Category: खेलकुद

  • नवौं राष्ट्रिय खेलकुद: प्याराग्लाइडिङबाट खसेर एक खेलाडीको मृत्यु

    नवौं राष्ट्रिय खेलकुद: प्याराग्लाइडिङबाट खसेर एक खेलाडीको मृत्यु

    काठमाडौं । नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा प्याराग्लाइडिङतर्फ भाग लिएका खेलाडीको खसेर मृत्यु भएको छ।

    क्रस कन्ट्री प्याराग्लाइडिङ खेल उडिरहेको प्याराग्लाडिङ अचानक खस्दा त्रिभुवन आर्मी क्लबका तर्फबाट भाग लिएका २६ वर्षीय निसिम थापाको मृत्यु भएको हो ।

    थापाले सराङकोटबाट उडान भरेका थिए । सय मिटर माथिबाट उनी जमिनमा खसेका थिए । जमिनमा खसेर घाइते भएका थापाको उपचारको क्रममा मेट्रोसिटी अस्पतालमा मृत्यु भएको थियो ।

  • आठौं संस्करणको टी–२० विश्वकप आजबाट

    आठौं संस्करणको टी–२० विश्वकप आजबाट

    काठमाडौं । आठौं संस्करणको टी–२० विश्वकप आजबाट सुरू हुँदैछ। अष्ट्रेलियामा चल्ने प्रतियोगितामा १६ टोली सहभागी छन् । प्रतियोगिता दुई चरणमा चल्नेछ । पहिलो चरणमा समूह ए का दुई खेल हुनेछन्। पहिलो खेलमा श्रीलंका र नामिबियाबीच खेल हुनेछ। खेल नेपाली समय अनुसार बिहान ९ः४५ बजे सुरू हुनेछ। दोस्रो खेल नेदरल्याण्ड र युएईबीच दिउँसो १ः४५ बजे हुनेछ ।

    पहिलो चरणको समूह एमा नामिबिया, श्रीलंका, नेदरल्यान्ड्स र युएई छन्। यस्तै समूह बी मा आयरल्यान्ड, जिम्बावे, वेस्टइन्डिज र स्कटल्यान्ड छन् । पहिलो चरणका दुबै समूहका शीर्ष दुई टोली सुपर १२ मा पुग्नेछन्। पहिलो चरणको खेलपछि मात्रै सुपर १२ को खेलहरू हुनेछन्।

    सुपर १२ को समूह १ मा इंग्ल्यान्ड, न्युजिल्यान्ड, अष्ट्रेलिया, अफगानिस्तानसँगै पहिलो चरणको समूह ए को विजेता र समूह बी को उपविजेता हुनेछन्। सुपर १२ को समूह २ – भारत, पाकिस्तान, दक्षिण अफ्रिका, बंगलादेशसँगै पहिलो चरणको समूह बी को विजेता र समूह ए को उपविजेता हुनेछन् । सुपर १२ मा दुबै समूहका शीर्ष दुई दुई टोली सेमिफाइनलमा पुग्नेछन्।

  • एनआरएनए टिमबाट राष्ट्रिय खेलकुदमा सनसनीपुर्ण प्रदर्शन गर्दै अमेरिकामा जन्मिएकी एस्ली

    एनआरएनए टिमबाट राष्ट्रिय खेलकुदमा सनसनीपुर्ण प्रदर्शन गर्दै अमेरिकामा जन्मिएकी एस्ली

    पोखरा । अमेरिकामा जन्मिएको १६ वर्षीय एस्लि सापकोटा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका दौरान नेपालमा छिन । उनले नेपालमा सनसनीपुर्ण प्रदर्शन जारी राख्दा नेपालबाट अन्तर्राष्ट्रिय प्रदर्शनको प्रस्ताव समेत शुरु भएको छ ।
    एनआरएनएको टिममा समावेश भएपछि एक महिनाको विषेश तयारीपछि एस्ली गत सोमबार नेपाल आइपुगेकी हुन् । शनिबारदेखि सुरु पौडी प्रतियोगितामा एस्लीले पहिलो दिन नै तीन स्वर्ण जितेर आफूलाई बलियो प्रतिस्पर्धीका रुपमा उभ्याएकी छन । चार दिनसम्म चल्ने राष्ट्रिय प्रतियोगितामा उनले आठ वटा स्पर्धामा सहभागिता जनाउनेछिन् ।

    अमेरिकामै जन्मेर उतै हुर्किएकी एस्लीले नेपालमा पहिलोपल्ट राष्ट्रिय च्याम्पियनसिप खेलेकी हुन् । क्यालिफोर्नियामा राज्यस्तरकी पौडी खेलाडी १६ वर्षीय एस्लीले चार वर्षअघि लिटिल एञ्जल्स स्कुलमा आयोजित प्रतियोगिता खेल्न पहिलोपल्ट नेपाल आएकी थिइन् ।

    नेपाली पौडीकी सर्वाधिक सफल खेलाडी गौरिका सिंह अस्वस्थ भएर खेल्न नसकेपछि राष्ट्रिय खेलकुदको पौडी प्रतियोगिताको रौनक एस्लीले कायम राखिन् । एस्लीले स्वर्ण जितेको तीन वटै स्पर्धाको राष्ट्रिय कीर्तिमान (सर्ट कोर्ष) गौरिकाको नाममा छ । तीनमध्ये दुई स्पर्धाको फाइनल खेलमा गौरिकाले स्वास्थ्यका कारण वाकओभर दिएपछि एस्लीलाई जित्न सहज भएको हो । तर, शनिबार बिहान भएको १०० मिटर फ्रिस्टाइलमा उनले गौरिकाभन्दा राम्रो टाइमिङ निकालेकी छिन् ।

    पोखराको फिस्टेल एकेडेमीको सर्ट कोर्ष (२५ मिटर पौडी पोखरी)मा उनले १०० मिटर फ्रिस्टाइलमा १ मिनेट ०१.४२ सेकेण्डको टाइमिङसहित स्वर्ण जितिन् । यो स्पर्धामा त्रिभुवन आर्मी क्लबकी अनुशिया तण्डुकार १ मिनेट ०१.६० सेकेण्डको टाइमिङसहित रजत र नेपाल पुलिसकी मेघन गुरुङले १ मिनेट ०६.२८ सेकेण्डको टाइमिङसहित कास्य जितिन ।

  • राष्ट्रिय खेलकुदको महाकुम्भ पोखरामा शुरु

    राष्ट्रिय खेलकुदको महाकुम्भ पोखरामा शुरु

    पोखरा । नर्वौं राष्ट्रिय खेलकुद पोखरामा औपचारिक रुपमा शुरु भएको छ । गण्डकी प्रदेशको राजधानी पोखरा रंगशालामा नेपाली खेलकुदको कुम्भमेला नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको उदघाटन भएको हो । शुक्रबार विशेष समारोहका बीच नवौं राष्ट्रिय खेलकुदको उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरे । ‘एकतावद्ध देश, खेलकुदको सन्देश’ भन्ने नारासहित राष्ट्रिय खेल अभियान प्रारम्भ भएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले उदघाटन गर्ने तालिका भएपनि अस्वस्थताका कारण उपराष्ट्रपति उपस्थित भएका हुन् ।

