Category: समाचार

  • सांसद कनोडियालाई कांग्रेसको निर्देशन : उखु किसानको वक्यौता तिर

    सांसद कनोडियालाई कांग्रेसको निर्देशन : उखु किसानको वक्यौता तिर

    काठमाडौं । नेपाली कांग्रेसले पार्टीका प्रदेश, ५ संसदीय दलका उपनेता वीरेन्द्र कनोडियालाई उखु किसानको वक्यौता तिर्न निर्देशन दिएको छ।

    बिहीबार केन्द्रीय कार्यसमिति बैठकले कनोडियालाई उखु किसानको भुक्तानी तत्काल गर्न निर्दशन दिएको हो ।

    प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार कनोडिया सञ्चालक रहेको मिलले समेत उखु किसानको भुक्तानी नदिएको समाचारबारे पार्टीको ध्यानाकर्षण भएको उल्लेख गरे ।

    उनले वक्तौता यथासिघ्र भुक्तानी गराउन निर्देशन दिइएको समेत जानकारी दिए ।

    त्यसो त कनोडिया स्वयम उद्योग मन्त्रालयमा उपस्थित भई वक्यौता तिर्ने प्रतिवद्धता व्यक्त गरिसकेका छन् । उनी महालक्ष्मी सुगर्सका सञ्चालक हुन्।

    उनले उखु किसानको २१ करोड वक्यौता तिर्न बाँकी रहेको छ।

    यसैबीच बैठकले आसन्न राष्ट्रियसभामा निर्वाचनमा समाजवादीसँग तालमेल गर्ने तयारी गरेको छ ।

    त्यसका लागि नेताहरुसँग भेटघाट भइरहेको प्रवक्ता शर्माले जानकारी दिए । बिहीबार पनि पौडेल र सिटौला पक्षधर नेताभने बैठकमा सहभागी थिएनन् ।

  • सर्वोच्च अदालतले माग्यो सुगौली सन्धीयताका नक्सा, के आउला फैसला ?

    सर्वोच्च अदालतले माग्यो सुगौली सन्धीयताका नक्सा, के आउला फैसला ?

    काठमाडौं । सर्वोच्च अदालतले सीमा विवादका सम्बन्धमा सन् १८१६ को सुगौली सन्धी यताका नेपालका आधिकारिक नक्सा उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ ।

    सन्धीको अनुसूचीसहितको प्रतिलिपि तथा नेपालको आधिकारिक नक्सा १५ दिन पेश गर्न सरकारका नाममा आदेश आएको छ ।

    न्यायाधीश हरि फुयालको एकल इजलासले सुगौली सन्धिदेखि कै दस्तावेज संकलन गर्न समत सरकारलाई आदेश दिएको छ वरिष्ठ अधिवक्ता विश्वप्रकाश भण्डारीको रिटमा सर्वोच्चबाट यस्तो आदेश भएको छ ।

    ‘नेपाल सरकारले सन् १९५५ मा संयुक्त राष्ट्रसंघको सदस्य हुँदा तथा अन्य अन्तर्राष्ट्रिय वा क्षेत्रीय संगठनहरुको सदस्य हुँदा सार्वभौम नेपालको अस्तित्व दर्साउने कुनै सन्धि,नक्सा वा दस्तावेज पेश गरेको भए त्यसको प्रतिलिपिहरु लिखित जवाफका अनुसूचीको रुपमा पेश गर्न लगाउनू, आदेशमा भनिएको छ ।
    नेपालको दार्चुला जिल्लास्थित लिम्पियाधुराको क्षेत्रको प्रश्न समाधान गर्ने अन्य कुनै राष्ट्रिय वा अन्तर्राष्ट्रिय रुपमा उपलब्ध सामागी भए झिकाउनसमेत अदालतले आदेश गरेको छ ।

    सन् १८४६ मा लण्डनबाट प्रकाशित भएको भनिएको नेपाल सहितको नक्साको प्रतिसमेत उपलब्धसमेत उपलब्ध गराउन आदेश गरिएको छ ।

  • गायक राेशन गुरुङलाई मातृशोक

    गायक राेशन गुरुङलाई मातृशोक

    न्यूह्यामसर

    गायक रोशन गुरुङलाई मातृशोक परेको छ । गुरुङकी आमा बेममाया गुरुङको काठमाडौँ स्थित ओम अस्पतालमा स्थानीय समय अनुसार सोमबार अपरान्ह सवा तीन बजे देहावसान भएको हो । फोक्सोको क्यान्सरबाट पिडित गुरुङ बि. सं. १९९८ सालमा जन्मिएकी थिइन् ।

    स्वर्गीय गुरुङका पाँच छोरा र चार छोरी रहेका छन् । नेपाली आधुनिक गायनका लोकप्रिय गायक रोशन उनका साइँला छोरा हुन् । रोशन सहित कान्छा छोरा नरेन्द्र न्यूह्यामसरको मेनेचेष्टरमा बसोबास गर्दै आएका छन् ।

    इलामको माइमझुवामा जन्मिएकी गुरुङको इलामकै नयाँबजारमा विवाह भएको थियो । पछिल्लो समय गुरुङ श्रीमान् र छोराहरुसँग काठमाडौँको टोखामा बसोबास गर्दै आएकी थिइन् ।

  • दोलखाका तत्कालिन प्रजिअ रिजाल पक्राउ

    दोलखाका तत्कालिन प्रजिअ रिजाल पक्राउ

    काठमाडौं । दोलखाका तत्कालिन प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल पक्राउ परेका छन् । सेवाग्राहीसँग घुस लिएको आरोपमा उनी निलम्बनमा परेका थिए । उनी उपसचिव हुन ।

    रिजाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार पक्राउ गरेको पुष्टी गरेको छ । रिजालले गरेको भ्रष्टाचार कसुरबारे अनुसन्धान गर्न उनलाई पक्राउ गरेको अख्तियारको भनाई छ ।

    सेवाग्राहीसँग घुस प्रकरणमा मुछिएपछि गृहले उनलाई मन्त्रालय तानिएको थियो ।

    अख्तियारले अनुसन्धान थालेपछि उनी निलम्बनमा परेका हुन । सार्वजनिक मुद्दा मिलाउने नाममा पीडकसँग बढी पैसा लिएको आरोप उनीमाथि छ ।

  • घरबहालमा बस्नेको विवरण प्रहरीलाई दिनुपर्ने

    घरबहालमा बस्नेको विवरण प्रहरीलाई दिनुपर्ने

    काठमाडौं । काठमाडौं उपत्यकासहित शहरी इलाकामा अब घर बहालमा बस्नेहरुको विवरण घरबेटीले प्रहरीलाई बुझाउनु पर्ने भएको छ ।

    गृह मन्त्रालयमा मंगलबार सरोकारवालाको बैठक बसेको थियो । बैठकले काठमाडौं उपत्यकासहित देशभर आपराधिक गतिविधि बढेको निष्कर्ष निकाल्दै विवरण बुझाउनु पर्ने निर्ण गरेको हो ।

    खासगरी मुख्य सहरी क्षेत्रमा घरभाडा लिएर विभिन्न व्यक्ति र समूहले आपराधिक गतिविधि गरिरहेको गृह प्रशासनको निष्कर्ष रहेको छ।

    मंगलबार गृह मन्त्री रामबहादुर थापा र सचिव प्रेमकुमार राईले सुरक्षा संयन्त्रका प्रमुखहरुसँग छलफल गरेको थियो ।

    बैठकले आपराधिक गतिविधि रोक्न प्रहरीलाई आवश्यक कदमका लागि निर्देशन समेत दिएको छ ।

    पछिल्लो केही दिनयता चिनियाँ नागरिकलाई काठमाडौंमा भाडामा बसेर आपराधिक गतिविधि गरेको आरोपमा प्रहरीले पक्राउ गरेको थियो ।

    चोरी, डकैती, लुटपाट, बैंकिङ कसुरजस्ता आर्थिक अपराध, साइबर अपराध, यौनजन्य क्रियाकलाप तथा विस्फोटक पदार्थ भण्डारणमा समेत कोठा प्रयोग भइरहेको जनाएको छ ।

    मुख्य शहरी इलाकामा घर भाडामा दिने र लिने व्यक्ति, संस्था, कार्यालयको विवरण नजिकको प्रहरी कार्यालयमा बुझाउन बैठकले आह्वान गरेको छ ।

  • संसदीय समितिले भन्यो : अतिक्रमित जमिन खाली गराउ

    संसदीय समितिले भन्यो : अतिक्रमित जमिन खाली गराउ

    काठमाडौं । संसदीय समितिले नेपालको अतिक्रमित भूमी खाली गराउन सरकारका नाममा निर्देशन दिएको छ ।

    भूमी खाली गराएर नयाँ नक्सा जारी गर्न संघीय संसदको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिले सरकारलाई निर्देशन दिएको हो ।

    समितिले मंगलवार गृहमन्त्री रामबहादुर थापा बादल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, भूमिसुधारमन्त्री पदमा अर्यालसहित सरोकारवालालाई बोलाएर छलफल गरेको थियो ।

    छलफलपछि समितिले निर्देशन जारी गर्दै अतिक्रमण भएको भूमि खाली गर्न निर्देशन दिएको हो ।

