Category: समाचार

  • विप्लवका उपत्यका इन्चार्ज माइला लामा पक्राउ

    विप्लवका उपत्यका इन्चार्ज माइला लामा पक्राउ

    काठमाडौं । प्रहरीले विप्लव समूहका प्रभावशाली नेता माइला लामालाई पक्राउ गरेको छ । उनी विप्लव समूहका काठमाडौं उपत्यका व्युरो इन्चार्ज हुन् ।

    काँडाघारीबाट शनिबार मध्यरातमा लामा पक्राउ परेको महानगरीय अपराध महाशाखाले पुष्टी गरेको हो । उक्त स्थानबाट दुई जना पक्राउ परेको प्रहरीको भनाई छ ।

    अर्का विप्लव कार्यक्रता रेशम तामाङ हुन । नेता लामालाई काठमाडौं उपत्यका विभिन्न स्थानमा भएको बम विष्फोटको मूख्य योजनाकार मानिएको छ ।

    काठमाडौंका नख्खु, अनामनगर, सुकेधारालगायत स्थानमा बम विस्फोटमा परी आधा दर्जनले ज्यान गुमाएका थिए ।

    त्यसमध्ये अनामनगर र सुकेधारामा विप्लवकै कार्यक्रता मारिएका थिए । लामा २०६४ सालमा संविधानसभा निर्वाचनका लागि काठमाडौंबाट चुनाव लडेर पराजित भएका हुन् ।

    उनी तत्कालिन माओवादी आन्दोलनमा सांगितिक विभागको नेतृत्व गर्थे । माओवादीको जनसाँस्कृतिक महासंघका अध्यक्ष समेत भएका लामा पार्टी फूटेपछि भने मोह वैद्य हुँदै विप्लव समूहतिर लागेका हुन् ।

    उनको पृष्ठभूमि पनि संगित नै हो । उनले संयौ क्रान्तिकारी गीतको सिर्जना तथा गायनमार्फत योगदान दिएका छन् ।

    पछिल्लो समय सरकार र विप्लव समूहबीच वार्ताको हल्ला चलेकै समयमा विप्लव समूहका प्रभावशाली नेतालाई प्रहरीले पक्राउ गरेको हो ।

    यसको प्रतिक्रिया समूहले अझै दिइसकेको छैन ।

  • १५ लाख घुससहित ३ इन्जिनियर पक्राउ

    १५ लाख घुससहित ३ इन्जिनियर पक्राउ

    काठमाडौं । पछिल्लो समय इन्जिनियरहरु घुससहित पक्राउ पर्ने क्रम तिब्र भएको छ ।

    शनिबार मात्र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३ जना इन्जिनियरलाई १५ लाख घुससहित पक्राउ गरेको हो ।

    कर्णाली नदी नियन्त्रण आयोजनाका इन्जिनियर घुससहित पक्राउ परेको अख्तियारले जानकारी दिएको छ ।

    शनिबार बर्दियाको गेरुवा गाउँपालिकाबाट इन्जिनियर कमल सिटौला, विशेश्वरप्रसाद शाह र हरीप्रसाद चौधरीलाई अख्यितारको टोलीले घुससहित नियन्त्रणमा लिएको बताएको हो।

    पक्राउ परेका तीनै जनालाई हिरासतमा लिएर थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

  • साना दल आन्दोलित

    साना दल आन्दोलित

    काठमाडौं । साना राजनीतिक दलले सरकारविरुद्ध आन्दोलनको घोषणा गरेका छन् ।

    धर्म र संस्कृतिको संरक्षणमा सरकारलाई दवाव दिने उद्देश्यले भन्दै विभिन्न साना राजनीतिक दलले संयुक्त आन्दोलनको घोषणा गरेका हुन् ।

    मुलुकको धर्म र संस्कृतिमाथि बाह्य दवाव बढेको भन्दै सरकारलाई खबरदारी गर्नु परेको उनीहरुको भनाई छ ।

    नेपालीको पहिचान मेटाउन नदिन सरकारलाई दवाव दिन आन्दोलनमा जानु परेके नेकपा (माले)का महासचिव सिपी मैनालीले बताए ।

    साना दलले शनिबार राजधानीमा पत्रकार सम्मेलन गर्दै आन्दोलनको घोषणा गरेका हुने । ‘संयुक्त राष्ट्रिय आन्दोलन’ भन्दै साना दलले आन्दोलनमा जाने घोषणा गरेका हुन् ।

    नेकपा माले, हरिबोल भट्टराई नेतृत्वको नेपाली कांग्रेस (विपी), राष्ट्रिय लोकतान्त्रिक मंचलगायत ९ घटकले आन्दोलनको घोषणा गरेका हुन् । यद्दपी यी दलको अस्तित्व अहिले संसदमा छैन ।

  • अमेरिकामा यो सप्ताहन्त यस्तो डरलाग्दो तातो

    अमेरिकामा यो सप्ताहन्त यस्तो डरलाग्दो तातो

    विश्वन्यूज/न्यूयोर्क

    अमेरिकामा झन्डै २० करोड मानिसले यो सप्ताहन्त कठोर गर्मीको सामना गर्दै छन् ।शिकागोस्थित मौसम पूर्वअनुमान कार्यालयले यो सप्तान्तको गर्मीलाई सन् २०१२ देखि यताकै सबैभन्दा धेरै गर्मी भनेको छ । मध्य अमेरिकादेखि पूर्विय तटसम्म महसुस गरिने यो तापका कारण हालसम्म २ जनाको मृत्‍यु भई सकेको छ । सुपर बलका चर्चित खेलाडी मिच प्रेटरसको गर्मीका कारण आर्कान्सासस्थित आफ्नै अपार्टमेन्टमा निधन भयो । न्युयोर्क राज्यका खुल्ला चौरमा आयोजित अधिकांश कार्यक्रम रद्द गरिएका छन् भने बाहिर नहिंड्न सार्वजनिक सुचना समेत जारी गरिएको छ ।
    उच्च तापक्रमका कारण विन्सकन्सिन् राज्यका २ वटा बिधुतीय सब-स्टेसनमा आगलागी हुँदा बिधुतीय अवरोध उत्पन्न भएपछि राज्य सरकारले संकटकाल घोषणा गरेको छ ।
    न्यु अर्लिन्स राज्यमा हिजो शुक्रबार १ बजे १२० डिग्री फरेनहाइट्स् (झन्डै ४९ डिग्री सेल्सियस् ) मापन गरिएको थियो । मायामीदेखि मिनियापोलिससम्मका सम्पूर्ण भागहरुमा हिजो शुक्रबार १०० डिग्री भन्दा माथिको तापक्रम मापन गरियो । मध्य पश्चिमका माथिल्लो केही भाग र पूर्वीय तटका सम्पूर्ण राज्यहरुमा शनिबार र अाईतबार १०० डिग्री माथिको तापक्रमको पूर्वानुमान गरिएको छ ।

  • भारतमा रेलले लिन्छ औसत दैनिक १० जनाको ज्यान

    भारतमा रेलले लिन्छ औसत दैनिक १० जनाको ज्यान

    मुम्बई । भारत विश्वको ठूलो रेल सञ्जाल भएको मुलुकमध्ये एक हो । भारतको यातायातको मूख्य साधन पनि रेल हो ।

    बढ्दो सञ्जाल, अधिक जनसंख्या र कमजोर व्यवस्थापनका कारण भने यहाँको रेल संजाल असुरक्षित बन्दै गएको छ ।

    भारतीय संचारमाध्यमहरुले उल्लेख गरेअनुसार भारतमा दैनिक १० जना मानिसको मृत्युको कारण रेल बनिरहेको छ ।

    बिहीबार मात्रै मुम्बईमा भएका छुट्टाछुट्टै दूर्घटनामा १५ जनाले ज्यान गुमाएका छन् । त्यो दूर्घटना रेल पल्टीएर नभई अधिक भिडभाड र रेलको लिक पार गर्ने क्रममा भएको भारतीय संचारमाध्महरुमा उल्लेख छ ।

