Category: खेलकुद

  • आईसीसी क्रिकेट विश्वकप लिग टु : नेपाललाई अमेरिकाले ३९ रनले हरायो

    आईसीसी क्रिकेट विश्वकप लिग टु : नेपाललाई अमेरिकाले ३९ रनले हरायो

    काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिकामा भएको श्रृङ्खलाको अन्तिम खेलमा नेपाललाई आयोजक अमेरिकाले ३९ रनले हराएको छ । आरिफ शेख र सोमपाल कामीले कीर्तिमानी साझेदारी गरेपनि अमेरिकाले दिएको २४६ रनको लक्ष्य पछ्याएको नेपालले २०६ रन मात्र बनायो । श्रृङ्खलामा नेपालको यो दोस्रो हार हो । चार खेल मध्ये एक जित र एक बराबरीबाट नेपालले ३ अंक मात्र जोड्न सक्यो । अंकतालिकामा १६ खेलबाट १५ अंकसहित नेपाल पाँचौ स्थानमा छ ।

    अमेरिका २४ खेलबाट २३ अंकसहित चौथो स्थानमा छ । आरिफ र सोमपालले छैटौं विकेटका लागि १०६ रनको साझेदारी गरेपनि नेपाललाई जितसम्म पुर्‍याउन सकेनन् । नेपाललाई अन्तिम ५ ओभरमा ५० रन भन्दा कम चाहिएको अवस्थामा दुव खेलाडी ४५औं ओभरमा आउट भएका थिए । ९३ रनमै ५ विकेट गुमेको अवस्थामा आरिफ र सोमपालले कीर्तिमानी शतकिय साझेदारी गरेका थिए । छैटौं विकेटका लागि नेपालको यो अहिलेसम्मको ठूलो साझेदारी हो ।

    यसअघि छैटौं विकेटका लागि २०२० मा कुशल मल्ल र विनोद भण्डारीले अमेरिका विरुद्ध नै ८४ रनको साजेदारी गरेका थिए । नेपालका लागि आरिफले सर्वाधिक ६३ रन बनाए भने सोमपालले ४७ रन जोडे । यसबाहेक देव खनालले ३४, आसिफ शेखले १८, रोहित पौडेलले १६ र कुशल भुर्तेलले १० रन बनाए । त्यसअघि मोसा क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको अमेरिकाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २४५ रन बनाएको थियो ।

    अमेरिकाका लागि गजानन्द सिंहले सर्वाधिक ५८ रन बनाउँदा सुशान्त मोदानीले ५४ रन बनाए । यस्तै आरोन जोन्सले ४३ र साइतेजा मुम्मकामालाले ३६ रन जोडे । नेपालका करण केसीले ३, सन्दीप लामिछानेले २ तथा सोमपाल कामी र दीपेन्द्र सिंह ऐरीले समान १ विकेट लिएका थिए ।

  • एसियन कप छनोटमा फेल भए अलमुताईरी, अन्तिम खेलमा इण्डोनेसियासँग नेपालले खायो ७ गोल

    एसियन कप छनोटमा फेल भए अलमुताईरी, अन्तिम खेलमा इण्डोनेसियासँग नेपालले खायो ७ गोल

    काठमाडौं । सिनियर खेलाडीसँग सामान्य विषयमा भएको विवादलाई उग्र रुप दिएका नेपाली टोलीका मूख्य प्रशिक्षक अब्दुल्ला अलमुताइरीले ९ जना सिनियर खेलाडीलाई टीम बाहिर राख्दै कुवेत पुगेका थिए । तर, तीन वटै खेलमा नेपालले खराब प्रदर्शन गर्दै प्रतियोगितामा लज्जास्पद हार बेहोरेसँगै प्रशिक्षक फेल भएका छन् । एएफसी एसियन कप २०२३ अन्तर्गत तेस्रो चरणमा नेपालले सबै खेलमा खराब प्रदर्शन गर्यो । समूह ‘ए’ मा रहेको नेपाल लगातार तेस्रो खेलमा पराजित हुँदै पुछारमा रहेको छ ।

    बुधबार विहान कुवेत सिटीमा सकिएको खेलमा नेपालमाथि इन्डोनेसियाले ७–० गोलको फराकिलो अन्तरको जित निकाल्यो । नेपालविरुद्ध इन्डोनेसियाले पहिलो हाफमा दुई गोल गर्दा दोस्रो हाफमा पाँच गोल थपेको थियो। इन्डोनेसियाका लागि मोहमद मिसजले छैटौं र विटन सुलेमानले ४३ मिनेटमा गोल गरेका थिए।

    दोस्रो हाफमा नेपालमाथि पुरै दबाब राखेको इन्डोनेसियाका लागि अर्यन्तोले ५४ मिनेटमा तेस्रो गोल र सदिल रामदानीले ५५ मिनेटमा चौथो गोल गरे। ८० मिनेटमा इल्कन बग्गोटले पाँचौ गोल गर्दा ८१ मिनेटमा सुलेमानले टिमका लागि छैटौं र व्यक्तिगत दोस्रो गोल गरे। ९० मिनेटमा फर्डिनालले इन्डोनेसियाका लागि सातौं गोल गरे।

  • आईसीसी क्रिकेट विश्वकप लिग टु : ओमानमाथि नेपालको उत्कृष्ट प्रदर्शन

    आईसीसी क्रिकेट विश्वकप लिग टु : ओमानमाथि नेपालको उत्कृष्ट प्रदर्शन

    काठमाडौं । अमेरिकामा जारी आईसीसी क्रिकेट विश्वकप लिग टु श्रृंखलामा तेस्रो खेलमा नेपालले ओमानमाथि ७ विकेटको सानदार जित निकालेको छ । आसिफ शेख र कुशल भुर्तेलले ओपनिङमा कीर्तिमानी साझेदारी गरेका छन् । ओमानले दिएको १६४ रनको लक्ष्य नेपालले ३३.१ ओभरमा ३ विकेट गुमाएर भेट्टायो । लिग टुमा सातौं जित निकालेको नेपाल १५ खेलबाट १५ अंक जोडेर पाँचौ स्थानमा उक्लिन सफल भयो । अब नेपालले श्रृंखलाको अन्तिम खेलमा आज अमेरिकासँग खेल्नेछ । पहिलो खेलमा यी दुई टीमले अंक बाँडेका थिए ।

    आसिफ शेख र कुशल भुर्तेलले पहिलो विकेटका लागि ११४ रनको शतकीय साझेदारी गरे । नेपालले ओपनिङका लागि एकदिवसियमा गरेको यो नै ठूलो साझेदारी हो । यसअघि आसिफ र कुशलले नै गत वर्ष ओमानमा अमेरिका विरुद्ध पहिलो विकेटका लागि ६१ रनको साझेदारी गरेका थिए । अमेरिका भ्रमणमा नेपालले पहिलो जित निकाल्दा आसिफले ८६ बल खेल्दै ७ चौका र १ छक्का मद्दतमा ६२ रन बनाए । यस्तै कुशलले ७५ बल खेल्दै ५ चौका मद्दतमा ५६ रन जोडे । देव खनाल १० रन बनाए । रोहित पौडेलले अविजित २६ रन जोडे ।

