Category: समाचार

  • अस्पतालबाट बालुवाटार फर्किए प्रधानमन्त्री

    अस्पतालबाट बालुवाटार फर्किए प्रधानमन्त्री

    काठमाडौं । मिर्गौला प्रत्यारोपणका लागि अस्पताल भर्ना भएको १० दिनपछि प्रधानमन्त्री केपी शर्मा ओली वालुवाटार फिर्ता भएका छन् । उनलाई त्रिवि शिक्षण अस्पतालले शुक्रबार डिस्चार्ज गरेको हो ।

    अब उनले बालुवाटारमै आराम गर्दा हुने भएको छ । शुक्रबार उनी डिस्चार्ज हुँदा सहयोगीले साथ दिएर उभिएका थिए भने संचारमाध्यमलाई हात हल्लाएर अभिवादन गरेका थिए ।

    अस्पतालबाट बाहिरिने क्रममा उनलाई चिकित्सकहरुले समाएर गाडीसम्म ल्याएका थिए । उनी मुस्कुराएका थिए । चिकित्सकहरुका अनुसार बालुवाटार फर्किए पनि प्रधानमन्त्री चिकित्सकको प्रत्यक्ष निगरानीमा रहनु पर्ने भएको छ ।

    एक महिनासम्म उनको परीक्षण जारी रहने छ । नियमित भेटघाट र बाहिर हिँडडुल गर्न भने अझै केही समय पाउने छैनन् ।

    संक्रमणको डरले चिकित्सकले यस्तो सुझाव दिएका हुन् । चिकित्सकहरुका अनुसार मिर्गौला प्रत्यारोपण गरेको व्यक्तिलाई तीन महिनासम्म संक्रमणको जोखिम रहन्छ । प्रधानमन्त्री १९ फागुनमा अस्पताल भर्ना भएका हुन् ।

  • अन्तर्राष्ट्रिय सभा सम्मेलन रोकिए, भीडभाडमा नजान आग्रह

    अन्तर्राष्ट्रिय सभा सम्मेलन रोकिए, भीडभाडमा नजान आग्रह

    काठमाडौं । सरकारले अन्तर्राष्ट्रिय सभा सम्मेलन बन्द  गरेको छ । नेपालमा नियमित आयोजना हुने अन्तर्राष्ट्रिय सभा सम्मेलन, समारोहलाई मे ३१, २०२० सम्म स्थगित गर्ने निर्णय सरकारले गरेको हो ।

    खासगरी नेपाल आउन भिसा सुविधा रोकेपछि सरकारले सभा सम्मेलन पनि बन्द गरेको हो । कोरोना सन्त्रासका कारण संसारभर यस्ता गतिविधि ठप्प भएका छन् ।

    यसले नेपाल पनि अछूतो रहेन । यसबीचमा नेपाल भ्रमण वर्षका थुप्रै कार्यक्रम आयोजनाको तयारी रहेको थियो ।

    तर, कोरोनाले भ्रमण वर्ष नै प्रभावित बनाइदिएको छ । फेब्रुअरीसम्म करीव १ लाखको संख्यामा आएका पर्यटक मार्चबाट करीव ९० प्रतिशत घट्ने अनुमान रहेको छ ।

    संसारभर मुलुकहरुले आफ्ना नागरिकलाई यात्रामा प्रतिवन्ध लगाएका छन् । सरकारले नागरिकलाई भीडभाडमा नजाने र सीनेमा हलमा समेत नजान आग्रह गरेको छ ।

  • गैरआवासीय नेपालीले पाउने अनअराइभल भिसा सुविधा रद्द

    गैरआवासीय नेपालीले पाउने अनअराइभल भिसा सुविधा रद्द

    काठमाडौं । सरकारले गैरआवासीय नेपाललाई गैरआवासीय नेपाली परिचय पत्रका आधारमा उपलब्ध गराएको अनअराइभल भिसा सुविधा तत्कालका लागि रद्द गरेको छ ।

    कोरोनाको संक्रमण संसारभभर फैलिएसँगै सरकारले गैरआवासीय नेपालीका लागि प्रवेश बिन्दुमा उपलब्ध गराएको भिसा सुविधा बन्द गरेको हो ।

    सरकारको उच्चस्तरीय समितिले यस्तो निर्णय गरेको हो । यो सुविधा ३० अप्रिल २०२० सम्म कायम रहने भएको छ ।

    नेपाल आउन चाहने गैर आवासीय नेपालीले अब नेपाल आइपुग्नु भन्दा कम्तिमा ७ दिन अगाडीको स्वास्थ्य जाँचको प्रमाणपत्र सहित सम्बन्धित मुलुकको नेपाली कूटनीतिक नियोगबाट भिसा लिनु पर्ने भएको छ ।

    कोरोनाले यूरोप र अमेरिकामा बढी आक्रमण थालेसँगै सरकारले नेपाल प्रवेश गर्ने विदेशीको भिसा सुविधा समेत रद्द गरिसकेको छ ।

  • रोकियो पर्वतारोहण, मूख्य सिजनमा पर्यटन शून्य

    रोकियो पर्वतारोहण, मूख्य सिजनमा पर्यटन शून्य

    काठमाडौं । वसन्तु ऋतुका लागि हुने पर्वतारोहणका सबै गतिविधि स्थगित भएका छन् । यसको मतलव अब संसारको चुुचुरो चुम्न आउने हजारौं पर्यटकको सपना यस वर्ष अधुरै रहने भएको हो ।

    यसबाहेक ८ हजार मिटर माथि का हिमाल र साना हिमाल चढ्न समेत पर्यटकको उत्तिकै घुइचो लाग्छ ।

    बसन्तु ऋतु नेपालमा पर्वतारोहणको मूख्य सिजन हो । तर, सरकारले कोरोना भाइरसको संक्रमण भित्रन नदिने भन्दै पर्वताराहणका रोक लगाउने निर्णय गरेको हो ।

    यसअघि चीनले पनि आफ्नो तर्फबाट आरोहणअनुमति नदिने निर्णय गरेको छ । सगरमाथामा आरोहणका लागि बाटो बनाउन टोली लागिसकेका छन् ।

    आधार शिविरमा पुगिसकेको यो टोली यसपटक आरोहणमा जाने नेपालीलाई मात्र सहयोग गर्न सक्नेछ ।

  • स्टार फूटबलर रोनाल्डो पनि क्वारेन्टाइनमा

    स्टार फूटबलर रोनाल्डो पनि क्वारेन्टाइनमा

    पोर्चुगल । पोर्चुगलका स्टार फूटबलर क्रिस्टियानो रोनाल्डो पनि क्वारेन्टाइनमा बस्नु परेको छ । उनी सेल्फ क्वारेन्टाइनमा बसेका न् । अहिले इटालीमा कोरोनाको संक्रमण डरलाग्दो गरी फैलिएको छ ।

    रोनाल्डो इटालीयन क्लव युभेन्ट्सबाट व्यवसायिक फुटबल खेल्छन् । सो क्लवका डिफेन्डर ड्यानियल रूगानीलाई कोरोना भाइरस देखिएको छ।

    सोहीकारण टीममेटका कारण संक्रमण सरेको हुन सक्ने आंशकामा उनी क्वारेन्टाइनमा बस्नु परेको हो । रोनाल्डो आमालाई भेट्न पोर्चुगल पुगेका थिए ।

    उनी घरमै सेल्फ क्वारेन्टाइनमा बसेका छन् । युभेन्ट्सले आइतबार इटालियन लिगको शीर्ष स्थानका लागि भएको खेलमा इन्टरमिलानलाई खाली रंगशालामा २- ० ले हराएको थियो। सो खेलमा रोनाल्डोले खेलेका थिए । डिफेन्डरसमेत उक्त टोलीको सदस्य थिए ।

