Category: समाचार

  • सिन्धुपाल्चोक दूर्घटना : १५ को ज्यान गयो, चालक फरार

    सिन्धुपाल्चोक दूर्घटना : १५ को ज्यान गयो, चालक फरार

    सिन्धुपाल्चोक । सिन्धुपाल्चोस्थित सुनकोशी गाउँपालिका–७ छ किलो भन्ने स्थानमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १५ पुगेको छ ।

    दोलखा कालिन्चोक मन्दिर दर्शन गरी काठमाडौं फर्किरहेको यात्रुबाहक बस लामोसाँघु(जिरी सडक खण्डको छ किलोमा दूर्घटनाग्रस्त भएको थियो ।

    सडकबाट ५ सय मिटर तल खसेको बसमा १५ जनाको मृत्यु भएको र १९ जना घाइतेको विभिन्न अस्पतालमा उपचार जारी रहेको प्रहरीले उल्लेख गरेको छ ।

    बा ४ ख ४४६८ नम्बरको रिजर्भ बसका चालक भने फरार रहेका छन् । घाइते यात्रुहरुका अनुसार बस पल्टन थालेपछि चालक झ्यालबाट हाम फालेका थिए ।

    प्रहरीका अनुसार उनको खोजी कार्य जारी रहेको छ । दुर्घटनामा ९ महिला, ३ पुरुष, एक बालिका र दुई जना बालकको ज्यान गएको छ ।

    प्रहरीका अनुसार ज्यान गुमाउनेमा सिन्धुपाल्चोक जुगल गाउँपालिका ७ का २८ वर्षका सुकबहादुर तामाङ, ७ वर्षकी सविना तामाङ र १५ वर्षकी रोशनी तामाङ छन ।

    २८ वर्षकी मञ्जु तामाङ, ३० वर्षकी रेशमा तामाङ, सिन्धुपाल्चोक लिसंखुपाखर गाउँपालिका ४ कि ५५ वर्षकी गंगामाया लामा, बलेफी गाउँपालिका ७ कि ३५ वर्षकी फूलमाया तामाङको समेत दूर्घटनामा ज्यान गएको छ ।

    दोलखाको सैलुङ गाउँपालिका ६ का १० वर्षका रजित बस्नेत र ३२ वर्षकी चिनु बस्नेतको पनि मृत्यु भएको छ ।

    भीमेश्वर नगरपालिका ९ की ४२ वर्षकी लक्ष्मी श्रेष्ठ, रामेछापको उमाकुण्ड गाउँपालिका ४ का २४ वर्षका महेश तामाङ, काभ्रेको बेथान गाउँपालिका ५ का ३६ वर्षका रामशरण खत्री र ३५ वर्षकी मैयाँ केसीको पनि ज्यान गएको छ ।

    दुई जनाको सनाखत हुन बाँकि छ । घाइतेमध्ये १४ जनाको काठमाडौंको ह्याम्स अस्पताल, २ जनाको काठमाडौं मेडिकल कलेज, ३ जनाको धुलिखेल अस्पताल र एक जनाको सिन्धुपाल्चोक खाडीचौरको सिन्धु सदावहार अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

  • कालिन्चोकबाट फर्किएको यात्रुबाहक बस दूर्घटना, कैयौ हताहत

    कालिन्चोकबाट फर्किएको यात्रुबाहक बस दूर्घटना, कैयौ हताहत

    सिन्धुपाल्चोक । दोलखाको कालिन्चोकबाट काठमाडौं आउदै गरेको बस सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका–७ , स्थित ६ किलोमा भन्ने स्थानमा दूर्घटनामा परेको छ ।

    बा ४ ख ४४६८ नम्बरको बस दुर्घटना परेको सिन्धुपाल्चोक प्रहरीले पुष्टी गरेको छ । दूर्घटनामा अहिलेसम्म ४ जनाको शव निकालिएको र कैयौं घाइते भएको प्रहरीले उल्लेख गरेको छ ।

    सडकबाट करीव ५ सय मिटर तल खसेका कारण कैयौं हताहती भएको हुन सक्ने बताइएको छ । क्षतिको यकिन विवरण आइसकेको छैन । अहिले प्रहरी र स्थानीयले दूर्घटनास्थलमा उद्दार गरिरहेका छन् ।

  • हिमपात र वर्षाले चिसो बढायो

    हिमपात र वर्षाले चिसो बढायो

    काठमाडौं । आइतबारसमेत देशका विभिन्न स्थानमा हिमपात र वर्षा जारी रहने भएको छ । खासगरी देशका उच्चपहाडी तथा हिमाली भेगमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले उल्लेख गरेको छ ।

    जसले गर्दा उच्च भेगको तापक्रम ह्वात्तै घट्नेछ । पश्चिमी भूभागमा अन्य स्थानको तुलनामा थोरै वर्षाको सम्भावना रहेको छ ।

    मध्य र पूर्वी पहाडी क्षेत्रको पहाडी इलाकामा पानी पर्ने छ । हिउँदमा आएको वर्षाले चिसो बढाउँछ ।

    आइतबार राती पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने र हिमाली क्षेत्रमा हिमपात हुने पूर्वानुमान महाशाखाले गरेको छ ।

    चिसो मौसममा पूर्वतयारीको काम गरी बच्न महाशाखाले सचेत समेत गराएको छ ।

  • नेकपाको स्थायी समिति बैठक आज, बामदेवलाई पार्टी उपाध्यक्ष बनाउने तयारी

    नेकपाको स्थायी समिति बैठक आज, बामदेवलाई पार्टी उपाध्यक्ष बनाउने तयारी

    काठमाडौं । सत्तारूढ नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक आज बस्दैछ ।

    खासगरी बामदेव गौतमलाई पार्टी उपाध्यक्ष बनाउने प्रस्ताव एजेण्डाका रुपमा अध्यक्षबाट बैठकमा प्रस्तुत हुने भएकाले यस बैठकलाई महत्वपूर्ण रुपमा लिइएको छ ।

    विधानअनुसार यस्तो बैठक हरेक तीन महिनामा बस्नुपर्छ । तर, अहिले पनि करीव १ वर्षपछि बस्न लागेको हो ।

    सचिवालयले एक वर्षको अवधिमा गरेको संगठनात्मक निर्णयलाई समेत स्थायी समिति बैठकले अनुमोदन गर्ने भएको छ ।

    राजनीतिक प्रतिवेदनअनुसार विधानको प्रस्तावना संशोधन गर्ने प्रस्ताव पारित गर्ने तयारी समेत रहेको नेकपा सचिवालयले जनाएको छ ।

    स्थायी समिति बैठक बस्नु अगाडी नै आइतबार सचिवालय बैठक समेत राखिएको छ ।

    सोही बैठकले स्थायी समिति बैठकमा लाने एजेन्डा तय गर्ने बताइएको छ ।

    २३ मंसिरको सचिवालय बैठकले २९ मंसिरमा स्थायी समिति बैठक राखेको हो ।

    नेकपा अध्यक्ष प्रचण्डले स्थायी समिति बैठकका तयार प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदनसमेत तयार पारिसकेका छन् ।

  • चोभारमा झाडी भित्र शव, पहिचान हुन बाँकि

    चोभारमा झाडी भित्र शव, पहिचान हुन बाँकि

    काठमाडौं । काठमाडौंको चोभारमा झाडि भित्र एक पुरुषको शव फेला परेको छ। प्रहरीका अनुसार शवको पहिचान भएको छैन ।

    करीव ६० वर्ष उमेरको लाग्ने एक पुरुषको शव फेला परेको हो । आत्महत्या थियो या हत्या भएको हो भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ ।

    शनिबार नै रुपन्देहीमा एक महिलाको हत्या भएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. १० कान्छीबजारकी ५५ वर्षिया कमलादेवी परियारको हत्या भएको हो ।

    उनको सोही स्थान बस्ने २७ वर्षीय विकास गुरुङले धारिलो हतियार प्रयोग गरी हत्या गरेको ईलाका प्रहरी कार्यालय बुटवलले जानकारी दिएको छ ।

    घाँस काटिरहेको समयमा उनीमाथि हतियार प्रहार भएको हो । प्रहरीले गुरुङलाई नियन्त्रणमा लिएको छ ।

  • रामचन्द्र पौडेललाई फकाउँदै शेरबहादुर देउवा

    रामचन्द्र पौडेललाई फकाउँदै शेरबहादुर देउवा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रिय समिति बैठक बहिष्कार गरेका वरिष्ठ नेता रामचन्द्र पौडेललाई फकाउन थालेका छन् ।

