Category: समाचार

  • तराई चिसोको कहर शुरु, रौतहटमा चारको ज्यान गयो

    तराई चिसोको कहर शुरु, रौतहटमा चारको ज्यान गयो

    रौतहट । शितलहरका कारण तराईको जनजीवन प्रभावित हुन थालेको छ । असावधानीका कारण मानिसको ज्यानै जाने गरी हुने चिसोले रौतहटमा मात्र चारजनाको मृत्यु भएको छ ।

    १ पुसयता रौतहटमा अधिक चिसो र शीतलहर चलिरहेको छ । चिसोले कठ्याँग्रिएर ४ जनाको मृत्यु भएको स्थानीय प्रशासनले जनाएका छन् ।

    दुर्गा भगवती गाउँपालिका–५ बडहर्वाका ६७ वर्षीय विलास सहनी र ६९ वर्षीय जनकदास तत्माको चिसोका कारण मृत्यु भएको हो ।

    गुजरा नगरपालिका–२ का ५४ वर्षीया गिरीजाकुमारी बैठा र ७० वर्षीय बनहु माझीको समेत चिसोकै कारण मृत्यु भएको स्थानीय प्रशासनले जनाएको छ ।

    जिल्ला अस्पतालमा पोष्टर्माटम गर्ने उपकरण नभएका कारण भने चिसोका कारण भएको मृत्युको प्रमाणपत्र भने जिल्लामा उपलब्ध हुँदैन ।

    जिल्ला प्रशासन कार्यालयका अनुसार चिसोबाट बच्न अति विपन्न नागरिकलाई न्यायो कपडा वितरण गर्ने काम भइरहेको छ ।

    चिसोमा घर बाहिर ननिस्कन तथा आगोको सहारा एवं न्यानो लुगा लगाएर बस्न सचेतनामुलक कार्यक्रम आयोजनामा समेत तिब्रता दिइएको छ । अधिक चिसो बढेपछि जिल्लाका तीनवटा नगरपालिकाले नगर क्षेत्रमा रहेका विद्यालय बन्द गरेका छन् । गरुडा, राजदेवी र वृन्दावन नगरपालिकामा आगामी शुक्रबारसम्म विद्यालय बन्द भएका छन् ।

  • पत्रकार खासोग्जीका हत्यारालाई मृत्युदण्डको सजाय

    पत्रकार खासोग्जीका हत्यारालाई मृत्युदण्डको सजाय

    काठमाडौं । साउदी अरवको अदालतले पत्रकार जमाल खासोग्जीको हत्या आरोपमा ५ जनालाई मृत्युदण्डको सजाय सुनाएको छ।

    अघिल्लो साल टर्कीको इस्तानबुलस्थित साउदी महावाणिज्य दूतावासमा छिरेका खासोग्जीको सोही भवनभित्र हत्या भएको थियो ।

    साउदीमा अदालतले सोमबार गरेको फैसलामा उक्त घटनामा ११ जनालाई दोषी ठहर्‍याएको र ५ जनालाई मृत्युदण्ड सुनाइएको संचारमाध्यमहरुले लेखेका छन् ।

    अन्य तीनलाई २४ वर्ष कैद सजाय अदालतले सुनाएको हो । प्रारम्भमा साउदी सरकारको गुणगानमा लेखेपनि पछिल्ला दिनमा उनी कडा आलोचक बनेका थिए ।

    सोहीकारण उनको हत्यामा साउदी युवराज मोहम्मद बिन सलमानको संलग्नता रहेको भन्दै व्यापक आलोचना भएको थियो । २ अक्टोवर २०१८ मा उनको हत्या भएको हो ।

  • अब छाउपडी राख्ने र बस्ने दुबैलाई कानूनी कारवाही

    अब छाउपडी राख्ने र बस्ने दुबैलाई कानूनी कारवाही

    काठमाडौं । सरकारले महिनावारी भएको बेला छाउगोठमा राख्ने परिवार र बस्ने महिला दुबैलाई कारबाहीको दायरामा ल्याउने भएको छ । यसको तयारी गृह मन्त्रालयले गरिरहेको छ ।

    सोमबार गृह मन्त्रालयमा महान्यायाधिवक्ता अग्नि खरेलसहित सरोकारवालाको बैठक बसेको थियो ।

    बैठकमा गृह मन्त्रालयका सचिव, छाउपडी प्रभावित क्षेत्रमा खटिएका सुरक्षा निकायका प्रमुख, सरकारी वकिललगायतको बैठक बसेको थियो ।

    बैठकमा महान्यायाधिवक्ता खरेलले छाउ गोठमा बस्न बाध्य पार्ने परिवार र बस्ने महिलालाई समेत नियन्त्रणमा लिन निर्देशन दिए ।

    अति प्रभावित क्षेत्रमा छाउगोठमा बस्ने र बस्न लगाउने परिवारलाई नियन्त्रणमा लिएर कारवाही थाल्दा यो प्रथा धेरै हदसम्म नियन्त्रणमा आउने विश्वास सरकारको रहेको छ ।

    मुलुकी अपराध संहिता २०७४ अनुसार छाउपडी प्रथाविरुद्ध कडा कदम चाल्न आवश्यक रहेको सुरक्षा निकायको निष्कर्ष रहेको छ ।

    नेपालको सुदुरपश्चिम तथा कर्णाली भेगमा छाउपडी प्रथा बढी छ । छाउगोठमा बस्दा धेरै महिलाको ज्यान जाने र सो क्रम नरोकिएपछि सरकारले कानूनी कारवाहीको तयारी गरेको हो ।

    यसप्रथाविरुद्ध एनजीओ तथा आइएनजीओले ठूलो रकम खर्च गरेपनि प्रथा झन झांगिदै गएपछि सरकार नै यसमा तात्तिन लागेको हो ।

    हालै महान्यायाधिवक्ताको नेतृत्वमा केन्द्रीय समन्वय इकाइ गठन गरिएको छ । यसबाहेक जिल्लास्तर प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा अर्को संयन्त्र गठन भएको छ ।

  • २१ किलो चरेश बरामद

    २१ किलो चरेश बरामद

    काठमाडौं । पर्सा प्रहरीले सोमबार बिहान २१ किलो चरेश बरामद गरेको छ। पर्साको धोबिनी गाउँपालिका– ५ स्थित बैरिया खोलाबाट २१ किलो चरेश बरामद भएको प्रहरीले पुष्टी गरेको हो ।

    चरेश कसले बोकेको थियो भन्नेबारे प्रहरीले सार्वजनिक गरेको छैन । भिस्वाबाट खटिएको सशस्त्र प्रहरीको चरेश बरामद गरेको प्रहरीले जानकारी दिएको छ ।

    नेपालमा पछिल्ला दिनमा अवैध लागुऔषधको ओसार पसार तिब्र रुपमा भइरहेको छ ।

  • वामदेव नेकपाको उपाध्यक्ष बन्ने पक्का

    वामदेव नेकपाको उपाध्यक्ष बन्ने पक्का

    काठमाडौं । नेकपाको स्थायी कमिटी बैठकबाट संगठन विभाग प्रमुख वामदेव गौतमलाई उपाध्यक्ष बनाउने प्रस्ताव पारित भएको छ ।

    यससँगै उनी उपाध्यक्ष हुने पक्का भएको छ । १९ मंसिरमा महासचिव विष्णु पौडेलले विधान संशोधन प्रस्ताव पेश गरेका थिए। बैठकले प्रस्ताव पारित गरेको छ ।

    २१ साउनमा वामदेवलाई उपाध्यक्ष बनाउने निर्णय सचिवालय बैठकले गरेको थियो । किनकी नेकपाको विधानमा उपाध्यक्षको पद छैन ।

    विधान संशोधनका लागि कम्तिमा तीन चरण पार गर्नुपर्ने हुन्छ । सचिवालय बैठकले स्थायी समितिमा प्रस्ताव गरेको थियो ।

    स्थायी समितिले पारित गरेसँगै अब विधान संशोधनको निर्णय नेकपाको केन्द्रीय कमिटीबाट हुन्छ । नेकपाको केन्द्रिय कमिटि बैठक भने २३ पुसमा डाकिएको छ ।

  • विद्यार्थीलाई बसले ठक्कर दिएपछि चावहिल तनावग्रस्त

    विद्यार्थीलाई बसले ठक्कर दिएपछि चावहिल तनावग्रस्त

    काठमाडौं । काठमाडौंको चावहिल क्षेत्र सोमबार बिहान तनावग्रस्त बनेको छ । प्रहरीका अनुसार सुकेधारामा बसको ठक्करबाट एक विद्यार्थी घाइते भएपछि आक्रोसित विद्यार्थीले दुई वटा गाडीमा आगजनी तथा तोडफोड गरेका छन् ।