    भारतमा सवारी साधन र सडक अनुशासन कमै मात्र पालना हुन्छ । त्यसकारण पनि वर्षेनी ठूलो संख्यामा मानिसको ज्यान जाने गरेको छ ।

    मुम्बई मात्र मात्र दैनिक ७५ लाख यात्रुले रेल सेवा प्रयोग गर्ने तथ्यांक रहेको छ ।

    तथ्यांकअनुसार सन् २०१५ देखि २०१७ सम्म भारतमा रेल दुर्घटनामा परी करिब ५० हजार मानिसले ज्यान गुमाइसकेका छन् ।

    भारतीय रेल संजाल विश्वकै चौथो ठूलो रेल संजाल हो । भारतमा डेढ लाख किलोमिटर रेल्वे ट्र्याक संचालनमा आइसकेको छ ।

    भारतमा सन् १८५३ मै रेल संचालनमा आएको थियो । भारत बेलायतको उपनिवेश भएकै समयमा रेल संजालको ठूलो विकास भएको हो ।

    एजेन्सी

  • शक्तिशाली सरकारकै पालामा कमजोर अर्थतन्त्र

    शक्तिशाली सरकारकै पालामा कमजोर अर्थतन्त्र

    काठमाडौं । निकै आशालाग्दो गरी कामको शुरुवात गरेका विज्ञ अर्थमन्त्री डा. युवराज खतिवडाको कार्यकालको पहिलो पूर्ण बजेट कार्यान्वयन तथ्यांकीय हिसावमा असफल देखिएको छ ।

    राष्ट्र बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको ११ महिनाको आंकडा अनुसार मुलुकको वित्तीय स्थिति खस्किएको अवस्थामा पाइएको छ।

    आर्थिक सूचकहरु नेगेटिभ छन् । जेठ महिनामा मूल्य बृद्धि ६.२ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष समिक्षा अवधिमा ४.१ प्रतिशत मात्र थियो । गत वैशाखमा भन्दा पनि जेठमा महंगी दर बढेको छ ।

    व्यापार घाटाले आकास छोएको छ । ११ महिनामा १२ खर्ब ११ अर्ब व्यापार घाटा पुगिसकेकोछ । व्यापार घाटा अघिल्लो वर्ष यसै समयको अवधिभन्दा १७. २ प्रतिशतले वृद्धि भएको पाइएको छ ।

    यस अवधिमा नेपालबाट भने केवल ८७ अर्ब ८३ करोड रुपैयाँको देश बाहिर गएको छ । बाहिरबाट भने १२ खर्ब ९९ अर्बको सामान आयात भएको छ ।

    ११ महिना अवधिमा मुलुकको भुक्तानी सन्तुलन ९० अर्ब ८३ करोड ऋणात्मक छ। मुलुकमा आउने भन्दा बाहिरिने रकम झण्डै १ खर्ब बढी रहेको तथ्यांकले देखाएको छ।

    विदेशी विदेशी विनिमय सञ्चिति घटेको छ । अहिलेको संचितिले ८. ८ महिनाको बस्तु आयात र ७. ७ महिनाको बस्तु तथा सेवा मात्र आयात धान्न सक्छ ।

    सरकारको चालु खाताको घाटा नै २ खर्ब ४८ अर्ब पुगेको छ। वैदेशिक लगानी उल्लेख्य बढ्न सकेको छैन ।

    रेमिट्यान्स बढ्नु बाहेक अर्थतन्त्रका सबै परिसूचक ओरालो लागेका छन् । यस अवस्थामा विज्ञ अर्थमन्त्रीको कार्यकाललाई धेरैले असफल सावित भएको भन्न थालिसकका छन् ।

    किनकी उक्त आवको बजेट अर्थमन्त्री स्वयमःले ल्याएको हुन् । उनको नेतृत्वमा मुलुकमा ठूलो आर्थिक परिवर्तनको अपेक्षा जनताले गरेका थिए ।

  • कामको खोजीमा बाहिरिने घटे, रेमिट्यान्स बढ्यो

    कामको खोजीमा बाहिरिने घटे, रेमिट्यान्स बढ्यो

    काठमाडौं । कामको खोजीमा विदेश जाने यूवाको संख्या ओरालो लाग्ने क्रममा छ । यो श्रृंखला अघिल्लो आवको ११ औं महिनासम्म पनि जारी छ ।

    नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७५\७६ को ११ महिनाको तथ्यांक अनुसार विदेश जाने यूवाको संख्यामा ३७.३ प्रतिशतले ह्रास आएको छ ।

    अन्तिम श्रम स्वीकृति संस्थागत तथा व्यक्तिगत (नयाँ र वैधानिकीकरण) का आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या घटेको राष्ट्र बैंकको आंकडाले देखाएको छ ।

    विदेश जाने युवाको संख्यामा कमी आएपनि विदेशबाट यूवाले पठाउने रेमिट्यान्स रकम भने बढ्दो क्रममा छ । आर्थिक वर्ष ०७५\७६ को ११ महिनामा करिब ८ खर्ब रुपैयाँ रेमिट्यान्स नेपालमा भित्रिएको छ ।

    राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७४र७५ को तुलनामा २०७५र७६ को समीक्षा अवधिमा रेमिट्यान्स आप्रवाह १७.५ प्रतिशतले बढेको हो ।

    खासगरी औपचारिक च्यानलबाट नेपालमा रेमिट्यान्स भित्रन थालेसँगै रेमिट्यान्सको प्रतिशत बढ्न थालेको हो ।

    यसअघि अनौपचारिक च्यानलबाट बढी रकम भित्रने गरेको थियो । सरकारले पछिल्लो समय हुण्डीको कारोबारमा कडाई गरिरहेको छ ।

    यता, मलेसियाको रोजगारी बन्द भएपछि विदेश जाने युवाको संख्या पनि निरन्तर घटिरहेको छ ।

    किनकी नेपाली यूवाबीच मलेसिया सबैभन्दा लोकप्रिय गन्तब्य थियो । विगत १ वर्षदेखि मलेसियाको रोजगारी बन्द अवस्थामा छ ।

  • धनगढी विस्फोटमा विप्लव कार्यकर्ताको संलग्नता, १ जनाको निधन

    धनगढी विस्फोटमा विप्लव कार्यकर्ताको संलग्नता, १ जनाको निधन

    धनगढी । धनगढीमा बिहीबार साँझ भएको बम विस्फोटमा विप्लव समूहको संलग्नताको आंशका प्रहरीले गरेको छ ।

    विस्फोटमा परी गम्भीर घाइते बझाङका रवी सिंहको बिहीबार राती निधन भएको छ । प्रहरीका अनुसार उनी विप्लव समूहका कार्यकर्ता हुन ।

    उनी स्वयमःले टीफीन बक्समा बोकेको विस्फोटक पदार्थ विस्फोट भएको थिया । घटनामा अन्य ४ जना घाइते छन् ।

    उनीहरुको स्थानीय अस्पतालमै उपचारइ भइरहेको प्रहरीले जानकारी दिएको छ । घटनास्थलबाट प्रहरीले पेस्टोल पनि फेला पारेको छ ।

    धनगढी उपमहानगरपालिका–४, शहीद गेटस्थित नीलम होटलमा बिहीबार बम विस्फोट भएको थियो ।

    प्रत्यक्षदर्शीहरुका अनुसार सिंहले बोकेको वस्तु विस्फोट भएको थियो । उनी होटेल भित्र छिरेर बस्नासाथ ठूलो आवाजसहित बम विस्फोट भएको थियो । सिंहको कम्मर मुनीको भागमा निकै ठूलो चोट लागेको थियो ।

