Category: समाचार

  • काठमाडौंको बौद्धमा गोली हानी अभियुक्त लामालाई पक्राउ

    काठमाडौंको बौद्धमा गोली हानी अभियुक्त लामालाई पक्राउ

    काठमाडौं । काठमाडौंको बौद्धमा प्रहरीले गोली हानेर एक जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार गुण्डागर्दीमा संलग्न विष्णु लामालाई प्रहरीले गोली हानेर समातेको हो ।

    महानगरीय प्रहरी वृत्त, बौद्धले लामालाई प्रक्राउ गर्न खोज्दा भागेको र त्यसपछि प्रहरीले गोली चलाएको बताइएको छ । प्रहरीले दायाँ खुट्टामा घुँडामुनी गोली हानेर उनलाई पक्रिएको छ ।

    लामा रहेको सूचनाका आधारमा प्रहरी त्यहाँ पुगेको थियो । पक्राउ पछि लामालाई उपचारका लागि वीर अस्पताल लगिएको छ ।

    प्रहरीका अनुसार उनिमाथि ०७३ सालमा सिन्धुपाल्चोकमा १७ महिने बालिकाको हत्या गरेको अभियोग पनि उनीमाथि रहेको छ ।

    यसबाहेक २०७५ सालमा मेडिकल कलेजका विद्यार्थीमाथि खुकुरी समेत प्रहार गरेका थिए । उनी फरार थिए ।

  • माटोको सम्मानमा बोल्नै नहुने, यो हुनुहुदैन : पूर्वराजा ज्ञानेन्द्र

    माटोको सम्मानमा बोल्नै नहुने, यो हुनुहुदैन : पूर्वराजा ज्ञानेन्द्र

    काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले माटोको सम्मान र राष्ट्रनायकहरुको वीरगाथाबारे बोल्न नसक्ने परिपाटी मुलुकमा आउन नहुने बताएकाछन् ।

    पृथ्वी जयन्तीका अवसरमा शुभकामना सन्देश जारी गरेका पूर्वराजा ज्ञानेन्द्रले असान्दर्भिक विषयमा मुलुकलाई विवादमा पार्ने काम कतैबाट हुन नहुने समेत उल्लेख गरेका छन् ।

    उनले परस्पर प्रेम, एकता र सद्भावमा लाग्न समेत देशबासीमा आह्वान गरेका छन् ।

    जनमानसमा के छ, के भइरहेको छ भन्ने सबैमा स्पष्टै भएको भन्दै उनले राष्ट्रनायकहरुको वीरगाथाबारे बोल्न नसक्ने, माटोको सम्मानमा बोल्नै नहुने, राष्ट्रिय अखण्डता र स्वाभिमानको अभिव्यक्तिलाई कुण्ठित पार्ने प्रयास कतैबाट हुन नहुने उल्लेख गरेका छन् ।

    नेपाल सदा स्वतन्त्र, शान्त, अविभाज्य र अखण्ड रहनुपर्नेमा समेत पूर्व राजाको जोड रहेको छ ।

    देशको सबै भूभागको रक्षा र नेपाली जनताको समृद्धिका लागि गहकिलो प्रयास आवश्यक रहेको समेत उनको शुभकामना सन्देशमा राखिएको छ ।

    पृथ्वीनारायणबाट शुरु भएको शाहवंशिय शासन सत्ता ज्ञानेन्द्रको पालामै आएर टुंगिएको हो ।

  • आज पृथ्वी जयन्ती, पृथ्वीनारायण शाहको सम्झनामा विविध कार्यक्रम

    आज पृथ्वी जयन्ती, पृथ्वीनारायण शाहको सम्झनामा विविध कार्यक्रम

    काठमाडौं । नेपाल एकीकरणमार्फत टुक्रा टुक्रामा विभाजित राज्यलाई सिंगो मुलुक बनाएका राजा पृथ्वीनारायण शाहलाई स्मरण गर्दै आज पृथ्वी जयन्ती मनाइँदै छ ।

    गोर्खाका राजा नरभूपाल शाह र रानी कौशल्यावतीका जेठा छोराका रूपमा वि.सं. १७७९ पुस २७ मा उनको जन्म भएको थियो ।

    १८ वर्षको उमेरमै राजगद्दी सम्हालेका उनी त्यसपछि नेपाल एकिकरणको अभियानमा लागेका थिए ।

    त्यसबेला नेपालमा बाइसे र चौबिसे राज्यहरु सक्रिय थिए । उनको यस अभियानलाई उनको मृत्युपछि छोरा बहादुर शाहले समेत निरन्तरता दिएका थिए ।

    सोहीकारण राज पृथ्वीनारायण शाहलाई राष्ट्र निर्मातासमेत मानिन्छ । उनको जन्म दिनमा यसअघि राष्ट्रिय एकता दिवस भनी बिदा दिने प्रचलन थियो ।

    तर, गणतान्त्रिक सरकारले यो बिदा कटौती गर्यो । गोरखाका केही स्थानीय तहले भने बिदा दिएका छन् ।

    उनको जन्म दिनलाई राष्ट्रिय प्रजातन्त्र पार्टीले धुमधाम साथ मनाउँछ ।

    नेपाली सेनाले गोरखाबाट सुरु गरेको पदयात्रा पनि आजैका दिन सिंहदरबार अगाडि आइपुग्दै समापन गर्ने कार्यक्रम रहेको छ ।

  • पाकिस्तानमा आईएसद्वारा बम विस्फोट, १५ मारिए

    पाकिस्तानमा आईएसद्वारा बम विस्फोट, १५ मारिए

    कराँची । पाकिस्तानमा बम विस्फोटमा गरी कम्तिमा १५ जना मारिएका छन् । शुक्रबार राती भएको विस्फोटको जिम्मा आइएसले लिएको छ ।

    पाकिस्तानको बलुचिस्तान प्रान्तको क्वेटा शहरको एक मस्जिदमा विष्फोट भएको हो ।

    दुई दर्जनभन्दा बढी मानिस घाइते भएको बताइएको छ । घाइतेहरु अधिकांशको अवस्था गम्भीर भएका कारण मृतकको संख्या बढ्न सक्ने बताइएको छ ।

    घटनामा क्वेटाका प्रहरी अधिकृत अमानुल्लाहको समेत मृत्यु भएको समाचार माध्यमहरुले लेखेका छन् ।

    घटनाबारे थप अनुसन्धान भइरहेको पाकिस्तानी प्रहरीले जनाएको छ ।

  • प्रधानमन्त्रीको डायलासिस आज पनि

    प्रधानमन्त्रीको डायलासिस आज पनि

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आज पनि डायलासिस गरिएको छ । शनिबार अपरान्ह मनमोहन कार्डियोथोरिसिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा पुगेर प्रधानमन्त्रीले डायलासिस गराए ।