    सोही क्रममा देउवा शनिबार पौडेल निवास बोहराटार पुगेर वरिष्ठ नेता रामचन्द्र पौडेलसँग छलफल गरेका छन् । तर, उनको सो प्रयास सफल नभएको पौडेल स्रोतले जानकारी दिएको छ ।

    दुई दिनअघि बसेको केन्द्रीय समिति बैठक पौडेल समूहले वहिष्कार गरेको थियो । पौडेललाई सहमतिमा ल्याउन उपसभापति विमलेन्द्र निधिसहित देउवा शनिबार पौडेल निवास पुगेका हुन ।

    देउवाले विभाग गठन गर्न सहयोगको अपेक्षा गरेको पौडेलसमक्ष राखेका थिए । तर पौडेलले भने १४ औं महाधिवेशनको कार्यतालिका सार्वजनिक भए मात्र केन्द्रीय समिति बैठकमा उपस्थित हुने अडान राखेका छन् ।

    देउवा पौडेललाई फकाउन बोहराटार पुगेको घटनाले भने शनिबार दिनभर सामाजिक संजालमा चर्चा कमाएको छ ।

  • धनुषा विस्फोट : तीन जना पक्राउ

    धनुषा विस्फोट : तीन जना पक्राउ

    जनकपुर । धनुषाको क्षिरेश्वरनाथ ५ स्थित महेन्द्रनगरमा भएको बम विस्फोटमा संलग्न रहेको आरोपमा प्रहरीले तीन जना पक्राउ गरेको छ ।

    विस्फोटमा परी एक प्रहरी अधिकृतसहित तीन जनाको ज्यान गएको थियो । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार घटनामा संलग्न रहेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ ।

    प्रहरीका अनुसार घटनामा संलग्न भएको आरोपमा हंसपुर नगरपालिका वडा नम्बर २ की ललिता देवी महरा र सीतादेवी महरा तथा मिथिला बिहारी नगरपालिका १ भुतहीका रामशोभित धानुक पक्राउ परेका छन् ।

    उनीहरु विप्लव समूहका नेता भएको बताइएको छ । ५१ वर्षिय सीतादेवी विप्लव समूहका प्रदेश २ का संयोजक हुन् । ४१ वर्षीया ललिता केन्द्रीय सदस्य हुन् । रामशोभित कार्यकर्ता भएको प्रहरीले बताएको छ ।

    प्रहरीले घटनाको छानविन गर्न प्रहरी निरीक्षक उमाशंकर प्रसाद साहको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरेको छ ।

    महेन्द्रनगरस्थित राजेश साहको घरको गेटमा राखिएको बम पड्किँदा साह, उनका छोरा आनन्द र प्रहरी निरीक्षक अमिर दाहालको निधन भएको थियो ।

    विस्फोटमा राजेशका बावु भिखारी, छोरा प्रकाश, छोरी अञ्जली र प्रहरी जवान रिजनाथ महतो घाइते भएको प्रहरीले बताएको छ ।

  • सेनाका जवान चढेको बस दूर्घटना, १७ घाइते

    सेनाका जवान चढेको बस दूर्घटना, १७ घाइते

    नवलपरासी । पूर्वी नवलपरासीस्थित कावासोतीमा शनिबार राती भएको बस दुर्घटनामा १७ जना घाइते भएका छन् । दुई जनाको अवस्था गम्भीर रहेको छ ।

    सेनाका जवान चढेको बस दूर्घटनामा परेको नवलपरासी प्रहरीले जानकारी दिएको छ । बस सुर्खेतबाट काठमाडौं आइरहेको थियो ।

    नेपाली सेनामा भर्ना भएका नयाँ जवानहरु तालिमका लागि काठमाडौं आउने क्रममा बस दूर्घटनामा परेको हो ।

    गम्भीर घाइतको चितवन र अन्यको मध्यविन्दु जिल्ला अस्पताल तथा कालीगण्डकी अस्पतालमा उपचार जारी छ । ना ६ ख ४०४ नम्बरको बस दूर्घटनामा परेको हो ।

  • धनुषामा बम विस्फोट, एक प्रहरीसहित तीनको मृत्यु

    धनुषामा बम विस्फोट, एक प्रहरीसहित तीनको मृत्यु

    जनकपुर । धनुषामा भएको बम विस्फोटमा तीन जनाको ज्यान गएको छ । धनुषाको छिरेश्वरनाथ नगरपालिका, ५ महेन्द्रनगर बजार नजिकै बम विष्फोट हुँदा एक प्रहरी अधिकृतसहित तीन जनाको निधन भएको हो ।

    घटनामा ती जना गम्भीर घाइते छन् । स्थानिय कुचाइ टोलस्थित राजेश साहको घर बाहिर राखिएको बम विस्फोट भएको थियो ।

    विस्फोटमा राजेश साह र उनका छोरा आनन्दको घटनास्थलमा मृत्यु भएको छ । प्रहरी निरीक्षक (इन्स्पेक्टर)अमिर कुमार दाहालको उपचारका क्रममा शनिबार बिहान मृत्यु भएको हो ।

    घटना राती १२ बजेतिर भएको थियो । घाइतको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार जारी छ । घरमा बम राखिएको खबर पछि प्रहरी पुगेको थियो ।

    त्यहाँ रहेको स्थानीयको बाक्लो भीड हटाउटा हटाउँदै भएको विस्फोटमा प्रहरीसहितको मृत्यु भएको हो । बम कसले राखेको थियो भन्ने बारे स्पष्ट भइसकेको छैन ।

  • नेपाल र फ्रान्सबीच परामर्श संयन्त्र स्थापना

    नेपाल र फ्रान्सबीच परामर्श संयन्त्र स्थापना

    काठमाडौं । नेपाल र फ्रान्सबीच परामर्श संयन्त्रको स्थापना गरिएको छ । दुई देशबीचको सम्बन्ध, क्षेत्रीय र अन्तरराष्ट्रिय साझा चासोका विषयमा नियमित रूपमा परामर्श लिन सकिने गरी नेपाल र फ्रान्सबीच द्विपक्षीय परामर्श संयन्त्र स्थापना भएको हो ।

    दुई मुलुकका उच्च अधिकारीबीच शुक्रबार संयन्त्र स्थापनासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भयो । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीको उपस्थितिमा संयन्त्र स्थापनासम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो । शुत्रबार नै संयन्त्रको पहिलो बैठक बसेको छ ।

    फ्रान्सको विदेश मन्त्रालयमा एशिया र ओसिनिया मामिला हेर्ने निर्देशक थिरी मथाउ नेपाल आएका छन् ।

    उनी र परराष्ट्र मन्त्री ज्ञवालीको उपस्थितिमा परराष्ट्र मन्त्रालयका सहसचिव निर्मलराज काफ्ले र नेपालका लागि फ्रान्सका राजदूत फस्वा जाभिए लेजेबीच सम्झौता पत्रमा हस्ताक्षर भयो ।

    परराष्ट्रसचिव शङ्करदास वैरागी र निर्देशक मथाउ नेतृत्वको प्रतिनिधिमण्डलबीच परामर्श संयन्त्रको पहिलो बैठक शक्रुबार बसेको हो ।

    बैठकमा आर्थिक विकास, व्यापार, पर्यटन, लगानी, जनता–जनताबीच सम्पर्क विस्तारका सम्बन्धमा दुई देशबीच छलफल भएको छ ।

  • काठमाडौंमा वर्षा, हिमाली भेगमा ठूलो हिमपात

    काठमाडौंमा वर्षा, हिमाली भेगमा ठूलो हिमपात

    काठमाडौं । पश्चिमी वायुको प्रभावले बदली भएको मौसमले देशभर चिसो बढाएको छ । यसको प्रभाव अझै एक दुई दिनसम्म जारी रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    शुक्रबार दिनभर जसो काठमाडौंमा वर्षा जारी रहेको छ । काठमाडौंको चन्द्रागिरिमा शुक्रबार हिमपात भएको छ । त्यसो त हिमाली भेगका सबै जिल्लामा बाक्लो हिमपात जारी रहेको छ ।

    मौसम चिसिएसँगै त्यसले आफ्नो प्रभाव देखाउन थालेको छ । मौसमविद्हरुका अनुसार शुक्रबार परेको पानीले अब देशभर चिसो ह्वात्तै बढाउने छ ।

    खासगरी बिहानमा तुसारो पर्ने र तराईमा शितलहरको जोखिम निम्त्याउन सक्ने खतरा रहेको छ ।

