Category: बिचार

  • बाटोले विकासको सम्भावना खुलेको छ : अर्थमन्त्री डा. महत

    बाटोले विकासको सम्भावना खुलेको छ : अर्थमन्त्री डा. महत


    नुवाकोट । बाटोले विकासको धेरै ठूलो सम्भावना खुलेको अर्थमन्त्री डा. प्रकाशशरण महतले बताएका छन । नुवाकोटको शिवपुरी गाउँपालिकास्थित  श्री शेराबगर विकाश समाजद्वारा आयोजित बृहत गोरु जुधाई तथा साँस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री डा. महतले भने, मध्यपहाडी लोकमार्ग पहिला यहाँबाट लैजाने योजना थिएन । पाँचखालबाट काठमाडौं हुँदै झोरबाट छहरे झार्ने योजना थियो । काठमाडौंबाट पछाडि परेको शिवपुरीबाट बाटो जानुपर्छ भनेर मैले प्रस्ताव गरेको हुँ । अहिले लोकमार्ग बनेको छ । अब यो ठाउँको शुभदिन सुरु भएको छ । हामीले यसको भरपूर उपयोग गर्नुपर्छ ।’

    मन्त्री डा. महतले भने, ‘शिवपुरी गाउँपालिका पहिला पिछडिएको थियो, विजुली र यातायातको सुविधा थिएन, धेरै उतारचढावपछि यो क्षेत्र रुपान्तरिक भएको छ । ०४६ सालपछि विकास गाउँ पस्यो । सडक, शिक्षा, स्वास्थ्य चौकी, खानेपानी र सिँचाई तथा नागरिक सशक्तिकरण प्रारम्भ भयो ।’

    महोत्सवमा विभिन्न खालका उत्पादन प्रदर्शनीमा राखिएकोमा खुशी व्यक्त गर्दै मन्त्री डा. महतले भने, ‘रसायनिक मल प्रयोग नगरी स्थानीय मलको प्रयोग गरेर उत्पादन सुरु भएको छ । सडक बनेको छ, काठमाडौं पुग्न सजिलो छ । ४५ मिनेटमा काठमाडौं पुगिन्छ ।’

    उत्पादनको सम्भावनालाई प्रयोग गर्न अनुरोध गर्नुहुँदै मन्त्री डा. महतले भने, ‘सरकारले उत्पादनमा अनुदान दिने नीति सरकारले बजेटमार्फत् ल्याएको छ । पहिलाजस्तो गैरकृषकले कागजमा देखाएर अनुदान लिने परम्परा अन्त्य भएको छ । अब कागजमा देखाएर हुँदैन, उत्पादन देखाउनुपर्छ । उत्पादन देखाउँदा अनुदान पाइछ । यसको उपयोग गर्न म अनुरोध गर्दछु ।’

    नुवाकोट जिल्लामा बजेट राम्रोसँग परेको थिएन । डा. रामशरण महत अर्थमन्त्री भएका बेला पुल र बाटो निर्माणका धेरै योजना आएका थिए । त्यसपछि केही समय रोकिएको थियो, उनले भने, अहिले जगतेदेखि गोल्फु भञ्ज्याङसम्मको बाटोका लागि एक अर्ब २० करोड रुपैयाँको ठेक्का प्रकृया अघि बढिसकेको छ । ककनी जाने बाटोमा पनि एक अर्ब ३० करोड रुपैयाँको ठेक्का प्रकृया अगाडि बढिसकेको छ । सूर्यगढी जोड्ने, पञ्चकन्याबाट गोल्फु भन्ज्याङ जाने बाटोका लागि बजेट विनियोजन गरिएको छ । मन्त्री डा. महतले भने, उत्पादन क्षेत्रसँग जोड्ने बाटो निर्माणका लागि बजेट विनियोजन गरिएको छ भने सिँचाइ आयोजनाका योजनाहरु पनि राखिएको छ ।

    ‘सडक निर्माणमा एकै पटक बजेट राख्न सकिँदैन । देशमा आवश्यकता धेरै छन्, आम्दानी थोरै छ । अर्थमन्त्रीले देशैभरि हेर्नुपर्छ, मैले नुवाकोटलाई मात्र हेर्न मिल्दैन’ मन्त्री डा. महतले भने, नुवाकोटमा अझ धेरै बजेट राख्ने चाहना हुँदाहुँदै छुट्न गएको छ, ती आउँदा दिनमा समेटिने छन् ।’

  • संविधान कार्यान्वयन मार्फत  गणतन्त्र साकार पार्ने प्रण गरौँ : राष्ट्रपति  पौडेल

    संविधान कार्यान्वयन मार्फत  गणतन्त्र साकार पार्ने प्रण गरौँ : राष्ट्रपति  पौडेल

    काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको पूर्ण कार्यान्वयन नभएकाले जनतामा निराशा देखिएको बताउँदै संघीय संसदमा रहेका दलहरूलाई संविधान कार्यान्वयनका लागि तत्काल कानून बनाउन आग्रह गरेका छन् ।
    माघी पर्वको उपलक्ष्यमा शीतल निवासमा सोमबार आयोजित शुभकामना आदानप्रदानमा संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका नेताहरूलाई सम्बोधन गर्दै समावेशी संघीय लोकतान्त्रिक गणतन्त्र साकार पाछौं भन्ने प्रण गर्न आग्रह गरे।
    उनले भने, ‘यो संविधानले उत्पिडित, उपेक्षित, पिछडिएका जनतालाई अधिकार सम्पन्न बनाएको छ । यो वेजोड अधिकारी दिइएकोमा विश्व समुदायले पनि हाम्रो संविधानको प्रशंसा गरेको छ । तर यसको व्यावहारिक रूपमा पूर्ण कार्यान्वयन हुन बाँकी छ । जनतामा देखिएको निराशा अरु कारणले होइन, संविधान कार्यान्वयन नभएर हो । संविधान कार्यान्वयन गर्न छिटो कानून बनाएर जनताको निराशालाई आशामा परिणत गरौं ।’

    उनले नेपाली जनताले कहिल्यै पछाडि फर्कन नचाहेको स्पष्ट पारे । उनले भने, ‘नेपाली जनताको चाहना मैले पनि बुझेको छु । नेपाली जनता कहिल्यै पछाडि फर्कन चाहदैनन् । उनीहरूको चाहना अगाडि बढ्ने नै हो । त्यसैले समावेशी संघीय लोकातान्त्रिक गणतन्त्र साकार पारेर जनताको त्यो चाहना पूरा गर्ने तपाई हामी सवै मिलेर आजको दिनमा प्रण गरौँ ।’

    उनले  माघी थारु र मगर समुदायका साथै सम्पूर्ण नेपालीको मौलिक पर्व भएको बताउँदै माघीले ऋतु परिवर्तनको समेत प्रतिनीधित्व गर्ने भएकाले विषेश महत्व रहेको बताए ।
    कार्यक्रममा उपराष्ट्रपति, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, राष्ट्रिय सभाका उपाध्यक्ष, संघीय संसदमा प्रतिनीधित्व गर्ने संसदीय दलका नेताहरू, संसदीय समितिका सभापतिहरू र स्वतन्त्र सांसदहरूको उपस्थिती रहेको थियो ।

  • लखन थापालाई राष्ट्रिय विभूति घोषणा गर्न सरकार सकारात्मक छः प्रधानमन्त्री

    लखन थापालाई राष्ट्रिय विभूति घोषणा गर्न सरकार सकारात्मक छः प्रधानमन्त्री

    माघ १, काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालका प्रथम शहिद लखन थापालाई राष्ट्रिय विभूति घोषणा गर्न सरकार सकारात्मक रहेको बताएका छन् ।

    सोमबार दिउँसो काठमाडौंको टुंडिखेलमा मगर समुदायले आयोजना गरेको माघी पर्वको अवसरमा बोल्दै निरंकुशताका विरूद्ध सङ्घर्षका योद्धा लखन थापालाई राष्ट्रिय विभूति घोषणा गर्नु न्यायोचित हुने बताउँदै त्यसका लागि आफ्नो तर्फबाट पहल गर्ने बताएका हुन् ।

    प्रधानमन्त्रीले भने, ‘‘शासकवर्गको कठोर निरंकुशताविरूद्ध लड्न जनस्तरबाट उठेका एक क्रान्तिकारी नेता लखन थापालाई राष्ट्रिय विभूति बनाउनुपर्छ भन्ने तपाईहरूको मागप्रति म पूर्ण रूपमा सहमत छु । यसले देशभक्तिको पक्षमा, जनताको परिवर्तनको पक्षमा, निरंकुशताको विरूद्ध लोकतन्त्रको पक्षमा बलिदान गर्ने सम्पूर्ण शहिदहरूप्रति उच्च सम्मान हुनुका साथै नेपालको क्रान्तिकारी आन्दोलन र राजनीतिक योद्धाहरूको सम्मान हुनेछ ।’’

  • दुई छिमेकी नेपालका असल र विश्वासिला मित्र हुन् : प्रधानमन्त्री

    दुई छिमेकी नेपालका असल र विश्वासिला मित्र हुन् : प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल र चीन नजिकका छिमेकी र विश्वासिला मित्र भएको बताएका छन् । चिनियाँ नयाँ वर्षको काठमाडौंमा उद्घाटन गर्दै उनले शान्तिपूर्ण सहअस्तित्व र पञ्चशीलका सिद्धान्तका आधारमा नेपाल र चीनबीचको सम्बन्ध प्रगाढ रहेको बताए । नेपाल एक चीन सिद्धान्तप्रति दृढ रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले भने, ‘यससम्बन्धमा हाम्रो प्रतिबद्धता स्पष्ट र दृढ छ । आन्तरिक तथा बाह्य मामिलामा आएको परिवर्तनबाट हाम्रो प्रतिबद्धतामा कुनै हालतमा प्रभावित हुँदैन ।’