    सोहीकारण उनी आज वालुवाटारमै बोलाइएको नेकपा सचिवालय बैठकमा भने सहभागी हुन सकेनन् ।

    आजसहित प्रधानमन्त्रीले अहिलेसम्म १३ पटकसम्म डायलासिस गराइसकेका छन् । मृगौलाको समस्याका कारण अहिले प्रधानमन्त्रीले नियमित डायलासिस गर्नुपर्छ ।

    सोहीकारण उनी नियमित काममा फर्कन सकेका छैनन् । चिकित्सकहरुका अनुसार प्रधानमन्त्रीको स्वास्थ्य अवस्था भने ठिक छ ।

  • उपसभामुखलाई राजिनामा गराउने नेकपाको निर्णय

    उपसभामुखलाई राजिनामा गराउने नेकपाको निर्णय

    काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई राजीनामा गराउने भएको छ । शनिबार नेकपा सचिवालयको बैठक बसेको थियो ।

    प्रवक्ता नारयणकाजी श्रेष्ठका अनुसार सभामुखमा पार्टीका तर्फबाट उम्मेदवार दिने र उपसभामुख तुम्बाहम्फेलाई राजीनामा गराउने निर्णय भएको छ ।

    यसअघि प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष प्रचण्डले शुक्रबार उपभामुखसँग छलफल गरेका थिए ।

    उनले राजिनामा नगर्ने बताएकी थिइन् । तर, शनिबार पार्टीको बैठकले भने सभामुखमा उम्मेदवारी दिने र पार्टीको तर्फबाट उपसभुमुखमा निर्वाचित शिवमाया तुम्बाहाम्फेलाई राजिनामा गराउने निर्णय गरेको हो ।

    बैठक बालुवाटारमा बसेको थियो । प्रधानमन्त्री ओली बैठकमा भने सहभागी भएनन् । उनको स्वाथ्य अवस्थामा अझै प्रभावकारी सुधार हुन सकेको छैन ।

    नेकपाले सभामुखबारे ठोस निर्णय लिन नसकेका कारण प्रतिनिधिसभा अहिले ठप्प छ । सदनका काम कारवाहीले गति लिन सकेका छैनन् ।

  • अझै फुकेन सभामुखको गाँठो, शिवमायाले दिइनन् राजिनामा

    अझै फुकेन सभामुखको गाँठो, शिवमायाले दिइनन् राजिनामा

    काठमाडौं । प्रधामन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले शुक्रबार उपसभाुमख शिवमाया तुम्बाहङफेसँग छलफल गरेका छन् ।

    सो क्रममा शीर्ष नेताले राजिनामा गरेर सभामुख चयनको बाटो खुला गर्न आग्रह गरेका थिए । तर, शिवमायाले भने यसमा असहमति जनाएकी छिन् ।

    शुक्रबार दिउँसो नेकपाका अध्यक्षद्धयले उपसभामुख तुम्बाहाङफेसँग प्रधानमन्त्री निवास बालुवाटारमा छलफल गरेका हुन् ।

    तुम्बाहाङफेले भने आफू सभामुखका लागि अयोग्य किन भए भनी कारण खोजेकी थिइन्। उनले आफूमा सभामुख बन्न नपुग्ने कुनै योग्यता भए त्यो प्रस्तुत गर्न शीर्ष नेतासाग आग्रह गरेकी थिइन् ।

    भेटमा आफू योग्य रहेको सम्बन्धमा शिवमायाले करीव १ दर्जन कारण पेश गरेकी थिइन् । सभामुख कृष्ण बहादुर महराको राजिनामा पछि सभामुख पद खाली छ ।

    यस पदमा प्रधानमन्त्रीले पूर्वएमाले, प्रचण्डले पूर्वमाओवादी र राष्ट्रपतिबाट शिवमायालाई निररन्तरता दिनुपर्ने दावि गरेपछि यो पद अड्किएर बसेको छ ।

    यसले गर्दा प्रतिनिधिसभा नै अवरुद्ध भएको छ । शिवमायाले यदि आफू सभामुखका लागि अयोग्य बन्ने भए उपसभामुखमा यथावत रहन दिनसमेत आग्रह गरेकी छिन् ।

    उपसभामुख शिवमाथाले अब आफैले प्रक्रिया अगाडि बढाउने र उपसभामुखको हैसियतमा काम गर्ने जानकारी समेत शीर्ष नेतालाई गराएकी छिन् ।

    उपसभामुखले राजीनामा नदिएसम्म सभामुखको निर्वाचन प्रक्रिया अगाडि बढाए संविधानअनुसार नेकपाले सभामुखमा दाबी गर्न नमिल्ने प्रावधान रहेको छ ।

  • बास्कोटा र ढकाललाई थप मन्त्रालयको जिम्मेवारी

    बास्कोटा र ढकाललाई थप मन्त्रालयको जिम्मेवारी

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद बिस्तार तत्काल नगर्ने भएका छन् ।

    सोहीकारण राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल र सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटालाई थप एक एक वटा मन्त्रालयको जिम्मेवारी दिएकी छिन् ।

    ढकालले कानून, न्याय तथा संसदीय मामिला र बास्कोटाले सहरी विकास मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्ने भएका छन् ।

    प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले मन्त्रीद्धयलाई थप जिम्मेवारी तोकेकी हुन् ।

    समाजवादी पार्टी सरकारबाट बाहिरिएसँगै यी दुई मन्त्रालय रिक्त थिए । त्यसपछि दुबै मन्त्रालयलाई प्रधानमन्त्री आफैंले सम्हालेका थिए ।

  • अवैध क्रसरको विरोध गर्ने युवकको टिपरले किचेर हत्या

    अवैध क्रसरको विरोध गर्ने युवकको टिपरले किचेर हत्या

    काठमाडौं । नेपालमा क्रसर उद्योगीको दादागिरिको एक हद शुक्रबार देखिएको छ । उत्खनन् बाट नदीजन्य वस्तुको अवैध तस्करी रोक्न माग गर्ने एक युवालाई धनुषामा टिपरले किचेर मारिएको छ ।

    प्रहरीका अनुसार धनुषा जिल्ला, मिथिला नगरपालिका–५ स्थित औरही खोलामा जथाभावी तरिकाले उत्खनन गरी बालुवा, गिट्टी झिकिरहेको काम रोक्न सक्रिय स्थानीय युवा दिलीपकुमार महतोलाई टिपरले किचेर हत्या गरिएको हो ।

    युवकलाई ना. ७ ख ६४१३ नम्बरको टिपरले किचेर हत्या गरिएको प्रहरीले पुष्टी गरेको छ ।

    उता, प्रहरीले भने हत्या गरेर पछि उनको शरीरमाथि टिपर चलाएको आरोप लगाएका छन् । उनलाई क्रसर उद्योगका मानिसले बिहान ४ बजे नै घरबाट उठाएर खोलामा पुर्याएका थिए ।

