Category: बिचार

  • टिकटक बन्द गर्ने निर्णयमा गगन थापा असहमत

    टिकटक बन्द गर्ने निर्णयमा गगन थापा असहमत

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले टिकटक बन्द गर्ने निर्णय गरेर सरकार उल्टो बाटोमा हिंडेको टिप्पणी गरेका छन् । आज सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेपछि महामन्त्री थापाले नियमन गर्ने नाममा बन्द गरिनु गलत भएको बताएका हुन् ।

    ‘सामाजिक सञ्जालको दुरुपयोग गर्नेलाई निरुत्साहित गर्न नियमन आवश्यक छ तर सामाजिक सञ्जाललाई नियमन गर्ने नाममा बन्द गरिनु सरासर गलत हो,’ उनले फेसबुकमा लेखेका छन्, ‘यो एउटा सामाजिक सञ्जाल बन्द गर्ने नगर्नेभन्दा पनि यो सरकारको नियतको विषय हो।’

    महामन्त्री थापाले सरकारको नियत ‘अभिव्यक्ति तथा व्यैक्तिक स्वतन्त्रता’ लाई कुण्ठित गर्ने देखिएको आरोप समेत लगाएका छन्, ‘सरकारले यो कदम सच्याउनुपर्छ, यसमा किन्तु परन्तु केही पनि चल्दैन’, उनले लेखेका छन् ।

  • संयुक्त रास्ट्रसंघका महासचिवको सम्बोधन नेपालका लागि महत्त्वपूर्ण : प्रधानमन्त्री

    संयुक्त रास्ट्रसंघका महासचिवको सम्बोधन नेपालका लागि महत्त्वपूर्ण : प्रधानमन्त्री


    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले संघीय संसद्‌मा राखेको धारणा मुलुकका लागि खुसीको कुरा रहेको प्रतिक्रिया जनाएका छन् । 

    संसद्‌ भवनबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग प्रधानमन्त्री दाहालले जलवायु र गरिवी निवारणसम्बन्धी फन्ड छुट्याउने सबभन्दा ठूलो कुरा भएको समेत उल्लेख गरे ।

    ‘राष्ट्रसंघका महासचिवले बोल्नसक्ने कुरा बोल्नुभयो, यो नेपालको लागि खुसीको कुरा हो,’ प्रधानमन्त्री दाहालले भने, ‘जलवायु र गरिबी निवारणसम्बन्धी फन्डहरु छुट्याउने भन्ने, यो भन्दा ठूलो कुरा केही हुन्न ।

    महासचिव गुटेरेसबाट शान्तिप्रक्रियाबारे पनि राम्रो धारणा आएको प्रधानमन्त्री दाहालको भनाइ छ । तर नेपालकै केही नेताहरुले देश विभाजित छ भन्ने देखाएको भन्दै उनले असन्तुष्टि जनाए ।

    नेपालको शान्ति प्रक्रियाबारे महासचिव गुटेरेसको राम्रो धारणा छ । नेपालकै केही नेताहरुले देश विभाजित छ जस्तो देखाउनुभयो, यो दुर्भाग्यपूर्ण छ,’ उनले भने ।

    यसैबीच, प्रमुख प्रतिपक्ष एमालेका अध्यक्ष केपी शर्मा ‌ओलीले महासचिव गुटेरेसले नेपाली राष्ट्रको राम्रो मूल्यांकन गरेको बताए ।

    महासचिव गुटेरेसले वातावरण र गरिबी निवारणको बारेमा बोलेको उल्लेख गर्दै ओलीले भने, ‘सम्पन्न, धनी देशहरुलाई र संयुक्त राष्ट्रसंघका प्रतिबद्धता र नेपालको सजगताको कुरा गर्नुभएको छ । शान्ति प्रक्रियालाई पीडितमैत्री बनाउने कुरा गर्नुभएको छ ।’

    महासचिव गुटेरेसले संघीय संसद्‌का दुवै सदनको बैठकलाई मंगलबार सम्बोधन गरेका थिए ।

  • सामाजिक सदभावमा खलल पुग्ने सामग्री सामाजिक सञ्जालमा नराख्न गगन थापाको अपिल

    सामाजिक सदभावमा खलल पुग्ने सामग्री सामाजिक सञ्जालमा नराख्न गगन थापाको अपिल

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सामाजिक सद्भावमा प्रभाव पर्ने विचार, सामग्री, फोटो, भिडियो पोष्ट नगर्न सामाजिक सञ्जाल प्रयोगकर्तालाई अपिल गरेका छन् । हिंसा भड्काउने तथा सामाजिक विद्वेष फैलाउने अभीष्टले सामाजिक सञ्जालमा भ्रामक, कपोलकल्पित, उत्तेजक र द्वेषपूर्ण विचार कसैले गरेमा सुरक्षा निकायलाई खबर गरी सहयोग गर्न पनि उनले आग्रह गरेका छन् ।

    धार्मिक आस्था फरक फरक भएपनि सबैमा मानवतावाद, शान्ति र धार्मिक तथा सांस्कृतिक सहिष्णुता रहेको थापाले उल्लेख गरेका छन् । नेपाल बहुधार्मिक, बहुसांस्कृतिक, बहुजातीय तथा बहुभाषिक राष्ट्र भएको थापाले सामाजिक सञ्जालमा उल्लेख गर्दै भनेका छन्, ‘आफ्नो धार्मिक तथा सांस्कृतिक आस्था अनुसार धर्म र संस्कृति अनुसरण तथा अभ्यास गर्ने स्वतन्त्रता हरेक नेपाली नागरिकलाई छ । यो मौलिक अधिकारलाई नेपालको संविधानले समेत पूर्ण प्रत्याभूति गरेको छ ।’

    समाजमा सद्भाव कायम गर्न नेतृत्वदायी तथा उदाहरणीय भूमिका निर्वाह गर्न उनले कांग्रेसका नेता कार्यकर्तालाई आह्वान गरेका छन् । पछिल्लो समय विभिन्न स्थानमा भड्किएको धार्मिक सदभावका कारण चारैतर्फ चिन्ता व्यक्त गरिएको छ ।

  • नेपाल र चीनको सम्बन्ध मजवुत बनेको छ : प्रधानमन्त्री

    नेपाल र चीनको सम्बन्ध मजवुत बनेको छ : प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल र चीन दुई देशबीचको आपसी सम्बन्ध थप मजबुत बनेको बताएका छन् । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्डको सम्मानमा चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ तथा दूतावास परिवारले आइतबार आयोजना गरेको स्वागत समारोहमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

    प्रधानमन्त्री प्रचण्डले चीनका राष्ट्रपति सी चिनफिङसँग सौहार्द एवम् हार्दिकतापूर्वक कुराकानी भएको र यसले दुई देशको सम्बन्धलाई नयाँ आयाम दिने बताए । उनले भने, “चीनमा आएर सर्वोच्च नेता सी चिनफिङसँग सौहार्द र हार्दिकतापूर्वक कुराकानी भयो । यसले निकै उत्साह नेपाल–चीन सम्बन्धलाई नयाँ आयाम दिने, कनेक्टिभिटीलाई नयाँ मार्गप्रशस्त गर्ने, नयाँ गति दिएर आपसी सम्बन्ध मजबुत बनाउन सकिने विश्वास लिएका छौँ ।”

    उनले चीन भ्रमण सफल बनाउन नेपालका लागि चिनियाँ राजदूतले धेरै मिहेनत गरेको भन्दै विशेष सद्भाव र सम्मान प्रकट भएकोमा विशेष धन्यवाद ज्ञापन गरे ।
    प्रधानमन्त्रीको हैसियतले तेस्रो र राजनीतिक नेतृत्वको हैसियतले पाँचौँ चीन भ्रमण भएको उल्लेख गर्दै उनले सबै भेटमा चीनका नेतासँग महत्त्वपूर्ण छलफल गर्दै अघि बढ्ने अवसर प्राप्त भएको स्मरण गरे । प्रधानमन्त्री प्रचण्डले भने, “सम्मान, सद्भाव जे भनेपनि पहिलेभन्दा अलि विशिष्ट हुन गएको मैले महसुस गरेको छु ।’’

    राष्ट्रपति सीसँग आपसीहित, पूर्वाधारको क्षेत्र, कनेक्टिभिटीमा रेल, हवाई यातायात, बाटोघाटो लगायत पर्यटन, शिक्षा, स्वास्थ्य र विशेष गरी कृषि क्षेत्रमा सहयोग सम्बन्धमा छलफल भएको उनको भनाइ छ ।


    शान्ति प्रक्रिया, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधान निर्माण र दुई पटक शान्तिपूर्ण एवम् प्रतिस्पर्धात्मक वातावरणमा सम्पन्न भएको विषयमा छिमेकी राष्ट्र, विकसित मुलुक एवम् अन्तर्राष्ट्रिय समुदायले ध्यान दिनुपर्नेमा उनको जोड थियो ।

  • संविधानले नेपाली समाजलाई एकताको सुत्रमा बाँधेको छ : राष्ट्रपति

    संविधानले नेपाली समाजलाई एकताको सुत्रमा बाँधेको छ : राष्ट्रपति

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानले नेपाली समाजलाई राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको बताएका छन्। ‘संविधानले केन्द्रीकृत र एकात्मक राज्यव्यवस्थाद्वारा सिर्जित सबै प्रकारका विभेद र असमानतालाई अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको छ,’ उनले भनेका छन् । संविधान दिवसका अवसरमा शुभकामना दिँदै राष्ट्रपति पौडेलले संविधानले लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाका माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्ने लक्ष्य राखेको बताए।

    तर सुदृढ तहगत अन्तरसम्बन्धको स्थापना र सबल सङ्घीय शासन प्रणालीमार्फत समावेशी, समन्यायिक एवं सन्तुलित प्रादेशिक विकासको सुनिश्चितता हुन नसके जनताले चाहेको लोकतन्त्रको परिणाम प्राप्त नहुने उनले बताए। उनले श्रमलाई सम्मान गर्ने संस्कृति, विपन्नलाई आय र निमुखालाई न्याय दिने प्रणालीलाई सबल र प्रभावकारी बनाउनुपर्ने बताएका छन्। राष्ट्रपति पौडेललेलो कतान्त्रिक गणतन्त्र स्थापनाका लागि आफ्नो जीवन आहुति दिने सहिदहरूप्रति श्रद्धाञ्जलि अर्पण गर्दै लोकतान्त्रिक प्रणाली स्थापनार्थ पथ प्रदर्शन गर्ने सम्पूर्ण अग्रजप्रति सम्मान एवं श्रद्धा प्रकट गरेका छन्।

    राष्ट्रपति पौडेलले राज्यको चरित्रलाई अझ लोकतान्त्रिक, पारदर्शी, जवाफदेही, सुशासित, न्यायपूर्ण र जनमुखी बनाउनुपर्ने उल्लेख गर्दै जनप्रतिनिधिहरू, सार्वजनिक निकायका पदाधिकारी तथा राजनीतिक दलका नेता कार्यकर्ताले जनताले अपेक्षा गरेको आचरण र चरित्र देखाउनसके मात्र सामाजिक न्याय र स्वाभिमानसहित समृद्धिको सपना साकार हुने उल्लेख गरेका छन्।

    शुभकामना सन्देशमा भनिएको छ, ‘राजनीतिक व्यवस्था र शासकीय संरचनामा आउने परिवर्तनले मात्र युगका अपेक्षा पूरा हुँदैनन् । अतः आजका दिनले हामी, हाम्रा राजनीतिक दल, नेतृत्व, सरकार र सम्पूर्ण राज्यसत्तालाई अझ लोकतान्त्रिक, न्यायपूर्ण र परिणाममुखी बनाउने दायित्व बोध गराउनेछ भन्ने विश्वास लिएको छु।’

  • टोखा–छहरे सुरुङ मार्ग बनाइदिन चिनियाँ सरकार सकारात्मक छ : अर्थमन्त्री

    टोखा–छहरे सुरुङ मार्ग बनाइदिन चिनियाँ सरकार सकारात्मक छ : अर्थमन्त्री

    काठमाडौं । अर्थमन्त्री डा। प्रकाशशरण महतले टोखा–छहरे सुरुङ मार्ग निर्माणका लागि चिनियाँ सरकार सकारात्मक रहेको बताएका छन् । लिखु महिला उद्यमी तथा सामाजिक संस्थाले शनिबार आयोजना गरेको तीज शुभकामना कार्यक्रममा बोल्दै मन्त्री डा. महतले भने, ‘यो परियोजनालाई अगाडि बढाउन मैले एक अर्ब रुपियाँ बजेट विनियोजन गरेको छु । यद्यपि यसका लागि धेरै पैसा लाग्छ । हाम्रो श्रोतले नपुग्न सक्छ, यो परियोजना निर्माणका लागि हामीले चिनियाँ सरकार समक्ष प्रस्ताव पठाएका छौं । उहाँहरुबाट सकारात्मक जवाफ आएको छ ।’

    उनले भने,m ‘पत्रको आदान–प्रदान भइसकेको छ । यसको अर्थ आयोजना अगाडि बढ्छ भन्ने हो । हाम्रा प्रधानमन्त्री पुष्पकमल दाहाल चीन जाँदै हुनुहुन्छ, यो परियोजनाको तयारीमा हामी लागेका छौं । प्रधानमन्त्रीको भ्रमणको सिलसिलामा यो आयोजना पहिलो प्राथमिकतामा राखेका आसयको पत्र चीन सरकारले दिएको छ ।’

    प्रारम्भिक यसको अध्ययन भइसकेको जानकारी दिँदै मन्त्री डा. महतले भने, ‘अब थप डिपिआरसहितको अध्ययन भएपछि निर्माण प्रकृया अगाडि बढ्छ । सुरुङमार्गको अध्ययन महत्वपूर्ण पक्ष हो । धेरै पक्षमा ध्यान पुराउनु पर्ने भएकाले अध्ययन सबैभन्दा जटिल र महत्वपूर्ण छ । अध्ययन सकिने वित्तिकै सुरुङमार्गको काम अगाडि बढ्छ ।’

    ‘निर्माणको काम भौतिक मन्त्रालयले, श्रोत जुटाउने काम अर्थ मन्त्रालय र वातावरणसम्बन्धी के असर पर्छ भनेर अनुमति लिने काम वन मन्त्रालयबाट भएको जानकारी दिँदै उनले भने, ‘यहाँ तिनवटै मन्त्रालयले आएर हेरेको छ । निकुन्जमा पनि समस्या छैन भन्ने कुरा आएको हुनाले निर्माण कार्य अगाडि बढ्छ ।’

