Category: खेलकुद

  • बार्सिलोनाका प्रशिक्षक जाभी बर्खास्त

    बार्सिलोनाका प्रशिक्षक जाभी बर्खास्त

    काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाले प्रशिक्षक जाभीलाई बर्खास्त गरेको छ । उनको स्थानमा जर्मन क्लब बायर्न म्युनिखका पूर्व प्रशिक्षक हान्सी फ्लिकलाई नियुक्त गरेको छ। जाभीले आइतबार अन्तिम पटक बार्सिलोनाको जिम्मेवारी सम्हाल्नेछन् ।

    २०२५ सम्म करारमा रहेका ४४ वर्षीया जाभीलाई शुक्रबार क्लबका अध्यक्ष जोन लापोर्टा र खेलकुद निर्देशक डेकोसँगको बैठकमा क्लबको निर्णयको बारेमा जानकारी दिइएको थियो। पूर्व स्पेनी मिडफिल्डर जाभीले जनवरीमा बार्सिलोना छोड्ने घोषणा गरेका थिए। तर अप्रिलमा लापोर्टाले उनलाई क्लबमा राख्न सहमत गराएका थिए। तर जाभीको भर्खरका टिप्पणीले क्लब रिसाएको थियो। जाबीले क्लबको आर्थिक संघर्षको बारेमा बोलेपछि लापोर्टा रिसाएका थिए।

  • विश्वकप अगाडी क्यानडाले बर्खास्त गर्यो ‘हेडकोच’

    विश्वकप अगाडी क्यानडाले बर्खास्त गर्यो ‘हेडकोच’

    काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेट शुरु हुनु केही दिनमात्र बाँकी रहँदा क्यानडाले मुख्य प्रशिक्षक पुबुदु दासानायकेलाई पदबाट बर्खास्त गरेको छ । सन् २०२२ को जुलाई महिनादेखि मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हालेका पुबुदुलाई क्यानडाले पदबाट हटाएको क्रिकेटसम्बन्धी जानकारी दिने वेबसाइट क्रिकबजले जनाएको छ ।

    श्रीलङ्का र क्यानडाका पूर्वखेलाडीसमेत रहेका पुबुदु यसअघि सन् २०११ देखि २०१५ सम्म दुई पटक नेपालको प्रशिक्षक पनि बनेका थिए । यस्तै उनी अमेरिकाको प्रशिक्षक पनि बनेका थिए । पुबुदुले क्यानडाको प्रशिक्षकको रूपमा दोस्रो कार्यकाल सम्हाल्दा टोलीलाई छनोट चरण पार गराउँदै यस पटकको टी–२० विश्वकपमा पुर्‍याएका थिए । यस्तै उनकै नेतृत्वमा क्यानडाले सन् २०२३ विश्वकप क्वालिफायर प्लेअफमा एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको मान्यता प्राप्त गरेको थियो ।

    क्यानडा क्रिकेट सङ्घमा नयाँ नेतृत्व आएपछि विश्वकपका लागि खेलाडी छनोटको विषयलाई लिएर पदाधिकारी र प्रशिक्षकबीचबीच विवाद देखिएको खबरमा उल्लेख छ । यस्तै केही खेलाडीले प्रशिक्षक पुबुदु दासानायकेप्रति असन्तुष्टि जनाएका बताइएको छ । नवौँ संस्करणको टी–२० विश्वकप यही जुन २ देखि २९ तारिखसम्म अमेरिका र वेस्ट इन्डिजमा शुरु हुँदैछ । प्रतियोगिताको उद्घाटन खेलमा अमेरिका र क्यानडाबीच प्रतिस्पर्धा हुँदैछ ।

  • राजस्थानसँग हारेसँगै विराट कोहलीको टीम बेंगलुर आइपीएलबाट बाहिरियो

    राजस्थानसँग हारेसँगै विराट कोहलीको टीम बेंगलुर आइपीएलबाट बाहिरियो

    काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा राजस्थान रोयल्स क्वालिफायरमा पुगेको छ । तेस्रो हुँदै प्लेअफमा पुगेको राजस्थानले रोयल च्यालेन्जर्स बेंगलुरलाई पराजित गर्दै क्वालिफायरमा पुगेको हो । अहमदाबादमा बुधबार राति भएको इलिमिनेटर खेलमा राजस्थानले बेंगलुरलाई ४ विकेटले पराजित गर्दै दोस्रो क्वालिफायरमा सनराइज हैदराबादसँगको भेट पक्का गरेको हो ।

    लिग चरणमा दोस्रो हुँदै प्लेअफमा पुगेको हैदराबाद कोलकातासँग पराजित भएको थियो । विजयी भएको कोलकाता भने फाइनल पुगिसकेको छ । इलिमिनेटर खेलमा बेंगलुरले दिएको १७३ रनको लक्ष्य राजस्थानले ६ विकेटको क्षतिमा १९ ओभरमै भेटाएको हो ।

    राजस्थानका यशस्वी जैसवालले ४०, रियान परागले ३६, सिमरन हेटमायरले २६ र टम कोहलर(क्याडमोरले २० रनको योगदान गरे । बेंगलुरका मोहम्मद सिराजले २, लोकि फर्गुसन, कर्न शर्मा र क्यामरन ग्रीनले समान एक–एक विकेट दिलाए । पहिले ब्याटिङ गरेको बेंगलुरले ८ विकेट गुमाएर १७२ रन बनाएको थियो ।

    रजत पतिदरले ३४, विराट कोहलीले ३३, महिपाल लोम्रोरले ३२ र क्यामरन ग्रीनले २७ रन जोडेका थिए । राजस्थानका आवेश खानले ३, रवीचन्द्रण आश्विनले २, ट्रेन्ट बोल्ट, सन्दीप शर्मा र युजभेन्द्र चहलले एक–एक विकेट लिए । दोस्रो क्वालिफायर खेल शुक्रबार हुनेछ । यो खेल जित्ने टोलीले आइतबार कोलकातासँग फाइनल खेल्नेछ ।

  • आजबाट आइपीएलका क्वालिफायर खेल हुँदै

    आजबाट आइपीएलका क्वालिफायर खेल हुँदै

    काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत पहिलो क्वालिफायरमा आज कोलकाता नाईट राइडर्स र सनराइजर्स हैदराबाद खेल्दैछन् । खेल अहमदाबादमा नेपाली समयअनुसार राति पौने ८ बजे शुरु हुनेछ । फाइनल पुग्नका लागि हुने पहिलो क्वालिफायर खेलमा सबैभन्दा महङ्गा दुई अष्ट्रेलियाली खेलाडी प्याट कमिन्स र मिचेल स्टार्क आमनेसामने हुँदैछन् । हैदराबादले कप्तान कमिन्सका लागि अक्सनमा २५ लाख डलर तथा कोलकाताले बलर स्टार्कका लागि २९ लाख ८० हजार डलर खर्चेको थियो ।

    पहिलो क्वालिफायरमा पराजित टोलीले एक अर्को मौका पाउनेछ । भोलि हुने इलिमिनेटर खेलमा राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) खेल्ने छन् । आजको पहिलो क्वालिफायरमा विजयी हुने टिम फाइनलमा पुग्नेछ भने पराजित हुने टोलीले इलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायर खेल्ने छ । दोस्रो क्वालिफायर खेल शुक्रवार हुनेछ । यो सिजनको आईपीएलको फाइनल खेल आइतवार चेन्नईमा हुनेछ ।

