Category: समाचार

  • औषधि व्यवसायीले भने : तीन महिनालाई पुग्ने स्टक छ

    औषधि व्यवसायीले भने : तीन महिनालाई पुग्ने स्टक छ

    काठमाडौं । कोरोना भाइरसको संक्रमण बढ्ने डर नेपालमा छ । यसले बजारमा अनावश्यक त्रास पनि फैलिएको छ । यसैसन्दर्भमा भारतले अत्यावश्यक औषधिको निर्यात रोकेको समाचार सार्वजनिक भयो ।

    त्यसपछि बजारमा उपभोक्ताले औषधिसमेत अतिरिक्त किन्न थाले । त्यसपछि औषधि व्यवसायीले पत्रकार सम्मेलन नै गरेर त्यसो नगर्न सुझाव दिन परेको छ ।

    नेपाल औषधि उत्पादक संघका अनुसार कोरोना भाइरस विश्‍वव्यापी बनिरहेका बेला आउन सक्ने सम्भावित संकटका क्रममा नेपालमा औषधि अभाव हुन दिइने छैन ।

    नेपालमा जस्तो सुकै परिस्थिति आएपनि तीन महिनासम्म पुग्ने औषधि स्टकमा रहेको छ ।

    त्यसपछी पनि औषधि उत्पादन गर्ने कक्चा पदार्थ पर्याप्त रहेको संघले उल्लेख गरेको छ ।

    संघका महासचिव विप्लव अधिकारीका अनुसार भूकम्प र नाकाबन्दीका समयमा समेत अभाव नभएको औषधि अहिले होला की भनेर चिन्ता नलिन आग्रह गरे ।

    नेपालमा एलोपेथिक औषधिका ६२ उद्योग सञ्‍चालनमा छन् । ४२ वटा उद्योग निर्माणाधीन अवस्थामा छन् ।

    भारतले समेत नेपालमा निर्यात नरोक्ने बताइसकेको छ । यसअघि भारतले २६ प्रकारका औषधि र कच्चा पदार्थको निर्यातमा रोक लगाउने निर्णय गरेको थियो ।

    तर, ती औषधि नेपालमा समेत उत्पादन सम्भव भएका औषधि हुन् ।

    अहिले तीन महिनासम्मको सामान्य बजारका लागि आवश्यक औषधि, कच्चा पदार्थ, सहायक कच्चा पदार्थ र प्याकिङ म्याटेरिलय मौज्दात रहेको संघले उल्लेख गरेको छ ।

    सरकारले भने बिपदमा मात्र औषधिको महत्व बुझ्ने गरेको भन्दै संघले गुनासो समेत गरेको छ।

  • आज देशका धेरै भागमा वर्षा, उच्च भेगमा हिमपात

    आज देशका धेरै भागमा वर्षा, उच्च भेगमा हिमपात

    काठमाडौं । पश्चिमी न्युनचापीय प्रणाली प्रवेश गरेका कारण आज देशका अधिकांश स्थानमा वर्षा हुने भएको छ । काठमाडौं उपत्यकासहित मध्य र पूर्वका केही स्थानमा हल्का पानी पर्ने जल तथा मौषम विज्ञान विभागले जनाएको छ ।

    शनिबार दिनभर जसो पानी पर्नेछ । शनिबार दिउँसो काठमाडौं उपत्यकासहित देशका अधिकांश पहाडी भू–भागमा मेगगर्जन हावाहुरी र चट्याङसहित पानी पर्ने सम्भावना रहेको छ ।

    राजधानीमा शुत्रबार रातीबाटै पानी पर्न लागेको हो । उच्च पहाडी तथा हिमाली भेगमा भने हिमपात हुनेछ।

    शुक्रबार काठमाडौंको चन्द्रागरि लगायत उच्च डाँडाहरुमा भने बाँक्लो हिँउ परेको थियो ।

    फागुन अन्तिमको गर्मीमा समेत हिँउ परेपछि शुक्रबार चन्द्रागिरि पुग्नेहरु दंग देखिएका थिए ।

    काठमाडौं उपत्यकामा शुक्रबार राति पनि पानी २ मिलिमिटर वर्षा मापन भएको महाशाखाको तथ्यांक छ ।

    शनिबार बिहान काठमाडौं उपत्यकाको न्युनतम तापक्रम ९ दशमलव ८ डिग्री सेल्सियस कायम देखिएको छ ।

    पानी परेपनि काठमाडौंमा भने तापक्रम घट्नै देखिएको छैन । तर, हिमाली र उच्च पहाडी भेगमा भने चिसा बढाउने भएको छ ।

    वर्षासँगै बैतडीको उच्च भेगमासमेत ठूलो हिमपातले जनजीवन प्रभावित भएको छ ।

  • ग्याँसको अभाव हुन्न, लाइनमा नबस्नुस : उद्योग मन्त्री

    ग्याँसको अभाव हुन्न, लाइनमा नबस्नुस : उद्योग मन्त्री

    काठमाडौं । कोरोना भाइरसका कारण नाकाबन्दी हुने हल्ला नेपालमा फैलाइएको छ । यसले कृतिम अभाव सिर्जना गर्ने व्यापारीलाई ठूलो राहत दिएको छ ।

    किनकी बजारमा मानिसहरु आत्तिसकेका छन् । कतै २०७२ सालमा जस्तै अभाव भोग्नु पर्ने त होइन ? शुक्रबार यस्तै दृष्य अनामनगरमा देखियो ।

    ग्याँस किन्न लामो लाइनमा मानिस बसिरहेका थिए । मानिस ग्याँस सकिएर नभई अतिरिक्त मौज्दाद राख्नका लागि ग्याँस किन्न आएका थिए ।

    तर, सरकारले भने ग्याँसको अभाव नहुने भन्दै ढुक्का हुन आग्रह गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले ग्यास अभाव नहुने भन्दै लाइनमा नबस्न सर्वसाधारणसँग आग्रह गरेका छन् ।

    उनले शुक्रबार पत्रकार सम्मेलनको आयोजना नै गर्नु परेको छ । उनले हटलाइनको व्यवस्था गरी तत्काल ग्याँस पाउने व्यवस्था हुने भन्दै उपभोग्य सामानको अतिरिक्त जोहो गर्नुपर्ने आवश्यकता नभएको स्पष्ट पारेका छन् ।

    उनका अनुसार आपूर्ति मन्त्रालय र नेपाल आयल निगममा छिटै हटलाइन टेलिफोन व्यवस्था हुने भएको छ । उनले घरमा थप सिलिण्डर राख्नु पर्ने आवश्यकता नरहेको भन्दै सबै सामान यथावत रुपमा उपलब्ध हुने आश्वासन दिए ।

    नेपालमा अहिले सबै उपभोग्य वस्तुको आपूर्ति सामान्य रहेको समेत उनले स्पष्ट पारे । बजारमा भने नागरिकले सरकारको विश्वास नगरी अतिरिक्त सामान थुपार्न थालेका छन् । यसले बजारमा व्यापारीलाई फाइदा गरेको छ ।

  • गच्छदार समूहका दर्जन नेता बने कांग्रेस केन्द्रिय सदस्य

    गच्छदार समूहका दर्जन नेता बने कांग्रेस केन्द्रिय सदस्य

    काठमाडौं । विजय कुमार गच्छदार समूहका एक दर्जन नेता नेपाली कांग्रेसको केन्द्रिय सदस्य बनेका छन् । उक्त समूहका ११ जना केन्द्रीय सदस्य कांग्रेसमा थपिएका हुन् ।