  • प्रधानमन्त्रीलाई नवौं दिनमा पत्नी राधिकाले भेटिन्

    प्रधानमन्त्रीलाई नवौं दिनमा पत्नी राधिकाले भेटिन्

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज पत्नी राधिका शाक्यले भेटेकी छिन् । प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण गरेको ९ औं दिनपछि पत्नी राधिका शाक्यले भेटेकी हुन् ।

    उनी प्रधानमन्त्रीलाई भेट्ने दोस्रो भिजिटर बनेकी छिन् । यसअघि बुधबार आठौं दिन मिर्गौलादाता भान्जी समीक्षा संग्रौलाले प्रधानमन्त्रीलाई भेटेकी थिइन् ।

    समीक्षाको भने बुधबार नै डिस्चार्ज भएको छ । तर, प्रधानमन्त्रीलाई भने अस्पतालले अझै डिस्चार्ज गरेको छैन ।

    दोस्रो भिजिटरका रुपमा पत्नी राधिका शाक्यले बिहीबार भेट गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले पुष्टी गरेका छन् ।

    बुधबार र बिहीबार पनि प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बिग्रिएको भन्दै समाचार सार्वजनिक भएका थिए ।

    चिकित्सकबाट त्यस्तो कुनै संकेत नपाएको उनले बताएका छन् । प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गरिएको नवौं दिन स्वास्थ्य स्थिति सामान्य रहेको र नियमित परीक्षणहरु भइरहेको अस्पतालले उल्लेख गरेको छ ।

    प्रधानमन्त्रीको गत बुधबार मिर्गौला प्रत्यारोपण भएको थियो । उनी त्रिवि शिक्षण अस्पतालमा उपचारार्थ भर्ना भएका छन् ।

  • नेपालमा कोरोना भित्रिए के छ सरकारको तयारी ?

    नेपालमा कोरोना भित्रिए के छ सरकारको तयारी ?

    काठमाडौं । सरकारले बिहीबार कोरोनाविरुद्ध भइरहेको तयारी सार्वजनिक गरेको छ । यसअनुसार मुलुक भित्र जुन स्थानमा कोरोना देखिन्छ, त्यो क्षेत्रलाई तत्काल बन्द गर्ने योजना रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा प्रवक्ता डा. विकास देवकोटाले सार्वजनिक गरेको योजना अनुसार देशको कुनै क्षेत्रमा कोरोना भाइरस को संक्रमण देखिएमा निश्चित क्षेत्र तोकेर ‘लक डाउन’ गरिने भएको छ ।

    सो क्षेत्रमा अत्यावश्यकबाहेक सबै गतिविधि बन्द गरिने भएको छ । अत्यावश्यकबाहेक अरु बन्द गर्ने तथा पकेट एरिया लक डाउन गर्ने योजना बनाइएको उनले जानकारी दिए ।

    कोरोना देखिएमा उपकरण र जनशक्ति एकत्रित गरेर परिचालन गरिने भएको छ ।

    आवश्यकता अनुसार फिल्ड र मोबाइल अस्पताल परिचालनको समेत तयारी गरिएको छ । विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार नेपालले समेत कोरोनाविरुद्ध तयारी गरिरहेको मन्त्रालयको भनाई छ ।

    चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस अहिले संसारका १ सय २० भन्दा धेरै देशमा फैलिसकेको छ ।

    नेपालमा एक जनामा पोजेटिभ पाइएन पनि उनी निको भएर घर फर्किसकेका छन् । त्यसबाहेक अहिलेसम्म पोजिटिभ रिजल्ट देखिएको छैन ।

    तर,  संक्रमण जुनसुकै बेला देखिन सक्ने भन्दै सचेतना भने बढाइएको छ ।

    नेपालले पनि पर्यटकको भिसा बन्द गर्नेदेखि संक्रमित देशबाट आएका नागरिकले क्वारेन्टाइनमा बस्नु पर्ने सम्मका निर्णय गरेको छ । नेपालले भारत र चीनका ४३ वटा सीमा नाकामा सम्बन्धित स्थानीय तहले स्वास्थ्यकर्मी परिचालन गरेका छन् ।

    नेपालमा अहिलेसम्म साढे ४ सयको परीक्षण भएके छ ।

    अहिले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोथग अस्पतालमा ४ र पाटन अस्पतालमा २ जना गरी ६ जना आइसोलेसनमा रहेका छन् । एक जनालाई बुटवलमा आइसोलेसनमा राखिएको छ ।

  • नेपालले समेत रोक्ने भयो पर्यटक भिसा

    नेपालले समेत रोक्ने भयो पर्यटक भिसा

    काठमाडौं । सरकारले पर्यटक भिसा रोक्ने भएको छ । बिहीबार उच्चस्तरीय समन्वय समितिको बैठक बसेको थियो ।

    तर, कहिलेबाट कहिलेसम्म रोक्ने र कुन मुलुकका नागरिकलाई रोक्ने भन्ने बारेमा भने मुख्यसचिव लोकदर्शन रेग्मी नेतृत्वको कार्यन्वयन समितिले निर्णय गर्ने भएको छ ।

    विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोरोना भाइरसलाई महामारी घोषणा गरेपछि पहिलो पटक उच्चस्तरीय समन्वय समितिको बैठक बसेको थियो ।

    बैठकले तत्कालका लागि पर्यटक भिसा रोक्ने निर्णय गरेको छ । भारततर्फ आवतजावत गर्न सिमित मात्र नाका खोल्ने भएको छ ।

    सो प्रयोजनका लागि भने भारत सरकारसँग समेत समन्वयको आवश्यकता पर्नेछ । यसको जिम्मा परराष्ट्र मन्त्रालयलाई दिइएको छ ।

    बैठकले संक्रमण देखिएमा आवश्यक पर्ने क्वारेन्टाइन, आइसोलेसन वार्डका साथै स्वास्थ्यकर्मीहरुको सुरक्षाका लागि चाहिने उपकरणको आपूर्ति बढाउने निर्णय गरेको छ ।

    सम्भव भएसम्म घनाबस्ती भन्दा पर यस्ता संरचनाको व्यवस्था हुने छ ।

    आवश्यक परे सैनिक परिचालनको योजनामा समेत नेपाल सरकार रहेको छ ।

    स्वास्थ्य जनशक्तिका लागि मेडिकल कलेजका साथै स्काउटलगायत संघ संस्थाबाट पनि स्वयमसेवक खटाउन सकिने अर्थमन्त्री डा. युवराज खतिवडाले बैठकपछि जानकारी दिए ।

    नेपालमा कोरोनाको संक्रमण नदेखिएका कारण यो सबै काम पूर्वतयारी स्वरुप नै भएको उनको भनाई छ । उच्चस्तरीय समन्वय समितिको बैठकले यस सिजनका लागि हिमाल आरोहण पनि स्थगित गर्ने निर्णय गरेको छ । विद्यालय तथा कलेज भने बन्द हुने छैनन् ।

