Category: समाचार

  • ओखलढुङ्गामा बस दूर्घटना, तीन जनाको ज्यान गयो

    ओखलढुङ्गामा बस दूर्घटना, तीन जनाको ज्यान गयो

    ओखलढुंगा । ओखलढुङ्गामा बुधबार बिहानै भएको बस दुर्घटनामा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। दूर्घटनामा परी अन्य १७ जना घाइते छन्।

    झापाको काँकडभिट्टाबाट सोलुखुम्बु तर्फ जाँदै गरैको मे १ ख १८९१ नम्बरको बस बिहान साढे ३ बजे सिद्धिचरण राजमार्गस्थित ओखलढुङ्गाको मानेभञ्ज्याङ, डडुवामा दुर्घटनामा परेको थियो ।

    ओखलढुङ्गा प्रहरीका अनुसार मृत्यु हुने यात्रुको सनाखत भइसकेको छैन । दूर्घटनामा परी दुई पुरुष र एक महिलाको निधन भएको छ ।

    दूर्घटनामा परी गम्भीर ४ जनालाई काठमाडौं पठाइएको र १३ जनाको स्थानीय अस्पतालमै उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

    बस घुम्तीबाट तल्लो सडक खण्डमै झरेको थियो । करीव २० मिटर तल खसेर दूर्घटनामा परेको बसले सडक खण्ड नै अवरुद्ध पारेको र त्यसलाई पन्छ्याएर सडक सूचारु गर्ने प्रयास भइरहेको प्रहरीले जानकारी दिएको छ ।

  • क्यानडा स्थित एक होटलमा कार्बन मोनोअक्साईड लिक हुँदा  ४६ घाईते

    क्यानडा स्थित एक होटलमा कार्बन मोनोअक्साईड लिक हुँदा ४६ घाईते

    क्यानडा स्थित एक होटलमा कार्बन मोनोअक्साईड ग्यांस लिक हुँदा ४६ जना असक्त भै अस्पताल भर्ना गरिएको छ जस मध्ये १५ जनाको अवस्था चिन्ता जनक छ । ५२ जना मानिस र एउटा कुकुर रहेको अवस्थामा क्यानडाको विनिगेप स्थित सुपर ८ होटलमा स्थानिय समय बिहान सवा दशबजे कार्बन मोनोअक्साईड लिक हुँदा फायर अलार्म बजेको थियो । कार्बन मोनोअक्साईड अकस्मात फैलिए पछी होटल भित्र रहेका मानिस तथा कुकुर अस्वस्थ हुन पुगेका हुँन् ।

    मोनिटोवा हाईड्रोले होटलमा आपुर्ती गरेको कार्बन मोनोअक्साईडको लाईन तत्काल बन्द गरेको थियो । सामान्यतया घरमा प्रयोग हुने बोईलर सेन्ट्रल हिटिङ् वाटर हिटर ग्यांसबाट बल्ने आगोमा कार्बन मोनोअक्साईड हुने गर्दछ । जब घर भित्र कार्बन मोनोअक्साईडको मात्रा बढ्न पुग्दछ तब शरीरमा भएका रक्त कोशीकाहरुले अक्सिजनको बदलामा कार्बन मोनोअक्साईड लिन पुग्दछ मानिस त्यस पछी मानिस तत्काल अस्वस्थ हुन पुग्दछ । कहिले काँही शरीरका तन्तुहरुमा घात पुग्दा मृत्‍यु समेत हुने गर्दछ ।
    श्रोत : द स्टार डट कम

  • विदेशमा  बस्ने नेपालिलाई दिने भनिएको गैर आवासिय नागरिकता यसरि अड्कियो

    विदेशमा बस्ने नेपालिलाई दिने भनिएको गैर आवासिय नागरिकता यसरि अड्कियो

    विश्व न्युज संवाददाता
    काठमाडौं
    गैरआवासीय नेपाली संघ (एनआरएन)का लागि प्रदान गरिने गैरआवासीय नेपाली नागरिकता प्राप्तीको बाटो अझै खुलेको छैन । नेपालको संविधान २०७२ ले व्यवस्था गरे पनि अहिलेसम्म गैरआवासीय नेपाली नागरिकताको बाटो खुला भएको छैन । नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक २०७५ अहिले प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा छलफलका क्रममा छ ।
    नागरिकताका विभिन्न पक्षमा विवाद बढेपछि समितिले महिनौँदेखि नागरिकता विधेयक टुंगो लगाउन सकेको छैन । पटक–पटक समितिले विभिन्न समिति बनाएर छलफल गर्दै आएको छ । समितिले राजनीतिक नेतृत्व, नागरिकतासँग सम्बन्धित विज्ञ लगायतसँग पनि पटक–पटक छलफल गरेको छ । पटक–पटकको छलफलमा पनि विभिन्न विषयमा विवाद भएपछि समितिले डा. विजय सुब्बाको नेतृत्वमा उपसमिति गठन गरेको थियो । उपसमितिले १५ दिनभित्र प्रतिवेदन पेश गर्ने जिम्मेवारी पाएको थियो ।
    अहिलेसम्म उपसमितिले प्रतिवेदन तयार गर्न सकेको छैन । उपसमितिले अहिलेसम्म प्रतिवेदनसमेत बनाउन सकेको छैन । १५ दिनको समयसीमा नाघेको पनि धेरै भैसकेको छ । तर, समितिले बैठकसमेत बोलाएको छैन । समिति सभापति शशी श्रेष्ठले छिट्टै नागरिकता विधेयकको टुंगो लगाउने बताएकी छन् । समितिले मूल राजनीतिक नेतृत्वसँग छलफल नगरिकन विवाद अन्त्य गर्ने वा विधेयकका बाँकी विषय टुंगो लगाउन सक्ने अवस्था देखिदैन ।

    गैरआवासीय नागरिकतामा पनि विवाद
    नागरिकता विधेयकमा वंशजको नागरिकता, अंगीकृतको व्यवस्था, आमाका नामबाट दिने नागरिकता लगायतका विषयमा गम्भीर विवाद भएपनि गैरआवासीय नेपाली नागरिकताका विभिन्न पक्षमा समेत सहमतिले अन्तिम रुप पाउन अझै सकेको छैन । मूल विधेयक नै पास हुने अवस्थामा मात्र गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विषयले अन्तिम रुप पाउने छ । मूल विधेयकमा सहमति नजुटेसम्मको अवस्थामा फेरि पनि गैरआवासीय नेपाली नागरिकका प्रावधानमा फेरबदल हुन सक्ने प्रतिनिधिसभा सचिवालयले जनाएको छ ।
    गैरआवासीय नेपाली नागरिकताका विषयमा अहिलेसम्म भएका सहमतिअन्तर्गत गैरआवासीय नेपाली नागरिकता लिएको व्यक्तिको पहिलेको नागरिकता स्वतः खारेज हुनेछ । यो प्रावधानले द्वेध नागरिकता प्राप्त हुन नसक्नेगरी व्यवस्था गरिएको समितिका सदस्य झपट रावलले बताए । भाषा, शपथ लगायतका विषयमा पनि अन्तिम रुपमा छलफल बाँकी नै छ । नेपाली भाषा जानेको हुनुपर्ने भन्ने विषयमा पनि सहमति नजिक पुगिएको उनले बताए ।
    शपथ लिने विषयमा पनि समितिका सदस्यले एकरुपता देखाएका छन् । समितिमा बोल्ने अधिकांश सदस्यले शपथ लिनै पर्ने प्रावधान राख्ने विषयमा आफ्नो धारणा राखेका समितिका सदस्य रावलले बताए । सहमति भैसकेका विषयलाई समितिले ड्राफ्ट बनाएको छ । त्यसमा भाषा नेपाली जानेको हुनुपर्ने र शपथ पनि लिनु पर्ने भन्ने विषय उल्लेख गरिएको छ ।
    समिति बैठकले सम्बन्धित क्षेत्रमा पुगेरै नागरिकता लिनुपर्ने प्रस्तावमा पनि समिति सदस्यहरु सहमत छन् । सांसद रावलले भने, ‘समितिमा भाषा, शपथ र सम्बन्धित क्षेत्रबाटै नागरिकता लिनुपर्ने भन्ने विषयमा सहमति लगभग भैसकेको छ । गैरआवासीय नागरिकताका प्रावधानमा अन्तिम रुप दिन बाँकी छ । तर, सबै एकै पटक मात्र पास हुन्छ ।’
    एनआरएनले विदेशमा रहेका विभिन्न स्थायी नियोग, दूतावास वा कन्सुलर सेवा प्रदायक निकायमार्फत एनआरएन नागरिकता प्राप्तिका लागि पहल गरे पनि समितिमा सम्बन्धित जिल्लामै जानु पर्ने विषयमा सहमति भएको छ । सांसद रावलले भने, ‘नेपालमा उहाँहरुको घर कहाँ हो । आफन्तसँग भेटघाट पनि हुन्छ । त्यसैले हामीले त्यो प्रावधान राखेका छौँ । यसले गैरआवासीय नेपाली र नेपालमा उनीहरुका आफन्तबीचको सम्बन्धसमेत राम्रो हुन्छ ।’
    समितिमा अहिलेसम्मको छलफललाई आधार मान्ने हो भने गैरआवासीय नागरिकता लिनका लागि काठमाडौंमा रहेको गृह मन्त्रालय वा मातहतका निकाय भन्ने शब्दसमेत परिवर्तन हुने भएको छ । अब धेरै सांसदले सम्बन्धित जिल्ला नै पुग्नुपर्ने तर्क गरेका छन् । उनीहरुले एनआरएन गाउँ जाँदा आर्थिक अवस्था चलायमान बनाउन थोरै भए पनि मद्दत पुग्ने तर्क गर्न थालेका छन् ।
    शपथ लिने विषयमा पनि समितिका सबैजसो सदस्य सहमत भएका छन् । शपथको भाषा कस्तो हुने भन्ने विषय भने अहिलेसम्म टुंगो नलागेको समिति सभापति श्रेष्ठले बताइन् । गैरआवासीय नागरिकता लिने व्यक्तिले समेत नेपाली भाषा जानेको हुनुपर्ने प्रावधान राखिएको छ । शपथको भाषामा पनि आवश्यक छलफल हुने समिति सदस्य रावलले बताए ।
    गैरआवासीय नागरिकता लिने व्यक्तिले राजनीति अधिकारबाहेक अन्य सामाजिक, आर्थिक, सांस्कृतिक लगायतका अधिकार प्राप्त गर्नेछ । घरजग्गा खरिद–बिक्री, कम्पनी खोल्ने वा बन्द गर्ने, व्यवसाय गर्ने लगायतका अधिकार भने प्राप्त हुनेछन् । त्यस्तै यो नागरिकता लिने व्यक्तिको पहिलेको नेपाली नागरिकता पनि स्वतः खारेज हुने भएको छ । पहिलेको नागरिकता प्रयोग गरेको अवस्थामा कस्तो कारबाही हुने भन्ने विषय भने टुंगिएको छैन । समिति बैठकमा पाँच लाखसम्मको जरिवाना र पाँच वर्षसम्मको कैद सजायको प्रावधान राख्न केही सदस्यले प्रस्ताव गरेका छन् ।
    गैरआवासीय नागरिकता बाहकले राहदानी भने नपाउने पक्का भएको छ । सम्बन्धित व्यक्तिले आफू बसेकै देशको राहदानी प्रयोग गर्ने भएकाले नेपाली राहदानी दिन नसकिने समिति सदस्यहरुको मत छ । वृद्धभत्ता लगायतका राज्यबाट प्राप्त गर्न सकिने सामाजिक सुरक्षाका विभिन्न लाभ कसरी लिने भन्ने विषयमा एकरुपता कायम हुन सकेको छैन ।
    गैरआवासीय नागरिकता संविधानको धारा १४ अनुसार प्राप्त गर्न सकिनेछ । उक्त धारामा विदेशी मुलुकको नागरिकता प्राप्त गरेको दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठनको सदस्य राष्ट्रबाहेकका देशमा बसोवास गरेको साबिकमा वंशजको वा जन्मको आधारमा निज वा निजको बाबु वा आमा, बाजे वा बज्यै नेपालको नागरिक रही पछि विदेशी मुलुकको नागरिकता प्राप्त गरेको व्यक्तिलाई संघीय कानुनबमोजिम आर्थिक, सामाजिक र सांंस्कृतिक अधिकार उपभोग गर्न पाउनेगरी नेपालको गैरआवासीय नागरिकता प्रदान गर्न सकिने छ भन्ने कुरा उल्लेख छ ।
    संविधानमै नेपालको हरेक नागरिकको परिचय खुल्नेगरी अभिलेख राख्ने तथा नेपालको नागरिकतासम्बन्धी अन्य व्यवस्था संघीय कानुनबमोजिम हुने कुरा उल्लेख भएकाले अहिले सरकारले नेपाल नागरिकता ऐन, संशोधनको व्यवस्था गरेको हो ।
    गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्न चाहने व्यक्तिले पहिले नेपालको नागरिकता त्यागेको हुनुपर्ने, नागरिकता लिने व्यक्तिको बाबु वा आमा, बाजे वा बज्यै साबिकको नेपालमा रहेको हुनुपर्ने व्यवस्था छ । त्यस्तै सम्बन्धित व्यक्तिले विदेशी मुलुकको नागरिकता लिएको प्रमाण पेश गर्नुपर्ने हुन्छ भने सार्क राष्ट्रबाहेकको देशमा बसोवास रहेको प्रमाण पनि स्वयम्ले जुटाउनु पर्छ । समिति सभापति श्रेष्ठले नागरिकताका विषयमा राष्ट्रिय सहमति आवश्यक पर्ने भएकाले समितिले निरन्तर छलफल गरिरहेको बताइन् ।
    नेपाल नागरिकता ऐन संशोधन गर्न बनेको विधेयकका विषयमा पक्ष–विपक्षमा नेपालमा उत्तिकै समूह सक्रिय भएका छन् । राजनीतिक दलबीच नै फरक–फरक धारणासहितका नेताहरु रहेका छन् । केहीले आमाको नामबाट नागरिकता दिनुपर्ने, अंगीकृत र वंशजका आधारमा नागरिकता दिने विषयलाई सजिलो बनाउनु पर्ने लगायतका तर्क गरिरहेका छन् भने धेरैले देशको राष्ट्रियतासँग जोडिएको विषय भएकाले यस्ता विषयमा गम्भीर बहस र छलफल आवश्यक भएको बताएका छन् ।
    नेपालमा २०६३ सालमा वितरण भएका नागरिकताको वैधानिकता र वास्तविकताका विषयमा समेत विवाद छ । त्यसैले अहिले विभिन्न सरोकारवाला निकायले पक्ष–विपक्षमा बहस गरिरहेका छन् । खासगरी तराई केन्द्रित दलका नेताले नागरिकताको प्रावधान खुकुलो बनाउनुपर्ने बताएका छन् भन पहाड केन्द्रित नेताहरुले भारतीय नागरिकतालाई नागरिकता दिन थालिएको आरोप लगाउँछन् । त्यसैले नागरिकता जस्तो गम्भीर विषयमा सरकार र संसदीय समितिले हुचुवाको आधारमा निर्णय गर्नु हुँदैन ।