    काग्रेस सभापति शेरबहादुर देउवाले तत्कालीन नेपाल लोकतान्त्रिक फोरमसँग भएको सहमतिअनुसार ११ नेतालाई केन्द्रीय सदस्य मनोनित गरेको कांग्रेसले जानकराी गराएको छ ।

    रामजनम चौधरी, नसिर सिद्धिकी, भारतेन्द्रकुमार मल्लिक, हेमराज तातेड, गोपाल दहित, मंगलप्रसाद थारु, योगेन्द्र चौधरी, हरिप्रसाद न्यौपाने, सुमित्रा थरुनी, कल्पना चौधरी र पवनकुमार सारडा केन्द्रिय सदस्य बनेका छन् ।

    पछिल्लो समय सभापति देउवाले पार्टीलाई पूर्णता दिन धमाधम मनोनित गर्ने काम गरिरहेका छन् ।

  • थप तीन देशमा कोरोना संक्रमित पुष्टी, इटालीमा एकै दिन ४१ को ज्यान गयो

    थप तीन देशमा कोरोना संक्रमित पुष्टी, इटालीमा एकै दिन ४१ को ज्यान गयो

    रोम । चीनबाट शुरु भएको कोरोना भाइरसको संक्रमण थप तीन मुलुकमा फैलिएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार बोस्निया हर्जगोभिना, स्लोभानिया र दक्षिण अफ्रिकामामा यसको पुष्टी भएको छ ।

    यससँगै विश्वका ९० भन्दा बढी मुलुकमा कोरोना भाइरसको संक्रमण फैलिएको छ ।

    बिहीबार इटालीमा मात्र एकै दिन ४१ जनाको मृत्यु भएको पुष्टी इटाली सरकारले गरेको छ । इटालीमा कोरोनाले ज्यान लिनेको संख्या अब १४८ पुगेको छ।

    कोरोना भाइरसबाट चीनबाहिर सबैभन्दा ठूलो क्षति इटालीमा भएको छ ।

    संसारभर हालसम्म ३ हजार २ सय जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भइसकेको छ ।

    ९५ हजार मानिसमा यसको संक्रमण पुष्टी भएको छ । इटालीका सम्पूर्ण राज्यमा संक्रमण फैलिसकेको छ । इटालीले विद्यालय र कलेजहरु बन्द गरिसकेको छ ।

    बिहीबार बेलायतमा पनि एक जनाको ज्यान गएको संचारमाध्यमले लेखेका छन् ।

    पछिल्लो समय चीनमा यस रोगको संक्रमणबाट मर्नेको संख्यामा उल्लेख्य कमी आउँदा यूरोपमा भने तिब्र रुपमा फैलिएको छ ।

  • नेपाल-भारत सीमाका ३७ नाकामा कोरोना चेकजाँच गरिने

    नेपाल-भारत सीमाका ३७ नाकामा कोरोना चेकजाँच गरिने

    काठमाडौं । अब नेपाल र भारतको सीमामा समेत कोरोनाको चेकजाँच हुने भएको छ । कोरोना भाइरसको संक्रमण भारतमा देखिएको छ ।

    भारतमा बिहीबारसम्म ३० जनामा संक्रमण पुष्टी भइसकेको छ ।

    यसै सन्दर्भमा सरकारको उच्चस्तरीय संयन्त्रले नेपाल-भारतका ३७ सीमा नाकामा कोरोना चेकजाँच कडा गर्ने निर्णय गरेको हो ।

    यसअघि चीनसँगको नाकामा मात्र यस्तो चेकजाँच हुने गरेको थियो । रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको उच्चस्तरीय समितिको बैठक बिहीबार बसेको थियो ।

    बैठकले त्रिभुवन विमानस्थलमा भइरहेको चेकजाँचलाई व्यवस्थित बनाउने निर्णय समेत गरेको छ ।

    बढी मानिस आवत जावत हुने नेपाल र भारतका ३७ वटा नाकामा समेत स्वास्थ्य टोली पठाएर चेकजाँच गर्ने निर्णय यस संयन्त्रले गरेको हो । प्रदेशहरुमा समेत स्वास्थ्य टोली खटाउने निर्ण भएको छ ।

  • प्रधानमन्त्रीको डिस्चार्ज एक सातापछि

    प्रधानमन्त्रीको डिस्चार्ज एक सातापछि

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अझै एक साता अस्पतालमा रहनु पर्ने भएको छ । उनको स्वास्थ्यमा अपेक्षित सुधार आएको भन्दै चिकित्सकले एक साता चिकित्सकको निगरानीमा अस्पतालमै रहनुपर्ने भएको हो ।

    प्रधानमन्त्रीकी निजी चिकित्सक दिव्या सिंह शाहका अनुसार अस्पतालमा एक साता राख्दा प्रधानमन्त्रीलाई पर्याप्त आराम समेत पुग्नेछ ।

    सामान्यतया मृगौला प्रत्यारोपण गरेको चार दिनमा डिस्चार्ज गर्न सकिन्छ । प्रधानमन्त्रीको बुधबार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा मृगौला प्रत्यारोपण गरिएको हो । प्रधानमन्त्रीको स्वास्थ्य खतरामुक्त र अपेक्षित सुधारोन्मुख रहेको चिकित्सकले बताएका छन् ।

    स्वास्थ्य खतरामुक्त रहेपनि संक्रमणको जोखिम रहने भएकाले अस्पतालमै राख्ने निर्णयमा अस्पताल पुगेको हो ।

    प्रधानमन्त्री डिस्चार्ज भएसकेपछि पनि एक महिनासम्म बाहिर जान सक्नेछैनन् । उनले घरमै आराम गरी बस्नु पर्नेछ ।

    प्रधानमन्त्रीलाई एक महिनासम्म कडा डोजको औषधी चलाइन्छ । प्रधानमन्त्रीले जाउलो खान थालेका छन् ।

    उनी दोहोरो कुराकानी गर्न सक्ने अवस्थामा छन् । उता, प्रधानमन्त्रीलाई मृगा्रला दिएकी भान्जी समिक्षा संग्रौलाको पनि स्वास्थ्यमा राम्रो सुधार भइरहेको छ ।

    उनले मामालाई कस्तो छ भन्दै प्रधानमन्त्रीको स्वास्थ्यप्रति चासो राखेकी थिइन् ।

  • इपीएल स्थगित, विश्वस्तरीय खेलाडी अब नेपाल आउलान ?

    इपीएल स्थगित, विश्वस्तरीय खेलाडी अब नेपाल आउलान ?

    काठमाडौं । यस वर्षको एभरेष्ट प्रिमियर लीग खास बनाउने लक्ष्य आयोजकको थियो ।

    संसारभरका विश्वस्तरीय खेलाडीलाई काठमाडौंमा उतारेर नेपाली दर्शकसामु प्रस्तुत गर्ने लक्ष्यसहित आयोजना गर्ने योजना बनाइएको एभरेष्ट प्रिमियर लीग (इपीएल) स्थगित भएको छ ।

    टीयू मैदानमा आयोजना हुने यो प्रतियोगिता विश्वव्यापी संक्रमण कोरोना भाइरसका कारण स्थगित गर्नु परेको हो । टी-२० क्रिकेटका बादशाह क्रिस गेलसहित विश्वस्तरीय खेलाडी यस पटक नेपाल आउने तयारीमा थिए ।

    प्रतियोगिता आउन पनि एक सातामात्र बाँकि रहेको अवस्थामा आयोजकले विश्वभर फैलिएको कारोना भाइरसका कारण प्रतियोगिता स्थागित गरिएको जनाएको छ ।

    क्रिस गेलसहित विश्वका १६ स्टार खेलाडी नेपाल आउने पक्का भएको थियो । केही खेलाडीको सरप्राइज नाम सार्वजनिक गर्ने तयारी समेत थियो ।