    पछि उनलाई टिपरले किचेको खबर परिवारमा आएकोथियो । प्रहरीका अनुसार उनको नियोजित रुपमा हत्या गरिएको हो ।

    प्रहरीले टिपर र टिपरका चालकलाई नियन्त्रणमा लिइ थप अनुसन्धान गरिरहेको बताएको छ ।

    घट्नाको विरोधमा पूर्व–पश्चिम राजमार्ग अन्तर्गत मिथिला नगरपालिकाको ढल्केबरका स्थानीयहरुले चक्काजाम गरेका थिए ।

    प्रहरीले भिड हटाएर सडक खाली गरेको थियो । मृतकका आफन्तले क्रसर उद्योगका संचालकहरुले उनलाई केही दिन अगाडी देखि नै मार्ने धम्की दिएका थिए ।

    नेपालमा क्रसर उद्योगहरु गुण्डाराजको कब्जामा छ । त्यसमा प्रहरीको समेत मिलेमतोको आशंका गरिन्छ ।

  • आजबाट श्रीस्वस्थानी व्रत शुरु

    आजबाट श्रीस्वस्थानी व्रत शुरु

    काठमाडौं । पौष शुक्ल पूर्णिमाका दिनबाट सुरु हुने श्रीस्वस्थानी व्रत तथा माधवनारायणको पूजा आराधना आजबाट शुरु भएको छ । यो पर्वलाई हिन्दू धर्मावलम्बीले एक महिनासम्म निकै महत्व दिएर मनाउने गर्छन् ।

    पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म यो व्रतका अवसरमा पूजा आरधना हुने गर्छ । एक महिनासम्म घरघरमा स्वस्थानी कथा भन्ने र सामूहिक रुपमा सुन्ने गरिन्छ ।

    स्वस्थानी परमेश्वरीको व्रत बस्नेहरुले भने हरेक दिन पूजा आरधना गर्छन् । व्रत बस्दा वा कथा र सुन्दासमेत मनोकांक्षा पूरा हुने धार्मिक विश्वास रही आएको छ ।

    यस पर्वमा काठमाडौंको शालीनदीमा भब्य मेला लाग्छ ।

    सत्ययुगमा हिमालयपुत्री पार्वतीले महादेव स्वामी पाउन विष्णुको सल्लाहअनुसार निराहार रहेर स्वस्थानीको व्रत गर्दा आफ्नो मनोकांक्षा पूर्ण भएको विश्वासका साथ यो व्रत बस्ने परम्परा रही आएको छ ।

    व्रतपछि पार्वतीले लोककल्याणका लागि यो व्रतकथा प्रचारप्रसार रेको र गरिब तथा दुःखीहरूको उद्धार गरेको कथा यसमा समेटिएको छ ।

    व्रत अवधिभर पशुपति, गौरीघाट, गणेशमन्दिर, शालीनदी र सतीदेवीको अङ्ग पतन भएका स्थानमा विशेष आस्थासहित पूजाआरधना हुने गरेको छ ।

  • नारायणगढ–मुग्लिन सडकखण्ड पूर्ण रुपमा सूचारु

    नारायणगढ–मुग्लिन सडकखण्ड पूर्ण रुपमा सूचारु

    काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्ड पूर्ण रुपमा सूचारु भएको छ । यो सडक खण्ड आजदेखि पूर्णरूपमा सञ्चालनमा आएको नारायणगढ–मुग्लिन सडक आयोजनाले जनाएको छ ।

    पहिरो नियन्त्रणका लागि सडक दिउँसो बन्द हुँदै आएको थियो । काम सकिएसँगै सडक पूर्णरूपमा सञ्चालनमा आएको हो ।

    दिउँसो दैनिक चार घण्टा सवारी साधन बन्द गरेर यहाँ पहिरो नियन्त्रणको काम भएको हो । मूख्य काम सकिएपछि सडक पूर्णरुपमा संचालनमा आएको हो ।

    नारायणघाट मुग्लिन सडकमा बाँकी रहेका आठ ठाउँमा पहिरो रोकथामको काम गरिएको छ ।

    २७ मङ्सिरदेखि प्रत्येक दिन बिहान ११ः०० देखि दिउँसो ३ः०० बजेसम्म सडकमा सवारी साधनलाई रोकेर काम गरिएको हो ।

    यो सडक खण्ड काठमाडौंलाई अधिकांश नेपालसँग जोड्ने मूख्य माध्यम समेत हो ।

  • मध्यपूर्व तनावबारे नेपालले भन्यो : शान्तीपूर्ण माध्यमबाट समाधान खोज

    मध्यपूर्व तनावबारे नेपालले भन्यो : शान्तीपूर्ण माध्यमबाट समाधान खोज

    काठमाडौं । मध्यपूर्व तनावले प्रभावित हुने मुलुकमध्ये एक नेपालले समस्या समाधानमा शान्तीपूर्ण बाटो अपनाउन सम्बन्धित पक्षसँग आग्रह गरेको छ ।

    खासगरी ठूलो संख्यामा नेपाली कामदार रहेको र नेपाली सेना समेत तैनाथी रहेको स्थानमा उत्पन्न परिस्थितिका सम्बन्धमा नेपालले बिहीबार औपचारिक धारणा सार्वजनिक गरेको हो ।

    परराष्ट्र मन्त्रालयले विज्ञप्ती जारी गर्दै अमेरिका र इरानबीच उत्पन्न तनाव चिन्तापूर्ण रहेको बताएको हो ।

    मन्त्रालयले त्यस क्षेत्रमा ठूलो संख्यामा कार्यरत नेपाली आप्रवासीको सुरक्षा मुलुकको प्राथमिकतामा रहेको बताएको छ ।

    ‘हामी सबै पक्षहरुलाई यस क्षेत्रमा तनाव बढाउने तथा शान्ति र स्थायित्वलाई खतरामा पार्ने खालका काम–कारबाही नगर्न आह्वान गर्छौ,’ मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

    नेपाल सरकारले सबै प्रकारका विवाद र मतभेदलाई शान्तिपूर्ण माध्यमबाट समाधान गर्नुपर्ने नेपालको अडान रहेको उल्लेख गरेको छ ।

    इरानी सैन्य कमाण्डर कसिम सुलेमानीलाई अमेरिकाले ड्रोन आक्रमण गरी मारिदिएपछि इरानले बदला लिने बताएको छ ।

    यही क्रममा इरानले इराकस्थित अमेरिकी सैन्य क्याम्पमा आक्रमण समेत गरेको छ । यसरी दुई देशबीचको तनावका बीच नेपालले समेत चासो राखेको हो ।