    अतिक्रमित भूमिसमेत समेटेर नयाँ नक्सा जारी गर्न र त्यसलाई सरकारी कामकाज तथा शिक्षण संस्थामा समेत प्रयोग गर्न समेत निर्देशन दिएको छ ।

    सरकारलाई राज्य व्यवस्था समिति र अन्तर्राष्ट्रिय सम्बन्ध समितिले समेत अतिक्रमित भूमि राखेर समेटेर नक्सा सार्वजनिक गर्न निर्देशन दिइसकेका छन् ।

    समितिले अतिक्रमणमा परेका स्थानमा आवश्यकताअनुसार नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी सबै मौसममा बस्न सक्ने गरी सुरक्षा चौकी निर्माण तथा तैनाथ गर्न समेत समितिले निर्देशन दिएको बताएको छ ।

    सो कामका लागि चाहिने जग्गा र बजेट समेत उपलब्ध गराउन पनि समितिले सरकारका नाममा निर्देशन जारी गरेको छ ।

    लिम्पियाधुरा, लिपुलेक, कालापानी, सुस्तालगायत अतिक्रमणमा परेका क्षेत्रमा नेपालको नियन्त्रण सुदृढ गर्न, आफू मातहतमा ल्याउन र विदेशी फौज हटाउने विषयमा प्रभावकारी वार्ता गर्न समेत समितिले सरकारलाई निर्देशन दिएको छ ।

    अतिक्रमित क्षेत्रमा बस्ने नागरिकलाई शिक्षा, स्वास्थ्य, बाटोलगायत सुविधा दिन र सीमा क्षेत्रका सबै समस्या अभिलेख तयारी गरी त्यस क्षेत्रमा आवश्यक कदम चाल्न सरकारलाई भनेको छ ।

  • मुक्तकमा ‘लिम्पियाधुरा’

    मुक्तकमा ‘लिम्पियाधुरा’

    कल्पना घिमिरे

    न्यूयोर्क/अमेरिका

    एउटा प्रतिध्वनि लिम्पियाधुराको भीर पहराबाट…
    लुटतन्त्रको आगोमा शिशु लोकतन्त्र पोलिदिएकै छु (२)
    सीमा छ बिक्री किस्ताबन्दीमा, मेची महाकाली खोलिदिएकै छु ।
    किन बहुलाउँछन् निरिह नेपाली फलाक्दै ‘कालापानी’ ? (२)
    ‘एक इन्च जमिन छोडिदैन’ हावा कुरो बोलिदिएकै छु ।।

    सीमा मिचिएको विषयमा अत्यन्तै चिन्ता ब्यक्त गर्दै साहित्यकार मधु माधुर्यले बाचन गरेको मुक्तक हो यो । नेपाल मुक्तक प्रतिष्ठान अमेरिका शाखाले गत शनिबार आयोजना गरेको मुक्तक वाचनमा सहभागी केही साहित्यकारहरुले नेपालको पूर्वी सीमाना लिपुलेक, कालापानी र लिम्पियाधुरा मिचिएको बारे निकै रोचक ढंगले सरकारलाई कडा ब्यङ्ग गरे । २ लाइनको छोटो तर अनगिन्ति शब्द अटाउने सन्देश बोकेका मुक्तक बाचन गरिरहँदा कार्यक्रममा सहभागीहरुको वाहवायी गुञ्जिएको थियो । अर्का साहित्यकार गोबिन्द कोइरालाले लिम्पियाधुरालाई यसरी ब्यङग्य गरे ।

    महको लोभमा फसेको झिँगो, किन हेथ्र्यो र धारिलो छुरा,
    झिँगो फसाउन साह्रै सिपालु जालो बुन्दै छ माकुरा,
    निदाएको बहानामा रातभरी खुसुर–पुसुर गर्दै
    बालुवाटार मै टार घोक्नु छ, ‘छु मतलब’ त्यो लिम्पियाधुरा ?

    कार्यक्रममा सहभागी हुन अमेरिकाका बिभिन्न राज्यबाट आएका साहित्य अनुरागीहरुले मुक्तक सुनाएका थिए । बोस्टन, न्यु ह्याम्पसायर, न्युजर्सी, नर्थ क्यारोलिनाबाट साहित्यकारहरुको सहभागिता थियो । बरिष्ठ कानुनविद् विनोद रोक्का, डा.गोविन्द कोइराला, डा.मधु माधुर्य, पुष्कर बराल, एनबी दाहाल, यादब गौतम, राजन महर्जन , शारदा क्षेत्री, तुलसी चित्रकार, कृष्ण कुसुम, विकास विष्ट, गोबद्र्धन पुजा, मिलन शाही लगायतले सुनिरहुँ लाग्ने मुक्तक सुनाएका थिए ।
    कार्यक्रममा अन्तराष्ट्रिय साहित्य समाज बोर्डको नवगठित कार्यसमितिका अध्यक्ष गीता खत्री, अन्तराष्ट्रिय नेपाली साहित्य समाज न्यूयोर्क च्याप्टरकी अध्यक्ष शकुन ज्ञवाली लगायत सबै बोर्ड सदस्यहरुलाई प्रतिष्ठानका तर्फबाट सम्मान गरिएको थियो । मदन पुरस्कार बिजेता ‘योगमाया’ पुस्तककी लेखक निलम कार्की निहारिकालाई बिशेष सम्मान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि नेपाली महावाणिज्यदूत पुष्पराज भट्टराई र प्रतिष्ठानका अध्यक्ष आनन्द श्रेष्ठले खादा र प्रमाणपत्रले साहित्यकारहरुलाई सम्मान गरेका थिए ।


    कार्यक्रममा बोल्दै नेपाली महावाणिज्यदूत भट्टराईले बिदेशमा रहेर हाम्रो धर्म, साहित्य, कला संस्कृतिबारे अमेरिकामा हुर्किरहेका बालबालिकालाई सिकाउन प्रष्तिष्ठानले मुख्य भूमिका खेल्न आग्रह गरे । साथै नेपाली साहित्यलाई विश्वभर फैलाउनुपर्नेमा जोड दिए ।
    प्रतिष्ठानका महासचिब ज्योतिकुमार श्रेष्ठले साहित्यका बिभिन्न पाटाहरुसंग जोडिदै प्रतिष्ठानले बिशेष गरी मुक्तक लेख्ने साहित्यकारहरु संग नजिक रहेर काम गर्ने बताए ।
    कार्यक्रममा बिभिन्न विषयबस्तु बारे मुक्तक सुनाइएको थियो । कतिपय साहित्यकारहरुले सामाजिक सञ्जाल फेसबुकले हाम्रो समाजमा भित्र्याएका बिकृति र बिसंगतिमाथि ब्यङ्ग्य गरेका थिए । फेसबुकलाई ब्यङग्य गर्दै सारदा श्रेत्री भन्छिन्,
    फेसबुकको साथी न–जन्ति न–मलामि बन्छन् रे ।
    कति कमेन्ट कति लाइक आएछ भनि गन्छन रे ।।
    इन्टरनेटको जमानाले पनि के के गर्यो हजुर ।
    उपस्थिति बिना श्रद्धाञ्जली दिँए भन्छन् रे ।।

  • रिजउडमा बन्ने दुर्गा मन्दिरको भवन नक्सा पास

    रिजउडमा बन्ने दुर्गा मन्दिरको भवन नक्सा पास

    कल्पना घिमिरे

    न्यूयोर्क/अमेरिका
    रिजउडमा बन्ने भनिएको दुर्गा मन्दिर र नेपाली सांस्कृतिक केन्द्रको भवनको नक्सा पास भई निर्माण कार्य प्रक्रिया अघि बढेको छ । रिजउड नेप्लिज सोसाइटिले आइतबार ज्याक्सन हाइटमा पत्रकार सम्मेलन गरी महापूराणमा दान कबुल गर्ने दाताहरुलाई जतिसक्दो चाँडो रकम दिन आग्रह गरेको छ ।
    न्यूयोर्कमा नेपालीहरुको सामुदायिक भवन र दुर्गा मन्दिर स्थापना गर्ने उदेश्यले नै सन् २०१७ अगस्ट २३ देखि २९ सम्म ज्याक्सन हाइटमा महापूराणको आयोजना गरिएको थियो । महापूराणको दुई वर्ष भित्रमा भवन निर्माण कार्य थालनी गर्ने भनिए पनि नक्सा पास गर्न निकै झमेला र अफ्ठेरो खेप्नु परेकोले समयमै सुरु गर्न नसकिएको सोसाइटिले जनाएको छ । ‘तर, दुई वर्षको अथक प्रयास पछि हामी नक्सा पास गर्न सफल भएका छौं’ भवनको नक्सा तयार गर्ने इन्जिनियर सूर्य लम्सालले भने, ‘भवन बेसमेन्ट सहित चार तल्लाको हुनेछ । भवनको क्षेत्रफल ८ हजार ३ सय ५० वर्ग स्क्वाएर फिट हुनेछ ।’ मन्दिरको ठेगाना १६–४७, हेन्कक स्ट्रिट, फ्लसिङ न्यूयोर्क, ११३८५ हुनेछ ।