    भव्य रुपमा भएको प्रतियोगितामा गण्डकी प्रदेशका ओलम्पियन टीकाबहादुर बोगटीले ओलम्पिक दीप प्रज्वलन गरे । युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले झण्डात्तोलन गरे । उद्घाटन समारोहमा सहभागिता जनाउने ११ टिमले मार्चपास गरेका थिए । त्यसबाहेक झाँकी, नृत्य, गायन लगायत आतिसबाजी गरिएको थियो । कोभिड महामारी लगायत विविध कारणले ४ वर्षपछि धकेलिएको प्रतियोगिता गण्डकीमा ३९ वर्षपछि आयोजना भएको हो ।


    यसअघि गण्डकीमा २०४० सालमा राष्ट्रिय खेलकुद आयोजना भएको थियो । नवौंको अधिकांश खेलहरु पोखरा रंगशालामा हुनेछन् । ११ टिमका ६ हजार १ सय ५७ खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् । जसमा ४ सय ४ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ । यस पटक विभागीय टोली नेपाल पुलिस, नेपाल एपीएफ र नेपाल आर्मीसहित सात प्रदेशका सात टिम र एनआरएनए गरी ११ टिमका खेलाडीले सहभागिता जनाउँदै छन्

  • नेपाल र पाकिस्तान मैत्रिपूर्ण फुटबलमा भिड्दै

    नेपाल र पाकिस्तान मैत्रिपूर्ण फुटबलमा भिड्दै

    काठमाडौं । नेपाल र पाकिस्तान मैत्रिपूर्ण फुटबल खेल्ने भएका छन् । पाकिस्तानको फुटबल टोली मैत्रीपूर्ण खेलका लागि आगामी महिना नेपाल आउन लागेको हो । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले पकिस्तानी टोलीमाथि गरेको निलम्बन फुकुवा गरेसँगै उक्त टोली मध्य नोभेम्बरमा नेपाल आउने भएको हो । यसका लागि उक्त टोलीले पाकिस्तानको लाहोरमा ६ हप्ताको तालिम गरेको छ ।

    पाकिस्तान फुटबल महासंघले बिहीबार यसबारे जानकारी दिएको हो । ‘पाकिस्तानी टोली मध्य नोभेम्बरमा नेपालसँग प्रतिस्पर्धाका लागि जाने तयारी गरेको कुरा घोषणा गर्न पाउँदा हामी खुसी छौं,’ पाकिस्तान फुटबल महासंघले भनेको छ । खेलका लागि टोली घोषणा भने गरिएको छैन । फिफाले पाकिस्तानी टोलीलाई २०२१ को अप्रिलमा निलम्बन गरेको थियो ।

  • राष्ट्रिय खेलकुद गण्डकी प्रदेशको कुन-कुन जिल्लामा हुँदैछ ?

    राष्ट्रिय खेलकुद गण्डकी प्रदेशको कुन-कुन जिल्लामा हुँदैछ ?

    काठमाडौं । राष्ट्रिय खेलकुदको नवौं संस्करण आजबाट औपचारिक रुपमा शुरु हुँदैछ । यसअघि अनौपचारिक रुपमा खेलहरु भने जारी छन् । नवौं राष्ट्रिय खेलकुदमा खेलाइने कूल ३६ वटा खेलहरुमध्ये पोखराको घरेलु मैदानमा नै २६ वटा खेल हुनेछन् । अन्य खेल गण्डकी प्रदेशका तनहुँ, स्याङ्जा, पर्वत, गोरखा, नवलपुर, म्याग्दी र बाग्लुङ जिल्लामा तोकिएको छ ।

    गण्डकीका सबै जिल्लामा राष्ट्रिय खेलकुदअन्तर्गत कम्तीमा एक खेल खेलाउने भनिए पनि पूर्वाधारलगायत कारण लमजुङ, मनाङ र मुस्ताङमा भने यसपटक खेल हुने छैन । आगामी कात्तिक ३ गतेसम्म चल्ने प्रतियोगितामा सात वटा प्रदेशसहित नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, गैरआवासीय नेपाली संघ (एनआरएन) गरी कूल ११ टिमबीच प्रतिस्पर्धा हुने राष्ट्रिय खेलकुद परिषद (राखेप)ले जनाएको छ ।

    एथलेटिक्स, महिला क्रिकेट र ब्याडमिन्टन पोखरा रंगशालामा खेलाइनेछ । पुरुष फुटबल, टेनिस, बक्सिङ, भलिबल पुरुष, जिम्न्याष्टिक, ह्याण्डबल पुरुष तथा महिला, सफ्ट टेनिस, स्क्वास र उसुको प्रतियोगिता पोखरा रंगशालामा हुनेछन् । आर्चरी र फेन्सिङ पनि पोखरा रंगशालामा हुनेछ । जुडो र ‘फुल कन्ट्याक्ट’ कराँते पोखराको प्रदर्शनी हल तथा शारीरिक सुगठन पोखरा सभागृहमा खेलाइने छ ।

    पौडी पोखराका फिस्टेल एकेडेमी, हक्की महिला गण्डकी बोर्डिङ स्कुल, भारत्तोलन पोखरा उद्योग वाणिज्य संघको सभाहल, गल्फ पोखरा हिमालयन गल्फ कोर्समा हुनेछन् । साइक्लिङ, ट्रायथोलन र प्याराग्लाइडिङ पनि पोखरामै हुने छन् । रग्बी भण्डारढिक खेल मैदान, कबड्डी महिला पुरुष दुवै रञ्जित पार्टी प्यालेस रानीपौवा, खोखो पोखरा रंगशालाभित्रको ह्याण्डबल एकेडेमीमा खेलाइने भएको छ ।


    पुरुष बास्केटबल पोखरामा र महिला बास्केटबल तनहुँमा हुने छ भने म्याग्दीमा तेक्वान्दो र महिला भलिबल हुनेछ । बाग्लुङमा आइटिएफ तेक्वान्दोको प्रतियोगिता हुनेछ । नवलपुरमा सेपाकताक्रो र कुस्ती, गोरखामा बुद्धिचाल खेलाउने तय गरिएको छ । स्याङ्जाको वालिङमा महिला फुटबल आयोजना हुनेछ । सुटिङ काठमाडौंमा हुनेछ ।

  • राष्ट्रिय खेलकुदको उद्घाटन आज

    राष्ट्रिय खेलकुदको उद्घाटन आज

    काठमाडौं । नवौं राष्ट्रिय खेलकुद प्रपतयोगिता आज औपचारिक रुपमा शुरु हुँदैछ । गण्डकी प्रदेशमा आयोजित नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको औपचारिक उदघाटन आज कास्कीको पोखरा रंगशालामा हुने भएको हो । उपराष्ट्रपति नन्दबहादुर पुनले अपराह्न साढे तीन बजे राष्ट्रिय खेलकुद प्रतियोगिताको उदघाटनमा पुग्दैछन् । उदघाटन समारोहको सबै तयारी सकिएको नवौं राष्ट्रिय खेलकुद, प्रचारप्रसार उपसमितिले जनाएको छ ।

    राष्ट्रिय खेलकुद प्रतियोगिता विसं २०३८ देखि सुरु भएको थियो । दोस्रो संस्करणको आयोजना २०४० सालमा पोखरामा आयोजना भएको थियो । त्यसको चार दशकपछि नवौं राष्ट्रिय खेलकुद पनि पोखरामै हुन लागेको हो । आठ हजार खेलाडी तथा अफिसियलसहित १० हजारभन्दा बढी व्यक्ति पोखरामा भेला भएका छन् । नवौं राष्ट्रिय प्रतियोगितामा ३९३ स्वर्ण, ३९३ रजत र ६०० काँस्य पदकका लागि प्रतिस्पर्धा हुने छ ।

