Category: विश्व

  • फिलिपिन्समा शक्तिशाली भूकम्प, क्षतिको विवरण आउन बाँकी

    फिलिपिन्समा शक्तिशाली भूकम्प, क्षतिको विवरण आउन बाँकी

    मनिला । फिलिपिन्सको डोलोरेस नजिक ७.१ म्याग्निच्युडको भूकम्प गएको विवरण आएको छ । राजधानी मनिलामा समेत भूकम्पको कडा धक्का महसुुस गरिएको समाचार एजेन्सी रोयटर्सले उल्लेख गरेको छ । अमेरिकी भौगर्भिक सर्वेका अनुसार भूकम्पको केन्द्रविन्दु डोलोरेसबाट ११ किलोमिटर दक्षिणपूर्वमा रहेको छ । यो राजधानी मनिलाभन्दा ३३६ किलोमिटर टाढा पर्दछ ।

    भूकम्प १० किलोमिटर गहिराइमा थियो । अमेरिकी भौगर्भिक सर्वेले ७।१ म्याग्निच्युटको भूकम्प गएको जनाएपछि कतिपयले ७.३ म्याग्निच्युट रहेको उल्लेख गरेका छन् । भूकम्पले भएको क्षतिको विवरण आइसकेको छैन । यद्यपि सुनामी आउन सक्ने भएकाले सतर्कताको सूचना जारी गरिएको छ ।

  • यूरोप पठाउने ग्यासमा थप कटौती गर्दै रुस, के पर्छ असर ?

    यूरोप पठाउने ग्यासमा थप कटौती गर्दै रुस, के पर्छ असर ?

    लण्डन । रुसको इन्धन व्यापार गर्ने निकाय ग्याजप्रोमले युरोपेली सङ्घ (ईयू) अन्तर्गतका देशमा आपूर्ति हुने ग्यास ठूलो मात्रामा कटौती गर्न लागिएको जनाएको छ। मुख्य पाइपलाइन मर्मतको कामका कारण आपूर्ति कटौती गर्न लागिएको उसले बताएको छ। ग्याजप्रोमले नर्ड स्ट्रीम-१ पाइपलाइनको अर्को टर्बाइन बन्द गरिने र यसले ग्यासको उत्पादनमा २० प्रतिशत कटौती हुने उल्लेख गरेको छ। यसको अर्थ अहिले ईयूमा भइरहेको ग्यास आपूर्ति आधा कम हुनसक्छ।


    जर्मन सरकारले भने ग्यास आपूर्ति कटौती गर्नुपर्ने कुनै प्राविधिक कारण नरहेको बताएको छ। यो निर्णयले युरोपेली सङ्घका देशहरूलाई जाडो महिनाअघि उनीहरूका भण्डारणमा ग्यास जोहो गर्न थप कठिन बनाउने देखिएको छ। नर्ड स्ट्रिम १ पाइपलाइनले रुसबाट जर्मनीसम्म ग्यास पुर्‍याउँछ। तर यसबाट केही साताअघिबाटै क्षमता भन्दा कम मात्रामा ग्यास आपूर्ति भइरहेको छ। यही महिनाको सुरुमा मर्मतका लागि यो पाइपलाइन १० दिन पुरै बन्द गरिएको थियो।

    रुसले गत वर्ष ईयूका देशहरूमा उसको ४० प्रतिशत ग्यास निर्यात गरेको थियो। इन्धनलाई हतियारको रूपमा प्रयोग गरेको आरोप ईयूले रुसमाथि लगाउँदै आएको छ। रुसले ग्यासको आपूर्तिमा कटौती गर्ने वा ठप्प बनाउनसक्ने बताएपछि युरोपेली आयोगले देशहरूलाई ग्यासको प्रयोगमा आगामी सात महिनाभित्र १५ प्रतिशत कटौती गर्न आग्रह गरेको छ। यसले ग्यास सङ्कट परेको अवस्थामा सहयोग पुग्ने ठानिएको छ। युरोपेली आयोगका प्रमुख उर्जुला फोन डेर लायनले रुसले युरोपमा ग्यासको आपूर्ति ठप्प बनाउने सम्भावित परिदृश्य हुनसक्ने बताएकी छन्।

    ग्यास खपत घटाउने प्रस्ताव कार्यान्वयनमा ल्याउन ईयूका ऊर्जा मन्त्रीहरू मङ्गलवार ब्रसल्समा भेट्दैछन्। तर कतिपय सदस्य राष्ट्रहरूले यस्तो प्रस्तावको प्रतिरोध गर्ने ठानिएको छ। रुसले फेब्रुअरीमा युक्रेनमाथि आक्रमण गरेपछि ग्यासको थोक मूल्य आकासिएको छ र यसले उपभोक्ताहरूको खर्च बढाएको छ। ग्याजप्रोमको घोषणाबारे प्रतिक्रिया जनाउँदै युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले एकताबद्ध युरोप विरुद्ध ग्यास युद्ध सुरु गरेको बताएका छन्।

    ग्याजप्रोमले भने चालू अवस्थामा रहेका बाँकी दुई वटा मध्ये एउटा टर्बाइनको प्राविधिक अवस्थाका कारण बुधवारबाट आपूर्ति कटौती हुने जनाएको छ। तर जर्मनीको अर्थ मन्त्रालयका प्रवक्ताले एएफपी समाचार संस्थालाई भनेका छन्, ‘हामीसँग भएको सूचनामा निर्यात घटाउनुपर्ने कुनै पनि प्राविधिक कारण देखिँदैन।’ क्रेमलिनले भने आफ्नो देश भरपर्दो ऊर्जा साझेदार भएको दाबी गर्दै आएको छ।

    उसले ईयूमा ग्यास आपूर्ति अवरुद्ध हुनुमा पश्चिमा प्रतिबन्धलाई कारणको रूपमा ‍औँल्याउने गरेको छ। ग्याजप्रोमले प्रतिबन्धका कारण मर्मतका लागि क्यानडा पठाइएको उपकरण आउन ढिला भएको र नर्ड स्ट्रीम -१ बाट क्षमताको ४० प्रतिशत मात्रै ग्यास पठाउन सकिएको बताएको छ। ‘हाम्रो उत्पादनमा हाम्रै नियम हुन्छ, हामीले नबनाएको नियममा हामी चलखेल गर्दैनौँ,’ ग्याजप्रोमका प्रमुख कार्यकारी एलेक्सी मिलरले भने।
    बीबीसी

  • भारतीय राष्ट्रपति मुर्मूको सपथग्रहण आज, यस्तो छ कार्यक्रम

    भारतीय राष्ट्रपति मुर्मूको सपथग्रहण आज, यस्तो छ कार्यक्रम

    नयाँ दिल्ली । भारतको १५औँ राष्ट्रपति द्रौपदी मुर्मूले आज सर्वोच्च संवैधानिक पदको शपथ ग्रहण गर्दैछिन् । उनी आदिवासी समुदायबाट राष्ट्रपति बन्ने पहिलो महिला हुन् । भारतको केन्द्रीय गृह मन्त्रालयले शपथ ग्रहणको कार्यक्रम स्थानीय समय अनुसार बिहान सवा १० बजे राखेको छ । शपथ पछि मुर्मूलाई २१ तोपको सलामी दिइने छ । त्यसपछि उनले राष्ट्रका नाममा सम्बोधन गर्नेछिन् । उनले आजै पदभार ग्रहण गर्नेछिन् ।

    सत्तारुढ भारतीय जनता पार्टीको तर्फबाट राष्ट्रपति पदको उम्मेदवार मुर्मूले विपक्षी दलका यसवन्त सिन्हालाई पराजित गर्दै विजयी भएकी हुन् । सन् १९५८ को जुन २० तारिखमा ओडिशाको मयुरभञ्ज जिल्लाको उपरबेडा गाउँमा जन्मिएकी उनले झारखण्डको अल्पसङ्ख्यक सन्थाल जनजातिबाट प्रतिनिधित्व गर्छिन् । उनले सन् २०१५ देखि सन् २०२१ सम्म झारखण्ड राज्यको नवौँ राज्यप्रमुखको रूपमा काम गरेकी छिन् । पारिवारिक जीवनमा निकै सङ्कट भोगेकी मुर्मूले ४ वर्षको अवधिमा श्रीमान् र २ जना छोरा गुमाएकी थिइन् ।

  • कार्यकाल पुरा गरी बिदा भए भारतीय राष्ट्रपति कोविन्द

    कार्यकाल पुरा गरी बिदा भए भारतीय राष्ट्रपति कोविन्द

    नयाँ दिल्ली । । भारतका निवर्तमान राष्ट्रपति रामनाथ कोविन्द आफ्नो नियमित कार्यकाल पुरा गरी दिबाई भएका छन् । उनले बिदाई समारोहलाई सम्बोधन गर्दै दलगत स्वार्थभन्दा माथि उठेर राजनीति गर्न आह्वान गरे । आफ्ना माग सम्बोधन गराउने क्रममा गान्धीवादी तरिका अपनाउन समेत उनले देशवासीसँग अपिल गरे । शनिबार साँझ आयोजित आफ्नो विदाइ कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनताको लागि गर्ने काम सर्वोच्च प्राथमिकतामा हुनुपर्ने सुझाव दिए ।

    संसदका दुबै सदनले शनिबार बेलुका आयोजना गरेको उनको विदाइ कार्यक्रममा प्रधानमन्त्री नरेन्द्र मोदी लगायतको सहभागि भए । समारोहलाई स्म्बोधन गर्दै उनले भारतको लोकतान्त्रिक व्यवस्थालाई एक ठूलो परिवारको संज्ञा दिंदै परिवारको मतभेद सुल्झाउनका लागि शान्ति, एकता र आपसी छलफललाई प्राथमिकता दिनुपर्ने बताए ।

  • मङ्कीपक्स फैलिएपछि विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा

    मङ्कीपक्स फैलिएपछि विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा

    काठमाडौं \बीबीसी । विश्वभर ७५ देशमा फैलिएपछि विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले मङ्कीपक्सलाई विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको छ। विश्वभर सङ्क्रमितको सङ्ख्या बढिरहेका बेला डब्ल्यूएचओले रोग सम्बन्धमा गर्ने सबैभन्दा उच्च तहको चेतावनी जारी गरेको हो। यस भाइरसबारे डब्ल्यूएचओको आपत्कालीन समितिको दोस्रो बैठकपछि यस्तो घोषणा आएको हो।

    डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोस एड्हानोम गेब्रेयससले विश्वभर १६,००० भन्दा धेरै सङ्क्रमितहरू पुष्टि भएको जनाएका छन्। उनले मङ्कीपक्सका कारण अहिलेसम्म पाँच जनाको मृत्यु भएको बताएका छन्। मङ्कीपक्सबाहेक हाल कोरोनाभाइरस र पोलिओ उन्मुलनसम्बन्धी अन्य दुई प्रकारका विश्वव्यापी स्वास्थ्य आपत्काल लागु छन्।

    डा. टेड्रोसका अनुसार आपत्कालीन समितिमा मङ्कीपक्स प्रकोपलाई विश्वव्यापी स्वास्थ्य आपत्काल भन्ने कि नभन्ने विषयमा एकमत हुन सकेको थिएन। तर प्रकोप विश्वभर व्यापक रूपमा फैलन थालेसँगै उनले त्यो निश्चय नै अन्तर्राष्ट्रिय सरोकार बनेको कुरा निर्णय गरेको बताए। उनले सङ्क्रमणको नयाँ माध्यमबारे निकै कम कुराहरू स्पष्ट भएको बताए।


    ूडब्ल्यूएचओको समीक्षाले मङ्कीपक्सको जोखिम विश्वभर सबै क्षेत्रमा मध्यमखाले रहेको र युरोपेली क्षेत्र उच्च जोखिमयुक्त देखिएको छ,’ डा. टेड्रोसले भने। मङ्कीपक्स भाइरसका कारण मङ्कीपक्स रोग लाग्छ। यो भाइरस बिफर रोग गराउने भाइरसकै वर्गमा पर्छ। तर सङ्क्रमण भएपछि लक्षणहरू त्यति गम्भीर हुँदैनन्। केही वैज्ञानिकहरूले यो भाइरसको नाम एचएमपीएक्सभी राख्न सुझाव दिएका छन्। तर यसबारे डब्ल्यूएचओको प्रतिक्रिया जान्न केही समय प्रतीक्षा गर्नुपर्छ।

    मङ्कीपक्स सङ्क्रमणका लक्षणहरू मध्यम खालका हुन्छन् र सर्वसाधारण मानिसलाई यो रोग सर्ने सम्भावना न्यून हुन्छ। यूके सरकारले यो रोग थप फैलिन नदिने उद्देश्यले आवश्यक परे प्रयोग गर्नका लागि बिफरविरुद्धको खोप किनेर राखेको छ। केही महिनादेखि यो भाइरस विश्वभरि असामान्य रूपमा फैलिरहेको छ। पहिलाका प्रकोपहरू अफ्रिकाका केही भागमा सीमित थिए।

    ती स्थानमा बाँदरमा नभई मुसा र लोखर्केजस्ता जीवमा यो भाइरस पहिला सर्ने गरेको विश्वास गरिन्छ। मङ्कीपक्स सङ्क्रमण भएपछि ठेउलाको जस्तो डाबर देखिन्छ। सङ्क्रमित व्यक्तिको निकट सम्पर्कमा आउने अरूमा पनि यो भाइरस सर्न सक्छ। यसलाई यौन रोग नमानिए पनि यौन संसर्गबाट पनि यो भाइरस सर्न सक्छ। लक्षण नहराउन्जेल यो सङ्क्रमण भएका मानिसले सहवास गर्नु हुँदैन।

  • आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकामा दिनेश गुणवर्देना बने नयाँ प्रधानमन्त्री

    आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकामा दिनेश गुणवर्देना बने नयाँ प्रधानमन्त्री

    काठमाडौं । आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकामा नयाँ प्रधानमन्त्रीले शपथ लिएका छन् ।

    राष्ट्रपति रनिल विक्रमासिंघेले ६३ वर्षीय दिनेश गुणवर्देनालाई प्रधानमन्त्री नियुक्त गरेका छन् । उनले आजै पद तथा गोपनियताको शपथ लिएका हुन् ।

    गुणवर्देनाले यसअघि विदेश मन्त्री र शिक्षा मन्त्रीको जिम्मेवारी सम्हालेका थिए । केही समयअघि राष्ट्रपति गोटवाया राजापाक्षेले उनलाई गृह मन्त्री नियुक्त गरेका थिए ।

    गुणवर्देना श्रीलंकाको वामपन्थी पार्टी महाजन एकसाथ पेरामुनाका अध्यक्ष हुन् । उनको पार्टीका संसदमा २ जना सांसद छन् ।

    दुई दिनअघि राष्ट्रपति बनेका विक्रमासिंघे पनि संसदमा आफ्नो पार्टीका एक्ला सांसद थिए ।

    राजापाक्षे परिवार सत्ताबाट बाहिरिएर नयाँ व्यक्ति राष्ट्रपति र प्रधानमन्त्री बने पनि श्रीलंकामा प्रदर्शन रोकिएको छैन ।

  • श्रीलंकामा प्रदर्शनकारीका शिविरमा सेनाको छापा

    श्रीलंकामा प्रदर्शनकारीका शिविरमा सेनाको छापा

    कोलम्बो\बीबीसी । श्रीलङ्काको राजधानी कोलम्बोस्थित सरकार विरोधी मुख्य प्रदर्शन शिविरमा सुरक्षा फौजले छापा मार्न र ती शिविरका पाल निकाल्न थालेको छ। प्रदर्शनकारीहरूले राष्ट्रपति कार्यालय क्षेत्र छोड्नु भन्दा घण्टौँ अघि सयौँ सेना र प्रहरीले उनीहरू विरुद्ध आक्रमण सुरु गरेका थिए। बीबीसीका भिडिओ पत्रकारलाई एक जना सेनाले कुटपिट गरेका छन् भने अर्काले उनको फोन खोसेर त्यसमा रहेका भिडिओ हटाइ दिएका छन्।

    रनिल विक्रमसिङ्घले राष्ट्रपति पदको शपथ लिएपछि यस्तो घटना भएको हो। श्रीलङ्काका पूर्व राष्ट्रपति गोटाबय राजपक्षले गत साता देश छोडेर भागेका थिए। पूर्व प्रधानमन्त्री समेत रहेका विक्रमसिङ्घ जनतासामु अलोकप्रिय नेता हुन्। उनले प्रदर्शनकारीहरू विरुद्ध कडा कारबाही गर्ने वाचा गरेका छन्। केही प्रदर्शनकारीहरूले भने उनलाई मौका दिने बताएका छन्। चरम आर्थिक सङ्कटमा परे पछि श्रीलङ्कामा महिनौँदेखि व्यापक अशान्ति छाएको छ।

    धेरैले राजपक्ष प्रशासनले देशको वित्तीय व्यवस्थापन सही ढङ्गमा नगरेको दोष लगाएका छन् र विक्रमसिङ्घलाई पनि समस्याको एक कारकको रूपमा हेर्छन्। उनले संसद्को मत जितेको भोलिपल्ट सडकमा प्रदर्शनहरू भए। शपथ लिए लगत्तै विक्रमसिङ्घले सरकार ढाल्ने वा सरकारी भवनहरू कब्जा गर्ने कुनै पनि प्रयास लोकतान्त्रिक गतिविधि नभएको स्पष्ट पारे र त्यस्ता गतिविधिमा संलग्न हुनेलाई कडा कानुनी कारबाही गरिने चेतावनी समेत दिए।

    प्रदर्शनकारीहरूमा सरकारले आफू विरोधी आन्दोलनलाई क्रमबद्ध ढङ्गले बन्द गर्न सक्ने चिन्ता थियो। बीबीसीका कोलम्बोस्थित संवाददाता अनबरसन इथिराजनका अनुसार मध्यरातमा कोलम्बोमा सरकार विरोधी प्रदर्शन स्थलमा सेनाले छापा मार्ने जानकारी पाएपछि उनीहरू श्रीलङ्काली राष्ट्रपति कार्यालय अगाडि पुगेका थिए। केही बेरमा त्यहाँ सयौँ सशस्त्र सेनाहरू र दङ्गाका क्रममा शरीर जोगाउन लगाइने पोसाकमा प्रहरीहरू आएको उनले बताए। दुई वटा फरक दिशाबाट आएका उनीहरूको अनुहार छोपिएको थियो।

    ‘उनीहरूको उपस्थितिमा प्रदर्शनकारीले आपत्ति जनाएपछि सुरक्षाकर्मी अघि बढ्न थाले र आक्रामक बने। त्यसपछि आन्दोलनकारीहरू पछाडि धकेलिए,’ इथिराजनले सुनाए। केही बेरमै सेनाले चिच्याउँदै शिविरको पाल र अन्य वस्तुहरू भत्काउँदै नष्ट गरेको उनले बताए। गत साता ठूलो भिड पसेको राष्ट्रपति कार्यालयमा पनि सेना प्रवेश गर्यो। प्रदर्शनकारीहरूलाई तोकिएको विरोध स्थलभन्दा एक सय मिटर पर सारिएको र उनीहरूलाई छेक्न फलामे बार खडा गरिएको इथिराजनले बताए।

  • भारतीय राष्ट्रपति मुर्मूलाई राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाको बधाई

    भारतीय राष्ट्रपति मुर्मूलाई राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाको बधाई

    काठमाडौं । राष्ट्रपति विद्यादेवि भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले भारतको पन्ध्रौँ राष्ट्रपतिमा निर्वाचित द्रौपदी मुर्मूलाई बधाई तथा शुभकामना दिएका छन् । राष्ट्रपति भण्डारीले ट्विटमार्फत शुभकामना दिँदै मुर्मुको कार्यकालमा दुई देशबीचको सहकार्यले नयाँ उचाइ प्राप्त गर्ने विश्वास व्यक्त गरेकी छिन् । प्रधानमन्त्री देउवाले पनि राष्ट्रपति मुर्मूलाई ट्विटमार्फत बधाई तथा शुभकामना दिएका छन् ।

    सत्तारुढ भारतीय जनता पार्टीको तर्फबाट राष्ट्रपति पदको उम्मेदवार मुर्मूले विपक्षी दलका यसवन्त सिन्हालाई पराजित गर्दै विजयी भएकी छिन् । जुलाई २४ तारिखमा राष्ट्रपति रामनाथ कोविन्दको कार्यकाल सम्पन्न भएपछि विजयी मुर्मूले जुलाई २५ तारिखमा राष्ट्रपतिको पदभार सम्हाल्ने छिन् । उनी भारतको पहिलो आदिवासी महिला राष्ट्रपति बनेकी छिन् ।