    दुर्गा मन्दिर बिधान २०१९ अनुसार मन्दिरको संस्थापक बन्नका लागि डिसेम्बर ३१, २०१९ सम्ममा कबुल गरेको रकमको ५० प्रतिशत बुझाउनु पर्नेछ भने जुन ३०, २०२० सम्ममा पुरै रकम दिइसक्नु पर्नेछ । मन्दिर बनिसकेपछि संस्थापक (फउन्डिङ मेम्बर) बन्ने ब्यवस्था छैन ।
    सोसाइटिले विगतमा दुई वटा महापूराण आयोजना गरेको थियो । सन् २०१० र २०१७ मा गरिएको महापूराणबाट २२ लाख ३ हजार ६ सय ५३ अमेरिकी डलर संकलन हुने कबुल गरिएको थियो । तत्काल रकम दिन नसक्ने दाताहरुबाट कबुल गरिएको रकममध्ये हालसम्म आधा रकम पनि भुक्तानी भएको छैन । त्यसमध्ये हालसम्म ८ लाख ११ हजार ३ सय ६३ अमेरिकी डलर नगद भुक्तानी भएको छ ।

    कबुल गरेको रकम छिट्टो दिन दाताहरुलाई अनुरोध

    १३ लाख ९२ हजार २ सय ८९ अमेरिकी डलर रकम उठ्न बाँकी रहेकाले उक्त रकम छिट्टै भुक्तानी गर्न अनुरोध गरिएको हो । ‘हामीलाई अहिले काम सुरु गर्नै समस्या परेको छ’ सोसाइटिका अध्यक्ष राजेश भट्ट भन्छन्, ‘यस्तो पबित्र कार्यमा कबुल गर्नुभएको दान भुक्तान गरेर अब हामीलाई मन्दिर निर्माण कार्यमा सहयोग गर्नुस् ।’ हालसम्म उठेको ८ लाख रकम बाट जग्गा किनेको, आर्किटेक्टलाई तिरेको र महापूराणमा भएको खर्च कटाएर हाल २ लाख मात्र खातामा जम्मा रहेको जनाइएको छ । नपुग रकम बैंकबाट ऋण लिने र अन्य दाताहरुको खोजी गर्ने काम पनि भइरहेको अध्यक्ष भट्टले बताए । ‘सन् २०२० को जुन महिना भित्र सबै रकम बुझाउनु हुन बिशेष अनुरोध गर्दछौ’ उनले भने । आगामी जुन महिना भित्र उठाउनु पर्ने दान रकम उठाई भवन निर्माणको जमिन खन्न अनुमति लिने सोसाइटिको योजना छ ।
    महापूराणमा ९ सय ९६ दाताहरुले मन्दिर निर्माणका लागि दान दिने कबुल गरेका थिए । जसमध्ये १८० जनाले ५ हजार अमेरिकी डलर भन्दा माथि दान कबुलेका थिए भने १२ जनाले ३० हजार अमेरिकी डलर भन्दा माथि दान दिने प्रण गरेका छन् । अधिकांशले मन्दिर बन्ने खबर सुनेर उत्साहका साथ कबुल गरेको रकम बुझाइरहेको पनि सोसाइटिले जनाएको छ ।
    न्यूयोर्कमा सञ्चालित बिभिन्न संघ संस्थाहरुले निकै ठूलो रकम दिने प्रण गरेका थिए । तर, दुई वर्ष बितिसक्दा आधा रकम पनि बुझाएका छैनन् । त्यतिबेला प्रवासी नेपाली मञ्चले १ लाख ११ हजार १ सय ११ दिने कबुल गरेको थियो । हालसम्म २४ हजार मात्र बुझाएको छ । सुरुवाती चरणमा नियमित मासिक बुझाउँदै आएपनि बिचमा केही बिबादित बिषयमा सोसाइटि अग्रसर भएकाले केही समय रकम रोकिएको मञ्चका पूर्व अध्यक्ष सञ्जय थापाले जानकारी दिए । ‘सरकारको प्रतिनिधित्व गर्दै नेपालबाट आएका प्रधानमन्त्री, मन्त्रीहरु हाम्रा अथिति हुन् उनीहरुलाई दुव्र्यवहार गर्नु गलत हो भन्ने सोसाइटिले बुझ्नु पर्छ’ उनले भने, ‘सोसाइटिले गल्ती गरेको महसुस गरिसकेपछि हामीले यही डिसेम्बर महिनाबाट पुन रकम भुक्तानीलाई निरन्तरता दिएका छौं । हामीले मन्दिर निर्माण कार्यमा सहयोग होस र हाम्रो देखेर अन्य दाताहरुलाई पनि प्रोत्साहन मिलोस भन्ने ठानेर संस्थाका साथीहरुसंग छलफल गरीकन यति ठूलो रकम घोषणा गरेका हौं ।’
    नेपाली जनसम्पर्क समितिले १ लाख २५ हजार कबुल गरेकोमा हालसम्म ५ हजार २५१ मात्रै बुझाएको छ । रकम संकलनका लागि समितिका सभापित आनन्द बिष्ट संग कुरा भइरकेको अध्यक्ष भट्टले जानकारी दिए । अध्यक्ष भट्टले ७५ हजार दान दिने घोषणा गरेकोमा पुरै रकम भुक्तानी गरिसकेका छन् ।
    सोसाइटिका पूर्व अध्यक्ष पराजुली ले १ लाख १ हजार १ सय ११ कबुल गरेकोमा ४९ हजार ७८ बुझाइसकेका छन् । महापूराणका बेला गैर आवासीय नेपाली संघ एनआरएन अमेरिकाका पूर्व अध्यक्ष पौडेलले १ लाख दिने प्रतिवद्धता गरेका थिए । साथै टेक्सासका व्यवसायी गौरी जोशीले ६१ हजार १५० दिने घोषणा गरेका थिए । रिजवुड नेपाली समाजका संस्थापक अध्यक्ष मोहन ज्ञवालीले ५० हजार, बरिष्ठ अधिवक्ता खगेन्द्र श्रेत्रीले ३५ हजार, केशब शेढाइले ३५ हजार, जनक पराजुलीले २२ हजार २ सय २२, अधिबक्ता रमेश श्रेष्ठले २० हजार दान कबुल गरेका थिए ।
    कबुल गरेको रकम भुक्तानी गराउनका लागि बारम्बार फलो अप गरिरहेको सोसाइटिका महासचिब दिपक राज काफ्लेले बताए । ‘हामीले फोन गरेर, घरमा चिठ्ठी पठाएर ताकेता गरिरहेका छौं’ उनले भने, ‘केही रकम उठिरहेको पनि छ ।’

  • सामाजिक सञ्जाल प्रयोगकर्ताका लागि कडा कानून बन्दै

    सामाजिक सञ्जाल प्रयोगकर्ताका लागि कडा कानून बन्दै

    काठमाडौं । नेपालमा सामाजिक सजाल प्रयोगकर्ताका लागि कडा कानून बन्ने भएको छ । संसदको विकास तथा प्रविधि समितिले ‘सूचना प्रविधिसम्बन्धी विधेयक’ बहुमतले पारित गरेको छ ।

    जसमा सामाजिक सञ्जाल प्रयोगकर्ताका लागि कडा कानूनी प्रावधान राखिएका छन् । यसमा प्रमुख विपक्षी नेपाली कांग्रेसले विरोध जनाएको थियो । तर, बहुमत नेकपाको रहेका कारण विधेयक पारित भएको हो ।

    यो विधेयक अब प्रतिनिधिसभामा लैजान योग्य भएको छ । प्रतिनिधि र राष्ट्रिय दुबै सदनबाट पास भएमा यसले कानूनको रुप लिनेछ । त्यसपछि सामाजिक सञ्जालको ्रयोगमा सरकारले कडा निगरानी गर्ने भएको छ ।

    अब सामाजिक सञ्जालमार्फत कुनै व्यक्तिलाई जिस्क्याउने, होच्याउने, घृणा वा द्वेष उत्पन्न गराउने, चरित्र हत्या गर्ने वा गाली बेइज्जती गर्ने प्रकृतिका पोष्टहरु कानूनी रुपमा अपराध मानिनेछ ।

    त्यस्तो पोष्ट गर्ने मानिसलाई पाँच बर्षसम्म कैद र १५ लाखसम्म जरिवानाको प्रावधान विधेयकमा राखिएको छ ।

    सरकारले विधेयकमा तीन वर्षसम्म कैद वा तीस हजारसम्म जरिवाना वा दुबै सजाय गर्ने प्रस्ताव गरेकोमा समिति यसमा अझै कठोर बनेको हो ।

    कसैको चरित्र हत्या गर्ने र राष्ट्रिय स्वाधीनतामा खलल पुग्ने सामाग्री सरकारले हटाउन सम्बन्धित प्रयोगकर्तालाई निर्देशन दिन सक्ने र नमाने कारवाहीको भागिदार हुनुपर्नेछ ।

    विधेयकमा प्रमुख प्रतिपक्षी दल कांग्रेसले भने सहमति जनाएको छैन । फौजदारी न्यायको सिद्धान्त र अभिव्यक्ति स्वतन्त्रता विपरीत आएका प्रावधान कांग्रेसलाई मान्य नभएको नेपाली कांग्रेसले उल्लेख गरेको छ ।

    अब नेपालमा सञ्जाल दर्ताले अनिवार्य दर्ता समेत गर्नुपर्छ । फेसबुक, ट्वीटर, इन्स्टाग्रामजस्ता सामाजिक सञ्जालको आफ्नो कार्यालय नेपालमा राखेर दर्ता गर्नुपर्ने प्रावधान विधेयकमा राखिएको छ ।