  • सन्दीपलाई थप ५ दिन थुनामा राख्न अदालतको अनुमति

    सन्दीपलाई थप ५ दिन थुनामा राख्न अदालतको अनुमति

    काठमाडौं । जिल्ला अदालत, काठमाडौंले क्रिकेटर सन्दीप लामिछानेलाई थप ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। बलात्कार अभियोगमा प्रहरी हिरासतमा रहेका लामिछानेलाई बिहीबार प्रहरीले जिल्ला अदालतमा उपस्थित गराएको हो । अदालतले उनलाई थप ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । उनी असोज २० मा पक्राउ परेका थिए ।

    लामिछानेलाई यसअघि अदालतले ७ दिनको म्याद दिएको थियो। भदौ ५ गते १७ वर्षीय नाबालिगमाथि जबरजस्ती करणी गरेको भन्दै भदौ २१ गते प्रहरी वृत्त गौशालामा सन्दीपबिरुद्ध जाहेरी परेको हो । अमेरिकाबाट गत बिहीबार नेपाल फर्किएका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले पक्राउ गरेको हो ।

  • सन्दीपले प्रहरी समक्ष गरे आत्मसमर्पण

    सन्दीपले प्रहरी समक्ष गरे आत्मसमर्पण

    काठमाडौं । बलात्कार आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेले प्रहरी समक्ष आत्मसमर्पण गरेका छन् । उनलाई प्रहरी वृत्त गौशालामा राखिएको छ । कतार एयरवेजको विमानबाट बिहीबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका सन्दीपलाई प्रहरीले विमानस्थलबाटै पक्राउ गरेको हो । पक्राउ गरेर गौशाला लगिएका सन्दीपलाई तत्काल स्वास्थ्य परीक्षणका लागि सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज समेत लगिएको थियो । सिनामंगलबाट सन्दीपलाई पुनः प्रहरी वृत्त गौशाला लगिएको छ ।

    प्रहरीका अनुसार सन्दीपलाई आइतबार अदालत उपस्थित गराइने भएको छ । शुक्रबारसम्म दशैंको बिदा र शनिबार सार्वजनिक बिदा परेका कारण अदालत बन्द हुने भएकोले आइतबार अदालत खुलेपछि म्याद थपका लागि सन्दीपलाई उपस्थित गराइने बताइएको छ ।

    राष्ट्रिय टोलीको कप्तानका रूपमा भदौ ६ गते केन्यामा क्रिकेट सिरिज खेल्न गएका उनलाई विदेशमै रहेका बेला नेपालमा जाहेरी परेको थियो । केन्या जानु अघिल्लो दिन अर्थात् भदौ ५ गते सन्दीपले आफूलाई बलात्कार गरेको भन्दै एक १७ वर्षीया नाबालिगले प्रहरीमा किटानी जाहेरी दिएकी छन् ।

    सोही उजुरीका आधारमा भदौ २३ गते काठमाडौं जिल्ला अदालतले सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । सन्दीपले आफूविरुद्ध लागेको आरोप निराधार भएको भन्दै कानुनी लडाईमा सफल हुने विश्वास व्यक्त गरेका छन् ।

  • सन्दीप आज नेपाल आउँदै

    सन्दीप आज नेपाल आउँदै

    काठमाडौं । बलात्कार आरोप लागेका नेपाली राष्ट्रिय टोलीका निलम्बित कप्तान सन्दीप लामिछाने आज स्वदेश फर्कने भएका छन् । कतार एयरवेजको नियमित उडानबाट बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने बताइएको छ । स्वदेश फर्किन लागेको जानकारी उनले सामाजिक सन्जालमार्फत् दिएका थिए । त्यसबारे नेपाल प्रहरीलाई पनि जानकारी दिइसकेको उनको भनाई छ ।

    उनी विदेशमै रहेको बेला गत भदौ २१ गते एक बालिकाले बलात्कारको जाहेरी दिएकी थिइन् । उनी विरुद्ध नेपाल प्रहरीको आग्रहअनुसार अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको थियो । आफूविरुद्ध उजुरी पर्दा उनी क्यारेबियनल लिग खेल्न नेपालबाहिर थिए । उनी लामो समय सम्पर्कविहिन रहेपछि नेपाल आउन लागेका हुन् ।

  • १९६४ मा पेरु र अर्जेन्टिनाबीचको फुटबल हिंसा सम्झाउने घटना इण्डोनेसियामा, १७४ मारिए

    १९६४ मा पेरु र अर्जेन्टिनाबीचको फुटबल हिंसा सम्झाउने घटना इण्डोनेसियामा, १७४ मारिए

    जाकार्ता । हुलदङ्गामा उत्रिएका फुटबल समर्थकमाथि प्रहरीले अश्रुग्याँस हानेपछि इन्डोनेसियाको एक फुटबल खेल मैदानमा भएको भागदौडमा कम्तीमा १७४ जनाको मृुत्यु भएको छ । बीबीसीका अनुसार अरेमा एफसी आफ्नो प्रतिद्वन्द्वी पर्सिबाया सुरेबायासँग पूर्वी जाभामा पराजित भएको एउटा खेलपछि भएको भागदौडमा करिब १८० जना घाइते भएका छन्। यो घटनाले सन् १९६४ मा लिमामा पेरु र अर्जेन्टिनाबीच भएको ओलिम्पिक छनौट खेलमा भएको हिंसा सम्झाएको छ ।

    उक्त हिंसामा ३२० जनाको ज्यान गएको थियो भने एक हजार भन्दा बढी घाइते भएका थिए। सन् १९८५ मा लिभरपुल र युभेन्ट्सबीच युरोपियन कप फाइनल चलिरहँदा एउटा पर्खाल भत्किँदा त्यसले थिचिएर बस्रल्सस्थित एउटा रङ्गशालामा ३९ जनाको निधन भएको थियो। त्यसबेला ६०० जना घाइते भएका थिए। सन् १९८९ मा यूकेमा एफए कपको सेमिफाइनलको समयमा सेफिल्डस्थित एउटा रङ्गशालामा भागदौडको परिस्थिति निम्तिँदा ९७ जना लिभरपुल समर्थकहरूले ज्यान गुमाएका थिए।


    शनिबार खेल सकिएको सिट्ठी बजेपछि फुटबल समर्थकहरू मैदानमा प्रवेश गरिरहेका भिडिओ फुटेज इन्टरनेटमा सार्वजनिक भएका छन्। प्रहरीले त्यसपछि अश्रुग्याँस प्रहार गरेको थियो। जसले गर्दा भागदौड मच्चियो र मानिसहरू निसासिन पुगेको पूर्वी जाभाका प्रहरी प्रमुख निको अफिन्टाले बताएका छन् । ज्यान गुमाउने मध्ये दुई जना प्रहरी अधिकारी रहेको उनले जानकारी दिए। मृतकमध्ये ३४ जनाको रङ्गशाला भित्रै निधन भएको थियो। ‘उनीहरू एउटै बाहिरिने विन्दुमा गए, त्यहाँ ठूलो भिड भयो र अक्सिजनको अभावले गर्दा सास फेर्न गाह्रो हुने अवस्था आएको हो, अफिन्टाले बताए।

    सामाजिक सञ्जालका भिडियोमा मृतकको शव भुइँमा रहेको देखिन्छ। इन्डोनेसियाका प्रमुख सुरक्षा मन्त्रीले ४० हजार मानिस अटाउने उक्त रङ्गशालामा क्षमताभन्दा बढी मानिसहरू रहेको बताएका छन्। प्रहरी प्रमुख अफिन्टाका अनुसार समर्थकहरू अराजक हुँदै प्रहरी अधिकारीहरूलाई आक्रमण गर्न र कारहरूमा क्षति पुर्‍याएका थिए।


