Category: खेलकुद

  • साफ यू–२० च्याम्पियनसिप : लयमा रहेको नेपालले भारतको सामना गर्दै

    साफ यू–२० च्याम्पियनसिप : लयमा रहेको नेपालले भारतको सामना गर्दै

    काठमाडौं । भारतको भुबनेश्वरमा भइरहेको साफ यू-२० च्याम्पियनसिपमा नेपालले आफ्नो तेस्रो खेलमा आज घरेलु टोली भारतसँग खेल्दैछ । खेल कालिंगा स्टेडियममा नेपाली समय अनुसार साँझ सवा ७ बजे सुरु हुनेछ । यसअघि दुई खेल जितेर आत्मविश्वास बटुलेको नेपाल लगातार तेस्रो खेल जित्दै फाइनल पुग्ने लक्ष्यमा छ । नेपालले यसअघि माल्दिभ्सलाई ४–० र श्रीलंकालाई ३–० ले पराजित गरेको थियो ।

    उता भारतले भने यसअघि मिश्रित नतिजा निकालेको छ । पहिलो खेलमा बंगलादेशसँग २–१ ले पराजित भएको भारतले दोस्रो खेलमा श्रीलंकालाई ४–० ले पराजित गरेको थियो । फाइनल पुग्न नेपाल र भारत दुवैलाई यस खेल महत्वपूर्ण छ । भारतलाई हराएमा नेपाल फाइनल पुग्नेछ । भारतलाई पनि फाइनल पुग्ने सम्भावना कायम राख्न नेपालविरुद्ध खेल जित्नै पर्ने दबाब छ ।

  • वेस्ट इन्डिजमा हुने ‘द सिक्स्टी’ क्रिकेट प्रतियोगिता सन्दीप आवद्ध

    वेस्ट इन्डिजमा हुने ‘द सिक्स्टी’ क्रिकेट प्रतियोगिता सन्दीप आवद्ध

    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान तथा विश्व क्रिकेटका स्टार सन्दीप लामिछाने वेस्ट इन्डिजमा हुने ‘द सिक्स्टी’ क्रिकेट प्रतियोगितामा आवद्ध भएका छन् । ६० बलको प्रतियोगितामा सन्दीप जमैका तल्लावासबाट खेल्नेछन् । प्रतियोगितामा ३० बलको एक इनिङ हुन्छ । विकेट पनि ६ मात्र हुन्छ । जमैकाले सन्दीपलाई क्यारेबियन प्रिमियर लिग (सिपिएल)मा समेत अनुबन्ध गरिसकेको छ ।

    सो प्रतियोगिता अगाडी ६० बलको प्रतियोगिता हुन लागेको हो । जसले गर्दा टीमहरुले आफ्ना खेलाडीलाई अनुवन्ध गरेका हुन् । प्रतियोगितामा पुरूषतर्फ ६ टोलीको सहभागिता रहनेछ। सीपीएल हुनुअघि ‘द सिक्स्टी’ प्रतियोगिता हुनेछ। प्रतियोगिता अगस्ट २४ देखि २८ सम्म सञ्चालन हुनेछ । सीपीएल क्रिकेट अगस्ट ३० देखि सुरू हुँदैछ ।

  • साफ यू-२० च्याम्पियनसिपमा नेपालको लगातार सानदार जित, श्रीलकालाई ३-०ले हरायो

    साफ यू-२० च्याम्पियनसिपमा नेपालको लगातार सानदार जित, श्रीलकालाई ३-०ले हरायो

    काठमाडौं । साफ यू-२० च्याम्पियनसिपमा नेपालले लगातार दोस्रो सानदार जित निकाल्दै श्रीलकालाई ३-० गोल अन्तरले हरायो । बुधबार भारतको भुवनेश्वरमा भएको खेलमा नेपालले श्रीलंकालाई ३-० गोलले पराजित गरेको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा नेपालले दोस्रो हाफमा उत्कृष्ट खेल्यो । नेपालले ५८ मिनेटमा अग्रता लियो। कप्तान आयुष घलानले गोल गर्दै नेपाललाई अग्रता दिलाए। ६५ मिनेटमा नेपालले अग्रता दोब्बर पारेको थियो।

    नेपालका लागि कृतिशरत्न छुन्जुले दोस्रो गोल गरेका थिए। मनग्य नकर्मीले नेपालका लागि तेस्रो गोल गरेका थिए। मनग्यले ८४ मिनेटमा गोल गरेका थिए। जारी प्रतियोगितामा कृतिश र मनग्यले दोस्रो गोल गरे । सोमबार माल्दिभ्सविरुद्ध नेपालले ४-० को जित निकाल्दा कृतिश र मनग्यले पनि गोल गरेका थिए।
    जितसँगै नेपाल ६ अंक जोड्दै अंक तालिकाको शीर्ष स्थानमा छ। आजै पहिलो खेलमा बंगलादेशले आयोजक भारतलाई २१ गोलले हरायो । अब नेपालले तेस्रो खेल ३१ जुलाईमा भारतसँग खेल्दैछ ।

  • साफ यू-२० च्याम्पियनसिप : आज नेपाल र श्रीलंका भिड्दै

    साफ यू-२० च्याम्पियनसिप : आज नेपाल र श्रीलंका भिड्दै

    काठमाडौं । साफ यू–२० च्याम्पियनसिपमा आज नेपाल र श्रीलङ्का भिड्दैछन् । खेल भारतको भुवनेश्वरस्थित कालीङ्गा मैदानमा साँझ सवा ७ बजेबाट सुरु हुनेछ । सोमवार सम्पन्न उद्घाटन खेलमा नेपालले माल्दिभ्सलाई ४–० गोलले हराएर उच्च मनोवलमा रहेको छ ।

    पहिलो खेलमा श्रीलङ्का भने बङ्लादेशसँग १–० गोलले पराजित भएको थियो । च्याम्पियनसिपमा आयोजक भारतसहित नेपाल, माल्दिभ्स, श्रीलङ्का र बङ्लादेश सहभागी छन् । नेपालले तेस्रो खेल भारतसँग आइतवार र अन्तिम खेल बङ्लादेशसँग मङ्गलवार खेल्नेछ । शीर्ष दुई टोली फाइनल पुग्नेछन् ।

  • विश्वकपलाई लक्षित गरी नेपालले मौसमी कामदार कतार पठाउने

    विश्वकपलाई लक्षित गरी नेपालले मौसमी कामदार कतार पठाउने

    काठमाडौं । सरकारले कतारमा सञ्चालन हुने विश्वकप फुटबल प्रतियोगितालाई लक्षित गरी मौसमी श्रमिक लैजान अनुमति प्रदान गरेको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रतियोगिता अवधिभर कतारका विभिन्न कम्पनीले छोटो अवधिका लागि नेपाली श्रमिक लिन चाहेकाले अनुमति दिएको हो । कतारमा सन् २०२२ को नोभेम्बर २१ (मङ्सिर ५ गते)देखि विश्वकप फुटबल प्रतियोगिता सञ्१चालन हुँदैछ । मन्त्रालयले सोमबार कतारमा रहेको नेपाली दूतावासलाई पत्राचार गर्दै नेपालबाट मौसमी श्रमिक सबै प्रक्रिया पूरा गरेर पठाउने निर्णयसमेत गरेको पत्रमार्फत जानकारी गराएको छ ।