  • धनुषा विस्फोट विप्लव माओवादी गराएको प्रहरीको निष्कर्ष

    धनुषा विस्फोट विप्लव माओवादी गराएको प्रहरीको निष्कर्ष

    धनुषा । एक प्रहरी अधिकारीसहित ३ जनाको ज्यान जाने गरी धनुषामा भएको बम विस्फोटमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको हात हरेको निष्कर्ष प्रहरीले निकालेको छ ।

    अनुसन्धानका दौरान विप्लव कार्यक्रताबाट विस्फोट गराएको निष्कर्षमा प्रहरी पुगेको हो । २७ मंसिरमा धनुषाको महेन्द्रनगरमा प्रहरी निरीक्षक अमिर दाहालसहित तीन जनाको ज्यान जाने गरी बम बिस्फोट भएको थियो ।

    विष्फोटमा राजेश साह र उनका छोरा उन्नत साहको पनि ज्यान गएको थियो । प्रहरीका अनुसार त्यहा टाइम बम विस्फोट भएको थियो ।

    खासगरी विप्लव माओवादीको खोल ओढेर तराईमा आपराधिक गतिविधि गर्ने व्यक्तिले यो हर्कत गरेको प्रहरीको निष्कर्ष रहेको छ ।

    विस्फोटपछि प्रहरीले केही व्यक्ति पक्राउ गरेको छ । उनीहरु विप्लव समूहका लागि पैसा उठाउने गर्थे ।

    बम राख्नुअघि पटक, पटक राजेशलाई धम्की दिएको प्रहरी अनुसन्धानमा देखिएको छ । मृतक राजेश साह औषधी व्यवसायी थिए। उनी ब्याजमा पैसा लगानी गर्ने काममा समेत सक्रिय थिए ।

  • माओवादी नेता सीपी गजुरेललाई प्रहरीले समातेर छाड्यो

    माओवादी नेता सीपी गजुरेललाई प्रहरीले समातेर छाड्यो

    काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) का उपाध्यक्ष सीपी गजुरेललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    अपरान्ह सिंहदरबार प्रवेश गर्ने क्रममा पक्राउ परेका उनीसहित १५ जना नेता, कार्यक्रतालाई प्रहरीले साँझ छाडेको छ ।

    सिंहदरवारमा हुलदंगा गरी प्रहरीमाथि ढुंगामुडा गर्न उत्रिएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

    प्रहरीका अनुसार गजुरेलले सीमा अतिक्रणका विषयमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेललाई ज्ञापनपत्र बुझाउन समय लिएका थिए । पोखरेलले समय पनि दिएका थिए ।

    तर, नेता गजुरेल दलबलसहित सिंहदरबार पस्न खोजेपछि प्रहरीले रोकेको थियो ।

    त्यसपछि भने प्रहरी र माओवादी कार्यक्रताबीच झडपको स्थिति उत्पन्न भएको थियो ।

    प्रहरीमाथि भएको ढुंगामुडामा दुई जना प्रहरी घाइते भएको महानगरीय प्रहरी कार्यालयले जनाएको छ ।

    पक्राउ पछि माओवादी नेताहरुलाई प्रहरीले प्रदर्शनमार्गस्थित पुलिस क्लबमा राखेको थियो । उनीहरु साँझ नै रिहा भएका छन् ।

  • प्रदेश ३ को नाम बाग्मती, राजधानी हेटौडा राख्ने नेकपाको निर्णय

    प्रदेश ३ को नाम बाग्मती, राजधानी हेटौडा राख्ने नेकपाको निर्णय

    काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रदेश नम्बर ३ को नाम बाग्मती राख्ने र स्थायी राजधानी हेटौंडा बनाउने निर्णय गरेको छ ।

    नेकपाको आइतबार बिहान बसेको नेकपा सचिवालय बैठकले प्रदेशको नाम र राजधानीको टुंगो लगाएको हो ।

    बैठकले प्रदेशको नाम बाग्मती र राजधानी हेटौंडा कायम गर्ने गरी प्रदेश कमिटी तथा प्रदेशसभा दललाई निर्देशन दिने निर्णय गरेको हो ।

    प्रदेशको नाम र राजधानीमा नेताहरुबीच सहमति नभएका कारण अझै चार वटा प्रदेशले नाम र राजधानी टुंगो लगाउन सकेका छैनन् ।

    त्यसमा प्रदेश नं ३ पनि एक हो । प्रदेशको नाममा नेपाल मण्डल, नेवा ताम्सालिङ र बाग्मती गरी तीन विकल्पमा छलफल भएको थियो ।

    राजधानीका लागि भने काभ्रे, भक्तपुर र हेटौंडा गरी तीन विकल्पबाट हेटौडा छानिएको हो । हैटौडा अस्थायी राजधानी तोकिएको शहर हो ।

    प्रदेश ३ प्रदेशसभामा नेकपाको दुई तिहाई बहुमत रहेका कारण नेकपाले सिफारिस गरेकै नाम र राजधानी कायम हुने निश्चित भएको छ ।

  • संस्थापन पक्षले निर्णय सच्याउनु पर्छ : पौडेल

    संस्थापन पक्षले निर्णय सच्याउनु पर्छ : पौडेल

    काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले १४ औं महाधिवेशन र विभाग गठनका सम्बन्धमा भएका निर्णय सच्चिनु पर्ने बताएका छन् ।

    शनिबार महामन्त्री शशांक कोइरालाको निवास महाराजगञ्जमा पोडेल पक्षधर नेताहरुको बैठकपछि आयोजित पत्रकार सम्मेलनका दौरान उनले यस्तो बताएका हुन् ।

    पत्रकार सम्मेलनमा कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंह पौडेलसँगै उपस्थित थिए ।

    पौडेलले सभापति शेरबहादुर देउवाको एकलौटी निर्णयले पार्टी धरापमा पर्ने उल्लेख गरे ।

    देउवाले आफू पक्षका केन्द्रीय सदस्य मात्र उपस्थिति भएको शुक्रबारको केन्द्रीय समिति बैठकबाट १४ औं महाधिवेशन ०७७ फागुन ७ देखि १० सम्म काठमाडौंमा गर्ने गरी मिति तोकेको थिए ।

    २८ विभाग रहेको कांग्रेसमा केन्द्रिय विभागको संख्या समेत ४७ वटा पुर्याउने निर्णय उनले बहुमतका आधारमा गरेका थिए ।

    शुक्रबारको बैठकमा पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षका केन्द्रीय सदस्य उपस्थित नभएको मौकामा संस्थापन पक्षले उक्त निर्णय गरेको थियो ।

    पौडेलले विधानको घेराभित्र रहेर सहमतिअनुसार पार्टी सञ्चालन गर्नुपर्नेमा पेलेर जाने काम भएको बताए ।

    भातृ संस्था नेविसंघ, दलित संघजस्ता संघको अधिवेशन नगराउनु पार्टीलाई संकटतर्फ धकेल्नु बराबर भएको उनको भनाई छ ।

  • नेपाली समाज टेक्ससमा शर्मा

    नेपाली समाज टेक्ससमा शर्मा

    टेक्सस

    नेपाली समाज टेक्ससमा दिनेश शर्माको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । 

    अध्यक्ष सहितको पदाधिकारीमा पद संख्या अनुसार नैं उम्मेद्वारी दाखेला भएपछि अध्यक्ष सहितको पदाधिकारी निर्विरोध निर्वाचित भएको थियो । तर कार्यसमिति सदस्यमा भने ६ पदका लागि ७ जनाको उम्मेद्वारी परेको थियो । कार्यसमिति सदस्यमा उम्मेद्वारी दिएकी निर्मला राईले समाजलाई मिलाएर लैजानका लागि निर्वाचनमा जानु हुदैंन भन्दैं उम्मेद्वारी फिर्ता लिएपछि निर्वाचन नहुने भएको हो । 

    समाजका निर्वतमान अध्यक्ष सुमन थापा र महासचिव भक्त भण्डारीले सर्वसम्मतीका लागि आवश्यक वातावरण मिलाएको बताइन्छ । 

    समाजको नर्या समितिको अध्यक्षमा दिनेश शर्मा, वरिष्ठ उपाध्यक्षमा राजेन्द्र वाग्ले, सचिवमा नारायण हरी खड्का, कोषाध्यक्षमा मधु खरेल, सह-कोषाध्यक्षमा विवेक कंडेल तथा सदस्यहरुमा विकास उप्रेती, दिनेश न्यौपाने, पशुपति तिमिल्सेना, किरण पौडेल, राजु नेपाल र युधिष्ठिर नेपाल रहेका छन् । 

    उम्मेद्वारी दाखिला नभएका महासचिव लगायतका रिक्त पदहरुमा पछि मनोनयन गरिने बताइएको छ ।

  • राजधानीमा अब प्रहरीको आँखा  लागुऔषध कारोबारी र प्रयोगकर्तातर्फ

    राजधानीमा अब प्रहरीको आँखा लागुऔषध कारोबारी र प्रयोगकर्तातर्फ

    काठमाडौं । प्रहरीले काठमाडौंमा चोरी, लागूऔषध ओसारपसार तथा बेचविखनविरुद्ध कारवाही तिब्र बनाएको छ । स्वीप अपरेसनका दौरान शुक्रबार मात्र सयौं मानिस समातिएका छन् ।