    सडक सञ्जाल सदरमुकाम विदुरसम्म मात्र होइन, रसुवा नाकासम्म स्तरोन्नति हुन्छ । पृथ्वी राजमार्गको ट्राफिक र अन्तर्राष्ट्रिय व्यापारका लागि यही बाटो सबैभन्दा छोटो हुने मन्त्री डा. महतको भनाई छ । उनले भने, ‘यसले नुवाकोट जिल्लाभरि नै आर्थिक गतिविधि बढ्छ, रोजगारी सिर्जना हुन्छ, व्यापार बढ्छ । पर्यटक बढ्छन्, कृषिजन्य उत्पादन बढ्छ । यसले नागरिकको आम्दानी बढाउने छ । हामीले खोजेको त्यही हो ।’

    यी आयोजना निर्माण हुँदा सबैभन्दा बढी प्रभाव लिखु गाउँपालिकामा पर्ने उनले बताए । त्यसपछि शिवपुरी र पञ्चकन्या गाउँपालिकामा पनि पर्छ । उनले भने, ‘ढिकुरे र सिम्ला सिँचाइ आयोजना अर्को महत्वपूर्ण पक्ष हो । यो आयोजना बनेको धेरै भयो । पटक पटक मर्मत भयो । पुनः मर्मतका लागि यसपटक पुग्ने गरी बजेट विनियोजन भएको छ । गंगटेदेखि समुद्रटार हुँदै गोल्फु भन्जाङसम्मको बाटोलाई पूरा गर्ने लक्ष्यका साथ हामीले ठेक्का प्रकृया अगाडि बढाइसकेका छौं । यो कार्यान्वयन भएपछि यातायातमा सुधार हुन्छ ।’

  • प्रभावकारी नारी सशक्तिकरणका लागि, नारी-पुरुष दुबै जिम्मेवार हुनु पर्दछ

    प्रभावकारी नारी सशक्तिकरणका लागि, नारी-पुरुष दुबै जिम्मेवार हुनु पर्दछ

    सुपेन्द्र बस्नेत, बोष्टन

    गत मार्च ८ तारिख नारीहरुका लागि निकै महत्वपूर्ण दिन थियो। जुन दिन यस वर्षका लागि तय गरिएको मूल नारा ‘Embrance Equity’ लाई मुख्य केन्द्रबिन्दु बनाउदै संसारभर विविध क्रियाकलापहरु गरी ‘११३ औं अन्तर्राष्ट्रिय नारी दिवस’ मनाइयो। यस दिवसको उद्गम थलो अमेरिकाको न्युयोर्कलाई मानिन्छ। जहाँ सन् १९०८ मा १५ हजार भन्दा बढी श्रमिक नारीहरू नारी कामदारहरुको तलब तथा सेवा सुविधा बढाउन, काम गर्ने घण्टा घटाउन र मतदानको अधिकार सुनिश्चित गर्न माग गर्दै आन्दोलनमा होमिएका थिए। यस आन्दोलनलाई अमेरिकाको सोसलिष्ट पार्टीले समर्थन गरेसंगै सन् १९०९ देखि अमेरिकामा नारी दिवस मनाउन थालिएको हो। यस दिवसलाई अन्तर्राष्ट्रियकरण गर्नमा भने नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनको महत्वपूर्ण योगदान छ। उनले सन् १९१० मा कोपेनहेगेनमा भएको नारीहरुको अन्तर्राट्रिय सम्मेलनमा मार्च ८ तारिखलाई अन्तर्राष्ट्रिय श्रमिक नारी दिवस घोषणा गर्न प्रस्ताव गरेकी थिइन्। उक्त प्रस्तावलाई सम्मेलनले पारित गरेपछि यस दिवसले अन्तर्राष्ट्रिय स्तरमा वैधता पाउन सफल भयो। र, सन् १९११ देखि हरेक वर्ष मार्च ८ तारिखका दिन औपचारिक रुपमा यो दिवस मनाउन थालियो। संयुक्त राष्ट्र संघले सन् १९७५ मा यस दिवसलाई औपचारिक मान्यता दिएपछि यो दिवस विश्वव्यापी हुन पुग्यो।

    यसै शिलशीलामा नेपालमा पनि यस वर्षको राष्ट्रिय नारा ‘लैंगिक समानताको बलियो आधार : सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार’ का साथ यो दिवस विविध क्रियाकलापहरु गरेर मनाइयो। नेपालभित्र रहेका नारीहरुले मात्र नभएर नेपाल बाहिर रहेका नारीहरुले पनि यो दिवस मनाए। कार्यक्रममा उनीहरुको मूख्य चासो र चिन्तासहितको वकालती नारी अधिकार, स्वतन्त्रता, नारी हिंसा, न्याय, नारी सशक्तिकरण, समान अवसर, समान सहभागितालगायत विषयहरुमा केन्द्रीकृत रहेका थिए।

    नेपाली नारीहरुले यी मुद्दाहरुलाई लामो समयदेखि निरन्तर उठाउदै आइरहेका छन्। जसले नेपाली नारीहरुको यथार्थ अवस्था अझै चिन्ताजनक नै रहेको छ भन्ने दर्शाउछ। यसो हुनुमा कुनै एक कारण मात्र नभइ, नारी सशक्तिकरणमा प्रभाव पार्ने समग्र कारक तत्वहरु जस्तै राजनैतिक, आर्थिक, सामाजिक, धार्मिक, शैक्षिक, कानूनी आदि जिम्मेवार छन्। नेपाली नारीको यथार्थ चित्रण गर्नका लागि एक अर्काका बिच अन्योन्याश्रित सम्बन्ध भएका यि कारक तत्वहरुको विकास क्रमलाई सुक्ष्म अध्ययन गर्न जरुरी छ।

    जनताको जीवनस्तरको अवस्थालाई राज्य सञ्चानको व्यवस्थाले निकै ठूलो प्रभाव पार्दछ। नेपालमा व्यवस्थित रुपमा राज्य सञ्चालन गर्ने गरी लिखित कानूनीको व्यवस्था गरिएको इतिहास त्यति धेरै लामो छैन। राजा पृथ्वीनारायण शाहले नेपाल एकिकरण गरे पश्चात् बनेको नयाँ नेपालमा, राणाकालसम्म हुकुमी शासन नै हावी थियो। वि.सं १९१० मा पहिलो पटक लिखित कानून बन्यो। जसलाई मुलुकी ऐन भनिन्छ। यही मुलुकी ऐन नै नेपालको पहिलो लिखित कानून हो। यसैलाई नेपालको कानूनी राज्य सञ्चालन गर्ने अभ्यासको कोशेढुङ्गा मान्न सकिन्छ। यद्यपि यसमा हुकुमी शासनको प्रभाव भने पर्याप्त नै थियो। लामो समयको अन्तराल पछि नागरिकका केही आधारभूत मौलिक हकहरुको व्यवस्था गरिएको ‘नेपाल सरकारको वैधानिक कानून- २००४’ बन्यो । त्यसपछि बिस्तारै कानूनी राज्य सञ्चालनले गती लिन थाल्यो। र, एक पछि अर्को गरी वैयक्तिक स्वतन्त्रता सम्बन्धि ऐन २००६, अन्तरिम शासन विधान २००७, बन्दीप्रत्यक्षिकरण सम्बम्धि ऐन २००८ र नागरिक अधिकार ऐन २०१२ बन्यो। जसले नेपालमा कानूनी राज्य स्थापना र कानूनी शासनको अभ्यासलाई महत्वपूर्ण योगदान पुर्यायो।
    नेपाल अधिराज्यको संबिधान-२०१५ ले नेपाली जनतालाई सार्वभौम सम्पन्न बनायो।त्यसैगरी नेपालको संविधान-२०१९ ले लिङ्गको आधारमा हुने भेदभावको अन्त्य गर्नुका साथै वालिग मताधिकारको व्यवस्था गर्यो। त्यसैगरी, २०४६ सालमा भएको प्रजातन्त्र पुनर्स्थापनाले नेपाली जनतालाई हक अधिकार र दायित्वसहित थप उचाइमा पुर्यायो। यो संविधानले नेपाली नारी सशक्तिकरणमा ठूलै हलचल ल्याइदियो। समाजका हरेक पाटाहरुमा नारीहरुको उल्लेखनीय सक्रियता र पहुँच बढ्न थाल्यो। २०६२/०६३ को जनआन्दोन पश्चात् बनेको अन्तरिम संविधान-२०६३ ले नारीका अधिकारलाई मौलिक हकको रूपमा नै व्यवस्था गरिदियो। पछि २०७२ सालमा संविधानसभाबाट बनेको नेपालको संविधान-२०७२ ले अन्तर्राष्ट्रिय मापदण्डलाई पछ्याउदै समावेशी मूल्य र मान्यताका आधारमा नारी अधिकारलाई थप परिस्कृत, परिमार्जित र व्यवस्थित गर्यो। जसमा यि विषयबस्तुहरु प्राथमिकताका साथ व्यवस्था गरिएको छ;
    समानुपातिक समावेशी र सहभागितामूलक सिद्दान्तका आधारमा समतामुलक समाजको निर्माण गर्ने, लैंगिक विभेद अन्त्य गर्ने । आमाको नामबाट नागरिकता प्राप्त गर्न सकिने लगायतका नागरिकता सम्बन्धी विषयमाथि नागरिकताको शिर्षक अन्तर्गत उल्लेख गरे बमोजिम हुने । सामान्य कानुनको प्रयोगमा उत्पति, धर्म, वर्ण, जात , लिङ्ग वा अन्य कुनै आधारमा भेदभाब नगरिने । सामाजिक वा संस्कृतिक दृष्टिले पिछडिएका महिला लगायत नागरिकको संरक्षण, सशक्तीकरण वा विकासका लागि कानुन बमोजिम विशेष व्यवस्था गर्ने । महिलालाई लैंगिक भेदभाबविना समान वंशीय, सुरक्षित मातृत्व र प्रजनन् स्वास्थ्यको हक हुने । महिला विरुद्द धार्मिक, सामाजिक , सांस्कृतिक, परम्परा, प्रचलन वा अन्य कुनै आधारमा शारीरिक, मानसिक , यौनजन्य , मनोविज्ञान वा अन्य कुनै किसिमको हिंसाजन्य कार्य वा शोषण नगरिने र त्यस्तो कार्य दण्डनीय हुने तथा पीडितले क्षतिपुर्ति पाउने । राज्यका सबै निकायमा महिलाको समानुपातिक समावेशी सिद्दान्तको आधारमा सहभागिता रहने । महिलाले शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षामा सकारात्मक विभेदका आधरमा विशेष अवसर प्राप्त गर्ने । सम्पति तथा पारिवारिक मामिलामा दम्पतिको समान हक हुने । सामाजिक रूपले पछाडि परेका महिला समेतले समावेसी सिद्दान्तका आधारमा राज्यको निकायमा सहभागी हुन पाउन सामाजिक न्यायको हक हुने ।
    आर्थिक रूपले विभिन्न, अशक्त र असहाय अवस्थामा रहेका, असहाय एकल महिलासमेतले सामाजिक सुरक्षा पाउने हक हुने । मौलिक हक तथा मानव अधिकारका मूल्य र मान्यता, लैंगिक समानता सुनिश्चित गर्ने राज्यको राजनीतिक उदेश्य हुने । प्रजनन् अस्वस्थ्यतामा आवश्यक सेवा सुविधाको उपभोगको सुनिचितता गर्ने । आर्थिक रूपले विपन्नलाई प्राथमिकता प्रदान गर्ने । राष्ट्रपति र उपराष्ट्रपति फरक फरक लिङ्ग वा समुदायको हुने ।

    यसरी नेपालको संवैधानिक तथा कानूनी विकास क्रमका दृष्टिकोणबाट हेर्दा नारीको पक्षमा उठाइएका कदमहरु र चालिएका कदमहरुलाई विश्व परिवेशलसंग तुलना गर्दा छोटो समयमा प्राप्त भएका सकारात्मक उपलब्धिहरुका रुपमा चित्रण गर्न सकिन्छ। तर, यि सैध्दान्तिक पक्षहरुको व्यवहारिक पक्ष निरासाजनक नै रहेको तथ्य भने कसैकासामु छिपेको छैन। जसका कारण नेपाली नारीहरुले अझै पनि आफ्नो अधिकार, समानता, अवसर, सुरक्षा र सशक्तिकरणका लागि लडाइँ लडिरहनु परेको अवस्था छ। यसले सैध्दान्तिक पक्ष र व्यवहारिक पक्षमा तारतम्यता नमिलिरहेको र नारीको अवस्थामा अपेक्षाकृत सुधार हुन नसकिरहेको बुझिन्छ। नेपाली समाजमा नारीहरु शोषित, पिडित, हिंसाको सिकार, अवसरबाट बन्चित हुनु र नारीको यथोचित सशक्तिकरण हुन नसक्नुमा पितृसत्तात्मक सोच र व्यवहार नै प्रमुख कारक हो भनि पुरुषहरुलाई मात्रै दोषी ठहराउने भास्य स्थापित भएको अवस्था छ। जसले गर्दा अन्य कारक तत्वहरुले प्रमुख भूमिका निर्वाह गरिरहेको भएतापनि, त्यसलाई जानी नजानी बेवास्ता गर्ने गरिन्छ।

    नेपाली समाजमा हिंसा, शोषण, अपहरण, बन्धक, विभेद, बलत्कार, चरित्र हत्या आदि भन्ने बित्तिकै नारीको भोगाइ संझेर बुझ्ने/बुझाउने गरिन्छ। तर, पछिल्लो समयमा नेपाली समाजमा प्रतक्ष्य तथा परोक्ष रुपमा नारीहरुको संलग्नता भएका हत्या, हिंसा, शोषण, अपहरण, बन्दक, विभेद, बलत्कार आदि सम्बन्धी उजागर भइरहेका घटनाहरुको सुक्ष्म अध्ययन गर्दा नारीबाटै नारी र नारीबाट पुरुषहरु पनि निकै प्रताडित भैरहेका छन्। जसले आम नारीको वर्तमान अवस्था हुनुमा पुरुष मात्र हैन, महिलाहरुको भूमिका पनि उत्तिनै जिम्मेवार छ भन्ने दर्शाउछ। आफ्नो र परिवारको उज्वल भविश्यको सपना देखेर बैदेशिक रोजगारीमा गएका पुरुषहरुको परिवारमा बेमेल बढ्ने, घात प्रतिघात बढ्ने, घरबार बिग्रिने, बहुविवाह र पारपाचुके गर्ने, आर्थिक अवस्था तहसनहस हुने गरी भैरहेका दु:खद घटनाहरुले त झन दिन प्रतिदिन विकराल रुप लिदैछ। नेपाली समाजमा नारी प्रयोग भएर वा नारीबाटै नारी ठगिएको, लुटिएको, प्रताडित भएको, शोषित भएको, हिंसामा परेको जस्ता छरपस्ट भैरहेका घटनाहरुले पनि अब उपरान्त नारीका हरेक मुद्दाहरुमा नारीको भूमिका, अधिकार र जिम्मेवारीका पाटाहरुलाई पनि सुक्ष्म रुपले केलाउनु पर्ने आवशयकता देखिन्छ। र, प्रभाकारी नारी सशक्तिकरणका लागि नारी-पुरुष दुबै जिम्मेवार हुनु पर्दछ।

