Category: खेलकुद

  • सन्दीप लामिछानेलाई थुनामा राख्ने आदेशविरुद्धको पेसी स्थगित

    सन्दीप लामिछानेलाई थुनामा राख्ने आदेशविरुद्धको पेसी स्थगित

    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेशविरुद्धको पेसी स्थगित गरिएको छ । लामिछानेको कानुन व्यवसायीका तर्फबाट पेसी स्थगित गरिएको हो ।

    लामिछानेको तर्फबाट उच्च अदालत पाटनमा दायर पुनरावेदनको बिहीबार न्यायाधीशद्वय महेन्द्रनाथ उपाध्याय र किरणकुमार पोखरेलको इजलासमा सुनुवाइ तोकिएको थियो ।

    लामिछानेको तर्फबाट उनलाई थुनामा राख्न जिल्ला अदालतबाट भएको आदेश बेरीतको आदेश भएको भन्दै सोविरुद्ध पुनरावेदन दायर गरिएको हो ।

  • इन्स्टाग्राम लाइकमा मेस्सीले तोडे रोनाल्डोको कीर्तिमान

    इन्स्टाग्राम लाइकमा मेस्सीले तोडे रोनाल्डोको कीर्तिमान

    एजेन्सी । इन्स्टाग्राम लाइकमा लियोनेल मेस्सीले पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोको कीर्तिमान तोडेका छन् ।

    विश्वकप जितेपछि मेसीले सामाजिक सञ्जाल इन्स्टाग्राममा ट्रफीसहितको फोटो पोस्ट गरेका थिए ।

    यसमा ५ करोड ३५ लाखभन्दा बढी लाइक आएका छन् । उनी एउटै इन्स्टाग्राम पोस्टमा सबैभन्दा धेरै लाइक पाउने खेलाडी बनेका छन् ।

    यस मामिलामा मेसीले पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोको कीर्तिमान तोडेका छन् । रोनाल्डोले विश्वकप सुरु हुनुअघि मेसीसँग चेस खेलेको तस्विर पोस्ट गरेका थिए ।

    जसमा ४२ मिलियन (४ करोड) भन्दा बढी लाइक आएको थियो । त्यसपछि उनले विश्व कीर्तिमान आफ्नो नाममा बनाएका थिए । तर, मेसी त्योभन्दा अगाडि पुगेका छन् ।

    तर फलोअरको कुरा गर्दा रोनाल्डो अहिले पनि इन्स्टाग्राममा सबैभन्दा बढी फलोअर भएका व्यक्ति हुन् । उनका अहिले इन्स्टाग्राममा ५१९ मिलियन फलोअर रहेका छन् । जबकी मेसीका इन्स्टाग्राममा ४०१ मिलियन फलोअर रहेका छन् ।

  • चोटका कारण विश्वकप गुमाएका फ्रान्सका बेन्जेमाले लिए सन्यास

    चोटका कारण विश्वकप गुमाएका फ्रान्सका बेन्जेमाले लिए सन्यास

    काठमाडौं । फ्रान्सका फरवार्ड करिम बेन्जेमाले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् । आइतबार कतारमा सम्पन्न फिफा विश्वकप फुटबलको फाइनलमा उनको मुलुक अर्जेन्टिनासँग पराजित भएको छ । मंगलबार आफ्नो ३५ औं जन्मदिन मनाइरहेका बेन्जेमाले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेको सामाजिक सञ्जालमा लेखेका छन् । तिघ्रामा चोट बोकेका बेन्जेमाले फ्रान्सको टोलीमा रहे पनि विश्वकप गुमाए ।

    ब्ल्याकमेलिङ काण्डमा फसेपछि उनले २०१६ देखि २०२१ सम्म अर्थात झन्डै ५ वर्ष प्रतिबन्ध भोगे । बेन्जेमा फ्रान्सका लागि ९७ क्याप जित्दा ३७ अन्तर्राष्ट्रिय गोलसहित फ्रान्सको सर्वकालीन गोलकर्ताको सूचीमा पाँचौं स्थानमा रहेका छन् ।‘म आज जुन स्थानमा छु, यसका लागि मैले गरेका प्रयासहरुमा मलाई गर्व छ। यसक्रममा गल्तीहरू पनि भएका छन्’, उनले सामाजिक सञ्जालमा भनेका छन्, ‘ यस क्रममा मैले मेरो कथा लेखेको छु र हाम्रो अन्त्य हुँदैछ।’ उनले सन् २००७ मा डेब्यु गरेका थिए । फ्रान्सका लागि ९७ खेल खेलेका उनले ३७ गोल गरेका छन्।

  • एम्बाप्पेले जिते गोल्डेन बुट, फाइनलमा गरे ह्याट्रिक

    एम्बाप्पेले जिते गोल्डेन बुट, फाइनलमा गरे ह्याट्रिक

    काठमाडौं । फ्रान्सका किलियन एम्बाप्पेले गोल्डेन बुट जित्न सफल भएका छन् । अर्जेन्टिनाविरुद्धको फाइनल खेलमा ह्याट्रिक गरेको एम्बाप्पेले एम्बाप्पेले गोल्डेन बुट जिते । यो विश्वकपमा ७ गोल गरेका छन् ।

    विश्वकपको फाइनलमा एम्बाप्पेले गरेको ह्याट्रिक विश्वकपमा विरलै मानिन्छ । यसअघि इंग्ल्याण्डका लागि होस्र्टले १९६६ मा पनि ह्याट्रिक गरेका थिए । रोमान्चक खेलमा हारे पनि फ्रान्सले सेकेन्ड हाफपछि उत्कृष्ट फुटबल खेलेको छ ।

  • सर्वकालिन महान खेलाडी मेसी

    सर्वकालिन महान खेलाडी मेसी

    काठमाडौं । वर्तमान युगमा महान खेलाडीको सूचीमा राखिने पेले र म्याराडोनासँगै आधुनिक यूगका सर्वकालिन महान खेलाडी बन्न सफल भएका छन् लियानल मेसी । अब उनले आफ्नो सक्रिय जीवनमा जित्न बाँकी कुनै पनि उपाधी छैन । अर्जेण्टिनाले आइतबार राती विश्वकप जितेसँगै मेसीको यो सफलता अमर बनेको हो । कतार विश्वकप फुटबलको विजेता टोली अर्जेन्टिनाका कप्तान लियोनल मेसी प्रतियोगिताका सर्वोत्कृष्ट घोषित खेलाडी समेत बने ।

    उनी सन् २०१४ मा समेत विश्वकपको उत्कष्ट खेलाडी बनेका थिए । अर्जेन्टिनालाई विश्वकपको उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेके लियोनल मेस्सी उत्कृष्ट खेलाडी बन्दै गोल्डन बल जितेका हुन् । ३५ वर्षिय मेसीका लागि यो अन्तिम विश्वकप भएको उनी स्वयमःले बताएका छन् ।

  • अर्जेण्टिना विश्व च्याम्पियन

    अर्जेण्टिना विश्व च्याम्पियन

    काठमाडौं । अर्जेन्टिनाले ३६ वर्षपछि विश्वकप फुटबलको उपाधि उचाल्दै विश्व च्याम्पियन बनेको छ । कतारको लुसेल स्टेडियममा भएको रोमाञ्चक नाटकीय खेलमा फ्रान्सलाई टाइब्रेकरमा ४–२ ले हराउँदै अर्जेन्टिनाले विश्वकप उपाधि जित्न सफल भयो । यसअघि सन् १९७८ र १९८६ को विश्वकप जितेको अर्जेन्टिनाको यो तेश्रो उपाधि हो र उसले ३६ वर्षपछि विश्वकप उपाधि उचालेको हो । टाइब्रेकरमा पहिलो पेनाल्टी फ्रान्सका केलियन एम्बाप्पेले गोलमा परिणत गरे ।

    त्यसपछि अर्जेन्टिनाका लियोनेल मेस्सीले गोल गरे । तर फ्रान्सका लागि दोस्रो पेनाल्टी हानेका किङ्स्ले कोमानको प्रहार अर्जेन्टिनी किपरले रोके । अर्जेन्टिनाको दोस्रो पेनाल्टी पाउलो डिबालाले गोलमा परिणत गरे । २–१ ले पछि परेको फ्रान्सको तेस्रो पेनाल्टी अउरेलियनले बाहिर प्रहार गरे । अर्जेन्टिनाका लागि तेस्रो पेनाल्टीमा लियोनार्दो पारडेसले गोल गर्दै टाइब्रेकरलाई ३–१ मा पुर्‍याए ।