    बिहीबार र शुक्रबार गरी २ सय भन्दा बढी व्यक्ति पक्राउ परिसकेको प्रहरीले जनाएको छ ।

    बसुन्धरा, टोखा, बाँसबारी, मन्डिखाटार, गौशाला, चाबहिल र बानेश्वर क्षेत्रबाट ति व्यक्ति पक्राउ परेको महानगरीय प्रहरी आयुक्तको कार्यालयले जनाएको छ ।

    स्थानीय प्रहरीको अगुवाईमा कार्यालयले टोली नै खटाएर लागु औषधका कारोबारी र प्रयोगकर्ताविरुद्ध कारवाही तिब्र बनाएको छ ।

    अहिले राजधानीमा लागु औषध प्रयोगकर्ताका कारण धेरै पारिवारिक किचलो, अपराधका घटना घटिरहेका छन् ।

  • कांग्रेसमा किचलो बल्झने संकेत, पौडेल समूहको भेला आज

    कांग्रेसमा किचलो बल्झने संकेत, पौडेल समूहको भेला आज

    काठमाडों । कांग्रेस सभापति शेरबहादुर देउवासहित संस्थापन पक्षले केन्द्रीय कार्य समितिको अवधि एक बर्ष बढाएपछि कांग्रेसमा जारी किचलो अझ बढ्ने भएको छ ।

    बहुमतबाट एकलौटी निर्णय आएपछि वरिष्ठ नेता रामचन्द्र पौडेल र उनका पक्षका नेता भने असन्तुष्ट छन् ।

    शनिबार पौडेल पक्षका नेताहरु भेला हुँदैछन् । महामन्त्री डा. शशांक कोइरालाको निवासमा पौडेल निकट नेताहरु भेला हुने तयारी छ ।

    त्यसपछि पत्रकार सम्मेलनमार्फत ौडेल पक्षले आफ्नो धारणा सार्वजनिक गर्ने भएको छ ।

    देउवा पक्षले पेलेरै जाने नीति लिएपछि पौडेल पक्षधर असन्तुष्ट बनेको छ । पौडेल पक्षको भेलामा नेता कृष्णप्रसाद सिटौला पनि सहभागी हुँदैछन् ।

    सभापति देउवाको नेतृत्वमा शुक्रबार बसेको केन्द्रीय कार्य समिति बैठकले पार्टीको १४ औं महाधिवेशन आगामी २०७७ फागुनमा गर्ने निर्णय गर्दै कार्यकाल एक वर्ष लम्ब्याउने निर्णय गरेको हो । कांग्रेस विधानअनुसार हरेक ४ वर्षमा महाधिवेशन हुनुपर्छ।

  • मकवानपुरमा जीप दुर्घटना, ५ को ज्यान गयो

    मकवानपुरमा जीप दुर्घटना, ५ को ज्यान गयो

    हेटौडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकास्थित रामचन्द्र भञ्ज्याङमा जीप दुर्घटना भएको छ । शुक्रबार भएको दुर्घटनामा ५ को ज्यान गएको छ भने ४ जना घाइते भएका छन् ।

    प्रहरीका अनुसार ३ जनाको घटनास्थलमै मृत्यु भएको थियो । २ जनालाई उपचार गर्न काठमाडौं लैजादै गर्दा बाटोमा मृत्यु भएको हो ।

    मृतकमध्ये रौतहट, चन्द्रपुर नगरपालिका ९ का २१ वर्षीय मनिष विक र उनकी श्रीमती २० वर्षीया सिर्जना विकको मात्र पहिचान भएको छ ।

    १ महिला र २ पुरुषको पहिचान भइनसकेको प्रहरीले जनाएको छ ।

    रौतहटको चन्द्रपुरबाट काठमाडौं आउँदै गरेको ना१ज ३४३३ नम्बरको जीप रामचन्द्र भञ्ज्याङको पाटेखोलामा सडकबाट ५ सय मिटर तल खसेर दुर्घटनामा परेको थियो ।

  • कांग्रेसमा बहुमतले तोक्यो महाधिवेशनको मिति

    कांग्रेसमा बहुमतले तोक्यो महाधिवेशनको मिति

    काठमाडौं । नेपाली कांग्रेसले १४ औं महाधिवेशनको मिति २०७७ साल फागुन ७ देखि १० सम्म गर्ने गरी तोकेको छ ।

    वरिष्ठ नेता रामचन्द्र पौडल समूहले बहिस्कार गरेको नेपाली कांग्रेस केन्द्रीय समिति बैठकको बहुमतले १४ औं महाधिवेशनको मिति तोकेको हो ।

    शुक्रबार पार्टी कार्यालय सानेपामा बैठक बसेको थियो । यसअघि पटक पटक तोकिएको बैठक पौडेल समूहले बहिष्कार गरेपछि बस्न सकेको थिएन् । शुक्रबार भने बस्यो ।

    बैठकले बहुमतका आधारमा वर्तमान कार्यसमितिको म्यादसमेत एक वर्ष लम्ब्याएको छ । कांग्रेसको वर्तमान कार्यसमितिको म्याद १९ फागुन २०७६ मा सकिन्छ ।

    कार्यसमितिको म्याद सकिनेवित्तिकै महाधिवेशन गर्न सम्भव नभएको भन्दै केन्द्रिय समिति बैठकले पार्टीका सबै तहका पदाधिकारी तथा सदस्यको एक वर्ष लम्ब्याएको हो ।

    बैठकले १४ औं महाधिवेशनको कार्यतालिका समेत सार्वजनिक गरेको छ । अन्तरिम संरचनाको काम पुस मसान्तभित्र सक्न समितिले निर्वाचन समितिलाई आग्रह गरेको छ ।

    माघबाट क्रियाशील सदस्यता वितरण तथा नवीकरण शुरु हुने भएको छ । नयाँ क्रियाशील सदस्यता र क्रियाशील नवीकरणको नामावलीको अन्तिम सूची ०७७ आश्विनसम्म सकिने भएको छ ।

    त्यसपछि अधिवेशनका काम प्रारम्भ हुने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । पार्टी सभापति शेरबहादुर देउवा पक्षका केन्द्रीय सदस्य मात्र शुक्रबारको बैठकमा उपस्थित थिए ।

    बैठकले केन्द्रीय विभागको संख्यासमेत थपेको छ । अब कांगे्रसमा ४७ केन्द्रिय विभाग हुने भएका छन् ।

    विधानमा विभागको संख्या २८ रहने प्रावधान रहेको छ । बहुमतले गरेको यो निर्णयलाई पौडेल र कृष्ण सिटौला समूहले मान्नेमा भने शंका रहेको छ ।

  • छोरी केन्द्रित प्रदेश सरकारका आकर्षक योजना

    छोरी केन्द्रित प्रदेश सरकारका आकर्षक योजना

    काठमाडौं । नेपालमा छोरा र छोरीका बीच हुने विभेद एक मूख्य परम्परागत समस्या हो ।

    अरुको घर जाने छोरीलाई पढाउनु पर्दैन भन्ने र त्यति महत्व नदिने समाजमा परिवर्तन ल्याउन पछिल्लो समय प्रदेश सरकारहरुले आकर्षक योजना ल्याउन थालेका छन् ।

    १ पुसबाट कर्णाली प्रदेश सरकारले छोरीको खाता खोलेर हरेक महिना ५ सय रुपैयाँ प्रदेश सरकारका तर्फबाट डिपोजित गर्न थालेको छ ।

    यसै सन्दर्भमा प्रदेश सरकारले समेत ‘बेटी पढाऊ बेटी बचाऊ’ कार्यक्रम कार्यान्वयन थालेको छ ।

    यस अन्तर्गत सञ्चालनमा ल्याएको छोरी शिक्षा बीमा कार्यक्रम शुरु गर्न लागेको प्रदेश सरकारले जनाएको छ । यस कार्यक्रमलाई जनस्तरसम्म पुर्‍याउन छोरी बीमा सप्ताह सञ्चालन गरिने भएको छ ।

    सरकारले १ माघ २०७५ यता प्रदेश भित्र जन्मिएका छोरीको शिक्षाका लागि बीमा गर्ने घोषणा प्रदेश सरकारले गरेको थियो ।

    तर, कर्मचारीको अभावजस्ता कारणले सोचेजति प्रगति हुन सकेको छैन ।

    अब प्रदेश सरकारले प्रत्येक स्थानीय तहमा शिविर नै सञ्चालन गरी घरदैलो कार्यक्रममार्फत बीमा सुविधा बिस्तार गर्ने भएको हो ।

    २ माघ २०७६ बाट प्रदेशस्थित आठ वटै जिल्लामा शिविर सञ्चालनको तयारी गरिएको छ ।

    शिविरमा शिक्षा बीमाका साथै छोरीको स्वास्थ्य जाँच, निःशुल्क औषधि वितरणसहितका कार्यक्रम संचालन हुनेछन् ।

  • कहिले आउँछन् सभामुख ? नेकपामा विवाद कायमै

    कहिले आउँछन् सभामुख ? नेकपामा विवाद कायमै

    काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि बलत्कार प्रयासको आरोप लागेपछि यतिबेला व्यवस्थापिका संसद नेतृत्वबिहिन रहेको छ ।