    तर, प्रतियोगिता नै स्थगित गर्नुपरेपछि त्यसले खेलप्रेमीलाई निरास मात्र बनाएर एक प्रकारको माहौलसमेत प्रभावित भएको छ ।

    १ चैतमा यो प्रतियोगता उद्घाटनको तयारी थियो । आयोजकले बिहीबार पत्रकार सम्मेलन गरी प्रतियोगिता स्थगित भएको घोषणा गरेको हो ।

    खेलाडी र फ्यानहरुको सुरक्षाका कारण प्रतियोगिता तोकिएको समयमा गर्न नसकिएको आयोजकको भनाई छ ।

    आयोजक ईपीएल प्रालिका प्रवन्ध निर्देशक आमिर अख्तरका अनुसार अर्को सूचना जारी नभएसम्म प्रतियोगिता स्थगित भएको हो ।

  • जनप्रतिनिधि र कर्मचारी बोकेको जीप दूर्घटनामा वडासचिवको ज्यान गयो

    जनप्रतिनिधि र कर्मचारी बोकेको जीप दूर्घटनामा वडासचिवको ज्यान गयो

    गोरखा । गोरखाको धार्चे गाउँपालिकामा जनप्रतिनिधि र कर्मचारी सवार जीप दुर्घटनामा परी वडा सचिवको मृत्यु भएको छ । दुर्घटनामा परी गाउँपालिका उपाध्यक्षसहित ७ जना घाइते भएको प्रहरीले जनाएको छ ।

    यो टोली अपांगता परिचयपत्र वितरण गर्न आरूघाटबाट काशीगाउँतर्फ जाँदै गरेको थियो ।

    जीपमा जनप्रतिनिधि र कर्मचारी चढेका थिए । बा १ च ५५०५ नम्बरको जीप बुधबार राति दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ ।

    दुर्घटनामा धार्चे गाउँपालिका–६ का सचिव किरण रिमालको ज्यान गएको हो ।

    गाउँपालिकाकी उपाध्यक्ष फूलमाया गुरुङ, धार्चे गाउँपालिका–५ का शर्मिला गुरुङ, निशा गुरुङ, केरौजाका बालचन्द्र गुरुङ, लाप्राकका धनबहादुर गुरुङ, माछाखोलाका केयरसि‌ंह गुरुङ र काठमाडौंका सुरज नेपाल घाइते छन् ।

    जीप सडकबाट २ सय मिटर तल झरेको छ ।

  • जन्तीबस दुर्घटनामा ४ को मृत्यु

    जन्तीबस दुर्घटनामा ४ को मृत्यु

    हेटौडा । मकवानपुरमा बुधबार साँझ भएको बस दुर्घटनामा चार जनाको ज्यान गएको छ । मकवानपुरको गढी गाउँपालिका–२, गौरी भञ्ज्याङमा बुधबार बेलुका जन्ती बोकेको बस दुर्घटनामा परेको हो ।

    दुर्घटनामा ४ जनाको ज्यान गएको थियो । त्यसमध्ये ३ जनाको सनाखत भएको प्रहरीले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालय, मकवानपुरका अनुसार, घटनामा गढी गाउँपालिका–२, गौरीभञ्ज्याङका ३५ वर्षीय सोमबहादुर रुम्बा, २८ वर्षीय सोम बहादुर मोक्तान र गढी गाउँपालिका–७ का २४ वर्षीय सुरज लोको मृत्यु भएको छ ।

    अर्का एक युवकको भने सनाखत भएको छैन । जीतपुर भञ्ज्याङबाट सुकौरातर्फ जन्ती लिएर जाँदै गरेको ना ३ ख ३५५६ नम्बरको बस दुर्घटनामा परेको थियो ।

    ३ जनाको घटनास्थलमा र एक जनाको भने उपचारका क्रममा कलेज अफ मेडिकल साइन्स अस्पतालमा मृत्यु भएको हो । दुर्घटनामा २६ जना घाइते भएका छन् ।

  • सुनको मूल्यले फेरी कायम गर्यो कीर्तिमान, ८० हजार नाघ्यो

    सुनको मूल्यले फेरी कायम गर्यो कीर्तिमान, ८० हजार नाघ्यो

    काठमाडौं । बुधबार सुनको मूल्यले कीर्तिमान कायम गरेको छ । बुधबार ८० हजार ५ सयमा कारोबार भएको सुनको मूल्य एकै दिनमा २२ सय रुपैयाँले बढेको हो ।

    ८० हजार ५ सयमा पुग्दा बुधबार सुनको मूल्यले अहिलेसम्म कै उच्च रेकर्ड कायम गरेको छ । मंगलबार छापावाला सुन प्रतितोला ७८ हजार ३ सयमा कारोबार भएको थियो।

    यसअघि फागुन १२ मा सुनको मूल्यले प्रतितोला ८० हजार ३ सयमा पुगेर नयाँ किर्तिमान बनाएको थियो।

    बुधबार तेजाबी सुनको मूल्य ८० हजार २ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकराी दिएको छ ।

    चाँदीको मूल्य प्रतितोला ८ सय ८० रुपैयाँ कायम भएको छ ।

    मंगलबार अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस १५ सय १६ अमेरिकी डलरमा कारोबार भएको सुनको मूल्य बुधबार प्रतिऔंस १६ सय ४२ अमेरिकी डलरमा पुगेको छ।

  • विभिन्न दुर्घटनामा कम्तिमा आधा दर्जनको ज्यान गयो

    विभिन्न दुर्घटनामा कम्तिमा आधा दर्जनको ज्यान गयो

    काठमाडौं । बुधबार देशभर सडक दुर्घटनाका खबर आए । दुर्घटनामा परी आधा दर्जनको ज्यान गएको छ भने दर्जनौं मानिस घाइते भएका छन् । सुर्खेतको गल्छेनामा बुधबार जीप दुर्घटना भयो ।

    यस दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । चार जना घाइते भएका छन् । प्रहरीका अनुसार बाँकेको वैजनाथ गाउँपालिका–३ का ४२ वर्षीय खड्गबहादुर बीसी, उनकी ३९ वर्षीया श्रीमती गोमा बीसी र सुर्खेत घर भएका ५० वर्षीय देबबहादुर खड्काको ज्यान गएको हो ।

    दैलेखको धरमपोखराबाट सुर्खेततर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२–००१ ज ०००७ नम्बरको जीप वीरेनद्रनगर नगरपालिका–१५ राउटे गल्छेनामा दुर्घटनामा परेको थियो ।

    जीप सडकबाट ४ सय मिटर तल खसेको थियो ।

    सिराहामा दुई वटा मोटरसाइकल ठक्कर खादा सडक दुर्घटना भएको छ । सडकमा पछारिएका युवकलाई बसले किचेको थियो । यस घटनामा एक जनाको ज्यान गएको छ ।

    पूर्वपश्चिम् राजमार्ग अन्तर्गत गोलबजार,४ स्थित सडक खण्डमा दुर्घटना भएको हो ।

    पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको को.३३ प. २०९८ नम्बरको मोटरसाइकल र पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा ३१ प ५८८३ नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किएका थिए ।

    दुईवटा मोटरसाइकल ठक्कर खाएपछि सडकमा पछारिएका युवाई पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको ना ४ ख ४२६५ नम्बरको यात्रुबाहक बसले ठक्कर दिएको थियो ।

