Category: विश्व

  • एसिया कप : रोमान्चक खेलमा पाकिस्तानले भारतलाई हरायो

    एसिया कप : रोमान्चक खेलमा पाकिस्तानले भारतलाई हरायो

    काठमाडौं । मोहम्मद रिजवान र मोहम्मद नवाजको उत्कृष्ट प्रदर्शनमा पाकिस्तानले युएईमा जारी टी–२० एसिया कप २०२२ को सुपर फोरमा भारतलाई ५ विकेटले गराएको छ । जितको लागि १ सय ८२ रनको लक्ष्य पछ्याएको पाकिस्तानले अन्तिम बल अगाडिनै ५ विकेट गुमाएर लक्ष्य भेटायो । उसका लागि ओपनर मोहम्मद रिजवानले ७१ रनको उत्कृष्ट पारी खेले।

    उनले ५१ बलमा ६ चौका र २ छक्का प्रहार गरे। मोहम्मद नवाजले २० बलमा ६ चौका र २ छक्कासहित ४२ रनको बिस्फोटक पारी खेले । भारतका रवि विश्रोई, अर्शदीपसिंह, भुवनेश्वर कुमार, हार्दिक पान्ड्या र युजभेन्द्र चहलले समान एक(एक विकेट लिए । त्यसअघि दुबई इन्टरनेशल स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ८१ रन बनाएको थियो। उसका लागि विराट कोहलीले सर्वाधिक ६० रन बनाए।

    लगातार दोस्रो अर्धसतक प्रहार गर्ने क्रममा कोहलीले ४४ बल खेल्दै ४ चौका र १ छक्का प्रहार गरे। ओपनरद्वय केएल राहुल र रोहित शर्माले समान २८–२८ रन बनाए । पाकिस्तानका शादब खानले २ विकेट लिए। समूह चरणको खेलमा पाकिस्तान भारतसँग ५ विकेटले पराजित भएको थियो।

    सुपर फोरमा भारत, पाकिस्तान, श्रीलंका र अफगानिस्तान छन्। भारतले अब मंगलबार श्रीलंका र बिहीबार अफगानिस्तानसँग खेल्नेछ। पाकिस्तानले बुधबार अफगानिस्तान र शुक्रबार श्रीलंकासँग खेल्नेछ। शीर्ष दुईमा रहने टोली फाइनल खेल्नेछन्।

  • क्यानडामा अन्धाधुन्ध चक्कु प्रहारबाट १० जनाको हत्या

    क्यानडामा अन्धाधुन्ध चक्कु प्रहारबाट १० जनाको हत्या

    काठमाडौं । क्यानडामा अन्धाधुन्ध चक्कु प्रहार गरी १० जनाको हत्या गरिएको छ । १५ जना घाइते भएका छन् । क्यानडाका अलग–अलग १३ स्थानमा श्रृंखलाबद्ध चक्कु प्रहार भएको हो । चक्कु प्रहारबाट १० जनाको मृत्यु र १५ जना घाइते भएको सेन्ट्रल सस्केचेवान प्रान्तको प्रहरीलाई उद्धृत गर्दै बीबीसीले उल्लेख गरेको छ । हमलामा ३१ वर्षीय डेमिइन स्यान्डर्सन र ३० वर्षीय मिल्स स्यान्डर्सन संलग्न रहेको भन्दै प्रहरीले फोटो सार्वजनिक गरेको छ ।

    उनीहरुको आक्रमणको उद्देश्य खुलेको छैन । उनीहरु कालो कार चढेर भागेको र पक्राउ गर्न खोजी अभियान चलाइएको प्रहरीको भनाई छ । हतियार बोकेका उनीहरुलाई प्रहरीले खतरनाक भनेको छ । प्रहरीले स्थानीयवासीलाई घर भित्रै रहन सूचित गरेको छ ।

    प्रहरीले ट्वीट गरेर भनेको छ, ‘सुरक्षित स्थानबाट बाहिर ननिस्किनुस् र सतर्कताका लागि घरमा अरु कसैलाई आउन नदिनुस् ।’ प्रहरीले चालकहरुलाई पनि कसैलाई लिफ्ट नदिन भनेको छ ।

    प्रहरीले विभिन्न स्थानमा चेक प्वाइन्ट राखेर चेकिङमा कडाइ गरेको छ । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले यस आक्रमणलाई भयावह भन्दै चिन्ता व्यक्त गरेका छन् । उनले ज्यान गुमाएकाका आफन्तप्रति समवेदना व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

  • देश छाडेर भागेका श्रीलंकाका पूर्वराष्ट्रपति राजपक्ष स्वदेश फिर्ता

    देश छाडेर भागेका श्रीलंकाका पूर्वराष्ट्रपति राजपक्ष स्वदेश फिर्ता

    कोलम्बो । श्रीलङ्काका पूर्वराष्ट्रपति गोटाबय राजपक्ष स्वदेश फर्किएका छन्। गत जुलाई महिनामा आफूविरुद्ध आयोजित विरोधप्रदर्शन उत्कर्षमा पुगेपछि राष्ट्रपति पदमा आसीन हुँदै उनी भागेर विदेश गएका थिए। तर पछि उनले राजीनामा दिएका थिए। अस्थायी भिसामा थाईल्यान्डमा बसिरहेका राजपक्ष सिङ्गापुर हुँदै घर फर्केको बीबीसीले जनाएको छ । केही श्रीलङ्काली मन्त्रीहरूले उनलाई विमानस्थलमा भेटेको बताइएको छ। श्रीलङ्कालीहरूले उनको सरकारलाई श्रीलङ्काको इतिहासमा देखा परेको सबैभन्दा खराब आर्थिक सङ्कटका लागि दोषी मानेका छन्।

    देशको ढुकुटीमा वैदेशिक मुद्राको भण्डार रित्तिएकाले आयात हुन नसकेपछि श्रीलङ्कामा खाद्यान्न र इन्धनको ठूलो अभाव सिर्जना भएको थियो। राजपक्ष कोलम्बोस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिर निस्किँदा उनलाई सुरक्षा दिइएको थियो । खाद्यान्न र इन्धनको मूल्य अचाक्ली वृद्धि भएपछि एप्रिलमा त्यहाँ प्रदर्शन सुरु भएको थियो। सबै क्षेत्र र समुदायका लाखौँ मानिसहरू धेरै हदसम्म शान्तिपूर्ण ढङ्गले भएका प्रदर्शनका लागि भेला भएका थिए।

    उनीहरूले राजपक्ष र प्रधानमन्त्री पदमा आसीन उनका दाजु महिन्दको राजीनामा माग गरेका थिए। मे महिनामा महिन्द राजपक्षले मे महिनामै पदबाट राजीनामा दिएका थिए। जुलाई महिनामा हजारौँ मानिसहरू गोटाबय राजपक्ष सरकारी निवासमा बलपूर्वक प्रवेश गरे। त्यसपछि राष्ट्रपति सैन्य विमानमा चढेर माल्दिभ्स पलायन भए। माल्दिभ्सबाट सिङ्गापुर गएर उनले त्यहीँबाट राजीनामा दिए।


    राजपक्षको पलायन र पदत्यागले पुराना राजनीतिज्ञ रनिल विक्रमसिङ्घलाई राष्ट्रपति बन्ने अवसर दियो। महिन्द राजपक्षले राजीनामा दिएपछि उनी प्रधानमन्त्री नियुक्त भएका थिए। राजपक्ष परिवारको निकटताका कारण प्रदर्शकारीहरूले उनलाई पनि रुचाएका थिएनन् र उनको राजीनामा माग गरिएको थियो। यद्यपि राजपक्षले राजीनामा दिएपछि उनलाई संसद्ले राष्ट्रपति निर्वाचित गर्‍यो। सरकारले अब राजपक्षको सुरक्षा पनि सुनिश्चित गर्नुपर्नेछ। अन्य प्रदर्शनकारीहरूले राजपक्ष पुनः राजनीति वा सरकारमा प्रवेश गर्ने जुन कुनै प्रयासको विरोध गर्ने बताएका छन्।

  • नयाँ प्रधानमन्त्रीको नियुक्ति पहिलो पटक लण्डनभन्दा बाहिरको शहरबाट गर्दै बेलायती महारानी

    नयाँ प्रधानमन्त्रीको नियुक्ति पहिलो पटक लण्डनभन्दा बाहिरको शहरबाट गर्दै बेलायती महारानी

    लण्डन\बीबीसी । यूकेकी महारानीले परम्परा तोड्दै लण्डन बाहिरस्थित कार्यालयमा देशको नयाँ प्रधानमन्त्रीको नियुक्ति समारोह गर्ने बकिङ्घम राजदरबारले जनाएको छ। नयाँ नियुक्त हुने प्रधानमन्त्री र पदबाट बाहिरिँदै गरेका बोरिस जोनसन यसअघिको परम्परा तोड्दै सेप्टेम्बर ६ मा महारानी एलिजाबेथ द्वितियासँगको भेटका निम्ति स्कटल्याण्डस्थित उनको निवासमा जाने भएका छन्।