    फ्रान्सको चौथो पेनाल्टी राण्डानल कोलोमुनीले गोल गरे पनि अर्जेन्टिनाका लागि चौथो पेनाल्टीलाई गोञ्जालो मोन्टेलले जाली चुमाए । यसअघि खेलमा अर्जेन्टिनाले २ पटक लिएको अग्रता जोगाउन नसक्दा खेल टाइब्रेकरमा पुगेको हो ।


    ८० मिनेटसम्म अर्जेन्टिनाले २–० को अग्रता बनाएको थियो । लियोनेल मेस्सीले २३ औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । ३६ औं मिनेटमा डिमारियाले अर्जेन्टिनाको अग्रता दोब्बर पारे । पहिलो हाफमा निरस खेल प्रदर्शन गरेको फ्रान्स दोस्रो हाफमा खेलमा फर्कियो । तर फ्रान्सले गोल गर्ने ८० ‌औं मिनेटसम्म कुर्न पर्‍यो । ८० औं मिनेटमा पेनाल्टीमा गोल गरेका केलियन एम्बाप्पेले त्यसको ९० सेकेन्डभित्र अर्को गोल गरेर खेल बराबरी गरे ।

    निर्धारित ९० मिनेटमा दुवै टिमबाट २(२ गोल भएपछि खेल अतिरिक्त समयमा धकेलियो । १०८ औं मिनेटमा मेसीले दोस्रो गोल गरेर टिमलाई फेरि अग्रता दिलाए । तर फ्रान्सले ११८ औं मिनेटमा अर्को पेनाल्टी पायो । जसलाई युवा स्टार एम्बाप्पेले खेर जान दिएनन् । त्यसपछि भने गोल भएन ।

  • कतार विश्वकप विजेताले कति पाउनेछ पुरस्कार ?

    कतार विश्वकप विजेताले कति पाउनेछ पुरस्कार ?

    काठमाडौं । विश्वकप फुटबल विजेताले पाउने रकममा वृद्धि हुँदै गएको छ । कतारमा हुने विश्वकपको विजेताले अहिलेसम्मकै सबैभन्दा धेरै ४२ मिलियन अमेरिकी डलर पाउनछन्।

    नेपालीमा हिसाब गर्दा यो रकम करिब ५ अर्ब ४४ करोड हुन आउँछ । जुन चार वर्षअघि रुसमा भएको विश्वकप विजेता फ्रान्सले पाएको भन्दा ४ मिलियन बढी हो । यस्तै २०१४ को ब्राजिल विश्वकप भन्दा ७ मिलियनले बढी हो।

    यस्तै उपविजेताले ३० मिलियन डलर अर्थात नेपाली रकम ३ अर्ब ८८ करोड ७४ लाख पाउनेछ भने तेस्रो हुने टिमले २७ मिलियन अर्थात ३ अर्ब ४९ करोड ८६ लाख ६० हजार पाउने छ। चौथो हुने टिमले २५ मिलियन अर्थात ३ अर्ब २३ करोड ९५ लाख रुपैयाँ पाउनेछ।

    यस्तै, क्वाटरफाइनल पुग्ने टिमले १७ मिलियन अर्थात २ अर्ब २० करोड २८ लाख ६० हजार रुपैयाँ पाउँदा अन्तिम १६ मा पुग्ने टिमले १३ मिलियन डलर अर्थात १ अर्ब ६८ करोड ४५ लाख ४० हजार पाउनेछन् । विश्वकपमा छनोट भएका ३२ टिमले ९ मिलियन अर्थात १ अर्ब १६ करोड ६२ लाख २० हजार रुपैयाँ पाउनेछन्।

    कतार विश्वकपको कूल पुरस्कार राशी ४४० मिलियन अर्थात ५७ अर्ब १ करोड ५२ लाख रुपैयाँ छ।

  • विश्वकप फाइनल आज : महान खेलाडी मेसीलाई विश्व विजेता बन्ने अन्तिम मौका

    विश्वकप फाइनल आज : महान खेलाडी मेसीलाई विश्व विजेता बन्ने अन्तिम मौका

    काठमाडौं । विश्वकप फुटबलको एक महिना लामो महामेला आज समापन हुँदैछ । आज तेस्रो पटक च्याम्पियन बन्ने लक्ष्यसहित फ्रान्स र अर्जेन्टिना आइतबार लुसेल आइकोनिक स्टेडियममा प्रतिस्पर्धा गर्दैछन् । यो खेलको विजेताले कतारमा जारी २२औं संस्करणको फिफा विश्वकपको उपाधि जित्नेछ । लिओनल मेसीका लागि विश्वकपको यो सम्भवतः अन्तिम खेल हो ।

    ३५ वर्षिय महान फुटबलरका लागि आज विश्व च्याम्पियन बन्ने अन्तिम मौका समेत आएको छ । उता, उनको यो यात्रालाई रोक्ने प्रयासमा हुनेछन्, २३ वर्षीय किलिएन एमबाप्पे । उनी लगातार दोस्रो पटक विश्वकप जित्ने अभियानमा छन् । अर्जेन्टिनाले विश्वकप जितेमा यो ३६ वर्षपछिको उपाधि हुनेछ । मेसीले पनि विश्वकप जित्दै विश्वकपमा सुखद बिदाइ पाउनेछन् । अर्को पहिलो खेल हारेर पनि च्याम्पियन बन्ने टिम हुनेछ अर्जेन्टिना । यस्तो नतिजा सन् २०१० मा स्पेनले निकालेको थियो ।

    फ्रान्सले जितेमा ६० वर्षपछि लगातार दुई पटक विश्वकप जित्ने पहिलो र समग्रमा तेस्रो टिम बन्नेछ । यसअघि ब्राजिलले पछिल्लो पटक १९६२ मा यो उपलब्धि हासिल गरेको थियो भने इटलीले १९३४ र १९३८ मा लगातार जितेको थियो । यस्तै एमबाप्पे २४ वर्षअघि नै लगातार विश्वकप जित्ने पेलेपछि पहिलो खेलाडी बन्नेछन् । यस्तै ह्युगो लोरिस दुई विश्वकप जित्ने पहिलो कप्तान बन्नेछन् । प्रशिक्षक डिडिएर डेसच्याम्प्स प्रशिक्षकका रुपमा दुई विश्वकप जित्ने पहिलो प्रशिक्षक हुनेछन् ।

    साविक विजेता फ्रान्सले पछिल्ला ७ विश्वकपमा फाइनल खेल्न लागेको यो चौथो पटक हो । सन् १९९८ मा घरेलु मैदानमै पहिलो पटक विश्वकप जितेको फ्रान्स २००६ मा उपविजेता बनेको थियो भने २०१८ मा दोस्रो पटक च्याम्पियन बनेको थियो । दुई पटकै अर्जेन्टिनाले १९७८ र १९८६ मा उपाधि जितेको थियो । मेसीको नेतृत्वमा दोस्रो पटक फाइनल पुगेको अर्जेन्टिना ३६ वर्षपछि विश्वकप उपाधि जित्ने लक्ष्यमा छ ।

    १९८६ मा डिएगो म्याराडोनाले एकल प्रयासमा अर्जेन्टिनालाई च्याम्पियन बनाएयता दुई पटक फाइनल पुगेर पनि अर्जेन्टिना पराजित भएको थियो । मेसीको अन्तिम विश्वकप जित्नका लागि अर्जेन्टाइन टिम अहिले एकजुट भएको छ । पछिल्लो पटक २०१४ मा फाइनल पुगे पनि लिओनल मेसीको अर्जेन्टिना फाइनलमा जर्मनीसँग अतिरिक्त समयमा पराजित भएको थियो ।

  • क्रोएसिया बन्यो तेस्रो

    क्रोएसिया बन्यो तेस्रो

    काठमाडौं । क्रोएसिया विश्वकपमा तेस्रो बनेको छ । जारी विश्वकपमा ऐतिहासिक प्रदर्शन गरेको मोरक्कोलाई शनिबार भएको प्लेअफमा क्रोएसियाले २–१ गोलअन्तरले हराउँदै तेस्रो स्थान सुरिक्षित गरेको हो । ज्लात्को ड्यालिक प्रशिक्षित क्रोएसिया चार वर्षपघि रुस विश्वकपमा फ्रान्ससँग फाइनलमा पराजित रहेको थियो ।