  • महाधिवेशनको मिति हेरफेर हुँदैन : देउवा

    महाधिवेशनको मिति हेरफेर हुँदैन : देउवा

    काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले हालै तोकिएको १४ औं महाधिवेशनको मिति परिवर्तन नहुने स्पष्ट पारेका छन् ।

    संस्थापन पक्षबाहेक समूहले काठमाडौं बोलाएका ५२ जिल्लाका सभापतिहरुले बिहीबार केन्द्रिय सभापति देउवासँग भेट गरेका थिए ।

    असन्तुष्ट समूहले परामर्श बैठकका लागि उनीहरुलाई काठमाडौं डाकेको थियो । देउवाले आफ्नो निवास बूढानीलकण्ठमा भेटेका हुन् ।

    देउवाले पार्टी सहमतिका आधारमा चल्ने भन्दै उनले त्यसका लागि आफू तयार रहेको उल्लेख गरे ।

    वरिष्ठ नेता रामचन्द्र पौडेल समूहसँग लगातार संवाद गर्दा समेत सहमति हुन नसकेको भन्दै उनले पार्टीलाई अनिर्णयको बन्दी बनाउन उचित नठानेको उनले उल्लेख गरे ।

    पार्टी सम्वाद र सहमतिकै आधारमा अगाडी बढ्ने उनले जिल्ला सभापतिहरुसँगको भेलामा बताएका थिए ।

    देउवाले महाधिवेशनको मिति २०७७ फागुन ७ बाट भने परिर्वतन हुन कुनै सम्भावना नरहेको उल्लेख गरे ।

    महाधिवेशनको मिति कायम राख्दै अन्य कार्यतालिकामा भने हेरफेर गर्न सकिने उनको भनाई छ ।

  • १ सय २२ चिनियाँलाई नेपालले पठायो फिर्ता

    १ सय २२ चिनियाँलाई नेपालले पठायो फिर्ता

    काठमाडौं । नेपालमा पक्राउ परेका १ सय २२ जना चिनियाँ नागरिकलाई नेपालले फिर्ता गरेको छ ।

    अब उनीहरु ४ वर्षसम्म नेपाल छिर्न पाउने छैनन् । अध्यागमनसम्बन्धी कानून उल्लंघन गरेका उनीहरुलाई चीन सरकारकै सहयोगमा पक्राउ गरिएको हो ।

    उनीहरुलाई लिन चीनबाट दुई वटा जहाज काठमाडौंका आएका थिए । कुन्मिङबाट चाइना इस्टर्न र ग्वान्झाओबाट चाइना साउदर्नको जहाजले चीनका नागरिकलाई नेपालबाट लगेका हुन् ।

    महानगरीय प्रहरी परिसर काठमाडौंबाट हत्कडी लगाएरै प्रहरीको गाडीमा उनीहरुलाई विमानस्थल पुर्याइएको थियो । नेपालले उनीहरुलाई देश निकाला गरेको छ ।

    उनीहरुलाई ९ वटा घरमा छापा मारेर पक्राउ गरिएको हो ।

    उनीहरुको साथबाट ७४७ थान मोबाइल, ल्यापटप ३३१, सिपियु ९८, मनिटर ९९, पेन्ड्राइभ २२, सिमकार्ड ३२७ र पासपोर्ट ६७ थान फेला परेको थियो। उनीहरुलाई अब चीनमै थप अनुसन्धान हुनेछ ।

  • नेपाली सेनाले आफ्ना सैनिकलाई भन्यो : इराकमा सतर्क रहनु

    नेपाली सेनाले आफ्ना सैनिकलाई भन्यो : इराकमा सतर्क रहनु

    काठमाडौं । नेपाली सेनाले इराकमा खटिएका आफ्नो संगठनका सैनिकलाई सतर्क रहन आग्रह गरेको छ । शान्ति स्थापनाका लागि इराकमा नेपाली सेना समेत तैनाथ छन् ।

    नेपाली शान्ति सैनिकलाई सतर्क रहेर जिम्मेवारइी निर्वाह गर्न सेनाले आग्रह गरेको हो । इराकको किरकुक र इरविलमा नेपाली सेना तैनाथ छन् ।

    इरान र अमेरिकाबीच तनाव शुरु भएपछि मध्यपूर्वमा फेरी भिषण युद्धको आंशका भइरहेको छ ।

    बुधबार बिहानै इरानले अमेरिकी सैन्य अखडामा मिसाइल प्रहार गरेपछि अमेरिकाबाट कस्तो प्रतिक्रिया आउने हो भन्ने त्रास जारी रहेको छ ।

    इरानले भने आक्रमणमा ८० जना अमेरिकी सैनिक मारेको दावि गरेको छ ।

    अमेरिकी कारबाहीमा इरानका सैन्य कमान्डर कासिम सुलेमानी मारिएपछि इरान बदलाको मनस्थितिमा छ ।

    सेनाले बुधबार विज्ञप्ति निकालेर सबै नेपाली सैनिक सकुसल रहेको समेत उल्लेख गरेको छ ।

    शान्ति स्थापनामा इराकमा तैनाथ नेपाली सेनाको गार्ड युनिटलगायत लेबनान र सिरियामा तैनाथ नेपाली सेनाका युनिटमा पनि विशेष सतर्कता अपाउन सेनाले निर्देशन दिएको छ ।

  • ट्रम्पले भने : मिसाइल हानेको सत्य हो, भोलीसम्म विस्तृतमा बताउँछु

    ट्रम्पले भने : मिसाइल हानेको सत्य हो, भोलीसम्म विस्तृतमा बताउँछु

    काठमाडौं । इरानले इराकस्थित सैन्य क्याम्पमा गरेको मिसाइल हमलालाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्वीकार गरेका छन् ।

    हमलापछि टुइट गर्दै राष्ट्रपति ट्रम्पले परिस्थिति प्रतिकूल नरहेको भन्दै उनले यसको क्षतिबारे भोली बिहानसम्म विस्तृतमा बताउने उल्लेख गरेका छन् ।

    उनले अमेरिकासँग विश्वकै शक्तिशाली र हतियारवद्ध सुसज्जित सेना रहेको समेत उनले उल्लेख गरेका छन् ।

    आफ्ना सैन्य कमाण्डरको अमेरिकी आक्रमणमा निधन भएपछि इरानले बदलास्वरुप आक्रमण थालेको हो । यसले अब मध्यपूर्वी एसियामा अशान्ती हुने अवस्था सिर्जना गरेको छ ।

  • एकै दिन दुई उद्योगमा आगलागी, लाखौंको क्षति

    एकै दिन दुई उद्योगमा आगलागी, लाखौंको क्षति

    वीरगन्ज । सुनसरी र वीरगन्जमा एकै दिन दुई उद्योगमा भिषण आगलागी भएको छ । सुनसरीको दुहबीस्थित पशुपति बिस्कुट उद्योग र वीरगञ्जस्थित सरस्वती कपडा उद्योगमा आगलागी भएको हो ।