  • न्यूयोर्कमा वालुङ समुदायको लोसार

    न्यूयोर्कमा वालुङ समुदायको लोसार

    न्यूयोर्क/अमेरिका
    वालुङ समुदाय युएसएले न्यूयोर्कमा ल्होसार मनाएको छ । गत साता आयोजना गरेको कार्यक्रममा बिभिन्न समुदायका ब्यक्तिहरुको उपस्थिति थियो ।
    टिबेट र नेपालको सिमानामा बसोबास गर्नेहरु नै वालुङ समुदाय हो । नेपालको ताप्लेजुङको वालुङ गाउँपालिकामा वालुङ समुदायका मानिसका बसोबास गर्ने गर्छन् । वालुङमा नेपालकै दोश्रो ठूलो गुम्बाको रुपमा रहेको ऐतिहासिक गुम्बा डिकी छ्योलिङ गुम्बा छ ।
    त्यस गुम्बामा वर्षमा ४ पटक विभिन्न साँस्कृतिक झल्काउने कार्यक्रमहरु गरिदै आएको छ । जसमा पुजापाठ गर्दा फुटुक चाहि विशेष रुपमा मनाईने चलन छ । स्थानीय गाउँले र देश बिदेशबाट आएका बौद्धधर्मावलम्बीहरुको ठूलो उपस्थिति हुने गर्छ ।
    वालुङ समुदायका अध्यक्ष छिरीङ तोपग्याले वालुङ समुदाय युएसएले अमेरिकामा पनि गुम्बा स्थापना गर्नको लागि ट्रष्टी बोर्ड तयार भएको र त्यसका लागि आर्थिक संकलन गर्न तिब्र गतिमा लागिपरेको बताएका थिए ।
    ‘अब चाँडै ट्रष्टी बोर्डको साथमा वर्तमान कार्यसमिति मार्फत घरदैलो कार्यक्रम गरेर धेरै भन्दा धेरै आर्थिक सहयोग संकलन गर्नेछौ’ अध्यक्ष तोपग्यालले बताए ।
    भावी पुस्ताका लागि आफ्नो भाषा, धर्म र संस्कृति सिकाउनका लागि चाँडै नै भाषा कक्षा सञ्चालन गर्ने बताए । नेपालमा वालुङ समुदायले ग्याल्बो लोसार र सोनाम लोसार संयुक्त रुपमा मनाउँदै आएका छन् ।
    कार्यक्रमका प्रमुख अतिथि न्यूयोर्कस्थित नेपाली महाबाणिज्यदूतावासका महाबाणिज्यदूत पुष्पराज भट्टराईले विदेशमा भए पनि आफ्नो देशको संस्कार र संस्कृति संरक्षण गर्न नेपाली समुदाय सबै क्षेत्रबाट लागि परेकोमा खुशी व्यक्त गरे । उनले कोरोना भाईरस कारण समस्या बढ्दै गएकोले सबैलाई सचेत हुन पनि आग्रह गरेका छन् । नेपाल भ्रमण बर्ष २०२० का बारेमा नेपाल महोत्सव गर्ने योजना यथावत रहेको र परिस्थिति बस थोरै समय पछि पर्न गएकोले सबैले सकेको सहयोग गर्न पनि अपिल गरेका छन् ।
    कार्यक्रमका नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना)का अध्यक्ष लोक चेम्जोङले लोसार नयाँ वर्षको आगमनमा ल्होसार कार्यक्रम गरिने भएको र यस कार्यक्रममा सबैको भाईचारा, एक आपसको भेटघाट सहकार्य सम्बन्ध राम्रो बनाउँदै सबै समुदायलाई एकजुट हुन आग्रह गरे ।
    विदेशमा भए पनि हाम्रो पहिचान र विविधतामा एकताको सन्देश जाने अवसर मिलेको उनले बताए ।

  • कोरोना महामारी हो, तर नियन्त्रण सम्भव छ

    कोरोना महामारी हो, तर नियन्त्रण सम्भव छ

    काठमाडौं । बुधबार विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसलाई महामारी घोषणा गर्यो । यस दौरान संगठनले केवल आतंकित हुनुमात्र नपर्ने भन्दै यो रोग नियन्त्रण समेत गर्न सम्भव रहेको उल्लेख गरेको छ ।

    तर, यसका लागि हरेक मुलुकले उत्तिकै सचेतना र जागरुकता अपनाउनु पर्ने संगठनको भनाई छ । यो भाइरस चीनमा करीव नियन्त्रण उन्मुख छ । तर, अमेरिका र यूरोपमा  यो भाइरसको संक्रमण डरलाग्दो गरी फैलिएको छ ।

    संगठनका अनुसार कोरोना भाइरसको संक्रमण १ सय २३ मुलुकमा फैलिएको छ । यसले बुुधबारसम्म ४ हजार ६ सय २७ जनाको ज्यान समेत लिइसकेको छ ।

    विश्वभर संक्रमितको संख्या १ लाख २६ हजार रहेकोमा ६८ हजार भन्दा बढि निको भएर घर फर्किएका कारण यो भाइरसको नियन्त्रण सम्भव रहेको संगठनको भनाई छ ।

    यसका लागि हरेक सरकारको प्रतिवद्धताको आवश्यकता संगठनले उल्लेख गरेको छ । ५३ हजार २ सय २७ जनाको उपचार भइरहेको छ ।

    संगठनका अनुसार ५ हजार ९ सय ४४ जनाको अवस्था गम्भीर रहेको पाइएको छ । चीनमा ३१ सय ६९ जनाको मृत्यु भइसकेको छ । इटालीमा ८ सय २७ जनाको ज्यान गएको छ ।

    इरानमा ३ सय ५४, दक्षिण कोरियामा ६०, स्पेनमा ५५, फ्रान्समा ४८, अमेरिकामा ३८, जापानमा १५, बेलायतमा ८, नेदरल्याण्डमा ५, स्विटजरल्याण्डमा ४, जर्मनी र बेल्जियममा ३\३ जनाको मृत्यु भएको तथ्यांक छ ।

  • प्रधानमन्त्रीलाई मिर्गौला दान गर्ने भान्जी समिक्षा डिस्चार्ज

    प्रधानमन्त्रीलाई मिर्गौला दान गर्ने भान्जी समिक्षा डिस्चार्ज

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गौला दान गर्ने समीक्षा संग्रौला डिस्चार्ज भएकी छन् । उनी अब घरमै आराम गर्न सक्ने गरी बुधबार दिउँसो डिस्चार्ज भएकी हुन् ।

    प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले यसको पुष्टी गरेका छन् । उनका अनुसार डिस्चार्ज भएसँगै उनले प्रधानमन्त्रीलाई  भेटेकी थिइन् । उनी प्रधानमन्त्रीलाई भेट्ने पहिलो भिजिटर समेत बनेकी छिन् ।

    भेटमा प्रधानमन्त्री ओलीले मिर्गौला दान गरेकोमा उनलाई धन्यवाद दिएका थिए ।

    अघिल्लो बुधबार समीक्षाको एउटा मिर्गौला प्रधानमन्त्री ओलीको शरीरमा प्रत्यारोपण गरिएको हो । प्रधानमन्त्रीलाई समेत आज नै डिस्चार्जको सम्भावना थियो । तर, उनको स्वास्थ्यमा अझै पूर्ण रुपमा आस्वस्थ हुन चिकित्सकले डिस्चार्जको अवधि लम्ब्याएका छन् ।

    चिकित्सकहरुकाअनुसार प्रधानमन्त्री ओलीको स्वास्थ्यमा पनि निकै राम्रो सुधार भइरहेको छ । यसअघि प्रधानमन्त्रीको स्वास्थ्य अवस्थालाई लिएर केही अनलाइन मिडियाले लेखेको विषयलाई प्रधानमन्त्रीको सचिवालयले कडा खण्डन गरेको छ ।

    केही अनलाइनले एकाबिहानै प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बिग्रेको भन्दै सिंगापुर लैजाने भन्दै समाचार छापेका थिए । तर, प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले यो खबरमा १०१ प्रतिशत सत्यता नभएको स्पष्ट पारेका छन् ।