    ओमानका फयज बटले २ तथा खावर अलीले १ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ओमान ४६.१ ओभरमा सबै विकेट गुमाएर १६३ रनमा अलआउट भयो । ओमानका लागि कप्तान जिसन मक्सुदले सर्वाधिक ५२ रन बनाए । सन्दिप गौडले ४७ रन बनाए । नेपालका लागि करण केसीले ९ ओभरमा ३३ रन खर्चेर ५ विकेट लिए । कप्तान सन्दीप लामिछानेले ३ विकेट लिए । सोमपाल कामी र दीपेन्द्र सिंह ऐरीले समान १ विकेट लिए ।

  • आइसीसीबाट नेपालमाथिको सबै प्रतिवन्ध फुकुवा

    आइसीसीबाट नेपालमाथिको सबै प्रतिवन्ध फुकुवा

    काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले नेपाल क्रिकेट संघ (क्यान) माथिको सम्पूर्ण प्रतिबन्ध फुकुवा गरेको छ । २०७६ को असोजमा साधारणसभा गर्दै नयाँ कार्यसमिति निर्वाचित भएपछि आइसिसीले क्यानमाथिको निलम्बन शसर्त फुकुवा गरेको हो । त्यसपछि पनि आइसिसीले क्यानलाई कन्ट्रोल फन्डिङमा (आर्थिक नियन्त्रण) मा राखेको थियो। निलम्बन फुकुवा गरेपछि क्यानलाई आइसिसीले आर्थिक मापदण्ड पालना गर्नु पर्ने शर्त राखेको थियो।

    आर्थिक पारदर्शिता गर्नका लागि शर्त राखेको आइसिसीले जेठ ३० गते इमेल पठाउँदै कन्ट्रोल फन्डिङ पूर्ण रुपमा हटाइएको जानकारी गराएको क्यानका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी गराएका छन् । यससँगै अन्य एकदिवसीय मान्यता प्राप्त एसोसिएट देशसरह क्यानले आइसिसीबाट आर्थिक अनुदान र गतिबिधि गर्न पाउने भएको छ ।

  • एसियन कप छनोटमा नेपाल र इन्डोनेसियाबीच आज प्रतिस्पर्धा

    एसियन कप छनोटमा नेपाल र इन्डोनेसियाबीच आज प्रतिस्पर्धा

    काठमाडौं । एएफसी एसियन कपको तेस्रो चरणको छनोट खेलिरहेको नेपालले आज इन्डोनेसियासँग खेल्दैछ । समूह ए मा यसअघि लगातार दुई खेल हारिसकेको नेपालको एसियन कपमा पुग्ने सम्भावना सकिसकेको छ । त्यसैले नेपाल सान्त्वना जितसहित छनोट यात्रा सकाउने लक्ष्यमा छ । नेपाल र इन्डोनेसियाबीचको खेल आज राति १ बजे कुवेतको कुवेत सिटीस्थित जाबेर अल अहमद इन्टरनेशनल स्टेडियममा हुनेछ । पहिलो खेलमा कुवेतलाई हराएको इन्डोनेसिया दोस्रो खेलमा जोर्डनसँग पराजित भएको थियो ।

    इन्डोनेसियाको लागि भने नपालविरुद्धको नतिजा एसियन कपमा छनोट हुनका लागि महत्वपूर्ण बन्न सक्छ । लगातार दुई खेल जितेको जोर्डन ६ अंकसहित शीर्ष स्थानमा छ र इन्डोनेसिया र कुवेतको समान ३ अंक छ । तेस्रो चरणको छनोटबाट समूह विजेता बन्ने टोली सिधै अर्को वर्ष हुने एसिया कपमा छनोट हुनेछ । यस्तै उत्कृष्ट पाँच उपविजेता पनि एसिया कपमा छनोट हुनेछ । त्यसैले नेपाल बाहेक बाँकी तीनवटै टिम सकेसम्म धेरै अंक जोड्ने लक्ष्यमा छन् ।

    नेपालको लागि इन्डोनेसिया नयाँ प्रतिद्वन्दी हो । नेपालले अहिलेसम्म इन्डोनेसियासँग एक खेल मात्र खेलेको थियो । नेपालले इन्डनेसियासँग सन् २०१४ मा मैत्रीपूर्ण खेल खेलेको थियो । मालाङ्गमा भएको उक्त खेलमा नेपाल २÷० ले पराजित भएको थियो । प्रतियोगितात्मक खेलमा भने नेपालले इन्डोनेसियासँग पहिलो पटक खेल्न लागेको हो ।

  • आईसीसी क्रिकेट विश्वकप लिग टू : आज नेपाल र ओमान भिड्दै

    आईसीसी क्रिकेट विश्वकप लिग टू : आज नेपाल र ओमान भिड्दै

    काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत अमेरिकामा जारी त्रिकोणात्मक सिरिजमा नेपाल र ओमान आज भिड्दैछन् । शृंखलामा नेपालले आफ्नो तेस्रो खेल खेल्दैछ । लिग टू मा सहभागी ७ टिमले कुल ३६ खेल खेल्न पाउने प्रावधान अनुसार ओमानले भने आज अन्तिम खेल खेल्दैछ । ३५ खेल खेलिसकेको ओमान ४४ अंकसहित अंकतालिकामा शीर्ष स्थानमा छ । अर्को वर्ष हुने एक दिवशीय विश्वकपको ग्लोबल छनोटमा ओमानले स्थान बनाइसकेको छ । नेपाल भने आधा खेल पनि खेलेको छैन ।

    ओमानसँगको खेल लिग टू मा नेपालको लागि १५औं खेल हुनेछ । नेपाल १४ अंकसहित छैटौं स्थानमा छ । जारी शृंखलामा नेपाल पहिलो खेलमा ओमानसँग १३ रनले पराजित भएको थियो । त्यसपछि घरेलु टोली अमेरिकासँगको खेल रोमाञ्चक रुपमा बराबरी भएको थियो । लिग टू मा अहिलेसम्म खेलेको ५ खेलमा ओमानले ४ खेल जित्दा नेपालले जम्मा १ खेल मात्र जितेको छ । खेल नेपाली समयअनुसार राति सवा ९ बजेपछि सुरु हुनेछ ।

  • नेपाल र अमेरिकाबीचको खेल नाटकीय रुपमा बराबरीमा टुंगियो

    नेपाल र अमेरिकाबीचको खेल नाटकीय रुपमा बराबरीमा टुंगियो

    काठमाडौं । आईसीसी विश्वकप लिग – २ त्रिकोणात्मक एक दिवसीय शृङ्खलामा नेपाल र अमेरिकाबीच रोमाञ्चक खेलमा बराबरीको नतिजा आएको छ । अन्तिम दुई बलमा नेपालले दुई विकेट लिएपछि अमेरिकासँगको खेल बराबरीमा रोकिएको हो । दुवै टीमबाट समान २७४ रन बन्यो । दुबै टीमले १÷१ अंक बाँडेका छन् । ह्युस्टनस्थित मुसा क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ४९.२ ओभरमा सबै विकेट गुमाएर २७४ रन बनाएको थियो । जवाफमा अमेरिकाले समेत २७४ रन नै बनाउन सक्यो । उसका लागि स्टेभेन टेलरले शतक प्रहार गरे । अमेरिकाले ५० ओभरमा ६ विकेट गुमाएर २७४ रन जोडेको हो ।

    अन्तिम ओभरमा अमेरिकालाई जितका लागि ६ रन चाहिएको थियो । नेपालमा आदिल अन्सारीले बलिङ गरेका थिए । सुरुआती तीन बलमा अमेरिकाले एक÷एक रन जोडेको थियो । चौथो बल नो बल भएपछि अमेरिकाले नो बलमा एक रन जोड्दै रन बराबरी ग¥यो । तर, अन्तिम दुई बलमा नेपालले विकेट लिएपछि खेल बराबरीमा टुंगिएको हो । अमेरिकाका लागि ओपनर टेलरले ११४ रन जोडे ।