    सन् १९९८ मा विश्वकपमा डेब्यू गरेर एकपल्ट फेरि विश्वकपमा तेस्रो हुँदै क्रोएसियाले विश्व फुटबलमा शक्तिशाली देशका रुपमा आफूलाई चिनाउन सफल भएको छ । प्लेअफ खेलको सुरुवात शानदार र विस्फोटक रह्यो । सातौं मिनेटमै जोस्को भार्डिओलको डाइभिङ हेडर गोलमार्फत क्रोएसियाले अग्रता बनाएको थियो । तर, अचरफ दारीले दुई मिनेटभित्रै क्लोज रेन्जबाट गोल गरी खेल बराबरीमा ल्याए ।

    मिस्लाभ ओर्सिचले पहिलो हाफ हुनुभन्दा ३ मिनेटअघि शानदार गोल गरी क्रोएसियालाई पुनः अग्रता दिलाए । मूलतः उनको प्रहार क्रसका लागि थियो । तर, डिफ्लेक्ट भएपछि बलले पोष्टको दिशा लियो, जसलाई मोरक्कोका प्रोफोलिक गोलकिपर यासिन बोनोले पनि अनुमान गर्न सकेनन् । पहिलो हाफको तुलनामा खेलको दोस्रो हाफ उर्जाशील थिएन । मोरक्कोले खेलमा बराबरीका लागि केही राम्रा अवसरको उपयोग गर्न सकेन ।

    जारी विश्वकपमा आश्चर्यजनक सफलता पाएको मोरक्कोले लगातार दुई हारसँगै आफ्नो विश्वकप अभियान अन्त्य गरेको छ । कतार विश्वकपको फाइनल खेल आइतबार हुनेछ । जहाँ साविक विजेता फ्रान्स र लियोनल मेस्सीको टिम अर्जेन्टिना आमनेसामने हुनेछन् । यो खेल दोहाको लुसेल रंगशालामा आइतबार राति पौने ९ बजेदेखि सुरु हुनेछ ।

  • खेलाडी बिरामी हुँदा कति चिन्तामा फ्रान्स ?

    खेलाडी बिरामी हुँदा कति चिन्तामा फ्रान्स ?

    काठमाडौं । अर्जेन्टिनाविरुद्धको फाइनल खेलमा फ्रान्सका तीन खेलाडी दुरुस्त भइसक्ने आशा गरिएको छ। डिफेन्डर डायट उपामेकानो र मिडफिल्डर एड्रियन राबियोटले मोरक्कोविरुद्ध २–० ले हात पारेको जितमा खेलेका थिएनन् । प्रशिक्षक डिडियर डेस्चाँले चार दिनको समय भएकाले यी दुवै खेलाडी दुरुस्त भइसक्ने जानकारी गराएका छन् । उपामेकानो र राबियोटबाहेक वैकल्पिक खेलाडी किङ्सले कोम्यान पनि बिरामी छन् ।

    प्रशिक्षक डेस्चाँले यी तीन खेलाडी फाइनलअघि स्वस्थ हुने अपेक्षा गरेका छन् । डेस्चाँले कतारको गर्मीमा एयर कन्डिसनरको धेरै प्रयोगले पनि बिरामी बनाएको बताए । यसअघि स्विट्जरल्यान्डका दुई खेलाडी पनि समूह चरणमा सर्बियाविरुद्धको निर्णायक खेलमा यसै कारणले बिरामी परेका थिए ।

  • विश्वकपमा तेस्रो स्थानका लागि आज क्रोएसिया र मोरक्को भिड्दै

    विश्वकपमा तेस्रो स्थानका लागि आज क्रोएसिया र मोरक्को भिड्दै

    काठमाडौं । कतारमा जारी २२औं फिफा विश्वकपमा तेस्रो स्थानका लागि आज क्रोएसिया र मोरोक्कोबीच खेल हुँदैछ । सेमी फाइनलमा पराजित भएका यी दुई टोलीले तेस्रो स्थानका लागि आज खेल्दैछन् । खेल राति ८ : ४५ बजे खालिफा स्टेडिएममा हुनेछ । क्रोएसिया सेमिफाइनलमा अर्जेन्टिनासँग ३–० ले पराजित भएको हो ।

    सेमिफाइनलमा मोरोक्को भने फ्रान्ससँग २–० ले पराजित भएको हो । यी दुवै टोलीको समूह चरणमै भेट भएको थियो । उक्त खेल बराबरी गर्दै दुवै टिमले अंक बाँडेका थिए । क्रोएसिया साविकको उपविजेता हो भने मोरोक्को पहिलो पटक सेमिफाइनलसम्म पुगेको राष्ट्र हो । यो विश्वकपको फाइनल खेल भने आइतबार राति पौने ९ बजे हुनेछ । फाइनलमा साविक विजेता फ्रान्स र पूर्वविजेता अर्जेन्टिना प्रतिस्पर्धा गर्दैछन् ।

  • यी हुन् फ्रान्स र अर्जेन्टिनाबीचको फाइनल खेल खेलाउने रेफ्री

    यी हुन् फ्रान्स र अर्जेन्टिनाबीचको फाइनल खेल खेलाउने रेफ्री

    काठमाडौं । कतार विश्वकप फुटबलको फाइनल खेल पोल्याण्डका रेफ्रीले खेलाउने भएका छन् ।

    विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आइतबार फ्रान्स र अर्जेन्टिनाबीचको फाइनल खेलका लागि पोल्याण्डका सिजमोन मार्सिनीकलाई रेफ्री तोकेको हो ।

    कतारको लुसेल स्टेडियमा नेपाली समय अनुसार राति पौने ९ बजे फाइनल खेल हुँदैछ ।

    पोल्याण्ड अहिलेसम्म विश्वकपको फाइनलनमा नपुगेकाले पनि मार्सिनीक विश्वकपको फाइनलमा नेतृत्व गर्ने पहिलो पोल्याण्डका नागरिक पनि बन्ने छन् ।

    मार्सिनीकले डेनमार्क र फ्रान्सबीचको समूह चरणको खेलमा रेफ्री रहेका थिए । यसैगरी राउन्ड अफ १६ मा अर्जेन्टिना र अष्ट्रेलियाबीचका खेलमा पनि रेफ्री रहेका थिए ।

    यस्तै उनलाई पावेल सोकोलनिकी र टमसाज लिस्टकिवक्जले सहयोग गर्ने छन् । ४१ वर्षिय मार्सिनीकले युईएफए च्याम्पियन्स लिगमा रेफ्री गरेका छन् भने युरो २०१६ मा यो भूमिकामा रहेका थिए ।

  • पोर्चुगलका प्रशिक्षक बर्खास्त

    पोर्चुगलका प्रशिक्षक बर्खास्त

    काठमाडौं । विश्वकपको क्वाटरफाइनलमा पराजित भएको पोर्चुगलका राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक फर्नान्डो सान्तोसलाई पोर्चुगल फुटबल महासंघले बर्खास्त गरेको छ। विश्वकपको क्वाटरफाइनलमा उनको टीम मोरक्कोसँग पराजय भोगेर बाहिरिएको को ।

    पछिल्लो दुई खेलमा कप्तान क्रिस्टियानो रोनाल्डोलाई बेन्चमा राखेपछि सान्तोस निकै चर्चामा थिए। स्वीट्जरल्यान्ड विरूद्ध जित हासिल गरे पनि मोरक्कोविरुद्ध हार बेहोरेपछि उनको चर्को आलोचना भएको हो । ६८ वर्षियले सान्तोसले ८ वर्ष पोर्चुगल राष्ट्रिय टोली सम्हालेका थिए। सन् २०१६ मा उनले पोर्चुगललाई युरो च्याम्पियन बनाए।

    यद्यपि उनको अन्तिम खेलमा क्रिस्टियानो रोनाल्डोलाई बेन्चमा राख्नुनै प्रशिक्षकबाट हट्नुको प्रमुख कारण बन्यो। सान्तोसले खेलपछि बोल्दै रोनाल्डोलाई नखेलाउने निर्णय गलत नभएको र राजीनामा पनि नदिने बताएका थिए। सन् २०२४ मा हुने युरोपेली च्याम्पियनसिप सम्मका लागि सम्झौतामा रहेका सान्तोसले राजीनामा दिनुपर्ने अवस्था नरहेको बताएका थिए। पोर्चुगिज फुटबल संघले ८ वर्षसम्म टोली सम्हालेकोमा उनलाई धन्यवाद दिएको छ।