    आफ्नो चीन भ्रमणको बेला जारी भएको संयुक्त वक्तव्य स्मरण गर्दै प्रधानमन्त्रीले थपे, ‘ताइवान चीनकै अभिन्न अङ्ग हो । ‘ताइवान स्वतन्त्रता’का सम्बन्धमा नेपालको प्रष्ट दृष्टिकोण रहेको छ । मेरो चीन भ्रमणका क्रममा जारी संयुक्त वक्तव्यमा यसलाई प्रष्ट पारिएको छ । हामी फेरि भन्न चाहन्छौं, हामी ताइवान स्वतन्त्रताको विपक्षमा छौं ।’

    चीनका विरुद्ध नेपाली भूमि प्रयोग हुन नदिने स्पष्ट पार्दै उनले दुई देशको सभ्यता नदी र हिमशृंखलाले मात्र जोडिएका नभइ यसमा हाम्रा साझा संस्कृति र जनस्तरको सम्बन्ध पनि प्रमुख रहेको बताए । प्रधानमन्त्रीले संस्कृतिक सम्बन्धको गतिलो उदाहरणका रुपमा चन्द्रमासमा आधारित पात्रो रहेको उल्लेख गरे ।

  • लगानी सम्मेलनका लागि अर्थमन्त्रीले दिए विश्व समुदायलाई निम्तो

    लगानी सम्मेलनका लागि अर्थमन्त्रीले दिए विश्व समुदायलाई निम्तो

    काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले भारत र अन्य देशका लगानीकर्तालाई नेपालमा वैशाख १६ र १७ गते हुने लगानी सम्मेलनमा सहभागी हुन निम्तो दिएका छन् । भारतको गुजरातमा आयोजित भाइब्रेन्ट गुजरात ग्लोबल समिट २०२४ मा सहभागी विभिन्न देशका राष्ट्रप्रमुख, मन्त्रीहरु र लगानीकर्तालाई सम्बोधन गर्दै मन्त्री डा. महतले निम्तो दिएका हुन् ।

    सम्बोधनका क्रममा मन्त्री डा. महतले भने, ‘नेपालमा १६ र १७ वैशाखमा लगानी सम्मेलन हुँदै छ । यो कार्यक्रमबाट म भारतसँगै अन्य देशका लगानीकर्ताहरुलाई पनि निम्तो गर्छु । तपाईंहरुको इनोभेटिभ बिजनेस आईडिया र लगानीको निर्णयले नेपालको विकासका लागि नयाँ माइलस्टोन खोल्नेछ भन्ने आशा गर्दछु ।’

    उनले नेपालमा ऊर्जा, पर्यटन, कृषि व्यवसाय र आईटीमा लगानीको ठूलो अवसर रहेको बताउँदै स्वास्थ्य, शिक्षा, उत्पादन, निर्माण र यातायात, खानी, बैंकिङ र वित्तीय सेवा जस्ता लगानीका अन्य सम्भावित क्षेत्रहरू पनि रहेको जानकारी दिए । ‘दिगो र समावेशी वृद्धिलाई प्रवर्द्धन गर्न व्यावसायिक सञ्जाल, ज्ञान आदानप्रदान र रणनीतिक साझेदारीका लागि यो विश्वव्यापी फोरम अब सबैका लागि एउटा फोरम भएको छ,’ उनले भने, ‘राष्ट्रव्यापी रूपमा अनुसरण भइरहेको भाइब्रेन्ट गुजरात विकास मोडल यो समयको आर्थिक, सामाजिक र वातावरणीय चुनौतीहरूलाई सम्बोधन गर्न वित्तीय स्रोत र प्राविधिक ज्ञानको व्यवस्थापन गर्न नेपाललगायत धेरै देशहरूका लागि प्रेरणाको स्रोत भएको छ ।’

    सन् २०१४ मा नेपालको संसदमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भनेको विषय स्मरण गर्दै उनले भने, ‘विशेष गरी, तपाईंले ‘हिट’ मा जोड दिनुभएको थियो, त्यो हो हाइवे, इन्फर्मेसन र ट्रान्समिसन लाइन । हामी यी सबै क्षेत्रमा कनेक्टिभिटी सुधार गर्न, बजार सम्बन्धलाई बलियो बनाउन र लेनदेन लागत घटाउन सँगै काम गरिरहेका छौं भन्ने कुरा राख्न पाउँदा मलाई खुशी लागेको छ ।’

    हालै नेपाल र भारतबीच १० वर्षको अवधिमा भारतमा १० हजार मेगावाट विद्युत् निर्यात गर्ने दीर्घकालीन विद्युत् खरिद सम्झौतामा हस्ताक्षर भएको भन्दै उनले यो सम्झौताबाट नेपालमा जलविद्युतमा लगानीको ठूलो अवसर खोल्ने बताए ।

  • विदेश जाने श्रमिकमाथि थप भार नथप्न प्रधानमन्त्रीले दिए निर्देशन

    विदेश जाने श्रमिकमाथि थप भार नथप्न प्रधानमन्त्रीले दिए निर्देशन

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले श्रमिकमाथि आर्थिक भार थप्ने गरी कुनै निर्णय नगर्न र भएका निर्णयको कार्यान्वयन समेत नर्गन श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई निर्देशन दिएका छन् । मंगलबार सिंहदरबारमा श्रममन्त्री शरतसिंह भण्डारी, सचिव केबलप्रसाद भण्डारी लगायतलाई निर्देशन दिंदै प्रधानमन्त्रीले प्रचण्डले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई पूर्वप्रस्थान अभिमुखीकरण तालिम लगायत अन्य तालिमहरु निःशुल्क रूपमै दिने व्यवस्था गर्न भनेका छन् ।

    पछिल्ला दिनमा श्रममन्त्री भण्डारीले श्रमिकको आर्थिक शोषण हुने र म्यानपावर व्यवसायीलाई ठगी गर्न बाटो खोल्ने गरी विभिन्न निर्णय गरिरहेका छन् । ७ सयको पूर्वप्रस्थान अभिमुखीकरणको शुल्क २८ सय रुपैयाँ पुर्‍याउने निर्णयप्रति प्रधानमन्त्रीले ध्यानाकर्षण जनाएका छन् ।

    पूर्वप्रस्थान अभिमुखीकरणका लागि वैदेशिक रोजगार बोर्ड वा सीप विकास तालिम प्रतिष्ठानबाट के कसरी स्रोत उपलब्ध गराउन सकिन्छ भन्नेबारे विस्तृत अध्ययन गरी श्रमिकको अधिकतम हितलाई ध्यानमा राखी कार्यक्रम सञ्चालन गर्न प्रधानमन्त्रीको निर्देशन छ ।

    ‘हाल वृद्धि भएको भनिएको शुल्क श्रमिकहरूबाट नलिई यथावत रुपमा हुने गरी कार्यान्वयनको व्यवस्था मिलाउनुहोला,’ प्रधामनन्त्रीले भनेका छन्,‘आन्तरिक वा वैदेशिक रोजगारीमा जाने श्रमिकलाई थप सेवा शुल्क लगायत थप आर्थिक भार पर्ने कुनै प्रकारको काम नगर्ने नगराउने व्यवस्था गर्नुहोला ।’

    हालै बैदेशिक रोजगार बोर्ड र मलेसियाको फरेन वर्कर्स वेलफेयर म्यानेजमेन्ट सेन्टर ९एफडब्लुडब्लूएमसी० बीच भएको वैदेशिक रोजगारका विषयमा भएको भनिएको सम्झौतालाई हाल कार्यान्वयन नगर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीले मन्त्रालयलाई निर्देशित गरेका छन् ।

    ‘दक्षिण कोरियाममा हाल ईपीएस प्रणालीबाट मात्र नेपाली श्रमिक पठाउने व्यवस्था भएकोमा ई–७ भिसालाई समेत सोही प्रणालीमा आवद्व गराउन कोरिया सरकारसँग भएका श्रम सम्झौता नवीकरणको कार्य प्रारम्भ गर्नुहोला,’ उनले भनेका छन् ।

  • लगानीका लागि नेपाल उत्कृष्ट गन्तब्य हो : अर्थमन्त्री

    लगानीका लागि नेपाल उत्कृष्ट गन्तब्य हो : अर्थमन्त्री

    काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा लगानीका सम्भाव्य चार क्षेत्र रहेको उल्लेख गर्दै त्यसमा लगानी गर्न भारतीय लगानीसमक्ष आग्रह गरेका छन् । सोमबार काठमाडौंमा नेपाल–भारत संयुक्त बिजनेस फोरमलाई सम्बोधन गर्दै अर्थमन्त्री डा. महतले नेपालमा लगानीका सम्भाव्य चार क्षेत्र उत्कृष्ट रहेको बताए । जलविद्युत्, पर्यटन, कृषि र सूचना प्रविधिका क्षेत्र लगानीका लागि उत्कृष्ट गन्तव्य हुन सक्ने उनको भनाइ छ । यी क्षेत्रमा लगानी गर्दा राम्रो प्रतिफल पाइने भए पनि यी क्षेत्रमा मात्रै लगानी गर्न सरकारले प्रोत्साहन नगर्ने उनको भनाइ छ ।