  • कुवेतसँगको हारपछि नेपाल एसियन कप छनोटबाट बाहिरियो

    कुवेतसँगको हारपछि नेपाल एसियन कप छनोटबाट बाहिरियो

    काठमाडौं । एएफसी एसियन कप छनोट अन्तर्गत समूहको दोस्रो खेलमा नेपाल घरेलु टोली कुवेतसँग ४–१ ले पराजित भएको छ । शनिबार राती कुवेतको जाबेर अह अहमेद ईन्टरनेशनल स्टेडियममा भएको खेलमा कुवेतले नेपालमाथि एकपक्षीय नतिजा निकालेको हो । यससँगै नेपाल छनोटबाट बाहिरिएको छ । पहिलो खेलमा नेपाल जोडर्नसँग पराजित भएको थियो । कुवेतका लागि युसुफ अल सुलाईमानले ४८ र ७० मिनेटमा गोल गरे । त्यस्तै, फहल अल रासपदीले २८ र मुबारक अल फानेनीले ७३ मिनेटमा गोल गरे ।

    नेपालका लागि दर्शन गुरुङले ईन्जुरी टाईममा सान्त्वना गोल फर्काए । नेपालले ४० वर्षपछि कुवेत विरुद्ध गोल गरेको हो । सन् १९८२ को एसियन गेम्सका वाई बी घलेले कुवेत विरुद्ध गोल गरेयता नेपालले सो मुलुकविरुद्ध गोल गर्न सक्ेको थिएन । यो खेलमा खेलमा नेपाली टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी मैदानमै बेहोस भए हुन् ।

  • जन्मदेश कुवेतविरुद्धको खेलमा मैदानमा ढलेका प्रशिक्षक अलमुताइरी डिस्चार्ज

    जन्मदेश कुवेतविरुद्धको खेलमा मैदानमा ढलेका प्रशिक्षक अलमुताइरी डिस्चार्ज

    कुवेत । एएफसी एसियन कप छनोटमा जन्मदेश कुवेतविरुद्धको खेलमा मैदानमै बेहोस भएर ढलेका नेपाली टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी अस्पतालबाट डिस्चार्ज भएका छन् । प्रशिक्षक अल्मुताइरीलाई उपचारका लागि उनलाई फारवानिया अस्पताल लगिएको थियो ।

    डिस्चार्ज भएपछि उनले फेसबुकमा लेखेका छन्, ‘चिन्ता नगर्नुहोस्, म गोर्खाली हुँ । एक टिम, जय नेपाल ।’ उनले भोलिबाट पुनः काममा फर्कने बताउँदै पराजयका लागि क्षमा मागेका छन् । दोस्रो हाफको सुरु भएलगत्तै अल्मुताइरी नेपालको टेक्निकल एरियामा बेहोस भएका थिए । लगत्तै मेडिकल टिमले उनलाइ स्ट्रेचरमा राखेर अस्पतालतर्फ लैजाँदै गरेको दृश्य प्रत्यक्ष प्रशारणमा देखाइएको थियो । अस्पताल लैजाँदै गर्दा उनको मुखमा अक्सिजन मास्क लगाइएको थियो ।


    नेपालले कुवेतसँग पहिलो हाफमा १ गोल खाएको थियो । कुवेतकै नागरिक रहेका अल्मुताइरी पहिलो हाफमा रेफ्री र फोर्थ अफिसियलसँगको विवादमा तनावमा देखिएका थिए । त्यसबापत उनलाई पहेलो कार्डसमेत देखाइएको थियो । पहिलो खेलमा जोर्डनसँग २(० ले हारेको नेपालले कुवेतसँगको यो खेल ४–१ गोलअन्तरले गुमाएको छ ।

  • आइसीसी विश्वकप लिग टु : आज नेपाल र अमेरिकाबीच प्रतिस्पर्धा

    आइसीसी विश्वकप लिग टु : आज नेपाल र अमेरिकाबीच प्रतिस्पर्धा

    काठमाडौं । अमेरिकाको टेक्सासमा जारी नेपाल, अमेरिका र ओमान सम्मिलित क्रिकेट विश्वकप लिग टुमा नेपालले घरेलु टोली अमेरिकाको सामना गर्दैछ । खेल पर्लल्याण्डस्थित मोसा क्रिकेट मैदानमा नेपाली समय अनुसार राति सवा ९ बजे सुरु हुनेछ । शृंखलामा दुवैले एक एक खेल खेलिसकेका छन् । नेपाल पहिलो खेलमा ओमानसँग १३ रनले पराजित भएको छ ।

    अमेरिकाले पहिलो खेलमा ओमानलाई हराएको छ । लिग टु मा नेपाल र अमेरिका खेल्न लागेको यो तेस्रो शृंखला हो । यसअघि यी दुई टोलीले लिग २ मै चार खेल खेलिसकेका छन् । जसमा नेपाल अघि छ । नेपालले ३ खेल जित्दा अमेरिकाले १ खेल जितेको छ ।

    नेपाल लिग टू अन्तर्गत नै पछिल्लो शृंखलामा अमेरिकासँग २०२१ सेप्टेम्बरमा ओमानमा खेलेको पछिल्लो खेलमा ६ विकेटले पराजित भएको थियो । उक्त खेलमा नेपालले दिएको १७५ रनको लक्ष्य अमेरिका ३० ओभरभित्र पूरा गर्दा स्टेभेन टेलरले ९२ र मोनाक पटेलले अविजित ३८ रन बनाएका थिए । त्यस खेल खेलेका कुशल र आसिफसहित ९ खेलाडी अहिले पनि अमेरिका गएको नेपाली टिममा छन् ।

    सन् २०२० मा नेपालमै भएको शृंखलामा भने नेपालले अमेरिकालाई दुवै खेलमा पराजित गरेको थियो । दोस्रो खेलमा नेपालले अमेरिकालाई ३५ रनमै अलआउट गर्दै कीर्तिमानसमेत बनाएको थियो । एक दिवसीय अन्तर्राष्ट्रिय कुनै पनि टिमले बनाएको यो संयुक्त रुपमा सबैभन्दा कम स्कोर थियो ।

  • एएफसी एसियन कप : आज नेपाल र कुवेत भिड्दै

    एएफसी एसियन कप : आज नेपाल र कुवेत भिड्दै

    काठमाडौं । एएफसी एसियन कप छनोटमा शनिबार कुवेत र नेपाल भिड्ने भएका छन् । खेल कुवेतको कुवेत सिटीस्थित जाबेर अह अहमद इन्टरनेशनल स्टेडियममा हुनेछ । कुवेत नेपालका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको मुलुक समेत हो । उनले नेपालकोतर्फ पहिलो पटक आफ्नै देश कुवेतको विपक्षमा रहेर प्रशिक्षक सम्हाल्दैछन् । शुक्रबार अल्मुताइरीले कुवेती भाषामा दिएको एउटा अन्तर्वार्ताको अंश सामाजिक सञ्जाल फेसबुकमा सेयर गर्दै आफूले कुवेतलाई माया गर्ने तर भोलिको खेलमा नेपालको जितका लागि प्रतिस्पर्धा गर्ने लेखेका छन् ।

