Category: समाचार

  • उपत्यकाका ढुंगेधारा र पोखरी संरक्षण गर्न सम्झौता, फेरिएला युग ?

    उपत्यकाका ढुंगेधारा र पोखरी संरक्षण गर्न सम्झौता, फेरिएला युग ?

    काठमाडौं । काठमाडौं उपत्यकाका ढुंगेधारा र पोखरीको संरक्षण गर्ने सन्दर्भमा स्थानीय तह र केन्द्र सरकारबीच सम्झौता भएको छ ।

    यस्ता सम्पदाको संरक्षण गर्न काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्ड (भ्याली बोर्ड), मध्यपुर थिमी र ललितपुरस्थित महालक्ष्मी नगरपालिकाबीच सम्झौता भएको छ ।

    खानेपानी मन्त्री बिना मगरको उपस्थितिमा मध्यपुर थिमीका नगर प्रमुख मदनसुन्दर श्रेष्ठ, महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठ र भ्याली बोर्डका कार्यकारी निर्देशक डा. संजिव विक्रम राणाबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

    मध्यपुर थिमी र महालक्ष्मी नगरपालिकाभित्र रहेका ढुंगेधारा तथा पोखरी संरक्षण र पुनर्निर्माण गर्ने सम्झौता भएको हो ।

    पछिल्ला दिनमा तिब्र निर्माणका कारण काठमाडौं उपत्यका भित्रका सम्पदा नष्ट हुँदै गएका छन् । ढुंगेधारा समेत लोप हुने अवस्थामा पुगिसकेका छन् ।

    भएका ढुंगेधाराको पनि उचित संरक्षण हुने सकेको छैन । बोर्डले उपत्यकाभित्र १० वटा नगरपालिकाहरुमा रहेका ढुंगेधारा र पोखरीहरुको अवस्थाबारे अध्ययन गरी संरक्षण गर्न सबै नगरपालिकासँग समझदारी गर्ने भएको छ ।

    सोही क्रममा पहिलो चरणमा यी दुई नगरपालिकासँग समझदारी भएको कार्यक्रममा बताइयो ।

    कार्यक्रममा खानेपानी मन्त्री मगरले उपत्यकाभित्रका सबै ताल तलैया पोखरी र ढुंगेधाराहरुको संरक्षण र सौन्दर्यीकरण हुने उल्लेख गरिन् ।

    प्राचीन शैली र कला कौशलमा निर्माण भएका ढुंगेधारा तथा पोखरीहरुको संरक्षण गर्दै जाने सरकारको योजना रहेको उनको भनाई छ ।

    बोर्डले काठमाडौं उपत्यका भित्रका महानगर सहित १० वटै नगरपालिका भित्र अवस्थित ५ सय ७३ ढुंगेधारा र २ सय ७३ पोखरीको विस्तृत अध्ययन र नक्सांकन गरिसकेको बताएको छ ।

    जसमध्ये ४ सय ७९ वटा ढुंगेधारा स्थलगत रुपमा भेटिएका छन् । ९४ वटा ढुंगेधारा हराइसकेका छन् । १ सय ९३ वटा पोखरी स्थलगत रुपमा भेटिएका छन् । ४० वटा पोखरी भने हराएका बोर्डको तथ्यांकमा उल्लेख छ ।

  • बाँस्कोटाको बचाउमा प्रधानमन्त्री-‘बात लागेका हो,आरोप पुष्टि छैन’

    बाँस्कोटाको बचाउमा प्रधानमन्त्री-‘बात लागेका हो,आरोप पुष्टि छैन’

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बास्कोटाको टेप प्रकरणबारे मुख खोलेका छन्। क्युरिटी खरिद प्रकरणमा कमिशनको अडियो टेप सार्वजनिक भएपछि राजीनामा दिन बाध्य भएका तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको बचाउ गरेका हुन् ।

    बिहीबार पार्टीको बागमती स्तरीय प्रशिक्षण कार्यक्रममा कार्यकर्ताहरुलाई सम्बोधन गर्दै नेकपा अध्यक्ष तथा प्रधानमन्त्री ओलीले बाँस्कोटमाथि मुद्दा नलागेको भन्दै भ्रष्टाचार प्रमाण भए जसरी प्रचार गरिएको आरोप लगाए। प्रधानमन्त्री ओलीले आफू र बाँस्कोटाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरीलाई पनि ‘पत्रु’ को संज्ञा दिए।

    ‘अहिलेसम्म टेप प्रकरण प्रमाणित छैन, उहाँ (बाँस्कोटा)ले होइन भनिरहनु भएको छ। स्वीस राजदूतावासले फ्रड हो भन्यो। आफ्नो नाममा बात लागेकाले राजीनामा दिनुभो, भ्रष्टाचार प्रमाणित भएजसरी प्रचार गर्नु आवश्यक छैन,’ ओलीले भने, ‘आरोप पुष्टि छैन। काम नलाग्ने पत्रु उजुरिको के काम। त्यो भ्रष्ट उजुरी हो।’’

    बास्कोटा स्वंयमले अडियो आफ्नो नभएको र न्याय खोज्छु भनेको उनले बताए। भ्रष्टाचार भए नभएको छानबिन हुने उनको भनाई छ।

    उनले नेताचहरुले चरित्र हत्या गर्ने काम भएकोसमेत आरोप लगाए। उनले कम्युनिष्ट आन्दोलनविरुद्ध षडयन्त्र भइरहेको भन्दै बाँस्कोटा सोही षडयन्त्रको शिकार भएको दावी गरे। तर कसले षडयन्त्र गरेको हो भन्नेबारे भने प्रधानमन्त्री ओलीले केही बताएनन्।

  • नेकपाभित्र विवाद चर्कियो, सचिवालयको निर्णय प्रधानमन्त्रीले नमान्ने

    नेकपाभित्र विवाद चर्कियो, सचिवालयको निर्णय प्रधानमन्त्रीले नमान्ने

    काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र विवाद चर्किएको छ । वामदेव गौतमलाई राष्ट्रियसभामा लैजाने सचिवालयको निर्णयपछि विवाद उत्कर्षमा पुगेको हो ।

    पार्टीको सचिवालयले गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनयन गर्न सरकारलाई सिफरिस गर्ने निर्णय गरेपछि यस निर्णयबाट प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली असन्तुष्ट देखिएका छन् ।

    प्रधानमन्त्री ओलीले सचिवालयको निर्णयलाई नमान्ने भन्दै सार्वजनिक रुपमै भनिसकेका छन् । आगामी २० गते खाली राष्ट्रपतिबाट मनोनित अर्थमन्त्री युवराज खतिवडाको ठाँउमा खतिवडालाई नै दोहोयाने अडानमा प्रधानमन्त्री ओली देखिएका छन् ।

    नेकपाका नेता युवराज ज्ञावालीले पार्टीले गरेको निर्णय सर्वसम्मत हुने भएकाले सबैले मान्नुपर्ने बताएका छन् ।

  • नियन्त्रणमा लिएको सुन बाँडिचुडी खाने १६ प्रहरी निलम्बन !

    नियन्त्रणमा लिएको सुन बाँडिचुडी खाने १६ प्रहरी निलम्बन !

