Category: खेलकुद

  • विश्वकप : दोस्रो खेलमा अर्जेण्टिनाले पस्कियो उत्कृष्ट खेल

    विश्वकप : दोस्रो खेलमा अर्जेण्टिनाले पस्कियो उत्कृष्ट खेल

    काठमाडौं । फिफा विश्वकप २०२२ अन्तर्गत अर्जेन्टिनाले पहिलो जित निकालेको छ । पहिलो खेलमा साउदी अरेवियासँग अप्रत्यासित हार बेहोरेको अर्जेण्टिनालाई यो खेल जित्नै पर्ने दवाव थियो । समूह ‘सी’ को खेलमा अर्जेन्टिनाले मेक्सिकोलाई २–० गोलले हरायो । अर्जेन्टिनाका लागि मेसी र फर्नान्डेजले एक एक गोल गरे। मेसीले डि मारियाको पासमा खेलको ६४ मिनेटमा पहिलो गोल गरेका थिए। मेसीले विश्वकपमा आफ्नो गोल संख्या ८ पुर्‍याए ।

    पहिलो गोल गरेका मेसीले दोस्रो गोलका लागि पास उपलब्ध गराए। उनले ८७ मिनेटमा दिएको पासमा इन्जो फर्नान्डेजले अर्जेन्टिनाको अग्रता दोब्बर पारेका थिए। जितसँगै अर्जेन्टिनाले अन्तिम १६ मा पुग्ने आसा जीवितै राखेको छ। समूहमा दोस्रो स्थानमा रहेको अर्जेन्टिनाको ३ अंक भएको छ। शीर्ष स्थानको पोल्यान्डको ४ अंक छ भने साउदीले ३ अंक र मेक्सिकोले १ अंक जोडेका छन्।

  • विश्वकप : फ्रान्स अन्तिम १६ मा-चम्किए एमबाप्पे

    विश्वकप : फ्रान्स अन्तिम १६ मा-चम्किए एमबाप्पे

    काठमाडौं । साविक विजेता फ्रान्स फिफा विश्वकप २०२२ को अन्तिम १६ मा प्रवेश गरेको छ। शनिबार राति सम्पन्न समूह ‘डी’ को खेलमा फ्रान्सले डेनमार्कलाई पराजित गर्दै अन्तिम १६ मा पुगेको हो । लगातार दोस्रो जित निकाल्ने क्रममा फ्रान्सले २–१ गोलको जित निकाल्यो। दुवै गोल केलियन एमबाप्पेले गरे। उनले पहिले गोल ६१ मिनेटमा गरेका थिए।

    तर ६८ मिनेटमा क्रिस्टिनसनले डेनमार्क लागि बराबरी गोल फर्काए। खेल सकिन चार मिनेट बाँकी छदा एमबाप्पेले टिम तथा व्यक्तिगत दोस्रो गोल गरे। उनले विश्वकपमा आफ्नो गोल संख्या ७ पुर्‍याएका छन् भने विश्वकपमा पछिल्ला तीन खेलमा लगातार गोल गरेका छन्। यता फ्रान्सले विश्वकपमा लगातार ६ खेल जित्ने कीर्तिमान समेत बनाएको छ। सन् २०१० मा स्पेनले लगातार ६ खेल जितेपछि फ्रान्स लगातार ६ खेलमा विजयी हुने पहिलो टिम बन्यो।

    अन्तिम १६ मा पुगेको फ्रान्सले समूहमा २ खेलबाट ६ अंक जोडेको छ। यसअघि पहिलो खेलमा फ्रान्सले अस्ट्रेलियालाई हराएको थियो। शनिबार नै समूहमा टयुनिसियालाई हराएको अस्ट्रेलियाले ३ अंक जोडेको छ। पहिलो खेलमा एकआपसमा बराबरी खेलेका डेनमार्क र ट्युनिसियाको भने एक एक अंक छ।

  • विश्वकप : साउदीलाई हराउँदै पोल्याण्डले जोड्यो तीन अंक

    विश्वकप : साउदीलाई हराउँदै पोल्याण्डले जोड्यो तीन अंक

    काठमाडौं । फिफा विश्वकप २०२२ मा पोल्यान्डले पहिलो जित हात पारेको छ। पोल्यान्डले शनिबार भएको खेलमा साउदी अरेबियालाई २–० गोलले पराजित गर्‍यो। पोल्यान्डले पहिलो हाफ सकिन ६ मिनेट बाँकी छदा अग्रता लिएको थियो। ३९ मिनेटमा पिटर जेलेस्कीले गोल गर्दै पोल्यान्डलाई १–० गोलले अघि बढाएका थिए। पहिलो हाफको अन्तिम मिनेटमा साउदी अरेबियाले पेनाल्टी पाएको थियो।

    बराबरी गर्ने सुन्दर सो मौकामा साउदीका अल्बुरायक सफल भने हुन सकेनन्। उनको पेनाल्टी प्रहारलाई पोल्यान्डका गोलकिपर सेजेन्कीले विफल पारेका थिए। ८२ मिनेटमा पोल्यान्डले अग्रता दोब्बर पार्न सफल भयो। साउदीका मिडफिल्डर अल माल्किले डिबक्समा बललाई राम्रोसँग नियन्त्रण गर्न नसक्दा लेवान्डोस्कीले डिबक्सबाट सहज गोल गरेका थिए। कप्तान लेवान्डोस्कीको यो ७७औं अन्तर्राष्ट्रिय गोल हो। यस्तै उनले विश्वकपमा भने पहिलो गोल गर्न सफल भए।

    जितसँगै समूह ‘सी’ मा पोल्यान्ड दुई खेलबाट ४ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ। दोस्रो स्थानको साउदीको ३ अंक छ भने मेक्सिको १ अंकसहित तेस्रो स्थानमा छ। पुछारको अर्जेन्टिना अंकबिहीन छ। आज राति मेक्सिको र अर्जेन्टिना भिड्दैछन्। यसअघि आफ्नो पहिलो खेलमा साउदी अरेबियाले अर्जेन्टिनालाई २१ गोलले हराएको थियो। पोल्यान्डले भने मेक्सिकोसँग गोलरहित बराबरी खेलेर अंक बाँडेको थियो।

  • वेल्सका गोलकिपरले पाए जारी विश्वकपकै पहिलो रेडकार्ड

    वेल्सका गोलकिपरले पाए जारी विश्वकपकै पहिलो रेडकार्ड

    काठमाडौं । वेल्सका गोलकिपर वायने हेनेसे कतारमा भइरहेको फिफा विश्वकपमा रातो कार्ड पाउने पहिलो खेलाडी बनेका छन् । समूह बी अन्तर्गत अहमद अली बिन स्टेडियममा शुक्रबार भएको खेलमा हेनेसेले रातो कार्ड पाउँदा इरानले वेल्सलाई २(० ले पराजित गर्‍यो । इन्जुरी टाइममा इरानका लागि रुजबेह चेस्मी र रमिन रेजाइएनले गोल गरे र टिमलाई महत्वपूर्ण ३ अंक दिलाए ।

    गोलकिपर हेनेसेले रातो कार्ड पाएपछि वेल्स दश खेलाडीमा समेटियो भने इरानले त्यसैको फाइदा उठायो । ८७ मिनेटसम्म खेल गोलरहित बराबरीमा चलिरहेको थियो । त्यसमा खेलमा नयाँ ट्वीस्ट आयो । हेनेसेले ८७ औं मिनेटमा इरानका मेहदी तारेमीलाई पेनाल्टी बक्स बाहिर आएर फाउल गरेपछि रातो कार्ड पाए । पहिला पहेँलो कार्ड देखाएका रेफ्रीले पछि भीएआरको सहयोगमा रातो कार्ड देखाए । त्यसपछि वेल्सले आरोन राम्सेको स्थानमा दोस्रो रोजाईँका गोलकिपर ड्यानी वाडलाई मैदान पठाएको थियो ।