    तसर्थ, यतिबेला नेपाली नारीहरु नारी केन्द्रीत विशेष धार्मिक पर्व ‘हरितालिका तीज'(जसलाई नारी सशक्तिकरणको विशेष अवसरको रुपमा लिइन्छ) धुमधामका साथ मनाउन जुटिरहेका छन्। यो अवसरमा नारी सशक्तिकरणका लागि प्रमुख मानिएका पाटाहरुसंगै ओझेलमा परिरहेका नारीका भूमिका र जिम्मेवारीका पाटाहरुलाई पनि केलाउन र सोही मुताबिक आवश्यक कदमहरु चाल्न सबैको ध्यान केन्द्रीत हुन सकोस्। र, नारी सशक्तिकरणको अभियानलाई नयाँ ढंगबाट थप उचाइमा पुर्याउन यथोचित ज्ञान, सीप, उत्प्रेरणा, शक्ति र एकतासहितको सामर्थ्यता जुटाउन सकियोस् भन्ने सदिक्षासहित ‘हरितालिका तीज’को सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछु।

  • नेपाली-भारतीय जातीय विभेद अमेरिकी समाजलाई अभिशाप

    नेपाली-भारतीय जातीय विभेद अमेरिकी समाजलाई अभिशाप

    बिष्णु सिंह (बैजु)

    भारत र नेपाल जातीय विभेदले ग्रसित मुलुकहरुमा पर्दछ । जुन अमानवीय हो । यी मुलुकहरुको समाजमा जातीय बिभेद सदियौंदेखि विद्यमान छन् । मानिस जन्मदा पुरुष, स्त्री र तेस्रो लिंगीको रुपमा जन्मिने भए तापनि पूरातनिक मान्यता अनुसार सृष्टिकर्ता ब्रह्माको मुखबाट ब्राह्मण, पाखुराबाट क्षेत्रीय, तिघ्राबाट वैश्य र पैतालाबाट शुद्र जन्मिएको भनि सनातनिहरुले चार वर्णको मनगढन्ते वर्गिकरण गरेको पाइन्छ।

    यो मनगढन्ते जातीय वर्गिकरको सिद्धान्त बिकसित गर्दै मानव समाजलाई बिखण्डन गरेपछि केही वर्ग आलसी र धूर्त भई अरुलाई शोषण गर्दै गए भने कोही प्रकृयागत दासत्वलाई स्वीकार्दै अगाडि बढे । त्यसैले यो भेगमा केही अति धनि र सर्वत्र अगाडि छन् भने धेरै जनसंख्या गरिब र पिछडिएका छन। शुरुमा कामको आधारमा बिभाजन गरिएको भनिएतापनि कालान्तरमा अभिजात समुदायकाहरुले बिस्तारै आफ्नो खानपान र रजगज कायम राख्न कमजोर समुदाय जो संगठित भई आफ्नो अधिकारको लागि लडन सकदैन थिए, लाई जातमा बर्गिकरण गरि शोषण गर्ने उद्देश्यका साथ तिनलाई सदाको लागि दास बनाए। शुद्र बनाइएकाहरु आर्थिक रुपमा सक्षम र सीप भएका हुनाले आफुप्रति भएको अन्याय बिरुद्ध बिद्रोह गर्न थाले। ती बिद्रोहीहरुलाई संगठित हुन् रोक्न र तिनको बिद्रोह सदाको लागि दबाउन शैतानिरुपमा उत्रेर शुद्रहरुबीच पनि सानोठुलो जात बर्गिकरण गरि तिनीहरुलाई बहिष्करण गर्दै पाचौं बर्णमा राखिदिए।

    यसरी ब्रह्माको सृष्टि भन्दै चारबर्णको वकालत गर्नेहरुले नै योजनावद्द तरिकाले ब्रह्माको मानव जन्म सिद्धान्त विक्षिप्त पारिदिए। भगवान ब्रह्माको सिद्धान्त कुनैपनि हालतमा मौसम जस्तो बदलिदैन। तर ब्रह्माले बनाएका भनिएका चार बर्णीय मानव जन्म सिद्धान्त भन्नेहरुले पाँच बर्णिय बनाईदिए। यसले पनि यो मगढन्ते मानवकृत सिद्धान्त भनि स्पष्ट बुझ्न सकिन्छ।

    अनि शास्त्रमा उल्लेख भएको भन्दै अनेक प्रकारका मनगढन्ते कथाकुथुंगी बनाएर जबर्जस्ति तरिकाले जातीय विभेदलाई अगाडि बढाएर शोषणलाई मजबुत पारे। त्यसैले अहिले नेपालमा काम लगाएर यथोचित मजदुरी नै नदिने ब्याप्त प्रचलन देख्न सकिन्छ। अनि ति कामदार बधुवा ज्यामी सरह भएका छन।

    शरीरमा कोढ लागे शरीर कुरुप र विक्षिप्त हुन्छ। त्यस्तै समाजमा जातीय बिभेद कायम रहे यसले कोढ कै रुपमा समाज र देशलाई नै विक्षिप्त पार्दछ। देशमा एकता, शान्ति, बिकास र उन्नतिको मार्ग अवरुद्ध हुन् पुग्दछ। नेपालमा यही कोढ कायम रहेको फलस्वरूप देशमा अशान्ति, चरम गरिबी, अस्सी लाख देशका नागरिक विदेस पलायन अनि संसारभरि दासत्व गर्न पुगेका नेपालीहरुबाट पठाईएको रेमिट्यान्सले देश चल्न बाध्य भएको यथार्थता सबैले देखिरहेका छन । यो अवस्थाले देश चाँडैनै असफल राष्ट्रको अवस्थामा पुग्न बाध्य हुन सक्छ। यस्तै अवस्थाको कारण सिक्किमका ९८ प्रतिशत जनताले भारतमा बिलय हुन् चाहेर जनमत संग्रह गरेर नै भारतमा बिलिन भए।

    नेपालमा पनि केही भ्रष्टाचार गरि अकुत सम्पति बटुलेका शासक-प्रशासक र तिनका आसेपासे बाहेक अरु सबै जनताले अन्य देशमा बिलय हुने चाहना नगर्लांन भन्न सकिदैन। त्यसैले देश र शासन-प्रशासन चलाउनेहरुले बेलैमा बुद्धि पुर्याएर देशमा विद्यमान विभेद कठोरताका साथ् उन्मुलन गर्न जरुरी भईसकेको छ। देशको संबिधान र कानुनलाई अझ सशक्त बनाई व्यवहारमा कडाईका साथ् लागू गर्नुपर्छ र सबै जनतालाई समानताको अनुभूति गराउन सक्नु पर्दछ। अन्यथा बिभिन्न समुहका जनता संगठित भई बिद्रोह नगर्लान भन्न सकिदैन। त्यस्तो अवस्था आईपरे देश आफै नै छिन्नभिन्न हुन् पुग्दछ। त्यसैले समय छँदै भबिष्यको संकट आँकलन गरेर होशियारीपूर्वक जनतालाई एकजुट पार्ने कदम चाल्न अति आवस्यक छ। साथै देश-बिदेशमा रहेका संचारकर्मी, विद्वत वर्ग, वकिल, डाक्टर, ईन्जिनियर, प्राध्यापक, समाज सेवी, राजनीतिकर्मी, सबै तह र तप्काका नेपालीले आफ्नो देशको परिस्थिति र त्यसको सुधार र परिवर्तनको जिम्मेवारी लिनुपर्दछ। आफ्नो घर, देश बिग्रदा त्यसको सुधार गर्न आफै अग्रसर हुनुपर्दछ। आफ्नो काम आफैले नगरे, कसैले गरिदिदैन।

    एकातिर हामी नेपाली अलग पहिचान भएको स्वतन्त्र राष्ट्रमा भारतीयले हस्तक्षेप गर्यो भन्ने गर्दछौ । अनि अर्कोतर्फ, उनीहरुकहाँबाट आयातित जातीय विभद अपनाएर आफ्नो सुन्दर देश विकृत पारिरहेका छौ। अनि कसरी स्वतन्त्र अलग राष्ट्रको पहिचान रहिरहन सक्छ ? हामी स्वतन्त्र र अलग राष्ट्र हौं भने भारतीयको बिसंगति र भेदभावपूर्ण प्रथाको नक्कल गर्न हुँदैन । के किराँत, खस राज्यमा, लिम्बुवानमा, मगर राज्यमा र अन्यमा भारतीय हिन्दुको जस्तो अमानवीय जातपात र छुवाछुत थियो र ? के नेपालीको पहिचान जातपात र छुवाछुत नै हो त ? के बुद्धले वा पशुपतिनाथले एक मानवले आफ्नै प्रतिमूर्ति अर्को मानवलाई दया, प्रेम करुणा, मानव कल्याण गर्न सिकाएको छैन ?

    भारतका संबिधान निर्माता बाबा अम्बेडकरको नेतृत्वमा त्यहाँका लाखौलाख दलितहरु भेदभावबाट मुक्ति प्राप्त र्न बौद्धमार्गी बनें। तर नेपालमा उत्पिडित समुदायहरु बुद्धष्टमा जातिपातिको प्रदुषण देखेर त्यति बौद्ध धर्ममा लागेको देखिदैन।

    बिभिन्न सोध अनुसार मानिसहरु दुई तत्वको कारण बिदेशिन बाध्य वा लालायित हुन्छन। एक धकेलिनु र अर्को आकर्षित हुनु। कतिपय मानिसहरु अमेरिका, बेलायत, अष्ट्रेलिया, मध्यपूर्व इत्यादि ठाउको बिकास र बिबिधता देखी त्यहाँ बसाई सर्न आकर्षित भएको देखिन्छ। त्यस्तै आफ्नो जन्मस्थलमा विभेद र बिकासको कुनै अवसर नदेखिनुले पनि मानिसहरु आफ्नो ठाउँ छोडन बाध्य भई बसाई सराई गर्दछन। नेपाली-भारतीयहरु स्वदेशमा गरिबी र विभेदको कारण संसारभरि अवसरको खोजी गर्दै पलायन हुन् शुरु भएको देखिन्छ। यो लेखकले अफ्रिकाको ५० डिग्री तापमान हुने बिभिन्न मुलुकमा समेत नेपालीहरु काम गर्न आएको भेटेको छ। अहिले नेपालीहरु बिदेसिन बाध्य हुनुको कारण पनि स्वदेशमा कुरीति, अन्धविश्वास, बिकृति, विभेद, कमाई खाने अवसर नहुनु, सुरक्षाको अभाव, इत्यादि कारणले बाध्य भई दिनहुँ हजारौको संख्यामा नेपालीहरु विदेश जान बाध्य छन। अस्सिको दशकदेखि नेपालीहरु पनि फाट्टफ़ुट्ट विदेश पलायन भएको सुनिन्थ्यो।यसै सन्दर्भमा ८० कै दशकमा एक कानुन पढ्न आएका विद्यार्थी पनि अध्ययन सकेपछि अमेरिकाको अवसरमा लोभिएर अमेरिकामै डेरा जमाई बसेको देखिन्छ। अहिले उनी नै दोहोरो नागरिकताको वकालत गर्ने प्रमुख देखिन्छन्।

    संसारका प्राय सबै देशका मानिसहरु अमेरिकामा देखिन्छ। कतिले निकै एतिहासिक क्षमता बोकी आएकाले अमेरिकालाई विश्मा चिनाउन योगदान पनि पुर्याएको देखिन्छ। जस्तो : न्युयोर्क सहरको ब्रूक्लिन ब्रिज भनेपछि अमेरिकाको राष्ट्रिय एतिहासिक पहिचान बनेको झोलुङ्गे पुल हो जुन जर्मनबाट आएका जर्मन सिविल ईन्जिनियर, जोन ए रोइब्लिङ्गले निर्माण गरेको एक अद्भुत झोलुङ्गे पुल हो। संसारको राजधानी भनिने म्यान्ह्याटन सहर घुम्न आउने पर्यटकहरुले यो पुल अवश्य हेर्ने गर्दछन।अरुले विशिष्ट क्षमता बोकी आएर अमेरिकालाई गौरवान्वित बनाएका छन ।

    तर नेपाली र भारतीयले भने जातपात र कुरीतिको सौगात अमेरिकालाई ल्याईदिएका छन। त्यसैले यहा अनेक जातजातका संस्था र जातीय विभेद बढदै गएको स्पष्ट भएको छ। राष्ट्रिय तथ्यांक कार्यालयले प्रकाशित गरेको १२ औं नेपालको जनगणना २०७८ को नतिजा अनुसार अहिले नेपालमा जनसंख्या २ करोड ९१लाख ६४ हजार ५७८, १४२ जातजाति, १२४ मातृभाषा र १० धर्म देखिएको छ। यस मध्ये एक्काईस लाख भन्दा बढी बिदेशमा स्थायी रुपमा बसेको देखाईएको छ। अमेरिकामा नेपालीहरु पनि अस्थायी र स्थायीगरि पाँच लाख भन्दा बढी बसोबास गर्दछन भनि अनुमान गरिएको छ। तर पनि एनआरएन जस्तो संस्थाले समेत यकिन रुपमा तथ्यांक प्रस्तुत गर्न सकेको छैन।