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको सुन बाँडिचुडी खाएको आरोपमा सीमा प्रहरी चौकी टिमुरेका प्रहरी निरीक्षक खेमप्रसाद नेपालसहित १६ प्रहरी कर्मचारीलाई निलम्बन गर्न सिफारिस गरेको छ।

    निलम्बनमा पर्नेमा प्रहरी नायब निरीक्षक भोजबहादुर सेन वली, प्रहरी सहायक निरीक्षक रामशरण कुमाल, प्रहरी हवल्दारहरु रामशरण रिमाल, पुरुषोत्तम खत्री, रामकाजी लामा र गोपीबहादुर लो तामाङ रहेका छन्।

    यस्तै प्रहरी जवानहरु शिवनारायण चौधरी, युवराज खरेल, भविलाल रुम्बा लामा, रामचन्द्र विक, रिता चौधरी, मनोज आले, छेक्यु डोल्मा मोक्तान र ताराबहादुर प्रजा तथा प्रहरी कार्यालय सहयोगी हरिबहादुर श्रेष्ठ रहेका छन्।

    उनीहरु पदमा वहाल रहँदा आफ्नो विरुद्धको प्रमाण लोप वा नास गर्न सक्ने वा अनुसन्धानमा बाधा पुर्‍याउनसक्ने भएकाले निलम्बन गर्न सिफारिश गरेको आयोगले जनाएको छ।

    चीनको केरुङबाट नेपाल आउँदै गरेको ना६ख ४९३२ नम्बरको कन्टेनर जाँच गर्नेक्रममा यही पुस ११ गते चालक फुर्वा पासाङको साथबाट ४२२ ग्राम सुन लिई चालकलाई छाडेको र उक्त सुन आवश्यक कानूनी प्रक्रियाका लागि सम्बन्धित निकायमा बुझाउनुपर्नेमा आपसमा बाँडफाँड गरी लिएको आरोपमा आयोगले उनीहरुलाई निलम्बन गर्न प्रहरी प्रधान कार्यालयलाई सिफारिश गरेको जनाईएको छ ।

  • नेपाल ट्रष्टको श्वेतपत्र सार्वजनिक, बाबुरामको पालामा १७२ रोपनी व्यक्तिलाई

    नेपाल ट्रष्टको श्वेतपत्र सार्वजनिक, बाबुरामको पालामा १७२ रोपनी व्यक्तिलाई

    काठमाडौं । नेपाल सरकारले नेपाल ट्रष्टको नाममा देशभर रहेको सम्पत्तिसम्बन्धी श्वेतपत्र सार्वजनिक गरेको छ। मंगलबार पत्रकार सम्मेलन गरेर नेपाल ट्रष्टका अध्यक्ष एवं उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले श्वेतपत्र जारी गरेका हुन्।

    जारी श्वेतपत्रमा नेपाल ट्रष्टको नाममा देशका विभिन्न १० बढी जिल्लामा २१ हजार पाँच सय ६२ रोपनी जग्गा र अन्य सम्पत्ति छ।

    श्वेतपत्रमा उल्लेख भएअनुसार काठमाडौँ उपत्यकामा मात्रै ४ हजार ४४२ रोपनी जग्गा ट्रष्टको नाममा छ। काठमाडौं उपत्यकाभित्रको १ सय ७२ रोपनी जग्गा गुम्न पुगेको खुलेको छ।

    तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराई र ट्रस्ट अध्यक्षसमेत रहेका गृहमन्त्री विजयकुमार गच्छदारको पालामा उपत्यकामा रहेका १ सय ७२ रोपनी जग्गा विभिन्न व्यक्तिलाई बाँडिएको थाहा भएको हो।

    बाबुराम प्रधानमन्त्री तथा विजयकुमार गच्छदार गृहमन्त्री (नेपाल ट्रस्टका अध्यक्ष) भएका बेला २०६९ कात्तिक २ गते थानकोट, मातातीर्थ, सतुंगल र बालाजु क्षेत्रको जग्गा मोहीको नाममा गर्ने निर्णय भएको थियो। ‘उक्त जग्गा फिर्ता ल्याउन र दोषीलाई कारवाही प्रक्रिया अघि बढिसकेको छ’, पोखरेलले पत्रकार सम्मेलनमा जनाए ।

  • निर्यात बढ्दा सुधारियो व्यापार घाटा

    निर्यात बढ्दा सुधारियो व्यापार घाटा

    काठमाडौं । चालु आर्थिक वर्षको सात महिनामा आइपुग्दा नेपालको वैदेशिक व्यापारमा सुधारको संकेत देखिएको छ ।

    भन्सार विभागले सोमबार सार्वजनिक गरेको तथ्यांक अनुसार साउन महिनादेखि माघ समान्तसम्म विदेशबाट आउने वस्तुको व्यापार ३ दशमलव ५६ प्रतिशतले कमी आएको छ । सात महिनामा ८ खर्ब ३ अर्ब ६० करोड रुपैयाँको वस्तु आयात भएको छ ।

    गत वर्ष सात महिनामा ८ खर्ब ३३ अर्ब २६ करोड रुपैयाँको वस्तु आयात भएको थियो ।

    चालु आवको सुरुदेखि नै निर्यात व्यापार भने उकालो लागेको छ ।

    माघ महिनासम्म यो प्रवृत्ति कायम देखिएको छ । सात महिनामा निर्यात २२ दशमलव ४१ प्रतिशतले वृद्धि भएको छ ।

    सात महिनामा नेपालले गत वर्षको समिक्षा अवधिमा भन्दा यस वर्ष १२ अर्ब रुपैयाँ बढीको वस्तु निर्यात गरेको छ ।

    माघसम्म ६४ अर्ब ९७ करोड १२ लाख रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ ।

    गत वर्ष यही अवधिमा ५३ अर्ब ७ करोड रुपैयाँको वस्तु निर्यात भएको थियो ।

    सात महिनामा नेपालको व्यापार घाटा पाँच दशमलव ३३ प्रतिशतले सुधार भएको छ ।

    चालू आर्थिक बर्षको सात महिनामा नेपालको व्यापार घाटा ७ खर्ब ३८ करोड ६३ लाख रुपैयाँ रहेको छ ।

  • ट्रम्प भ्रमणकै बीचमा दिल्लीमा भड्कियो हिंसा, दुईको मृत्यु

    ट्रम्प भ्रमणकै बीचमा दिल्लीमा भड्कियो हिंसा, दुईको मृत्यु

    नयाँदिल्ली । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अहिले भारत भ्रमणमा छन् ।

    यही मेसोमा उनी सोमबार भारतको राजधानी नयाँ दिल्ली आइपुगेका छन् । तर, भारतमै नागरिकता कानुनविरुद्ध भइरहेको प्रदर्शन क्रममा सोमबार हिंसा भड्किएको छ ।

    राजधानी दिल्लीको उत्तरपूर्वी क्षेत्रमा हिंसा भड्किँदा एक प्रहरी र एक सर्वसाधारण गरी दुई जनाको ज्यान गएको भारतीय संचारमाध्ममले लेखेका छन् ।

    दिल्लीमा लगातार दोस्रो दिन नागरिकता कानुनका समर्थक र विरोधीहरूबीच ढुंगा हानाहान भएको हो ।

    सरकार समर्थकले ‘जय श्रीराम’ नारा लगाएका थिए । त्यसको विरोधीसमेत प्रदर्शनमा उत्रिएपछि दुई पक्षबीच झडप भएको हो।

    झडप नियन्त्रणका क्रममा प्रहरीको समेत ज्यान गएको हो । पसल, घर र सवारी साधनमा आगो लगाइएको छ।