    रातो कार्ड पाउनुअघि वेल्सका हेनेसेले केही राम्रा बचाउ पनि गरेका थिए । तर रातो कार्ड पाउँदै हेनेसेले भिलेन बन्दा वेल्सलाई घाटा लाग्यो । त्यअसघि खेलमा इरानले गोल गर्ने केही अवसर बनाए पनि फिनिसिङ गर्न सकेको थिएन । तर इन्जुरी टाइममा भने गोल गर्न सफल भयो । इन्जुरी टाइमको आठौं मिनेटमा वैकल्पिक खेलाडी रुजबेह चेस्मीले गोल गर्दै इरानलाई अग्रता दिलाएका थिए ।

    उनी ७८औं मिनेटमा अहमद नोयरोलाहीको स्थानमा मैदान प्रवेश गरेका थिए । यस्तै त्यसको दुई मिनेटपछि रेजाइएनले गोल गर्दै इरानलाई २–० को जित दिलाए । पहिलो खेलमा अमेरिकासँग पराजित भएको वेल्सको यो पहिलो हार हो । दुई खेलबाट १ अंक मात्र रहेको वेल्सको नकआउट चरण पुग्ने सम्भावना यो हारले कमजोर बनेको छ । वेल्सले अब अन्तिम खेल इंग्ल्याण्डसँग खेल्नेछ भने इरानले अमेरिकासँग खेल्नेछ ।

  • विश्वकप फुटबल: उपाधि दाबेदार ब्राजिल र पाेर्चुगलकाे विजयी शुरुवात

    विश्वकप फुटबल: उपाधि दाबेदार ब्राजिल र पाेर्चुगलकाे विजयी शुरुवात

    काठमाडौं । कतारमा जारी फिफा विश्वकपअन्तर्गत गएराति सम्पन्न आ–आफ्नो खेलमा जित हात पार्दै ब्राजिल र पाेर्चुगलले विजयी सुरुवात गरेका छन् ।

    समूह `जी´ काे खेलमा ब्राजिलले सर्बियालाई २-० ले हरायाे । उसका लागि दुवै गाेल रिचार्लिसनले गरे ।

    लुसेल स्टेडियममा खेलको ६२ औं मिनेटमा रिचार्लिसनले गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए । ७३ औं मिनेटमा उनैले व्यक्तिगत दोस्रो गोल गर्दै टाेललाई २-० को जित दिलाए ।

    जितसँगै ब्राजिलले तीन अंक जाेड्दा सर्बियाले हारबाट प्रतियाेगिताकाे सुरुवात गरेकाे छ । त्यस्तै, समूह `एच´ अन्तर्गतकाे खेलमा पाेर्चुगलले घानाविरुद्ध ३-२ काे राेमाञ्चक जित निकाल्यो ।

    उपाधि दाबेदार पोर्चुगलले विश्वकप फुटबलमा विजयी सुरुआत गरेको छ। कप्तान क्रिस्टियानो रोनाल्डोले कीर्तिमान बनाएको खेलमा पोर्चुगलले घानामाथि संघर्षपूर्ण जित निकालेको हो।खेलमा सबै गोल दोस्रो हाफमा भएको थियो।

    खेलको ६५ औं मिनेटमा रोनाल्डोले पेनाल्टीबाट गोल गर्दै पोर्चुगललाई सुरुआती अग्रता दिलाएका थिए। घानाका मोहमदले रोनाल्डोलाई पेनाल्टी क्षेत्रभित्र फउल गर्दै लडाएपछि पोर्चुगलले पेनाल्टी पाएको हो। जसमा रोनाल्डोले सहजै गोल गरे।

    यस गोलसँगै रोनाल्डोले लगातार पाँच विश्वकपमा गोल गर्ने पहिलो खेलाडीको कीर्तिमान बनाए। ३७ वर्षीय रोनाल्डोले यस अघि २००६, २०१०, २०१४ र २०१८ को विश्वकपमा गोल गरेका थिए।

  • विश्वकप :कोस्टारिकाको पोष्टमा स्पेनको सात गोल

    विश्वकप :कोस्टारिकाको पोष्टमा स्पेनको सात गोल

    काठमाडौं । फिफा विश्वकप २०२२ मा स्पेनले कोस्टारिकाविरुद्ध ७ गोल गरेको छ । समूह ‘ई’ को खेलमा बुधबार राति भएको खेलमा स्पेनले कोस्टारिकालाई ७–० गोलले पराजित गरेको हो । स्पेनको जितमा फेरान टोरेशले दुई गोल गरे। खेलको ११ मिनेटमा ड्यानी ओल्मोको गोलबाट स्पेनले अग्रता लियो। मार्को अलन्सोले २१ मिनेटमा अग्रता दोब्बर पारे।

    टोरेशले ३१ मिनेटमा पेनाल्टी र ५४ मिनेटमा गरी दुई गोल गरे। ७७ मिनेटमा गाभीले अर्को गोल थप्दा कार्लोस सोलरले ९० मिनेटमा छैटौं गोल गरेका थिए। दोस्रो हाफको इन्जुरी समयमा मोराटोले स्पेनका लागि सातौं गोल गरे । बुधबार राती भएको अर्को खेलमा बेल्जियमले क्यानडालाई १–० गोलले हरायो ।

  • विश्वकप : फ्रान्सको दमदार जित

    विश्वकप : फ्रान्सको दमदार जित

    काडमाडौं । फिफा विश्वकप २०२२ मा डिफेन्डिङ च्याम्पियन फ्रान्सले दमदार जित निकालेको छ । समूह ‘डी’ को खेलमा फ्रान्सले अस्ट्रेलियालाई ४–१ गोलले हराउँदै सानदार सुरूवात गरेको हो। खेलमा अग्रता भने अस्ट्रेलियाले लिएको थियो। अस्ट्रेलियाका लागि गुडविनले नवौं मिनेटमा गोल गरेका थिए। तर २७ मिनेटमा फ्रान्सका एड्रियन रबिअटले बराबरी गोल फर्काए।

    ३२ मिनेटमा ‌ओलिभर जिरुडले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाए। पहिलो हाफमा २–१ गोलले अघि रहेको फ्रान्सका लागि एमबाप्पेले ६८औं मिनेटमा तेस्रो गोल गरेका थिए। ७१ मिनेटमा जिरुडले व्यक्तिगत दोस्रो तथा टिमका लागि चौथो गोल गर्न सफल भए। समूहको अर्को खेलमा डेनमार्क र ट्युनिसियाले बराबरी खेल्दै अंक बाँडे ।

  • विश्वकप फुटबलको उपाधि दाबेदार अर्जेन्टिना पहिलो खेलमै पराजित

    विश्वकप फुटबलको उपाधि दाबेदार अर्जेन्टिना पहिलो खेलमै पराजित

    काठमाडौं । फिफा विश्व फुटबलको दाबेदार मानिएको अर्जेन्टिना आफ्नो पहिलो खेलमै साउदी अरेबियासँग पराजित भएको छ ।

    अर्जेन्टिनाले कतार विश्वकपको पहिलो खेलमा साउदी अरेबियासँग १–२ को पराजय भोगेको छ । लुसेल रंगशालामा १०औं मिनेटमा लियोनेल मेसीले गोल गर्दै दक्षिण अमेरिकी महारथीलाई अग्रता दिलाएका थिए।

    सोही गोलमार्फत पहिलो हाफमा १–० को अग्रता बनाएको अर्जेन्टिनाले दोस्रो हाफमा दुई गोल खायो।

    साउदीका लागि दोस्रो हाफको ५३ मिनेटमा सलिम अलदावसरीले गोल गरेका हुन्। यसअघि सलेह अलसेहरीले दोस्रो हाफको ४८औँ मिनेटमा गोल गरेका थिए।

    पहिलो हाफमा लिएको १–० को अग्रता जोगाउन नसक्दा अर्जेन्टिना ३२ वर्षपछि विश्वकपको पहिलो खेलमा पराजित भएको छ। अर्जेन्टिना २८ वर्षअघि सन् १९९० मा इटालीमा भएको विश्वकपमा क्यामरुनसँग पहिलो खेलमै पराजति भएको थियो।