    खेलाडीसँगको विवादका कारण कप्तान किरण कुमार लिम्बुसहित ११ सिनियर खेलाडीलाई बाहिर राख्दै कम अनुभवी र युवा खेलाडीको टिम लिएर कुवेत पुगेका अल्मुताइरीले पहिलो खेलमा जोर्डनविरुद्ध नेपालले संतोषजनक प्रदर्शन गरेको मान्छन् । फिफा वरीयतामा कुवेत नेपाल भन्दा २२ स्थान माथि छ । नेपालले कुवेतलाई अहिलेसम्म हराएको छैन । वरीयतामा कुवेत १४६औं र नेपाल १६८औं स्थानमा छ ।

  • कमजोर ब्याटिङका कारण नेपाल हार्दा करणको प्रदर्शन ओझेलमा

    कमजोर ब्याटिङका कारण नेपाल हार्दा करणको प्रदर्शन ओझेलमा

    टेस्सास । आइसिसी विश्वकप क्रिकेट लिग २ मा नेपाल पहिलो खेलमा ओमनसँग पराजित भएको छ । अमेरिकाको टेक्सासमा शुक्रबार विहान सम्पन्न खेलमा नेपाल ओमानसँग १३ रनले हारेको हो । ओमान, अमेरिका र नेपालबीचको यो त्रिकोणात्मक सिरिजमा ओमानले भने पहिलो जित निकाल्यो। करन केसीको उत्कृष्ट प्रदर्शनमा नेपालले बलिङमा ओमानलाई मध्यम योगफलमा रोक्न सफल भएको थियो । ५० ओभरमा ८ विकेट गुमाएको ओमनले २११ रन मात्र बनाउन सक्यो । २१२ रनको लक्ष्य पछ्याएको नेपाल २ बल खेल्न बाँकी छदा १९८ रनमै अलआउट भयो। नेपालका लागि आरिफ शेखले ६६ रन बनाए ।

    ओपनरद्वय सुवास खकुरेल ३ रन र सुनील धमला १२ रनमा आउट भए। देव खनाल ३४ रन र रोहित पौडेल २० रन जोडेर आउट भए । दीपेन्द्रसिंह ऐरीले १६ रन र विनोद भण्डारीले १४ रन बनाए । करण केसी ८ रन, सोमपाल कामी १३ रन र कप्तान सन्दीप लामिछाने २ रन मात्र जोड्न सके । बलिङमा ओमानका जीशन मक्सूद र खावर अलीले ३(३ विकेट लिए। बलिङमा नेपालका करण केसीले ५ विकेट लिएका थिए । कप्तान सन्दीप लामिछानेले २ र सोमपाल कामीले १ विकेट लिए ।

  • आइसीसी विश्वकप लीग टू : नेपाल र ओमन भिड्दै

    आइसीसी विश्वकप लीग टू : नेपाल र ओमन भिड्दै

    काठमाडौं । आइसिसी विश्वकप लिग २ मा नेपाल र ओमन भिडिरहेका छन् । नेपालले टस हारेको छ । ओमानले ब्याटिङ रोजेपछि नेपाल बलिङमा उत्रिएको छ । खेल अमेरिकाको टेक्सासस्थित पर्लल्यान्डको मोसा रंगशालामा जारी छ । नेपाली टिममा आज सुनील धमलाले डेब्यू गरेका छन्। सन्दीप लामिछानेले कप्तानी गरिरहेका छन् । घरेलु टिम अमेरिका, नेपाल र ओमानबीचको त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले आफ्नो पहिलो खेल खेल्दैछ । हिजोदेखि सुरू भएको सिरिजमा घरेलु टिम अमेरिकाले विजयी सुरुवात गरिसकेको छ। अमेरिकाले ओमानमाथि ११४ रनको फराकिलो अन्तरको जित निकालेको थियो।

    जारी लिग २ मा १२ खेलबाट १२ अंक जोडेको नेपाल अंक तालिकामा छैठौं स्थानमा छ। शीर्ष स्थानको ओमानको ३३ खेलबाट ४० अंक छ भने दोस्रो स्थानको स्कटल्यान्डको २० खेलबाट २८ अंक छ। तेस्रो स्थानको युएईको २२ खेलबाट २६ अंक छ। यस्तै अमेरिकाले २१ खेलबाट २० अंक जोड्दै चौथो स्थानमा रहँदा नामिबिया १४ खेलबाट १४ अंक जोडेर पाँचौ स्थानमा छ। नेपालभन्दा पछि रहेको सातौं स्थानको पपुवा न्युगिनीले २० खेलबाट २ अंक मात्र जोडेको छ। लिग २ मा नेपालले सबैभन्दा कम खेल खेको छ ।

  • जोर्डनसँग हार्यो नेपाल

    जोर्डनसँग हार्यो नेपाल

    काठमाडौं । एएफसी एसियन कप २०२३ को अन्तिम चरणको छनोट अन्तर्गत पहिलो खेलमा नेपाल जोर्डनसँग २–० गोल अन्तरले हारेको छ । समूह ए अन्तर्गत कुवेतको जाबिर अल अहमद स्टेडियममा बुधबार राति सम्पन्न खेलमा नेपालले दुवै गोल दोस्रो हाफमा खायो । जोर्डनले अन्तिम २१ मिनेटमा दुई गोल गर्दै महत्वपूर्ण तीन अंक जोड्यो । गोलकिपर दिप कार्कीले उत्कृष्ट प्रदर्शन गरे पनि नेपालले बराबरी समेत गर्न सकेन । दिपले पहिलो हाफमा पेनाल्टी बचाए ।

    खेलमा नेपालले जोर्डनलाई दुई पेनाल्टीको अवसर दियो । खेलाडी प्रशिक्षक विवादले नियमित कप्तान किरणकुमार लिम्बुसहित ११ सिनियर खेलाडी टीम बाहिर राखेर प्रशिक्षकले नयाँ टीमसहित कुवेत पुगेका छन् । ४३औं मिनेटमा नेपालका विकास तामाङले मोहमद फैसल जारिकलाई फल गरेपछि जोर्डनले पेनाल्टी पाएको थियो ।

    तर माउसा मोहमद सुलेमानको पेनाल्टी प्रहार नेपालका गोलकिपर दिप कार्कीले बचाए । ६९औं मिनेटमा अली इयाद ओलवानले गोल गर्दै जोर्डनलाई अग्रता दिलाए । दोस्रो हाफमा जोर्डनले अर्को पेनाल्टी पायो । तर यस पटक भने जोर्डनका हम्जा अलदरादेहले सजिलै गोल गरे ।

  • एएफसी एसियन कप छनोट : नेपालले जोर्डनको सामना गर्दै

    एएफसी एसियन कप छनोट : नेपालले जोर्डनको सामना गर्दै

    काठमाडौं । नेपालमा तीव्र विवाद र आलोचना बोकेर कुवेत पुगेको नेपाली फुटबल टीमले आजबाट एक कठिन परीक्षामा भाग लिँदैछ । नेपाल एएफसी एसियन कप छनोट खेल्दैछ । जसमा नेपाल समूह ए बाट जोर्डन, कुवेत र इन्डोनेसियासँग खेल्दैछ । प्रतियोगिताको पहिलो खेल आज राती हुँदैछ । नेपाली समय अनुसार बिहान १ बजे शुरु हुने खेलमा नेपाल र जोर्डन भिड्दैछन् । खेलाडी र प्रशिक्षकको विवादका कारण नेपाली टीमका नियमित कप्तान किरणकुमार लिम्बुसहित ११ सिनियर खेलाडी टिममा समावेश नगरी प्रशिक्षक अब्दुल्ला अलमुताइरी कुवेत पुगेका छन् । उनीसँग कम अनुभवी तर युवा खेलाडी छन् । जसको बलमा उनले शक्तिशाली टीमको सामना गर्नुपर्नेछ ।