    चाबहिलस्थित पशुपति क्याम्पसमा अध्ययनरत सृष्टि पन्तलाई विहान बा ५ ख ५९३० नम्बरको बसले ठक्कर दिएको हो । उनको उपचार भइरहेको छ ।

    पन्तलाई ठक्कर दिएर बस भागेपछि विद्यार्थी आक्रोसित बनेका थिए । उनी बीबीएस चौथो वर्षमा अध्ययनरत विद्यार्थी हुन ।

    त्यसपछि पशुपति क्याम्पसका विद्यार्थी तोडफोडमा उत्रिएका थिए । ठक्कर दिने गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको बताएको छ ।

  • कांग्रेसमा संस्थापन र पौडेल पक्षको वार्ता सहमति नजिक

    कांग्रेसमा संस्थापन र पौडेल पक्षको वार्ता सहमति नजिक

    काठमाडौं । नेपाली कांग्रेसमा महाधिवेशनको मितिलाई लिएर विवाद छ । सोही विवादका कारण केन्द्रिय समिति बैठकसमेत प्रभावित भइरहेको छ ।

    तर, पछिल्ला चरणमा भइरहेको वार्ताले सकारात्मक रुप लिइरहेको नेताहरुले बताएका छन् । रामचन्द्र पौडेल समूहले कांग्रेसको १४ औं महाधिवेशन आगामी ५ मंसिरमा गर्न प्रस्ताव राखेको छ ।

    आइतबार संस्थापन पक्षसँगको वार्तामा पौडेल समूहले २०७७ मंसिर ५, ६, ७ र ८ मा महाधिवेशनको प्रस्ताव राखेको छ । पौडेल पक्षले राखेको प्रस्तावमा सहमति भने भएको छैन ।

    संस्थापन पक्षबाट भने मिति सार्वजनिक गर्ने विषयमा इच्छा देखाएको छैन । तर, आगामी वर्ष फागुनभित्र महाधिवेशन गर्ने गरी कार्यतालिका बनाउन सकिने संकेत संस्थापन पक्षले पौडेल पक्षलाई दिएको छ ।

    वर्तमान कार्यसमितिको कार्यकाल आगामी फागुनमा सकिने भएको छ । त्यसपछि थप एक वर्ष कार्यकाल लम्ब्याउने तयारी रहेको छ । त्यसपछि भने जसरी पनि महाधिवेशन गर्नुपर्ने पौडेल पक्षको अडान रहेको छ ।

  • विप्लव समूहको अपहरणमा परेका गाउँपालिका अध्यक्षको शकुशल उद्दार

    विप्लव समूहको अपहरणमा परेका गाउँपालिका अध्यक्षको शकुशल उद्दार

    दैलेख । नेकपा विप्लव समूहले अपहरण गरेका दैलेखको ठाँटीकाँध गाउँपालिकाका धिरबहादुर शाहीलाई सशस्त्र प्रहरीले कालीकोटबाट उद्दार गरेको छ । उनको शकुशल उद्दार भएको प्रहरीले जानकारी दिएको छ ।

    शनिबार राति घरमै सुतिरहेको समयमा अज्ञात समूहबाट उनको अपहरण भएको थियो ।

    प्रहरीका अनुसार राती आएको १०\१२ जनाको समूहले सोधपुछ गर्नुछ भन्दै शाहीलाई लैजान खोजेपछि श्रीमतीले आफूलाई पनि लैजान आग्रह गरेपछि दुबैजनालाई लगिएको थियो ।

    यस घटनाको नेकपा विप्लव समूहले जिम्मेवारी लिइसकेको छ । धिरबहादुर र उनकी श्रीमतीलाई करिव दुई घन्टा पैदल हिँडाएपछि श्रीमतीलाई छाडेको थियो ।

    उनले छुटेपछि गाँऊ पालिका अन्तर्गतको वडा अध्यक्ष नर्तमबहादुर बुढालाई खबर गरेकी थिइन् । बुढाले प्रहरी र स्थानीय प्रशासनलाई जानकारी गराएपछि प्रहरी उद्दारमा जुटेको थियो ।

    कालिकोट प्रहरीका अनुसार श्रीमतीको जानकारीका आधारमा प्रहरीले खोजी थालेको थियो । कालिकोट प्रहरीले शसस्त्र प्रहरीका एक टोली खटाएरै खोजी थालेको थियो ।

    खोज गर्ने क्रममा एक स्थानीयले दिएको सुराकीका आधारमा उनलाई राखेको घर पत्ता लागेको थियो ।

    त्यसपछि सशस्त्र प्रहरीले घर घेरा हाली हवाई फायरिङ गरेछि अध्यक्षलाई छाडेर समूहका व्यक्ति भागेका थिए ।

    कालिकोट प्रहरीका अनुसार त्यसपछि प्रहरीले अध्यक्ष शाहीलाई आफ्नो साथमा ल्याएको छ । विप्लव समूहले आइतबार नै विज्ञप्ती जारी गर्दै शाहीको अपहरण आफूहरुले गरेको उल्लेख गरेको छ ।

    विप्लव समूहका भेरी कर्णाली ब्युरो इञ्चार्ज रविका नामबाट विज्ञप्ति जारी गर्दै गाउँपालिकामा चरम भ्रष्टाचार गरेको, कमिशन खाएको र सीआईडी गरेको भन्दै पार्टीले छानविनका लागि नियन्त्रणमा लिएको उल्लेख गरिएको छ ।

  • बुटवल “सडक मानव” मुक्त सहर घोषित

    बुटवल “सडक मानव” मुक्त सहर घोषित

    बुटवल । मागेर दिनचर्या बिताउनु पर्ने बाध्यतामा रहेका सहयोगापेक्षी बेसहाराहरुलाई व्यवस्थापन गर्दै वुटबल उपमहानगरपालिका सडक मगन्ते मानवमुक्त सहर घोषणा भएको छ ।

    शनिबार प्रदेश नं ५ का आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसी, सामाजिक विकासमन्त्री सुदर्शन बराल, पर्यटनमन्त्री लिला गिरी, नगरप्रमुख शिवराज सुवेदी, उपप्रमुख गुमादेवी आचार्य र मानवसेवा आश्रमका प्रतिनिधिले संयुक्त रूपमा बुटवलाई सडक मानवमुक्त घोषणा गरेका हुन् ।

    यस सहरलाई मानव सभ्यतासहितको मानवअधिकारमैत्री नगर निर्माण गर्ने घोषणा पनि कार्यक्रममा गरियो ।

    मन्त्री केसीले प्रदेश सरकारको ‘समृद्ध प्रदेश खुसी जनता’ अभियानको एक अंशका रुपमा यस अभियानलाई लिनु पर्ने उल्लेख गरे ।

    पछिल्ला दिनमा बुटवल सुरक्षित सहरका रुपमा स्थापित भएको भन्दै उनले अब सडकमा माग्न पर्ने अवस्थाको पनि अन्त्य भएको उल्लेख गरे ।

    सामाजिक विकासमन्त्री सुदर्शन बरालले छिट्टै सम्पूर्ण प्रदेशलाई नै सडक मानवमुक्त बनाउने गरी काम भइरहेको बताए ।

    उक्त अभियानमा स्थानीय तहहरु अग्रसर हुनुपर्ने उनको भनाई छ ।

    मानव सेवा आश्रमसँग सहकार्य गरी सडकमा बेसहारारूपमा जीवन बिताइरहेका व्यक्तिलाई उद्वार, उपचार र आवासको व्यवस्था मिलाउने काम सम्पन्न भएको बुटवल उपमहानगरपालिकाकी उपप्रमुख गुमादेवी आचार्यले जानकारी दिइन् ।

    एक वर्षसम्म चलेको यस अभियानका दौरान ११७ जनालाई उद्दार गरिएको छ ।

  • आजदेखि संसद अधिवेशन शुरु, अध्यक्षता उपसभामुखबाट

    आजदेखि संसद अधिवेशन शुरु, अध्यक्षता उपसभामुखबाट

    काठमाडौं । संसदको पाँचौं अधिवेशन आजबाट सुरु हुने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वानमा संसद अधिवेशन शुरु हुन लागेको संसद सचिवालयले जनाएको छ ।

    शुक्रबार अपराह्न ४ बजे दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा) का बैठक आह्वान गरिएका छन् । यस पटक प्रतिनिधिसभा बैठकको अध्यक्षता भने उपसभामुख शिवमाया तुम्बाहाम्फेबाट हुने भएको छ ।

    पूर्वसभामुख कृष्णबहादुर महरा बलत्कार गरेको आरोपमा पक्राउ परेका कारण उनले राजीनामा दिएका हुन् । सभामुख पद भने रिक्त छ ।

