Category: समाचार

  • आज प्रजातन्त्र दिवस, देशभर मनाइदै

    आज प्रजातन्त्र दिवस, देशभर मनाइदै

    काठमाडौं । एक सय चार वर्षे जहाँनियाँ राणाशासन अन्त्य भएर प्रजातन्त्र बहाली भएको दिन आज फागुन ७ गते । यसै दिनको सम्झनामा आज नेपालमा ७० औँ प्रजातन्त्र दिवस मनाइदैछ ।

    देशमा प्रजातन्त्र घोषणा भएको दिनको सम्मान गर्दै सरकारले फागुन ७ मा औपचारिक समारोह आयोजना गर्छ ।

    यस दिन नेपाली सेनाले सैनिक मञ्चमा विशेष कार्यक्रम आयोजना गर्छ । जहाँ राष्ट्रपतिसहित सबै विशिष्ट अधिकारी पुग्ने गर्छन् ।

    प्रजातन्त्र आएपछि मुलुकले धेरै आरोह अवरोह भोगेको छ । तर, यसै दिनको जगमा लोकतन्त्र हुँदै मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको छ।

    सोहीकारण सरकारले समेत यस दिनलाई विशेष महत्व दिने गरेको छ । यस दिनको अवसर पारी प्रधानमन्त्री केपी शर्मा ओलीले जन्मसिद्ध श्रेष्ठताको शासन प्रणाली अन्त्य गरिएको बताएका छन् ।

    अब समृद्ध नेपाल निर्माणमा योगदान गर्न जनतामा उनले अपिल समेत गरेका छन् ।

    ओलीले भनेका छन्,’मुलुकको समृद्धि र जनताको सुख हासिल गर्ने राष्ट्रिय आकाङ्क्षा सफल बनाउन एकजुट भई योगदान गर्न दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक आहृवान गर्दछु ।’

  • रौतहटमा गोली हानाहान, पटेल पक्राउ

    रौतहटमा गोली हानाहान, पटेल पक्राउ

    रौतहट । व्यक्ति हत्यालगायत विभिन्न अपराधको अभियोग लागेका तराई जनतान्त्रिक मुक्ति मोर्चाका पूर्वनेता कामेश्वर पटेल कुर्मीलाई पक्राउ गर्न प्रहरीले गोली चलाउनु परेको छ । प्रहरीले गोली हानेर उनलार्ई नियन्त्रणमा लिएको जानकारी दिएको छ ।

    जिल्ला प्रहरी कार्यालय रौटहट र बाराबाट खटिएको संयुक्त प्रहरी टोलीले ११ बजे चन्द्रपुर नगरपालिका ४ स्थित जगलसहियाबाट नियन्त्रणमा लिएको बताएको छ ।

    जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार, कुर्मीको वायाँ खुट्टामा २ राउन्ड गोली प्रहार गरी प्रहरीले उनलाई पक्राउ गरेको हो ।

    गोली लागेर घाइते भएका कुर्मीलाई उपचारका लागि चन्द्रपुर प्रालि अस्पतालमा लगिएको छ ।

    उनले एम्बुस थापेर प्रहरीमाथि गोली चलाएपछि आत्मरक्षाका लागि चार राउन्ड गोली चलाइएको प्रहरीको भनाई छ । उनीमाथि कर्तव्य ज्यानलगायत दर्जन बढी अभियोग लागेको छ ।

  • देउवा गच्छदारकै पक्षमा

    देउवा गच्छदारकै पक्षमा

    विराटनगर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भष्ट्राचार आरोप लागेका आफ्नो पार्टीका उपसभापति विजय कुमार गच्छदारको बचाउ गरेका छन् ।

    उनले ललिता निवास प्रकरणमा गच्छदारमाथि अन्याय भएको प्रतिक्रिया दिएका छन् ।

    मंगलबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै देउवाले उस्तै मुद्दामा कसैले उन्मुक्ति पाउने र कसैमाथि मुद्दा दर्ता हुनु अन्याय भएको उनको भनाई छ ।

    गच्छदारमाथि भएको अन्यायको कांग्रेसले प्रतिवाद गर्ने समेत उनले बताए ।

    ललिता निवासस्थित सरकारी जग्गा व्यक्तिको नाममा ल्याएको प्रकरणमा अख्तियारले तत्कालीन मन्त्री गच्छदारलगायत १७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

    तर सोही मुद्दामा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र बाबुराम भट्टराईलाई भने नीतिगत निर्णय गरेको भन्दै मुद्दा दायर गरेको थिएन ।

    अख्तियार सरकारको दबाव र प्रभावमा परेको भन्दै कांग्रेसले यस प्रकरणको विरोध गर्दै आएको छ ।

  • अकस्मात अस्पताल पुगे प्रधानमन्त्री

    अकस्मात अस्पताल पुगे प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार अकस्मात अस्पताल पुगेका छन् । मुटुमा समस्या देखिएपछि प्रधानमन्त्री अस्पताल गएको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ ।

    उनी महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर उपचारका लागि पुगेका हुन् ।

    मंगलबार कुनै तालीका बीना अस्पताल गएका कारण उनमा अकस्मात स्वास्थ्य समस्या देखिएको हो ।

    उनको मुटुको एन्जियोग्राफी गरिएको अस्पतालले जनाएको छ ।

    प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने नियमित स्वास्थ्य परीक्षणका लागि प्रधानमन्त्री अस्पताल गएको प्रतिक्रिया संचारमाध्यमलाई दिएका छन् ।

  • पेट्रोलियम पदार्थको भाउ घट्यो

    पेट्रोलियम पदार्थको भाउ घट्यो

    काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । पेट्रोल, डिजेल र मट्टितेलको मूल्य राती १२ बजेदेखि घटेको निगमले जनाएको छ ।

    निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँले घटाइएको छ । डिजेल र मट्टितेलको मूल्य समेत प्रतिलिटर २ रुपैयाँले नै घटेको हो ।

    नयाँ मूल्य अनुसार काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १०८ रुपैयाँ परेको छ । यसअघि ११० रुपैयाँ रहेको थियो ।

    डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ९७ रुपैयाँ भएको छ ।

    भारतबाट इन्धनको मूल्य घटेर आएपछि नेपालमा समेत मूल्य समायोजन गरिएको निगमको भनाई छ । खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्यमा भने फेरबदल भएन ।

  • सडक पेटीमा सुतेका व्यक्तिलाई टिपरको ठक्कर

    सडक पेटीमा सुतेका व्यक्तिलाई टिपरको ठक्कर

    काठमाडौं । काठमाडौंमा सरकारले सडक पेटीमा बस्नु नपर्ने अवस्था सिर्जना गर्छु भन्दै केही महिना अगाडी सडकबाट मानिसहरुलाई उठाउन थाल्यो ।

    रात रात चलाएको यो अभियानका दौरान सयौं मानिसलाई सडकबाट उठाएर मानव सेवा केन्द्रमा पठाइएको थियो ।

    तर, सडकमा सुत्ने र माग्न बस्ने मानिसको संख्या भने घटेको छैन ।

    काठमाडौंको शंकरापुर नगरपालिका वडानम्बर ६ ढोल्लामा टिपरको ठक्करबाट सडक पेटीमा सुतेका एक जनाको मृत्यु भएको छ ।

