँच स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्न लागेको हो ।

    उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले शुक्रबारदेखि सुपथ मूल्य पसल सञ्चालन गर्न लागिएको बताएका छन् ।

    उनका अनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ड ट्रेडिङ कर्पोरेसन लिमिटेडमार्फत सुपथ मूल्य पसल सञ्चालनमा आउन लागेका हुन् ।

    सहुलियत पसलमा नुन, चामल, चिनी, गेडागुडी सुपथ मूल्यमा पाइने भ्एको छ ।

    मन्त्री भट्टका अनुसार सरकारसँग अहिले करिब ६ महिनालाई पुग्गे खाद्यान्न, ८ महिनालाई पुग्ने औषधि, १० महिनालाई पुग्ने नुन र ३ महिनासम्म पुग्ने चिनी बाँकी मौजदात छ ।

    ग्यास आयातमा समस्या छैन । व्यवसायीको कमजोरीले ग्यासको वितरणमा देखिएको समस्या केही दिनमै हल हुने उनले बताए ।

    सरकारले सतुगंल, कालीमाटी, कोटेश्वर, बनेपा र भक्तपुरमा सुपथ मूल्यका पसल संचालनमा आउँदैछन् ।

    ललितपुरमा भने शनिबारसम्म पसल संचालनमा आइसक्ने भएको छ ।

    बालाजु र चाबहिलमा पनि पसल संचालनको तयारी रहेको छ ।