    हिमापातका कारण हिमाली भेगमा ताल जम्ने क्रम शुरु भएको छ । हिमाली भेगको हवाई सेवा समेत अवरुद्ध भएको विमानस्थल कार्यालयले जनाएको छ ।

  • काठमाडौंमा भूकम्पको धक्का

    काठमाडौंमा भूकम्पको धक्का

    काठमाडौं । काठमाडौंसहित यस आसपासका जिल्लामा बिहीबार साँझ भूकम्पको धक्का महशुस भएको छ ।

    भूकम्प मापन केन्द्रका अनुसार सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर ४.८ रेस्कटर स्केलको भूकम्प गएको हो ।

    करीव ७ बजे काठमाडौंमा भूकम्पको धक्का महशुस गरिएको थियो । १२ वैशाख २०७२ यता सयौं पराकम्पहरु गइसकेका छन् ।

  • लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थल रोक्ने षड्यन्त्र गर्दै भारत

    लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थल रोक्ने षड्यन्त्र गर्दै भारत

    विश्वन्युज संवाददाता
    काठमाडौं
    भारतले एकपछि अर्को गर्दै नेपालमा प्रहार गरिरहेको छ । सीमा विवाद चर्किएको अवस्थामा भारतले नेपालको हवाई उडड्यन क्षेत्रलाई समस्यामा पार्न थालेको छ । रुपन्देहीको भैरहवामा निर्माण भैरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अन्तिम चरणमा छ । तर, सञ्चालनका लागि तयार भैसक्ने बेलामा भारतले हवाई रुट नदिएकाले नेपाल समस्यामा परेको छ ।
    नेपालले लुम्बिनी नजिकै, नेपालगञ्ज र महेन्द्रनगरबाट हवाई रुटका लागि गरेको पहल सफल हुन सकेको छैन । यस्तो अवस्थामा काठमाडौंका लागि दिइएको हवाई रुटबाट जहाज भित्रिने र बाहिरिने गर्नुपर्छ । जसले नेपाललाई थप समस्या पार्छ । जुन उद्देश्यले भैरहवामा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बनाइएको हो, त्यो अनुकूल नहुने अवस्थामा वैकल्पिक विमानस्थलले फाइदा नहुने विज्ञहरुले बताएका छन् । नेपालले भैरहवा नजिक र नेपालगञ्ज नजिकबाट हवाई रुट पाएको अवस्थामा भैरहवा विमानस्थलले राम्रो काम गर्न सक्ने अपेक्षा गरेको छ ।
    लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थललाई कम्तीमा नेपालगञ्ज र महेन्द्रनगर रुट उपलब्ध भएमा पनि सहज हुने नेपाल नागरिक उडड्यन प्राधिकरणले जनाएको छ । त्यसका लागि सरकारले पटक पटक उच्चस्तरीय कूटनीतिक पहल गरेको छ । तर, भारतले विभिन्न बहाना बनाएर टार्दै आएको छ । यी रुटको असर पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा पनि पर्नेछ । भारतले पटक पटक विभिन्न कारण देखाएर हवाई रुट दिनलाई आलटाल गरिरहेको छ ।
    प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमणमा जाँदा भारतीय समकक्षी नरेन्द्र मोदीसँग हवाई रुटका विषयमा वार्ता गरेका थिए । मोदी सकारात्मक भएर कर्मचारीलाई तत्काल रुट उपलब्ध गराउन निर्देशन नै दिएका थिए । तर, पछि कर्मचारीले भारतीय राजनीतिक नेतृत्वलाई यो विषयमा के के कुराकानी गरेर अहिले अन्यौल भैरहेको मन्त्रालयका एक अधिकारीले बताए । भारतीय कर्मचारीले नेपाललाई रुट उपलब्ध गराउन नहुने तर्क गरिरहेका छन् । त्यसैले भारतीय नेतृत्वले पनि पटक पटक हवाई रुटका विषयमा प्रष्ट कुराकानी गरिरहेको छैन ।
    भारतले गोरखपुर र लखनउ नजिक रहेका आफ्ना वायु सेनाका एयर फोर्सका कारण नेपाललाई अहिले मागेका रुटबाट हवाई उडानको अनुमति दिन नसक्ने जनाउँदै आएको छ । ती ठाउँमा वायु सेनाले अभ्यास गर्ने भएकाले प्रभावित हुने कारण देखाउँदै भारतले नेपाललाई हवाई रुट नदिएको हो । लुम्बिनीसँग सीमा जोडिएको भारतीय क्षेत्रमा जसरी पनि जहाज पुग्नु पर्ने भएकाले नेपालको लुम्बिनी विमानस्थल प्रभावकारी सञ्चालनका लागि भारतकै भर पर्नुपर्ने बाध्यता रहेको छ ।
    लुम्बिनीबाट झण्डै तीन किलोमिटर एयर दूरीमा सीमावर्ती भारतीय क्षेत्र आउँछ । ठूला जहाजले उडान तथा अवतरणमा आसपासको सीमा क्षेत्रमा फन्को मार्नुपर्ने अवस्था आउन सक्ने भएकाले भारत सरकारको सहयोग महत्वपूर्ण भएको नेपाली अधिकारीहरु बताउँछन् । पछिल्लो समय नेपाल सरकारले पटक पटक पत्राचार गरिरहेको छ । विमानस्थल निर्माणको अन्तिम तयारीमा रहेकाले नेपाल सरकारले पटक पटक पत्राचार गरेको हो । भारतले भने महेन्द्रनगर रुट मात्र उपलब्ध गराउने तयारी गरे पनि त्यो कामसमेत गरिरहेको छैन ।