    पछिल्लो समय विप्लव समूहका कार्यक्रता आफैले बोकेको बम पड्किएर धमाधम मारिरहेका छन् । यसबाट उक्त समूहको आलोकाँचो हिंश्रक राजनीति ढलमलाउन लागेको संकेत गरेको छ ।

  • कैलालीमा विस्फोट, ५ जना घाइते

    कैलालीमा विस्फोट, ५ जना घाइते

    धनगढी । धनगढी उपमहानगरपालिमा बिहीबार साँझ बम विस्फोट भएको छ । कैलाली शहीद गेट नजिकै एक होटल अगाडि बिहीबार शक्तिशाली बम विष्फोट भएको कैलाली प्रहरीले पुष्टी गरेको छ ।

    विष्फोटमा परी ५ जना घाइते भएका छन् । विस्फोटमा परी घाइतेमध्ये दुई जनाको अवस्था गम्भिर रहेको प्रहरीको भनाई छ ।

    घाइते हुनेमा बझाङका राम सिंह, कञ्चनपुरको बेलौरी–५ का लक्ष्मण सेरला, मोबिन खान, जितेन्द्र यादव र धनगढी–४, बोराडाडीका केशवराज पाण्डे रहेको प्रहरीले बताएको छ ।

    स्थानीय निलम होटल अगाडि विस्फोट भएको हो । पाण्डे उक्त होटलका सञ्चालक रहेको प्रहरीले उल्लेख गरेको छ ।

    घाइतेको स्थानीय मेट्रो अस्पतालमा उपचार भइरहेको छ । घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

    कसले र किन विस्फोट गराएको भन्नेबारे केही खुलेको छैन ।

  • साझालाई सरकारको ३ अर्ब, ३ सय विद्यूतीय बस किन्ने

    साझालाई सरकारको ३ अर्ब, ३ सय विद्यूतीय बस किन्ने

    काठमाडौं । सरकारले साझा यातायातमा ३ अर्ब रुपैयाँ शेयर थपेको छ । पछिल्लो दुई वर्ष यता घाटा चलिरहेको साझा यातायात प्रालिलाई सरकारले निकै माया गरिरहेको छ ।

    गत २९ असारमा बसेको मन्त्रीपरिषद् बैठकले साझालाई ३ अर्ब रुपैयाँ दिने निर्णय गरेको थियो ।

    बिहीबार मन्त्रीपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता गोकुल बास्कोटाले साझालाई ३ अर्ब रुपैयाँ शेयर लगानी प्रदान गर्ने र त्यसबाट ३ सय वटा विद्यूतीय बस खरीदको योजना रहेको जानकारी दिए ।

    सरकारले अघिल्लो आवको विकास खर्च गर्न सकेको थिएन । त्यही मौकामा रकमान्तर गरेर साझालाई ३ अर्ब रुपैयाँ दिने निर्णय भएको हो ।

    अब साझा यातायातमा संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारको गरेर कूल ३ अर्ब ५२ करोड ५० लाख शेयर लगानी पुगेको छ।

    निरन्तर घाटामा गएको यो कम्पनीे सरकारलाई कसरी माथि उकास्छ त्यो भने हेर्न बाँकि छ ।

    विद्युतीय बस खरिद गर्न प्रदेश ३ सरकारले साझालाई ३० करोड रुपैयाँ दिइसकेको छ ।

    काठमाडौं महानगरपालिकाले २० करोड र ललितपुर महानगरपालिकाले २ करोड ५० लाख रुपैयाँ दिएका छन् ।

    अहिले साझासँग ७१ वटा बस संचालनमा छन् ।

  • अब नेपालमा पाइपबाटै तेल

    अब नेपालमा पाइपबाटै तेल

    काठमाडौं । नेपाल-भारत क्रस बोर्डर पेट्रोलियम पाइपलाइन संचालनका लागि तयार भएको छ ।

    बुधबार पाइपलाइनमा डिजेल हालि सकिएको छ । डिजेल बिहीबार मध्यरात नेपाल आइपुग्ने नेपाल आयल निगमले जानकारी दिएको छ ।

    भारतको मोतीहारीदेखि नेपालको अमलेखगन्जसम्म ६९.२ किलोमिटर लामो पाइपलाइनबाट इतिहासमै पहिलोपटक पाइपलाइनबाट तेल आएको हो ।

    परीक्षणका रुपमा शुरु भएको यो परियोजना साउन भित्रै पूर्ण क्षमतामा संचालनको तयारी भइरहेको निगमले जानकारी दिएको छ ।

    पहिलो पटक एक जहाज लिटर डिजेल पठाएर परीक्षण शुरु गरिएको हो । नेपाल आयल निगम र भारतीय आयल निगमबीच नेपाल-भारत क्रसबोर्डर पेट्रोलियम पाइपलाइन निर्माण गर्न भदौ २०७२ मा औपचारिक सम्झौता भएको थियो ।

    पुस २०७४ मा निर्माण शुरु भएको १८ महिना भित्रै पाइपलाइन निर्माण सम्पन्न भएको हो । खासगरी भारतीय आयल निगमकै लगानी र सहयोगमा निर्माण भएका कारण यो आयोजना निर्धारित समयभन्दा झण्डै एक वर्ष अगाडी नै निर्माण सम्पन्न भएको हो ।

    कुल ६९.२ किलोमिटर लामो पाइपलाईनमध्ये नेपालतर्फ ३७.२५ र भारततर्फ ३२.६५ किलोमिटर रहेको छ ।

    पाइपलाइनमा अब ३६ लाख लिटर तेल मौज्दात रहने छ । यसबाट नेपालको इन्धन मौज्दाद क्षमता पनि बढ्न गएको निगमको भनाई छ ।

    अमलेखगन्जमा ठूला ४ वटा ट्यांकी निर्माण गरिएको छ । तेल त्यहीबाट टं्याकरमा भरेर देशभर वितरण हुने भएको छ ।

    पाइपलाइनबाट प्रतिघन्टा २ लाख लिटर इन्धन आयातको क्षमता रहेको निगमको भनाई छ ।

    यो आयोजना करीव साढे ३ अर्ब भारु लागतमा निर्माण भएको हो ।

  • काठमाडौंमा जग्गाको भाउ कति ?

    काठमाडौंमा जग्गाको भाउ कति ?

    काठमाडौं । सरकारले काठमाडौं उपत्यका भित्रका विभिन्न स्थानमा सरकारी मापदण्ड अनुसारको भाउ निर्धारण गरी सार्वजनिक गरेको छ ।

    काठमाडौंका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्य नेतृत्वमा गठन भएको सरकारी समितिले उपत्यकाका विभिन्न स्थानका लागि सरकारी मूल्य निर्धारण गरेको हो ।

    अब जग्गा किनबेच गर्दा सोही मूल्यलाई आधार मानेर कर तिर्नुपर्छ । समितिले सार्वजनिक गरेको मूल्य अनुसार काठमाडौं उपत्यका भित्रै प्रतिआना न्यूनतम १५ हजार रुपैयाँदेखि अधिकतम ३५ लाखसम्मको मूल्य सार्वजनिक गरिएको छ ।

    यो मूल्य चक्रपथ आसपास र त्यसभन्दा बाहिरको मूल्य हो । काठमाडौंको मध्यभागमा भने जग्गाको भाउले आकास छोएको छ ।

    काठमाडौंका न्यूरोड, बानेश्वर, त्रिपुरेश्वर, जमल, सिंहदरबार, ठमेललगायत मध्य काठमाडौंको मूल्य भने स्थान हेरीहेरी प्रतिआना ५० लाख रुपैयाँ भाउ तोकिएको छ ।

    तर कारोबार भने निकै बढी मूल्यमा हुने गरेको छ । यी स्थानमा प्रतिआना ९\१० करोड प्रतिआनासम्म कारोवार हुने गरेको छ ।