    शुक्रबार राष्ट्रपतिले बैठक आह्वान गर्न पठाएको पत्र पढ्ने कार्यसूचि राखिएको छ । राष्ट्रिय सभामा शुक्रबार दलीय आधारमा संसदीय दलका नेताहरूले मन्तब्य राख्नेछन् ।

  • सीमा नाकामा सशस्त्र पुलिसका ११४ आउटपोस्ट स्थापना हुने

    सीमा नाकामा सशस्त्र पुलिसका ११४ आउटपोस्ट स्थापना हुने

    काठमाडौं । यसकारले नेपालको सीमा नाकामा सशस्त्र प्रहरीका ११४ बोर्डर आउटपोष्ट (बीओपी) थप्ने भएको छ ।

    मन्त्रिपरिषदको अघिल्लो सोमबारको बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता तथा सूचना तथा संचार प्रविधि मन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।

    उनका अनुसार नेपाल भारत र नेपाल चीन दुवैतिर सीमा क्षेत्रमा अब कूल २२१ वटा बीओपी पुग्ने भएका छन् । यसअघि १०७ वटा बिओपी राखिएका थिए ।

    सीमा क्षेत्रमा हुने अपराध नियन्त्रण र सीमा सुरक्षालाई प्राथमिकता दिएर बीओपी स्थापना गर्न लागिएको उनले बताए । यो सीमा विवादसँग सम्बन्धित विषय भने नरहेको उनले स्पष्ट पारे ।

    सीमा क्षेत्रमा राज्यको उपस्थिति मजवुत बनाउन खोजिएको भने उनले जानकारी दिए । भारतसँग सीमा विवाद बल्झिरहने दार्चुलाको ब्यास गाउँपालिका १ मा पनि बोर्डर आउटपोष्ट स्थापना हुने भएको छ ।

    यस गाउँपालिकाको छाङरुङबाट दुम्लिङसम्मको घोडेटो बाटो पनि संघीय मामिला मन्त्रालयमार्फत निर्माण गरी सञ्चालनमा ल्याउने निर्णय सरकारले गरेको छ ।

    यहाँ बाटोको अभावले नागरिकले भारतीय भूमिको प्रयोग गर्नु परेको थियो । कूटनीतिक तवरबाट समाधान गर्नुपर्ने विषयबाहेक सीमा क्षेत्रमा नेपालको मजवुत उपस्थिति नहुँदा पनि भारतले सीमा मिच्ने गरेको छ ।

  • उच्च अदालतले समेत मानेन महरालाई छाड्न

    उच्च अदालतले समेत मानेन महरालाई छाड्न

    काठमाडौं । उच्च अदालत पाटनले समेत पूर्वसभामुख कृष्णबहादुर महरालाई थुनामुक्त गर्न इन्कार गरेको छ ।

    जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि उनलाई थुनामा राख्न आदेश गरेको थियो । सो आदेशविरुद्ध उनी उच्च अदालत पाटनमा गएका थिए ।

    उनले साधारण तारेखमा रिहाको माग गरेका थिए । उच्च अदालतले महराको मुद्दा भने एक महिनाभित्रै किनारा लगाउन समेत आदेश गरेको छ ।

    संसद सचिवालयकी एक कर्मचारीले बलात्कार प्रयास गरेको आरोप गलाएपछि उनी १९ असोजमा पक्राउ परेका थिए ।

    जिल्ला अदालत काठमाडौंले मुद्दाको किनारा नलागेसम्म थुनामा पठाउने आदेश गरेको थियो ।

    उनी १८ कात्तिकमा डिल्लीबजार कारागारमा रहेका छन् मुख्य न्यायाधीश नहकुल सुवेदी र न्यायाधीश टेकनारायण कुँवरको इजलासले जिल्ला अदालतको आदेश सदर गरेको छ ।

    प्रतिनिधिसभाका तत्कालीन सभामुख महरामाथि १२ असोजमा संसद सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि बलत्कार प्रयासको आरोप लागेको थियो ।

    पछि ती महिलाले नै महरा निर्दोष रहेको बयान दिएपनि प्रहरीले भने अन्य प्रमाणका आधारमा उनलाई दोषि करार गरेको थियो ।

  • तराईमा कुहिरो र शीतलहर, बढ्यो चिसो

    तराईमा कुहिरो र शीतलहर, बढ्यो चिसो

    काठमाडौं । तराईमा दुई दिनसम्म लगातार कुहिरो र शीतलहरले जनजीवन प्रभावित हुने भएको छ । जल तथा मौसम विज्ञान विभागले मौसम बुलेटिन जारी गर्दै त्यस भेगका बासिन्दालाई सचेत रहन अनुरोध गरेको छ।

    विभागका अनुसार तराई भेगका अधिकांश क्षेत्रमा लागेको हुस्सु तथा कुहिरो (शुक्रबार)सम्म नै कायम रहने छ । घाम लाग्नै छैनन् ।

    त्यसकारण एक्कासी चिसो बढ्दा स्वास्थ्यमा असर पर्न सक्ने सम्भावना रहेको छ । पहाडी भेगमा घाम लागे पनि तराईलाई भने हुस्सु र कुहिरोले ढाकेको छ ।

    अझ पश्चिम तराईमा बाक्लो हुस्सु लागेको विभागले जनाएको छ । महाशाखाले बिहीबार जारी गरेको मौसमी विवरण यस्तो छ : तराईका अधिकांश भूभागमा देखिएको कुहिरो भोलिसम्मै रहिरहने देखिएको छ। साथै पश्चिमी तराईका एक-दुई स्थानमा शीतलहरको स्थिति देखिएको छ। राम्रोसँग घाम नलाग्ने भएकाले तापक्रममा गिरावट आई चिसो बढ्ने देखिन्छ। तसर्थ चिसोबाट बच्ने उपायहरु अपनाउनु हुन सबैमा अनुरोध छ।

  • पौडेल र सिटौला पक्षका नेता गएनन्, कांग्रेस कार्यसमिति बैठक स्थगित

    पौडेल र सिटौला पक्षका नेता गएनन्, कांग्रेस कार्यसमिति बैठक स्थगित

    काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बुधबारका लागि डाकिएको बैठक पनि बस्दै नबसी स्थगित भएको छ।

    आन्तरिक विवादमा फसेको कांग्रेसको कार्यसमिति बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्ण सिटौला पक्षधर नेता अनुपस्थित भएपछि बैठक स्थागित भएको हो ।

    विवाद समाधानको प्रयास भने जारी रहेको नेताहरुले जानकारी दिएका छन् । शीर्ष नेताहरु नै आन्तरिक छलफलमा जुटेका कारण बैठक स्थगित गर्नु परेको कांग्रेस पार्टी कार्यालयले जनाएको छ ।

    अर्को बैठक पुस ४ मा डाकिएको छ । बुधबार सिटौला र पौडेलबीच पौडेल निवास बोहोराटारमा छलफल भएको छ ।

    सभापति देउवा आफै र उनका सहयोगी उपसभापति विमलेन्द्र निधिले समेत पौडेललाई फकाउने प्रत्यत्न जारी राखेका छन् ।

    पौडेल पक्षले १४ औँ महाधिवेशनको निर्वाचन कार्यतालिका नल्याएसम्म बैठकमा सहभागि नहुने अडान लिएर बैठक बहिस्कार गरिरहेको छ ।

    पार्टी सभापति देउवा पक्षधर नेताहरु भने पार्टीको संगठन संरचना पूरा भएपछि मात्रै अधिवेशनको निर्वाचन कार्यतालिका ल्याउने अडानमा छन् । सोहीकारण विवाद मिल्न सकिरहेको छैन ।