  • आदिवासी नेत्री द्रौपदी मुर्मू बनिन् भारतको राष्ट्रपति

    आदिवासी नेत्री द्रौपदी मुर्मू बनिन् भारतको राष्ट्रपति

    नयाँ दिल्ली । भारतमा आदिवासी नेत्री द्रौपदी मुर्मू राष्ट्रपति निर्वाचित भएकी छन् । उनी देशको सर्वोच्च पदमा पुग्ने आदिवासी समुदायकी प्रथम व्यक्तिसमेत बनेकी छिन् । ६४ वर्षीया मुर्मू उडिसामा जन्मिएकी हुन् । उनी सन्थाल समुदायकी नेतृ हुन्। राष्ट्रपति पदका लागि गत सोमवार मतदान भएको थियो। त्यसको बिहीवार साँझ आएको नतिजाबाट उनी राष्ट्रपति बनेकी हुन् । उनले आगामी सोमवार पद तथा गोपनीयताको शपथ लिनेछिन् ।

    राष्ट्रपति चयन प्रक्रियामा सङ्घीय संसद्का दुवै सदन र राज्य तथा केन्द्रप्रशासित भूभागका व्यवस्थापिका संसद्का सदस्यहरूले मतदान गर्छन् । उनलाई सत्तारूढ भारतीय जनता पार्टी भाजपाले उम्मेदवार बनाएको थियो। मुर्मू यसअघि उनी झारखण्डकी राज्यपाल थिइन्। मुर्मू रामनाथ कोविन्दको उत्तराधिकारी हुनेछिन्। कोविन्दको कार्यकाल जुलाई २४ मा सकिन लागेको छ।


    उनी भारतको राष्ट्राध्यक्ष बन्ने दोस्री महिला हुन्। सन् २००७ जुलाईदेखि २०१२ सम्म राष्ट्रपति बनेकी प्रतिभा पाटिल भारतकी प्रथम महिला राष्ट्रपति हुन्। भारतमा राष्ट्रपति राष्ट्राध्यक्ष भए पनि उनीसँग कार्यकारी शक्ति हुँदैन। राष्ट्रप्रमुख चयनको प्रतिस्पर्धामा मुर्मूले विपक्षी उम्मेदवारका रूपमा रहेका अनुभवी नेता तथा यशवन्त सिन्हालाई पराजित गरेकी हुन्। सिन्हा पहिला भाजपामै थिए।

    सन् १९९० को दशकमा सन् २००० को दशकको सुरुतिर प्रधानमन्त्री अटलबिहारी वाजपेयीको नेतृत्वमा रहेको भाजपा सरकारमा सिन्हा वरिष्ठ मन्त्री थिए। भारतका विभिन्न राज्यमा बाहेक बाङ्ग्लादेशको उत्तरी भेग र पूर्वी नेपालको तराईमा सन्थाल समुदायको बसोबास छ।

  • युक्रेनमा युद्ध अझै बिस्तार गर्ने रुसको तयारी, अमेरिकाले गरेको थियो पूर्वानुमान

    युक्रेनमा युद्ध अझै बिस्तार गर्ने रुसको तयारी, अमेरिकाले गरेको थियो पूर्वानुमान

    काठमाडौं । युक्रेनमा रुसको सैन्य चासो अब देशको पूर्वी क्षेत्रमा मात्र सीमित नरहेको रुसी विदेशमन्त्री सेर्गेइ लाभ्रोभले बताएका छन्। पश्चिमले युक्रेनलाई लामो दुरीमा प्रहार गर्न सक्ने अस्त्र उपलब्ध गराएपछि मस्कोको रणनीति परिवर्तन भएको रुसको एक सरकारी सञ्चारमाध्यमसँगको अन्तर्वार्तामा उनले बताए। अब रुसले आफ्नो सुरक्षा सुनिश्चित गर्नका निम्ति युक्रेनी सेनालाई युद्धको मोर्चाबाट टाढा पुर्‍याउनु पर्ने उनको व्याख्या छ। यसअघि अमेरिकाले रुसमाथि थप युक्रेनी भूभागलाई आफ्नो देशमा गाभ्ने योजना बनाएको आरोप लगाएको थियो।

    युक्रेनको पूर्वी डोनबास क्षेत्रमा रुसी भाषीहरूले नरसंहार भोगेको र उनीहरूको स्वतन्त्रता आवश्यक रहेको झुटो दाबीसहित गत फेब्रुअरीमा रुसले युक्रेनमाथिको आक्रमण सुरु गरेको थियो। पाँच महिनाको समयावधिमा रुसले युक्रेनको पूर्वी र दक्षिणका केही भागहरू कब्जा गरिसकेको छ।

    यद्यपि, किएभ कब्जा गर्ने आफ्नो मूल उद्देश्यमा रुस सफल भएको छैन। रुसले आफ्नो प्रमुख उद्देश्य डोनबासको मुक्ति भएको दाबी गर्दै आएको छ। फेब्रुअरीदेखि नै पश्चिमा राष्ट्रहरूले युक्रेनलाई रुसी सेनाहरू विरुद्ध प्रतिरक्षाका निम्ति शक्तिशाली अस्त्रहरू प्रदान गरिरहेका छन्। त्यस्तो सहयोगले रुसलाई आफ्नो लक्ष्य विस्तार गर्न बाध्य तुल्याएको लाभ्रोभको भनाई छ।

    ‘हामीले युक्रेनी राष्ट्रपति भोलोदिमिरे जेलेन्स्कीले नियन्त्रणमा राखेको युक्रेनको भूभागमा हाम्रो क्षेत्रलाई प्रत्यक्ष खतरामा पार्ने अस्त्रहरू राख्न दिन सक्दैनौँ, लाभ्रोभले रुसी सञ्चारमाध्यमका प्रख्यात टिप्पणीकार मार्गरिटा सिमोनियनसँगको अन्तर्वार्तामा भने। सिमोनियन प्रसारण संस्था आरटीका प्रधान सम्पादक हुन्। अहिले भूगोल फरक छ, उनले दक्षिणी खेरसन र जापोरिज्जिया क्षेत्रहरूलाई रुसको पछिल्लो उद्देश्यको रूपमा प्रस्तुत गर्दै भने।

    मस्कोको सेनाले यसअघि नै ती दुवै क्षेत्रका भागहरूलाई नियन्त्रणमा लिएका छन्। लाभ्रोभले विशेष गरी हिमर्स नामक लामो दूरीमा प्रहार गर्ने रकेट प्रणालीलाई जोड दिए। पछिल्लो समय अमेरिकाले उपलब्ध गराएका ती अस्त्रको सहयोगमा युक्रेनले केही सफलता प्राप्त गरेको छ। विवरणहरूका अनुसार युक्रेनले दुई दिन निरन्तर रुसी सेनाले कब्जा गरेको खेरसनस्थित एउटा महत्त्वपूर्ण रणनीतिक पुलमा हिमर्स प्रहार गरेको छ।

    एन्टोनिभ्स्की दुई पुल मध्ये एक हो जसमार्फत रुसले खेरसन सहर सहित ड्निप्रो नदीको पश्चिमी किनारमा कब्जा गरेको क्षेत्रहरूमा आपूर्ति गर्छ। रुसी विदेशमन्त्रीले युक्रेनलाई हतियार उपलब्ध गराउने पश्चिमा कार्यलाई शक्तिहीन क्रोध र परिस्थितिलाई झन् खराब बनाउने इच्छाको रूपमा वर्णन गरे। रुसले युक्रेनको भूभाग नियन्त्रणमा लिनका निम्ति योजना बनाएकोबारे मङ्गलवार अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले बताएका थिए। उनले रुसले ठूलो युक्रेनी भूभागलाई आफ्नो देशमा गाभ्ने योजनाका निम्ति आधार तयार पारिसकेको तर्क राखेका थिए।
    बीबीसी

  • प्रधानमन्त्रीमा ‘अलोकप्रिय’ रनिल विक्रमासिंघे बने श्रीलंकाको नयाँ राष्ट्रपति

    प्रधानमन्त्रीमा ‘अलोकप्रिय’ रनिल विक्रमासिंघे बने श्रीलंकाको नयाँ राष्ट्रपति

    काठमाडौं । श्रीलंकाको राष्ट्रपतिमा रनिल विक्रमासिंघे निर्वाचित भएका छन्। आज भएको निर्वाचनमा उनी विजयी भएका हुन्।

    तत्कालीन राष्ट्रपति गोटाबाया राजापाक्ष देश छाडेर भागेपछि नयाँ राष्ट्रपति छान्नका लागि भएको मतदानबाट विक्रमासिंघे निर्वाचित भएका हुन् ।
    देश चरण आर्थिक संकटसँग गुज्रिरहँदा प्रधानमन्त्री महिन्दा राजपाक्षेको राजीनामा पछि उनलाई प्रधानमन्त्री बनाइएको थियो।

    देशभर आन्दोलन बढ्दै जाँदा राष्ट्रपति गोताबाय राजपाक्षेले पनि राजीनामा दिएपछि विक्रमासिंघे कार्यवाहक राष्ट्रपति बनेका थिए। नयाँ राष्ट्रपतिका रूपमा विक्रमासिंघेको कार्यकाल सन् २०२४ को नोभेम्बर महिनासम्म रहनेछ ।

    गोटाबायाको बाँकी रहेको कार्यकाल नै नयाँ राष्ट्रपतिको कार्यकाल हुनेछ । राष्ट्रपतिमा निर्वाचित हुनका लागि २२५ सांसद रहेको श्रीलंकाली संसद्को ५० प्रतिशत अर्थात ११३ सांसदको समर्थन आवश्यक हुन्छ ।

    श्रीलंकाली संसद्‍मा सत्तारुढ दल एसएलपीपी १०० सिटसहित सबैभन्दा ठूलो पार्टी हो । त्यस्तै प्रमुख प्रतिपक्षी दल समाजी जना बालावेगाया (एसजेबी) का ५४ सांसद रहेका छन् ।

  • रुस-युक्रेन युद्धकै बीच पुटिनको इरान भ्रमण किन महत्वपूर्ण छ ?

    रुस-युक्रेन युद्धकै बीच पुटिनको इरान भ्रमण किन महत्वपूर्ण छ ?

    काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन मङ्गलवार इरानको औपचारिक भ्रमणमा निस्किएका छन् । रुसले गत फेब्रुअरीमा युक्रेनमाथि आक्रमण थालेको हो । त्यसयता दुई मुलुकबीच युद्ध जारी छ । यो युद्धले विश्वभर आर्थिक संकटका बाछिटा देखिन थालेको हो । युक्रेनमो रुसी सेनाले आक्रमण सुरु गरेयता यो उनको दोस्रो विदेश यात्रा हो। पुटिनले इरानी सर्वोच्च नेता आयातोल्लाह अली खामेनेई र टर्कीका राष्ट्रपति रेजेप तय्यिप एर्दोआनसँग भेट्ने कार्यक्रम रहेको समाचार एजेन्सीहरुले बताएका छन् । तेहरानमा अन्न निर्यात, सिरिया र युक्रेनबारे छलफल हुने बताइएको छ ।

    युक्रेनमा युद्ध सुरु गरेयता रुसी नेताले आफ्ना अन्तर्राष्ट्रिय भ्रमण गर्न रुचाएका थिएनन् । पुटिनले युद्ध सुरु भएपछिको आफ्नो पहिलो अन्तर्राष्ट्रिय भ्रमण गत जुनमा ताजिकिस्तान र तुर्कमेनिस्तानमा गरेका थिए। पूर्व सोभियत सङ्घबाट छुट्टिएका र रुसका साझेदार यी देशमा समेत तानाशाही शासक सत्तामा छन्। मङ्गलवारको भ्रमणले पुटिनलाई इरानसँग सम्बन्ध बलियो बनाउने अवसर दिने बताइएको छ ।

    पश्चिमा आर्थिक प्रतिबन्धहरूको निसानामा परेको इरान मस्कोको बाँकी रहेका केही अन्तर्राष्ट्रिय साझेदारमध्ये पर्छ। गत साता अमेरिकी अधिकारीहरूले तेहरानले युक्रेन युद्धका लागि रुसलाई सयौँ ड्रोनहरू उपलब्ध गराउन लागेको आरोप लगाएका थिए। मङ्गलवार रुसी ऊर्जा कम्पनी ग्याजप्रोपले इरानको सरकारी तेल कम्पनीसँग ४० अर्ब अमेरिकी डलर बराबरको एउटा नयाँ सम्झौता गरेको थियो।

  • अमेरिकाको दावि : युक्रेनलाई रुसमा गाभ्न चाहन्छन् पुटिन

    अमेरिकाको दावि : युक्रेनलाई रुसमा गाभ्न चाहन्छन् पुटिन

    काठमाडौं । रुसले क्राइमिया क्षेत्रलाई आफ्नो कब्जामा लिन बनाएको रणनीति प्रयोग गरेर थप युक्रेनी भूभागलाई आफ्नो देशमा गाभ्ने योजना बनाएको अमेरिकाले दाबी गरेको छ। अमेरिकी गुप्तचर निकायलाई उद्धृत गर्दै त्यहाँको राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले रुसले युक्रेनको भूभाग नियन्त्रणमा लिनका निम्ति आधार तयार पारिसकेको बताए। युक्रेनका कब्जा गरिएका क्षेत्रहरूले रुसमा गाभिने विषयबारे सेप्टेम्बर लगत्तै फर्जी जनमत सङ्ग्रह गर्न सक्ने उनले बताए।

    सन् २०१४ मा जनमत सङ्ग्रहपछि रुसले युक्रेनको क्राइमियालाई आफ्नो क्षेत्रमा गाभेको थियो। उक्त कार्यलाई व्यापक रूपमा अवैधानिक रूपमा हेरिएको थियो। ‘हामी यसबारे अमेरिकी जनतालाई स्पष्ट पार्न चाहन्छौँ,’ किर्बीले पत्रकारहरू समक्ष भने, ‘रुसको यस कार्यबारे कोही पनि जानकार नभएको होइन। रुसी राष्ट्रपति भ्लादिमिर पुटिन सन् २०१४ मा प्रयोग भएको रणनीतिक प्लेबुकको धूलो टकटकाउँदै छन्।’ उनले रुसले युक्रेनी क्षेत्रहरूमा अवैध रूपमा रुस समर्थक अधिकारीहरू तयार पारेको आरोप लगाए।

    रुसले युक्रेनको भूभागलाई आफ्नो बनाउन जनमत सङ्ग्रह गराउने उद्देश्यका साथ त्यसो गरेको किर्बीको भनाई छ। मतदानको नतिजा रुसले सार्वभौम युक्रेनी भूभागलाई आफूमा गाभेको दाबी गर्नको लागि प्रयोग गर्ने उनले बताए। रुसले आफ्नो कब्जामा लिएको युक्रेनी क्षेत्रहरूमा यसअघि नै आफ्नै क्षेत्रीय र स्थानीय अधिकारीहरूको कार्यालय स्थापना गरिसकेको छ। सन् २०१४ मा हतारमा आयोजना गरिएको सङ्गठित जनमत सङ्ग्रह पछि रुसले क्राइमियालाई आफ्नो नियन्त्रणमा लिएको थियो। त्यस कार्यलाई अन्तर्राष्ट्रिय समुदायले अवैध ठानेको थियो।

    यद्यपि, मतदाताहरूले आफ्नो भूभाग रुसमा गाभिने पक्षमा मत खसालेका थिए। त्यतिबेला किएभ समर्थकहरूको ठूलो जमातले मतदान बहिष्कार गरेका थिए र उक्त अभियान न स्वतन्त्र थियो न त निष्पक्ष नै। किर्बीले आफूले रुसी योजनाहरू उजागरू गर्नुको उद्देश्य संसारलाई कुनै पनि कथित विलय पूर्वनियोजित, गैरकानूनी र अवैध हो भन्ने थाहा दिनु भएको बताए।

    उनले यसबारे अमेरिका र उसको सहयोगीहरू राष्ट्रहरूबाट द्रुत प्रतिक्रिया जनाउने वाचा गरे। रुसले आफूमा विलय गर्नका लागि लक्षित क्षेत्रहरूमा खेरसन, जापोरिज्जिया, डोनेट्स्क र लुहान्स्क समावेश रहेको उनको भनाई छ।
    बीबीसी

  • श्रीलंकामा आज राष्ट्रपति पदको निर्वाचन

    श्रीलंकामा आज राष्ट्रपति पदको निर्वाचन

    कोलम्बो । श्रीलंकामा बुधबार राष्ट्रपति पदको निर्वाचनबाट नयाँ राष्ट्रपतिको चयन हुने भएको छ । निवर्तमान राष्ट्रपति गोटाबाया राजापाक्षले राजीनामा दिएपछि नयाँ राष्ट्रपति चयन गर्न लागिएको हो । आर्थिक संकट चुलिएपछि सुरु भएको आन्दोलन उग्र बनेपछि राष्ट्रपति गोटाबाया देश छाडेर भागेका छन् । अहिले अन्तरिम राष्ट्रपति बनेका रनिल विक्रमसिंघे नै राष्ट्रपति बन्ने सम्भावना रहेको समाचारहरुमा उल्लेख छ । उनी राजापाक्ष परिवारसँग निकट मानिन्छन् । संसदमा राष्ट्रपति पदको निर्वाचन अघि उनले श्रीलंकाभर आपतकाल घोषणा गरेका थिए ।

    यसअघि राष्ट्रपति पदका दाबेदार विपक्षी नेता सजिथ प्रेमादासाले मंगलबार राष्ट्रपतिको दौडमा आफू नरहेको बताएका थिए । उनले नयाँ राष्ट्रपति पदको निर्वाचन अघि भारतसँग सहयोगको अपिल गरेका छन् । उनले ट्वीटरमा लेखेका छन्, ‘चाहे जोसुकै राष्ट्रपति बनोस्, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, भारतका सबै राजनीतिक दल र भारतीय जनतासँग मेरो आग्रह छ, कि श्रीलंका र श्रीलंकाका जनताको समस्यालाई पार लगाउन सहयोग जारी रहोस् ।’भारतीय विदेशमन्त्री एस जयशंकरले मंगलबारमात्र भारतले श्रीलंकालाई ३।८ अर्ब डलर सहयोग दिएको जानकारी गराएका थिए ।

  • स्पेनमा तातो हावाका कारण ५१० जनाको मृत्यु

    स्पेनमा तातो हावाका कारण ५१० जनाको मृत्यु

    म्याड्रिड । स्पेनमा केही समययतादेखि प्रचण्ड गर्मी भएको र तातो हावा चलेको छ । तातो हावाबाट मानिसको ज्यान गइरहेको यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

    स्पेनको मन्त्रालयले दिएको जानकारीअनुसार सोमबारसम्म तातो हावाका कारण ज्यान जाने व्यक्तिको संख्या ५१० पुगेको छ ।

    यहाँको तापक्रम ४५ डिग्री सेल्सियससम्म पुगेको छ । गर्मीका कारण यससँग सम्बन्धित समस्याबाट मानिसको ज्यान जाने क्रम पनि रोकिएको छैन ।

    यहाँ यही जुलाई १० तारिखदेखि गर्मी सुरु भएको हो । गर्मीका कारण यहाँको जनजीवन निकै कष्टकर बनेको पनि बताइएको छ । स्वास्थ्य मन्त्रालयले तातो हावा सुरु भएको हप्ता जुलाई १० देखि १६ सम्म मात्र यहाँ १५० जनाको ज्यान गएको जनाएको छ ।

    त्यसयता पनि तातो हावाको असरले ज्यान जाने क्रम नरोकिएको भन्दै अधिकारीहरूले सोमबारसम्म ५१० जनाको मृत्यु भएको बताएका छन् । यसरी ज्यान जानेमा अधिकांश ज्येष्ठ नागरिक रहेका छन् । उनीहरूमध्ये ३२१ जना ८५ वर्षभन्दा माथिका नागरिक रहेका बताइएको छ ।

    गर्मी अझै बढ्ने देखिएको र यसबाट ज्यान जानेको संख्या थप बढ्न सक्ने भन्दै सतर्कता अपनाउन यहाँको स्वास्थ्य मन्त्रालयले सूचना जारी गरिरहेको छ । एजेन्सी

  • बेलायतमा वर्षकै उच्च तापक्रमको रेकर्ड

    बेलायतमा वर्षकै उच्च तापक्रमको रेकर्ड

    लण्डन । बेलायतमा यस वर्षकै सबैभन्दा उच्च तापमान रेकर्ड भएको छ । सोमबार ३८.१ डिग्री सेल्सियस तापमानसहित हालसम्मको सबैभन्दा गर्मी दिन कायम भएको बीबीसीले लेखेको छ । मौसमविद्हरूले मङ्गलवार तापक्रम अझै बढ्ने चेतावनी दिएका छन्। सोमवारको उक्त तापक्रम स्यान्टन डाउनह्याम, सफोकको हो र त्यसबाहेक प्राय ठाउँको तापक्रम ३७ डिग्री सेल्सियस नाघेको थियो। यूकेको मौसम पूर्वानुमान सम्बन्धी कार्यालयले सोमवार र मङ्गलवार इङ्गल्यान्डका धेरैजस्तो क्षेत्रमा तापक्रम ४१ डिग्री सेल्सियससम्म पुग्ने र अत्यधिक गर्मी हुने चेतावनी दिएको थियो।