  • एक भए राप्रपाका तीन खेमा, एकिकरण सम्पन्न

    एक भए राप्रपाका तीन खेमा, एकिकरण सम्पन्न

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका तीन खेमाबीच एकिकरण भएको छ । पूर्वपञ्चहरु मिलेर गठन भएको राप्रपाको फूट र जूटको श्रृंखला यो पहिलो पटक भने होइन ।

    बुधबार काठमाडौंको राष्ट्रिय सभागृहमा एक कार्यक्रम आयोजना गरी पार्टी एकिकरणको घोषणा भएको हो । चार वर्ष अगाडी यसैगरी घोषणासभाबाट एउटै पार्टीमा जोडिएका नेताहरुले पार्टीलाई चीन चोइटा बनाएका थिए ।

    तर, बुधबार तीन वटै चोइटा फेरी एकै स्थानमा मिल्न आइपुगेका छन् ।

    बुधबार राप्रपाका अध्यक्ष कमल थापाले गीता नै छोएर अब पार्टी नफूटाउने प्रतिवद्धता व्यक्त गरेका छन् । २०७३ फागुनमा सम्पन्न एकता महाधिवेशनबाट कमल थापा अध्यक्षमा निर्वाचित भएका थिए ।

    उनी अध्यक्षमा निर्वाचित भएको ६ महिना पछि नै पशुपति शमशेर राणा र प्रकाशचन्द्र लोहनीले छुट्टाछुट्टै पार्टी गठन गरेका थिए । बुधबार यी तीन तेता एकै स्थानमा आएर पार्टी एक भएको घोषणा गरेका हुन् ।

    यसअघि राणा र लोहनीको पार्टी मिलेर एक बनेको थियो भने कमल थापा एकलै थिए । बुधबारबाट भने पुनः एकपटक नेताहरु एकै स्थानमा आइपुगेका छन् ।

    बुधबारको घोाषणा सभामा बोल्दै अध्यक्ष थापाले राप्रपा एक भएकोमा खुसी व्यक्त गरे ।

    एकीकृत पार्टीका अध्यक्षत्रय थापा, राणा र लोहनीले हिन्दूको धार्मिक ग्रन्थ गीता साक्षी राखेर पार्टी नफुटाउने प्रतिज्ञा गरेका छन् । यो प्रतिवद्धता कतिसम्म टिक्ला त्यो भने समयले नै बताउने छ ।

    एकीकृत राप्रपाले संवैधानिक राजसंस्था र नेपाललाई हिन्दु राष्ट्र बनाउने विषयलाई मुख्य मुद्दा बनाउने भएको छ ।

    तर, पूर्वप्रधानमन्त्री स्व. सूर्यबहादुर थापाका छोरा सुनिल थापा भने राप्रपाले राजसंस्थाको माग नछाडेका कारण असन्तुष्ट बने । उनले घोषणासभा नै बहिष्कार गरेका छन् । सूर्यबहादुर थापा अध्यक्ष हुँदा राप्रपाको आफ्नौ महत्व रहेको थियो ।

  • कोरोनाविरुद्ध सर्वदलीय प्रतिवद्धता

    कोरोनाविरुद्ध सर्वदलीय प्रतिवद्धता

    काठमाडौं । नेपालमा कोरोना भाइरस फैलन नदिन सबै राजनीतिक दलले प्रतिवद्धता व्यक्त गरेका छन् । दलका नेता तथा प्रतिनिधिले सरकारलाई सबै प्रकारको सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन् ।

    बुधबार उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा रहेको सरकारी संयन्त्रले सर्वदलीय बैठक आयोजना गरेको थियो ।

    सर्वदलीय बैठकमा पूर्वप्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, मन्त्रिपरिषदका पूर्वअध्यक्ष खिलराज रेग्मीलगायतले कोरोनाविरुद्ध सरकारी तवरबाट भएको तयारीको प्रशंसा गरेका छन् ।

    उनीहरुले अझै पनि सूचना प्रवाह र भविष्यमा आइपर्ने संकट समाधानमा सरकारको पहल चुस्त हुनुपर्नेमा भने जोड दिएका छन् । दलका नेतारुले तयारीको काममा ढिलासुस्ती नगर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।

    बैठकमा प्रमुख विपक्षी नेपाली कांग्रेसका नेताहरुले भने सरकारको तयारीप्रति असन्तुष्टी व्यक्त गरे । बैठकमा पूर्वप्रधानमन्त्रीहरु झलनाथ खनाल र माधवकुमार नेपालको समेत उपस्थिति थियो । उद्दपी उनीहरुले भने धारणा राखेनन् ।

    कांग्रेसको तर्फबाट पूर्वस्वास्थ्यमन्त्री गगन थापा उपस्थित थिए । उनले अहिलेसम्म भएका काम ठिकै रहेको भएपनि भोली संक्रमण आइहाल्यो भने त्यसबाट जुध्न के तयारी छ भन्नेबारे प्रश्न गरेका थिए । बैठकमा नेताहरुले कोरोनाबाट मुलुकको अर्थतन्त्रमा हुने क्षतिको समेत अध्ययन गर्न सुझाव दिएका थिए ।

    उपप्रधानमन्त्री पोखरेलले सरकारले कोरोना विरुद्ध लड्न कुनै कसुर बाँकि नराख्ने बताएका छन् । उक्त अवसरमा विभागीय मन्त्रीहरुले आफ्नो मन्त्तालयबाट भइरहेका तयारीबारे ब्रिफ्रिंग गरेका थिए ।

    सरकारले कोरोनाविरुद्धको लडाइमा सबै राजनीतिक दल र जनताबाट समर्थन लिन सर्वदलीय बैठक आयोजना गरेको पोखरेलको भनाई थियो ।

  • पूर्वमन्त्री गोकुल बास्कोटाको घर लक्षित बम विस्फोट

    पूर्वमन्त्री गोकुल बास्कोटाको घर लक्षित बम विस्फोट

    काठमाडौं । पूर्वसञ्चारमन्त्री गोकुल बास्कोटाको घरलाई लक्षित गर्दै बम विष्फोट भएको छ । भक्तपुरको बालकोटस्थित बास्कोटाको घर नजिकै खाली ठाउँमा बुधबार बिहानै कुकर बम विष्फोट भएको हो ।

    जिल्ला प्रहरी कार्यालय भक्तपुरले घटनाको पुष्टी गरेको छ । बुधबार बिहान ७ः४५ बजे बम विष्फोट गराएको छ ।

    बास्कोटाको घरलाई नै लक्षित गरी बम विष्फोट गराइए पनि तर किन कुन उद्देश्यले गराइएको भन्ने नखुलेको प्रहरीले बताएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

  • श्रीमानमाथि श्रीमतीले प्रहार गरिन् एसिड

    श्रीमानमाथि श्रीमतीले प्रहार गरिन् एसिड

    काठमाडौं । नेपालमा पुरुषले महिलामाथि एसिड प्रहार गरेको धेरै घटना दोहोरिने गरेको छ । तर, सोमबार राती पुरुषमाथि महिलाले एसिड प्रहार गरेकी छिन् । काठमाडौंमै यस्तो घटना भएको हो ।

    काठमाडौंको बालाजुमा कोठामा सुतिरहेका पुरुषमाथि महिलाले एसिड हानेकी हुन् ।

    नुवाकोट घर भइ तारकेश्वर नगरपालिका–४ पुरानो गुहेश्वरीमा कोठा लिएर बस्दै आएका २४ वर्षीय रामराजा थापामाथि तेजाब प्रहार भएको प्रहरीले जानकारी दिएको छ । उ