    विश्वकप फुटबल प्रतियोगिताका लागि १२ हजार आप्रवासी श्रमिकको माग गरेको र त्यसमा नेपाली श्रमिक पनि लैजानका लागि कतारका विभिन्न कम्पनीले कतारमा रहेको नेपाली दूतावासमा चासो राखेको थियो । सोही विषयलाई लिएर कतारमा रहेको नेपाली दूतावासले श्रम मन्त्रालयमा पत्र लेखेको थियो । श्रम मन्त्रालयले दुईतर्फी हवाई टिकटसहित भर्ना प्रक्रियामा लाग्ने सम्पूर्ण खर्चसमेत रोजगारदाताले नै बेहोर्ने गरी शून्य लागतमा छोटो अवधिका लागि श्रमिक लैजान अनुमति दिने निर्णय गरेको जनाएको छ ।

    मन्त्रालयका अनुसार यसरी जाने श्रमिकले श्रम स्वीकृति लिएर नै जान पाउनेछन् । लागत खर्च सम्पूर्ण रोजगारदाताले नै बेहोर्ने छन् । श्रमिकले एक रुपियाँ पनि पैसा तिर्न पर्दैन । मन्त्रालयले दुईतर्फी हवाई टिकटसहित भर्ना प्रक्रियामा लाग्ने सम्पूर्ण खर्चसमेत रोजगारदाताले नै बेहोर्नुपर्ने निर्णय गरेको छ । त्यसरी जाने श्रमिकले कतारमा काम गर्ने अवधि छ महिनाभन्दा कम समयको हुनेछ । म्यानपावर कम्पनीबाहेक व्यक्तिगत रूपमा यसरी छोटो समयको रोजगारीका लागि जान खोज्नेले भिसा ल्याएर श्रम स्वीकृति लिन आएमा पनि श्रम स्वीकृति प्रदान गर्ने मन्त्रालयले जनाएको छ ।

  • साफ यू-२० च्याम्पियनसिप : माल्दिभ्समाथि नेपालको सानदार जित

    साफ यू-२० च्याम्पियनसिप : माल्दिभ्समाथि नेपालको सानदार जित

    काठमाडौं । साफ यु २० च्याम्पियनसिपमा नेपालले विजयी शुरुवात गरेको छ । नेपालले माल्दिभ्सलाई ४–० गोल अन्तरको जित निकाल्दै आफ्नो बलियो उपस्थिति पेश गरेको हो । भारतको भुवनेश्वरस्थित कालिन्दा रंगशालामा सोमबार सम्पन्न खेलमा नेपालले पहिलो हाफमा एक र दोस्रो हाफमा तीन गोल गर्न सफल भयो । नेपालका लागि दिपेश गुरुङ, सुगम सुवाल, कृतिश रत्न छुन्जु र मनग्य नकर्मीले गोल गरे । ४२ औं मिनेटमा दिपेश गुरुङले गोल गरेपछि नेपालले पहिलो हाफमा अग्रता बनाएको थियो ।

    दोस्रो हाफको ५८ औं मिनेटमा सुगम र त्यसको चार मिनेट पछि कृतिशले पेनाल्टीमार्फत गोल गरे । माल्दिभ्सका हुुसेन सादिनले कप्तान आयुषलाई बक्सभित्र फल गरेपछि नेपालले पेनाल्टी पाएको हो । इन्जुरी समयको अन्तिम मिनेटमा मनग्य नकर्मीले नेपाललाई ४–० को जित निश्चित गराए । नेपालले प्रतियोगिताको आफ्नो दोस्रो खेल बुधबार श्रीलंकासँग खेल्दैछ ।

  • नेपालको मुख्य प्रशिक्षकबाट राजीनामा दिएका पुबुदु क्यानडाको मुख्य प्रशिक्षक नियुक्त

    नेपालको मुख्य प्रशिक्षकबाट राजीनामा दिएका पुबुदु क्यानडाको मुख्य प्रशिक्षक नियुक्त

    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकबाट राजीनामा दिएका पुबुदु दशानायके क्यानडाको मुख्य प्रशिक्षक नियुक्त भएका छन्।

    क्रिकेट क्यानडाले सामाजिक सञ्जालमार्फत पुबुदुलाई मुख्य प्रशिक्षक नियुक्त गरेको जानकारी दिएको छ।

    नेपालको मुख्य प्रशिक्षकबाट राजीनामा दिएको केही घण्टामै उनलाई क्रिकेट क्यानडाले राष्ट्रिय क्रिकेट टीमको मुख्य प्रशिक्षक नियुक्त गरेको जानकारी गराएको हो।

    पुबुदुले बुधबार पत्रकार सम्मेलन गर्दै व्यक्तिगत कारण देखाएर नेपाली क्रिकेट टीमको मुख्य प्रशिक्षकबाट राजीनामा दिएका थिए।

    उनी खेलाडी र नेपाल क्रिकेट संघ (क्यान) बीच विवाद भइरहँदा गत वर्ष मंसिरमा नेपालको मुख्य प्रशिक्षक नियुक्त भएका थिए।

    तर आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत स्टकल्याण्डमा सम्पन्न त्रिकोणात्म श्रृंखला नेपालले अपेक्षाअनुसारको प्रदर्शन गर्न सकेको थिए। नेपालले सिरिजका चारमध्ये तीन खेल गुमाएको थियो।

    उनी यसअघि सन् २०११ देखि २०१५ सम्म पनि नेपाली राष्ट्रिय क्रिकेट टीमको प्रशिक्षक थिए। नेपालले सन् २०१४ मा बंगलादेशमा भएको टी–२० विश्वकप क्रिकेट खेल्दा पुबुदु नै प्रशिक्षक थिए।

  • नेपालको ब्याटिङमा निरन्तर खराब फर्म, स्टकल्याण्डसँग ८ विकेटले पराजित

    नेपालको ब्याटिङमा निरन्तर खराब फर्म, स्टकल्याण्डसँग ८ विकेटले पराजित

    काठमाडौं । ब्याटिङमा रहेको समस्या सुधार गर्न नसक्दा आईसीसी क्रिकेट विश्वकप लिग टु मा नेपाल स्कटल्याण्डसँग ८ विकेटले हारेको छ । नेपालले दिएको १२९ रनको सामान्य लक्ष्य घरेलु टोली स्कटल्याण्डले १८.५ ओभरमा मात्र २ विकेट गुमाएर भेटायो । आइतबार स्कटल्याण्डका लागि कलुम म्याकलोडले सर्वाधिक ६४ रन बनाए । काएल कोत्जरले अविजित ४४ रन बनाए । नेपालका लागि कप्तान सन्दीप लामिछाने र सोमपाल कामीले १–१ विकेट लिए । त्यसअघि ग्लास्कोस्थित टिटवुड मैदानमा स्कटल्याण्डले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले ३५.५ ओभरमा सबै विकेट गुमाएर १२८ रन मात्र बनाउन सक्यो ।