    सन् २०१९ मा केम्ब्रीजमा मापन गरिएको ३८.७ डिग्री सेल्सियस यूकेको हालसम्मको उच्च तापक्रम हो। त्सअघि सन् २००३ मा केन्टको फाभरशाको तापक्रम ३८.५ डिग्री मापन गरिएको थियो। त्यसैले सोमवार त्यहाँको हालसम्मकै तेस्रो सर्वाधिक गर्मी दिन र यो वर्षको सबैभन्दा गर्मी दिन बन्यो। फ्लिन्टशायरको हावर्डेनमा ३७.१ डिग्री सेल्सियस तापमान मापन गरिएको थियो। मौसम कार्यालयको तथ्याङ्कका अनुसार त्यो जुन वेल्सको हालसम्मकै सर्वाधिक उच्च तापक्रम हो।

    रातको समयमा मध्ये २४.२५ डिग्री सेल्सियसको हाराहारीसहित तापक्रम उच्च रहने पूर्वानुमान गरिएको छ। मङ्गलवार यूकेको पश्चिमी भूभागमा दिन केही शीतल हुनसक्छ तर मिडल्यान्ड्स र इङ्गल्यान्डको पूर्वी भागहरूमा तापक्रम ४० डिग्री सेल्सियसको हाराहारी रहन सक्छ। सोमवार, मेडेनहेडस्थित बर्कशायरमा एक जना १६ वर्षीय युवकको मृत्यु भयो। त्यस्तै त्यहाँको मेट्रोपोलिटन प्रहरीका अनुसार एक जना १४ वर्षीय किशोर बेपत्ता भएका थिए। दक्षिण(पश्चिम लन्डनस्थित ह्याम्पटनमा रहेको टापुमा प्रवेश गरेपछि उनको असामयिक निधन भएको ठानिएको छ।

    गर्मीका कारण केही विद्यालयहरू चाँडै बन्द गरिएका थिए भने केही सञ्चालन नै गरिएन। यद्यपि, सरकारले पठनपाठन ठप्प नपार्न निर्देशन दिएको छ। एक शिक्षण सङ्घका अनुसार धेरै विद्यालयले खुला थिए। नेटवर्क रेलले मानिसहरूलाई सोमवार र मङ्गलवार ूअत्यावश्यक भएमा मात्रू यात्रा गर्न भनेको थियो। तीमध्ये केही रेलको सञ्चालन रद्द भयो र सञ्चालन भएका रेलको गतिमा प्रतिबन्ध लगाइएको छ। रक्षा मन्त्रालयका अनुसार अक्सफोर्डशायरस्थित एक धावनमार्गको सतह पग्लिएको विवरण आएपछि विमानहरूले वैकल्पिक एअरफिल्डहरू प्रयोग गरिरहेका छन्।

    चरम तातो मौसमका कारण धावनमार्गको एक भाग उचालिए पछि लुटन विमानस्थलमा उडानहरू स्थगित गरिएको विमानस्थलले जनाएको छ।
    इजीजेटका अनुसार केही उडानहरू नजिकैको विमानस्थलहरूतर्फ मोडिएको छ भने केही रद्द गरिएको छ। स्कटल्यान्ड र उत्तरी आयरल्यान्डमा पनि सोमवार वर्षको सबैभन्दा गर्मी दिन रह्यो। अबोइन, एबर्डिनशायरमा ३१.३ डिग्री सेल्सियस र डेरिलिन, काउन्टी फर्मानागमा ३१.१ डिग्री सेल्सियस तापक्रम थियो।

  • यूरोपमा उच्च तापक्रम र डडेलो, पोर्चुगलमा एक सातामा ६५९ जनाको मृत्यु

    यूरोपमा उच्च तापक्रम र डडेलो, पोर्चुगलमा एक सातामा ६५९ जनाको मृत्यु

    पेरिस । दक्षिण–पश्चिम क्षेत्रको जङ्गलमा लागेको आगो स्पेन, क्रोएशिया र ग्रीसमा पनि फैलिएपछि फ्रान्सले डढेलोको खतरामा रहेका १४ हजारभन्दा बढी मानिसलाई सुरक्षित ठाउँमा स्थानान्तर गरेको छ। फ्रान्सको चर्चित पर्यटन क्षेत्र गिरोन्डेका अधिकारीहरूले भ्रमणस्थलबाट सुरक्षाकर्मीहरूलाई पनि हटाएका छन्। पर्यटकहरूले यसअघि नै त्यस ठाउँ छोडिसकेका थिए। हाल टेस्टे-डे-बुच र ल्यान्डिरास क्षेत्रमा आगो फैलिएको छ।

    आगलागीका कारण दक्षिणी स्पेनका मिजासका पहाडहरूबाट ३,२०० भन्दा बढी मानिसहरू सुरक्षित ठाउँतर्फ भागेका थिए। केही मानिस भने फर्किसकेका छन्। पोर्चुगलको भूभागमा भएको आगलागी भने हाल नियन्त्रणमा आएको छ। पोर्चुगल सरकारका अनुसार गत साता मात्रै गर्मीका कारण ६५९ जना मानिसको मृत्यु भएको छ र तीमध्ये अधिकांश वृद्धवृद्धा छन्।

    स्पेनको मिजास क्षेत्रमा भएको आगलागी लोकप्रिय पर्यटकीय क्षेत्र मालगबाट टाढा छैन। स्पेनकै अन्य ठाउँहरूमा पनि आगो फैलिएको छ। मालग क्षेत्रका स्थानीयवासी एलेन म्याककर्डीले रोएटर्सलाई भनेका छन् ‘हामीले हतारमा केही अत्यावश्यक सामग्रीहरू बटुल्यौँ र लिएर दौडियौँ। त्यतिबेला हरेक मानिस भागिरहेका थिए। त्यहाँ थुप्रै एम्बुलेन्स र फायर इन्जिनहरू थिए।’

    पश्चिममा मोरक्कोदेखि पूर्वमा क्रेटसम्म( भूमध्यसागर वरपर हजारौँ अग्नि नियन्त्रकहरू र धेरै जल विस्फोटक विमानहरू तैनाथ गरिएका छन्। मङ्गलवारदेखि सारा क्षेत्र अधिक गर्मीको मारमा परेको छ र त्यहाँका वनस्पतिहरू सुकेका छन्। मानव(प्रेरित जलवायु परिवर्तनका कारण गर्मीको लहरहरू लगातार, अधिक तीव्र र लामो समयसम्म चल्ने भएका छन्।

    औद्योगिक युग सुरु भएदेखि नै पृथ्वी करिब १.१ डिग्री सेल्सियसले तातिसकेको छ र विश्वभरका सरकारहरूले कार्बन उत्सर्जनमा कडा कटौती नगरेसम्म तापक्रम बढ्ने क्रम जारी रहनेछ। फ्रान्सेली मौसम सेवाले आइतवार देशको दक्षिणी भागमा ४१ डिग्री सेल्सियससम्मको तापक्रमको पूर्वानुमान गरेको छ र सोमवारका लागि नयाँ तापक्रम आकलन गरिएको छ। पोर्चुगलको तापक्रम हाल ४७ डिग्री सेल्सियस पुगेको छ।

    यूकेमा चरम गर्मीको असरबारे पूर्व चेतावनी दिइएको छ। त्यहाँ सोमवार र मङ्गलवार तापक्रम ४१ डिग्री सेल्सियस पुग्ने अनुमान गरिएको छ। बेलायतमा गर्मीको लहरका कारण वार्षिक थप २,००० मानिसको मृत्यु हुने गरेको छ। सार्वजनिक विवरणहरूका अनुसार सन् १८८४ पछि यूकेमा सर्वाधिक गर्मी भएका वर्षहरू सबै सन् २००२ यताका वर्षहरू छन्।

    मोरक्कोले १,३०० भन्दा बढी मानिसहरूलाई आफ्नो घर छाड्न निर्देशन दिएको छ र देशको उत्तरी भेगस्थित जङ्गलमा लागेको आगो निभाउन थप अग्नि नियन्त्रकहरू खटाएको छ। त्यहाँको सबैभन्दा बढी प्रभावित क्षेत्र लाराचे प्रान्त हो। क्रेटमा रेथिम्नो वरपरका पहाडहरूका आगलागी विरुद्ध ग्रीक अग्नि नियन्त्रकहरू उत्तरी तटमा खटिरहेका छन्।

    शनिवार उनीहरूले त्यहाँको आगो आंशिक रूपमा नियन्त्रणमा आएको बताएका थिए। टर्कीको दक्षिण,पश्चिम भूभाग र क्रोएशियाको एड्रियाटिक तटका केही क्षेत्रहरूमा पनि आगलागी भएको छ। क्रोएशियाको रिसोर्ट सहर जादर र सिबेनिक नजिकका जङ्गलहरूमा पनि आगो फैलिएको छ तर त्यहाँको भूभाग हालसम्म खाली गरिएको छैन।

    शनिवार साँझ फ्रान्सले एट्लान्टिक तटका थप २२ वटा क्षेत्रीय विभागहरूलाई उच्च सतर्कता अपनाउन चेतावनी दिएको छ। डढेलोका कारण दक्षिण-पश्चिम फ्रान्सको १०,५०० हेक्टर जमिन डढेको छ। त्यहाँको गृहमन्त्री गेराल्ड डार्मानिनले अग्नि नियन्त्रकहरूको उल्लेखनीय साहसू को प्रशंसा गरे। आल्प्सका पर्वतारोहीहरूलाई असाधारण मौसम अवस्थाूका कारण चट्टान खस्न सक्ने जोखिम रहेकाले मोन्ट ब्लाङ्कको यात्रा स्थगित गर्न आह्वान गरिएको छ।
    बीबीसी