    कुवेतको जाबिर अल अहमद स्टेडियममा नेपाल र जोर्डनबीचको खेल नेपाली समय अनुसार बुधबार राति १ बजे सुरु हुनेछ । नेपाली टीमलाई फरवार्ड नवयुग श्रेष्ठले कप्तानी गर्दैछन् । नेपालले दोस्रो खेल कुवेतसँग जेठ २८ गते र तेस्रो इन्डोनेसियासँग जेठ ३१ गते खेल्नेछ । एएफसीले तेस्रो चरणको छनोटमा २४ टोलीलाई ६ समूहमा विभाजन गरेको हो । जसमध्ये नेपाल सम्मिलित समूह ए को सबै खेल कुवेतमा आयोजना हुनेछ । तेस्रो चरणको छनोटबाट ६ समूहका विजेता र पाँच उपविजेता गरी उत्कृष्ट ११ टोली मात्र अर्को वर्ष हुने एसियन कपमा छनोट हुनेछ ।

  • इस्टोनियामाथि मेसी एक्लैले गरे ५ गोल

    इस्टोनियामाथि मेसी एक्लैले गरे ५ गोल

    काठमाडौं । अर्जेन्टिनाका कप्तान लियोनल मेसी अहिले उच्च लयमा छन् । नजिकिएको विश्वकप र उनको लयका कारण समर्थक भने उत्साहित छन् । आफ्नो उत्कृष्ट लय कायम राख्दै आइतबार उनले मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलमा इस्टोनियाविरुद्ध एक्लैले ५ गोल गरेका छन् । यो खेलमा अर्जेन्टिना ५–० ले विजयी भयो । आठौं मिनेटमा पेनाल्टीबाट पहिलो गोल गरेका उनले ४५, ४७, ७१ र ७६ औं मिनेटमा गोल गर्न सफल भए ।

    अर्जेन्टिनाले युरोपेली च्याम्पियन इटालीलाई ३–० ले हराउँदा २ गोलका लागि सहयोग गरेका थिए । उनी दुबै खेलमा प्लेयर अफ दी म्याच चुनिए । आइतबारकै अन्य मैत्रीपूर्ण खेलमा कोलम्बियाले साउदी अरेबियालाई र पेरुले न्युजिल्यान्डलाई समान १–० ले हरायो । नेसन्स लिगका खेलमा भने पोर्चुगलले स्विट्जरल्यान्डलाई ४–० ले हरायो । क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे । स्पेन र चेक गणतन्त्र २–२ को बराबरी खेलेका छन् ।

  • युक्रेनलाई हराउँदै वेल्स ६४ वर्षपछि विश्वकपमा

    युक्रेनलाई हराउँदै वेल्स ६४ वर्षपछि विश्वकपमा

    काठमाडौं । वेल्सले फिफा विश्वकपमा स्थान सुरक्षित गरेको छ । आइतबार राति सम्पन्न प्लेअफमा युक्रेनलाई हराएको वेल्स ६४ वर्षपछि विश्वकप खेल्न छनोट भएको हो । सन् १९५८पछि वेल्स विश्वकपमा छनोट हुन सकेको थिएन । प्लेअफमा युक्रेनलाई १,० गोलले पराजित गर्यो । वेल्सका लागि कप्तान गेराथ बेलले फ्रिकिकमार्फत गोल गरे । यो गोल नै निर्णायाक बन्यो ।

    युद्धग्रस्त युक्रेनको पक्षमा संसारभरबाट समर्थन आएको थियो । वेल्सलाई कडा टक्कर दिए पनि युक्रेन सफल भने हुनसकेन । विश्वकपमा छनोट भएको वेल्स इंग्ल्याड रहेको समूह बीमा परेको छ । यो समूहमा इंग्ल्याण्डसहित अमेरिका र इरान छन् ।

  • महिला क्रिकेट : यूएईसामु नेपाल निरिह

    महिला क्रिकेट : यूएईसामु नेपाल निरिह

    यूएई । आईसीसी यू १९ टी २० विश्वकप एसिया छनोटमा नेपाल यूएईसँग १० विकेटले पराजित भएको छ । नेपालको ब्याटिङ कमजोर बन्दा ८ रनमै अलआउट भएको थियो । ९ रनको लक्ष्य यूएईले १.१ ओभर खेल्दै विना विकेट पूरा गर्‍यो । यूएईका तीर्थ सतिस ४ र लाभन्य केनी ३ रनमा अविजित रहे ।
    यसअघि पहिले ब्याटिङ गरेको नेपालले जम्मा ८ रन जोडेको थियो ।

    स्नेहा महराले ३ रन बनाइन् । यो नै व्यक्तिगत उच्च रन रह्यो । कप्तान कृतिका मरासिनीसहित ६ खेलाडीले खातासमेत खोल्न सकेनन् । यूएईका लागि माहिका गौरले घातक बलिङ गर्दै ४ ओभरमा २ मेडन राखेर मात्र २ रन दिएर सर्वाधिक ५ विकेट लिइन् । यस्तै इन्धुजा नन्दकुमारले ३ विकेट लिइन् ।

  • अर्जेन्टिनाको अपराजित खेल ३२ पुग्यो, कप्तान मेसीलाई अर्को उपाधी

    अर्जेन्टिनाको अपराजित खेल ३२ पुग्यो, कप्तान मेसीलाई अर्को उपाधी

    लण्डन । दक्षिण अमेरिकन च्याम्पियन अर्जेन्टिना र युरोपियन च्याम्पियन इटालीबीचको प्रतिस्पर्धामा जित निकाल्दै अर्जेण्टिनाले आफ्नो अपराजित यात्रा ३२ खेलसम्म पुर्याएको छ । ‘फाइनलिसीमा’ नाममा भएको प्रतियोगिताको उपाधि जित्दा अर्जेन्टिनाले इटलीलाई ३–० गोलले हरायो । इंग्ल्यान्डको वेम्बली रंगशालामा भएको खेलमा अर्जेन्टिनाका लगि मार्टिनेजले २८ मिनेटमा पहिलो गोल गरेका थिए। अर्जेन्टिनाका लागि डि मारियाले पहिलो हाफको इन्जुरी समयमा अग्रता दोब्बर पारे। पहिलो हाफमा २–० ले अघि रहेको अर्जेन्टिनाका लागि डिबालाले दोस्रो हाफको इन्जुरी समयमा मा अर्को गोल थपे ।

    खेलमा कप्तान मेसीले दुई गोलमा प्रत्यक्ष सहयोग गरेका थिए । युरोपियन र दक्षिण अमेरिकन च्याम्पियनबीच २९ वर्षपछि प्रतिस्पर्धा भएको हो। यसअघि पछिल्लो पटक सन् १९९३ मा अर्जेन्टिना र डेनमार्कबीच भएको भिडन्तमा अर्जेन्टिनाले जित निकालेको थियो । कप्तान मेसीले मुलुकका लागि अर्को उपाधी जितेका छन् । अब उनी विश्वकपमा केन्द्रित हुनेछन् ।

  • च्याम्पियन्स लिग फाइनल आधा घण्टा ढिला सुरु भएको घटनाबारे स्वतन्त्र जाँचबुझ थालियो

    च्याम्पियन्स लिग फाइनल आधा घण्टा ढिला सुरु भएको घटनाबारे स्वतन्त्र जाँचबुझ थालियो