    प्रहरीका अनुसार स्थानीय ४० वर्षीय प्रविण श्रेष्ठको टिपरको ठक्करबाट ज्यान गएको हो । उनी सुस्त मनस्थितिका थिए ।

    प्रायजसो उनी सडक पेटिमै सुत्ने गर्थे । प्रहरीका अनुसार राती १० बजेतिर ना १ क ४५६४ नम्बरको टिपरले ठक्कर दिएपछि उनलाई उपचारका लागि साँखुस्थित सुष्मा मेमोरियल अस्पताल लगिएको थियो ।

    लगत्तै प्रहरीले मृत घोषणा गरे । काठमाडौंमा टिपर मानिसहरुको ज्यान लिने सवारी साधनका रुपमा विख्यात भइसकेको छ ।

  • शिवमाया बनिन् कानूनमन्त्री

    शिवमाया बनिन् कानूनमन्त्री

    काठमाडौं । सोमबार एक संयोग मिल्यो, जुन दिन पूर्वसभामुख कृष्ण बहादुर महराले अदालतबाट सफाई पाए, सोही दिन उनकै कार्यकालकी उपसभामुख शिवमाया तुम्बाहाङ्फेले मन्त्रालयको जिम्मेवारी पाएकी छिन् ।

    उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी दिएका हुन् ।

    मन्त्री तुम्बाहाङ्फेले सोमबार नै पद तथा गोपनीयताको सपथ ग्रहण गरेकी छिन् ।

    उक्त अवसरमा उनले आफू देशको आवश्यकता अनुसार कानून मन्त्रालयको जिम्मेवारीमा आएको बताइन् ।

    कृष्ण बहादुर महराले राजिनामा दिएपछि रिक्त भएको सभामुख पदमा शिवमायाले दावि गरेकी थिइन् ।

    तर, नेकपाले सभामुखमा अग्नी प्रसाद सापकोटालाई नियुक्त गरेसँगै उनले उपसभामुख पदबाट राजिनामा गरेकी थिइन् ।

    तुम्बाहाङ्फेलाई सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले कानूनमन्त्री नियुक्त गरेकी हुन् ।

    उनले सोमबार नै सपथ लिएर पदभार समेत लिइन् । पदभार सम्हालेपछि बोल्दै कानूनमन्त्री तुम्बाहाङफेले मौलिक हकसँग जोडिएका ऐन बनेको र अब नियमावली बनाउनु काम आफ्नो प्राथमिकतामा रहने बताइन् ।

    उनले उपसभामुखबाट राजीनामा दिँदा कानून मन्त्रालय दिने योजनामा सहमती भएको थियो ।

    यद्दपी उनले आफू देशको आवश्यकताका आधारमा मन्त्री भएको उनले बताइन् ।

  • प्रथम शहीद लखन थापाको सम्झना

    प्रथम शहीद लखन थापाको सम्झना

    न्यूयोर्क/अमेरिका
    अमेरिकाको न्यूयोर्कमा नेपालको पहिलो शहीद ‘लखन थापामगर’ को १४३ औं स्मृती दिवस मनाइएको छ । नेपाल आदिवासी जनाजाति महासंघ अमेरिका (फिप्ना) को आयोजनामा आइतबार प्रजातन्त्रका सेनानी लखन थापाको योगदान र त्यागलाई सम्झँदै उनको तस्बीरमा पुष्प गुच्छा अर्पण गरिएको थियो ।
    कार्यक्रममा नेपाली महाबाणिज्य दूतावासका बाणिज्यदूत गणेश अधिकारीले राष्ट्रका बिभुतिलाई सम्झदा बिदेशमा भएका नेपालीले एकजुट भएर कार्यक्रम गर्नुपर्ने बताए ।


    बिदेशमा बस्ने नेपालीले राष्ट्रनिर्माणमा योगदान गरेका, त्याग गरेका ब्यक्तिहरुलाई सम्झँदा नेपालीको छोरो भनेर नै सम्झनु पर्छ । ‘कुनै जातजाती, वर्ग, क्षेत्र भन्दा पनि माथी उठेर नेपालीको छोरो भन्दा गर्व महसुस गर्नुपर्छ जस्तो मलाई लाग्छ’ बाणिज्यदूत अधिकारीले भने, ‘यस्ता बिभिन्न दिवसहरु मनाउँदा कन्सुलेटमा छलफल गरौं र कार्यक्रमलाई एकजुट भएर मनाउँ भन्न चाहान्छु ।’
    नेपाल लगायत बिश्वभर छरिएर रहेका नेपालीले हरेक वर्ष फागुन २ गते लगन थापा स्मृति दिवस मनाउँदै आएका छन् । प्रथम शहीद थापाको जन्म सन् १८३५ मा नेपालको गोर्खा जिल्लाको बुङ्कोटमा भएको थियो । प्रथम शहीद थापालाई जहाँनिया राणा शासनको बिरोध गर्दा श्री ३ जंगबहादुर राणाको ठाडो आदेशमा १४४ बर्ष अघि बि सं १९३३ (सन् १८७६) फागुनको पहिलो हप्ता उनकै गाउँ गोर्खा जिल्लाको बुङ्कोटमा झुन्ड्याई मारिएको थियो ।
    नेपाल सरकारले तत्कालिन प्रधानमन्त्री सुशील कोइरालाको पालामा बि.सं २०७२ असोज ३ गते बसेको मन्त्रिपरिषदको बैठकले लखन थापा मगरलाई नेपालको प्रथम शहीदको मान्यता प्रदान गरेको थियो ।


    उनले सहादत प्राप्त गरेको १२५ वर्ष पछि मात्रै बि.सं २०५६ सालमा प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको पालामा शहीद घोषणा गरिएको थियो । त्यतिबेला पहिलो शहीद भनेर घोषणा गरिएन । त्यसपछि मगर संघ, आदिवासी जनजातीहरुले आन्दोलन गरेर दबाब सिर्जना गरेर गणतन्त्र आएपछि मात्रै उनलाई प्रथम शहीद घोषणा गरिएको थियो ।

     

  • रिहापछि महराको वक्तब्य : सदभाव राख्ने सबैलाई धन्यवाद

    रिहापछि महराको वक्तब्य : सदभाव राख्ने सबैलाई धन्यवाद

    काठमाडौं । बलात्कार प्रयासको आरोप लागेका पूर्वसभामुख कृष्ण बहादुर महराले जेलबाट रिहा भएसँगै पहिलो वक्तब्य सार्वजनिक गरेका छन् ।

    उनले सांसदको हैसियतमा वक्तब्य निकालेका हुन् । उनले वक्तब्यमा प्रहरी हिरासत र त्यसपछिको जेल बसाईका क्रममा आफूप्रति सदभाव राख्ने सबैलाई धन्यवाद भनेका छन् ।

    उनले अब आफ्नो प्राथमिकता मुलुकको स्वाधिनता रक्षामा हुने समेत बताएका छन् । उनले आफुमाथि लागेको आरोपलई तथाकथित भन्दै यस अवस्थामा सदभाव राख्नेहरुलाई धन्यवाद भनेका हुन् ।

    जिल्ला अदालत, काठमाडौंबाट सफाइ पाएसँगै उनी सोमबार नै निवास लागेका छन् ।

    संसद सचिवालयकी कर्मचारी माथि बलात्कार प्रयास गरेको आरोप लागेपछि उनले १४ असोजमा सभामुखबाट राजीनामा दिएका थिए ।