  • आईपीएलको प्लेअफ समीकरण पूरा

    आईपीएलको प्लेअफ समीकरण पूरा

    काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)को लिग चरणको अन्तिम खेलमा कोलकाता नाइट राइडर्स् र राजस्थान रोयल्सले अंक बाँडेका छन् ।यससँगै आईपीएलको प्लेअफ समीकरण पूरा भएको छ । गुवाहिटीमा तय भएको आइतबार रातिको खेल वर्षाले प्रभावित भएपछि दुवै टिमले एक–एक अंक बाँडेका हुन् । अन्तिम खेलको नतिजाले लिग चरणमा दोस्रो र तेस्रो हुने टोलीको टुंगो लागेको छ । अंक बाँडेपछि राजस्थान नेट रनरेटले हैदराबाद भन्दा पछि पर्दै तेस्रो स्थानमा रह्यो भने राजस्थानले दोस्रो स्थान कायम गर्‍यो ।

    कोलकाताको शीर्ष स्थान र बेंगलुरुको चौथो स्थान भने यसअघि नै पक्का भइसकेको थियो । यो नतिजासँगै दोस्रो भएको हैदराबादले कोलकातासँग मंगलबार पहिलो क्वालिफायर खेल्ने भएको छ । तेस्रो भएको राजस्थानले चौथै हुँदै प्लेअफमा पुगेको बेंगलुरुसँग एलिमिनेटर खेल्नेछ । एलिमिनेटरको विजेताले पहिलो क्वालिफायरमा पराजित हुने टोलीसँग फाइनलमा पुग्न प्रतिस्पर्धा गर्नेछ ।

  • आरसीबीको सानदार कमब्याक, चेन्नईलाई हराउँदै प्लेअफमा

    आरसीबीको सानदार कमब्याक, चेन्नईलाई हराउँदै प्लेअफमा

    काठमाडौं । लिग चरणको अन्तिम खेलमा चेन्नेइ सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेनजर्स बेंग्लुरु इन्डियन प्रिमियर लिगको प्लेअफ प्रवेश गरेको छ । घरेलु मैदानमा शनिबार राति सम्पन्न खेलमा बेंग्लुरुले चेन्नेइलाई २७ रनले हराया । यो टीमले सानदार कमब्याक गरेको हो । सुरुवाती खेलमा लगातार पराजित भएको आरसीबी त्यसपछि भने पछाडी फर्केको छैन । चेन्नेइ, दिल्ली र लखनउको पनि समान १४ अंक भए पनि नेटरनरेटमा तीन टिमलाई पछि पार्दै बेंग्लुरु चौथो स्थानमा रह्यो ।

    २०१ रन बनाएर पराजित भएको भए पनि चेन्नेइ प्लेअफमा पुग्ने थियो । तर, २१९ रनको लक्ष्य पछ्याएको चेन्नेइले ७ विकेट गुमाउँदै १९१ रन मात्रै बनाउन सक्यो । चेन्नेइका रचिन्ल रवीन्द्रले ६१, रवीन्द्र जडेजाले ४२, अजिङ्क्या राहानेले ३३ र महेन्द्र सिंह धोनीले २५ रन बनाए । बेंग्लुरुका यश दयालले २, ग्लेन म्याक्सवेल, मोहम्मद सिराज, लोकी फर्गुसन र क्यामरन ग्रीनले एक–एक विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बेंग्लुरुले ५ विकेटको क्षतिमा २१८ रन बनाएको थियो । बेंग्लुरुका कप्तान फ्याफ डु प्लेसिसले ५४, विराट कोहलीले ४७, रजत पतिडरले ४१, क्यामरन ग्रीनले ३८, ग्लेन म्याक्सवेलले १६ र दिनेश कार्तिकले १४ रनको योगदान गरे ।

    चेन्नइका शार्दुल ठाकुरले २, तुशार देशपाण्डे र मिचेल स्यान्टनरले एक–एक विकेट लिए । यसअघि आईपीएलको प्लेअफका चारवटै टोलीको टुंगो लागिसकेको छ । १९ अंकका साथ कोलकाता पहिलो स्थानमा छ । प्लेअफ पुगिसकेका राजस्थान रोयल्स र सनराईजर्स हैदराबाद दोस्रो र तेस्रोका लागि प्रतिस्पर्धामा छन् । यो पनि आजै टुंगो लाग्नेछ । आज दिउँसो पौने ४ बजे हैदराबादले पञ्जाबसँग खेल्नेछ भने राजस्थानले राति पौने ८ बजे कोलकत्तासँग खेल्नेछ ।

  • पुछारमा रहँदै मुम्बईले टुंग्यायो आइपीएलका खेल

    पुछारमा रहँदै मुम्बईले टुंग्यायो आइपीएलका खेल

    काठमाडौं । आईपीएलको लिगचरणबाट बाहिरिसकेको मुम्बइ इन्डियन्स अन्तिम खेलमा लखनउसँग पनि पराजित भएको छ । घरेलु मैदान वानखेडेमा शुक्रबार राति भएको खेलमा लखनउ सुपर जायन्ट्सले मुम्बइलाई १८ रनले पराजित गरेको हो । लखनउले दिएको २१५ रनको लक्ष्य पछ्याएको मुम्बइले ६ विकेट गुमाएर १९६ रनमात्रै बनायो । ओपनर रोहित शर्माले ६८ र नमन धिरले ६२ रन बनाए पनि टोलीलाई जिताउन सकेनन् ।

    अन्य ब्याटरहरू डेवाल्ड ब्रेभिसले २३, कप्तान हार्दिक पाण्ड्याले १६ र इशान किसनले १४ रन जोडे । लखनउका नवीन उल हक र रवि विश्नाइले दुईरदुई तथा क्रुनाल पाण्ड्या र मोहसिन खानले एकरएक विकेट लिए । यसअघि लखनउले ६ विकेट गुमाएर २१४ रन बनाएको थियो ।

    निकोलन पुरनले २९ बलमै ७५ रनको महत्वपूर्ण पारी खेले भने केएल राहुलले ५५ रनको योगदान गरे । मार्कस स्टोइनिसले २८ र आयुष बडोनीले २२ रन थपे । मुम्बइका लागि नुवान थुसारा र पियुष चावलाले समान तीनरतीन विकेट लिए । यो हारसँगै मुम्बइ अंकतालिकाको पुछारमा रहँदै लिग चरणबाट बाहिरिएको छ भने लखनउ छैटौं स्थानमा छ ।

  • विश्वकप अगाडी नेपालले क्यानडा र अमेरिकासँग अभ्यास खेल खेल्दै

    विश्वकप अगाडी नेपालले क्यानडा र अमेरिकासँग अभ्यास खेल खेल्दै

    काठमाडौं । नेपालले आईसीसी टी–२० विश्वकप वार्मअप खेल अमेरिका र क्यानडासँग खेल्ने भएको छ । विश्वकप अघि आईसीसीले प्रदान गर्ने दुई वार्मअप (अभ्यास) खेल तय भएका हुन् । नेपालले २७ मेमा क्यानडा र ३० मेमा अमेरिकासँग डालासमा वार्मअप खेल खेल्नेछ । आईसीसी टी–२० विश्वकप क्रिकेट आगामी जुन १ देखि २९ सम्म वेष्टइण्डिज र अमेरिकामा आयोजना हुँदैछ ।