    जिल्ला समन्वय समिति काठमाडौंका अधिकृत पिताम्बर अधिकारी, करदाता सेवा कार्यालय कालिमाटीका कर अधिकृत दीपेन्द्र प्रकाश गिरी, नापी कार्यालय कलंकीका प्रमुख नापी अधिकृत सुरेश जोशी, नेपाल राष्ट्र बैंकका प्रतिनिधि नरेन्द्र सिंह विष्ट, उद्योग वाणिज्य संघ काठमाडौंका कृष्णमान श्रेष्ठ र मालपोत कार्यालय कलंकीका प्रमुख मालपोत अधिकृत देबीबहादुर भण्डारी सदस्य सचिव रहेको समितिले जग्गाको भाउ निर्धारण गरेको हो ।

    समितिले कलंकी र साँखु मालपोत क्षेत्रमा पर्ने जग्गाहरुको नयाँ न्यूनतम मूल्यांकन दर रेट तयार पारेको बताएको छ ।

    आंकडा अनुसार चक्रपथसँग जोडिएको बल्खुदेखि वनस्थलीसम्म प्रतिआना न्यूनतम ३५ लाख रुपैयाँ निर्धारण गरिएको छ ।

    काठमाडौं महानगरभित्रै विष्णुमति खोला पुलदेखि रविभवन वडा नम्बर १४ को सीमासम्म गणेशमान पथ र कालिमाटी चोकदेखि दक्षिणतर्फ बल्खु क्षेत्र प्रतिआना ३३ लाख रुपैयाँ न्यूनतम मूल्यांकन भएको तथ्यांक छ ।

    दक्षिणकाली नगरपालिका क्षेत्रमा भने ३ लाख रुपैयाँदेखि २५ हजार रुपैयाँसम्म जग्गाको भाउ तय गरिएको छ । फर्पिङ(कुलेखानी मूल सडकले छोएको क्षेत्रमा प्रतिआना ३ लाख रुपैयाँ तय भएको छ ।

    यहाँ बाटो नपुगेको जग्गाको मूल्य प्रतिआना २५ हजार रुपैयाँ तोकिएको छ ।

    दक्षिणकाली नगरपालिका, चन्द्रागिरि नगरपालिका र नागार्जुन नगरपालिकाको बाटो नपुगेको दूर्गम भेगको जग्गा प्रतिआना न्यूनतम ७५ हजार रुपैयाँसम्म मूल्यांकन गरिएको आंकडाले देखाएको छ ।

    साँखुको कतिपय क्षेत्रमा १५ हजार प्रतिआना मै जग्गा किनबेच गर्न सकिने गरी मूल्य निर्धारण भएको छ । यहाँ अधिकतम भने २५ लाख रुपैयाँ प्रतिआना तोकिएको छ ।

  • जापानको एक एनिमेशन स्टुडियोमा आगजनी – कम्तीमा २३ को मृत्‍यु

    जापानको एक एनिमेशन स्टुडियोमा आगजनी – कम्तीमा २३ को मृत्‍यु

    जापानको क्योटोस्थित एउटा एनिमेशन स्टुडियोमा भएको आगलागिमा कम्तीमा २३ जनाको मृत्यु भएको र दर्जनौँ घाइते भएको स्थानीय संचार माध्यमहरुले जनाएका छन् ।
    स्थानीय सञ्चारमाध्यमहरूले प्रहरीलाई उद्धृत गर्दै भनेका छन् – एक जना ४१ बर्शिय मानिस ‘क्योटो एनिमेशन को’ स्टुडियोमा प्रवेश गरेको र ति सन्धिग्द ब्यक्तीले नै आगो लगाईदिएका हुंन् । नाम नखुलाईएका ति सन्धिग्द ब्यक्तीलाई पक्राउ गरिएको र घाईते भएका कारण अस्पताल लगिएको छ । केही मानिसहरूको अवस्था अझै पनि अज्ञात छ।जापानी प्रधानमन्त्री शिन्जो आबेले उक्त घटनाप्रति खेद व्यक्त गर्दै त्यसको पीडा शब्दमा व्यक्त गर्न नसकिने बताएका छन्।
    उनले मृतकहरूप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन्।

    स्टुडियो भएको तीनतले भवनमा स्थानीय समयानुसार बिहान १०:३० बजे आगो लागेको थियो। प्रत्यक्षदर्शीहरूले आगो लागेपछि ठूलो विस्फोटनको आवाज सुनेको बताएको समाचार एजेन्सीहरुले जनाएका छन् ।
    समाचार श्रोत : बि बि सि

  • डोल्पो महोत्सव आयोजनाको तयारी

    डोल्पो महोत्सव आयोजनाको तयारी

    काठमाडौं । डोल्पामा लुकेको पर्यटकीय सौन्दर्यलाई उजागर गर्ने उद्देश्यले डोल्पो महोत्सव आयोजना हुने भएको छ ।

    आगामी २४ भदौदेखि ५ दिनसम्म चल्ने गरी महोत्सव आयोजनाको तयारी गरिएको आयोजक डोल्पोबुद्ध गाउँपालिकाले जानकारी दिएको छ ।

    गाउँपालिका र भिजन डोल्पोको संयुक्त आयोजनामा महोत्सव संचालन हुने भएको छ । डोल्पा रहस्यले भरिएको पर्यटकीय गन्तब्य हो ।

    यसको माथिल्लो भेगलाई अहिले पनि निषेधित क्षेत्रका रुपमा राखी सरकारले पर्यटकबाट शूल्क र अनुमति दिएर मात्र भ्रमण गराउने गरिन्छ ।

    महोत्सव अवधिभर स्थानीय कला संस्कृति प्रवद्र्धन, खानाको प्रवद्र्धन तथा लामा र गुरुहरुबाट धार्मिक प्रवचन समेत हुने बताइएको छ ।

  • इयूको नेतृत्वमा पहिलो पटक महिला

    इयूको नेतृत्वमा पहिलो पटक महिला

    फ्रान्स । यूरोपेली आयोगको नेतृत्व पहिलो पटक महिलाको हातमा पुगेको छ । जर्मनीकी रक्षामन्त्री उर्सुला भन डर लियेन अध्यक्षमा निर्वाचित भएकी हुन् ।

    गत मंगलबार सम्पन्न मतदानबाट उनी आयोगको अध्यक्षमा निर्वाचित भएकी हुन् । अन्तरराष्टिय संचारमाध्यमले जनाएअनुसार उनी आयोगको नेतृत्व गर्ने पहिलो महिला पनि बनेकी छिन् ।

    इयूमा अहिले २८ मुलुक सदस्य छन् । ७ सय ५१ सदस्यीय युरोपेली संसदमा भएको निर्वाचनमा उर्सुलाको पक्षमा २ सय ८३ मत आयो । उनले १ नोभेम्बर १ बाट आफ्नो जिम्मेवारी सम्हाल्ने बताइएको छ ।

    इयू अध्यक्षको कार्यकाल ५ वर्षको हुने प्रावधान रहेको छ । बेलायत इयूको सदस्य छैन । त्यसकारण यस संस्थाको गरिमा माथि उठाउन धेरै चूनौति रहेको निर्वाचित भएपछिको प्रतिक्रियामा उनले बताएकी छिन् ।

    ६० वर्षिय उर्सुला सामू पछिल्लो समय यूरोपेली देशहरुले भोगिरहेको आर्थिक संकट, कानूनी समस्याजस्ता मुद्दाले निम्त्याउन सक्ने जटिलता सम्बन्धमा विशेष चूनौति रहनेछन् ।