    १९ असोजमा उनी पक्राउ परेका हुन् । देशभक्त नेपालीका रुपमा मुलुकको स्वाधीनताको रक्षा आफनो पहिलो र उच्च प्राथमिकतामा सधैं रहेको, अहिले पनि भएको र सदैव रहिरहने उनले उल्लेख गरेका छन् ।

    उनीमाथि एमसीसी पास नगरी संसदमा रोकेको आरोप लागेको थियो । सोहीकारण षडयन्त्र गरी उनलाई सभामुखबाट हटाउनै यो प्रपन्च रचिएको आशंका गर्नेको समेत कमी छैन ।

    एमसीसीको विवादलाई लिएर सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा अहिले पनि विवाद कायम छ ।

    प्रधानमन्त्री ओली एमसीसी तत्काल पास गर्नुपर्ने पक्षमा छन् । यस विषयमा भने उनी बोलेका छैनन् । महरा ३० दिन प्रहरी हिरासत र १०३ दिन डिल्लीबजार कारागारमा बसेका हुन् ।

  • छूटे महरा, जेलबाट सिधै निवासतर्फ

    छूटे महरा, जेलबाट सिधै निवासतर्फ

    काठमाडौं । जिल्ला अदालतबाट बलात्कार मुद्दामा सफाई पाएका पूर्वसभामुख कृष्ण बहादुर महरा आजै जेलबाट मुक्त भएका छन् ।

    उनी डिल्लीबजार कारागारबाट बिदाई भई निजी निवासतर्फ लागे ।

    उनको रिहाईका बेला सयौं कार्यक्रता तथा समर्थक जेल बाहिर पुगेका थिए ।

    जेलबाट बिदाईका क्रममा महराले संक्षिप्त प्रतिक्रिया दिँदै जेलमा रहँदा सबैबाट राम्रो व्यवहार भएको भन्दै खुसी व्यक्त गरे ।

    सबैको सहयोग प्रति उनले धन्यवाद समेत दिएका थिए ।

    सोमबार नै जिल्ला अदालतले बलात्कार मुद्दामा उनलाई निर्दोष सावित गर्दै सफाई दिएको थियो ।

    अदालतले उजुरीकर्ता रोशनी शाहीको बयानका आधारमा उनलाई सफाई दिएको हो ।

    रोशनीले महरा आफ्नो कोठामा नआएको र सोहीकारण बलात्कार हुने कुनै सम्भावना नै नरहेको बयान अदालतमा दिएकी थिइन् ।

    उनले यसअघि नै उजुरी फिर्ता लिएपनि प्रहरीले अनुसन्धान भने रोकेको थिएन ।

    जिल्ला अदालतले यसअघि महरालाई पूर्पक्षका लाथि थुनामा राख्न आदेश गरेको थियो ।

    सोही अनुसार उनी डिल्लीबजार कारागारमा रहेका थिए । उनले अदालतबाट सफाई पाएसँगै सांसद पद यथावत रहेको छ ।

    उनले पुनः सरकारी सेवा सुविधा पाउने छन् । तर, उनको सभामुख पद भने खारेज भइसकेको छ ।

    आफूमाथि बलात्कार प्रयासको आरोप लागेसँगै उनले नैतिकताका आधारमा राजिनामा गरेका थिए । उनलाई अदालतले सफाई दिएलगत्तै सोमबार नै नेकपा अध्यक्ष प्रचण्डले फोन गरेर बधाई दिएका छन् ।

  • महराले पाए सफाइ, आजै रिहा

    महराले पाए सफाइ, आजै रिहा

    काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महराले सफाइ पाएका छन् ।

    बलात्कार प्रयासको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका महराले सफाइ पाएका हुन् ।

    उनले सोमबार जिल्ला अदालत काठमाडौंबाट बलात्कार उद्योगको मुद्दामा सफाइ पाएका हुन् ।

    जिल्ला  अदालत, काठमाडौंका न्यायाधीश अमरराज पौडेलको इजलासले उनलाई सफाइ दिएको हो ।

    यसअघि काठमाडौं जिल्‍ला अदालतले महरालाई कसूरदार होइन भन्न नसकिने भन्दै पुर्पक्षका लागि थुनामा पठाएको थियो ।

    तर सोमबार सफाइ दिने फैसला सुनाएको हो ।

    उनी सोमबार नै रिहा हुदैछन ।

    आफ्नै सचिवालयकि कर्मचारी माथी बलात्कार प्रयासको आरोप उनिमाथी लागेको थियो ।

  • महराको मुद्दामा आज आउला फैसला ?

    महराको मुद्दामा आज आउला फैसला ?

    काठमाडौं । संसद सचिवालयमा कार्यरत कर्मचारीलाई बलात्कार र शारीरिक हिंसा गरेको आरोप लागेका पूर्वसभामुख कृष्णबहादुर महराको मुद्दाबारे आज फैसला दिने तयारी अदालतले गरेको छ ।

    काठमाडौं जिल्ला अदालतले आइतबार हेर्दाहेर्दैमा राखेको यो मुद्दामा आज अन्तिम फैसलाको संभावना रहेको छ ।

    आइतबार बहस भए पनि फैसला आउन सकेन । जिल्ला अदालतका अनुसार समय अभावका कारण आइतबार फैसला हुन नसकेको हो ।

    अदालतका श्रेस्तेदार आनन्द श्रेष्ठका अनुसार सोमबार फैसला आउने सम्भावना रहेको छ ।

    संसद सचिवालयकी कर्मचारी रोशनी शाही माथि जबरजस्ती करणी प्रयास गरेको आरोप उनिमाथी लागेको छ । महरा पुर्पक्षका लागि जेलमा छन् ।

    काठमाडौं जिल्ला अदालतका न्यायाधीश अम्मरराज पौडेलको इजलासमा आइतबार मुद्दामा बहस भएको छ ।

    १२ असोजमा रोशनी कै कोठामा पुगेर रक्सी खाइ जबर्जस्ती प्रयास गरेको आरोप उनिमाथी रहेको छ ।

    प्रतिकार गर्दा रोशनीमाथी उनले हातपात समेत गरेको सरकारी वकिलको कार्यालयले दावी गरेको छ ।

  • काङ्ग्रेस भन्यो : दुई वर्षको काममा सरकार फेल

    काङ्ग्रेस भन्यो : दुई वर्षको काममा सरकार फेल

    काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले दुई वर्षको काममा सरकार “फेल” भएको विश्लेषण गरेको छ ।

    सरकारले यस अवधिमा गरेका कामलाइ पास मार्क समेत दिन नसकिने विश्लेषण काङ्ग्रेसको रहेको छ ।

    त्यसो त काङ्ग्रेसले आफ्नो प्रतिपक्षी भूमिका समेत प्रभावकारी भने नभएको बताएको छ ।

    काङ्ग्रेसले आइतबार सरकारका कामको विश्लेषण बारे आफ्नो धारणा सार्वजनिक गरेको हो ।

    त्यसक्रममा काङ्ग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पत्रकार सम्मेलन गरेका थिए ।

    उनले पार्टीबाट शालीन र जिम्मेवार प्रतिपक्षीको भूमिका निर्वाह भएपनि प्रतिपक्ष कमजोर भएको आलोचना खेप्नुपरेको स्वीकार गरे ।