    इन्डोनेसियाको फुटबल सङ्घले घटनाको अनुसन्धान सुरु गरेको जनाएको छ। इन्डोनेसियाको प्रमुख लीग बीआरआई लीगा १ लाई एक हप्ताको लागि निलम्बन गरिएको छ। इन्डोनेशियाको फुटबल एसोसिएशनले शनिवार राति विज्ञप्ति जारी गर्दै उक्त घटनाप्रति दुख व्यक्त गरेको छ र सो विषयबारे अनुसन्धानका लागि एउटा टोली मलंग पठाएको उल्लेख गरेको छ। यो घटनापछि अरेमा एफसीमाथि यो सीजनभरलाई प्रतिबन्ध लगाइएको छ ।

  • उत्कृष्ट फर्ममा मेसी, पिएसजी विजयी

    उत्कृष्ट फर्ममा मेसी, पिएसजी विजयी

    काठमाडौं । अर्जेन्टिनी स्टार लियोनल मेस्सीले आफ्नो उत्कष्ट फर्म जारी राखेका छन् । उनले देश र क्लव दुबैका लागि यो सिजन निरन्तर गोल गरिरहेका छन् । मेसी र केलियन एमबाप्पे चम्किएपछि पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वान फुटबलमा जित निकालेको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा पीएसजीले निसलाई २–१ गोलले हराएको हो ।

    पीएसजीको जितमा मेस्सीले २९औं र एमबाप्पेले ८३औं मिनेटमा गोल गरे । निसका गेटन लाबोर्डेले ४७औं मिनेटमा गरेको गोल सान्त्वना बन्यो । लिगमा पीएसजीको यो लगातार सातौं जित हो । जितसँगै शीर्षस्थानमा रहेको पीएसजीले नौ खेलबाट २५ अंक बनाएको छ । पराजित आठ अंकसहित १३औं स्थानमा छ । दोस्रो स्थानमा रहेको मार्सेलीको २३ अंक छ ।

  • इण्डोनेसियामा फुटबल खेलका दौरान हिंसा, कम्तिमा १२९ को मृत्यु

    इण्डोनेसियामा फुटबल खेलका दौरान हिंसा, कम्तिमा १२९ को मृत्यु

    जाकार्ता । इन्डोनेसियामा फुटबल खेलका क्रममा भएको हिंसामा परी कम्तिमा १२९ जनाको मृत्यु भएको छ । १८० भन्दा बढी घाइते भएका कारण मृतकको संख्या बढ्न सक्ने समाचार एजेन्सीहरुले बताएका छन् । समाचार एजेन्सी एएफपीका अनुसार खेलका क्रममा भएको हिंसा भएको थियो ।

    रोयटर्सका अनुसार इन्डोनेसियाको पूर्वी जाभा प्रान्तका प्रहरी प्रमुखको भनाई उद्धृत गर्दै आइतबार एक फुटबल खेलको क्रममा जम्मा भएको भीडमा भागदौड मच्चिंदा यस्तो हिंसा भएको बताएको छ । हार्ने पक्षका समर्थकले पिचमा आक्रमण गरे बताइएको छ । भीड नियन्त्रण गर्न प्रहरीले अश्रु ग्यास हानेको थियो । मृत्यु हुनेमा खेलाडी परे नपरेको पुष्टी भइसकेको छैन ।

  • नेपाल आएर आत्मसमर्पण गर्ने सन्दीपको तयारी

    नेपाल आएर आत्मसमर्पण गर्ने सन्दीपको तयारी

    काठमाडौं । बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेले आत्मसपर्पणको तयारी गरेका छन् । किशोरीले बलात्कारको जाहेरी दर्ता गराएपछि विदेशमै सम्पर्कविहिन रहेका लामिछानेले शनिबार बिहान एक वक्तव्य जारी गरेका छन् । जसमा उनले आफुले नेपाल फर्किएर आत्मसपर्पण गर्ने उल्लेख गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत लामिछानेले अक्टोबर ६ अर्थात यही असोज २० गते नेपाल फर्किने समेत जनाएका छन् ।

    उनले आफुमाथि झुटा आरोप लगाइएको समेत बताएका छन् । ‘ठूलो आशा र शक्तिका साथ म यही अक्टोबर ६ मा नेपाल आउँदैछु र झुटो आरोपविरुद्ध कानुनी लडाइँ लड्नका लागि नेपाल सरकारसमक्ष आत्मसमर्पण गर्नेछु,’ उनको भनाई छ । उनी क्यारेवियन लीग खेल्न गएकै समयमा नेपालमा उजुरी परेको हो ।

  • बंगलादेशमाथि नेपालको सानदार जित, अन्जनले गरे ह्याट्रिक

    बंगलादेशमाथि नेपालको सानदार जित, अन्जनले गरे ह्याट्रिक

    काठमाडौं । मैत्रीपूर्ण फुटबलमा नेपालले बंगलादेशमाथि सानदार जित निकालेको छ । घरेलु मैदानमा अन्जन विष्टले ह्याट्रिकको मद्दतमा नेपालले बंगलादेशमाथि ३–१ गोल अन्तरको जित निकालेको हो । नेपालका लागि सबै गोल अन्जनले गरेका हुन् । नेपालले १८औं मिनेटमा अन्जनले गोलबाट अग्रता लिएको थियो । विमल घर्ती मगरले राइड साइडबाट प्रहार गरेको फ्रिकिमा उनले हेडर गोल गरे । २७औं मिनेटमाअन्जनले नै नेपालको अग्रता दोब्बर बनाए ।

    विशाल राईले राइड साइडबाट गरेको क्रसमा विमलले पेनाल्टी क्षेत्रमा तेज तामाङलाई बल मिलाइदिए । सोही बलमा तेजको प्रहार बंगलादेशी गोलकिपर अनुसुर रहमानले पञ्च गरेका थिए, तर रिबाउन्ड आएको बललाई अन्जनले १८ यार्ड बक्सभित्रबाट सहजै जालीको दिशा दिए । खेलको ३८औं मिनेटमा अन्जनले ह्याट्रिक गर्दै नेपाललाई ३–० को अवस्थामा पुर्‍याए ।

    विशाल राईले प्रहार गरेको फ्रिकिकमा अन्जनले पेनाल्टी क्षेत्रमा हेडर गोल गरे । अन्जनको यो १०औं अन्तर्राष्ट्रिय गोल हो । उनी नेपालका लागि ह्याट्रिक गर्ने छैटौं खेलाडी बने । यसअघि गणेश थापा, नरेश जोशी, निराजन रायमाझी, भरत खवास र नवयुग श्रेष्ठले ह्याट्रिक गरेका छन् । खेलको ५७औं मिनेटमा बंगलादेशका मोहम्मद टुटुल हुसैन बादशाहले एक गोल फर्काए ।

  • नेपाल र बंगलादेश मैत्रीपूर्ण फुटबलमा आज भिड्दै

    नेपाल र बंगलादेश मैत्रीपूर्ण फुटबलमा आज भिड्दै

    काठमाडौं । नेपाल र बंगलादेशबीच आज मैत्रीपूर्ण फुटबल हुने भएको छ । खेल बेलुका साढे पाँच बजे दशरथ रंगशालामा सुरु हुँदैछ । नेपालको कप्तानी गोलकिपर किरण लिम्बुले गर्दैछन् । यसअघि कुवेतमा भएको एएफसी एसियन कप छनोटको तेस्रो चरणमा नेपालको कप्तानी नवयुग श्रेष्ठलाई दिइएको थियो ।

