Category: समाचार

  • नेपालमा अधिकांश सार्वजनिक गतिविधि बन्द

    नेपालमा अधिकांश सार्वजनिक गतिविधि बन्द

    काठमाडौं । सरकारले २५ जनाभन्दा बढी भेला हुन नपाउने नियम ल्याएसँगै नेपालमा अधिकांश सार्वजनिक गतिविधि बन्द भएका छन् ।

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले देशभरका संग्रहालय बन्द गर्ने निर्णय गरेको छ । मन्दिरमा २५ जना भन्दा बढीको भीड हुन दिइने छैन ।

    सार्वजनिक कार्यक्रममा प्रयोग हुने हलहरु बन्द भएका छन् । त्यहा निर्धारित कार्यक्रम स्थगित गरिएको छ । काठमाडौंस्थित एभिएशन म्यूजियम बन्द भएको छ ।

    ललितपुरस्थित सदर चिडियाखाना बन्द भएको छ । यो बन्द चैत मसान्तसम्म लागू हेनछ । उता, मनकामना केवलकार समेत बन्द गर्ने निर्णय गरिएको छ ।

    सार्वजनिक यातायातमा सीट भन्दा बढी यात्रु नचढ्न भनिएको छ । यससँगै अधिकांश मानिसले सडक प्रयोग गरेको पाइएको छ ।

    सार्वजनिक यातायातमा कम मात्र मानिसले यात्रा गरेका थिए । बिहीबार काठमाडौं छाड्ने मानिसको घुइचो बढेको छ ।

    किनकी बुधबारबाट धेरैजसो विद्यालको परीक्षा सकिएको छ । सरकारले एसईलगायत विद्याविद्यालयको परीक्षासमेत स्थगित गरेको छ ।

    लोकसेवा आयोगको परीक्षा स्थगित भएको छ । सरकारले अत्यावश्यक काम नपरेसम्म बाहिर ननिस्कन सर्वसाधारणमा आग्रह गरेको छ ।

    यससँगै नागरिकले समेत सचेतना अपनाउन थालेको पाइएको छ ।

  • प्रचण्डले सर्वसाधारणसँग भेट घटाए

    प्रचण्डले सर्वसाधारणसँग भेट घटाए

    काठमाडौं । सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले बिहीबारबाट सर्वसाधारणसँगको भेटघाट बन्द गरेका छन् ।

    कोरोना भाइरसको संक्रमणको डरले उनले आम रुपमा भइरहेको दैनिक भेटघाटको काम अनिश्चितकालका लागि बन्द गरेका हुन् ।

    अब प्रचण्डले अत्यावश्यक काममा बाहेक अन्य भेटघाट गर्ने छैनन् । प्रचण्ड निवासमा धेरै ठूलो संख्यामा नागरिक पुग्ने गरेका छन् ।

    नेता, कार्यक्रता तथा पत्रकारको समेत उनको निवासमा भीड लाग्छ । नेपालका कोरोना संक्रमण बढ्ने डरले सरकारले समेत २५ जना भन्दा बढी मानिस एकै स्थानमा भेला हुन रोकेको छ ।

  • आउने भयो न्यूयोर्कमा बिरामी उपचारको लागि “हस्पिटल शिप”

    आउने भयो न्यूयोर्कमा बिरामी उपचारको लागि “हस्पिटल शिप”

    न्यूयोर्क

    न्यूयोर्कमा निकै ठुलो संख्यामा कोरोना भाइरस संक्रमित देखिन थालेपछीि एक हजार बेड क्षमताको अमेरिकी सेनाको “हस्पिटल शिप” उपचारका लागि न्यूयोर्क ल्याउने तयारी गरिएको छ ।  यस अगाडि सन् २००१ को आतंकबादी हमलामा घाईतेहरुको उपचारका लागि प्रयोग गरिएको सेनाको “हस्पिटल शिप” अहिले बिरामीको चाप बढ्न थालेपछि न्यूयोर्कका गभर्नर एन्ड्रु कुमोले राष्ट्रपति डोनाल्ड ट्रम्पसँग मागेका थिए । गभर्नर कुमोको अनुरोधमा राष्ट्रपति ट्रम्पले एक हजार बेडको पानी जहाज पठाउने सहमति जनाएका हुन । जहाजलाई न्युयोर्क हार्बरमा बिरामीहरुको उपचार गरिने तयारी गरिएको छ । सेनाको जहाज न्युयोर्क हार्बरमा उपचारका लागि ल्याउने तयारी गरिए पनि  कोरोना भाइरस प्रभावितहरुको उपचारमा भने तत्काल जहाज प्रयोग गरिने छैन तर अन्य रोगका बिरामीहरुलाई भने त्यो जहाजमा राखेर उपचार गरिने छ । जहाज कति दिनमा तयारी अवस्थामा न्युयोर्क हार्बर आई पुग्छ प्रष्ट पारिएको छैन ।  

    गभर्नर कुमोले भनेका छन् “हामीलाई न्युयोर्कमा ४५ दिन भित्र १ लाख १० हजार बेडको आवश्यकता पर्ने छ । हाल हामीसँग उपचारको लागि जम्मा ५३ हजार बेडहरु र ३७ हजार आई सि यु युनिट मात्र छन् । र ३ हजार मात्र भेन्टिलेटर छन् । “बुधबारसम्म न्युयोर्कमा भाईरस पोजेटिभको संख्या २३ सय पुगेको छ भने १६ को मृत्‍यु भै सकेको छ ।  हाल न्युयोर्कमा संक्रमित संख्या मध्ये २३ प्रतिशत मानिस अस्पताल भर्ना भएका छन् ।  यो संख्या विश्वकै संख्याको दाँजोमा भने  निकै धेरै हो । विश्वका अन्य देशहरुमा संक्रमितहरु मध्ये १० प्रतिशत मात्र अस्पातल भर्ना हुने आँकडा छ । अहिले न्युयोर्क राज्यले तयारी गर्दै गरेको १ लाख १० हजार बेडको तयारलाई आधार मान्दा मे महिनाको मध्यसम्म न्युयोर्कमा मात्र ५ लाख मानिस कोरोनाको संक्रमण हुने छन् ।

  • कोरोना संक्रमणको बृद्धिसंगै अमेरिकाको बन्दुक र पेस्तोल पसलमा भिड बढ्यो

    कोरोना संक्रमणको बृद्धिसंगै अमेरिकाको बन्दुक र पेस्तोल पसलमा भिड बढ्यो

    न्युयोर्क

    अमेरिकामा कोरोना भाइरसको संक्रमण द्रुत गतिमा बढ्दै गएको छ । यो भाईरसको संक्रमण बढ्दै गर्दा अमेरिकी जन जीवनमा निकै ठुलो प्रभाब पर्दै गएको छ । अमेरिकामा कोरोनाको प्रभाब बढ्न थालेपछि दैनिक उपभोग्य बस्तुहरुको माग मात्र होईन बन्दुक र पेस्तोलको ब्यापार समेत ह्वात्तै बढेको छ ।  हरेक दिन जसो हतियार पसलहरुमा भिड लाग्न थालेको छ । बन्दुकको यो ब्यापक बिक्री राष्ट्रियरुपमा नै भईरहेको र यस्तो भिडमा पहिलो पटक बन्दुक खरिद गर्नेहरु रहेको बिभिन्न समाचार एजेन्सीहरुले जनाएका छन् । कोरोनाको संक्रमण बढेसंगै लुटपाट लगायतमा अन्य अपराधमा बृद्धि हुने अनुमानका आधारमा मानिसहरु घण्टौं लाईन बसेर सुरक्षाका लागि बन्दुक किन्न थालिएको समेत समाचार एजेन्सीहरुले जनाएका छन् । गत सोमबार अन्य सबै कारोबारमा गिरावट आएको शेर बजारमा अमेरिकन आउटडोर ब्रान्ड, स्ट्रम, रगर एन्ड कम्पनी, भिस्टा आउट डोर जस्ता हतियार उत्पादक कम्पनीहरुको शेयर बजारमा भने बृद्धि भएको थियो ।  

    फेब्रुअरी महिनामा फेडरल  इन्भेस्टिगेसन ब्युरो (एफ बि आई ) को सिस्टममा २८ लाख मानिसहरुले हतियार खरिदको लागि आफ्नो ब्याकग्रारान्ड चेक गराएका थिए । यो संख्या सन् २०१६ पछिको सबैभन्दा धेरै हो ।  