    संयुक्त राज्य अमेरिकामा बिभेद बिरुद्धको कानुन निर्माण गर्दाको बेला जातको आधारमा छूत र अछुत सानो र ठुलो हुन्छ भन्ने अमेरिकी कानुन निर्माताहरुले कल्पना पनि गरेका थिएनन्। यहाँ गोराले कलालाई गर्ने रंगभेद अवश्य थियो, र त्यसैलाई हटाउनु पर्ने थियो । तर कालाहरु गोराको घरमा पसी पकाई तुल्याई, सरसफाई र अन्य घरायसी कार्य गर्न पाउथे। नेपालको जस्तो घर भित्र पस्न नहुने, र छूत र अछुत भन्ने क्रिश्चियन समाजले गर्दैन थियो। त्यसैले अमेरिकामा सबैले घरायसी कामदारी गर्न पाएका छन। अमेरिकामा कानुनले जातलाई औपचारिक रुपमा विभेदको श्रेणीमा राखिएको छैन। यसको कारण हो कानुन लेखिंदाको समयमा जातीय विभेदको घटनाहरु जानकारीमा आएको थिएन। तर हाल आएर जातीय विभेदको घटनाहरु बिभिन्न प्रतिबेदनहरुमा उल्लेख भएको पाइन्छ। साथै अमेरिका मुलत क्रिश्चियन परिवेशमा बिकसित भएको मुलुक भएको र साथै परमप्रभुले सृष्टि गरेको एक पुरुष र एक स्त्रीबाट मानव जाति बिकसित भएको विश्वास गरिने हुनाले जातको कल्पना गरिएको थिएन। क्रिश्चियन धर्ममा आस्था र बिस्वास गर्नेहरु सबै एकै भगवानको सन्तान मानिन्छन। उनीहरु सँगै प्रार्थना गर्दछन् र त्यसै दौरान सबैले सबैसंग अंकमाल गर्दछन। सबैले क्रमवद्ध भएर एकैको हातबाट प्रसाद खान्छन। त्यस्तो समाज भएको देशमा गएकाले अरुको सभ्य सुगन्धित संस्कार, संस्कृति भएको देशमा शरणमा गएर आफुले ल्याएको दुर्गन्ध लादन खोज्दछन। यसैको फलस्वरूप अहिले अमेरिकामा जातीय विभेदको दुर्गन्ध फैलिएर अमेरिका जातीय विभेदलाई निर्ममतापूर्वक दण्डित गर्न अग्रसर भएको देखिन्छ। नत्र तिनको संख्या बढदै जाँदा भविष्यमा चर्चको अगाडि मन्दिर किन बनाएको ? भनि आवाज उठन सक्छ। त्यस्तै अमेरिकी समाजले खादै आएको गाई गोरुको मासु खादा बिरोधको अवाज उठन सक्छ, इत्यादि अमेरिकी समाजलाई मन नपर्ने अनेक उथल पुथल आउँन सक्छन।

    भारतीय र नेपालीहरु अमेरिकाको शरणमा पुग्दा तिनको जातपात र विभेदकारी मानासिकता पनि संगै ल्याएको हुन्छ भनि अमेरिकाले कल्पना समेत गर्न सकेको थिएन। पहिलो पल्ट जे-१ भिसामा आएकी एक भारतीय दलित महिलाले आफ्नो अमेरिकी नागरिक बच्चाहरुसंगै बसी अमेरिकी आप्रवासी भिसाको माग गर्दा युए एस् सी आइ एसले त्यस्तो निवेदन पारित गर्न अमेरिकी अध्यागमन कानुन अनुसार दुईबर्ष भारतमै बसेको हुनुपर्ने भन्दै २००७ मा निवेदन खारेज गरिदियो। तर बच्चाहरुलाई आमासँग भारतमा लाग्दा त्यहाँ अनेक प्रकारको जातीय उत्पिडन हुने सुनेपछि एएओले उनलाई भारत पठाउन नपर्ने गर्न विदेश मन्त्रालयमा निवेदन गरिएको थियो। यसै मुद्धाबाट अमेरिकी अध्यागमनले भारतमा हुने जातीय विभेदको गहराईसम्म जानकारी पाएको थियो।

    अमेरिका मानवअधिकारको पक्षमा निकै सशक्त रुपमा उभिएको मुलुक हुनाले यसले आफ्नो अध्यागमन कानुनमा कसैको जाति, धर्म, राष्ट्रियता, राजनीतिक बिचार वा कुनै सामाजिक समुदाय बिरुद्ध कुनै प्रकारको विभेद गरे वा गर्न सहयोग गरे त्यस्ताको भिसा वा अमेरिकी बसाई समाप्त हुने व्यवस्था रहेको छ। त्यस्तै अरुको धार्मिक क्रियाकलाप सिमित गर्ने वा निषेध गर्न खोजे पनि अमेरिकाको कानुनले दण्डित गर्नेछ।

    हुनत शियाटल नगर सभाले फेब्रुअरी २०२३ मा जातीय विभेद बिरुद्ध कानुन पारित गर्ने पहिलो अमेरिकी नगर बनेको थियो।

    तर अहिले क्यालिफोर्निया राज्यले नै जातको आधारमा मानिसले मानिसलाई विभेद गर्ने हिन्दुहरुलाई कठोर कानुनी सजाय दिन र पिडितलाई थप सुरक्षा प्रदान गर्न अमेरिकाको क्यालोफोर्निया राज्यको संसदको ठुलो बहुमत (३१-५)ले एस-४०३ विधयेक पारित गरेको छ। अब यसलाई गभर्नर गबिं न्युसमले हस्ताक्षर गरेपछि कानुन लागू हुनेछ।
    अब भविष्यमा यस्तो कानुन अरु सबै अमेरिकी राज्यहरुमा बन्दै जाने बिश्वास गर्न सकिन्छ।
    अब नेपालमा पनि नगरपालिका र गाउँपालिकासम्म जातीय बिभेद बिरुद्ध कानुनको कार्यान्वयन गर्न सक्ने व्यवस्था गर्न आवश्यक देखिन्छ। त्यसको निस्पक्षता र प्रभावकारीताको अनुगमन गर्न पनि उत्तिकै आवश्यक छ।

  • सुवास नेम्वाङको निधनमा प्रधानमन्त्रीको शोक सन्देश

    सुवास नेम्वाङको निधनमा प्रधानमन्त्रीको शोक सन्देश

    काठमाडौंं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधनबाट आफू मर्माहत भएको बताएका छन् । सामाजिक सञ्जाल एक्समा लेख्दै उनले नेम्वाङको असामयिक निधनले मर्माहत भएको बताएका हुन् ।

    उनले भनेका छन्, ‘दिवंगत कमरेड नेम्वाङप्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछु ।’ गएराति १ बजे हृदयघात भएपछि उनलाई त्रिवि शिक्षण अस्पताल लगिएको थियो । चिकित्सकहरुले मृत घोषित गरेका थिए । नेम्वाङको शवलाई श्रद्धाञ्जलिका लागि च्यासलस्थित एमाले पार्टी कार्यालय लैजाने तयारी छ ।

  • नेम्वाङको निधनले स्तब्ध छु : देउवा

    नेम्वाङको निधनले स्तब्ध छु : देउवा

    काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधनले स्तब्ध भएको बताएका छन् । आज बिहान सामाजिक सञ्जाल एक्समा लेख्दै सभापति देउवाले संविधान सभाका अध्यक्षसमेत रहेका नेम्वाङको निधनले स्तब्ध भएको बताएका हुन् ।

    ‘नेकपा एमालेका उपाध्यक्ष एवं संविधासभा अध्यक्ष सुवास नेम्वाङजीको निधनले स्तब्ध भएको छ,’ उनले लेखेका छन्, ‘उहाँको आत्माको चिर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु।’ गएराति १ बजे हृदयघात भएपछि नेम्वाङलाई त्रिवि शिक्षण अस्पताल लगिएको थियो । चिकित्सकहरुले मृत घोषित गरेका थिए । नेम्वाङको शवलाई श्रद्धाञ्जलीका लागि च्यासलस्थित एमाले पार्टी कार्यालय लैजाने तयारी छ ।

  • वैदेशिक रोजगारीमा रहेका लाखौं युवाको भविश्य खोज्न गम्भीर छु : प्रधानमन्त्री

    वैदेशिक रोजगारीमा रहेका लाखौं युवाको भविश्य खोज्न गम्भीर छु : प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैदेशिक रोजगारीमा रहेका लाखौँ युवाहरूको भविष्य खोज्न आफू गम्भीरतापूर्वक लागिरहेको बताएका छन् । सोमबार विराटनगरमा समाजवादी मोर्चा नेपालको प्रदेशस्तरीय सन्देश सभा कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन् । सन्देश सभामा प्रधानमन्त्री प्रचण्डले भने, “यो सभामा मोर्चाका नेताहरूले जुन विषय राख्नुभएको छ, सरकारप्रति जुन समर्थन र प्रतिबद्धता व्यक्त गर्नुभएको छ। यो आफैमा महत्त्वपूर्ण छ। यसले मलाई नयाँ ऊर्जा पैदा भएको छ ।’’

    “यसपटक कुरा होइन, काम र एक्सनबाट केही नयाँ गर्न चाहन्छु । जनताका समस्या सम्बोधन गर्न सरकारले जुन मेहेनत गरेको छ, त्यसले हाम्रो इमानदार प्रयासलाई प्रमाणित गरिसकेको छ ।,’’ प्रधानमन्त्रीले भने, “आज देशमा क्रमशः जुन उत्साह पैदा भएको छ । यसले जनतामा भरोसा बढेको छ, देशमा केही हुन्छ भन्ने आशा जागेको छ । यसले निराशालाई चिर्नेछ, समाजवादको आधार तयार पार्न भूमिका खेल्नेछ ।’’

    प्रधानमन्त्रीले भने, “यसपटक मेरो सबैभन्दा धेरै चासो र चिन्ता विदेशमा रहेका लाखौँ नेपाली युवाहरूप्रति छ । उनीहरूको भविष्यबारे नसोचीकन देशको परिवर्तन, विकास र रूपान्तरण सम्भव छैन । त्यसैले यसपटक के गरी उनीहरूको हितरक्षा हुन्छ, के गरी उनीहरूको सुरक्षा र आत्मसम्मान हुन्छ, के गरी देशभित्रै रोजगारी सिर्जना गर्न सकिन्छ, त्यसमा गम्भीरतापूर्वक लागेको छु । विदेशमा रहेका लाखौँ युवाहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने प्रक्रिया सुरु गरेका छौँ। केही महिनाभित्र विदेशमा रहेका २५ लाख नेपाली युवाहरूलाई कोषमा आबद्ध गर्छौँ ।’’

    “युवाहरू देशभित्रै केही गर्न चाहन्छन्, त्यसको वातावरण बनाउने जिम्मेवारी राज्यको हो ।,’’ प्रधानमन्त्रीले भने, “आजबाट विभिन्न १३ देशमा कार्यरत नेपाली राजदूत बोलाएर अन्तरक्रिया सुरु गरेको छु । विदेशमा रहेका नेपाली कामदारहरूका समस्या के छन् र कसरी सम्बोधन गर्ने भन्ने गम्भीर छलफल गर्छौँ ।’’

  • राम्रो काम गर्न खोज्दा स्टण्ड गरेको आरोप लाग्ने पर्यटन मन्त्रीको गुनासो

    राम्रो काम गर्न खोज्दा स्टण्ड गरेको आरोप लाग्ने पर्यटन मन्त्रीको गुनासो

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले राम्रो काम गर्न खोज्दा ‘स्टन्ट’ गरेको आरोप लाग्ने गरेको गुनासो गरेका छन् ।
    पर्यटन यातायात व्यवसायी संघको २० औं साधारण सभालाई सम्बोधन गर्दै शुक्रबार उनले यस्तो बताएका हुन् ।

    यो देशमा राम्रो काम गर्नेलाई स्टन्ट भनेर खिसी गर्ने प्रवृत्ति रहेको उनको आरोप छ । बिहान आफू नुवाकोट पुगेर पाँच हजार चियाको बिरुवा रोपेर आउँदा बाटोमा नुहाउनु परेको प्रसंग निकाल्दै उनले हिलोमैलो लुगामा कार्यक्रममा आएको भए स्टन्ट गरेको भनिने प्रवृत्ति रहेको गुनासो गरे ।

    ‘हिलो पोतिएको लुगामा आउदा यहाँ राम्रो भनिँदैन, स्टन्ट भनिन्छ,’ उनले भने, ‘सरसफाई नीति बनाएर लागू गरिएको छ, म आफैं सहभागी भएर सरसफाइलाई संस्कृतिको रुपमा निर्माण गर्न खोजिरहेको छु, मिडियाहरुले नै खिसी गरेर उडाउँछ ।’ उनले मन्त्री भए यता गरिएका कुन–कुन काम स्टन्ट हो भन्दै प्रश्न समेत गरे । वार्षिक ५१ हजारमा ९ रोपनी जग्गा मारवाडीले भोग चलन गरिरहेको र त्यसलाई आफूले खोसेको बताए ।

    ६ वर्षदेखि थन्किएको फ्लाइङ स्कुलको फाइल खोलिएको र नेपाली आकाश कालो सूचीबाट हट्दै गरेको समेत उनको दाबी छ । वायु सेवा निगम सुधार हुने क्रममा रहेको दाबी गर्दै उनले पर्यटन र संस्कृति नीति बनाउनु पनि स्टन्ट नै हो ? भन्दै प्रश्न गरे । ‘अरु थुप्रैथुप्रै कामको फेहेरिस्त हामीसँग छ । यसलाई पनि स्टन्ट नै भनेर उडाइन्छ यहाँ,’ उनले भने ।

  • नेपालका बाँदरको परिवार नियोजन गर्नुपर्छ : आरजु राणा

    नेपालका बाँदरको परिवार नियोजन गर्नुपर्छ : आरजु राणा

    काठमाडौं । नेपाली कांग्रेसकी नेत्री एवम् कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति डा. आरजु राणा देउवाले नेपालका बाँदरहरूको परिवार नियोजन गर्नुपर्ने बताएकी छिन् । आइतवार समितिको बैठकमा सभापति राणाले बाँदरले बालिनालीमा क्षति पुर्‍याएर किसानलाई खान नै नपुग्ने अवस्था सिर्जना गरेको भन्दै बाँदरलाई परिवार नियोजन गरेर सङ्ख्या घटाउनुपर्ने बताइन् ।

    उनले बाँदरको संरक्षण गरेर कुनै फाइदा नभएको जिकिर गरिन् । छिमेकी देश भारतको हिमाञ्चल प्रदेशमा पनि बाँदरको परिवार नियोजन गरिएको उदाहरण दिँदै नेपालमा पनि त्यस्तै गर्नुपर्ने उनको भनाइ छ ।


    उनले भनिन्, ‘बाँदर संरक्षण गर्नु राम्रो हो । म संरक्षणवादी नै हो । तर मान्छेले खान नपुग्ने गरेर संरक्षण गरेर फाइदा छैन । यो कलिङको प्रिन्सिपल हामीले ल्याउनुपर्‍यो । बाँदरलाई त परिवार नियोजन गरे हुने रहेछ । हिमाञ्चल प्रदेशमा त त्यही गरेको रहेछ । हाम्रो जस्तै थियो रे, परिवार नियोजन गरेर दुई–तीन वर्षमा कम भयो ।’

  • पत्रकारितामा प्रविधिले दुरुपयोगको चूनौति बढाएको छ : अर्थमन्त्री

    पत्रकारितामा प्रविधिले दुरुपयोगको चूनौति बढाएको छ : अर्थमन्त्री

    काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले पत्रकारितामा नयाँ प्रविधिले सजिलो बनाए पनि त्यसको सदुपयोग र दुरुपयोगको चुनौती थपिएको बताएका छन् । शनिबार आर्थिक पत्रकार समाज (सेजन) को २५ औं वार्षिक साधारणसभाको उद्घाटन गर्दै मन्त्री महतले भने, ‘राजनीतिक क्षेत्रजस्तै पत्रकारिता जगत पनि परीक्षणको दौडबाट गुज्रिरहेको छ ।’