    पछिल्लो समय नोपली फुटबलमा गुटउपगुट देखिएका छन् । तत्कालीन मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले किरणसहित ११ खेलाडीलाई टीमबाट निकालेपछि असन्तुष्टी बढेको छ । किरण बंगलादेशसँगको खेलबाट टोलीमा फर्किदैछन् ।

    एन्फाले सामान्यमा ५ सय र भीआईपीतर्फ १ हजार रुपैयाँ टिकट मूल्य तोकेको छ । सीमित ८० सिटका लागि भने ५ हजार रुपैयाँ तोकिएको छ । नेपालले बंगलादेशसँग अहिलेसम्म २४ खेल खेलेकोमा बंगलादेशले १२ खेलमा जितेको छ । नेपालले ७ खेल मात्रै जित्दा ५ खेल बराबरीमा सकिएको छ ।

  • सन्दीप लामिछानेविरुद्ध इन्टरपोलद्धारा डिफ्युजन नोटिस जारी

    सन्दीप लामिछानेविरुद्ध इन्टरपोलद्धारा डिफ्युजन नोटिस जारी

    काठमाडौं । नेपाली क्रिकेटर सन्दीप लामिछानेविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको छ । नेपाल प्रहरीको आग्रह गरेपछि इन्टरपोलले सन्दीपविरुद्ध डिफ्युजन नोटिस जारी गरेको प्रहरी प्रधान कार्यालय स्रोतलाई उदृत गर्दै सञ्चारमाध्यमले जनाएका छन् । डिफ्युजन नोटिस जारी गरेपछि इन्टरपोलमा आवद्ध रहेका १३५ देशले आफ्नो देशमा सन्दीप भए नभएको खोजी गर्न सक्नेछन् ।

    आफ्नो देशमा रहेको पत्ता लागेमा नेपाल पठाउने प्रक्रिया सुरु गर्नेछन् । सन्दीपमाथि एक किशोरीले बलात्कारको आरोपमा प्रहरीमा जाहेरी दिएकी छन् । आफूविरुद्ध उजुरी पर्दा क्यारेबियनल लिग खेल्न नेपालबाहिर रहेका सन्दीप हालसम्म स्वदेश फर्किएका छैनन् । उनी कहाँ छन् भन्नेसमेत पत्ता लागेको छैन ।

  • बलात्कार आरोपपछि विदेशमा सम्पर्कविहिन सन्दीपले लेखे स्टाटस, के भने ?

    बलात्कार आरोपपछि विदेशमा सम्पर्कविहिन सन्दीपले लेखे स्टाटस, के भने ?

    काठमाडौं । नाबालिग बलात्कारको आरोपमा जाहेरी परेपछि विदेशमै सम्पर्क विहिन भएका सन्दीप लामिछानेले फेसबुकमा स्टाटस लेखेका छन् । उनी वेपत्ता भएपछि पक्राउ गर्न प्रहरीले इन्टरपोलमार्फत नोटिस जारी गर्ने प्रक्रिया अघि बढाएको थियो । उनीविरूद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको १८ दिन पुगेको छ । अदालतले उनलाई २३ भदौमा पक्राउ गर्न अनुमति दिएको हो । त्यसपछि उनी सम्पर्क बिहिन भएका हुन् । उनले आइतबार राति सवा दस बजे फेसबुकमा यस्तो स्टाटस राखेका छन् …


    १६ वर्षको उमेरमा राष्ट्रिय क्रिकेट टिममा समावेश हुन पाउनु मेरो शौभाग्य हो। त्यो मेरो थोरै मेहनत, परिश्रमले आर्जन गर्न सकिने कुरा थिएन। सकारात्मक सोच, अथक मेहनत र आफूलाई सुधार्न गरिएको निरन्तर प्रयासका साथै मलाई साथ सहयोग गर्नु हुने मेरा परिवार, साथीभाइ र अग्रजहरू लगायत मेरो पूरै क्रिकेट टिमको साथ, सहयोग र आशीर्वादले म आजको अवस्था सम्म पुग्न सकेको हुँ। म सदैव विश्व क्रिकेट जगतमा नेपालको नाम उच्च राख्ने प्रोरणाले अघि बढेको छु। मैले आफ्नो मेहनतले नेपालको नाम चिनाउन पाउँदा गौरवान्वित महसुस गर्छु।

    मविरूद्ध भदौ २१ गते परेको जाहेरी मैले भदौ २२ गते थाहा पाएँ। मविरूद्ध परेको झुट्टा जाहेरीको विषयमा विद्युतीय सञ्चारमाध्यम र समाजिक सञ्जालमा एकलौटी तरिकाले, सत्यतथ्य नबुझी झुट्टा जाहेरी मात्रको आधारमा मेरो चरित्रमा गम्भीर आँच आउने गरी समाचारहरू आए। मेरो नाउँमा वारेन्ट जारी भएको समाचार र मविरूद्ध परेको जाहेरी सार्वजनिक हुनुले मलाई मानसिक रूपमा विछिप्त बनायो। के गर्ने के नगर्ने भन्ने सोच्न सक्ने अवस्था मेरो रहेन।

    यी सब कुराले मलाई एकातिर मानसिक असर गर्‍यो भने अर्कोतिर म बिरामी अवस्थाबाट गुज्रिन पर्‍यो र मानसिक तनाव र स्वास्थ्य खराबीका कारण मैले मलाई आइसोलेसनमा राखेर बसेको छु। झुट्टा जाहेरीकै भरमा अपराधीको चित्रणले मलाई मानसिक र शारीरिक रूपमा प्रभावित भई असन्तुलित अवस्थामा पुगी डाक्टरहरूको सरसल्लाहमा आफूलाई सामान्य अवस्थामा ल्याउँदै आएको छु र मेरो स्वास्थ्यमा क्रमिक सुधार आउँदैछ र जतिसक्दो चाँडो नेपाल फर्किएर मविरूद्धको झुट्टा उजुरीको डटेर प्रतिवाद गर्न नेपाल फर्किने तरखरमा छु।

    क्रिकेट प्रति सानैदेखि जुनुन भएको म एउटा सामान्य परिवारको मानिस हुँ। मेरो लागि जीवनमा क्रिकेट र मेरो देश मात्रै प्राथमिकतामा रहे। मलाई लाग्छ, नेपाली क्रिकेटलाई अन्तराष्ट्रिय रूपमा चिनाउन मेरो पनि भूमिका रहेको छ। चाहे त्यो खेलाडीको रूपमा होस् वा चाहे कप्तानको रूपमा। राष्ट्रको लागि दिलोज्यानले खेलिरहेको म एउटा इमानदार क्रिकेट खेलाडी आज एउटा गम्भीर षड्यन्त्रको सिकार भएको महशुस भएको छ।

    मेरो अनुपस्थितिमा मलाई अपराधी सावित गराउने झुट्टा जाहेरी प्रपञ्चहरूको मैले कानुनी लडाइँ लड्ने छु। मैले बुझेसम्म नेपालको संविधानले कसुर प्रमाणित नभएसम्म कसुरदार नमानिने व्यवस्था गरेको छ। साथै संविधानले सम्मानपूर्वक बाँच्न पाउने, यातना विरूद्धको हक, गोपनीयताको हक, स्वास्थ्य सम्बन्धीको हक र मेरो कानुन व्यवसायीसँग कानुनी परामर्श गर्न पाउने हक समेत छ।