  • एन आर एनमा विवादका बीच कार्य विभाजन, बैठक सञ्चालनमा महासचिवको असक्षमता

    एन आर एनमा विवादका बीच कार्य विभाजन, बैठक सञ्चालनमा महासचिवको असक्षमता

    विश्वन्युज संवाददाता
    काठमाडौं
    गैरआवासीय नेपाली संघ (एनआरएनए)को साइबर कन्फ्रेन्स बैठक शनिबार सम्पन्न भएको छ । एनआरएनए आईसीसीका २१ नयाँ सदस्य चयनमा चर्को विवाद भएको छ । विवादबीच अमेरिका क्षेत्रबाट पासाङ शेर्र्पा, डा. हरि दाहाल, विष्णुमाया परियार, यमुना भट्टराई, प्रमोद सिटौला र पुरुषोत्तम बोहोरा आईसीसी सदस्य बनेका छन् । त्यस्तै, युरोप क्षेत्रबाट रामशरण सिंखडा, भक्त गुरुङ, प्रेम तमु, अनुजा प्रधान र गुणराज शर्मा सदस्य मनोनित गरिएको एनआरएनएले जनाएको छ ।
    अष्ट्रेलियाबाट डा. विनोद श्रेष्ठ, डा. बसुन्धरा भट्टराई र दुर्गा आचार्य मनोनित भएका छन् । मध्यपूर्व र एसियाबाट अब्दुल बसिद, नविन पौडेल, यास्मिन वेगम, नारायणप्रसाद सुवेदी, इन्दिरा सुजुकी, दासुराम पराजुली र शान्ति अधिकारी एनआरएनए आईसीसीको सदस्य मनोनित भएका छन् । त्यस्तै, बैठकले ५१ जनालाई मानार्थ आईसीसी परिषद् सदस्य मनोनित गरिएको छ ।
    एनआरएनए आईसीसीका प्रवक्ता डिबी क्षेत्रीका अनुसार बैठकले विभिन्न विभागको जिम्मेवारी पनि टुंगो लगाएको छ । एनआरएनए लगानी समितिको संयोजकमा अध्यक्ष कुमार पन्त, नेपाल भ्रमण वर्ष २०२० को संयोजकमा निवर्तमान अध्यक्ष भवन भट्ट, वैदेशिक रोजगारीको संयोजकमा उपाध्यक्ष डा. बद्री केसी, पर्यटन तथा व्यापारको संयोजकमा उपाध्यक्ष अर्जुनकुमार श्रेष्ठ, नेपाली नागरिकताको निरन्तरताका लागि संयोजकमा उपाध्यक्ष सोनाम लामा र एनआरएनए नलेज एकेडेमीको संयोजकमा उपाध्यक्ष मन केसीलाई जिम्मेवारी दिइएको छ ।
    बैठकले भूपु गोर्खा समन्वय समितिमा चन्द्र गुरुङ, पर्यटन प्रवद्र्धनमा सपिला राजभण्डारी, भाषा तथा साहित्यमा हिक्मत थापा, विदेशमा नेपाली सामानको प्रवद्र्धनमा शिव बरुवाल, एनआरएनए एकेडेमीमा डा. प्रमोद ढकाल, विज्ञान फाउण्डेसनमा डा. राजु अधिकारी, व्यावसायिक शिक्षामा राम थापा संयोजक चयन भएका छन् ।
    त्यस्तै, बैठकले मानवीय सहायता तथा परोपकारमा सोनाम लामा, एक एनसीसी एक च्यारिटीमा रविना थापा, नेपाल लाइब्रेरी परियोजनामा नरेश कोइराला, रक्त सञ्चारमा फणिन्द्र पन्त, स्पोर्टस् एकेडेमीमा हिमाल गुरुङ, महिला स्वास्थ्यमा रजनी प्रधान, महिला तथा युवामा रविना थापा, बालबालिका तथा शिक्षामा भूषण घिमिरे र स्वास्थ्य संयोजकमा डा. संजीव सापकोटालाई मनोनित गरेको प्रवक्ता क्षेत्रीले जानकारी दिए ।
    बैठकले एनआरएनएको प्रशासन प्रमुखमा महासचिव डा. हेमराज शर्मा, प्रकाशनमा डिबी क्षेत्री, सदस्यता वितरणमा आरके शर्मा र स्मार्ट एनआरएनएमा गौरी जोशीलाई जिम्मेवारी दिएको छ । त्यस्तै, अनुशासन समितिको संयोजकमा डा. अम्बिका अधिकारी तथा सदस्यहरुमा इन्द्र वन, डा. देवकाजी डंगोल, सूर्य गुरुङ र कृष्ण पाण्डे चयन भएका छन् । बैठकले विधान संशोधन समितिको संयोजकमा भवानी ओलीलाई संयोजक बनाएको छ । समितिको सदस्यहरुमा पुष्प थापा, ओम गुरुङ, रविन वज्राचार्य र विनोद भट्टराई चयन भएका छन् ।
    बैठकले नियमावली निर्माण समितिको संयोजकमा धु्रव सुवेदी, पोलिसी एण्ड प्रोसिडर समितिको संयोजकमा रामशरण सिंखडा, संघको आर्थिक स्थायित्व समितिको संयोजकमा महेश श्रेष्ठ, आर्थिक संकलन समितिको संयोजकमा लोक दाहाल र एनआरएनए फाउण्डेशनको संयोजकमा एकनाथ खतिवडालाई जिम्मेवारी दिएको छ ।
    एनआरएनए आईसीसी बैठकले ५१ जनाको मानार्थ आईसीसी परिषद् सदस्य चयन गरेको छ । अष्ट्रेलियाबाट धर्मराज अधिकारी, गणेश केसी, गोबा कटुवाल, राजन बस्नेत र दीपक जोशी, बेल्जियमबाट गंगाधर गौतम, रजनी प्रधान, जानकी गुरुङ, शिवकुमार बरुवाल, पारस गौतम र अर्जुन गुरुङ तथा क्यानडाबाट रविन्द्र घिमिरे र नवराज गुरुङलाई मानार्थ आईसीसी परिषद् सदस्य मनोनित गरिएको छ ।
    त्यस्तै, फ्रान्सबाट हरिहर अर्याल, जर्मनीबाट सन्तोष भट्टराई र रमेश अर्याल, हङकङबाट प्रकाश पुन र एमबी गुरुङ, जापानबाट किरण विक्रम थापा, भूषण घिमिरे, सुदन थापा, डिलाराम खरेल र कपिलदेव थापा, केन्याबाट सुनील कार्की, कोरियाबाट विनोद कुँवर र मलेसियाबाट शंकरबहादुर पौडेल मानार्थ आईसीसी परिषद् सदस्य मनोनित भएका छन् ।
    नेदरल्याड्सबाट शशी पौडेल, नाइजेरियाबाट हिक्मत थापा, पोल्याण्डबाट डा. अलिनी पोख्रेल सुवेदी, पोर्चुगलबाट कुवेर कार्की, कतारबाट कमलमणि गुरागाईं, बिमल सुवेदी र सन्नी ओली, रसियाबाट गोविन्दप्रसाद गौतम, साउदी अरेबियाबाट रमेश भण्डारी, स्पेनबाट दीपक खरेल, थाइल्याण्डबाट भारती लिम्बुनी, संयुक्त अरब इमिरेट्सबाट गोपालप्रसाद कँडेल चयन भएका छन् । बैठकले बेलायतबाट कर्णबहादुर शाही, चन्द्र गुरुङ, रण केसी, विजन भट्ट, चिरन शर्मा, विनोद ज्ञवाली, अमेरिकाबाट कृष्ण लामिछाने,  प्रेम श्रेष्ठ, नविन शेरचन, विकास उप्रेती, वेद बस्नेत र प्रकाश सापकोटालाई मानार्थ आईसीसी परिषद् सदस्य मनोनित गरिएको छ ।