    दुर्घटनामा को ३३ प २०९८ नम्बरको मोटरसाइकल चालक सिरहा, लहान नगरपालिका १९ का २६ वर्षिय मोहमद लुतफुर रहमानको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    उदयपुरको त्रियुगा नगरपालिका, १४ का २६ वर्षिय आरजु राई घाइते भएकी छन् ।

    विराटनगर– १९ मिलनचोकमा मंगलबार राती टिपरको ठक्करबाट एकै परिवारका दुई जनाको ज्यान गएको छ ।

    मंगलबार राति विराटनगर– १९ मिलनचोकमा आफन्तको विवाहमा सहभागी भएर घर फर्कदै गरेका बाबुराम सरदार र उनकी ६ वर्षकी नातिनी आरोही सरदार रहेको अटोमा टिपरले ठक्कर दिएको थियो ।

    विराटनगरको घिनाघाट– विराटचोक सडक खण्डको मिलनचोकमा को १ ख २९१७ नम्बरको टिपरले मिलचोकबाट झोराहाट तर्फ जाँदै गरेको प्रदेश १–००२ ह ८६०६ नम्बरको अटोलाई ठक्कर दिँदा चालक बाबुराम र नातिनी आरोहीको ज्यान गएको हो ।

    उनीहरुको ज्यान गएपछि आक्रोशित स्थानीयले मंगलबार राति टिपरमा आगजनी गरी सडक अवरुद्ध गरेका थिए ।

  • प्रधानमन्त्रीको दोस्रो पटकको मिर्गौला प्रत्यारोपण सफल, स्वास्थ्य अवस्था स्थिर

    प्रधानमन्त्रीको दोस्रो पटकको मिर्गौला प्रत्यारोपण सफल, स्वास्थ्य अवस्था स्थिर

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो पटकको मिगौला प्रत्यारोपण सफल भएको छ । प्रत्यारोपणपछि मिर्गौलाले काम गर्न थोलेको उपचारमा स्वास्थ्य स्थिर रहेको चिकित्सकहरुले बताएका छन् ।

    उनको त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा सफल मिर्गौला प्रत्यारोपण भएको हो । प्रधानमन्त्रीकी भान्जी समीक्षा संग्रौलाको एउटा मिर्गौला प्रधानमन्त्रीको शरीरमा राखिएको हो ।

    अब प्रधानमन्त्रीको शरीरमा अब चार वटा मिगौैला भएका छन् । सामान्यतया प्रत्यारोपणपछि पनि पुरानो मिर्गौला शरीरबाट निकाल्ने गरिदैन । त्यसले अझ जोखिम निम्तने चिकित्सकहरु बताउँछन् ।

    अस्पतालका कार्यकारी निर्देशक डा. प्रेमकृष्ण खड्काका अनुसार प्रत्यारोपण गरिएको मिर्गौलाले काम गर्न थालिसकेको छ ।

    प्रधानमन्त्रीको शरीरका मुख्य सूचकांक ठिक छन् । प्रधानमन्त्री ओलीलाई प्रत्यारोपण उपचार कक्षबाट आइसीयूमा सारिएको छ । यता मिर्गौला दिने समीक्षाको अवस्था पनि सामान्य रहेको चिकित्सकले बताएका छन् ।

    प्रधानमन्त्रीको यो दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको हो ।

    खासगरी सरकार प्रमुखबाट स्वदेशी चिकित्सक र अस्पताललाई विश्वास गर्दै स्वदेशमा गराएको उपचारको भने सामाजिक संजालमा खुलेर प्रशंशा भएको छ ।

    प्रा. डा. अनन्तकुमार, डा. दिव्या सिंह साह, डा. महेश सिग्देल, डा. मुकुन्द काफ्ले, डा. रविन नेपालीलगायत टोली उपचारमा खटिएका छन् । डा अनिल श्रेष्ठ, प्रा. डा. सुवास आचार्यलगायतसमेत प्रधानमन्त्रीको उपचारमा खटिएका छन् ।

  • प्रधानमन्त्रीको आज मृगौला प्रत्यारोपण, संसारभरका नेताको सुभेच्छा

    प्रधानमन्त्रीको आज मृगौला प्रत्यारोपण, संसारभरका नेताको सुभेच्छा

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आज मिर्गौला प्रत्यारोपण हुँदैछ । उनको मिर्गौला प्रत्यारोपणको प्रक्रिया विहान ९ बजेबाट शुरु भएको छ । यो प्रक्रिया पाँच घण्टामा सकिने बताइएको छ ।

    त्रिवि शिक्षण अस्पतालमा उनको उपचार भइरहेको छ । वरिष्ठ चिकित्सक डाक्टर अरुण सायमीलगायतको टीम उपचारमा खटिएको छ । मिर्गौला प्रत्यारोपण गर्न प्रधानमन्त्री सोमबार त्रिवि शिक्षण अस्पताल भर्ना भएका हुन् ।

    उनको मंगलबार प्रि ट्रान्सप्लान्ट डायलासिस र अन्य स्वास्थ्य परीक्षण सम्पन्न भइसकेको छ । मिर्गौला प्रत्यारोपणपछि बिरामी ५ देखि ६ दिनसम्म अस्पतालमै रहनुपर्छ ।

    प्रधानमन्त्री अस्पतालको एनेक्स वार्डको भिभिआइपी क्याबिनको ६०१ नम्बरमा उपचारार्थ भर्ना भएका छन् ।

    यस अस्पतालमा भिभिआइपीका लागि ६०१ र ६०२ गरी दुईवटा क्याबिन छन् । प्रधानमन्त्री ओलीलाई भान्जी समीक्षा संग्रौला ज्ञवालीले मिर्गौला दान गरेकी छिन् ।

    उनको १२ वर्ष अघि पहिलो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विभिन्न देशका समकक्षीहरूले सफल शल्यक्रियाको शुभेच्छा व्यक्त गरेका छन् ।

    भुटानका प्रधानमन्त्री डा. लोट्टी छिरिङ, पाकिस्तानका प्रधानमन्त्री इमरान खान, जापानी समकक्षी सिन्जे आवेले पत्र पठाएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यसअघि नै स्वास्थ्य लाभको कामना गरेका थिए ।

  • कोरोनाको आंशका लागेका चार जनाको रिपोर्ट नेगेटिभ

    कोरोनाको आंशका लागेका चार जनाको रिपोर्ट नेगेटिभ

    काठमाडौं । कोरोना संक्रमणको आंशकामा टेकुमा भर्ना भएका चार जनामा नेगेटिभ रिपोर्ट आएको छ । यससँगै अझै पनि नेपाल कोरोना मुक्त मुलुककै रुपमा रहेको छ ।

    टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा कोरोनाको आशंकामा चार जना भनाई भएका थिए ।

    तर, उनीहरुमा नेगेटिभ रिपोर्ट आएपछि डिस्चार्ज भएका छन् । उनीहरु आइतबार अस्पताल भर्ना भएका थिए । उनीहरु सबै नेपाली नागरिक भएको बताइएको छ ।

    डिस्चार्ज भएका मध्ये एक जना चीन र तीन जना दक्षिण कोरियाबाट फर्केका थिए । अस्पतालका मंगलबार थप दुई जना अस्पताल भर्ना भएका छन् उनीहरुलाई समेत कोरोना संक्रमणको आशंकमा आइसोलेसनमा राखिएको छ ।

    उनीहरुमध्ये पनि एक जना दक्षिण कोरिया र अर्का एक जना मध्यपूर्वबाट आएको अस्पतालले जनाएको छ । दुई महिनाअघि चीनबाट सुरु भएको कोरोना भाइरस विश्वका ६५ भन्दा बढी देशमा फैलिइसकेको छ ।