    आफ्नो ७० वर्षको शासनकालमा ९६ वर्षीय महारानी एलिजाबेथले देशका नयाँ प्रधानमन्त्रीहरूको औपचारिक नियुक्ति बकिङ्हम प्यालेसबाट नै गर्ने गरेकी थिइन्। नयाँ नियुक्त हुने प्रधानमन्त्रीको दैनिक र नियमित कामहरूको तालिकालाई निश्चितता प्रदान गर्न सजिलो होस् भनेर पूर्व जानकारी दिएरै यस्तो निर्णय लिइएको बुझिएको छ। सेप्टेम्बर ५ मा लिज ट्रस वा ऋषि सुनक मध्ये एक जना सत्ताधारी कन्जरभेटिम पार्टीको नेता चयन हुँदै छन्।

    वर्तमान प्रधानमन्त्री बोरिस जोनसनले त्यसको भोलिपल्ट महारानीसमक्ष उपस्थित भएर आफ्नो राजीनामा घोषणा गर्ने अनुमान गरिएको छ। त्यस्तो घोषणा लगत्तै महारानीबाट नयाँ प्रधानमन्त्री नियुक्त हुने परम्परा रहँदै आएको छ। बकिङ्घम प्यालेसले यसअघि नयाँ प्रधानमन्त्रीसँग भेट गर्न महारानीले बालमोरलको बसाईलाई रोकेर लण्डन आउने जनाएको थियो। यूकेमा नियुक्त हुन लागेका नयाँ प्रधानमन्त्री उनको ७० वर्षे शासनकालको १५ ‍औँ प्रधानमन्त्री हुनेछन्। महारानीलाई पछिल्लो केही महिनायता हिँडडुलमा समस्या भएको ठानिएको छ।

    परम्परादेखि मनाइँदै आएको ग्रीष्मकालीन बिदाका लागि महारानी परिवार र पाहुनाहरू सहित स्कटल्याण्ड पुगेकी छिन्। उनी अगस्टबाट अक्टोबरसम्म त्यहाँ बस्ने गरेकी छन्। राष्ट्र प्रखुको हैसियतमा नयाँ प्रधानमन्त्री नियुक्त गर्ने जिम्मेवारी महारानीको हो, जस्ले महारानीको सरकार, हर म्याजेष्टिज् गभमन्ट, को नेतृत्व गर्छन् भन्ने प्रचलन छ।

    महारानी भिक्टोरियाको शासनयता एक जना बाहेक हरेक प्रधानमन्त्रीको नियुक्ति समारोह लण्डनस्थित बकिङ्घम राजदरबारमा भएको संविधानविद् प्राध्यापक भर्नोन बग्दनोर बताउँछन्। अपवादको रूपमा हर्वट हेनरी आस्क्विथ भने सन् १९०८ मा राजा एडवर्ड सातौँबाट नियुक्ति लिनका लागि फ्रान्सको वियरित्स सहर पुगेका थिए।

  • रुसले रोक्यो मुख्य पाइपलाइनबाट युरोप आपूर्ति हुने ग्यास

    रुसले रोक्यो मुख्य पाइपलाइनबाट युरोप आपूर्ति हुने ग्यास

    काठमाडौं । मर्मत सम्भारको भन्दै रुसले मुख्य पाइपलाइनबाट युरोप आपूर्ति हुने ग्यास आपूर्ति रोकेको छ । रुसी सरकारको स्वामित्वमा रहेको उर्जा कम्पनी गाजप्रोमले नर्ड स्ट्रिम १ पाइपलाइनमाथिको प्रतिबन्ध आगामी ३ दिनसम्म लागू हुने बताए ।

    रुसले यसअघि नै पाइपलाईनमार्फत हुने ग्यास निर्यात रोक्का गरेको छ । युक्रेनको आक्रमणपछि प्रतिबन्ध लगाउने पश्चिमी राष्ट्रहरूलाई दण्ड दिन उर्जा आपूर्तिहरू प्रयोग गरेको भन्ने आरोपलाई पनि मस्कोले अस्वीकार गर्दछ।

    नर्ड स्ट्रिम पाइपलाइन सेन्ट पिटर्सबर्ग नजिकैको रुसी तटबाट उत्तर–पूर्वी जर्मनीसम्म बाल्टिक सागर मुनि १२ सय किलोमिटब्ह्र फैलिएको छ ।

    सन् २०११ मा खुलेको यो पाइपलाइनमा रुसबाट जर्मनीमा दैनिक १७० मि क्युबिक मिटर ग्यास आपूर्ति हुन्छ । रुसी अधिकारीहरुका अनुसार मर्मत सम्भारका लागि पाइपलाइन जुलाईमा १० दिन बन्द भएको थियो र रुसले उपकरणमा समस्या भएको जनाए पनि हाल २० प्रतिशत क्षमतामा सञ्चालन भइरहेको छ ।

    रुसले ग्यासको मूल्य बढाउन खोजेको युरोपेली नेताले त्रास व्यक्त गरेका छन् ।

  • सोभियत संघका अन्तिम नेता मिखाइलको निधन

    सोभियत संघका अन्तिम नेता मिखाइलको निधन

    मस्को । सोभियत युगका अन्तिम नेता मिखाइल गोर्भाचोभको ९१ वर्षको उमेरमा निधन भएको छ । सन् १९८५ देखि १९९१ सम्म सोभियत संघको सत्तामा रहेका मिखाइल सोभियत युगका अन्तिम नेता मानिन्छन् । उनी लामो समयदेखि मृगौला रोगसँग लडिरहेका थिए । मिखाइलको उपचाररत अस्पतालमै निधन भएको बीबीसीले जनाएको छ ।

    स्वर्गीय मिखाइलले शीतयुद्धको शान्तिपूर्ण अन्त्य गर्दै तत्कालीन सोभियत संघलाई विश्वका लागि ढोका खोलिदिएर सुधारको खाका प्रस्तुत गरेका थिए । तर, उनले सोभियत संघको पतनलाई रोक्न भने सकेनन् । सोहीकारण आधुनिक रूसको उदय भयो । मिखाइलको निधनमा विश्वका नेताहरुले श्रद्धाञ्जली अर्पण गरेका छन् । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले अन्तिम सोभियत नेता गोर्भाचोभको निधनप्रति गहिरो समवेदना व्यक्त गरेका छन् ।

  • भारतका गौतम अडानी बने विश्वका तेस्रो धनी, कति छ सम्पत्ति ?

    भारतका गौतम अडानी बने विश्वका तेस्रो धनी, कति छ सम्पत्ति ?

    काठमाडौं । भारतको औद्योगिक घराना अडानी समूहका अध्यक्ष गौतम अडानी विश्वका तेस्रो धनी व्यक्तिमा दरिएका छन्।

    फ्रान्सका बर्नार्ड अर्नाल्टलाई पछि पार्दै उनी विश्वको तेस्रो धनी व्यक्ति बनेका हुन्।

    अडानी विश्वकै धनीहरूको सूचीमा शीर्ष तीनमा पुग्ने एसियाकै पहिलो व्यक्ति बनेका छन् । भारतीय धनाढ्य मुकेश अम्बानी र चिनियाँ अर्बपति ज्याक मा पनि शीर्ष तीनमा पुग्न सकेका थिएनन् ।

    विश्वव्यापीरूपमा व्यापार तथा वित्तीय विवरणको विश्लेषण गर्ने अमेरिकी कम्पनी ब्लुमवर्गले सार्वजनिक गरेको अर्बपतिहरूको सूचीअनुसार ६० वर्षीय गौतम अडानीको कूल सम्पत्ति एक खर्ब ३७ अर्ब ४० करोड डलर छ।

    ब्लुमवर्गको अति धनाड्यको सूचीको ११औँ नम्बरमा भारतका मुकेश अम्बानी छन् उनको खुद सम्पत्ति ९१ अर्ब ९० करोड डलर छ।

    लुई भिटनका मालिक फ्रान्सेली बर्नार्ड आर्नल्टलाई पछि पार्दै अडानी विश्वकै तेस्रो धनीको स्थानमा पुग्ने पहिलो एसियाली नागरिक बनेका हुन् ।

    ब्लुमबर्गका अनुसार मंगलबारसम्म अडानीको कुल सम्पत्ति १ खर्ब ३७ अर्ब अमेरिकी डलर पुगेको छ । यो दोस्रो स्थानमा रहेका अमेजनका मालिक जेफ बेजोसकोभन्दा १६ अर्ब डलर कम हो । बेजोसको कुल सम्पत्ति १ अर्ब ५३ डलर छ ।

    विश्वकै धनाढ्य व्यक्तिको रुपमा विद्युतीय कार निर्माता टेस्लाका मालिक एलन मस्क रहेका छन् । उनको सम्पत्ति २ खर्ब ५१ अर्ब डलर रहेको छ ।

    अडानीको सम्पति सन् २०२२ मा मात्रै ६०.९ अर्ब डलरले बढेको छ । यता, अडानी ग्रुपको सेयर भाउ सन् २०२० यता १००० प्रतिशतभन्दा धेरैले बढेको छ ।