    ‘एफपीएफ फर्नान्डो सान्तोस र उनको प्राविधिक टोलीलाई आठ अद्वितीय वर्षमा प्रदान गरिएको सेवाहरूको लागि धन्यवाद दिन्छ र यो धन्यवाद पोर्चुगल जनताको तर्फबाट भएको विश्वास दिलाउन चाहन्छ,’ पोर्चुगिज फुटबल संघले भनेको छ।

  • राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मनोज प्रभाकरले दिए राजीनामा

    राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मनोज प्रभाकरले दिए राजीनामा

    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मनोज प्रभाकरले पदबाट राजीनामा दिएका छन् ।

    चार महिनाअघि नेपालको प्रशिक्षक नियुक्त भएका भारतीय पूर्व क्रिकेटर प्रभाकरले डिसेम्बर १५ (मंसिर २९) देखि लागू हुने गरी राजीनामा दिएको र स्वीकृत भइसकेको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।

    नामेवियामा भएको त्रिकोणात्मक एक दिवसीय सिरिजमा नेपाली टिमले खराबर प्रदर्शन गरेपछि कोचमाथि दवाव बढेको थियो ।

    नेपाल क्रिकेट संघ क्यान र प्रशिक्षक प्रभाकरबीच छलफल भइरहेका बेला प्रभाकर नयाँ दिल्ली प्रस्थान गरेका थिए ।

    नयाँ दिल्लीबाटै क्यानलाई राजीनामा पठाएका हुन् । तत्कालिन प्रशिक्षक पुवुदु दशानायकेले छाडेपछिसाउन २३ गते क्यानले प्रभाकरलाई १ वर्षका लागि मुख्य प्रशिक्षक नियुक्त गरेको थियो ।

    तर यसबीचमा नेपाली टिमको प्रदर्शन खस्कदै गएपछि उनलाई बर्खास्त गर्ने तयारी क्यानले गरिरहेका बेला प्रभारकले नै राजीनामा दिएर मार्ग प्रशस्त गरेका हुन् ।

    सन् २०१८ मा नेपालले एकदिवशीय अन्तर्राष्ट्रिय मान्यता पाएयताको चार वर्षमा पाँचजना प्रशिक्षक परिवर्तन भएका छन् । तीमध्ये चार जनाले सम्झौताको समयावधि अगाडि नै राजीनामा दिएका छन् ।

    नेपाली क्रिकेट टिम अहिले आईसीसी विश्वकप लिग टू खेलिरहेको छ ।

    एक दिवसीय वरियताका लागि पनि महत्वपूर्ण यो प्रतियोगितामा नेपालको प्रदर्शन कमजोर बन्दै जाँदा एक दिवसीय मान्यता पनि धरापमा पर्न थालेको छ ।

    क्यानले अब चाँडै नयाँ प्रशिक्षक नियुक्तिको प्रक्रिया अघि बढाउने जनाएको छ ।

  • यी हुन् गोल्डेन बुटको होडमा रहेका खेलाडी, मेस्सी सबैभन्दा अगाडि

    यी हुन् गोल्डेन बुटको होडमा रहेका खेलाडी, मेस्सी सबैभन्दा अगाडि

    काठमाडौं । यसपटकको विश्वकपमा गोल्डेन बुटको होडमा चार खेलाडी छन् । जसमा अर्जेन्टिनाका २ र फ्रान्सका २ जना छन् ।

    अर्जेन्टिनाका कप्तान लिओनल मेसी र फ्रान्सका किलिएन एमबाप्पेले सर्वाधिक ५ गोल गरेका छन् भने फ्रान्सकै ओलिभर जिरुड र अर्जेन्टिना युलियन अल्भारेजले समान ४ गोल गरेका छन् ।

    मेसी र एमबाप्पेलाई पछि पार्दै गोल्डेन बुट जित्न अल्भारेज र जिरुडले फाइनलमा कम्तीमा पनि दुई गोल गर्नुपर्नेछ ।

    सम्भवत: यी चारमध्ये एक खेलाडीले गोल्डेन बुट जित्नेछन् । २२औं संस्करणको विश्वकप फुटबलको विजेता आइतबार टुंगो लाग्नेछ । उपाधिका लागि अर्जेन्टिना र फ्रान्सबीच प्रतिस्पर्धा हुने पक्का भइसकेको छ ।

  • एम्बाप्पे लगातार दोस्रो खेलमा गोल गर्न असफल, गोल्डेन बुट र बल दुबै होडमा मेसी अगाडी

    एम्बाप्पे लगातार दोस्रो खेलमा गोल गर्न असफल, गोल्डेन बुट र बल दुबै होडमा मेसी अगाडी

    काठमाडौं । जारी विश्वकप फुटबलको गोल्डेन बुट र बल दुबै होडमा अर्जेण्टाइन स्टार लियोनल मेसीले अग्रता लिएका छन् । फ्रान्सका फरवार्ड किलियन एम्बाप्पेले क्वाटरफाइनल र सेमिफाइनल दुबै खेलमा गोल गर्न सकेनन् । जसका कारण उनलाई यस होडमा मेसीले उछिनेका हुन् । दोस्रो सेमिफाइनल खेलमा मोरक्कोलाई २–० गोलले हराउँदै फ्रान्स उपाधि नजिक पुगेको छ ।

    फ्रान्सको जितमा थिओ हर्नान्डेज र रान्दल कोलो मुआनीले एक–एक गोल गरे । फ्रान्सले उपाधिका लागि अर्जेन्टिनासँग आइतवार खेल्दैछ । गोल्डेन बुट धेै गोल गर्ने र र गोल्डेन बल उत्कृष्ट खेलाडीलाई दिइन्छ । यी दुबै होडमा मेस्सी र एम्बाप्पेबीच प्रतिस्पर्धा छ । दुवै खेलाडीले ५–५ गोल गरेका छन् ।

    असिस्टको आधारमा लिओनल मेस्सी सूचीको शीर्षस्थानमा रहेका छन् । फिफाको नियम अनुसार गोल्डेन बुट विजेताको निर्धारणमा दुई वा त्योभन्दा बढी खेलाडीको समान गोल भएको अवस्थामा असिस्ट सङ्ख्या गणना हुनेछ । असिस्ट पनि बराबरी भए कम मिनेट खेल्ने खेलाडीले गोल्डेन बुट पाउनेछन् । मेस्सीको ३ असिस्ट र एम्बाप्पेको २ असिस्ट रहेको छ। टोलीमा गरेको व्यक्तिगत प्रदर्शनका आधारमा दिइने गोल्डेन बलमा समेत मेसी एम्बाप्पेको तुलनामा अगाडी छन् ।

  • विश्वकपको फाइनल समिकरण पुरा, अर्जेण्टिना र फ्रान्स आइतबार भिड्ने

    विश्वकपको फाइनल समिकरण पुरा, अर्जेण्टिना र फ्रान्स आइतबार भिड्ने

    काठमाडौं । विश्वकप फुटबलको फाइनल समिकरण पुरा भएको छ । अब उपाधीका लागि आइतबार अर्जेण्टिना र फ्रान्स भिड्ने भएका छन् । मोरक्को सफल यात्रा अन्त्य गर्दै फ्रान्सले कतारमा जारी फिफा विश्वकपको उपाधिका लागि अर्जेन्टिनासँगको भेट निश्चित गरेको हो । विश्वकपको सेमिफाइनलमा पुग्ने पहिलो अफ्रिकी देशको इतिहास बनाएको मोरक्कोलाई खेल सुरु हुनुअघि नै झड्का लागेको थियो । सुरुवाती टिममा नाम भए पनि मुख्य डिफण्डर नायेफ एग्यूर्ड चोटका कारण बाहिरिए ।