    पेरिस । यूरोपीयन फुटबल एसोसिएशनले शनिवार सम्पन्न यूइएफए च्याम्पियन्सलिग फाइनल खेल आधा घण्टा ढिला मात्र सुरु गरिएको घटनाबारे स्वतन्त्र रुपमा जाँच थालेको छ । लिभरपुल र रियल म्याड्रिडबीचको यो खेल फ्रान्सको पेरिसमा भएको थियो । स्वतन्त्र भेन्यूमा भएको भए पनि आफ्नो क्लवको समर्थन गर्न अन्य मुलुकबाट समर्थक र प्रहरीबीचको झडपका कारण खेल केहीबेर अवरुद्ध भएको थियो । लिभरपुलका समर्थक स्टेडियम छिर्न लामो लाइनमा लाग्नु परेको थियो । यनीहरुमाथि फ्रान्सको प्रहरीले अश्रु ग्यास फालेको थियो ।

    सोमवार फ्राँसका खेल अधिकारीले टिकट बिक्रिमा गरिएको संगठित हेरफेरका कारण समस्या आएको बताएका थिए । फ्रान्सका खेल मन्त्री एमिली आउदिया कैस्तेराले रियल म्याड्रिडका समर्थक लिभरपुलका समर्थकको तुलनामा संयमित देखिएको भभिव्यक्ति दिएपछि भने उनी समेत आलोचनाको शिकार बनेका छन् । लिभरपुरका अध्यक्ष टॉम वेरनरले पत्र लेख्दै फ्रान्सका खेल मन्त्रीले माफी माग्नु पर्ने बताएका छन् । यी घटनाको सिलसिलापछि संघले स्वतन्त्र जाँच थालेको जनाएको छ ।

  • रियल म्याड्रिडले जित्यो च्याम्पियन्स लिग

    रियल म्याड्रिडले जित्यो च्याम्पियन्स लिग

    पेरिस । स्पेनिस क्लब रियल मड्रिड यूईएफए च्याम्पियन्स लिग च्याम्पियन बनेको छ फ्रान्सको पेरिसमा गतराति सम्पन्न फाइनलमा इङ्ग्लिस क्लब लिभरपुललाई १–० गोलले हराउँदै रियल च्याम्पियन बनेको हो । रियलका भिनिसियस जुनियरले खेलको ५९ औँ मिनेटमा गरेको गोल नै निर्णायक भयो । यो सँगै रियलले कीर्तिमानी १४औँ पटक च्याम्पियन्स लिगको उपाधि जित्न सफल भएको छ ।

    च्याम्पियन्स लिगमा रियलसँगको हारसँगै लिभरपुल यो सिजन दुई उपाधिमा सीमित भएको छ । लिग कप र एफए कप जितेको लिभरपुलले प्रिमियर लिग र च्याम्पियन्स लिगमा हार बेहोरेको हो । स्पेनिस क्लब रियल मड्रिडका मुख्य प्रशिक्षक कार्लो एन्सेलोटी युरोपको शीर्ष पाँच लिगको उपाधि जित्ने पहिलो प्रशिक्षक समेत बनेका छन् ।

  • क्रिकेट खेलाडीको पारिश्रमिक बढ्यो

    क्रिकेट खेलाडीको पारिश्रमिक बढ्यो

    काठमाडौ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीहरूको पारिश्रमिक बढेको छ ।

    मंगलबार बसेको क्यान बोर्ड बैठकले यही अप्रिल १ देखि लागू हुनेगरी राष्ट्रिय टिमका खेलाडी, मैदान कर्मचारी, मैदान कार्यलय सहयोगी, टीयू मैदान पिच क्युरेटरको मासिक पारिश्रमिक वृद्धि गर्ने निर्णय गरेको हो ।

    क्यानको राष्ट्रिय सम्झौतामा रहेका पुरुष खेलाडीहरूको तलव जनही १० हजारका दरले बढाइएको छ ।

    त्यसैगरी, क्यानले महिला राष्ट्रिय क्रिकेट टिमको ग्रेड सी मा रहेका खेलाडीहरुको मासिक पारिश्रमिक ५ हजार, बी र ए ग्रेडमा रहेका खेलाडीहरूको मासिक पारिश्रमिक ६ हजारले बढाएको छ ।

    यसअघि ‘ए’ ग्रेडका खेलाडीले ५० हजार, ‘बी’ ग्रेडका खेलाडीले ४० हजार र ‘सी’ ग्रेडका पुरुष खेलाडीले ३० हजार पाउँदै आएका थिए ।

    अब बढेको तलब अनुसार पुरुषतर्फ ‘ए’ ग्रेडका खेलाडीले ६० हजार, ‘बी’ ग्रेडका खेलाडीले ५० हजार र ‘सी’ ग्रेडका खेलाडीले ४० हजार रूपैयाँ प्राप्त गर्नेछन् ।

    त्यसैगरी, सम्पूर्ण मैदान कर्मचारीहरूको मासिक पारिश्रमिक प्रतिव्यक्ति ३ र मैदान कार्यालय सहयोगीको मासिक पारिश्रमिक प्रतिव्यक्ति ५ हजारले वृद्धि गरेको छ ।

    त्रिवि क्रिकेट मैदानका पिच क्युरेटरको मासिक पारिश्रमिकमा ६ हजार वृद्धि गरिएको छ ।

  • नाटकीय जितपछि म्यान सिटीलाई इंग्लिस प्रिमियर लिगको उपाधि

    नाटकीय जितपछि म्यान सिटीलाई इंग्लिस प्रिमियर लिगको उपाधि

    म्यान्चेस्टर । खेलको ७६ औं मिनेटसम्म पछाडी रहेको अवस्थामा नाटकीय जित निकाल्दै म्यान्चेस्टर सिटीले यस सिजनको इंग्लिस प्रिमियर लिगको उपाधि जितेको छ। सिजनको अन्तिम खेलमा एस्टन भिल्लामाथि ३–२ गोलको रोमाञ्चक जित निकाल्दा सिटीले नसोजेको नतिजा देखायो । खेलमा सिटी २्–० गोलले पछि थियो । यस अवस्थामा खेल लिभरपुलको पक्षमा जाने सम्भावना थियो । तर, सिटीले उत्कृष्ट पुनरागमन गर्दै उपाधीमाथि कब्जा जमायो । सिटीका लागि गुन्डोआनले ७६ मिनेटमा पहिलो गोल गरे । रोद्रीले ७८ मिनेटमा बराबरी गोल फर्काए । ८१ मिनेटमा गुन्डोआनले व्यक्तिगत दोस्रो र टिमका लागि तेस्रो गोल गर्दै निर्णायक रुपमा उपाधी जिताए ।

    लिभरपुल पनि वुल्भ्ससँगको खेलमा पछि परेको अवस्थामा पुनरागमन गर्दै दोस्रो स्थानमा रह्यो । वुल्भ्सका नेटोले तेस्रो मिनेटमा गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए । लिभरपुलका लागि मानेले २४ मिनेट र सलाहले ८४ मिनेटमा गोल गरे। रोबर्टसनले ८९ मिनेटमा तेस्रो गोल गर्दै जित सुनिश्चित गरे । उपाधि जित्न लिभरपुल आफूले जित निकालेर मात्र पुग्दैन थियो, सिटीले बराबरी वा हार बेहोर्नु पर्ने थियो। अन्तिम खेलसँगै सिटीले ९३ अंक जोड्दा लिभरपुलले ९२ अंक जोड्न सक्यो । सिटीले पछिल्लो दश वर्षमा छैटौं पटक प्रिमियर लिगको उपाधि जितेको हो । लिगमा चेल्सी ७४ अंक जोड्दै तेस्रो र टोटेनहम ७१ अंकसहित चौथो स्थानमा रह्यो ।