    अडानी ग्रुप भारतकै ठूलो व्यापारिक समूहमध्ये एक हो । ६० वर्षीय अडानीले डेटा सेन्टर, सिमेन्ट, बन्दरगाह, विमानस्थल अपरेटर, सिटी ग्यास वितरक, कोइला लयागत व्यवसाय संचालन गरेका छन् ।

  • पाकिस्तानमा बाढी, १ हजार भन्दा बढी मानिसको मृत्यु

    पाकिस्तानमा बाढी, १ हजार भन्दा बढी मानिसको मृत्यु

    इस्लामावाद । बाढीले धेरै जनधनको क्षति गरेपछि पाकिस्तानले अन्तर्राष्ट्रिय सहयोगका लागि अपिल गरेको छ । अमेरिका, बेलायत, संयुक्त अरब एमिरेट्स र अरू देशहरूले सहयोग उपलब्ध गराउँदै आए पनि अझै धेरै सहयोगको आवश्यकता रहेको पाकिस्तानले बताएको बीबीसीले जनाएको छ । यो वर्ष जुनयता धेरै पानी परेर आएको बाढीका कारण पाकिस्तानमा ज्यान गुमाउनेको सङ्ख्या १ हजार ३३ जना पुगेको छ । भने दशौँ हजार विस्थापित भएका त्यहाँको राष्ट्रिय विपद् व्यवस्थापन निकायले जनाएको छ।

    देशको उत्तरपश्चिममा पर्ने खैबर पक्तुन्वा प्रान्तमा नदीका तटबन्धहरू भत्किएपछि ठूला बाढी आउँदा कयौँ मानिस विस्थापित भएका छन् । बाढीले विस्थापित भएकाहरु राहतको पर्खाइमा छन् । बाढी प्रभावितका लागि आफूले सक्दो सहयोग गरिरहेको पाकिस्तान सरकारले जनाएको छ । दक्षिण पूर्वमा अवस्थित सिन्ध प्रान्तमा पनि हजारौँ मानिसहरू विस्थापित भएका छन् । आर्थिक समस्यासँग जुधिरहेको पाकिस्तानमा विपत्तिले झनै समस्या निम्त्याएको छ । पाकिस्तानमा हरेक वर्ष बाढीको जोखिम हुने गरेको भए पनि यसपालि फरक खालको वर्षा भएकाले धेरै जनधनको नोक्सानी भएको मौसमविद्हरुले बताएका छन् ।

  • एसिया कप : बहुचर्चित खेलमा पाकिस्तानलाई भारतले हरायो

    एसिया कप : बहुचर्चित खेलमा पाकिस्तानलाई भारतले हरायो

    काठमाडौं । एसिया कप टी–२० क्रिकेट प्रतियोगितमा भारत र पाकिस्तानबीचको खेलमा भारत विजयी भएको छ । यी दुई मुलुकबीचको भिडन्तलाई विश्व क्रिकेटमा ‘हाइ भोल्टेज म्याच’का रुपमा चिनिन्छ । आइतबार राति भएको समूह ए अन्तर्गत भएको खेलमा भारतले पाकिस्तानलाई ५ विकेटले हराएको हो । दुबईमा भएको खेलमा पाकिस्तानले दिएको १४८ रनको लक्ष्य भारतले २ बल खेल्न बाँकी छदा ५ विकेटको क्षतिमा भेटायो ।

    भारतका ओपनिङ ब्याट्सम्यान केएल राहुल पाकिस्तानका नीशम शाहको बलमा पहिलो ओभरमै बोल्ड भर्एका थिए । कप्तान रोहित शर्मा १२ रनमा आउट भए । विराट कोहलीले ३५ रन बनाए । सूर्यकुमार यादव २१ बलमा २४ रन बनाएर आउट भए। रविन्द्र जडेजा र हार्दिक पाण्ड्याबीच पाँचौ विकेटका लागि ५२ रनको साझेदारी भएपछि भारतको जितको आधार बन्यो । जडेजा अन्तिम ओभरको पहिलो बलमा ३५ रनमा आउट भए।

    विजयी छक्का प्रहार गरेका पाण्ड्याले नटआउट ३३ रन जोडे। बलिङमा पाकिस्तानका नवाजले तीन विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले १ बल खेल्न बाँकी छदा १४७ रनमा अलआउट भएको थियो । पाकिस्तानका लागि ओपनर मोहमद रिजवानले सबैभन्दा बढी ४३ रन बनाए । बलिङमा भारतका भुवनेश्वर कुमारले ४ विकेट लिए।

  • विष्फोट गरेर ढालियो भारतमा अवैध रूपमा बनाइएका दुई गगनचुम्बी भवन

    विष्फोट गरेर ढालियो भारतमा अवैध रूपमा बनाइएका दुई गगनचुम्बी भवन


    काठमाडौं । भारतको नोयडामा अवैध रूपमा बनाइएका दुई गगनचुम्बी भवन ध्वस्त पारिएको छ।

    आइतबार दिउँसो नेपाली समयअनुसार पौने तीन बजे ती दुई भवन भत्काइएको हो।

    राजधानी नयाँदिल्लीसँग जोडिएको उत्तर प्रदेशको नोयडामा रहेका दुईमध्ये एउटा भवन एक सय मिटर र अर्को ९७ मिटर अग्ला थिए। उनीहरूको नाम एपेक्स र सियान राखिएको थियो।

    टावर भएको स्थान वरिपरि धुवा फैलिएको छ। विष्फोटले आसपासका क्षेत्रमा रहेका भवनमा क्षति भए-नभएको भने एकिन भइसकेको छैन।

    नोएडाको सेक्टर ९३ए मा रहेको विवादास्पद ट्विन टावर करिब ३७०० किलो बारूदले ध्वस्त पारेको हो ।

    एपेक्स र केएन नामका टावरहरू सुपरटेक बिल्डरले बनाएका हुन्। यी ३० तले भवनहरूलाई ट्विन टावर भनिन्थ्यो। यी टावरको उचाइ ३२० फिट भन्दा बढी छ।

    भारत हालसम्म भत्काइएका मध्ये सबैभन्दा ठूलो भवन यही हो। मानिसको सुरक्षालाई ध्यानमा राख्दै यी भवन नजिक रहेका मानिसहरूलाई घर खाली गर्न पनि भनिएको थियो ।

    ती भवनलाई अवैध भएर भत्काउन लागिएको हो। टावरहरू इम्प्लोसन टेक्नोलोजीको प्रयोग गरेर भत्काइएको हो। सो टेक्नोलोजीबाट केही सेकेन्डभित्र नै भवन भत्किएको छ।

    अगस्ट २०२१ मा भारतको सर्वोच्च अदालतले ट्विन टावरहरू भत्काउन आदेश दिएको थियो। यी टावर भत्काउनको लागि नजिकैका दुई सोसाइटीका करिब पाँच हजार बासिन्दाले घर खाली गरेका छन् ।

    भवन भत्काउन र भत्काएपछिको सफाइमा लाग्ने सबै खर्च कम्पनीले व्यहोरेको छ ।

  • बर्नमाउथविरुद्ध लिभरपुलले गर्यो ९ गोल

    बर्नमाउथविरुद्ध लिभरपुलले गर्यो ९ गोल

    काठमाडौं\एजेन्सी । इंग्लिस प्रिमियर लिगमा गत राती लिभरपुलले बर्नमाउथमाथि सानदार जित निकालेको छ । उसले बर्नमाउथलाई ९–० को विशाल अन्तरले हरायो । लिभरपुलको जितमा डियाज र फिर्मिन्होले २–२ तथा इलियोट, आर्नोल्ड, डाइक र कार्भाल्होले १–१ गोल गरे। लिभरपुलले एक गोल आत्मघाती उपहार पायो । खेलको तेस्रो मिनेटमा डियाजले गोल गर्दै टिमलाई सुरूआती अग्रता दिलाए। छैठौं मिनेटमा इलियोटले गोल गर्दै लिभरपुलको अग्रता दोब्बर पारेका थिए । २८ औं मिनेटमा आर्नोल्डले गोल गर्दै टिमको अग्रता तेब्बर पारे ।

    ३१ औं मिनेटमा फिर्मिन्होले गोल गर्दै ४ गोल पुर्याए । खेलको ४५ औं मिनेटमा डाइकले गोल गरेपछि पहिलो हाफमा लिभरपुल ५ गोलले अगाडी थियो । दोस्रो हाफको सुरूमै क्रिसले आत्मघाती गोल गरे । ६२ औं मिनेटमा फिर्मिन्होले व्यक्तिगत दोस्रो गोल गर्दा लिभरपुल ७ गोलले अगाडी बढ्यो । ८१ औं मिनेटमा कार्भाल्होले गोल गरे । ८५ औं मिनेटमा डियाजले व्यक्तिगत दोस्रो गोल गर्दै लिभरपुललाई ९ गोलको अन्तरको जित निश्चित गरे ।