    खेलको पाँचौं मिनेटनै थियो हर्नाण्डेजको गोलबाट फ्रान्सले अग्रता बनाइराख्न सक्यो। मोरक्को टिमको प्रयास र भावनाका बाबजुद फ्रान्सेली टिम अधिक प्राविधिक र सन्तुलित थियो । ७९औं मिनेटमा उस्मान डेम्बेलेलाई प्रतिस्थापन गरी मैदान छिरेको एक मिनेट नबित्दै कोलो मुआनीले गोल गरेपछि आगामी आइतबार दोहाको लुसेल रंगशालामा लियोनल मेस्सीको अर्जेन्टिनासँग फ्रान्सको् भेट निश्चित भयो ।

    मोरक्कोले रोमन साइसलाई पनि चोटका कारण पहिलो हाफमै गुमायो । यद्यपी समर्थकको अटूट स्नेहका साथ उसले खेल बराबरीको नजिक पुर्याएको थियो । विशेष गरी जावद एल यामिकको प्रहार फ्रान्सेली कप्तान गोलकिपर ह्युगो लोरिसले बचाएका थिए ।

    फ्रान्सका लागि लिभरपुलका डिफेण्डर इब्राहिम कोनाटेको प्रदर्शन शानदार थियो । अल बायेट रंगशालामा मोरक्कनको बाहुल्य रहेको माहोलमा फ्रान्सेली खेलाडीले आफ्नो संयमता कायम राखे । पहिलो हाफमा ओलिभर जिरोउडको एउटा प्रहार पोष्टमा लागेको थियो ।

    सन् १९५८ र १९६२ मा पेले र ब्राजिलपछि ६० वर्षसम्म कुनै पनि टिमले लगातार दुईपल्ट विश्वकप जित्न सकेको छैन । फ्रान्सका लागि यसपल्ट त्यो अवसर हुनेछ । लगातार फाइनलमा पुगेको चाहीँ सन् २००२ मा ब्राजिलपछि पहिलो हो । साढे चार वर्षअघि रुसमा सम्पन्न विश्वकपको फाइनलमा फ्रान्सले क्रोएसियालाई हराएर इतिहासमा दोस्रोपल्ट विश्वकप उपाधि उचालेको थियो ।

    सेमिफाइनलमा पराजित भए पनि मोरक्कोले तेस्रो स्थानका लागि शनिबार हुने खेलमा क्रोएसियासँग प्रतिस्पर्धा गर्नेछ । मंगलबार राति सम्पन्न पहिलो सेमिफाइनलमा क्रोएसियाले अर्जेन्टिनासँग पराजय ब्यहोेरेको थियो ।

  • विश्वकपको दोसो सेमिफाइनल आज, मोरक्कोले बनाउला इतिहास ?

    विश्वकपको दोसो सेमिफाइनल आज, मोरक्कोले बनाउला इतिहास ?

    काठमाडौं । फिफा विश्व कप फुटबलको दोस्रो सेमिफाइनल आज हुँदैछ । जसमा फ्रान्स र मोरक्को भिड्दैछन् । आजको खेलमा मोरक्कोलाई नयाँ इतिहास कोर्ने मौका छ । किनकी यो टीम पहिलोपटक सेमिफाइनल खुल्दैछ । खेल कतारको अल बायत मैदानमा नेपाली समय अनुसार राति पौने १ बजे सुरु हुनेछ । फ्रान्स विश्व कप फुटबलको साविक विजेता हो ।

    यो खेलको विजेताले फाइनलमा अर्जेन्टिनासँग खेल्नेछ । आज बिहान भएको पहिलो सेमिफाइनलमा क्रोएसियालाई ३–० गोलले हराएर अर्जेन्टिना उपाधि नजिक पुगेको हो । फ्रान्स क्वाटरफाइनलमा इङ्ल्यान्डलाई २–१ गोलले र मोरक्को पोर्चुगललाई १–० गोलले हराएर पहिलो पटक सेमिफाइनलमा पुगेका हुन्।

  • टीमलाई काँधमा बोक्दै फाइनल पुर्याएका मेसीको नाममा बने कैयौं कीर्तिमान

    टीमलाई काँधमा बोक्दै फाइनल पुर्याएका मेसीको नाममा बने कैयौं कीर्तिमान

    काठमाडौं । अर्जेन्टाइन सुपरस्टार लियोनल मेसी प्रेरित विश्वकपमा हरेक खेलाडीले उनका लागि कडा मिहिनेत गरेका छन् । उनीहरु आफ्नो मुलुकका सर्वकालिन महान खेलाडको सम्भवतः अन्तिम विश्वकपलाई भब्य बनाउन चाहन्छन् । सोही अनुसार मेसीले समेत आफ्नो उत्कष्ट फर्म र कौसल कायमै राखेका छन् । मेसीले कतारमा जारी फिफा विश्वकप सेमिफाइनलमा क्रोएसियाविरुद्धको खेलमा नयाँ इतिहास बनाउन सफल भए । फिफा पुरुष विश्वकपको इतिहासमा उनी सबैभन्दा धेरै खेल खेल्ने खेलाडी बनेका हुन् ।

    फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेइनका यी स्ट्राइकरले मंगलबार दोहाको लुसेल रंगशालामा विश्वकपमा आफ्नो २५ औं खेल खेले । यो जर्मनीका महान खेलाडी लोथर म्याथ्युजसँग बराबरीको कीर्तिमान हो । यो खेल अर्जेन्टिनाले ३–० ले जितेको छ । आइतबार लुसेल रंगशालामै हुने फाइनलमा मैदानमा उत्रिएसँगै मेस्सी विश्वकपमा सबैभन्दा धेरै खेल खेल्ने खेलाडी बन्ने भएका छन् ।

    विश्वकपको २५ खेलमा अर्जेन्टिनाका लागि उनले ११ गोल गरेका छन् भने ९ गोलका लागि असिस्ट गरेका छन् । क्रोएसियाविरुद्ध पेनाल्टीमार्फत पहिलो गोल गरेका लियोनल मेस्सी अर्जेन्टिनाका लागि विश्वकपमा सबैभन्दा धेरै गोल गर्ने खेलाडी समेत बने ।

  • सेमिफाइनलमा झनै उत्कृष्ट खेल्यो अर्जेण्टिना, फाइनल प्रवेश

    सेमिफाइनलमा झनै उत्कृष्ट खेल्यो अर्जेण्टिना, फाइनल प्रवेश

    काठमाडौं । कप्तान लियोनल मेस्सी र जुलियन अल्भारेजले प्रभावशाली प्रदर्शनमा अर्जेन्टिना विश्वकप फुटबलको फाइनल प्रवेश गरेको छ । दोहाको लुसेल रंगशालामा क्रोएसियालाई ३–० ले हराएर छैटौंपल्ट फिफा विश्वकपको फाइनलमा पुगेको हो । लियोनल मेस्सीलाई फुटबलको सबैभन्दा प्रतिष्ठित उपाधि जित्ने सम्भवतः यो अन्तिम अवसर हो । उनको शानदार करिअरमा अहिलेसम्म यो सफलता मिलेको छैन ।

    तर, म्यानचेस्टर सिटीका २२ वर्षीय स्ट्राइकर अल्भारेजको शीर्षस्तरमा शानदार प्रदर्शनले उनीहरुले आगामी आइतबार यही रंगशालामा फाइनल खेल्ने तय भएको छ । बुधबार हुने दोस्रो सेमिफाइनलमा साविक विजेता फ्रान्स र मोरक्को आमनेसामने हुनेछन् । अर्जेन्टिनी टिमका कान्छा स्ट्राइकर अल्भारेज सुरुवातमा ह्याम्स्ट्रिङको समस्यासँग संघर्ष गरिरहेका थिए ।

    तर, ३४औं मिनेटमा क्रोएसियाली गोलरक्षक डोमिनिक लिभाकोभिचले उनलाई फल गरेपछि अर्जेन्टिनाले पेनाल्टी पायो । लियोनल मेस्सीले गोल गरेपछि अर्जेन्टिनाले अग्रता बनायो । पाँच मिनेटपछि उनैले टिमको अग्रता दोब्बर बनाए र मेस्सीको हेडर पासमार्फत मध्यभागबाट बल लिएर अघि बढेका अल्भारेजले क्रोएसियाका तीन खेलाडीलाई छक्याउँदै आकर्षक गोल गरेका थिए ।