    राजनीतिक विवाद उस्तै
    एनआरएनएमा अघिल्लो कार्यकालबाट भित्रिएको राजनीतिक विवाद झन्झन झाँगिन थालेको छ । शनिबार सम्पन्न साइबर मिटिङमा समेत फेरि राजनीतिक रंग देखिएको छ । नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टीको नजिक भएका पदाधिकारी र सदस्यबीच बैठकमा विवाद देखिएको छ । एनआरएनए आईसीसी बैठकमा नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी भन्दै गालीगलौजसमेत भएको थियो ।
    एनआरएनएका एक पदाधिकारीका अनुसार बैठकमा अध्यक्षमा पराजित कुल आचार्य प्यानलबाट निर्वाचित केन्द्रीय सदस्यहरुले आचार्य अध्यक्षमा थोरै मतान्तरले पराजित भएकाले सदस्य मनोनित गर्दा ५०–५० प्रतिशत भागबण्डा हुनुपर्ने बताए । उनीहरुले लोकतान्त्रिक मूल्य–मान्यताको सम्मान गर्दै विपक्षमा रहेका व्यक्तिको सम्मानका लागि भए पनि ५० प्रतिशत केन्द्रीय सदस्य आफूहरुले भनेका व्यक्ति छान्न पाउनुपर्ने तर्क गरे । एनआरएनए आईसीसी सदस्य अर्जुन श्रेष्ठले आफूहरु कांग्रेस प्यानलबाट जितेकाले त्यसैअनुसारको व्यवहार गर्न नेतृत्वलाई दबाब दिए । उनी स्वीडेनबाट आईसीसीमा प्रतिनिधित्व गर्छन् ।
    पटक–पटक अध्यक्षले रुलिङ गरे पनि बैठकमा अन्य व्यक्तिले समेत पार्टीगत अभिव्यक्ति दिएका थिए । युरोप संयोजक नारायण आचार्यले पनि आफू कांग्रेसबाट एनआरएनएमा प्रतिनिधित्व गरेको भन्दै एकलौटी निर्णय नगर्न नेतृत्वलाई दबाब दिए । उनले आफूले भनेअनुसार केन्द्रीय सदस्य चयन नभएकोमा आपति जनाए । उनले लामो समयदेखि एनआरएनएमा सक्रिय भएका एकराज गिरीलाई सदस्यबाट हटाउन माग गरे । बैठकमा श्रेष्ठ र आचार्य अमर्यादित तरिकाले प्रस्तुत भएका एक पदाधिकारीले बताए । त्यस्तै, अमेरिकाका क्षेत्रीय संयोजक राजन त्रिपाठी पनि बैठकमा अमर्यादित तरिकाले प्रस्तुत भएका थिए । उनले बैठकमै अश्लील शब्द प्रयोग गरेका थिए । उनले महिलालाई अपमान गर्ने गरी महिला उपाध्यक्ष रविना थापा र आईसीसी महिला संयोजक भुमा सुब्बालाई फतौरी आइमाई भनेका थिए ।
    महिला सदस्यलाई बैठकमै फतौरी भनेका त्रिपाठीलाई पदाधिकारीले माफी माग्न लगाए भने अमेरिकाबाट प्रतिनिधित्व गरेका आईसीसी सदस्य शंकर खड्काले त्रिपाठीलाई कारबाही गर्न माग गरे । एनआरएनएको आईसीसी बैठकमा अभद्र र आपत्तिजनक शब्दको प्रयोग भएपछि एनआरएनएका अध्यक्ष कुमार पन्तले आगामी दिनमा बैठकमा सहभागी नै नगराउने चेतावनी जारी गरे । उनले आगामी दिनमा सभ्य तरिकाले बैठकमा प्रस्तुत हुन आग्रह गरे । बैठक सञ्चालन गरेका महासचिव डा. हेमराज शर्माले नियन्त्रण नगर्दा यस्तो अवस्था आएको एक पदाधिकारीले जानकारी दिए । अध्यक्षको मन्तव्यपछि त्रिपाठीले गल्ती भएको भन्दै आगामी दिनमा नदोहो¥याउने प्रतिबद्धता जनाए ।
    एनआरएनएमा राजनीतिक विवाद निवर्तमान अध्यक्ष भट्ट नेतृत्वको अघिल्लो कार्यकालबाट सुरु भएको हो । अघिल्लो कार्यकालमा उपाध्यक्ष रहेका कुल आचार्यले नेपाली कांग्रेस र महासचिव रहेका वर्तमान उपाध्यक्ष डा. बद्री केसीले नेकपा प्रतिनिधिका रुपमा बैठकमा प्रस्तुत भएपछि राजनीति विवादले उग्ररुप लिएको थियो । अध्यक्षमा निर्वाचित भट्टले सदस्य मनोनित गर्दा संरक्षक र प्रमुख संरक्षकको जिम्मेवारी दिँदा तथा सल्लाहकार चयन गर्दा एकपक्षीय भएको भन्दै आचार्यले आपत्ति जनाएका थिए । त्यसपछिका बैठक राजनीति विवादमा केन्द्रित भएका थिए । अहिले पनि नयाँ कार्यसमिति आएसँगै विवाद सुरु भएको छ । आगामी बैठक स्न २०२० को दोस्रो हप्तामा नेपालमा बस्ने तयारी भएको एनआरएनएले जनाएको छ ।

  • सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : नेपाली भूमि फिर्ता गर्न अदालतको आदेश चाहिँदैन

    सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : नेपाली भूमि फिर्ता गर्न अदालतको आदेश चाहिँदैन

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको भूमि फिर्ता गर्न अदालतको आदेश आवश्यक नरहेको बताएका छन् ।

    महाकाली नदी पूर्वमा पर्ने लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालकै भूभाग भएको भन्दै त्यसका लागि सर्वोच्चको आदेश लिइरहनु नपर्ने उल्लेख गरेका हुन् ।

    भारतले मिचेको नेपाली भूमि फिर्ता गर्नका लागि कूटनीतिक पहल भइरहेको जवाफ उनले सर्वोच्चलाई दिएका छन् ।

    सर्वोच्चमा परेको रीटमा सर्वोच्चले प्रधानमन्त्रीको जवाफ मागेको थियो । प्रधानमन्त्रीले सर्वोच्चमा लिखित जवाफ पठाउँदै उक्त तर्क दिएका हुन् ।

    नेपाली भूमि लिम्पियाधुरा सहित ठूलो भूमिको अंश नेपालको नक्सामा नसमेटिएको भन्दै उक्त नक्सा बदर गर्न माग गर्दै रीट परेको थियो ।

    रिटमा अहिलेको नक्सा खारेज गरी लिम्पियाधुरालाई पनि समावेश गरिएको नक्सा बनाउन माग गरिएको छ ।

    प्रधानमन्त्रीले यो विषय कूटनीतिक पहलबाट समाधान गर्नुपर्ने भएकाले अदालतको आदेशको आवश्यकता नपर्ने उल्लेख गरेका हुन् ।

    भारतले २ नोभेम्बरमा नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेपछि नेपालमा यसले विवादको चर्को रुप लिएको हो ।

  • नेकपा र राजपाबीच अप्रत्यासित सहमति, राष्ट्रियसभा निर्वाचनमा तालमेल

    नेकपा र राजपाबीच अप्रत्यासित सहमति, राष्ट्रियसभा निर्वाचनमा तालमेल

    काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)बीच सहमति भएको छ ।

    राष्ट्रियसभा निर्वाचनमा तालमेल गर्नेसहित दुई बुँदे सहमतिमा बुधबार हस्ताक्षर भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार दुबै दलका शीर्ष नेताबीच वार्तामा सहमति जुटेको हो ।

    सहमति अनुसार राष्ट्रियसभामा प्रदेश २ तर्फका सीट दुबै दलले बाँड्ने भएका छन् । राष्ट्रियसभामा प्रदेश २ मा ८ मध्ये चार वटा खाली हुँदैछन् ।

    रिक्त पदमा ९ माघमा निर्वाचन तोकिएको छ । खाली सीटमध्ये दुुई दुई सिट दुई दलले बाँडेर लिने भएका छन् । राजपाले अन्य पुरुष र अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक समूहको सिट लिनेछ ।

    नेकपाले महिला र दलित पुरुषको सीट लिने सहमति बनेको छ । यससँगै दुई दलबीच राष्ट्रिय राजनीतिका विषयमा नियमित छलफल गर्ने र सहकार्य गर्ने सहमति भएको छ ।

    सहमतिपत्रमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र राजपा अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले हस्ताक्षर गरी सार्वजनिक गरेका छन् ।

    यी दुई दलको सहमति भने धेरैका लागि सरप्राइज बनेको छ । किनकी मधेषबादी दल र नेकपाबीच सम्बन्ध चिसिएको आंशका थियो ।

  • अर्घाखाँची बस दूर्घटनाको कारण तीव्र गति

    अर्घाखाँची बस दूर्घटनाको कारण तीव्र गति

    अर्घाखाँची । अर्घाखाँचीमा ११ मंसिरमा भएको बस दूर्घटनाको कारण तीव्रगति भएको छानविन समितिले बताएको छ ।

    १९ जनाको ज्यान जाने गरी अर्घाखाँचीको नरपानीमा बस दुर्घटना भएपछि स्थानीय तहमा छानबिन समिति गठन भएको थियो ।

    अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कबाट रुपन्देही आउँदै गरेको लु२ख २१४८ नंको बस सन्धिखर्क नगरपालिका–६ सल्लेरीमा दुर्घटनामा परेको थियो ।

    दूर्घटनामा १९ जनाले ज्यान गुमाउनु परेको थियो । दुर्घटनापछि जिल्ला प्रशासन कायार्लय अर्घाखाँचीले सहायक प्रमुख जिल्ला अधिकारी विष्णुराज बेल्बासे संयोजकत्वमा नौ सदस्यीय छानबिन समिति गठन भएको थियो ।

    घटनास्थलको स्केच, घटनास्थलको प्रकृति मुचुल्का, गाडीको मेकानिकल जाँच प्रतिवेदन, चालकले चिया नास्ता खाएको होटल साहुको बयानलगायत प्रमाणका आधारमा समितिले प्रतिवेदन तयार पारेको छ ।

    स्थानीय प्रत्यक्षदर्शीको वयानलगायतले समेत बस तीव्र गतिमा रहेको र चालकले नियन्त्रण गर्न नसक्दा दूर्घटनामा परेको निष्कर्ष निकालेको छ ।

    पछिल्लो समय सडक दूर्घटनामा डरलाग्दो रुप लिएको छ । पछिल्लो ५ महिनामा देशभर भएका सडक दूर्घटनामा परी १ हजार भन्दा बढीले ज्यान गुमाइसकेका छन् ।

  • काठमाडौंमा ३.७ डिग्री तापक्रम, सिजनकै चिसो दिन

    काठमाडौंमा ३.७ डिग्री तापक्रम, सिजनकै चिसो दिन

    काठमाडौं । काठमाडौं उपत्यकामा बुधबार यस सिजनकै चिसो दिन मापन भएको छ ।

    न्यूनतम तापक्रम ३.७ डिग्री सेल्सियस मापन भएसँगै यो दिन अहिलेसम्मकै चिसो दिन बनेको हो । काठमाडौंमा झै चिसो बढ्ने क्रम जारी रहेको छ । मौसक राम्ररी खुलिसकेको छैन ।

    आकासमा बादल यथावत छ । तर, तापक्रममा भने निरन्तर घटी आइरहेको छ । काठमाडौंसहित तराई–मधेस र हिमाली भेगको चिसो बढिसकेको छ ।

    तराईमा भने हुस्सुले जनजीवन प्रभावित हुने गर्छ । पश्चिमी वायुको प्रभावले अघिल्लो साता वर्षा भएको थियो । सोही प्रभावले चिसो बढेको हो ।

  • भारतीय राजदूत पुरीको कार्यकाल सकियो, अब को ?