    प्रहरीले अश्रुग्यास र लाठी प्रहार गरेको हो । त्यसक्रममा एक जना व्यक्तिले प्रहरीमाथि अन्धाधुन्ध गोली चलाएका थिए ।

    दिल्लीमा पछिल्ला दिनमा हिंसाका घटना बढेका छन् । उत्तरपूर्वी दिल्लीको मौजपुर, जफराबाद, भजनपुरा, कर्दामपुरी, दयालपुर र चाँदबाद क्षेत्रमा हिंसा भड्किएको हो ।

  • नेजाको अधिवेशनबारे न्यूयोर्कमा समुदायसंग छलफल

    नेजाको अधिवेशनबारे न्यूयोर्कमा समुदायसंग छलफल

    कल्पना घिमिरे
    न्यूयोर्क/अमेरिका
    नेपाल अमेरिका पत्रकार संघ (नेजा)ले आगामी मे महिनामा हुने सातौं अधिवेशनका सन्दर्भमा न्यूयोर्कस्थित नेपाली समुदायसंग छलफल गरेको छ । ज्याक्सन हाइटमा आइतबार आयोजना गरिएको समुदायसंगको अन्तरक्रियामा आगामी अधिबेशनलाई सफल रुपमा सम्पन्न गर्नका लागि समुदायको के कस्तो सहयोग हुनेछ ? भन्ने विषयमा बिस्तृत छलफल गरिएको थियो । हरेक २/२ वर्षमा हुने नेजाको अधिवेशन यसपाली न्यूयोर्क शहरमा हुँदैछ भन्नेबारे पनि समुदायलाई जानकारी गराइएको थियो । अधिवेशन मे महिनाको २ र ३ गते हुनेछ ।
    अमेरिका र क्यानडालाई कर्म क्षेत्र बनाएका पत्रकारहरुको भेलामा झण्डै १ सय ५० पत्रकारको सहभागीता हुनेछ । अधिबेशनका लागि नेपालबाट नेपाल पत्रकार महासंघका अध्यक्षको समेत सहभागीता रहनेछ ।
    नेजाले अमेरिकाका विभिन्न राज्यमा बसोबास गरिरहेको नेपाली समुदायसँग सुमधुर सम्बन्ध स्थापित गराउने उदेश्यले प्रत्येक वर्षको साधारण सभा तथा अधिवेशन फरक/फरक राज्य र शहरमा गर्दै आएको छ । त्यसै अनुरुप यसपाली न्यूयोर्कमा गर्ने तय गरिएको हो ।


    न्यूयोर्कमा कार्यक्रम गर्दै गर्दा बिभिन्न राज्यबाट आउने पत्रकारहरुलाई खान/बस्न लगायत २ दिनको सम्पूर्ण ब्यवस्थापन गर्नुपर्ने भएकाले कार्यक्रम सम्पन्न गर्न समुदायको आर्थिक सहयोग आवश्यक पर्ने जानकारी गराउँदै संस्थाका कार्यबाहक अध्यक्ष बिकासराज न्यौपानेले समुदायलाई सकेको सहयोग गरिदिन आग्रह गरेका छन् ।
    यस अघि कोलोराडो, वासिङगटन, क्यालिफोर्निया, भर्जिनिया, टेक्सस लगायतका राज्यमा नेजाका विगतका साधारण सभा तथा अधिवेशन गर्दा समेत समुदायले ठूलो सहयोग गरेको उनले जानकारी गराए । साथै आगामी कार्यक्रमलाई सफल बनाउन न्यूयोर्कबासी नेपाली समुदायको ठूलो हात रहने उल्लेख गर्दै समुदायप्रति ठूलो अपेक्षा रहेको पनि बताए । समुदायसंग छलफल गर्नका लागि कार्यबाहक अध्यक्ष न्यौपाने र संस्थाका सचिब शुरज भण्डारी टेक्ससदेखि आएका थिए ।
    नेजाका पूर्व अध्यक्ष तथा हाल सल्लाहकार आङछिरिङ शेर्पाले लामो समयपछि न्यूयोर्कमा हुन लागेको पत्रकारको भेलामा सहयोग गर्न पाउनु सुमदायका लागि पनि एउटा अवसर भएको बताए ।

    अधिवेशनको तयारीका लागि न्यूयोर्क र आसपासका पत्रकारहरुको सहभागीतामा बिभिन्न उपसमिति बनाइएको छ । उपसमिति मार्फत तयारीको काम तिब्र पारिएको मुल आयोजक समितिले जनाएको छ ।
    कार्यक्रममा उपस्थित समुदायका अगुवाहरुले पत्रकारको संस्थालाई अधिवेसन सम्पन्न गर्नका लागि आफुहरुले सक्ने सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरे । आर्थिक सहयोग, भौतिक सहयोग, समुदायको उपस्थिति, अधिबेशनका लागि शुभकामना, बिज्ञापन प्रकाशन लगायत के कसरी सहयोग गर्न सकिन्छ त्यसरी नै सहयोग गर्न पनि समुदायलाई अनुरोध गरिएको छ ।
    कार्यक्रममा समुदायको तर्फबाट बी आर लामा, आनन्द बिष्ट, सञ्जय थापा, बिश्व शाह, लोक चेम्जोङ, लुइसाङ वाइबा, रामहरी अधिकारी, रोशन ढुगाना, मिङमा शेर्पा, नर्वदा क्षेत्री, शमीर महर्जन, अन्जन श्रेष्ठ, टेक गुरुङ, उपेन भट्ट, बिष्णु सुबेदी, प्रमोद सिटौला, अनन्त सुबेदी, राजन कर्माचार्य, नबीन शेरचन, अमित शाह, अभय ढुंगेल, आङनिमा गेल्जेन शेर्पा, बिकी पुलामी, प्रभात सापकोटा, हरीस चन्द्र हमाल, बिनोद चापागाई, कृष्ण आचार्या, सूर्य लम्साल लगायत सहभागिता थियो । अमेरिकामै रहेर बिभिन्न माध्यमले पत्रकारितामा आवद्ध रहेका न्यूयोर्क, न्यूजर्सी, पेन्सिलभेनिया, न्युह्यामसायर,  टेक्सस लगायतका पत्रकारको उलेख्य सहभागिता थियो ।

  • सरकारलाई अलोकप्रिय बनाउन विपक्षी लागे : प्रधानमन्त्री

    सरकारलाई अलोकप्रिय बनाउन विपक्षी लागे : प्रधानमन्त्री

    पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई अलोकप्रिय बनाउन विपक्षीहरु सक्रिय भएको बताएका छन् ।

    नेकपाको अध्यक्ष समेत रहेका ओलीले पार्टीको गण्डकी प्रदेशस्तरीय भेलालाई सोमबार पोखरामा सम्बोधन गर्दै अनावश्यक विषयलाई उचालेर जनतामा भ्रम छरेको उनको आरोप छ ।

    ‘गैरविषयलाई विषय बनाउने, कहिले के कहिले के भनेर सरकारको आलोचना गर्ने,’ प्रधानमन्त्रीको भनाई थियो ।

    विपक्षीले आफ्नो अस्तित्व रक्षाका लागि मात्र यो सबै हतकण्ठा गरिरहेको उनको भनाई छ ।

    प्रधानमन्त्रीको अनुसार विपक्षी कुखुराका चल्ला जस्तै हुन् ।

    ‘कुखुराका चल्लाहरूले फट्यांगो टिपेर गुरर कुद्छ। त्यो चल्लाले के टिप्यो थाहा नपाइकन अरू चल्लाहरू पछिपछि कुद्छन्,’ प्रधानमन्त्री ओलीले भने ।