    दक्षिण कोरिया, इरान र इटालीजस्ता देशमा यस रोगको संक्रमणबाट मानिसको ज्यान समेत गइसकेको छ । विश्वस्वास्थ्य संगठनले विश्वभर स्वास्थ्य आपतकाल घोषणा गरेको  छ ।

  • प्रमको बुधबार मृगौला प्रत्यारोपण, प्रचण्डले अस्पतालमै पुगेर भेटे

    प्रमको बुधबार मृगौला प्रत्यारोपण, प्रचण्डले अस्पतालमै पुगेर भेटे

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको बुधबार मृगौलाको दोस्रो पटक प्रत्यारोपण हुँदैछ ।

    यसअघि १२ वर्ष अगाडी प्रत्यारोपण भएको मृगौलाले काम गर्न छाडेपछि दोस्रो पटक मृगौला प्रत्यारोपण हुन लागेको हो । त्रिवि शिक्षण अस्पतालमा मंगलबार भर्ना भएका प्रधानमन्त्रीलाई भेट्न नेकपा अध्यक्ष प्रचण्ड मंगलबार अस्पताल पुगेका छन् ।

    यसअघि उपराष्ट्रपति नन्दकिशोर पुनले सोमबार नै प्रधानमन्त्रीलाई उनकै निवासमा पुगेर स्वास्थ्य लाभको कामना गरेका थिए ।

    यसअघि सोमबार प्रधानमन्त्रीले आफू पूण रुपमा ठिक भएर आउने र थाती रहेका सपना पुरा गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

  • अर्थमन्त्री खतिवडाले दिए राजिनामा, बुधबार नै पुनः नियुक्ति गर्ने तयारी

    अर्थमन्त्री खतिवडाले दिए राजिनामा, बुधबार नै पुनः नियुक्ति गर्ने तयारी

    काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले पदबाट राजीनामा दिएका छन् । आज राती मंगलबारबाट उनको राष्ट्रिय सभा सदस्यको पदावधी सकिएको छ । सोहीसँगै उनले आफ्नो पदबाट राजिनामा दिएका हुन् ।

    उनले पदबाट दिएको राजिनामा राष्ट्रपति कार्यालयमा पठाइएको छ । खतिवडा र प्रधानमन्त्री केपी शर्मा ओलीबीच मंगलबार भेटवार्ता भएको थियो ।

    पुनः मिर्गौला प्रत्यारोपणका लागि त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका प्रधानमन्त्री ओलीलाई भेटेर अर्थमन्त्री फर्किएका थिए । उनले राजिनामा गरेपनि पुनः अर्थमन्त्रीमा नियुक्ति हुँदैछन् ।

    यो पद आगामी ६ महिना कायम रहनेछ । त्यसपछि भने उनी स्वतः बिदा हुने भएका छन् ।

    संविधानको धारा ७८ अनुसार संघीय संसदको सदस्य नभएको व्यक्तिलाई मन्त्री नियुक्त गर्न सकिनेछ । र, यसरी नियुक्त मन्त्रीले सपथ लिएको ६ महिनाभित्र संघीय संसदको सदस्यता पाइसक्नु पर्नेछ ।

    अर्थमन्त्रीको पुननियुक्ति र सपथसमेत बुधबार हुने स्रोतको भनाई रहेको छ ।

  • नाइजेरियामा लुटेराले लिए ५० को ज्यान

    नाइजेरियामा लुटेराले लिए ५० को ज्यान

    नाइजेरिया । उत्तरी नाइजेरियामा धनमाल लुट्न गाउँ छिरेका लुटेराले कम्तिमा ५० जनाको ज्यान लिएका छन् । नाइजेरियाका विभिन्न गाउँमा लुटेरा समूहको आक्रमणमा परी उनीहरुको ज्यान गएको अधिकारीरुले जनाएका छन् ।

    गाउँलेको धनमाल चोरी गर्न उनीहरु गाउँ पसेका थिए । तर, गाउँलेबाट प्रतिकार भएपछि आक्रमण गरी गाउँलेलाई मारेको स्थानीय अधिकारीहलाई उदृत गर्दै संचारमाध्यमले लेखेका छन् ।

    लुटेराहरूले चौपाया चोरी गर्ने र अपहरण गर्ने क्रममा गाउँलेहरूले प्रतिकारको प्रयास गर्दा उनीहरूमाथि आक्रमण भएको नाइजेरियाको प्रहरीले बताएको छ।

    स्रोतहरूका अनुसार लुटेराको करिब १०० जनाको सशस्त्र समुह कादुना राज्यको केरावा, जारेयावा र मिन्दा गाउमा पसेको थियो ।

    आइतबार बिहान मस्जिदमा प्रार्थना गर्न पुगेका क्रिश्चियन धर्मावलम्बीलाई गोली हानी हत्या गरेर उनीहरुले धनमाल लुटेका छन् ।

    गाउँलेको हत्यापछि गाउमा पसी उनीहरूका चौपाया र धनमाल लुटेको बताइएको छ । साना बच्चाहरुलाई भने अपहरण गरी लगिएको छ ।

    लुटेराहरूले स्थानीयका घर समेत भत्काइदिएका छन् ।

    नाइजेरियाको सेनाले लुटेरा लुकेर बसेका स्थानमा गाउँलेहरूको सहयोगमा आक्रमण गरेको र त्यसकै बदलामा गाउँलेको हत्या भएको अनुमान गरिएको छ ।

    स्थानीयले लुटेर लुकेको स्थानका सम्बन्धमा सेनालाई सूचना दिएकै कारण स्थानीयलाई मारेको बताइएको छ ।

  • प्रधानमन्त्री अस्पताल भर्ना, दोस्रो पटक मृगौला प्रत्यारोपण हुने

    प्रधानमन्त्री अस्पताल भर्ना, दोस्रो पटक मृगौला प्रत्यारोपण हुने

    काठमाडौं । प्रधानमन्त्री अस्पताल भर्ना भएका छन् । १२ वर्षपछि दोस्रो पटक मृगौला प्रत्यारोपण गर्न उनी अस्पताल भर्ना भएका हुन् । प्रधानमन्त्री सोमबार बेलुका अस्पताल भनाई भएका हुन् ।

    उनको त्रिवि शिक्षण अस्पतालमा मृगौलाको प्रत्यारोपण हुने भएको छ । १२ वर्ष अगाडी एपालो अस्पताल भारतमा उनको मृगौलाको प्रत्यारोपण गरिएको थियो ।

    प्रधानमन्त्रीको बुधबार मृगौला प्रत्यारोपण गर्ने तयारी रहेको छ । प्रधानमन्न्त्री ओलीलाई भान्जीले मृगौला दिने भएकी छिन् ।

    उनीसमेत सोमबार नै अस्पताल भर्ना भएको अस्पतालले जानकारी दिएको छ । अस्पताल भर्ना हुनुअघि प्रधानमन्त्रीले भिडियो सन्देश जारी गरेका छन् ।

    उक्त भिडियो सन्देशमा प्रधानमन्त्री ओलीले मृगौला प्रत्यारोपणपछि थप उर्जा र आत्मविश्वास लिएर काममा फर्किने उल्लेख गरेका छन् ।

    मानिस अजम्मरी नहुने भन्दै उनले आफूले अगाडी सारेको योजनालाई मूर्तरुप दिने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।

  • चीनबाट लीलामणी पौडेल फिर्ता, नयाँ राजदूतमा पाण्डे सिफारिस

    चीनबाट लीलामणी पौडेल फिर्ता, नयाँ राजदूतमा पाण्डे सिफारिस

    काठमाडौं । सरकारले चीनका लागि नेपाली राजदूत लीलामणी पौडेललाई फिर्ता बोलाएको छ । उनको स्थानमा महेन्द्र पाण्डेलाई राजदूतमा नियुक्त गर्न मन्त्रीपरिषद्ले सिफारिस गरेको छ ।