    म र नेपाली क्रिकेट प्रति सद्भाव राख्ने आदरणीय बुवाआमा, दाजुभाइ, मित्रहरू र क्रिकेट प्रेमीहरू, मेरा समर्थकहरू प्रति आभार व्यक्त गर्दछु। म वा मविरूद्ध अफवाह फैलाउने समाचारहरू सम्प्रेषण नगरी दिन हुन सम्पूर्णमा विनम्र अनुरोध गर्दछु।

  • बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय फुटबल टोलीको घोषणा

    बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय फुटबल टोलीको घोषणा

    काठमाडौं । बंगलादेशसँगको मैत्रीपूर्ण फुटबल खेलका लागि नेपाली फुटबल टोलीको घोषणा भएको छ ।

    अखिल नेपाल फूटबल संघ (एन्फ) का कार्यवाहक प्रशिक्षक प्रदीप हुमागाइँले अन्तिम २३ सदस्यीय टोली घोषणा गरेका हुन् ।

    तत्कालीन प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको क्याम्पबाट बाहिरिएका खेलाडीलाई समेत समेट्दै हुमागाइँले टोली सार्वजनिक गरेका हुन्।

    उनले सार्वजनिक गरेको सूचीमा आशिष चौधरी र ऋतिक खड्काले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन्।

    २३ सदस्यीय टोली

    गोलकिपर : किरण चेम्जोङ, विशाल श्रेष्ठ, दीप कार्की, विकेश कुथु

    डिफेन्डर : रोहित चन्द, अनन्त तामाङ, विकास तामाङ, दिनेश राजवंशी, विकास खवास, सुमन अर्याल, रेजिन धिमाल

    मिडफिल्डर : सुदीप गुरुङ, तेज तामाङ, सेसेहाङ आङ्देम्बे, विशाल राई, सुजल श्रेष्ठ, सुरज जिउ ठकुरी, एरिक विष्ट

    फर्वार्ड : विमल घर्ती मगर, अन्जन विष्ट, ऋतिक खड्का, मनिष डाँगी, आशिष चौधरी

  • साफ महिला च्याम्पियनसिप : नेपाललाई हराउँदै बंगलादेशले जित्यो ऐतिहासिक उपाधी

    साफ महिला च्याम्पियनसिप : नेपाललाई हराउँदै बंगलादेशले जित्यो ऐतिहासिक उपाधी

    काठमाडौं । नेपाल साफ महिला च्याम्पियनसिपमा नेपाल पुनः उपविजेतामा सिमित भएको छ । दशरथ रंगशालामा भएको फाइनलमा नेपाल बंगलादेशसँग ३–१ गोलले पराजित भयो । साफ महिला फुटबलमा नेपाल फाइनलमा पराजित भएको यो पाँचौ पटक हो । उता, बंगलादेशले भने छैटौँ संस्करणको साफ महिला च्याम्पियनसिपको उपाधि जित्दै नयाँ ईतिहास कायम गरेको छ । दशरथ रंगशालामा सोमबार भएको फाईनलमा १५ हजार बढी घरेलु दर्शक अघि नेपाललाई ३–१ ले पराजित गर्दै बंगलादेशले पहिलो पटक साफ महिला च्याम्पियनसिपको उपाधि जितेको हो ।

    पहिलो हाफमा २–० ले पछि परेको नेपालले ७० ‌औं मिनेटमा गोल फर्काएको थियो । नेपालका लागि अनिता बस्नेतले गोल गरिन् । बस्नेतको गोलमा नेपाल खेलमा पर्किन खोजे पनि ७७ औं मिनेटमा बंगलादेशले अर्को गोल थपेर खेल आफ्नो पक्षमा पारेको हो । हारसँगै महिला टीमका प्रशिक्षक कुमार थापाले आफ्नो जिम्मेवारी छाडेको घोषणा गरे ।

  • महिला साफ च्याम्पियनसिप : भारतमाथि नेपालको ऐतिहासिक जित

    महिला साफ च्याम्पियनसिप : भारतमाथि नेपालको ऐतिहासिक जित

    काठमाडौं । भारतमाथि ऐतिहासिक जित निकाल्दै नेपाल महिला साफ च्याम्पियनसिपको फाइनल प्रवेश गरेको छ । शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालले चिरप्रतिद्वन्द्वी भारतमाथि १–० को जित निकाल्यो । महिला साफ च्याम्पियनसिपको इतिहासमा नेपालले भारतलाई हराएको यो नै पहिलो पटक हो । हजारौं समर्थकको बीचमा नेपाललाई जिताउन रश्मीकुमारी घिसिङले निर्णायक गोल गरिन् ।

    पहिलो हाफको अन्तिम मिनेटमा प्रिती राईको पासमा उनले निर्णायक गोल गरिन् । पाँच पटकको बिजेता भारतले पनि दोश्रो हाफमा गोलका लागि केही अवसर बनाए पनि फिनिसिङ गर्न सकेन । समूह चरणमा नेपालले भुटानलाई ४–० र श्रीलंकालाई ६–० ले हराएको थियो । अब नेपालले उपाधिका लागि बंगलादेशसँग सोमबार खेल्नेछ । नेपाल फाइनलमा पुगेको भने पाँचौं पटक हो । यसअघि चार पटक नै नेपाल फाइनलमा भारतसँग पराजित भएको थियो ।

  • साफ यू-१७ :उपाधीका लागि नेपाल र भारत आज भिड्दै

    साफ यू-१७ :उपाधीका लागि नेपाल र भारत आज भिड्दै

    काठमाडौं । श्रीलंकामा जारी साफ यू–१७ च्याम्पियनसिप फुटबलको उपाधिका लागि आज नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदैछ । कोलम्बोको रेस कोर्स मैदानमा हुने फाइनल खेल राति ८ः१५ बजे सुरु हुनेछ । प्रतियोगितामा नेपाल आफ्नो अपराजित यात्रालाई कायम राख्दै उपाधि जित्ने अभियानमा छ । भारत पनि नेपाललाई हराएर उपाधि रक्षा गर्ने तयारीमा छ । भारत साविक विजेता हो ।

    नेपाली टोलीका प्रशिक्षक उर्जन श्रेष्ठले भारतलाई कडा टक्कर दिने योजनामा रहेको बताउँछन् । नेपालले समूह चरणमा भारतलाई ३–१ गोलले हराएको थियो । त्यसैले पनि नेपाल उच्च मनोबल सहित भारतसँग त्यही नतिजा कायम राख्ने दाउमा छ । भारत समूह चरणमा खेपेको हारको बदला लिन चाहन्छ । च्याम्पियनसिपको सेमिफाइनलमा भारतले बंगलादेशलाई २–१ र नेपालले आयोजक श्रीलंकालाई ६–० गोलले पराजित गरेको थियो ।

  • साफ महिला च्याम्पियनसिप : बंगलादेशले भारतलाई हरायो

    साफ महिला च्याम्पियनसिप : बंगलादेशले भारतलाई हरायो

    काठमाडौं । साफ महिला च्याम्पियनसिपको सेमिफाइलनमा नेपाल र भारत भिड्ने निश्चित भएको छ । २०१९ मा सेमिफाइनलबाट बाहिरिएको बंगलादेश पाँच पटकको साफ च्याम्पियन भारतलाई हराउँदै समूह एको विजेता बनेको छ । यससँगै सेमिफाइनलमा नेपाल र भारतको भेट पक्का भएको छ । बंगलादेशले सेमिफाइलनमा समूह एको उपविजेता भुटानलाई प्रतिद्वन्द्वी पाएको छ । साफ महिला च्याम्पियनसिपका यसअघिका पाँचै वटा संस्करणमा नेपाल र भारतको भेट भएको छ । चार पटक फाइलनमा र एक पटक सेमिफाइनलमा नेपाल भारतसँग पराजित भएको थियो ।