    दोस्रो हाफमा सम्भव भएको तेस्रो गोल तुलनात्मक रुपमा अल्भारेजका लागि सहज थियो । मेस्सीले क्रोएसियाका सबैभन्दा उत्कृष्ट डिफेण्डरलाई विट गरी ब्याकपास दिए । उनले गोललाइन नजिकैबाट सहजै लक्ष्य दिए । अर्जेन्टिनाका लागि यो खेल क्रोएसियासँग उत्कृष्ट बदलासमेत रह्यो । सन् २०१८ को विश्वकप समूह चरणमा क्रोएसियाले अर्जेन्टिनालाई ३–० गोलले पराजित गरेको थियो ।

  • विश्वकपमा सेमिफाइनलका खेल आजबाट, अर्जेण्टिना र क्रोएसिया भिड्दै

    विश्वकपमा सेमिफाइनलका खेल आजबाट, अर्जेण्टिना र क्रोएसिया भिड्दै

    काठमाडौं । फिफा विश्वकप २०२२ अन्तर्गत सेमिफाइनलका खेल आजबाट सुरू हुँदैछन्। बुधबार बिहान पहिलो सेमिफाइनलमा अर्जेन्टिना र क्रोएसिया भिड्दैछन् । नेपाली समय अनुसार राती पौने १ बजे खेल सुरु हुनेछ । खेल कतारको लुसेल रंगशालामा खेल हुँदैछ। बिहीबार बिहान भने साविक विजेता फ्रान्सले मोरक्कोसँग प्रतिस्पर्धा गर्नेछ ।


    पहिलो सेमिफाइनले विश्व फुटबलका सुपरस्टार लिओनल मेसीको अन्तिम इच्छाको यात्राबारे तय गर्नेछ। गत वर्ष कोपा अमेरिकाको उपाधि जितेर आफ्नो पहिलो धोको पूरा गरेका मेसी अब देशका लागि विश्वकप उचाल्न चाहन्छन् । उनको यो सपना परा गर्न अब दुई जितको खाँचो छ । त्यसकारुण सेमिफाइनल उनी र उनको टीमका लागि महत्वपूर्ण छ । गत संस्करणको उपविजेता क्रोएसियाले मेसी मात्र नभई समग्र टीमलाई रोक्ने गरी रणनीति बनाएको बताएको छ ।

    विशेषगरी मिडफिल्डरहरू अर्जेन्टिनालाई चुनौती दिन सक्षम छन् । कीर्तिमानी सात पटक बालन डि’अर अवार्ड हात पारेका मेसीले अब विश्वकप जित्ने अन्तिम मौका भएको स्वयमले पनि बताउँदै आएका छन्। अर्जेन्टिनाले पछिल्लो पटक ३६ वर्षअघि सन् १९८६ मा म्याराडोनाको प्रभावशाली खेलमा विश्वकप जितेको थियो। सन् २०१४ मा अर्जेन्टिनाका लागि उपाधि जित्ने अवसर आएको थियो।

    तर फाइनलमा जर्मनीसँग पराजित हुँदा मेसी र अर्जेन्टिनाको सपना पुरा हुन सकेन । क्रोएसियाका लागि पनि यसपटक सन् २०१८ को पीडा भुलाउने अवसर आएको छ। २०१८ को रसिया विश्वकपमा फाइनल पुगेर फ्रान्ससँग पराजित भएको पीडा उनीहरूले यस पटक बिर्साउन सक्छन् । ३७ वर्षीय मिडफिल्डर लुका मोड्रिकको नेतृत्वमा क्रोएसियाले मिडफिल्डमा उत्कृष्ट फुटबल खेलिरहेको छ।

  • विश्वकपको इतिहासमा सर्वाधिक पहेँलो कार्ड देखाउने रेफ्रीलाई फिफाले घर फर्कायो

    विश्वकपको इतिहासमा सर्वाधिक पहेँलो कार्ड देखाउने रेफ्रीलाई फिफाले घर फर्कायो

    काठमाडौं । विश्वकपको इतिहासमा सर्वाधिक पहेँलो कार्ड विवादित बनेको स्पेनिस रेफ्री एन्टोनियो माटियु लाहोजले बाँकी खेलमा जिम्मेवारी नपाउने भएका छन् । विश्व एन्टोनियोको चर्को आलोचना भएपछि फुटबल महासघं (फिफा) ले उक्त निर्णय लिएको हो ।

    कतारमा जारी विश्वकप अन्तर्गत अर्जेन्टिना र नेदरल्यान्ड्सबीचको क्वार्टरफाइनल खेल खेलाउने क्रममा रेफ्री एन्टोनियोले खेलाडी र अफिसियललाई गरी खेल अवधिभर १७ वटा पहेँलो र नेदरल्यान्ड्सका डेन्जेल डम्फ्रिजलाई दोहोरो पहेँलो (एक रातो कार्ड) देखाएका थिए ।

    रेफ्रीको निर्णयको विषयमा खेलपछि अर्जेन्टिना र नेदरल्यान्ड्स दुवै पक्षले आलोचना गरेका थिए ।

    विवादमा परेका एन्टोनियोलाई फिफाले बाँकी जिम्मेवारीबाट अलग गरेपछि उनी स्पेन फर्किएका छन् ।

    फिफा विश्वकपमा १८ पहेँलो कार्ड देखाइएको पहिलो पटक हो । यसअघि सन् २००६ को पोर्चुगल र नेदरल्यान्ड्सबीचको प्रिक्वार्टरफाइनल खेलमा चार रातोसहित १६ वटा कार्ड देखाइएको थियो ।

    यसैगरी फिफाले अर्जेन्टिना र नेदरल्यान्ड्सबीचको खेलमा दुवै टोलीले विपक्षीमाथि प्रस्तुत गरेको खराब व्यवहारका कारण अनुशासनसम्बन्धी कारबाही गर्ने पनि जनाएको छ ।

  • महानगरको मैत्रीपूर्ण फुटबल: बालेनको टिमले खायो आधा दर्जन गोल

    महानगरको मैत्रीपूर्ण फुटबल: बालेनको टिमले खायो आधा दर्जन गोल

    काठमाडौं । महानगर दिवसको अवसरमा आयोजित प्रमुख ११ र प्रमुख प्रशासकीय अधिकृत ११ बीचको मैत्रीपूर्ण फुटबलमा महानगरका मेयर बालेन्द्र शाहको टिम पराजित भएको छ ।

    २८औँ महानगर दिवसको अवसरमा दशरथ रंगशालामा आयोजित फुटबलमा महानगरका मेयर बालेन्द्र शाह (बालेन) को टिमले ६ गोल खाएको हो ।

    प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीको टिम विजयी भएको छ ।

    ११ प्रमुख प्रशासकीय अधिकृतको तर्फबाट ६ र प्रमुखको तर्फबाट १ गोल प्रहार भएको थियो । नगर प्रहरीका प्रमुख राजु पाण्डे पनि सो टिमबाट खेलेका थिए ।

    महानगरका करिब ५० जना खेलाडी फुटबलमा सहभागी थिए । मेयर बालेन्द्र शाह टिम कप्तान भए पनि उनी मैदान प्रवेश गर्दासम्म टिमले ५ गोल खाइसकेको थियो ।

    मेयर बालेन, उपमेयर सुनिता डंगोल, वडाअध्यक्ष र वडासदस्यहरू एकातर्फ र अर्कोतर्फ प्रमुख प्रशासकीय अधिकृत अधिकारीलगायत विभागीय प्रमुखहरूबीच प्रतिस्पर्धा भएको थियो ।

  • विश्वकप सेमिफाइनल : कुन टिमको खेल कहिले ?

    विश्वकप सेमिफाइनल : कुन टिमको खेल कहिले ?