    राजनीतिक क्षेत्रबाट राज्य संरचनामा जिम्मेवारीमा पुगेकालाई मात्र नभई कर्मचारी, सुरक्षा निकाय, निजी क्षेत्र वा पत्रकार जगतलाई प्रविधिले चुनौती थपेको मन्त्री महतको भनाइ छ । ‘हामीले पूर्ण व्यवसायका साथ जिम्मेवारीका साथ काम गर्नुको विकल्प छैन’, मन्त्री महतले भने, ‘म अर्थमन्त्रालयमा पुगेपछि इमान्दारिताका साथ कसरी देश र जनताका लागि काम गर्ने भन्ने मानसिकताबाट मैले काम गर्ने प्रयास गरेको छु । यसलाई साथीहरूले आत्मसाथ गर्नुभएको छ, कतिपय अवस्थामा प्रश्न पनि गर्नुभएको छ ।’

    उनले हरेक प्रश्नको जवाफ दिन आफू सधैं तयार भएकोसमेत बताए । ‘संसद्भित्र र बाहिर मैले आफ्ना निर्णय आधारसहित प्रतिरक्षा गरेको छु, त्यसलाई सबैले स्वीकार गरेका छन्,’ मन्त्री महतले भने, ‘आर्थिक पत्रकार समाजलगायत सञ्चार जगतले अर्थमन्त्रालय र मेरा विषयमा कुनै प्रश्न छ भने प्रत्यक्ष रूपमा चासो, चिन्ता, दुविधा र प्रश्नका लागि म सधैं खुला छु ।’

    देशको अर्थतन्त्रलाई लयमा ल्याउने प्रयाससमेत गरिरहेको अर्थमन्त्री महतको दाबी छ । ‘देशको अर्थतन्त्रलाई लयमा ल्याउने प्रयास मैले गरिरहेको छु,’ मन्त्री महतले भने, ‘पत्रकार जगत, बैंकिङ र निजी क्षेत्रबाट पनि म त्यही किसिमको सहयोगको अपेक्षा गर्छु । राज्यबाट पनि तपाईंहरुले सहयोगको अपेक्षा गर्नुभएको छ, त्यो स्वभाविक हो । त्यसको सहजिकरण हुन्छ ।’

  • गगनको आक्रमक स्टाटस : भ्रष्टाचार विरुद्ध पार्टी नहेरौं

    गगनको आक्रमक स्टाटस : भ्रष्टाचार विरुद्ध पार्टी नहेरौं

    काठमाडौं । कांग्रेस महामन्त्री गगन थापाले आक्रमक स्टाटस सार्वजनिक गरेका छन् । उनले शासन सत्ता, शक्ति र पहुँच, नाता र सम्बन्धका आधारमा भ्रष्टाचारको नेक्सस बनिरहेको भन्दै त्यसको कडा शब्दमा आलोचना गरेका छन् । सोमबार सामाजिक सञ्जाल फेसबुकमा एकपछि अर्को काण्ड सार्वजनिक भइरहेको सन्दर्भ निकाल्दै महामन्त्री थापाले संरचनागत संयन्त्रहरूमा देखिएको लुपहोलका कारण भ्रष्टाचार मौलाएको उल्लेख गरेका छन् ।


    ठूला भ्रष्टाचारका काण्ड सामसुम पार्न ठूलाहरू मिल्ने गरेको र सत्ता बार्गेनिङको टुल बनाइने गरेको पनि उनको भनाइ छ । महामन्त्री थापाले भनेका छन्, ुयस्ता काण्डहरूमा सार्वजनिक रूपमा ठूलाहरूले चर्को बोल्ने, एक अर्कालाई तर्साउने, तर बिस्तारै बन्द कोठामा बसेर सामसुम पार्ने अनि अनुकूलतामा ‘सत्ता बार्गेनिङको टुलु बनाउने सम्भावना एकदमै देखिन्छ।

    भ्रष्टाचार अन्त्यका लागि पार्टीभित्र मात्र नभई अन्य दल र नागरिक आन्दोलनसँग पनि एकाकार हुनुपर्ने पनि महामन्त्री थापाको भनाइ छ । यस्ता घटना सामसुम पार्न उनीहरू मिल्छन् भने यस्ता घटनामा छानबिन गर्न गराउन हामी किन नमिल्ने ? विगतमा जस्तै एउटै पार्टी भित्र समान धारणा भएको एक ठाउँमा आउँ। यस्तै धारणा भएको अन्य पार्टीका साथीसँग समान धारणा बनाऊँ, अनि पार्टी बाहिरको नागरिक आन्दोलनसँग एकाकार होऔँ, महामन्त्री थापाले भनेका छन् ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका संस्थामा हुने नियुक्तिदेखि क्षेत्राधिकारसम्म पनि बलियो बनाउनुपर्ने महामन्त्री थापाको भनाइ छ । उनले भनेका छन्, अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतको संस्थामा हुने नियुक्तिदेखि क्षेत्राधिकारसम्म, क्षमतादेखि संरचनासम्म बलियो बनाऔँ । नीतिगत भ्रष्टाचारलाई परिभाषित गर्ने छुट्टै कानुन नै बनाऔँ । के नीतिगत हो, के होइन प्रस्ट गरौँ ।

    भ्रष्टाचारीका सन्दर्भमा नेता र नाता केही हेरिन नहुने महामन्त्री थापाले बताएका छन् । उनले भनेका छन्, यो अभियानमा हाम्रो मन्त्र हुनुपर्छ, निर्दोष कोही नपरुन, दोषी कोही नछुटून्। भ्रष्टाचारीको सन्दर्भमा न नेता, न नाताु केही नहेरियोस्, त्यसै गरी कुनै व्यक्ति नेता वा नाता भएकै कारण पूर्वाग्रहको विषय पनि नबनोस् । यी सबै कुरामा मेरो पहलकदमी रहनेछ, जुनसुकै पार्टीमा, जहाँ भए पनि भ्रष्टाचारको जालो तोड्न सँगै लागौँ ।

  • ओलीको चूनौति : यती, ओम्नी र गिरीबन्धु टी–इस्टेट काण्डको छानविन गर

    ओलीको चूनौति : यती, ओम्नी र गिरीबन्धु टी–इस्टेट काण्डको छानविन गर

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यती, ओम्नी र गिरीबन्धु टी–इस्टेटलगायत प्रकरणमा छानबिन गर्न सरकारलाई चुनौती दिएका छन् । सोमबार राजधानीमा आयोजित जनप्रतिनिधिसँग केपी ओली कार्यक्रममा बोल्दै उनले यी प्रकरणमा छानबिन गर्दा पनि आफूलाई फरक नपर्ने बताएका हुन् ।

    ‘त्यतिबेलादेखि अहिलेसम्म छानबिन गर भनिराखेका छौं त । के यती होल्डिङस, यती होल्डिङस भनेर कराइरहेको, वाइडबडी, गर न त छानबिन अनि जाऊ आफैं जेलमा’, उनले भने, ‘वाइडबडीको छानबिन गर, जेल जाऊ । अस्तिसम्म ललितानिवास ललिता निवास भन्दै थिए । अहिले कस्तै भागारे भाग छ । कोही यताबाट कोही उताको ढोकाबाट भागाभाग छ ।’

    आफूलाई ललिता निवासको विषयमा आरोपित गरिरहेको भए पनि अहिले आफैं त्यसमा फँसिरहेको उनको भनाइ छ । ओलीले गिरिबन्धु टी इस्टेटको जग्गा पहिले कानुनविना बिक्री भएकामा आफूले कानुन बनाएर व्यवस्थित गरेको दाबी गरे ।

    ‘अहिले चिया बगान निस्केको छ । गर न छानबिन, विना कानुन ०५३ सालमा १९ विघा जमिन बेच्न दिइएको थियो कमिसन खाएर, त्यसको छानबिन गर । ०६० कि कति सालमा बिना कानुन ५१ बिघा जमिन बेच्न दिइएको थियो, कमिसन खाएर । छानबिन गर जेल जाऊ’, उनले भने, ‘हामीले कानुन बनाइदिएका हौं । अब उपरान्त कानुनसम्मत गर भनेर भनेका छौं । बनाइदिएका छौँ ।’


    उनले नेकपा एमाले कमिसनका पछाडि हिँड्ने पार्टी नभएको र महान उद्देश्यका लागि हिँड्ने पार्टी भएको बताए । उनले ओम्नी प्रकरणबारे पत्रिका पढेर थाहा पाएको भन्दै आफूले अहिलेसम्म नदेखेको र सुनेको मात्रै जिकिर गरे । उनले भ्रष्ट र तस्करले उल्टै थर्काएको भन्दै सत्तामा भएकाहरू आफैंले सुन तस्करी गरेको आरोप लगाए । त्यसमा अरूको ध्यान नजाओस् भनेर केपी ओलीले पशुपतिमा सुन भनेर पित्तल चढाएको विषय निकालेको बताए ।

  • सामाजिक सदभाव कायम राख्न धरानबासीलाई प्रधानमन्त्रीको आह्वान

    सामाजिक सदभाव कायम राख्न धरानबासीलाई प्रधानमन्त्रीको आह्वान

    काठमाडौं । प्रधानमन्त्री पुष्पकाल दाहाल प्रचण्डले समाजिक एकता र सद्भावको पक्षमा उभिन धरानबासीसँग अपील गरेका छन् । साथै उनले सम्भावित समस्याबाट समाज र नागरिकलाई सुरक्षित राख्न सरकारले आवश्यक सतर्कता अपनाएको बताएका छन् । शनिबार वक्तव्य जारी गर्दै प्रधानमन्त्री प्रचण्डले केही दिनयता धरानमा भइरहेका गतिविधि र त्यसले सद्भाव एवं एकतामा पार्नसक्ने नकारात्मक प्रभावबारे सरकार गम्भीर रहेको बताएका छन् ।

    हरेक समस्याको संवाद र सहमतिको बलबाटै समाधान गर्न सकिने भन्दै उनले धरानमा विद्यमान विभाजित मनोविज्ञान र क्रियाकलापलाई पनि संवादको माध्यमबाट समाधान गर्न सकिनेतर्फ गम्भीर ध्यानाकर्षण गराएका छन् । त्यसका लागि पहल गर्न राजनीतिक दल तथा संघसंस्थाहरुलाई अपील गरेका उनले सम्भावित समस्याबाट समाज र नागरिकलाई सुरक्षित राख्न सरकारले आवश्यक सतर्कता अपनाएको बताएका छन् ।

    उनले भनेका छन्, ‘सामाजिक एकतामा खलल पुग्ने कार्यहरूबाट टाढा रही एकता र सद्भावको पक्षमा उभिन र समस्या समाधानका निम्ति आ–आफ्नो ठाउँबाट सम्भव पहल लिनुहुन धरानबासी जनसमुदाय लगायत सम्पूर्ण नेपालीमा हार्दिक अपील गर्दछु ।’

    हार्दिक अपील

    नेपाल बहुजातीय, बहुभाषिक तथा बहुसाँस्कृतिक विशेषतायुक्त संघीय लोकतान्त्रिक मुलुक हो । विविधतासहितको एकतामा आधारित हाम्रो धर्म, संस्कृति र परम्परा एकअर्काको आस्था, भावना र परम्पराप्रति सहिष्णुतासहित सामाजिक सद्भाव र राष्ट्रिय एकता एवं स्वाधीनताको पक्षमा अनुबन्धित हुँदै आएको छ । विश्वमा नेपाल यस्तो मुलुक हो, जसले विविधताबीचको एकतालाई शब्दमा मात्र नभएर आस्था, विचार र कर्ममा समेत आत्मसात गर्दै अगाडि बढिरहेको छ ।

    नेपालको संविधानले प्रत्येक व्यक्तिलाई प्रचलित सामाजिक एवं सांस्कृतिक परम्पराको मर्यादा राखी परापूर्वदेखि चलिआएको आफ्नो धर्मको अवलम्बन, अभ्यास र संरक्षण गर्ने हक सुनिश्चित गरेको छ । कसैले कसैको धर्म र भावनाप्रति नकरात्मकता, द्वैष बढाउने तथा एक–अर्काको धर्ममा खलल पार्ने गरी कुनै काम, व्यवहार गर्न कानुनतः निषेध गरिएको छ । यसका साथै हामी जुनसुकै जाति, भाषा, धर्म र सम्प्रदायका मानिसहरू भए पनि सामाजिक सम्बन्ध र सहकार्यबिना हाम्रो व्यक्तिगत जीवन र सामाजिक प्रणालीले पूर्णता प्राप्त गर्न सक्दैन । तसर्थ, हाम्रो एकता, सद्भाव र सहकार्य भावनात्मक सम्बन्धका साथै सामाजिक प्रगति र विकासका निम्ति अपरिहार्यसमेत रहिआएको छ ।

    केही दिनयता सांस्कृतिक नगरी धरानमा भइरहेका गतिविधि र त्यसले हाम्रो सद्भाव एवं एकतामा पार्नसक्ने नकारात्मक प्रभावबारे नेपाल सरकार गम्भीर छ । हरेक समस्या, बिमति र चुनौतीहरूलाई संवाद, सहमति, र सहकार्यको बलमा नै समाधान दिन सकिन्छ भन्ने तथ्य हरेक चुनौतीपूर्ण परिस्थितिमा हामीले प्रदर्शित गर्दै आएको एकता र सहकार्यले प्रमाणित गरिसकेको छ । तसर्थ, धरानमा विद्यमान विभाजित मनोविज्ञान र क्रियाकलापलाई पनि संवादको माध्यमबाट समाधान गर्न सकिनेतर्फ गम्भीर ध्यानाकर्षण गराउँदै त्यस दिशामा आवश्यक पहलका निम्ति स्थानीय राजनीतिक दल, सामाजिक संघसंस्थाहरू, बौद्धिक समुदाय र आदरणीय जनसमुदायमा म हार्दिक अपील गर्दछु ।

    धार्मिक तथा समुदायगत एकता, सहकार्य र सामाजिक सद्भावका माध्यमबाट नै राष्ट्र निर्माणको ऐतिहासिक कार्यभार पूरा गर्न सकिन्छ । एकले अर्काको विचार, आस्था र भावनाको सम्मान गरेर मात्र साँचो अर्थमा राष्ट्रिय एकता हासिल गर्न सकिन्छ । त्यसका लागि संवाद र सहकार्यका माध्यमबाट समस्याको समाधान गर्न र सम्भावित समस्याहरूबाट समाज र नागरिकलाई सुरक्षित राख्न नेपाल सरकारले आवश्यक सतर्कता अपनाइरहेको व्यहोरासमेत म स्पष्ट गर्दछु । विभिन्न वर्ण, लिङ्ग, जातजाति र धर्मको पहिचान भए पनि समग्रमा हामी नेपाली हौँ । नेपालको राष्ट्रिय हित र स्वार्थ नै हामी सबैका लागि सर्वोपरि रहन्छ र रहनुपर्दछ ।