    नेपालका लागि ओपनर आसिफ शेखले सर्वाधिक ४० रन बनाए । कप्तान सन्दीप लामिछानेले २२ रन जोडे । विनोद भण्डारी १३ तथा देव खनाल र रोहित पौडेल समान १० रन मात्र बनाउन सके । स्कटल्याण्डका लागि हम्जा ताहिरले ४, मार्क वाटले ३, गेभिन मेइनले २ तथा क्रिस्टोफर म्याब्रिजले १ विकेट लिए । तीन हार बेहोरेको नेपाल भने २० खेलबाट १७ अंकसहित छैटौं स्थानमा छ ।

  • आईसीसी क्रिकेट विश्वकप लिग टु : नामिबियाविरुद्ध निरिह नेपाल

    आईसीसी क्रिकेट विश्वकप लिग टु : नामिबियाविरुद्ध निरिह नेपाल

    काठमाडौं । कमजोर ब्याटिङका कारण नामिबिया विरुद्ध नेपालले पुनः घुँडा टेकेको छ । आईसीसी क्रिकेट विश्वकप लिग टु मा नेपाल नामिबियासँग ६३ रनले हारेको हो । नामिबियाले दिएको २०० रनको लक्ष्य पछ्याएको नेपाल पूरा ओभर नै खेल्न सकेन । ३७.५ ओभर मात्र क्रिजमा टिेकेको नेपाल १३६ रनमा अलआउट भयो ।


    यसअघि पहिलो खेलमा पनि नेपाल नामिबियासँग ४० रनले पराजित भएको थियो । नेपालका लागि दीपेन्द्र सिंह ऐरीले ३८ र आसिफ शेखले ३४ रन बनाए । यस्तै आदिल आलमले २० र रोहित पौडेलले १७ रन जोडे । पवन सर्राफ १० रनमा अविजित रहे । ६ खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।


    नेपाललाई अलआउट गर्न नामिबियाका बर्नार्ड स्कोल्ट्जले सर्वाधिक ५ विकेट लिए । उनले ९।५ ओभरमा २ मेडन राख्दै जम्मा २२ रन खर्चिए । जान फ्रांकलिनले ३ विकेट लिए । अयरमा टस जितेर पहिले ब्याटिङ गरेको नामिबियाले ४९.२ ओभरमा सबै विकेट गुमाएर १९९ रन बनाएको थियो ।
    नामिबियाका लागि कप्तान जेरार्ड एरासमसले सर्वाधिक ५३ रन बनाए । डेभिड विजाले ३४ र डिभान ला कुक र जेजे स्मिथले समान २७ रन जोडे ।

    बलिङमा कप्तान सन्दीप लामिछानेले १० ओभरमा २ मेडन राख्दै २९ रन खर्चेर ४ विकेट लिए । सोमपाल कामी र दीपेन्द्र सिंह ऐरीले २\२ तथा वसिर अहमदले १ विकेट लिए । शृङ्खलाको अन्तिम खेलमा नेपाल र स्कटल्याण्डबीच आज खेल हुँदैछ ।

  • जिम्बावे र नेदरल्याण्ड्स टी-२० विश्वकपमा छानिए

    जिम्बावे र नेदरल्याण्ड्स टी-२० विश्वकपमा छानिए

    काठमाडौं । जिम्बावे र नेदरल्यान्ड्सले यसै वर्ष अस्ट्रेलियामा हुने ट्वान्टी–२० विश्वकपमा छनोट भएका छन् । अक्टोबर १६ देखि नोभेम्बर १३ सम्म हुने ट्वान्टी–२० विश्वकप अस्ट्रेलियाको विभिन्न सहरमा हुनेछ । बुलावायोमा शुक्रबार भएको सेमिफाइनल खेलमा जिम्बावेले पपुवा न्युगिनीलाई २७ रनले हरायो । पहिलो ब्याटिङ गरेको जिम्बावेले निर्धारित २० ओभरमा ५ विकेट गुमाई १ सय ९९ रन बनायो । जवाफमा आएको पपुवा न्युगिनीले ८ विकेट गुमाई १ सय ७२ रनमात्र बनाउन सक्यो ।

    अर्को सेमिफाइनलमा नेदरल्यान्ड्सले अमेरिकालाई ७ विकेटले पराजित गर्‍यो । अमेरिका १९।४ ओभरमा १ सय ३८ रनमा अलआउट भएपछि नेदरल्यान्ड्सले एक ओभरअघि नै लक्ष्य पूरा गर्‍यो । फेब्रुअरीमा ओमानमा यसअघि नै भएको छनोटबाट आयरल्यान्ड र यूएई विश्वकपमा पुगिसकेका छन् । यी टोलीले अस्ट्रेलियामा पहिलो चरणमा प्रतिस्पर्धा गर्नेछन् ।

  • आईसीसी क्रिकेट विश्वकप लिग टु : आज नेपाल र नामिबिया भिड्दै

    आईसीसी क्रिकेट विश्वकप लिग टु : आज नेपाल र नामिबिया भिड्दै

    काठमाडौं । स्कटल्याण्डमा जारी आईसीसी क्रिकेट विश्वकप लिग टु मा आज नेपाल र नामिबिया भिड्दैछन् । जारी सिरिजमा यी दुई टीम दोस्रो प्रतिस्पर्धामा छन् । पहिलो खेलमा नामिवियाले नेपाललाई हराएको थियो । सोहीकारण आज नेपाल सो हारको बदला लिने लक्ष्यका साथ मैदानमा उत्रनेछ । त्रिकोणात्मक शृंखलाको पहिलो खेलमै नेपाल नामिबियासँग ४० रनले पराजित भएको थियो । तर दोस्रो खेलमा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै घरेलु टोली स्कटल्याण्डमाथि ५ विकेटको ऐतिहासिक जित निकालेको हो ।