  • नेपाल एसीसी यू-१९ एसिया कपमा छनोट

    नेपाल एसीसी यू-१९ एसिया कपमा छनोट

    काठमाडौं । नेपालले एसीसी यू-१९ इस्टर्न रिजन क्रिकेटको उपाधि जित्दै एसीसी यू-१९ एसिया कपको टिकट पक्का गरेको छ ।

    मंगलबार एसीसी यू-१९ इस्टर्न रिजन क्रिकेटको फाइनलमा नेपालले हङकङविरुद्ध ६ विकेटको प्रभावशाली जीत हात पारेको हो ।

    उपाधि हात पारेको नेपालले आगामी अगस्ट महिनामा श्रीलंकामा आयोजना हुने एसिसी यू-१९ एसिया कप खेल्ने भएको छ ।

    उक्त प्रतियोगितामा नेपालसहित श्रीलंका, अफगानिस्तान, बंगलादेश, भारत, पाकिस्तान र यूएईले भाग लिनेछन् ।

    मंगलबार टस हारेर पहिले ब्याटिङ गरेको हङकङले नेपाललाई ९६ रनको चुनौती दिएको थियो । नेपालले उक्त लक्ष्य १६.१ ओभरमा ४ विकेट गुमाउँदै भेट्टायो ।

    नेपालका लागि पवन सर्राफले ३९ रनको योगदान दिए। रित गौतमले १३ रन जोडे । खड्गबहादुर बोहराले ८ रन बनाए । रोहितकुमार पौडेल १२ रन र भीम सार्कीले ११ बलमा ८ रनमा अविजित रहे ।

    हङकङलाई ९५ रनमै समेट्ने क्रममा लेगस्पिनर सागर ढकाल चम्किए । १० ओभर बलिङ गरेका उनले ५ विकेट लिने क्रममा मात्र १८ रन खर्चिए । कमलसिंह ऐरीले ३, कुशल मल्ल र तिलकराज भण्डारीले एक एक विकेट हात पारेका थिए ।

  • प्रहरी इन्कान्टरका घटना विवाद : संसदमा विपक्षीको हंगामा

    प्रहरी इन्कान्टरका घटना विवाद : संसदमा विपक्षीको हंगामा

    काठमाडौं । प्रहरीको गोलीबाट धमाधम नागरिक मारिन थालेसँगै संसदमा प्रतिपक्षी दलले गृहमन्त्री समक्ष स्पष्टिकरण माग गरेका छन् ।

    प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसदहरुले गृहमन्त्री रामबहादुर थापाको चर्को आलोचना गरे ।

    सर्लाहीमा बालक अमित रायको क्रसर उद्योगले खनेको खाल्डोमा परी मृत्यु भएपछि उठेको स्थानीयको आन्दोलनमाथि प्रहरीले गोली चलाउदा सरोजनारायण महतोको निधन भएको थियो ।

    यो गैरन्यायिक हत्यामार्फत सरकारले मानवाधिकारको गम्भीर उल्लंघन गरेको सांसदहरुको आरोप थियो ।

    अर्कोतर्फ विप्लव कार्यक्रता विप्लव पौडेललाई पक्राउ गरेपछि प्रहरीले गोली हानी हत्या गरेको भन्दै सांसदहरुले गृहमन्त्रीको चर्को आलोचना गरेका हुन् ।

    खासगरी प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र प्रतिपक्षी राष्ट्रिय जनता पार्टीका सांसदले गृहमन्त्रीको आलोचना गरेका हुन् । कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालले सर्लाहीका दुई घटनामा गृहमन्त्रालयबाट मानवअधिकारको गम्भीर उल्लंघन भएको उल्लेख गरिन् ।

    सरकारी निकायको  संरक्षणमा क्रसर उद्योगीले अनधिकृत खाल्डा खनेर जोखिम निम्त्याउने र बालकको ज्यान गएपछि त्यसको विरोधमा उत्रिएका सर्वसाधारणमाथि प्रहरीले अनावश्यक बल प्रयोग गरेको उनको आरोप थियो ।

    राजपा सांसद राजकिशोर यादवले पनि सरकारले तराई क्षेत्रमा मान्छे मारेको भन्दै आलोचना गरेका हुन् । मंगलबारको बैठकमा गृहमन्त्री थापाले कुमार पौडेलको मृत्यु दोहोरो भिडन्तमा भएको बताए ।

    गृह मन्त्रीको जवाफमा कांग्रेस र राजपाका सांसदले चित्त बुझाएनन् र निरन्तर विरोध गरिरहे । सांसद भरतकुमार शाहले गृहमन्त्रीको जवाफ सत्य नभएको भन्दै संसदीय समिति गठन गर्न गृहमन्त्री तयार हुनुपर्ने बताए ।

    सांसदहरुले गृहमन्त्रीले कर्मचारीको बनिबनाउ उत्तर ल्याएर पढेको भन्दै वास्तविकता लुकाउने षडयन्त्र सरकारले गरिरहेको बताए ।

    गृहमन्त्रको जवाफमा चित्त नबुझेपछि मंगलबार कांग्रेस र राजपाका सांसदले रोष्ट्रम घेर्दै संसद अवरुद्ध पारे ।

  • प्रधानमन्त्रीलाई दिइयो राष्ट्रिय परिचयपत्र

    प्रधानमन्त्रीलाई दिइयो राष्ट्रिय परिचयपत्र

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘बायोम्याट्रिक’ सूचनासहितको राष्ट्रिय परिचयपत्र प्रदान गरिएको छ ।

    मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा एक कार्यक्रम आयोजना गरि राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले प्रधानमन्त्रीलाई परिचय पत्र हस्तान्तरण गरेको हो । विभाग गृहमन्त्रालय मातहतको निकाय हो ।

    विभागका महानिर्देशक दीपक काफ्लेले प्रधानमन्त्रीलाई परिचयपत्र हस्तान्तरण गरेका थिए । उक्त अवसरमा प्रधानमन्त्री पत्नी राधिका शाक्यलाई पनि परिचयपत्र हस्तान्तरण गरिएको विभागले जानकारी दिएको छ ।

    सरकारले नीति तथा कार्यक्रममै विशिष्ट व्यक्ति, सिंहदरबारस्थित कर्मचारी र पाँचथर जिल्लाका ८० प्रतिशत नागरिकलाई चालु आव भित्रै परिचयपत्र बाड्ने घोषणा गरेको थियो ।

    विभाग अनुसार सोमबार उपराष्ट्रपति नन्दबहादुर पुनलाई राष्ट्रिय परिचयपत्र प्रदान गरिएको थिया
    ।

  • रानीपोखरीको बालगोपालेश्वर मन्दिर पुनर्निर्माण गर्न सम्झौता

    रानीपोखरीको बालगोपालेश्वर मन्दिर पुनर्निर्माण गर्न सम्झौता

    काठमाडौं । रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरको पुनर्निर्माण गर्न ठेक्का सम्झौता भएको छ ।