    काठमाडौं । कतारमा जारी फिफा विश्व कप फुटबलको सेमिफाइनल समीकरण पूरा भएसँगै दुई दिन टिमहरुले आराम पाउने भएका छन् । आइतबार बिहान अन्तिम क्वाटरफाइनलको खेल सकिएको छ । यससँगै विश्वकपको अन्तिम चारमा पुग्ने सबै टोलीको टुंगो लागेको छ ।

    यस पटकको विश्वकपमा साविक विजेता फ्रान्स र साविक उपविजेता क्रोएसिया तथा अर्जेन्टिना र मोरक्को सेमिफाइनलमा पुगेका छन्। पहिलो सेमिफाइनलमा अर्जेन्टिना र क्रोएसिया तथा दोस्रो सेमिफाइनलमा फ्रान्स र मोरक्को खेल्नेछन्। अर्जेन्टिना र क्रोएसियाबीचको खेल मंगलबार राति पौने १ बजे हुनेछ। दोस्रो सेमिफाइनल मोरक्को र फ्रान्सबीच बुधबार राति पौने १ बजे हुनेछ। फाइनल खेल पुस ३ गते आइतबार हुनेछ ।

  • फ्रान्स सेमिफाइनल पुग्यो, इङ्ल्याण्डका कप्तान केनले मिस गरे पेनाल्टी

    फ्रान्स सेमिफाइनल पुग्यो, इङ्ल्याण्डका कप्तान केनले मिस गरे पेनाल्टी

    काठमाडौं । महत्वपूर्ण क्षणमा पाएको पेनाल्टीलाई गोलमा परिणत गर्न नसकेपछि इङ्ल्याण्ड जारी विश्वकपको क्वाटरफाइनलमा पराजित भएको छ । कप्तान ह्यारी केन पेनाल्टीमा गोल गर्न असफल भए । इङ्ल्याण्ड साविक विजेता फ्रान्ससँग २–१ ले पराजित भयो । मध्यराती सम्पन्न खेलमा इङ्ल्याण्डले खेलको अन्त्त्यतिर पेनाल्टी पाएको थियो । तर कप्तान केनले प्रहार गरेको पेनाल्टी पोष्ट बाहिर गयो । अब बायत रंगशालमा त्यसअघि भने इङ्ल्याण्डले पेनाल्टी पाउँदा केनले नै गोल गरेर टिमलाई जिवित राखेका थिए ।

    खेलको १७औं मिनेटमा औरेलियन चुवामेनीले एन्टोनी ग्रीजमनको पासमा गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए । फ्रान्सले पहिलो हाफमा अग्रता कायम राख्यो । तर ५४औं मिनेटमा केनले पेनाल्टीमा गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए । ७८औं मिनेटमा ओलिभर जिरुडले गोल गर्दै फ्रान्सलाई २–१ को अग्रता दिलाउँदै जित नजिक पुर्‍याए । इंग्ल्याण्डले दोस्रो पटक पेनाल्टी पाउँदा खेलमा फर्कने अवसर पाएको थियो । केनको प्रहारले पोष्टको दिशा लिन सकेन । जसले गर्दा फ्रान्स भाग्यमानी बन्यो र लगातार विश्वकपको सेमिफाइनलमा पुग्यो । फ्रान्सले अब मोरक्कोसँग सेमिफाइनल खेल्नेछ ।

  • पोर्चुगलमाथि ऐतिहासिक जित निकाल्दै मोरक्को सेमिफाइनल प्रवेश

    पोर्चुगलमाथि ऐतिहासिक जित निकाल्दै मोरक्को सेमिफाइनल प्रवेश

    काठमाडौं । पोर्चुगलमाथि ऐतिहासिक जित निकाल्दै मोरक्को कतारमा जारी फिफा विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । अल थुमामा स्टेडियममा शनिबार भएको क्वाटरफाइनलमा मोरक्कोले पोर्चुगललाई १–० ले पराजित गर्यो । जितसँगै मोरक्को विश्वकप फुटबलको सेमिफाइनलमा पुग्ने पहिलो अफ्रिकन टिम बनेको छ। इन्जुरी टाइममा वालिद चेडिराले दोहोरो पहेँलो कार्ड पाएपछि मोरक्कोले दश खेलाडीमा सिमित भएको थियो । अन्तिम १६ मा पूर्व विजेता स्पेनलाई पेनाल्टीसुटआउटमा हराएको मोरक्कोले जारी विश्वकपमा ठूला टिमहरुलाईहराएको छ ।

    सोही सिलसिलामा क्वाटरफाइनलमा मोरक्कोले क्रिस्टियानो रोनाल्डोको पोर्चुगललाई हराउन सफm भयो । मोरक्कोले अब साविक विजेता फ्रान्स र अर्का पूर्व विजेता इंग्ल्याण्डबीच हुने अन्तिम क्वाटरफाइनलको विजेतासँग सेमिफाइनलमा भिड्नेछ । मोरक्कोलाई ऐतिहासिक सफलता दिलाउन क्रममा युसुफ एन नेस्रीले निर्णायक गोल गरे । उनले ४२औं मिनेटमा अतिहा अल्लाहको पासमा गोल गरेका हुन् ।

  • कतार विश्वकपको रिर्पोटिङ गरिरहेका अमेरिकी पत्रकारको निधन

    कतार विश्वकपको रिर्पोटिङ गरिरहेका अमेरिकी पत्रकारको निधन

    काठमाडौं । कतारको राजधानी दोहाबाट विश्वकप फुटबल २०२२ को रिपोर्टिङ गरिरहेका अमेरिकी पत्रकारको निधन भएको छ । पत्रकार ग्रान्ट वाह्लको निधन भएको अमेरिकी फुटबलले पुष्टी गरेको छ । यूए सकरले शनिबार वक्तव्य निकाल्दै उनको शुक्रबार निधन भएको पुष्टी गरेको छ । लुसेल रंगशालामा खेल हेर्ने क्रममा उनलाई हृदयघात भएको समाचारमा उल्लेख छ । गार्डियनका अनुसार उनी रंगशालाको प्रेस बक्समा बसेका थिए । उनी खेल चल्दाचल्दै नै एक्कासि ढलेका थिए ।

    पत्रकारहरूले त्यसपछि मेडिकल टिमलाई बोलाएका थिए । रंगशालामै उनलाई २० मिनेटसम्म सीपीआर गरिएको थियो । अर्जेन्टिना र नेदरल्यान्ड्सबीचको क्वार्टफाइनलको खेलको रिपोर्टिङका क्रममा निधन भएको अमेरिकी मिडिया एनपीआरले जनाएको छ । त्यस्तै यूएस सकरले फुटबलका प्रशंसक र उच्च स्तरको पत्रकार गुमाउनु पर्दा दुःखी भएको उल्लेख गरेको छ ।

  • विश्वकप : आज पोर्चुगल-मोरक्को तथा इङ्ल्याण्ड-फ्रान्स भिड्दै

    विश्वकप : आज पोर्चुगल-मोरक्को तथा इङ्ल्याण्ड-फ्रान्स भिड्दै

    काठमाडौं । कतारमा जारी फिफा विश्वकप २०२२ मा आज दुई क्वाटरफाइनल खेल हुँदैछन् । पहिलो खेल पोर्चुगल र मोरक्को भिड्नेछन् । यो खेल राति पौने ९ बजे अल थुमामा स्टेडियममा हुनेछ । दोस्रो खेलमा अल बायत स्टेडियममा राती पौने १ बजे हुनेछ । जसमा फ्रान्सले इङ्ल्याण्डको सामना गर्दैछ । आजको खेलपछि सेमिफाइनलमा पुग्ने चारवटै टोलीको टुङ्गो लाग्छ । जारी विश्वकपमा मोरक्को अपराजित टोली हो ।

    बेल्जियम र क्रोएसियासहितको टीमबाट समूह विजेता बन्दै अघि बढेको मोरक्कोले अन्तिम १६ मा पूर्वविजेता स्पेनलाई हराएको हो । मोरक्को पहिलो पटक विश्वकपको क्वाटरफाइनलमा पुगेको हो । मोरक्कोले अन्तिम १६ मा मोरक्कोले पूर्व विजेता स्पेनलाई पेनाल्टीसुटआउटमा ३–० ले हराएको हो । पोर्चुगललाई पनि स्तब्ध पार्दै मोरक्को विश्वकपको इतिहासमा सेमिफाइनल पुग्ने पहिलो अफ्रिकन टिम बन्ने लक्ष्यमा छ । क्रिस्टियानो रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगलले अहिलेसम्म विश्वकप जितेको छैन ।


    पोर्चुगल १६ वर्षपछि विश्वकपको क्वाटरफाइनलमा पुगेको हो । सन् २००६ मा जर्मनीमा भएको विश्वकपमा सेमिफाइनल पुगेको पोर्चुगल १६ वर्षपछि विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको हो । २०१० र २०१८ मा अन्तिम १६ बाटै आउट भएको पोर्चुगल २०१४ मा समूह चरणबाटै बाहिरिएको थियो ।