    निबर्तमान राष्ट्रपति बाराक ओबामाले पद सम्हालेदेखि यता बन्दुक र पेस्तोलको सबै भन्दा उच्च बिक्री भएको एरिजोनास्थित एक बन्दुक ब्यापारीले बताएक छन् । ट्याक्टिकल गेर रिटेलरका केभिन लिमले बज फिड न्युजलाई भनेका छन्; “अमेरिकामा कोरोना भाईरस फैलिन सुरु गरेपछि अरु समयको भन्दा अहिले बन्दुक पेस्तोल लगायतको हतियार बिक्रीमा १०० प्रतिशत बृद्धि भएको छ” ।  

    चिनबाट सुरु भएको कोरोना भाईरसका कारण असुरक्षित महसुस गर्दै एसियन अमेरिकहरुले ठुलो संख्यामा बन्दुक पेस्तोल किन्न थालिएको समेत  समाचार एजेन्सीहरुले जनाएका छन् । 

    लसएन्जलसका कतिपय ठाँउहरुमा भने दैनिक उपभोग्य बस्तुका पसलहरुमा भन्दा हतियारका पसलमा धेरै भिड हुन थालेको छ ।  अमेरिकामा कोरोना भाईरस ल्याएको आरोप लगाउदै मङोलियन अनुहारका मानिसहरुलाई सार्वजनिक स्थानहरुमा अपमान गर्ने क्रम समेत बढेको छ । राष्ट्रपति ट्रम्पले आफ्नो ट्विटमा कोरोना भाईरसलाई चाईनिज भाईरसको नामले लेख्ने गरेका छन् । मानिसहरुले बिभिन्न डिजाइनका बन्दुक पेस्तोल जस्ता हतियारका साथमा बुलेट प्रुफ ज्याकेट र चक्कुहरु समेत किन्न थालेका छन् ।

  • एसइइसहित चैतमा निर्धारित सबै परीक्षा स्थगित

    एसइइसहित चैतमा निर्धारित सबै परीक्षा स्थगित

    काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को संक्रमण फैलने आंशका बढेको भन्दै सरकारले चैतमा निर्धारित सबे परीक्षाहरु स्थगित गर्ने निर्णय गरेको छ ।

    यससँगै बिहीबारबाट संचालनको तयारी रहेको माध्यमिक शिक्षा (एसईई) परीक्षा समेत स्थगित भएको हो ।

    सरकारले अन्तिम समयमा आएर भने परीक्षा स्थगित गर्ने निर्णयको भने व्यापक आलोचना भएको छ ।

    जोखिमको आशंका निकै अगाडीबाट भएपनि अन्तिम समयमा आएर परीक्षा रोकेको भन्दै सरकारको आलोचना भएको हो । चैत ६ गतेबाट सुरू हुने तय भएको परीक्षामा कूल चार लाख ८२ हजार ७०७ विद्यार्थी सहभागी हुने तयारीमा थिए ।

    नेपालमा धेरै विद्यार्थीको आफुले पढेको स्कूलमा एसइइ परीक्षा हुँदैन । उनीहरु डेरा नै लिएर टाढा गएर परीक्षा दिनुपर्ने हुन्छ । उनीहरू भने प्रभावित भएका छन् ।

    कोरोनाबारे निर्णय गर्न सरकारले उपप्राधानमन्त्री पोखरेलको नेतृत्वमा समन्वय समिति बनाएको छ ।

    समितिको बुधबार दिउँसो बसेको बैठकले एसईई परीक्षा स्थगित नगर्ने तर परीक्षा केन्द्रहरुमा हेल्थ डेस्क स्थापना गरेर सुरक्षित र व्यवस्थित गर्ने निर्णय गरेको थियो ।

    तर, बुधबारनै साँझ अर्को निर्णय गर्दै पहिलाको निर्णय सच्याइएको हो । बुधबार साँझ बसेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकले एसइइ परीक्षा स्थगत गर्न सरकारलाई सिफारिस गरेको थियो ।

    सरकारले विश्वविद्यालयहरूलाई समेत चैतमा लिन लागेका परीक्षा स्थगित गर्न निर्देशन दिएको छ ।

    त्रिभुवन विश्वविद्यालयले भने बिहीबार निर्धारित परीक्षा यथावत संचालन हुने र त्यसपछि के गर्ने भन्नेबारे बिहीबार नै अर्को सूचना निकाल्ने जानकारी गराएको छ ।

    शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले चैतमा सञ्चालन हुने सबै परीक्षा स्थगित गर्न विश्वविद्यालय र सीटीइभीटीलाई निर्देशन दिएका छन् ।

  • अत्यावश्यक काम नपरी घरबाहिर ननिस्कन आह्वान, २५ जनाभन्दा बढी भेला हुन नपाइने

    अत्यावश्यक काम नपरी घरबाहिर ननिस्कन आह्वान, २५ जनाभन्दा बढी भेला हुन नपाइने

    काठमाडौं । सरकारले अतिआवश्यक काम नपरी घर बाहिर ननिस्कन नागरिकलाई आह्वान गरेको छ । बुधबार कोरोनाविरुद्ध उच्चस्तरीय समन्वय समितिले यस्तो आह्वान गरेको हो ।

    अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन र हिँडडुल नगर्न सरकारले सर्वसाधारणमा आग्रह गरेको हो । पार्टी प्यालेस, मठ मन्दिर, गुम्बा, मस्जिद, चर्चजस्ता धार्मिक र सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुन समेत अब नपाइने भएको छ ।

    यता, होटल र बसलाई संक्रमणरहित बनाउनुपर्ने नियम ल्याउँदै सरकारले क्षमता भन्दा बढी यात्रु बोक्न नपाउने बताएको छ ।

    सर्वसाधारणसँग सरकारले समेत भीडभाड गरी यात्रा नगर्न आग्रह गरेको छ ।

    समितिको बैठकले मानिसहरुको जमघट हुने सार्वजनिक महत्वको स्थलहरुमा स्थानीय तहहरुले दैनिक रुपमा सरसफाइ र डिसइन्फेक्सन गर्नुपर्ने निर्णय समेत गरेको हो । सरकारले चैत मसान्तसम्म विद्यालय तथा कलेज बन्द गर्ने निर्णय गरेको छ ।

    बाल विकास केन्द्र तथा आधारभूत विद्यालय पनि बन्द गर्ने निर्णय भएको छ ।

    सिनेमा हल, सांस्कृतिक केन्द्रहरू, रंगशाला, खेलस्थल, जीम, हेल्थ क्लब, म्युजियम, स्वीमिङ पुल, मनोरञ्जन स्थान, डान्स बार तथा क्लब आदिलाई ३० अप्रिल २०२० सम्म बन्द गर्ने निर्णय सरकारले गरेको छ ।

    सपिङ मलमा स्यानिटाइजर अनिवार्य गर्न भनिएको छ । होटल, रेष्टुरेन्ट तथा सपिङ्ग मलको सञ्चालकले हात सफा गर्ने स्यानिटाइजर लगायत सफाइका सामग्रीको प्रबन्ध गर्न अनिवार्य गरिएको छ ।

    टेबल, कुर्सी, बार–रेलिङ र शौचालय आदि स्थानमा नियमित रुपमा डिसइन्फेक्सन गर्नु पर्ने भएको छ । तापक्रम मापन गर्ने उपकरण तथा सामग्रीको व्यवस्था गरी ती स्थानहरुमा प्रवेश गर्ने व्यक्तिको स्वास्थ्य जाँच गर्ने पनि निर्णय गरिएको छ ।

  • आज नेकपा सचिवालय बैठक, प्रधानमन्त्रीसमेत सहभागी हुने

    आज नेकपा सचिवालय बैठक, प्रधानमन्त्रीसमेत सहभागी हुने

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक मिगौला प्रत्यारोपण गरेपछि आज पहिलो पटक नेकपाको सचिवालय बैठक बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज अपरान्ह ४ बजे बैठक बोलाइएको छ ।

    बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसमेत सहभागि हुने बताइएको छ । २१ फागुनमा मिगौला प्रत्यारोपण पछि प्रधानमन्त्री १२ दिनपछि डिस्चार्ज भएका थिए ।

    त्यसपछि उनी औपचारिक कार्यक्रममा भाग लिइरहेका छन् ।

    नेकपाका अध्यक्ष प्रचण्डले नेकपाको सचिवालय बैठक बोलाएका हुन् । बैठकले कोरोना रोग विरुद्ध एकजुट भएर सक्रिय हुन नेकपाले कार्यक्रतालाई निर्देशन दिने तयारी गरिएको छ ।

    यसअघि १८ फागुनमा बसेको बैठकमा प्रधानमन्त्रीले आफ्नो मिर्गौला प्रत्यारोपणको तयारीबारे जानकारी गराएका थिए ।