  • यूरोपमा चरम खडेरी, ५ सय वर्षयताकै खराब भएको रेकर्ड

    यूरोपमा चरम खडेरी, ५ सय वर्षयताकै खराब भएको रेकर्ड

    काठमाडौं\एजेन्सी । युरोपेली सङ्घले हाल युरोपमा जारी चरम खडेरी पाँच सय वर्षयताकै खराब भएको बताएको छ । खडेरीका कारण यस महादेशका झन्डै दुई तिहाइ क्षेत्रमा कुनै न कुनै प्रकारको चेतावनी जारी गरिएको छ । बीबीसीका अनुसार सङ्घले यो खराब अवस्था पाँच वर्षयताको खराब भएको बताएको छ । युरोपमा ४७ प्रतिशत भू–भागमा माटोको चिसोपना सुकेको र थप १७ प्रतिशत भू–भागमा खडेरीको प्रभाव पर्न थालेको सङ्घले उल्लेख गरेको छ । खडेरीका कारण उत्पादनमा असर पर्नुको साथै डढेलो बढाउने चेतावनी दिइएको छ ।

    खडेरीका कारण सन् २०२२ मा अघिल्ला पाँच वर्षको औसत उत्पादनको तुलनामा मकैको उत्पादन १६ प्रतिशतले, सोयाबिन १५ प्रतिशतले र सूर्यमुखी तेल १२ प्रतिशतले घट्ने युरोपेली सङ्घको अनुमान छ । यस्तै युरोपका सबैजसो नदीमा पानीको मात्रा घटेको छ । यसले पारवाहन र जलविद्युत् उत्पादनमा पनि समस्या बढेको छ । खडेरीका कारण युरोपेली नदी घटिरहँदा नदीमुनि छोपिएका ऐतिहासिक अवशेष बाहिरबाटै देखिन थालेका बीबीसीले जनाएको छ ।

  • भारतमाथिको फिफाको निलम्बन फुकुवा

    भारतमाथिको फिफाको निलम्बन फुकुवा

    काठमाडौं । भारतमाथि फिफाले गरेको निलम्बन फुकुवा भएको छ । तेस्रो पक्षको हस्तक्षेप भएको भन्दै अल इन्डिया फुटबल फेडेरेसन (एआइएफएफ)लाई विश्व फुटबल महासंघ फिफाले निलम्बन गरेको थियो । निलम्बन दुई साता नबित्दै फिर्ता भएको हो । शनिबार बिहान फिफा काउन्सिलले भारतीय फुटबलमाथि लागेको सबै निलम्बन फिर्ताको निर्णय गरेको हो ।

    भारतको सर्वोच्च अदालतले कार्यकारी समिति निर्माण गरेपछि तेस्रो पक्षको हस्तक्षेप ठहर गरी फिफाले गत साउन ३१ गते निलम्बन गरेको हो । ‘अदालतबाट स्थापित कमिटीको नियन्त्रणबाट एआइएफएफ स्वतन्त्र भएको हामीले पाएका छौं । फिफा र एएफसीले त्यहाँको आगामी परिस्थितिबारे पनि निगरानी राख्नेछ’ फिफाको वक्तव्यमा भनिएको छ, ‘हामी निर्धारित समयमै निर्वाचन गराउन एआइएफएफलाई सहयोग गर्नेछौं ।’

    फिफाले आगामी अक्टोबर ११ देखि ३० सम्म हुने तय भएको फिफा यू–१७ महिला विश्वकप पूर्वनिर्धारित मिति र स्थानमै हुने जनाएको छ । निलम्बन हटेसँगै आसन्न साफ महिला च्याम्पियनसिपमा पनि भारतको सहभागिता निश्चित छ । यसपल्ट दक्षिण एसियाका सातै देशको सहभागिता तय भएकोमा भारतीय फुटबलमाथि निलम्वनले संसय बढेको थियो । साफ महिला च्याम्पियनसिप भदौ २१ देखि असोज ३ सम्म काठमाडौँमा हुँदैछ ।

  • केन्यालाई नेपालले हरायो

    केन्यालाई नेपालले हरायो

    काठमाडौं । केन्यालाई नेपालले हराएको छ । पहिलो टी–२० अन्तर्राष्ट्रियमा नेपाल ५ विकेटले विजयी भएको हो । नैरोबीस्थित जिमखना क्रिकेट मैदानमा बिहीबार भएको खेलमा केन्याले दिएको १३१ रनको लक्ष्य नेपालले १९.२ ओभर खेल्दै ५ विकेट गुमाएर १३३ रन बनाउँदै पूरा गरेको हो । यस जितसँगै नेपालले पाँच खेलको शृंखलामा १–० को अग्रता लिएको छ । भिसा समस्याका कारण नेपाली टोली चार चरणमा गरेर केन्या गएका थिए ।

    दोस्रो चरणमा गएका सोमपाल कामी र विवेक यादव तथा तेस्रो चरणमा गएका आदिल आलमले केन्या विरुद्ध पहिलो खेल खेल्न भ्याए । आजको खेलमा ६ महिनापछि ज्ञानेन्द्र मल्लले राष्ट्रिय टिममा पुनरागमन गरे । नेपालका लागि दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ३१ रन बनाउँदा आसिफ शेख र ज्ञानेन्द्र मल्लले १९÷१९ रन जोडे । उपकप्तान रोहित पौडेलले १५ रन जोडे । आरिफ शेखले अविजित २१ रन बनाए ।

    नैरोबीस्थित जिमखान क्रिकेट ग्राउण्डमा टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोली केन्याले ८ विकेट गुमाएर १३० रन बनाएको थियो । केन्याका लागि इरफान करिमले सर्वाधिक ३४ रन बनाए । बलिङमा नेपालका लागि सोमपाल कामीले ३ तथा कप्तान सन्दीप लामिछानेले २ विकेट लिए ।

  • स्वतन्त्रता दिवसकै दिन युक्रेनमा रुसको आक्रमण, कम्तिमा २२ जना मारिए

    स्वतन्त्रता दिवसकै दिन युक्रेनमा रुसको आक्रमण, कम्तिमा २२ जना मारिए

    काठमाडौं\बीबीसी । युक्रेनी रेल स्टेसनमा रुसले गरेको रकेट हमलामा परी २२ जनाको मृत्यु भएको युक्रेनले जनाएको छ। मस्कोले युक्रेनमा आक्रमण सुरु गरेको ६ महिना पूरा भएको दिन उक्त घटना भएको हो। पूर्वी सहर च्याप्लिनमा भएको आक्रमणका पीडितमध्ये पाँच जनाको सवारी साधन भित्रै जलेर मृत्यु भएको बताइएको छ। आक्रमणमा परी एक ११ वर्षीय बालकको पनि मृत्यु भएको छ। राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्को बैठकबीच आक्रमणबारे जानकारी दिएका थिए।

    आक्रमणमा परी ५० जना घाइते भएको उनले बताए। यस विषयमा रुसले हालसम्म कुनै प्रतिक्रिया जनाएको छैन। उसले पटकपटक आफूहरूले नागरिक पूर्वाधारलाई लक्षित गरी आक्रमण नगरेको बताउँदै आएको छ। जेलेन्स्कीले आफू सुरक्षा परिषद्मा बोल्ने तयारी गरिरहेको बेला निप्रोपेट्रोभ्स्क क्षेत्रको च्याप्लिनमा भएको प्रहारबारे थाहा पाएको बताए र भने, संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्को बैठकको लागि रुसले यस्तो तयारी गरेको छ।’

    अहिले चार वटा यात्रुवाहक सवारी साधनमा आगलागी भएको छ। त्यहाँ मृत्यु हुनेको सङ्ख्या बढ्न सक्छ, उनले भने। गत एप्रिलमा फरक रेल स्टेसनमा भएको आक्रमणमा ५० भन्दा बढी मानिसको मृत्यु भएको थियो। युक्रेनले बुधवार आफ्नो स्वतन्त्रता दिवस मनाएको छ र जेलेन्स्कीले यसअघि नै उक्त अवसरको उत्सवमा रुसले वाधा पुर्‍याउन क्रूर कार्य गर्न सक्ने बताएका थिए।

    यसअघि उनले मस्कोको सेनालाई जापोरीजा परमाणु ऊर्जा केन्द्रलाई युद्ध क्षेत्रमा परिणत गरेको आरोप लगाएका थिए। उनका अनुसार त्यहाँ भएको बमबारीका कारण केन्द्र र युरोपका मानिसहरू जोखिममा परेको र विश्वलाई परमाणु विपद्को नजिक पुर्‍याएको थियो। संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरसले यस अर्थहीन युद्धका कारण युक्रेन र त्यहाँ बाहिरका लाखौँ मानिसहरूलाई चरम गरिबीमा धकेल्न सक्ने चेतावनी दिए।

  • भ्रष्टाचार अभियोग पुष्टी भएपछि मलेसियाका पूर्वप्रधानमन्त्री रजक १२ वर्ष जेल चलान