    भारतीय राजदूत पुरीको कार्यकाल सकियो, अब को ?

    काठमाडौं । कठिन परिस्थितिमा पनि सफल कार्यकाल पुरा गरी नेपालका लागि भारतीय राजदूत मञ्जीव सिंह पुरी स्वदेश फर्कने भएका छन् ।

    भारतीय दूतावासले मंगलबार उनको विदाई कार्यक्रम आयोजना गर्यो । नेपालमा भारतविरोधी स्वर चर्को भएका बेला उनी राजदूतका रुपमा नेपाल आएका थिए ।

    तर, उनी विवादित भएनन् । जहिले सन्तुलित अभिव्यक्ति दिए अनी शान्तसँग काम गरे । नेपालमा भारतीय राजदूतहरुको इतिहास राम्रो छैन ।

    धेरैजसो राजदूत आलोचित बनेर फर्किएका छन् । कतिपयले त अपमान नै सहनु परेको छ ।

    राजदूत पुरीले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग आइतबार बिदाई भेट गरिसकेका छन् । भारतले नयाँ राजदूतका सम्बन्धमा भने कुनै निर्णय गरिसकेको छैन ।

  • पाकिस्तानका पूर्वराष्ट्रपति मुशर्रफमाथि मृत्युदण्डको फैसला

    पाकिस्तानका पूर्वराष्ट्रपति मुशर्रफमाथि मृत्युदण्डको फैसला

    इस्लामावाद । पाकिस्तानका पूर्वराष्ट्रपति जनरल परवेज मुशर्रफ माथि अदालतले मृत्युदण्डको सजाय सुनाएको छ । उनलाई लाहौर हाइकोर्टले देशद्रोहको मुद्दामा मृत्युदण्डको सजाय सुनाएको हो ।

    हाइकोर्टका तीन न्यायाधीशको बेञ्चले सैनिक विद्रोहमार्फत राष्ट्रपति बनेका मुशर्रफमाथि मृत्युदण्डको सजाय सुनाएको हो । सजाय सुनाइरहँदा मुशर्रफ भने दुबईमा एक अस्पतालमा उपचारार्थ भर्ना भएका छन् ।

    उनले आफूमाथि लागेको संविधानको अवहेलना र देशद्रोहको मुद्दा निराधार भएको दावि गर्दै आएका छन् ।

    आफू देश सेवामा समर्पित भएको समेत उनको दावि छ । इस्लामाबादको विशेष न्यायालयले २०१४ मा देशद्रोहको एक मुद्दामा पूर्वराष्ट्रपति मुशर्रफलाई अभियुक्त बनाएको थियो ।

    २०१३ मा पाकिस्तानी मुस्लिम लिग (नवाज)ले सरकारको बागडोर सम्हालेपछि उनीमाथि मुद्दा शुरु भएको हो । उनी मुद्दा शुरु भएपछि एक पटक मात्र अदालतमा उपस्थित भएका छन् ।

    त्यसबाहेक उनी विदेशमै रहेका छन् । उनले १९९९ मा सैन्य विद्रोहमार्फत पाकिस्तानको शासन सत्ता हात पारेका थिए । २००१ मा उनी सैन्य प्रमुख रहेकै समयमा राष्ट्रपति घोषित भए ।

    २००२ मा जनमत मार्फत थप पाँच वर्षका लागि राष्ट्रपति बनेका थिए । २००७ मा राष्ट्रपति निर्वाचन भयो, त्यसमा पनि उनी विजयी भए ।

    यस चुनावविरुद्ध सर्वोच्च अदालतमा मुद्दा परेपछि उनले संकटकाल घोषणा गरेका थिए ।

    त्यसपछि मुख्य न्यायाधीशलाई हटाएर नयाँ मुख्य न्यायाधीश नियुक्त गरी आफ्नो पदलाई वैधानिकता दिएका थिए । २००८ मा उनी पदमुक्त बनेका हुन् ।

  • विद्या भट्टराईको शपथ ग्रहण आज

    विद्या भट्टराईको शपथ ग्रहण आज

    काठमाडौं । प्रतिनिधिसभा सदस्यमा नवनिर्वाचित सांसद विद्या भट्टराईले आज पद तथा गोपनियताको शपथ ग्रहण गर्ने भएकी छिन् ।

    संसद सचिवालयका अनुसार उपसभामुख शिवमाया तुम्बाहाम्फेले मंगलबार अपरान्ह शपथ ग्रहण गराउने कार्यक्रम रहेको छ ।

    उनी कास्की क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद हुन् । स्वं रवीन्द्र अधिकारी की पत्नी विद्याको राजनीतिमा पुनरागमन भएको छ ।

  • चैत ६ बाट एसईई परीक्षा, तालीका सार्वजनिक

    चैत ६ बाट एसईई परीक्षा, तालीका सार्वजनिक

    काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी ६ चैतबाट संचालन हुने भएको छ । २०७६ सालको एसईई परीक्षाको तालिका राष्ट्रिय परीक्षा बोर्डले मंगलबार सार्वजनिक गरेको हो ।

    एसइईको नियमित, ग्रेडवृद्धि तथा प्राविधिकको परीक्षा तालिका सार्वजनिक गर्दै आगामी चैत ६ देखि १७ गतेसम्म परीक्षा सञ्चालनको जानकारी गराएको छ ।

    तालीका अनुसार ६ गते अनिवार्य अंग्रेजी, ७ गते अनिवार्य नेपाली, ९ गते अनिवार्य गणित, १० गते विज्ञान र ११ गते अनिवार्य सामाजिक अध्ययनको परीक्षा राखिएको छ ।

    चैत १२ गते अनिवार्य स्वास्थ्य, जनसंख्या तथा वातावरण शिक्षा, १३ गते ऐच्छिक गणित र परीक्षाको अन्तिम दिन १७ गते विभिन्न प्राविधिक विषयको परीक्षा निर्धारण गरिएको छ ।

    परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने भएको छ । परीक्षामा यसअघि कम ग्रेड ल्याएकासमेत सहभागी हुनसक्ने बोर्डको सूचनामा उल्लेख गरिएको छ ।

    कुनै आकस्मिक बिदा पर्न गएपनि परिक्षा नियन्त्रक कार्यालयको पूर्वसूचनाबीना परीक्षा स्थगित नहुने बोर्डले उल्लेख गरेको छ ।

  • बढ्दो सडक दूर्घटनामा प्रधानमन्त्रीको चासो, सरोकारवाला बोलाएर दिए निर्देशन

    बढ्दो सडक दूर्घटनामा प्रधानमन्त्रीको चासो, सरोकारवाला बोलाएर दिए निर्देशन

    काठमाडौं । नेपालमा सडक दूर्घटनामा अधिक वृद्धि भएपछि त्यसको जनस्तरबाट व्यापक आलोचना भएको छ ।

    खासगरी विगतमा सडक दूर्घटना हुँदा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारविरुद्ध निकै आक्रामक अभिव्यक्ति दिने गर्थे ।

    तर, पछिल्लो दिनमा उनकै नेतृत्वको सरकार भएपनि सडक दूर्घटनामा अकालमा मानिसले ज्यान गुमाउनु पर्ने बाध्यता झन बढ्दो छ ।

    यसै परिस्थितिमा प्रधानमन्त्रीले गृह र भौतिक पूर्वाधार तथा यातायात मन्त्री र मन्त्रालय मातहतका निकायका प्रमुखहरुसँग सोमबार सामुहिक छलफल गरेका छन् ।