    आज एमसीसीका विषयमा समेत नेकपा भित्र छलफल हुने सम्भावना रहेको बताइएको छ । एमसीसी पास गर्ने वा नगर्ने भन्ने विषयमा नेकपा भित्रै तिब्र विवाद रहेको छ ।

    नेकपाकै उच्चस्तरीय समितिले संशोधन नभएसम्म एमसीसी पास नगर्न सरकारलाई सुझाव दिइसकेको छ ।

  • आजबाट सकियो विद्यालयस्तरीय परीक्षा, करीव ७० लाख विद्यार्थी घरमै बस्ने

    आजबाट सकियो विद्यालयस्तरीय परीक्षा, करीव ७० लाख विद्यार्थी घरमै बस्ने

    काठमाडौं । आजबाट विद्यालय स्तरीय परीक्षा सकिएको छ । अब करीव ७० लाख विद्यार्थी सामुहिक रुपमा विद्यालयमा भेला हुनु पर्ने छैन ।

    सरकारले विद्यालयहरुलाई तत्काल भर्ना नखोल्ने र कुनै पनि औपचारिक कार्यक्रम नगर्न भनेको छ । यसको मतलव कम्तिमा चैतभर विद्यालय खुल्ने छैनन् ।

    यसले कोरोना विरुद्धको सचेतनामा ठूलो सहयोग गर्ने अपेक्षा गरिएको छ ।

    शिक्षा मन्त्री गिरिराजमणी पोखरलेलले विद्यालय छुटटी भइसकेपछि कुनै पनि औपचारिक कार्यक्रम आयोजना नगर्न सबै विद्यालयलाई निर्देशन दिएका छन् ।

    यससँगै करीव ७० लाख बालबालिका अब घरमै रहनेछन् । बिहीबारबाट एसइइ परीक्षासमेत संचालन हुँदैछ । एक सातापछि उक्त परीक्षा समेत सम्पन्न हुनेछ ।

    त्यसपछि भने स्कूलहरु पूर्णतया बन्द हुनेछन् । तर, कलेजहरुको हकमा भने के गर्ने भन्ने सम्बन्धमा सरकारले अझै निर्णय गरेको छैन ।

    कोरोनाको डरले नेपाललाई समेत नराम्रो प्रभाव पारेको छ । तर, नेपालमा भने संक्रमणको पुष्टी भइसकेको छैन ।

  • सुनको मूल्य २ हजारले घट्यो

    सुनको मूल्य २ हजारले घट्यो

    काठमाडौं । कोरोना भाइरसको संक्रमणछि विश्वव्यापी रुपमा बजार प्रभावित भएको छ । यसले सुनको मूल्यमा समेत असर गरेको छ । मंगलबार सुनको भाउ आज तोलामा दुई हजार रुपैयाँ घटेको छ।

    सोमबार प्रतितोला ७७ हजार ५ सय रुपैयाँ रहेको छापावाल सुन मंगलबार ७५ हजार ५ सय रुपैयाँमा कारोबार भयो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमै सुनको माग घटिरहेको छ ।

    कोरोना भाइरसको महामारीका कारण विश्वभर आर्थिक मन्दी छ । जसले गर्दा सुनको माग पनि घटेको हो ।

    मंगलबार चाँदीमा समेत प्रतितोला ८० रुपैयाँ घटेको छ। चाँदी मंगलबार ७ सय १० रुपैयाँ तोलामा कारोबार भयो ।

  • कालोबजारीविरुद्ध आक्रामक सरकार, सहुलियत पसल संचालन गरिने

    कालोबजारीविरुद्ध आक्रामक सरकार, सहुलियत पसल संचालन गरिने

    काठमाडौं । बजारमा कालो बजारी गर्नेहरु सक्रिय भएपछि त्यसको निरुत्साहनका लागि सरकार आफैले सहुलियतपूर्ण पसल संचालन गर्ने भएको छ ।

    नोवेल कोरोना भाइरसको विश्वव्यापी संक्रमणका कारण नेपालमा पनि बजारमा सामानहरुको अभाव सिर्जना भएको छ ।

    यही मौकामा धेरै धन कमाउने उद्देश्यले कालो बजारी गर्नेहरु सक्रिय भएका छन् । पछिल्लो समय मास्क, स्यानिटाइजरलगायत सरसफाईका काममा प्रयोग हुने सामानको कालोबजारी तिब्र छ ।

    उपभोग्य समामानको कालोबजारी पनि उत्तिकै रहेको छ । बजारमा अत्यावश्यक वस्तुमा भएको कालोबजारी रोक्न पसल सञ्चालन गर्न लागिएको सरकारको भनाई छ ।

    मंगलबार संसदको उद्योग तथा वाणिज्य श्रम तथा उपभोक्ता समितिमा बोल्दै उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले यस्तो जानकारी दिएका हुन ।

    उनका अनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङमार्फत सहुलियतपूर्ण पसल सञ्चालन हुने भएका छन् ।

    पसल छिट्टै संचलनमा ल्याउने तयारी सरकारले गरेको हो । मन्त्री भट्टका अनुसार पसलमा नुन, चिनी, चामल, दाल, ग्याँस, इन्डक्सन चुल्हो उपलब्ध हुनेछन् ।

    ती सामान बेच्न घुम्ती पसल समेत संचालन गरिने छ । अभाव सिर्जना भएका स्थानमा देशभर नै यस्ता सामान बिक्रि गरिने भएको छ ।

  • प्रदेश दुई नाम राख्न असफल

    प्रदेश दुई नाम राख्न असफल

    जनकपुर । मंगलबार प्रदेश नं २ आफ्नो प्रदेशको नाम तोक्न असफल भएको छ । दुई तिहाईले अनुमोदन नभएसम्म नाम राख्न मिल्दैन । मंगलबार प्रदेशको नाम राख्ने विषयमा मतदान भएको थियो ।

    मतदानबाट चार वटा नामका प्रस्ताव अस्वीकृत भए । नेपाली कांग्रेसका सांसद राजेश्वर साहले राखेको मध्यप्रदेश नामको प्रस्तावमाथि मंगलबार प्रदेशसभामा मतदान भएको थियो।

    उक्त प्रस्तावका पक्षमा प्रदेशसभाका ४२ जनाले मतदान गरे भने विपक्षमा ६५ मत खसेको थियो । कांग्रेसले नै प्रस्ताव गरेको मिथिला भोजपुरा नाम पनि अस्वीकृत भएको छ ।

    कांग्रेसले राखेको प्रस्तावको पक्षमा २८ मत र विपक्षमा ७९ मत खसेको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रस्ताव गरेको जानकी नाम पनि अस्वीकृत भएको छ।

    जानकी नामका पक्षमा ३७ मत खसेको थियो भने विपक्षमा ७० मत खसेको छ ।

    प्रदेश सभामा कुनै पनि पार्टीको दुई तिहाई बहुमत छैन । सत्तारुढ समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा)ले प्रस्ताव गरेको मधेश प्रदेश नामको पक्षमा ६० मत पर्‍यो । दुई तिहाईका लागि १२ भोट पुगेन । प्रस्तावको विपक्षमा भने ४८ मत खसेको थियो ।

    यससँगै मंगलबार भएको दिनभरको मतदान खेर गएको छ । फेरी पनि प्रदेश नं २ नामविहिन प्रदेशका रुपमा रहेको छ ।

  • चीनले नेपाललाई भन्यो : सहयोग चाहिए उपलब्ध गराउँछौं

    चीनले नेपाललाई भन्यो : सहयोग चाहिए उपलब्ध गराउँछौं

    काठमाडौं । चीनले कोरोना भाइरस संक्रमणबाट बच्न नेपाललाई सबै प्रकारको सहयोग उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरेको छ ।

    चीन अहिले कोरोनाको उच्च जोखिमबाट बाहिर निस्किसकेको छ । यद्दपी नेपालमा कोरोनाको संक्रमण अहिलेसम्म देखिएको भने छैन । तर, नेपाललाई विश्व स्वास्थ्य संगठनले उच्च जोखिमयुक्त मुलुकको सूचिमा राखेको छ ।

    सोहीकारण कोरोना विरुद्ध लड्न नेपालले आवश्यक ठानेको सबै प्रकारको सहयोग गर्न चीन तयार रहेको प्रतिवद्धता चीन सरकारले नेपाल सरकारसमक्ष गरेको छ ।

    चिनियाँ दूतावासमार्फत चीनले नेपाल सरकारलाई के के सहयोग र सहायता आवश्यक पर्छ भनेर लिस्ट समेत मागेको परराष्ट्र स्रोतलाई उदृत गर्दै संचारमाध्यमले लेखेका छन् ।