    भ्रष्टाचार अभियोग पुष्टी भएपछि मलेसियाका पूर्वप्रधानमन्त्री रजक १२ वर्ष जेल चलान

    क्वालालाम्पुर । भ्रष्टाचार अभियोग पुष्टी भएसँगै मलेसियाका पूर्वप्रधानमन्त्री नजिब रजकलाई १२ वर्ष जेल सजाय तोकिएको छ। मलेसियाको उच्च अदालतले उनको अपील अस्वीकार गरेसँगै नजिब जेल चलान भएका हुन् । सरकारी स्वामित्वमा रहेको स्वास्थ्य कोष वान मलेसिया डेभलभमेन्ट बरहाड (वानएमडीबी) दुरूपयोग गरेको अभियोगमा ६९ वर्षीय पूर्वप्रधानमन्त्रीलाई जेल सजाय तोकिएको हो। उनलाई सन् २०२० को जुलाईमा दोषी ठहर गरिएको थियो, तर पुनरावेदनका क्रममा जमानतमा छुटेका थिए।

    उनीमाथिको दण्ड ढिलाई गर्न नजिबले गरेको अनुरोधलाई अदालतले अस्वीकार गरेको छ। आफूले कुनै गलत काम नगरेको उनले निरन्तर बताउँदै आएका छन्। नजिबले आफू निर्दोष रहेको दाबी गर्दै आफ्ना आर्थिक सल्लाहकारले फसाएको बताएका छन्। सन् २०२० मा एक अदालतले नजिबलाई विभिन्न सात वटा अभियोगमा दोषी पाएको थियो। उनलाई करिब ४ करोड २० लाख मलेसियाली रिंगीट (एक करोड ३ लाख डलर) भ्रष्टाचार गरेको आरोप लागेको छ।

    नजिबले आफू प्रधानमन्त्री हुँदा सन् २००९ मा मलेसियाको आर्थिक विकासका लागि भन्दै ‘दि वान मलेसिया डेभलपमेन्ट बर्हार्ड फन्ड’ स्थापना गरेका थिए। उक्त कोषबाट लाखौं डलर निजी खातामा राखेको पाइएपछि अनुसन्धान थालिएको थियो। उक्त रकम रियल स्टेट, निजी विमान, हलिउड फिल्मलगायतमा लगानी गरेको भेटिएको थियो। रजाक सन् २००८ देखि २०१८ सम्म मलेसियाको प्रधानमन्त्री थिए ।

  • भारतीय सेनाध्यक्ष पाण्डे नेपाल भ्रमणमा आउने

    भारतीय सेनाध्यक्ष पाण्डे नेपाल भ्रमणमा आउने

    काठमाडौं । भारतीय स्थल सेनाअध्यक्ष मनोज पाण्डे १९ भदौमा नेपाल भ्रमणमा आउने भएका छन् । उनी ५ दिने भ्रमणमा नेपाल आउन लागेका हुन् । नेपाल–भारत दुवै मुलुकका सेना प्रमुखलाई एकअर्काको मुलुकमा मानार्थ महारथीको सम्मान दिने परम्परा अनुसार उनी नेपाल आउन लागेका हुन् । उनी नेपाली सेनाको मानार्थ महारथीको सम्मान पाउने १९ औं भारतीय सैन्य अधिकारी हुन्छन् ।

    पाण्डेले नेपाल भ्रमणका बेला काठमाडौंका ऐतिहासिक सम्पादा र पशुपतिनाथको पनि दर्शन गर्ने कार्यक्रम छ । नेपाली सेनाका अनुसार सन् १९५० देखि नेपाल र भारतबीच एकअर्काको देशमा मानार्थ महारथीको सम्मान दिने चलन रही आएको छ । तत्कालीन भारतीय सेनाध्यक्ष जनरल केएम करिअप्पाले नेपालमा आएर पहिलो पटक मानार्थ महारथीको सम्मान लिएका थिए ।

  • फिनल्याण्डकी प्रधानमन्त्री मरिनले लागुऔषध सेवन गरेको पुष्टी भएन

    फिनल्याण्डकी प्रधानमन्त्री मरिनले लागुऔषध सेवन गरेको पुष्टी भएन

    काठमाडौं\एजेन्सी । फिनल्याण्डकी प्रधानमन्त्री सन्ना मरिनले लागुऔषध सेवन गरेको विषय अनुसन्धानबाट पुष्टि हुन नसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । साथीहरूसँगको पार्टीमा लठ्ठिएर नाचेको दृश्य सार्वजनिक भएपछि त्यहाँको विपक्षी दलले प्रधानमन्त्रीको स्वास्थ्य परीक्षणको माग गरेको थियो। विपक्षी दलको माग अनुसार उनले स्वास्थ्य परीक्षण गर्दा लागुऔषध सेवन नगरेको पाइएको बीबीसीले जनाएको छ।

    मरिनले गत शुक्रबार आफ्नो स्वास्थ्य परीक्षण गराएकी थिइन्। उनले आफूले मदिरा सेवन गरेको भने स्वीकार गरेकी थिइन्। शुक्रबार पत्रकार सम्मेलनमार्फत् मरिनले आफूमाथि निराधार आरोप लागेकोमा दुस्ख व्यक्त गर्दै न्यायिक सुरक्षाका निम्ति स्वास्थ्य परीक्षणको निम्ति तयार भएको बताएकी थिइन् ।

  • रुससँगको युद्धमा आफ्ना ९ हजार सैनिक मारिएको युक्रेनको पुष्टी

    रुससँगको युद्धमा आफ्ना ९ हजार सैनिक मारिएको युक्रेनको पुष्टी

    काठमाडौं\एजेन्सी । रूससँगको युद्धमा आफ्ना ९ हजार सैनिक मारिएको युक्रेनले पुष्टी गरेको छ । ७ महिनादेखि जारी युद्धमा ती सैनिकको ज्यान गएको युक्रेनले एक विवरण सार्वजनिक गर्दै जनाएको छ । युक्रेनका कमाण्डर इन चीफ जनरल भ्यालेरी जालुज्नीले युद्धका कारण बालबालिकाको हेरचाहमा विशेष ध्यान दिनुपर्ने अवस्था आएको बताए । युरोपेली सङ्घका विदेश नीति प्रमुख जोसेप बोरेलले युक्रेनका सेनालाई सैन्य प्रशिक्षण दिने विचार गरिरहेको बताएका समाचार संस्था एएफपीले जनाएको छ ।

    युक्रेनले भोलि आफ्नो ३१औँ स्वतन्त्रता दिवस समेत मनाउँदैछ । दिवसका अवसरमा ठूला आक्रमणका घटना हुनसक्ने आशङ्कामा पर्सि बिहीवार बिहानसम्म सामूहिक कार्यक्रम गर्न रोक लगाइएको छ । देशको दोस्रो ठूलो सहर खार्किभमा आज बेलुकादेखि कर्फ्युको घोषणा गरिएको बीबीसीले जनाएको छ । रुसी सेनाले राजधानी कीएभ कब्जा गर्ने तयारी गरे पनि असफल भएपछि युक्रेनको पूर्वी भू–भागमा आक्रमणलाई केन्द्रित गरेको छ । रुस–युक्रेन युद्धका कारण ऊर्जा इन्धन र खाद्यान्नको मूल्य आकासिएको छ । युद्धको प्रभाव विश्वभर नै परेको छ।

  • अदालतलाई धम्क्याएको आरोपमा पूर्वप्रधानमन्त्री इमरान खानविरुद्ध पाकिस्तानमा अनुसन्धान शुरु

    अदालतलाई धम्क्याएको आरोपमा पूर्वप्रधानमन्त्री इमरान खानविरुद्ध पाकिस्तानमा अनुसन्धान शुरु

    कराँची । पाकिस्तानी प्रहरीले पूर्वप्रधानमन्त्री इमरान खानमाथि अनुसन्धान थालेको बताएको छ । शनिवार एक राजनीतिक मन्तव्य दिएपछि उनी विरुद्ध प्रहरी र न्यायपालिकालाई धम्काएको आरोप लागेको छ। यी पूर्व शीर्ष नेताका समर्थक उनको घर बाहिर जम्मा भएका छन् र उनी गिरफ्तारीमा परेमा आफूहरूले परिस्थिति नियन्त्रणमा लिने बताएपछि देशमा तनाव चुलिएको बीबीसीले लेखेको छ । गत अप्रिलमा सत्ताच्युत भएदेखि खान सरकार र देशको सेनाको कडा आलोचक बनेका छन्।

    क्रिकेट खेलाडीबाट राजनीतिज्ञ बनेका खानले आफू निकट सहयोगीलाई यातना दिएको आरोप लागेपछि प्रहरीले उनीमाथि अनुसन्धान सुरु गरेको हो। यद्यपि, ती सहयोगी स्वयं देशद्रोहको आरोपमा हाल हिरासतमा छन्। शनिवार दिएको सार्वजनिक मन्तव्यमा खानले आफ्नो पार्टी सहकर्मीलाई हिरासतमा राखेको र दुर्व्यवहार गरेकोबारे इस्लामावादका प्रहरी प्रमुख र एक महिला न्यायाधीशको आरोपको खण्डन गरे।

    ‘तिमीहरू पनि तयार रहनु। हामी तिमीहरू विरुद्ध पनि कारबाही गर्छौँ,’ उनले भाषणको क्रममा उनीहरू दुवैलाई चेतावनी दिएका थिए । प्रहरी अनुसन्धानकर्ताहरूका अनुसार खानले राज्यका अधिकारीहरू विरुद्ध धम्की दिएको आरोपलाई आधार मान्ने हो भने उनले देशको आतङ्कवाद विरोधी कानुन उल्लङ्घन भएको हुन सक्छ।