  • रोहित चन्द इण्डोनेसियन क्लव पेरिसिक केडिरीमा आवद्ध

    रोहित चन्द इण्डोनेसियन क्लव पेरिसिक केडिरीमा आवद्ध

    काठमाडौं । नेपालका चर्चित फुटबलर रोहित चन्द इन्डोनेसियन क्लब पेरिसिक केडिरीमा आवद्ध भएका छन् । क्लबले आइतबार यसको पुष्टी गरेको हो । सामाजिक सञ्जालमा ‘हाम्रो हिमालयन टाइगर’ भन्दै क्लवले रोहितको तस्वीर राखेको छ । रोहितले शनिबार ईन्डोनेसियाको अर्को क्लव पर्सिजा जाकार्ता छाडेको क्लवले जनाएको थियो । सो क्लवमा उनले सन् २०१७ यता निरन्तर खेलेका थिए ।

    त्यसअगाडी समेत उनी सन् २०१३ देखि २०१५ सम्म पर्सिजाबाटै खेलेका थिए । यस सिजनमा पर्सिजा आठौं स्थान र पेरिसिक केडिरी ११ ‌औं स्थानमा रहेर लीग सकाएका छन् । रोहितले पर्सिजाबाट लिगसहित चार उपाधि जिते । उनी सन् २०१८ मा सिजन लिगको सर्वोत्कृष्ट खेलाडीसमेत बनेका थिए ।

  • नेपाली टीमका बलिङ कोच श्रीलंकाली धम्मिका प्रसादले पाएनन् अमेरिकाको भिसा

    नेपाली टीमका बलिङ कोच श्रीलंकाली धम्मिका प्रसादले पाएनन् अमेरिकाको भिसा

    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका बलिङ कोच धम्मिका प्रसादले अमेरिकाको भिसा नपाएको सामाजिक संजालमार्फत जनाएका छन् । श्रीलंकाको कोलम्बोस्थित अमेरिकी दूतावासले भिसा नदिएको उनले ट्वीट गर्दै बताएका हुन् । क्रिकेट विश्वकप लिग टू खेल्न नेपाल अमेरिका जाँदै छ ।

    नेपाली क्रिकेट टिमको बलिङ कन्सलटेन्ट धम्मिका नेपाली टिमलाई बलिङको प्रशिक्षण दिन अमेरिका जाने तयारीमा थिए । तर उनलाई अमेरिकाले भिसा दिएको छैन । अमेरिकाको टेक्सास राज्यमा जुन ६ देखि १६ सम्म हुने क्रिकेट विश्वकप लिग टूमा नेपालले अमेरिका र ओमानसँग खेल्ने कार्यक्रम रहेको छ । धम्मिका प्रसाद श्रीलंकाका चर्चित क्रिकेटर हुन् ।


    के लेखेका छन् प्रसादले ?

    I’m stuck with @USEmbSL us visa, my team @CricketNep touring to usa playing with @usacricket for World Cup qualifiers I’m stuck to get my visa because of the current situation, playing first game on 6th and I have to be there before that, anyone can help me on this, 

    — Dhammika Prasad (@imDhammika) May 21, 2022

  • एसियन कप फुटबल छनोटका लागि अन्तिम टोली घोषणा,को-को परे ?

    एसियन कप फुटबल छनोटका लागि अन्तिम टोली घोषणा,को-को परे ?

    काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले कुवेतमा हुने एएफसी एसियन कप २०२३ छनोटका लागि अन्तिम टोली घोषणा गरेका छन् ।

    प्रशिक्षकसँग विवादमा परेका खेलाडीहरु लाई बाहिर राखेर टिम घोषणा गरेका हुन् ।

    छनोट अन्तर्गत नेपाल समूह ‘ए’ मा आयोजक कुवेत, जोर्डन र इन्डोनेसियासँगै रहेको छ । नेपालले पहिलो खेलमा जोर्डनविरुद्ध जुन ८, दोस्रो खेलमा आयोजक कुवेतसँग जुन ११ तथा अन्तिम खेल इन्डोनेसियाविरुद्ध जुन १४ मा खेल्ने तालिका रहेको छ ।

    प्रशिक्षक अलमुताइरीले घोषणा गरेको अन्तिम टोलीमा निम्न खेलाडीहरु रहेका छन् :

    गोलरक्षकः दिप कार्की, विशाल सुनार र टिकेन्द्र सिंह थापा

    डिफेन्डरः विकाश खवास, विकास तामाङ, गौतम श्रेष्ठ, राजन गुरुङ, शिव गुरुङ र सुमन अर्याल

    मिडफिल्डरः आकाश बुढा मगर, एरिक विष्ट, निर कुमार राई, पुनज उपरकोटी, रोशन राना मगर, सन्तोष तामाङ, सेसेहाङ आन्गदेम्बे, सुनिल बल र सुरज ज्यू ठकुरी

    फरवार्डः आयुश घलान, दर्शन गुरुङ, जर्ज प्रिन्स कार्की, मनिष डाँगी र नवयुग श्रेष्ठ

    रहेका छन् ।

  • नेपाल टी–२० क्रिकेट लिग आगामी असोजमा हुने

    नेपाल टी–२० क्रिकेट लिग आगामी असोजमा हुने

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा नेपाल टी–२० फ्रेन्चाइज क्रिकेट लिग हुने भएको छ । प्रतियोगिता आगामी असोज ८ देखि कार्तिक ५ (सेप्टेम्बर २४ देखि अक्टोबर २२) सम्म काठमाडौंमा हुने भएको हो । क्यानले बुधबार पत्रकार सम्मेलन गरी टी–२० लिगको औपचारिक घोषणा गरेको हो । लिग सञ्चालनका लागि क्यानले भारतको ‘सेभेन थ्रीस्पोर्ट्स’ कम्पनीलाई जिम्मेवारी दिएको छ । क्यानले ‘सेभेन थ्रीस्पोर्ट्स’ कम्पनीलाई आठ बर्षसम्म यस प्रतियोगिता सञ्चालनको जिम्मेवारी दिएको हो ।

    जस वापत क्यानलाई ‘सेभेन थ्रीस्पोर्ट्स’ ले बार्षिक चार करोड १२ लाख ५० हजार रुपियाँ उपलब्ध गराउने भएको छ । नेपाली क्रिकेटको विकासमा लागि यो लिग ठूलो कोशेढुङ्गा बताइएको छ । अब नेपालमा आधिकारिक टी–२० लिग यो हुने भएको छ । अन्य लिगलाई क्यानले मान्यता दिने छैन । नेपाली टोलीका कप्तान सन्दीप लामिछानेले घरेलु मैदानमा नेपालको आफ्नै नेपाल टी–२० लिग हुनु खेलाडीका लागि खुशी र गौरवको विषय भएको बताए ।

    डबल राउन्ड लिगका आधारमा खेलाईले यस प्रतियोगितामा पहिलो बर्ष ६ वटा फ्रेन्चाइज टोलीको सहभागिता रहने भएको छ । आगामी बर्षदेखि सहभागि टोली बढाईने छ । यस लिगमा ‘ए’ श्रेणीमा रहेका खेलाडीले कम्तीमा १५ लाख, ‘बी’ मा रहनेले १० लाख र ‘सी’ श्रेणीमा रहने खेलाडीले पाँच लाख रुपियाँ पारिश्रमिक पाउने भएका छन् ।