    नी डेरामा श्रीमती र चार महिने बच्चाको साथमा सुतेको समयमा मुख र हातमा एसिड हानिएको छ ।

    झ्याल ढोका बन्द गरेर सुतेको समयमा आक्रमण भएका कारण घटनामा श्रीमती कै हात भएको आशंका प्रहरीले गरेको छ ।

    श्रीमतीलाई प्रहरीले पक्राउ गरिसकेको छ । घरमा वियरको बोतलमा एसिड भेटिएको प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार श्रीमतीको यो दोस्रो बिबाह थियो । पुरुष र महिलाबीच राम्रो सम्बन्ध नरहेको र उमेरमा समेत श्रीमान भन्दा श्रीमती बढी रहेको छिमेकीले बताएका
    छन् ।

  • प्रधानमन्त्रीको तत्काल डिस्चार्ज नहुने

    प्रधानमन्त्रीको तत्काल डिस्चार्ज नहुने

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको तत्काल डिस्चार्ज नहुने भएको छ । त्रिवि शिक्षण अस्पतालले मंगलबार दिएको जानकारी अनुसार उनको तत्काल डिस्चार्ज नहुने भएको हो ।

    उनलाई अझै केही दिन अस्पतालमा राखिने भएको हो । उनी अघिल्लो सोमबार अस्पताल भर्ना भएका थिए । उनको गत बुधबार दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको हो ।

    प्रधानमन्त्रीले घर जान चाहेको भएपनि उनलाई अस्पतालले भने तत्काल डिसर्ज नगर्ने डा. दिव्या सिंह शाहले जानकारी दिइन् । उनी प्रधानमन्त्रीकी निजी चिकित्सकसमेत हुन् ।

    अस्पताल प्रधानमन्त्रीको स्वास्थ्यप्रति विश्वस्त नभएसम्म डिस्चार्ज नहुने अस्पतालले जनाएको छ ।

    प्रधानमन्त्रीको स्वास्थ्यमा भने राम्रो सुधार भइरहेको उनले बताइन् । डिस्चार्ज भएपछि प्रधानमन्त्री ओलीले काम गर्न सक्ने र पूर्ण रुपमा फिट हुन भने ६ महिनादेखि एक वर्षसम्म लाग्ने अस्पतालले जनाएको छ ।

    डा. शाहका अनुसार प्रधानमन्त्री अब भीडभाडमा जान पाउने छैनन् । साथै उनी रुघाखोकी वा अरु संक्रमण भएकाबाट पनि टाढा बस्नुपर्छ । उक्त अवसरमा प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण रुपमा रुपमा कानूनि भएको दावि अस्पतालले गरेको छ ।

  • कोरोनाका कारण अष्ट्रेलिया र नेपालको खेल स्थगित

    कोरोनाका कारण अष्ट्रेलिया र नेपालको खेल स्थगित

    काठमाडौं । विश्व फूटबलकै एक शक्तिशाली मुलुक हो अष्ट्रेलिया, एसियामा त उसको एकछत्र राज रहेको छ ।

    विश्वकप छनोट तथा एसियाकपका लागि समेत छनोटका लागि अष्टेलिया र नेपालबीच नेपालको घरेलु मैदानमा खेल हुने तय थियो ।

    खेल यसै महिना नेपालको दशरथ रंगशालामा हुनुपर्ने थियो । शक्तिशाली मुलुकसँग घरेलु मैदानमा आफ्नो टीमले खेलेको हेर्ने दर्शकको चाहना कोरोना भाइरसका कारण अवरुद्ध भएको छ ।

    फिफा र एएफसीले मार्च र जुन महिनाभ चल्ने कतार विश्वकप र एसियाकप छनोटका खेल रोक्ने निस्थगित गर्ने निर्णय लिएका छन् ।

    यसले नेपालको अष्ट्रलियासँगको होम गेम अवरुद्ध भएको छ । कोरोना भाइरसको बढ्दो संक्रमणलाई ध्यानमा राख्दै एएफसी र फिफाले सदस्य राष्ट्रहरूको आग्रह स्वीकार गर्दै खेल रोक्ने निर्णय लिएको बताएका छन् ।

    फिफाले सदस्य राष्ट्रहरू छनोट खेल्नका लागि एक अर्काविरुद्ध सहमत भएमा र सुरक्षाको हिसाबले फिफा र एएफसीलाई मन्जुर भएमा अनुमति दिन समेत सकिने उल्लेख गरेको छ ।

    रोकिएका खेलको तालीका वातावरण सहज भएपछि पुनः सार्वजनिक हुनेछन् । यसअघि नेपालमा एभरेष्ट पिम्रियर लीग अवरुद्ध भएको थियो ।

  • सुडानका प्रधानमन्त्री अब्दल्लाको हत्या प्रयास

    सुडानका प्रधानमन्त्री अब्दल्लाको हत्या प्रयास

    सुडान । सुडानका प्रधानमन्त्रीको हत्या प्रयास भएको छ । प्रधानमन्त्री अब्दल्ला हामडोकलाई लक्षित गरी बम विष्फोट गराइएको छ । यद्दपी उनी बच्न सफल भएका छन् ।

    सोमबार बिहान निवासबाट कार्यालय जान लाग्दा उनको सवारीमाथि बम विस्फोट गराइएको हो । राजधानी खार्तुममा बिस्फोट भएको हो ।

    बिस्फोटले प्रधानमन्त्तीलाई कुनै असर गरेन् । तर, उनको कारगेडमा प्रयोग भएका सवारीमा भने क्षति पुगेको छ ।

    विस्फोट कसले र कुन उद्देयले गरायो भन्ने खुलेको छैन । हामडोक गत अगस्टदेखि सुडानका अन्तरिम प्रधानमन्त्रीका रुपमा कार्यरत छन् ।

    प्रजातन्त्र पक्षधर आन्दोलनकारीले सैनिक तानाशाह ओमर अल बसिरलाई हटाएर उनलाई सत्तामा ल्याएका हुन ।

    उनी सेना र प्रजातन्त्र पक्षधर बीचको सहमतिमा प्रधानमन्त्री बनेका हुन् । सुडान लामो समयदेखि अस्थिर राजनीतिबाट गुज्रिरहेको मुलुक हो ।

  • होली शान्तिपूर्ण, ७ सय चालक कारवाहीमा

    होली शान्तिपूर्ण, ७ सय चालक कारवाहीमा

    काठमाडौं । कुनै न कुनै अप्रिय घटना भइरहने होलीको दिन यस वर्ष भने तुलनात्मक रुपमा शान्त रह्यो । सरकारले यो वर्ष समूहमा जम्मा भएर होली नखेल्न सर्वसाधारणलाई आह्वान गरेको थियो ।

    सर्वसाधारणले समेत सरकारको उक्त आग्रह मानेका छन् । सडकमा विगतका तुलनामा कम मात्र मानिस होली खेलिरहेको भेटिए ।

    होलीका दिन काठमाडौं उपत्यकामा कुनै अप्रिय घटना नभएको प्रहरीले जानकारी दिएको छ ।

    तर, ट्राफिक नियम उल्लंघन गर्ने ७ सय भन्दा बढी चालक भने कारबाहीमा परेका छन् प्रहरीका अनुसार ७६ मोटरसाइकल र ७ सय ११ जना सवारी चालकलाई कारबाहीमा परेका हुन् ।

    मापसे गर्ने, तीन जना सवार मोटरसाइकल र कागजात नबोकेका चालक प्रहरी कारवाहीमा परेका हुन ।