    यद्दपी सरकारको यो निर्णयको भने आलोचना भइरहेको छ । आफ्नो नातागोता गर्ने मानिसलाई अवसर दिने र दक्ष कर्मचारीलाई भने फिर्ता बोलाएको भन्दै सरकारको आलोचना शुरु भएको हो ।

    पूर्व मुख्यसचिव समेत रहेका पौडेललाई २०७३ कात्तिकमा चीनका लागि नेपाली राजदूत नियुक्त गरिएको थियो ।

    उनलाई तत्कालिन पुष्पकमल दाहाल, प्रचण्ड नेतृत्वको सरकारले राजदूत नियुक्त गरेको थियो ।

    चीनमा राम्रो काम गरिरहेका भएपनि सरकारले उनलाई फिर्ता बोलाउन लागेको हो ।

    उनको स्थानबाट पूर्वपरराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेको नाम सिफारिस गरिएको छ ।

  • भ्रमण वर्ष स्थगित गरिने

    भ्रमण वर्ष स्थगित गरिने

    काठमाडौं । सरकारले नेपाल भ्रमण वर्ष २०२० र सगरमाथा सम्वाद कार्यक्रम स्थगित गर्ने भएको छ । यी दुबै कार्यक्रम स्थगित गर्ने प्रस्ताव प्रधानमन्त्रीले गरेका छन् ।

    अब विभागीय मन्त्रालयले यसको प्रस्ताव मन्त्रीपरिषद्मा लगेर यसको औपचारिक निर्णय हुने भएको छ ।

    आइतबार साँझ मन्त्रीपरिषद् बैठक बसेको थियो । मन्त्रिपरिषद बैठक र उच्चस्तरीय समितिमा छलफल भएको छ ।

    चीनको वुहानबाट सुरु भएको कोरानो भाइरसको संक्रमण अहिले युरोप र मध्यपूर्वसम्म फैलिएको छ । यसको बिस्तार तिब्र रुपमा भइरहेको छ ।

    विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले पनि नेपाललाई उच्च जोखिमयुक्त मुलुकको सूचिमा राखेको छ । सोहीकारण भ्रमण वर्ष स्थागित गर्ने र आन्तरिक पर्यटकीय प्रवद्र्धनमा केन्द्रित हुने तयारी सरकारले गरेको छ ।

    कोरोनाको संक्रमणबारे सतर्कतामा जोड दिने समय भएकाले पर्यटन प्रवर्द्धनमा ध्यान दिन नसकिने भन्दै भ्रमण वर्ष रोक्न लागिएको हो ।

    मन्त्रीपरिषद् बैठकमा सरकारले विभिन्न कोरोना अतिप्रभावित मुलुकबाट आउने विमान र यात्रुलाई समेत रोक्ने गरी छलफल भएको थियो ।

    चीन, जापान, दक्षिण कोरिया, हङकङ र इरानका यात्रुहरुलाई रोक्ने तयारी सरकारले गरेको छ ।

    त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा समेत आइतबारबाटै बाहिरने र भित्रिने हरेक यात्रुको स्वास्थ्य चेकजााच गर्न थालिएको छ ।

  • प्रधानमन्त्रीको मृगौला प्रत्यारोपण बुधबार

    प्रधानमन्त्रीको मृगौला प्रत्यारोपण बुधबार

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको नेपालमै मिर्गौला प्रत्यारोपण हुने भएको छ । आगामी बुधबार मृगौला प्रत्यारोपणको तयारी गरिएको छ ।

    त्रिवि शिक्षण अस्पतालमा उनको मृगौला प्रत्यारोपण हुने भएको हो । उनको दोस्रो पटक मृगौला प्रत्यारोपण हुने लागेको हो ।

    यसका लागि ओाली सोमबार नै अस्पताल भर्ना हुने वालुवाटार स्रोतले जनाएको छ ।

    सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आइतबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओलीले उपचारको योजनाबारे व्रिफिंग गरेका थिए ।

    प्रधानमन्त्री ओलीको २०६३ मा भारतको अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण भएको थियो ।

    त्यसपछि पनि निरन्तर औषधि खाएका उनको फेरिएको मृगौलाले समेत काम गर्न छाडेपछि प्रत्यारोपण गरिएको हो ।

  • नेकपा अध्यक्ष प्रचण्डमाथि जुत्ता प्रहार, एक जना पक्राउ

    नेकपा अध्यक्ष प्रचण्डमाथि जुत्ता प्रहार, एक जना पक्राउ

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)माथि जुत्ता प्रहार भएको छ । यद्दपी जुत्ता प्रचण्डसम्म पुग्न भने सकेन ।

    राष्ट्रिय सभागृहमा आइतबार आयोजना भएको एक कार्यक्रममा जुम्लाका रतन तिरुवाले प्रचण्डलाई लक्षित गर्दै दर्शक दीर्घाबाट जुत्ता प्रहार गरेका थिए ।

    प्रचण्डले भाषण सकेर अभिवादन भनिसकेपछि उनले जुत्ता प्रहार गरेका थिए ।

    भाषण मन नपरेका कारण आवेशमा आएर जुत्ता हानेको बयान उनले दिएका छन् ।

    उनी पूर्वलडाकु तथा शहीदका छोरा भएको प्रचार गरिएपनि यो सत्य नभएको जुम्लास्थित नेकपा पार्टी कार्यालयले स्पष्ट पारेको छ ।

    जुत्ता प्रहार गरेका उनलाई तत्काल प्रहरीले पक्राउ गरेको थियो ।

    राष्ट्रिय सभागृहमा भरतमोहन अधिकारीको पहिलो स्मृति सभामा यस्तो घटना भएको छ ।

    प्रचण्डमाथि पटक पटक यस प्रकारका घटना हुने गरेको छ । खासगरी द्धन्द्धकालिन घटनाका कारण यो घटना दोहोरिने गरेको छ ।

  • कतारमा पनि देखियो कोरोना, त्रास नेपालमा

    कतारमा पनि देखियो कोरोना, त्रास नेपालमा

    काठमाडौं । सामान्यतया चिसो मौसम भएको क्षेत्रबाट फैलिएको कोरोना भाइरस पछिल्लो समय तातो मौसम भएका मुलुकमा समेत फैलिएको छ ।

    पछिल्लो पटक कतारमा एक बिरामीमा कोरोनाको संक्रमण पुष्टी भएको छ । इरानबाट फर्किएका २६ वर्षिय एक पुरुषमा कोरोना भाइरस संक्रमण भेटिएको कतारी अधिकारीले पुष्टी गरेका छन् ।

    यो रोग चीनको वुहानमा पहिलो पटक देखिएको हो । पछिल्लो समय यसको संक्रमण युरोप र मध्यपूर्वमा तिब्र रुपमा फैलिदो क्रममा रहेको छ ।

    यसको संक्रमणबाट चीनमा मात्र करीव ३ हजारको ज्यान गइसकेको छ ।

    चीनपछि सबैभन्दा धेरै इरानमा ३४ जनाको ज्यान गइसकेको छ । पछिल्ला दिनमा कोरिया र इटालीमा कोरोनाले ठूलो जनसंख्यालाई प्रभावित बनाएको छ ।

    खाडी मुलुकमा कुवेत, बहराइन, मलेसिया, यूएईमा समेत यसको बिरामी भेटिएका छन् ।

    ती मुलुकमा कोरोनाको संक्रमण फैलँदा त्रास भने नेपालमा बढ्छ । किनकी यी मुलुकमा लाखौं नेपाली कामदार रहेका छन् ।