    बालगोपालेश्वर मन्दिर, मन्दिरमा जाने पुल र पोखरी वरिपरिको बगैंचा पुनर्निर्माण गर्न मंगलबार पुनर्निर्माण प्राधिकरण र निर्माण कम्पनी सीए\तुलसी कन्ट्रक्सन जेभीबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

    सम्झौतापत्रमा प्राधिकरणका तर्फबाट सहसचिव एवं सम्पदा संरक्षण, सार्वजनिक भवन तथा पूर्वाधार महाशाखा प्रमुख शिवहरि शर्मा र निर्माण कम्पनीका तर्फबाट शान्तकुमार श्रेष्ठले हस्ताक्षर गरे ।

    पुनर्निर्माणका लागि सम्झौता रकम १४ करोड २७ हजार ५ सय ५७ रुपैयाँ राखिएको छ ।

     

     

    राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले बालगोपालेश्वर मन्दिर पुनर्निर्माणका लागि सम्झौता हुनुलाई सुखद् पक्ष भन्दै प्रताप मल्लकालीन शिखर शैलीमा पुनर्निर्माण हुने बताए ।

    उनले उपभोक्ता समितिमार्फत् रानीपोखरीको पुनर्निर्माण भइरहेकाले अब बालगोपालेश्वर मन्दिरको पुनर्निर्माण पनि द्रुत गतिमा सँगसँगै अघि बढ्ने उल्लेख गरे ।

    राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी सदस्य डा. चन्द्रबहादुर श्रेष्ठले रानीपोखरीको पुनर्निर्माण गर्दा मन्दिर पुनर्निर्माणमा र मन्दिर पुननिर्माण गर्दा रानीपोखरी पुनर्निर्माणमा असर नपार्ने गरी समन्वयात्मक ढंगले काम गर्न सुझाव दिए ।

    सहसचिव एवं सम्पदा संरक्षण, सार्वजनिक भवन तथा पूर्वाधार महाशाखा प्रमुख शिवहरि शर्माले निर्धारित समयअघि नै निर्माण कम्पनीले बालगोपालेश्वर मन्दिरको पुनर्निर्माण कार्य सम्पन्न गर्नेमा विश्वास व्यक्त गरे ।

    निर्माण व्यवसायी शान्तकुमार श्रेष्ठले प्राधिकरण, उपभोक्ता समिति लगायतसँग सहकार्य र समन्वय गर्दै सम्पदाको मौलिकतालाई विशेष ध्यान दिएर बालगोपालेश्वर मन्दिर, पुल र वरिपरिको क्षेत्रमा पुनर्निर्माणको काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

    रानीपोखरी उपभोक्ता समितिका अध्यक्ष अजय स्थापितले निर्माण व्यवसायी र आफूहरुबीच एकअर्कालाई सहयोग गरेर समन्वयात्मक रुपमा पुनर्निर्माणको काम गर्ने बताए ।

    रानीपोखरी उपभोक्ता समितिमार्फत रानीपोखरीको पिँध र वरिवरीको क्षेत्रमा पर्खाल लगाउने कार्य भइरहेको छ ।

    यो मन्दिर तिहारमा भाइटिकाको दिन मात्र सर्वसाधारणका लागि खुल्ने गर्छ ।

  • असारमै दुई तिहाई खेत बाँझै, २३ प्रतिशतमा मात्र रोपाईं

    असारमै दुई तिहाई खेत बाँझै, २३ प्रतिशतमा मात्र रोपाईं

    काठमाडौं । असार सकिन अब एक साता मात्र बाँकि छ । मानो रोपेर मुरी फलाउने महिनाका रुपमा परिचित यो महिनामा कृषक व्यस्त रहनु पर्ने हो ।

    तर, प्रकृति कृषकमैत्री नबन्दा अहिलेसम्म रोपाईको माहोल शुरु हुन सकेको छैन । बालिविकास तथा जैविक संरक्षण केन्द्रका अनुसार मुलुकभर अहिलेसम्म मात्र २३ प्रतिशत खेतमा रोपाइं सम्पन्न भएको छ ।

    केन्द्रले २२ असारसम्मको तथ्यांक समेटेर मंगलबार विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार अघिल्लो वर्षको २२ असारसम्म ५३ प्रतिशत खेतमा रोपाई भइसकेको थियो ।

    ढिला मनसुन शुरु हुनु र कतिपय स्थानमा अझै खडेरी नै परेका कारण वर्षातमा आधारित रहेर हुने रोपाई अझै शुरु हुन नसकेको हो ।

    नेपालमा करीव ६५ प्रतिशत खेतियोग्य जमिनमा अझै पनि स्तरीय सिञ्चाई सुविधा पुगेको छैन । त्यसकारण कृषक वर्षातकै पानीमा भर पर्नु पर्ने अवस्था रहेको छ ।

    नेपालमा कुल १३ लाख ७१ हजार ७०६ हेक्टर जमीनमा धान रोपाइँ हुने तथ्यांक केन्द्रसँग छ । त्यसमध्ये २२ असारसम्म ३ लाख २५ हजार ९ सय १ हेक्टरमा मात्रै रोपाइँ भएको छ ।

    उच्च पहाडी भूभागमा ४८ हजार १९३ हेक्टर जमिनमा धान रोपाई हुन्छ । त्यसमध्ये १६ जार ६९३ हेक्टर जमिनमा रोपाइँ सकिएको छ ।

    मध्य पहाडमा ३ लाख ४६ हजार ९९ हेक्टरमा रोपाई हुनेमा एक लाख ७ हजार ८०१ हेक्टर जमीनमा मात्रै रोपाइँ सकिएको केन्द्रको तथ्यांकमा उल्लेख छ ।

    तराईमा भने ९ लाख ७७ हजार ४१४ हेक्टर जमीनमा धान खेति गरिन्छ । त्यसमध्ये ३ लाख २५ हजार ९०१ हेक्टर जमीनमा मात्र रोपाइँ सकिएको छ ।

    कुल धान उत्पादनको झण्डै ७० प्रतिशत हिस्सा प्रदेश २ ले ओगट्छ । पहाडभन्दा पनि तराईको जिल्लामा हुने रोपाईले धेरै हदसम्म तथ्यांकमा प्रभाव पार्छ ।

    मनसुन ढिला शुरु हुँदा तराईका नदीहरुमा समेत पानीको बहाब बढ्न सकिरहेको छैन ।

  • एनआरएनमा अब नयाँ बहस, सम्पर्कविहीन पुस्तालाई समेट्ने प्रस्ताव

    एनआरएनमा अब नयाँ बहस, सम्पर्कविहीन पुस्तालाई समेट्ने प्रस्ताव

    विश्व न्युज संवाददाता
    काठमाडौं
    गैरआवासीय नेपाली संघ (एनआरएन)को एसिया प्रशान्त क्षेत्रीय बैठक म्यानमारको राजधानी याङ्गोनमा सम्पन्न भएको छ । शनिबार भव्य रुपमा उद्घाटन भएको सम्मेलन आइतबार सम्पन्न भएको हो । नेपालको समृद्धिका लागि गैरआवासीय नेपालीको भूमिका खोज्ने उद्देश्यले सम्मेलनमा विभिन्न प्रकारका छलफल गरिएको एनआरएन प्रवक्ता भूषण घिमिरेले जानकारी दिए । उनका अनुसार शनिबार उद्घाटन सत्रसहित एसिया क्षेत्रका राष्ट्रिय समन्वय परिषद्को प्रतिवेदन प्रस्तुती, महिला तथा युवासँग सम्बन्धित विभिन्न कार्यक्रमसमेत गरिएको उनले जानकारी दिए ।
    क्षेत्रीय संयोजक किरणविक्रम थापाको सभापतित्वमा सुरु भएको एनआरएनएको उद्घाटन सत्रको सुरुमा संघका अध्यक्ष भवन भट्टले सम्बोधन गरेका थिए । त्यसपछि बैठकमा प्रवासमा रहेका नेपाली समुदायको क्रियाकलाप, नेपाली समुदायले भोग्नुपरेका समस्या र नेपालको कला, संस्कृति तथा भाषा प्रवद्र्धनका विषयमा छलफल भएको थियो । हजारौं नेपाली मूलका बर्मेली बसोवास गर्ने म्यानमारमा नेपाली कला, संस्कृति अहिले पनि उत्तिकै महत्वको बनेको छ ।
    एनआरएनको बैठकमा नेपाली काँग्रेसका नेता डा. प्रकाशशरण महत, नेकपा एमालेका सांसद डा. सूर्य पाठक, म्यानमारका लागि नेपाली राजदूत भीम उदास, संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, उपाध्यक्ष कुमार पन्त र कुल आचार्य, महासचिव डा. बद्री केसी, सचिव डिबी क्षेत्री, प्रवक्ता भूषण घिमिरे, युवा संयोजक सुदन थापा, सल्लाहकार डा. हेमराज शर्मा लगायतको सहभागिता थियो । बर्मा रहेका नेपाली मूलका विभिन्न व्यक्तिको समेत कार्यक्रममा सहभागी रहेको थियो ।
    बैठकमा एसिया क्षेत्रका म्यानमारसहित जापान, चीन, मकाउ, मलेसिया, थाइल्याण्ड, दक्षिण कोरिया लगायतका देशका प्रतिनिधि सहभागी थिए । त्यस्तै अमेरिका, यूरोप, मध्यपूर्व र ओसियानाका प्रतिनिधिसमेत कार्यक्रममा भाग लिन म्यानमार पुगेका थिए ।
    सम्मेलनअन्तर्गत आइतबार भएको छलफलमा नेपालको समृद्धिसम्बन्धी विभिन्न पक्षमा छलफल भएको थियो । झण्डै ३ सय भन्दा धेरैको सहभागिता रहेको कार्यक्रममा म्यानमारका अन्तर्राष्ट्रिय सहयोग मन्त्री चो टिमको समेत उपस्थिति थियो ।