  • मेक्सिकोमा हेलिकप्टर दुर्घटना १४ जनाको मृत्यु

    मेक्सिकोमा हेलिकप्टर दुर्घटना १४ जनाको मृत्यु

    मेक्सिको सिटी । मेक्सिको भएको हेलिकप्टर दुर्घटनामा १४ जना सैनिकको मृत्यु भएको छ । देशको उत्तरी भागमा शुक्रबार भएको उक्त दुर्घटनामा परेर उनीहरूको मृत्यु भएको अन्तर्राष्ट्रिय संचारमाधयमले जनाएका छन् । लागूऔषध तस्करी एवम् ओसारपसारमा संलग्नहरूलाई पक्राउ गर्न खटिएका समुद्री सैनिक हेलिकप्टर दुर्घटनामा परेको मेक्सिकोको नौसेनाले जनाएको छ । दुर्घटनामा एकजना भने बाँच्न सफल भएका छन् ।

    नौसेनाको स्वामित्वमा रहेको ब्ल्याक हक हेलिकप्टरले उत्तरी राज्य सिनालोआमा एकदिन अघि पक्राउ परेका गुआडालाजारा कार्टेलका संस्थापक राफेल कारो क्विन्टेरो बोकेको अर्को विमानको सुरक्षा गरिरहेको थियो । दुर्घटनामा ज्यान गुमाएकाहरूप्रति नौसेनाले शोक व्यक्त गरेको छ । दुर्घटनाको कारण अज्ञात छ ।

    कथित लागूऔषध तस्करको गिरफ्तारीका कारण उक्त दुर्घटना नभएको नौसेनाले जनाएको छ । राफेललाई संयुक्त राज्य अमेरिकाले आफ्ना अधिकारी एनरिक क्यामरेना सालाजारको हत्या गरेकाले निजलाई अमेरिकासमक्ष सुपुर्दगी गर्नुपर्ने माग गर्दै आएको छ । यसै विषयलाई लिएर मेक्सीको र अमेरिकाबीचको सम्बन्ध केही समय तनावपूर्ण भएको थियो ।

  • जिम्बावे र नेदरल्याण्ड्स टी-२० विश्वकपमा छानिए

    जिम्बावे र नेदरल्याण्ड्स टी-२० विश्वकपमा छानिए

    काठमाडौं । जिम्बावे र नेदरल्यान्ड्सले यसै वर्ष अस्ट्रेलियामा हुने ट्वान्टी–२० विश्वकपमा छनोट भएका छन् । अक्टोबर १६ देखि नोभेम्बर १३ सम्म हुने ट्वान्टी–२० विश्वकप अस्ट्रेलियाको विभिन्न सहरमा हुनेछ । बुलावायोमा शुक्रबार भएको सेमिफाइनल खेलमा जिम्बावेले पपुवा न्युगिनीलाई २७ रनले हरायो । पहिलो ब्याटिङ गरेको जिम्बावेले निर्धारित २० ओभरमा ५ विकेट गुमाई १ सय ९९ रन बनायो । जवाफमा आएको पपुवा न्युगिनीले ८ विकेट गुमाई १ सय ७२ रनमात्र बनाउन सक्यो ।

    अर्को सेमिफाइनलमा नेदरल्यान्ड्सले अमेरिकालाई ७ विकेटले पराजित गर्‍यो । अमेरिका १९।४ ओभरमा १ सय ३८ रनमा अलआउट भएपछि नेदरल्यान्ड्सले एक ओभरअघि नै लक्ष्य पूरा गर्‍यो । फेब्रुअरीमा ओमानमा यसअघि नै भएको छनोटबाट आयरल्यान्ड र यूएई विश्वकपमा पुगिसकेका छन् । यी टोलीले अस्ट्रेलियामा पहिलो चरणमा प्रतिस्पर्धा गर्नेछन् ।

  • आर्थिक संकटसँग जुध्न चीनको शरणमा श्रीलंका

    आर्थिक संकटसँग जुध्न चीनको शरणमा श्रीलंका

    कोलम्बो । चरम आर्थिक संकट र राजनीतिक अस्थिरताका कारण अस्तव्यस्त बनेको श्रीलङ्काले वित्तीय तथा आर्थिक सङ्कट व्यवस्थापनका लागि चीनसँग सहयोग माग्ने भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार श्रीलंकाले ४ अर्ब डलर सहयोग माग्ने तयारी गरेको हो । बेइजिङमा रहेका श्रीलङ्काली राजदूत पलिथा कोहोनाले यो सहयोगका लागि चीनले सहमति जनाउनेमा आफू विश्वस्त भएको बताएको समेत समाचारमा उल्लेख छ । श्रीलङ्काले चीनसहित जापान, अन्तर्राष्ट्रिय मुद्रा कोष तथा व्यावसायिक कर्जादाताहरूसँग पनि मद्दत मागेको छ ।

    बीबीसीका अनुसार श्रीलङ्काको बाह्य ऋणमध्ये झन्डै १० प्रतिशत वा ५ अर्ब डलर चिनियाँ ऋण छ । आर्थिक सङ्कटकै कारण त्यहाँ उपभोग्य सामग्रीको सहज आपूर्ति हुन सकेको छैन । महँगी चुलिएको छ । खानेकुरा, औषधि र इन्धनको अभाव कामयै छ । त्यहाँ महिनौदेखि भैरहेको प्रदर्शनका कारण देश छाडेका राष्ट्रपति गोटाबाय राजापाक्षेले राजीनामा गरेका छन् । गोटाबायले सिङ्गापुर पुगेर पठाएको राजीनामापत्र हिजो स्वीकृत भएको छ ।

    प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले कार्यवाहक राष्ट्रपतिको रुपमा शपथ लिएका छन् । अदालतले श्रीलङ्काका पूर्व प्रधानमन्त्री महिन्दा राजापाक्षे र पूर्व अर्थमन्त्री बासिल राजापाक्षेलाई देश छाड्न प्रतिबन्ध लगाइएको छ । हिजो सर्वोच्च अदालतले आउँदो जुलाई २८ सम्म अनुमति विना देश छाड्न नपाइने आदेश दिएको हो ।

    अदालतले केन्द्रीय बैंकका पूर्व गभर्नर अजिथ निभार्ड काब्राल र अरु केही व्यक्तिलाई पनि देश छाडेर जान रोक लगाएको छ । ती व्यक्तिहरूले राज्य शक्तिको दुरुपयोग गरेको, आर्थिक सङ्कट उत्पन्न हुनुमा जिम्मेवार रहेकोलगायतका आरोप छ । उनीहरुमाथि अनुसन्धान गरी कारबाही गर्न माग गरिएको छ ।

  • भारतले द्यौलीगाड परियोजनाको बाँध खोल्दा महाकालीमा जोखिम

    भारतले द्यौलीगाड परियोजनाको बाँध खोल्दा महाकालीमा जोखिम

    कंचनपुर । भारतले धार्चुलाको धौलीगाड जलविद्युत् परियोजनाको बाँधको ढोका खोलेको छ । यसले महाकाली नदी तटीय क्षेत्रमा जोखिम बढेको छ । जिल्ला प्रशासन कार्यालय दार्चुला र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले सूचना जारी गर्दै जलविद्युत परियोजनाले शुक्रबार बिहान ५ बजेदेखि बेलुका ८ बजेसम्म बाँध खोलेकाले महाकाली जलस्तर बढ्ने भएकाले सर्तकता अपनाउन आग्रह गरेका छन् ।

    परियोजनाले सिल्ट फ्लशिंगको कार्य गर्ने भएकाले बाँधको ढोका खोलिने जानकारी यसअघि नै स्थानीय प्रशासनलाई गराएको थियो । भारतले बेला–बेला बाँध सरसफाइको काम गर्दै आएको छ।

  • सिङ्गापुर पुगे श्रीलंकाबाट भागेका राष्ट्रपति राजपाक्ष

    सिङ्गापुर पुगे श्रीलंकाबाट भागेका राष्ट्रपति राजपाक्ष

    सिङ्गापुर । श्रीलङ्कामा विरोध प्रदर्शन चर्किएपछि देशबाट भागेर माल्दिभ्स गएका राष्ट्रपति गोटाबय राजपक्ष त्यहाँबाट सिङ्गापुर पुगेका छन्। सिङ्गापुर सरकारले उनलाई निजी भ्रमणका लागि आफ्नो देशमा प्रवेश दिएको हो । बीबीसीका अनुसार उनी माल्दिभ्सबाट सिङ्गापुर साउदी एअरलाइन्सको एउटा विमानमा चढेर गएका थिए। अभूतपूर्व आर्थिक सङ्कटको विरोधमा देशमा विरोधप्रदर्शन भइरहेका बेला उनी मङ्गलवार राति भागेर माल्दिभ्स पुगेका थिए। उनीसँग उनकी पत्नी र दुई अङ्गरक्षक पनि थिए।

    राजपक्ष सिङ्गापुरमै बस्छन् वा अन्यत्र जान त्यो उनको बिसौनी मात्र हो भन्ने स्पष्ट छैन। यसअघि उनले बुधवारभित्र राजीनामा दिने बताएका थिए। तर उनले अहिलेसम्म औपचारिक रूपमा पदत्याग गरेका छैनन्। राष्ट्रपति हुँदा अभियोगहरूबाट उन्मुक्ति पाएका राजपक्ष नयाँ सरकार बनेपछि हुनसक्ने गिरफ्तारीबाट जोगिन विदेश भागेको अनुमान गरिएको छ।

    उनी सिङ्गापुरमा उत्रिएको पुष्टि गर्दै त्यहाँको विदेश मन्त्रालयले भनेको छ, ‘उनले शरण मागेका छैनन्, न त उनलाई कुनै शरण दिइएको छ। सिङ्गापुरले सामान्यतः शरणको अनुरोध स्वीकार गर्दैन।’ राष्ट्रपति राजपक्षले देश छाडेपछि प्रधानमन्त्री रनिल विक्रमसिङ्घ कार्यवाहक राष्ट्रपति नियुक्त भएको समाचार आयो। त्यसपछि विक्रमसिङ्घले देशमा सङ्कटकाल घोषणा गरे।

    उनले बिहीवार दोस्रो दिन कर्फ्यू घोषणा गरेका बेला राजपक्ष माल्दिभ्सबाट सिङ्गापुरतर्फ लागेको खबर आएको थियो। विक्रमसिङ्घले स्थानीय समयानुसार बिहीवार १२ बजेदेखि शुक्रवार बिहान ५ बजेसम्मका लागि कर्फ्यू घोषणा गरेका छन्। अहिले श्रीलङ्कामा प्रदर्शन जारी छ। प्रदर्शनकारीहरूले विक्रमसिङ्घको पनि राजीनामा मागिरहेका छन्। गोटाबय राजपक्ष अब कहाँ जालान् भन्ने धेरैको जिज्ञासा छ। तर सोधिनुपर्ने सबैभन्दा महत्त्वपूर्ण प्रश्न उनलाई कसले आश्रय देला भन्ने हो।