    लुम्बिनी विमानस्थल अन्तिम चरणमा

    भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी र भैरहवाको बीचमा पर्ने विमानस्थल निर्माणको काम अन्तिम चरणमा पुगेको छ । भौतिक संरचनाको प्रगति लगभग ८० प्रतिशत भैसकेको छ । काठमाडौं विमानस्थलको विकल्पको रुपमा लुम्बिनी विमानस्थल अबका केही महिनामै सञ्चालनमा आउने छ । हवाई टर्मिनल, एयर ट्राफिक कन्ट्रोल रुमको निर्माणको काम पनि अन्तिम चरणमा रहेको छ । रनवे पनि लगभग तयारी अवस्थामा छ । तर लुम्बिनी जोड्ने बाटो भने भारतीय ठेकेदार कम्पनीले आलटाल गरिरहेको छ ।
    विमानस्थल आगामी ६ महिनाभित्रै सञ्चालनमा आउनेछ । विमानस्थल बनेको अवस्थामा बोइङ ७७७–२०० र एयरबस ३३०–३०० ‘सिरिज’का विमान सजिलै अवतरण र उडान गर्न सक्नेछन् । त्यसैले नेपाल सरकारले काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पको रुपमा यो विमानस्थललाई लिएको हो । एसियाली विकास बैंक (एडिबी)को ऋण तथा अनुदान, अन्तर्राष्ट्रिय विकासका लागि ओपेक कोष (ओएफआइडी) र नेपाल सरकारको लगानीमा निर्माणाधीन राष्ट्रिय गौरवको उक्त आयोजनाको भौतिक काम एक महिनाभित्र पूरा गर्न दैनिक दुई सत्रमा २ सय ७० जनाभन्दा बढी कामदार परिचालन भएका छन् ।
    तीन किलोमिटर लामो र ४५ मिटर चौडा धावनमार्ग कालोपत्र गरी त्यहाँ ‘मार्किङ’ गरिएको छ । विमानस्थल सञ्चालन भएपछि मौजुदा एक हजार पाँचसय २४ मिटर लामो र ३० मिटर चौडा धावनमार्गलाई ट्याक्सी वेका रूपमा उपयोग गरिनेछ । हाल विमानस्थलको ८५ प्रतिशतभन्दा बढी भौतिक संरचना निर्माण भइसकेको सरकारले जनाएको छ । कन्ट्रोल टावर, अन्तर्राष्ट्रिय टर्मिनल भवन, विमान राख्नेस्थल (एप्रोन), अग्नि नियन्त्रण तथा उद्धार भवन, मुख्य विद्युत्गृह, आगमन र प्रस्थान टर्मिनल तथा प्रशासनिक भवनको रङरोगनलगायत आन्तरिक सजावटको काम धमाधम भइरहेको छ ।
    विमानस्थल निर्माणका लागि नजिकै रहेको घाघरा खोलाको मार्ग परिवर्तन, सवारीसाधान पार्किङस्थल, ढल निकासको काम पनि पूरा भइसकेको छ । विमानस्थलमा बगैँचा बनाउने र त्यहाँको सौन्दर्य बढाउन साजसज्जाका काममा सयौँ मजदुर खटिएका छन् । विमान उडान र अवतरण, तिनको व्यवस्थापनका साथै विमानको अवस्था तथा अवस्थितिबारे जानकारी दिने उपकरण, विमानलाई मार्गदर्शन गर्ने तथा चालकसम्म सूचना प्रवाह गर्ने सञ्चार उपकरण, मौसमसम्बन्धी जानकारी दिने उपकरण, धावनमार्गमा विद्युत्लगायत विमानस्थलका निम्ति आवश्यक पर्ने सम्पूर्ण उपकरण जडान आगामी तीन महिनाभित्र पूरा गरिने भएको छ ।
    कोरियाली कम्पनी योशिन इन्जिनीयरिङ कर्पोरेशन परामर्शदाता रहेको विमानस्थलको भौतिक संरचनाको निर्माणको ठेक्का पाएको चीनको नर्थवेष्ट सिभिल एभिएशन एयरपोर्ट कन्सट्रक्शन ग्रुपनका प्रबन्धक सू बेजिङ निर्धारित समयमा परियोजना पूरा गरेरै छाड्ने प्रतिबद्धता गर्छन् । रुग्ण परियोजनाका रूपमा परिचित यो विमानस्थल निर्माणमा यसअघि विविध समस्या झेल्नुपरेको थियो । मुख्य लगानीकर्ता एडिबी नै परियोजनाबाट बाहिरिएको थियो । दुई वर्षअघि नै पूरा गर्ने लक्ष्य रहेको यो परियोजना तेस्रोपटक म्याद थपेर हालको अवस्थामा पु¥याइएको हो ।
    ६ अर्ब २२ करोड ५१ लाख २० हजार १२८ रुपैयाँ लागत मध्ये एडिबीले ४०.५ ऋण र १८ प्रतिशत अनुदान उपलब्ध गराएको छ भने (ओएफआइडी)को ३०.५ प्रतिशत र बाँकी सरकारको लगानी रहेको छ । नेपाल भ्रमण वर्ष २०२० जारी रहेकै बेला यो विमानस्थल सञ्चालन गर्ने लक्ष्य सरकारको छ । प्राविधिक काम पनि निर्धारित समयमा नै पूरा गर्न नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले एकजना वरिष्ठ अधिकारीलाई खटाइसकेको छ । विमानस्थल बन्ने बित्तिकै तत्काल सञ्चालन नहुने तर परीक्षण उडानलगायत अन्य प्राविधिक परीक्षणपछिमात्र स्वदेशी विदेशी विमान कम्पनीलाई सेवा सञ्चालनका लागि आह्वान गरिने महानिर्देशक राजन पोखरेल बताउँछन् ।
    लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थलमा उडान तथा अवतरणका लागि श्रीलङ्का, कतार, थाइल्यान्ड, नेपाल एयरलाइन्स, हिमालयन एयरलाइन्स र फ्लाई दुबईले आफ्नो सेवा विस्तार गर्न रुचि देखाएका छन् । चीन र दक्षिणपूर्वी एशियाली देशले पनि नेपालमा उडान भर्न चासो देखाएका छन् । विमानस्थल निर्माण सकिएपछि विमानस्थलले अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठनबाट अन्तर्राष्ट्रिय विमानस्थलको मान्यता प्राप्त गर्नुपर्ने हुन्छ, जसका लागि केही समय लाग्नेछ । विमानस्थलको व्यवस्थापनका लागि जर्मनीको म्युनिख विमानस्थललाई दिने सरकारको तयारी छ ।
    लुम्बिनीमा अन्तर्राष्ट्रिय बिमानस्थल सञ्चालनमा आएमा गौतम बुद्धको जन्मस्थल आउने विदेशीको संख्या बढ्नेछ । लुम्बिनी बिकास कोषले पनि आफ्नो योजना त्यसै अनुसार अगाडि बढाइरहेको छ । लुम्बिनी गुरु योजना पनि अन्तिम चरणमा पुगेको छ । गुरुयोजना पनि ८० प्रतिशत पुगेको कोषले जनाएको छ । विमानस्थलमा भारतीय अवरोध रोकिएको अवस्थामा देशकै समृद्धिमा सहयोग पुग्नेछ । पश्चिम नेपालबाट आम नागरिक भैरहवा हुँदै बाहिरिने र स्वदेश भित्रिने छन् ।

  • पश्चिमी वायु नेपाल पस्यो, हिमपात र वर्षाको चेतावनी

    पश्चिमी वायु नेपाल पस्यो, हिमपात र वर्षाको चेतावनी

    काठमाडौं । शक्तिशाली मानिने पश्चिमी वायु नेपाल प्रवेश गरेको छ। यो वायुको प्रभाव अब कम्तिमा ३ दिनसम्म देखिने छ ।

    मौसम अदलबदल भई केही स्थानमा वर्षा तथा उच्च पहाडी र हिमाली भेगमा भारी हिमपात हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले उल्लेख गरेको छ ।

    जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार साँझ नेपालको पश्चिमी क्षेत्रबाट पश्चिमी वायुबाट विकसित न्यून चापीय प्रणाली प्रवेश गरिसकेको छ ।

    यसले नेपालको पश्चिमी उच्च पहाडी र हिमाली भूभागमा भारी हिमपात बनाउन सक्ने सम्भावना रहेको छ ।

    बिहीबार यो प्रणाली अझै सशक्त हुनेछ । जसले गर्दा देशका मध्य र पूर्वका उच्च पहाडी र हिमाली भूभागमा समेत हल्कादेखि मध्यमसम्म हिमपातको सम्भावना रहेको छ ।

    उक्त प्रणालीका कारण देशैभरी मौसम बदली हुनेछ । अधिकतम र न्यूनतम तापक्रममा गिरावट आउनेछ । यसले देशभर चिसो बढाउने भएको छ ।

    यस वायुले पश्चिमी भूभागका धेरै स्थानहरूमा र मध्य र पूर्वी भूभागका केही स्थानहरूमा हल्का वर्षाको समेत सम्भावना छ ।

    त्यसपछि देशभैभर चिसो ह्वात्तै बढ्नेछ ।

    उच्च पहाडी र हिमाली भूभागमा भारी हिमपात हुन सक्ने र पहाडी भेगमा वर्षा हुने र साथसाथै तापक्रममा गिरावट पनि हुने सम्भावना रहेको हुनाले सतर्कता अपनाउन महाशाखाले सर्वसाधारणमा अनुरोध समेत गरेको छ ।

    बिहीबार बिहानैदेखि राजधानीको आकास समेत हुस्सले ढाकिसकेको छ ।

  • चुनावको समिक्षा गर्न कांग्रेस केन्द्रिय कार्य समिति बैठक आज

    चुनावको समिक्षा गर्न कांग्रेस केन्द्रिय कार्य समिति बैठक आज

    काठमाडौं । हालै सम्पन्न उपनिर्वानबारे समीक्षा गर्न नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति बैठक बिहीबार डाकिएको छ ।

    पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजेका बैठका बोलाइएको कांग्रेस सचिवालयले जानकारी दिएको छ ।

    १४ मंसिरमा सम्पन्न उपनिर्वाचनका दौरान पार्टीका उमेदवारमाथि घात गर्नेहरुमाथि कारवाही हुने कांग्रेस सभापति शेरबहादुर देउवाले बताइएका छन् ।

    उपनिर्वाचन र समसामयिक विषयमा छलफल गर्न बैठक डाकिएको हो । बैठकमा पार्टीका रिक्त विभाग एवम् भ्रातृ संस्थाहरुलाई पूर्णता दिने विषयमा समेत छलफल हुनेछ ।

    पार्टीको आगामी महाधिवेशनको तयारी, सरकारका कामहरुको समीक्षा र प्रतिनिधिसभामा रिक्त सभामुख पदमा पार्टीको दावेदारीका सम्बन्धमा समेत छलफल हुने भएको छ ।

    सभामुख पद नेकपाले नै लिने र उपसभाुमख पनि कांग्रेस नदिने बताएको छ । किनकी प्रतिनिधिसभामा नेकपा एक्लैको बहुमत छ ।