    आगलागीले लाखौं मूल्य बराबरको क्षति भएको बताईको छ । चौधरी ग्रुपले चलाएको पशुपति बिस्कुटमा मंगलबार राति करिब ८ बजेबाट आगोलागी भएको थियो ।

    यसलाई नियन्त्रणमा लिन करीव साढे ४ घण्टा लागेको थियो । यहाँको आगो निभाउन पाँच वटा वारुणयन्त्र खटिएका थिए । सेना तथा प्रहरी स्थानीयको सहयोगमा आगो निभाइएको थियो ।

    उता, वीरगञ्ज महानगरपालिका वडा नम्बर ५ रेशमकोठीस्थित जवाहिर गुप्ताको सरस्वती कपडा उद्योगमा समेत गएरात नै आगलागी भएको छ ।

    यसले तयारी कपडा, मेसिनलगायत जलेर नष्ट भएको उद्योगले जनाएको छ ।

    यद्दपी दुबै उद्योगमा आगलागली कति क्षति भयो भन्ने बारे भने अझै स्पष्ट भइसकेको छैन । यस उद्योगमा साँझ साढे छ बजेबाट आगलागी भएको थियो ।

  • आज रामचन्द्र पौडेल पक्षका जिल्ला सभापतिको भेला

    आज रामचन्द्र पौडेल पक्षका जिल्ला सभापतिको भेला

    काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीमा मनोमानी गरेको भन्दै असन्तुष्ट रामचन्द्र पौडेल पक्षधर जिल्ला सभापतिहरुको भेला आज काठमाडौंमा आयोजना हुदैछ ।

    सभापति देउवालाई सहमतिका लागि दबाब दिन जिल्ला सभापतिहरूको भेला आयोजना गर्न लागिएको पौडेल पक्षधर नेताहरुले बताएका छन् ।

    देउवाले पार्टीमा एकपक्षीय रूपमा निर्णय गर्दै लोकतान्त्रिक पार्टीकै धज्जी उडाएको पौडेल पक्षधरको आरोप छ ।

    कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा भेला आयोजना हुँदैछ । भेलामा पूर्वमहामन्त्री कृष्ण सिटौला समूह पनि सहभागी हुने तयारी रहेको छ ।

    देउवाले ११ पुसमा बहुमतबाट महाधिवेशनको कार्यतालिका तोक्दै आफ्नो कार्यकाल एक वर्ष थपेका थिए ।

    साथै विधानका दफा निलम्बन गर्ने, विभागको संख्या थप्ने र तरुण दलको म्याद बढाउने निर्णय समेत उनले गरेका थिए ।

    यस निर्णयको विपक्षमा पौडेल र सिटौला पक्षका नेता रहेका छन् ।

  • कहाँ अड्कियो सभामुखको हलो ?

    कहाँ अड्कियो सभामुखको हलो ?

    काठमाडौं । सत्तारुढ नेकपाभित्र आन्तरिक विवादले राज्यका तीन अंगमध्ये एक व्यवस्थापिका संसद अनिर्णयको बन्दी भएको छ । सभामुख कृष्णबहादुर महरालाई बलात्कार प्रयासको आरोप लागेपछि उनले राजिनामा गरे ।

    असोजमा उनको राजिनामा आएको थियो । त्यसको तीन महिना नाघिसक्दा समेत मुलुकले अझै सभामुख पाउन सकेको छैन ।

    सरकारको सिफारिसमा राष्ट्रपतिले ४ पुसमा संसदको हिउँदे अधिवेशन आह्वान गरेकी थिइने । त्यसपछि संसद अगाडी नै बढ्न सकेको छैन ।

    किनकी नेतृत्वको अभावले संसद बस्न सकेको छैन । सभामुख वा उपसभामुख नभएको अवस्थामा जेष्ठ नागरिकले चलाउन सक्ने प्रावधान छ ।

    सभामुखका लागि नेकपा भित्र पूर्व एमाले र पूर्व माओवादी खेमा बीच नै विवाद छ । त्यसमाथि राष्ट्रपति विद्यादेवि भण्डारी वर्तमान उपसभामुख शिवमाया तुम्बाहाम्फेको पक्षमा रहेकी छिन् ।

    जसले गर्दा नेताहरुबीच कुरा मिल्न सकेको छैन । पार्टीमा पूर्वएमालेको तर्फबाट प्रधानमन्त्री भइसकेको अवस्थामा सभामुखमा पूर्वमाओवादी नेताहरुले दावि गरेका छन् ।

    किनकी प्रधानमन्त्रीका लागि पूर्वसहमति अनुसार प्रचण्डले दावा नगरेपछि उनीमाथि फेरी पनि पूर्वएमालेका अगाडी झुकेको आरोप उनकै समर्थक नेताहरु लगाउँछन् ।

    यस्तो अवस्थामा कुनै पनि हालतमा पद छाड्न नहुने पूर्वमाओवादी नेताहरुको तर्क रहेको छ ।

    प्रचण्ड र केपी ओलीबीच मात्र कुरा मिल्दा पनि दोस्रो तहका नेताबीच सहमतिमा कुनै समस्या छैन । तर, दुई नेतामा पुगेर अड्किएको हलोका कारण संसदको मेला अलपत्र परेको छ ।

  • १८ राष्ट्रिय सभा सदस्यका लागि ४५ जना भिड्ने

    १८ राष्ट्रिय सभा सदस्यका लागि ४५ जना भिड्ने

    काठमाडौं । ९ माघका लागि निर्धारित राष्ट्रियसभा सदस्यको १८ पदमा ४५ जनाको उम्मेदवारी परेको छ । आइतबार सात वटै प्रदेशमा मनोनयन दर्ताको काम सम्पन्न भएको छ ।

    उमेदवारहरुले तोकिएको स्थानमा पुगी उमेदवारी दर्ता गराएका छन् । यस पटक चर्चित अनुहारका रुपमा अर्थमन्त्री डा. युवराज खतिवडाको बर्हिगमन हुँदैछ भने नेकपाका प्रवक्ता तथा प्रत्यक्ष निर्वाचनमा पराजित अनुहार नारायणकाजी श्रेष्ठको इन्ट्री हुँदैछ ।

    निर्वाचन आयोगका अनुसार राष्ट्रियसभा निर्वाचनका लागि कूल ६ दलको उम्मेदवारी परेको छ ।

    सत्तारुढ नेकपा, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, राष्ट्रिय जनता पार्टी, समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीबाट उम्मेदवारी दर्ता भएको छ ।

    नेमकिपाले प्रदेश ३ मा र राजमोले गण्डकी र प्रदेश ५ मा उम्मेदवारी दिएका हुन् । प्रदेश २ मा नेकपा र राजपा तथा कांग्रेस र समाजवादी पार्टीबीच तालमेल गरेर उमेदवारी परेको छ ।