    ‘यी चार क्षेत्र लगानीका मुख्य आकर्षण रहेको छ,’ उनले भने, ‘यसबाहेक शिक्षा र स्वास्थ्य क्षेत्रमा समेत लगानी गर्दा उत्कृष्ट प्रतिफल प्राप्त हुनसक्छ ।’ नेपालको ५० प्रतिशतभन्दा धेरै क्षेत्रफल उच्च पहाडी क्षेत्र अन्तर्गत पर्छ भने २० प्रतिशत क्षेत्रफल समथर भू(भाग छ । यसबाहेक बाँकी क्षेत्र हिमालय पर्ने अर्थमन्त्री महतले बताए । यी क्षेत्रमा लगानी गरेर आफ्नो अन्य साथीलाई समेत नेपालबारे जानकारी दिन अर्थमन्त्री डा. महतले आग्रह गरे ।

    उनले जलविद्युत् क्षेत्रमा नेपालले फड्को मारेको र भारतले १० हजार मेगावाट खरिद गर्ने सम्झौता गरेको अवस्थामा अन्य वस्तुहरुको निर्यातमा पनि निजी क्षेत्रले ध्यान दिनुपर्ने उनले बताए । नेपालबारे अस्थिर राजनीतिक व्यवस्था रहेको गलत प्रचार भइरहेकोमा आपत्ति जनाउँदै उनले नेपाल लगानीको उत्कृष्ट गन्तव्य भएको दाबी गरे ।

    आगामी दिनमा व्यावसायिक वातावरण थप मजबुत बन्ने उनको भनाइ छ । उनले नेपाल–भारत व्यावसायिक सम्मेलनमा सहभागी सबै भारतीय व्यवसायीलाई नेपालमा लगानी गर्न आग्रह गरे । वैशाखमा लगानी सम्मेलनको आयोजना गर्न लागेको स्मरण गराउँदै उनले लगानीसम्बन्धी सम्पूर्ण कानुन, नीति नियम सुधार गर्ने प्रतिवद्धता व्यक्त गरे ।

    नेपालमा सयौं पर्यटकीय स्थल भए पनि सडकको अवस्थाका कारण त्यसको पूर्ण उपयोग गर्न नसकिएको मन्त्री डा. महतले बताए । आगामी दिनमा सडक निर्माणमा समेत ध्यान दिइने उनले बताए । उनले नेपालका निजी क्षेत्र र भारतको निजी क्षेत्रबीच सहकार्य गरेर व्यवसाय तथा लगानीका लागि काम गर्न सुझाव दिए ।

  • राष्ट्रिय सभाका उम्मेदवार छान्दा गगन थापा असन्तुष्ट

    राष्ट्रिय सभाका उम्मेदवार छान्दा गगन थापा असन्तुष्ट

    काठमाडौं । सत्ता गठबन्धनभित्र सिट बाँडफाँट गर्दा आफ्नो भागमा परेको १० सिटमध्ये संस्थापन पक्षका ७ र संस्थापनइतर (शेखर–गगन पक्ष)का ३ जना उम्मेदवार रहने गरी कांग्रेसले उम्मेदवार टुंगो लगाएको छ । पुस १२ गतेदेखि १४ गतेसम्म बसेको केन्द्रीय समिति बैठकले हालसम्म कुनै पनि अवसर नपाएका वा विभिन्न कारणले अवसरबाट बन्चित भएका योग्य तथा लोकप्रिय व्यक्तिलाई राष्ट्रिय सभा उम्मेदवारमा प्राथमिकता दिने भनेर मापदण्ड बनाए पनि त्यसअनुसार नभएको भन्दै महामन्त्री थापाले असहमति जनाएका छन् ।

    सबै तह र तप्काकालाई समान ढंगले न्यायको अनुभूति र अवसरमा स्थान हुन्छ भन्ने विश्वास पार्टीमा पुनः एकपटक खण्डित भएको भन्दै थापाले यस्ता आग्रहपूर्ण निर्णयले पार्टीभित्रको लोकतन्त्रलाई समेत थप कमजोर बनाउने पनि उल्लेख गरेका छन् । असहमतिको बाबजुद बैठकमा बहुमतले गरेको निर्णय कार्यान्वयनमा जाँदा आफ्नो पूर्ण संलग्नता रहने थापाले स्पष्ट पारेका छन् ।

    उनले राखेको फरक मत यस्तो छ
    १. हाम्रो संविधानले राष्ट्रिय सभामा खासगरी प्रतिनिधिसभामा प्रतिनिधित्व हुन नसकेमा जाती, वर्ग र क्षेत्रको प्रतिनिधित्व र राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा विशिष्ट योगदान पु¥याएका एवं विज्ञ व्यक्तिहरूको उपस्थितिको परिकल्पना गरेको छ । यसैगरी नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको पौष १२–१४ गतेसम्म बसेको बैठकले राष्ट्रिय सभाको उम्मेदवार चयन सम्बन्धमा ‘हालसम्म कुनै पनि अवसर नपाएका वा विभिन्न कारणले अवसरबाट वन्चित भएका योग्य तथा लोकप्रिय व्यक्तिलाई प्राथमिकता दिने’ लगायतको मापदण्ड तय गरेको थियो । संसदीय बोर्डको आजको बैठकले उम्मेदवारको चयन गर्दा माथि उल्लेखित पक्षमा यथेष्ट ध्यान पुर्याउन सकेन ।

    २. यो निर्णयले पार्टीमा कुनै पनि आग्रह नराखिकन निर्णय हुन्छ, सबै तह र तप्काका साथीहरूलाई समान ढंगले न्यायको अनुभूति र अवसरमा स्थान हुन्छ भन्ने विश्वासलाई पुनः एकपटक खण्डित गरेको छ । यस्तो आग्रहपूर्ण निर्णयले पार्टीभित्रको लोकतन्त्रलाई समेत थप कमजोर बनाउँछ ।

    अतः आजको निर्णयप्रती मेरो लिखित असहमति रहेको छ । मेरो असहमतिको बाबजुद बैठकमा बहुमतले गरेको निर्णय कार्यान्वयनमा जाँदा मेरो पूर्ण संलग्नता रहने नै छ ।

    गगनकुमार थापा
    महामन्त्री
    २०८० पौष २२

  • समर्थकलाई पूर्वराजाको सन्देश : मैले नजिकबाट नियालिरहेको छु

    समर्थकलाई पूर्वराजाको सन्देश : मैले नजिकबाट नियालिरहेको छु

    काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले देशको आफ्ना समर्थक समक्ष लिखित भाषण गरेका छन् । उनले विगत र वर्तमान परिस्थितिलाई नजिकबाट नियालिरहेको बताए । भैरहवामा आफ्नो अभिनन्दनका लागि आयोजित कार्यक्रममा पूर्व राजा शाहले आफू जता जाँदा पनि आफूलाई आउन र देश बचाउन आग्रह गरिरहेको पाएको उल्लेख गरे । ‘म जता जाउँ, जहाँ पुगुँ जनआवाज उठेको सुन्छु’ उनले भने, ‘मलाई आउन, हाम्रो देश बनाऊ, देश बचाऊ ।’

    तर आफू कतै नगएको र नेपालीहरुको साथमै रहेको उनले बताए । ‘म बोलिरहेछु । देश बनोस्, देश बचोस् भन्ने आफ्ना पुर्ख्यौली भावना पोखिरहेको छु । म कतै गएको छैन । सदासदा नेपालीका साथमा छु, नेपालभित्रै छु’ पूर्वराजा ज्ञानेन्द्रले भने, ‘नेपालीहरुको सुख–दुस्ख, सुविधा, असुविधा, बाधा–पीडा तथा हिजोआजको अवस्थालाई नजिकैबाट नियालिरहेको छु ।’

    देश जर्जर भएको र बेरोजगारी, शैक्षिक कमजोरीका कारण युवाहरु विदेश जानु परेको उनले बताए । ‘देशको माया नभएर होइन, अवस्था बिग्रिएर असन्तोष, आक्रोश तथा विवश भएर युवा जमात बाहिरिएको छ । यस्तो अवस्थाको अन्त्य हुनै पर्दछ’, उनले भने । अहिले चलिरहेको चलनचल्तीमा व्यापक हेरफेर र सुधार गर्नैपर्ने उनले बताए । आफू मात्र सही, आफू मात्र ठीक भन्न छाड्नुपर्ने भन्दै पूर्व राजा ज्ञानेन्द्रले भने, ‘आऊँ, हामी सबै एक ठाउँमा उभियौं ।’

    देशमै उत्पादन उद्यम, इलम सीप, शिक्षा र सभ्यताको नयाँ अध्याय खडा गर्ने उनले बताए । तर के कस्तो विधि बदल्ने वा कसरी अगाडि बढ्ने भन्दै हामी आफैंले तय गर्नुपर्ने उनले बताए । विगतको सबै दुस्ख बिर्सिन र घृणाको आगो मिलेर निभाउन आग्रह गर्दै पूर्व राजा ज्ञानेन्द्रले भने, ‘अब भाँच्चिएको टुक्राहरु जोडिदेऊ । उत्पीडनको गुनासो कहिलेसम्म सुन्ने ? पहिले अन्याय, अत्याचार मुक्त गरिदेऊ । अनुहार फेरी फेरी षड्यन्त्र नगर । त्यस्ता चालबाट आफूलाई बचाइदेऊ ।’

  • विपद्को जोखिमबाट बच्न राम्रो तयारी आवश्यक : प्रधानमन्त्री

    विपद्को जोखिमबाट बच्न राम्रो तयारी आवश्यक : प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल प्राकृतिक दृष्टिले जोखिमयुक्त मुलुक भएको भन्दै विपतको जोखिमबाट बच्न राम्रो पूर्वतयारी आवश्यक रहेको बता‍एका छन् । बुधबार दिउँसो ललितपुरमा आयोजित भूकम्प प्रभावित क्षेत्रमा विपत् व्यवस्थापन तथा पुनर्निर्माणसम्बन्धी बृहत् अन्तरक्रियामा बोल्दै प्रधानमन्त्रीले उक्त धारणा राखेका हुन् ।

    नेपाल भूकम्पको जोखिमका दृष्टिले उच्च जोखिममा रहेको र नेपालका पश्चिमी क्षेत्रमा ठूला भूकम्पहरू आउन सक्ने सम्भावनाबारे कतिपय विज्ञहरूले भन्दै आएका छन् । वर्ष दिनभित्रै जाजरकोट, बझाङ र डोटीमा गएका भूकम्पले यसको पूर्वसंकेत गरेको छ,’ उनले थपे, ‘असोज १६ गतेपछि एक महिनाको अन्तरालमा बझाङ र जाजरकोट भूकम्पको लगत्तै म दुवै स्थानमा पुगेँ । त्यहाँको अवस्था देख्दा लाग्यो– मध्यम खालको भूकम्प आउँदा त यस्तो अवस्था छ भने हालैको जापानमा गएको जत्रो ७.६ म्याग्निच्युडको भूकम्प वा २०७२ सालको जत्रो भूकम्प गएको भए त्यसले सिर्जना गर्ने त्रासदी हामीले झेल्न सक्थ्यौं होला र ?’