  • ७ देशमा श्रम सहचारी र काउन्सेलर नियुक्त गर्दै सरकार

    ७ देशमा श्रम सहचारी र काउन्सेलर नियुक्त गर्दै सरकार

    काठमाडौं । सरकारले विभिन्न ७ मुलुकमा काउन्सेलर र श्रम सहचारी नियुक्तीका प्रक्रिया थालेको छ ।

    रिक्त काउन्सेलर र श्रम सहचारी पदमा इच्छुक कर्मचारीबाट श्रम तथा रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले दसखास्त आह्वान गरेको हो ।

    मन्त्रालयले दक्षिण कोरिया, कतार र मलेसियाका लागि ३ जना काउन्सेलर मागेको छ । संयुक्त अरब इमिरेट्स, साउदी अरब, मलेसिया, कुवेत र ओमानमा श्रम सहचारी एक एक जना भर्ना गरिने भएको छ ।

    काउन्सेलर तथा श्रम सहचारी छनोट तथा नियुक्ति सम्बन्धी कार्यविधि तथा मापदण्ड २०७३ अनुसार योग्यता पुगेका कर्मचारीहरुले ३५ दिन भित्र यस्तो दरखास्त दिन सक्ने भएका छन् ।

    खासगरी विदेशमा कुनै कामदारलाई कानून समस्या आइपरे त्यसको समाधानमा यस्ता काउन्सिलरले भूमिका खेल्ने गर्छन् ।

    आफ्ना नागरिकलाई समस्या पर्दा त्यसमा सहजिकरण गर्न काउन्सेलर तथा श्रम सहचारी खटाउन थालिएको हो । अन्य मुलुकले पनि नेपालमा यस्त सहचारी खटाएका हुन्छन् ।

  • अनलाइनबाट नेपालीलाई ठग्ने गिरोह पक्राउ

    अनलाइनबाट नेपालीलाई ठग्ने गिरोह पक्राउ

    काठमाडौं । भाइबर, इमोजस्ता सामाजिक सञ्जालबाट नेपालीलाई ठग्ने गिरोह पक्राउ परेको छ ।

    भाइबर, इमो, ह्वाट्सएप, फेसबुकजस्ता सामाजिक संजालबाट चिठ्ठा परेको, पार्सल आएको छ भन्दै ठगी गर्ने गिरोह प्रहरीको फन्दामा परेको हो ।

    महानगरीय अपराध महाशाखाको विशेष अनुसन्धान टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा दोलखाका ५२ वर्षिय रमेश खड्का, नवलपरासीका ३७ वर्षिय विशेश्वर प्रसाद तिवारी र सोही ठाउँका संदिप कलवार रहेको प्रहरीले बताएको छ ।

    उनीहरुको सम्बन्ध नाइजेरियन नागरिक पिटर हेर्मन र बेलायती स्मिथ मोरिससँग रहेको प्रहरीले बतायो ।

    अनलाइन ठगीमा १० जना भारतीय नागरिक पनि संलग्न रहेको प्रहरीको अनुसन्धानले देखाएको छ ।

    सामाजिक सञ्जाल मार्फत ठगीधन्दा चलाउँदै आएका उनीहरुले विभिन्न बैंक तथा वित्तिय संस्था समेत ह्याक गरेको अनुसन्धानको निष्कर्ष छ ।

    पिटर र स्मिथले नेपालमा ठगीका लागि मात्र ४० भन्दा बढी एजेन्ट परिचालन गरेको र पक्राउ पर्नेहरु उनीहरुको एजेन्ट भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

    यसअघि कृषि विकास बैंक र पानस रेमिट ह्याकिङ प्रकरणमा उनीहरुको संलग्नता रहेको निष्कर्षमा प्रहरी पुगेको छ ।

    एजेण्टले १५ देखि २० प्रतिशत कमिसन खाएर बाँकी रकम भारत पठाउने गरेको खुलेको हो ।

    उनीहरुले नेपालका विभिन्न १७ वटा बैंकबाट १७ करोड ६७ लाख ९१ हजार रुपैयाँको कारोबार गरिसकेका थिए ।

  • किदुगमा खेन्पो साङगे राङज्युङ रिन्पोक्षेबाट प्रवचन

    किदुगमा खेन्पो साङगे राङज्युङ रिन्पोक्षेबाट प्रवचन

    न्यूयोर्क/अमेरिका
    युनाइटेड शेर्पा एसोसिएसन (शेर्पा किदुग)ले एक कार्यक्रम आयोजना गरी बौद्ध दर्शनका गुरु खेन्पो साङगे राङज्युङ रिन्पोक्षे द्वारा महत्वपूर्ण अभिषेक र आगम प्रदान गराएको छ । किदुगको आफ्नै गुम्बामा आयोजित कार्यक्रममा अभिषेक ग्रहण गर्न बौद्ध धर्मावलम्बीहरुको ठूलो घुँइचो लागेको थियो ।
    नेपाली भाषामा व्याख्या सहितको अभिषेक, आगम र प्रवचन सुन्नका लागि बिहानैदेखि भक्तजनहरु जम्मा भएका थिए । किदुगका पदाधिकारीहरु, स्थानीय लामा गुरुहरु र भक्तजनहरु प्रवेशद्वार अगाडि धूप, फूल, खताग् र पञ्च रंगी ध्वजाहरु लिएर लस्करै उभिएका थिए । गुरु रिपोन्क्षेको आगमन हुँदा परम्परागत बाजा गाजाले स्वागत गरिएको थियो ।
    बिहानी सत्रमा रिम्पोक्षेले सत्रौँ शताब्धिका महान गुरु लोङछेन जिग्मे लिङ्पाले प्रतिपदान गरेको ङिङिथग परम्पराको पुर्वाभ्यासको आगम दिएका थिए । वज्रयानीहरुमा बिशेष गरी ङिङमा परम्पराको अभ्यास गर्न चाहनेहरुको लागि ङोन्डोको अभ्यास अनिवार्य मानिन्छ । दिउँसोको सत्रमा गुरु पद्म संभवको अनेक रुप मध्ये एक रत्न थोठ्रेङ्चलको अभिषेक प्रदान भएको थियो । यो अभिषेक आयु, ज्ञान र ऐश्वर्य प्राप्तिको लागि प्रभावकारी मानिन्छ । शेर्पा समुदायका औतारी गुरु उर्गेन क्षोत रिन्पोक्षे, डा. युला शेर्पा, लोपेन ग्युर्मे क्षोडक, खेन्पो पेमा छिरिङ् लगायतका गुरुहरुले पनि भक्तजनहरुका साथमा अभिषेक् ग्रहण गरेका थिए।


    शेर्पा किदुग, श्यार्वी रिग्श्युङ् लोप्टा र श्यामा किदुगले त्रिकाय मण्डल चढाइएको थियो । निधि अन्र्तगतको महत्वपुर्ण ग्रन्थ ‘लोङछेन ङिङथिक ङोन्डोको लुङ’ (आगम) र ‘गुरु रिम्पोचेको रत्न थोठेङचलको’ अभिषेक प्रदान गरेका थिए ।
    सोही समारोहका बीच शेर्पा किदुगलाई १५ हजार १५ अमेरिकी डलर दान गर्ने कमला गौचनलाई किदुगका अध्यक्ष उर्गेन शेर्पा र ट्रष्टी संयोजक पेम्बा ग्याल्जेन शेर्पाले सम्मान गरेको थिए । ट्रष्टी सदस्य र आजीवन सदस्यहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो ।
    खेन्पो राङ्ज्युङ् रिन्पोक्षेले भारत नाम्ड्रोलिङ बौद्ध बिश्व बिद्यालयबाट बिद्यावारिधि प्राप्त गरेका छन् । हाल नेपालमा १ हजार ४ सय भन्दा बढी विद्यार्थीलाई बौद्ध शिक्षा दिंदै आएका छन् । उनले स्थापना गरेको काठमाडौं फर्पिङको उर्गेन दोर्जे क्षोलिङ् गुम्बामा बौद्ध दर्शन सँगसँगै नेपालको सरकारी पाठ्यक्रम अनुसार हाई स्कूल सम्मको पढाई निशुल्क भैरहेको छ । हाल उनी नेपाल भित्रका एक दर्जन भन्दा बढी गुम्बाको प्रमुख लामा हुनको साथै संसारका विभिन्न देशहरुमा धर्म केन्द्र स्थापना गरी सत्धर्मको विस्तारमा समर्पित छन् । न्योर्कको कार्यक्रम लगतै पेन्सिलभानिया र टेक्सासका विभिन्न स्थानमा प्रवचन दिने कार्यक्रम छ ।