    टी–२० विश्वकपमा नेपालसहित २० टोली सहभागी छन् । चार समूहमा ५–५ टोली छन् । हरेक समूहका शीर्ष दुई टोली सुपर–८ मा पुग्नेछन् । सुपर ८ मा दुई समूह हुनेछन् । हरेक समूहका शीर्ष दुई टोली सेमिफाइनल खेल्नेछन् । समूह डी मा नेपाल, बंगलादेश, नेदरल्याण्ड्स, दक्षिण अफ्रिका र श्रीलंका छन् । नेपालले ४ जुनमा नेदरल्यान्ड्ससँग खेल्दै सुरुवात गर्नेछ ।

  • पन्जावले राजस्थानलाई हरायो

    पन्जावले राजस्थानलाई हरायो

    काठमाडौं । इंडियन प्रिमियर लिग (आईपीएल)मा राजस्थान रोयल्स पञ्जाब किंग्ससँग ५ विकेटले पराजित भएको छ । १४५ रनको लक्ष्य पञ्जाबले१८.५ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो । पञ्जाबका कप्तान स्याम करनले ६३, राइली रुसो र जितेश शर्माले २२–२२ र आशुतोष शर्माले १७ रन जोडे । राजस्थानका आभेस खान र युजभेन्द्र चहलले समान दुई–दुई र ट्रेन्ट बोल्टले एक विकेट लिए ।

    त्यसअघि ब्याटिङ गरेको राजस्थानले ९ विकेट गुमाएर १४४ रन मात्र बनाएको थियो । राजस्थानका रियान परागले ४८, रविचन्द्रण आश्विनले २८, सञ्जु स्यामसन र टम कोहलर(क्याडमोरले १८–१८ रन बनाए । पञ्जाबका स्याम करन, हर्शल पटेल र राहुल चाहरले दुई–दुई, अर्शदिप सिंह र नेथन एलिसले एक–एक विकेट लिए ।

  • सन्दीपको विश्वकप खेल्ने बाटो खुला, क्यानले गर्यो निलम्बन फुकुवा

    सन्दीपको विश्वकप खेल्ने बाटो खुला, क्यानले गर्यो निलम्बन फुकुवा

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको निलम्बन फुकुवा गरेको छ । क्यान अध्यक्ष चतुरबहादुर चन्दले विज्ञप्ति सार्वजनिक गर्दै सन्दीपको निलम्बन फुकुवा गरेको जानकारी दिएका छन् ।

    उच्च अदालत पाटनले बुधबार गरेको फैसला अनुसार नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी लामिछाने बलात्कार मुद्दामा निर्दोष रहेको भन्दै क्यानले निलम्बन फुकुवा गरेको हो । अध्यक्ष चन्दले सार्वजनिक गरेको विज्ञप्तिमा लामिछानेलाई घरेलु तथा अन्तर्राष्ट्रिय सबै प्रकारका क्रिकेट खेल गतिविधिमा गरिएको निलम्बन फुकुवा भएको उल्लेख छ ।

  • बलात्कार मुद्दामा सन्दीप लामिछानेले पाए सफाइ

    बलात्कार मुद्दामा सन्दीप लामिछानेले पाए सफाइ

    काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाइ दिएको छ । उच्च अदालत, पाटनका न्यायाधीशहरु सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले जिल्ला अदालत, काठमाडौंको फैसला उल्ट्याउँदै सन्दिपलाई सफाइ दिएको हो ।

    जिल्ला अदालत काठमाडौंले गरेको फैसला उल्टाउँदै उनलाई निर्दोष ठहर गरेको हो । गौशाला २६ (परिवर्तित नाम) ले हालेको मुद्दामा जिल्ला अदालतले सन्दीपलाई दोषी ठहर गर्दै ८ वर्षको जेल सजाय सुनाएको थियो । उक्त फैसला उल्टाउन माग गर्दै सन्दीपले उच्चमा पुनरावेदन गरेका थिए ।

  • दीपेन्द्र टी-२० अलराउन्डर सूचीको शीर्ष १० मा

    दीपेन्द्र टी-२० अलराउन्डर सूचीको शीर्ष १० मा

    काठमाडौं । नेपाली राष्ट्रिय टिमका अलराउन्डर दिपेन्द्र सिंह ऐरी आईसीसीको अलराउन्डर वरियताको शीर्ष १० मा अटाउन सफल भएका छन्। उनी एक स्थान माथि उक्लदै दशौं स्थानमा आइपुगेका हुन्। अलराउन्डरको वरीयताको शीर्ष स्थानमा बंगलादेशका शकिब अल हशन छन्।
    अलराउन्डरको वरीयतामा नेपालका कुशल मल्ल ३२औं, गुल्सन झा ६०औं स्थानमा रहँदा रोहित पौडेल ६५औं र करण केसी ७४औं स्थानमा रहेका छन्। ब्याटिङ तर्फ पनि नेपालका खेलाडीमा दिपेन्द्र सर्वाधिक उच्च वरियतामा छन्। उनी ५०औं स्थानमा रहँदा रोहित पौडेल ६१औं र आसिफ शेख ८६औं स्थानमा छन्।

  • लिग चरणको अन्तिम खेलमा दिल्ली विजयी

    लिग चरणको अन्तिम खेलमा दिल्ली विजयी

    काठमाडौं । इंडियन प्रिमियर लिग (आईपीएल)को अन्तिम खेलमा दिल्ली क्यापिटल्सले लखनउ सुपर जाएन्ट्सलाई पराजित गरेको छ । घरेलु मैदानमा सोमबार राति भएको खेलमा दिल्ली १९ रनले विजयी भएको हो । २०९ रनको लक्ष्य पछ्याएको लखनउले ९ विकेटको क्षतिमा १८९ रन मात्रै बनायो । लखनउका निकोलस पुरनले ६१ र अर्षद खानले ५८ रन बनाए । क्रुनाल पण्ड्याले १८, युधवीर सिंहले १४ र क्विन्टन डी ककले १२ रन बनाए । दिल्लीका इशान्त शर्माले ३, खलिल अहमद, अक्षर पटेल, मुकेश कुमार, कुलदीप यादव र ट्रिस्टन स्टब्सले एक–एक विकेट लिए ।

    पहिले ब्याटिङ गरेको दिल्लीले ४ विकेट गुमाएर २०८ रन बनाएको थियो । अभिषेक पोरेलले ५८, ट्रिस्टन स्टब्सले ५७, साइ होपले ३८ र ऋषभ पन्तले ३३ रनको योगदान गरे । लखनउका नवीन उल हकले २, अर्शद खान र रवि विश्नोइले एक–एक विकेट लिए । दिल्लीले लिगचरणका सबै खेल सकेर १४ अंक जोडेको छ भने पराजित भएको लखनउले एक खेल बाँकी छ र १२ अंक जोडेको छ । यो नतिजाले यी दुवै टोलीको प्लेअफमा पुग्ने सम्भावना न्यून बनेको छ । लखनउले बाँकी एक खेलमा ठुलो अन्तरले जित निकालेमा सम्भावना बाँकी हुनेछ भने दिल्ली औपचारिक रुपमा बाहिरिन बाँकी छ ।