    संसदमा विधेयक पेश हुने भन्दै त्यहाँ छलफल गर्नुको साटो जनतामा भ्रम छर्ने र सरकारलाई अलोकप्रिय बनाउन भूमिका खेल्ने काम भइरहेको उनको भनाई छ ।

    संसदमा विषयवस्तुमा छलफल गर्नुको साटो कुरै नबुझी विरोध गर्ने गरेको उनको भनाई छ ।

    मिडिया काउन्सिल, सूचना प्रविधि, मानव अधिकार सम्बन्धी विधेयक संसदमा दर्ता भएपनि यसको विरोधमा दलहरु उभिएका छन् । प्रधानमन्त्रीले यो प्रवृत्तिको आलोचना गरेका हुन् ।

  • सेक्युरिटी प्रेस काण्डको छानविन हुनुपर्छ : देउवा

    सेक्युरिटी प्रेस काण्डको छानविन हुनुपर्छ : देउवा

    बुटवल । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा थप छानविनको आवश्यकता औल्याएका छन् ।

    निवर्तमान सञ्चारमन्त्री गोकुल बास्कोटा मात्र यस काण्डमा एक्लै संलग्न हुन नसक्ने भन्दै छानविनको आवश्यकता औल्याएका हुन् ।

    एक अर्बको डील मन्त्री एक्लैले गर्न नसक्ने भन्दै उनले उच्चस्तरीय छानविनको माग गरेका छन् ।

    कांग्रेस रुपन्देहीका नेता तथा राष्ट्रिय सभा सदस्य दुर्गाप्रसाद उपाध्यायको श्रद्धान्जली सभाका लागि बुटवलमा पुगेका उनले बास्कोटा एक्लैले एक अर्बको डिल गर्न सम्भव नहुने तर्क गरे ।

    यस काण्डलाई सामान्य रुपमा लिन नहुने भन्दै बास्कोटा एक्लैले त्यत्रो काण्ड गरे भनेर पत्याउने आधार नभएको उल्लेख गरे ।

    ७० करोड रुपैया घुसको डिल गर्दैगर्दाको अडियो सार्वजनिक भएपछि सूचना तथा संचार मन्त्री गोकुल बास्कोटाले राजिनामा दिएका छन् ।

    ‘भ्रष्टाचार गर्दिन र अरुलाई पनि गर्न दिन्न’ भन्ने प्रधानमन्त्री एकपछि अर्को भ्रष्टाचार काण्डमा फसेको भन्दै देउवाले प्रधानमन्त्रीको समेत आलोचना गरे ।

    भ्रष्टाचारका अनेकन काण्ड आइरहेको तर सरकार भने भ्रष्टाचारी लुकाउन नीतिगत रुपमै लागेको उनले उल्लेख गरे ।

  • कलंकीमा ट्रकले एक दर्जन गाडीलाई ठक्कर दियो

    कलंकीमा ट्रकले एक दर्जन गाडीलाई ठक्कर दियो

    काठमाडौं । काठमाडौंको कलंकीमा एक ट्रकको ब्रेक फेल हुँदा करीव एक दर्जन सवारी साधनमा क्षति पुगेको छ । दूर्घटनामा एक जनाको ज्यान गएको र कम्तिमा आधा दर्जन व्यक्ति घाइते भएको प्रहरीले जनाएको छ ।

    सोमबार साँझ थानकोटबाट कलंकीतर्फ आउँदै गरेको ट्रकले ढुंगाअड्डाको ओह्रालोमा ट्याक्सी, कार, जिप, स्कुटरलगायतका सवारी साधनलाई एकसाथ ठक्कर दिएको थियो ।

    ब्रेकफेल भएको ना ६ ख २८७१ नम्बरको ट्रकले एउटा स्कोरपियो गाडी, ट्याक्सी, भ्यान, दुईवटा मोटरसाइकल, एउटा कार र स्कुटरलाई ठक्कर दिएको प्रहरील पुष्टी गरेको छ ।

    दुर्घटनामा घाइते भएकालाई उपचारका लागि ट्रमा सेन्टरमा ल्याइएको छ । चालक प्रहरीको नियन्त्रणमा छन् ।

  • आलोचित बन्यो प्रधानमन्त्रीको वर्थडे केक

    आलोचित बन्यो प्रधानमन्त्रीको वर्थडे केक

    काठमाडौं । रोगले थलिएका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ६९ औं जन्मोत्सव जन्मस्थान तेह्रथुमको आठराईमा मनाउने इच्छा देखाए । सोहीअनुसार व्यवस्थापनमा जुट्यो स्थानीय सरकार ।

    हजारौं विद्यार्थीलाई पाठ्यक्रम बाड्ने, वृद्धवृद्धालाई न्यानो लुगा बाड्ने र केक काट्ने रवाफिलो शैलीसहित हेलिकोप्टरमा प्रधानमन्त्री जन्मस्थान पुगेका थिए ।

    त्यहा पुगुन्जेल त सबैको सहानुभूति नै थियो । तर, जब उनले काटेको केक सार्वजनिक भयो, यो विषय अहिले सामाजिक संजालमा आलोचनाको विषय बनेको छ ।

    ओलीको जन्मदिनमा बनाइएको केकमा नेपालको नक्सा रहेको छ । उनले त्यो नक्सा काटेका छन् भने उच्च पदस्थ अधिकारीले केक खाएका छन् ।

    यसलाई धेरैले देशप्रतिको अपमान भन्दै प्रधानमन्त्रीको आलोचना गरेका हुन् ।

    यो केक अर्डर गर्ने निकायलाई प्रधानमन्त्रीले नै यस्तो केक बनाउने दिएका थिए वा स्थानीय सरकारहरुले चाकडी गरेका हुन भन्ने त खुलेको छैन । तर, गोकुल बास्कोटा काण्ड नसेलाउँदै अब फेरी केक काण्डले माहोल तताउने निश्चित रहेको छ ।

  • आज भारतमा ट्रम्पको भब्य स्वागत, अहमदावादमा नमस्ते ट्रम्प

    आज भारतमा ट्रम्पको भब्य स्वागत, अहमदावादमा नमस्ते ट्रम्प

    अहमदावाद । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दम्पतीलाई आज भारतमा भब्य स्वागत हुँदैछ ।

    बिहान साढे ११ बजे गुजरातको अहमदावाद पुग्ने अमेरिकी राष्ट्रपति ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी करीव २२ किलोमिटर लामो रोड शोमा निस्कनेछन् । त्यहाँबाट उनीहरुलाई मोटेरा रंगशाला लगिदैछ ।

    यो रंगशाला संसारकै ठूलो रंगशाला हो । यही कार्यक्रममार्फत रंगशालाको उद्घाटन समेत हुने भएको छ ।

    सन् २०१५ बाट निर्माण थालिएको यो रंगशालामा १ लाख १० हजार मानिसले कुर्सीमै बसेर खेल हेर्न सक्ने क्षमता रहेको छ ।

    यस रंगशालामा हजारौं मानिसले उनको जयजयकार गर्नेछन् । भारत उड्नुअघि आफू भारत भ्रमणमा उत्साहित रहेको प्रतिक्रिया राष्ट्रपति ट्रम्पले दिएका छन् ।

    ट्रम्पका साथमा श्रीमती, छोरी तथा ज्वाइसमेत भारत आएका छन् । उनीहरु अहमदावादस्थित विमानस्थलमा उत्रिने छन् ।