    लिग टु मा शीर्ष तीनमा रहँदै ग्लोबल छनोटमा पुग्न नेपाललाई यस शृखंलाका बाँकी दुई खेल महत्वपूर्ण हुनेछ । हाल नेपाल १८ खेलबाट १७ अंकसहित पाँचौ स्थानमा छ । नेपालले लिग टु मा आधा खेल खेलिसकेको छ । नामिबिया १७ खेलबाट १६ अंकसहित छैटौं स्थानमा छ र नेपाललाई पछ्याइरहेको छ । अघिल्लो खेलमा नेपाललाई हराएर नामिबिया पाँचौ स्थानमा उक्लेको थियो तर स्कटल्याण्डलाई हराएपछि नेपाल पाँचौ स्थानमै उक्लेको हो । अब बाँकी दुई खेल जित्न सके नेपालले चौथो स्थानको अमेरिकासँग अंकदूरी कम पार्नेछ । अमेरिका २४ खेलबाट २३ अंक जोडेर चौथो स्थानमा रहेको छ ।

  • बलियो स्कटल्याण्डमाथि नेपालको रवाफिलो जित

    बलियो स्कटल्याण्डमाथि नेपालको रवाफिलो जित

    काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु क्रिकेटमा नेपालले घरेलु टोली स्कटल्याण्डमाथि रवाफिलो जित निकालेको छ । ग्लास्कोमा १४५ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको नेपालले २५.१ ओभरमा ५ विकेट गुमाएर भेट्टाउन सफल भयो । स्कटल्याण्ड नेपाल भन्दा बलियो टीम हो । यसअघि लिस्ट ए क्रिकेटमा समेत नेपालले यो टीमलाई हराउन सकेको थिएन । एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा स्कटल्याण्डमाथि यो नेपालको पहिलो कीर्तिमानी जित हो ।

    बलरहरुको उत्कृष्ट प्रदर्शन र आसिफ शेखको ब्याटिङले नेपालको जितको आधार बन्यो । शेखले उत्कृष्ट ब्याटिङ गर्दै ७१ रन बनाए । आसिफले पहिलो विकेटका लागि कुशल भुर्तेलसँग ४७ रनको साझेदारी गरे । यस्तै दोस्रो विकेटका लागि देव खनालसँग ३० तथा तेस्रो विकेटका लागि रोहित पौडेलसँग ४८ रनको साझेदारी गरे । कुशल भुर्तेलले २७ बलमा २७ रन बनाए । देव खनाल ४ रनमा आउट भए ।

    उपकप्तान रोहित पौडेलले अविजित ३४ रन जोडे । उनले ३१ बल खेल्दै चार चौका प्रहार गरे । स्कटल्याण्डका गेभिन मेइनले ३ विकेट लिए । यसअघि सोमपाल कामी र आदिल आलामले उत्कृष्ट बलिङ गरेपछि नेपालले स्कटल्याण्डलाई १४४ रनमा अलआउट गरेको थियो ।

  • ब्याटिङ चल्न नसक्दा नामिबियासँग हार्यो नेपाल

    ब्याटिङ चल्न नसक्दा नामिबियासँग हार्यो नेपाल

    काठमाडौं । नेपालको परम्परागत समस्याका रुपमा रहेको ब्याटिङले पुनः एक पटक महत्वपूर्ण खेलमा नेपाल चिप्लिएको छ । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत स्कटल्याण्डमा भइरहेको शृंखलामा नेपाल सोमबार नामिबियासँग ४० रनले पराजित भयो । नामिबियाले दिएको २२१ रनको लक्ष्य पछ्याएको नेपालले ४६.५ ओभरमा सबै विकेट गुमाएर १८० रन मात्र बनाउन सक्यो । यस जितपछि नामिबयाले अंकतालिकामा नेपाललाई पछि पारेको छ । नामिबिया १६ खेलबाट १६ अंक जोड्दै पाँचौ स्थानमा उक्लेको छ ।

    १७ खेलबाट १५ अंक रहेको नेपाल छैटौं स्थानमा झरेको छ । नेपालले बुधबार घरेलु टोली स्कटल्याण्डसँग खेल्दैछ । नेपालका लागि आरिफ शेखले अविजित ५० रन बनाए तर उनलाई अर्का कुनै पनि ब्याट्सम्यानले साथ दिएनन् । छैटौं नम्बरमा ब्याटिङ गरेका आरिफले ८४ बल खेल्दै २ चौका प्रहार गरे । देव खनालले ३४ र कुशल भुर्तेलले २७ रन जोडे । मिडलर अर्डर र लोअर अर्डरमा आरिफ बाहेक कसैले पनि व्यक्तिगत २० रन बनाउन सकेनन् ।

    करण केसीले ११ बलमा १९ रन जोडेका थिए । नामिबियाका लागि डेभिड विजा, बर्नार्ड स्कोल्ट्स र जान फ्रांकलिनले २-२ विकेट लिए । बलिङमा नेपालका लागि कप्तान सन्दीप लामिछानेले सर्वाधिक ४ विकेट लिए । सोमपाल कामीले २ तथा करण केसी र दीपेन्द्र सिंह ऐरीले १-१ विकेट लिए ।

  • नोभाक जोकोभिचलाई सातौं विल्बल्डन उपाधी

    नोभाक जोकोभिचलाई सातौं विल्बल्डन उपाधी

    काठमाडौं । विश्व नम्बर एक टेनिस खेलाडी नोभाक जोकोभिचले सातौं पटक विम्बल्डन ओपनको उपाधि उचालेका छन् । सेन्टर कोर्टमा आइतबार राति भएको फाइनलमा जोकोभिचले एक सेटले पछि परेको अवस्थामा पुनरागमन गर्दै २७ वर्षीय निक किर्गियोसलाई हराए । जोकोभिचले किर्गियोसलाई ४–६ , ६–३, ६–४, ७–६ ले पराजित गर्दै च्याम्पियन बनेका हुन् ।

    ३५ वर्षीय सर्बियन खेलाडी जोकोभिचको यो २१औं ग्राण्ड्सलाम उपाधि हो र सर्वाधिक २२ पटक ग्राण्ड्सलाम जित्ने कीर्तिमान बनाएका राफायल नाडालभन्दा एकले मात्र पछि छन् । जोकोभिचले लगातार चौथो पटक समग्रमा सातौं पटक विम्बल्डन ओपन जितेका हुन् । उनीभन्दा धेरै रोजर फेडेरले ८ पटक विम्बल्डन जितेका छन् ।