    प्रहरीले होलीको दिन विशेष सतर्कताका साथ कारवाही चलाउने गरेको छ । प्रहरीको यो कारवाही प्रभावकारी समेत हुने गरेको छ । पछिल्ला वर्ष होलीमा हुने दूर्घटनामा उल्लेख्य कमी आएको छ ।

  • आज पहाडमा होली, सतर्क रहन सरकारको आह्वान

    आज पहाडमा होली, सतर्क रहन सरकारको आह्वान

    काठमाडौं । आज पहाड र हिमाली भेगमा होली पर्व मनाइदैछ । रंग र अबिरको पर्वका रुपमा लिइने यो दिन आफन्त तथा साथिभाईबीच भाइचारा साटासाट गरिन्छ । फागुन शुक्ल पूर्णिमाका दिन यो चाड पर्छ ।

    केही वर्ष अगाडीसम्म निकै उच्छृंखल बनेको होली स्थानीय प्रशासनको कडाई पछि पछिल्ला वर्षहरुमा भने व्यवस्थित बन्दै गएको छ । तर, यस वर्ष भने सरकारले सकभर होली नखेल्ने सर्वसाधारणसँग आह्वान गरेको छ ।

    होलीले कोरोना भाइरसको संक्रमण सर्ने भएकाले त्यसो नगर्न आग्रह गरिएको हो । आजबाट वसन्त ऋतुको आगमन हुने मानिन्छ ।

    त्रेता युगमा दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको कथासँग यो पर्वको महिमा जोडिएको छ ।

    शक्तिको दुरूपयोग गर्ने पापी प्रवृत्तिको प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा होली खेल्न थालिएको जानकार हरु बताउँछन् ।

    यस पर्वका अवसरमा आज काठमाडौंको वसन्तपुरमा उपस्थित भएर वातावरणलाई नै रङ्गीचङ्गी तुल्याउँदै त्यहाँ गाडिएको चीरलाई विधिपूर्वक ढाली बाजागाजाका साथ टुँडीखेलमा लगी जलाउने गरिन्छ ।

    उक्त चीरमा राखिएका ध्वजापताका औषधोपचार गरिने विश्वास रहेको छ । चीरका खरानी लिन समेत तछाडमछाड हुने गरेको छ ।

    यो वर्ष राजधानी काठमाडौंसहित सदरमुकामहरुमा औपचारिक होली कार्यत्रम आयोजना हुने छैनन् । यसका लागि सरकारले अनुमती नै दिएको छैन । त्यसरी होली खेलेको पाइएमा सरकारले कारवाही समेत गर्न सक्नेछ ।

  • बजार अनुगमनमा निस्किए उद्योगमन्त्री

    बजार अनुगमनमा निस्किए उद्योगमन्त्री

    काठमाडौं । कोरोना भाइरसको त्रासमा उपभोक्ताले बढी सामान किन्ने र व्यापारीले कृतिम अभाव सिर्जना गर्न थालेपछि सरकारले बजार अनुगमन थालेको छ ।

    बजारमा अत्यावश्यक सामानको चरम अभाव रहेको उपभोक्ताको गुनासो पछि उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट बजार निरीक्षणमा निस्किएका हुन् ।

    वाणिज्य सचिव डबैकुण्ठ अर्यालसहित मन्त्री भट्टको उच्चस्तरीय टोलीले आइतबार काठमाडौंका दुई दर्जन बढी किराना, खाद्य स्टोर तथा औषधि पसलमा पुगेर बिक्रेता र ग्राहकसँग आपूर्ति अवस्थाबारे बुझेको थियो ।

    मन्त्री भट्ट नेतृत्वको टोलीले जावलाखेल, कलंकी, नक्साल, सातदोबाटो, टुकु, लाजिम्पाटलगायत स्थानमा स्थलगत अवलोकन गरी उपभोक्ता तथा विक्रेताको समस्या र बजारमा वस्तुहरुको अवस्थाबारे जानकारी लिएको मन्त्रालयले जनाएको छ ।

    बजार निरीक्षण क्रममा विक्रेताहरुलाई मन्त्री भट्टले खाद्यन्न तथा औषधी र इन्धनको अभावबारे परेको समस्याबारे सरकारको गम्भीर रहेको भन्दै समस्या आफूलाई जानकारी गराउन आग्रह गरेका थिए ।

    दैनिक उपभोग्य सामानको अभाव नखड्किने भन्दै उनले उपभोक्तालाई समेत ढुक्क हुन आग्रह गरेका छन् ।

  • कोरोना प्रभाव : चीनमा रोकिँदै, यूरोपमा फैलिँदै

    कोरोना प्रभाव : चीनमा रोकिँदै, यूरोपमा फैलिँदै

    काठमाडौं । डिसेम्बर २०१९ बाट चीनको वुहानमा उत्पत्ति भएको कोरोना भाइरसले संसारभर ३ हजार ६ सयको ज्यान गएको छ । यसमध्ये ठूलो संख्या चीनमा रहेको छ ।

    तर, पछिल्ला दिनहरुमा कोरोना विरुद्ध चीनले उल्लेख्य सफलता हात पार्दा नयाँ संक्रमित र मृत्युको संख्यामा कमी आएको छ ।

    दुई महिना कै अवधिमा कोरोना भाइरसको संक्रमण १ सय ३ देशमा फैलिएको छ। विश्व स्वास्थ्य संगठनले शनिबार यस्तो जानकारी दिएको छ ।

    संगठनका अनुसार अहिले चीनमा संक्रमण क्रमशः घटिरहेको छ । तर, इरान र इटाली भने सबैभन्दा बण्ी प्रभावित भइरहेका छन् ।

    चीनमा मात्र मृत्यु हुनेको संख्या ३ हजार ९७ जना रहेको छ । चीनमा ८० हजार ६ सय ९६ जना मानिसमा यसको संक्रमण फैलिएको थियो ।

    ५७ हजार ८३ जना संक्रमित भने उपचार पछि घर फर्किएका छन् । चीनपछि इटालीमा इटालीमा ५ हजार ८ सय ८३ जनामा सक्रमण देखिएको छ ।

    यस मुलुकमा शनिबार मात्रै थप ३६ जनाको मृत्यु भएको छ । यहाँ मृत्यु हुनेको कूल संख्या २ सय ३३ पुगेको छ। इरानमा ५ हजार ८ सय २३ जनामा संक्रमण हुँदा १४५ जनाले ज्यान गुमाएका छन् ।

    त्यहाँ ५ हजार ८ सय २३ जना संक्रमित भेटिएको जनाइएको छ। दक्षिण कोरियामा ५० जनाको ज्यान गएको छ । यहाँ सात हजार १ सय २४ जनामा संक्रमण पुष्टी भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

    चीनले करीव करीव नियन्त्रणमा ल्याइसकेको यो रोगको संक्रमणले अब युरोप र एसियाका अन्य मुलुकमा नराम्रोसँग प्रभाव जमाइरहेको छ ।

    इटालीपछि पछिल्लो समय फ्रान्स जर्मनी, स्पेन, बेलायत बेल्जियममा केरोनाको फैलावट डरलाग्दो देखिएको छ । जापानमा ६ जनाको ज्यान गएको छ । अमेरिकामा कोरोनाकै कारण १९ जनाले ज्यान गुमाइसकेका छन् । पछिल्लो २४ घण्टामा १ सय ६ जनाको निधन भएको छ ।

  • आज अन्तर्राष्ट्रिय नारी दिवस, विश्वभर मनाईंदै

    आज अन्तर्राष्ट्रिय नारी दिवस, विश्वभर मनाईंदै

    काठमाडौं । आज ११४ औं नारि दिवस मनाईंदैछ । नेपालसहित संसारभर विविध कार्यक्रम आयोजना गरी यो दिवस मनाउने गरिन्छ ।