    नमस्ते ट्रम्पको कार्यक्रम सकिएपछि राष्ट्रपतिको टोली आग्रास्थित ताजमहल पुग्नेछ ।

    त्यहा करीव १ घण्टा बिताएपछि उनी दिल्ली प्रस्थान गर्नेछन् । दिल्लीमा उच्चस्तरीय भेटवार्ताका कार्यक्रम राखिएका छन् । आफ्नो कार्यकालमा पहिलो पटक ट्रम्प भारत भ्रमणमा आएका हुन् ।

  • वामदेवका लागि संविधान संशोधनको तयारी, कांग्रेसको आपत्ति

    वामदेवका लागि संविधान संशोधनको तयारी, कांग्रेसको आपत्ति

    काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले बामदेव गौतमको शर्त अनुसार संविधान संशोधनको तयारी गरेको छ ।

    यसका लागि शनिबार पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको संयोजकत्वमा एक कमिटि गठन भएको छ ।

    गौतमलाई नेकपाले राष्ट्रियसभा सदस्य बनाउन प्रस्ताव गरेको थियो । तर, बामदेवले भने राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री बन्न सक्ने गरी संविधान संशोधनको शर्त राखेका छन् ।

    उनको शर्तअनुसार शनिबार कमिटी गठन भएको हो । कमिटीले संविधान संशोधनको वातावरण बनाउने छ ।

    तर, प्रमुख प्रतिपक्षी कांग्रेस भने यस प्रावधानको विरोधमा उत्रिएको छ ।

    मधेश, जनजाति, दलित, थारूलगायतले यसअघि संविधान संशोधनको माग गरे पनि तयार नदेखिएको नेकपा एक व्यक्तिका लागि संविधान संशोधनमा तयार देखिनु तमासा भएको कांग्रेसले प्रतिक्रिया दिएको छ ।

    कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ट्वीट गरेका छन् । उनले गम्भीर राष्ट्रिय विमर्शविना एक व्यक्तिको अनुहार हेरेर संविधान संशोधन गर्न नहुने स्पष्ट पारेका छन् ।

    उनले भनेका छन्, ‘मधेसले माग्यो, संविधान संशोधन, भनियो हुन्न, जनजातिले मागे हुन्न भनियो, दलित, थारु अनि अरुले मागे तिनलाई पनि हुन्न भनियो, तर आज कोहि एक ब्यक्तिको अनुहार हेरेर संशोधन तयारी ? गम्भीर राष्ट्रिय विमर्शविना यो के तमासाको तयारी कमरेडहरु ?’

  • जन्मदिन मनाउन तेह्रथुम जाँदै प्रधानमन्त्री

    जन्मदिन मनाउन तेह्रथुम जाँदै प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज ६९ औं जन्मदिन मनाउँदैछन् । सोही सिलसिलामा उनी जन्मथलो, तेह्रथुमको आठराइ गाउँपालिका जाँदैछन् ।

    उनी हेलिकोप्टर चढेर आठराइ, सल्ले जान लागेका हुन् । ओली २००८ साल फागुन ११ गते तेह्थुमको आठराईमा जन्मिएका हुन् ।

    तर, सानैमा उनको परिवार झापा झरेको थियो । प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणको तयारी भइरहेको छ ।

    त्यसपूर्व उनले जन्म दिनको अवसरमा जन्मथलो जाने ईच्छा देखाएका हुन । उनको पुख्र्यौली घर रहेको स्थानमा प्रधानमन्त्रीको निजी खर्चमा हेलिप्याड बनाइएको छ ।

    प्रधानमन्त्रीले आफ्नो पुख्यौली घरजग्गालाई ट्रष्टको रूपमा विकास गर्ने इच्छा समेत व्यक्त गरेका छन् । जन्मस्थानमा उनले विभिन्न विकास योजनाका प्याकेज घोषणा तथा शिलान्यासको तयारी समेत गरिएको छ ।

  • युवराज खतिवडा नदोहोरिने, बामदेवलाई सांसद बनाउन गृहकार्य

    युवराज खतिवडा नदोहोरिने, बामदेवलाई सांसद बनाउन गृहकार्य

    काठमाडौं । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का लागि उपाध्यक्ष बामदोव गौतम महत्वपूर्ण स्थानमा छन् । उनी पूर्वएमाले र पूर्वमाओवादी दुबै खेलमा पुलको रुपमा काम गर्न सक्छन् ।

    त्यसकारण नेकपाभित्र उनलाई कुनै पनि मानेमा कमजोर आकिदैन । पार्टीले हालै उनलाई वरिष्ठ उपाध्यक्षको पद दिलाएको थियो ।

    अब भने सांसद बनाउने गृहकार्यका शुरु भएको छ । प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ चुनाव हारेका व्यक्ति हुन् ।

    तर नेकपाले उनलाई सांसद बनाउन चाहेको छ । शनिबार बसेको सचिवालय बैठकमा समेत उनलाई सांसद बनाउने सम्बन्धमा छलफल भएको थियो । तर, उनी भने संविधान संशोधनको पक्षमा छन् ।

    निर्वाचन हारेको व्यक्तिसमेत मन्त्री, प्रधानमन्त्री हुन सक्ने प्रावधानको पक्षमा छन् । अहिले निर्वाचन हारेको व्यक्ति अन्य माध्यमबाट सांसद बनेपनि कार्यकारी पदमा जान पाउँदैनन् ।

    यस्तो अवस्थामा केवल सांसद मात्र नबन्ने बामदेवको अडान छ ।

    नेकपाले भने अर्थमन्त्री डा. युवराज खतिवडाको सांसद पद समाप्त भएपछि उनलाई बिदा गर्ने र उनको स्थानमा राष्ट्रपतिबाट मनोनयन हुने कोटाबाट बामदेवलाई सांसद बनाउने तयारी गरेको छ ।

    यस विषयमा शनिबार समेत छलफल भएको थियो । यसो हुँदा पुनः एक पटक व्यापक रुपमा मन्त्रीपरिषद्समेत हेरफेर हुनेछ ।

    किनकी हालै सूचना तथा संचार प्रविधि मन्त्रालय खाली भएको छ ।

    यसअघि शहरी विकास मन्त्रालयसमेत संचार मन्त्री गोकुल बास्कोटाले नै सम्हालेका थिए । तर उनीमाथि घुसकाण्ड लागेपछि राजिनामा गरे ।

  • गोकुल काण्डबारे प्रचण्ड भन्छन् : गल्ती गर्नेले छूट पाउँदैनन्

    गोकुल काण्डबारे प्रचण्ड भन्छन् : गल्ती गर्नेले छूट पाउँदैनन्

    नवलपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले गोकुल बास्कोटाको अडियो सार्वजनिक भएको घटनाबारे सार्वजनिक रुपमा मुख खोलेका छन् ।

    उनले गल्ती गर्ने कसैलाई पनि पार्टीबाट छुट नहुने स्पष्ट पारेका छन् । प्रेस संगठन नेपाल नवलपुरले शनिबार आयोजना गरेको पत्रकार भेटघाटमा प्रचण्डले गल्ती गर्नेलाई पार्टीबाट कुनै पनि प्रकारको संरक्षण नहुने स्पष्ट पारे ।