    राजपक्ष अहिले सिङ्गापुरतर्फ लागेका छन्। त्यो उनको मध्यपूर्व जाने ट्रान्जिट मात्र हो वा उनी त्यहीँ बस्छन् भन्ने स्पष्ट छैन। अनि बसिहाले भने त्यहाँ कति समयका लागि बस्छन् भन्ने पनि थाहा छैन। तर स्रोतहरू के भन्छन् भने सिङ्गापुर सरकारले उनलाई त्यहाँ लामो समयसम्म बस्न दिन्छ भन्ने कुरा सन्देहपूर्ण छ। उक्त समृद्ध सानो राष्ट्रले विगतमा विवादास्पद व्यक्तित्वहरूलाई बस्न दिएका उदाहरणहरू छन्।

    उदाहरणका लागि, सिङ्गापुरमा बर्माका सैन्य नेता थेन सेन, जिम्बाब्वेका रोबर्ट मुगाबे र उत्तर कोरियाका किम जङ-अन पनि त्यहाँ बसेका थिए। सिङ्गापुरका अधिकारीहरूले आफ्नै जनताबाट पनि आलोचना खेप्नुपर्नेछ किनकि पछिल्ला वर्षहरूमा सिङ्गापुरका जनताहरू पनि निकै मुखर बन्न थालेका छन्।

  • गहुँ, चिनीजस्ता वस्तुको नेपाल निर्यातमा रोक नलगाएको भारतको स्पष्टीकरण

    गहुँ, चिनीजस्ता वस्तुको नेपाल निर्यातमा रोक नलगाएको भारतको स्पष्टीकरण

    काठमाडौं । भारतले गहुँ, चिनी लगायत केही वस्तुहरूमा लगाएको निर्यात प्रतिबन्ध नेपालको हकमा लागू नहुने स्पष्ट पारेको छ । नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधिसँगको भेटवार्ताका क्रममा नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तवले यस्तो जानकारी गराएका हुन् । महासंघ सचिवालयमा भएको औपचारिक भेटवार्तामा राजदूत श्रीवास्तवले नेपालको पनि आर्थिक विकास हुनुुपर्ने पक्षमा भारत रहेको बताए । भेटवार्तामा महासंघका अध्यक्ष शेखर गोल्छाले अत्यावश्यक वस्तुुहरूको निर्यातमा भारतले लगाएको प्रतिबन्धले नेपालका उद्योगहरूलाई समस्या उत्पन्न हुन थालेको बताएका थिए ।

    तर राजदूत श्रीवास्तवले प्रतिबन्ध नेपाललाई नहुने बताउँदै दुवै देश ज्वाइन्ट भेन्चर जसरी नै काम गर्न चाहेको बताएका थिए । गोल्छाले नेपालमा लगानी विस्तार, व्यापारिक नाकाहरूको पूर्वधार विकास, प्रयोगशालाहरूको स्तरीकरण तथा थप ल्याबहरूको विस्तार, गैर भन्सार अवरोधहरूका विषयलाई बैठकमा मुख्य रूपमा उठाएका थिए । त्यस्तै भारतसँगको व्यापार घाटा नेपालका लागि चिन्ताको विषय भएकाले यसलाई कम गर्ने कार्यमा भारतीय सहयोग अपरिहार्य रहेको बताए । लामो समयदेखि मिरगन्ज पुल बन्न नसकेकोतर्फ ध्यानाकर्षण गराउँदै उनले निर्माणका लागि आग्रह गरे ।

    नेपालमा भारतीय संयूक्त लगानी विस्तार, मुख्य नाकासम्म रेलमार्गको विस्तार, प्रयोगशालाको अभावमा कृषिजन्य उत्पादनहरूको निर्यातमा हुने गरेको ढिलाइलाई भारत सरकारले सम्बोधन गर्नुपर्ने सुझाव दिइएको छ । गैर भन्सार अवरोधका कारण मुख्यतया कृषिजन्य उत्पादन र जडिबुटी निर्यातमा समस्या देखिएको छ । ‘सडक, रेल, हवाई र डिजिटल कनेक्टिभिटिमा देखापरेका समस्याहरूको समाधान गर्दै नेपालको अर्थतन्त्रलाई मजबुत बनाउन भारत सरकार तयार छु सो क्रममा राजदूत श्रीवास्तवले भने, ‘भारत सरकारले रक्सौलमा अन्तर्राष्ट्रियस्तको ल्याब स्थापना गरेको छ, काठमाडौंमा रहेको ल्याबलाई भारतमा एक महिनाभित्रै मान्यता दिने गरी काम भैरहेको छ ।’

    अर्को ल्याब उपयुक्त स्थानमा बनाउन आफूले नेपालका वाणिज्य मन्त्रीसमक्ष अनुुरोध गरेको पनि उनले बताए । महासंघका उपाध्यक्षहरू दिनेश श्रेष्ठ, रामचन्द्र संघई, कार्यकारिणी समितिका सदस्यहरू, विभिन्न संघका अध्यक्षहरू, महासंघका महानिर्देशक समेतको भेटवार्तामा उपस्थिति थियो ।

  • श्रीलङ्काबाट भागेका राष्ट्रपति राजपक्ष कहाँ जालान्, सिंगापुर वा दुबई

    श्रीलङ्काबाट भागेका राष्ट्रपति राजपक्ष कहाँ जालान्, सिंगापुर वा दुबई

    कोलम्बो । श्रीलङ्काका राष्ट्रपति गोटाबय राजपक्ष अहिले माल्दिभ्समा छन् । तर, उनी त्यहाँबाट समेत तेस्रो मुलुक जाने तयारीमा रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । आर्थिक सङ्कटलाई लिएर भइरहेको व्यापक प्रदर्शनका बीच उनी भागेर माल्दिभ्स पुगेका हुन् । त्यहाँबाट उनी सिङ्गापुर वा दुबई जाने तयारीमा रहेको बताइएको छ । स्थानीय समय अनुसार बुधवार बिहान तीन बजे उनी माल्दिभ्सको राजधानी माले पुगेका थिए । राजापक्ष श्रीमती र दुईजना अङ्गरक्षकलाई आफूसँगै लिएर एउटा सैन्य जहाजमा माल्दिभ्स पुगेको समाचार संस्था एएफपीले लेखेको छ ।

    राष्ट्रपति हुँदा अभियोगहरूबाट उन्मुक्ति पाएका राजापक्ष नयाँ सरकार बनेपछि हुनसक्ने गिरफ्तारीबाट बच्न माल्दिभ्स भागेको अनुमान गरिएको बीबीसीको भनाई छ । उनले देश छाडेपछि प्रधानमन्त्री रनिल विक्रमसिङ्घ देशको कार्यवाहक राष्ट्रपति नियुक्त भएको संसद्का सभामुखले बताएका छन्। गत शनिवार प्रदर्शनकारीले उनको कार्यालय र घर कब्जा गरेपछि राजापक्ष लुकेर बसेका थिए। उनले बुधवारै राजीनामा दिने प्रतिबद्धता जनाएका थिए।

    यद्यपि हालसम्म उनको राजीनामा आइसकेको छैन। यसअघि सभामुखले राजापक्षले आफ्नो राजीनामापत्र आज हस्तान्तरण गर्ने योजना बनाएको बताएका थिए। उनको राजीनामाले विगत दुई दशकदेखि श्रीलङ्काको राजनीतिमा प्रभुत्व जमाउँदै आएको राजपक्ष परिवारको शासनको अन्त्य हुनेछ। उनका भाइ पूर्व अर्थमन्त्री बसिल राजापक्ष पनि श्रीलङ्काबाट भागेका छन्।

  • श्रीलंकाका राष्ट्रपति राजपाक्षे देश छाडेर भागेको पुष्टी

    श्रीलंकाका राष्ट्रपति राजपाक्षे देश छाडेर भागेको पुष्टी

    कोलम्बो । श्रीलंकाका राष्ट्रपति गोटाबाया राजपाक्षे देश छाडेर भागेको पुष्टी भएको छ । श्रीलंकाका लाखौं नागरिकले प्रदर्शनसहित राष्ट्रपति निवास कब्जा गरेपछि राष्ट्रपति राजपक्षे केही दिनदेखि देश छाडेर भाग्ने प्रयासमा थिए । यसअघि देश छाड्ने प्रयास असफल भएपछि उनी सैन्य शिविरमा बस्दै आएका थिए । राष्ट्रपति गोटाबायाले स्थानीय समय अनुसार मंगलबार ३ बजे कोलम्बोको अन्तर्राष्ट्रिय विमानस्थलबाट श्रीलंकाको सैन्य विमानसँगै देश छाडेको अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीले उल्लेख गरेको छ । राष्ट्रपति राजापाक्षे केही सैनिक सुरक्षा र परिवारको साथमा माल्दिभ्स पुगेका छन् ।

    बीबीसीका अनुसार ७३ बर्षीय राष्ट्रपति गोटाबायासँगै उहाँकी श्रीमती र अंगरक्षकसहित चार यात्रु रहेका छन् । बीबीसीका अनुसार राष्ट्रपतिका भाई एवं पूर्व फाइनान्स मन्त्री बासिल राजपाक्षे पनि देश छाडेका छन् । राजपाक्षेलाई माल्दिभ्समा अवतरणको अनुमति नदिईँदा केही समय अन्योलमा परेको र उनको विमान एक घण्टाभन्दा बढी समय टार्माकमा रोकिएको विमानस्थलका अधिकारीहरूले बताएका छन् ।

    अध्यागमनका अधिकारीहरूले उनको राहदानीमा छाप लगाउन विमानस्थलको भीआईपी कक्षमा जानबाट समेत रोकेका थिए । यसअघि पनि देश छाड्न प्रयास गरेका उई भारतले श्रीलंकाको सैन्य विमान अवतरण गर्न अनुमति दिएको थिएन भने अमेरिकी दूताबासले समेत भ्रमण भिसा दिन अस्वीकार गरेको थियो । राष्ट्रपतिले देश छाडेको खबर सार्वजनिक भएपछि राजधानी कोलम्बोको प्रमुख प्रदर्शनस्थलमा सर्वसाधारण मानिसले उत्सव मनाएका छन् ।