    आगामी दिममा जिम्मेवार बन्ने उनको भनाइ थियो ।

    तर, काङ्ग्रेस सालिन हुनुलाइ कमजोरी भने नठान्न उनले चेतावनी दिए ।

    शर्माले भने, ‘कांग्रेसको भूमिकालाई कमजोरी ठान्ने मनोविज्ञान सत्ताले कम्तीमा राख्न हुन्न भन्ने अपिल र आग्रह गर्न चाहन्छु ।’

    सरकार सङ्ग अनुकुल समय हुदाहुदै पनि त्यसलाइ उपयोग गर्न नसकेको उनको भनाइ छ ।

    काङ्ग्रेसले नेकपाको घोषणापत्र पल्ट्याउदै उसले गरेका वाचाअनुसार काम गर्नै नसकेको प्रतिक्रिया दिएको छ ।

    सरकारले दुई बर्षमा गर्ने भनेका सबै कार्यक्रम अलपत्र परेको, चुनावमा गरिएका बाचाहरुको कन्तबिजोग रहेको कांग्रेसको भनाइ छ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार संसदमा सम्वोधन गर्दै सरकारले सबैतिर राम्रो काम गरेको दावी गरेका थिए । काङ्ग्रेसले भने उक्त दाविमा सत्यता भेटेन ।

    सरकार अधिनायकवादी लागेको समेत काङ्ग्रेसको भनाइ छ । वर्तमान सरकार गठन भएको ३ फागुनमा दुई वर्ष पूरा भएको छ

  • बढ्न थाल्यो तापक्रम, तराईमा गर्मी शुरु

    बढ्न थाल्यो तापक्रम, तराईमा गर्मी शुरु

    काठमाडौं  । काठमाडौं उपत्यकासहित देशभर तापक्रम बढ्न थालेको छ ।

    पछिल्ला केही दिनयता तापक्रम वृद्धि भइरहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

    महाशाखाका अनुसार तराइ भेगमा गर्मी शुरु भइसकेको छ ।

    काठमाडौं उपत्यका सहित पहाडी र हिमाली भेगमा समेत तापक्रम बढ्दो क्रममा रहेको छ ।

    कुनै मौसमी प्रणाली विकसित नभए तापक्रम विस्तारै बढ्दैँ जाने महाशाखाको भनाइ छ ।

    फेब्रुअरीको अन्त्यसम्म मात्र तापक्रम हल्का चिसो हुने र त्यसपछी पुर्णतया गर्मी शुरु हुनेछ ।

    अहिले भने जाडो मौसमको अन्य भएका कारण बिहान बेलुका बढी चिसो महसुस हुने र दिउँसोको समयमा गर्मी हुने हुन्छ ।

    अहिलले देशका पूर्वी, मध्य र केही पश्चिमी पहाडी भू–भागमा आङ्शिकदेखि सामान्य बदली र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ।

    मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ६.० डिग्री र अधिकतम तापक्रम २१.८ डिग्री सेल्सियस रहेको छ

    दिपालयको न्युनतम तापक्रम ९.८ डिग्री र अधिकतम तापक्रम २९.१ डिग्री सेल्सियस, धनगढीको न्यूनतम तापक्रम १०.० डिग्री र अधिकतम तापक्रम २०.० डिग्री सेल्सियस रहेको छ ।

    यसैगरी सिमराको न्युनतम तापक्रम १०.६ डिग्री र अधिकतम तापक्रम २६.२ डिग्री सेल्सियस रहेको छ ।

  • रसुवागढी अझै एक साता बन्द

    रसुवागढी अझै एक साता बन्द

    रसुवा । चीनबाट कोरोना भाइरस सङ्क्रमितको प्रवेश नहोस भन्ने उद्देश्यले रोकिएको रसुवा नाका बन्द लम्बाइएको छ ।

    सङ्क्रमित सर्ने आशङ्काले बन्द भएको रसुवागढीदेखि केरूङसम्मको आवतजावत यथावतरूपले बन्द कायम राखिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

    कोरोना भाइरसको सङ्क्रमण नआओस भनेर १५ पुस देखि यो नाका बन्द गरिएको थियो ।

    रसुवागढी क्षेत्रमा स्वास्थ्यको पूर्वाधार निर्माण नभएका कारण सात दिनका लागि पुनः आवतजावत रोक्न रसुवा प्रशासनका तर्फबाट केरूङका अधिकारीलाई आग्रह गरिएकाे कार्यालयले जनाएको छ ।

    चीनमा फैलिएको कोरोना भाइरसको लक्षण सीमा क्षेत्रमा हालसम्म देखा नपरेको र उक्त रोग नभित्रियोस् भन्ने उद्देश्यले केरूङ आवतजावत नगराउन आग्रह गरीएको हो ।

    सीमा क्षेत्रको टिमुरे क्षेत्रमा रोग नियन्त्रणसम्बन्धी स्वास्थ्यको चेतनामूलक कार्यक्रमसमेत सम्पन्न गरिसकिएको जिल्ला प्रशासन कार्यालयको भनाइ छ ।

  • नेपाल भ्रमणमा आए बेलायती सेनाध्यक्ष

    नेपाल भ्रमणमा आए बेलायती सेनाध्यक्ष

    काठमाडौं । बेलायती सेनाध्यक्ष चिफ अफ जनरल स्टाफ मार्क कार्लटोन स्मिथ नेपाल भ्रमण आएका छन ।

    उनी एक साता नेपाल भ्रमणमा रहने भएका छन् ।

    शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई नेपाली सेनाका बलाधीकृत रथी शरद गिरीले स्वागत गरेका थिए ।

    उनले नेपालमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्ने कार्यक्रम रहेको छ ।

    नेपाल भ्रमणमा रहदा प्रधानसेनापति पूर्णचन्द्र थापासँग उनको भेटघाट हुने भएको छ ।

    बेलायती सेनाध्यक्ष स्मिथले पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालीम केन्द्रको अवलोकन तथा हवाईजहाजबाट नेपालका हिमालहरुको दृश्यावलोकन गर्नेछन् कार्यक्रम तय भएको छ ।

    उनी पोखरा भ्रमणका लागि पुग्ने भएका छन ।

  • चीनमा रहेका नेपाली लिन आज उड्दैछ वाइडबडी

    चीनमा रहेका नेपाली लिन आज उड्दैछ वाइडबडी

    काठमाडौं । नेपाल एयरलाइन्सको सबैभन्दा ठूलो जहाज ए३३०-२०० जहाज आज अपरान्ह चीन उड्दैछ ।

    चीनको वुहानबाट त्यहा बसोबास गर्ने नेपालीलाई उद्वार गरि नेपाल ल्याउने प्रक्रियाका लागि जहाज चीन उड्न लागेको हो ।

    वुहान कोरोना भाइरसको उद्गमस्थल हो ।

    सरकारले चीनको वुहानबाट आफ्ना नागरिकलाई उद्दार गर्न लागेको हो ।

    उनीहरुलाई ल्याएर नेपाल एयरलाइन्सको जहाज आइतबार काठमाडौं अवतरण गर्नेछ ।

    त्यसपछि चीनबाट फर्किएका सबैलाइ क्वारेन्टाइनमा राखिनेछ ।

    त्यसका लागि खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा राखिनेछ ।

    चिकित्सक, पाइलट, एयरहोस्टेससहित क्रु मेम्बरलाई भने नगरकोटमा व्यवस्था गरिएको छ ।

    चीनबाट नेपाली विद्यार्थीलाई स्वदेश ल्याउने भएपछि कतिपयले यसको संक्रमण नेपालमा पनि फैलिने हो कि भन्दै त्रास मान्न थालेका छन ।

    नेपाल भन्दा चीन नै सुरक्षित थियो भन्ने तर्क समेत धेरैको छ ।

    भक्तपुरको खरिपाटीका स्थानीय पनि चीनबाट नेपाली विद्यार्थीलाई ल्याएर सो ठाउँमा राख्ने भनेपछि त्रसित छन्।

    केही स्थानीयले त त्रासका कारण घर नै छोडेर गाउँ गएको खबर सार्वजनिक भएको थियो ।

  • सरकार गठनको आज दुई वर्ष पुरा, केके भए उपलब्धी ?