    कार्यक्रममा कसले के भने ?
    सम्मेलनलाई सम्बोधन गर्ने अधिकांश वक्ताले नेपालको समृद्धिको योजना कसरी कार्यान्वयन गर्न सकिन्छ भन्ने विषयमा आफ्नो धारणा राखेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काँग्रेसका नेता एवं पूर्वपरराष्ट्रमन्त्री डा. प्रकाश शरण महतले विदेशमा रहेका नेपाली मुलका नेपालीहरु र विदेशमा रहेका नेपालीको नेपाल सम्बन्ध बलियो हुनुपर्नेमा जोड दिएका छन् । उनले हरेक सम्बन्धले नेपाललाई फाइदा हुनेमा जोड दिएका छन् ।
    कार्यक्रममा उपस्थित म्यानमारका मन्त्री चो टिमले नेपाल र म्यानमार बिकासको चरणमा प्रवेश गर्दै गरेका मुलक भएकाले मिलेर काम गर्न सकिने प्रस्ताव राखे । उनले नेपाल र म्यानमारमा लगानीको प्रशस्त सम्भावना रहेकोमा जोड दिए । उनले नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२०लाई स फल बनाउन म्यानर सरकारले सहयोग गर्ने विश्वास दिलाए । पछिल्लो समय म्यानमारका नागरिक पनि विदेश भ्रमणमा जान थालेको बताए । गैरआवासीय नेपालीहरुको अभियानबाट आफूहरुले पनि केही कुरा सिक्न खोजेको म्यानमारका मन्त्रीको भनाइ रहेको छ ।
    सम्मेलनलाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता एवं प्रतिनिधिसभा सदस्य डा. सूर्य पाठकले गैरअवासीय नेपालीहरुका समस्या सम्बोधनमा सरकारलाई आफूले दबाब दिइरहेको बताए । उनले नेपालको सम्पत्ति भएकाले अब यो समूह नेपालको विकासको साझेदार हुनुपर्नेमा जोड दिए ।
    म्यानमारका लागि नेपाली राजदूत भीम उदासले नेपाली मुलका म्यानमारी नागरिकले जस्तै नेपाली भाषा, कला संस्कृतिको जर्गेना गर्न विदेशमा बस्ने सबै नेपाली समुदायलाई आग्रह गरे । उनले म्यानमारका नागरिकले जसरी नेपाली भाषा, कला र संस्कृतिको जगेर्ना अन्त कतै हुन नसकेको बताए । उनले दुई देशका बीचमा धेरै समानता भएकाले आपसमा सहकार्य गरेर काम गर्ने वातावरण बनाउनु पर्नेमा जोड दिएका छन् ।
    सम्मेलनलाई सम्बोधन गर्दै संघका अध्यक्ष भवन भट्टले नेपाल भ्रमण वर्ष २०२० सफल पार्न आफूहरु लागि पर्नेमा जोड दिएका छन् । उनले नेपालको समृद्धिका लागि सबै एकजुट हुनुको विकल्प नरहेको बताए ।
    सम्मेलनलाई सम्बोधन गर्दै एनआरएनएका संस्थापक अध्यक्ष एवं प्रमुख संरक्षक डा. उपेन्द्र महतोले व्यक्तिगत सफलताले व्यत्तिः धनी भएपनि राष्ट समृद्ध नभएसम्म त्यसको केही महत्व नहुने भएकाले नेपालको समृद्धिले मात्र संसार भर छरिएर रहेका नेपालीको समृद्धि हुनेमा जोड दिए । एनआरएनएका क्षेत्रीय संयोजक किरणविक्रम थापाले म्यानमारमा कार्यक्रम गर्न पाउँदा आफूहरु खुुसी भएको प्रतिक्रिया दिए ।

    नयाँ एजेण्डा के बन्यो ?
    एनआरएनको एसिया प्रशान्त सम्मेलन विभिन्न एजेण्डा तय गर्दै म्यानमारमा सम्पन्न भएको थियो । सम्मेलनले नेपालसँग पुस्तादेखि सम्पर्कमा नरहेका व्यक्तिलाई पनि गैरआवासीय नेपाली रुपमा समेट्ने नयाँ प्रस्ताव गरेको छ । यो व्यवस्थाले सार्क राष्ट्रबाहेकका म्यानमार, मलेसिया, थाइल्याण्ड लगायत विभिन्न देशमा दशकौंदेखि बसोवास गरिरहेका नेपाली मूलका विदेशीले पनि अब एनआरएनको सदस्यता पाउने बाटो खुल्ने तयारी देखिन्छ ।
    म्यानमार सम्मेलनको मुख्य एजेण्डा यही विषय रहेको थियो । नेपाली डायस्पोरालाई एक–दुई पुस्तामा मात्र सीमित नगरेर गैरआवासीय नेपालीको परिभाषाभित्र नेपालबाट पुस्तौंदेखि विदेशमा बसोवास गरिरहेका व्यक्तिका सन्तानलाई समेट्न सक्नेगरी कानुनी व्यवस्था गर्न प्रस्ताव गरिएको छ । एसिया प्यासिफिक क्षेत्रीय बैठक आइतबार सम्पन्न भएको थियो ।
    एनआरएनले संस्थागत रुपमा नै एनआरएनको दायरा फराकिलो बनाउनेगरी कानुनी व्यवस्था गर्न सरकारलाई आग्रह गर्ने निर्णयसमेत गरिसकेको छ । नेपालसँग सबै प्रकारका नाता टुटिसकेको अवस्थामा एनआरएनले अब ती नेपालीलाई पनि नेपालसँग जोड्ने अभियान थाल्ने जनाएको छ ।
    बैठक सम्पन्न भएपछि जारी गरिएको विज्ञप्तीको ३ नम्बर बुँदामा मुलुकको विकासमा डायस्पोराको महत्वपूर्ण भूमिका रहने कुरालाई मनन गर्दै डायस्पोरालाई एकदुई पुस्तामा मात्र सीमित नगरेर गैरआवासीय नेपालीको परिभाषाभित्र नेपालबाट विदेशमा पुगेर बसोवास गरेका व्यक्तिका सन्ततीलाई समेट्न सक्नेगरी कानुनी व्वस्था गर्न सरकारलाई अनुरोध गर्ने कुरा उल्लेख गरिएको छ ।
    एनआरएन सम्मेलन तथा बैठकले नेपाली मूलका विदेशी नागरिकलाई समेत नेपालको विकासको साझेदार बनाउन पहल गर्ने निर्णय गरेको प्रवक्ता घिमिरेले जानकारी दिए । नेपालको कला, संस्कृति, भाषा र रहनसहनसहितको आफ्नो पहिचान राख्न सफल भएकोमा म्यानमारमा बसोवास गर्ने नेपाली मूलका म्यानमारका नागरिकलाई धन्यवाद दिइएको छ ।
    त्यस्तै नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न सक्रियतापूर्वक लागि पर्ने, नेपालले डायस्पोरा कूटनीति अप्नाउनु पर्ने लगायतका निर्णय पनि बैठकले गरेको छ । नेपालको समृद्धिका लागि विदेशबाट सिकेको ज्ञान, सीप, आर्जन गरेका साधन स्रोतको प्रयोग गर्ने वातावरण बनाउन पनि निरन्तर प्रयास गर्ने प्रण पनि बैठकले गरेको छ ।
    नेपालमा १० अर्ब रुपैयाँको सामूहिक लगानी कम्पनी सफल पार्ने विषयमा पनि बैठकमा छलफल भएको छ । बैठकले आगामी एसिया प्रशान्त क्षेत्रीय बैठक चीनमा र त्यसपछिको बैठक कोरियामा सम्पन्न गर्ने निर्णय पनि गरेको छ । सम्मेलनकै क्रममा हङकङको एउटा पक्षले बहिष्कार गरेको कुरा विभिन्न सञ्चार माध्यमले जनाएका छन् ।

  • मन्त्रीपरिषद्को आकस्मिक बैठक, एजेण्डा गोप्य

    मन्त्रीपरिषद्को आकस्मिक बैठक, एजेण्डा गोप्य

    काठमाडौं । सोमबार साँझ बसेको मन्त्रीपरिषद् बैठक मंगलबार बिहान पुनः बोलाइएको छ । सामान्यतया नेपालमा मन्त्रीपरिषद् बैठक बिहीबार बस्ने प्रचलन छ ।

    मंगलबार बैठकका एजेन्डा भने सार्वजनिक गरिएको छ । पछिल्लाो समय तरकारी र फलफूलको विषादी परीक्षण सम्बन्धी विषय आलोचित बनेसँगै मन्त्रीहरुका फरक फरक धारणा आइरहेका छन् ।

    सोमबार विभिन्न संचरमाध्यमले भारतले तरकारीको आयात नरोक्न दवावमुलक पठाएको पत्रपनि सार्वजनिक गरेका थिए । यसबाट अफ्ठ्यारोमा परेको सरकार अहिले चौतर्फी आलोचनाको शिकार भइरहेको छ ।

    यस्तोमा प्रधानमन्त्री केपी शर्मा ओलीले के भएको हो भन्ने सम्बन्धमा विस्तृतमा जानकारी लिन चाहेको बुझिएको छ ।

    सोमबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मात्रिका यादवले सचिवहरुबाट लगत सूचना आएको र त्यसमा नपढी हस्ताक्षर गर्दा सरकार अफ्ठ्यारोमा परेको प्रतिक्रिया दिएका थिए ।

    त्यसअगाडी स्वयमः प्रधानमन्त्रीले भारतीय दूतावासबाट कुनै पत्र नआएको र नेपालसँग विषादी परीक्षण गर्ने कुनै उपकरण नभएका कारण विषादी परीक्षण गर्ने निर्णय फिर्ता लिनु परेको बताएका थिए ।

    उनको भनाईलाई काट्ने गरी कृषि मन्त्रीले नेपालमा पूर्वाधार रहेको तर पर्याप्त नरहेको बताएका थिए ।

  • आफ्नै हजुरबुवाको हातबाट नाबालिका पानी जहाजको ११ औं तल्लाबाट खस्दा

    आफ्नै हजुरबुवाको हातबाट नाबालिका पानी जहाजको ११ औं तल्लाबाट खस्दा

    घटना अनेक किसिमका हुन्छन् ।मानिसको जिवनमा कतिखेर के घटना घट्न पुग्छ थाहा हुँदैन । कति बेला सोच्दै नसोचेको घटना घट्छ थाहा नै हुन्न । गत अाईतबार यस्तै भएको छ। अमेरिकाको ईन्डियाना राज्यमा बसोबास गर्दै आएको एक परिवार एक हप्ता लामो करेबियन देशहरुको भ्रमणमा थियो ।भ्रमणकै क्रममा पोर्टो रिकोस्थित सान हुआनको समुन्द्री किनारमा पार्क गरिरहेको पानी जहाजको ११ तल्ला माथि आफ्नै हजुरबुवा साल्भटोर एनिलोजको हातबाट १८ महिनाको क्लोई विगन्ड चिप्लिएर समुन्द्रको चट्टानमा बजारिन पुगिन ।बिदा मनाउन गएको परिवारमा हेर्दा हेर्दै बज्रपात पर्यो, जब ति फूल जस्ती नाबालकाको मृत्‍यु भयो ।
    १८ महिनाकी ती नाबालिक रोयल करेबियन क्रुजको ११ तल्लाको डाइनिङ् हलमा अाफ्नो हजुरबुवाको काखमा खेल्दै थिईन। डाईनिङ् रुमका झ्यालहरु ठुला ठुला थिए। त्यस मध्ये एउटा झ्यालको सिसा खुल्ला थियो । त्यतिकै मा हजुरबुवाले नातिनीलाई झ्यालमा बसाए तर आफ्नो सन्तुलन गुमाउन पुगे र ति नाबालिका जहाजको ११ औं तल्लाबाट झर्न पुगिन । तत्काल उनको मृत्‍यु भएको थियो । ती नाबालिकाका पिता विलियन विगन्ड इन्डियाना राज्यमा कार्यरत प्रहरी हुन् । घटना पछि इन्डियानास्थित साउथ बेन्ड प्रहरी डिपार्टमेन्टले समबेदना प्रकासित गरेको छ । ती बालिका आफ्ना दिदीहरु,माता पिता र हजुरबुवा हजुरआमाको साथमा करेबियन यात्रामा थिईन ।
    एजेन्सी