    तर, सत्तारुढ नेकपाले सभामुखको लागि पार्टी भित्रैबाटै सहमति निकाल्न सकेको छैन । पार्टी अध्यक्षद्धय केपी शर्मा ओली र प्रचण्डबीच नै सहमति जुट्न नसकेपछि संसदले नयाँ सभामुख नपाएको हो ।

    अहिले उपसभामुख शिवमाया तुम्बाहाङ्फेले चलाइरहेको यो पदमा उनले समेत दावि गरेकी छिन् ।

    यता, ओली र प्रचण्डले पूर्व एमाले र पूर्व माओवादी खेमामा दावि जारी राखेपछि सहमति नजुटेको नेकपा स्रोतको भनाई छ ।

    ओलीले पूर्वसभामुख सुवास नेम्वांग र प्रचण्डले अग्नी प्रसाद सापकोटालाई सभामुख बनाउन चाहिहेका छन् ।

    शुक्रबार समेत संसद बैठक बस्ने कार्यतालिका छ । तर, यो बैठक उपसभामुखले चलाउने छिन या स्थगित हुन्छ भन्ने अझै तय भइसकेको छैन ।

  • अब राजधानीका सबै होर्डिङ बोर्ड हट्ने

    अब राजधानीका सबै होर्डिङ बोर्ड हट्ने

    काठमाडौं । काठमाडौं उपत्यकामा अब विज्ञापनका होर्डिङ बोर्ड देख्न पाइने छैन । काठमाडौं महानगरपालिकाको नेतृत्वमा ४ वटा कार्यदल बनेका छन् ।

    यी कार्यदल सक्रिय भई अब गल्ली गल्लीमा रहेका होर्डिङ बोर्ड हटाइने भएको छ ।

    बिहीबार गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा बसेको सरोकारवालाको बैठकले तत्काल राजधानीका गल्लीगल्लीमा रहेका होर्डिङ बोर्ड हटाउने निर्णय गरेको हो । नजिकिएको भ्रमण वर्षको उद्घाटन अगाडी नै काठमाडौंबाट होर्डिङ बोर्ड हट्नेछन् ।

    शुक्रबारदेखि नै यसको काम थालिने भएको छ । शहरलाई कुरुप बनाइरहेका होर्डिङ बोर्ड हटाउने निर्णय गरेको हो ।

    महानगरको संयोजकत्वमा जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, सडक, विद्युत प्राधिकरण, नेपाल टेलिकमको प्रतिनिधि रहने गरी कार्यदल बन्ने छ ।

    काठमाडौंका होर्डिङ बोर्ड हटाउन ०७२ भदौ १६ गते सर्वोच्च अदालतका तत्कालीन प्रधानन्यायाधीश कल्याण श्रेष्ठ र न्यायाधीश ओमप्रकाश मिश्रको संयुक्त इजलासले हटाउन निर्देशन दिएको भएपनि कार्यान्वयन भएको छैन ।

    महानगर क्षेत्रबाट व्यवसायिक होर्डिङ बोर्ड, भित्ते लेखन, पोष्टर, पम्पेटलगायतका सामग्री हटाउने तयारी रहेको छ ।

  • काठमाडौंको तापक्रम १ मा झर्यो, हिमालमा माइनस ६ सम्म

    काठमाडौंको तापक्रम १ मा झर्यो, हिमालमा माइनस ६ सम्म

    काठमाडौं । काठमाडौं उपत्यकाको तापक्रम १ डिग्रीमा झरेको छ । विहीबार बिहानको न्यूनतम तापक्रम १ डिग्री सेल्सियस मापन भएको मौसम विज्ञान पूर्वानुमान महाशाखाले उल्लेख गरेको छ ।

    तापक्रम घट्ने क्रमसँगै देशभर चिसोले जनजीवन समेत प्रभावित भएरहेको छ । बुधबार जुम्लामा माइनस ६ डिग्री तापक्रम मापन भएको छ ।

    तराईका जिल्लाहरुमा शितलहर चल्न थालिसकेको छ । पूर्वी तराईमा चिसोका कारण केही मानिसले ज्यान समेत गुमाइसकेका छन् ।

    काठमाडौंको तापक्रम एक दिनकै अन्तरमा तापक्रम झण्डै २ डिग्री कम भएका कारण पनि विहीबार बढी चिसो अनुभव भएको हो ।

    बिहीबार डडेल्धुरामा २ डिग्री, वीरेन्द्रनगरमा २ दशमलव ७ डिग्री र ताप्लेजुङमा ४ दशमलव ४ डिग्री तापक्रम रहेको महाशाखाले उल्लेख गरेको छ ।

  • नेजाको सातौं अधिवेशन न्यूयोर्कमा गरिने

    नेजाको सातौं अधिवेशन न्यूयोर्कमा गरिने

    न्युयोर्क/अमेरिका
    नेपाल अमेरिका पत्रकार संघ (नेजा) को सातौं अधिवेशन तथा १४ औं साधारणसभा अमेरिकाको न्यूयोर्क शहरमा हुने भएको छ ।
    नेजा कार्यसमितिको गत डिसेम्बर ८ मा बसेको कन्फ्रेन्स कल बैठकले आगामी अधिवेशन न्यूयोर्कमा गर्ने निर्णय गरेको हो । संस्थाका कार्यवाहक अध्यक्ष विकासराज न्यौपानेको अध्यक्षतामा बसेको कार्यसमिति सदस्य र नेजाका सल्लाहकारहरु सहितको बैठकले आगामी अधिवेशनस्थल न्यूयोर्क तोकेको हो ।
    विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर सन् २०२० मे २ र ३ गते अधिबेशन सम्पन्न गरिने तय भएको छ । बिगतमा प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर मे महिनाको पहिलो साता अधिबेशन गरिदैं आएको थियो । त्यसै अनुसार यसपाली मे महिनाको पहिलो शनिबार र आइतबार गरिने भएको हो ।
    कार्यक्रम सफल पार्नका लागि अमेरिकामा रहेका नेपाली समुदाय, ब्यबसायी, समाजसेबी, बिभिन्न संघ संस्थाका प्रतिनिाध सबैलाई सहयोग गरिदिन पनि नेजाले बिशेष आग्रह गरेको छ । अधिवेशन सम्पन्न गर्नका लागि नेजाकी उत्तर पूर्व क्षेत्रकी संयोजक कल्पना घिमिरेलाई संयोजकको जिम्मेवारी दिइएको छ ।

  • काठमाडौंमा वर्षकै चिसो दिन मापन

    काठमाडौंमा वर्षकै चिसो दिन मापन

    काठमाडौं । काठमाडौं उपत्यकामा बुधबार यस वर्षकै चिसो दिन मापन भएको छ । काठमाडौंको न्यूनतम तापक्रममा ३ डिग्रीमा झरेसँगै यस वर्षकै चिसो दिन मापन भएको मौसम पूर्वानूमान महाशाखाले जनाएको छ ।

    काठमाडौं उपत्यकासहित अहिले देशभरको चिसो बढेको छ । तराईमा शितलहर चल्न थालेको छ भने हिमाली भेगमा हिमपात भइरहेको छ ।

    महाशाखाका अनुसार अहिले देशका अधिकांश तराई क्षेत्रमा बाक्लो हुस्सु र कुहिरोले छोपेको छ ।

    मध्य, पुर्व र पश्चिमका धेरैजसो पहाडी भू–भागको मौसम आंशिक देखि सामान्य बदली भएको छ। बेलुकीपख पश्चिमी भेगका हिमाली तथा उच्च पहाडी एक दुई स्थानमा हल्का हिमपात हुने महाशाखाले उल्लेख गरेको छ ।

  • छाउगोठ भत्काउन निर्देशन, छाउपडी निरन्तरता दिनेलाई सरकारी सेवा बन्द

    छाउगोठ भत्काउन निर्देशन, छाउपडी निरन्तरता दिनेलाई सरकारी सेवा बन्द

    काठमाडौं । गृह मन्त्रालयले कर्णाली र सुदूरपश्चिम प्रदेशमा रहेका सबै छाउगोठ भत्काउन निर्देशन दिएको छ ।

    जनचेतनाका माध्यमबाट यस भेगमा व्याप्त छाउपडी प्रथा उन्मुलन नभएपछि सरकारले कानूनी कारवाहीका सहारा लिन लागेको छ ।

    सोही क्रममा अब सबै प्रकारका छाउगोठ भत्काउन लागिएको हो । यस भेगका जिल्लामा व्याप्त छाउपडी प्रथा निर्मूल गर्न संयन्त्र बनाइएको छ ।

    गृहले सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई उक्त निर्देशन दिएको हो । जुम्ला, कालिकोट, मुगु, हुम्ला, डोल्पा, दैलेख, जाजरकोट, सल्यान, सुर्खेत, रूकुम(पश्चिम, बाजुरा, बझाङ, दार्चुला, अछाम, बैतडी, डोटी, डडेल्धुरा, कैलाली र कञ्चनपुरमा यो प्रथा अधिक रहेको छ ।

    अति प्रभावित जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई गृहले सबै छाउगोठ भत्काउन निर्देशन दिएको हो ।