  • आइसीसी  क्रिकेट विश्वकप लि टू : आज नेपाल र नामिविया खेल्दै

    आइसीसी क्रिकेट विश्वकप लि टू : आज नेपाल र नामिविया खेल्दै

    काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत आइतबारदेखि स्कटल्याण्डमा खेलहरु प्रारम्भ भएका छन् । सोही अन्र्तगत नेपाल, स्कटल्याण्ड र नामिबिया सम्मिलित त्रिकोणात्मक एक दिवसीय शृंखलामा नेपालले आज नामिबियासँग खेल्दैछ । नेपालले लिग टु मा नामिबियासँग पहिलो पटक खेल्न लागेको हो । यस्तै एक दिवसीय मान्यता पाएपछि पनि नेपालको नामिबियासँग यो पहिलो खेल हुनेछ । लिग टु मा नेपाल र नामिबियाबीच एक अंकको मात्र अन्तर छ ।
    नेपाल १६ खेलबाट १५ अंकसहित पाँचौ स्थानमा छ । १५ खेलबाट १४ अंकसहित नामिबिया छैटौं स्थानमा छ । नामिबियालाई पराजित गरेमा नेपालले अंकदूरी बढाउने छ । नामिबिया भने नेपाललाई हराएर अंकतालिकामा सुधार गर्ने लक्ष्यमा छ । शृंखलाको पहिलो खेलमा नामिबिया घरेलु टोली स्कटल्याण्डसँग पराजित भएको थियो । नेपाल( र मिबियाको खेल दिउँसो सवा तीन बजेदेखि सुरु हुँदैछ ।

  • एकदिवसीय क्रिकेट : क्यानडा सामु निरिह नेपाल

    एकदिवसीय क्रिकेट : क्यानडा सामु निरिह नेपाल

    काठमाडौं । दोस्रो एकदिवसीय खेलमा नेपाल घरेलु टिम क्यानडा सामु निरिह देखिएको छ । वान डेमा सामान्य लक्ष्य पाए पनि नेपालले त्यसलाई भेटाउन नसक्दा ८३ रनले पराजित भयो । बिहीबार विहान सकिएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको क्यानडाले ९ विकेटको क्षतिमा १८८ रन जोडेको थियो । श्रेयस मोभाले ५० रन र आरोन जोनसनले ४४ रन बनाएपछि क्यानडाले सो योगफल बनाएको हो ।

    बलिङमा नेपालका कप्तान सन्दीप लामिछानेले विकेट र दीपेन्द्रसिंह ऐरीले २ विकेट लिए। १८९ रनको लक्ष्य पछ्याएको नेपाल ३९.२ ओभरमा १०५ रनमै अलआउट भयो। नेपालका लागि देव खनालले सबैभन्दा बढी २६ रन जोडे। ओपनर कुशल भुर्तेल १ रनमा आउट हुँदा अर्का ओपनर पवन सर्राफले १४ रन मात्र जोडे।

    रोहित पौडेल ६ रनमा आउट हुँदा दीपेन्द्र र आसिफ शेख डकआउट भए। बासिर अहमेद, विनोद भण्डारी र आदील अन्सारीले १३\१३ रन मात्र बनाए । करण केसी ५ रनमा नटआउट हुँदा सन्दीप लामिछाने ११ रनमा आउट भए।

  • नेपाल र क्यानडाबीचको खेलमा वर्षा बाधक

    नेपाल र क्यानडाबीचको खेलमा वर्षा बाधक

    काठमाडौं । नेपाल र क्यानडाबीचको पहिलो एकदिवसीय खेल वर्षाका कारण रद्द भएको छ । किङ सिटी मैदानमा गत राती पौने ९ बजेबाट शुरु हुनु पर्ने खेल वर्षाका कारण अवरुद्ध भएको हो । लगातार पानी परेपछि खेल टस समेत नभई रद्द भएको छ । दुई एकदिवसीय श्रृंखलाका लागि क्यानडा पुगेको नेपाली टोलीले आज दोस्रो एकदिवसीय खेल्नेछ ।

    विश्वकप लिग–२ अन्तर्गत स्कटल्याण्डमा हुने त्रिदेशीय एकदिवसीय श्रृंखलाअघि नेपालले क्यानडाको भ्रमण गरेको हो । यसअघि नेपाली टोलीले स्थानीय ओन्टारियो क्लबसँग दुई अभ्यास खेल खेलेको थियो । दुबै खेल नेपालले जितेको थियो । क्यानडाबाट नेपाली टोली स्कटल्याण्ड जानेछ । स्कटल्याण्डमा हुने लिग–२ मा नेपालले घरेलु टोली र नामिबियासँग खेल्ने तालिका छ ।

  • सन्दीप लामिछाने लंका प्रिमियर लिगमा आवद्ध

    सन्दीप लामिछाने लंका प्रिमियर लिगमा आवद्ध

    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले श्रीलंकामा हुने लंका प्रिमियर लिग क्रिकेटमा आवद्ध भएका छन् । उनलाई दाम्बुला जायन्ट्सले इन्टरनेशनल डायमण्ड ए क्याटगोरीबाट समावेश गरेको हो ।

    दाम्बुलाले श्रीलंकन कप्तान दसुन सनाका, भानुका राजापाक्षदेखि अष्ट्रेलियाका डी आर्च सर्ट र बेन कटपङ सम्मलाई अनुबन्ध गरेको छ । लामिछाने विश्वभरका ठूला क्रिकेट लिग खेल्ने नेपालका एक्ला क्रिकेटर हुन् ।

  • नेपाल र क्यानडाबीच एक दिवसीय सिरिजको पहिलो खेल आज

    नेपाल र क्यानडाबीच एक दिवसीय सिरिजको पहिलो खेल आज

    काठमाडौं । नेपाल र क्यानडाबीच एक दिवसीय सिरिजको पहिलो खेल आज हुुँदैछ । खेल क्यानडाको किङ्ग सिटीमा बेलुका पौने ९ बजे सुरु हुने तालिका छ । सन्दीप लामिछानेको कप्तानीमा नेपालले क्यानडासँग क्यानडासँग सिरिजमा दुई खेल खेल्दैछ । दोस्रो खेल बुधबार हुने छ । क्यानडाले साद बिन जाफरको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ । यसअघि क्यानडा पुगेको नेपाली टोलीले स्थानीय क्लब ओन्टारियोसँग दुई अभ्यास खेल खेलिसकेको छ ।

    नेपालले टी–२० अभ्यास खेलमा ओन्टारियोलाई ५५ रन र एक दिवसीय अभ्यास खेलमा ६९ रनले हराएको थियो । क्यानडामा दुई एक दिवसीय खेलपछि नेपाल स्कटल्यान्ड जानेछ । नेपालले स्कटल्यान्डमा विश्व कप लिग–२ अन्तर्गत त्रिदेशीय एक दिवसीय श्रृङ्खला खेल्नेछ । नेपालले असार २७ र ३२ गते नामिबियासँग तथा असार २९ र साउन १ गते स्कटल्यान्डसँग खेल्ने तालिका रहेको छ ।

  • इटालियन उच्च लीग सिरि-एमा पहिलो पटक महिला रेफ्री

    इटालियन उच्च लीग सिरि-एमा पहिलो पटक महिला रेफ्री

    काठमाडौं । इटालीको ए डिभिजन लीग सिरि-ए मा पहिलो पटक महिला रेफ्रीले खेल खेलाउने भएकी छिन् । रेफ्री मारिया सोले फेरिरीले अर्को सिजन इटालीको सिरी ‘ए’ को खेल सञ्चालन गर्ने भएकी हुन् । उनी इटालीको माथिल्लो डिभिजनमा फुटबल खेलाउने पहिलो महिला रेफ्री बन्ने निश्चित भएको छ । उनलाई अर्को सिजनका लागि रेफ्रीको उच्च समूहमा बढुवा गरिएको छ । गत वर्ष उनी सिरी ‘ए’ टिम सम्मिलित खेल खेलाउने पहिलो महिला रेफ्री बनेकी थिइन् ।