    एक त उनीहरुनै असुरक्षित हुने र अर्कोतर्फ त्यहाबाट फर्कनेबाट नेपालमा रोग भित्रने हो की भन्ने चिन्ता नेपालमा बढ्दो क्रममा रहेको छ ।

    विश्व स्वास्थ्य संगठनले नेपाललाई समेत उच्च जोखिमयुक्त मुलुकको सूचिमा राखिसकेको छ । किनकी चीन नेपालको सीमाना जोडिएको देश हो ।

  • नेपाललाई कमजोर मलेसियाले हरायो

    नेपाललाई कमजोर मलेसियाले हरायो

    बैंकक । विश्वस्तरीय खेलाडी रहेको र वानडे मान्यता पाएको नेपाललाई कमजोर आंकलन गरिएको मलेसियाले एसीसी इस्टर्न रिजन टि २० क्रिकेट प्रतियोगितामा पराजित गरिदिएको छ ।

    नेपाल र मलेसियाबीच शनिबार सम्पन्न खेलमा मलेसियाले नेपाललाई २२ रनले हराएको हो ।

    शनिबार थाइल्यान्डको बैंककस्थित टेर्डथाई क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको मलेसियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५४ रन बनायो ।

    जवाफी ब्याटिंगमा उत्रिएको नेपाल १९.५ ओभरमा अलआउट हुँदा १३२ रनमा समेटिएको छ ।

    नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले ३८ रन जोडेपनि टोलीलाई जिताउन सकेनन् ।

    पारस खड्का ९ रन बनाएर आउट भए । दीपेन्द्र सिंह ऐरीले ३८ रन नै जोडे । पवन सरार्फको नाममा १९ रन ह्यो ।

    यद्दपी कुनै पनि ब्याट्सम्यानले सम्हालेर खेल्न नसक्दा नतिजा भने मलेसियाको पक्षमा गएको हो ।

  • देउवाले तोके एक दर्जन विभागका प्रमुख

    देउवाले तोके एक दर्जन विभागका प्रमुख

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एक दर्जन विभागमा विभागीय प्रमुख तोकिदिएका छन् । उनले शनिबार १३ वटा विभागमा प्रमुख तोकेको पार्टीले जनाएको छ ।

    यसअघि शुक्रबार वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो पक्षका नेताको नाम दिन अस्वीकार गरेका थिए । त्यसलगत्तै शनिबार देउवाले विभागमा प्रमुख तोकेका छन् ।

    देउवाले संगठन विभाग प्रमुखमा गोपालमान श्रेष्ठलाई तोकेको छन् । प्रवक्ता विश्वप्रकाश शर्मा सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख तोकिए ।

    फरमुल्लाह मन्सुरलाई मुस्लिम, अर्जुन प्रसाद जोशीलाई स्थानीय तह समन्वय विभाग र आनन्दप्रसाद ढुंगानालाई वित्तिय तथा सहकारी संस्था समन्वय विभाग प्रमुख तोकिएको छ ।

    अजय चौरसियालाई तराई मधेस, शंकर भण्डारीलाई तरुण र सीता गुरुङलाई अदिवासी जनजाति विभाग प्रमुख बनाइएको छ ।

    गोविन्द भट्टराई नेपाल जनसम्पर्क, चिनकाजी श्रेष्ठ उद्योग ब्यापार र शिवप्रसाद हुमागाइँ श्रमिक तथा ट्रेड युनियन विभाग प्रमुख बनेका छन् ।

    देउवाले ५ जना नेतालाई भने केन्द्रीय कार्यसमितिमा आमन्त्रित सदस्यका रुपमा मनोनित गरेका छन् ।

    कृष्णकिशोर घिमिरे, गोपालकुमरा बस्नेत, सुधीरकुमार शिवाकोटी, मनोहर नारायण श्रेष्ठ र ध्रुव वाग्ले अब आमन्त्रित सदस्य मनोनित भएको पार्टीले जानकारी दिएको छ ।

    कांग्रेसमा आन्तरिक किचलोकै बीचमा विभागीय प्रमुखहरुको जिम्मेवारी तोकिएको हो ।

  • १४ औं दिनमा घर फर्कन पाएनन् चीनबाट आएका नेपाली

    १४ औं दिनमा घर फर्कन पाएनन् चीनबाट आएका नेपाली

    काठमाडौं । चीनबाट नेपाल फर्काइएका १७५ जना विद्यार्थी र १७ जना चालक दलका सदस्य तथा चिकित्सकले आज १४ औं दिन क्वारेन्टाइनमा सफलतापूर्वक पार गरेका छन् ।

    उनीहरुमध्ये कसैमा पनि कोरोनाको संक्रमण भेटिएन । तर, उनीहरु आजै घर फर्कने भने नपाउने भएका छन् ।

    फाइनल चरणको रिपोर्ट आउने क्रममा रहेका कारण त्यसपछि मात्र उनीहरु घर फर्कन पाउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

    मन्त्रालयका अनुसार उनीहरुलाई अब १७ औं दिनमा घर फर्काउने तयारी छ ।

    खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको क्वारेन्टाइनमा राखिएका १७५ र नगरकोटको खानेपानी तालीम केन्द्रको क्वारेन्टाइनमा राखिएका १७ जनाको ४ फागुनमा नाक र घाँटीको स्वाब (सास) नमूना सङ्कलन गरी परीक्षणका लागि पठाइएको थियो ।

    पहिलो चरणको रिपोर्टमा कसैमा पनि कोरोना सङ्क्रमण भेटिएन । अन्तिम पटक शनिबार फेरि सबैको नाक र घाँटीको स्वाब नमूना सङ्कलन गरि परीक्षण गरिने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उल्लेख गरेको छ ।

    शुरुको दिन गरेको स्वाब परीक्षणदेखि हालसम्म दैनिक दुईपटक भएको ज्वरो नापिएको छ । तर, कसैमा पनि कोरोनाको लक्षण देखिएको छैन ।

    शनिबार सङ्कलन गरिने र्‍याल नमूना परीक्षणको रिपोर्ट सत्रौँ दिनसम्म आउने सम्भावना रहेको बताइएको छ । ढिलोमा अठारौँ दिनमा उनीहरूलाई घर फर्काउने मन्त्रालयको तयारी छ ।

  • पत्रकारहरुलाई सदस्यता नबीकरण गर्न नेजाको आह्वान

    पत्रकारहरुलाई सदस्यता नबीकरण गर्न नेजाको आह्वान

    न्यूयोर्क/अमेरिका
    उत्तर अमेरिकामा बसोबास गरिरहेका सम्पूर्ण पत्रकारहरुलाई नेपाल अमेरिका पत्रकार संघ (नेजा)ले अधिवेशनमा सहभागी हुन आह्वान गरेको छ । अधिवेशनमा सक्रिय र अर्थपूर्ण सहभागीता बढाउनका लागि सदस्यता दर्ता र नबीकरणको कामलाई तिब्र पारिएको नेजाले जनाएको छ । नेजाले गत फेब्रुअरी २० मा आफ्नो वेवसाइट मार्फत सुजना सार्बजनिक गर्दै सदस्यता दर्ता र नबीकरण गरिदिनुहुन अनुरोध गरेको हो ।
    नेजाको सातौं अधिवेशन तथा १४ औं बार्षिक साधारण सभा आगामी मे महिनाको २ र ३ गते न्यूयोर्क शहरमा हुँदैछ । ‘त्यस साधारण सभा तथा अधिवेशनमा सहभागि हुन सबैंमा नेजा कार्यसमिति हार्दिक आग्रह गर्दछ’ वेवसाइट मार्फत जारी गरिएको सुचनामा उल्लेख छ । । नेजाको विधानले साधारण सभा तथा अधिवेशनमा प्रतिनिधिको रुपमा भाग लिनका लागि साधारणसभा हुनुभन्दा १ महिना अघि नैं सदस्य भैसक्नुपर्ने व्यवस्था गरेको छ । त्यस अनुसार सन् २०२० को अप्रिल १, गते सम्म नबआगन्तुक पत्रकारहरुले नयाँ सदस्यता दर्ता र नबीकरण गरिसक्नुपर्नेछ । सदस्यता नबीकरण गर्ने समय अब १५ दिन मात्रै रहेकाले समयसिमा भित्रै सदस्यता नबीकरण गरिदिनु हुन पनि सम्पूर्ण पत्रकारहरुमा नेजाले बिशेष अनुरोध गरेको छ ।