    परराष्ट्र मन्त्रालय स्रोतका अनुसार नेपाल कोरोना संक्रमणको सम्भावित दबावमा रहेको र यसले नेपालको अर्थतन्त्र तथा जनजीवनमा प्रभाव पारेको भन्दै चीनले नेपाललाई सबैखाले सहायता दिन तयार रहेको जानकारी गराएको हो । चीनले केही राष्ट्रलाई सहायता बढाउने नीति लिएको छ ।

    सोहीअनुसार चीनको प्राथमिकतामा नेपाल पनि रहेको छ । चीनले नेपाललाई पठाएको पत्रमा नेपालले यस समयमा चीनबाट कस्ते सहयोग र सहायता चाहन्छ भनेर सोधिएको छ ।

    चीनले नेपालमा कोरोना भाइरस संक्रमण अन्त्य भएसँगै नेपाल भ्रमण गर्ने पर्यटक चीनबाटै पहिलो भ्रमण गराउन समेत चाहेको समेत उल्लेख गरेको छ ।

    नेपालका विकास परियोजनालाई समेत चीनले तिव्रता दिने उल्लेख छ । नेपालका अधिकांश ठूलो आयोजना चिनियाँ ठेकेदार कम्पनीले जिम्मा लिएका छन् ।

    यसअघि चीन चरम संकटमा रहेको बेला नेपाल सरकारले चीनलाई एकलाख मास्क सहयोग पठाएर मानवीयता प्रदर्शन गरेको थियो । चीन नेपालभन्दा निकै शक्तिशाली रहेको छ ।

  • एसईइ नरोकिने, तयारी पुरा भएको सरकारको भनाई

    एसईइ नरोकिने, तयारी पुरा भएको सरकारको भनाई

    काठमाडौं । बिहीबारदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई)को तयारी पुरा भएको सरकारले जानकारी दिएको छ ।

    शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सोमबार एक विज्ञप्तीमार्फत परीक्षा सञ्चालनको सबै तयारी पूरा भएको जानकारी गराएका हुन् ।

    उनका अनुसार परीक्षा तोकिएकै समयमा सम्पन्न हुनेछ । त्यसो त बुधबारसम्म सबै विद्यालयलाई वार्षिक परीक्षा सकाउन सरकारले यसअघि नै निर्देशन दिएको थियो ।

    बुधबारबाट कम्तिमा एक महिना विद्यालयहरु बन्द हुने भएका छन् । कोरोना संक्रमण फैलने डरले छिटो विद्यालयहरु बन्द गर्न सरकारमाथि दवाव रहेको छ ।

    ६ देखि १७ चैतसम्म हुने एसईई परीक्षामा भने देशभरका कुल ४ लाख ८२ हजार २१९ परीक्षार्थी सहभागी हुँदैछन् ।

    देशभर १ हजार ९९५ परीक्षा केन्द्र तोकिएका छन् । मन्त्री पोखरेलका अनुसार हरेक परीक्षा केन्द्रमा स्वास्थ्य केन्द्र हुनेछन् ।

    पर्याप्त सावधानीसहित परीक्षा सञ्चालन र व्यवस्थापन गर्न लागिएको छ ।

    विद्यार्थीहरुलाई परीक्षा केन्द्रमा स्वास्थ्य सहायता प्रदान गर्न प्रत्येक परीक्षा केन्द्रहरुमा परीक्षा अवधिभर हेल्थ डेस्क राख्ने प्रबन्ध मिलाइएको छ ।

    यसको व्यवस्थापन ७५३ वटै स्थानीय तहले मिलाउने छन् । मन्त्रालयले विद्यार्थीहरुलाई साबुनपानी प्रयोग गरेर हात धुन, मास्क प्रयोग गर्न, अरुसँग हात नमिलाउन र सकभर भीडभाडमा नजान आह्वान गरेको छ ।

    कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षा सकिएपछि विद्यालय बन्द हुनेछन् ।

    परीक्षा सकिएपछि करीब ७० लाख बालबालिका घर परिवारमा हुनेछन् ।

    शिक्षा मन्त्रालयले मुलुकको विशेष परिस्थितिलाई ध्यानमा राखेर विद्यालयमा सांस्कृतिक कार्यक्रम, बार्षिक अभिभावक दिवस, नतिजा सार्वजनिकीकरण, प्रवेश परीक्षा वा भर्नाका नाममा भीडभाड वा आम भेला नगर्न विद्यालयहरुलाई आग्रह गरेको छ ।

  • प्रदश नं २ को नाम र राजधानी आज टुंगिदै, के रहला नाम ?

    प्रदश नं २ को नाम र राजधानी आज टुंगिदै, के रहला नाम ?

    जनकपुर। प्रदेश नम्बर २ को नाम र स्थायी राजधानी तय गर्न आज मतदान हुँदैछ । सोही प्रयोजनका लागि आज प्रदेश सभाको बैठक बोलाइएको छ । यस प्रदेशको नाम र राजधानी मतदान प्रक्रियाबाट टुंगो लगाउने तयारी रहेको छ ।

    मतदान अगाडी सांसदले बोल्ने समय पाउनेछन् । छलफल पछि मतदान हुने प्रदेश संसद सचिवालयको कार्यतालीकामा उल्लेख छ ।

    प्रदेशको स्थायी राजधानी जनकपुरधाम नै रहनेछ । यसलाई सभाले अनुमोदन गर्नेछ । तर, नाममा भने सहमती हुन सकेन् ।

    प्रदेश सभामा प्रतिनिधित्व गर्ने चार दलले तीन वटा अलग–अलग नामको प्रस्ताव गरेका कारण हमति जुटेको छैन ।

    सत्तारुढ समाजवादी र राजपाले प्रदेशको नाम ‘मधेश’, नेकपाले ‘जानकी’ र कांग्रेसले ‘मिथिला–भोजपुरा’को प्रस्ताव संसदमा दर्ता गरेका गरेका छन् ।

    नाममा सहमति जुटाउन निकै प्रयास भएपनि त्यसो हुन सकेन् । नाम र राजधानी तोक्न दुई तिहाइ बहुमत आवश्यक हुन्छ । प्रदेशमा कुनै पनि दलसँग दुई तिहाई बहमुत छैन ।

    सोहीकारण कुनै एक दल, अर्को दलको नामसँग मिल्नु पर्ने हुन्छ । प्रदेश नं. २ मा १ सय ७ सांसद छन् । समाजवादी पार्टीसँग ३०, राजपा नेपालसँग २५, प्रमुख प्रतिपक्षी नेकपासँग ३२ र काँग्रेससँग १९ सीट रहेको छ ।

    संघीय समाजवादीको एक सिट छ । प्रदेश नं २ ले आज नाम र राजधानीमा टुंग्याएमा नाम र राजधानी तोक्न बाँकि दुई प्रदेश मात्र रहनेछन् । प्रदेश नं ५ र प्रदेश नं १ ले नाम र राजधानी टुंग्याउन सकेका छैनन् ।

  • नेपाल अझै कोरोनामुक्त, सचेतना अपनाउन जोड

    नेपाल अझै कोरोनामुक्त, सचेतना अपनाउन जोड

    काठमाडौं । संसारका १५७ मुलुकमा फैलिसकेको कोरोना भाइरसको संक्रमणबाट चीनको छिमेकी मुलुक नेपाल भने अझै पनि मुक्त छ ।

    संसारका विकसित र गुणस्तरीय स्वास्थ्य संरचना भएका मुलुकमा नराम्रोसँग मानिसहरु मरिरहँदा तुलनात्मक रुपमा कमजोर स्वास्थ्य प्रणाली भएको नेपालमा कोरोनाको संक्रमण नदेखिनुले धेरैलाई आश्चर्यचकित पारेको छ ।

    कतै नेपालको परिक्षण प्रभावकारी नभएर नदेखिएको हो की भन्ने आंशका समेत यस भाइरससँग मिल्दोजुल्दो लक्षणका कारण मानिसहरु बाहिरिएका छैनन् ।

    सोहीकारण सोमबार साँझसम्म नेपाल कोरोनामुक्त मुलुक नै रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

    स्वास्थ्य मन्त्रालय अन्तर्गतको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका अनुसार दुई महिनाअघि गरिएको परीक्षणका क्रममा एकजनामा कोरोना संक्रमण देखिएको थियो।

    तर ती व्यक्ति निको भएर घर फर्किसकेका छन् । नेपालमा अहिलेसम्म ४ सय ७८ को परीक्षण भएको छ । उनीहरु सबैमा कोरोना भाइरस नेभेटिभ देखिएको हो ।