  • स्वर्ण पदक विजेता सञ्जु चौधरीको आत्महत्या रहस्यमै, गृह जिल्लामा अन्त्येष्टी गरिने

    स्वर्ण पदक विजेता सञ्जु चौधरीको आत्महत्या रहस्यमै, गृह जिल्लामा अन्त्येष्टी गरिने

    काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुदमा नेपालका लागि ऐतिहासिक स्वर्ण जितेकी भारत्तोलन खेलाडी सञ्जु चौधरीले ‘आत्महत्या’ गरेसँगै उनको मृत्यु रहस्यमय बनेको छ । प्रशिक्षक सञ्जय महर्जनको घरमा बस्दै आएकी सञ्जुले सोमबार राति सोही घरको भुइँतलाको कोठामा सलको पासो लगाएर ‘आत्महत्या’ गरेको अवस्थामा फेला परेकी हुन् । प्रहरीले मुचुल्का उठाएर शव पोष्टमार्टमका लागि पाटन अस्पताल पुर्‍याएको थियो ।

    उनको शव अपरान्ह त्रिपरेश्वरमा राखिएको थियो । जहाँ खेलाडी तथा पदाधिकारीहरुले उनलाई अन्तिम श्रद्धाञ्जली अर्पण गरे । उनको अन्तिम संस्कार भने गृह जिल्ला बाँकेमा हुने भएको छ । ६ महिनाअघि नेपाल प्रहरीको जागीर छाडेर बसेकी सञ्जु एसियाली खेलकुदका लागि राष्ट्रिय टोलीमा छानिएकी थिइन् । १३औं सागमा स्वर्ण जित्ने पहिलो महिला भारत्तोलन खेलाडीको कीर्तिमान राखेकी उनको लक्ष्य एसियाली खेलकुदमा शीर्ष पाँचभित्र पर्ने थियो ।

    पुलिसको जागीर छाडेपछि भारत्तोलनका प्रशिक्षक र डाइट न्युट्रिसियनसमेत रहेका सञ्जय महर्जनले सञ्जुलाई आश्रय दिएका थिए । एशियाली खेलकुदमा छनोट भएपछि ललितपुरको लुभुस्थित महर्जनको घरमा बसेर उनले तयारी गरिरहेकी थिइन् । सोमबार राति १० बजेर ३ मिनेटमा सञ्जुले आफ्नो फेसबुक एकाउन्टमा एउटा भिडियो सेयर गरेर क्याप्सनमा लेखेकी छन्, ‘मिसिङ यू लभ ।’ उनले यो बाटो किन रोजिन, रहस्यमै छ ।

  • जिम्बाब्वे ‘ए’ विरुद्ध एकदिवसिय सिरिज नेपाललाई

    जिम्बाब्वे ‘ए’ विरुद्ध एकदिवसिय सिरिज नेपाललाई

    काठमाडौं । जिम्बाब्वे ए विरुद्धको एक दिवसिय क्रिकेट सिरिज नेपालले जितेको छ । सोमबार सम्पन्न तेस्रो तथा अन्तिम खेलमा नेपालले पाहुना टोली जिम्बाब्वेमाथि ६ विकेटको सानदार जित निकाल्यो । नेपालले ब्याट र बल दुबैमा उत्कृष्ट प्रदर्शन गरेको थियो । खेल वर्षाका कारण केही बेर प्रंभावित भयो । सोहीकारण ३३ ओभरमा छोट्याइएको थियो । टस जितेको नेपालले जिम्बावेलाई ब्याटिङको निम्ता दियो । ३३ ओभर जिम्बाब्ेले २१४ रन जोड्न सक्यो । नेपालका तीव्र गतिका बलर किशोर महतोको ५ विकेट लिए ।

    जिम्बावेले दिएको २१४ रनको लक्ष्य नेपालले भने ३०.१ ओभरमा ४ विकेट गुमाएर भेट्टाएको हो । नेपालले पहिलो पटक टेष्ट राष्ट्र अर्थात आईसीसीको पूर्ण सदस्य जिम्बावेको ‘ए’ टिमविरुद्ध एकदिवसीय श्रृंखला खेलेको हो । जसमा नतिजा २–१ ले नेपालको पक्षमा आयो । ब्याटिङतर्फ नेपालका ओपनर ब्याटर कुशल भुर्तेल र मध्यक्रमका ब्याट्सम्यान दीपेन्द्र सिंह ऐरीले शानदार प्रदर्शन गरे । कुशलले सर्वाधिक ८४ रन बनाउँदा दीपेन्द्रले अविजित ६० रन जोडे । नेपाल ठीक एक महिनापछि अमेरिकामा आईसीसी क्रिकेट विश्वकप लिग टू खेल्दैछ ।

  • विश्व पौडी च्याम्पियनसिप र एसियाली खेलकुदका लागि खेलाडी छनोट, को को परे ?

    विश्व पौडी च्याम्पियनसिप र एसियाली खेलकुदका लागि खेलाडी छनोट, को को परे ?

    काठमाडौं । नेपाल पौडी संघले हंगेरीको बुढापेस्टमा हुने १९औँ फिना विश्व पौडी च्याम्पियनसिप र चीनको हाङझावमा हुने १९औँ एसियाली खेलकुदका लागि खेलाडी छनोट गरेको छ । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भएको २४औँ खुला पौडी प्रतियोगिताबाट दुवै प्रतियोगिताका लागि खेलाडीको छनोट गरिएको संघले जनाएको छ । संघका अनुसार एसियाडका लागि ९–९ पुरुषरमहिला गरी १८ खेलाडीको प्रारम्भिक छनोट सम्पन्न भएको हो ।

    विश्व च्याम्पियनसिपका लागि १–१ पुरुष–महिला गरी २ खेलाडीको अन्तिम छनोट गरिएको छ । एसियाडका लागि पुरुषमा नासिर याहया हुसैन, शंकरसनाबहादुर रघुवंशी, तेन्जिन नाम्डोल रायन गुरुङ, एर्भिन श्रेष्ठ, अनुभव सुब्बा, एल्भिन महर्जन, सेरेन सिंह र निर्भय थापा छनोट भएका छन् । महिलामा डुवाना लामा, अनुशिया तण्डुकार, रोयल प्रजापति, रोशा न्यौपाने, उपास्ती महर्जन, युस्का महर्जन, आर्या महर्जन र मेगन गुरुङ रहनुभएको छ । यी १६ खेलाडीलाई २४औं खुला पौडी प्रतियोगिताबाट छनोट गरिएको हो ।

    ओलम्पिनद्वय एलेक्जन्डर गाडेगार्ड शाह र गौरिका सिंहलाई पनि प्रारम्भिक छनोटमा समावेश गरिएको संघले जनाएको छ । दुवैले टोकियो ओलम्पिक २०२० मा प्रतिस्पर्धा गरेका थिए । विश्व च्याम्पियनसिपका लागि नासिर र डुवान छनोट भएका छन् । सबै खेलाडीको छनोट फिना अंक आधारमा गरिएको बताईको छ । विश्व पौडी च्याम्पियनसिप आगामी जुनमा हुँदैछ । भदौ २५ देखि असोज ९ गतेसम्मलाई तय भएकोमा एसियाड भने कोरोना भाइरसका कारण स्थगित भइसकेको छ ।