    हरेक दिनको दूर्घटनाको खबरले आफू विच्छिप्द भएको भन्दै उनले सडक दुर्घटना न्यूनिकरण कार्ययोजना बनाई तत्काल कार्यान्वयनमा ल्याउन निर्देशन दिए ।

    गृहमन्त्री रामबहादुर थापा, भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्वाङ, गृहसचिव, भौतिक पूर्वाधार तथा यातायात सचिव, प्रहरी प्रमुख, ट्राफिक प्रहरी प्रमुख, सडक विभाग र यातायात व्यवस्था विभागका महानिर्देशकसहित उच्च अधिकारीसँग प्रधानमन्त्रीले भेट्दै उक्त निर्देशन दिएका हुन् ।

    सडक दुर्घटनामा हुने मानवीय क्षतिले आफूलाई निद्रासमेत नपर्ने भन्दै उनले सडक दूर्घटना तत्काल घटाउने उपाय खोज्न सरोकारवालालाई निर्देशन दिएका हुन् ।

    सिन्धुपाल्चोकको सडक दुर्घटनामा आमाको निधन भएर दूधे बालक बेवारिस भएको खबर पढेको सन्दर्भ कोट्याउँदै प्रधानमन्त्रीले यस्ता खबरले खाना नरुच्ने र निद्रा नपर्ने उल्लेख गरे ।

    उनी त्यस सन्दर्भका दौरान भावुक बनेका थिए । दुर्घटनाले एक साथ सक्षम जनशक्तिको क्षति हुने र वृद्धवृद्धा तथा बालबालिका बेसहारा हुने भन्दै दूर्घटना रोक्ने कार्यायोजना तत्काल ल्यान निर्देशन दिए ।

    सार्वजनिक यातायातका चालकलाई तालिम, लाइसेन्स पुनर्परीक्षण, सडक पूर्वाधार प्रयोगको अनुमतिमा गम्भीर परीक्षणको आवश्यकता रहेको भन्दै प्रधानमन्त्रीले त्यसतर्फ गम्भीर भएर काम गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् ।

    हवाई दुर्घटनामा जस्तै हरेक सडक दुर्घटनाका कारण छानबिन गरी प्रतिवेदन तयार गर्न र त्यसको प्रभावकारी कार्यान्वयनको परिपाटी बसाल्नसमेत उनले निर्देशन दिए ।

  • पौडेलले छाडेनन् अडान, कांग्रेस कार्यसमिति बैठक स्थगित

    पौडेलले छाडेनन् अडान, कांग्रेस कार्यसमिति बैठक स्थगित

    काठमाडौं । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले आफ्नो अडान यथावत राख्दै अनुपस्थित भएपछि नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ ।

    बैठक सोमबारका लागि डाकिएको थियो । तर, बैठक बस्दै नबसी स्थगित गरियो । बैठक बस्न संस्थापन पक्षका नेता भने पार्टी कार्यालय पुगेका थिए ।

    पौडेललाई फकाउन देउवा आफै शनिबार पौडेल निवास पुगेका थिए । तर, सहमति हुन सकेन ।

    सोमबार पनि उपसभापति विमलेन्द्र निधिले पौडेल समूहका नेतासँग भेटवार्ता गरेका थिए । तर, सहमति भने भएन ।

    पौडेल समूहले १४ औं महाधिवेशनको कार्यतालिका नल्याएसम्म बैठकमा नबस्ने अडान लिएको छ । पौडेलको अडानले देउवा भने समस्यामा परेका छन् ।

  • मौसममा क्रमिक सुधार

    मौसममा क्रमिक सुधार

    काठमाडौं । पछिल्लो एक साता बिग्रिएको मौसममा अब क्रमशः सुधार आउने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार वर्षा र हिमपात गराउने गरी आएको पश्चिमी वायुको प्रभाव अब क्रमशः नेपालबाट हट्ने क्रममा रहेको छ ।

    सोमबारदेखि देशभर नै मौसम सफा हुन थाल्ने भएको छ । पश्चिमबाट प्रवेश गरेको यस्तो वायु पूर्वबाट नेपाल बाहिरन्छ ।

    पश्चिमी वायुबाट विकसित न्यूनचापीय प्रणालीको प्रभावका कारण बुधबारयता देशभर मौसम अदल बदल भएको थियो ।

    जसले गर्दा अधिकांश स्थानमा वर्षा भएको थियो भने उच्च पहाडी र हिमाली भेगमा हिमपातले जनजीवन प्रभावित भएको थियो ।

    सोमबारबाट अधिकांश स्थानमा घाम लागेपनि चिसोको प्रभाव भने जारी नै रहने छ । तर, अब वर्षाको सम्भावना भने तत्कालका लागि टरेको महाशाखाको भनाई छ ।

  • जडिबुटी खोज्न गएका एक दर्जन मानिस वेपत्ता

    जडिबुटी खोज्न गएका एक दर्जन मानिस वेपत्ता

    जुम्ला । जुम्लामा जडिबुटी खोज्न हिँडेका १२ जना मानिस हराएका छन् । तिला गाउँपालिका–९, स्थित ढिपुगाउँका १२ जना मानिस जडिबुटी खोज्न शेरा फूलबारी पाटन गएका थिए ।

    विगत ४ दिनेदेखि उनीहरु गाउँलेको सम्पर्कमा नआएको गाउँपालिकाले जनाएको छ । ढिपुगाउँबाट पाटन पुग्न नै पैदल यात्रामार्फत दुईदिन लाग्छ।

    पाटनमा अत्यधिक हिउँ परेका कारण उनीहरु सुरक्षित स्थानमा बसेको या संकटमा फसेको बारे स्पष्ट हुन सकेको छैन ।

    यस मौसममा पाटनमा ुसेतक चिनी, भुल्ते, धुपी र पदमचालजस्ता पाइन्छ । राम्रो भाउमा बिक्रि हुने भएकाले गाउँलेहरु जडिबुटी संकलनमा जाने गरेका थिए ।

    बेपत्ता हुनेमा ढिपु गाउँका धनबहादुर बोहोरा, नरवीर बोहोरा, तुल बोहोरा, ननिलाल रावत, सूर्य रावत, छविराज बोहोरा, जङ्ग रावत, सुमबहादुर बोहोरा, मनमाया बोहोरा, रेश्मा बोहोरा, लाउरी बोहोरा र कल्पना बोहोरा रहेका छन्।

    एक जनाको भने मृत्यु भइसकेको प्रहरीले पुष्टी गरेको छ । जुम्ला प्रहरीका अनुसार पाटनबाट फर्किएका २६ वर्षीय बीनबहादुर बोहोराको मृत्यु भएको हो ।

    उनको चिसोले चिसोले कठ्याङ्ग्रिएर मृत्यु भएको हो । अन्य चार जना भने सकुसल घर फर्किएका छन् ।

  • प्रदेश ५ को नाम लुम्बिनी, राजधानी कहाँ ?

    प्रदेश ५ को नाम लुम्बिनी, राजधानी कहाँ ?

    काठमाडौं । प्रदेश गठन भई संचालनमा आएको दुई वर्ष पुगिसकेको छ । तर, नेपालका महत्वपूर्ण प्रदेशहरुले नै अझै राजधानी र नामको टुंगो लगाएका छैनन् ।

    यता, प्रदेश ५ को स्थायी राजधानी र नाम सिफारिस गर्न गठन गरेको समितिले प्रदेशको नाम ‘लुम्बिनी’ राख्न प्रस्ताव गरेको छ ।

    तर, स्थायी राजधानीमा समेत समिति समेत अन्यौलमा रहेको छ । समितिले रुपन्देहीको सैनामैना (बुटवल पश्चिम), कपिलवस्तुको बुद्धभूमि वा दाङको भालुबाङ (लमही)लाई स्थायी राजधानी बनाउन सकिने प्रस्ताव गरेको हो ।

    यसले प्रदेशमा द्धन्द्ध निम्तने खतरा अझ बढेको छ । नाममा भने त्यति धेरै असहमति छैन । किनकी लुम्बिनीअन्तरर्राष्ट्रिय ब्राण्ड समेत हो ।

    जसले गर्दा यस विषयमा कसैलाई आपत्ति छैन । तर, राजधानीका विषयमा भने यहाँ लामो समय देखि विवाद छ ।

    खासगरी ठूला र प्रभावशाली नेताहरुबीच नै प्रदेश राजधानीको खिचातानी जारी रहेको छ ।

    मूख्यमन्त्री शंकर पोखरेलको इच्चा दाङ र नेकपाका महासचिव विष्णु पौडेलको इच्छा बुटवल हुँदा यहाँ अझ विवाद बढ्ने निश्चित रहेको छ ।

    प्रदेश ५ को अस्थायी राजधानी भने रुपन्देहीको बुटवल तोकिएर काम भइरहेको छ । विशेष समितिले बनाएको प्रतिवेदन पुसको दोस्रो साता शुरु हुने प्रदेश सभाको बैठकमा प्रस्तुत हुनेछ ।