    जसले गल्ती गर्छ, ऊ कारवाहीको भागिदार हुनै पर्ने उनको भनाई छ । कमिसन रकमका लागि मोलमोलाई गर्दै गरेको अडियो सार्वजनिक भएपछि सूचना तथा संचार प्रविधि मन्त्री गोकुल बास्कोटाले राजिनामा दिएका छन् ।

    उनको अडियो काण्डपछि वर्तमान सरकारको भ्रष्टाचार विरोधी अभियानबारे धेरैले प्रश्न उठाएका छन् ।

    सञ्चारमन्त्रीको विषयमा आएको कुराबारे प्रधानमन्त्रीले तत्काल पहल लिएर उहाँलाई राजीनामा दिने र बाँकी अनुसन्धान गर्नुपर्ने विषय भए सम्बन्धित निकायले अनुसन्धान गर्ने भन्ने पहल लिएकाले गोकुल बास्कोटा काण्ड समाधानको विषयतिर गएको प्रचण्डको भनाई छ ।

    अहिले विषय अनुसन्धानको प्रक्रियामा रहेकाले गल्ती गर्नेको पक्षमा पार्टी नउभिने स्पष्ट पारे । उनले पार्टी र सरकारका कामलाई प्रभावकारी बनाउने सम्बन्धमा गहन छलफल भइरहेको समेत उल्लेख गरेका छन् ।

  • परराष्ट्र मन्त्री जेनेभातर्फ

    परराष्ट्र मन्त्री जेनेभातर्फ

    काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली जेनेभा प्रस्थान गरेका छन् । १२ फागुनबाट शुरु हुने संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को ४३ औं उच्चस्तरीय बैठकमा भाग लिन उनी जेनेभा प्रस्थान गरेका हुन् ।

    उनले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दैछन् । जेनेभामा द्वन्द्वकालीन मुद्दा निरुपणमा नेपालले पूर्णप्रतिबद्धता जनाउने मन्त्री ज्ञवालीले उल्लेख गरेका छन् ।

    यसका साथै नेपालले बालअधिकारको रक्षा, बालबालिकाको शिक्षा, स्वास्थ्य, पोषण, मनोरञ्जन, खेलकूदलगायत सबै किसिमका अधिकारको रक्षामा नेपालले निर्वाह गरेका प्रवद्र्धनात्मक भूमिकाबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारीसमेत गराउने भएको छ ।

    जेनभामा मन्त्री ज्ञवालीले संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि मणिप्रसाद भट्टराईले आयोजना गर्ने स्वागत समारोहमा भाग लिनेछन् ।

    राष्ट्रसंघीय मानव अधिकार उच्चायुक्तसँग भेटवार्ताको कार्यक्रम समेत तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    विभिन्न मुलुकका प्रतिनिधिसँग द्धिपक्षीय भेटवार्तासमेत हुने भएको छ ।

    उनी १६ फागुनमा स्वदेश फर्कने भएको छन् । यसअघि मन्त्री ज्ञवाली बंगलादेश भ्रमणबाट दुई दिन अघि मात्र फर्किएका थिए ।

  • कास्कीमा कार दूर्घटना, एक जनाको ज्यान गयो

    कास्कीमा कार दूर्घटना, एक जनाको ज्यान गयो

    कास्की । कास्कीमा कार दूर्घटना हुँदा एक जनाको ज्यान गएको छ । कास्कीको पोखरा महानगरपालिका–२२ कालिमाटीमा कार दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको प्रहरीले पुष्टी गरेको छ ।

    दुर्घटनामा तीन जना घाइते भएका छन् । मृत्यु हुनेमा कारमा सवार कास्कीको पोखरा महानगरपालिका, १७ बस्ने २१ वर्षीया जमुना क्षेत्री रहेको प्रहरीले जनाएको छ ।

    शुक्रबार करीव साढे बजे कालिमाटी नजिकै ग २ ख ७७६३ नम्बरको कार अनियन्त्रित भई सडकको पर्खालमा ठोक्किएको थियो ।

    दुर्घटनामा तनहुँ बन्दीपुर घर भई अहिले पोखरा महानगरपालिका १७ बस्ने २१ वर्षीया विना थापामगर, उनका ४ वर्षीय छोरा अनिष थापामगर र मृतक जमुनाकी डेढ वर्षकी छोरी घाइते छन् ।

    घाइतेको नमस्ते अस्पताल र बालिकाको मणिपाल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    गुल्मी घर भएका २८ वर्षीय शिव पाण्डेले कार चलाएका थिए । उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनले मापसे गरेको प्रहरीको बताएको छ ।

  • आज महाशिवरात्री, शिवको पूजा आरधना गरिदै

    आज महाशिवरात्री, शिवको पूजा आरधना गरिदै

    काठमाडौं । आज महाशिवरात्री पर्व । हिन्दूधर्मालम्बीका लागि आराध्यदेव भगवान शिवको पूजाआराधना गर्ने विशेष दिनका रुपमा देशभर धुमधामका साथ मनाइदैछ ।

    आज नेपाल र भारतका शिव मन्दिरमा दर्शनार्थीको ठूलो भीड लाग्छ । पशुपतिनाथ मन्दिरमा १० लाख भन्दा बढी भक्तजन यस दिनको अवसर पारी पुग्छन् ।

    शिवजी उत्पत्ति भएको रातका नामबाट शिवरात्री नामकरण भएको मानिन्छ । कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिवरात्री मनाउन थालिएको हो ।

    शुक्रबार दिउँसो ५ः४० बजेसम्म त्रयोदशी तिथि रहेको छ । त्यसपछि चतुर्दशी प्रारम्भ हुन्छ ।

    चतुर्दशी तिथि शनिबार बेलुकी १८ः३७ बजेसम्म रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिको पात्रोमा उल्लेख छ ।

    मध्यरातमा चतुर्दशी तिथि शुक्रबार परेकाले यसैदिन महाशिवरात्रि पर्व मनाउने निर्णय गरिएको हो ।

    वैदिक सनातन हिन्दू धर्मावलम्बी आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरेर शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्दछन् ।

    नेपालसहित भारतमा समेत उत्तिकै महत्वका साथ यो पर्व मनाइन्छ ।

  • आइतबार न्यूयोर्कमा नेजाको सामुदायिक भेला

    आइतबार न्यूयोर्कमा नेजाको सामुदायिक भेला

    न्यूयोर्क/अमेरिका
    नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले आउँदो आइतवार फेबु्रअरी २३ गतेका दिन न्यूयोर्कमा सामुदायिक भेला गर्ने भएको छ । न्यूयोर्कमा आउँदो मे २ र ३ मा हुने नेजाको सातौं अधिवेशनलाई केन्द्रीत गरी सामुदायिक भेला गर्न लागिएको हो ।
    पत्रकार र नेपाली समुदायका क्रियाशिल संघ संगठनका प्रतिनिधिहरुका बीचमा गरिने अन्तरक्रियामा न्यूयोर्क र आसपासमा रहेको नेपाली समुदायलाई कार्यक्रममा उपस्थित हुन नेजाले आग्रह गरेको छ ।

    नेजाका सचिब सुरज भण्डारीले एक प्रेस बिज्ञप्ती जारी गर्दै सातौं अधिवेशन तथा १४ औं वार्षिक साधारण सभालाई मध्यनजर गरी नेजाले विभिन्न कार्यक्रम संचालन गरिरहेको जानकारी गराएका छन् । अधिवेशनको तयारी भइरहेको र सदस्यता वितरण तथा नविकरणको कामलाई तिव्रता दिइएको पनि बिज्ञप्ती मार्फत जनाकारी गराइएको छ । कार्यक्रम आइतबार साँझ ४ बजेदेखि क्विन्सको ज्याक्सन हाइटस्थित रुजभेल्ट एभिन्यूमा रहेको भान्छा घर–२ मा हुनेछ ।