    जसमा तीन खेलमा नेपालले गोल गर्दै दुई खेलमा नेपालले भारत विरुद्ध गोल गर्न सकेको छैन । पाँच पटक आमने सामने हुँदा भारतले नेपालको पोष्टमा १६ गोल गरेको छ भने नेपालले जम्मा ३ गोल मात्र फर्काएको छ । नेपाल र भारत तथा बंगलादेश र भुटानबीचको सेमिफाइनल खेल शुक्रबार हुने छ । मंगलबारको खेलमा भारतलाई हराउने क्रममा बंगलादेशका जाहान सोप्नाले २ तथा कृष्णरानी सरकारले एक गोल गरिन् । यो साफ इतिहासमा नै भारतको पहिलो हार हो । यसअघि सन् २०१६ मा भारत र बंगलादेशले गोलरहित बराबरी खेलेका थिए । त्यो बाहेक अरु सबै खेल भारतले जितेको थियो ।

  • एएफसी यू-२० एसिया कप छनोट : नेपालको लगातार दोस्रो हार

    एएफसी यू-२० एसिया कप छनोट : नेपालको लगातार दोस्रो हार

    काठमाडौं । बहराइनमा चलिरहेको एएफसी यू–२० एसियन कप छनोटमा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ। गतराति सम्पन्न खेलमा नेपाल कतारसँग ३–१ गोल अन्तरले पराजित भएको हो। शेख अलिबिन मोहमद अल खालिफा स्टेडियममा कतारलाई जिताउन मोहमद मन्सुर अली, मोहमद सुराग र राशिद अब्दुलाजिज अल अब्दुलाले गोल गरे। नेपालले भने एक मात्र गोल आत्मघाती उपहार पायो । खेलको ३० औं मिनेटमा मोहमद मन्सुर अलीले गोल गर्दै कतारलाई सुरूआती अग्रता दिलाएका थिए।

    इन्जुरी समयमा मोहमद सुरागले गोल गर्दै कतारलाई पहिलो हाफमा नेपालविरूद्ध २–० को अग्रता दिलाए। खेलको ६० औं मिनेटमा राशिद अब्दुलाजिज अल अब्दुलाले गोल गर्दै कतारलाई ३–० को अग्रता दिलाए। त्यसपछि खेलको ७६ औं मिनेटमा जासिमल मोहमदले आत्मघाती गोल गरे । यस जितसँगै कतारले प्रतियोगितामा विजयी सुरूआत गरेको छ। कतारले पहिलो खेलमा ३ अंक जोडेको छ । लगातार दुई खेलमा हार व्यहोरेको नेपालले भने अंक जोड्न सकेको छैन। समूह ‘बी’ मा रहेको नेपाल समूहको पुछारमा रहेको छ।

    यसअघि भएको पहिलो खेलमा नेपाल भुटानसँग २–० गोलले पराजित भएको थियो । यस समूहमा नेपाल र कतारसँगै भुटान, आयोजक बहराइन र बंगलादेश रहेका छन्। अब नेपालले बुधबार आयोजक बहराइनसँग खेल्नेछ। यस्तै अन्तिम खेलमा नेपालले बंगलादेशसँग अर्को हप्ताको आइतबार खेल्नेछ। समूह विजेताले सन् २०२३ मा उज्वेकिस्तानमा आयोजना हुने यू२० एसियन कपमा स्थान बनाउने छन्।

  • महिला साफ च्याम्पियनसिप : श्रीलंकामाथि सानदार जित निकाल्दै नेपाल सेमिफाइनलमा

    महिला साफ च्याम्पियनसिप : श्रीलंकामाथि सानदार जित निकाल्दै नेपाल सेमिफाइनलमा

    काठमाडौं । साफ महिला च्याम्पियनसिपमा नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ। सोमबार दशरथ रंगशालामा भएको समूह ‘बी’ को अन्तिम खेलमा श्रीलंकालाई ६–० गोलले पराजित गर्दै नेपाल अन्तिम चारमा समूह विजेता बनेर पुगेको हो। नेपालले पहिलो हाफमै चार गोल गरेको थियो। नेपालका लागि खेलको दशौं मिनेटमा रश्मीकुमारी घिसिङले हेडमार्फत पहिलो गोल गरेकी थिइन्। लगत्तै अर्को मिनेटमा सुरू लिम्बुले नेपालको अग्रता दोब्बर पारिन्।

    खेलको १७ मिनेटमा अमृत जैशीले नेपालका लागि तेस्रो गोल गरिन्। नेपालले सात मिनेटको अन्तरमा तीन गोल गरेपछि श्रीलंका दबाबमा आएको थियो। नेपालका लागि चौथो गोल दिपा शाहीले गरिन्। उनले पहिलो हाफको इन्जुरी टाइमको तेस्रो मिनेटमा गोल गरिन्। ७७ मिनेटमा अमिसा कार्कीले अर्को गोल थपिन्। रेखा पौडेलको स्थानमा दोस्रो हाफमा मैदान छिरेकी अमिसाले उत्कृष्ट फिनिसिङ गरेकी थिइन्। अमिसाले दोस्रो हाफको इन्जुरी टाइममा व्यक्तिगत दोस्रो तथा टिमका लागि छैठौं गोल गरिन्। उनले एकल प्रयासमा श्रीलंकाका तीन डिफेन्डरलाई पार गर्दै उत्कृष्ट फिनिसिङ गरेकी थिइन्।

    नेपाल समूह विजेता बनेसँगै भुटान भने उपविजेताको रुपमा सेमिफाइनलमा पुगेको छ। यसअघि भुटानले आफ्नो दोस्रो खेलमा श्रीलंकालाई ५–० गोलले पराजित गरेको थियो। समूहको पहिलो खेलमा नेपालले भुटानमाथि ४–० को जित निकालेको थियो। अब सेमिफाइनलमा ‍नेपालले शुक्रबार भारत वा बंगलादेशसँग खेल्नेछ। समूह ‘ए’ बाट भारत र बंगलादेश अन्तिम चारमा पुगे पनि समूह विजेताको टुंगो लाग्न बाँकी छ। भारत र बंगलादेश भोलि भिड्दैछ। हार बेहोर्ने टिमसँग नेपालले शुक्रबार साँझ खेल्नेछ। यसअघिका पाँच संस्करणकै उपाधि भारतले जितेको थियो। नेपाल भने चार पटक फाइनलमा पराजित भएको थियो।

  • महिला साफ च्याम्पियन्सिप : आज नेपाल र श्रीलंका भिड्दै

    महिला साफ च्याम्पियन्सिप : आज नेपाल र श्रीलंका भिड्दै

    काठमाडौं । महिला साफ च्याम्पियनसिप फुटबलमा नेपालले आज श्रीलङ्कासँग खेल्दैछ । खेल बेलुका साढे ५ बजे दशरथ रङ्गशालामा हुनेछ । नेपाल आज लगातार दोस्रो जितको खोजीमा हुनेछ ।समूह ’बी’ को नेपालले १ खेलमा ३ अङ्क जोडेको छ । नेपाल आज श्रीलङ्कालाई हराएर सेमिफाइनल पुग्न चाहन्छ ।