    सरकार गठनको आज दुई वर्ष पुरा, केके भए उपलब्धी ?

    काठमाडौं । पुर्ण रुपमा राजनीतिक स्थायित्वसहित बलियो सरकार गठन भएको आज ठ्याक्कै दुई वर्ष पूरा भएको छ ।

    ३ फागुन २०७४ सालमा प्रधानमन्त्री केपि शर्मा ओलिको नेतृत्वमा वर्तमान सरकार गठन भएको थियो ।

    सुशासन, तीब्र आर्थिक विकास, समृद्धि र सुखी नेपालीको नारा सहित गठन भएको सरकारको पहिलो वर्ष जनता मौन थिए ।

    किनकी यसअवधिमा थप उपलब्धिको पर्खाइमा उनिहरु थिए ।

    चुनाव र त्यसपछि प्रधानमन्त्रीले देखाएका रेल सपना, हावाबाट बिजुली, घरघरमा पाइपलाइनबाट ग्यास, गरिबलाइ घर, सर्वसुलभ शिक्षा र स्वास्थ्यका नारा केवल चुनावी फन्डा मात्र थिए ?

    आज जनताले यो प्रश्न उठाउन थालेका छन । किनकी नेकपाको घोषणा पत्र अनुसार अहिले कुनै काम भएका छैनन ।

    यस अवधीमा सरकार यति होल्डिङ्सका कारण सबैभन्दा विवादित बन्न पुग्यो ।

    गोकर्ण रिसोर्ट सम्झौता सकिनु ६ वर्ष अगाडि नै नविकरण गर्न हतारिनुमा प्रधानमन्त्री कै बढी भुमिका देखियो ।

    प्रधानमन्त्री अस्वस्थताका बिच पनि सक्रिय रहे । तर, उनको सक्रियता विकास र निर्माण भन्दा बढी व्यापारीका ठेक्का नविकरणमा बढी देखियो ।

    दुई वर्षमा आर्थिक विकास, बजेट खर्चको गति उस्तै कमजोर छ । भ्रष्टाचारको मात्रा अझ बढो छ ।

    पुर्वाधार निर्माणले अझै पनि गति लिन सकेन । मेलम्ची, गौतमबुद्ध विमानस्थल दुई साल अगाडी नै बनिसक्नु पर्ने थियो ।

    त्यहा अल्झीएको गाठो सरकारले फुकाउन सकेन ।

    यस अवधीमा संघीयता कार्यान्वयन केही हदसम्म सफल भयो ।

    तर, स्थानिय र प्रदेश तह आत्मनिर्भर बन्ने कुनै काम हुन सकेका छैनन ।

    समग्रमा यो दुई साल पनि सरकारले ठोक कामको थालनी भन्दा विगतलाइ निरन्तरता दिएको पाइयो ।

  • सर्वोच्चले अख्तियारलाई सोध्यो : “नेपाल र भट्टराईलाई किन मुद्दा नचलाएको ?”

    सर्वोच्चले अख्तियारलाई सोध्यो : “नेपाल र भट्टराईलाई किन मुद्दा नचलाएको ?”

    काठमाडौं । सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्रीद्वय माधव नेपाल र बाबुराम भट्टराईमाथि किन मुद्दा नचलाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई प्रश्न सोधेको छ ।

     

    शुक्रबार प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले पन्ध्र दिन भित्र लिखित जवाफ पेश गर्न अख्तियारका नाममा आदेश दिएको छ ।

     

    यसअघि वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले बालुवाटार जग्गा प्रकरणमा माधव नेपाल र बाबुराम भट्टराईलाई मुद्दा चलाउनुपर्ने माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए।

     

    सोही रिटमा सर्वोच्चले आज कारण देखाउ आदेश जारी रहेको हो ।

    प्रधानमन्त्री निवास समेत रहेको बालुवाटारको सरकारी जग्गा नक्कली मोही खडा गरि व्यक्तिको नाममा लगेको कान्डमा अख्तियारले दुइ पूर्व प्रधानमन्त्रीलाई बाहेक अन्यलाइ मुद्दा दायर गरेको थियो।

    नीतिगत निर्णय भएका कारण उनिहरु विरुद्ध अख्तियारले मुद्दा चलाउन नमिल्ने तर्क गरेको थियोे ।

  • राष्ट्रिय सभा सदस्य दुर्गा उपाध्यायको निधन, संसदमा प्रधानमन्त्रीको सम्बोधन भोलि

    राष्ट्रिय सभा सदस्य दुर्गा उपाध्यायको निधन, संसदमा प्रधानमन्त्रीको सम्बोधन भोलि

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलिले शुक्रबार प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्ने कार्यक्रम थियो ।

    तर, नेपाली काँग्रेसका नेता एवं राष्ट्रिय सभाका सदस्य दुर्गा उपाध्यायको शुक्रबार नै निधन भए पछि संसदले शुक्रबार शोक प्रस्ताव पारित गरेको छ ।

    शुक्रबार नै राष्ट्रिय सभाको बैठकले समेत बहालवाला राष्ट्रिय सभा सदस्य उपाध्यायको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।

     

    उपाध्याय आन्द्राको क्यान्सरबाट पीडित थिए ।

    नेपाली काङ्ग्रेसले एक जुझारु युवा नेता गुमाएको छ ।

     

    विस‌ं २०२६ सालमा जन्मिएका उपाध्याय विसं २०४६ सालको जनआन्दोलनदेखि कांग्रेसमा सक्रिय थिए ।

     

    उनी रुपन्देहीका स्थानीय हुन ।

    उनी विसं २०७४ मा कांग्रेसको तर्फबाट प्रदेश नं. ५ बाट राष्ट्रियसभा सदस्य निवार्चित भएका थिए ।

     

    प्रतिनिधिसभाको बैठक शनिबार बोलाइएको छ ।

    सोही बैठकलाई प्रधानमन्त्रीले सम्बोधन गर्ने भएका छन् ।

  • कुबेत दूर्घटनामा निधन भएका ६ जनामध्ये चारको पहिचान

    कुबेत दूर्घटनामा निधन भएका ६ जनामध्ये चारको पहिचान

    कुबेत । कुबेतमा निर्माण सम्बन्धी काम गर्दागर्दै वालुवाले पुरिएर मृत्यु भएका ६ जना मध्ये ४ जनाको पहिचान खुलेको छ ।