    इटालियन कपमा काग्लियारीसम्मिलित खेलमा ३१ वर्षीया फेरिरीले पहिलोपल्ट रेफ्रीको भूमिका निभाएकी थिइन् । त्यतिबेला काग्लियारीले सिटाडेलाविरुद्ध खेलेको थियो । उक्त खेलमा उनले तीन गोललाई मान्यता दिएकी थिइनन् । इटालीको फुटबल रेफ्री संघका अध्यक्ष अल्फ्रेडो ट्रेटालान्गाले फेरिरीको उपलब्धि निकै सन्तोषजनक रहेको बताएका छन् । सात वर्षअघि रेफ्री बनेकी फेरिरीले सिरी ‘सी’ को खेल खेलाएपछि गत वर्ष सिरी ‘बी’ को खेल पनि खेलाइसकेी छिन् ।

  • नेपाल र क्यानडाबीच हुने एकदिवसीय सिरिजको तालिका परिवर्तन

    नेपाल र क्यानडाबीच हुने एकदिवसीय सिरिजको तालिका परिवर्तन

    काठमाडौं । नेपालले क्यानडासँग खेल्ने तय भएको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको खेल तालिका परिवर्तन भएको छ ।

    नेपाल र स्थानीय ओन्टारियो क्लबबीच टी-ट्वान्टी अभ्यास खेल थपिएकाले सिरिजको खेल एकदिन सरेको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।उक्त सिरिज अब जुलाई ५ र ६ मा हुने जनाएको छ ।

    यसअघि यो सिरिज जुलाई ४ र पाँचमा हुने तालिका थियो । नेपालले आज क्यानडाको स्थानीय क्लब ओन्टारियोसँग टी–२० अभ्यास खेल खेल्ने भएकाले सिरिजलाई एक दिन पछाडि सारिएको क्यानले बताएको छ ।

    नेपालले स्कटल्याण्डमा हुने आइसिसी विश्वकप लिग–२ अन्तर्गतको एकदिवसीय त्रिकोणात्मक सिरिजका लागि क्यानडा भ्रमण गरेको हो । नेपाल, स्कटल्याण्ड र नामिबिया सम्मिलित सिरिज जुलाई १० देखि १७ सम्म हुनेछ ।

    नेपालले ११ जुलाईमा नामिबियाविरुद्धको खेलबाट सिरिजको सुरुवात गर्नेछ । यस्तै, नेपालले दोस्रो खेल स्कटल्याण्डविरुद्ध १३ जुलाईमा, तेस्रो खेल नामिबियाविरुद्ध १६ जुलाई र चौथो तथा अन्तिम खेल स्कटल्याण्डविरुद्ध १७ जुलाईमा खेल्ने तालिका छ ।

    नेपालले आज आइतबार राति ओन्टारियोविरुद्ध दोस्रो अभ्यास खेल खेल्नेछ ।

    क्यानडाको भ्रमणपछि नेपालले स्कटल्यान्डमा विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्नेछ।

  • नेप्लिज-अमेरिका कन्भेन्सन सकर प्रतियोगिता खेल्न नवयुग र भरत अमेरिका प्रस्थान

    नेप्लिज-अमेरिका कन्भेन्सन सकर प्रतियोगिता खेल्न नवयुग र भरत अमेरिका प्रस्थान

    काठमाडौं । नेप्लिज अमेरिका कन्भेन्सन सकर प्रतियोगिता खेल्ने नेपालका फरवार्डद्वय नवयुग श्रेष्ठ र भरत खवास अमेरिका प्रस्थान गरेका छन्। दुई खेलाडी अहिले त्रिभुवन आर्मी फुटबल क्लबबाट व्यवसायिक फुटबल खेल्छन् । दुवै जनाले प्रतियोगिता खेल्नेछन्। उनीहरू एलए टिमबाट प्रतिस्पर्धा गर्नेछन् । भरत पछिल्लो समय राष्ट्रिय टिममा हटाएका छैनन् । उनी आर्मी फुटबल टिमका भने कप्तान हुन्। नवयुगले अघिल्लो महिना भएको एएफसी एसियन कप छनोटको तेस्रो चरणमा नेपाली टिमको कप्तानी सम्हालेका थिए।

  • फिफा अध्यक्षले एन्फा अध्यक्ष नेम्वाङलाई दिए बधाई

    फिफा अध्यक्षले एन्फा अध्यक्ष नेम्वाङलाई दिए बधाई

    काठमाडौं । विश्व फुटबल महासंघ (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोले अखिल नेपाल फुटबल संघ (एन्फा) का नवनिर्वाचित अध्यक्ष पंकजविक्रम नेम्वाङलाई बधाई दिएका छन् । फिफा अध्यक्ष इन्फान्टिनोले मंगलबार नेम्वाङलाई पत्र लेख्दै नव निर्वाचित एन्फा कमिटिलाई
    इन्फान्टिनोले पत्रमार्फत नेम्वाङको कार्यकालमा नेपाली फुटबलको थप विकास हुनेमा विश्वास समेत लिएका छन् । उनले भनेका छन्,  ‘तपाईको ज्ञान, क्षमता र अनुभवले सुन्दर खेल फुटबलको नेपालमा विकास हुनेमा पूर्ण आशावादी छु । निर्वाचित टिमले विभिन्न चुनौतीलाई सहज रुपले पार लगाउन सफल हुनेछ ।’

    असार ६ गते भएको एन्फाको भएको २१औं चुनावी साधारण सभाबाट निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पालाई ६ मतेल पराजित गर्दै एन्फा अध्यक्ष नेम्वाङ विजयी भएका थिए । एन्फा निर्वाचनमा खसेको कूल ८४ मत मध्ये नेम्वाङले ४५ र कर्माले ३९ मत प्राप्त गरेका थिए ।

  • नेपाली क्रिकेट टोलि आज क्यानडा जाँदै

    नेपाली क्रिकेट टोलि आज क्यानडा जाँदै

    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोली आज क्यानडा जाने भएको छ । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत श्रृंखला तयारीका लागि नेपाली टोली आज बिहान क्यानडा जान लागेको हो ।