  • सन्दीपले घोषणा गरेअनुसार रकम धुर्मुस-सुन्तलीलाई दिए

    सन्दीपले घोषणा गरेअनुसार रकम धुर्मुस-सुन्तलीलाई दिए

    काठमाडौं । चर्चित युवा क्रिकेटर सन्दीप लामिछानेले निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि आफूले घोषणा गरेअनुसारको रकम हस्तान्तरण गरेका छन् ।

    चितवनमा धुर्मुस सुन्तली फाउन्डेशनले बनाइरहेको रंगशालाका लागि सन्दीपले १ लाख ४१ हजार ५ सय ६८ रुपैयाँ प्रदान गरेका हुन् ।

    बिहीबार काठमाडौंमा सन्दीपले आफूले घोषणा गरेको रकम धुर्मुस सुन्तलीलाई हस्तान्तरण गरेका हुन् ।

    सन्दीपले नेपाल, अमेरिका र ओमान सम्मिलित त्रिकोणात्मक शृंखलाका क्रममा आफूले लिने हरेक विकेट बराबर ८ हजार ८ सय ४८ रूपैयाँ सहयोगको घोषणा गरेका थिए ।

    सन्दीपले अमेरिकासँगको पहिलो खेलमा २ र दोस्रो खेलमा ६ विकेटसहित ८ विकेट लिएका थिए ।

    सो बराबरको रकम उनले बिहीबार हस्तान्तरण प्रदान गरेका हुन् ।

    सन्दीपले आफ्नोतर्फबाट ७० हजार ७ सय ४ रुपैँया र उनका एजेन्ट तल्हा इसामले त्यति नै रकम थपेर सहयोग गरेका हुन्।

  • संचार मन्त्रालयको जिम्मा खतिवडालाई

    संचार मन्त्रालयको जिम्मा खतिवडालाई

    काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी अर्थमन्त्री डा. खतिवडाले पाएका छन् ।

    गोकुल बास्कोटाले दिएको राजीनामा स्वीकृत गर्दै राष्ट्रपति विद्यादेवि भण्डारीले अर्थमन्त्रीबाट जिम्मेवारी सम्हाल्ने गरी कार्यभार तोकिदिएकी हुन् ।

    प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बास्कोटाले दिएको राजीनामा स्वीकृत गरी सञ्चार मन्त्रालयको जिम्मा अर्थमन्त्री डा. खतिवडाले सम्हाल्ने गरी तोकेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

    सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका विषयमा स्वीस कम्पनीका एजेन्टसँग कमिसनका विषयमा छलफल भएको अडियो सार्वजनिक भएपछि बास्कोटाले बिहीबार प्रधानमन्त्री समक्ष राजीनामा बुझाएका हुन् ।

    उनको राजिनामा बिहीबारै स्वीकृत भएको छ । यसअघि बास्कोटाले सञ्चारसँगै शहरी विकास मन्त्रालय समेत सम्हाल्दै आएका थिए ।

    उनको राजीनामा सँगै शहरी विकास मन्त्रालयको जिम्मा राष्ट्रपतिले भौतिक पूर्वाधारमन्त्री बसन्तकुमार नेम्वाङले हेर्ने गरी तोकिदिएकी छिन् ।

  • बास्कोटाले गरे राजिनामा

    बास्कोटाले गरे राजिनामा

    काठमाडौं । आर्थिक लेनदेनका लागि मोलमोलाई गरेको अडियो सार्वजनिक भएसँगै सूचना तथा संचार प्रविधि मन्त्री गोकुल बास्कोटाले राजिनामा गरेका छन् ।

    उनले प्रधानमन्त्री समक्ष राजिनामा बुझाएका हुन् । आफूमाथि उठेको प्रश्नका कारण नैतिक रुपमा जिम्मेवारी लिँदै राजिनामा गरेको मन्त्री बास्कोटाले उल्लेख गरेका छन् ।

    सेक्यूरिटी प्रेस खरीद गर्ने सम्बन्धमा उनले कमिसनवापत प्राप्त हुने रकमका सम्बन्धमा गरेको कुराकानीको अडियो टेप सार्वजनिक भएपछि उनीमाथि नैतिक दवाव सिर्जना भएको हो ।

    यद्दपी उनले यो कमिसन लिन भने पाएनन् । किनकी उनले स्वीस कम्पनीबाट किन्ने भनेको सेक्यूरिटी प्रेसको सम्भौता पछि फ्रान्सेली कम्पनीबाट किन्ने निर्णय गरिएको थियो ।

    यसबारे लेखासमितिले समेत निर्देशन दिने तयारी गरेको थियो । तर, त्यो निर्देशन आउन नपाउँदै अडियो सार्वजनिक भएको हो ।

    बिहीबार बिहान धनगढी रहेका मन्त्री बास्कोटा काठमाडौं आएलगत्तै दिउँसो राजिनामा गरेका हुन् ।

  • संचारमन्त्री बास्कोटाले आर्थिक मोलमोलाइ गरेको अडियो सार्वजनिक, राजनीतिमा हङ्गामा

    संचारमन्त्री बास्कोटाले आर्थिक मोलमोलाइ गरेको अडियो सार्वजनिक, राजनीतिमा हङ्गामा

    काठमाडौं । सूचना तथा संचार प्रविधि मन्त्री गोकुल बास्कोटाले आर्थिक मोलमोलाइ गरेको अडियो सार्वजनिक भएपछि राजनीति तात्तिएको छ ।

    सेक्युरिटी प्रेस खरिद गर्ने सम्बन्धमा स्विस कम्पनीका एजेन्टसङ्गको अडियो वार्तामा मन्त्री बास्कोटाले कर्मचारीलाई अश्लील शब्दसमेत बोलेका छन् ।

    उनले भनेका छन्, “यस्तो कुरामा यी मु… कर्मचारीसँग लग्यो भने यिनीहरुले हेप्छन्…’

    अडियो सम्वादमा सेक्युरिटी प्रेसबारे मन्त्री बास्कोटाले कर्मचारीलाई संकेत गर्दै एजेन्टसँग भनेका छन्, ‘यो मु….ले बनाएको त ३५ अर्बको छ नि, यो ३५ अर्ब नै नभएपछि, २७ अर्बको निस्केपछि २८ अर्ब बनाउनोस् ।’

    अडियो सम्वादमा मन्त्री बास्कोटासँग कुरा गर्ने व्यक्ति स्वीस कम्पनको एजेन्ट भएको खुलेको छ ।

    अडियोको सुरुमै एजेन्टले मन्त्री बास्कोटालाई भनेका छन्,‘ यो १२ गते १२ बजेपछि स्वीस एम्बेसी आउँछ.. समय मिलाउनुहोला ।’

    अडियोमा सेक्युरिटी प्रेसका एजेन्ट र मन्त्री बास्कोटावीच ७४–७५ करोड कमिसन लेनदेनबारे कुरा भएको पाइएको छ ।

    मन्त्री बास्कोटाले कर्मचारीहरुलाई नभन्नु भन्दै कमिसन लेनदेनमा सहमति जनाएको अडियो सम्वाद बाहिरीएको हो ।