    प्रधानमन्त्री दाहालले विपतको पूर्वजोखिम आंकलन गरी त्यसको तयारीमा जुट्नुपर्नेमा जोड दिए । उनले भने, ‘विपद पूर्व जोखिमको आंकलन गरी सोहीअनुरूपको संरचना र तयारीका काममा उदासिनता रहने गरेको छ । त्यसैले यसपटक श्रृंखलाबद्ध रूपमा आएका भूकम्पहरूले हामीलाई जोखिम प्रतिरोधी संरचना र सोही अनुरूपको निरन्तर तयारीका लागि घच्घच्याएको छ । त्यसैले पुनर्निर्माणका लागि गतिलो तयारी गर्ने, भूकम्पप्रतिरोधी डिजाइन तयार पार्ने, बलियो संरचना बनाउने तथा पर्याप्त बजेट व्यवस्था गर्ने विषयमा मेरो जोड छ ।’

  • रोजगारी र उत्पादन गुम्ने गरी बासस्थान निर्माण गर्न हुँदैन : अर्थमन्त्री

    रोजगारी र उत्पादन गुम्ने गरी बासस्थान निर्माण गर्न हुँदैन : अर्थमन्त्री

    काठमाडौं । गरिनु अर्थमन्त्री डा. प्रकाशशरण महतले भूकम्प प्रभावित क्षेत्रमा पुनःनिर्माण अघि बढाउँदा रोजगारी र उत्पादन गुम्नेगरी बासस्थान निर्माण गरिनु नहुने बताएका छन् । भूकम्प प्रभावित जिल्लाका जनप्रतिनिधिको संयुक्त आयोजनामा बुधबार ललितपुरमा आयोजित जाजरकोट रामिडाँडा भूकम्प प्रभावित क्षेत्रको पुनः निर्माणसम्बन्धी वृहत् अन्तरक्रियामा आफ्नो धारणा राख्दै अर्थमन्त्री महतले नागरिकको अपेक्षा बमोजिमको उपयुक्त स्थानमा बासस्थान निर्माण गर्ने गरी पुनःनिर्माणका काम अघि बढाउनुपर्ने बताए ।

    ‘नागरिकलाई सुरक्षित गर्ने कुरामा गम्भीर ढङ्गले लागेको छ । पुनःनिर्माणका कामलाई प्रभावकारी बनाउन स्रोत र साधनको परिचालन र वितरणमा स्थानीय र प्रदेश सरकारको प्रत्यक्ष सहयोग र कार्यान्वयनमा ध्यान दिनुपर्छ । रोजगारी र उत्पादन गुम्नेगरी बासस्थान निर्माण गरेर पनि सहज हुँदैन, उनीहरुको रोजगारी र उत्पादनलाई पनि सुरक्षित हुने गरी नागरिकको अपेक्षा बमोजिमको उपयुक्त स्थानमा बासस्थान निर्माण गर्ने गरी पुनःनिर्माणका काम अघि बढाउनुपर्छ,’ डा महतले भने ।

    उनले विपद् व्यवस्थापनमा आवश्यक बजेट उपलब्ध गराउनु नेपाल सरकारको जिम्मेवारी हो भन्दै स्रोत र साधन जुटाएर खर्चको व्यवस्थापन गर्ने प्रतिबद्धता जनाए । डा। महतले जिल्ला विपद् व्यवस्थापन समितिमार्फत स्थानीय तहमा पुर्‍याउनुपर्ने भन्दै बजेटको सीमाभित्र रहेर काम गर्नुपरेको भए पनि हामी व्यवस्थापन गर्ने प्रयत्न गर्ने प्रष्ट पारे ।

    उनले पुनःनिर्माणका लागि बजेट नपुग भएको खण्डमा मित्रराष्ट्रका प्रतिनिधिसँग पनि समन्वय गरेर कुन रुपमा सहयोग आउन सक्छ भन्ने केही दिनमै निर्क्यौल निकाल्ने जानकारी गराए ।

    अब पुनः निर्माणका काम गर्दा ठूलो भूकम्प आउँदा पनि थेग्न सक्ने भवन निर्माण गर्नुपर्नेमा जोड दिंदै उनले सरकारले यसका लागि वडा तहसम्म दक्ष प्राविधिकको व्यवस्थापन गर्ने प्रतिबद्धता जनाए ।

    पूर्व अर्थमन्त्री तथा प्रतिनिधिसभा सदस्य जनार्दन शर्माले जनजीवनलाई जोड्ने तथा रोजगारी र सीपलाई उठाउने गरी पुनः निर्माणका काम अगाडि बढाउन तीनै तहका सरकारहरुबीच समन्वय र सहकार्य हुनुपर्ने बताए । उनले भूकम्प प्रभावित क्षेत्रमा एकीकृत बस्ती निर्माणमा जोड दिनुपर्ने बताए । वातावरण संरक्षण सहितको प्रविधिमैत्री पुनःनिर्माणका लागि जोड दिँदै विपद् थेग्न सक्ने गरी पुनःनिर्माण अगाडि बढाउनुपर्ने धारणा उनको थियो ।

    भूकम्प प्रभावित जिल्लाको भू–भागलाई सङ्कटग्रस्त क्षेत्र घोषणा गरेर प्राथामिकताका साथ त्यहाँको जनजीवनलाई सहज बनाउने गरी पुनःनिर्माणका काम तीव्र गतिमा अगाडि बडाउनुपर्नेमा कार्यक्रमका सहभागीले जोड दिएका थिए ।

  • ग्राउन्ड ह्यान्डलिङको विषयमा विवाद नगर्न प्राधिकरणका कर्मचारीलाई मन्त्री किरातीको निर्देशन

    ग्राउन्ड ह्यान्डलिङको विषयमा विवाद नगर्न प्राधिकरणका कर्मचारीलाई मन्त्री किरातीको निर्देशन

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले नेपाल वायु सेवा निगमको ग्राउन्ड ह्यान्डलिङको विषयमा कुनै पनि कुरा नउठाउन कर्मचारीलाई निर्देशन दिएका छन् । आइतवार नेपाल नागरिक उड्डयन प्राधिकरणको २५ औँ वार्षिकोत्सव समारोहमा मन्त्री किरातीले ग्राउन्ड ह्यान्डलिङको विषयमा कर्मचारीले अनावश्यक चासो राखेको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् ।

    उनले नेपाल वायु सेवा निगमको ग्राउन्ड ह्यान्डलिङको विषय सरकारको निर्णयको कुरा भएको भन्दै कर्मचारीले अनावश्यक कोकोहोलो गर्नु आवश्यक नभएको बताए । मन्त्री किरातीले देशलाई वायु सेवा निमग चाहिने र त्यसलाई बचाउनका लागि ग्राउन्ड ह्यान्डलिङ पनि चाहिने स्पष्ट पारे । कर्मचारीले यस विषय उठाएमा नीति र नेतृत्वमाथिको हस्तक्षेप हुने उल्लेख गर्दै मन्त्री किरातीले कुरा उठाएमा राम्रो नहुने चेतावनीसमेत दिए ।


    उनले भने, ‘वायु सेवा निगमको बारेमा विना प्रसङ्ग किन बढी कुरा उठ्छन् ? के तपाईँ (कर्मचारी) हरू नीति निर्माता हो ? पटक–पटक तपाईँहरू किन वायु सेवा निगमको कुरा उठाउनुहुन्छ यहाँ ? निगमले ग्राउन्ड ह्यान्डलिङ लिने कि नलिने भन्ने प्रश्नमा किन तपाईँहरू ठूलो–ठूलो धुवाँ उडाउनुहुन्छ ? कोकोहोलो गर्नुहुन्छ ? आजदेखि बन्द गर्नुहोस् । यो प्रधानमन्त्रीको सरोकारको कुरा हो । देशका सबै ठूलो राजनीतिक दलहरूको सरोकारको कुरा हो । वायु सेवा निगम अहिले चाहिन्छ । त्यसलाई बचाउनका निम्ति ग्राउन्ड ह्यान्डलिङ चाहिन्छ ।’

    मन्त्री किराती कर्मचारी ट्रेड युनियनका नेताहरूमाथि समेत आक्रोशित भए । उनले कर्मचारीले धेरै नीतिगत कुरा गरेको भन्दै भाषण गर्ने कर्मचारी नै प्रधानमन्त्री हो कि जस्तो लागेको भनेर व्यङ्ग्य गरे । उनले नीतिको चिन्ता प्रधानमन्त्री, मन्त्रीहरूले गर्ने भन्दै नेतृत्वले बनाएको नीतिमा कर्मचारी हिँड्नुपर्ने बताए ।