    भिसा र उडान टिकटका कारण यसअघि टोलीको क्यानडा भ्रमण अनिश्चित बनेको थियो । क्यानडामा अभ्यासपछि टोली उतैबाट स्कटल्याण्ड पुग्नेछ । नेपाली टोलीलाई हिजो राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङले बिदाई गरेका छन् । क्यानडा र स्कटल्यान्ड भ्रमणका लागि सन्दीप लामिछानेको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरिएको थियो । नेपालले क्यानडाको राष्ट्रिय टोलीसँग जुलाई ४ र ५ मा दुई वटा एकदिवसीय श्रृंखला तथा स्थानीय क्लबसँग एक खेल खेल्ने तालिका छ ।

    लिग–२ मा नेपाल तालिकाको पाँचौ स्थानमा छ । नेपालले १६ खेलमा सात जित, आठमा हार र एक बराबरीसहित १५ अंक जोडेको छ । आईसीसी विश्वकप क्रिकेट लिगमा नेपालले २० खेल खेल्न बाँकी छ । विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल, स्कटल्याण्ड र नामिबियाबीचको एकदिवसीय श्रृङ्खला जुलाई ११ तारिख अर्थात असारको २७ गतेदेखि सुरु हुनेछ । नेपालले असार २७ र ३२ गते नामिबियासँग तथा २९ गते र साउन १ गते स्कटल्याण्डसँग खेल्ने तालिका छ ।

  • नेपाल माथिको प्रतिवन्ध फुकुवापछि आइसीसीको टोली काठमाडौंमा

    नेपाल माथिको प्रतिवन्ध फुकुवापछि आइसीसीको टोली काठमाडौंमा

    काठमाडौं । नेपालमाथिको सबै प्रकारको प्रतिवन्ध फुकुवा गरेपछि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)का प्रतिनिधि नेपाल आएका छन् । टोलीले शनिबार युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज भेटवार्ता गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को बैठक कक्षमा भएको भेटमा राखेपका उपाध्यक्ष शिव कोईराला, राखेपका सदस्य सचिव टंकलाल घिसिङ, नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्द, आईसीसी डेभलप्मेन्टका चेयरम्यान इमरान ख्वाजा, आईसीसी डेभलप्मेन्टका जेनरल म्यानेजर विलियम्स ग्लानराईट र आईसीसी फाइनान्स एन्ड ओपरेसन अफिसर नितिशा कोठारीको उपस्थित थिए ।

    सो अवसरमा मन्त्री गहतराजले नेपाल सरकारले क्रिकेटको विकासमा ध्यान केन्द्रीत गरी क्रिकेट रंगशाला निर्माणमा लगानी गरेको बताउदै झापा, चितवन, लुम्बिनी, मूलपानीलगायतका स्थानमा पूर्वाधार निर्माणको कार्य अघि बढिरहेको अवगत गराउनुभयो । मन्त्री गहतराजले नेपालमा क्रिकेटले पनि फुटबल सरहनै लोकप्रियता हासिल गरेको बताउदै आईसीसीले नेपाली क्रिकेटको विकासमा गरेको लगानीका लागि धन्यवाद ज्ञापन गरे । सदस्यसचिव घिसिङले आईसीसी र परिषद्को दीर्घकालीन सम्बन्धको विकास गर्न क्रिकेट एकेडेमी र टेक्निकल हबको विकास र निर्माणमा सहकार्य गर्नुपर्नेमा जोड दिदै नेपाल अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न इच्छुक रहेकाले त्यसमा आईसीसीको सहयोग आवश्यक रहेको बताए ।

    आईसीसी प्रतिनिधिले नेपालमा क्रिकेटको ठूलो सम्भावना रहेको बताउदै विद्यालयमा क्रिकेटको विकास गर्न सके सरकारको मात्र भर परिरहनु पर्ने अवस्थाको अन्त्य हुने धारणा राखे । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले नेपाली क्रिकेट विकास लागि सधै सहयोग गर्न तयार रहेको प्रतिबद्धता जनाएको छ । नेपाल भ्रमणमा रहेको आईसीसी प्रनिनिधि मण्डलले शनिबार सञ्चारकर्मीसँगको अन्तरक्रिया कार्यक्रममा उक्त प्रतिबद्धता जनाएको हो । क्यानमा राजनीतिक हस्तक्षेप र आर्थिक पारदर्शिता कायम नभएको भन्दै आईसीसीले सन् २०१६ अप्रिलमा निलम्बन गरेको थियो ।

    यसबीचमा नेपालले अन्तर्राष्ट्रिय प्रतियोगितामा भने सहभागिता जनाउँदै आएको छ । २०७६ असोजमा सम्पन्न विशेष साधारण सभामार्फ चतुरबहादुर चन्दको नेतृत्वमा नयाँ कार्यसमिति गठन भएको थियो । त्यसपछि आईसीसीले क्यानमाथि लगाएको निलम्बन सर्त राख्दै फुकूवा गरेको थियो । आईसीसीले क्यानको आर्थिक गतिविधिमा नियन्त्रण गरेकाले आर्थिक मामिलामा आईसीसीको भर पर्नुपर्ने अवस्था नेपाली क्रिकेटमा थियो । अब भने आर्थिक गतिविधि सहितको सबै निलम्बन हटेको छ ।

  • वर्षा बाधक बन्दा नेपाल एसीसी महिला क्रिकेट टी–२० च्याम्पियनसिपबाट बाहिरियो

    वर्षा बाधक बन्दा नेपाल एसीसी महिला क्रिकेट टी–२० च्याम्पियनसिपबाट बाहिरियो

    काठमाडौं । नेपाल मलेसियामा जारी एसिसी महिला टी–२० च्याम्पियनसिप प्रतियोगिताबाट बाहिरिएको छ ।

    किनरारा एकेडेमी ओभलमा भइरहेको यूएईविरुद्धको खेलमा वर्षा बाधक बन्दा नेपाल बाहिरिएको हो ।

    नेपालले उत्कृष्ट बलिङ गर्दै यूएईलाई सस्तैमा समेटे पनि जवाफी ब्याटिङ गर्न नपाएको हो ।

    त्यसअघि टस हारेर ब्याटिङको मौका पाएको यूएई १९.५ ओभरमा ८१ रनमा अलआउट भएको थियो ।

    उसका लागि वैश्णवी महेशले १६, इशा ओझाले १५ र छाया मुगलले १४ र खुसी शर्माले १२ रन बनाए । नेपालका लागि अस्मिना कर्माचार्यले शानदार बलिङ गरिन् । ३.५ ओभर बलिङ गरेकी उनले १० रन दिएर महत्वपूर्ण ५ विकेट लिइन् ।

    त्यस्तै, इन्दु वर्माले तीन र सीताराना मगरले दुई विकेट लिइन् ।

    खेल रद्द भएपछि समूह विजेतका रूपमा यूएई फाइनल पुगेको छ । अब यूएईले हङकङ र मलेसियाबीच खेलको विजेतासँग फाइनलमा प्रतिस्पर्धा गर्नेछ ।