    एजेन्सी

  • हजुरबुवाले ठट्टामा रक्सी पिलाउँदा नाबालकको मृत्यु

    हजुरबुवाले ठट्टामा रक्सी पिलाउँदा नाबालकको मृत्यु

    चीनमा हजुरबुवाले आफ्नो एक महिनाको अबोध नातीलाई पारिवारिक भोजमा रक्सी (अलकोहल) सेवन गराउँदा ती शिशुको मृत्‍यु भएको छ । गत जुलाई १२ तारिख, नाम नखुलाईएका ती नवजात शिशुको एक महिना पुरा भएको खुसियालीमा उनलाई आशिर्बाद दिनको लागि बेइजिङ्स्थित घरैमा पारिवारिक भोज आयोजना गरिएको थियो । सिन चिऊ डेलीका अनुसार खानपिन मस्त चलिरहेको थियो, त्यतिकैमा ती शिशुका हजुरबुवाको छेऊमा बसेका एक नातेदारले काखमा राखेको बच्चा देखाउँदै “नातीले रक्सी नखाई हजुरबुवाले चियर्स् गर्न मिल्दैन” भनेर ठट्टा गरेपछि हजुरबुवाले नातीलाई एक घुट्को रक्सी खुवाएका थिए । रक्सी खाएको केही समयमा नै नाबालकको श्वास प्रश्वासमा समस्या भएपछि नजिकैको अस्पतालमा पुर्याउँदा शिशुलाई मृत घोषित गरिएको थियो ।
    नेशनल क्यापिटल पोइजनिङ सेन्टरका अनुसार नवोजात शिशुहरुलाई रक्सीले छिट्टो असर गर्ने हुँदा गम्भिर बिरामी हुने तथा कहिले काँही मृत्‍यु समेत हुने गर्दछ । बश्यक मानिसको शरीरले भन्दा बच्चाको शरिरले मादक पदार्थ छिट्टो लिने गर्दछ ।

    एजेन्सी

  • आफ्नै पिताले खेलेको गल्फ बलले लाग्दा ६ वर्षिया बालिकाको मृत्‍यु

    आफ्नै पिताले खेलेको गल्फ बलले लाग्दा ६ वर्षिया बालिकाको मृत्‍यु

    विश्वन्यूज/अमेरिका 

    आफ्नै पिताले हिर्काएको गल्फ बलले दुर्घटनाबस् आफ्नो नाबालिका छोरीको टाउको पछाडि गर्दनमा लाग्दा मृत्‍यु भएको छ । सोमबार अमेरिकाको युटास्थित स्लिपी हिल गल्फ कोर्समा आफ्नै पिताले गल्फ खेलेको हेरेर बसेकी ६ वर्षिया अरिया हिललाई आफ्नै बाबुले हानेको गल्फ बलले लाग्दा मृत्‍यु भएको हो । बलले टाउको पछाडिको गर्दनमा लागेर घाईते हुने बित्तिकै बोलाईएका प्यारा मेडिक्सले सामान्य उपचार गरी अरियालाई अस्पताल लगिएको थियो ।  उनको १२ घण्टापछि अस्पतालमा मृत्‍यु   भएको थियो ।  

    पारिवारिक श्रोतको हवाला दिंदै बिभिन्न समाचार एजेन्सीहरुले भनेका छन् ‘अरिया आफ्नो अभिभाबकहरुले खेलेको गल्फ हेर्न रुचाउथिन्’ । घटना घटेको दिन पनि करिव २० यार्डको दुरीमा गल्फ कार्टमा बसेर आफ्नो बाबुले खेलेको गल्फ हेर्दै थिईन । गल्फ खेल्दै गरेका आफ्नो बाबुको ठ्याक्कै अगाडि र पछाडि पनि थिईनन् । तर पनि बल आएर उनको ज्यान लियो । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको बताए पनि घटना भवितब्य  भएको कारण हालसम्म कुनै मुद्दा बनाएको छैन ।  

    मृतक बालिकाको सम्झनामा अहिले “गो फन्ड् मि” मार्फत २५ हजार अमेरिकी डलर लक्ष्य राखेर रकम संकलन शुरु गरिएको छ ।

  • विश्वकप छनोट फूटबल : नेपाल र अस्ट्रेलिया एकै समूहमा

    विश्वकप छनोट फूटबल : नेपाल र अस्ट्रेलिया एकै समूहमा

    काठमाडौं । सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप फुटबल र सन् २०२३ मा चीनले आयोजना गर्ने एएफसी एसियन कप छनोटको तालीका सार्वजनिक भएको छ ।

    नेपाल प्रतियोगितामा नेपाल समूह ‘बी’ मा परेको छ। यस पटक नेपालले विश्वकप छनोटमा पहिलो पटक शक्तिशाली मुलुक अस्ट्रेलियासँग प्रतिष्पर्धा गर्नेछ ।

    किनकी नेपाल र अस्ट्रेलिया एकै समूहमा परेका छन् । अस्ट्रेलिया एसियाली मुलुकहरु मध्ये कै सबैभन्दा शक्तिशाली देशमध्ये हो ।

    किनकी फिफाले अस्ट्रेलियालाई एसियाली कोटाबाट विश्वकपमा छनोट गराइरहेको छ । तर, उसको फूटबल भने निकै माथिल्लो स्तरको रहेको छ ।

    बुधबार एसियाली फुटबल महासंघको मुख्यालय मलेसियाको क्वालालम्पुरमा दोस्रो चरणको प्रतिस्पर्धाका लागि भएको ‘ड्र’ मा सार्वजनिक गरियो ।

    समूह बीमा नेपालसहित अस्ट्रेलिया, जोर्डन, चाइनिज ताइपेई र कुवेत छन्। नेपाललाई यो चरण पार गर्न निकै मुस्किल पर्ने छ । तर, शक्तिशाली देशसँगको प्रतिस्पर्धाबाट भने नेपालले धेरै पाठ सिक्न सक्छ ।

    दोस्रो चरणमा पुगेका नेपालसहित ४० टिमलाई ८ समूहमा विभाजन गरिएको थियो । प्रत्येक समूहमा ५\५ टिम राखेर समूह विभाजन गरिएको हो ।

    दोस्रो चरणको प्रतिस्पर्धा आगामी ९ भदौ बाट सुरु हुनेछ। पाँच टिमले ह‍ोम एन्ड अवेको आधारमा एक वर्षको अन्तरमा ८\८ खेल खेल्ने गरी समूह विभाजन सार्वजनिक भएको हो ।

    नेपालको नयाँ प्रतिस्पर्धी अस्ट्रेलिया पाँच पटक विश्वकप खेलिसकेको टोली हो । यो टीम एसियन च्याम्पियन हो। ताइपेई र कुवेतसँग भने नेपालले मैत्रीपूर्ण प्रतिस्पर्धा गरिसकेको छ ।

  • सालीसँगको प्रेमपछि श्रीमतीको हत्या

    सालीसँगको प्रेमपछि श्रीमतीको हत्या

    पोखरा । आफन्तबाटै ज्यान लिने जघन्य अपराध पुनः पोखरामा घटेको छ । पोखरा रामबजारका रमेश नेपालीले आफ्नै श्रीमतीको हत्या गरेको तथ्य प्रहरीले फेला परेको छ ।

    श्रीमती लक्ष्मी परियारको हत्या गरेको उनले स्वीकार गरिसकेका छन् । उनले लक्ष्मीकी मामाकी छोरी (रमेशकी साली पर्ने) अनु परियारसँगको प्रेमपछि श्रीमतीको हत्या गरेको डरलाग्दो रहस्यसमेत प्रहरीले फेला पारेको छ ।

    लक्ष्मी १ असारदेखि वेपत्ता थिइन् । रमेशले डेढ लाख रुपैयाँसहित श्रीमती गायब भएको भन्दै प्रहरीमा निवेदन दिएका थिए ।

    प्रहरीले अनुसन्धानका क्रममा श्रीमानतर्फ नै शंका बढाएपछि तथ्यको नजिक पुगेको हो । किनकी उनको डेराबाट प्रहरीले श्रीमतीको मोवाइल, सिक्रिजस्ता घरायसी प्रयोजनका वस्तु फेला पारेको थियो ।