    अहिले काठमाडौंलगायत विभिन्‍न अस्पतालबाट ६ जना शंकास्पद बिरामीको ल्याब परीक्षणका लागि नमुना ल्याइएको छ। उनीहरुको रिपोर्ट आउन बाँकि रहेको छ ।

    यस रोगले संसारभर ६ हजार ६८ जनाले ज्यान गुमाइसकेका छन् । चीनबाट आएका एक नेपाली विद्यार्थीमा कोरोना संक्रमणको आंशकामा नमुना संकलन गरी परीक्षणका लागि १३ जनवरीमा हङकङ पठाइएको थियो ।

    त्यसको १० दिनपछि उनमा संक्रमण देखिएको पुष्टि भएको थियो । त्यसयता नेपालमा कुनै पनि मानिसमा कोरोना देखिएको छैन । पछिल्ला दिनमा भने सरकारले विदेशी नागरिकलाई नेपाल प्रवेशमा समेत कडाई गरिसकेको छ ।

    सोमबार सरकारले सचेतना अपनाउन नागरिकसँग भने आह्वान गरेको छ । संक्रमण भित्रिहालेमा त्यसको रोकथाम गर्न सरकार तयार रहेको भन्दै मन्त्रालयले तर सचेत रहन भने आह्वान गरिएको छ ।

  • धरहराको १० औं तला ढलान यसै साता

    धरहराको १० औं तला ढलान यसै साता

    काठमाडौं । पुनर्निर्माण जारी रहेको धरहराको १० औं तला ढलान यसै साता हुने भएको छ ।

    धरहरा निर्माण गरिरहेको जिआइइटिसी-रमन जेभीका प्रोजेक्ट म्यानेजर श्यामचन्द्र श्रेष्ठका अनुसार यसै साता धरहराको १० औं तलाको ढलान गर्ने तयारी गरिएको छ ।

    अहिले धरहरा तिब्र गतिमा निर्माण भइरहेको छ । सोमबार प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली लगायतले धरहरा र रानीपोखरी पुनर्निर्माणको अवलोकन गरे ।

    सोही अवसरमा श्रेष्ठले १० औं तला ढलानको तयारी भइरहेको जानकारी गराए ।

    रानीपोखरी क्षेत्रको बालगोपालेश्वर मन्दिर तथा पुलको काम गरिरहेको निर्माण कम्पनी सीए-तुलसी कन्ट्रक्सन जेभीका शान्तकुमार श्रेष्ठका अनुसार तोकिएको समयमा सम्पन्न हुने उल्लेख गरे ।

    उपभोक्ता समितिमार्फत् रानीपोखरीको पिँध र वरिवरीको क्षेत्रमा पर्खाल लगाउने कार्य अन्तिम चरणमा पुगेको निर्माण कम्पनीले जानकारी दिएको छ ।

    प्रधानमन्त्रीका सल्लाहकारहरु र प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले पूर्वनिर्धारित समयमा धरहरा र रानीपोखरी पुनर्निर्माण सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिए ।

    यी दुई सम्पदा काठमाडौं उपत्यकामा निर्माण भइरहेको महत्वपूर्ण सम्पदा हुन् ।

  • घट्यो पेट्रोलियम पदार्थको मूल्य

    घट्यो पेट्रोलियम पदार्थको मूल्य

    काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । सोमबार निगम सञ्चालक समितिले डिजेल, पेट्रोल, मट्टितेल र हवाइ इन्धनमा आन्तरिकतर्फको मूल्य घटाएको छ ।

    निगमले डिजेल पेट्रोल र मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँले मूल्य घटाएको जानकारी दिएको छ । हवाई इन्धनमा आन्तरिकतर्फ प्रतिलिटर मूल्य ४ रुपैयाँ ५० पैसाले घटाइएको छ ।

    एलपीजी ग्यास र हवाई इन्धन अन्तराष्ट्रियको मूल्यमा भने कुनै परिवर्तन गरिएको छ ।

    नयाँ मूल्यअनुसार अब उपभोक्ताले डिजेल र मट्टितेलमा प्रतिलिटर ९५ रुपैयाँँ, पेट्रोल १०६ रुपैयाँ प्रतिलिटर र हवाई इन्धन आन्तरिकतर्फ ९० रुपैयाँ प्रतिलिटरमा प्राप्त गर्नेछन् ।

    अन्तराष्ट्रिय मूल्यमा भारती गिरावट आएको छ । तर, सरकारले भने पर्याप्त नाफा राखेर मूल्य समायोजन गरेको छ ।

  • सरकारले थप्ने भयो २ सय २० आइसीयू बेड

    सरकारले थप्ने भयो २ सय २० आइसीयू बेड

    काठमाडौं । सरकारको काठमाडौं उपत्यका र बाहिर गरी कूल २ सय २० आइसीयू बेड थप्ने भएको छ । उपत्यकामा १ सय २० र बाहिर १ सय आईसीयू बेड थप्ने निर्णय सरकारले गरेको छ ।

    उप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समन्वय संयन्त्रले काठमाडौंमा आइसीयू बेड थप्न अस्पताल समेत तोकेको छ ।

    कोरोना भाइरस फैलिएमा त्यसको रोकथामका लागि यस्तो निर्णय गरिएको हो । कोरोना संक्रमण, रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समन्वय समितिको बैठक सोमबार बसेको थियो ।

    सरकारले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, कीर्तिपुर आयुर्वेद अस्पताल, नेपाली सेनाको अस्पताल, सशस्त्र प्रहरी अस्पताल, वीर अस्पताल र पाटन अस्पतालमा २०\२० वटा आईसीयू वेड थप गर्ने भएको छ ।

    प्रदेश तथा स्थानीय तहसँग समन्वय गरेर उपत्यका बाहिर १०० आईसीयू बेड तयारी निर्णय सरकारले गरेको छ ।

    बैठकले उपत्यकामा १ हजारसम्म आइसोलेटेड बेड बनाउने निर्णय गरेको छ ।

    जसअनुसार कीर्तिपुर आयुर्वेदिक अस्पतालमा २००, खरीपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा २२०, टेकु अस्पतालमा १००, पाटन अस्पतालमा ७० र नेपाल प्रहरी र सशस्त्र प्रहरीको अस्पतालमा १००\१०० आइसोलेटेड बेड तयार हुने भएको छ ।

    भक्तपुरको तेलकोटस्थित खानेपानी कार्यालयमा ६० र इचंगुनाराणस्थित सुकुम्बासी आवासमा २८० वटा आइसोलेटेड बेड बनाउने निर्णय समेत गरेको छ ।

    बैठकले कोरोनाको चेकजाँचमा खटिएका स्वास्थ्यकर्मीको भत्ता बढाउने निर्णय समेत गरेको छ । बैठकले २० हजार थान सेफ्टी किट, १० हजार डाइग्नोस्टिक किट र एक हजार थान थर्मल गन खरिदको निर्णय समेत गरेको हो ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र आन्तरिक उडान हुने विमानस्थलमा प्रस्थान गर्ने यात्रुको स्क्यान गरिने भएको छ । भारतसँगको सीमा नाकामा कडाई गर्ने निर्णय समेत सरकारले गरेको छ ।

  • कतारमा हजारौं नेपाली कामदार क्वारेन्टाइनमा

    कतारमा हजारौं नेपाली कामदार क्वारेन्टाइनमा

    कतार । कतार सरकारले कोरोनाको संक्तमण फैलन नदिन हजारौं कामदारलाई क्वारेन्टाइनमा राखेको छ । खासगरी संक्रमण देखिएको कम्पनीमा कार्यरत करीव ४ हजार कामदार क्वारेन्टाइनमा रहेको बताइएको छ ।

    यहाँ काम गर्ने करीव २ हजार नेपाली पनि क्वारेन्टाइनमा बस्नु परेको छ । जोखिम क्षेत्रमा पर्ने चार कम्पनीमा कार्यरत कामदार क्वारन्टाइनमा बस्नु परेको हो ।

    कतारले कामदारको मुख्य बसोबास स्थल औद्योगिक क्षेत्र सनैयास्थित क्याम्पलाई क्वारेन्टाइनमा रुपान्तरण गरेको छ ।

    गत बिहीबारबाट कामदारलाई शिविर बाहिर ननिस्कन भनिएको छ । यहाँ आठ वटा भवनमा कामदारलाई राखिएको छ ।

    डाक्टरले नियमित स्वास्थ्य चेकजाँच गरिरहेका छन् । उनीहरुलाई अस्पतालबाटै खानाको व्यवस्था गरिएको छ ।