    सबै धर्मको ध्येय राष्ट्रको हित, नागरिकको आस्था र विचारको सम्मान एवं समाजको सर्वोपरि हित नै हो । बिमतिहरूलाई संवादको माध्यमबाट समाधानमा पु¥याउन समेत राजनीतिक शक्तिहरू, विभिन्न सामाजिक संस्थाहरू, धार्मिक समुदाय र त्यसका अगुवाहरू एवं नागरिक समाजको भूमिका नै महत्वपूर्ण रहन्छ । कठिनाइ र चुनौतीको समयमा समस्या समाधानको सुत्रधार बनेर नै हामीले आफ्नो नेतृत्व क्षमता र औचित्यलाई पुष्टि गर्न सक्छौँ ।

    अन्त्यमा, सामाजिक एकतामा खलल पुग्ने कार्यहरूबाट टाढा रही एकता र सद्भावको पक्षमा उभिन र समस्या समाधानका निम्ति आ–आफ्नो ठाउँबाट सम्भव पहल लिनुहुन धरानबासी जनसमुदाय लगायत सम्पूर्ण नेपालीमा हार्दिक अपील गर्दछु ।

    भाद्र ९, २०८०
    पुष्पकमल दाहाल “प्रचण्ड”

  • आफुमाथि लागेको आरोप प्रमाणित भए राजिनामा दिने अर्थमन्त्रीको स्पष्टीकरण

    आफुमाथि लागेको आरोप प्रमाणित भए राजिनामा दिने अर्थमन्त्रीको स्पष्टीकरण

    काठमाडौं । नेपाली कांग्रेसका प्रवक्तासमेत रहेका अर्थमन्त्री प्रकाश शरण महतले गलत गरेको कुनै प्रमाण आए आफू पदमा नबस्ने बताएका छन्। आइतबार नयाँ बानेश्वरमा बसेको कांग्रेस संसदीय दल बैठकमा बोल्दै उनले आफूले गलत काम नगरे पनि विभिन्न व्यक्तिहरूले आक्षेप लगाउने गरेको बताए।

    ‘ममाथि व्यक्तिगत प्रहार भइरहेका छन्, व्यर्थको लाञ्छना लगाउने काम भइरहेको छ,’ महतले भने, ‘किन ममाथि अनावश्यक शंका गर्ने ?’ आफूले केही गल्ती गरेको प्रमाण दिएमा पदमा नबस्ने पनि उनले बताए। ‘तपाईंहरूलाई लाग्छ, मैले गल्ती गरेको छु ?, पदमा बसेर मैले केही गल्ती गरेँ ? हो भने प्रमाण दिनुहोस्, म पदमा बस्दिनँ,’ उनले भने, ‘होइन भने आरोप नलगाउनुहोस्, अनेक प्रचार नगर्नुहोस्।’

    उनले पार्टीका नेता–कार्यकर्तामा अनुशासन र मर्यादा हुनुपर्ने पनि बताए। ‘हामी त एउटा संस्कारको अभ्यास गरेर आएको मानिस हो,’ पत्रकारहरूसँग कुरा गर्दै उनले भने, ‘पार्टीका सदस्यहरू पनि मर्यादामा बस्नुपर्दछ।’ उनले सुन प्रकरणमा छानबिन भइरहेको बताए। ‘सुन बरामद गरियो। बरामद नगरेको भए त प्रश्न नै आउँथेन होला नि,’ उनले भने, ‘हङकङलाई अर्थ मन्त्रालयबाट चिठी लेखेका छौं। को-को संलग्न छन् भनेर अनुसन्धान पनि भइरहेको छ।’


    सुन प्रकरण छानबिन गर्न अर्थमन्त्री महत र गृहमन्त्री नारायणकाजी श्रेष्ठले पदबाट राजीनामा दिनुपर्ने कांग्रेसकै सांसद सुनिल शर्माले केही दिनअघि प्रतिनिधि सभा बैठकमा बोलेका थिए।

  • कम्तिमा ३५ दिन सीआइबीलाई विश्वास गरौं : गृहमन्त्री

    कम्तिमा ३५ दिन सीआइबीलाई विश्वास गरौं : गृहमन्त्री

    काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले ३५ दिनसम्म नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)लाई विश्वास गर्न आग्रह गरेका छन् । एक क्विन्टल सुन प्रकरणमा सांसदहरुले उठाएका प्रश्नको मंगलबार संसदमा जवाफ दिने क्रममा गृहमन्त्री श्रेष्ठले विगतमा संसदीय वा अर्को समिति बनाएर हेरिएको बताए । ७९९९ किलो सुन भित्रिएको भनिएपनि १ तोला सुन समेत पत्ता लगाएको भन्दै उनले राज्यको संयन्त्रलाई जिम्मा दिनुपर्ने बताए ।

    संगठित अपराधमा अनुसन्धानका लागि जम्मा ६० दिन समय हुने भन्दै उनले त्यसमध्ये २० दिन राजश्व अनुसन्धान विभागले लिएको बताए ।

    बाँकी ४० दिनमध्ये ५ दिन सरकारी वकिललाई चाहिने भन्दै उनले भने, ‘सीआईबीले ३५ दिन काम गर्न पाउँछ । यो समयमा उसले नेक्सस पत्ता लगाउँछ र दोषीहरुलाई कारबाहीको दायरामा ल्याउनसक्छ भन्ने हामीलाई विश्वास छ ।’

    अपराधी लुकाउने दुर्नियत देखा पर्‍यो भने नयाँ शिराबाट बहस गर्नु उपयुक्त हुने भन्दै उनले हात जोडेर भने, ‘यसलाई डिरेल गर्न नगरौं, प्लिज ।’

  • युक्रेनसँग शान्ति वार्ता अश्विकार नगर्ने पुटिनको संकेत

    युक्रेनसँग शान्ति वार्ता अश्विकार नगर्ने पुटिनको संकेत

    काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन मामिलामा शान्ति वार्ताको अवधारणालाई अस्वीकार नगर्ने बताएका छन्। सेन्ट पिट्सबर्गमा अफ्रिकी नेताहरूलाई भेटेपछि बोल्दै उनले शान्ति वार्ताका लागि अफ्रिकीहरू र चिनियाँले गरेको पहलले पनि भूमिका खेल्नसक्ने बताए।

    राष्ट्रपति पुटिनले युक्रेनी सेनाले प्रत्याक्रमण जारी राखेका बेला युद्धविराम कार्यान्वयन गर्न असहज भएको पनि बताएका छन्। युक्रेन र रुस दुवैले यसअघि केही पूर्वसर्तहरू पूरा नभइ वार्ताको टेबलमा नआउने बताएका थिए।


    युक्रेन आफ्नो सिमाना सन् १९९१ का बेलामा जस्तै पुनर्स्थापित होस् भन्ने चाहन्छ भने त्यसप्रति क्रेम्लिनको गहिरो विरोध रहँदै आएको छ। त्यसको साटो वार्ताका लागि किएभले आफ्नो देशको ‘नयाँ भौगोलिक वास्तविकता’लाई स्वीकार गर्नुपर्ने अडान मस्कोले राख्दै आएको छ।

    पुटिनले शनिवार अबेर राति पत्रकार सम्मेलनमा युक्रेनी अग्रमोर्चामा तत्काल कारबाहीको कुनै योजना नभएको बताए। उनले क्रेम्लिनको आलोचना गर्नेहरूलाई गिरफ्तार गरिएको भन्ने आरोपको पनि खण्डन गरे र केही व्यक्तिहरूले रुसलाई भित्रबाटै हानी पुर्‍याइरहेको बताए।

    उक्त विस्तृत पत्रकार सम्मेलनमा रुसी राष्ट्रपतिले सञ्चारकर्मीहरूलाई यसै महिनाको सुरुमा क्राइमियाको पुलमा विस्फोट भएपछि मस्कोले त्यस्ता गतिविधि रोक्न केही हमलाहरू गरेको दाबी गरे। दुईजनाको ज्यान जानेगरी भएको उक्त घटनापछि पुटिनले त्यसलाई युक्रेनको आतङ्कवादी कार्य भएको दाबी गर्दै त्यसको जवाफ दिने वाचा गरेका थिए। रुसले कब्जा गरेको प्रायद्वीपलाई उससँग जोड्ने उक्त पुलमा भएको त्यस घटनाको जिम्मेवारी आधिकारिक रूपमा किएभले लिएको थिएन।
    सात अफ्रिकी देशका नेता र प्रतिनिधिहरूले गत महिना युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्की र पुटिनलाई भेटेपछि रुस-अफ्रिका शिखर सम्मेलन भएको हो। यसैबीच आइतवार बिहान मस्कोमा ड्रोन आक्रमणमा दुईवटा कार्यालय भवनहरू क्षतिग्रस्त भएको रुसले बताएको छ। मस्कोका मेयर सेर्गेई सोब्यानिनले आक्रमणमा कोही पनि घाइते नभएको बताएका छन्। आक्रमणका लागि युक्रेन जिम्मेवार रहेको उनको आरोप छ।

    उक्त घटनापछि मस्को माथिको हवाई क्षेत्र अस्थायी रूपमा बन्द गरिएको थियो तर केही विमानस्थलहरू पुनः सञ्चालनमा आइसकेका छन्। आफ्नो पहिलो नाम लीया बताएकी एक जना प्रत्यक्षदर्शीले रोएटर्स समाचार संस्थालाई आफूले आगो र धुवाँ देखेको बताएकी छन्। उनले भनिन्, “हामीले एउटा विस्फोट सुन्यौ र त्यो छाल जस्तै थियो, अनि सबै जनाले हाम फाले।”

    उनले थपिन्, “त्यसपछि त्यहाँ एकदमै धेरै धुवाँ थियो र तपाईँले केही पनि देख्नसक्ने अवस्था थिएन। माथिबाट आगो देख्न सकिन्थ्यो।” यसैगरी युक्रेनका विभिन्न सहरहरूमा पनि क्षेप्यास्त्रहरू प्रहार भएका खबरहरू आएका छन्। किएभले आफ्ना सेनाहरू रुसले कब्जा गरेका सहरहरूतर्फ अघि बढिरहेको जनाएको छ। युक्रेनले रुसी फौजमाथिको प्रत्याक्रमणलाई जारी राखेको छ।

  • भ्रष्टाचार विरुद्धको अभियान राजनीतिक स्टण्ड होइन : प्रधानमन्त्री

    भ्रष्टाचार विरुद्धको अभियान राजनीतिक स्टण्ड होइन : प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार, बेथिति र तस्करीविरूद्ध सरकारले चालेको अभियान आवेग र राजनीतिक स्टन्ट नभएको बताएका छन्।

    समाजवादी मोर्चामा आवद्ध घटकका विद्यार्थी सङ्गठनको मोर्चा घोषणा सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले भने, ‘राज्यको सम्पत्ति व्यक्तिले दोहन गर्नेविरूद्ध अभियान थालिएको छ। तस्करीविरूद्ध जेहाद छेडिएको छ। यो कदम रोकिनेवाला छैन। अझै अगाडि बढ्छ। यो लडाइँ जित्नैपर्छ। यो आवेग र राजनीतिक स्टन्टको कुरा पनि होइन। नेपाली जनताको हितका लागि गरिएको हो।’

    भ्रष्टाचारका अरू धेरै फाइल खुल्ने प्रधानमन्त्री दाहालले बताए। एक्लै प्रधानमन्त्री र सरकारले जित्ने लडाइँ नभएकाले त्यसमा जनताको साथ र समर्थन जरूरी रहेको उनले स्पष्ट पारे।

    प्रधानमन्त्री दाहालले भने, ‘यसमा समाजवादी मोर्चाको समर्थन चाहिएको छ। हेर्दै जानुहोला अरू फाइल खुल्दै जानेछन्। त्यतिबेला तपाईंहरूको समर्थन चाहिन्छ। एक्लै प्रधानमन्त्री र सरकारले जित्ने लडाइँ होइन, जनस्तरको समर्थन पाएर हामी यो ब्याटल जित्ने छौं।’ अहिलेका अभियान बेपत्ता, घाइते र अपाङ्गको सपना साकार गर्ने लडाइँका रूपमा उनले चित्रण गरे ।

  • रास्वपामा आवद्ध हुनु मतलव उम्मेदवार बन्न पाउनु होइन : लामिछाने

    रास्वपामा आवद्ध हुनु मतलव उम्मेदवार बन्न पाउनु होइन : लामिछाने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले रास्वपामा आबद्ध हुनु भनेको उम्मेदवार बन्नु नभएको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सभापति लामिछानेले पछिल्लो समय रास्वपामा सहभागी बनेकाहरूले आफू नै मेयर, वडाध्यक्षको उम्मेदवार हो भन्ने गरेको भन्दै रास्वपामा अहिले सहभागी हुनु भनेको उम्मेदवार बन्नु नरहेको स्पष्ट पारेका हुन् ।

    रास्वपा साधारण समयमा बनेको पार्टी नभएको भन्दै रास्वपा कसैलाई पोस्न, पाल्न बनेको पार्टी नभएको सभापति लामिछानेको जिकिर छ। उनले मिसन ०८४ सही नेतृत्व छान्न सकेको खण्डमा मात्रै सफल हुने बताए । देशमा राम्रा नारा सबैले लगाउने भन्दै नारा राम्रो भएर मात्रै नहुने र पारा राम्रो हुनुपर्ने उनको भनाइ छ ।

    ‘म सबैलाई यसै मञ्चबाट देशभरकै रास्वपा समर्थक, रास्वपा प्रेमी र रास्वपामा आवद्ध सबैलाई भन्न चाहन्छु, रास्वपामा सहभागी हुनु भनेको तपाईं उम्मेदवार हुनुभएको होइन, उम्मेदवारको छनोट भएको छैन, कोही पनि अहिले उम्मेदवार होइन, यो कुरा स्पष्ट हुन जरुरी छ । साथीहरू मै उम्मेदवार हुँ, म मेयरको, वडाध्यक्षको भन्ने सुनेको छु, त्यसका लागि जोडिनुभएको हो भने कति लामो यो यात्रा हुन्छ थाहा छैन, किनभने यो पार्टी साधारण परिस्थितिमा बनेको पार्टी होइन, कसैलाई पोस्न, पाल्न बनेको पार्टी होइन, उनले भने । सभापति लामिछानेले नराम्रो काम गर्ने पार्टीका नेताहरूलाई तत्काल कारबाही गर्ने स्पष्ट पारे ।