  • विश्वकप : वेल्स र अमेरिकाले बराबरी खेले

    विश्वकप : वेल्स र अमेरिकाले बराबरी खेले

    काठमाडौं । कतारमा जारी फिफा विश्वकप २०२२ मा समूह ‘बी’ को खेलमा अमेरिका र वेल्सले १–१ गोलको बराबरी खेलेका छन् । दुबैले अक बाँडे । मंगलबार विहान सम्पन्न खेलमा अमेरिकाले अग्रता लिएको थियो। अमेरिकाका लागि टिम वेहले पहिलो गोल गरे। उनले खेलको ३६ मिनेटमा पुलिसिकले उपलब्ध गराएको पासमा गोल गरेका थिए।

    वेल्सका लागि ८२ मिनेटमा गारेथ बेलले पेनाल्टीमार्फत बराबरी गोल फर्काए। डिबक्समा बेलमाथि अमेरिकाका टिम रिएमले फल गरेपछि वेल्सले पेनाल्टी पाएका थियो। यो समूहको अर्को खेलमा सोमबार इंग्ल्यान्डले इरानमाथि ६–२ को जित निकालेको छ । आज पहिलो खेलमा साउदी अरेवीया र अर्जेण्टिना मैदानमा उत्रिँदैछन् ।

  • विश्वकप फुटबल: कतार इक्वेडरसँग पराजित, आज तीन खेल हुँदै

    विश्वकप फुटबल: कतार इक्वेडरसँग पराजित, आज तीन खेल हुँदै

    काठमाडौं । विश्वकप फुटबलको उदघाटन खेलमा आयोजक कतार पराजित भएको छ । कतार इक्वेडरसँग २–० ले पराजित भएको छ।

    दक्षिण अमेरकी राष्ट्रलाई जित दिलाउन कप्तान भ्यालेन्सियाले नै दुई गोल गरे। तर १६ औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै इक्वेडरले अग्रता लिएको थियो।

    त्यस्तै खलेको ३१ औं मिनेटमा उनै भ्यालेन्सियाले गोल गर्दै अग्रता दोब्बर पारेका थिए। दोस्रो हाफमा भने दुवै पक्षबाट गोल हुन सकेन। जितपछि इक्ववेडरले तीन अंक जोडेको छ। 

    आज समूह ‘ए’ को एक र समूह ‘बी’ को दुई खेल हुन लागेका हुन् । सोमबार हुने पहिलो खेलमा इंग्ल्याण्ड र इरानले प्रतिस्पर्धा गर्नेछन् । यी दुई टिमबीचको खेल नेपाली सयअनुसार बेलुका ६ः४५ बजे सुरु हुनेछ ।

    समूह ‘बी’ मा रहेको इंग्ल्याण्ड र इरान जित निकाल्दै सुखद सुरुआत गर्न चाहन्छ । हालसम्म इंग्ल्याण्डले एकपटक विश्वकप जितेको छ । समूह ‘बी’ अन्तर्गतको अर्को खेलमा अमेरिका र वेल्सले खेल्नेछन् । अमेरिका–वेल्सबीचको खेल राति १२ः४५ बजे सुरु हुनेछ ।

    त्यस्तै, समूह ‘ए’ अन्तर्गत सेनेगल र नेदरल्याण्ड्सबीच खेल्दैछन् । यी दुई टोलीबीचको खेल नेपाली समयअनुसार राति ९ः४५ बजे सुरु हुनेछ ।

  • आयोजक कतारमाथि म्याच फिक्सिङको आरोप, पहिलो खेलमै ९२ करोडको चलखेलको आशंका

    आयोजक कतारमाथि म्याच फिक्सिङको आरोप, पहिलो खेलमै ९२ करोडको चलखेलको आशंका

    काठमाडौं । कतार विश्वकप सुरु हुन एक दिन बाँकी छ। मैदानमा खेल सुरु हुनुअघि नै मैदान बाहिर भित्र कसलाई जिताउने खेल शुरु भएको दाबी गरिएको छ।

    रिपोर्टअनुसार आयोजक देश कतारले म्याच फिक्सिङ गरेको आरोप लगाइएको छ। कतारले आफ्नो पहिलो खेलमा नै इक्वेडरलाई घुस दिएको आरोप लागेको छ।

    ब्रिटिश मिडल इस्ट सेन्टर फर स्टडिज तथा रिसर्च का क्षेत्रीय निर्देशक अमजद ताहाले फिक्सिङ गर्न लागिएको बलियो प्रमाण प्राप्त भएको बताएका छन्।

    कतारले आफ्नो पहिलो खेलका लागि लाखौँ डलर खर्चिएको दाबी अन्तरराष्ट्रिय सञ्चारमाध्यमले गरेका छन्।  उनका अनुसार कतारले विपक्षी खेलाडीलाई पैसा दिएर कमजोर खेल खेल्नका लागि प्रेरित गरेको बताइएको छ।

    सूत्रको हवाला दिँदै जानकारी दिइएअनुसार इक्वेडरका आठ खेलाडीलाई ७.४ मिलियन अमेरिकी डलर (करिब ९२ करोड) रुपैयाँ दिएको जनाइएको छ। त्यसका लागि यो खेल कतारले १-० ले जित्ने र खेलको निर्णायक गोल दोस्रो हाफमा हुने दाबी समेत गरिएको छ। 

    फिफा विश्वकपमा म्याच फिक्सिङ रोक्नका लागि एफबिआइको सहयोग मागिएको छ। किनकि फिफाका अनुसार विश्वकपमा विश्वभर करिब १०० बिलियन डलर बराबरको रकम दाउ लगाइन सकिने जनाइएको छ।

    म्याच फिक्सिङ रोक्नका लागि फिफाले पहिलो पटक विशेष टाक्सफोर्स बनाएको छ। जसमा बिटिङ मार्केटको मनिटरिङ गर्ने अन्तर्राष्ट्रिय फर्महरु स्पोर्टसराडार, इन्टरपोल, इन्टरनेशनल बिटिङ इन्ट्रिगिटी एसोसिएशन तथा एफबीआईलाई सहभागी गराइएको छ।

  • विश्वकपमा रंगशाला भित्र मदिरा बिक्रि निषेध

    विश्वकपमा रंगशाला भित्र मदिरा बिक्रि निषेध

    काठमाडौं । फिफाले प्रतियोगिता सुरु हुनुभन्दा दुई दिनअघि आफ्नो नीति परिवर्तन गरेपछि कतारमा विश्वकप खेल हुने आठवटा रङ्गशालामा मदिरा विक्री नहुने भएको छ। मदिराको विक्रीलाई कडाइका साथ नियन्त्रण गरिएको उक्त मुस्लिम देशमा यसअघि रङ्गशाला भित्रका केही छानिएका क्षेत्रमा रक्सी उपलब्ध हुने व्यवस्था मिलाइएको थियो। यद्यपि प्रतियोगिता हुने रङ्गशालाको कर्पोरेट क्षेत्रमा रहनेहरूले अझै पनि मदिरा किन्न सक्नेछन्।

    कतारमा आइतवार विश्वकप फुटबल प्रतियोगिता सुरु हुँदैछ। उक्त खेलको पहिलो प्रतिस्पर्धा कतार र इक्वेडरबीच हुनेछ। फिफाको प्रमुख प्रायोजक बडवाइजर बियर एबी इनबेभको स्वामित्वमा हो। उसले विश्वकपमा बियर बेच्ने विशेषाधिकार पाएको थियो। आयोजक देशका अधिकारीहरू र फिफा बीचको छलफलपछि कतारको फिफा विश्वकप २०२२ रङ्गशाला परिधिबाट बियर विक्रीकेन्द्रहरू हटाउँदै फिफा फ्यान फेस्टिभल, अन्य फ्यान गन्तव्य र इजाजतपत्र प्राप्त स्थानमा मादक पेय पदार्थको विक्रीलाई केन्द्रित गर्ने निर्णय गरिएको छ, फिफाले जारी गरेको वक्तव्यमा भनिएको छ।