    कुवेतस्थित नेपाली दूतावासका अनुसार दुई जना नेपालीको भने पहिचान भइसकेको छैन । ढल निर्माण सम्बन्धी काम गरिरहेको समयमा बालुवाको ढिस्कोले पुरिएर ६ जना नेपाली कामदारको मृत्यु भएको थियो । अन्य दुई जना नेपाली कामदार घाइते छन् ।

    दूतावासका अनुसार ज्यान जाने नेपालीमा पाल्पाका एकबहादुर गाहा, सिराहाका गंगाराम चौधरी, ताप्लेजुङका बसन्त गुरुङ र दाङका श्याम नारायण चौधरी छन् । धर्मेन्द्र कुमार शाह र मनोरथ मण्डल घाइते छन् ।

    उनीहरुको उपचार भइरहेको छ । मण्डलको अवस्था सामान्य रहेको बताइएको छ ।

    नेपाली कामदार कुवेतस्थित युनिभर्सल लिडर्स ट्रेडिङ एण्ड जनरल कन्ट्र्याक्टिङ कम्पनी (डब्लुएलएल) मार्फत् अल मुत्ला सिटी प्रोजेक्टमा कार्यरत थिए । यो चिनियाँ कम्पनी हो ।

  • प्रधानमन्त्रीले आज संसदमा संबोधन गर्दै, सरकारका कामको बचाउ गर्ने

    प्रधानमन्त्रीले आज संसदमा संबोधन गर्दै, सरकारका कामको बचाउ गर्ने

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको बैठकमा आज सम्बोधन गर्दैछन् । दिउँसो २ बजे संसदमा सम्बोधन गर्ने तय भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

    सरकार गठन भएको दुई वर्ष पुगेको छ । यस उपलक्ष्यमा सरकारका कामको बचाउ र प्रचार गर्ने उद्देश्यले प्रधानमन्त्रीले संसदमा सम्बोधन गर्न लागेका हुन् । पछिल्लो समय सरकारका कामबाट प्रधानमन्त्री स्वयमः संतुष्ट छैनन् ।

    ओलीले नेतृत्व गरेको सरकार गठनको ३ फागुनमा ठ्याक्कै एक वर्ष पुग्छ ।

    विभिन्न कोणबाट अहिले सरकारका कामको समिक्षा भइरहेको छ । तर, बाचा गरेनुसार कार्यप्रगति नभएको पछि नागरिक स्तरमा सरकारको आलोचना समेत उत्तिकै भइरहेको छ ।

    सम्बोधनमा प्रधानमन्त्रीले सरकारका कामकारबाही र समसामयिक घटनाक्रमका बारेमा सरकारको धारण राख्ने भएका छन् ।

  • नेपाली युवाको भारतमा गोली हानी हत्या

    नेपाली युवाको भारतमा गोली हानी हत्या

    सप्तरी । एक नेपाली युवाको भारतमा गोली हानी हत्या भएको छ । सप्तरीका डम्बर यादवको भारतमा गोली हानी हत्या भएको प्रहरीले जनाएको छ ।

    सप्तरीको बोदेबर्साइन नगरपालिका वडा नम्बर १० खडगपुर अमरैयाका स्थायी बासिन्दा यादवको भारतमा हत्या भएको हो ।

    उनी सोही नगरपालिकास्थित ग्यारेजमा काम गर्थे ।

    कामको सिलसिलामा भारत गएर नेपाल आउँदै गर्दा उनमाथि गोली प्रहार भएको बताइएको छ । उनी ग्यारेज मालिकको स्कारपीयो चलाएर भारतको झन्झारपुर गएका थिए ।

    फर्कने क्रममा गोली प्रहार भ्एको हो । गाडीमा अन्य दुई जना रहेपनि डम्बरलाई मात्र गोली लागेको हो । मोटरसाइकलमा आएका युवाले गोली चलाएर भागेको प्रहरीको भनाई छ ।

  • पूर्वप्रधानमन्त्रीद्धय भट्टराई र नेपालविरुद्ध मुद्दा चलाउन माग गर्दै सर्वोच्चमा रिट

    पूर्वप्रधानमन्त्रीद्धय भट्टराई र नेपालविरुद्ध मुद्दा चलाउन माग गर्दै सर्वोच्चमा रिट

    काठमाडौं । पूर्वप्रधानमन्त्रीद्धय डा. बाबुराम भट्टराई र माधव कुमार नेपालविरुद्ध बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा विवाद प्रकरणमा मुद्दा चलाउन माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ ।

    सरकारी जग्गा व्यक्तिका नाममा पुर्‍याउने निर्णय भएका कारण पूर्वप्रधानमन्त्रीद्वय माधव कुमार नेपाल र बाबुराम भट्टराईलाई भ्रष्टाचार मुद्दा चलाउन माग गर्दै रिट दायर गरिएको हो ।

    मन्त्रीपरिषद्को निर्णयमा अख्तियारले हेर्न नमिल्ने भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले दुई पूर्वप्रधानमन्त्रीलाई भने यस काण्डमा मुद्दा दायर गरेको थिएन ।

    तर, सोही मन्त्रिपरिषद्ले गरेको निर्णयमा मन्त्री र सचिवहरु भने फसिएका छन् ।

    बुधवार वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले अख्तियारले छुट दिएका दुवै पूर्वप्रधानमन्त्रीलाई मुद्दा चलाउने आदेश दिन माग गर्दै सर्वोच्चमा रिट हालेका छन् ।

    अख्तियारले नीतिगत निर्णय गरेको भन्दै उनीहरूलाई उन्मुक्ति दिएको छ।

    सर्वोच्चले उक्त रिटको पेशी शुक्रबारका लागि तोकिसकेको छ ।

    ललिता निवासको जग्गा व्यक्तिका नाममा लैजान प्रस्ताव गर्ने तत्कालिन तीन मन्त्री र तीन सचिवलाई मुद्दा चलाइएको छ । तर, प्रधानमन्त्रीहरु भने उम्कन सफल भएका हुन् ।

  • नेम्बाङको स्मृतिमा श्रष्टालाई सम्मान

    नेम्बाङको स्मृतिमा श्रष्टालाई सम्मान

    न्यूर्योक/अमेरिका –
    अमर नेम्बाङ लिम्बू स्मृति ट्रष्टद्वारा दुई श्रष्टालाई साहित्य पुरस्कारबाट आइतबार सम्मान गरिएको छ । पाँचथरको फागुनन्द गाउँपालिकाका पूर्व अध्यक्ष नेम्वाङको वार्षिक स्मृतिका अवसरमा पाँचथरका साहित्यकार डा.देवी क्षेत्री दुलाल र झापाका कवि तथा समालोचक मुनाराज शर्मालाई नगद एक लाख राशि सहित सम्मान पत्रले सम्मान गरिएको हो । सोही अवसरमा ‘अमर नेम्बाङ लिम्बु ट्रष्ट’ द्वारा मेन्छ्यायेम एफएम १०३.४ मेघाहर्ज तेह्रथुमलाई पाँच हजार रुपैंयाँ, स्थानीय फाल्गुनन्द–३, पौवासारतापका विद्यालयको शैक्षिक उन्नति सहयोग र छात्रवृत्तिका लागि दुई विद्यालयलाई सहयोग गरिएको छ । फक्ताङलुङ वाल बिकास आधारभूत विद्यालयललाई ५० हजार रुपैंयाँ र स्थानीय पद्मकन्या आधारभूत विद्यालयमा अध्यनरत बिध्यार्थीको छात्रवृतिको निमित्त १२ हजार रूपैंया सहयोग प्रदान गरिएको छ ।
    साथै केही समय अघि आगलागीबाट घर जलेका फाल्गुनन्द–३, गुम्बाडाँडाका धनकुमार तामाङलाई हाल अमेरिकामा बसोबास गर्दै आएका ट्रष्टका अध्यक्ष मुनिन्द्र नेम्बाङको पहलमा संकलन गरिएको ५० हजार रुपैयाँ सहयोग प्रदान गरिएको थियो ।