  • गुजरात र कलकाताको खेलमा वर्षा बाधक

    गुजरात र कलकाताको खेलमा वर्षा बाधक

    काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा गुजरात टाइटान्सको प्लेअफ सम्भावना समाप्त भएको छ । घरेलु मैदान अहमदाबादमा सोमबार राति कोलकाता नाइट राइडर्ससँगको खेल वर्षाका कारण रद्द भएसँगै गुजरातको अघिल्लो यात्रा पनि रोकिएको हो । टस नै हुन नसकेपछि दुवै टोलीले एकरएक अंक बाँडे ।

    यो नतिजापछि १३ खेलबाट जम्मा ११ अंक जोडेको गुजरात ८औं स्थानमा छ । र, एक खेलमात्रै खेल्न बाँकी छ । यसअघि गुजरात लगातार दुई संस्करणमा फाइनलमा पुगेको थियो । एकपटक उपाधि जितेको थियो ।

    यसअघि नै प्लेअफमा पुगेको कोलकताको भने शीर्ष दुईको स्थान पक्का भएको छ । कोलकाताले एक खेल खेल्न बाँकी हुँदा १९ अंक जोडेर शीर्ष स्थानमा छ । दुई खेल खेल्न बाँकी राजस्थान रोयल्स १६ अंकका साथ दोस्रो स्थानमा रहेको छ । मुम्बइ इन्डियन्स र पञ्जाब किंग्स भने यसअघि नै बाहिरिसकेका छन् ।

  • आरसीबीले दिल्लीलाई हरायो, प्ले अफको सम्भावना जिवित

    आरसीबीले दिल्लीलाई हरायो, प्ले अफको सम्भावना जिवित

    काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा रोयल च्यालेन्जर्स बेंगलुरुले दिल्ली क्यापिटल्सलाई पराजित गर्दै प्लेअफमा पुग्ने सम्भावना कायमै राखेको छ ।
    घरेलु मैदानमा आइतबार राति भएको खेलमा बेंगलुरुले दिल्लीलाई ४७ रनले पराजित गरेको हो । १८८ रनको लक्ष्य पछ्याएको दिल्ली १९.१ ओभरमा १४० रनमा अलआउट भयो । दिल्लीका अक्षर पटेलले सर्वाधिक ५७ रन बनाए भने साई होपले २९ र जेक फ्रेजर-मक्गर्कले २१ रन बनाए । बेंगलुरुका यश दयालले ३ तथा लोकी फर्गुसनले २ विकेट लिंदा स्वप्निल सिंह, मोहम्मद सिराज र क्यामरन ग्रीनले एक–एक विकेट लिए ।

    पहिले ब्याटिङ गरेको बेंगलुरुले ९ विकेट गुमाएर १८७ रन बनाएको थियो । बेंगलुरुका रजत पतिदरले ५२, विल ज्याक्सले ४१, क्यामरण ग्रीनले ३२ र विराट कोहलीले २७ रनको योगदान गरे । दिल्लीका खलिल अहमद र रशिख सलामले दुईरदुई तथा इशान्त शर्मा, मुकेश कुमार र कुलदीप यादवले एक–एक विकेट लिए । यो जितसँग बेंगलुर १२ अंकका साथ पाँचौं स्थानमा उक्लिएको छ । दिल्ली र लखनउको पनि समान १२ अंक छ

  • कमजोर मुम्बईलाई हराउँदै कोलकाता प्लेअफमा

    कमजोर मुम्बईलाई हराउँदै कोलकाता प्लेअफमा

    काठमाडौं । कोलकत्ता नाइट राइडर्स इंडियन प्रिमियर लिगको प्लेअफमा पुगेको छ । शनिबार राति सम्पन्न खेलमा मुम्बइ इन्डियन्सलाई पराजित गर्दै कोलकाता प्लेअफमा पुग्ने पहिलो टोली बनेको हो । वर्षाले प्रभावितल भएको खेलमा कोलकत्ताले मुम्बइलाई १८ रनले पराजित गरेको हो । १६ ओभरमा घटाइएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको कोलकत्ताले ७ विकेटको गुमाएर १५७ रन बनाएको थियो ।

    कोलकाताका वेंकटेश ऐयरले २१ बलमा सर्वाधिक ४२ रन बनाए । नितिश रानाले २३ बलमा ३३ रन बनाउँदा आन्द्रे रसेलले २४ तथा रिन्कु सिंहले २० रन जोडे । ओपनर भने चल्न सकेनन् । मुम्बइका जस्पृत बुम्राह र पियुस चावलाले दुईरदुई विकेट लिए भने नुवान् थुसरा र अंशुल कम्बोजले एकरएक विकेट लिए ।

    १५८ रनको लक्ष्य पछ्याएको मुम्बइले १६ ओभरमा ८ विकेट गुमाएर १३९ रन मात्र बनायो । मुम्बइका इशन किसनले ४०, तिलक बर्माले ३२, रोहित शर्माले १९ र नमन धिरले १७ रन बनाए । कोलकत्ताका हर्षित राना, बरुण चक्रवर्ती र आन्द्रे रसेलले समान दुईरदुई तथा सुनिल नारायणले एक विकेट लिए ।

    यो जितपछि १२ खेलबाट १८ अंक जोडेको कोलकाता शीर्ष स्थानमा रहँदै प्लेअफको यात्रा पक्का गरेछ । एक खेल खेल्न बाँकी रहेको मुम्बइ भने ८ अंकमा सीमित छ ।

  • पेरिस ओलम्पिकमा ब्याडमिन्टनका प्रिन्स दाहाल छनोट

    पेरिस ओलम्पिकमा ब्याडमिन्टनका प्रिन्स दाहाल छनोट

    काठमाडौं । नेपाली युवा ब्याडमिन्टन स्टार प्रिन्स दाहाल पेरिस ओलम्पिक २०२४ मा छनोट भएका छन् । प्रिन्स आगामी जुलाई २६ देखि अगष्ट ११ सम्म फ्रान्सको पेरिसमा हुने ग्रिस्मकालीन ओलम्पिकमा युनिभर्सालिटी कोटामा छानिएको ब्याडमिन्टन वर्ल्ड फेडेरेसनले जनाएको छ । उनले पुरुष सिंगल्समा प्रतिस्पर्धा गर्नेछन् । ब्याडमिन्टन वर्ल्ड फेडेरेसनले युनिभर्सल कोटाअन्तर्गत प्रिन्सलाई ओलम्पिकमा छनोट गरेको हो ।

    प्रिन्सले पछिल्लो पटक चिनमा भएको ब्याडमिन्टन एसिया च्याम्पियनसिपमा उत्कृष्ट प्रर्दशन गरेका थिए । जहाँ उनी छनोट चरण पार गर्दै मुख्य राउन्डमा पुगेका उनी शीर्ष वरियता खेलाडीसँग पराजित भएका थिए । उनले अन्तराष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्दै आफ्नो वरियतालाई समेत अघि बढाउँदै लगेका थिए । प्रिन्स ब्याडमिन्टनको जुनियरतर्फ विश्व नम्बर एकसम्म पुग्दै कीर्तिमान बनाएका थिए । ब्याडमिन्टन खेलको लागि यो एउटा ऐतिहासिक सफलता हो ।