    बड जिरोको विक्रीमा कुनै असर पर्ने छैन। त्यो कतारका सबै विश्वकप रङ्गशालाहरूमा उपलब्ध हुनेछ। आयोजक देशका अधिकारी र फिफाले रङ्गशाला र वरपरका क्षेत्रले सबै प्रशंसकहरूलाई रमाइलो, सम्मानजनक र सुखद अनुभव प्रदान गरोस् भन्ने सुनिश्चित गर्न जारी राख्नेछन्।” उसले प्रतियोगितामा पेय आपूर्ति गर्नुका साथै समझदारी र निरन्तर समर्थन गरेको भन्दै एबी इनबेभको प्रशंसा पनि गरेको छ। बडवाइजरले शुक्रवर ट्विटरमा सन्देश पोस्ट गर्दै लेखेको थियो, ठिकै छ, यो असहज कुरा हो। तर पछि उसले उक्त पोस्ट मेटाएको थियो।

  • यूएईविरुद्धको एकदिवसीय सिरिज नेपालको कब्जामा, ज्ञानेन्द्र र आसिफको अर्धशतक

    यूएईविरुद्धको एकदिवसीय सिरिज नेपालको कब्जामा, ज्ञानेन्द्र र आसिफको अर्धशतक

    काठमाडौं । यूएईविरुद्धको तेस्रो तथा अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपालले जितेको छ ।

    कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा आज सम्पन्न खेलमा यूएईमाथि ६ विकेटको जित निकालेसँगै नेपालले सिरिज २-१ ले जितेको हो।

    नेपालले आशिफ सेख र ज्ञानेन्द्र मल्लको अर्धशतकीय पारीले सहज जित हासिल गरेको हो ।

    शुक्रबार यूएईले दिएको १७७ रनको लक्ष्य नेपालले ४०.१ ओभरमा चार विकेट गुमाएर पूरा गरेको छ। नेपाललाई ज्ञानेन्द्र मल्ल र आशिफ शेखले जिम्मेवार पारि खेल्दै लक्ष्यसम्म डोहोर्‍याएका थिए।

    ओपनर अर्जुन साउद ९ रन बनाएर ९.६ ओभरमा आउट भएपछी अर्का ओपनर आशिफ शेखले मल्लसँग १ सय २२ रनको ठूलो साझेदारी बनाउन सफल भएका थिए। रोहित पौडेलले १० र अर्जुन साउँदले नौ रन बनाए।

    ज्ञानेन्द्रले आशिफसँग मिलेर दोस्रो विकेटका लागि १२२ रनको शतकीय साझेदारी गर्दै जितको आधार तय गरेका थिए ।

    दोस्रो विकेटमा नेपालका लागि यो कीर्तिमानी साझेदारी हो । यसअघि ओमानसँग यी दुईले नै ९२ रनको साझेदारी गरेका थिए ।

    यूएईका लागि हजरत बिलाल र आयन अफ्जल खानले एक-एक विकेट लिए।

    पहिलो ब्याटिङ गरेको युएईले खराब सुरुवातका बाबजुत समालिएर १ सय ७७ रनको लक्ष्य दिएको थियो।

    यूएईका लागि आयन अफ्जाल खान र हजरत बिलालले १० औँ विकेटका लागि ८३ रनको साझेदारी गर्दै यूएईलाई समानजनक स्कोरमा पुर्‍याएका थिए।

    यी दुईले एकदिवसीय अन्तराष्ट्रियमा १० औँ विकेटका लागि चौथो ठूलो साझेदारी गरेका हुन्। त्यसअघि यूएईले ९३ रन जोड्दा ९ विकेट गुमाएको थियो।

    यूएईका लागि खानले ५४ रनको अर्धशतकीय अविजित इनिङ खेल्दा उनलाई हजरतले २० रनमा साथ दिए।

    त्यस्तै अलसान सरउफले ३३ रन बनाउँदा थप दोहोरो स्कोरका रुपमा रोहन मुस्ताफाको २४ र ओपनर मुहम्मद वासिमको ११ रन रह्यो।

    नेपालका लगि बलिङतर्फ नेपालका गुलशन झा, कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरीले दुई/दुई विकेट लिए ।

    नेपाल पहिलाे खेलमा ८४ रनमा पराजित हुँदा दाेस्राे खेलमा पुनरागमन गर्दै नेपालले यूएईलाई तीन विकेटले हराएकाे थियाे । याे जितसँगै नेपालले शृङ्खला दुई–एकले आफ्नाे पक्षमा पारेकाे हाे ।

    यूएईले अघिल्लो महिना अस्ट्रेलियामा विश्व कप खेलेको थियो । नेपालले सन् २०१८ मा विश्व कप छनोटबाट एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको थियो । त्यसयता नेपालले घरेलु मैदानमा यो दोस्रो पटक शृङ्खला खेलेको हो ।

    यो सँगै नेपालले पहिलो पटक घरेलु द्विपक्षीय एकदिवसीय शृंखला जितेको हो । यसै वर्षको मार्चमा नेपालले घरेलु मैदानमा खेलेको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलामा पपुवा न्य गिनीसँग २–० ले पराजित भएको थियो ।

  • नेपाल र यूर्एइबीच आज तेस्रो ओडीआई, विजेताले श्रृङखला जित्ने

    नेपाल र यूर्एइबीच आज तेस्रो ओडीआई, विजेताले श्रृङखला जित्ने

    काठमाडौं । नेपाल र यूएईबीच आज तेस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट हुँदैछ । यो सिरिजको तेस्रो तथा निर्णायक खेल हो । कीर्तिपुरस्थित त्रिवि मैदानमा बिहान ९ बजे सुरु हुने खेल नेपाल र यूएई दुवैले जितेमा उपाधीको हकदार हुनेछन् । तीन खेलको सिरिज १–१ को अवस्थामा छ । नेपाल पहिलो खेलमा यूएईसँग ८४ रनले पराजित भएको थियो । दोस्रो खेलमा भने नेपालले यूएईलाई तीन विकेटले पराजित गर्दै सिरिजमा फर्किएको थियो ।

    भर्खर आईसीसी टी–२० विश्वकप खेलेर नेपाल आएको यूएई नेपालको तुलनामा बलियो छ । नेपाल र यूएईबीच अहिलेसम्म आठ वटा एकदिवसीय खेल भएका छन् । जसका यूएई पाँच र नेपाल तीन खेलमा विजयी भएको छ । नेपालले आईसीसी लिग डिभिजन(२ को तयारीका लागि यूएईसँग यो सिरिज खेलेको हो । नेपालले यस सिरिजपछि आईसीसी लिग–२ खेल्न नामिबिया भ्रमण गर्दैछ । लिग–२ अन्तर्गत डिसेम्बरमा २ तारिखदेखि आयोजक नामिबिया, नेपाल र स्कटल्यान्डबीच सिरिज हुनेछ । लिग–२ मा हाल नेपाल १७ अंकसहित छैटौँ स्थानमा छ ।

  • विश्वकप अगाडीको मैत्रिपूर्ण फूटबलमा अर्जेण्टिनाको सानदार जित, ३६ औं खेलसम्म अपराजित

    विश्वकप अगाडीको मैत्रिपूर्ण फूटबलमा अर्जेण्टिनाको सानदार जित, ३६ औं खेलसम्म अपराजित

    दोहा । कतार विश्वकपको मुखमै अर्जेन्टिनाले मैत्रिपूर्ण फूटबलमा सानदार जित निकालेको छ । बुधबार राती सम्पन्न खेलमा अर्जेण्टिनाले यूएईलाई ५–० गोलले हरायो । यससँगै अर्जेण्टिनाले आफ्नो बलियो दावेदारी समेत प्रस्तुत गर्न सफल भयो । अबुधाबीमा भएको खेलमा सहज जितसँगै अर्जेन्टिनाले अन्तर्राष्ट्रिय फुटबलमा अपराजित यात्रालाई ३६ खेलसम्म पुर्‍याउन समेत सफल भयो । अब लगातार ३७ खेलसम्म अपराजित रहेको इटलीको कीर्तिमान बराबरी गर्नबाट अर्जन्टिना एक खेल पर छ । सन् २०१९ को कोपा अमेरिका सेमिफाइनलमा ब्राजिलसँग पराजित भएयता अर्जेन्टिना हारेको छैन ।