    कुनै पनि कामदार नभागुन भनेर सुरक्षा व्यवस्था भने कडा बनाइएको छ ।

    पछिल्ला दिनमा खाडी र अरबी मुलुकहरुमा समेत कोरोनाको संक्रमण तिबरु रुपमा फैलिरहेको छ । यद्दपी इरान बाहेक अन्य मुलुकमा ज्यान भने गइसकेको छैन । कतारमा सार्वजनिक यातायात बन्द गरिएको छ ।

    वायुसेवा कम्पनीहरुले सयौं उडान कटौती गरिसकेका छन् ।

  • बिहान ९ बजेबाटै स्कूल खोल्ने प्रस्ताव

    बिहान ९ बजेबाटै स्कूल खोल्ने प्रस्ताव

    काठमाडौं । सरकारले बिहान ९ बजेबाटै स्कूल संचालन गर्न प्रस्ताव गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले काठमाडौँ उपत्यकामा ट्राफिक जाम व्यवस्थापनको प्रयोजनका लागि स्कूल छिट्टै संचालन गर्ने प्रस्ताव गरेको हो ।

    निजी विद्यालय बिहान ९ बजेबाट दिउँसो ३ बजेसम्म संचालनको तयारी सरकारले गरेको हो । अहिले कार्यालय समयमै स्कूल पनि संचालन हुने भएकाले १० बजे सडकमा अति धेरै ट्राफिक जाम हुने गरेको छ ।

    मन्त्रालयले आइतबार स्कूलहरु ९ बजे नै संचालन गर्ने सम्बन्धमा निजी विद्यालय सञ्चालकका प्रतिनिधिसँग छलफल गरेको छ ।

    छलफलमा मन्त्रालयले विद्यालय सञ्चालनको समय परिवर्तनको प्रस्ताव गरेको हो ।

    अहिले १० बजेबाट ५ बजेसम्म स्कूल चल्ने गरेका छन् । छलफलमा निजी तथा आवासीय विद्यालय एसोसिएशनका प्रतिनिधीले सरकारको प्रस्तावका सम्बन्धमा संघभित्र छलफल गर्नुपर्ने बताएका थिए ।

    सामुदायिक विद्यालयसहित सबै विद्यालय एकै समयमा खुल्ने नीति ल्याउनु पर्ने उनीहरुको भनाई छ ।

    काठमाडौँमा स्कूलले विद्यार्थी ओसार्दा सडकमा एकसाथ धेरै बस निस्कन्छन् । जसले ट्राफिक जाम बढाएको छ ।

    सरकारले अब नजिकको स्कूलमा मात्र विद्यार्थीलाई पढाउने अविभावकलाई प्रोत्साहित गर्ने गरी नयाँ समय अगाडी सारेको हो । यसले बसले यात्रु बोक्ने बाध्यता कम हुनेछ ।

  • पोखरामा गयो भूकम्प, आसपासमा धक्का महशुस

    पोखरामा गयो भूकम्प, आसपासमा धक्का महशुस

    पोखरा । आइतबार कास्कीको लुम्लेलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको छ । आइतबार राती करीव साढे ९ बजे भूकम्पको धक्का महशुस गरिएको हो । कास्कीको पुरै भूभाग, म्याग्दी र स्यांगजासम्म भूकम्पको धक्का महशुस गरिएको छ ।

    भूकम्प राष्ट्रिय मापन केन्द्रका अनुसार कास्कीको लुम्ले केन्द्रबिन्दु भएर ५.० रेक्टर स्केलको भूकम्प गएको हो।

    स्थानीयहरु भूकम्पपछि घरबाहिर निस्कएका थिए । २०७२ पछि यति ठूलो धक्का महशुस भएको प्रतिक्रिया स्थानीयले दिएका छन् । भूकम्पबाट भएको क्षतिको विवरण भने आएको छैन ।

  • प्रमुख जिल्ला अधिकारीलाई जिल्ला नछाड्न निर्देशन

    प्रमुख जिल्ला अधिकारीलाई जिल्ला नछाड्न निर्देशन

    काठमाडौं । कोरोना रोगको संक्रमण भइहालेमा त्यसको निवारणमा जुट्नु पर्ने भएकाले अत्यावश्यक काम नपरेसम्म जिल्ला नछाड्ने सरकारले प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएको छ ।

    स्वास्थ्य मन्त्री भानुभक्त ढकालका अनुसार प्रजिअ र स्वास्थ्यकर्मीलाई जोखिमपूर्ण अवस्थामा जिल्ला नछोड्न निर्देशन दिइएको छ । उनले आइतबार राष्ट्रिय सभालाई कोरोना नियन्त्रणबारे सरकारको तयारीका सम्बन्धमा जानकारी गराएका छन् ।

    उनका अनुसार अस्पतालमा काम गर्ने जनशक्ति र त्यससँग सम्बन्धित व्यक्तिको जोखिमबाट उत्पन्न सबै खालका आतंकलाई हटाउन सरकारको तर्फबाट आवश्यक पहल भइरहेको छ ।

    स्थल नाकामा स्वास्थ्य विन्दु स्थापना गरिएको छ । अहिले भारतसँग नेपालका चार वटा नाकामात्र खुला भएका छन् । अन्य नाका बन्द छन् ।

    तेस्रो मुलुकका नागरिक त्रिभुवन विमानस्थलबाट मात्र नेपाल छिर्न पाउँछन् । विमानस्थलबाट आएका सबै व्यक्तिलाई १४ दिनको क्वारेन्टाइनमा राखिने भएको छ ।

    तर, उनीहरु सेल्फ क्वारेन्टाइनमा बस्नु पर्छ । होम क्वारेन्टाइनमा बस्दा सुख्खा खोकी, ज्वरोलगायतका इण्डिकेटर चेक गरिने छ ।

    लक्षण देखिएमा अस्पताल लैजाने र रिपोर्ट पोजेटिभ आए सबै उपचार सरकारले गर्नेछ । उनका अनुसार कक्षा १ देखि ९ सम्म अध्ययनरत झण्डै ५० लाख विद्यार्थीको परीक्षा ५ चैतमा सकिनेछ । त्यसपछि विद्यालय एक महिना बन्द हुनेछन् ।

  • कोरोनाको उपचार गर्न तीन अस्पताल तोकिए, २३५ आइसीयू बेड बन्ने

    कोरोनाको उपचार गर्न तीन अस्पताल तोकिए, २३५ आइसीयू बेड बन्ने

    काठमाडौं । सरकारले कोरोना भाइरसको सम्भावित संक्रमणको जोखिमलाई ध्यानमा राख्दै तयारी तिब्र बनाएको छ ।

    उक्त भाइरसका कारण मानिस संक्रमित भएमा तत्काल उपचारको व्यवस्था गर्न सरकारले २३५ आईसीयू बेड तयार पार्ने घोषणा समेत गरेको छ ।

    कोरोना लागि हालेमा काठमाडौं उपत्यकामा तीन वटा अस्पतालमा उपचार हुने गरी छुट्याइएको छ ।

    आजबाट नेपाल आउने सबै मानिसलाई अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने नीति लागु गरेको सरकारले विदेशबाट नेपाल आउन समेत कडाई गरिसकेको छ ।

    तर, सम्भावित जोखिमसँग लड्न तयारीको काम समेत उत्तिकै भइरहेको स्वास्थ्य मन्त्रालयको भनाई छ ।

    चीनको बुहानबाट सुरु भएको कोरोना भाइरस अहिले १२० देशमा पुगेको छ । तर, चीनको छिमेकी मुलुक नेपालमा भने एक जनामा मात्र संक्रमण पुष्टी भएको थियो ।

    उनी पनि निको भएर फर्किएका छन् । त्यसपछि नेपाल अहिले कोरोनामुक्त छ । स्वास्थ्य मन्त्री भानुभक्त ढकालले कोरोना रोकथाम बारे भएका प्रयासबारे आइतबार राष्ट्रियसभालाई जानकारी दिए ।

    उनले कोरोनाको संक्रमण नै नेपाल प्रवेश नहोस भन्नेमा सरकार सचेत रहेको उल्लेख गरे । उनका अनुसार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग, पाटन अस्पताल र कीर्तिपुर अस्पतालमा कोरोनाको मात्र उपचार हुने गरी व्यवस्थापन मिलाइएको छ ।

    वीर अस्पतालको नयाँ भवनलाई पनि कोरोनाको मात्र उपचार गर्ने अस्पतालका रुपमा विकास गरिने भएको छ । उनले नडराइकन सचेतना अपनाउन सर्वसाधारणमा आग्रह गरे ।