  • एकैपटक ११ सय अधिकृतमा भर्ना खुल्यो

    एकैपटक ११ सय अधिकृतमा भर्ना खुल्यो

    काठमाडौं । सरकारी अधिकृतका लागि तयारी गरेका विद्यार्थीका लागि खुसीको खबर छ । लोक सेवा आयोगले एक हजार ९६ शाखा अधिकृत पदका लागि विज्ञापन मागेको छ ।

    प्रशासन, लेखा, राजश्व, परराष्ट्र, न्याय, संसदलगायत सेवाका लागि कूल १ हजार ९६ पदमा बुधबार विज्ञापन खुलाइएको छ ।

    त्यसमध्ये खुलाबाट ४१९ र बढुवाबाट ३२८ जनाको पदपूर्ति हुने आयोगले जनाएको छ । ३४९ जना समावेशी समूहबाट लिइने भएको छ ।

    विज्ञापन अनुसार प्रशासन सेवाको सामान्य प्रशासन समूहमा ५६० जना अधिकृत मागिएको छ । त्यसमध्ये खुल्लाबाट २१६ र बढुवाबाट १६८ जनाको पदपूर्ति हुने भएको छ ।

    उक्त समूहमा समावेशीतर्फ महिलामा ५८, आदिवासी जनजातीमा ४८, मधेसीमा ३९, दलितमा १५, अपांगमा ९ र पिछडिएको क्षेत्रमा ७ जनाको कोटा राखिएको छ ।

    राजश्व समूहमा ६९, लेखापरीक्षण समूहमा ४२, लेखा समूहमा ३० जना अधिकृतको माग भएको आयोगले जनाएको छ ।

    व्यवस्थापिका संसद सेवातर्फ २८ जना र न्याय सेवा तर्फ न्याय समूहमा २९०, कानुन समूहमा ४९ र सरकारी वकिल समूहमा २४ अधिकृतको अवसर छ ।

    परराष्ट्र सेवामा ४ जना अधिकृतले जागिर पाउने छन् । आन्तरिक बढुवाका लागि आवेदन दिने म्याद २९ पुस तोकिएको छ ।

    खुल्ला तथा समावेसी पदमा प्रतिस्पर्धा गर्नेले १५ पुससम्म आवेदन दिनुपर्छ । दोब्बर दस्तुर तिरेर २२ पुससम्म आवेदन दिन सकिने भएको छ ।

  • न्यूयोर्कको स्थानीय सरकारद्वारा ‘विश्व रक्तदाता अर्जुन मैनाली दिवस’ घोषणा

    न्यूयोर्कको स्थानीय सरकारद्वारा ‘विश्व रक्तदाता अर्जुन मैनाली दिवस’ घोषणा

    डिसेम्बर ९, न्यू योर्क 

    वेष्टर वे टाउन, न्यूयोर्कले डिसेम्बर २२ लाई ‘विश्व रक्तदाता अर्जुन मैनाली दिवस‘ घोषणा गरेको छ । रक्तदान अभियान र सो सम्वन्धिज्ञानलाई विश्वमाझ फैलाउन अतुलनीय योगदान पुर्याएबापत उक्त सम्मान गरेको हो ।

    रक्तदानको ईतिहासको सन्धर्भमा; प्रशव अवस्थामा अत्यधिक रक्तश्राव भएकी पत्नीलाई सन १८१८ डिसेम्बर २२ मा सिरिन्ज प्रयोग गरेरश्रीमानकै पाखुराबाट चार औंस रगत निकाली रक्त सञ्चार गरेका थिए । जुन संसारमा यो नै पहिलो सफल मानव रक्तदान थियो ।

    सन् २००७ देखि वेष्टर वे टाउनको हिक्सभिल न्यूयोर्कमा बस्दै आएका अर्जुन प्रसाद मैनालीले अमेरिकाको १४ राज्यहरुमा रक्तदान रउत्प्रेरणा गरेका छन् । उनले हालसम्म ६ वटा महादेशका १७ देशहरुमा १७२ पटक रक्तदान (१२३ होल ब्लड र ४९पटक प्लेट्लेटस) गरेका छन् । उनको आफ्नै रगतले ५१६ जना सम्मलाई बचाउन सहयोग हुन्छ ।

    अमेरिकामा दैनिक करिव ४० हजार युनिट रगत चाहिन्छ । न्यूयोर्क शहरदेखि ४० किलोमिटर टाढाको वेष्टर वे टाउनमा तीनलाखजनसंख्या छ । स्थानीय सरकारले समुदायका कामलाई महत्वपूर्ण ठानी आमजनमानसमा सन्देश पुर्याउन उक्त दिवस घोषणा गरेकोजनाईएको छ । स्थानीय बासिन्दा अर्जुन मैनालीले रक्तदानको क्षेत्रमा  स्थानीय, राष्टिय र अन्तराष्ट्रिय क्षेत्रमा समेत अतुलनीय योगदानपुर्याएका हुनाले “विश्व रक्तदाता अर्जुन मैनाली दिवस” घोषणा गरेको हो ।

  • प्रधानमन्त्री पुनः अस्पतालमा

    प्रधानमन्त्री पुनः अस्पतालमा

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई अस्पताल लगिएको छ । मंगलबार साँझ नियमित उपचारका सिलसिलामा प्रधानमन्त्रीलाई अस्पताल लगेको बालुवाटार स्रोतले जनाएको छ ।

    महाराजगन्जस्थित शिक्षण अस्पताल परिसरस्थित मनमोहन कार्डियो भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा लगिएको छ । अपरेशन गरेको घाउमा इन्फेक्सनको आंशका चिकित्सकको रहेको छ ।

    यसबाहेक फलोअप र मिर्गौलाको डायलासिसका लागि समेत अस्पताल लैजानु परेको बताइएको छ ।

    १० दिनसम्म उपचार गरी बालुवाटार लगिएको एक सातामै पुनः प्रधानमन्त्रीलाई हस्पताल लैजानु परेको छ । अस्पतालबाट निवास फर्किएपछि उनलाई चिकित्सकले आराम गर्न सुझाव दिएका थिए ।

  • १३ औं साग नेपालका लागि सुखद, सर्वाधिक स्वर्णको कीर्तिमान (सूचिसहित)

    १३ औं साग नेपालका लागि सुखद, सर्वाधिक स्वर्णको कीर्तिमान (सूचिसहित)

    काठमाडौं । खासगरी नेपाली महिला खेलाडीहरु चम्किएको १३ औं सागको भब्य र सफल आयोजना गरी नेपालले ठूला इभेन्ट आयोजनामा आफूलाई अब्बल सावित गर्यो ।

    साथै खेलकुदको विकास र स्तरोन्नतीमा समेत क्रमशः सुधारको संकेत यस पटक देखिएको छ । अनेक प्रतिकूलताका वावजुत नेपाल १३ औं सागमा पटक तालीकाको दोस्रो स्थानमा रह्यो ।

    यसपटक नेपाललाई कीर्तिमानी संख्यामा स्वर्ण पदक प्राप्त भयो । नेपालले कूल ५१ स्वर्ण जितेको छ । मंगलबार ६० केजी तौलको बक्सिङ फाइनलमा नेपालका सुनिल शाहीले स्वर्ण दिलाए ।

    फूटबलले समेत स्वर्ण दिलाएसँगै नेपालले ५१ स्वर्ण आफ्नो पोल्टामा पारेको हो । सागमा नेपालले ५१ स्वर्ण, ५९ रजत र ९४ कास्यसहित २०४ पदक जितेको छ ।

    पदक तालिकाको पहिलो स्थानमा रहेको भारतले १७२ स्वर्ण, ९३ रजत र ४५ कास्यसहित ३१० पदक हात पारेको छ । श्रीलङ्का ४० स्वर्ण, ८२ रजत र १२८ कास्यसहित तेस्रो स्थानमा रह्यो ।

    पाकिस्तान ३१ स्वर्ण, ४१ रजत र ५९ कास्यसहित चौथो, बङ्गलादेश १९ स्वर्ण, ३२ रजत र ८७ कास्यसहित पाँचौँ, माल्दिभ्स एक स्वर्ण र तीन कास्य जित्दै छटौँ स्थानमा रहेको छ ।

    भूटानले स्वर्ण जित्न सकेन । उसले सात रजत, १५ कास्यसहित पदक तालिकाको अन्तिम स्थानमा रह्यो ।