    प्रहरीले रमेशलाई पक्राउ गरी हिरासतमा लिएर केरकोर गरेपछि भने उनले स्वयमःले श्रीमतीको हत्या गरी लास फालेको बयान दिएका हुन् ।

    पोखरा, २२ स्थित कर्कले जंगलमा शव कुहिसकेको अवस्थामा भेटिएको प्रहरीले जानकारी दिएको छ । श्रीमान र बहिनीको झांगिदै गरेको प्रेमका सम्बन्धमा लक्ष्मीले पत्ता पाइसकेकी थिइन् ।

    उनले मामा माइजुलाई समेत यसबारे सचेत गराएको प्रहरीले उल्लेख गरेको छ । प्रेममा पागल बनेका यी दुईले भने लक्ष्मीको हत्या गरे आफूहरुको बाटो खुल्ने सपना देखे र जघन्य हत्या गरेको प्रहरीले बुधबार जानकारी दिएको छ ।

    रमेशलाई श्रीमतीको हत्या गर्न अनुले उक्साएको प्रहरीको भनाई छ । त्यसपछि पोखरामै मोबाइल पसल सञ्चालन र्ने सञ्जय शर्मासँग मिलेर हत्याको योजना बनाएका थिए ।

    त्यसपछि भारतबाट पैसामा मान्छे मार्ने बोलाएर उसकै जिम्मामा त्यो काम सुम्पने र त्यसवापत पैसा दिने योजना बन्यो ।

    प्रहरीका अनुसार ‘सर्लाही ईश्वरपुर ३ तिनघरिया स्थायी घर भई पोखरा ९ मा बस्ने चित्तरञ्जन साहलाई १० लाख दिएर भारतबाट मान्छे झिकाउने जिम्मा दिइएको थियो ।

    शाहले भारतबाट पैसा लिएर मान्छे मार्ने पेशामा संलग्न ३ जना व्यक्तिलाई पोखरा झिकाएका थिए । त्यसपछि ३० जेठमा कर्कले जंगलमा ती हत्यारालाई लगिसकेपछि जंगलमा जडिबुटी खोज्ने बाहनामा श्रीमतीलाई लगेर हत्या गराएको रहस्यको पर्दाफास प्रहरीले गरेको छ ।

    उनकी श्रीमतीको घाटी रेटेर हत्या भएको प्रहरीले बताएको छ ।

    प्रहरीले लक्ष्मीको हत्यामा संलग्न चार जना अपराधीलाई पक्रेको छ ।

    पक्राउ पर्नेमा मुख्य योजनाकार रमेश नेपाली, रमेशकी साली १९ वर्षीया अनु परियार, सर्लाही ईश्वरपुर ३ घर भई हाल पोखरा ८ पृथ्वीचोक बस्ने २६ वर्षीय चित्तरञ्जन कुमार साह, भोजपुर नपा ५ बैंकरोड घर भई हाल पोखरा ९ महेन्द्रपुल बस्ने ३२ वर्षीय सञ्जय शर्मा रहेका छन् ।

    भाडामा मान्छे मार्ने भारतीयहरु भने फरार रहेको प्रहरीले उल्लेख गरेको छ ।

  • आज साउने संक्रान्ति, शुरु भयो चाडबाडको मौसम

    आज साउने संक्रान्ति, शुरु भयो चाडबाडको मौसम

    काठमाडौं । सूर्यले मिथुन राशिबाट कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन साउने संक्रान्ती। यस दिनबाट नेपालमा चाडबाड शुरु भएको मान्यता छ ।

    असार महिनाभर कृषि काममा व्यस्त रहेका कृषक १ साउन दिन सबै आफन्त एक स्थानमा जम्मा भई मिठा परिकार खादै रमाइलो गर्ने प्रचलन त छँदैछ, यस दिनबाट शिवमन्दिरमा भक्तजनको विशेष भीड पनि शुरु हुन्छ ।

    घरघरमा लुतो फालेर रोगव्याधीबाट मुक्ति माग्दै साउने संक्रान्ती मनाउने नेपालको पुरानो प्रचलन हो ।

    यस दिनबाटै नेपाली महिलाले हातमा महेन्दी र शरीरमा हरियो लुगाले आफूलाई सुसज्जित बनाउँछन् । हातमा हरियो चुरा लगाएर प्रकृतिसँगको सामिप्यता महसुश गर्ने महिना पनि हो, साउन ।

    आजदेखि सूर्य दक्षिणतर्फ लाग्ने भएकाले आजै देखि दक्षिणायन सुरु हुन्छ। १ माघबाट उत्तरायण र १ साउनबाट दक्षिणायन सुरु हुने भएकाले धार्मिक रुपमा यी दुई दिनलाई विशेष मान्ने गरिन्छ ।

    साउनदेखि माघसम्म निरन्तर चाडबाडहरु पर्छन् । यस महिनाबाट नेपालीहरुका हर्षका दिन शुरु भए भन्ने मान्यता पनि रहेको छ ।

  • अमेरिकाको कनेक्टिकटमा २०६ औं भानु जयन्ती सम्पन्न

    अमेरिकाको कनेक्टिकटमा २०६ औं भानु जयन्ती सम्पन्न

    कनेक्टिकट

    अमेरिकाको कनेक्टिकट राज्यमा २०६ औं आदिकवि भानुभक्त जन्मजयन्ती एक भव्य काव्य समारोहको साथमा सम्पन्न  भएको छ । कनेक्टिकट नेपाली समाजका अध्यक्ष जितेन्द्र बस्नेतज्यूको सभापतित्वमा सम्पन्न कार्यक्रममा यज्ञ पौड्याल, महेन्द्र श्रेष्ठ, कुलदिप अधिकारी, शिव न्यौपाने, कृष्ण  कँडेल,  विष्णु तिवारी, अर्जुन दाहाल, प्रकाश भट्टराई, केशव दाहाल, लक्ष्मी बजगाई, वसन्ता न्यौपाने, अशोक श्रीवास्तव र धन लामा लगायत कवि तथा कवयत्रीहरूले आफ्नो काव्यरचनाहरु प्रस्तुत गर्नु भएको थियो । कनेक्टिकट राज्यको राजधानी हार्टफोर्डको स्थानीय ऐलिजाबेथ पार्कको रमणीय गुलाबको बगैंचामा सम्पन्न समारोहमा धन लामाको शब्द रचनामा रहेको “भानु तिम्रो रामायणले मैले राम जानें” शिर्षकको गीतिकवितालाई केशव शर्मा दाहालले आफ्नो संगीत र स्वरमा प्रस्तुत गर्नुहुँदा कार्यक्रममा सहभागी दर्शक तथा श्रोताहरू मन्त्रमुग्ध भएका थिए । कार्यक्रममा प्रौढ तथा बालवालिकाहरु गरी करिव ८० जनाको सहभागिता रहेको थियो । कार्यक्रमको संयोजन र समन्वयको जिम्मेवारी कवि तथा गीतकार धन लामाले लिनुभएको थियो भने कवि शिव न्यौपानेले आदिकवि भानुभक्तको जीवनी माथि प्रकाश पारिसके पछि मुख्य विषयमा प्रवेश गरेको सो कार्यक्रमको सन्चालन कनेक्टिकट नेपाली समाजका सचिव भद्र राई र कवयत्री वसन्ता न्यौपानेले स्वागत मन्तव्य  व्यक्त गर्नु भएको थियो ।