    रोगको संक्रमण भइहालेमा सरकारले निशुल्क उपचार गर्ने समेत उनले जानकारी गराए ।

    नेपालमा अहिलेसम्म ४ सय ६४ जनामा कोरोना परिक्षण भएको छ । सबैको रिपोर्ट नेगेटिभ आएकोछ ।

    कोरोनाको सम्भावित जोखिमका आधारमा सरकारले उपत्यकाभित्र थप १२० र बाहिर ११५ आईसीयू वेड तयार गर्ने उनले बताए । अहिले काठमाडौं उपत्यका भित्र सबै अस्पतालमा गरी १७० वटा आईसीयू बेड रहेका छन् ।

  • आजबाट नेपाल आउने सबैले क्वारेन्टाइनमा बस्नुपर्ने

    आजबाट नेपाल आउने सबैले क्वारेन्टाइनमा बस्नुपर्ने

    काठमाडौं । आजबाट नेपाल आउने स्वदेशी तथा विदेशी सबैले क्वारेन्टाइनमा बस्नुपर्छ ।

    अध्यागमन विभागले यसअघि नै यसको सूचना जारी गरिसकेको छ । १५ मार्चदेखि ३० अप्रिलसम्म नेपाल आउने स्वदेशी, विदेशी तथा गैरआवासीय नेपाली सबैले क्वारेन्टाइनमा बस्नु पर्ने भएको हो ।

    कोरोना भाइरसको संक्रमण फैलिने जोखिम बढेपछि नेपाल भित्रने स्वदेशी तथा विदेशी नागरिकले सेल्फ क्वारेन्टाइनमा बस्नुपर्ने नियम लागु गरिएको हो ।

    अब त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थल झर्ना साथ क्वारेन्टाइनमा बस्नका लागि एक फारम भर्नुपर्छ । विभागका अनुसार नेपाली नागरिकलाई घरमा नै क्वारेन्टाइनमा बस्नु पर्ने भएको छ । विदेशी नागरिकले क्वारेन्टाइनमा बस्ने स्थानको व्यवस्था स्वयमले मिलाउनु पर्छ ।

    क्वारेन्टानमा बसे वा नबसेको अनुगमन हुनेछ । नेपालमा तेस्रो मुलुकबाट आउने नागरिकको अनअराइभल भिसा बन्द गरिएको छ ।

    उनीहरुले दूतावासमा गएर निरोगिताको प्रमाणपत्र देखाएमात्र नेपाल आउन पाँछन् । त्यसरी आएकालाई समेत क्वारेन्टाइनमा राख्न लागिएको हो ।

    त्यसो त तेस्रो मुलुकका नागरिकले अब नेपाल आउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमात्र प्रयोग गर्न पाउँछन् ।

    आफैंले आफैंलाई अन्य मानिसहरूको सम्पर्कबाट पर राखी संक्रमणबाट जोगिने प्रक्रिया सेल्फ क्वारेन्टाइन हो ।

    यसलाई चिकित्सकीय उपचारमा जानु भन्दा पनि सचेतनाको एक प्रक्रिया मानिन्छ । रोग लागेको भेटिएमा मात्र अस्पतालमा जानुपर्छ । क्वारेन्टाइनमा बसको अवधीमा समेत स्वास्थ्य जाँच भने गराउनु पर्छ ।

  • नेपाल र भारतका चार नाकाबाट मात्र आवतजावत गर्न सकिने

    नेपाल र भारतका चार नाकाबाट मात्र आवतजावत गर्न सकिने

    काठमाडौं । कोरोना भाइरसको संक्रमणको डरले आजबाट नेपाल र भारतको स्थलमार्गमा समेत कडाई शुरु भएको छ । आजबाट नेपाल भारतका प्रमुुख चार नाका बाहेक सबै नाका बन्द गर्ने निर्णय भएको छ ।

    भारतले नेपालसँगका प्रमुख ४ नाका मात्र खोल्ने निर्णय लिएको हो । वीरगन्जको रक्सौल, भैरहवाको सुनौली, धनगढीको महेन्द्रनगरस्थित बनबासा र झापाको काँकडभिट्टा नाकामात्र खुला हुनेछन् ।

    आयात निर्यात वा सामानको ढुवानी भने सबै नाका निर्वाध हुनेछ । मानिसको आवात जावत रोकिएको हो ।

    भारतको निर्णयले स्थानीय तहमा जावतजावत प्रभावित हुनेछ । हरके दिन हजारौं मानिस सीमा वारपार गर्छन् ।

    नेपालमा वा भारतमा निर्वाचन हुने समयमबाट बाहेक नाका बन्द भएको थिएन् । यसअघिको नाकाबन्दीको समयमा पनि मानिस रोकिनु परेको थिएन ।

  • कोरोना संक्रमणमा अमेरिकाको ताजा अवस्था यस्तो छ

    कोरोना संक्रमणमा अमेरिकाको ताजा अवस्था यस्तो छ

    न्यूयोर्क

    चीनको उहान शहरबाट गत डिसेम्बर महिनाको अन्तमा शुरु भएको कोरोना भाइरसको प्रकोप अमेरिकामा बढ्दै गएको छ ।  चीनबाट शुरु भएको कोरोनाको संक्रमण अमेरिकामा पहिलो पटक गत जनवरी महिनामा वासिङ्टन स्टेटमा एक संक्रमित ब्यक्तीमा भेटिएको थियो । हाल यस्को संक्रमण अमेरिकाको ४९ राज्य पुरेटोरिको यु एस भर्जिन आइल्यान्ड  र डिष्ट्रिक्ट अफ कोलम्बिया समेतमा फैलिएर दुई हजार ४ सय ३० ब्यक्ती संक्रमित भएको सरकारी आँकडा छ । शनिबार मार्च १४ सम्म अमेरिकामा कम्तिमा ५० को मृत्‍यु भै सकेको छ ।

    मृत्‍यु भएका ५० मध्ये सबै भन्दा धेरै वासिङ्टन राज्यमा ३७ क्यालिफोर्नियामा ५, फ्लोरिडा र न्यूयोर्कमा २/२, कोलोराडो जर्जिया कान्सस न्युजर्सी साउथ डकोटामा १ – १ जनाको कोरोना संक्रमणका कारण मृत्‍यु भै सकेको छ ।  यद्यपी कोरोना संक्रमितहरुको सरकारी तथ्यांक २४ सय ३० भए पनि परिक्षण गर्ने किटको अभाब भएको कारण थुप्रै संक्रमित परिक्षणको पर्खाईमा बसेको अनुमान गरिएको छ ।  

    राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा राष्ट्रिय संकटकाल घोषणा गरी सकेका छन् भने राज्य सरकारहरु संक्रमणको रोकथामको लागि खटीरहेका छन् । अधिकांस राज्यहरुको बिद्यालय बन्द गरिएको छ भने ठुलो जनसंख्या भएको न्युयोर्क राज्यको बिद्यालयहरु बन्द गरिएको छैन । कतिपय राज्यहरुले विद्यार्थीहरुलाई घरमा राखेर अनलाईन पढाउने ब्यबस्था गरेका छन् ।  सामान संचय गर्नेहरुको संख्या बढेपछि दैनिक उपभोग्य बस्तुहरुको अभाब हुन थालएको छ । दैनिक उपभोग्य बिक्रीगर्ने ठुला स्टोरहरुमा हजारौको लाइन हुन थालएको छ । मानिसहरुमा त्रास बढेको छ ।  

    अमेरिकामा हालसम्मको अवस्था यस्तो छ;

  • अमेरिकी राष्ट्रपति ट्रम्पलाई पनि कोरोना संक्रमणको शंकामा जाँच गरियो

    अमेरिकी राष्ट्रपति ट्रम्पलाई पनि कोरोना संक्रमणको शंकामा जाँच गरियो

    न्यूयोर्क

    राष्ट्रपति डोनाल्ड ट्रम्पले आफुलाई कोरोना भाईरसको संक्रमण भएको शंकाका कारण शुक्रबार साँझ जाँच गरिएको बताएका छन् ।  राष्ट्रपति ट्रम्पले शनिबार ह्वाईट हाऊसमा आयोजित एक पत्रकार सम्मेलनमा उक्त कुरा बताएका हुन् । शुक्रबार साँझ राष्ट्रपति ट्रम्प कोरोना संक्रमित भए नभएको पक्का गर्न पठाईए पनि नतिजा भने हालसम्म थाहा नभएको समेत उनले पत्रकार सम्मेलनमा बताएका छन् ।  