  • भारतमा वर्षा र बाढी, कैयौं मानिस हताहत

    भारतमा वर्षा र बाढी, कैयौं मानिस हताहत

    नयाँ दिल्ली । भारतमा भारी वर्षा र डुबानका कारण विभिन्न राज्यमा जनजीवन प्रभावित भएको छ । भारी वर्षा र बाढीका कारण गुजरातमा २४ घण्टाको अवधिमा ६३ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । महाराष्ट्रमा ७६ जनाको मृत्यु भएको छ । बाढी प्रभावित १० हजारभन्दा बढीलाई सरकारले सुरक्षित स्थानमा पुर्याएको छ । आठ जिल्लामा रेड अलर्ट जारी गरिएको छ । मध्य प्रदेश र कर्नाटकमा पनि भारी वर्षाले जनजीवन कष्टकर बनेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

    भारतको मौसम विज्ञान विभागले मंगलबार पनि उत्तराखण्ड र केरलामा भारी वर्षा हुन सक्ने भन्दै सतर्कता अपनाउन भनेको छ । गुजरातको अम्बिका नदीमा फसेका सरकारी कर्मचारीहरुलाई हेलिकोप्टरको सहायतमा उद्धार गरिएको छ । भारी वर्षाका कारण गुजरातको भालसाड जिल्लामा सबै स्कुल र कलेजहरु पनि बन्द गरिएको छ ।

  • श्रीलंकामा २० जुलाईमा नयाँ राष्ट्रपति छानिने

    श्रीलंकामा २० जुलाईमा नयाँ राष्ट्रपति छानिने

    कोलम्बो । शहरी विकास तथा आवासमन्त्री प्रसन्न रानातुङ्गाले श्रीलङ्कामा नयाँ राष्ट्रपति जुलाई २० मा चयन हुने बताएका छन् । रणतुङ्गाले जुलाई १३ गते राष्ट्रपति गोटबाया राजापाक्षेले राजीनामा दिएमा पार्टीका नेताहरूले साउन २० गते नयाँ राष्ट्रपति चयन गर्ने निर्णय गरेको बताएका हुन् । पार्टीले निर्णय गरे बमोजिम साउन १३ गते राष्ट्रपतिले राजीनामा दिएमा प्रक्रिया त्यस अनुरूप अगाडि बढ्ने पनि उनले जानकारी दिए । शनिबार फोर्टमा रहेको राष्ट्रपति भवनमा हजारौं मानिसहरूले आक्रमण गरेपछि यहाँको राजनीतिक घटनाक्रम नयाँ ढङ्गले विकास भएको हो।

    तीव्र विरोध र प्रदर्शनका बीच प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले पदबाट राजीनामा दिने घोषणा गरेका छन् । राष्ट्रपति र प्रधानमन्त्रीको निवास कब्जामा लिएका आन्दोलनकारीले भने देशको बिग्रँदै गएको आर्थिक अवस्थाले तनाव बढाएको र राजनीतिक नेतृत्व त्यसका निम्ति जिम्बेवार रहेको बताएका छन् । पछिल्ला केही हप्ताहरूमा इन्धन पसलहरूमा सर्वसाधारण र प्रहरीबीच थुप्रै भिडन्त भएको रिपोर्टहरू आएका छन् । श्रीलङ्का सन् १९४८ स्वतन्त्रता प्राप्त गरेपछि यस पटक सबैभन्दा खराब आर्थिक सङ्कटबाट गुज्रिरहेको छ।


    राष्ट्रपति गोटाबाया राजापाक्षेले औपचारिक रूपमा प्रधानमन्त्री विक्रमासिंघेलाई आफ्नो पदबाट राजीनामा दिन लागेको बताएका छन् । चरम तेल आपूर्ति अभावले विद्यालय र सरकारी कार्यालयहरू अर्को सूचना नभएसम्म बन्द गरिएका छन् । श्रीलङ्कामा इन्धन अभावका बीच थुप्रे क्षेत्रमा आपतकालीन एम्बुलेन्स सेवा समेत निलम्बित गरिएको छ। आर्थिक सङ्कटले विशेषगरी खाद्य सुरक्षा, कृषि, जीविकोपार्जन र स्वास्थ्य सेवामा पहुँचलाई प्रत्यक्ष असर गरेको छ ।
    रासस

  • आज विश्व जनसंख्या दिवस, कति पुग्यो विश्वभर मानिसको संख्या ?

    आज विश्व जनसंख्या दिवस, कति पुग्यो विश्वभर मानिसको संख्या ?

    काठमाडौं । हरेक वर्ष ११ जुलाईका दिन विश्व जनसंख्या दिवस मनाउने गरिन्छ । सन् १९९० यता हरेक वर्ष यो दिवस मनाउने गरिएको हो । यूएनडिपीले सन् १९८९ मा विश्व जनसंख्या दिवस ११ जुलाईमा मनाउने निर्णय गरिएको हो । त्यसलगत्तै विश्वका ९० वटा मुलुकले पहिलो जनसंख्या दिवस मनाएका थिए । १९८७, ११ जुलाईमा विश्वको जनसंख्या ५ अर्ब नजिक पुगेको थियो । सोहीकारण संसारभर सचेतना बढाउने उद्देश्यले दिवस मनाउने निर्ण भएको हो । बढ्दो जनसंख्या, विकास र यसले पर्यावरणमा पारेको प्रभावमा जनचेतना जनाउने उद्देश्यले दिवस मनाउन शुरु गरिएको हो ।

    अहिले विश्वभर मानिसको संख्या झण्डै ८ अर्ब पुगेको छ । पछिल्लो तथ्यांक अनुसार ७ अर्ब ९५ करोड ४० लाख जनसंख्या विश्वभर पुगेको छ । यसमध्ये १५ देखि ६४ सालको उमेरको बीचमा ६५ प्रतिशत मानिस रहेका छन् । अनुमान अनुसार सन् २०२१ सम्म विश्वको जनसंख्या १० अर्ब ९० करोड पुग्दैछ । अहिले जनसंख्यामा सबैभन्दा ठूलो हिस्सा एसियाको छ । एसिया एक्लैले ६० प्रतिशत हिस्सा ओगट्छ । चीनमा १ अर्ब ४४ करोड र भारतको जनसंख्या १ अर्ब ४० करोड रहेको छ ।

  • नोभाक जोकोभिचलाई सातौं विल्बल्डन उपाधी

    नोभाक जोकोभिचलाई सातौं विल्बल्डन उपाधी

    काठमाडौं । विश्व नम्बर एक टेनिस खेलाडी नोभाक जोकोभिचले सातौं पटक विम्बल्डन ओपनको उपाधि उचालेका छन् । सेन्टर कोर्टमा आइतबार राति भएको फाइनलमा जोकोभिचले एक सेटले पछि परेको अवस्थामा पुनरागमन गर्दै २७ वर्षीय निक किर्गियोसलाई हराए । जोकोभिचले किर्गियोसलाई ४–६ , ६–३, ६–४, ७–६ ले पराजित गर्दै च्याम्पियन बनेका हुन् ।

    ३५ वर्षीय सर्बियन खेलाडी जोकोभिचको यो २१औं ग्राण्ड्सलाम उपाधि हो र सर्वाधिक २२ पटक ग्राण्ड्सलाम जित्ने कीर्तिमान बनाएका राफायल नाडालभन्दा एकले मात्र पछि छन् । जोकोभिचले लगातार चौथो पटक समग्रमा सातौं पटक विम्बल्डन ओपन जितेका हुन् । उनीभन्दा धेरै रोजर फेडेरले ८ पटक विम्बल्डन जितेका छन् ।

  • श्रीलंकामा राष्ट्रपति निवासमा छिरे प्रदर्शनकारी, कहाँ छन् राष्ट्रपति ?

    श्रीलंकामा राष्ट्रपति निवासमा छिरे प्रदर्शनकारी, कहाँ छन् राष्ट्रपति ?

    कोलम्बो । श्रीलङ्कामा राष्ट्रपति गोटाबय राजपक्षको निवासमा प्रदर्शनकारी छिरेका छन् । राष्ट्रपति राजपक्षलाई भने सुरक्षित ठाउँमा लगिएको छ । स्थानीय सञ्चारमाध्यमहरुका अनुसार यसअघि राजधानी कोलम्बोमा जम्मा भएको ठूलो भीडलाई तितरबितर पार्न प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो। प्रदर्शनकारीहरूले राष्ट्रपतिको राजीनामा माग गरिरहेका छन्। देशका विभिन्न भागबाट प्रदर्शनमा भाग लिन सयौँ मानिसहरू कोलम्बो आएका थिए।

    सरकारले कर्फ्यू लगाउने भने पनि पछि त्यसलाई फिर्ता लिएको थियो। दशकौँ यताको सबैभन्दा खराब आर्थिक सङ्कट सामना गरिरहेको श्रीलङ्कामा भएका यी ताजा प्रदर्शनहरू हुन्। हजारौँ प्रहरी र सैनिकहरू परिचालन गरिएका छन्। श्रीलङ्काले अहिले खाद्यान्न, इन्धन र औषधिको चरम अभावको सामना गरिरहेको छ। प्रहरी अवरोध पार गर्दै राष्ट्रपति गोटाबयको सरकारी निवासतर्फ प्रदर्शनकारीहरू अघि बढ्न खोजेपछि तनाव उत्पन्न भएको थियो।

    केही प्रदर्शनकारीहरू राष्ट्रपति भवनको पर्खालमा चढेर भित्र प्रवेश गरेका थिए। प्रदर्शन भइरहेका क्षेत्रमा सैनिकहरू खटाइएका छन्। प्रहरीले भीड तितरबितर गर्न हावामा गोली चलाएको थियो। भिडिओ फूटेजहरूमा कैयौँ घाइतेहरूलाई अस्पताल लैजाँदै गरेको देखिन्छ। आर्थिक सङ्कट र इन्धन अभावका माझ राष्ट्रपति गोटाबय र प्रधानमन्त्री रनिल विक्रमसिङ्ग विरूद्धका प्रदर्शनहरू चर्कँदै गएका छन्।

    सरकार विरुद्धको एउटा ठूलो प्रदर्शन शनिवारका लागि आह्वान गरिएको थियो। त्यसमा विपक्षी दलहरू, ट्रेड युनियनहरू, विद्यार्थी र कृषि सङ्गठनका प्रतिनिधिहरूले सहभागिता जनाउने बताएका थिए। शुक्रवारदेखि नै देशभरबाट कैयौँ विद्यार्थी सङ्गठनका प्रतिनिधिहरू कोलम्बो आएका थिए। शनिवार पनि ठूलो सङ्ख्यामा सवारी साधनहरू कोलम्बोमा प्रवेश गरेको देखिएको थियो।