  • अमेरिकी सदनमा राष्ट्रपती ट्रम्प बिरुद्ध संकल्प प्रस्ताब पारित

    अमेरिकी सदनमा राष्ट्रपती ट्रम्प बिरुद्ध संकल्प प्रस्ताब पारित

    न्युयोर्क

    अमेरिकी सदनले आधिकारिक रुपमा राष्ट्रपति ट्रम्पको नस्लबादी भाषा प्रयोग गरिएको ट्विट्लाई निन्दा गर्दै संकल्प प्रस्ताव पास गरेको छ । सदनमा मंगलबार राष्ट्रपति ट्रम्पको बिरुद्ध पास गरिएको संकल्प प्रस्तावको पक्षमा २४० मत परेको थियो भने बिपक्षमा १८७ मत परेको थियो । ४ रिपब्लिकन प्रतिनिधि सभा सदस्य र एक जना स्वतन्त्रत सदस्यले पनि ट्रम्पको बिवादास्पद ट्विट बिरुद्धको संकल्प प्रस्तावमा मतदान गरेका थिए ।
    राष्ट्रपति ट्रम्पले गत अाईतबार डेमोक्र्याटिक पार्टीका तर्फबाट प्रतिनिधित्व गरेका ४ महिला सदस्यहरुलाई “जुन देशबाट आएको हो त्यही देशमा फर्किनु” भन्ने अभिब्यक्ती नस्लबादी भएको भन्दै केही दिनदेखि अमेरिकी राजनीति निकै तातेको छ ।ट्रम्पको उक्त ट्विट् बिबादमा परेपछि आफ्नो अभिब्यक्ती नस्लबादी नभएको र धेरै मान्छेले मन पराएको भन्दै उनले आफ्नो बचाउ गर्दै आएका छन् ।ट्रम्पले प्रतिनिधि सभाका ४ जना महिला सदस्यहरुलाई आफ्नै देश फर्किएर गए हुन्छ भनेको केही दिन पछी आज मंगलवार उनले “उमन – फर ट्रम्प २०२०” भन्ने चुनावी अभियान समेत शुरु गरेका छन् ।

    श्रोत : एजेन्सी

  • फेसबुकमा विज्ञापन गरी ठग्ने तीन पक्राउ

    फेसबुकमा विज्ञापन गरी ठग्ने तीन पक्राउ

    काठमाडौं । फेसबुक विज्ञापनका माध्यमबाट सस्तोमा विदेशी सामान ल्याउने आश्वासन दिँदै ठगी गर्ने तीन जनालाई प्रहरीले समातेको छ ।

    सामाजिक सञ्जाल फेसबुकमार्फत उनीहरुले ८० लाख रुपैयाँभन्दा बढी ठगिसकेको प्रहरीले उल्लेख गरेको छ । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले मंगलबार उनीहरुलाई राजधानी बाटै पक्राउ गरेको प्रहरीले उल्लेख गरेको छ ।

    पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश कानपुर घर भई अहिले काठमाडौं नयाँबजार बस्ने ३० वर्षीय आकिव जाबेद, क्षेत्रपाटी बस्ने २० वर्षीय एमडी सगिर शेख र महोत्तरीको गौशला नगरपालिका–५ घर भई काठमाडौं नयाँबजार बस्ने २२ वर्षीय यमदादुल मोमिन रहेका छन्।

    उनीहरुले तारा ग्याजेट नामम फेसबुक पेज बनाएर विदेशबाट सस्तोमा ल्यापटप, मोबाइल, क्यामेरा, घडीजस्ता वस्तु ल्याउने भन्दै विज्ञापन गर्ने र सोही विज्ञापनका माध्यमबाट मानिसहरुलाई ठगी गर्ने गर्थे ।

    फेसबुक एडमिनका माध्यमबाट उनीहरुलाई पच्छ्याएर पक्राउ गरिएको प्रहरीको भनाई छ ।

  • टुंगिदै नेकपाको पार्टी एकता प्रक्रिया

    टुंगिदै नेकपाको पार्टी एकता प्रक्रिया

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पार्टी एकता प्रक्रिया अब पुरा हुने भएको छ । मंगलबार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) बीचको छलफलले एकता प्रक्रियालाई निष्कर्षमा पुर्याएको नेकपा निकट नेताहरुले जानकारी दिएका छन् ।

    उक्त बैठकमा महासचिव विष्णु पौडेल र गृहमन्त्री रामबहादुर थापा बादल पनि सहभागी थिए। नेकपाका उच्च नेतृत्वबीचको छलफलले एकता सम्बन्धी सम्पूर्ण विषय सकाएको र केही दिनमै बस्ने सचिवालय बैठकले औपचारिकता दिने नेकपा स्रोतको भनाई छ ।

    सचिवालय बैठकले औपचारिक निर्णय गरेपछि एकता प्रक्रिया टुंगिने भएको छ । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच ३ जेठ २०१५ मा एकता भएको थियो ।

    त्यसो त कार्यगत एकता भने असोज २०७४ बाटै शुरु भएको थियो । नेकपामा केन्द्रीय सदस्यको कार्यविभाजन, जेष्ठ कम्युनिस्ट मञ्च, सल्लाहकार परिषद्, विशेष कमिटी, विभाग, आयोगजस्ता विषय अझै छिनोफानो हुन सकेका थिएनन् ।

    पार्टीको एकताकै फलस्वरुप चुनावमा नेकपाले लोकप्रिय मत पायो । जसले गर्दा दुई तिहाई बहुमतसहितको सरकार निर्माण गरी संचालन गरिरहेको छ ।

  • राष्ट्रिय गौरवका दुई सिञ्चाई आयोजना अन्तिम चरणमा

    राष्ट्रिय गौरवका दुई सिञ्चाई आयोजना अन्तिम चरणमा

    काठमाडौैं । राष्ट्रिय गौरवका दुई सिञ्चाई आयोजनाको निर्माण अन्तिम चरणमा पुगेको छ । रानीजमरा-कुलरिया सिंचाई आयोजना र सिक्टा सिंचाई अब निर्माणको अन्तिम चरणमा आइपुगेको उर्जा मन्त्रालयले जानकारी दिएको छ ।

    मंगलबार मन्त्रालयमा आयोजित कार्यक्रममा उर्जा मन्त्री वर्षमान पुनले उक्त जानकारी दिएका हुन् ।

    उनका अनुसार रानीजमरा-कुलरिया सिंचाई आयोजना आंशिक रुपमा सञ्चालनमै आइसकेको छ । करीव ३८ हजार हेक्टर क्षेत्रफलमा सिंचाई सुविधा पुर्याउने लक्ष्य राखेर निर्माण भएको आयोजनाबाट १४ हजार तीन सय हेक्टर क्षेत्रफलमा सिंचाई पुगिसकेको मन्त्री पुनले जानकारी दिए ।

    उनका अनुसार यो आयोजनाको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीबाट गर्ने योजना रहेपनि प्रतिकूल मौसमका कारण सम्भव भएन् ।

    यस आयोजनाको मूख्य बाँध कैलालीको चिसापानीस्थित कर्णाली पुलमुनि रहेको छ । बाँध निर्माणको कार्य सकिएको मन्त्री पुनले जानकारी दिए । बाँधमा ८ वटा गेट राख्नुपर्ने छ ।

    त्यसमध्ये अहिले सम्म ३ वटा गेट मात्र राखिएको छ। आगामी वर्ष सबै गेट राखिसकेपछि आयोजनामा नहरतर्फको काम सम्पन्न हुने उनले जानकारी दिए ।

    उता, सिक्टा सिंचाई आयोजनाको काम पनि अन्तिम चरणमा पुगेको मन्त्री पुनले जानकारी दिए । साउन पहिलो हप्ताभित्र नहरको ३० किलोमिटर क्षेत्रमा पानी पठाउने तयारी भइरहेको उनले बताए ।

  • १५ हजार सैन्य फौज उद्दार र राहतमा

    १५ हजार सैन्य फौज उद्दार र राहतमा

    काठमाडौं । १५ हजार सैन्य फौज वर्षापछि उत्पन्न विपद्को व्यवस्थापनमा खटिएको नेपाली सेनाले जानकारी दिएको छ ।

    सेनाले मंगलबार विज्ञप्ती जारी गर्दै उक्त संख्यामा फौज उद्दार र राहतमा खटिएको बताएको हो । बाढी, पहिरो र डुवानले अहिले देशका विभिन्न भेगको जनजीवन प्रभावित भइरहेको छ ।

    प्राकृतिक प्रकोपमा परी ५ दर्जन भन्दा बढी नागरिकले अकालमा ज्यान गुमाइसकेका छन् । प्रभावित क्षेत्रमा सेना आफूसँग उपलब्ध उद्दार सामग्रीसहित खटिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ ।

    निर्देशनालयका अनुसार बाढी, पहिरो र डुवानमा परेकाहरुको खोज, उद्दार र राहतमा प्रयोग गर्न ७ वटा हेलिकोप्टर तयारी अवस्थामा राखिएका छन् ।

    काठमाडौंमा २ वटा एमआई १७, एउटा एएलएच, एउटा अगस्टा, एउटा इक्युरेल तथा इटहरीमा एउटा बेल, र धनुषामा एउटा एमआई १७ हेलिकोप्टर तयारी अवस्थामा राखिएको सेनाले उल्लेख गरेको छ ।

  • आज चन्द्रग्रहण, कुन कुन राशीले हेर्न मिल्दैन ?