    प्रिन्सले आफ्नो लागि यो सपना पूरा भएको बताए । ‘एकदमै खुशी लागिराछ । सपना पुरा हुँदैछ । अझै धेरै गर्नु बाँकी छ’, उनले भने । प्रिन्सको ओलम्पिक सहभागिताबारे नेपाल ओलम्पिक कमिटी र नेपाल ब्याडमिन्ट संघले छिटै आधिकारिक रुपमा सार्वजनिक गर्ने भएको छ । यसको आधिकारिक घोषणा भने १२ दिनमा हुनेछ ।

  • चेन्नईविरुद्ध गुजरातको सानदार प्रदर्शन

    चेन्नईविरुद्ध गुजरातको सानदार प्रदर्शन

    काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा गुजरात टाइटान्सले चेन्नेइ सुपर किंग्सविरुद्ध सानदार प्रदर्शन गरेको छ । शुक्रबार राति सम्पन्न खेलमा ओपनरद्वय कप्तान शुभमन गिल र साई सुदर्शनले शतक प्रहार गरे । गुजरातले चेन्नेईलाई ३५ रनले हरायो । २३२ रनको लक्ष्य पछ्याएको चेन्नेइले ८ विकेटको क्षतिमा १९६ रन मात्रै बनायो । चेन्नेइका ड्यारील मिचेलले सर्वाधिक ६३ रन बनाए । मोइन अलिले ५६, महेन्द्र सिंह धोनीले २६ र शिवम दुबेले २१ रन बनाए ।

    गुजरातका मोहित शर्माले ३, राशिद खानले २ तथा उमेश यादव र सन्दीप वारियरले समान एक–एक विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले गिल र सुर्शनको दुई शतकको मद्दतमा ३ विकेटको क्षतिमा २३१ रन बनाएको थियो । गिलले ५५ बलमा ९ चौका र ६ छक्कासहित १०४ रन बनाए भने सुदर्शनले ५१ बलमा ५ चौका र ७ छक्कासहित १०३ रन बनाए । डेविड मिलरले १६ रन थपे ।

    चेन्नेइका तुशार देशपाण्डेले २ विकेट लिए । यो जितसँगै गुजरात १० अंकसहित आठौ स्थानमा छ भने चेन्नेइ १२ अंकका साथ चौथो स्थानमा छ ।

  • मे २५ लाई विश्व फुटबल दिवसका रूपमा मनाउने

    मे २५ लाई विश्व फुटबल दिवसका रूपमा मनाउने

    काठमाडौं । संयुक्त राष्ट्रसंघको महासभाले मे २५ लाई विश्व फुटबल दिवसका रूपमा मनाउने संकल्प पारित गरेको छ । यो निर्णयसँगै अब समर्थकहरूले विश्वकै सबैभन्दा चर्चित र धेरै हेरिने खेललाई उत्सवका रूपमा मनाउन पाउनेछन् । फुटबलको आधिकारिक प्रतियोगिताको सुरुवात भएको दिनको अवसर पारेर फुटबल दिवस मनाउन लागिएको हो । सन् १९२४ मे २५ मा पेरिसमा सम्पन्न ग्रीष्मकालीन ओलम्पिक खेलका क्रममा सबै क्षेत्रको प्रतिनिधित्वसहित इतिहासमा पहिलो अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता आयोजना भएको थियो ।

  • लखनउ विरुद्ध हैदरावादका ओपनरको तुफानी इनिङ

    लखनउ विरुद्ध हैदरावादका ओपनरको तुफानी इनिङ

    काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा सनराइजर्स हैदरावादले लखनउ सुपर जाइन्ट्सलाई १० विकेटले हराएको छ । बुधबार राति सम्पन्न खेलमा लखनउले दिएको १६६ रनको लक्ष्य हैदराबादले विनाविकेट १० ओभरमा पूरा गरेको हो । हैदरावादका ओपनर ट्राभिस हेड ३० बलमा ८ चौका र ८ छक्कासहित ८९ रन र अभिषेक शर्माले २८ बलमा ८ चौका र ६ छक्का प्रहार गर्दै नटआउट ७५ रन बनाएपछि लखनउ निरिह देखियो । हैदराबादको घरेलु मैदानमा पहिले ब्याटिङ गरेको लखनउले २० ओभरमा ४ विकेट गुमाएर १६५ रन बनाएको थियो ।

    आयुष बडोनीले ५५, निकोलस पूरनले ४८, केएल राहुलले २९ र क्रुणाल पाण्ड्याले २४ रन बनाए । दोस्रो नम्बरका क्वेन्टन डे कक २ र मार्क्युस स्टोनिस ३ रनमै आउट भए । हैदरावादका भुवनेश्वर कुमारले २ र प्याट कमिन्सले एक विकेट लिए । जितसँगै हैदराबाद १४ अंकसहित तेस्रो स्थानमा उक्लिएको छ । लखनउ छैटौं स्थानमा छ । लिग तालिकाको पहिलो स्थानमा कोलकाता नाइट्स राइडर्स र दोस्रो स्थानमा राजस्थान रोयल्स् रहेका छन् । पहिलो र दोस्रो स्थानमा रहेका दुवै टोलीको अंक समान १६–१६ छ ।

  • राजस्थानलाई दिल्लीले रोक्यो, रोमान्चक बन्दै प्ले अफ यात्रा

    राजस्थानलाई दिल्लीले रोक्यो, रोमान्चक बन्दै प्ले अफ यात्रा

    काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा राजस्थान रोयल्स दिल्ली क्यापिटल्ससँग पराजित भएको छ । मंगलबार राति भएको खेलमा राजस्थान दिल्लीसँग २० रनले पराजित भएको हो । यो हारसँगै राजस्थानले तीन खेल बाँकी हुँदै प्लेअफ पुग्ने अवसर गुमाएको छ । दिल्लीले दिएको २२२ रनको लक्ष्य पछ्याएको राजस्थानले ८ विकेट गुमाएर २०१ रनमात्रै बनाउन सक्यो । कप्तान सन्जु सामसनले ८६ रन बनाए पनि अन्य ब्याट्सम्यानले ठूलो स्कोर बनाउन सकेनन् । रियान प्रयागले २७, शुभम दुबेले २५ रन, जोस बटलरले १९ र रोभमन पावेलले १३ रन बनाए । ओपनर यशस्वी जैसवाल भने ४ रनमै आउट भए ।

    दिल्लीलाई जिताउन खलिल अहेमद, कुलदीप यादव र मुकेश कुमारले समान २–२ विकेट लिए भने अक्षर पटेल र रसिक सलामले एकरएक विकेट लिए । यसअघि घरेलु मैदानमा पहिले ब्याटिङ गरेको दिल्लीले ८ विकेटको क्षतिमा २२१ रन बनाएको थियो । दिल्लीका लागि अभिषेक पोरेलले ६५, जेक फ्रेजर मैकगर्कले ५०, ट्रिस्टान स्टुब्स्ले ४१ रन बनाए । यस्तै, गुलबदनले १९, अक्षर पटेल र ऋषभ पन्तले १५–१५, रसिक सलामले ९ र कुलदीप यादवले ५ रन जोडे ।