    अन्य स्थानमा भने सबै दल एक्लाएक्लै भिड्ने भएका छन् । सातवटै प्रदेशमा महिला ७, दलित २, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समूहका २ र अन्य समूहका ७ गरी १८ पदमा निर्वाचन हुन लागेको छ ।

    महिला समूहतर्फ १६, दलित समूहतर्फ ५, अपाङ्गता भएको व्यक्ति वा अल्पसंख्यक समूहतर्फ ५ र अन्य समूहतर्फ १९ गरी कुल ४५ जनाको उमेदवारी परेको आयोगले जानकारी दिएको छ ।

    राष्ट्रियसभा निर्वाचनमा प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख तथा उपप्रमुखले मतदान गर्न पाउने प्रावधान रहेको छ ।

  • देशभरको मौसममा सुधार

    देशभरको मौसममा सुधार

    काठमाडौं । आजबाट देशभर मौसममा सुधार आउने भएको छ । यद्दपी हुस्सुका कारण चिसो भने जारी रहने छ । उच्च हिमाली भेगमा जमेको हिमले चिसो बनाइरहने छ ।

    वर्षा र हिमपात भने तत्कालका लागि रोकिने मौसम पूर्वानुमान महाशाखाले उल्लेख गरेको छ ।

    महाशाखाका अनुसार आइतबारबाट मौमस बदली गराउने पश्चिमी न्यून चापीय प्रणाली कमजोर हुँदैछ ।

    जसले गर्दा वर्षातःको सम्भावना छैन । उच्च हिमाली भेगमा अझै अलिअलि बादल भएकाले कतै छिटफुट हिमपातको सम्भावना रहेको छ ।

    काठमाडौं उपत्यकाको मौसम आज सफा रहनेछ । तराई तथा पहाडी भेगमा समेत बिहान हुस्सु भने जारी रहने छ ।

    तर, घाम लागिसकेपछि त्यसले पनि क्रमशः छाड्दै जान्छ । पछिल्लो तीन दिन यता देशभर पानी परेपछि चिसो ह्वात्तै बढेको छ ।

  • राष्ट्रियसभा सदस्य निर्वाचनको मनोनयन दर्ता आज

    राष्ट्रियसभा सदस्य निर्वाचनको मनोनयन दर्ता आज

    काठमाडौं । ९ माघका लागि निर्धारित राष्ट्रियसभा निर्वाचनका लागि आज उम्मेदवारी मनोनयनपत्र दर्ता हुने भएको छ ।

    निर्वाचन आयोगले दिएको जानकारी अनुसार आज बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म उम्मेदवार मनोनयन दर्ता गर्न सकिने गरी तालिका राखिएको छ ।

    ५९ सदस्य रहने राष्ट्रियसभाबाट १९ जना सदस्यको पदावधी २० फागुनबाट सकिदैछ । उनीहरुको पदावधी दुई वर्षे कार्यकालका लागि थियो ।

    १९ जनामध्ये १८ जना निर्वाचनबाट आउनेछन् भने एकजनालाई सरकारको सिफारिशमा राष्ट्रपतिले मनोनयन गर्ने प्रावधान रहेको छ ।

    यस निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय सम्बन्धित प्रदेशको उच्च अदालत रहेका जिल्लामा स्थापना गरिएको आयोगले जनाएको छ ।

    मनोनयनपत्र दर्ता गर्न जादा उमेदवारले नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, मतदाता नामावलीको उतार, धरौटी जम्मा गरेको नगदी रसिद वा बैंक भौचर पेश गर्नुपर्ने छ ।

    आयोगका अनुसार महिला, दलित वा अल्पङ्ख्यक समुदाय वा आर्थिकरुपले विपन्न उम्मेदवारको हकमा धरौटी रकममा ५० प्रतिशत छुटको व्यवस्था रहेको छ ।

    प्रस्तावक र समर्थकको नाम, सम्बन्धित प्रदेशसभाका सदस्य वा सम्बन्धित प्रदेशभित्रको गाउँपालिकाको अध्यक्ष वा उपाध्यक्ष तथा नगरपालिकाको प्रमुख वा उपप्रमुख समावेश भएको निर्वाचन मण्डलको मतदाता नामावलीमा नाम दर्ता भएको व्यहोरा खुल्ने प्रमाण पनि पेश गर्नुपर्ने आयोगको सूचिमा उल्लेख छ ।

    राष्ट्रियसभामा सदस्यको पहिलोपटक एकतिहाइ सदस्यको पदावधि दुई वर्ष, अर्को एकतिहाइको चार वर्ष र बाँकी एकतिहाइको छ वर्षमा पदावधि समाप्त हुने संवैधानिक व्यवस्था रहेको छ।

  • आधा क्विन्टल गाँजा पक्रन प्रहरीले गर्यो हवाई फायर

    आधा क्विन्टल गाँजा पक्रन प्रहरीले गर्यो हवाई फायर

    हेटौडा । प्रहरीले शनिबार ५३ किलो गाँजा बरामद गरेको छ । हेटौंडा-वीरगञ्ज सडकखण्डमा पर्ने रातोमाटे-चुरियामाइ जंगलमा गाँजा बरामद भएको हो । त्यसका लागि प्रहरीले हवाइ फायर नै गर्नु परेको छ ।

    प्रहरीका अनुसार शनिबार विहान हेटौंडाबाट वीरगञ्जतर्फ गइरहेको डिए ३ सिएक्यु ४१७२ नम्बरको कारलाई रातोमाटे प्रहरी चौकीले चेकजाँच गर्न रोकेको थियो । तर, कार नरोकी भाग्यो ।

    त्यसपछि प्रहरीले नियन्त्रणमा लिन हवाइ फायर नै गरेको थियो । प्रहरीका अनुसार कारमा तीन जना व्यक्ति थिए ।

    उनीहरुले सिटमुनि लुकाइराखेको अवैध गाँजा ३२ किलो बरामद गरेको छ । तीनै जना प्रहरीको फन्दामा परेका छन् ।

    प्रहरीले भारत बिहारको मोतिहारी जिल्ला पूर्वीचम्पारण चैनपुरका ३७ वर्षीय दिलीपकुमार सिंह, रघुनाथपुरका १८ वर्षीय उज्ज्वलकुमार ठाकुर, रौतहट यमुनामाई गापा–४ का विकास सिंहलाई नियन्त्रणमा लिएको जानकारी दिएको छ ।

    शनिबार नै सोही सडक खण्डमा बा ५ ख ७२६८ नम्बरको ट्रकबाट २१ केजी अवैध गाँजा बरामद भएको थियो ।

    यस ट्रकका चालक भने फरार रहेको र खोजी भइरहेको प्रहरीले बताएको छ । ट्रकमा यात्रा गरिरहेका राक्सिराङ गापा–५ का ३५ वर्षीय राजकुमार मोक्तान भने पक्राउ परेका छन् ।