    छाउगोठमा महिलाको मृत्यु हुने क्रम नरोकिएसँगै सरकारले यसलाई कानूनी कारवाहीका माध्यमबाट निर्मुल गर्ने नीति लिएको हो ।

    मुलुकी अपराध संहिता २०७४ ले परिभाषित गरेका सामाजिक विभेद, भेदभाव र अपमानजनक व्यवहारविरूद्ध कानुनी व्यवस्था सम्बन्धमा व्यापक अभियान सञ्चालन गर्न गृहले सबै प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन जारी गरेको छ ।

    छाउपडी र अन्य भेदभावविरूद्ध स्थानीय तहसँग समन्वय गरी सचेतनामूलक कार्यक्रमसमेत सँगसगै लैजाने तयारीमा सरकार रहेको छ ।

    संयन्त्र गठन गरी सोहीमार्फत् समुदाय प्रहरी साझेदारी कार्यक्रम समेत संचालन हुने भएको छ ।

    स्थानीय तहमा जनप्रतिनिधि, राजनीतिक, धार्मिक अगुवा, सामाजिक संघ-संस्था, गैरसरकारी संस्थाहरूसँग बेथिति न्यूनीकरणमा सहकार्य गर्न निर्देशन दिएको छ ।

    छाउपडी प्रथालाई निरन्तरता दिनेमाथि कानूनी कारबाहीसहित राज्यले दिने सेवा सुविधा, वृद्ध भत्ता, सामाजिक सुरक्षा भत्ता, सहुलियतका कर्जा समेत अब रोकिने भएको छ ।

  • आज क्रिसमस डे, क्रिश्चियन धर्मालम्बीलाई नेपालमा बिदा

    आज क्रिसमस डे, क्रिश्चियन धर्मालम्बीलाई नेपालमा बिदा

    काठमाडौं । आज विश्वभर क्रिसमस डे मनाइदैछ । नेपालसहित विश्वभर रहेका क्रिश्चियन धर्मावलम्बीले यो चाड मनाउन लागेका हुन् । हरेक वर्ष २५ डिसेम्बरमा यो चाड बनाउन प्रचलन रहेको छ ।

    यस दिन येशु ख्रिष्टको जन्मदिनको रहेको र सोही खुसियालीमा क्रिमसम डे मनाउन थालिएको परम्परा रहेको छ ।

    आजभन्दा करीव दुई हजार वर्ष पहिले जेरुसेलमको बेथलेहम भन्ने स्थानमा मारियमको कोखबाट येशुको जन्म भएको थियो ।

    येशु जिसस क्राइस्टका नामबाट पनि परिचित छन् । उनकै नामबाट इस्वी संवत् समेत चलेको हो ।

    यस दिन क्रिश्चियन धर्मावलम्बीले उपहार तथा शुभकामना साटासाट गर्ने प्रचलन रहेको छ । आ सरकारले सम्बन्धित धर्ल मान्नेहरुका लागि बिदा दिएको छ।

  • ठमेलका नाइट क्लब पुग्ने खेलाडीको सजाय घटाइयो

    ठमेलका नाइट क्लब पुग्ने खेलाडीको सजाय घटाइयो

    काठमाडौं । राष्ट्रिय टोलीले विश्वकप छनोटमा खेल्न विदेश उड्नु एक दिन अगाडी क्लोज क्याम्पबाटै भागेर ठमेलको नाइट क्लवमा पुगेका चार खेलाडीमाथिको कारवाही घटाइएको छ ।

    उक्त काण्डमा नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडी विमल घर्तीमगर, दिनेश राजवंशी, अञ्जन विष्ट र सन्तोष तामाङमाथि अखिल नेपाल फूटबल संघ (एन्फा)ले कारवाही गरेको थियो ।

    एन्फाले चारै जना खेलाडीको कारवाही घटाएको छ । एन्फाको अनुशासन समितिले उनीहरूलाई निलम्बनसम्बन्धी निर्णय लागू हुने मिति परिवर्तन गर्दै सजाए घटाइदिएको हो ।

    एन्फाले १३ डिसेम्बर २०१९ देखि लागु हुने गरी विमल घर्तीमगर र डिफेन्डर दिनेश राजवंशीलाई तीन महिना निलम्बन गरेको थियो ।

    मिडफिल्डरद्वय अञ्जन विष्ट र सन्तोष तामाङका लागि ४५ दिनको निलम्बन थियो ।

    अब भने एन्फाले खेलाडी नाइट क्लबमा गएको दिनदेखि गणना गर्ने निर्णय लिएको छ । यसअनुसार अब खेलाडीको प्रतिवन्ध कम भएको छ ।

    उनीहरुको निलम्बन १६ नोभेम्बर २०१९ बाट गणना हुने भएको हो । यसअनुसार यी खेलाडीले जारी सहिद स्मारक ए डिभिजन लिगमा भाग लिन पाउने बाटो समेत खुलेको छ ।

    फिफा विश्वकप २०२२ कतार र एएफसी एसियन कप २०२३ चीनको छनोट प्रतियोगिताअन्तर्गत कुवेतविरूद्ध खेल्न भूटान उड्ने अघिल्लो रात उनीहरु ठमेलको नाइट क्लवमा पुगी रक्सीले मात्तिएका थिए ।

  • सरकारको ‘दुई तिहाई’ उपाधी संकटमा

    सरकारको ‘दुई तिहाई’ उपाधी संकटमा

    काठमाडौं । समाजवादी पार्टीले सरकारबाट बाहिरिने निर्णय लिएपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्व सरकारको दुई तिहाई उपाधी गुम्ने खतरा बढेको छ ।

    संसदमा स्पष्ट दुई तिहाई सांसदको समर्थनमा गठन भएको वर्तमान सरकार समाजवादी पार्टीले समर्थन फिता लिएमा भने उक्त उपाधीबाट खस्किने छ ।

    किनकी नेकपाको मात्र सांसद संख्याले दुई तिहाई पुग्दैन । यद्दपी दुई दलको हैसियतमा सरकार भने सुरक्षित नै रहन्छ ।

    तर, समाजवादी पार्टीले सरकारबाट बाहिरिने निर्णय लिएको भएपनि सरकारलाई दिएको समर्थन भने फिर्ता लिने निर्णय गरिसकेको भने छैन ।

    यसले गर्दा अब संविधान संशोधनका विषयमा वर्तमान सरकारले अझ बढी फलामका च्यूरा चपाउनु पर्ने हुन्छ ।

    किनकी प्रधानमन्त्री केपी शर्मा ओली हरेक विषयलाई सहमति भन्दा पनि पेलेरै जाने मुडमा देखिएका छन् । संसदमा २७५ संख्या रहेको छ ।

    प्रतिनिधिसभामा दुईतिहाइ बहुमत पुग्न सरकारको पक्षमा १ सय ८३ जना सांसद हुनुपर्छ । नेकपासँग भने १ सय ७४ जना मात्र सांसद रहेका छन् । समाजवादी पार्टीमा भने १७ जना सांसद रहेका छन् ।

    पार्टीले बुधबार सरकारको समर्थन जारी रहने वा हट्ने भन्ने विषयमा सार्वजनिक गर्न तयारी गरेको छ ।

  • समाजवादीले छाड्यो सरकार, दुबै मन्त्रीले दिए राजिनामा

    समाजवादीले छाड्यो सरकार, दुबै मन्त्रीले दिए राजिनामा

    काठमाडौं । डा. बाबुराम भट्टराई तथा उपेन्द्र यादवको पार्टी समाजवादी नेपालले सरकार छाडेको छ । संविधान संशोधन प्रस्तावलाई मन्त्रिपरिषदमा पेश गर्न नपाएपछि समाजवादीले सरकार छाडेको हो ।

    सोमबारको बैठकमा प्रधानमन्त्रीले कानून मन्त्री यादवद्धारा प्रस्तुत गर्न लागेको संशोधन प्रस्तावलाई ठाडो आदेशमा रोकेका थिए ।

    उनले रोकेको भोलीपल्टै पार्टी सरकार छाड्ने निर्णयमा पुगेको हो । मंगलबार उपप्रधानमन्त्री तथा कानूनमन्त्री उपेन्द्र यादव र सहरी विकासमन्त्री मोहम्मद इस्तियाक राइले पदबाट राजीनामा दिए ।

    समाजवादी पार्टीका अध्यक्षसमेत रहेका यादवले प्रधानमन्त्रीलाई सम्बोधन गर्दै लेखेको राजीनामा पत्रमा संविधान संशोधन प्रस्ताव अस्वीकार गरेर सरकार दुई बुँदे सहमतिबाट पछि हटेको उल्लेख छ ।

    सहमतिलाई एकतर्फी रुपमा तोडेको प्रष्ट भएकाले नैतिकताको आधारमा सरकारमा बसिरहन औचित्य नभएको निष्कर्षमा उक्त पार्टी पुगेको हो ।

    सोमबारको बैठकमा यादवले संविधान संशोधनको प्रस्ताव टेवल गर्न खोज्दा प्रधानमन्त्रीले त्यसलाई अगाडी नै बढाउन दिएका थिएनन् ।

    संशोधन प्रस्ताव नै अगाडी बढ्न नपाएपछि पार्टीले सरकारको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिने निर्णय लिएको हो ।