    मन्त्री बास्कोटासँग कमिसनबारे सम्वाद गर्ने व्यक्ति स्वीस कम्पनीका एजेन्ट विजय मिश्र हुन् ।

    उनैले यो सम्वाद बाहिर ल्याएका हुन ।

    मन्त्रीले ठूलो कमिसनको लोभमा स्विस कम्पनीलाई छाडेर जर्मन कम्पनी सङ्ग सम्झौताको प्रक्रिया अगाडी बढाएपछी मिश्रले अडियो पत्रकारलाई दिएका हुन ।

    अडियो सार्वजनिक भए सङ्गै प्रधानमन्त्री र प्रचण्ड बीच भेटवार्ता भएको छ

  • बाजुरामा भूकम्पको धक्का

    बाजुरामा भूकम्पको धक्का

    बाजुरा । बाजुरामा गतराती भूकम्पको धक्का महसुश भएको छ । बाजुरामा चार दशमलव ३ रेक्टरको भूकम्पको धक्का महसुश भएको हो ।

    बाजुराको हिमाली गाउँपालिका र हुम्ला जिल्लाको सिमानामा केन्द्रबिन्दु बनाइ बुधबार राति ९ बजेर १३ मिनेटमा भूकम्प गएकोे भूकम्प मापन केन्द्र सुर्खेतले उल्लेख गरेको छ ।

    भूकम्पको क्षतिबारे कुनै विवरण सार्वजनिक भएको छैन । भूकम्पको धक्का आसपासका जिल्लासम्म अनुभव गरिएको थियो । १२ वैशाख २०७२ को गोरखा भूकम्पपछि पश्चिम नेपालमा ससाना धक्का गइरहेका छन् ।

  • हङकङमा कोरोनाले लियो दोस्रो व्यक्तिको ज्यान

    हङकङमा कोरोनाले लियो दोस्रो व्यक्तिको ज्यान

    हङकङ । हङकङमा कोरोना भाइरसबाट दोस्रो व्यक्तिको ज्यान गएको छ । यसअघि एक जनाको ज्यान गएको थियो । हङकङ चीनको छिमेकी मुलुक हो ।

    फेब्रुअरी १४ मा उनी कोरोनाबाट संक्रमित बनेका थिए । संचारमाध्यमका अनुसार ७० वर्षका वृद्धको मृत्यु भएको हो ।

    बुधबार बिहान मार्गरेट अस्पिटलमा उनको मृत्यु भएको हो। चीनको वुहान शहरबाट फैलिएको कोरोना भाइरसको संक्रमण हालसम्म हङकङमा ६३ जनामा पुगेको छ ।

    बुधबारसम्म विश्वभर कोरोनाले ७५ हजार १९६ जनालाई संक्रमित बनाइसकेको छ ।

    यस भाइरसले २ हजार १० को मृत्यु भइसकेको छ । १४ हजार ४५१ जना भने उपचारपछि स्वस्थ भई घर फर्किएका छन् ।

  • चीनबाट फर्किएका नेपालीमा कोरोना नभएको पुष्टी

    चीनबाट फर्किएका नेपालीमा कोरोना नभएको पुष्टी

    काठमाडौं । चीनको वुहानबाट फर्किएका १ सय ७५ जना नेपाली कोरोना भाइरसबाट मुक्त रहेको पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयले बुधबार पत्रकार सम्मेलन गर्दै यस्तो जानकारी गराएको हो ।

    स्वास्थ्य परीक्षणले १ सय ७५ जनामै संक्रमण नदेखिएको पुष्टि गरेको मन्त्रालयले जानकारी दिएको छ ।

    वुहानबाट फर्किएका सबैलाई क्वारेन्टाइन स्थल खरिपाटीमा राखिएको छ । सोही दिने परीक्षण गर्न सबैको नाक र घाँटीको र्‍यालको नमूना संकलन गरिएको थियो ।

    नमूना संकलन गर्न मात्र चार घण्टा समय लागेको कार्यक्रममा जानकारी दिइयो ।

    क्वारेन्टाइनमा बसेकाको दुई पटक स्वास्थ्य परीक्षण गर्ने प्रावधान रहेको छ । पहिलो परीक्षणले संक्रमण नभएको पुष्टी गरेको हो ।

    वुहानबाट नेपाल एयरलाइन्सको जहाज प्रयोग गरी ल्याइएका नेपालीलाई खरिपाटीस्थित विद्युत प्राधिकरणको तालिम केन्द्रमा राखिएको छ । उनीहरुलाई शनिबार बिहान काठमाडौं ल्याइएको हो ।

  • ३२९ कैदीको कैद मिनाहा

    ३२९ कैदीको कैद मिनाहा

    काठमाडौं । सरकारले ३२९ जना कैदीको कैद मिनाहा गरिदिएको छ । प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ३२९ कैदीको बाँकी कैद मिनाहा गर्ने निर्णय गरेकी हुन् ।

    मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले कैद मिनाहा गर्ने प्रावधान रहेको छ । उनीहरुको कैद मिनाहा आजैबाट लागु हुने भएको छ ।

    ३२९ जना कैदीको कैद मिनाहा गरिएको राष्ट्रपति कार्यालयले उल्लेख गरेको छ ।

    नेपालको संविधानको धारा २७६, फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ तथा फौजदारी कसूर (कैद कट्टा) नियमावली, २०७६ को प्रावधानअनुसार राष्ट्रपतिले कैद मिनाहाको निर्णय भएको कार्यालयले जनाएको छ ।

    आज ७० औं प्रजातन्त्र दिवस मनाइदैछ । यस अवसरमा नेपाली सेनाले सैनिक मञ्चमा विशेष कार्यक्रम आयोजना गर्दैछ ।

  • पूर्वराजा असन्तुष्ट, भन्छन् ‘प्रजातन्त्र व्यवहारमा देखिनुपर्छ’

    पूर्वराजा असन्तुष्ट, भन्छन् ‘प्रजातन्त्र व्यवहारमा देखिनुपर्छ’

    काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह अहिलेका शासकहरुको काम गर्ने शैलीबाट असन्तुष्ट छन् ।

    त्यसलाई उनले ७० औँ प्रजातन्त्र दिवसका अवसरमा जारी गरेको शुभकामना सन्देशमा प्रेशित गरेका छन् ।

    राजनीतिक दललाई उनले व्यवहारमा प्रजातान्त्रिक आचरण देखाउन सन्देश दिएका छन्। उनले प्रजातन्त्र शब्दमा भन्दा कर्ममा देखिनु पर्ने उल्लेख गरेका छन् ।

    अहिले भारतमा रहेका पूर्वराजा ज्ञानेन्द्रले ‘प्रजातन्त्र शब्दमा होइन, कर्ममा उत्रनु पर्दछ, रुपमा होइन, सारमा झल्कनु पर्दछ, भनेका छन् ।

    प्रजातन्त्र कुनै अलंकार वा रुपान्तरण मात्र होइन। त्यो जीवनपद्धति र व्यवहारमा देखिनु पर्दछ।

    राष्ट्रको प्रतिष्ठा प्रवर्द्धन र आम जनचाहनाको परिपूर्ति नै प्रजातन्त्रको प्राण हो । प्रजातन्त्र देश र जनताको निम्ति प्रतिफलकारी हुनुपर्ने उनको धारणा छ ।

    केही टाठाबाटाका निमित्त नभई प्रजातन्त्र सबै जनता तथा सिंगो देशको निम्ति प्रतिफलकारी हुनुपर्ने उनको भनाई छ ।