    कतारमा आइतबार सुरु हुने विश्वकपअघि अभ्यासको रुपमा खेलिएको खेलमा अर्जेन्टिनालाई जिताउन एन्जल डि मारिया र कप्तान लिओनल मेसीले उत्कृष्ट प्रदर्शन गरे । डि मारियाले दुई गोल गरे । मेसीसहित जुलियन अल्भारेज र जाक्विन कोरेअले समान एक गोल गरे । अर्जेन्टिनाले पहिलो हाफमै चार गोल गरेको थियो भने दोस्रो हाफमा एक गोल थपेको हो । कतार विश्वकपमा समूह सी मा रहेको अर्जेन्टिनाले नोभेम्बर २२ मा साउदी अरेबियासँग पहिलो खेल खेल्नेछ । यस समूहमा मेक्सिको र पोल्याण्ड पनि छन् ।

  • अन्जन विष्टको गोलमा पाकिस्तानलाई नेपालले हरायो

    अन्जन विष्टको गोलमा पाकिस्तानलाई नेपालले हरायो

    काठमाडौं । अञ्जन विष्टको गोलमा नेपालले मैत्रीपूर्ण फुटबलमा पाकिस्तानमाथि जित निकालेको छ । नेपालले दशरथ रंगशालामा ५० औं खेलको कोशेढुंगालाई सुखद नतिजामा परिणत समेत गरेको छ । नेपाल १–० गोल अन्तरले विजयी भयो । नेपाललाई घरेलु मैदानमा जिताउन अञ्जन विष्टले ८३ औं मिनेटमा गोल गरे । सुनिल बलको पासमा अञ्जनले गोल गरेका हुन् ।

    अञ्जनले गत असोजमा दशरथ रंगशालामै भएको बंगलादेश विरुद्धको मैत्रीपूर्ण खेलमा ह्याट्रिक गरेका थिए । यो उनको नेपालका लागि ११ औं गोल हो । अञ्जन नेपालका लागि १३ गोल गर्ने हरि खड्का र निराजन रायमाझीको कीर्तिमान बराबरी गर्नबाट दुई गोलले मात्र टाढा छन् ।

  • नेपाल तीन विकेटले विजयी, तेस्रो खेलबाट सिरिज विजेताको टुंगो लाग्ने

    नेपाल तीन विकेटले विजयी, तेस्रो खेलबाट सिरिज विजेताको टुंगो लाग्ने

    काठमाडौं । यूएईसँगको दोस्रो एकदिवसीय खेलमा नेपाल तीन विकेटले विजयी भएको छ।

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बुधबार भएको खेलमा नेपालले तीन विकेटले विजयी भएको हो । यो सँग अन्तर्राष्ट्रिय सिरिज १-१ बराबरीको अवस्थामा पुगेको छ ।

    यूएईले दिएको १९२ रनको लक्ष्य नेपालले ४७.५ ओभरमा सात विकेट गुमाएर पूरा गरेको छ। अब शुक्रबार हुने तेस्रो खेलबाट सिरिज विजेताको टुंगो लाग्नेछ ।

    नेपालका लागि गुल्सन झाले ३७, कुशल भुर्तेले ३५, आरिफ शेखले ३३, ज्ञानेन्द्र मल्लले २६, दीपेन्द्रसिंह ऐरीले १३ र सोमपाल कामीले १६ रन बनाए।

    यूएईका लागि रोहन मुस्ताफाले तीन, हजरत बिलालले दुई र बसिल अहमदले एक विकेट लिए।

    यसअघि टस जितेर ब्याटिङ रोजेको यूएईले ४३.२ ओभरमा सबै विकेट गुमाएर १९१ रन बनाएको थियो। नेपालले कसिलो बलिङ गरेपछि यूएई सामान्य स्कोरमै समेटिएको थियो।

    यूएईका लागि मुहम्मद वासीमले ५०, अलिशान सारफूले ३५, वृत्य अरविन्दले २५ र विष्णु सुकुमारनले २४ रन बनाएका थिए।

    नेपालका लागि सोमपाल कामी र ललित राजवंशीले तीन-तीन तथा करण केसी, गुल्सन झा, दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेले एक-एक विकेट लिएका थिए।

    यसअघि पहिलो खेल यूएईले ८४ रनले जितेको थियो ।

  • विश्वकप नेपालमा प्रत्यक्ष प्रसारण हुने/नहुने अन्योल अन्त्य, अतिरिक्त शुल्क उठाउन कानूनी बाटो खुला

    विश्वकप नेपालमा प्रत्यक्ष प्रसारण हुने/नहुने अन्योल अन्त्य, अतिरिक्त शुल्क उठाउन कानूनी बाटो खुला


    काठमाडौं । सर्वोच्च अदालतले विश्वकप फुटबल हेर्नका लागि दर्शकसँग अतिरिक्त शुल्क नलिन अल्पकालीन अन्तरिम आदेश खारेज गरिदिएको छ ।

    बुधबार सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र मनोजकुमार शर्माको संयुक्त इजलासले यसअघि कात्तिक २२ गते जारी अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता नदिन आदेश गरेको छ ।

    अन्तरिम आदेश खारेज भएसँगै मिडिया हबलाई थप शुल्क उठाउन बाटो खुल्ला भएको छ । योसँगै अब विश्वकप फुटबल प्रतियोगिता हेर्दा नेपालीले थप शुल्क तिर्नुपर्ने भएको छ।

    न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले मंगलबार सोसम्बन्धी रिटको सुनुवाइ गर्दै थप पाँच सय रुपैयाँ शुल्क उठाउने निर्णय कार्यान्वयन नगर्न/नगराउन अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।

    यसअघि न्यायाधीश प्रकाशमान सिंह राउतले विश्वकप फुटबलका लागि थप शुल्क लिने निर्णय तत्काल कार्यन्वयन नगर्न अल्पकालीन आदेश दिँदै आजका लागि अन्तरिम आदेश छलफलमा झिकाएका थिए।

    मिडिया हबले भायकम १८ मिडिया प्रालिसँग फिफा विश्वकप २०२२ को नेपालमा प्रसारण गर्ने प्रयोजनार्थ आवश्यक प्रसारण अधिकार लिएको छ।

    टेरिटोरी लक हुने गरी एक्सक्लुसिभ अधिकार लिएको मिडिया हबको भनाइ छ। सोही कारण लागत धेरै भएकोले उपभोक्तासँग पैसा उठाउने चाहेको उसले बताउँदै आएको छ।

    विश्वकप फुटबल उपभोक्ताले हेर्न पाउने कुरा नियमित नभई नितान्त स्वैच्छिक भएको र केही महत्त्वपूर्ण खेलहरु नि:शुल्क समेत देखाउने गरी हिमालयन टीभीसँग सम्झौता भएको देखिन आएको पनि आदेशमा भनिएको छ ।

    ‘नेपाल सरकार, सञ्चार तथा सूचना मन्त्रालय, सूचना तथा प्रसारण विभागबाट प्रचलित कानून बमोजिम स्वीकृति लिई तथा नेपाल राष्ट्र बैंकबाट भुक्तानी दिन प्रचलित विनिमय दरमा सटही सुविधा प्रदान भई प्रसारण गर्न खोजेको वर्ल्ड कप फुटवल २०२२ मा निवेदकले माग गरेको अन्य विषयवस्तुहरू विपक्षीहरूबाट लिखित जवाफ प्राप्त भई प्रस्तुत निवेदनको अन्तिम टुङ्गो लाग्दाका बखत प्रत्येक पहलुमा विचार भई निरुपण हुने नै हुँदा सुविधा र सन्तुलनको दृष्टिकोणले हालको प्रारम्भिक अवस्थामै यस अदालतबाट मिति २०७९।७।२२ मा जारी भएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता प्रदान गर्न नमिली अन्तरिम आदेश जारी गर्न मिलेन’ आदेशमा भनिएको छ ।