    प्रहरीले उनी विरुद्ध अनुसन्धान सुरु गरेको खबर सार्वजनिक भएपछि पूर्व प्रधानमन्त्री खानका सयौँ समर्थकहरू इस्लामावादस्थित उनको निवासबाहिर भेला भए र यदि उनलाई पक्राउ गर्ने कोसिस भएमा राजधानी नियन्त्रणमा लिने बताए। त्यहाँ उपस्थित प्रहरीले भने आफूहरू खानलाई पक्राउ गर्न नभइ शान्ति तथा सुरक्षा व्यवस्थापनका लागि त्यहाँ खटिएको बताए।

  • काठमाडौंको फोहोर व्यवस्थापनमा सहयोग गर्न कोरियासँग सभामुखको प्रस्ताव

    काठमाडौंको फोहोर व्यवस्थापनमा सहयोग गर्न कोरियासँग सभामुखको प्रस्ताव

    काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले काठमाडौंको फोहोर व्यवस्थापनमा सहयोग गर्न दक्षिण कोरियासँग प्रस्ताव गरेका छन् । नेपाल भ्रमणमा रहेको दक्षिण कोरियाको संसदीय प्रतिनिधि मण्डलसँग भेट्दै उनले फोहोरमैला व्यवस्थापनमा सहयोगको अपेक्षा गरिएको बताएका हुन् । सिहदरबारस्थित कार्यकक्षमा भएको भेटमा सभामुख सापकोटाले भने, ‘फोहोरमैला व्यवस्थापनमा दक्षिण कोरियाले अब्बल सावित गरेको छ, अन्य सहरमा पनि सहयोगको कुरा छ, काठमाडौंको फोहोरमैला व्यवस्थापनमा कोरियाली सहयोगको अपेक्षा गरेका छौं ।’

    आर्थिक र सामाजिक विकासमा दक्षिण कोरियाको निरन्तर सहयोगका लागि आभार व्यक्त गर्दै सभामुख सापकोटाले कोरियाले गरेको द्रूत विकासबाट नेपालले सिक्न चाहेको उनले बताए । भेटमा सभामुख सापकोटाले नेपालीका लागि दक्षिण कोरिया आकर्षक रोजगारीको गन्तव्य भएको चर्चा गर्दै नेपाली कामदारको कोरियामा प्रशंसा भएकोमा खुसी व्यक्त गरेका थिए । भेटमा दक्षिण कोरियाको संसदीय प्रतिनिधि मण्डलका तर्फबाट कोरिया नेपाल संसदीय मैत्री समूहका अध्यक्ष लिस्याङ हेयोनले आफूहरु नेपाललाई माया गर्ने सांसदहरु रहेको भन्दै आवश्यक सहयोग गर्न तयार रहेको बताएका थिए ।

    वातावरण क्षेत्र हेर्ने जिम्मेवारीमा रहेका सांसद संलग्न प्रतिनिधि मण्डलका सदस्यहरुले नेपालका विभिन्न सहरमा फोहोरमैला व्यवस्थापनमा कोरियाले सहयोग गरिरहेको बताउँदै काठमाडौंको फोहोर व्यवस्थापनका विषयमा स्वदेश फर्किएपछि गम्भीरताका साथ अध्ययन गर्ने जानकारी दिएका थिए । प्रतिनिधि मण्डलमा मैत्री समूहका अध्यक्ष लि स्याङ हेयोन सहित सांसदहरु बाइयोङ गिलएन, हृयाक योङ लि, वियोङ जु किमका साथै नेपालका लागि दक्षिण कोरियाका राजदूतपार्क चोङ सुक लगायत सहभागी थिए ।

  • मलेसियाका पुर्वप्रधानमन्त्री महाथिर भन्छन् : ताइवानमा अमेरिकाले युद्ध भड्काउन खोज्यो

    मलेसियाका पुर्वप्रधानमन्त्री महाथिर भन्छन् : ताइवानमा अमेरिकाले युद्ध भड्काउन खोज्यो

    क्वालालम्पुर । मलेसियाका पूर्वप्रधानमन्त्री महाथिर मोहम्मदले ताइवानमा अमेरिकाले युद्ध भड्काउन खोजेको आरोप लगाएका छन् ।

    लामो समयदेखि पश्चिमा देशहरूका आलोचकका रूपमा परिचित पूर्वप्रधानमन्त्री महाथिरले अमेरिकी प्रतिनिधि सभाका सभामुख न्यान्सी पेलोसी र अन्य सांसद्को भर्खरैकाे ताइवान भ्रमणले चीनप्रति अमेरिकी विरोध दर्शाउने बताउँदै बेइजिङले त्यसलाई आफ्नो आन्तरिक मामिलामा हस्तक्षेप ठानेको बताएका हुन् ।

    एक विस्तृत अन्तर्वार्तामा ९७ वर्षी पूर्वप्रधानमन्त्रीले चीनको एक अङ्गको रूपमा स्वशासित ताइवानलाई बेइजिङले एकराष्ट्र दुई प्रणालीअन्तर्गत स्वतन्त्र छाडेको बताउँदै समस्यारहित ताइवानमा अमेरिकाले युद्धका निम्ति उकासेको तर्क गरेका छन् ।

    चीनले चाहेमा जुनसुकै बेला आक्रमण गर्न सक्ने र अहिलेसम्म त्यसो नगरेकाले अब पनि आक्रमण गर्छ भन्ने आफूलाई नलागेको बताउँदै उहाँले युद्ध भएमा ताइवानलाई सघाउने बाहनामा हतियार बेच्न पाइने तथा त्यस क्षेत्रमा अस्थिरता भए आफूलाई फाइदा हुने अमेरिकाले ठानेको उल्लेख गरे ।

  • फिनल्याण्डकी प्रधानमन्त्री मरिनको लागूऔषध परिक्षण

    फिनल्याण्डकी प्रधानमन्त्री मरिनको लागूऔषध परिक्षण

    काठमाडौं । फिनल्याण्डकी प्रधानमन्त्री सान्ना मरिन मदिराले मातेर पार्टीमा नाच्दै गरेको भिडियो सार्वजनिक भएसङ्गै उनको लागूऔषध परिक्षण गरिएको छ । गत शुक्रबार सार्वजनिक भिडियोमा उनी साथीहरूसँग मातेर नाच्दै गरेको दृश्य देखिएको थियो ।

    त्यसलगत्तै फिनल्याण्डका नेताहरूले उनीमाथि छानबिन गर्नुपर्ने भन्दै दबाब दिएका थिए । सोही अनुरुप मरिनले लागूऔषध सेवन गरेको वा नगरेको पत्ता लगाउन शुक्रबार ड्रग्स परिक्षण गरिएको हो ।

    प्रधानमन्त्री मरिनले भने आफूले मदिरा सेवन गरे पनि लागूऔषध सेवन नगरेको बताएकी छन् । यस क्रममा उनले आफ्नो पनि निजी जीवन हुने र त्यस अवधिमा साथीहरूसँग रमाउँदा कानुन उल्लंघन नहुने भन्दै स्पष्टिकरण दिएकी थिइन् ।

    ‘मैले आज लागूऔषध परिक्षण गराएँ । एक साताभित्र यसको नतिजा आउनेछ । मैले जीवनभर लागूऔषध प्रयोग गरेको छैन,’ उनले पत्रकारहरूसँग भनिन् ।

    प्रधानमन्त्री मरिनले प्रसिद्ध कलाकारहरूसँग पार्टीमा मदिरा सेवन गरी नाचिरहेको भिडियो सार्वजनिक भएसँगै विश्वभर सामाजिक सञ्जालमा भाइरल बनेको छ । प्रधानमन्त्री मरिनले भने उक्त भिडियो सार्वजनिक गरिएकोमा दुखी बनेको प्रतिक्रिया दिएकी छन् ।

    यद्यपि लागूऔषध परिक्षण गर्नका लागि उनलाई विपक्षी दलसहित चौतर्फी दबाब आएको थियो । मरिन सन् २०१९ मा प्रधानमन्त्री बन्दा संसारकै सबैभन्दा कम उमेरको सरकार प्रमुखको रुपमा चिनिएकी थिइन् । सोसल डेमोक्रेटिक पार्टीबाट प्रधानमन्त्री बन्दा उनको उमेर ३३ वर्ष मात्रै थियो ।

  • संकटग्रस्त श्रीलंकाको आर्थिक सङ्कुचन ८ प्रतिशतभन्दा धेरै हुने

    संकटग्रस्त श्रीलंकाको आर्थिक सङ्कुचन ८ प्रतिशतभन्दा धेरै हुने

    कोलम्बो । श्रीलङ्काको आर्थिक मन्दीका कारण यस वर्ष कम्तीमा ८ प्रतिशतले संकुचन आउने तर सर्वसाधारणले चाँडै नै मुद्रास्फीतिबाट केही राहतको अपेक्षा गर्न सक्ने श्रीलङ्काको केन्द्रीय बैंकका प्रमुखले बिहीबार बताएका छन् ।