  • भारतमा बस दुर्घटना हुँदा २९ जनाको मृत्‍यु

    भारतमा बस दुर्घटना हुँदा २९ जनाको मृत्‍यु

    भारतको उत्तर प्रदेशमा यात्रु बाहक बस दुर्घटना हुँदा २९ जनाको ज्यान गएको छ । दुर्घटना सोमबार बिहान अागरा शहर नजिकै भएको हो । ५० जना यात्रु चढेको उक्त दुई तले बस लखनऊबाट राजधानी नयाँ दिल्ली जाँदै थियो । चालक निदाएको कारण दुर्घटना भएको भारतीय संचार माध्यमहरुले जनाएका छन् ।  

    सन् २०१२ मा खुलेको नयाँ दिल्लीदेखि आगरासम्म जाने द्रुत मार्गमा उक्त दुर्घटना भएको हो । दुर्घटनालाई उत्तर प्रदेश प्रहरीले आफ्नो ट्विटर् एकाउन्ट मार्फत पुष्टी गरेको छ ।  

    ७ बर्ष अगाडि निर्माण भएको उक्त ६ लेनको द्रुत मार्ग संचालनमा आए यता भएको बिभिन्न दुर्घटनामा ९ सय जनाको मृत्‍यु भै सकेको छ ।

  • चार राजदूतको नाम अनुमोदन

    चार राजदूतको नाम अनुमोदन

    काठमाडौं । संसदीय सुनुवाई समितिले चार देशका लागि प्रस्तावित भएको राजदूतको नाम अनुमोदन गरेको छ । समितिको सोमबारको बैठकमा संसदीय सुनुवाई लगत्तै चारै जना राजदूतको नाम अनुमोदन गरिएको थियो ।

    अनुमोदन हुनेमा बंगलादेशका बंशिधर मिश्र, कतारमा नारदनाथ भारद्वाज, अष्ट्रेलियामा महेशराज दाहाल र स्पेनमा दाबा फुटी शेर्पाको नाम रहेको छ ।

    सोमबार नै भएको संसदीय सुनुवाईमा राजदूतहरुका विषयमा परेको उजुरीका सम्बन्धमा प्रस्तावित राजदूतहरुले जवाफ दिएका थिए ।

    अष्ट्रेलियाका लागि अनुमोदित नेपाली राजदूत महेशराज दाहालले आफू र आफ्नो परिवारको नाममा विदेशमा स्थायी आवासीय अनुमतिपत्र नभएको बताए । समितिमा उनकी पत्नीले अमेरिकामा स्थायी बसोबास अनुमतिपत्र (पीआर) लिएको उजुरी परेको थियो ।

    दाहालले भने आफ्नी पत्नीले वर्क परमिट मात्र लिएको र त्यसको म्याद दुई महिनामा सकिने स्पष्टिकरण दिए ।

    कतारका लागि अनुमोदित राजदूत नारदनाथ भारद्वाजले नेपालको पानी कतारको बजारमा बेच्न सकिने सम्भावना रहेको बताए ।

    बंगलादेशका लागि अनुमोदित वंशिधर मिश्रले नेपाल र बंगलादेशबीच विद्युत व्यापार र पर्यटनलाई प्राथमिकतामा दिने बताए ।

  • राष्ट्रिय खेलकुद परिषद्को नेतृत्व सिलवाललाई

    राष्ट्रिय खेलकुद परिषद्को नेतृत्व सिलवाललाई

    काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्य सचिवमा रमेश सिलवाल नियुक्त भएका छन् । उनी गोल्डनगेट कलेजका प्रमुख कार्यकारी अधिकृत हुन् ।

    शिक्षा व्यवसायसँग आवद्ध सिलवाललाई राखेप अध्यक्ष तथा युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले सोमबार सदस्य सचिव नियुक्त गरेका थिए ।

    उनले सोमबार नै सपथ ग्रहण गरे । सथप ग्रहणपछि बोल्दै सदस्यसचिव सिलवालले निर्धारित समयमा साग खेलकुद प्रतियोगिता आयोजना गर्न आफ्नो प्राथमिकता हुने बताए ।

    उनले आफूले जागिर खानका लागि मात्र नभई खेलकुदका माध्यमबाट देशको शीर उच्च राख्न जिम्मेवारी ग्रहण गरेको समेत उल्लेख गरे ।

    खेलकुदमन्त्री विश्वकर्माले सिलवालको नियुक्तिले खेलकुद क्षेत्रको विकासमा फड्को मार्ने विश्वास व्यक्त गरे ।

    ९ असारमा केशबकुमार विष्टको कार्यकाल सकिएपछि राखेप सदस्यसचिव पद रिक्त थियो। विष्टको कार्यकालमा सरकारले गठन गरेको नेपाल क्रिकेट संघ (क्यान) तदर्थ समितिका संयोजक सिलवाल थिए।

    निर्वाचित क्यानलाई विघटन गरेपछि आइसिसीले क्यानमाथि प्रतिबन्ध लगाएको छ। जुन अहिले पनि कामय रहेको छ। सिलवाल क्यानका पूर्व उपाध्यक्ष पनि हुन्।

  • विषालु जिवाणु  फैलिए पछी मिसिसिपी  नदिका तटहरु बन्द गरिए

    विषालु जिवाणु फैलिए पछी मिसिसिपी नदिका तटहरु बन्द गरिए

    विषालु जिवाणु फैलिदै गए पछी मानिस तथा जिव जन्तुहरुलाई मिसिसिपी गल्फ कोष्ट वरिपरीको पानीको सम्पर्कमा नजान सुचना जारी गरिएको छ । मिसिसिपी डिपार्टमेण्ट अफ ईन्भाईरोमेन्टल क्वालिटीले पानीमा लगातार विषालु जिवाणु फैलिदै गएपछि गत जुन २२ तारिखदेखि सर्वसाधारणको लागि केही तटहरु बन्द गर्दै आएको थियो । गत ७ तारिख अाईतबारदेखि अलाबामा लाईनका २ वटा तट पनि बन्द गरे पछी मिसिसिपी गल्फ कोष्टका सम्पूर्ण  तटहरु बन्द भएका छन्  ।  अर्को सुचना जारी नहुँदासम्म सम्पूर्ण तटहरु बन्द गरिएका हुन् ।  

    सुन्दर सफा पानीको मिसिसिपी नदिमा अनियन्त्रित रुपमा हानिकारक “अल्बल ब्लुम” नामक हरिया झार उम्रिएर फैलन थाले पछी मिसिसिपी कोष्टका २१ वटा पर्यटकको भिड लाग्ने तटहरु बन्द गरेको मिसिसिपी     डिपार्टमेण्ट अफ ईन्भाईरोमेन्टल क्वालिटीले जनाएको छ । सामान्यतया झ्याउ जस्तै देखिने अल्बल ब्लुम समुन्द्र र सफा पानीमा उम्रने गर्दछ । पानीको तापक्रममा आएको परिवर्तन, जलवायुमा आएको परिवर्तन, समुन्द्र तथा खोलामा बहावको गती कम हुनु जस्ता कारणले खोला तथा समुन्द्रमा यस्ता झार उम्रने सेन्टर फर डिजिज कन्ट्रोल एन्ड  प्रिभेन्सनले जनाएको छ । यस्ता झारको संसर्गमा जानेलाई शरीर चिलाउने पेट वरिपरी धर्सा आऊने रिङ्गटा लाग्ने बान्ता हुने जस्ता समस्याहरु देखा पर्ने गर्दछन् ।  

    मिसिसिपी नदी सामान्यतया पर्यटकका लागि  आकर्षक गन्तब्य मानिन्छ । त्यसमा पनि अलाबामादेखि फ्लोरिडासम्मका मिसिसिपीका तटहरु प्रमुख पर्यटकीय गन्तब्य नै हुन् ।  

    श्रोत :  एजेन्सी

  • कोरियाका किमलाई एक बोतल व्हिस्कीको मुल्य झन्डै २लाख डलर पर्‍यो

    कोरियाका किमलाई एक बोतल व्हिस्कीको मुल्य झन्डै २लाख डलर पर्‍यो

    न्युयोर्क
    एक जना दक्षिण कोरियन नागरिकले हवाई उडानको समयमा ४५ मिनेट भित्र सिंगो बोतल व्हिस्की पिएर अनियन्त्रित भै जहाज भित्र दुर्व्यबहार गरेपछि जहाजलाई पुन: फर्काउनु परेका कारण ती यात्रुलाई १ लाख ७२ हजार भन्दा बढ्ता क्षति भराउने आदेश भएको छ ।साथ साथै ती ब्यक्तिले सियोलस्थित बिमानस्थलमा जहाज कुरेर बसेका सबै यात्रुको होटल बसाई खर्च समेत भर्नु पर्ने भएको छ । गत फेब्रुअरी २७ तारिख २६३ यात्रु र १३ जना चालक दलका सदस्य सहित अमेरिकाको हवाईबाट कोरियाको सियोल उडेको हावाईएन एयरलायन्सको एच् ए ४५९ मा चढेका दक्षिण कोरियन नागरिक क्योङ् चोल किमले जहाज उड्नु भन्दा अगाडिदेखि नै आफ्नो साथमा ल्याएको ठुलो बोतल व्हिस्की पिउन शुरु गरेका थिए ।व्हिस्कीले मात्तिएका ४८ वर्षिय किमले संगैको सिटमा बसेका नाबालक माथि दुर्व्यवहार गर्न शुरु गरेका थिए ।रक्सीले मात्तिदै जाँदा किमले संगैको सिटमा बसेका ति नाबालकलाई कुल्चिएर फ्लाइट एटेन्डेन्टलाई समेत हात हालेपछि ४ घण्टाको उडान भरी सकेको जहाजलाई पुन: अमेरिका कै हवाई फर्काईएको थियो ।फिर्ता ल्याईएको जहाजबाट झर्ने बित्तिकै किमलाई फेडरल ब्युरो अफ ईन्भेस्टिगेसनका अधिकारीहरुले पक्राउ गरेका थिए ।गत बुधबार संघीय अदालतले किमलाई १ लाख ७२ हजार अमेरिकी डलरको साथमा हवाई नै फर्किएको उडानले ब्यहोर्नु परेको सम्पूर्ण खर्च समेत तिर्नु पर्ने निर्णय गर्दै ६ महिनाको काराबास सजाय सुनाएको छ ।

    कोरियन नागरिक किमलाई गत फेब्रुअरी २५ तारिख पर्याप्त कागजातको अभावमा यु एस कस्टम् एन्ड ब्रोडर पेट्रोलले अमेरिका प्रबेशको अनुमती नदिए पछी उनलाई २ दिनसम्म हनलुलु स्थित फेडरल डेटेन्सन सेन्टरमा राखेर २७ तारिख कोरिया फर्काउने गरी उक्त उडानमा पठाईएको थियो ।
    श्रोत : एजेन्सी