    नयाँ सदस्यताका लागि नेजाको विधानले तोकेको आवश्यक प्रक्रिया पुर्याइ सदस्यता आवेदन फाराम भर्न अनुरोध गरिएको छ । नेजाको नयाँ सदस्यता आवेदन तथा नविकरणको आबेदन भर्नका लागि संस्थाको वेवसाइट डब्लुडब्लुडब्लु डट नेजायुएसए डट ओआरजी (http.www.neajausa.org ) क्लिक गरेर बिकम अ मेम्बर become-member मा क्लिक गर्ने र नयाँ सदस्यता लिनेहरुले न्यू मेम्बर र नबीकरण गर्नेहरुले रिन्यू लिङ्कमा क्लिक गरेर आवेदन फारम भर्न सक्नुहुनेछ । यससम्बन्धी थप जिज्ञासा भए संस्थाको इमेल  [email protected] मा सम्पर्क गर्न सक्नु हुनेछ । नयाँ सदस्यता लागि ७५ अमेरिकी डलर लाग्नेछ भने नबीकरणका लागि ५० अमेरिकी डलर लाग्नेछ । नेजामा आवद्ध साधारण सदस्यहरुले प्रत्येक २/२ वर्षमा नबीकरण गर्नुपर्ने ब्यवस्था छ । साधारण सदस्यले आजीबन सदस्य बन्न चाहेमा आजीबन सदस्य प्राप्त गर्नेछ । आजीबन सदस्यता लिनका लागि नेपालमा या अमेरिकामा कम्तीमा १५ वर्ष पत्रकारिता गरेको प्रमाण पेश गर्नुपर्नेछ । १५ वर्ष पत्रकारिता गरेको प्रमाण पेश गर्न नसकेमा आजीबन सदस्य स्वीकार गरिने छैन । आजीबन सदस्यता लागि ३०० अमेरिकी डलर शुल्क लाग्नेछ ।

  • अविवाहित शेरधन राईमाथि ‘पति दावि’ गर्दै मुद्दा

    अविवाहित शेरधन राईमाथि ‘पति दावि’ गर्दै मुद्दा

    काठमाडौं । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई अविवाहित छन् । तर, एक जना महिलाले उनी आफ्नो पति भएको र नाता कायम गरिपाउँ भन्दै अंश मुद्दा दायर गरेकी छिन् ।

    दोलखाकी बालिका खड्काले राईमाथि अंश मुद्दा दायर गरेकी हुन् । काठमाडौं जिल्ला अदालतमा उनले नाता कायम गरी अंश दिलाई पाऊँ भन्दै मुद्दा दायर गरेको अदालतले पुष्टी गरेको छ ।

    मुख्यमन्त्री राईले शारीरिक यातना दिएको तथा यौन दुर्व्यवहार गरी घरेलु हिंसा गरेको आरोप समेत उनले लगाएकी छन् ।

    खड्काका अनुसार उनले सञ्चार मन्त्री भएका बेला राईले राजधानीको गोल्फुटारमा कोठा लिई राखेका थिए ।

    आफूहरु २०७१ सालदेखि सँगै रहेको समेत उनको दावि छ । आफुमाथि भएको अन्यायबारे नेकपाका नेताहरुले समेत वेवस्था गरेको उनको भनाई छ ।

  • अर्थ मन्त्रालयले भन्यो : पेट्रोलियम पदार्थको भाउ बढ्दैन

    अर्थ मन्त्रालयले भन्यो : पेट्रोलियम पदार्थको भाउ बढ्दैन

    काठमाडौं । अर्थ मन्त्रालयले पेट्रोलियम पदार्थमा गरिएको करको दर परिवर्तनका सम्बन्धमा स्पष्टिकरण सार्वजनिक गरेको छ । अर्थले करको दरले उपभोक्ता मूल्यमा कुनै प्रभाव नपर्ने भन्दै ढुक्क हुन उपभोक्तालाई आग्रह गरेको हो ।

    मन्त्रिपरिषद्ले करको दरमा हेरफेर गर्दै पेट्रोलियम पदार्थमा लाग्ने कर बढाएको छ । यसअघि प्रतिलिटर ५ रुपैयाँ रहेको पूर्वाधार कर अब प्रतिलिटर १० रुपैयाँ पुगेको छ ।

    यस निर्णयको व्यापक आलोचना भइरहेको छ ।

    अहिलेको दर पुनरावलोकन गर्दा नेपाल आयल निगमद्वारा समायोजित स्वचालित मूल्य प्रणाली, पेट्रोलियम इन्धन पैठारीको परिमाणात्मक अवस्था, भौतिक पूर्वाधार विकासका लागि स्रोत परिचालनको आवश्यकता समेतलाई ध्यानमा राख्दा हाल बजारमा कायम रहेको उपभोक्ता मूल्यमा कुनै प्रभाव नपर्ने तथा निगमको स्वचालित मूल्य प्रणालीबाट कायम हुने मूल्यमा असर नगर्ने व्यवस्था मिलाईएको मन्त्रालयले उल्लेख गरेको छ ।

    हाल नेपाल आयल निगमको नाफा एवम् बित्तीय अवस्था सहज भएको र अव सिर्जना हुने निगमको नाफा पूर्वाधार विकासमा खर्च गर्न पर्याप्त हुने देखिएको समेत अर्थ मन्त्रालयले जारी गरेको विज्ञप्तीमा राखिएको छ ।

    त्यसैले करको दर परिमार्जन गर्दा उपभोक्ता मूल्यमा वृद्धि नगरीकन नै निगमको वित्तीय अवस्था सुदृढ रहने स्थिति रहेको मन्त्रालयको स्पष्टिकरण छ ।

    अर्थ मन्त्रालयका अनुसार आर्थिक ऐन, २०७६ को दफा ९ बमोजिम नेपालमा पैठारी हुने हवाई इन्धन, पेट्रोल र डिजेलमा भन्सार विन्दुमा असुल गरिने पूर्वाधार विकास करको दरमा पुनरावलोकन गरिएको हो ।

    नेपाल सरकारले आवश्यकताअनुसार ऐन र प्रचलित कानूनबमोजिम लगाइएका दस्तुर, शुल्क, महसुल र करको दर घटाउन, बढाउन वा त्यस्तो दस्तुर, शुल्क, महसुल र कर आंशिक वा पूर्णरुपमा छुट दिन सक्ने कानूनी व्यवस्था अनुसार करको दर परिवर्तन गरिएको अर्थ मन्त्रालयका प्रवक्ता उत्तरकुमार खत्रीद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

    सीमा क्षेत्रमा हुने अवैध निकासी रोक्न समेत कर बढाउनु परेको मन्त्रालयको भनाई छ ।