    गत अप्रिलमा ५१ अर्ब अमेरिकी डलर बराबरको वैदेशिक ऋण नतिरेको यो टापु राष्ट्रले महिनौंसम्म खाद्यान्न, इन्धन र औषधिको अभाव भएपछि अन्तर्राष्ट्रिय मुद्रा कोषको सहुलियत कर्जाको माग गरिरहेको छ ।

    यसको दुई करोड २० लाख मानिसहरूले पनि लामो समयसम्म लोडसेडिङ, अभाव र मुद्रास्फीतिापछि जीवनयापनको लागतको बढ्दो दबाबबाट गुज्रेका छन् । श्रीलङ्काको केन्द्रीय बैंकले सन् २०२० मा ३.६ प्रतिशतले संकुचन आएकोमा सन् २०२० मा अर्थतन्त्र ७.५ प्रतिशतले खुम्चिने प्रक्षेपण गरिसकेको छ ।

    कोलम्बोका गभर्नर नन्दलाल वीरासिङ्घेले भने, ‘हामीलाई लाग्छ कि यो ८.० प्रतिशतभन्दा बढी हुनेछ ।’ आधिकारिक रूपमा ६०.८ प्रतिशतको हाराहारीमा रहेको मुद्रास्फीति सेप्टेम्बरमा ‘करिब ६५ प्रतिशत’ पुग्ने र त्यसपछि मागमा आएको कमी र आपूर्तिमा आएको सुधारका कारण क्रमिक रूपमा केही सहज हुने उनले बताए।

    मुद्राको राम्रो प्रवाह र कम आयातका कारण आर्थिक सङ्कट निम्त्याएको विदेशी विनिमयको अभाव कम भएको उनले बताए । ‘हामी अहिले पेट्रोल, डिजेल र औषधिजस्ता अति आवश्यक आयातका लागि लगानी गर्न सक्षम भएका छौं,’ वीरासिंघेले बताए ।

    श्रीलङ्कामा इन्धनको चरम अभावको चरणमा मोटर चालकहरूले इन्धन भर्न हप्तौं पर्खनु परेको थियो, तर ईन्धन वितरणलाई प्राथमिकताका आधारमा व्यवस्थित गरिएपछि इन्धन स्टेसनका लाइनहरूलाई छोटो बनाएको छ ।

    गत महिना ठूलो भीडले आफ्नो सरकारी निवासबाट भाग्न बाध्य भएका राष्ट्रपति गोटाबाया राजापाक्षले राजीनामा दिएपछि अर्थतन्त्र धराशायी भएको विरोधमा महिनौंदेखि जारी विरोध प्रदर्शनको परिणति भएको थियो ।

    राजापाक्षमाथि टापु राष्ट्रको अर्थतन्त्रलाई यस्तो अवस्थामा पुर्याएकाे आरोप लागेको छ, जहाँ उसले अति आवश्यक आयातका लागि समेत लगानी गर्न सकेको थिएन ।

    त्यसपछि उनी थाइल्याण्ड गएका थिए । उनका निकट सहयोगीहरूले राजापाक्ष स्वदेश फर्कन आतुर रहेको बताएका छन् । राजापाक्षमाथि भ्रष्टाचारको आरोप लागेको थियो जुन राष्ट्रपतिको उन्मुक्तिको कारण निलम्बन गरिएको थियो ।

    गत महिना भएको राजनीतिक उथलपुथलका कारण अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) सँगको वार्ता अवरुद्ध भएको थियो, तर अन्तिम उपायको अन्तर्राष्ट्रिय ऋणदाताको एक प्रतिनिधिमण्डल अगस्टको अन्त्यअघि कोलम्बोमा हुने अपेक्षा गरिएको छ ।

    वीरासिंघेले औपचारिक बेलआउट सम्झौता अघि यसै महिनाको अन्त्यमा कोषसँग कर्मचारी स्तरको सम्झौतालाई अन्तिम रूप दिनेमा आफू आशावादी रहेको बताए ।

  • यूरोपमा आँधी, कम्तिमा १३ को मृत्यु

    यूरोपमा आँधी, कम्तिमा १३ को मृत्यु

    पेरिस । यूरोपका विभिन्न भेगमा आएको विनासकारी आँधीले कम्तिमा १३ जना मारिएका छन् । अन्तरांष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार बिहीबार मध्य युरोपमा आएको घातक आँधीमा परी उक्त मानवीय क्षति भएको हो । आँधीका कारण त्यत्तिकै संख्यामा मानिस घाइते भएका छन् । आँधीले सैयौं घरमा क्षति पुर्याएको छ । फ्रान्सको कोर्सीका टापुमा बिहीबार बिहान आएको भीषण आँधी र हुरी बतासका कारण पाँच जनाको मृत्यु हुनुका साथै दर्जनौं मानिस घाइते भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।

    तीन दिनको तीव्र वर्षापछि बिहीबार परेको चट्याङले पाँच जनाको ज्यान गएको कोर्सीकन प्रहरीलाई उल्लेख गर्दै स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । इटालीको टुस्कनी क्षेत्रमा शक्तिशाली हावाहुरी चल्दा कम्तीमा दुई जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् । दक्षिणी अस्ट्रियामा तीन वयस्क र दुई साना बालबालिकाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन् ।

    इटालियन नागरिक सुरक्षा एजेन्सीका अनुसार १०० जनाभन्दा बढी मानिसहरूलाई उद्दार गरी स्कुल र जिम केन्द्रमा आपतकालीन आवासमा राखिएको छ ।२२४ किलोमिटर प्रति घण्टाको गतिमा आएको असिना, भारी वर्षा र हावाले दुर्घटना निम्त्याएको फ्रान्सेली अधिकारीहरुले उल्लेख गरेका छन् ।

    स्थानीय फ्रान्सेली सञ्चारमाध्यमका अनुसार प्रमुख पर्यटकीय गन्तव्य कोर्सीकामा ज्यान गुमाउनेमा १३ वर्षीया बालिका र उनी बसेको शिविरकै एक ७२ वर्षिया महिला छन् जसको कारलाई समुद्री तटको बंगालाको छत खसेर चेपेको थियो । इटालीको लुक्कामा एक पुरुष र कारारामा एक महिला गरी दुवैको रूख ढलेर मृत्यु भएको इटालियन सञ्चारमाध्यमले जनाएका छन् ।

    इटालीकै मारिना डि मासाको समुद्री किनार शिविरमा रहेका व्यक्तिको गाडीमा स्थानीय घरको छाना खसेर चार जना घाइते भएका छन् । ती चारै जनालाई बारगा सहरको अस्पतालमा भर्ना गरिएको छ । आँधीले भेनिस सहरका केही भवनलाई पनि क्षति पुर्‍याएको छ ।

    १२० देखि २२४ किलोमिटर प्रति घण्टासम्मको तीव्र हावा र मुसलधारे वर्षाले बिहीबार इटाली, स्पेन, अस्ट्रिया फ्रान्स लगायतका देशमा रुखहरू ढलेर बाढी आएको छ । मिलान सहरका अधिकारीहरूले नागरिकहरूलाई पार्किङ वा रूखमुनि हिँड्नबाट जोगिन र उनीहरूको बालकोनीमा राखिएका वस्तु हटाउन आग्रह गरेका छन् ।

  • जापानमा एकै दिन साढे २ लाखमा भेटियो कोरोना

    जापानमा एकै दिन साढे २ लाखमा भेटियो कोरोना

    टोकियो । जापानमा एकै दिन साढे २ लाख मानिसमा कोरोना संक्रमण भएको पाइएको छ । त्यहाँको स्वास्थ्य मन्त्रालयको आंकडा अनुसार एकैदिन २ लाख ५५ हजार पाँच सय ४२ जनामा कोभिड पुष्टी भएको हो । ४ लाख ८२ हजार २२७ जनामा परिक्षण गर्दा ती मानिसमा कोरोना देखिएको हो । यो सङ्ख्या हालसम्मकै सबैभन्दा बढी भएको समाचारमा उल्लेख छ । यसअघि जापानमा एकै दिनमा दुई लाख ५० हजार चार सय तीन जनामा सङ्क्रमण देखिएको थियो। पछिल्लो २४ घन्टामा जापानमा २ लाख ४४ हजार २४१ जना संक्रमणमुक्त भएका छन्।

    कोभिडका कारण देशभर एकै दिनमा २ सय ८७ जनाको मृत्यु भएको छ। टोकियो महानगरमा मात्र बिहिबार २७ हजार ४ सय ५३ नयाँ सङ्क्रमित थपिएका छन् । जापानका स्वास्थ्य अधिकारीहरूले कोभिड (१९ को यो सातौ लहरले देशको स्वास्थ्य पद्धतिलाई दबाबमा पारेको र अस्पतालमा शैय्या पाउन कठिन भएको बताएका छन्।

    अहिले जापानमा सक्रिय संक्रमितको संख्या २१ लाख ५२ हजार ३३६ जना छन्। जापानमा हालसम्म ३५९२७ जनाको कोरोना संक्रमणकै कारण ज्यान गएको छ। उता, दक्षिण कोरियामा पनि १ लाख ८० हजार ६५२ जनामा संक्रमण देखा परेको छ। यो सँगै दक्षिण कोरियामा १९ लाख ८० हजार ३१३ जना संक्रिय संक्रमित रहेका छन्।