  • सेना-पुलिसका श्रीमती संघ खारेज हुनुपर्छ : भुसाल

    सेना-पुलिसका श्रीमती संघ खारेज हुनुपर्छ : भुसाल

    काठमाडौं । नेकपा नेतृ पम्फा भुसालले सैनिक र प्रहरीको बजेटबाट श्रीमती संघ संचालन हुन नहुने बताएकी छिन् ।

    प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै भुसालले सेना र पुलिसमा रहेका श्रीमती संघहरु खारेज गर्नुपर्ने माग गरिन् ।

    गणतन्त्रमा पनि राजतन्त्रकालिन अवशेष रहेको भन्दै उनले संविधानको प्रतिकूल हुने गरी अस्तित्वमा रहेका संस्थाहरु खारेज गर्नुपर्ने तर्क गरेकी छिन् ।

    यस्ता निकायहरु राजतन्त्र कालिन समयमा सामन्ती पितृसत्तावादी सोचका आधारमा स्थापना भएको उनको भनाई छ ।

    प्रधानसेनापतिबाट आफ्नी श्रीमतीलाई महारानी नभन्‍‍न निर्देशन दिएको प्रसंग उठाउँदै भुसालले सेना पुलिसको बजेटबाट श्रीमती संघ चल्नु ठीक नभएको बताइन ।

    हिजोको शाही नेपाली सेना अहिले नेपाली सेनामा परिणत भइसकेको अवस्थामा परिवार र वंशवादमा आधारित पितृ सत्तावादी सोचसहित खडा भएका संरचना खारेज गर्नु उनले माग गरिन् । उनी पूर्वमन्त्री समेत हुन् ।

  • कांग्रेस केन्द्रिय समिति बैठक शुरु

    कांग्रेस केन्द्रिय समिति बैठक शुरु

    काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समिति बैठक आइतबारबाट राजधानीमा शुरु भएको छ । दिउँसो २ बजेका लागि डाकिएको बैठक करीव ५ घण्टा ढिलो गरी शुरु भएको हो ।

    बैठकमा राख्ने एजेन्डाका विषयमा शीर्ष तहका नेताहरुबीच विवाद भएपछि निर्धारित समयमा बैठक बस्न नसकेको हो । आइतबार बैठकमा महामन्त्री पूर्णबहादुर खड्काद्धारा १४ वटा एजेन्डा प्रस्तुत भए ।

    यसमा पार्टीको जिम्मेवारी र राष्ट्रिय जिम्मेवारीका विषयमा एजेन्डा समावेश गरिएको छ । बैठक शुरु हुन अघि वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौला पक्षधर नेताले पार्टीको १४ औं महाधिवेशनको मितिका सम्बन्धमा पनि पार्टीमा छलफल हुनुपर्ने अडान लिएपछि बैठक ढिला मात्र शुरु भएको हो ।

    आइतबार पार्टीको पहिलो चरणमा सम्पन्न राष्ट्रिय जागरण अभियानको समीक्षा, नियमावली मस्यौदा पारित गर्ने, पार्टीको भातृ संगठन र जनसम्पर्क समितिलाई पूर्णता दिनेजस्ता एजेन्डा राखिएको थियो।

  • प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको टुइट विवादित

    प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको टुइट विवादित

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख सल्लाहकार विष्णु रिमाल आइतबार बिहान गरेको टुइटका कारण दिनभर विवादित रहे ।

    दिनभर सामाजिक संजालमा उनको जमेर आलोचना भयो भने संचारमाध्यममा पनि उनी छाइरहे । टुइटले आम सर्वसाधारण मात्र आक्रोसित भएनन, स्वयमः नेकपाका नेता कार्यक्रताले पनि यस टुइटको खुलेर आलोचना गरेका छन् ।

    टुइटमा रिमालले भनेका छन्, ‘भनिन्छ, छौंडाहरू आफैं चलमलाउँदैनन्, कसैले छोड्छन्, दुख दिन्छन् , यी छौंडाहरू आफैं चलमलाएका हुन् की कसैले छोडेका ?’

    खासगरी बोक्सी प्रथासँग जोडिने छौँडा शब्द प्रयोग गर्दै टुइट गरेछि रिमाल विवादमा तानिएका हुन् । शनिबार नेकपा संसदीय दलको बैठकमा आफ्नै सांसदले सरकारको चर्को आलोचना गरेका थिए ।

    त्यसको भोलीपल्टै प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको अत्यन्तै विवादास्पद टुइट आएपछि आइतबार राजनीतिक वृत्त बहसमा उत्रियो ।

    संसदीय दलको बैठकमा सरकारले निर्णय गर्द पछि हट्नै गर्ने र एक पछि अर्को विवादास्पद निर्णय गरी जनतालाई चिढाएको भन्दै सरकारको खुलेर आलोचना गरेका थिए ।

  • पर्याप्त पूर्वाधार नहुँदा विषादी परिक्षण रोकियो : कृषि मन्त्री

    पर्याप्त पूर्वाधार नहुँदा विषादी परिक्षण रोकियो : कृषि मन्त्री

    काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणी खनालले पर्याप्त पूर्वाधार नबनेका कारण सीमा नाकामा फलफूल तथा तरकारीको विषादी परीक्षण रोकिएको बताएका छन् ।

    आइतबार राष्ट्रियसभामा विनियोजन विधेयकमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा मन्त्री खनालले नेपालसँग विषादी परिक्षण गर्ने पूर्वाधार भएपनि पर्याप्त नरहेको उल्लेख गरे ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार पूर्वाधार अभावका कारण परीक्षण रोकिएको दावि गरेका थिए । तर, कृषि मन्त्रीका अनुसार नेपालमै विषादी परिक्षण गर्न सक्ने पूर्वाधार भने उपलब्ध छन् ।

    काठमाडौंस्थित कालिमाटीमा २९ प्रकारका विषादी समूहको परीक्षण हुने सुविधा रहेको छ । देशका विभिन्न ६ स्थानमा परीक्षण केन्द्र स्थापना गरिएका छन् ।

    नेपाल आयात हुने तरकारी तथा फलफूलको सीमा नाकामा विषादी परीक्षण गर्नुपर्ने व्यवस्थासहित २ असारमा ‘निकासी पैठारीसम्बन्धी आदेश’ राजपत्रमा प्रकाशित भएको थियो ।

    यस व्यवस्थापछि सीमानामा तरकारी र फलफुल रोकिए । त्यसपछि भारतीय दूतावासले चासो देखायो । दूतावासको चासोसँगै सरकारले परीक्षण गर्ने व्यवस्था फिर्ता लियो । त्यस निर्णयपछि भने सरकारको खुलेर आयोजना भइरहेको छ ।

    तर, कृषिमन्त्री खनालले पूर्वाधार नभएको भन्ने तर्कको घुमाउरो गरी खण्डन गरे । पूर्वाधार हुँदै नभएको नभई पर्याप्त मात्र नरहेको भन्दै उनले अहिलेकै अवस्थामा पनि विषादी परीक्षण गर्न सकिने उनको तर्क छ ।

    नेपालमा प्रदेश १ को विर्तामोड, दुईको सर्लाही, ३ को कालीमाटी, गण्डकी प्रदेशको पोखरा, प्रदेश ५ को बुटवल र सुदूरपश्चिम प्रदेशमा दुई वटा केन्द्रबाट विषादी परीक्षण हुने गरेको उनले जानकारी दिए ।

  • अब न्यूयोर्कमा भेदभाव गर्दै यात्रु उठाउने ड्राईभर फन्दामा पर्ने

    अब न्यूयोर्कमा भेदभाव गर्दै यात्रु उठाउने ड्राईभर फन्दामा पर्ने

    न्यूयोर्क 

    न्यूयोर्कका ट्याक्सी लगायत सम्पूर्ण भाडाका कार सेवा प्रदायकहरुको नियमनकारी निकाय ट्याक्सी एण्ड लिमोजिन कमिशन (टिएलसी) का डाईरेक्टर माल्कम केनले भेदभावपूर्ण तवरले ग्राहक लिने र नलिने गर्ने ड्राईभरहरुलाई एकदमै कडा कदम चाल्ने भएका छन् ।

    यसो त केन आफूसँग अनगिन्ती त्यस्ता तितो घटना स्मृतीमा रहेको बताउँछन् । यद्यपी उनी आफू ६ बर्षको उमेरमा अभिभावकसँग थ्याङ्क्सगिभिङ्स डेको दिन म्यानह्याटन चाईनाटाउनबाट अपटाउन जाने क्रममा आधा दर्जन खाली पहेंलो ट्याक्सीहरूले उनीहरुलाई वर्णकै कारणले चढ्नमा भेदभाव गरी गोरा ग्राहकहरुलाई चढाएको र अन्त्यमा एकजना अश्वेत प्रहरी अधिकृतले ट्याक्सी रोकी घरसम्म जाने व्यवस्था मिलाउनु परेको दुखदायी क्षण स्मरण गर्छन् ।

    २७ वर्षका केन यो घटना हप्ताको २/३ पटक सन्धर्वहरुमा सुनाउने गर्दछन् । आफू अफ्रिकन अमेरिकन डाईरेक्टर बनेर काम गर्दैगर्दा कसैले वर्ण, लिङ्ग, जात, पेशा ईत्यादीका आधारमा कसैलाई ट्याक्सीमा चढाउन भेदभाव गरिएको पाईएमा शुन्य सहनसिलता अपनाउने बताएका छन् । 

    न्यूयोर्क सिटीको तथ्यांक अनुसार वर्ष २०१८ मा पहेंलो र हरियो ट्याक्सी ड्राईभरहरुले अन-ड्युटीमा रहेर पनि ग्राहक लिन अस्विकार गरेको २२७८ वटा उजुरी परेको थियो, जुन अघिल्लो वर्ष भन्दा १८३४ वटा बढी उजुरी हो । त्यस्तै कार सर्भिसले ४४५ वटा अस्विकार गरेको थियो, जुन अघिल्लो वर्ष भन्दा १०२ बढी हो । यस अनुसार यस्ता घट्ना बढ्दो क्रममा रहेको उनी बताउँछन् ।