    नेपालका लागि कसले जिते स्वर्ण ?
    कराते
    मण्डेकाजी श्रेष्ठ  :  व्यक्तिगत काता पुरुष
    निर्मला तामाङ, संगिता मगर र सरु कार्की : महिला टिम काता
    मण्डेकाजी श्रेष्ठ, महशुस तामाङ र प्रविण कार्की : पुरुष टिम काता
    लक्ष्मण तामाङ : ५५ केजी समूह फाइट
    विप्लवलाल श्रेष्ठ : ८४ केजी माथि फाइट
    कुसुम श्रेष्ठ  : ४५ केजी फाइट
    अनु अधिकारी : ५५ केजी फाइट
    नविन रसाइली : ६७ केजी फाइट
    सुनिता महर्जन : ६८ केजी फाइट
    अनुपमा मगर : ६८ केजी फाइट

    तेक्वान्दो
    सिना मादेन लिम्बू  : पुम्से महिला १७-२३ वर्ष
    कमल श्रेष्ठ – पुम्से पुरुष २४-२९ वर्ष
    पार्वती गुरुङ – पुम्से महिला २४-२९ वर्ष
    आयशा शाक्य– पुम्से महिला २९ वर्ष माथि
    आयशा शाक्य र सञ्जिवकुमार ओझा – पुम्से जोडी २९ वर्षमाथि
    निशा दर्नाल, स्वस्तिका तामाङ र सन्जिला तिमिल्सिना – पुम्से महिला टिम १७-२३ वर्ष
    निता गुरुङ, प्रशंसा क्षेत्री र सुशीला राई – पुम्से महिला टिम २३ वर्षमाथि
    काजल श्रेष्ठ– ४६ केजी फाइट
    वीरबहादुर महरा – ६८ केजी फाइट
    संगिता बस्याल – ६२ केजी फाइट
    सक्षम कार्की – ८७ केजीमाथि फाइट
    भूपेन श्रेष्ठ– ८७ केजी मुनि फाइट

    ट्रायथलन
    सोनी गुरुङ
    हिमाल टमाटा

    उसु
    विजय सिञ्जाली – थाउलो छानछ्वान
    सुस्मिता तामाङ– थाउलो छानछ्वान
    दीपक हमाल– ‍थाउलो नानछ्वान अलराउन्ड
    निमा घर्तिमगर – ‍थाउलो नानछ्वान अलराउन्ड
    जुनी राई – सान्सौ ५६ केजी फाइट

    एथ्लेटिक्स
    सन्तोषी श्रेष्ठ – १० हजार मिटर दौड
    गोपीचन्द्र पार्की – ५ हजार मिटर दौड
    किरणसिंह बोगटी – म्याराथन

    साइक्लिङ
    राजेश मगर – डाउनहिल
    निस्मा श्रेष्ठ – डाउनहिल
    लक्ष्मी मगर– क्रस(कन्ट्री
    बुद्धिबहादुर तामाङ – क्रस(कन्ट्री

    पौडी
    गौरिका सिंह – २ सय मिटर फ्रीस्टायल
    गौरिका सिंह – २ सय मिटर ब्याकस्ट्रोक
    गौरिका सिंह – ४ सय मिटर फ्रीस्टायल
    गौरिका सिंह – सय मिटर फ्रीस्टायल

    भारोत्तोलन
    सञ्जु चौधरीले – ५९ केजी
    विकास थापा – ८९ केजी

    गल्फ
    सुवास तामाङ– व्यक्तिगत
    शुक्रबहादुर राई, टंकबहादुर कार्की, सुवास तामाङ र निरज तामाङ – टिम स्पर्धा

    कुस्ती
    गीता धामी – ५५ केजी

    जुडो
    देविका खड्का– ५२ केजी
    पुनम श्रेष्ठ – ७८ केजी

    बक्सिङ
    मिनु गुरुङ – ५४ केजी
    भूपेन्द्र थापामगर – ६४ केजी

    सनिल शाही – ६० केजी

    फुटबल

    पुरूष फुटबल टोली

  • आज काठमाडौंमा जोर नम्बरका मात्र सवारी

    आज काठमाडौंमा जोर नम्बरका मात्र सवारी

    काठमाडौं । मंगलबार राजधानीमा जोर नम्बरका मात्र सवारी साधन चलाउन पाइने छ ।

    सागको समापनका दिने हुने अधिक भिडभाड नियन्त्रण गर्न प्रहरीले उक्त प्रणाली लागू गर्न लागेको हो । मंगलबार दशरथ रंगशाला वरपरसमेत सवारी साधन लगेर जान पाइने छैन ।

    यस क्षेत्रमा ट्राफिक व्यवस्थापन कठिन हुने भन्दै सवारी साधन निषेध गरिएको हो । साग समापनमा करीव १५ हजार मानिस रंगशाला पुग्नेछन् ।

    त्यसबाहेक भिभिआइपी, भीआईपीको समेत सवारी हुने भएकाले ट्राफिक व्यवस्थापन चूनौतिपूर्ण हुने गरेको छ । यसअघि सागको शुरुवातका दिन पनि बिजोर सवारीलाई मात्र चलाउने अनुमति दिइएको थियो ।

  • आज सागको समापन, आगामी साग पाकिस्तानमा

    आज सागको समापन, आगामी साग पाकिस्तानमा

    काठमाडौं । अन्तिम समयमा भएको तीव्र तयारीका वावजुत नेपालले १३ औं दक्षिण एसियाली खेलकुदको सफल आयोजना गरेको छ ।

    सागको आज अन्तिम ५ विभिन्न इभेन्टका फाइनल खेलसँगै भब्य समापन समारोह आयोजना हुँदैछ ।

    दशरथ रंगशालामा हुने समापन समारोहमा सहभागी हुने दर्शकलाई फूटबलको फाइनलबाटै प्रवेश गराइएको छ ।

    आज दोब्बर मूल्य तिरेर मात्र सर्वसाधारणले टिकट पाएका छन् । टिकट बिक्रि भने सोमबार नै सकिएको थियो । १५ मंसिरमा भब्य उद्घाटन भएको यो प्रतियोगिता नेपालको काठमाडौंसहित पोखरा र जनकपुरमा संचलन भयो ।

    अघिल्ला सागहरुमा जस्तो यसपटक तयारीका सन्दर्भमा नेपालले त्यति धेरै आलोचना भोग्नु परेन् । अर्कोतर्फ स्वर्ण पदकका दृष्टिकोणबाट पनि नेपालको प्रदर्शन ऐतिहासिक बन्यो ।

    ४९ स्वर्णसहित अहिलेसम्म दोस्रो स्थानमा रहेको नेपालले मंगलबार अझ केही स्वर्ण थप्ने सम्भावना रहेको छ ।

    भारतले १५९ स्वर्ण जित्दै पहिलो स्थान कब्जा गरेको छ । मंगलबार आयोजना हुने विशेष समारोहमा आगामी साग आयोजनाका लागि पाकिस्तानलाई जिम्मेवारी दिने तयारी छ ।

  • बाल दूराचारको आरोपमा अमेरिकी नागरिक पक्राउ

    बाल दूराचारको आरोपमा अमेरिकी नागरिक पक्राउ

    काठमाडौं । नेपाली बालबालिका माथि यौन शोषणको आरोपमा अमेरिकी नागरिक ज्यासन ल्योयड मुडी पक्राउ परेका छन् । आर्थिक प्रलोभन देखाउँदै बालबालिका माथि बाल शोषण गरेको आरोप प्रहरको छ ।

    नागरिक राहदानी नं. ५६७४७२५३५ बोकेका ४० वर्षीय ज्यासनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले आइतबार पक्राउ गरेको हो ।

    उनलाई सिनामंगलस्थित एक गेष्ट आउसबाट प्रहरीले पक्रिएको हो । उनी बसेको कोठाबाट बालिकाको समेत उद्दार गरिएको छ ।

    उनको साथबाट प्रहरीले अमेरिकी राहदानी तीनसहित ल्यापटप, विभिन्न कम्पनीका मोबाइल, एटीएम कार्ड, विश्व भाषा क्याम्पसबाट जारी आईडी कार्ड समेत बरामद गरेको छ ।

    ती नागरिकमाथि जबर्जस्ती करणीको मुद्दामा अनुसन्धान थालेको छ ।

  • मन्त्री बस्नेत स्पेनतर्फ, हिमालका मुद्दा उठाउने

    मन्त्री बस्नेत स्पेनतर्फ, हिमालका मुद्दा उठाउने

    काठमाडौं । जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय सम्मेलनमा भाग लिन वन तथा वातावरण मन्त्री शक्ति बस्नेत स्पेन प्रस्थान गरेका छन् ।