  • ललितपुर घटनामा कमजोरी भएको प्रधानमन्त्रीको स्वीकारोक्ति

    ललितपुर घटनामा कमजोरी भएको प्रधानमन्त्रीको स्वीकारोक्ति

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रबार बालकुमारीमा दुई जनाको ज्यान जाने गरी भएको घटनामा सरकारको तर्फबाट कमजोरी भएको स्वीकार गरेका छन् । शनिबार काठमाडौंमा सुरु भएको छैटौं राष्ट्रिय ट्रेड युनियन सम्मेलनको उद्घाटन कार्यक्रममा उनले मन्त्रीको गाडी जल्नुमा र गोली चलाउनुमा सुरक्षा निकायबाट कमजोरी भएको बताएका हुन् ।

    ‘हाम्रो मन्त्रीजीको पीएसओ (निजी सुरक्षा अधिकारी) ले परिस्थितिको राम्रो आँकलन नगरीकन त्यो गाडी लिएर जाने प्रक्रियामा गम्भीर त्रुटी भएको महसुस गरेर उहाँलाई निलम्बन गर्ने निर्णय गरिएको छ । अनि, त्यसैगरी गोली चलाउन आदेश दिनेमा पनि त्रुटीपूर्ण ठानेर गोली चलाउन आदेश दिने अधिकारीलाई पनि छानबिनको रिपोर्ट नआउँदासम्म निलम्बन गरिएको छ’, उनले भने ।

    पानीजहाज बनाउने कामको लागि कोरियाली भाषा परीक्षा दिँदा फेल भएकाहरुले उत्पादनमूलक कामको भाषा परीक्षाको फारम भर्न पाउनुपर्ने माग राख्दै गरेको आन्दोलनका क्रममा प्रहरीको गोली लागेर दुई जनाको मृत्यु भएको थियो ।
    भाषा परीक्षामा फेल भएकाहरुले पुनः परीक्षाको फारम भर्न पाउनुपर्ने माग गर्दै उच्च अदालत पाटनमा निवेदन दिएका थिए । ३ पुसमा अदालतले निवेदन दिन १८ जनाले मात्र फारम भर्न दिन आदेश दिएको थियो । प्रधानमन्त्री प्रचण्डले अदालतको निर्णयको कारण पनि यो घटना भएको आशय व्यक्त गरे ।

    ‘यहाँ यो प्रक्रियामा कहीँ न कहीँ अदालतले १८ जना, जसले निवेदन दिए, उनीहरुलाई परीक्षा दिन स्वीकृति दिनुको अर्थ अरुलाई नदिएको भन्ने जस्तो अर्थ लगाउने ठाउँ देखिँदैन । पछि त फेरि हिजै ३ बजे अदालतले सबैले परीक्षा दिन पाउने भनेपछि एउटै निर्णय पहिलेनै पुस ३ गते भइदिएको भए यो दुर्भाग्यपूर्ण घटना घटनानै थिएन । त्यसकारण कहीँ न कहीँ त्रुटीहरु भएका छन भन्ने हामीले समीक्षा गर्दैछौं’ उनले भने ।

  • विश्वविद्यालयमा भागवण्डा नगर्ने प्रधानमन्त्रीको प्रतिवद्धता

    विश्वविद्यालयमा भागवण्डा नगर्ने प्रधानमन्त्रीको प्रतिवद्धता

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नागरिक समाज र दलहरुलाई क्रमभंगताको अपिल गरेका छन् । सरकार गठन भएको एक वर्ष पूरा भएको अवसरमा सोमबार देशवासीलाई सम्बोधन गर्दै उनले विश्वविद्यालयको बारेमा शीर्ष तहको छलफल गर्नुपर्ने बताए ।

    उनले अब विश्वविद्यालयहरुमा राजनीतिक भागबन्डा नहुने समेत बताए । ‘संसारको कुनै पनि कुनामा रहेका योग्य नेपालीले विश्वविद्यालय सुधारको प्रष्ट र इमानदार खाका सहित उपकुलपतिमा दाबी गर्न सक्नेछन्’ उनले भने, ‘अब मेरिटोक्रेसी सुरु हुनेछ । त्रिभुवन विश्वविद्यालय त्यसको प्रस्थानबिन्दु हुनेछ ।’

  • आफ्नो कार्यशैली बदल्ने प्रधानमन्त्रीको उद्घोष

    आफ्नो कार्यशैली बदल्ने प्रधानमन्त्रीको उद्घोष

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कार्यशैली बदल्ने बताएका छन् । केही पूर्वनिर्धारित र अपरिहार्य बाहेकका कार्यक्रममा नजाने उनले बताए । साथै नयाँ नीति तथा कार्यक्रम र बजेटको तयारी, विकास र सुशासनमा रहेका समस्या समाधान गर्न लाग्ने प्रधानमन्त्रीको प्रतिवद्धता छ ।

    आफ्नो नेतृत्वमा सरकार गठन भएको एक वर्ष पूरा भएको अवसरमा देशबासीलाई सम्बोधन गर्दै उनले भने, ‘सरकार असफल त भएन, तर आफ्नै हुटहुटी अनुसार परिणाम पनि आएको छैन ।’ बनिसकेको पूर्वाधारको जस खोसाखोस गर्न छाडेर सम्पन्न हुन बाँकी पूर्वाधारको चिन्तामा रहेको उनले बताए । ‘कति बन्यो भन्ने होइन, कति बन्नसक्थ्यो भन्ने आत्मसमीक्षामा छु’ उनले भने, ‘यही चिन्ता र आत्म समीक्षाका साथ सार्वजनिक घोषणा गर्छु, अब सरकारको कार्यशैली बदलिनेछ ।’

    प्रधानमन्त्री प्रचण्डले अगाडि भने, ‘केही पूर्वनिर्धारित र अपरिहार्यबाहेक कुनै कार्यक्रममा नगई नयाँ नीति तथा कार्यक्रम र बजेटको तयारी, विकास र सुशासनमा रहेका समस्या समाधान गर्न लाग्ने निष्कर्षमा छु ।’ सरकारको कार्यशैली बदल्न यो प्रस्थान विन्दु हुने भन्दै उनले यही साता प्रधानमन्त्री कार्यालयको संरचना बदल्ने बताए ।

  • कार्यक्षमता कमजोर भएका राजदूत फिर्ता बोलाउने प्रधानमन्त्रीको घोषणा

    कार्यक्षमता कमजोर भएका राजदूत फिर्ता बोलाउने प्रधानमन्त्रीको घोषणा

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कार्यक्षमता कमजोर भएका राजदूत र नियोग प्रमुखहरुलाई फिर्ता बोलाउने बताएका छन् । मंगलबार आफू प्रधानमन्त्री भएको एक वर्ष पूरा भएको अवसरमा राष्ट्रका नाममा सम्बोधन गर्दै उनले कूटनीतिक नियोगहरुलाई लगानी र पर्यटनमा परिणाममुखी परिचालन गर्ने बताएका हुन् ।

    ‘म सबै आर्थिक र कुटनीतिक नियोगहरूलाई लगानी र पर्यटनमा परिणाममुखी परिचालनका लागि प्रतिबद्ध छु। कार्यक्षमता कमजोर भएका राजदूत र नियोग प्रमुखहरू फिर्ता बोलाइनेछन्’, उनले भने । आफू प्रधानमन्त्री भएपछि विप्रेषण आप्रवाहमा २६ प्रतिशतले वृद्धि भएको भन्दै प्रचण्डले अब आफ्नो ध्यान विप्रेषणसँगै भित्रिने सीप, अनुभव र दक्षताको उपयोग गरी देशभित्र उत्पादन र रोजगारी बढाउनेतर्फ केन्द्रित हुने पनि बताए ।

  • प्रचण्डले आज राष्ट्रका नाममा सम्बोधन गर्दै

    प्रचण्डले आज राष्ट्रका नाममा सम्बोधन गर्दै

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार दिउँसो पाँच बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । यसअघि दिउँसो तीन बजेका लागि तय भएको कार्यक्रम पाँच बजेका लागि सारिएको हो । प्रधानमन्त्री प्रचण्डले सरकार सम्हालेको एक वर्ष पुगेको अवसरमा सम्बोधन गर्न लागेका हुन् ।

    तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई २०७९ पुस १० गते प्रधानमन्त्री नियुक्त गरेकी थिइन् । यससँगै उनी तेस्रो पटक मुलुकको प्रधानमन्त्री बने । यसअघि प्रचण्ड २०६४ र ०७४ मा पनि प्रधानमन्त्री बनेका थिए । प्रधानमन्त्री प्रचण्ड आफैंले वर्तमान सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको स्वीकार गर्दै अब नयाँ ढंगले काम गर्ने सार्वजनिक घोषणा गर्दै आएका छन् ।

  • क्रिसमस डेमा राष्ट्रपतिले गरे राष्ट्रिय एकताको कामना

    क्रिसमस डेमा राष्ट्रपतिले गरे राष्ट्रिय एकताको कामना

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले इसाई धर्मावलम्बीको पर्व ‘क्रिसमस डे’का अवसरमा सम्पूर्ण इसाई धर्मावलम्बीमा सुख, शान्ति एवं सुस्वास्थ्यको कामना गरेका छन् । ‘क्रिसमस डे’ का अवसरमा शुभकामना दिंदै उनले आज यस पर्वले राष्ट्रिय एकतालाई थप मजबुत तथा सुदृढ बनाउन सहयोग पुग्ने विश्वास लिएको बताएका छन् ।