  • बाघ संरक्षणमा नेपाल अग्र स्थानमा छ : प्रधानमन्त्री

    बाघ संरक्षणमा नेपाल अग्र स्थानमा छ : प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले बाघलगायत दुर्लभ वन्यजन्तुका प्रजाति संरक्षणमा नेपालले अग्रणी राष्ट्रका रूपमा विश्वभर पहिचान राख्न सफल भएको बताएका छन् । विश्व बाघ दिवसका अवसरमा आज शुभकामना दिँदै उनले नेपालले सन् २०२२ सम्ममा बाघको संख्या दोब्बर बनाउने लक्ष्य लिएकामा सो लक्ष्य निर्धारित अवधि अगावै पूरा भएकामा सबैप्रति बधाई ज्ञापन गरेका छन् ।

    नेपालले सन् २०१० मा रसियाको सेन्ट्स पिटर्सवर्गमा सम्पन्न विश्व बाघ सम्मेलनमा सन् २०२२ सम्ममा बाघको संख्या दोब्बर बनाउने लक्ष्य लिएको थियो । सो लक्ष्य तोकिएको अवधिअगावै पूरा भएको छ । प्रधानमन्त्री दाहालले नेपालले अन्तर्राष्ट्रिय समुदायसमक्ष गरेको प्रतिबद्धता पूरा गरेकोमा सबैप्रति आभार प्रकट गरेका छन् ।

    उनले निर्धारित लक्ष्य हासिल गर्न क्रियाशील वन तथा वातावरण मन्त्रालय, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, वन तथा भू–संरक्षण विभाग, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संरक्षण साझेदार संस्था, कर्मचारी र स्थानीय समुदायलाई धन्यवाद दिएका छन् ।

    प्रधानमन्त्री दाहाले बाघको संख्या वृद्धि भएसँगै मानव र बाघबीचमा हुने आपसी द्वन्द्वका घटनामा समेत वृद्धि भएको उल्लेख गरे । बाघ र मानिसबीचको सहअस्तित्व कायम राख्न संरक्षित क्षेत्रको प्रभावकारी संरक्षण गरी आहारा प्रजातिको उपलब्धता बढाउन र बासस्थान व्यवस्थापन गर्न आवश्यक रहेको उल्लेख गर्दै उनले स्थानीय समुदायको जीविकोपार्जनमा समेत सुधार हुनुपर्ने बताए ।

    ुबाघको संरक्षण तथा व्यवस्थापनमा थपिएका चुनौतीलाई सम्बोधन गर्न बाघसम्बन्धी थप अध्ययन अनुसन्धान, अग्रपंक्तिमा खटिएका कर्मचारीको क्षमता अभिवृद्धि, सम्बद्ध सरकारी तथा गैरसरकारी क्षेत्र अन्तर्राष्ट्रिय साझेदार संस्थाबीचको समन्वय उत्तिकै आवश्यक छु, प्रधानमन्त्री दाहालले भनेका छन् ।

    उनले बाघको बासस्थान नजिकका स्थानीय समुदायलाई जनचेतनामूलक कार्यक्रम तथा वैकल्पिक आयआर्जनसम्बन्धी कार्यक्रमको आवश्यकतालाई मध्यनजर गरी गत वर्ष राष्ट्रिय बाघ संरक्षण समितिको बैठकबाट ‘प्रधानमन्त्री बाघ संरक्षण तथा जीविकोपार्जन कार्यक्रम’ कार्यान्वयनमा ल्याउन वार्षिक एक अर्ब रुपैयाँ बजेट परिचालन गर्ने निर्णय गरिएको जानकारी दिए ।

    प्रधानमन्त्री दाहालले जैविक विविधता संरक्षणका क्षेत्रमा नेपालले अन्तर्राष्ट्रिय समुदायसामु गरेका प्रतिबद्धता पूरा भएकामा खुसी व्यक्त गर्दै आगामी दिनमा मानव र वन्यजन्तुबीचको सह–अस्तित्व कायम गर्नमा आ–आफ्नो क्षेत्रबाट भूमिका निर्वाह गर्न आह्वान गरे । उनले आजका दिनमा बाघलगायत अद्वितीय जैविक विविधता संरक्षणमा थप ऊर्जा र हौसला प्रदान गर्ने विश्वास व्यक्त गरे ।

    प्रधानमन्त्री दाहालले आगामी दिनमा संसारभर बाघ र मानवबीच सह–अस्तित्व कायम भई बाघ संरक्षण कार्य अझै प्रभावकारी बन्न सकोस् भनी कामनासमेत गरेका छन् ।

  • एमाले अध्यक्ष भन्छन् : सरकारले भ्रष्टाचार लुकाउन खोज्यो

    एमाले अध्यक्ष भन्छन् : सरकारले भ्रष्टाचार लुकाउन खोज्यो

    काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले भ्रष्टाचार लुकाउने प्रयास गरिरहेको आरोप लगाएका छन् । उनले सरकारको संलग्नता नहुँदासम्म एयरपोर्टजस्तो संवेदनशील क्षेत्रबाट सय किलो सुन निकासा हुनै नसक्ने बताए । केही काम गरेको देखाएर भ्रष्टाचार लुकाउन सरकार लागि परेको उनको भनाई छ ।

    पुर्व प्रधानमन्त्री ओलीले नेपालगन्जमा शनिवारदेखि सुरु भएको लुम्बिनी प्रदेशका सबै तहका एमालेबाट विजयी जनप्रतिनिधिको दुई दिने प्रशिक्षण कार्यक्रमको उदघाटन गर्दै यस्तो बताएका हुन् । उनले सरकारले आफुलाई भ्रष्टाचार विरोधी भनेर जति हल्ला मच्चाइए पनि देशमा भ्रष्टाचार झनै मौलाएको हुनाले एमालेले गम्भीर भएर समीक्षा गरिरहेको बताए ।


    एमाले अध्यक्ष ओलीले अहिलेको सरकार सुशासनको पक्षमा नरहेको र राष्ट्रप्रतिको जिम्मेवारीबोध पनि सरकारलाई नभएको आरोप लगाए । उनले एमालेबाट निर्वाचित भएका जनप्रतिनिधिले सम्बन्धको आधारमा सिफारिस नगर्न निर्देशन दिंदै यो कुरा पार्टीका लागि घातक बन्न सक्ने बताए । उनले एमालेका जनप्रतिनिधिले गलत कार्यमा सिफारिस गर्न नहुने जनाउँदै जनप्रतिनिधि बदनाम हुनु भनेको पार्टी बदनाम हुनु भएको बताए ।

  • साइबर सुरक्षामा गम्भीर हुन प्रधानमन्त्रीको निर्देशन

    साइबर सुरक्षामा गम्भीर हुन प्रधानमन्त्रीको निर्देशन

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले साइबर सुरक्षामा गम्भीर भएर काम गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । शुक्रबार अपराह्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सरोकारवाला मन्त्रालय र चार वटै सुरक्षा निकायका प्रमुखहरुसहितको बैठकमा प्रधानमन्त्रीले गम्भीर भएर काम गर्न निर्देशन दिएका हुन् ।

    साइबर सुरक्षाका कारण राष्ट्रिय सुरक्षामा समेत चुनौति निम्तिन सक्ने भएकाले सरोकारवाल निकायले यसलाई गम्भीर भएर प्राथमिकतासाथ काम गर्नुपर्ने कुरामा प्रधानमन्त्री प्रचण्डले निर्देशित गरेको राष्ट्रिय सुरक्षा परिषद्का राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास बैरागीले जानकारी दिए ।


    बैठकमा प्रधानमन्त्री प्रचण्ड समक्ष सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाली सेना र नेपाल प्रहरीले साइबर सुरक्षाबारे नेपालमा भइरहेको काम कारबाहीबारे बिफ्रिङ गरेका थिए । बैठकमा साइबर सुरक्षाको क्षेत्रलाई बलियो बनाउने गरी कानुनी, नीतिगत र संस्थागत प्रबन्ध गर्न एउटा छुट्टै कार्ययोजना बनाएर लागू गर्ने निर्णय पनि गरिएको थियो ।

  • प्रचण्डले भोग्नु परेको बज्रपात, दुई सन्तानपछि गुमाए जीवन संगिनी

    प्रचण्डले भोग्नु परेको बज्रपात, दुई सन्तानपछि गुमाए जीवन संगिनी

    काठमाडौं । २०७४ मंसिर ३ मा छोरा प्रकाश दाहालको निधनमा नराम्रोसँग भक्कानिएका प्रचण्ड पुत्र वियोगलाई भुलाउन अनेक प्रयास गरिरहेका थिए । तर, उनको वियोग थामिनुको साटो अझै बढ्ने क्रममा थियो । छोराको निधनपछि अझ पिडामा डुबेकी प्रचण्ड पत्नी सीता दाहाल त्यसपछि अझ कमजोर बन्दै गइन् । आफूलाईभन्दा बढी प्रेम गर्ने सन्तान गुमाउँदा सुरूमा शोकले ढलेकी सीता पछि निको नहुने जटिल प्रकारको पार्किन्सन्सबाट ग्रस्त भइन्।

    बुधबार बिहान सीताको निधनको घोषणा त्यही अस्पतालले गर्‍यो, जुन अस्पतालमा ६ वर्षअघि उनका छोरा प्रकाश दाहालको निधनको घोषणा भएको थियो। उनको उपचारमा संलग्न प्राध्यापक डाक्टर युवराज शर्माले बिहान ८ बजेर ३३ मिनेट जाँदा उनको निधन भएको घोषणा गरे ।


    ‘उनले भने, ‘उहाँको हेरचाह गर्ने नर्सिङ स्टाफ हुनुहुन्छ। उहाँले अचानक फोन गर्नुभयो। मैले तुरून्तातुरून्तै नर्भिकको इमरजेन्सी टिमलाई खबर गरें। म बालुवाटार पुगें। त्यहाँ अक्सिजनको मात्रा हेर्दै थिएँ। नर्भिकबाट इमरजेन्सीको टोली पनि पुग्यो। हामीले त्यहाँ अक्सिजन, इन्जेक्सन आदि लगाएर, दौडाएर अस्पताल ल्यायौं,’ शर्माले भनेका छन्, ‘यहाँ ल्याउँदा ८ बजेको थियो। उहाँ पहिलेदेखि नै नसासम्बन्धी दीर्घ रोगी हुनुहुन्थ्यो। दिमागको नसा सुक्दै जाने, खुम्चने हुन्छ। सँगसँगै उहाँलाई डायबेटिज, हाइपरटेन्सन, उच्च रक्तचाप पनि थियो।’

    २०११ साल असार २१ गते कास्कीको हेम्जामा जन्मिएकी सीता ८ वर्षकी हुँदा आफ्नो परिवारसँगै चितवनको सुन्दरबस्तीमा बसाइ सरेर गएकी थिइन्। उनले पढ्न पाइनन् । २०२६ साल वैशाखमा प्रचण्ड र सीताको मागी विवाह भएको थियो। विवाह भएपछि सीता प्रचण्डकै राजनीतिक आन्दोलनमा होमिइन् । २०२८ सालदेखि सीता कम्युनिष्ट पार्टीको सदस्य भएर भूमिगत राजनीतिको पृष्ठभूमिमा सक्रिय भइन्। स–साना छोराछोरी र श्रीमानको भूमिगत राजनीति दुबैलाई सन्तुलन गरेर अघि बढ्न स्वाभाविक रूपमै सीतालाई कठिन थियो। तर उनले आमा, श्रीमती र राजनीतिक कार्यकर्ताको रूपमा जे जति भूमिका निर्वाह गरिन्, त्यसमा कुनै खोट छैन।

    उनको अभिभावकीय भूमिकाकै कारण अधिकांश माओवादी नेता कार्यकर्ताहरू उनलाई आमा भनेर सम्बोधन गर्छन्। भूमिगतकालमा प्रचण्डका हरेक आरोह(अवरोहमा सँगसँगै रहेकी सीताको जिन्दगी शान्ति प्रक्रिया पछि भने सहज हुन सकेन। २०७० चैतमा जेठी छोरी ज्ञानु केसीको क्यान्सरका कारण निधन भएपछि सीताको राजनीतिक सक्रियता धेरै थिएन। हुन त त्यसअघि पनि उनले पार्टीमा कहिल्यै आफ्नो लागि भाग खोज्ने र सक्रिय हुने चाहना राखिनन्।

    प्रचण्डसँग ५४ वर्षसम्म सँगै रहेकी सीता दाहालले यो समय पूर्ण रूपमा प्रचण्डकै सारथीका रूपमा कटाइन्। भीषण संघर्षका बेला अविचलित प्रचण्डको साथमा रहेकी सीता दाहाल प्रचण्ड परिवारले आर्थिक अवस्थिति सुधारेपछि र चमकधमक पूर्ण जिन्दगी बिताउने बेलामा पारिवारिक शोकका कारण उठ्न सकिनन्।

    तीन छोरी र एक छोराकी आमा सीता २०७४ मा छोरा प्रकाशको निधन भएपछि त झन् थला नै परिन्। उनको बिग्रँदै गएको स्वास्थ्यका कारण हुनसक्छ, प्रचण्डले आफू पुग्ने ठाउँमा सम्भव भएसम्म सीतालाई लिएर नै जाने गर्थे। कार्यक्रमहरूका मञ्चमा बसेकै बेला सीता दाहाल सम्हालिन नसकेर रोइरहेको तस्बिर र भिडिओहरू बारम्बार आइरहन्थे। सीता दाहाललाई सन्तान वियोगको पीडाबाट माथि उठाउन हो सायद, प्रचण्ड उनलाई बेला बेलामा विभिन्न ठाउँमा लिएर जान्थे।

    तर सीता उठ्न सकिनन्। गम्भीर खालको पार्किन्सन्सले झन् झन् गलाउँदै लगेपछि तीन वर्षयता उनी ओछ्यानमै थला परेकी थिइन्। छोरीहरू रेणु र गंगा उनलाई विशेष हेरचाह गर्दै आएका थिए। सिंगो पार्टी पंक्तिले अभिभावकका रूपमा व्याख्या गर्ने, कुनै पनि विवादमा नमुछिएकी सीता दाहालको आफ्ना श्रीमान प्रचण्ड तेस्रो पटक मुलुकको प्रधानमन्त्री भइरहँदा बुधबार निधन भएको छ। आफ्ना दुई सन्तानको वियोग थेगिसकेका प्रधानमन्त्री प्रचण्ड पत्नी वियोगमा परेका छन्।

  • जीवन एक प्रयोग

    जीवन एक प्रयोग

    योगेश आदी

    जीवन मात्र होइन जगत पनि प्रयोग रहेछ । करिव २६०० वर्ष पहिले बुद्धले ज्ञानको प्राप्तिपश्चात कल्याणकारी समाजको स्थापना गर्नआफ्नो संघको माध्यमबाट कम्यूनिजम् प्रयोग गर्न खोजे । वर्ग संघर्षको कारक तत्व विभेदी सामाजिक परिपाटी रहेको ठहर गर्दैपरिवर्तको मार्ग द्वन्द र हिंसा होइन कि सत्मार्ग र सत्संग हो, भन्ने निष्कर्ष निकाले । समाजको निरन्तरता एवम् अस्तित्वको लागि त्याग वाप्राप्ति मात्र पनि होइन कि मध्यमार्ग अवलम्वन गर्नुपर्छ भन्ने सुझाव पनि दिए । 