    नेम्वाङको जन्म स्थान फाल्गुनन्द–३, पौवासारतापको शिलौटीफेदीमा रहेको अमर नेम्वाङ स्मृति रंगशालामा एक कार्यक्रम आयोजना गरी श्रष्टाहरुलाई सम्मान गरिएको हो ।
    कार्यक्रममा रङ्गवादी कवि धर्मेन्द्र नेम्वाङ, नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्व सदस्य सचिव डा.तुलसीप्रसाद भट्टराई, आख्यानकार कृष्ण बराल, कवि प्रेम ओझा, सन्देश सुब्बा, प्रकाश थाम्सुहाङ्ग, मिना राई, गजलकार बालिका थपलिया, नुनाम केरुङ्ग, दुर्गाराज भट्टराई, गायक खड्ग बोहोरा, सुरेन शिशिर केरुङ्ग, गजलकार तथा वक्ता मधु केरुङ्ग लगायतले श्रद्धासुमन सहित नेम्वाङको जीवनीको चर्चा गरेका थिए । इलाम, झापा र पाँचथरका साहित्य प्रेमीको समेत उपस्थित रहेको स्मृति दिवसमा श्रष्टाहरुले रचना बाचन गरेका थिए ।
    फाल्गुनन्द गाउँपालिकाको अध्यक्ष पदकै समयमा गत वर्ष नेम्वाङको स्वर्गारोहण भएको थियो । साहित्यिक मात्र नभएर सामाजिक र राजीतिक क्षेत्रमा समेत बिशिष्ट योगदान गर्दै आएका नेम्वाङको सम्झनामा समाजमा गरिएका
    सकारात्मक काम र योगदानलाई प्रोत्साहन गर्ने उदेश्यले ट्रष्टको स्थापना गरिएको ट्रष्टका अध्यक्ष नेम्वाङका जेष्ठ सुपुत्र मुनिन्द्र नेम्बाङले जानकारी दिए । ट्रष्टले विभिन्न विधामा कलम चलाउने श्रष्टा, शैक्षिक तथा मिडिया क्षेत्र लगायतलाई बर्षेनी सम्मान गर्ने उनले जानकारी दिए ।
    उनी लिम्बु समुदायमा स्नातकोत्तर गर्ने पहिलो व्यक्ति हुन् । आफ्नो मात्र प्रगतिले गाउँ, समाज र गाउँलेको जीवनमा कुनै परिवर्तन ल्याउँन सक्दैन भन्ने सोच राख्ने नेम्वाङले अध्ययन पछि नोकरी नगरी ग्रामीण क्षेत्रको सेवामा सक्रिय जीबन बिताएका थिए । वि।स।२०३३ सालमा छिमेकी गाउँपञ्चायत चिलिङदिनको जनपक्षिय नेपाली कांग्रेसको तर्फबाट निर्विरोध प्रधानपञ्च भएपछि उनी पटक÷पटक साविक पौवासारताप गाविस अध्यक्ष बन्दै गणतन्त्रको पहिलो स्थानीय तह निर्वाचन २०७४ मा फाल्गुनन्द गाउँपालिका प्रथम निर्वाचित अध्यक्ष भए। तीनवटै व्यवस्था गाउँञ्चायत, गाउँविकास समिति, र गाउँपालिकाको जिम्मेवारी वहन गर्ने व्यक्तिको रूपमा परिचित थिए । नयाँ संरचना अनुसार ७५३ वटै स्थानीय तहको सरकार मध्ये नेम्बाङले फाल्गुनन्द गाउँपालिकामा मात्र आधारभूत तथा माध्यमिक विद्यालयमा मातृभाषा शिक्षा पठनपाठनलाई प्राथमिकताका साथ संचालन गरेकाले देशभर चर्चा कमाएका थिए ।

    २०७५ माघ २६ गते गाउँपालिका अध्यक्ष कार्यकाल सम्हालिरहेको अवस्थामा वडाको एक कार्यक्रममा सम्बोधन गर्दै गर्दा बेहोस भएका थिए । त्यस पछि उपचारका लागि लैजाँदै गर्दा बाटोमा उनको मृत्यु भएको थियो ।
    विश्व साहित्यको अध्यन गर्दै बिभिन्न ठाँउको भ्रमण गर्ने क्रममा आफ्ना अनुभवहरु समेटेका केही कृतिहरु पनि प्रकाशित गरेका थिए ।
    अमेरिका भ्रमणका केही सम्झना, सम्झनाका तरेलिहरु र एक साँझको अवसान नामक कविता संग्रह प्रकाशित छ । २०७५ सालमा नेपाल सरकारको तर्फबाट उनलाई सुप्रवल जनसेवा श्री पदकले विभुषित गरिएको थियो ।

  • सल्यानमा हतियार बोकेको सेनाको ट्रक दूर्घटना, १ को ज्यान गयो

    सल्यानमा हतियार बोकेको सेनाको ट्रक दूर्घटना, १ को ज्यान गयो

    सल्यान । सल्यानमा हतियार बोकेको सेनाको ट्रक दूर्घटना भएको छ । दूर्घटनामा एक जनाको ज्यान गएको छ ।

    सल्यानको कपुरकोट ३ चोरखालामा नेपाली सेनाको ट्रक दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

    दुर्घटनामा जमदार यादवप्रसाद घरेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ । दुर्घटनामा मेजर ईश्वर सिलवाल, सिपाही विशाल गुरुङ, रेशम हिटन मगर, विपिन श्रेष्ठ, हवल्दारद्वय जय प्रकाश बोहरा र मोहन थापा गम्भीर घाइते रहेको प्रहरीले जनाएको छ ।

    तिब्र गतिमा रहेको सेनाको ट्रक सडकबाट ५ सय मिटर तल खसेको प्रहरीले बताएको छ। ट्रकमा ७ जना सवार रहेको प्रहरीको भनाई छ ।

    घाइते सैनिकहरु थप उपचार गर्न सेनाकै हेलिकप्टरबाट काठमाडौं पठाइएको छ ।

    सल्यानको सवुज गणबाट बुटवलतर्फ हातहतियार र विष्फोटक पदार्थ लगेर जाँदै गरेको लु १ ग १२३ नम्बरको ट्रक बुधबार दूर्घटनामा परेको हो ।

  • १० प्रतिशत घट्यो बजेट, विकास खर्चमा कटौती

    १० प्रतिशत घट्यो बजेट, विकास खर्चमा कटौती

    काठमाडौं । सरकारले विकास खर्चमा भारी कटौती गर्दै बजेटको आकार घटाएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले बजेटको आकार घटाएको जानकारी दिएका छन् ।