    राष्ट्रपति पौडेलले चाडपर्वको माध्यमबाट विविध सांस्कृतिक पहिचान एवम् धार्मिक आस्था बोकेका समुदायबीच आपसी सद्भाव, सहिष्णुता र ऐक्यबद्धताको भावना अभिवृद्धि हुनाका साथै राष्ट्रिय एकतालाई थप मजबुत तथा सुदृढ बनाउन सहयोग पुग्ने विश्वास लिएको बताएका छन् । विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी मनाइने यस पर्वले सबै नेपालीबीच आपसी विश्वास, प्रेम र एकताको भावनालाई प्रगाढ बनाउँदै समुन्नत नेपाल निर्माण गर्न सक्ने उनको भनाइ छ ।

  • क्रिसमसमा प्रधानमन्त्रीको शुभकामना : सदभाव बलियो बनाउने विश्वास

    क्रिसमसमा प्रधानमन्त्रीको शुभकामना : सदभाव बलियो बनाउने विश्वास

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इसाई धर्मावलम्बीको पर्व ‘क्रिसमस डे’का अवसरमा स्वदेश तथा विदेशमा रहेका इसाई धर्मावलम्बीलाई शुभकामना दिएका छन् । शुभकामना सन्देशमा उहाँले क्रिसमस पर्वले राष्ट्रिय एकता, धार्मिक सहिष्णुता र सामाजिक सद्भावलाई अझ बलियो बनाउने भूमिका खेल्ने विश्वास लिएको बताएका छन् ।

    प्रधानमन्त्री प्रचण्डले आज जारी गरेको सन्देशमा नेपालको संविधानले बहुसांस्कृतिक विविधतालाई सम्मान गर्दै मौलिक हकका रुपमा सुनिश्चित गरेको विभिन्न जात, जाति, धर्म, भाषा, संस्कृति र सम्प्रदायबीच पारस्परिक सद्भाव, सहिष्णुता र ऐक्यबद्धता कायम गरी राष्ट्रिय एकता प्रवद्र्धन गर्नु सबैको साझा जिम्मेवारी भएको उल्लेख छ ।

    २१औँ शताब्दीको भूमण्डलीकरणको आधुनिक युगमा देश, भूगोल, भाषा, संस्कृति र आस्थाका दृष्टिले सिङ्गो मानव जाति नै गहिरो अन्तर्घुलनतर्फ उन्मुख भइरहेको प्रधानमन्त्री दाहालले आफ्नो सन्देशमा उल्लेख गरेका छन् । प्रधामन्त्री प्रचण्डले राष्ट्रिय एकता र धार्मिक सहिष्णुतासहितको नेपाली मौलिक साझा राष्ट्रिय संस्कृतिको निर्माणमा ऊर्जा प्रदान गर्ने अपेक्षासहित क्रिसमस पर्वले सङ्कीर्ण घेराहरु तोडेर बृहत्तर राष्ट्रिय हित र मानव जातिको कल्याणका निम्ति सबैलाई प्रेरित गर्दै आएको बताएका छन् ।

  • देश संकटमा छ : देउवा

    देश संकटमा छ : देउवा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देश सङ्कटपूर्ण अवस्थामा उभिएको बताएका छन् । शनिवार पार्टीको बाग्मती प्रदेश सम्मेलनको उद्घाटन गर्दै सभापति देउवाले देश एउटा दोधारमा उभिएको बताए । उनले अहिलेको बेला सबैले मिलेर र खासगरी कांग्रेसले नेतृत्वदायी भूमिकामा बसेर काम गर्न जरुरी रहेको समेत बताए ।

    उनले गणतान्त्रिक लोकतान्त्रिक व्यवस्था महत्त्वपूर्ण भएको दाबी गर्दै यो व्यवस्था समावेशितामा आधारित भएको बताए । उनले भने, ‘अहिले देश एउटा दोधारमा उभिएको छ । देश एउटा सङ्कटमा उभिएको छ । अहिलेको बेला हामी सबैले मिलेर, खासगरी कांग्रेसले नेतृत्वदायी भूमिकामा बसेर काम गर्न जरुरी छ । हामीले नेपाललाई गणतान्त्रिक लोकतान्त्रिक व्यवस्था स्थापित गरेका छौँ । यो अत्यन्तै महत्त्वपूर्ण कुरा हो ।’ सभापति देउवाले पार्टीलाई अझै सुदृढ गर्दै तल्लो स्तरबाटै पूर्णरूपमा प्रतिबद्ध गराई बलियो बनाउन लाग्नुपर्ने बताए ।

  • एक वर्षको प्रयासमा अर्थतन्त्रमा राम्रो प्रगति भएको छ : प्रधानमन्त्री

    एक वर्षको प्रयासमा अर्थतन्त्रमा राम्रो प्रगति भएको छ : प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एक वर्षको प्रयासपछि अर्थतन्त्रका अधिकांश सूचकमा राम्रो प्रगति देखिएको बताएका छन् । मोरङ व्यापार संघले आयोजना गरेको उद्योग व्यापार मेला ९एक्स्पो २०२३० को उद्घाटन समारोहलाई शुक्रबार विराटनगरमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकतासहित अगाडि बढिरहेको वर्तमान सरकार अर्थतन्त्रका चुनौतीहरु सम्बोधन गर्दै समृद्धिको यात्रालाई गति दिन निरन्तर क्रियाशील छ । जतिबेला मैले सरकारको नेतृत्व लिएको थिएँ, त्यतिबेला देशको अर्थतन्त्र निकै अप्ठ्यारो परिस्थितिमा थियो,’ उनले भने ।

    एक वर्षको अनवरत प्रयास र निजी क्षेत्रको सहयोगमा अर्थतन्त्रमा क्रमशः सुधार आइरहेको प्रधानमन्त्री प्रचण्डले बताए । महँगी नियन्त्रणका दृष्टिले यतिबेला देश २ वर्षयताकै प्रगतिमा रहेको उनको दाबी छ । उनले भुक्तानी सन्तुलनका दृष्टिले समेत राम्रो प्रगति हुँदै गएको र निर्माण व्यवसायीहरुको भुक्तानी गर्न बाँकी रकम भुक्तानीको प्रक्रिया अगाडि बढेको जानकारी दिए ।

    उनले भने, ‘यसले एकातर्फ अर्थतन्त्रलाई चलायमान तुल्याउने छ भने अर्कोतर्फ नयाँ आयोजनाहरुको निर्माण प्रक्रियाले तीव्रता लिनेछ । अर्थतन्त्र सुधारका दृष्टिले यो आफैंमा महत्वपूर्ण पहल हो ।’ उनले चालु आर्थिक वर्षमा प्रतिमहिना औसत एक खर्ब २० अर्ब रुपैयाँभन्दा बढी रेमिटेन्स भित्रिएको भन्दै रेमिटेन्सको निर्भरता अर्थतन्त्रको दीर्घकालीन समाधान भने नगर्ने स्वीकार गरे ।

    तर, यसले तत्कालको संकट निवारणमा महत्वपूर्ण योगदान रहने उनको भनाई छ । बैंकको ब्याजदर घटाइएको र बंैकहरुको कर्जा लगानी पनि क्रमशः बढ्दै गएको सन्दर्भ निकाल्दै उनले अर्थतन्त्रमा यसको प्रभाव क्रमशः देखिने समेत बताए । यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका साथमा शुभारम्भ गरिएको विराटनगर–कटहरी–जोगवनी कार्गो रेल सञ्चालनका बारेमा बोल्दै उनले यसलाई सम्बोधन गर्न सरकारको तर्फबाट आवश्यक प्रक्रिया अगाडि बढाइने बताए ।

  • खाडी मुलुकमा फ्रि भिसा फ्रि टिकट नीति कार्यान्वयन असम्भव रहेको सरकारका सचिवको दावि

    खाडी मुलुकमा फ्रि भिसा फ्रि टिकट नीति कार्यान्वयन असम्भव रहेको सरकारका सचिवको दावि

    काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा सचिव केवलप्रसाद भण्डारीले खाडी लगायत विभिन्न मुलुकहरूमा फ्रि भिसा फ्रि टिकटमा नेपाली श्रमिकहरू पठाउन नसकिने बताएका छन्। आइतबार काठमाडौंमा मन्त्रालयले आयोजना गरेको कार्यक्रममा सचिव भण्डारीले सरकारले कार्यान्वयनका लागि काम गरेको तर सम्भव नभएको बताए।

    ‘स्वास्थ्य परीक्षण प्रक्रियाकै लागि लगभग १२ हजार खर्च हुने रहेछ। अनि कसरी १० हजारमा पठाउन सकिन्छ,’ उनले भने, ‘श्रमिकहरूको एक महिनाको पारिश्रमिक बराबर सेवाशुल्क म्यानपावरले लिन पाउने गरी हामी छलफल गर्दैछौं।’ सीपयुक्त श्रमिकबाट फरक सेवाशुल्क लिनसक्ने गरी पनि छलफल भइरहेको उनले बताए। सरकारले २०७२ सालमै खाडीका सबै मुलुक तथा मलेसियामा फ्रि भिसा फ्रि टिकटमा नेपाली श्रमिकहरू जान पाउने घोषणा गरेको छ। तर कार्यान्वयनमा आउन सकेको छैन।