    उता, जारी विश्वकपमा अपराजित चार टिममध्ये इंग्ल्याण्ड पनि एक हो । १९६६ मा एक पटक विश्वकप जितेको इंग्ल्याण्ड त्यसयता फाइनलसम्म पनि पुग्न सकेको छैन । इंग्ल्याण्ड ५६ वर्षपछि विश्वकप उपाधि घर ल्याउने लक्ष्यसहित कतार पुगेको छ । तर चार वर्षअघि सेमिफाइनलमा पराजित भएको इंग्ल्याण्डले यस पटक साविक विजेता फ्रान्ससँग क्वाटरफाइनलमा भिड्नु पर्नेछ । समूह चरणमा दुई जित र एक बराबरीको नतिजासहित इंग्ल्याण्ड समूह बी को विजेता बनेको थियो ।

    अन्तिम १६ मा सेनेगललाई ३–० ले हराएर इंग्ल्याण्ड अगाडी बढेको हो । साविक विजेता फ्रान्स कतार विश्वकपमा उपाधि दाबेदार मध्ये एक हो । किलियन एमबाप्पे ५ गोल गर्दै सर्वाधिक गोल गर्नेमा अगाडि छन् । फ्रान्सले समूह डी मा सुरुवाती दुई खेल जित्दै अन्तिम १६ मा स्थान पक्का गर्दा अन्तिम खेलमा हार बेहोरेको थियो ।

  • रोमाञ्चक खेलमा अर्जेण्टिनाले नेदरल्याण्ड्सलाई हरायो

    रोमाञ्चक खेलमा अर्जेण्टिनाले नेदरल्याण्ड्सलाई हरायो

    काठमाडौं । अर्जेण्टिना जारी विश्वकपको सेमिफाइनल प्रवेश गरेको छ । गोलकिपर एमिलियानो मार्टिनेजले नायक बन्दै दुई पेनाल्टी रोकेसँगै नेदरल्याण्ड्सलाई पेनाल्टी शूटआउटमा ४–३ ले हराउँदै अर्जेन्टिना कतारमा जारी फिफा विश्वकप २०२२ को सेमिफाइनलमा पुगेको छ । अब उसको भेट क्रोयसियासँग हुनेछ । लुसेल आइकोनिक स्टेडियममा भएको नाटकीय र तनावपूर्ण दोस्रो क्वाटरफाइनलमा मार्टिनज नायक बने ।

    अर्जेन्टिना ८ वर्षपछि विश्वकपको सेमिफाइनलमा पुग्न सफल भयो । निर्धारित ९० मिनेट र थप गरिएको ३० मिनेटको खेल २–२ को बराबरीमा सकिएपछि खेल पेनाल्टी शूटआउटमा पुगेको हो । जहाँ अर्जेन्टिनाका लागि कप्तान लिओनल मेसी, लिएनड्रो परेडेस, गोन्जालो मोनिटेल र लाउटारो मार्टिनेजले गोल गरे । एन्जो फर्नान्डेसको प्रहार पोष्ट बाहिर गएको थियो ।

    नेदरल्याण्ड्सका लागि टिउन कुपमाइनर्स, वाउट वेघोस्ट लुक डे जोङले गोल गरे । अर्जेन्टिनाको जितमा नायक बनेका मार्टिनेजले डच कप्तान भर्जिल भान डाइक र स्टेभेन बर्गुइसको प्रहार बचाए । खेलको ३५औं मिनेटमा मोलिनाले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए । कप्तान लिओनल मेसीले उपलब्ध गराएको उत्कृष्ट पासमा मोलिनाले गोल गरे । गत वर्ष राष्ट्रिय टिममा डेब्यु गरेका मोलिनाको अर्जेन्टिनाको लागि यो पहिलो गोल हो । मेसीले विश्वकपको नकआउट चरणमा पाँच असिस्ट गर्दै सर्वाधिक असिस्ट गर्ने खेलाडीमा पेलेलाई पछि पार्न सफल भए । पहिलो हाफमा अग्रता लिएको अर्जेन्टिनाले दोस्रो हाफमा पनि गोल थप्यो । यस पटक मेसीले पेनाल्टीमा गोल गरे ।

    नेदरल्याण्ड्सका डेन्जल डमफ्राइझले मार्कोस अकुनालाई फाउल गरेपछि प्राप्त पेनाल्टीमा मेसीले ६३औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारेका थिए । जारी विश्वकपमा मेसीको यो चौथो गोल हो । उनी सर्वाधिक गोल गर्नेमा फ्रान्सका किलिएन एमबाप्पे भन्दा एक गोलले पछि छन् । दुई गोलले पछि परेको नेदरल्याण्ड्सले उत्कृष्ट पुनरागमन गर्दै खेल बराबरी गर्‍यो ।

    वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेको वाउट वेघोस्टले ८३औं मिनेटमा गोल गर्दै डच टोलीलाई खेलमा फर्काउने प्रयास गरे । ९० मिनेटको खेलपछि १० मिनेटको इन्जुरी टाइम थप गरिएको थियो । जसको अन्तिम मिनेटमा नेदरल्याण्ड्सले बक्स बाहिर फ्रिकिक पायो । त्यसमा टम कुपमाइनरसको उत्कृष्ट पासमा वेघोस्टले व्यक्तिगत दोस्रो गोल गरेपछि खेल अतिरिक्त समयमा पुगेको थियो ।

  • ब्राजिल क्वाटरफाइनलमा पराजित, क्रोयसियाले पेनाल्टीमा हरायो

    ब्राजिल क्वाटरफाइनलमा पराजित, क्रोयसियाले पेनाल्टीमा हरायो

    काठमाडौं । पेनाल्टी शूट आउटमा ब्राजिललाई हराउँदै क्रोएसिया कतारमा जारी फिफा विश्वकपको सेमिफाइनल पुगेको छ । एजुकेसन सिटी स्टेडियममा शुक्रबार सम्पन्न पहिलो क्वाटरफाइनलमा क्रोएसियाले पेनाल्टी शूटआउटमा ब्राजिललाई ४–२ ले हरायो । हारपछि उपाधि दाबेदार तथा सर्वाधिक ५ पटकको विजेता ब्राजिल क्वाटरफाइनलबाटै बाहिरियो ।

    क्रोएसियाले यसअघि अन्तिम १६ को खेलमा गोलकिपर लिभाकोभिच नायक बन्दा जापानलाई पेनाल्टी शूटआउटमा हरायो । क्रोएसिका लागि पेनाल्टी प्रहार गरेका निकोला भ्लासिक, लोभरो माजेर, लुका मोडरिच, मिस्लाभ ओर्सिस सबैले गोल गरे । क्रोएसियाका लागि गोलकिपर फेरी नायक बने । उनले ब्राजिलका रोड्रिगोको पहिलो प्रहार नै बचाएका थिए । ब्राजिलका लागि कासेमिरो र पेड्रोले मात्र गोल गरे । चौथो नम्बरमा पेनाल्टी प्रहार गरेका मार्क्विन्होसको प्रहार पोष्टमा लागेपछि क्रोएसियाको जित निश्चित भएको थियो ।

    त्यसअघि निर्धारित ९० मिनेटमा दुई टोलीले गोल गर्न नसकेपछि खेलमा ३० मिनेटको अतिरिक्त समय थप गरिएको थियो । पहिलो हाफमा ब्राजिलले गोलका लागि लगातार प्रयास गरेपनि क्रोएसियाका गोलकिपर डोमिनिक लिभाकोभिचले उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले निर्धारित ९० मिनेटमा ब्राजिलका ८ सेभ गरेका थिए । पहिलो हाफमा ब्राजिलले क्रोएसियामाथि लगातार आक्रमक गरेको थियो । अतिरिक्त समयमा दुवै टोलीले गोल गर्ने प्रयास गरेका थिए र दुवैले एक एक गोल गरे ।

    अतिरिक्त समयको पहिलो हाफको इन्जुरी टाइममा नेमारले गोल गर्दै ब्राजिललाई अग्रता दिलाए । उक्त गोलसँगै नेमारले ब्राजिलका लागि सर्वाधिक ७७ गोल गर्ने पेलेको कीर्तिमान समेत बराबरी गरे । ११७औं मिनेटमा क्रोएसियाले बराबरी गोल फर्कायो । वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका ब्रुनो पेटकोभिचले ११७औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए । त्यही गोलले क्रोएसिया खेलमा फर्कियो र पेनाल्टी शूटआउटमा जित निकाल्यो ।