    राजस्थान रोयल्सका रविचन्द्र अश्वनीले तीन, युजभेन्द्र चाहल, ट्रेन्ट बोल्ट र सन्दीप शर्माले एक–एक विकेट लिए । यो जितसँगै दिल्ली १० अंकका लखनउलाई पछि पार्दै पाँचौ स्थानमा उक्लिएको छ । पराजित भए पनि राजस्थानमा भने १६ अंकका साथ दोस्रो स्थानमै छ । समान १६ अंक भएको कोलकाता नाइटराइडर्स नेट रनरेटका आधारमा पहिलो स्थानमा छ ।

  • मुलपानी क्रिकेट रंगशालाको डीपीआर तयार, यस्तो बनाउने योजना

    मुलपानी क्रिकेट रंगशालाको डीपीआर तयार, यस्तो बनाउने योजना

    काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले निर्माणाधीन मूलपानी क्रिकेट रंगशालाको युवा तथा खेलकुद मन्त्रालयमा विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) बुझाएको छ । पुल्चोक इन्जिनिएरिङ कल्सल्टेन्सीले राखेपका सदस्य–सचिव टंकलाल घिसिङलाई बुझाएको डिपीआर सिंहदरबारस्थित खेलकुद मन्त्रालयमा प्रस्तुत गरिएको हो।

    मूलपानी क्रिकेट रंगशालालाई नेपाल सरकारले राष्ट्रिय गौरवको आयोजनामा समेत समावेश गरिसकेको छ। डिपीआरको ९० प्रतिशत काम सम्पन्न भइसकेको र बाँकी काम १ साताभित्र सम्पन्न गर्न सदस्य–सचिव घिसिङले पुल्चोक इन्जिनिएरिङ कल्सल्टेन्सीलाई निर्देशन दिएका छन् ।

    डिपीआर प्रस्तुतीका क्रममा युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ र सचिव सुमनराज अर्यालले राखेपको कामको प्रगतिको प्रशंसा गर्दै मूलपानी क्रिकेट रंगशाला निर्माणलाई पहिलो प्राथमिकतामा राखी काम अगाडि बढ्ने बताए।

  • सूर्यकुमारको सतक-मुम्बईको सहज जित

    सूर्यकुमारको सतक-मुम्बईको सहज जित

    काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) मा मुम्बइ इन्डियन्सले सनराइजर्स हैदराबादलाई सहजै हराएको छ । सोमबार राति सम्पन्न खेलमा मुम्बइले हैदराबादलाई ७ विकेटले हराएको हो । १७४ रनको लक्ष्य मुम्बइले सूर्यकुमार यादवको शतक मद्दतमा १७.२ ओभरमा तीन विकेट मात्र गुमाएर पूरा गर्‍यो । सूर्यकुमार ५१ बलमा १२ चौका र ६ छक्कासहित १०२ रनमा अविजित रहे । तिलक बर्माले ३७ रन बनाए । ओपनर इशन किसन र रोहित शर्मालाई भने मुम्बइले सस्तैमा गुमाएको थियो । इशन किशन ९ र रोहित ४ रनमै आउट भएका थिए । हैदराबादका भुवनेश्वर कुमार, मार्को जानसेन र प्याट कमिन्सले एक–एक विकेट लिए ।

    त्यसअघि मुइईमा ब्याटिङ गरेको हैदराबादले ८ विकेट गुमाएर १७३ रन बनाएको थियो । ट्राभिस हेडले ४८, प्याट कमिन्सले ३५, नितिश रेड्डीले २० रन जोडे । अन्य ब्याट्सम्यान चल्न सकेनन् । मुम्बइका हार्दिक पन्ड्या र पियुस चावलाले तीनरतीन, अंशुल कम्बोज र जस्पृत बुम्राहले एक–एक विकेट लिए । यो जितसँगै मुम्बइ ८ अंकका साथ अंकतालिकाको नवौं स्थानमा छ भने पराजित भएको हैदराबाद १२ अंकका साथ चौथो स्थानमा छ ।

  • कोलकाता शीर्ष स्थानमा उक्लियो, लखनउ पराजित

    कोलकाता शीर्ष स्थानमा उक्लियो, लखनउ पराजित

    काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइट राइडर्सले लखनउ सुपर जायन्ट्सलाई सहजै पराजित गरेको छ । आइतबार राति भएको खेलमा लखनउलाई उसकै मैदानमा ९८ रनले पराजित गर्दै कोलकाता अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । ११ खेलबाट कोलकाताले १६ अंक जोडेको छ । एक कम खेलेको राजस्थान रोयल्सको पनि १६ अंक भए पनि रनरेटका कारण पछि परेको छ । कोलकातासँग हारेको लखनउ १२ अंकका साथ पाँचौ स्थानमा छ ।

    कोलकाताले दिएको २३६ रनको लक्ष्य पछ्याएको लखनउ १६.१ ओभरमा १३७ रनमै अलआउट भयो । मार्कस स्टोइनिसले सर्वाधिक ३६ रन बनाए । कप्तान केएल राहुलले २५, एस्टन टर्नर १६, आयुश बदोनी १५ रन र निकोलस पुरनले १० रन बनाए । कोलकाताका हर्षित राना र वरुण चक्रवर्तीले तीनरतीन, आन्द्रे रसले २, सुनिल नारायण र मिचेल स्टार्कले एक–एक विकेट लिए ।

    पहिले ब्याटिङ गरेको कोलकाताले ६ विकेट गुमाएर २३५ रन बनाएको थियो । सुनिल नारायणले विस्फोटक ब्याटिङ गर्दै ३९ बलमा ८१ रन बनाए । अंगकृष रघुवंशी र फिल साल्टले ३२–३२, कप्तान श्रेयर ऐयरले २३, रमनदीप सिंहले २५ जोडे । लखनउका नवीन उल–हकले तीन तथा यश ठाकुर, रवि विश्नोई र युधवीर सिंहले एकएक विकेट लिए ।

  • रचनाको आक्रोश-‘सन्दीपलाई कि सजाय देऊ, कि विश्वकप खेल्न देऊ’ !

    रचनाको आक्रोश-‘सन्दीपलाई कि सजाय देऊ, कि विश्वकप खेल्न देऊ’ !

    काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दा आइतबार ‘हेर्न नमिल्ने’ सूचीमा परेपछि गायिका रचना रिमालले असन्तुष्टि पोखेकी छन्। रिमालले सामाजिक सञ्जालमा लेख्दै सन्दीपलाई कि सजाय देऊ, कि विश्वकप खेल्न देऊ भन्दै आक्रोश पोखेकी छिन्। उनले लेखेकी छिन्, ‘दोषी भए कानुन अनुसार सजाय देऊ, निर्दोष भए विश्वकप खेल्न देऊ।’ आइतबार सन्दीपको मुद्दाको पेसी पाटन उच्च अदालतका मुख्य न्यायाधीश नृपध्वज निरौला र न्यायाधीश दुर्गाप्रसाद ढुङ्गेलको इजलासमा परेको थियो। रिमाल नेपाली क्रिकेट प्रतियोगिताहरूमा सधैं सहभागी भइरहेकी हुन्छिन्। टीयु र मुलपानीमा हुने प्रतियोगिताहरूमा प्रायः उनी दर्शकका रूपमा सहभागी हुने गर्छिन्।