  • विश्वकप उचाल्न ८३१ फूटबलर कतारमा

    विश्वकप उचाल्न ८३१ फूटबलर कतारमा

    काठमाडौं । कतारमा मंसिर ४ बाट सुरु हुने विश्वकप फुटबलमा कूल ८३१ खेलाडी सहभागिता हुने निश्चित भएको छ । विश्व फुटबल महासंघ (फिफा) ले विश्वकपमा सहभागी देशले मंगलबारसम्म अन्तिम खेलाडीको नाम दर्ता गराईसक्नु पर्ने प्रावधान राखेको थियो । जसअनुसार मंगलबारसम्म विश्वकपका लागि सहभागी ३२ देशले कूल ८३१ खेलाडी दर्ता गराएका हुन् ।

    मंगलबारसम्म सहभागी सबै देशले आफ्नो अन्तिम टोलीको घोषणा समेत गरिसकेका थिए । फिफाले सार्वजनिक गरेको सुची अनुसार यस विश्वकपमा सबैभन्दा कम २५ जना खेलाडी इरानले दर्ता गराएको छ । अन्य सबै टोलीले २६ जना खेलाडी दर्ता गराएका छन् । फिफाले कोभिड–१९ पछि टोलीका २६ जना खेलाडी राख्न पाउने नयाँ प्रावधान राखेको छ । यसअघि अन्तिममा २३ खेलाडी राख्ने प्रावधान थियो ।

    यस विश्वकपमा विश्व फुबटलका दुई चर्चित खेलाडी अर्जेन्टिनाका ३५ वर्षीय लियोनल मेस्सी र पोर्चुगलका ३७ वर्षीय क्रिस्टियानो रोनाल्डो पाँचौं पटक विश्वकप खेल्दैछन् । कप्तानको भूमिकामा रहनुभएका दुवै जनाका लागि यो अन्तिम विश्वकप हुने छ । एकमहिना चल्ने विश्वकपमा सहभागी ३२ देशलाई आठ समूहमा विभाजन गरिएको छ ।

    समूहका शीर्ष दुई टोली नकआउट चरणमा प्रवेश गर्नेछन् । त्यसपछि आठ टोली क्वाटरफाइनल, चार टोली सेमिफाइनल हुँदै दुई टोलीले डिसेम्बर १८ तारिख फाइनल खेल्नेछन् । सेमिफाइनलमा पराजित टोलीबीच डिसेम्बर १७ तारिखमा तेस्रो स्थानका लागि प्रतिस्पर्धा हुनेछ ।

    विश्वकप फुटबलले २१ औँ संस्करण पार गर्दा हालसम्म आठ देशलेमात्र उपाधि चुमेका छन् । विश्वकपको सर्वाधिक उपाधि चुम्ने देश ब्राजिल हो । ब्राजिलले पाँच पटक उपाधि उचालेको छ । यसैगरी ब्राजिलपछि जर्मनी र इटालीले चार चार पटक, अर्जेन्टिना, उरुग्वे र फ्रान्सले दुई दुई तथा इङ्गल्यान्ड र स्पेनले एक एक पटक उपाधिको स्वाद चाखेका छन् ।

  • दशरथ रंगशालामा आज नेपाल र पाकिस्तान भिड्दै

    दशरथ रंगशालामा आज नेपाल र पाकिस्तान भिड्दै

    काठमाडौं । नेपाल र पाकिस्तानबीच बुधबार मैत्रीपूर्ण फुटबल हुने भएको छ । खेल दशरथ रंगशालामा बेलुका पाँच बजेबाट सुरु हुनेछ । विश्व फुटबल महासंघ फिफाले तीन वर्षसम्म प्रतिबन्ध लगाएर फुकुवा गरेपछि पाकिस्तानले पहिलो अन्तर्राष्ट्रिय खेलको रुपमा नेपालसँग खेल्दैछ । दशरथ रंगशालामा घरेलु टोलीले आज ५० औँ खेल खेल्नेछ । नेपालले सन् १९८४ बाट दशरथ रंगशालामा आधिकारिक अन्तर्राष्ट्रिय फुटबल खेल्न थालेको हो ।

    सन् २०१८ को साफ च्याम्पियनसिपपछि यी दुई टोली पहिलो पटक खेल्दैछन् । त्यसबेला नेपाल २–१ गोलले पराजित भएको थियो । दुई देशबिच अहिलेसम्म १७ खेल भएकोमा पाकिस्तानले सात र नेपालले पाँच खेल जितेका छन् । पाँच खेल बराबरी भएका छन् । मैत्रीपूर्ण फुटबलका लागि सम्पूर्ण तयारी पुरा भएको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । एन्फाले यो खेलका लागि सामान्य प्याराफिटतर्फ ५ सय, भीआईपीतर्फ १ हजार र ५ हजारको टिकट मूल्य तोकेको छ ।

  • नेपाल र यूएईबीच दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट आज

    नेपाल र यूएईबीच दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट आज

    काठमाडौं । नेपाल र यूएईबीच आज दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट हुँदैछ । नेपालले पहिलो खेलमा भने हार बेहोरिसकेको छ । यूएई भने आजको खेलमा जित निकाल्दै श्रृङ्खला जित्ने दाउमा हुने छ । नेपालले यूएईलाई सन् २०१९ जनवरीयता हराउन सकेको छैन । ओडीआईमा २०१९ पछि नेपाल यूएईसँग तीन खेलमा पराजित भइसकेको छ । नेपाल र यूएईबीच ओडीआईमा अहिलेसम्म ७ खेल हुँदा यूएईले ५ खेल जित्दा नेपालले जम्मा २ खेल मात्र जितेको छ ।

    टी-२० मा नेपालले २०२२ फेब्रुअरीमा यूएईविरुद्ध खेलेका दुवै खेलमा पराजय बेहोरेको थियो । नामिबियामा डिसेम्बर पहिलो साता हुने आईसीसी क्रिकेट विश्वकप लिग टु शृखंलालाई मध्यनजर गर्दै नेपालले यूएईलाई शृंखला खेल्न बोलाएको हो । टिममा १६ खेलाडी राखेको नेपालले तीन खेलमा सबैलाई खेल्ने अवसर दिने योजनासहित यूएईविरुद्ध परीक्षण गरिरहेको छ ।

  • मेसीको प्रक्षेपण : ब्राजिल, फ्रान्स र इंल्याण्ड विश्वकपका मूख्य दावेदार

    मेसीको प्रक्षेपण : ब्राजिल, फ्रान्स र इंल्याण्ड विश्वकपका मूख्य दावेदार

    काठमाडौं । अर्जेन्टिनाइन कप्तान लिओनल मेसीले ब्राजिल, फ्रान्स र इंग्ल्याण्ड विश्वकप २०२२ का मुख्य दाबेदार रहेको बताएका छन् । अन्य देशले भने अर्जेण्टिनालाई दोदार मानिरहेका छन् । पेरिस सेन्ट जर्मेनबाट खेल्ने ३५ वर्षीय फरवार्ड कतारमा विश्वकप जित्दै खेल करिअरलाई सुखद बनाउन र अर्जेन्टिनालाई १९८६ पछि पहिलो ट्रफी जिताउन लयमा छन् ।

    ‘जब हामी दाबेदारबारे कुरा गर्छौं । हामी सधैं एउटै टिमका बारेका कुरा गर्छौं,’ साउथ अमेरिका फेडेरेसनसँगको कुराकानीमा मेसीले भने, ‘मैले कुनै टिमलाई माथि राख्नुपर्यो भने मेरो विचारमा ब्राजिल, फ्रान्स र इंग्ल्याण्ड अन्य टिमभन्दा माथि छन् । तर विश्वकप धेरै कठिन छ त्यसैले जे पनि हुन सक्छ ।’