  • कांग्रेसले टुंग्यायो प्रदेशसभा उमेदवार

    कांग्रेसले टुंग्यायो प्रदेशसभा उमेदवार

    काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले राष्ट्रियसभा सदस्य निर्वाचनको प्रयोजनका लागि पार्टीका तर्फबाट उठ्ने उम्मेदवारको टुंगो लगाएको छ ।

    पार्टी केन्द्रीय समितिले कांग्रेस पदाधिकारी बैठकलाई उमेदवार छनोटको अधिकार दिएको थियो । सोही अनुसार शनिबार १४ जना उम्मेदवारको टुंगो पार्टीले लगाएको छ ।

    २ उम्मेदवारको नाम टुंगो लाग्न बाँकि रहेको छ । ९ माघमा हुने निर्वाचनमा कूल १८ सांसदका लागि निर्वाचन हुनेछ । कांग्रेसले प्रदेश नम्बर २ मा समाजवादी पार्टीसँग तालमेल गरेको छ ।

    जहाँ कांग्रस र समाजवादीले दुई खुई सीटमा तालमेल गरेका हुन् । आइतबार मनोनयन दर्ताको कार्यक्रम रहेको छ ।

    कांग्रेसले प्रदेश नम्बर १ मा पाँचथरका निरबहादुर विश्वकर्मा (दलित) र सुनसरीकी मीना पुलामी मगर (महिला) लाई छानेको छ । झापाका राजेन्द्र घिमिरे अन्यमा उमेदवार बनेका छन् ।

    प्रदेश नम्बर २ मा महोत्तरीकी नगिना यादव (महिला), धनुषाका भोला पन्जियार (अल्पसंख्यक) रअपांगता)मा उमेदवार छनोट भएका छन् ।

    कांग्रेसले प्रदेश नम्बर ३ बाट न्धिुपाल्चोकका हरिशरण श्रेष्ठ (अन्य), चितवनकी छलीकुमारी शर्मा उपाध्याय (महिला)लाई चयन गरेको छ ।

    गण्डकी प्रदेशमा स्याङ्जाका सूर्यप्रसाद रेग्मी (अन्य), म्याग्दीकी विमला गौचन (महिला) छानेको छ ।

    प्रदेश नम्बर ५ मा अर्घाखाँचीका बालकृष्ण पाण्डे (अन्य) र दाङकी गिरिजा न्यौपाने (महिला)मा छानिएका छन् ।

    बाँकेकी मेराज हलवाई अल्पसंख्यक र अपाङ्गता)बाट छानिएकी छिन् । कर्णाली प्रदेशको भने उम्मेदवार अझै टुंग्याइएको छैन ।

    सुदुरपश्चिम प्रदेशबाट बैतडीका प्रताप ठगुन्ना (अन्य) र कैलालीकी तुलसी देवकोटा (महिला) छानिएका छन् ।

  • शनिबार पनि मौसम प्रतिकूल

    शनिबार पनि मौसम प्रतिकूल

    काठमाडौं । पश्चिमी वायुको प्रभावले आएको मौसमको अदली बदली शनिबार समेत कायम रहने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार साँझबाट मात्र मौसम सफा हुने सम्भावना रहेको छ ।

    शनिबार अधिकांश स्थानमा दिउँसो र साँझसम्म पानी पर्ने सम्भावना रहेको छ । पश्चिमी भेगका केही स्थानमा वर्षासँगै उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात हुने भएको छ ।

    काठमाडौं उपत्यका अहिले केही खुलेको मौसम समेत दिनभर प्रतिकूल नै रहने छ । वर्षा र हिमपातले चिसो बढाएको छ ।

    यसले हिमाली भेगका राजमार्ग र हवाई रुट अवरुद्ध भएका छन् । शुक्रबारयता हिमाली भेगका विमानस्थलमा उडान हुन सकेको छैन ।

    जसले गर्दा जनजीवन नराम्रोसँग प्रभावित भएको छ ।

    शुक्रबार काठमाडौंमा समेत जहाजको उडान उडान अवतरण प्रभावित भएको थियो । काठमाडौं आसपासका उच्च चुचुरोमा हिउ परेको थियो ।

  • नेकपाले टुग्यायो राष्ट्रिय सभा उमेदवार, नारायणकाजी पनि उठ्ने

    नेकपाले टुग्यायो राष्ट्रिय सभा उमेदवार, नारायणकाजी पनि उठ्ने

    काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीले शुक्रबार राष्ट्रियसभा निर्वाचन प्रयोजनका लागि उम्मेदवार छनोट गरेको छ ।

    नेकपाका प्रवक्ता नारयणकाजी श्रेष्ठसहित पूर्वमाओवादीबाट ७ र पूर्वएमालेबाट ९ जना पर्ने गरी उमेदवारको टुंगो लागेको छ ।

    नेकपाले राजपासँग तालमेल गरेको छ । दुई जना राजपाबाट उमेदवार हुनेछन् । नेकपाले भने १६ जना उम्मेदवार तोकेको हो ।

    निर्वाचन आयोगको तालीका अनुसार राष्ट्रियसभाको उम्मेदवारी मनोनयन २० पुस र चुनाव ९ माघमा तोकिएको छ ।

    ५९ सदस्यीय राष्ट्रियसभा सदस्यमध्ये १८ जना सदस्यको दुई वर्षे कार्यकाल २० फागुनबाट सकिदैछ ।

    राष्ट्रियसभा सदस्यको पदावधि सकिनु ३५ दिनअगाडि नै चुनाव गरिसक्नुपर्ने कानुनी प्रावधान रहेको छ ।

    राष्ट्रियसभाका एक तिहाइ सदस्यको पदावधि प्रत्येक दुई वर्षमा समाप्त हुन्छ ।

    दुई वर्षे कार्यकाल पुरा गरी सरिता प्रसाई, सुरेन्द्रराज पाण्डे, हरिचरण शिवाकोटी, रामप्रीत पासवान, बिन्दादेवी आले, वृषेशचन्द्रलाल, बद्रीप्रसाद पाण्डे, बलरामप्रसाद बाँस्कोटा, मीना बुढा, मुक्ताकुमारी यादव, डा. युवराज खतिवडा, युटोल तामाङ, रमेशप्रसाद यादव, राजकुमार यादव, दुर्गाप्रसाद उपाध्याय, धनकुमारी खतिवडा, कमलाकुमारी ओली, कालीबहादुर मल्ल र खेमराज नेपाली  बिदा हुँदैछन् ।

    नेकपाले प्रदेश १ बाट इन्दु गौतम, गोपी अच्छामी र देवेन्द्र दाहाललाई उमेदवार बनाएको छ ।