  • गैरआवासीय नेपाली संघ अष्ट्रेलियाको अध्यक्षमा केशव कँडेलको नेतृत्व

    गैरआवासीय नेपाली संघ अष्ट्रेलियाको अध्यक्षमा केशव कँडेलको नेतृत्व

    सिड्नी ,अस्ट्रेलिया
    शनिवार सम्पन्न निर्वाचनमा ४ हजार १ सय ४८ मत प्राप्त गरि केशब कंडेल वर्ष २०१९-२१ का लागि अध्यक्षमा निर्वाचित भएका छन्।उनले प्रतिस्पर्धी दिनेश पोखरेल भन्दा ३९१ बढी मत ल्याएका थिए ।महासचिवमा डा. ज्ञानेन्द्र रेग्मी ४१५८ मत ल्याउँदै बिजयी भएका छन् ।रेग्मीले अधक्ष्यमा निर्वाचित कंडेलले प्राप्त गरेको मत भन्दा बढी मत प्राप्त गरेका हुन् ।सचिवमा उषाकिरण बरिया, कोषाध्यक्षमा अनिल पोखरेल, सहकोषाध्यक्षमा लक्ष्मण गोपाली र युवा संयोजकमा इरशद अहमत निर्वाचित भएका छन् ।
    यसैगरी आईसीसी सदस्यमा राजु अधिकारी, छविप्रसाद सापकोटा, दीपक शर्मा, अरुणकुमार ठाकुर, नारायण प्रसाद काफ्ले, अशोक केसी र सन्तोष कुवँर निर्वाचित भएका छन् ।राष्ट्रिय समन्वय समितिको कार्यसमितिमा पनि कंडेल समुहकै बर्चस्व रहेको छ ।
    निर्वाचनमा नोट भोट अप्सनको समेत ब्यबस्था गरिएको थियो।अध्यक्ष पदमा ४६१ जनाले नो भोटमा मतदान गरे । यस्तै महासचिव पदमा ७३७ जनाले नो भोट छनौट गरेका छन् ।सचिवमा ८०३ र कोषाध्यक्षमा ८४९ जनाले नो भोटको विकल्प छानेका छन् ।सबैभन्दा धेरै अर्थात् करिव ११५३ जनाले कोषाध्यक्ष पदमा नो भोट छानेका छन् ।
    कुल ११ हजार ६ सय १७ मतदातामध्ये ८ हजार ३ सय ६६ जना मतदानमा भाग लिए भने ३ हजार २ सय ५१ जनाले मतदानमा सहभागीता जनाएनन् । लामो आभ्यास पछि सम्पन्न निर्वाचनको परिणाम निर्वाचन समितिले गत शनिबार राति सयौ मतदाता बिच खुल्ला चौरमा घोषणा गरेको थियो ।

  • ८ जनाको ज्यान लिने हत्यारा पक्राउ

    ८ जनाको ज्यान लिने हत्यारा पक्राउ

    काठमाडौं । फरार अभियुक्त नसिम खान अन्ततः प्रहरीको पञ्जामा परेका छन् । एक बालकसहित आठ जनाको जघन्य हत्या गरेको अभियोगमा उनलाई प्रहरीले खोजिरहेको थियो ।

    कपिलवस्तुका स्थानीय उनी शनिबार राजधानीबाट पक्राउ परेको प्रहरीले पुष्टी गरेको छ । ३ फागुन २०७४ मा बालक मोहम्मद आयमान मुसलमानको अपहरणपछि हत्या गरेको अभियोग उनीमाथि छ ।

    त्यसपछि खान फरार भएका थिए । उनलाई कपिलबस्तु प्रहरीको सहयोगमा केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले पक्राउ गरेको हो ।

    मायादेवी नगरपालिका वडा नम्बर ४ का अध्यक्ष फत्ते मोहम्मदका छोरा आयमनको बुबा फत्ते मोहम्मदसँग ठेक्का विवादमा कुरा नमिलेपछि बदला लिन हत्या गरेको आरोप उनीमाथि छ ।

    घटनापछि बालकका परिवारले नसिम र उनकी श्रीमती फौजिया नसिमबिरूद्व किटानी जाहेरी दिएका थिए। त्यसपछि उनीहरु फरार थिए ।

    त्यसो त नसिमविरूद्व अन्य सात जघन्य हत्याको मुद्दा पनि दर्ता छ ।

    तत्कालीन माओवादीका जिल्लास्तरीय नेता राजेन्द्र तिवारी, प्रेम परियार, अकाली धोबी, ज्ञानबहादुर सुनार, शिवपूजन कुर्मीलगायतको हत्यामा उनको संलग्नताको आरोप रहेको छ ।

    कपिलवस्तु प्रहरीको मोस्ट वान्टेड सूचिमा रहेका उनीविरुद्ध हत्याबाहेक अपहरण र डकैतीका समेत मुद्दा जाहेरी रहेका छन् ।

  • काठमाडौंमा एकसाथ भूकम्प र वर्षात

    काठमाडौंमा एकसाथ भूकम्प र वर्षात

    काठमाडौं । शनिबार दिउँसो काठमाडौंमा भूकम्पको धक्का अनुभव गरिएको छ । अपराह्न ४ बजेर १५ मिनेटमा ४.६ रेक्टर स्केलको भूकम्प गएको खानी तथा भूगर्भ विभागले पुष्टी गरेको छ ।

    भूकम्पको केन्द्रविन्दु भक्तपुर रहेको छ । शनिबार सबैजना घरमा रहेको अवस्थामा भूकम्प गएका कारण शनिबारको धक्का धेरैले महसुश गरेका थिए ।

    भूकम्प लगत्तै सामाजिक संजालमा भूकम्पबारे एकसाथ हजारौं स्टाटस अपलोड भएका छन् ।

    त्यसो त काठमाडौंमा विहानैदेखि ठूलो वर्षा भइरहेको छ । वर्षा भइरहेर्कै समयमा भूकम्पको धक्का समेत आएपछि काठमाडौंबासी आत्तिएका हुन् ।

    विभागका अनुसार यो पराकम्प पनि गोरखा भूकम्पकै पराकम्प हो । एक पटक ठूलो भूकम्प गइसकेपछि हलचल भएको भूगर्भ मिल्ने क्रममा ससाना पराकम्प गइरहने बताइन्छ ।

  • अमेरिकाकै सबैभन्दा वृद्धाको जन्मदिन आज

    अमेरिकाकै सबैभन्दा वृद्धाको जन्मदिन आज

    न्युयोर्क   

    संयुक्त राज्य अमेरिकाकै सबैभन्दा वृद्धा (महिला पुरुष दुबैमा) मानिस आज जुलाई ६ तारिख शनिबार ११४ बर्षमा प्रवेश गरेकी छिन्  । सन् १९०५ को जुलाई ६ तारिखका दिन नर्थ क्यारोलाईनामा जन्मिएकी अलिलिया मर्फी आज शनिबार ११३ पुरा भएर ११४ बर्षमा प्रवेश गर्दा उनी संसार कै ८ औं जिउँदो बृद्धा मानिस हुन पुगिन् । नर्थ क्यारोलाईनामा जन्मिएकी उनी २० बर्षको जवानीमा न्यूयोर्क बसाई सरेकी थिईन । सानै उमेरमा उनको पतिको मृत्‍यु भएपछि मर्फीले एक्लै २ सन्तान हुर्काईन् ।

    संसारकै सबैभन्दा वृद्धा मानिस जापानका काने तानाका भन्दा मर्फी २ बर्ष मात्र कान्छी छिन् । आफ्नो जीवनमा अत्यन्त चलायमान जीवन यापन गर्दै आएकी मर्फीले जन्मदिनको अघिल्लो दिन भनेकी छिन् “भगवानमा विश्वास गर र ब्यक्तिगत रुपमा असल मान्छे बन” ।

  • भारतबाट नेपाल आउँदा जांच नगरे पनि नेपालबाट भारत निकासी हुने कृषिजन्य बस्तुमा भने जांच यथाबत

    भारतबाट नेपाल आउँदा जांच नगरे पनि नेपालबाट भारत निकासी हुने कृषिजन्य बस्तुमा भने जांच यथाबत

    भारतबाट नेपाल आयात हुने कृषिजन्य बस्तुमा विषादी मापनको व्यवस्था सरकारले हटाए पनि नेपालबाट भारत निकासी हुने कृषिजन्य बस्तुमा भारतले विषादी मापनको व्यवस्थालाई कायम राखेको व्यवसायीहरूले बताएका छन्।
    भारतले कृषिजन्य बस्तुको परीक्षण गर्न थालेको करिब ६ वर्ष भइसकेको बताइन्छ।
    नेपालबाट भारत निकासी हुने कृषिजन्य बस्तुहरूमा तयारी चिया, ठूलो अलैंची, कुचो, हिमाली जडीबुटी, अदुवालगायत छन्।

    चिया उद्योगी तथा व्यवसायीहरूका अनुसार नेपालमा उत्पादित तयारी चिया भारत निकासी गर्दा कोलकाताको प्रयोगशालामा नमुना लगेर परीक्षण नगरी भारत निकासी गर्न पाइँदैन।
    तर भारतीय उत्पादन नेपाल आयात गर्दा नेपाल सरकारले गर्न खोजेको विषादी मापनको व्यवस्था सरकारले नै हटाएकोमा नेपाली व्यवसायीहरुले आक्रोस पोखेका छन्।
    सरकारका प्रवक्ता गोकुल बास्कोटाले बिहीवार बोल्दै दुवै देशले एक अर्काको नागरिकको स्वास्थ्य खेलबाड हुने गरि काम गर्न नहुने बताएका थिए। उनले चेकजाँचको व्यवस्था राम्रो भएको र त्यसका लागि बरू प्राविधिक केही जटिलता भए मिलाउनु पर्ने बताएका थिए।
    “न हाम्रो उत्पादनको कारण भारतीय जनताको स्वास्थ्यमा खेलबाड गर्न मिल्छ, न भारतीय उत्पादनको कारण हाम्रो नागरिकको स्वास्थ्यमा खेलबाड गर्न मिल्छ। त्यसप्रति दुवै सरकारहरू संवेदनशील हुनुपर्छ। उत्पादक तथा व्यापारीहरू पनि संवेदनशील हुनुपर्छ। यसलाई अन्य विषयसँग जोड्नु हुँदैन,” उनले भने।

    भारतमा परीक्षण यथावत

    नेपालका कृषिजन्य उत्पादन भारतमा निर्यात गर्न सहज नभएको नेपाली व्यवसायीहरु बताउँछन्।
    कहिले चिया त कहिले अदुवा अनि कहिले अलैंचीको निर्यातमा भारततर्फबाट अवरोध हुँदै आएको किसान तथा व्यवसायीहरू बताउँछन्।
    इलामको गोर्खा टि इन्डस्ट्रिजका प्रोपाइटर उदय चापागाईंका अनुसार कोलकाताको प्रयोगशालामा लगेर नमुना परीक्षण नगरी नेपालको चियाको भारत जान पाउँदैन।
    विषादी परीक्षण
    रिपोर्ट आउन जति दिन लागे पनि उक्त चियाका सवारीसाधन सीमा नाकामै राख्नुपर्ने बाध्यता छ।
    उनले भने, “व्यवहार भनेको समान हुनुपर्छ। भारतका बस्तु नेपाल ल्याउँदा विषादी मापनको व्यवस्था चाहिँ हटाउनुपर्ने अनि हाम्रा बस्तु भारत लैजाँदा उनीहरुले जाँच नगरी भित्र्याउन नदिने। यो पनि समान व्यवहार हो र? हामी चकित परेका छौं।”
    कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता तेजबहादुर सुवेदीका अनुसार नेपालका व्यवसायीले भारतको कोलकाता र लखनउमा रहेका प्रयोगशालामा कृषिजन्य बस्तुका नमुना लगेर परीक्षण गराउनुपर्छ।
    जसका कारण प्रयोगशालाको रिपोर्टका लागि एक सातादेखि १५ दिनसम्म कुर्नुपर्ने उनले बताए।
    उनले भने, “भारतले चाहेको जुनसुकै बेलामा हाम्रा उत्पादनको नमूना लगेर परीक्षण गराउँछ। त्यसमा पनि दुईवटा मात्र प्रयोगशाला छन्। कतिपय व्यवहारका कुराले यस्ता व्यापार समान छैनन् भन्ने लाग्छ।”
    अर्का व्यवसायी आदित्य पराजुलीका अनुसार एकपटकको परीक्षणको रिपोर्टको ६ महिनाको म्याद हुन्छ तर भारतले चाहेको बेलामा जतिबेला पनि परीक्षण गराउने गरेको उनले बताए।
    एक पटकको परीक्षणमा करिब २० हजार नेपाली रुपैयाँ खर्च आउने उनको भनाइ छ।