    चालु आर्थिक वर्ष २०७६\७७ को अर्धवार्षिक समिक्षा गर्दै अर्थ मन्त्रालयले बजेटको आधार घटाउने निर्णय गरेको हो ।

    अर्थमन्त्री अतिवडाका अनुसार आकार ९०.४ प्रतिशतमा झारेर १३ खर्ब ८५ अर्ब ९६ करोड कायम गरिएको हो ।

    चालु बर्षको बजेटको आकार १५ खर्ब ३२ अर्ब रुपैयाँ रहेको छ । चालु खर्चतर्फ ९ खर्ब ४ अर्ब ४६ करोड ८ लाख (विनियोजित बजेटको ९४.५ प्रतिशत) रहने गरी नयाँ संशोधन आएको छ ।

    पुँजीगततर्फ ३ खर्ब २६ अर्ब ८१ करोड २७ लाख (विनियोजित बजेटको ८०.१ प्रतिशत) खर्च हुने भएको छ ।

    वित्तीय व्यवस्थातर्फ १ खर्ब ५४ अर्ब ६९ करोड १ लाख (विनियोजन बजेटको ९२.२ प्रतिशत) खर्च हुने संशोधित अनुमान कायम गरिएको छ ।

    राजश्व लक्ष्य ५५ अर्ब रुपैयाँ घटाएर ९५.६ प्रतिशत कायम गरिएको । यस वर्ष ११ खर्ब राजस्व संकलनको लक्ष्य रहेको छ ।

    चालु वर्षको अन्त्यसम्ममा नेपाल सरकारको स्रोत (राजस्व र आन्तरिक ऋण) बाट ११ खर्ब ३२ अर्ब ५० करोड स्रोत व्यवस्थापन हुने भएको छ ।

    वैदेशिक अनुदानबाट ४३ अर्ब ५५ करोड ४६ लाख आउने भएको छ ।

    वैदेशिक ऋणतर्फ २ खर्ब ९ अर्ब ९० करोड ९० लाख परिचालन हुने अर्थमन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

    राष्ट्रिय गौरव र प्राथमिकताप्राप्त आयोजना, संघीय संसद भवन, काठमाण्डौं उपत्यकाभित्र सडक विस्तार तथा स्तरोन्नती, अधुरा आयोजना पुरा गर्दा धेरै बजेट खर्च हुने मन्त्रालयको भनाई छ ।

    सडक आयोजनाहरुमा समेत बजेटको ठूलो हिस्सा खर्च हुने भएको छ ।

    बजेटका अधिकांश सूचकांक सकारात्मक भएको भन्दै उनले आर्थिक वृद्धिदर भने कायम नै राखेका छन् । यस वर्ष सरकारले ८.५ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य राखेको छ ।

  • नवलपरासीमा ट्याक्टर दूर्घटना, ४ जनाको मृत्यु

    नवलपरासीमा ट्याक्टर दूर्घटना, ४ जनाको मृत्यु

    नवलपरासी । पूर्वी नवलपरासीमा भएको सवारी दूर्घटनामा चार जनाको ज्यान गएको छ । नवलपरासीको बुलिङ्गटार गाउँपालिका–३ छरछरेमा ट्रयाक्टर दुर्घटना भएको हो ।

    प्रहरीका अनुसार दूर्घटनामा चारजनाको ज्यान गएको छ भने आठजना घाइते भएका छन्। छरछरेबाट ट्याक्टर बुलिङ्गटारतर्फ जाने क्रममा दूर्घटनामा परेको हो ।

    लु ४ च २५५६ नम्बरको ट्याक्टर मंगलबार बेलुका दुर्घटनामा परेको हो। प्रहरीका अनुसार स्थानीय २२ वर्षीय नरबहादुर मगर, ५९ वर्षीय यानसिंह सारु मगर, ४० वर्षीय कुलबहादुर थापा र २५ वर्षीय लिलाबहादुर सारु मगरको निधन भएको हो ।

  • के सिन्धुपाल्चोकमा आइपुगेको हो कोरोना ?

    के सिन्धुपाल्चोकमा आइपुगेको हो कोरोना ?

    काठमाडौं । सिन्धुपाल्चोकमा कोरोना भाइरस जस्तै लक्षणमा संक्रमित बिरामी भेटिएपछि यसले नेपालको चिन्ता बढाइदिएको छ ।

    सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा सोही रोगसँग मिल्ने प्रकृतिको लक्षण देखिएको भन्दै गाउँपालिकाले रोगको पहिचानका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसमक्ष पत्राचार गरेको छ ।

    गाउँपालिकाकाको गुम्बा बस्तीमा रुघा, खोकी र अत्यधिक ज्वरोको लक्षण देखिएको छ । यसको प्रकृति ठ्याक्कै कोरोनासँग मिल्छ ।

    पछिल्लो समय चीन आफैले बिरामीको चेकजाँच कडा गरेपनि नेपालतर्फको फितलो कार्यान्वयनका कारण सरकारको आलोचना भइरहेको छ ।

    त्यसमाथि जुगल गाउँपालिकाको पत्रले भने झस्काइदिएको छ । संक्रमित भेटिएको स्थान चीनसँगको सीमा नजिकै पर्ने स्थान हो ।

    तर, यो स्थानबाट नाका खोलिएको भने छैन ।

    चीनबाट फैलिएको कोरोनाले अहिलेसम्म १ हजार भन्दा बढी मानिसले ज्यान गुमाइसकेका छन् । ४० हजार भन्दा बढीमा यसको संक्रमण देखिसकेको छ ।

  • चीनमा रहेका नेपाली विद्यार्थीलाई ३ फागुनमा नेपाल ल्याइने

    चीनमा रहेका नेपाली विद्यार्थीलाई ३ फागुनमा नेपाल ल्याइने

    काठमाडौं । चीनमा रहेका नेपाली विद्यार्थीलाई ३ फागुनमा नेपाल ल्याइने भएको छ ।

    मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले मिति तोकेको हो । विद्यार्थी ल्याउन नेपाल एयरलाइन्सको वाइडबडी जहाज चीन पठाइने भएको हो ।

    वुहानबाट १८० नेपाली विद्यार्थीले नेपाल आउन निवेदन लिएका छन् ।

    नेपालमा यति ठूलो संख्यामा मानिस बोक्न सक्ने जहाज नेपाल एयरलाइन्ससँग मात्र छ । नेपाल एयरलाइन्सको वाइडबडीले एकसाथ २ सय ७४ जना यात्रु बोक्न सक्छ ।

    वुहानबाट विद्यार्थी ल्याउन ढिलाई गरेको भन्दै सरकारको चौतर्फी आलोचना भइरहेको छ । वुहानमा मात्र १ हजार भन्दा बढी मानिसको कोरोना भाइरसले ज्यान लिएको छ ।

    चीनमा ३५ हजारभन्दा माथि यसको संक्रमण फैलिएको छ । चीनबाट नेपाल आएका विद्यार्थीलाई १४ दिन क्वारेन्टाइनमा राख्नुपर्छ ।

    त्यसका लागि खरिपाटीस्थित विद्युत प्राधिकरणको भवनमा तयारी गरिएको छ ।

    विद्यार्थीको निगरानीका लागि ८६ जना स्वास्थ्यकर्मी खटिने छन् । चीनमा डिसेम्बरबाट यो महामारी फैलिएको हो ।