  • रुस र  उत्तर कोरिया सम्बन्ध बिस्तार गर्न सहमत

    रुस र उत्तर कोरिया सम्बन्ध बिस्तार गर्न सहमत

    काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले उत्तर कोरियासँग विस्तृत र रचनात्मक द्विपक्षीय सम्बन्ध विस्तार गर्ने बताएका छन्। उत्तर कोरियाको स्वतन्त्रता दिवसका अवसरमा आफ्ना समकक्षी किम जङ अनलाई पत्र पठाउँदै उनले उक्त कदम दुवै देशको हितमा हुने बताए। त्यसको जबाफमा किमले दुई देशबीचको मित्रता दोस्रो विश्वयुद्धको समयमा जापानलाई पराजित गर्दादेखि कायम रहेको टिप्पणी गरेका छन्। उनले मित्रता अझै बलियो बन्ने विश्वास व्यक्त गरेका छन्।

    उत्तर कोरियाली सरकारी सञ्चारमाध्यम केसीएनएका अनुसार पुटिनले द्विपक्षीय सम्बन्धको विस्तारले दुई देशका स्वार्थहरूको जगेर्ना गर्ने धारणा राखेका थिए । आफ्नो पत्रमा किमले रुस(उत्तर कोरियाको मित्रताले जापानविरोधी युद्धमा आकार ग्रहण गरेको र त्यो अझ समृद्ध र विकसित भएको धारणा राखेका थिए। उक्त पत्रमा दुई देशबीचको रणनीतिक र कार्यनीतिक साझेदारी, समर्थन र ऐक्यबद्धताु नयाँ उचाइमा पुगेको र साझा मोर्चामा देखिएको साझेदारीले शत्रु फौजको सैनिक जोखिम र उत्तेजनालाईु कमजोर बनाएको जनाइएको छ।

    प्योङ्याङले शत्रु फौजको नाम लिएको छैन तर उसले उक्त शब्दावली पटक पटक अमेरिका र उसका साझेदारलाई जनाउन प्रयोग गर्दै आएको छ। सोभियत सङ्घ कुनै बेला उत्तर कोरियाको प्रमुख साझेदार रहेको थियो र उसले प्योङ्याङलाई आर्थिक सहयोग, सांस्कृतिक आदानप्रदान र वैदेशिक सहयोग उपलब्ध गराउने गर्थ्यो। तर उक्त सम्बन्ध सोभियत सङ्घको विघटनसँगै खस्किएको थियो र सन् २००० को दशको सुरुमा पश्चिमा जगतसँग रुसको सम्बन्ध चिसिँदै गएपछि बिस्तारै उक्त सहकार्य अघि बढेको थियो।


    गएको जुलाईमा रुसले पूर्वी युक्रेनमा रहेका दुई पृथकतावादी राज्यलाई स्वतन्त्र घोषणा गरेपछि तिनलाई आधिकारिक रूपमा मान्यता दिने थोरै देशहरूमध्ये उत्तर कोरिया पनि एउटा थियो। त्यसको बदलामा आफ्नो भूभागमा रुसी अतिक्रमणको विरोध गरिरहेको युक्रेनले प्योङयाङसँग सबै सम्बन्ध कटौती गर्ने निर्णय लिएको थियो। बीबीसी

  • न्यूयोर्कमा रुश्दीमाथि आफुले आक्रमण नगरेको इरानको स्पष्टीकरण

    न्यूयोर्कमा रुश्दीमाथि आफुले आक्रमण नगरेको इरानको स्पष्टीकरण

    तेहरान । इरानले सलमान रुश्दीमाथि साङ्घातिक आक्रमण गर्ने व्यक्तिसँग आफ्नो कुनै सम्बन्ध नभएको स्पष्ट पारेको छ । उसले यसमा रुश्दी स्वयमः दोषी भएको आरोप समेत लगाएको बीबीसीले लेखेको छ । अमेरिकाको न्यूयोर्कमा शुक्रवार आयोजित एउटा कार्यक्रममा छुरा प्रहार भएपछि ७५ वर्षीय रुश्दी गम्भीर घाइते भएका छन्। उनलाई एक दिन भेन्टिलेटरमा राखिएको थियो। अहिले उनी बाह्य सहायताबिना आफैँ सास फेर्न सक्ने अवस्थामा फर्किएको समाचारमा उल्लेख छ ।


    यसअघि अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले इरानको सरकारी सञ्चारमाध्यमले उक्त घटनाप्रति प्रसन्नता व्यक्त गरेको आरोप लगाउँदै त्यस्तो व्यवहारलाई नीचको सङ्ज्ञा दिएका थिए। द सट्यानिक भर्सिज उपन्यास प्रकाशित भएपछि रुश्दीले हत्याको धम्की पाइरहेका छन् । रुश्दीले एउटा आँखा गुमाउन सक्ने विवरण आएपछि इरानको सरकारी टेलिभिजन जाम(ए‍(जमले शैतानको एउटा आँखा बन्द भएको छ भन्ने सन्देश जारी गरेको समाचारमा उल्लेख छ ।

    शुक्रवार रुश्दीमाथि आक्रमण भएको समाचार आउनेबित्तिकै सबैको ध्यान इरानको प्रतिक्रिया के हुन्छ भन्नेतिर गएको थियो। रुश्दीको उपन्यासले इस्लाम धर्मको अपमान गरेको निष्कर्षसहित तीन दशकअघि रुश्दीको हत्या गर्न इरानका सर्वोच्च नेताले फतवा अर्थात् धार्मिक आदेश जारी गरेका थिए। इरानी विदेश मन्त्रालयका प्रवक्ता नसिर कनानीले उक्त आक्रमणसँग आफ्नो देशको सम्बन्ध भएको दाबी अस्वीकार गरेको समाचारमा जनाइएको छ ।

  • इजिप्टमा चर्चमा भएको आगलागीमा परी मृत्यु हुनेको संख्या ४१ पुग्यो

    इजिप्टमा चर्चमा भएको आगलागीमा परी मृत्यु हुनेको संख्या ४१ पुग्यो

    कायरो । इजिप्टको कोप्टिकस्थित एक चर्चमा आगो लाग्दा १५ बालबालिकासहित कम्तिमा ४१ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । राजधानीको उत्तर पश्चिमस्थित इम्बाबामा रहेको अबु सिफाइन चर्चमा लागेको आगलागीको कारण खुलेको छैन । अधिकारीहरुका अनुसार विद्युत सर्ट भएर आगो लागेको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ ।

    उद्धारमा खटिएका चार प्रहरीसहित १६ जना घाइते भएका छन्। आगलागी नियन्त्रण गर्न सम्भाव्य सबै कदम चालिएको राष्ट्रपति अबदेल फताह अल सिसीले बताएका छन्। कोप्ट्स मध्यपूर्वमा सबैभन्दा ठूलो ईसाई समुदाय हो। इजिप्टको १०३ मिलियनमध्ये १० मिलियन मान्छे यो समुदायअन्तर्गत पर्छन् ।

  • बंगलादेशमा इन्धनको मूल्य ५० प्रतिशतसम्म बढ्यो, देशभर प्रदर्शन

    बंगलादेशमा इन्धनको मूल्य ५० प्रतिशतसम्म बढ्यो, देशभर प्रदर्शन

    ढाका । बंगलादेशमा इन्धनको मूल्य ५० प्रतिशतसम्म बढ्दा विरोध प्रदर्शन शुरु भएको छ । यस देशमा एक सातामा इन्धनको मूल्य ५० प्रतिशतभन्दा बढीले बढेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । तेलको बढ्दो मूल्यको कारण युक्रेनमा जारी युद्ध भएको त्यहाँको सरकारको तर्क छ । दक्षिण एशियामा यसअघि श्रीलंकामा चरम आर्थिक संकटले जनजीवन नराम्रोसँग प्रभावित भइसकेको छ । बंगालादेशमा समेत यस्तो अवस्थाको आंकलनसहित हजारौं मानिस सडकमा आएका हुन् ।

    बंगलादेशमा इन्धनको मूल्यका कारण ८६ टाका (नेपाली रुपैयाँ ११५.२९) प्रतिलिटरमा पाइने पेट्रोल १३० टाका (नेपाली रुपैयाँ १७४.२७) पुगेको छ। डिजल र मट्टितेलको मूल्य ४२.५ प्रतिशतले बढेको छ।


    झन्डै १६ करोड ८० लाख जनसङ्ख्या रहेको यस मुलुकमा अब महंगीको मारमा जनता परेका छन् । गत हप्ता मूल्यवृद्धिको घोषणा गरिएपछि हजारौँ मानिसहरूले पेट्रोल पम्पबाहिर देशभरि प्रदर्शन गरेका थिए। श्रीलङ्काको झल्को दिएको उक्त प्रदर्शनका क्रममा मूल्यवृद्धि फिर्ता लिन माग गरिएको छ । यस देशमा पनि विदेशी मुद्राको सञ्चिति भने कम भइरहेको छ।