    त्यहाँबाट राजधानी र नामाकरण संसदको दुई तिहाइ बहुमतले निर्णय गर्ने संवैधानिक व्यवस्था अनुसार निर्णय हुनेछ ।

  • सिटी अफ अर्भिङ र गोकर्णेश्वर नगरपालिकाका बीच भगिनी सम्बन्ध स्थापनाको पहल :  सिटी अफ अर्भिङका मेयर लगायतले नेपाल भ्रमण गर्ने

    सिटी अफ अर्भिङ र गोकर्णेश्वर नगरपालिकाका बीच भगिनी सम्बन्ध स्थापनाको पहल : सिटी अफ अर्भिङका मेयर लगायतले नेपाल भ्रमण गर्ने

    टेक्सस

    अमेरिकाको टेक्सस राज्यको सिटी अफ अर्भिङ र काठमाडौंको गोकर्णेश्वर नगरपालिकाका बीचमा भगिनी सम्बन्ध स्थापनाका लागि पहल अघि बढाईएको छ ।

    नेपाली समुदायको बाक्लो बसोबास रहेको सिटी अफ अर्भिङसँग भगिनी सम्बन्ध स्थापनाका लागि गोकर्णेश्वर नगरपालिकाको एक प्रतिनिधि मण्डलले सिटी अफ अर्भिङमा मेयर लगायत पदाधिकारीसँग भेटघाट समेत गरेको छ ।

    टेक्ससको डलासमा रहेको नेपलिज अमेरिकन च्याम्बर अफ कमर्शको संयोजन र सिटी अफ अर्भिंग तथा अर्भिंङ लस कोलिनस च्याम्बर अफ कमर्शको निमन्त्रणमा अमेरिकाको भ्रमणमा आएको गोकर्णेश्वर नगरपालिका, काठमाडौं नेपालको एक प्रतिनिधिमण्डललाई सिटी अफ अर्भिंगले स्वागत तथा सम्मान गरेको थियो ।

    टेक्ससको सिटी अफ अर्भिंग र नेपालको गोकर्णेश्वर नगरपालिका बीच ‘सिस्टर सिटी’ सम्बन्ध स्थापनाका लागी नेपलिज–अमेरिकन च्याम्बर अफ कमर्श, डालस, टेक्ससले पहल सुरु गरेपछि पहिलो चरणमा गोकर्णेश्वर नगरपालिकाको तिन सदस्यीय प्रतिनिधिमण्डल १० दिने भ्रमणका लागि अमेरिका आएको थियो ।

    भ्रमणका क्रममा प्रतिनिधिमण्डलले अर्भिंङ सहरस्थित विभिन्न कार्यालयको अवलोकनका साथसाथै फोहर मैला व्यवस्थापन, प्रहरी सुरक्षा, खानेपानीको उचित व्यवस्थापन तथा वितरण तथा दमकल र अन्य आपतकालीन सुविधाका बारेमा जानकारी हासिल गरेको थियो ।

    भ्रमणको अन्तिम दिन पारेर स्थानीय सभाकक्षमा आयोजना गरिएको उक्त परिचय तथा सम्मान कार्यक्रममा आयोजक तथा सहभागीहरूलाई धन्यवाद ज्ञापन गर्दै गोकर्णेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्नि अधिकारीले सिटी अफ अर्भिंङको भ्रमणका क्रममा धेरैं विषयवस्तुमा सिक्ने मौका मिलेको बताए ।

    सिटी अफ अर्भिंङका मेयर रिक स्टोफरले प्रतिनिधि मण्डललाई स्वागत गर्दै गोकर्णेश्वर नगरपालिकासँग थप सम्बन्ध बिस्तारका लागि आफू इच्छुक रहेको बताउनुभयो । सो समारोहमा मेयर लगायत ८ काउन्सिल मेम्बरहरू, सिटी अफ अर्भिंगका प्रहरी प्रमुख, फायर प्रमुख र सिटी अफ अर्भिंङका प्रबन्धकहरू, अर्भिंङ लस कोलिनस च्याम्बर अफ कमर्सका प्रतिनिधिहरू, नेपलिज–अमेरिकन च्याम्बर अफ कमर्सका प्रतिनिधिहरू र स्थानीय बासिन्दाहरूको उल्लेख्य सहभागिता थियो ।

    गोकर्णेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्नि अधिकारीको नेतृत्वमा आएको टोलीमा नेपालको गोकर्णेश्वर नगरपालिका वार्ड नम्बर ५ का प्रमुख नारायण सुबेदी र वार्ड नम्बर ६ का प्रमुख रमेश अर्याल रहेका थिए ।

    यसैबीच, भ्रमणमा रहेको प्रतिनिधि मण्डलले सिटी अफ अर्भिंङका मेयर रिक स्टोफरलगायत सम्पूर्ण काउन्सिल मेम्बरहरूलाई २०२० मा नेपाल भ्रमणको निम्ति औपचारिक निमन्त्रणा समेत गरेको छ । गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेद्वारा प्रेषित औपचारिक पत्र सिटी अफ अर्भिंगका मेयर रिक स्टोफरलाई प्रदान गरिएको थियो ।

    सोही अवसर पारेर मेयर लगायत सम्पूर्ण काउन्सिल मेम्बरहरू तथा सहरका प्रमुख अधिकारीहरूलाई ’भ्रमण वर्ष २०२०’ का बारेमा जानकारी गराउँदै नेपाली टोपी तथा अन्य उपहारहरु समेत हस्तान्तरण गरिएको थियो । मेयर स्टोफरका लागी भने बुद्धको एक विशेष मूर्ति गोकर्णेश्वर नगरपालिका वार्ड नम्बर ५ का प्रमुख नारायण सुबेदीले उपहार स्वरूप प्रदान गर्नुभएको थियो ।

    गोकर्णेश्वर नगरपालिका र सिटी अफ अर्भिंग बिच ’सिस्टर सिटी’ को सम्बन्ध स्थापनार्थ सुरुवात गरिएको यो भेटघाट पश्चात् सिटी अफ अर्भिंगको टोली सन् २०२० को समरमा नेपाल जाने समेत योजना रहेको छ ।

  • एक वर्षपछि बस्यो नेकपा स्थायी कमिटि बैठक

    एक वर्षपछि बस्यो नेकपा स्थायी कमिटि बैठक

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठक शुरु भएको छ । संयोगवशः अघिल्लो वर्ष पनि २९ मंसिरमै स्थायी समिति बैठक बसेको थियो । त्यसपछि एक वर्षसम्म बैठक बसेन् ।

    सामान्यतया हरेक तीन महिनामा बैठक बस्नुपर्छ । बैठकमा राजनीतिक प्रतिवेदन पेश गरेका पार्टी अध्यक्ष पुष्पकमल दाहालले गतवर्ष बैठक बसेकै दिन बैठक जुध्नु संयोग भएको बताएका थिए ।

    एक वर्षसम्म बैठक नबस्दा सरकारले गरेका राम्रा कामको प्रचार हुन नसकेको धारणा प्रचण्डले राखेका थिए ।

    यसमा गल्ती भएको स्वीकार गर्दै आगामी दिनमा निर्धारित समयमै स्थायी समिति बैठक बस्ने उनको प्रतिवद्धता थियो ।

    बैठकमा भीम रावललगायत नेताहरुले बैठक बस्न ढिला गर्नुको कारण माग गरेका थिए । बैठकमा महासचिव विष्णु पौडेलले पार्टीको विधान संशोधन प्रस्ताव पेश गरेका थिए ।

    पार्टीको विधानमा उपाध्यक्ष राख्ने गरी विधान तयार पारिएको छ। खासगरी बामदेव गौतमलाई उपाध्यक्षमा ल्याउने तयारी भएको छ ।

    सचिवालय बैठकले गौतमलाई उपाध्यक्ष बनाउने प्रस्ताव गरेको थियो। सचिवालयको प्रस्तावलाई स्थायी समिति बैठकले अनुमोदन गरेमा उनी उपाध्यक्ष् हुने छन् ।

    बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली भने उपस्थित भएनन् । स्थायी समिति बैठक अगाडी बालुवाटारमा सचिवालय बैठक बसेको थियो।

    त्यसमा भने प्रधानमन्त्री उपस्थित भएका थिए । प्रधानमन्त्री अहिले अस्वस्थताका कारण आराम गरिरहेका छन् ।

    स्थायी समिति बैठकमा चुनावी समिक्षा समेत भएको छ । नेताहरुले अघिल्लो चुनावमा जितेका क्षेत्र गुमाउनु पार्टीका लागि ठूलो क्षति भएको उल्लेख गरेका थिए ।