  • लगातारको हारपछि फिफा वरियतामा नेपाल ८ स्थान तल खस्कियो

    लगातारको हारपछि फिफा वरियतामा नेपाल ८ स्थान तल खस्कियो

    काठमाडौं । नेपाल फिफा वरीयतामा आठ स्थान खस्किएको छ । विश्व फुटबल महासंघ (फिफा)ले बिहीबार सार्वजनिक गरेको वरीयतामा नेपाल आठ स्थान खस्किँदै एक सय ७६औं स्थानमा पुगेको हो । यसअघि नेपाल एक सय ६८औं स्थानमा थियो । नेपाल हालै कुवेतमा भएको एएफसी एसियन कप छनोटको तेस्रो चरणको खेलमा पराजित भएपछि वरीयता खस्किएको हो । समूह ‘ए’ मा रहेको नेपालले सबै खेलमा हार खेपेको थियो । नेपाल जोर्डनसँग २–०, कुवेतसँग ४–१ र इन्डोनेसियासँग ७–० गोलले पराजित भएको थियो ।

    नेपाल दक्षिण एसियाली राष्ट्रमा भने तेस्रो वरीयतामा छ । नेपालमाथि भारत र माल्दिभ्स रहेका छन् । भारत एक सय चारौं र माल्दिभ्स एक सय ५६औं स्थानमा छ । दक्षिण एसियामा भुटान एक सय ८६औं, बंगलादेश एक सय ९२औं, पाकिस्तान एक सय ९६औं र श्रीलंका दुई सय सातौं स्थानमा छ । विश्व वरीयताको शीर्षस्थानमा ब्राजिल छ । बेल्जियम दोस्रो, अर्जेन्टिना तेस्रो, फ्रान्स चौथो र इङ्ल्यान्ड पाँचौं स्थानमा छ । शीर्ष १०मा क्रमशः स्पेन, इटाली, नेदरल्यान्ड्स, पोर्चुगल र डेनमार्क रहेका छन् ।

  • एन्फाले अल्मुताइरीले बाहिर राखेका खेलाडीलाई टीममा फर्काउने

    एन्फाले अल्मुताइरीले बाहिर राखेका खेलाडीलाई टीममा फर्काउने

    काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले राष्ट्रिय टिमबाट बाहिर राखेका सबै खेलाडीलाई ससम्मान राष्ट्रिय टिममा फिर्ता ल्याउने निर्णय गरेको छ । नवनिर्वाचित कार्यसमितिको बुधबार बसेको पहिलो बैठकले राष्ट्रिय टिमबाट बाहिर परेका सबै खेलाडीलाई ससम्मान फिर्ता बोलाउने निर्णय गरेको हो । मुख्य प्रशिक्षक अल्मुताइरीले आफ्नो अनुमतिविना बन्द प्रशिक्षण छाडेको भन्दै रोहित चन्द, अनन्त तामाङ, अञ्जन विष्ट, विशाल राईसहित १० खेलाडीलाई राष्ट्रिय टोलीबाट निकालेका थिए ।

    एन्फा कार्यसमितिको बैठकले मुख्य प्रशिक्षक अल्मुताइरीका विषयमा छानबिन गर्न गठित समितिको प्रतिवेदनलाई ध्यानमा राख्दै अन्तर्राष्ट्रिय सम्बन्ध नबिग्रिने गरी सम्बन्धित सबै पक्षसँग छलफल र समन्वय गर्न महासचिव किरण राईलाई जिम्मेवारी दिने निर्णय गरेको छ । अध्यक्षमा निर्वाचित भएलगत्तै नेम्वाङले खेलाडी प्रशिक्षक विवादबारे निर्णय गर्ने बताएका थिए ।

  • एन्फाको अध्यक्षमा पंकजविक्रम नेम्वाङ निर्वाचित

    एन्फाको अध्यक्षमा पंकजविक्रम नेम्वाङ निर्वाचित

    काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को अध्यक्षमा पंकजविक्रम नेम्वाङ विजयी भएका छन् । सोमबार सम्पन्न निर्वाचनमा वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पालाई ६ मतअन्तरले हराउँदै नेम्वाङ अध्यक्ष निर्वाचित भएका हुन् । नेम्वाङले ४५ मत पाए । शेर्पाले ३९ मत मात्र पाए । अध्यक्षका अर्का उम्मेदवार राजिव पौडेलले भने एक मत पनि पाएनन् ।

    नेम्वाङ यसअघि वरिष्ठ उपाध्यक्ष र शेर्पा अध्यक्ष थिए । एन्फामा गणेश थापा अध्यक्ष हुँदा उनको कार्यशैलीको विरोध जनाउँदै कर्माछिरिङ शेर्पा र पंकजविक्रम नेम्वाङले ‘चेन्ज एन्फा’ अभियान सुरु गरेका थिए । वरिष्ठ उपाध्यक्षमा नेम्वाङकै प्यानलका वीरबहादुर खड्का विजयी भए । उनले ४४ मत पाए भने शेर्पाको प्यानलका शिक्षित पराजुलीले ४० मत मात्र पाएका छन् ।

  • एसीसी महिला टी-२० च्याम्पियनसिप : नेपालको लगातार दोस्रो जित

    एसीसी महिला टी-२० च्याम्पियनसिप : नेपालको लगातार दोस्रो जित

    काठमाडौं । एसीसी महिला टी–२० च्याम्पियनसिपको दोस्रो खेलमा नेपालले कुवेतलाई २५ रनले पराजित गरेको छ । नेपालले पहिलो खेलमा भुटानलाई ५० रनले हराएको थियो । शनिबार दोस्रो जित निकाल्ने क्रममा नेपालले १०८ रनको लक्ष्य पछ्याएको कुवेतलाई निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा ८२ रनमात्र बनायो । कुवेतका लागि कप्तान अम्ना तारिक १४, मर्याम ओमर ५, जीफा जिलानी ६ र मरिम्मा हैदरले १४ रन बनाए । नेपालकी सीता रानामगरले २, अस्मिना कर्माचार्य, संगीता राई र इन्दु बर्माले १(१ विकेट लिए ।

    टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १०७ रन बनाएको थियो । नेपालका लागि कप्तान रुविना क्षेत्री र उपकप्तान इन्दु बर्माले ६० रनको साझेदारी गरे । रुविनाले २७ बलमा ४ चौकासहित ३४ र इन्दु ३३ बलमा २ चौकासहित २८ रनमा अविजित रहिन् । ओपनर विन्दु रावलले ११ र ज्योति पाण्डेले १५ रन जोडे । बलिङतर्फ कुवेतका लागि मरिम्मा हैदरले ४ ओभरमा १० रन खर्चेर २ विकेट लिइन् । मर्याम ओमरले ४ ओभरमा १५ रन खर्चेर १ विकेट लिइन् । खदिजा खालिलले एक विकेट लिइन् ।