    नारी मुक्ति आन्दोलनमा खटिएकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएकी थिइन् । सोही दिनको स्मरणमा विश्वभर महिला दिवस मनाउन थालिएको हो ।

    यस वर्ष कोरोना भाइरसका कारण सरकारले नारी दिवसमा आयोना गर्ने विशेष कार्यक्रम भने स्थगित गरेको छ ।

    तर, अनौपचारिक क्षेत्रबाट भने विभिन्न कार्यक्रम गरी यो दिवस मनाइदैछ । कोरोना भाइरसको त्रासका कारण यस वर्ष औपचारिक कार्यक्रम नगरिएको महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले जनाएको छ ।

    जर्मनीकी मार्क्सवादी नेतृ क्लारा जेट्किनले सन् १९१० मा कोपेनहेगेनमा आयोजित महिलाहरूको द्वितीय अन्तर्राष्ट्रिय सम्मेलनमा ८ मार्चलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको रूपमा प्रस्ताव गरेकी थिइन् ।

    यस प्रस्तावलाई सम्मेलनले पारित गरेसँगै सन् १९११ बाट महिला दिवस मनाउन लागिएको हो । नेपालमा आज महिला हक र अधिकारको विषयलाई लिएर अनौपचारिक क्षेत्रमा अनेक कार्यक्रम राखिएका छन् ।

  • नुन र चिनीको पर्याप्त मौज्दाद, नुनले १० महिनाको माग धान्ने

    नुन र चिनीको पर्याप्त मौज्दाद, नुनले १० महिनाको माग धान्ने

    काठमाडौं । नेपालमा नुन, चिनीलगायत दैनिक उपभोग्य वस्तुको पर्याप्त मौज्दाद रहेको सरकारले स्पष्ट पारेको छ । सरकारी संस्थान साल्ट ट्रेडिङ कर्पोरेशनले यी वस्तुको अभाव नहुने प्रष्ट पारेको छ ।

    शनिबार संस्थानले करीब १० महिनालाई पुग्ने नुन तथा अन्य उपभोग्य सामानको मौज्दाद रहेको जानकारी गराएको छ ।

    साल्ट ट्रेडिङले उपभोग्य वस्तुको बिक्री वितरण गर्दै आएको छ । कर्पोरेशनसँग एक लाख ५८ हजार ५०० मेट्रिक टन नुन मौज्दात रहेको तथ्यांकमा उल्लेख छ ।

    यसले नेपालको १० महिनाको माग धान्न सक्छ । अहिले नेपाली बजारमा मासिक १६ हजार मेट्रिक टन नुन खपत हुने गरेको छ । नुनको आयात समेत बीना व्यवधान भइरहेको संस्थानले जनाएको छ ।

    कर्पोरेशनका अनुसार चिनीको मौज्दाद समेत पर्याप्त छ । सोहीकारण अनावश्यक भण्डारण नगरी कृतिम अभाव सिर्जनाको वातावरण नगर्न आग्रह गरेको छ ।

    कर्पोरेशनसँग भएको चिनीले पाँच महिनाको माग धान्न सक्छ । अहिले दुई हजार ५०० मेट्रिक टन चिनी गोदाममा स्टक रहेको र सात हजार ५०० मेट्रिक टन चिनी आयातका क्रममा स्थलमार्गमा रहेको बताइएको छ ।

    नेपालका चिनी उद्योगसँग एक लाख एक हजार मेट्रिक टन चिनी मौज्दात रहेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीका अनुसार करिब तीन महिनाको माग धान्ने गरी देशभर २५ हजार ६६९ मेट्रिक टन चामल मौज्दाद रहेको छ ।

    दुर्गम तथा हिमाली जिल्लामा चार हजार १६ मेट्रिक टन चामल मौज्दाद रहेका कारण तत्काल नेपालमा उपभोग्य सामानको अभाव नहुने सरकारी निकायसले स्पष्ट पारेका छन् ।

    केही दिन यता कोरोनाको त्रासले मानिसले अतिरिक्त सामान किनेर थुपार्ने थालेसँगै सरकारी स्टक पर्याप्त रहेको उल्लेख गरेको हो ।

  • न्युयोर्कको सडकमा ट्याक्सी, उबर र लिफ्ट चलाउने चालकमा पनि भेटियो कोरोना भाईरस

    न्युयोर्कको सडकमा ट्याक्सी, उबर र लिफ्ट चलाउने चालकमा पनि भेटियो कोरोना भाईरस

    न्युयोर्क

    न्युयोर्कस्थित ब्यस्त सहरमा ट्याक्सी चलाउने चालकलाई समेत कोरोना भाईरस पोजिटिभ देखिएको छ ।  न्युयोर्क शहको क्विन्समा बसोबास गर्दै आएका ३३ वर्षीय ट्याक्सी चालक गत शुक्रबार साँझ फ्लू जस्तो लक्षण देखिने रुघा खोकी ज्वरो आएपछि हिँडेर अस्पताल गएका थिए । न्युयोर्क फार रक-वेको सेन्ट जोन्स एपिसकोपल अस्पतालमा जचाउन पुगेका उक्त ट्याक्सी चालकका कारण उक्त चालकको संपर्कमा आएका ४० जना डाक्टर नर्स र अस्पतालका कर्मचारी समेत सेल्फ क्वारेन्टिनमा बसेका छन् । न्युयोर्क सहरमा अहिले ५० जना कोरोना भाईरस पोजेटिभ भटिएका छन् भने सहरमा ट्याक्सी वा उबर लिफ्ट चलाऊने चालकमा भाईरस भेटिएको पहिलो पटक हो ।  

    ती चालकको संपर्कमा आएका अन्य ब्यक्तिहरुको समेत खोजी भाईरहेको छ ।

  • पाकिस्तानमा ज्यानमारा वर्षा, १७ को गयो ज्यान

    पाकिस्तानमा ज्यानमारा वर्षा, १७ को गयो ज्यान

    इस्लामावाद । पाकिस्तानमा मुसलधारे वर्षा र त्यसले उत्पन्न गरेको प्राकृतिक प्रकोपमा परी करीव दुई दर्जनको ज्यान गएको छ । शनिबार साँझसम्म कम्तिमा १७ को ज्यान गएको र कयौं घाइते भएको संचारमाध्यमले लेखेका छन् ।

    यी घटना पछिल्लो २४ घण्टा भित्र भएका हुन् । ज्यान गुमाउनेमा महिला तथा बालबालिकाको बाहुल्य रहेको बताइएको छ ।

    देशको उत्तर पश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा वर्षाको ठूलो प्रभाव देखिएको छ । यहाँ डुबानले धेरै मानिसको ज्यान लिएको छ ।

    पूर्वी पञ्जाब राज्य र दक्षिणपश्चिमी बालोचिस्तान राज्यमा दुई बालबालिकासहित पाँच जनाको ज्यान गएको तथ्यांक रहेको छ ।

    भारी वर्षा र हिमपातका कारण पाकिस्तानका हिमाली तथा पहाडी क्षेत्रको जनजीवन प्रभावित भइरहेको छ ।

    पाकिस्तानी मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबारदेखि ठूलो वर्षा भएका कारण उक्त भेगमा संकट उत्पन्न भएको हो ।

    अन्य मुलुकहरु कोरोनाबाट प्रभावित भइरहेका बेला पाकिस्तानमा भने प्राकृतिक प्रकोपले ठूलो संख्यामा मानिसको ज्यान लिएको हो ।