  • लोकतान्त्रिक समाज निर्माणबाट राष्ट्रिय एकता बलियो हुन्छ : प्रधानमन्त्री

    लोकतान्त्रिक समाज निर्माणबाट राष्ट्रिय एकता बलियो हुन्छ : प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले बहुसंस्कृतियुक्त लोकतान्त्रिक समाज निर्माणबाट मात्र राष्ट्रिय एकता बलियो हुने बताएका छन् । उनले यो भावलाई सदैव दृढताका साथ संकल्प गरी अघि बढ्नुको विकल्प नभएको उल्लेख गरे । ललितपुरको थेचोमा नवदुर्गा भवानी देवी १२ वर्षे जात्रा समापन समारोहलाई शनिबार सम्बोधन गर्दै उनले भने, ‘नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक मुलुक हो । हाम्रा समृद्धशाली मूर्त र अमूर्त सांस्कृतिक धरोहर सम्पदा राष्ट्रिय एकता सबलीकरण गर्ने विशिष्ट माध्यमका रूपमा परिचित छन् । यी सांस्कृतिक परम्पराहरूले नेपालको राष्ट्रिय एकता र अखण्डतालाई मजबुत बनाउन अहम् भूमिका खेलेका छन् ।

    प्रधानमन्त्री दाहालले आफ्नो संस्कृतिको संरक्षण र संवर्द्धन गर्नु सबैको दायित्व भएको बताए । नेपालको संविधानले नै धार्मिक स्वतन्त्रता कायम गरी प्रत्येक नेपाली समुदायलाई आफ्नो भाषा, लिपि, सांस्कृतिक सभ्यता र सम्पदाको संरक्षण गर्ने हकको व्यवस्था गरेको उनले उल्लेख गरे ।

    प्रधानमन्त्री दाहालले विभिन्न कालखण्डमा मानव समुदायले सिर्जना गरेर छाडेका भौतिक सम्पदा र त्यसअनुरूपको जीवनशैलीको समष्टिगत रूप नै नेपालको राष्ट्रिय संस्कृति भएको बताए । अहिले देशमा एकथरी तत्वहरू सांस्कृतिक विविधता, समुदायको पहिचान र अधिकारलाई संस्थागत गरिएको संविधान तथा लोकतान्त्रिक गणतन्त्रविरुद्ध भ्रम छर्ने दुस्साहस गरिरहेका छन्, उनले भने, लोकतन्त्रमा मात्रै सबै संस्कृति समानरूपमा मौलाउन र विकास हुन सक्छन् । त्यसैले संस्कृति रक्षाका लागि, पहिचान, सम्मान र न्यायमा आधारित समाज निर्माण गर्न अहिलेको व्ववस्था उल्ट्याउन खोज्ने तत्वहरुविरुद्ध संघर्ष गर्ने र जनस्तरबाटै प्रतिरोध आवश्यक छ ।

    उनले धार्मिक, सांस्कृतिक, प्राकृतिक तथा पर्यटकीय दृष्टिले अनेकौँ सामर्थ्य र सम्भावनाको केन्द्र रहेको गोदावरी नगरपालिकामा आयोजना हुने ऐतिहासिक महत्वको १२ वर्षे नवदुर्गा जात्राको भव्य सफलताको कामना गरे । कार्यक्रममा नवदुर्गा भवानीसँग सम्बन्धित विभिन्न नाच प्रस्तुत गरिएको थियो । सो अवसरमा नेकपा माओवादी केन्द्रका नेताहरु राजकाजी महर्जन, बिना मगरलगायतको उपस्थिति थियो ।

  • कोप-२८ मा प्रचण्डको सम्बोधन, जलवायुबाट गल्ती बीना असर भोग्नु परेको स्पष्ट

    कोप-२८ मा प्रचण्डको सम्बोधन, जलवायुबाट गल्ती बीना असर भोग्नु परेको स्पष्ट

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जलवायु परिवर्तनमा नेपालको नगन्य योगदान हुँदा पनि असर भने धेरै भोग्नुपरेको बताएका छन् । संयुक्त अरब इमिरेट्सको दुबईमा भइरहेको संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप २८) मा शनिबार सम्बोधन गर्दै उनले जलवायु मुद्दामा नेपाल अन्यायमा परेको बताए ।

    ‘जलवायु परिवर्तनमा नेपालको शून्य योगदान हुँदा पनि यसको विनाशकारी असर नेपालीहरुले भोगिरहनुपरेको छ, जलवायु परिवर्तनको गम्भीर असर जस्तै बाढी, पहिरो, डढेलो, हिमताल विस्फोट हाम्रा जनताहरुले भोगिरहेका छन्’ उनले भने, ‘यो अत्यन्तै अन्यायपूर्ण भयो, यसको अन्त्य हुनुपर्छ ।’

    हिमालयहरु मानव सभ्यता, पर्यावरण र जैविक विविधताको आधार हो भन्दै उनले जलवायु परिवर्तन र बढ्दो तापक्रमका कारण हिमालय बढी जोखिममा परेको बताए । जलवायु परिवर्तनमा योगदान नहुँदा नहुँदै विनाशको भागीदार बन्नु परेर अन्यायमा परेका नेपाली नागरिकको तर्फबाट सम्मेलनमा सहभागी भएको प्रचण्डले बताए ।

    नेपाल पेरिस सम्झौताको पालना हुनुपर्छ भन्ने पक्षमा रहेको र सन् २०४५ सम्म जिरो कार्बन उत्सर्जन गर्नेमा प्रतिवद्ध रहेको पनि उनले बताए । त्यसका लागि ४५ प्रतिशत वन क्षेत्र कायम गर्ने र नेपालको जलसम्पदाको उपयोग बढाउने उनको भनाइ छ । जलवायु परिवर्तनका कारण अति कम विकसित मुलुकहरु समस्यामा परेको पनि प्रचण्डले बताए ।

    जलवायु परिवर्तनका कारण अति कम विकसित मुलुकहरु समस्यामा परेको भन्दै उनले आर्थिक र प्राविधिक सहायता आवश्यक रहेको बताए । प्रधानमन्त्री प्रचण्डले विकसित राष्ट्र र अन्तर्राष्ट्रिय समुदायले अल्पविकसित मुलुकका लागि अनुमानयोग्य र समतामूलक स्रोत र प्रविधिको व्यवस्था हुनुपर्ने माग गरे । जलवायु संकटलाई सम्बोधन गर्न अति कम विकसित मुलुकलाई अनुदान दिनुपर्ने पनि उनले बताए । प्रधानमन्त्री प्रचण्डले हिमालय र जलवायु परिवर्तनका विषयमा संवादको आवश्यकता रहेको पनि बताए ।

  • गुल्मी पुगेर गगनले पूर्वराजालाई भने : चुनाव लड्न आउनुस

    गुल्मी पुगेर गगनले पूर्वराजालाई भने : चुनाव लड्न आउनुस

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राजतन्त्र फर्काउन मन भने पार्टी खोलेर चुनाव लड्न पूर्वराजा ज्ञानेन्द्र शाहलाई आग्रह गरेका छन् । शनिबार कांग्रेसको गुल्मी जिल्ला सम्मेलनको उद्घाटन गर्दै उनले पूर्वराजाले जुवाको खालमा च्याँखे थापिरहेको टिप्पणी गरे । ‘पूर्वराजाले पनि जुवाको च्याखे खालमा दाउ हान्ने होइन, च्याँखे खालमा दाउ नहान्नुस् महाराज, खेल्ने भए सिधै खालमा भिड्न आए हुन्छ, कांग्रेस भिड्न तयार छ’ उनले भने, ‘जाने पार्टी खोल्ने, चुनाव लड्ने, हाम्रो संविधानले दिन्छ, (बहुमत) ल्याउने संविधान बदल्ने फेर्ने (राजतन्त्र) फर्काउने, नेपाली कांग्रेस यो कुराका लागि तयार छ ।’

    पछिल्लो समय राजतन्त्रको नारा दिएर राप्रपा, दुर्गा प्रसाईं समूहले गरिरहेको प्रदर्शनतर्फ लक्षित गर्दै थापाले ज्ञानेन्द्र शाहलाई आफैं चुनाव लड्न आग्रह गरेका हुन् । नेपालमा राजाहरुकै बदनियतकै कारण राजसंस्था गएको भन्दै उनले कांग्रेस कार्यकर्ता यसमा प्रष्ट हुनुपर्ने बताए ।

    कतिपयले बीपीले राजतन्त्र मानेका थिए, कांग्रेसले बीपीको बाटो छाड्यो भन्दा कांग्रेस कार्यकर्ता नाजवाफ हुन आवश्यक नभएको थापाले बताए । गणतन्त्रमा गणतन्त्रमाथि नै प्रश्न उठाउन, गणतन्त्र चाहिँदैन भन्न र गणतन्त्र फाल्छु भन्न पाइने भन्दै उनले सरकार आत्तिन जरुरी नभएको बताए ।

  • मूर्खहरुले मात्र राजतन्त्र मान्छन् : ओली

    मूर्खहरुले मात्र राजतन्त्र मान्छन् : ओली

    काठमाडौं । एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मुर्खहरुले मात्रै राजतन्त्र मान्ने टिप्पणी गरेका छन् । राजतन्त्रलाई मरेको प्रेतको संज्ञा दिँदै ओलीले नेपाली जनताले वाक्क, दिक्क भएर फ्याँकेको शक्ति फेरि फर्कन नसक्ने दाबी गरे ।

    पार्टी मुख्यालय च्यासलमा शुक्रबार राष्ट्रिय युवा संघ, नेपालको केन्द्रीय कमिटी बैठकमा बोल्दै उनले कतिपय देशहरुले विभिन्न सम्झौताका कारण राजतन्त्र मानेको भए पनि नेपालमा राजनीतिक, वैचारिक, सैद्धान्तिक कुनै हिसाबले पनि राजतन्त्र हुनै नसक्ने तर्क गरे । एउटा मान्छेको छोरो जन्मिँदै राष्ट्र प्रमुख हुन जन्मिने कुरा चेतना नभएका मुर्खहरुले मात्रै गर्ने ओलीको भनाइ थियो ।

    ‘कि त चेतना नै नभएका मुर्खहरुले राजतन्त्र मान्छन् । एउटा मान्छेको छोरा, जन्मिदै राष्ट्रप्रमुख हुन नन्मिन्छ । लाटो जन्मिन्छ कि गजडी जन्मिन्छ कि । ड्रगिष्ट भएर जन्मिन्छ कि । कस्तो भएर जन्मिन्छ रु लफंगा भएर जन्मिन्छ कि ? थाहा छैन, उनले भने, जन्मिदै राजा हुने र ? त्यो कुरालाई पनि मान्छु, त्यही हुनुपर्छ भन्ने कठैबरी ? नागरिक सर्वोच्चता स्वीकार नगर्ने । देशभरिका जनतामा सार्वभौमसत्ता भनेर मान्न नसक्ने । एउटा व्यक्तिमा सार्वभौमसत्ता हुनुपर्छ भन्ने । त्यो चेतना, चेतना हो र । त्यो त मूर्खता हो नि ?