    आज चन्द्रग्रहण, कुन कुन राशीले हेर्न मिल्दैन ?

    काठमाडौं । मंगलबार राती खण्डग्रास चन्द्रगहण लाग्दैछ । राति एक बजेर ४६ मिनेटबाट सुरु चन्द्रग्रहण तीन बजेर पन्ध्र मिनेटमा मध्य भई ४ बजेर ४५ मिनेटमा सकिनेछ ।

    २ घण्टा ५९ मिनेटसम्म लाग्ने चन्द्रग्रहणका समयमा भोजन गर्नु हुँदैन भन्ने मान्यता छ । ज्योतिष विज्ञानका जानकारहरुका अनुसार ग्रहण लागेको समयमा मन्दिर जाने र पूजापाठ पनि गर्नु हुँदैन ।

    बालक, बृद्धबृद्धा, औषधी सेवन गर्नुपर्ने बिरामी बाहेक अरुले खाना नखाने र नसुत्ने सल्लाह उनीहरु दिन्छन् । यसपटक कर्कट, तुला, कुम्भ र मिन राशीका लागि चन्द्रग्रहण उत्तम मानिएको छ । धनु र मकर राशीका व्यत्तिले भने चन्द्रग्रहण हेर्नु हुँदैन ।

  • राष्ट्रपति ट्रम्पले आफ्नै प्रतिनिधि सभा सदस्यलाई जुन देशबाट आएको त्यही जाऊ भनेपछि तहल्का

    राष्ट्रपति ट्रम्पले आफ्नै प्रतिनिधि सभा सदस्यलाई जुन देशबाट आएको त्यही जाऊ भनेपछि तहल्का

    न्युयोर्क   

    गत अाईतबार राष्ट्रपति डोनाल्ड ट्रम्पले रंगभेदलाई भड्काउने अर्को एउटा बिवादास्पद ट्विट् गरेपछि अमेरिका तातेको छ । राष्ट्रपति ट्रम्पले गत अाईतबार अमेरिकी सदनका ४ जना महिला सदस्यलाई लक्षित गर्दै लेखे “किन तिनीहरु पूर्ण रुपमा क्षत बिक्षत र अपराधले भरिएको आफ्नै देश फर्किएर त्यहाँ राम्रो गर्दैनन्”। ट्रम्पले अमेरिकी सदनका प्रगतिशिल बिचार बोक्दै आएका सदस्यहरु अलेजेन्ड्रिया ओकासा कोट्रेज रशिदा तलिब अयाना प्रेसली र ईलान ओमारलाई लक्षित गर्दै ट्विट गरेका थिए । ट्रम्पले आफ्नै अपराधले भरिएको देशमा फर्किएर गए हुन्छ भनेर आरोप लगाईएका ४ जना प्रतिनिधि सभा सदस्य नै अमेरिकन नागरिक हुन । जस मध्ये ३ जना त अमेरिकामा नै जन्मिएका जन्मसिद्ध नागरिक हुन् भने एक जना नेचुरलाईज्ड नागरिक हुन् ।  

    ट्रम्पले आफ्नो अाईतबारको ट्विट् जातीबादी भन्दै बिबादमा परेपछि आज सोमबार एक पत्रकार सम्मेलन गरी आफुले लेखेको कुरा रंगभेद सम्बन्धि नभएको भन्दै बचाउ गरे ।  उनले उक्त कुरा धेरैलाई मन परेको बताए, साथै उनले मेरो भन्नु यति हो कि तिनीहरु जान चाहन्छन् भने जाँदा हुन्छ भन्ने प्रतिकृया  समेत दिए । 

    राष्ट्रपति ट्रम्पको उक्त अभिब्यक्तीको ब्यापक आलोचना भै रहेको छ भने उनको आफ्नै दलका माथिल्लो पदका नेताहरु समेत रंगभेद भड्काउन सक्ने भन्दै बिरोधमा बोल्न थालेका छन् ।

  • बाढी-पहिरो पिडितलाई कांग्रेसका सांसदको ५ दिनको तलव

    बाढी-पहिरो पिडितलाई कांग्रेसका सांसदको ५ दिनको तलव

    काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदको ५ दिनको तलव बाढीपहिरो तथा डुबानपीडितलाई प्रदान गरिने भएको छ ।

    कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले स‌ंघीय सांसदले ५ दिनको तलब दिने निर्णय भएको जानकारी गराएका हुन् ।

    संघीय संसदका सांसदले मासिक ५५ हजार २ सय ३० रुपैयाँ तलब बुझ्छन् । कांग्रेसको तर्फबाट प्रतिनिधि सभामा ६३ र राष्ट्रिय सभामा १३ सांसद छन् ।

    कांग्रेसले सोमबार बाढीपीडितका सम्बन्धमा छलफल आह्वानको माग गर्दै संसदको नियमित प्रक्रिया रोक्न सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएको छ ।

    तर प्रस्ताव भने अस्वीकार भयो । उता, कांग्रेस सभापति शेर बहादुर देउवाले उद्धार र राहतमा जुटन कांग्रेस कार्यक्रतालाई निर्देशन दिएका छन् । उनले सरकारी कामको अनुमगन गर्न समेत कार्यक्रतासँग आग्रह गरेका छन् ।

  • बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा करोडौं घोटाला

    बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा करोडौं घोटाला

    काठमाडौं । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा १६ करोड भन्दा बढीको आर्थिक हिनामिना गरेको अभियोगमा मुद्दा दायर भएको छ ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालिन उपकुलपति बलभद्रप्रसाद दास (बिपी) सहित ८ जनाविरुद्ध विशेष अदालतमा सोमबार मुद्दा दर्ता गरेको छ ।

    प्रतिष्ठानले विभिन्‍न समयमा किनेका सामानमा करोडौं रुपैयाँ हिनामिना भएको ठहर गर्दै अख्तियारीले मुद्दा दायर गरेको उल्लेख गरेको छ ।

    प्रतिष्ठानका तत्कालीन उपकुलपति दास, अस्पतालका तत्कालीन निर्देशक अरविन्द कुमार सिन्हा, तत्कालीन रजिष्टार नन्दकुमार थापा, रजिष्टार तुलबहादुर श्रेष्ठ, लेखा प्रमुख दिनेशराज दाहाल, डेपुटी म्यानेजर अमित श्रीवास्तव, सप्लार्यस चेतन अग्रवाल र उमेश अग्रवालविरुद्ध आरोपपत्र दर्ता भएको छ ।

    प्रतिष्ठानका लागि आवश्यक उपकरण र सामान खरिदमा उच्च नेतृत्वकै मिलोमतोमा अनियमितता भएको उजुरी परेपछि अख्तियारले छानविन थालेको थियो ।