    उनी आइतबार राती त्रिभुवन विमानस्थलबाट स्पेनतर्फ लागेको मन्त्री बस्नेतको सचिवालयले जानकारी दिएको छ ।

    उनी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै स्पेन लागेका हुन् । स्पेनको म्याड्रिडमा कोपको विशेष सभा शुरु भएको छ ।

    बस्नेतले बुधबार सभालाई सम्बोधन गर्नेछन् । नेपालले यसपटक हिमालमा हिउँ पग्नले क्रम तीव्र रुपमा बढेको भन्दै तापक्रमले वृद्धिले नेपालजस्ता मुलुकमा पारेको प्रभावबारे विश्वको ध्यानाकर्षण गराउने भएका छन् ।

    त्यसबाट उत्पन्न परिस्तिथिको सामना गर्ने सम्बन्धमा नेपालले विश्वमञ्चमा योजना तय गर्ने प्रस्ताव समेत राख्ने भएका छन् ।

    नेपालले अधिक कार्बन उत्सर्जन गरिरहेका विकसित मुलुकहरुले नेपालजस्ता जलवायु परिवर्तनमा कम योगदान भएर पनि अतिप्रभावित गरीब तथा तेस्रो मुलुकलाई दिनुपर्ने क्षतिपूर्तिका सम्बन्धमा समेत बलियो आवाज उठाउने तयारी गरेको छ ।

  • चितवन दूर्घटनाका मृतक चार जनाको सनाखत

    चितवन दूर्घटनाका मृतक चार जनाको सनाखत

    चितवन । चितवनको राप्ती नगरपालिका ४ चेपाङ मार्गमा शनिबार भएको अटो दूर्घटनामा ज्यान गुमाएका ५ मध्ये ४ जनाको सनाखत भएको छ ।

    प्रहरीका अनुसार पर्वत कुस्मा नगरपालिका पिपलटारी घर भई चितवनको खैरहनी नगरपालिका–८ बस्ने ४९ वर्षीय श्यामप्रसाद तिवारी, खैरहनी–९ का ४२ वर्षीय विश्वमणी भण्डारी, राप्ती ९ का २५ वर्षीय मीना खड्का र राप्ती नगरपालिका–९ रसौलीका ३२ वर्षीया माया तामाङको सनाखत भएको हो ।

    एक महिलाको भने अझै परिचय खुलेको छैन । अटो चालक खैरहनी नगरपालिका–३ का २६ वर्षीय मणीराम गिरीको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ।

    उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । ना १ ह ६४०९ नम्बरको अटो शनिवार दूर्घटना हुँदा ५ जनाको ज्यान गएको हो ।

  • चितवनमा अटो दूर्घटना, ५ जनाको ज्यान गयो

    चितवनमा अटो दूर्घटना, ५ जनाको ज्यान गयो

    चितवन । चितवनमा शनिबार साँझ भएको अटो दूर्घटनामा पाँच जनाको मृत्यु भएको छ। राप्ती नगरपालिका, ४ चेपाङ मार्गको भित्री सडकमा चौकी डाँडातर्फ गइरहेको अटो दूर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय चितवनले पुष्टी गरेको छ ।

    ना. १ ह ६४०९ नम्बरको अटो अनियन्त्रित भएर पल्टीको हो । अटोमा ६ जना सवार रहेको र पाँचजनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    मृत्यु भएकामध्ये पर्वत कुस्मा नगरपालिका पिपलटारीका ३५ वर्षीय श्यामप्रसाद तिवारीको परिचय खुलेको र अन्यको सनाखत हुन बाँकि रहेको प्रहरीले जनाएको छ ।

    दूर्घटनामा दुई पुरुष र तीन महिलाको निधन भएको हो । दुर्घटनामा अटोका चालकसहित ६ जना गम्भीर घाईते भएका थिए।

    तीनजनाको पुरानो मेडिकल कलेजमा र दुईजनाको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

    एक जनाको भने अहिले पनि उपचार जारी छ । घटनाबारे अनुसन्धान भइरहेका प्रहरीले जनाएको छ ।

  • अन्तरघात गर्नेलाई कारवाही हुन्छ : देउवा

    अन्तरघात गर्नेलाई कारवाही हुन्छ : देउवा

    रुपन्देही । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चुनावमा अन्तर्घात गर्ने नेता तथा कार्यकर्तालाई कारवाही हुने बताएका छन् ।

    पार्टीमा बसेर पार्टीकै मानिसलाई चुनाव हराउन भूमिका खेल्नेहरु माथि कारवाही गरिने चेतावनी उनले दिए ।

    कांग्रेस रूपन्देही सिद्धार्थनगर समितिको दोस्रो नगर भेला उद्घाटन गर्न रुपन्देही पुगेका उनले आधिकारिक उम्मेदवारलाई सहयोग नगरी विद्रोही उम्मेदवार बनेका नेता र प्रस्तावक तथा समर्थकलाई कारबाही हुने उल्लेख गरे ।

    उपनिर्वाचनको समीक्षा गर्न २६ मंसिरमा केन्द्रीय समिति बैठक राखेको उनले उल्लेख गरे । उक्त अवसरमा पाँच जना अपांगता भएका नागरिकलाई ह्वील चियर र ४४ जना गरिब, जेहेन्दार विद्यार्थीलाई साइकल हस्तान्तरण गरेका छन् ।

  • पुरुष क्रिकेटमा स्वर्णको दौडबाट नेपाल आउट, महिला क्रिकेटलाई काश्य

    पुरुष क्रिकेटमा स्वर्णको दौडबाट नेपाल आउट, महिला क्रिकेटलाई काश्य

    काठमाडौं । शनिबार नेपाली फूटबल र क्रिकेटका महत्वपूर्ण खेलहरु सम्पन्न भए । पुरुष फूटबलमा नेपालतर्फ आएको नतिजा पुरुष क्रिकेटमा भने सुखद रहन सकेन ।

    नेपाललाई बंगलादेशको २३ वर्षमुनीकै टोलीले हराइदिएको छ । शनिबार त्रिभुवन विश्वविद्यालयस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न खेलमा बंगलादेश यू-२३ टोलीले नेपाललाई ४४ रनले हराएको हो ।

    हारसँगै नेपाल स्वर्णको दौडबाट बाहिरिएको छ । किनकी यसअघि नेपाल श्रीलंकाको २३ वर्षमुनीको टोलीसँगसमेत हारेको थियो अब नेपालको दौड काश्यमा सिमित भएको छ । शनिबार बंगलादेश  यू-२३  टोलीले नेपाललाई १५६ रनको लक्ष्य दिएको थियो ।

    नेपालले ९ विकेटको क्षतिमा मात्र १११ रन बनाउन सक्यो । नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लको सर्वाधिक ४३ रनबाहेक अन्य ब्याट्सम्यान चल्न सकेनन् । दीपेन्द्र सिंह ऐरीले १६ र अविनाश बोहोराले १३ बनाए ।

    अन्य ब्याट्सम्यानले दोहोरो अंक नै जोड्न सकेनन् । पारस खड्काले मात्र ९ रन जोडे । बंगलादेशका सुमोन खान, तानवीर इस्लाम, सौम्य सरकार र मेहेदी हसनले २\२ विकेट लिएका थिए ।

    बलिङमा नेपालका लागि पूर्वकप्तान पारस खड्काले ३ विकेट लिएका थिए ।

    उता, महिलातर्फ नेपालले काश्य पदक जितेको छ । शनिबार सम्पन्न खेलमा नेपालले माल्दिभ्समाथि १० विकेटको जित निकाल्दै काश्य जितेको हो ।

    पोखरा मैदानमा भएको खेलमा नेपालले कमजोर टिम माल्दिभ्सलाई मात्र ८ रनमा अलआउट गर्न सफल भयो ।

    नेपालकी अञ्जली चन्दले ४ ओभरमा ३ मेडन राख्दै मात्र १ रन खर्चिर ४ विकेट लिन सफल भइन् ।

    उनी चालु प्रतियोगितामा विश्व कीर्तिमान राख्न सफल खेलाडी हुन । उनले समूह चरणकै खेलमा माल्दिभ्सविरुद्ध नै १३ बलमा कुनै पनि रन खर्च नगरी ६ विकेट लिएकी थिइन् ।

    यो महिला क्रिकेटको सर्वाधिक सफल आंकडा हो । ९ रनको लक्ष्य नेपालले भने दोस्रो ओभरमै बीना कुनै विकेटको क्षतिमा भेट्टायो ।