    बुद्ध दार्शनिक मात्र बने, ज्ञान बाँडे । कालान्तरमा उनको तानाशाह बिहिन रहने साम्यबादी तरिकाले चल्ने सामाजिक व्यवस्थाको प्रयोगराज्यस्तरमा व्यवहारिक देखिएन । ज्ञान र विवेकको प्रचुर चर्चा भयो । राजा अशोक जस्ता अन्यायीहरुले उनको ज्ञान फैलाए ।त्रिपिटकको रुपमा लिपिबद्ध गरे । थुप्रै उपग्रन्थ बनाइए । अहिले धर्मको रुप लियो ।

    करिव २५०० बर्ष पहिले बुद्ध जस्तै दर्शनका ज्ञाता सोक्रेट्सको चर्चा युनान (हालको ग्रिस) बाट फैलिदै तात्कालिन स्पार्टासम्म हुन थाल्यो। उनको तार्किक र बौद्धिक प्रश्नहरुबाट तात्कालिन राज्यसत्ता झस्किन्थ्यो । राज्य सत्ता इतिहास र धर्मको आडमा चल्नु हुदैन भन्ने उनकोअडान थियो । प्रजातन्त्रमा पनि थुप्रै अवगुण हुन्छ किनकि जनमत र समावेसीको नाममा विवेकहिन र ज्ञानहिन असक्षम व्यक्ति पनि राज्यसञ्चालनमा पुग्छ भनेर सर्वप्रथम भन्ने व्यक्ति सोक्रेट्स नै थिए । कुनैपनि व्यक्तिले दोश्रो व्यक्तिलाई सोच्न लगाउन मात्र सक्छ, यस्तो नैगर भन्न सक्दैन भन्ने उनी अग्रगामी सोच राख्थे । उनको बौद्धिक प्रयोग समाजले पचाउन सकेन । उनी सेनामा हुँदा राम्रो नगरेको रएथेन्सले स्पार्टासँग युद्ध हार्नुमा उनले युवाहरु भट्काएको भन्ने आरोपमा उनलाई दुई तिहाको बहुमति सभाले दिइएको दुई सजायकोविकल्पमा उनले बिष सेवन रोजेका थिए । 

    एउटै किताब नलेखेका दार्शनिक सोक्रेट्सका कट्टर भक्त दार्शनिक प्लुटोले भने उनको दर्शनमा आधारित ३३ पुस्तक लेखें। त्यसैगरिप्लुटोकै लयमा एरिस्टोटलले पनि उनको बिचारमा माथि ३०० भन्दा बढी पुस्तक लेखे । पछि अलेक्जेण्डरले सोक्रेट्सै विचारलाई फैलाए। ईतिहासको कालखण्डमा पनि बिचारको प्रयोग गर्ने बारे सबैभन्दा ठुला युद्धहरु भए ।

    त्यसपछिको लामो कालखण्ड युद्ध, जीत र सिमा बिस्तारको प्रयोगमा रुमल्लियो । भारत वर्षमा मुगल साम्राज्यसम्म र पश्चिममा सन्१८१८ मा कार्ल मार्क्सले जन्म लिनुअघि नै युनिभर्सिटीहरुमा राज्यसंयन्त्र र दर्शनको अध्यापन हुन थालिसकेका थिए । मार्क्सका वकिलपिताले उनलाई दर्शनको महत्व सानैमा बुझाइसकेका थिए। लामो समय मार्क्सको दुई पुस्तक “कम्युनिष्ट मेनिफेष्टो र क्यापिटल” लेसबै प्रयोग माथि प्रश्न उठाए । 

    मार्क्सले बुद्धले जस्तै समाजमा ‘हुने र नहुने’ (बोर्ज्वाजी र प्रोलिटेरिएट्) बीचको वर्गसंघर्ष नै दुखको कारण देखाए। समाजबाद मार्फतसाम्यबाद नै निकास हो भन्ने तर्क राखे । एङ्गेल्सले सघाए । तर परिवर्तनको लागि द्वन्दको बाटो देखाए । भौतिक परिवर्तनको लागिद्वन्दको आवश्कता महसुस गरे । जबकि उनी भन्दा २२०० वर्ष अघिनै बुद्धले भक्ति मार्गबाट बर्ग हट्न सक्छ भनिसकेका थिए । जबकिमार्क्स धर्मलाई अफिम मान्दथे । भारतका डा. अम्बेडकरले भने जस्तै बुद्ध र मार्क्सको बिचारको फ्यूजनको प्रयोग चाहिँ मध्यमार्गी प्रयोगबन्न सक्ला ।

    कार्ल मार्क्सको साम्यबादी समाज निर्माणको परिकल्पना कतिपय देशले लागू गर्न खोजे शुरमै अव्यवहारिक ठहरिए । चीनले आंशिकलागू गर्न खोजे । रुसले १९औं शताप्दीको शुरुमा गरेको मार्कसिजम् र लेलिनिजमको प्रयोगबाट नै अव्यवहारिक ठानिसकेका थिए ।आखिर सबैबाद र सिद्धान्तहरु एक प्रयोगकै रुपमा चलिआएका छन्। 

    कसैले कुनै पद्दति मात्रै ‘ठीक हो’ भन्छ भने त्यो सबैभन्दा ठुलो झुठो साबित हुन्छ । जगत नै प्रयोगमा चल्छ, जीवन जस्तै।  ठीकलागुन्जेल अस्तित्वमा रहन्छ । हाम्रो जीवन पनि हामीले रोजेको बिभिन्न प्रयोग मघ्ये सहज लागेको अवस्थामा रोकिएको पेशा वाव्यवसायलाई कर्म मानेर बाँच्ने क्रिया मात्र हो । के थाहा भोली के प्रयोग गर्न मन लाग्छ ।

  • अनावश्यक विषय विपक्षीले संसदमा उठाइरहेको सरकारको प्रतिक्रिया

    अनावश्यक विषय विपक्षीले संसदमा उठाइरहेको सरकारको प्रतिक्रिया

    काठमाडौं । पुस्तक विमोचन कार्यक्रममा दिएको अभिव्यक्तिलाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजीनामा नदिने सरकारले स्पष्ट पारेको छ।
    बिहीबार मन्त्रिपरिषद्का निर्णय सुनाइसकेपछि सञ्चारकर्मीहरूले राखेको जिज्ञासामा सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले यस विषयमा प्रधानमन्त्रीले राजीनामा दिनु नपर्ने बताइन्।

    कार्यक्रममा प्रधानमन्त्रीले कुनै अन्यथा नबोलेको पनि बताइन्। उनले सो विषय बेकारको विषय भएकाले संसदमा उठाउनुपर्ने आवश्यकता नै नरहेको बताइन्। उनले प्रतिपक्षी दलका कारण सरकारले मिटरब्याजीविरूद्धको विधेयक संसदबाट पास गर्न नपाएको आरोपसमेत लगाइन्।


    उनले भनिन्, ‘विपक्षीहरूले खास गरेर प्रधानमन्त्रीज्यूले एउटा पुस्तक विमोचनमा बोल्नुभएको कुरालाई आधार बनाएर संसदभित्र जुन राजीनामाको माग गरी संसद अवरूद्ध गर्नुभएको छ र संसद अवरूद्ध गरिरहँदा जुन हामीले ल्याएको अध्यादेश थियो, जुन मिटरब्याजसम्बन्धी त्यसको हिजो अन्तिम दिन थियो, त्यो निष्क्रिय हुन पुगेको छ। प्रधानमन्त्रीले राजीनामा दिने कि नदिने भन्ने विषय हो, यो विषय नै त्यस्तो होइन कि राजीनामा दिनुपर्ने।’

    उनले अगाडि भनिन्, ‘एउटा कार्यक्रममा गएर बोलेको विषयलाई आधार बनाएर प्रधानमन्त्रीज्यूले अन्यथा बोलेको हामीलाई लाग्दैन। प्रधानमन्त्रीज्यूले विभिन्न ढंगले प्रधानमन्त्री बनाउन लाग्नुभएको भन्नेकुरा धेरै पहिलाको कुरा हो, त्यसका विषयमा उहाँलाई उल्लेख गर्नुभएको हो। जो व्यक्ति आजका दिनसम्म आइपुग्दासम्म जसरी मिडियामा बोलिसक्नुभएको छ, त्यो विषय पनि बेकार हो। यो उठाउनुपर्ने विषय होइन, भन्ने नै प्रमाणित भएको, त्यसैले यो विषयले प्रधानमन्त्रीको राजीनामा सोच्न सकिने विषय होइन। राजीनामा दिनुहुन्न।’ मन्त्री शर्माले यस्ता विषयमा प्रधानमन्त्रीको राजीनामा सोच्न नसकिने बताइन्।

  • आफ्नै अभिव्यक्तिका कारण संकटमा प्रधानमन्त्री

    आफ्नै अभिव्यक्तिका कारण संकटमा प्रधानमन्त्री

    काठमाडौं । आफ्नै अभिव्यक्तिका कारण प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड संकटमा परेका छन् । गत सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिएको अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले उनको राजीनामा मागेको छ ।

    बुधबार संघीय संसदको दुवै सदन अवरोध गर्दै एमालेले प्रधानमन्त्रीको राजीनामा मागेको हो । ‘प्रधानमन्त्रीले जे बोल्नुभयो, नैतिकताका आधारमा उहाँ प्रधानमन्त्री पदमा बस्नु उपयुक्त हुन्न, उहाँले राजीनामा गर्नुस्’ संसद अवरोधको औचित्यबारे नेकपा एमालेका सांसद रघुजी पन्तले भनेका छन् ।


    पन्तले प्रधानमन्त्रीले राजीनामा दिएर अर्को सरकार गठनको प्रक्रिया बढाउन सुझाव दिए । ‘को मान्छे प्रधानमन्त्री बन्ने दलहरुले छलफल गर्लान् । तर जो दिल्लीतिर नफर्कने, नेपालतिर फर्कने, नेपाली माटोतिर फर्किने प्रधानमन्त्री चाहियो, जसले देशको गरिमा र मर्यादाको रक्षा गर्न सकोस्’, उनले भने ।

    राष्ट्रियसभा बैठकमा एमाले संसदीय दलका नेता देवेन्द्र दाहालले पनि प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने बताए । सरदर प्रितम सिंहबारे लेखिएको पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले नेपालको सरकार निर्माण गर्दा भारतसँग छलफल हुने गरेको सन्देश जानेगरी अभिव्यक्ति दिएका थिए ।

    त्यो कार्यक्रममा प्रचण्डले भनेका थिए, ‘उहाँ (प्रितम सिंह) राजनीतिमा पनि रुचि राख्नुहुन्छ । उहाँले एकपटक मलाई प्रधानमन्त्री बनाउन धेरै मेहनत गर्नुभयो । धेरैचाटी दिल्ली पनि जानुभयो । काठमाडौंमा पार्टी र नेताहरुसँग पनि लगातार छलफल गर्नुभयो ।’ पुराना व्यवसायी सिंहको प्रशंसा गर्ने क्रममा प्रधानमन्त्री प्रचण्डले दिएको यस्तो अभिव्यक्तिमा विपक्षी दलहरु एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतले आपत्ति जनाएका छन् ।

    प्रधानमन्त्री प्रचण्डले भने आफूले बोल्दै नबोलेको कुरालाई लिएर बबण्डर गर्न खोजिएको बताएका छन् । ‘उहाँको (प्रितम सिंहको) बारेमा भनेको कुरालाई उचालेर अहिले बबण्डर गर्न खोजिएको छ । त्यो बेलुन पनि छिट्टै फुट्नेवाला छ । त्यसले केही हुनेवाला छैन’,

  • विगतको समिक्षा गरी नेकपातर्फ फर्कनु पर्ने प्रचण्डको धारणा

    विगतको समिक्षा गरी नेकपातर्फ फर्कनु पर्ने प्रचण्डको धारणा

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विगतमा नेकपा एमालेसँग भएको पार्टी एकता र विभाजनबाट शिक्षा लिँदै फेरि नेकपातिरै फर्किनुपर्ने बताएका छन् । त्यसको प्रयासस्वरुप समाजवादी मोर्चा बनाएको पनि उनले बताए ।

    नेपाल कम्युनिष्ट पार्टीका एकजना संस्थापक नारायण विलास जोशीको प्रतिमा अनावरण कार्यक्रमलाई आज बिहान भक्तपुरमा सम्बोधन गर्दै प्रचण्डले एमाले र माओवादी केन्द्रबीचको एकता गरेर बनेको नेकपालाई बचाउन नसक्नु दुर्भाग्य भएको बताए । देशलाई छिटो आर्थिक समृद्धितिर र समाजवाद तिर जान सकिन्छ भनेर एमालेसँग एकता गरेको स्मरण गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भने, ‘तर दुर्भाग्य हामीले त्यसलाई बचाउन सकेनौं । हामी एकपटक असफल भए पनि फेरि त्यसबाट शिक्षा लिएर अगाडि बढ्ने उद्देश्य राख्नुपर्दछ ।’

    उनले त्यो एकता के कारणले टिक्न सकेन भनेर गम्भीर समीक्षा गर्ने र त्यसबाट शिक्षा लिएर अगाडि जाने जमर्को गर्नुपर्ने प्रचण्डले बताए । उनले भने, ‘आज हामीले फेरि एकपटक चिन्तन गर्नुपर्यो कि हिजो एकीकृत भएको कम्युनिष्ट आन्दोलन के कारणले टिक्न सकेन, त्यहाँ के त्रुटी थियो, के प्रवृत्तिका कारण हाम्रो विभाजन भयो भन्ने गम्भीर समीक्षा गरेर त्यसबाट शिक्षा लिएर अगाडि जाने जमर्को गर्नुपर्दछ ।’

    समाजवादी मोर्चा गठन गर्दा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र आफूबीच फेरि नेकपातिरै फर्किनुपर्छ भन्ने सल्लाह भएको पनि उनले जानकारी गराए । ‘माधव नेपाल, विप्लव र उपेन्द्र यादवले फेरि एकचोटी समाजवादी मोर्चा बनाएर वामपन्थीहरुलाई एकताबद्ध गराउने पहल सुरु गरेका छौं,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘माधव जी र मैले के पनि भनेका छौं भने फेरि नेकपातिरै फर्किनुपर्दछ । फेरि पार्टीलाई एकताबद्ध गर्नुपर्छ पनि हामीले भनेका छौं ।’