    उनले बिहीबार दुर्गा प्रसाईंको नेतृत्वको काठमाडौंको बल्खुमा भएको प्रदर्शनप्रति संकेत गर्दै एउटा मरेको प्रेतको पछाडि नलिखुट्टाको हड्डी फुकेर राजतन्त्र फर्काउँछु भनेर केही मानिस लागेको बताए । अध्यक्ष ओलीले बल्खुमा बिहीबार भएको प्रदर्शनमा ५–७ हजार मान्छे रहेको जिकिर गर्दै वर्तमान सरकार भने त्यसबाट थर्कमान भएको बताए ।

    कुनै जग नभएकाले वर्तमान सरकार माग, नारा के हो ? केही पनि थाहा नभएकोहरुको प्रदर्शनबाट पनि थर्कमान भएको उनको टिप्पणी थियो । अध्यक्ष ओलीले जनतालाई निराश हुन नदिने काम एमालेले गर्नुपर्ने भएकाले त्यस काममा लाग्न पनि युवा संघ, नेपाललाई सचेत गराए । ओलीले युवा संघको प्रदर्शनलाई भने देशलाई संकटबाट जोगाउनका लागि भएको दाबी गरे ।

  • ऋण लिएर नतिर्नेलाई राज्यले छाड्दैन : अर्थमन्त्री

    ऋण लिएर नतिर्नेलाई राज्यले छाड्दैन : अर्थमन्त्री

    काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले बैंकबाट ऋण लिएर ऋण नतिर्नेलाई राज्यले नछोड्ने बताएका छ । मंगलबार अर्थतन्त्रका वर्तमान समस्या र समाधानबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरकार, राजनीतिक दल, निजी क्षेत्र र सरोकारवालासँगको छलफलपछि यस्तो बताएका हुन् । उनले ऋण लिएर ऋण नतिर्नेको सुनुवाइ राज्यबाट नहुने बताए । उनले अफ्ठ्यारोमा परेकालाई भने सरकारले केही समय उपलब्ध गराउने बताए ।


    उनले भने, ‘‘साना उद्योग व्यवसायलाई प्रमोट गर्ने क्षेत्रमा पनि अझ तदारुकताका साथ काम गर्ने निष्कर्ष निस्कियो। जो साँच्चिकै समस्यामा छन्, उनीहरुलाई सरकार र राष्ट्र बैंकको तर्फबाट सहजीकरण गर्ने भन्नेकुरा आएको छ। तर ऋणको सवालमा ऋण लिएर, पैसा लिएर तिर्दै तिर्दिन भनेर जो लाग्छ, त्यसको सुनुवाइ हुँदैन, त्यो तिर्नैपर्छ। जो अफ्ठ्यारोमा छ, त्यसमा समय दिने सहजीकरण गर्ने भन्नेकुरामा सरकार प्रतिवद्ध छ। उही ऋण लिने र उही ठूलो पल्टिने कुरालाई राज्यले सहन सक्दैन।’’ उनले राज्यको साधनश्रोतले भ्याएसम्म जनताको समस्या समाधान सरकार प्रतिवद्ध रहेको बताए ।

  • सरकारले इतिहास मै धेरै काम गरेको छ : प्रचण्ड

    सरकारले इतिहास मै धेरै काम गरेको छ : प्रचण्ड


    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हाम्रो नेतृत्वको सरकारले सुरु गरेको सामाजिक न्याय र सुशासनको अभियान इतिहासकै पहिलो भएको बताएका छन् । रुकुम पूर्वको मैकोटमा आयोजित जनसभालाई सम्बोधन गर्दै उनले  यस्तो बताएका हुन् ।

    उनले भने, “हिजो हामी सङ्घीय लोकतान्त्रिक गणतन्त्रका निम्ति लड्यौँ। सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधान बनायौँ। सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधान बनाउँदै गर्दा हामीले अबको नेपाल राज्य समाजवाद उन्मुख हुनेछ भनेका थियौँ। जबसम्म देशमा सामन्ती निरंकुशताको मात्रै होइन। दलाल पुँजीपति र नोकरशाही पुँजीपतिको हैकम पनि अन्त्य हुँदैन। तबसम्म नेपाली जनताले अन्तिम वास्तविक अर्थमा मुक्त भएको मान्न सकिँदैन।”  सोही कारण संविधान लेख्दा नै राज्य समाजवाद उन्मुख हुने भनेर लेखिएको उनको भनाइ थियो।

    प्रधानमन्त्रीले भूमाफियाकोविरुद्ध अभियान सुरु गरेर हजारौँ जनतालाई राहत प्रदान गरिएको उल्लेख गर्दै त्यसका लागि आम जनताको सार्थक सहयोग जरुरी रहेको बताए । प्रधानमन्त्रीले नियमित रूपमा भइरहेको सुन तस्करी नियन्त्रणका लागि सरकारले अभियान चलाएको र सो मुद्दा हाल अदालतमा विचाराधीन रहेको बताए ।

  • टिकटकबाट आफु पनि पिडित भएको बालेनको भनाई

    टिकटकबाट आफु पनि पिडित भएको बालेनको भनाई

    काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन शाहले टिकटक बन्द गर्ने सरकारी निर्णय समाधान नभएको बताएका छन् । शाहले मर्यादित टिकटक चलाउन पाइने अपेक्षा सरकारसँग गरेका छन् । टिकटक मात्र नभई अन्य सामाजिक सञ्जालहरूलाई अनुगमन , नियममा ल्याउन सरकारी प्रयासको आग्रह गरेका छन् । करको दायरामा ल्याएर गलत गर्नलाई सेन्सर गर्ने आफ्नो संयन्त्र विकास गर्न उनको आग्रह छ ।

    टिकटकबाट भिडिओ दुरुपयोगबाट आफू पनि पीडित भएको शाहले सामाजिक सञ्जालमा लेखेका छन् । ‘धेरै पटक मेरो केही समय पहिलेको भिडियो दुरुपयोग गरेर ‘टिकटक लाइभ’ गरेको देख्नुभयो होला । केही समय यता मेरो नाममा यस्ता धेरै फेक आइडी बनेका छन्,’ शाह भन्छन्,’जसले मिथ्या सूचना प्रसारण गरेका पनि छन् ।

    नेपाल प्रहरीको साइबर क्राइम, नेपाल दूरसञ्चार प्राधिकरण गुहारेको उनले बताए । टिकटकले फेक आइडीमा ध्यान नदिँदा शुभचिन्तकले दुःख पाएको शाहले बताए । नयाँ उद्यमीहरूलाई बजार प्रवर्द्धन गर्ने प्लेटर्फमका रुपमा टिकटकको सदुपयोग भएको महानगर प्रमुख शाह बताउँछन् । ‘मौका नपाएका प्रतिभाहरूलाई आफ्नो प्रतिभा देखाउने ठुलो प्लेटर्फम भएको थियो साथै नेपाली गीत संगीतलाई अन्तराष्ट्रिीयकरण गर्न मद्दत गर्दै थियो,’ शाह भन्छन् ।

  • टिकटक बन्द गर्ने निर्णयमा रविको विरोध

    टिकटक बन्द गर्ने निर्णयमा रविको विरोध

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले टिकटक बन्द गर्ने सरकारको निर्णयप्रति आपत्ति जनाएका छन् । सभापति लामिछानेले सामाजिक सञ्जाललाई बन्द गर्ने नभई नियमन गर्नुपर्ने बताए । उनले लेखेका छन्, ‘सामाजिक सञ्जाललाई नियमन गर्ने हो, बन्द गर्ने होइन । समस्या कन्टेन्टको हो, प्लेटफर्मको होइन । अराजकता अभिव्यक्तिमा होला, माध्यमको के दोष ? टिकटकका सबै प्रयोगकर्ता र विषय खराब छैनन् । प्राविधिकरूपमा खराबलाई नियन्त्रण गर्न सकिन्छ ।’

    सभापति लामिछानेले सत्ताधारी दलकै नेताहरू भ्रष्ट भए पार्टी नै बन्द गरिदिने हो त भनेर सरकारलाई प्रश्न गरेका छन् । ‘यो निर्णय गर्ने सत्ताधारी दलकै कैयौँ नेताहरू भ्रष्ट होलान् । के अब पार्टी नै बन्द गरिदिने हो त ? मूलधारले ढोका बन्द गरेका कैयौँ प्रतिभा सामाजिक सञ्जालबाट उदाए, मूलधारले लुकाएका कैयौँ समाचार सामाजिक सञ्जालले उजागर गरे । आजको युगमा सामाजिक सञ्जालको विकल्प सुधारिएको सामाजिक सञ्जाल हो, उनले लेखेका छन् ।’