  • प्रधानमन्त्रीलाई चिनियाँ राष्ट्रपतिको सदभाव

    प्रधानमन्त्रीलाई चिनियाँ राष्ट्रपतिको सदभाव

    काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङले प्रधानमन्त्री केपी शर्मा ओलीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै शुभकामना सन्देश पठाएका छन् ।

    राष्ट्रपति सीले प्रधानमन्त्री ओलीलाई शनिबार एक सन्देश पठाएर मिर्गौला प्रत्यारोपण भएको जानकारी प्राप्त भएको भन्दै स्वास्थ्यलाभको कामना गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

    सन्देशमा उनले चीन सरकार, चिनियाँ नागरिक र स्वयम् आफ्नोतर्फबाट प्रधानमन्त्रीको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

    राष्ट्रपति सीले दुई देश तथा चिनियाँ कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बीचको सम्बन्ध अझ मजवुत हुनुपर्ने उल्लेख गरेका छन् ।

    सम्बन्धलाई गतिशील पार्न र दुई देशका जनताको हितमा द्विपक्षीय सहयोगलाई अझ सुदृढ तुल्याउन प्रधानमन्त्री ओलीसँग काम गर्न प्रतीक्षारत रहेको राष्ट्रपतिको भनाई छ ।

    प्रधानमन्त्रीको गत बुधबार मिर्गौला प्रत्यारोपण गरिएको हो । उनी अहिले उपचारको सिलसिलामा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा रहेका छन् ।

    प्रधानमन्त्रीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, पाकिस्तानी प्रधानमन्त्री इमरान खान, भूटानी प्रधानमन्त्री डा लोट्टी छिरिङ र नेपालका लागि जापानी राजदूत मासामिची साइगोले स्वास्थ्य लाभको कामना गर्दै शुभकामना सन्देश पठाइसकेका छन् ।

  • प्रधानमन्त्रीलाई खाना दिन थालियो, स्वास्थ्यमा उल्लेख्य सुधार

    प्रधानमन्त्रीलाई खाना दिन थालियो, स्वास्थ्यमा उल्लेख्य सुधार

    काठमाडौं । मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री प्रधानमन्त्री केपी ओलीले आज चौथो दिनबाट खाना खान थालेका छन् ।

    त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका अनुसार प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेख्य सुधार भइरहेको छ ।

    प्रधानमन्त्रीको २१ फागुनमा मिर्गौला प्रत्यारोपण भएको हो । शनिबार उनलाई पहिलो पटक नर्मल खाना दिइएको अस्पतालले जानकारी दिएको छ ।

    त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. प्रेमकृष्ण खड्गाका अनुसार प्रधानमन्त्रीको स्वास्थ्यस्थितिमा राम्रो सुधार भइरहेको छ ।

    प्रधानमन्त्री ओलीलाई सामान्य हिँडडुल गराउने र फिजियोथेरापीको काम समेत भइरहेको उनले जानकारी दिएका छन् ।

    प्रधानमन्त्रीका भाइटल तथा ल्याब सूचक सामान्य अवस्थामा रहेको अस्पतालको भनाई छ । उता, प्रधानमन्त्रीलाई मिर्गौला दिएकी भान्जी समीक्षा संग्रौलाको स्वास्थ्यमासमेत सुधार भइरहेको अस्पतालले जनाएको छ । उनको पनि सबै भाइटल र ल्याब सूचक सामान्य अवस्थामा छन्।

  • कोरोनाबारे भ्रम सिर्जना गरियो : गृह मन्त्रालय

    कोरोनाबारे भ्रम सिर्जना गरियो : गृह मन्त्रालय

    काठमाडौं । विश्वभर त्रास फैलाइरहेको कोरोना भाइरसबारे नेपालमा भ्रम छरिएको भन्दै सरकारले त्यसका पछाडी नलाग्ने नागरिकलाई आग्रह गरेको छ । तर, गृहले सचेत भने रहने आग्रह गरेको छ ।

    विश्व स्वास्थ्य संगठनले नेपाललाई उच्च जोखिम भएको मुलुकका रुपमा राखेको छ । गृह मन्त्रालयले शनिबार विज्ञप्ती जारी गर्दै कोरोनाभाइरसबारे उत्पन्न हल्ला र प्रचारबाजीमा भने विश्वास नगर्न नागरिकलाई आग्रह गरेको हो ।

    कोरोनाबारे भ्रमपूर्ण समाचार आइरहेको गृहको भनाई छ । हालसम्म नेपालमा कोभिड १९ संक्रमण भएका व्यक्तिहरू पत्ता नलागेको र यसको प्रसार समुदायमा भएको अवस्था समेत नरहेको गृहले जनाएको छ ।

    यस सम्बन्धमा उत्पन्न गरिएका विभिन्न प्रकारका हल्ला र प्रचारबाजीका पछाडि नलाग्न मन्त्रालयले अनुरोध गरेको छ ।

    कोरोनाबारे अनावश्यक भ्रम फैलाएर उपभोग्य वस्तु कालो बजारी नगर्न समेत गृहले सचेत बनाएको छ ।

    कहीँकतै त्यस्तो भेटिए सम्बन्धित निकायमा खबर गर्न समेत गृहले अनुरोध गरेको छ । बढी भीडभाड हुने स्थानमा नजान र स्वास्थ्यको आफै सचेतना अपनाउन मन्त्रालयले आग्रह गरेको छ ।

  • सर्वाधिक शान्ती सेना पठाउने देशमा नेपाल चौथो

    सर्वाधिक शान्ती सेना पठाउने देशमा नेपाल चौथो

    काठमाडौं । विश्व शान्ती स्थापनामा नेपालले गरेका प्रयासको सधैभरी प्रसंशा हुने गर्छ । यसमध्ये एउटा कारण शान्ती सेना समेत हो । संयुक्त राष्ट्र संघको आव्हानमा संसारभरबाट शान्ती सेना खटिएका हुन्छन् ।

    विश्‍व शान्ति स्थापनामा फौज पठाउने विश्‍वका १२२ देशमध्ये नेपाल चौथो ठूलो देश बन्न सफल भएको छ ।

    १ जनवरी २०२० यता नेपाल चौथो स्थानमा उस्किलएको हो । यसअघि नेपाल पाँचौ स्थानमा थियो ।

    अहिले संयुक्त राष्ट्र संघको आव्हानमा शान्ति स्थापनामा विभिन्‍न १२ द्वन्द्वग्रस्त देशमा नेपाली सुरक्षाकर्मी खटिएका छन् । नेपाली कण्टिन्जेण्ट, सैनिक पर्यवेक्षक र स्टाफ अधिकृत गरि कूल ५ हजार ६ सय ५८ जना सुरक्षाकर्मी शान्ती सेनाका रुपमा विदेशमा सक्रिय छन् ।

    नेपाली सेनाका ५ हजार ९६ जना शान्ति सैनिक र नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलका ५६२ जना फौज विभिन्‍न द्वन्द्वग्रस्त मुलुकहरुमा तैनाथ रहेको तथ्यांक छ ।

    पहिलो पटक सन् १९५८ मा युनाइटेड नेसन अब्जर्भेसन ग्रुप इन लेबनान मिशनमा नेपाली सेनाको तर्फबाट ५ जना सैनिक पर्यवेक्षक सहभागी भएका थिए ।

    हालसम्म १ लाख २९ हजार ८९९ जना सैनिक यो मिसनमा खटिएका छन् ।

    नेपाली सेनाबाट १ हजार ४०१ जना महिला शान्ति सैनिकले समेत भाग लिइसकेका छन् । अहिले १८१ जना महिला विभिन्‍न मिशन खटिएको तथ्यांक छ ।