  • आरसीबीको अन्तिम चारमा पुग्ने सम्भावना कायमै

    आरसीबीको अन्तिम चारमा पुग्ने सम्भावना कायमै

    काठमाडौं । रोयल च्यालेन्जर्स बैंग्लोरले इण्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा गएराति गुजरात टाइटन्सलाई ४ विकेटले हराएको छ । एम चिन्नास्वामी स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको गुजरात १९.३ ओभरमा १४७ रनमा अलआउट भयो । बैंग्लोरले १४८ रनको विजय लक्ष्य १३.४ ओभरमा ६ विकेटमा पूरा गर्‍यो । बैंग्लोरका लागि फाफ डु प्लेसिसले २३ बलमा ३ छक्का र १० चौका सहित ६४ रन बनाए । विराट कोहलीले २७ बलमा ४ छक्का र २ चौकासहित ४२ रन बनाए । दुवैले ९२ रनको ओपनिङ साझेदारी गरे ।

    विलज्याक्स, रजत पाटिदार, ग्लेन म्याक्सवेल, क्यामरुन ग्रिनले दोहोरो अंकको स्कोर बनाउन सकेनन् । दिनेश कार्तिक २१ र स्वप्लिन सिंह १५ रनमा नटआउट रहे । स्वप्निलले अन्तिम बलमा छक्का प्रहार गरेर टिमलाई जित दिलाए । बलिङतर्फ जोश लिटलले ४ विकेट लिए । नुर अहमदले २ विकेट हात पारे । यसअघि पहिले ब्याटिङ गरेको गुजरात टाइटन्सका लागि राहुल तेबतियाले ३५, डेभिड मिलरले ३० र एम शाहरुख खानले ३७ रन बनाए । बलिङतर्फ २९ रन खर्चेर २ विकेट लिएका मोहम्मद सिराज प्लेअर अफ द म्याच बने ।

    गएरातिको जितसँगै बैंग्लोरको ८ अंक भएको छ । बैंग्लोरले हालसम्म ११ म्याच खेलेको छ, जसमा सात वटा खेल हारेको छ । गुजरातलाई हराएर बैंग्लोर अंक तालिकाको सातौं स्थानमा उक्लिएको छ र अन्तिम चारमा पुग्ने सम्भावना कायम राखेको छ । उसले पन्जाब किङ्गस, मुम्बई इण्डियन्स र गुजराजत टाइटन्सलाई पछि पार्न सफल भएको छ । मुम्बई इण्डियन्स ६ अंकसहित अन्तिम स्थानमा धकेलिएको छ ।

  • विश्वकप खेल्न नेपाली टोली वेस्ट-इण्डिज जाँदै

    विश्वकप खेल्न नेपाली टोली वेस्ट-इण्डिज जाँदै

    काठमाडौं । अर्को महिना हुने आईसीसी टी–२० विश्वकप खेल्न नेपाली क्रिकेटको आधा टोली शनिबार राति वेष्ट–इण्डिजतर्फ जादैछ । बाँकी १२ जनाको टोली आइतबार जानेछन् । नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार राति नै नेपाली क्रिकेट टोलीलाई बिदाइ गरेको थियो । शुक्रबार नेपालले वेष्टइण्डिज ए सँगको पाँचौं तथा अन्तिम टी–२० खेल खेल्दै ६ विकेटको जित हात पारेको थियो ।

    शनिबार राति २ बजे ७ खेलाडी र ४ अफिसियल गरी कतार हुँदै वेष्टइण्डिजतर्फ लाग्नेछन् । शनिबार राति जाने टोलीमा ओपनर कुशल भुर्तेल, आसिफ शेख, तीव्र गतिका बलर करण केसी, सोमपाल कामी, अभिनाश बोहरा, स्पिनर ललितनारायण राजवंशी, फिटनेश ट्रेनर अब्दुल सतार, सहायक प्रशिक्षक वसन्त शाही, ब्याटिङ प्रशिक्षक नन्दन फिड्निस, म्यानेजर प्रदीप मजगैयाँ र बलिङ प्रशिक्षक रोडिरिक इस्ट्विक छन् ।

    आइतबार दिउँसो जाने टोलीमा कप्तान रोहित पौडेल, सन्दीप जोरा, गुलशन झा, प्रतिश जिसी, अनिलकुमार साह, दीपेन्द्रसिंह ऐरी, सागर ढकाल, कमलसिंह ऐरी, कुशल मल्ल, मुख्य प्रशिक्षक मोन्टी देशाई, टेक्निकल एनालिष्ट रमन शिवाकोटी र फिजियो बिक्रम न्यौपाने छन् ।

    बिजनेस क्लास टिकटको कारण नेपाली क्रिकेट टोली दुई फरकमा जान लागेको हो । वेष्टइण्डिजमा नेपालले ५ दिन अभ्यास गर्नेछ । नेपालले वेष्टइण्डिजमा अभ्यास खेल खेल्नेछ । क्यानले कुन टोली र कहिले खेल्ने शनिबार रातिसम्म सार्वजनिक गर्ने जनाएको छ । त्यसपछि नेपाली क्रिकेट टोली अमेरिका आउनेछ । विश्वकप २ जुनदेखि अमेरिका र वेष्टइण्डिजमा हुनेछ ।

    समूह डी मा रहेको नेपालले ४ जुनमा नेदरल्यान्ड्ससँग अमेरिकाको डल्लासमा खेल्नेछ । १२ जुनमा नेपालले श्रीलंकासँग फ्लोरिडामा खेल्नेछ । त्यसपछि १५ जुनमा दक्षिण अफ्रिका र १७ जुनमा बंगलादेशसँग भने वेष्टइण्डिजमा गएर खेल्नेछ । नेपालले २०१४ पछि टी-२० विश्वकप खेल्दैछ ।

  • वेस्ट इण्डिज-ए विरुद्ध नेपालको सानदार जित

    वेस्ट इण्डिज-ए विरुद्ध नेपालको सानदार जित

    काठमाडौं । नेपालले पाँचौं तथा अन्तिम टी–२० खेलमा वेष्टइण्डिज ए माथि ६ विकेटको जित हात पारेको छ । पाँच खेलको सिरिज भने वेष्टइण्डिजले ३–२ ले जित्न सफल भएको छ । १७३ रनको लक्ष्य नेपालले १८.५ ओभरमा ४ विकेट गुमाउँदै भेट्टायो । नेपालको जितमा कुशल मल्ल १८ बलमा ३ चौका र ३ छक्कासहित ३७ रनमा नट आउट रहे । खेल जित्न अन्तिम १२ बलमा २२ रन चाहिँदा ओबेद म्याककोयलाई कुशल मल्लले तीन चौका, एक छक्का र एक लेग वाइको रुपमा चौका प्रहार गर्दै जित दिलाए ।

    नेपालका ओपनर आसिफ शेखले ३५ बलमा २ चौका र ४ छक्कासहित ५१ रन बनाउँदै आउट भए । तेस्रो नम्बरमा आएका अनिल साहले ४५ बलमा ४ चौका र ४ छक्कासहित ५८ रन बनाए । ओपनर कुशल भुर्तेललाई नेपालले १३ रनमा गुमाएको थियो । दोस्रो विकेटका लागि अनिल र आसिफले ९६ रनको साझेदारी गर्दै जितको आधार बलियो बनाएका थिए ।