    प्रदेश २ प्रदेश २ मा नेकपा र राजपाले दुई दुई सीट लिँदा नेकपाको तर्फबाट राधेश्याम पासवान र तुलसा दाहाल उम्मेदवार बन्ने छन् ।

    प्रदेश ३ मा नेकपाले डा. बेदुराम भुसाल र गंगा बेलवासेलाई उम्मेदवार बनाएको छ ।

    गण्डकी प्रदेशबाट नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ र भगवती न्यौपाने उठ्ने छन् ।

    प्रदेश ५मा बिमला घिमिरे, जगप्रसाद शर्मा र गोपाल भट्टराई उमेदवार बनेका छन् । कर्णाली प्रदेशमा मायाप्रसाद शर्मा, सुमित्रा बिसी उम्मेदवार बन्ने भएका छन् ।

    सुदूरपश्चिम प्रदेश सुदूरपश्चिम प्रदेशबाट शारदा भट्ट र तारामान स्वाँर उम्मेदवार बनेका छन् ।

  • राष्ट्रियसभा चुनावमा कांग्रेस र समाजवादीले तालमेल गर्ने

    राष्ट्रियसभा चुनावमा कांग्रेस र समाजवादीले तालमेल गर्ने

    काठमाडौं । नेपाली कांग्रेस र समाजवादी पार्टी नेपालबीच राष्ट्रियसभा निर्वाचनमा तालमेल गर्ने सहमति भएको छ । दुई पार्टीबीच प्रदेश २ का चार सिट बाँडफाँट गर्ने सहमति भएको छ ।

    सहमति अनुसार कांग्रेसले महिला र अल्पसंख्यक तथा समाजवादीले दलित र अन्य पदको उमेदवारी दिने भएका छन् ।

    सहमतिपत्रमा कांग्रेस सभापति शेरबहादुर देउवा र समाजवादीका अध्यक्ष उपेन्द्र यादवले हस्ताक्षर गरेका छन् ।

    प्रदेश २ मा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा)बीच चुनावी तालमेल भइसकेको छ ।

    कांग्रेसले बिहीबार नै समाजवादी पार्टीसँगको तालमेलबारे संकेत गरेको थियो । समाजवादी पार्टी सत्तारुढ नेकपासँग चिढिएसँगै कांग्रेससँग नजिक भएको हो ।

  • आज लाग्ला सभामुखको टुंगो ?

    आज लाग्ला सभामुखको टुंगो ?

    काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठक आज बस्दैछ ।

    शुक्रबार बिहान डाकिएको बैठकमा राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवार चयन र र सभामुख पदमा पार्टीका नेताको टुंगो लगाउने विषयमा छलफल हुने बताइएको छ ।

    बैठक प्रधानमन्त्री निवास वालुवाटारमा बस्दैछ । बिहीबार पनि बैठक बसेको थियो, तर सहमति हुन सकेन् ।

    सभामुख पदमा अध्यक्षद्धय प्रचण्ड र केपी शर्मा ओलीबीच पूर्व माओवादी की पूर्व एमालेबाट सभामुख बनाउने भन्ने सम्बन्धमा सहमति जुट्न बाँकि रहेको छ ।

    राष्ट्रियसभामा भने कूल १८ सिटका लागि उमेदवार खडा गर्नुपर्ने भएको छ । त्यसमध्ये २ राष्ट्रिय जनता पार्टी (राजपा)लाई दिने सहमति भएको छ । नेकपाका भागमा १६ सिट पर्छ ।

    सभामुख कृष्णबहादुर महरामाथि बलात्कार प्रयासको आरोप लागेपछि यो पद अहिले रिक्त रहेको छ । तर, सत्तारुढ दल भित्रकै गुटबन्दीले उमेदवार टुंगो लागेको छैन ।

  • आजबाट तीन दिनसम्म हिमपात र वर्षात, चिसो फेरी बढ्ने

    आजबाट तीन दिनसम्म हिमपात र वर्षात, चिसो फेरी बढ्ने

    काठमाडौं । दुई साता अघि देशभर चिसो ल्याउने गरी आएको पश्चिमी वायुको प्रभावलाई दोहोर्याउने गरी चिसो बढ्ने भएको छ ।

    जल तथा मौसम विज्ञान विभागका अनुसार आजबाट तीन दिनसम्म मौसम प्रभावित हुनेछ ।

    देशभर मौसम बदली भइ केही स्थानमा वर्षा र हिमपातको सम्भावना रहेका विभागले जनाएको छ । काठमाडौं उपत्यकासहित देशभर आकासमा बादल लागेको छ । घाम छोपिएको छ ।

    त्यसकारण धेरैजसो स्थानमा चिसो हुने विभागको भनाई छ । सोही कारण अधिकांश स्थानमा पानी पर्ने सम्भावना समेत देखिएको छ ।

    यो क्रम शक्रबार रातिसम्मै रहने छ । उच्च पहाडी तथा हिमाली भागमा मध्यमदेखि भारी हिमपात र पहाडी तथा तराईका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

    शनिबार र आइतबार पनि यस्तै हुने विभागले जनाएको छ । शनिबारबाट क्रमिक सुधारको सम्भावना छ । काठमाडौंमा भने बिहीबार दिउँसो पनि वर्षा भएको थियो ।

  • अब काठमाडौंमा सादा पोशाकमा घुमुवा पुलिस नखट्ने

    अब काठमाडौंमा सादा पोशाकमा घुमुवा पुलिस नखट्ने

    काठमाडौं । महानगरीय प्रहरी कार्यालय रानीपोखरीबाट सादा पोशाकमा खटिदै आएको समूह अब नखट्ने भएको छ ।

    यसरी खटिदै आएको टोलीको ड्यूटी हटाएर अब पोशाकमै प्रहरी खटाउने निर्णय भएको छ । यस्तो निर्णय बिहीबारबाटै कार्यान्वयनमा आएको कार्यालयले जानकारी दिएको छ ।

    मातहतका प्रहरी कार्यालयले शान्ति सुरक्षा र अपराध नियन्त्रणमा आफै खटिदै आएको र महानगरीय अपराध नियन्त्रण महाशाखाबाट सादा पोशाकमा पुलिस खटिने भएकाले दोहोरो गरी कर्मचारी खटाउनु आवश्यक नभएको निष्कर्षमा कार्यालय पुगेको हो ।

    अब कार्यालयका टोलीहरु सबै पुलिसकै पोशाकमा सुरक्षामा खटिने भएका छन् ।

    घुमुवा प्रहरीप्रति समाजको इमेज पनि नकारात्मक बन्दै गएको, पदको दुरुपयोग गरी गलत फाइदा लिने गरेको समेत आरोप पुलिसमाथि लाग्दै आएको छ ।

    उपत्यकामा प्रहरी वरिष्ठ उपरीक्षकको नेतृत्वमा २१ जनासम्म घुमुवा टोली परिचालन हुने गरेको थियो ।