  • छुट्टिमा निस्किएका रास्ट्रपति ट्रम्पलाई बढ्दैछ बेचैनी ,छटपटिमा पटक पटक ट्विट

    छुट्टिमा निस्किएका रास्ट्रपति ट्रम्पलाई बढ्दैछ बेचैनी ,छटपटिमा पटक पटक ट्विट

    प्रभात भट्टराई/अमेरिका
    अमेरिका लगायत क्रिश्चियन बहुल पश्चिमा मुलुकहरुमा चाडको माहोल छ । क्रिसमस मनाउन राज्य चलाउने नेता, विजनेश दुनियाँका बादशाह अर्बपति देखि आम नागरिकसम्म ‘छुट्टि’को मुडमा छन् । गाउँ शहर सबैतिरका घर झिलिमिली सजाइएको छ । ठाउँ ठाउँमा क्रिसमस ट्रि ठड्याइएका छन् । कुनै चोकमा शान्ताक्लर्कहरु उभिएर चकलेट बाँड्दैछन् । हरेक स्टोरमा कामगर्नेहरु क्रिसमसको प्रतिनिधी मानिने रातो टोपी लगाएर उभिएका छन् ।
    क्रिसमस मनाउनेहरुकै सूचीमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प । ट्रम्प अहिले छुट्टिमा फ्लोरिडा स्थित रिसोर्टमा पुगेका छन् । तर, आम अमेरिकी एवं क्रिश्चियन जस्तो उनी छुट्टिको मुडमा भने छैनन् । अमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभबाट हालै महाभियोग खेपेका ट्रम्प बेचैन छन् । त्यसैले परिवार र साथीसँगीका माझ चाड मनाउन वासिंटनबाट हजार माइल टाढाको फ्लोरिडा पुगेपनि बिन्दास हुन सकेका छैनन् । उनी छिन छिनमा ट्विट गर्छन् । जुनसुकै प्रसंगमा ट्विट गरेको घुमाइ फिराइ महाभियोगमै लगेर जोड्छन् ।
    कहिले सिनेटले महाभियोग माथि थप अनुसन्धान गरेमा रिपब्लिकन र डेमोक्र्याटबीच फरक नहुने बताउँछन् त कहिले अर्थतन्त्रका सारा सूचक उत्साहजनक रहेको बेला कसैले अमेरिकी राष्ट्रपतिलाई हटाउन नसक्ने भन्दै आफ्नो बचाउ गर्छन् । सोमबार दिनभरमा उनले दुई दर्जन बढि ट्विट एवं रिट्विट गरेका छन् । जसमा अधिकांश महाभियोगसँगै जोडिएका छन् । सभामुख न्यान्सी पेलोसी एवं डेमोक्र्याटहरुलाई गाली गर्दै केही ट्विट आफैँ लेखेका छन् ।
    ट्रम्पले हाउसमा महाभियोग चल्दै गर्दा आफुले कुनै मतलव नगरेको बयान दिँदै आएका थिए । तर, जब जब महाभियोगको मिति नजिकियो, उनको बेचैनीको सियो उकालो लाग्यो । त्यसबेला पनि उनले मतलव नभएको दावी गर्न भने छोडेनन् । तर, महाभियोगको प्रतिरोध गर्दै ट्विटकै बर्षा गर्न थाले । हाउसमा महाभियोगबारे अन्तिम बहस चल्दै गर्दा उनले तीन दिनमा २०० हाराहारी ट्विट गरे । संसदमा उनको महाभियोग माथि मतदान हुँदै गर्दा उनी मिचिगनमा चुनावी सभा गर्दै थिए । त्यहाँ उनले अहिलेसम्मकै लामो चुनावी भाषण दिए– दुई घण्टा बढि । अधिकांश समय डेमोक्र्याट र महाभियोगकै बिरुद्धमा बोलेका थिए । यी सबै भइ सकेपछि पनि उनको सार भने एउटै हुन्छ– मैले यो महाभियोगलाई मतलव गरेको छैन ।
    जस्तो सुकै अवस्था होस्, ट्रम्प आफ्नो गल्ती स्विकार्दैनन् । कमजोरी लुकाएर र भ्रम छरेरै जित्न सकिन्छ भन्ने उनको सधैंको मान्यता हो । त्यसैले महाभियोगको डर डेमोक्र्याट माथि गाली गर्दै लुकाउँदै आएका छन् । सँगै कतै रिपब्लिकन सिनेटरले थप प्रमाण खोजेर अफ्ठ्यारोमा पार्ने हुन् कि भन्ने पिर पनि उनी भित्र छ । त्यसैले कहिले महाभियोग आफुमाथि नभइ आफ्ना सारा समर्थक र रिपब्लिकन पार्टीप्रति लगाइएको दावी गर्छन् भने कहिले महाभियोग माथि थप अनुसन्धान गरे डेमोक्र्याट र रिपब्लिकनमा फरक नहुने भन्दै आफ्ना सिनेटरहरुलाई अग्रिम चेतावनी दिन्छन् । ट्रम्पको रिपब्लिकन पार्टीभित्र अचाक्ली बलियो होड छ । अहिलेका प्रायः सबै सर्भेक्षणहरुले रिपब्लिकन पार्टी भित्र उनको ‘एप्रुभल रेटिङ’ ९० प्रतिशत हाराहारी देखाएका छन् । तर, यति हुँदा पनि ट्रम्पको औषत एप्रुभल रेटिङले अहिलेसम्म ५० प्रतिशत छुन सकेको छैन । अर्थात डेमोक्र्याट भित्र ट्रम्प अत्यधिक अलोकप्रिय छन् । बहुमत स्वतन्त्र अमेरिकी पनि उनको समर्थनमा छैनन् । सोही कारण रिपब्लिकन पार्टी भित्रको आफ्नो पकड कायम राख्न उनी जे बोल्न पनि तयार छन् जसो गर्न पनि तयार छन् ।
    रिपब्लिकनमाझको यही लोकप्रियताले नै आफुलाई अर्को बर्ष चुनाव जिताउला भन्ने उनको आशा गरेको छ । डेमोक्र्याटबाट टिकट पाउने व्यक्तिलाई सकेसम्म विवादमा धकेल्दिने ताकी उनलाई भोट हाल्न स्वतन्त्र मतदाताहरुलाई उत्साह नहोस् र रिपब्लिकन अहिलेजस्तै एकजुट भएर बुथसम्म पुगे आफुले चुनाव जित्ने ट्रम्पको आँकलन छ । सोही ध्येयले उनले डेमोक्र्याटबाट सम्भावित प्रत्याशीको अग्रसूचीमा रहेका जो बाइडेनलाई विवादको भूमरीमा धकेल्न युक्रेन काण्ड गराएका थिए । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग बाइडेन माथि अनुसन्धानको माग राख्दै युक्रेनका लागि अमेरिकी संसदले पारित गरेको झन्डै ४०० मिलियन डलरको सैन्य सहायत रोकेको तथ्य बाहिरिएसँगै उनले महाभियोग सामना गर्नु पर्यो ।
    तर, यो घटनाबाट शिक्षा लिने छनक ट्रम्पले दिएका छैनन् । बिपक्षिलाई विवादमा पार्नुनै जितको मुख्य सुत्र हो भन्ने उनको मान्यता नबदलिने विश्लेषकहरुको राय छ । किनभने आम अमेरिकीबीच लोकप्रिय हुनसक्ने उनको प्रकृति नै होइन । अहिले अमेरिकी अर्थतन्त्रका अधिकांश सूचकले रेकर्ड बनाएका छन् । जनतामा सिधा असर हुने बेरोजगारी दर ५० बर्षको न्यून विन्दुमा झरेको छ भने उपभोक्ताको आत्मविश्वास उस्तै उच्च छ । त्यती हुँदा पनि राष्ट्रपतिको एप्रुभल रेटिङ ‘अण्डरवाटर’ हुनु अर्को रेकर्ड रहेको विश्लेषकहरुको राय छ ।
    सन् १९९८ मा विल क्लिन्टन माथि महाभियोग चल्दा अमेरिकी अर्थतन्त्र उस्तै सन्तोषजनक अवस्थामा थियो । त्यसैले महाभियोग सुरु भएसँगै क्लिन्टनको एप्रुभल रेटिङले ६५ प्रतिशत नाघेको थियो । तर, त्यो सौभाग्य र क्षमता ट्रम्पसँग छैन । अर्कोतिर उनलाई जसरी पनि २०२० को चुनाव जित्नुछ । सिनेटमा आफुलाई पदमुक्त गर्ने गरि दुई तिहाई बहुमत पुग्दैन भन्नेमा त उनी ढुक्क नै छन् तर कथंकदाचित आफ्ना हर हर्कतसँग सहमत नहुने रिपब्लिकन सिनेटरहरुले नै थप प्रमाण र अनुसन्धानका लागि दबाब देलान् कि भन्ने डर भने उनको मनमा नराम्रोसँग गढेको छ । किनभने हाउसमा अनुसन्धान हुन्जेल धेरैजसो प्रमाण लुकाउन रिपब्लिकनहरुले एकमत भएर साथ दिए । सिनेटमा त्यो अवस्था नरहे ह्वाइट हाउसले बलपुर्वक थामि रहेको पर्दा उघारिन सक्छ । ट्रम्पको बेचैनीको मुख्य गुह्य यसैमा अड्किएको राजनीतिक पण्डितहरुको तर्क छ ।