    दीपेन्द्रसिंह ऐरी ५ रनमा आउट भए । ओबेद म्याककोयले ३ र म्याथ्यु फर्डले १ विकेट लिए । त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको वेष्टइण्डिज ए ले २० ओभरमा ७ विकेट गुमाउँदै १७२ रन बनाएको थियो । वेष्टइण्डिज ए का एलिक एथानाजेले २९ बलमा १ चौका र ३ छक्कासहित सर्वाधिक ४२ रन बनाए । कप्तान रोस्टन चेसले २३ बलमा ५ चौकासहित सर्वाधिक ३३, जोनसन चार्ल्स २४, कदिम एलियन र मार्क दयालले ११११ रनमा आउट भए । म्याथ्थु फर्ड १२ बलमा ३ छक्कासहित २३, फबिएन एलेन ३ र गुणाकेश मोती १ रनमा आउट भए ।

    तीव्र गतिका बलर सोमपाल कामीले ४ ओभरमा १६ रन खर्चेर ३ विकेट लिए । स्पिनर सागर ढकालले २ ओभरमा १७ रन खर्चेर ३ विकेट लिए । अभिनाश बोहराले ४ ओभरमा ४९ रन खर्चेर १ विकेट लिए । पहिलो खेलमा नेपाल ४ विकेटले विजयी भएको थियो । त्यसपछि १० रन, ७६ रन र २८ रनले पराजित हुँदै नेपालले सिरिज गुमाएको थियो ।

  • कोलकाता सामु मुम्बई निरिह

    कोलकाता सामु मुम्बई निरिह

    काठमाडौं । पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को ५१ औं खेलमा कोलकाता नाइट राइडर्ससँग २४ रनले पराजित भएको छ । कोलकाताको यो मुम्बइको घरेलु मैदानमा १२ वर्षपछि जित हो । यो हारसँगै मुम्बइ लिगबाट बाहिरिन अब औपचारिकता मात्रै बाँकी छ । १७० रनको लक्ष्य पछ्याएको मुम्बइ १८।५ ओभरमा १४५ रनमा अल आउट भयो । सूर्यकुमार यादवले ३५ बलमा ६ चौका र २ छक्कासहित सर्वाधिक ५६, इशान किशन १३, रोहित शर्मा ११, तिलक बर्मा ४, नेहाल वढेरा ६ र टिम डेविड २४ रनमा आउट भए ।

    कोलकाताका मिचेल स्टार्कले ३।५ ओभरमा ३३ रन खर्चेर ४ विकेट लिए । बरुण चक्रवर्ती, सुनिल नारायण र आन्द्रे रसेलले २–२ विकेट लिए । त्यसअघि वानखडे स्टेडियम मुम्बइमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कोलकाता १९।५ ओभरमा १६९ रनमा अल आउट भयो । वेंकटेश ऐरले ५२ बलमा ६ चौका र ३ छक्कासहित सर्वाधिक ७० रन बनाउँदै प्लेयर अफ द म्याच चुनिए । मनिष पाण्डे ३१ बलमा २ चौका र २ छक्कासहित ४२ रघुवंशीले १३ रन बनाए । अन्य ब्याटरले दोहोरो अंकमा रन भने बनाउन सकेनन् । फिलिप साल्ट ५, सुनिल नारायण ८, श्रेयस ऐर ६, रिंकुसिंह ९ र आन्द्रे रसेल ७ रनमा आउट भए ।

    मुम्बइका नुवान थुशरा र जस्प्रित बुमराहले ३(३ विकेट लिए । हार्दिक पान्ड्याले २ र पियुया चवालाले १ विकेट लिए । राजस्थान १० खेलमा ८ मा जितेर १६ अंकका साथ शीर्षस्थानमा छ । कोलकाता १० खेलमा ७ मा जितका साथ १४ अंक जोड्दै दोस्रो स्थानमा छ । समान १० खेलमा १२(१२ अंकका साथ लखनउ तेस्रो र हैदराबाद चौथो स्थानमा छन् ।

    मुम्बइ ११ खेलमा ३ मा जितका साथ ६अंकका साथ नवौं स्थानमा छ । मुम्बइले अब तीन खेल खेल्न बाँकी छ । बाँकी तीनै खेलमा विजयी हुँदा पनि मुम्बइ १२ अंकमा मात्रै पुग्न सक्छ । तर, शीर्ष चारमा रहेर प्लेअफ खेल्न कुनै पनि टोलीलाई १२ अंक पर्याप्त हुँदैन । त्यसैले मुम्बइ लिगबाट बाहिरिन औपचारिकता मात्रै बाँकी छ ।

  • नेपाल र वेस्ट इण्डिज एबीच आज अन्तिम खेल

    नेपाल र वेस्ट इण्डिज एबीच आज अन्तिम खेल

    काठमाडौं । नेपालले अर्को महिना वेष्टइण्डिज र अमेरिकामा हुने आईसीसी टी–२० विश्वकपअघि घरेलु मैदान टीयुमा आज वेष्टइण्डिजसँग अन्तिम खेल खेल्दैछ ।
    पाँच खेलको सिरिजअन्तर्गत अन्तिम खेल दिउँसो १२ः१५ मा सुरु हुनेछ । सुरुआती चार खेलमा वेष्टइण्डिजले सिरिज ३–१ ले जितिसकेको छ । आजको खेल नेपाललाई विश्वकप अघिको तयारी हुनेछ । पहिलो खेलमा नेपाल ४ विकेटले विजयी भएको थियो । तर, त्यसपछि १० रन, ७६ रन र २८ रनले पराजित हुँदै सिरिज गुमाएको थियो । नेपालले चार खेलमा नै टस हारेर पहिला फिल्डिङको निम्तो पाएको थियो । यदि आज नेपालले टस जितेको खण्डमा पहिला ब्याटिङ गर्ने पक्का जस्तै छ ।

    नेपालले चौथो खेलमा विश्राम गरेका करण केसीले आज मौका पाउन सक्छन् । नेपाल ओपनर कुशल भुर्तेल र आसिफ शेखबाट प्रदर्शन चाहन्छ । यस सिरिजमा कप्तान रोहित पौडेलले खेलेका तीन खेलमा ११२, ७१ र ८२ रन बनाएका थिए । रोहित बाहेक अन्य ब्याटरको प्रदर्शन आएको छैन । विश्वकप अघि नेपाल सबै ब्याटरबाट प्रदर्शन चाहन्छ । उता नेपाल भ्रमणमा आएका ओपनर जोनसन चाल्र्स, स्पिन अलराउण्डर गुणाकेश मोती र रोश्टन चेश वेष्टइण्डिजको टी–२० विश्वकप टोलीमा परेका छन् । सिरिज जितेको वेष्टइण्डिज विना दबाब खेल्नेछ ।

    नेपाली टोली यस खेलपछि आज राती नै वेष्टइण्डिज जाने कार्यक्रम छ । त्यहाँ केही अभ्यास गरेर नेपाल अमेरिका खेल्न आउनेछ । विश्वकप २ जुनदेखि सुरु हुनेछ । नेपालले ४जुनमा नेदरल्यान्ड्ससँग खेल्दै सुरुवात गर्नेछ । नेपालको समूह डी मा नेदरल्यान्ड्स,दक्षिण अफ्रिका, श्रीलंका र बंगलादेश छन् ।