    कोपा अमेरिका च्याम्पियन अर्जेन्टिना अन्तर्राष्ट्रिय फुटबलमा ३५ खेलसम्म अपराजित छ । मेसीको यो अन्तिम विश्वकप हुने उनले बताइसकेका छन् । त्यसैले यस पटक मेसीकै लागि उपाधि जित्न अन्य खेलाडी पनि मोटिभेट भएका छन् ।

    ‘हामी धेरै उत्साहित छौं । हामी राम्रो समूहमा छौं तर हामी विस्तारै अघि बढ्ने सोचमा छौं,’ मेसीले भने, ‘हामी विश्वकप राम्रो तरिकाले सुरु गर्ने आशमा छौं ।’ विश्वकप फुटबलको उदघाटन आगामी मंसिर ४ गते अर्थात् नोभेम्बर २० मा कतारमा सुरु हुँदैछ । समूह ‘सी’ मा रहेको अर्जेन्टिनाले नोभेम्बर २२ मा साउदी अरेबियासँग खेल्दै विश्वकप सुरुवात गर्नेछ । त्यसपछि मेक्सिकोसँग नोभेम्बर २६ र पोल्याण्डसँग नोभेम्बर ३० मा खेल्नेछ ।

  • विश्वकपमा पहिलो पटक महिला रेफ्री

    विश्वकपमा पहिलो पटक महिला रेफ्री

    काठमाडौं । आगामी ४ मंसिरबाट कतारमा शुरु हुने विश्वकप फूटबल धेरै अर्थमा पृथक रहनेछ । यसमध्ये एक हो, महिला रेफ्री । पहिलोपल्ट विश्वकपका खेल महिला रेफ्रीले खेलाउने निश्चित भएको छ । यो विश्वकप इतिहासकै कीर्तिमान हुने छ । इतिहास फ्रान्सकी स्टेफेनी फ्रापार्ट, रुवान्डाकी सलिमा मुकानसन्गा र जापानकी योसिमी यामाशिताको नाममा लेखिँदैछ ।

    अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले जारी गरेको सूचि अनुसार ३६ रेफ्रीको नाम उल्लेख छ । जसमा तीन जना महिला छन् । थप तीन महिला सहायक रेफ्रीका रुपमा रहेका छन् ६९ सहायक रेफ्रीमा उनीहरूको नाम समेत छ । सहायक महिला रेफ्रीमा ब्राजिलकी नुजा ब्याक, मेक्सिकोकी करेन डियाज मेडिना र अमेरिकाकी क्याथरन नेस्बिटको नाम उल्लेख छ ।

  • नेपाल युएईसँग ८४ रनले पराजित, डेब्यू खेलमै साउदको अर्धशतक

    नेपाल युएईसँग ८४ रनले पराजित, डेब्यू खेलमै साउदको अर्धशतक

    काठमाडौं । नेपाल भ्रमणमा रहेको यूएईले आफ्नो पहिलो एक दिवसीय खेल ८४ रनले जितेको छ ।

    तीन एक दिवसीय क्रिकेट शृंखलाअन्तर्गत पहिलो खेलमा यूएईले नेपाललाई फराकिलो रन अन्तरले पराजित गरेको हो ।

    २६४ रनकाे लक्ष्य पछ्याएकाे नेपालले ५० ओभर नै ब्याटिङ गरे पनि नाै विकेट गुमाउँदै १७९ रन मात्र बनाउन सक्याे ।

    नेपालका लागि दीपेन्द्रसिंह ऐरी र अर्जुन साउदले अर्धशतकीय पारी खेले पनि टाेलीलाई जित दिलाउन भने सकेनन् ।

    दीपेन्द्रले ८४ बलमा ६ चाैकासहित ५४ रन बनाउँदा ५१ रनकाे पारी खेलेका अर्जुनले ७९ बलमा पाँच चाैका प्रहार गरे ।

    अर्जुनकाे एकदिवसीय अन्तर्राष्ट्रियमा याे पहिलाे खेल हाे । गुल्सन झाले अविजित १९ र आसिफ शेखले १२ रन जाेडे ।

    पहिलो एक दिवसीय खेलमा नेपालको तर्फबाट डेब्यू गरेका खेलाडी अर्जुन साउदले अर्धशतक बनाए ।

    साउदले ७९ बल खेल्दै ५१ रन जोडेर बोल्ड आउट हुन पुगे ।

    युएईका लागि आयन खानले चार, बसिल हामिदले दुई तथा राेहन मुस्ताफा, जाहुर खान र अहमद राजाले एक/एक विकेट लिए ।

    त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २६३ रन बनाएकाे थियाे ।

    यूएईका लागि रोहन मुस्ताफाले सर्वाधिक ५३ रन बनाए। सोमपाल कामीको बलमा आशिफ शेखबाट क्याच आउट हुनुअघि उनले ७३ बलमा ७ चौका प्रहार गरे।

    उत्कृष्ट सुरूआत गरेको युएईले पहिलो विकेटका लागि ओपनर मोहम्मद वासिम र भित्या अर्बिन्दले १४.२ ओभरमा ७५ रनको साझेदारी गरेका थिए।

    नेपालका लागि गुल्सन झाले २ विकेट लिँदा दीपेन्द्र सिंह ऐरी र सोमपाल कामीले १-१ विकेट लिए।

    याे जितसँगै युएईले तीन खेलकाे सिरिजमा १-० काे अग्रता लिएकाे छ । दोस्रो खेल बुधबार हुनेछ ।

  • युएईले दियो नेपाललाई २६४ रनको लक्ष्य, मुस्तफाको अर्धशतक

    युएईले दियो नेपाललाई २६४ रनको लक्ष्य, मुस्तफाको अर्धशतक

    काठमाडौं । नेपाल भ्रमणमा रहेको युएईले २६४ रनको लक्ष्य दिएको छ।

    त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको युएईले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २६३ रन बनाएको हो।

    यूएईका लागि ७३ बलको सामना गरेका मुस्ताफाले सात चौकासहित ५३ रनको अर्धशतकीय इनिङ खेले।

    त्यसअघि पहिलो विकेटका लागि ७५ रनको साझेदारी गर्दै मुहम्मद वासिमले ४४ तथा वृत्या अरविन्दले ४० रनको योगदान गरेका थिए।

    कप्तान सीपी रिजवान दुई रनमा आउट हुँदा अलिशान सारफुले २९ रन जोडे। अहमद राजा २७ रनमा नटआउट रहे।

    नेपालका लागि गुल्सन झाले २ विकेट लिँदा दीपेन्द्र सिंह ऐरी र सोमपाल कामीले १-१ विकेट लिए।

  • पाकिस्तानलाई हराउँदै इङ्ल्याण्डले जित्यो टी-२० विश्वकप

    पाकिस्तानलाई हराउँदै इङ्ल्याण्डले जित्यो टी-२० विश्वकप

    काठमाडौं । इंग्ल्याण्डले आईसीसी टी–२० विश्वकपको उपाधि जितेको जितेको छ । फाइनलमा पाकिस्तानलाई ५ विकेटले पराजित गर्दै इङ्ल्यान्डले दोस्रो पटक आईसीसी टी–२० विश्वकपको उपाधि जितेको हो ।

    आइतबार मेलबर्न क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको पाकिस्तानले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ३७ रनको योगफल तयार गरेको थियो।

    जवाफी ब्याटिङमा उत्रिएको इङ्ल्यान्डले १९ ओभरमा पाँच विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो। इङ्ल्यान्डका लागि बेन स्टोक्सले ४९ बलमा पाँच चौका र एक छक्कासहित ५२ रनको अविजित अर्धशतकीय इनिङ खेले।

    यस्तै जोश बट्लरले २६ रन बनाउँदा ह्यारी ब्रुकले २० रन बनाए। १७ बल खेलेका उनले ३ चौका र १ छक्का प्रहार गरे। मोइल अलीले १२ बलमा १९ रन बनाए।