    राष्ट्रपति ट्रम्पले बिभिन्न सभा सम्मेलनमा भेट गरेका ब्यक्तीहरु कोरोना  भाईरस संक्रमित भेटिएपछि ट्रम्पको पनि जाँच हुनु पर्ने दबाब बढ्दै आएको थियो । अमेरिकामा कोरोना भाईरस संक्रमितको संख्या बढ्दै गएको छ भने शनिबार बिहानै न्युयोर्कमा ८२ बर्षिया एक महिलाको पनि कोभिड -१९ का कारण मृत्‍यु भएको छ ।

     

  • इटलीमा मर्ने संख्या १२ सय नाघ्यो, एकै दिन २ सय ५० को ज्यान गयो

    इटलीमा मर्ने संख्या १२ सय नाघ्यो, एकै दिन २ सय ५० को ज्यान गयो

    रोम । कोरोना त्रास अहिले यूरोपमा डरलाग्दो गरी फैलिएको छ । यसले सबैभन्दा ठूलो प्रभाव इटलीमा पारेको छ । युरोपेली देश इटलीमा कोरोना भाइरसका कारण एकै दिन २ सय ५० जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठनले जानकारी दिएको छ ।

    यो संख्या कोरोना भाइरसका कारण एकै दिनमा मानिस मरेको सबैभन्दा धेरै हो । चीनमा साम्य भएपनि अहिले इटलीमा भयाभह अवस्था सिर्जना गरेको छ ।

    हालसम्म इटलीमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या १ हजार २ सय ६६ पुगेको छ ।

    यस देशमा संक्रमितको संख्या १७ हजार ६ सय ६० भन्दा बढी रहेको संगठनले जनाएको छ ।

    डब्लूएचओका अनुसार हालसम्म १ सय २३ वटा देशमा कोरोना भाइरस संक्रमित फेला परेका छन् । इटलीपछि इराना बढी संक्रमित देखा परेका छन् ।

    यसैबीच, चीनले शुक्रबारसमेत ९ जना विशेषज्ञ डाक्टरसहित सयौं टन सहायता सामग्री बोकेको जहाज इटली पठाएको छ ।

    इटलीमा फैलिएको महामारी नियन्त्रणमा चीनले सहयोगको हात बढाएको छ ।

    यूरोपेली मुलुकमा कोरोनाको सन्त्राससँगै संगठनले यूरोपलाई कोरोनको इपिसेन्टर घोषणा गरेको छ । यसको मतलव अब चीन यसको संकटबाट उम्किएको छ ।

  • कोरोना आशंकामा अस्पताल भर्ना भएका चार जनाकै नतिजा नेगेटिभ

    कोरोना आशंकामा अस्पताल भर्ना भएका चार जनाकै नतिजा नेगेटिभ

    काठमाडौं । कोरोनाभाइरसको आशंकामा अस्पताल भर्ना भएका चार नेपालीमा नेगेटिभ नतिजा आएको छ । शुक्रबार आएको नतिजामा कसैमा पनि कोरोनाको संक्रमण पुष्टी नभएको टेकु अस्पतालले जनाएको छ ।

    कसैमा पनि कोरोना नदेखिएपछि सबैलाई शुक्रबार नै डिस्चार्ज गरिएको छ । उनीहरु कतार, मलेसिया र अमेरिकाबाट नेपाल आएका थिए।

    उनीहरूमा ज्वरो, रुघाखोकीको लक्षण देखिएपछि दुई दिनदेखि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको थियो। चारजनामध्ये दुई पुरुष र दुई महिला हुन् ।

    यससँगै नेपाल अहिले पनि कोरोनामुक्त क्षेत्रकै रुपमा स्थापित हुन सफल भएको छ । नेपालमा अहिलेसम्म एकजनामा मात्र कोरोना संक्रमण भेटिएको थियो ।

    तर, उनी उपचार पछि घर फर्किसकेका छन् । त्यसयता चार सयभन्दा बढी व्यक्तिको कोरोना परीक्षण गरिएकोमा कसैमा पनि कोरोनाको संक्रमण पुष्टी भएको छैन ।

    छिमेकी मुलुक चीनमा उत्पत्ती भएर संसारभर फैलिएपनि यो संक्रमणबाट नेपाल भने चोखो रहेको छ ।

    नेपालबाहिर भने नेपालीलाई कोरोनाको संक्रमण देखिएको छ । उनीहरु सम्बन्धित मुलुकमै उपचारार्थ रहेका कोरोनाबाट नेपाल अहिलेसम्म सुरक्षित रहन सफल भएको छ ।

  • २१४७औं झिवा ल्होछार मनाइयो

    २१४७औं झिवा ल्होछार मनाइयो

    न्युयोर्क/अमेरिका
    अमेरिकामा बसोबास गरिरहेका तोक्पेगोला (ढोक्प्या) समुदायले न्युयोर्कस्थित क्विन्स प्यालेसमा २१४७ औं झिवा ल्होछार मनाएका छन् ।
    तोक्पेगोला समाज सेवा समिति काठमाडौंको प्रवास शाखा ढोक्प्या किदुक उत्तर अमेरिकाको
    आयोजनामा झिवा ल्होसार मनाइएको हो । ढोक्प्या किदुक उत्तर अमेरिका न्युयोर्कका अध्यक्ष गोवा ढोक्प्याको अध्यक्षतामा गत साता ‘भाषा, धर्म र संस्कृतिको संरक्षण गरौं, आफनो पहिचान कायम राखौ’ भन्ने नारासहित झिवा ल्होछार साँझ मनाइएको थियो ।
    ढोक्प्या समुदायका औतरी लामा लोब्साङ खेटुक र लामा कासाङ छोम्वेले संयुक्त रुपमा वौद्घ धर्म परम्परा अनुसार पुजापाठ गरी कार्यक्रमको शुभारम्भ गरेका थिए ।
    नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना)का अध्यक्ष लोक चेम्जोङले नेपालको संघीय प्रणाली पहिचानको आधारमा हुनुपर्ने र नेपालको सामाजिक, भाषिक, संस्कृतिक र समुदायगत विविधता अनुसारको राज्य संरचना, संविधान र ऐन कानुन निर्माण हुनुपर्ने बताए । उनले वर्तमान सरकार आदिवासी जनजातिहरुको आवाज सुन्नै नचाहाने र देशको सुन्दर विविधतालाई तहसनहस पार्न अग्रसर भइरहेको आरोप लगाए । अधिकारका लागि आदिवासी जनजातिहरु एकजुट हुनुपर्नेमा उनले जोड दिए ।
    उनले अहिले संयुक्त राज्य अमेरिका राट्रिय जनगनाणाको संघारमा भएको हुँदा सबै नेपालीहरुले राट्रिय जनगनाणामा गम्भीर भएर सहभागिता हुन आह्वान गरेका छन् ।
    किदुकका सल्लाहकार डण्डु ढोक्प्याले नेपालमा आदिवासी जनजातिहरुले पहिचानको मुद्दालाई निरन्तर उठान गरिरहेको, प्रदेशहरुको नामाकरण पहिचानको आधारमा हुनुपर्ने र प्रदेशभित्र अल्पसंख्यक आदिवासी जनजातिहरुको स्वशासन सहितको स्वायत्त क्षेत्रहरु हुनुपर्ने मागलाई निरन्तर उठान गरिरहेको बताए ।
    प्रवासमा रहेका आदिवासी जनजाति लगायत आम नेपाली समुदायले पुस्तौ पुस्तासम्म आफ्नो पहिचान कायम राख्न आफ्नो भाषा, धर्म, संस्कृति र परम्परालाई नयाँ पुस्तामा हस्तान्तरण गर्नुपर्नेमा उनले जोड दिए ।
    अध्यक्ष ढोक्प्याले अमेरिकामा ढोक्प्या समुदाय थोरै संख्यामा भए पनि संस्था गठन गर्न सफल भएको र संस्था गठन भएदेखि नै ल्होछार लोसार साँझ कार्यक्रम आयोजना गर्दै आएको बताए । उनले लोसार साँझ कार्यक्रम सम्पन्न गर्नका लागि सहयोग गर्ने सबैप्रति धन्यबाद ब्यक्त गरे । कार्यक्रममा नेपाली कलाकार संघ अमेरिकाका अध्यक्ष सुमन बुढा मगरसहितको टोलीले विभिन्न सांस्कृतिक प्रस्तुतीहरु दिएर सहभागीलाई मनोरञ्जन गराएको थियो । कार्यक्रममा ढोक्प्या समुदायको परम्परागत स्याब्रु नाच प्रस्तुत गरिएको थियो ।