    नेपालमा परीक्षण हाललाई स्थगित

    नेपालका सीमा नाकामा विषादी मापनका लागि प्रयोगशाला नभएकाले हाललाई भारतबाट नेपाल ल्याइने तरकारी तथा फलफूलमा रासायनिक विषादी मापनको प्रक्रिया स्थगन गरिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ।
    अहिले पनि नेपाली व्यवसायीहरूले कृषिजन्य उत्पादन भारत लैजाँदा भारतका दुईवटा प्रयोगशालाबाट नमुना परीक्षण गराइरहेको मन्त्रालयका अधिकारीहरूको भनाइ छ।
    तर मन्त्रालयका प्रवक्ता सुवेदीका अनुसार नेपालमा पाँचवटा विषादी मापनका प्रयोगशाला छन्।
    विर्तामोड, सर्लाही, काठमाण्डू, पोखरा तथा बुटवलमा प्रयोगशाला रहेको उनले बताए।
    उनले भने, “हाम्रा सीमा नाकामा प्रयोगशाला छैनन्। तर संख्याको हिसाबमा धेरै छन्। तर पनि भारतबाट तरकारी आयात गर्नेहरूले झञ्झट भयो भनेपछि सीमामा प्रयोगशाला स्थापना नहुञ्जेललाई विषादी मापनको कामलाई स्थगन गरिएको हो।”

    समाचार श्रोत : बि बि सि नेपाली सेबा

  • असार भित्रै खोलानालामा बहाव बढ्ने, सतर्क रहन सूचित

    असार भित्रै खोलानालामा बहाव बढ्ने, सतर्क रहन सूचित

    काठमाडौं । सरकारले खोला तथा नदी किनारका स्थानीयलाई पानीको बहाव बढ्ने भएकाले सचेत रहन सूचित गरेको छ ।

    असार २८ पछि नदी तथा खोला किनारमा पानीको वहाव बढ्ने भन्दै बाढी पुर्वानुमान महाशाखाले बाली नाली समेत त्यस अगाडी नै स्याहार्न सुचित गरेको छ ।

    ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालय मातहतको महाशाखाले शनिबार उक्त सूचना जारी गरेको हो । नदी किनारमा विकास निर्माणको काममा संलग्नलाई उच्च सतर्कता अपनाउन समेत आग्रह गरेको छ ।

    अहिले नदीहरुमा जलको स्तर बढ्ने क्रममा रहेको र क्रमशः एक साता भित्र धेरै नदीको पानीको वहाव बढ्ने अनुमान सरकारले गरेको छ ।

    शनिवारदेखि खासगरी मझौला र ठुला नदीमा पानीको बहाव बढ्ने भएको हो । शुक्रबारदेखि देशभर पानी समेत परेको छ ।

    तराई भेगमा परेको पानीले गर्मीबाट आहात नागरिकलाइ केही हदसम्म भएपनि राहत दिएको छ ।

    डडेलधुरा, डोटी, कैलाली, कञ्चनपुर, बर्दिया, बाँके, दाङ, सुर्खेत, दैलेख, जाजरकोट, अछाम र आसपास जिल्लाका चुरे र पहाडका साना नदीमा पानीको चाप बढ्ने महाशाखाले उल्लेख गरेको छ ।

    मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार देशभर बदली भई पश्चिम र पूर्वी भागमा हल्कादेखि मध्यम खालको वर्षा हुनेछ ।

  • टेक्ससको सुपर मार्केटमा अाईस क्रिम चाट्दा यस्तो भयो

    टेक्ससको सुपर मार्केटमा अाईस क्रिम चाट्दा यस्तो भयो

    सुपर मार्केटमा बिक्री गर्न राखेको अाईस क्रिम जिब्रोले चाटेर फेरी जेफ्रिजरेटरमा नै राखिदिएको कारण एक महिलाले २० बर्षसम्म जेलमा बस्नु पर्ने सम्भावना भएको छ । गत जुन २८ तारिख अन्दाजी ११ बजे राती टेक्सस् राज्यस्थित लफकनमा रहेको वालमार्टमा बिक्रिमा राखेको अाईस क्रिम चाट्ने ति महिलालाई उपभोक्ता खाद्यान्न सम्बन्धी कानून अन्तर्गत दोश्रो दर्जाको अपराध अन्तर्गत प्रहरीले पक्राउ पुर्जी जारी गर्ने तयारी गरेको छ । प्रहरीको यो आरोपले ती महिलालाई २ देखि २० बर्षसम्म जेल सजाय र १० हजार अमेरिकी डलर जरिवाना हुन सक्ने बताईको छ । महिलाले अाईस क्रिम चाटेको उक्त घटनाको भिडियो ट्विटरमा भाईरल हुँदा ११ मिलियन पटक हेरिएको छ ।  उक्त भिडियोलाई ट्विटरमा “लफकिन लिकर” नाम दिईएको छ ।  

    ति महिलाले अाईस क्रिम चाटेको समयमा उनलाई “फ्लु” भएको चर्चा सामाजिक संजालमा भएको छ । प्रहरीले ती महिलाले अाईस क्रिम चाटेको भिडियो खिच्ने मनिसको पनि खोजी गरिरहेको बताएको छ ।  भिडियोमा ति महिलालाई अाईस क्रिम चाटेर फेरी रेफ्रिजिरेटरमा फिर्ता राख्न उक्साएको पुरुष आवाज सुनिएको छ । प्रहरीले त्यही पुरुषको खोजी गरेको हो ।

    एजेन्सी ।

  • हतकडीमा बच्चा जन्माउन बाध्य पारेकोले न्यूयोर्क पुलिसले तिर्ने भए ६१०,००० डलर

    हतकडीमा बच्चा जन्माउन बाध्य पारेकोले न्यूयोर्क पुलिसले तिर्ने भए ६१०,००० डलर

    न्यूयोर्क पुलिस डिपार्टमेण्टले प्रसुतीको अवस्थामा पनि हतकडी लगाएको कारणले एक महिलालाई अमेरिकी डलर ६ लाख १० हजार तिर्न राजी भएको छ । जेन डो नाम गरेकी महिलाले गत ७ फेब्रुअरी २०१८ मा आफुलाई गिरफ्तार गरेको केही बेरमा नै प्रसव व्यथा शुरु भएको र सो समयमा पनि प्रहरीले हतकडीले बाँधेर राखेको न्यूयोर्क सिटी बिरुद्धको आफ्नो उजुरीपत्रमा उल्लेख गरेकी थिईन् ।

    उनका वकिल क्याथरिन रोजेन्फेल्डका अनुसार डोलाई ब्रोन्क्स काउण्टी पारिवारिक अदालतबाट उनको भुतपूर्व पतिसँगको बच्चा राख्ने बिबादमा कानूनको अर्डर उल्लंघन गरेको अभियोगमा गिरफ्तार गरेको हो । वकिल रोजेन्फेल्ड भन्छन् “४० हप्ताको गर्भवतीलाई तत्काल गिरफ्तार गरिहाल्नु पर्ने बाध्यात्मक अवस्था पनि थिएन” । उजुरी अनुसार उनलाई प्रसुती बेदना चलिराख्दा अर्को दिन बिहान जेलबाट न्यूयोर्कको मोण्टफेरी मेडिकल सेण्टर लैजाँदै गर्दा हातमा हतकडी र दुबै खुट्टाको गोलिगाँठोमा फलामे साङ्गलो बाधेर लगिएको थियो ।

    न्यूयोर्क सिटीमा बिगत २००९ देखि नै गर्भवती महिलालाई हतकडी लगाउन निषेध गरिएको थियो ।त्यसैमा संसोधन गर्दै २०१५ देखि गर्भवती अवस्थामा बन्धनमा राख्न नपाईने समेत कानून छ ।

    मिस डोलाई बन्धनबाट सो अवस्थामा मुक्त गर्न डाक्टरले अस्पतालमा अनुरोध गरेका थिए । डाक्टरको पटकपटकको अनुरोधका बाबजुद बच्चा जन्माउनु एक मिनेट अगाडि मात्र हातको हतकडी खोल्दिएका थिए । निज महिलाले हिरासतमा कुनै अस्वाभाविक व्यवहार देखाएकी थीईनन् ।

    बच्चा जन्माए लगतै पुन: हतकडी लगाएका थिए । सो अवस्थामा उनले एउटा हातले बच्चालाई दुध खुवाएकी थिईन् । उजुरी उल्लेख छ कि मिस् डो र बच्चा डरमर्दो अवस्थाबाट गुज्रिएको थियो ।

    प्रतिबादी सिटीको तर्फबाट डिटेक्टिभ सोफिया मेसन भन्छन् “प्रहरीले समुदायको शान्ति सुरक्षा र ब्यक्तिगत अधिकार बिच सन्तुलन राख्नुपर्ने हुन्छ । हाम्रो पेट्रोल गाईडलाई संसोधन गरी मेडिकलसँग सरोकारको बिषयमा छुट्टै व्यवस्था हुनुपर्छ” ।

    यद्यपी न्यूयोर्क पुलिस डिपार्टमेण्टले अदालतको निर्णय कार्यान्वयन हुने प्रत्याभुत गरेको छ ।

    एजेन्सी ।

  • यू १९ एसिया कपमा नेपालको प्रभावशाली जीत

    यू १९ एसिया कपमा नेपालको प्रभावशाली जीत

    काठमाडौं । यू १९ एसिया कप छनोट क्रिकेटमा नेपालले सिंगापुरमाथि प्रभावशाली जीत निकालेको छ । सिंगापुर माथि २ सय १७ रनको जीत निकाल्दै नेपालले लगातार दोस्रो खेलमा आफूलाई अब्बल टोलीका रुपमा स्थापित गर्यो ।

    यसअघि बुधबार सम्पन्न खेलमा नेपालले चीनमाथि १० विकेटको जीत निकालेको थियो ।

    शुक्रबार सम्पन्न खेलमा रीत गौतमले शतक र कुशल मल्लले अर्धशतक प्रहार गरे । एसीसी यू-१९ इस्ट्रन रिजन क्रिकेट अन्तर्गत नेपालले पहिले ब्याटिङ गर्दै सिंगापुरलाई ३२७ रनको लक्ष्य प्रस्तुत गरेको थियो।

    जवाफी ब्याटिङमा उत्रिएको सिंगापुर ३१ औँ ओभरमा अलआउट हुँदै १०९ रनमा समेटियो । जितसँगै नेपाल समुह एु विजेता बनेको छ । नेपालले अब आगामी सोमबार समुह बी को उपविजेतासँग सेमिफाइनल खेल्ने छ ।