    श्रीलङ्कालाई पराजित गरेको खण्डमा नेपाल समूह विजेता बन्दै अन्तिम चारमा पुग्नेछ । नेपालले पहिलो खेलमा भुटानलाई ४–० गोल अन्तरले हराएको थियो । श्रीलङ्का भने पहिलो जितको खोजीमा हुनेछ । समूह ुएु बाट भारत र बङ्गलादेशले अन्तिम चारमा स्थान बनाइसकेका छन् । माल्दिभ्स र पाकिस्तान भने प्रतियोगिताबाट बाहिरिसकेका छन् ।

  • टी-२० एसिया कपको उपाधी श्रीलंकालाई

    टी-२० एसिया कपको उपाधी श्रीलंकालाई

    काठमाडौं । टी–२० एसिया कप २०२२ को उपाधि श्रीलंकाले जितेको छ । बलिङ, ब्याटिङ र फिल्डिङ तीन वटै क्षेत्रमा श्रीलंकाका खेलाडीले उत्कृष्ट प्रदर्शन गन सफल भए । श्रीलंकाले फाइनलमा पाकिस्तानलाई २३ रनले हराएको हो । पहिले ब्याटिङ गरेको श्रीलंकाले पाकिस्तानलाई जितका लागि १७१ रनको लक्ष्य दिएको थियो । पाकिस्तानले उक्त लक्ष्य निर्धारित २० ओभरमा अलआउट हुँदै १४७ रन मात्रै बनाउन सक्यो ।

    पाकिस्तानका मोहम्मद रिजवानले ५५ रनमा बनाए । इफित्खार अहमदले ३२ रन र हरिस रौफले १३ रन जोडे । श्रीलंकाका प्रमोद मदुशनले ४ ओभरमा ३४ रन खर्चेर ४ विकेट लिए । स्पिनर वानिन्दु हसरंगाले ४ ओभरमा २७ रन खर्चेर ३ विकेट लिए । दुबई इन्टरनेशल स्टेडियममा टस हारेर ब्याटिङ गरेको श्रीलंकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७० रन बनाएको थियो ।

    श्रीलंकाका भानुका राजपक्षे अविजित सर्वाधिक ७१ रन बनाए, वानिन्दु हसरंगा ३६, धनन्जय डे सिल्भाले २८ र चमिकाले १४ रन बनाए । श्रीलंकाले छैटौं पटक एसिया कपको उपाधी जितेको हो ।

  • नेपाली राष्ट्रिय टोलीका प्रमुख प्रशिक्षक अल्मुताइरीले दिए राजीनामा

    नेपाली राष्ट्रिय टोलीका प्रमुख प्रशिक्षक अल्मुताइरीले दिए राजीनामा

    काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले जिम्मेवारी छाडेको घोषणा गरेका छन् ।

    आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत अल्मुताइरीले ५ सय २५ दिनसम्म फुटबल प्रशिक्षक भएर काम गर्न पाउँदा खुसी, माया र पीडामा साथ दिने सबैलाई धन्यवाद दिँदै उनले आफ्नो कार्यकाल सकिएको घोषणा गरेका हुन् ।

    उनले लेखेका छन्, ‘नेपाली फुटबलको सेवामा ५२५ दिनपछि नेपाली राष्ट्रिय टोलीको प्रशिक्षक पदमा आफ्नो कार्यकाल समाप्त भएको घोषणा गर्दछु । खुशी, माया, दुःख र पीडा बिनाको यो यात्रामा मलाई साथ दिनुहुने सबैलाई धन्यवाद।
    एउटा टोली, जय नेपाल ।’

    हाल विदामा रहेका अलमुताइरी आफ्नो देश कुवेतमा छन्। नेपालले एएफसी एसिया कपको छनोट कुवेतमा खेलेपछि उनी उपाचारका लागि उतै बसेका थिए।

    एएफसी एसिया कप छनोटअघि अलमुताइरी र राष्ट्रिय टिमका १० जना खेलाडीबीच विवाद भएको थियो। विवादका कारण उनले खेलाडीलाई क्याम्प छाड्न निर्देशन दिएपछि खेलाडी र प्रशिक्षक विवादले उग्ररुप लिएको थियो।

    त्यसपछि एन्फाले गठन गरेको कार्यदलले विवादमा आइरहने अलमुताइरीको विकल्प खोज्न एन्फालाई सिफारिस गरेको थियो।

    एन्फा र अलमुताइरीबीच सन् २०२४ सम्मका लागि सम्झौता छ। उनलाई खान र बस्न एन्फाले व्यवस्था गरे पनि तलब भने कतार फुटबल एसोसिएसनले उपलब्ध गराइरहेको छ। कतारले सहयोगस्वरुप प्रो-लाइसेन्सप्राप्त अलमुताइरीलाई २०७७ को चैतमा नेपाल पठाएको थियो।

  • एएफसी यू–२० च्याम्पियनसिप छनोट : नेपाललाई भुटानले हरायो

    एएफसी यू–२० च्याम्पियनसिप छनोट : नेपाललाई भुटानले हरायो

    काठमाडौं । एएफसी यू–२० च्याम्पियनसिप छनोटमा नेपाल भुटानसँग पराजित भएको छ। बहराइनमा जारी एएफसी यू–२० च्याम्पियनसिप २०२३ को छनोट अन्तर्गत शनिबार भएको समूहको पहिलो खेलमा नेपाल भुटानसँग २–० गोल अन्तरमा पराजित भएको हो।

    खेलको ३३ औं मिनेटमा सोनाम चोजाङको गोलमा भुटानले सुरूआती अग्रता लिएको थियो। पहिलो हाफमा १-० ले पछि परेको नेपाल दोस्रो हाफमा थप एक गोल खायो । दोस्रो हाफको सुरूवातमै भुटानले अग्रता दोब्बर पार्‍यो। कर्मा टासी जाम्सोले गोल गर्दै भुटानको अग्रता दोब्बर पारे। इन्ज्युरी समयको अन्तिम मिनेटमा नेपाल १० खेलाडीमा समेटियो।

    अभिषेक वाइबालाई सोझै रातो कार्ड दिएर रेफ्रीले मैदान बाहिर पठाएका थिए। यो जितसँगै भुटानले सानदार प्रतियोगितामा विजयी सुरूआत गरेको छ। गत महिना सम्पन्न साफ यू–२० च्याम्पियनसिपमा तेस्रो भएको नेपाल पहिलो खेलमै पराजित भएको हो।

    छनोटको यो समूहमा नेपाल र भुटानसँगै कतार, आयोजक बहराइन र बंगलादेश छन्। बंगलादेश साफ यू–२० मा उपविजेता बनेको थियो। एएफसी यू–२० छनोटमा अब नेपालले सोमबार कतारको सामना गर्नेछ। खेल नेपाली समयअनुसार रातको ११ः४५ बजे हुनेछ।

  • एएफसी यू-२० एसियन कप छनोट : आज नेपाल र भूटान भिड्दै

    एएफसी यू-२० एसियन कप छनोट : आज नेपाल र भूटान भिड्दै

    काठमाडौं । बहराइनमा शनिबारदेखि एएफसी यू–२० एसियन कप छनोटका खेल हुँदै छन् । आज हुने पहिलो खेलमा नेपालले भुटानसँग प्रतिस्पर्धा गर्दैछ । खेल खालिफा सिटी स्पोर्ट्स स्टेडियममा शनिबार राति ८ः४५ मा सुरु हुनेछ । नेपाल रहेको समूह बी मा भुटान, बंगलादेश, कतार र बहराइन छन् ।