    फिल साल्ट १० रनमा आउट हुँदा एलेक्स हल्स १ रनमा बोल्ड भए। यसअघि मेलबर्न क्रिकेट ग्राउन्डमा टस हारेर पहिला ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३७ रन बनाएको थियो।

    इंग्ल्याण्डका साम कुरानले ३ विकेट लिए । उनले ४ ओभरमा १२ रनमात्र खर्चिए । आदिल रशिद र क्रिश जोर्डनले २ तथा बेन स्टोक्सले १ विकेट लिए ।

  • पहिलो पटक विश्वकप आयोजना गर्दै नेपाल

    पहिलो पटक विश्वकप आयोजना गर्दै नेपाल

    काठमाडौं । नेपालले पहिलो पटक आइसीसी विश्वकप क्रिकेट आयोजना गर्ने भएको छ।

    आइसीसीले सन् २०२७ मा हुने यू-१९ महिला विश्वकपको सहआयोजक राष्ट्रको रूपमा नेपाललाई राखेको छ। उक्त विश्वकप संयुक्त रूपमा बांग्लादेश र नेपालले आयोजना गर्नेछन्।

    नेपालले कुनै पनि विश्वकपको आयोजना गर्न लागेको यो पहिलो पटक हो।

    आइसीसी बोर्ड बैठकले नेपालसहित बंगलादेश, श्रीलंका, मलेसिया, थाइल्याण्ड, जिम्बावे र नामिवियलाई सन् २०२४ देखि २०२७ सम्ममा आइसीसी यू-१९ प्रतियोगिताको जिम्मा दिने निर्णय गरेको हो।

  • टी-२० विश्वकपको फाइनल आज, पाकिस्तान र इङ्ल्याण्ड भिड्दै

    टी-२० विश्वकपको फाइनल आज, पाकिस्तान र इङ्ल्याण्ड भिड्दै

    मेलवर्न । आईसीसी टी–२० विश्व कप क्रिकेटको उपाधिका लागि आज खेल हुँदैछ । उपाधीका लागि इङ्ल्यान्ड र पाकिस्तान भिड्दैछन् । फाइनल खेल अस्ट्रेलियाको मेलबर्न मैदानमा नेपाली समय अनुसार दिउँसो पौने दुई बजे सुरु हुँदैछ । इङ्ल्यान्ड र पाकिस्तान तेस्रो पटक फाइनलमा पुगेका छन् ।

    यो संस्करणको विजेताले दोस्रो पटक उपाधि जितेर वेस्ट इन्डिजसँगको रेकर्ड बराबरी गर्र्दछ । पाकिस्तानले सेमिफाइनलमा न्युजिल्यान्डलाई हराएको थियो भने इङ्ल्यान्डले भारतलाई हराएको हो । पाकिस्तान सन् २००९ को टी–२० विश्व कप च्याम्पियन र इङ्ल्यान्ड सन् २०१० को च्याम्पियन टोली हो ।

  • दक्षिण कोरियाले घोषणा गर्यो विश्वकप खेल्ने टीम

    दक्षिण कोरियाले घोषणा गर्यो विश्वकप खेल्ने टीम

    काठमाडौं । दक्षिण कोरियाले विशवकप खेल्ने टीमको घोषणा गरेको छ । कोरियाले ह्युङ मिन सनको कप्तानीमा मंसिर ४ गतेबाट कतारमा सुरू हुने फिफा विश्वकपको लागि टोली घोषणा गरेको हो । मुख्य प्रशिक्षक पाउलो बेन्टोले अनुहारको चोटमुक्त हुने क्रममा रहेका इंग्लिस क्लब टोटेनहम हटस्परका फरवार्ड सनको कप्तानीमा २६ सदस्यीय टोली घोषणा गरेका छन् ।

    च्याम्पियन्स लिगअन्तर्गत मार्सेविरुद्धको खेलमा अनुहारमा चोट लागेका सनले नोभेम्बर २ यता खेलेका छैनन्। टोलीमा इटालियन क्लब नेपोलीका डिफेन्डर किम मिन जाई र रियल मायोर्काका मिडफिल्डर लि काङले स्थान बनाएका छन्। समूह एचमा रहेको लक्षिण कोरियाले पहिलो खेल मंसिर ८ गते उरूग्वेविरूद्ध खेल्नेछ। यस्तै दोस्रो खेलमा मंसिर १२ गते घानाविरूद्ध खेल्ने कोरियाले तेस्रो खेल पोर्चुगलविरूद्ध मंसिर १६ गते खेल्नेछ।

    दक्षिण कोरियाको विश्वकप टोली

    गोलकिपर – किम सेउङ–ग्यु, जो ह्योन वु र सङ बम किन
    डिफेन्डर – किम मिन जाई, किम जिन सु, होङ चुल, किम मुन ह्वान, यून जोङ ग्यु, किम योङ ग्वन, किम ताए ह्वान, क्वोन क्युङ वोन र चो यो मिन
    मिडफिल्डर – जङ वू–योङ, ना साङ हो, पाईक सेउङ हो, सन जुन हो, सोङ मिन–क्यु, क्वोन चाङ हुन, ली जे सुङ, ह्वाङ हे चान, ह्वाङ इन बियोम, जेअङ वु यङ र ली काङ इन
    फरवार्ड – ह्युङ मिन सन, ह्वाङ उइ जो र चो गुए सुङ

  • मेसीको नेतृत्वमा अर्जेण्टिनाद्धारा विश्वकप खेल्ने टीम घोषणा

    मेसीको नेतृत्वमा अर्जेण्टिनाद्धारा विश्वकप खेल्ने टीम घोषणा

    काठमाडौं । अर्जेण्टिनाले विश्वकप खेल्ने टीमको घोषणा गरेको छ । सिनिरयर खेलाडी एन्जल डि मारिया तथा चोटग्रस्त पाउलो डिबला समेत अहिले टीममा समेटिएका छन् । विश्वकप ४ मंसिरबाट कतारमा शुरु हुँदैछ । प्रशिक्षक लिओनल स्कोलानीले शुक्रबार अर्जेन्टिनाको अन्तिम टोली घोषणा गरेका हुन् । यो विश्वकप स्टार फुटबलर लिओनल मेसीका लागि अन्तिम विश्वकप हुँदैछ ।

    विश्वका महान फूटबलरलाई यो टीम विश्वकप उपहार दिने लक्ष्यका साथ कतार आउनेछ । गत वर्ष कोपा अमेरिकाको उपाधि जितेको अर्जेन्टिनाले यसै वर्ष फिनाल्सियामा युरो च्याम्पियन इटलीलाई पराजित गर्दै विश्वकपको उपाधि दाबेदारको रुपमा प्रस्तुत गरेको छ । समूह सी मा रहेको अर्जेन्टिनाले नोभेम्बर २२ मा साउदी अरेबियासँग खेल्दै विश्वकप सुरु गर्दैछ । यस समूहमा मेक्सिको र पोल्याण्ड पनि छ ।

    अर्जेन्टिनाको टिम

    गोलकिपर : एमिलियानो मार्टिनेज, गेरोनिमो रुली, फ्रान्को अर्मानी

    डिफेण्डर : नाहुल मोलिना, गोन्जालो मोनिटेल, क्रिस्टियन रोमेरो, जर्मन पेजेल्लन, निकोलस ओटामेन्डी, लिसान्ड्रो मार्टिनेज, मार्कोस अकुना, निकोलस ट्याग्लिफिको, जुयन पोयथ

    मिडफिल्डर : रोड्रिगो डे पउल, लिएन्ड्रो परेडेस, एलेक्सिस म्याक अलिस्टर, गुइडो रोड्रिगेज, पपु गोमेज, एन्जो फर्नान्डेज, इजेक्वेल पालासिओस

    फरवार्ड : एन्जल डि मारिया, लाउटारो मार्टिनेज, जुलियन अल्भारेज, निकोलस गोन्जालेज, जाओक्विन कोरेअ, लिओनल मेसी, पाउलो डिबला